परमेश्‍वरको कामको दर्शन (२)

अनुग्रहको युगमा पश्चात्तापको सुसमाचार प्रचार गरिएको थियो, र यदि मानिसले विश्वास गरेको भए, छुटकारा पाउनेथियो। आज, छुटकाराको ठाउँमा, विजय र सिद्धताको कुरा मात्र हुन्छ। यदि एक व्यक्तिले विश्‍वास गरेमा, उसको सम्पूर्ण परिवार आशिषित हुनेछ, वा एक पटक मुक्ति पाएपछि सधैँका लागि मुक्ति पाइन्छ भनेर कहिल्यै भनिँदैन। आज, कसैले पनि यी शब्दहरू बोल्दैनन् र यस्ता कुराहरू पुराना भएका छन्। त्यसबेला, येशूको काम सम्पूर्ण मानवजातिलाई छुटकारा दिनु थियो। उहाँमा विश्वास गर्ने सबैका पापहरू क्षमा गरिए; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, उहाँले तँलाई छुटकारा दिनुहुनेथियो; यदि तँ उहाँमा विश्वास गर्थिस् भने, तँ उप्रान्त पापमा रहनेथिइनस्, तँ आफ्ना पापहरूबाट मुक्त हुन्थिस्। छुटकारा पाउनु, र आस्थाद्वारा न्यायोचित ठहरिनुको अर्थ यही हो। तैपनि विश्वास गर्नेहरूमा, विद्रोही र परमेश्‍वरको विरोध कुरा रह्यो, जसलाई अझै पनि बिस्तारै हटाउनुपर्थ्यो। छुटकाराको अर्थ मानिसलाई येशूले पूर्ण रूपमा प्राप्त गर्नुभएको थियो भन्ने थिएन, बरु मानिस उप्रान्त पापमा थिएन र उसका पापहरू क्षमा गरिएका थिए भन्ने थियो। यदि तैँले उहाँमा विश्वास गरेको भए, तँ उप्रान्त पापमा हुनेथिइनस्। त्यसबेला, येशूले आफ्ना चेलाहरूले बुझ्न नसक्ने धेरै काम गर्नुभयो र मानिसहरूले नबुझ्ने धेरै कुरा भन्नुभयो। किनभने, त्यसबेला, उहाँले कुनै स्पष्टीकरण दिनुभएन। यसरी, उहाँ जानुभएको केही वर्षपछि, मत्तीले येशूका लागि एउटा वंशावली बनाए र अरूहरूले पनि मानिसको इच्छाका धेरै काम गरे। येशू मानिसलाई सिद्ध पार्न र प्राप्त गर्न नभई कामको एउटा चरण गर्न आउनुभएको थियो: स्वर्गको राज्यको सुसमाचार ल्याउन र क्रूसीकरणको काम पूरा गर्न। अनि त्यसैले, येशू क्रूसमा टाँगिनुभएपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। तर अहिलेको चरणमा—विजयको काममा—अझ धेरै वचन बोलिनैपर्छ, अझ धेरै काम गरिनैपर्छ, र धेरै प्रक्रिया हुनैपर्छ। त्यसै गरी येशू र यहोवाको कामका रहस्यहरू पनि उजागर गरिनैपर्छ, ताकि सबै मानिसको विश्वासमा बुझाइ र स्पष्टता होस्, किनभने यो आखिरी दिनहरूको काम हो र आखिरी दिनहरू परमेश्‍वरको कामको समापन, कामको अन्त्यको समय हो। कामको यस चरणले तँलाई यहोवाको व्यवस्था र येशूको छुटकारा छर्लङ्ग पार्नेछ अनि यो मुख्यतया तैँले परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण काम बुझ्न सकेस् र यस छ हजार वर्षे व्यवस्थापनको योजनाको सम्पूर्ण महत्त्व र सार बोध गर्न सकेस् र येशूले गरेका सम्पूर्ण काम र उहाँले बोलेका वचनहरूको उद्देश्य अनि बाइबलप्रतिको तेरो अन्धविश्वास र आराधना समेत बुझ्न सकेस् भनेर हो। यी सब कुराले तँलाई पूर्ण रूपमा बुझ्न सक्षम तुल्याउनेछन्। तैँले येशूले गरेको काम र परमेश्‍वरको आजको काम दुवै बुझ्नेछस्; तैँले सम्पूर्ण सत्यता, जीवन र मार्ग बुझ्नेछस् र देख्नेछस्। येशूले गरेको कामको चरणमा, येशू किन समापनको काम नगरी प्रस्थान गर्नुभयो? किनभने येशूको कामको चरण समापनको काम थिएन। जब उहाँलाई क्रूसमा टाँगियो, तब उहाँका वचनहरू पनि समाप्त भए; उहाँको क्रूसीकरणपछि, उहाँको काम पूर्ण रूपमा समाप्त भयो। त्यो अहिलेको चरणजस्तो थिएन, जसमा वचनहरू अन्त्यसम्म बोलिएपछि र उहाँको सम्पूर्ण काम समापन भएपछि मात्र परमेश्‍वरको काम समाप्त भएको हुनेछ। येशूको कामको चरणको दौरान, नभनिएका वा पूर्ण रूपमा व्यक्त नगरिएका धेरै वचन रहेका थिए। तैपनि येशूले आफ्ना वचनहरू पूर्ण रूपमा व्यक्त गरिएका छन् कि छैनन् भनेर वास्ता गर्नुभएन, किनभने उहाँको सेवकाइ वचनहरूको सेवकाइ थिएन, र त्यसैले उहाँ क्रूसमा टाँगिनुभएपछि प्रस्थान गर्नुभयो। कामको त्यो चरण मुख्यतया क्रूसीकरणका खातिर थियो, र यो अहिलेको चरणजस्तो होइन। कामको यो अहिलेको चरण मुख्यतया समापन गर्न, स्पष्ट पार्न र सबै काम अन्त्य गर्नका खातिर हो। यदि वचनहरू अन्त्यसम्म बोलिएनन् भने, यो काम समाप्त गर्ने कुनै उपाय हुनेछैन, किनभने कामको यस चरणमा सबै काम वचनहरू प्रयोग गरेर अन्त्य र सम्पन्न गरिन्छ। त्यसबेला, येशूले मानिसले बुझ्न नसक्ने धेरै काम गर्नुभयो। उहाँ चुपचाप प्रस्थान गर्नुभयो र आज पनि उहाँका वचनहरू नबुझ्ने अझै धेरै मानिस छन्। तिनीहरूको बुझाइ त्रुटिपूर्ण छ तैपनि तिनीहरू त्यो सही हो भन्ने विश्वास गर्छन् र आफू गलत छु भन्ने जान्दैनन्। अन्तिम चरणले परमेश्‍वरको काम पूर्णतया समाप्त गर्नेछ र यसको समापन गर्नेछ। सबैले परमेश्‍वरको व्यवस्थापनको योजना बुझ्नेछन् र जान्नेछन्। मानिसभित्रका धारणाहरू, उसका अभिप्रायहरू, उसको भ्रामक बुझाइ, यहोवा र येशूको कामबारे उसका धारणाहरू, गैरविश्‍वासीहरूबारे उसका दृष्टिकोणहरू, र उसका अन्य सबै विकृतिलाई सच्याइनेछ। अनि मानिसले जीवनका सबै सही मार्ग र परमेश्‍वरले गरेका सबै काम, र सम्पूर्ण सत्यता बुझ्नेछ। जब त्यो हुन्छ, तब कामको यो चरण समाप्त हुनेछ। यहोवाको काम संसारको सृष्टि थियो, यो सुरुवात थियो; कामको यो चरण कामको अन्त्य हो र यो समापन हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूमाझ गरिएको थियो, र यो सबैभन्दा पवित्र स्थानमा गरिएको अभूतपूर्व काम थियो। कामको अन्तिम चरण संसारलाई न्याय गर्न र युगलाई अन्त्य गर्न सबैभन्दा फोहोरी देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो स्थानमा गरिएको थियो, र अन्तिम चरण सबैभन्दा अँध्यारो स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, उज्यालो ल्याइनेछ, र सबै मानिसमाथि विजय हासिल गरिनेछ। जब यस सबैभन्दा फोहोरी र सबैभन्दा अँध्यारो स्थानका मानिसहरूमाथि विजय हासिल गरिसकिएको हुन्छ, र सम्पूर्ण जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ, जो साँचो परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गरेका हुन्छन्, र हरेक व्यक्ति पूर्ण रूपमा विश्वस्त भएको हुन्छ, तब यो तथ्य सम्पूर्ण ब्रह्माण्डमाथि विजय हासिल गर्ने काम गर्न प्रयोग गरिनेछ। कामको यो चरण प्रतिनिधिमूलक छ। यस युगको काम समाप्त भइसकेपछि, छ हजार वर्षे व्यवस्थापनको काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अँध्यारो स्थानमा भएकाहरूमाथि विजय हासिल गरिसकेपछि, अरू सबै ठाउँमा पनि त्यसै हुनेछ भनेर भनिरहनु पर्दैन। त्यसकारण, चीनमा गरिने विजयको कामले मात्र प्रतिनिधिमूलक महत्त्व राख्छ। चीन अन्धकारका सबै शक्तिको मूर्तरूप हो, र चीनका मानिसहरूले देहका, शैतानका र सांसारिकताका सबै मानिसको प्रतिनिधित्व गर्छन्। चिनियाँ मानिसहरू नै ठूलो रातो अजिङ्गरद्वारा सबैभन्दा बढी भ्रष्ट तुल्याइएका छन्, जसले परमेश्‍वरको सबैभन्दा घोर विरोध गर्छन्, जसको मानवता सबैभन्दा नीच र सबैभन्दा फोहोरी छ, र त्यसैले तिनीहरू सम्पूर्ण भ्रष्ट मानवजातिका मूल रूप हुन्। यसको अर्थ अन्य देशहरूमा पटक्कै समस्या छैन भन्ने होइन; मानिसका धारणाहरू सबै उस्तै हुन्छन्, र यी देशका मानिसहरू राम्रो क्षमताका हुन सक्ने भए पनि, यदि तिनीहरू परमेश्‍वरलाई चिन्दैनन् भने, तिनीहरू उहाँको विरोध पक्कै गर्छन्। यहूदीहरूले पनि किन परमेश्‍वरको विरोध गरे र उहाँको विरुद्ध विद्रोह गरे? फरिसीहरूले पनि किन उहाँको विरोध गरे? यहूदाले किन येशूलाई विश्वासघात गरे? त्यसबेला, धेरै चेलाले येशूलाई चिनेका थिएनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि बौरिउठ्नुभएपछि पनि मानिसहरूले किन अझै उहाँमा विश्वास गरेनन्? के मानिसको विद्रोहीपन सबै उस्तै होइनन् र? यति मात्र हो कि, चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको छ, र जब तिनीहरूमाथि विजय हासिल गरिन्छ, तब तिनीहरू नमुना र प्रतिरूप बन्नेछन्, अनि अरूका लागि सन्दर्भका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापनको योजनाका सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा नै भ्रष्टता, फोहोरीपन, अधार्मिकता, विरोध, र विद्रोहीपन सबैभन्दा पूर्ण रूपमा देखिन्छन् र ती तिनका सबै विविध रूपमा प्रकट हुन्छन्। एकातिर, तिनीहरू कमजोर क्षमताका छन्, र अर्कोतिर, तिनीहरूको जीवन र मानसिकता पिछडिएको छ, अनि तिनीहरूको बानी, सामाजिक वातावरण, जन्मिएको परिवार—सबै कमजोर र सबैभन्दा पिछडिएका छन्। तिनीहरूको हैसियत पनि निम्न छ। यस स्थानको काम प्रतिनिधिमूलक छ, र यो परीक्षण काम पूर्ण रूपमा गरिसकिएपछि, परमेश्‍वरको त्यसपछिको काम अझ धेरै सजिलो हुनेछ। कामको यो चरण पूरा भएपछि, त्यसपछिको काम पटक्कै गाह्रो हुनेछैन। कामको यो चरण सम्पन्न भइसकेपछि, ठूलो सफलता पूर्ण रूपमा हासिल भएको हुनेछ, र सम्पूर्ण ब्रह्माण्डमा विजयको काम पूर्ण रूपमा समाप्त भएको हुनेछ। वास्तवमा, तिमीहरूमाझको काम सफल भइसकेपछि, यो सम्पूर्ण ब्रह्माण्डमा हासिल भएको सफलता बराबर हुनेछ। यो नै मैले तिमीहरूलाई नमुना र उदाहरणका रूपमा कार्य गर्न लगाउनुको महत्त्व हो। विद्रोहीपन, विरोध, फोहोरीपन, अधार्मिकता—यी सब कुरा यी मानिसहरूमा पाउन सकिन्छ र तिनीहरूमा मानवजातिको सम्पूर्ण विद्रोहीपनको प्रतिनिधित्व भएको छ। तिनीहरू साँच्चै केही खास हुन्। यसर्थ, तिनीहरूलाई विजयको मुख्य प्रतीकका रूपमा खडा गरिन्छ, र तिनीहरूमाथि विजय हासिल गरिसकिएपछि तिनीहरू स्वाभाविक रूपमा अरूका लागि उदाहरण र नमुना बन्नेछन्। इस्राएलमा पहिलो चरण सम्पन्न गरिनुभन्दा बढी प्रतिनिधिमूलक अरू केही थिएन। इस्राएलीहरू सम्पूर्ण मानवजातिमध्ये सबैभन्दा शुद्ध र सबैभन्दा कम भ्रष्ट थिए, अनि त्यसैले यस भूमिमा त्यो अभूतपूर्वक काम गर्नुको अत्यन्तै ठूलो महत्त्व थियो। मानवजातिका पुर्खाहरू इस्राएलबाट आएका हुन्, र इस्राएल परमेश्‍वरको कामको जन्मथलो थियो भनेर भन्न सकिन्छ। सुरुमा, यी मानिसहरू सबैभन्दा शुद्ध थिए, र तिनीहरू सबैले यहोवाको आराधना गर्थे, अनि तिनीहरूमाथिको परमेश्‍वरको कामले सबैभन्दा ठूला परिणामहरू दिन सक्थ्यो। सम्पूर्ण बाइबलले दुई युगको कामलाई अभिलेख गर्छ: एउटा व्यवस्थाको युगको काम थियो, र अर्को अनुग्रहको युगको काम थियो। पुरानो करारले इस्राएलीहरूप्रति यहोवाका वचनहरू र इस्राएलमा उहाँको कामलाई अभिलेख गर्छ; नयाँ करारले यहूदियामा येशूको कामलाई अभिलेख गर्छ। तर बाइबलमा किन कुनै पनि चिनियाँ नामहरू छैनन्? किनभने परमेश्‍वरको कामका पहिलो दुई भाग इस्राएलमा गरिएका थिए, किनभने इस्राएलका मानिसहरू चुनिएका जन थिए—जसको अर्थ तिनीहरू यहोवाको काम स्विकार्ने पहिलो मानिस थिए। तिनीहरू सम्पूर्ण मानवजातिमध्ये सबैभन्दा कम भ्रष्ट थिए र सुरुमा, तिनीहरूसँग परमेश्‍वरतर्फ हेर्ने हृदय थियो, र तिनीहरूमा परमेश्‍वरको डर मान्ने हृदय पनि थियो। तिनीहरू यहोवाका वचनहरू पालन गर्थे, र सधैँ मन्दिरमा सेवा गर्थे, अनि पूजाहारीका पोसाक वा मुकुटहरू लगाउँथे। तिनीहरू परमेश्‍वरको आराधना गर्ने सबैभन्दा प्रारम्भिक मानिस, र उहाँको कामको सबैभन्दा प्रारम्भिक पात्र थिए। यी मानिसहरू सम्पूर्ण मानवजातिका लागि उदाहरण र नमुना थिए। तिनीहरू शुद्धताका, धर्मी मानिसहरूका उदाहरण र नमुना थिए। अय्यूब, अब्राहाम, लूत, पत्रुस वा तिमोथीजस्ता मानिसहरू—तिनीहरू सबै इस्राएली थिए र सबैभन्दा शुद्ध उदाहरण र नमुना थिए। इस्राएल मानवजातिमध्ये परमेश्‍वरको आराधना गर्ने सबैभन्दा प्रारम्भिक राष्ट्र थियो र अरू कतैबाट भन्दा यहाँबाट अझ बढी धर्मी मानिस आए। परमेश्‍वरले भविष्यमा आफूले सम्पूर्ण पृथ्वीभरि मानवजातिलाई अझ राम्ररी व्यवस्थापन गर्न सकूँ भनेर तिनीहरूमा काम गर्नुभयो। तिनीहरूका कार्यहरू र यहोवाको आराधना गर्दा तिनीहरूले गरेका धर्मी कार्यहरूलाई अभिलेख गरियो, ताकि तिनीहरूले अनुग्रहको युगको दौरान इस्राएलबाहिरका मानिसहरूका लागि उदाहरण र नमुनाका रूपमा काम गर्न सकून्; र तिनीहरूका कार्यहरूले आजको दिनसम्म केही हजार वर्षको काम कायम राख्ने काम गरेका छन्।

संसारको जग बसालिएपछि परमेश्‍वरको कामको पहिलो चरण इस्राएलमा गरियो, यसैले इस्राएल पृथ्वीमा परमेश्‍वरको कामको जन्म स्थान र पृथ्वीमा परमेश्‍वरको कामको आधार थियो। येशूको कामको क्षेत्रले सारा यहूदियालाई समेट्यो। उहाँको कामको अवधिमा यहूदियादेखि बाहिरका थोरै मानिसले मात्र त्यसबारेमा जान्दथे, किनकि उहाँले यहूदियाभन्दा बाहिर कुनै कार्य गर्नुभएन। आज परमेश्‍वरको काम चीनमा ल्याइएको छ, अनि यो पूर्ण रूपमा यही दायराभित्र मात्र गरिन्छ। यस चरणको अवधिमा, कुनै पनि काम चीनदेखि बाहिर सुरु गरिँदैन; यो चीनदेखि बाहिर फैलिने कार्य पछि हुने काम हो। यो चरणको काम येशूको कामको चरणबाट नै अगाडि बढ्छ। येशूले छुटकारा दिने काम गर्नुभयो, अनि यो चरणचाहिँ त्यही कामबाट अगाडि बढ्दछ; छुटकारा दिने काम पूरा भएको छ, र यो चरणमा पवित्र आत्माद्वारा गर्भधारण हुनुपर्ने आवश्यकता छैन, किनकि यो चरणको काम पहिलेको चरणको जस्तो होइन, अनि त्यसबाहेक, चीन इस्राएलजस्तो छैन। येशूले छुटकाराको कामको चरण पूरा गर्नुभयो। मानिसले येशूलाई देखे, अनि केही समयपछि नै उहाँको काम अन्यजातिहरूमा फैलिन थाल्यो। आज, अमेरिका, बेलायत र रसियामा परमेश्‍वरमाथि विश्‍वास गर्ने मानिसहरू धेरै छन्, त्यसो भए चीनमा चाहिँ विश्‍वास गर्नेहरूको सङ्ख्या किन थोरै छ त? किनकि चीन सबैभन्दा बन्द देश हो। यसैले चीन परमेश्‍वरको मार्गलाई स्वीकार गर्ने अन्तिम देश थियो, अहिले त्यसले परमेश्‍वरको मार्गलाई स्वीकार गरेको एक सय वर्ष पनि भएको छैन—अमेरिका र बेलायतभन्दा धेरै पछि मात्र यसले स्वीकार गरेको हो। परमेश्‍वरको काम समाप्त गर्न, अनि उहाँका सबै कामहरू पूरा गर्न उहाँको कामको अन्तिम चरण चीनमा गरिन्छ। इस्राएलका सबै मानिसहरूले यहोवालाई तिनीहरूका परमप्रभु भनी भने। त्यस बेला, तिनीहरूले उहाँलाई तिनीहरूका परिवारको प्रमुख मान्थे अनि सम्पूर्ण इस्राएल एउटा ठूलो परिवार बन्यो, जहाँ हरेकले तिनीहरूका परमप्रभु यहोवाको आराधना गर्थ्यो। यहोवाको आत्मा बारम्बार तिनीहरूकहाँ देखा पर्नुभयो, अनि उहाँले आफ्नो आवाज र वाणीहरूमा तिनीहरूसँग बोल्नुभयो, र तिनीहरूका जीवनलाई डोऱ्याउन बादलको खामो र आवाज प्रयोग गर्नुभयो। त्यस समय आत्माले आफ्‍नो आवाज र वाणीहरूमा मानिसहरूसँग बोल्दै इस्राएललाई आफ्‍नो अगुवाइ प्रत्यक्ष रूपमा प्रदान गर्नुभयो, अनि तिनीहरूले बादललाई हेर्थे र मेघगर्जनको आवाज सुन्थे, अनि यस तरिकाले उहाँले हजारौं वर्षसम्म तिनीहरूका जीवनलाई डोऱ्याउनुभयो। यसरी इस्राएलका मानिसहरूले मात्र सधैँ यहोवाको आराधना गरेका छन्। तिनीहरूले यहोवा तिनीहरूका परमेश्‍वर हुनुहुन्छ, र उहाँ अन्यजातिहरूका परमेश्‍वर हुनुहुन्‍न भनी विश्‍वास गर्थे। यो अचम्म मान्‍नुपर्ने विषय होइन: आखिर यहोवाले करिब चार हजार वर्षदेखि तिनीहरूका माझमा काम गर्नुभएको थियो। चीन देशमा, हजारौं वर्षको निष्क्रिय आलस्यपछि अहिले मात्र पतित मानिसहरूले स्वर्ग र पृथ्वी अनि सबै कुराहरू प्राकृतिक रूपमा बनेका नभई सृष्टिकर्ताले बनाउनुभएको हो भनी जान्‍न सकेका छन्। सुसमाचार विदेशबाट आएकोले ती सबै सामन्ती, प्रतिक्रियावादी सोच भएकाहरूले यो सुसमाचार ग्रहण गर्ने सबै विश्‍वासघाती हुन्, तिनीहरू सबै घृणित मानिसहरू हुन्, जसले तिनीहरूका पुर्खा बुद्धसँग विश्‍वासघात गरे भनी विश्‍वास गर्छन्। यसबाहेक, धेरै सामन्ती सोच भएकाहरूले सोध्छन्, “चिनियाँ मानिसहरूले विदेशीहरूको परमेश्‍वरमा कसरी विश्‍वास गर्न सक्छन्? के तिनीहरूले आफ्ना पितापुर्खाहरूसँग विश्‍वासघात गरिरहेका छैनन् र? के तिनीहरूले दुष्ट काम गरिरहेका छैनन् र?” आज, मानिसहरूले यहोवा तिनीहरूका परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा भुलेको धेरै भइसकेको छ। तिनीहरूले सृष्टिकर्तालाई तिनीहरूको मनमस्तिष्कको पछिल्तिर धकेलेको धेरै भइसकेको छ, बरु तिनीहरूले क्रमिक-विकासको सिद्धान्तमा, अर्थात् मानिस बाँदरबाट उत्पन्‍न भएको हो, अनि प्राकृतिक संसार स्वाभाविक रूपले बन्‍न आएको हो भनी विश्‍वास गर्छन्। मानवजातिले खाने सबै असल भोजनहरू प्रकृतिले जुटाएको हो, मानिसको जीवन र मृत्युको क्रम छ र यी सबैमाथि शासन गर्ने परमेश्‍वर छैन भनी तिनीहरू विश्‍वास गर्छन्। त्यसबाहेक, धेरै जना नास्तिकहरू छन्, जसले सबै कुरामाथि परमेश्‍वरले शासन गर्नुहुन्छ भनी विश्‍वास गर्नु अन्धविश्‍वास हो र यो वैज्ञानिक होइन भनी विश्‍वास गर्छन्। तर के विज्ञानले परमेश्‍वरको कामको स्थान लिन सक्छ? के विज्ञानले मानवजातिमाथि शासन गर्न सक्छ? नास्तिकहरूले शासन गरेको देशमा सुसमाचार प्रचार गर्नु सजिलो काम हुँदैन, र यसमा धेरै बाधाहरू हुन्छन्। आज, के यस्तो प्रकारले परमेश्‍वरको विरोध गर्ने धेरै छैनन् र?

जब येशू आफ्नो काम गर्न आउनुभयो, धेरै मानिसहरूले उहाँको कामलाई यहोवाको कामसँग तुलना गरे, अनि ती नमिलेको देखेर तिनीहरूले येशूलाई क्रूसमा झुण्ड्याए। तिनीहरूले उहाँहरूको काममा किन एकरूपता देखेनन्? किनकि येशूले गर्नुभएको काम केही हदसम्म नयाँ थियो, अनि येशूले आफ्नो काम सुरु गर्नुभन्दा अघि कसैले पनि उहाँको वंशावली लेखेको थिएन। यदि कसैले लेखेको भए राम्रो हुन्थ्यो, त्यसपछि त कसले पो येशूलाई क्रूसमा टाँग्‍नेथियो र? यदि मत्तीले दशकौं अघि नै येशूको वंशावली लेखेका भए येशूले त्यस्तो ठूलो सतावट सहनु पर्नेथिएन। होइन र? मानिसहरूले येशूको वंशावलीमा उहाँ अब्राहामका पुत्र र दाऊदको सन्तति हुनुहुन्छ भन्‍ने पढेपछि तिनीहरूले उहाँलाई सताउन छोड्नेथिए। उहाँको वंशावली धेरै ढिलो गरेर लेखिनु के दुःखद कुरा होइन र? अनि बाइबलले परमेश्‍वरको कामका दुई चरण मात्र उल्लेख गर्नु पनि दुःखद कुरा हो: एउटा चरण व्यवस्थाको युगको काम थियो र अर्को अनुग्रहको युगको काम थियो; एउटा चरण यहोवाको काम थियो, र अर्को येशूको काम थियो। यदि एक महान् अगमवक्ताले आजको कामको बारेमा अघिबाटै बताएका भए कति राम्रो हुनेथियो। बाइबलमा “आखिरी दिनहरूका काम” शीर्षकको अतिरिक्त खण्ड हुनेथियो—के त्यो अझ राम्रो हुने थिएन र? आज मानिसलाई किन त्यत्ति धेरै कठिनाइमा पार्नुपर्थ्यो र? तिमीहरूको समय धेरै कठिन भएको थियो। यदि कोही घृणा गरिने योग्यको छ भने तिनीहरू यशैया र दानिएल हुन्, किनकि उनीहरूले आखिरी दिनहरूका कामबारे बताएनन्, यदि कसैलाई दोष दिनुपर्छ भने तिनीहरू नयाँ करारका प्रेरितहरू हुन्, जसले परमेश्‍वरको दोस्रो देहधारणको वंशावली पहिले नै लेखेनन्। कति लाजमर्दो कुरा! तिमीहरूले सबैतिर प्रमाण खोज्नुपर्छ, र वचनहरूको स-साना खण्डहरू भेटेपछि पनि ती साँच्‍चै प्रमाण हुन्-होइनन् भनेर तिमीहरू भन्‍न सक्दैनौ। कस्तो लज्‍जास्पद! परमेश्‍वर उहाँको काममा किन त्यति गोपनीय हुनुहुन्छ? आज, धेरै मानिसहरूले निर्णायक सबुत प्राप्त गर्नु बाँकी नै छ, तापनि तिनीहरूले यसलाई इन्कार गर्न पनि सक्दैनन्। यसकारण तिनीहरूले के गर्नुपर्छ? तिनीहरू दृढ भएर परमेश्‍वरको पछि लाग्‍न सक्दैनन्, न त त्यस्तो शङ्कासित तिनीहरू अगि बढ्न नै सक्छन्। यसैले, परमेश्‍वरलाई पछ्याउने क्रममा “बुद्धिमान् र प्रतिभाशाली विद्वानहरू” ले “कोसिस गर्ने र हेर्ने” मनोवृति अपनाउँछन्। यो धेरै ठूलो समस्या हो! यदि मत्ती, मर्कूस, लूका र यूहन्नाले भविष्यको विषयमा बताउन सकेका भए के सबै कुरा धेरै सजिलो हुनेथिएन र? यदि यूहन्‍नाले परमेश्‍वरको राज्यको जीवनको भित्री सत्यता देखेका भए धेरै राम्रो हुनेथियो—कति दुःखको कुरा, तिनले दर्शनहरू मात्र देखे र पृथ्वीमा भएको वास्तविक, भौतिक काम देखेनन्। कस्तो लाजमर्दो कुरा! परमेश्‍वरमा के गलत छ? इस्राएलमा उहाँको काम राम्रोसँगले भए पनि उहाँ अहिले किन चीनमा आउनुभएको छ, अनि उहाँ किन मानिस बन्‍नुपऱ्यो, र किन व्यक्तिगत रूपले काम गर्दै मानिसहरूको माझमा बस्‍नुपऱ्यो? परमेश्‍वर मानिसप्रति अति विचारशून्य हुनुहुन्छ! उहाँले मानिसहरूलाई अघिबाटै नबताउनुभएको मात्र होइन, उहाँले त अचानक उहाँको सजाय र न्याय समेत ल्याउनुभयो। यसले वास्तवमा कुनै अर्थ दिँदैन! परमेश्‍वर पहिलोपल्ट देह बन्‍नुहुँदा उहाँले मानिसलाई अघिबाटै सबै भित्री सत्यता नबताउनुभएकोले गर्दा धेरै कष्ट भोग्‍नुपऱ्यो। निश्‍चय नै, त्यो उहाँले भुल्नुभएको छैन होला! अनि यसपटक पनि उहाँले किन मानिसलाई अझै यो कुरा भन्‍नुहुन्‍न? आज, कस्तो दुर्भाग्य, बाइबलमा छैसट्ठी वटा पुस्तक मात्र छन्। आखिरी दिनहरूका कामको भविष्यवाणी गर्ने अझै एउटा पुस्तक हुनु आवश्यक छ। के तँलाई यस्तो लाग्दैन र? यशैया, दाऊद अनि यहोवाले पनि आजको कामको बारेमा कुनै उल्लेख गर्नुभएन। ती वर्तमानबाट अझ पर हटाइए, चार हजार वर्षभन्दा बढी समयद्वारा अलग गरिए। न त येशूले पहिले नै आजको कामको बारेमा पूर्ण रूपले बताउनुभयो, त्यसबारेमा थोरै मात्र बोल्नुभयो, र पनि मानिसले अपर्याप्त प्रमाण मात्र भेट्छ। यदि तैँले आजको कामलाई पहिलेको कामसँग तुलना गरिस् भने ती दुई काम एकअर्कासँग कसरी मिल्‍न सक्छन्? यहोवाको कामको चरण इस्राएलतिर लक्षित थियो, यसैले यदि तैँले आजको कामलाई त्योसँग तुलना गरिस् भने अझ ठूलो बेमेल हुनेछ; ती दुईको तुलना गर्न नै सकिँदैन। न त तँ इस्राएलको होस्, न त तँ यहूदी नै होस्; तेरो क्षमता र तेरा सबै कुराहरूमा कमी छ—तिनीहरूको विरुद्ध तैँले आफैलाई कसरी तुलना गर्न सक्छस्? के यो सम्भव छ? यो जान् कि आज राज्यको युग हो, र यो व्यवस्थाको युग र अनुग्रहको युगभन्दा फरक छ। जे भए पनि, सूत्र प्रयोग गर्ने कोसिस नगर्; त्यस्ता कुनै पनि सूत्रमा परमेश्‍वरलाई पाउन सकिँदैन।

येशू उहाँको जन्मपछि २९ वर्षसम्म कसरी जिउनुभयो? बाइबलमा उहाँको बाल्यकाल र जवान अवस्थाको बारेमा केही पनि लेखिएको छैन; ती कस्ता थिए भनी के तँलाई थाहा छ? के उहाँको बाल्यकाल वा जवान अवस्था नै थिएन र उहाँ जन्मँदा नै तीस वर्षको हुनुहुन्थ्यो भन्‍ने हुन सक्छ? तँलाई अत्यन्तै थोरै मात्र थाहा छ, यसैले आफ्‍ना विचारहरू फैलाउन लापरवाही नगर्। त्यसले तेरो कुनै भलाइ गर्दैन! बाइबलमा यति मात्र लेखिएको छ कि येशूको ३०औं जन्म दिनअघि उहाँको बप्तिस्मा भएको थियो र शैतानको परीक्षा भोग्‍न उहाँ पवित्र आत्माद्वारा उजाड्-स्थानमा लगिनुभएको थियो। अनि चारवटा सुसमाचारका पुस्तकहरूले उहाँको साढे तीन वर्षको कामको मात्र वर्णन गर्छन्। उहाँको बाल्यकाल र जवान अवस्थाको कुनै विवरण छैन, तर यसले उहाँको बाल्यकाल र जवान अवस्था थिएन भन्‍ने प्रमाणित गर्दैन; यति मात्र हो कि उहाँले सुरुमा कुनै काम गर्नुभएन, र उहाँ एक सामान्य व्यक्ति हुनुहुन्थ्यो। त्यसो भए, येशू जवान अवस्था वा बाल्यकालविनै ३३ वर्ष जिउनुभयो भनेर भन्‍न सकिन्छ? के उहाँ अचानक साढे तेत्तीस वर्षको हुनुभयो भन्‍ने हुन सक्छ? मानिसले उहाँको बारेमा सोच्ने सबै कुरा अलौकिक र अवास्तविक छ। देहधारी परमेश्‍वरमा साधारण र सामान्य मानवता हुन्छ भन्‍ने कुरामा कुनै शङ्का छैन, तर जब उहाँले आफ्नो काम गर्नुहुन्छ तब त्यो सीधै उहाँको अपूर्ण मानवता र पूर्ण ईश्‍वरत्वद्वारा हुन्छ। यसैकारणले गर्दा मानिसहरूले आजको कामको बारेमा, अनि येशूको कामको बारेमा समेत शङ्का गर्छन्। परमेश्‍वर दुईचोटि देह बन्‍नुभएको समयका कामहरू फरकफरक भए पनि उहाँको सार फरक छैन। निश्‍चय नै, यदि तैँले चारवटा सुसमाचारका पुस्तकहरू पढिस् भने भिन्‍नताहरू ठूला छन्। येशूको जीवनको बाल्यकाल र जवान अवस्थामा तँ कसरी फर्कन सक्छस्? तैँले येशूको सामान्य मानवतालाई कसरी बुझ्न सक्छस्? सायद तँमा आजको परमेश्‍वरको मानवतासम्‍बन्धी बलियो ज्ञान छ, तापनि तैँले येशूको मानवतालाई बुझेको छैनस्, यसलाई राम्ररी जान्‍ने कुरा त परै जाओस्। यदि मत्तीले नलेखेका भए तैँले येशूको मानवताको बारेमा कुनै सङ्केत पाउने थिएनस्। सायद, मैले तँलाई येशूको जीवनका कथाहरू, र येशूको जीवनको बाल्यकाल र जवान अवस्थाका भित्री सत्यताहरू बताउँदा तैँले आफ्नो शिर हल्लाउँदै भन्‍नेछस्, “होइन, उहाँ त्यस्तो हुन सक्‍नुहुन्‍न। उहाँमा कुनै कमजोरी हुन सक्दैन, उहाँमा मानवता हुने त कुरै नगरौँ!” तँ सायद जोडले कराउने र चिच्याउने पनि छस्। तैँले येशूलाई बुझ्दैनस्, त्यसकारण मबारे पनि तँमा अनेक धारणाहरू छन्। तँ येशू अत्यन्तै ईश्‍वरीय हुनुहुन्छ, उहाँमा देहको केही पनि छैन भन्‍ने विश्‍वास गर्छस्। तर तथ्यहरू सधैँ तथ्यहरू नै हुन्छन्। कोही पनि तथ्यको सत्यताको विरुद्ध बोल्न चाहँदैन, किनकि जब म बोल्दछु, त्यो सत्यको विषयमा हुन्छ; त्यो अनुमान हुँदैन, न त त्यो अगमवाणी नै हुन्छ। यो जान् कि परमेश्‍वर उच्‍च स्थानहरूमा उक्लन सक्‍नुहुन्छ, र त्यसबाहेक उहाँ ठूलो गहिराइमा लुक्‍न सक्‍नुहुन्छ। उहाँ तैँले तेरो दिमागले सोच्‍न सक्‍ने किसिमको हुनुहुन्‍न, उहाँ सबै सृष्टि गरिएका प्राणीहरूका परमेश्‍वर हुनुहुन्छ, कुनै व्यक्तिले सोचेको जस्तो व्यक्तिगत परमेश्‍वर हुनुहुन्‍न।

अघिल्लो: परमेश्‍वरको कामको दर्शन (१)

अर्को: परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्