परमेश्‍वरको कामको दर्शन (१)

यूहन्नाले सात वर्ष येशूका निम्ति काम गरे, अनि येशू आउनुहुँदा अघिबाटै बाटो तयार पारिसकेका थिए। योभन्दा अघि यूहन्नाले प्रचार गरेका स्वर्ग राज्यको सुसमाचार सारा देशभरि सुनिएको थियो, यसरी यो यहूदियाभरि फैलियो, अनि सबैले तिनलाई अगमवक्ता भन्थे। त्यस बेला, राजा हेरोदले यूहन्नाको हत्या गर्न खोजे, तापनि उनले साहस गरेनन्, किनकि मानिसहरूले तिनलाई उच्च आदर गर्थे, र उनले यूहन्नालाई मारे भने मानिसहरूले तिनको विरुद्ध विद्रोह गर्नेछन् भनी हेरोद डराए। यूहन्नाले गरेका कामले सर्वसाधारण मानिसहरूमा जरा गाड्यो, अनि तिनले यहूदीहरूलाई विश्‍वासी बनाए। किनकि तिनले सात वर्षसम्म येशूको निम्ति बाटो तयार गरे, ठीक त्यस बेलासम्म जब येशूले आफ्‍नो सेवकाइ सुरु गर्नुभयो। यही कारणले गर्दा यूहन्ना अगमवक्ताहरूमध्ये सबैभन्दा महान् थिए। यूहन्ना झ्यालखानमा परेपछि मात्र येशूले आफ्नो औपचारिक काम सुरु गर्नुभयो। यूहन्नाभन्दा अघि परमेश्‍वरका निम्ति बाटो तयार पार्ने कुनै अगमवक्ता थिएन, किनकि येशूभन्दा अघि परमेश्‍वर कहिल्यै पनि देह बन्नुभएको थिएन। यसैले यूहन्नासम्मका सबै अगमवक्ताहरूमध्ये तिनी देहधारी परमेश्‍वरका निम्ति बाटो तयार पार्ने एक मात्र व्यक्ति थिए, र यसरी, यूहन्ना पुरानो र नयाँ करारका सबैभन्दा महान् अगमवक्ता बने। येशूको बप्तिस्मा हुनुभन्दा सात वर्ष अघिदेखि नै यूहन्नाले स्वर्ग राज्यको सुसमाचार फैलाउन थालेका थिए। तिनले गरेका काम मानिसहरूका निम्ति पछिबाट गरिएको येशूको कामभन्दा माथि देखिन्थ्यो, तापनि तिनी अगमवक्ता मात्रै थिए। तिनले मन्दिरभित्र होइन तर सहर र त्यसदेखि बाहिर काम गरे र बोले। निश्‍चय नै, यो तिनले यहूदी जातिहरूको बीचमा गरे, विशेष गरी तिनीहरूका माझमा जो गरिब थिए। यूहन्ना समाजका उच्च वर्गका मानिसहरूको सम्पर्कमा बिरलै आए, अनि तिनले यहूदियाका साधारण मानिसहरूका बीचमा मात्र सुसमाचार प्रचार गर्दथे। तिनले प्रभु येशूका निम्ति सही मानिसहरू तयार गर्न अनि उहाँले काम गर्ने उपयुक्त स्थानहरू तयार पार्न यसो गरेका थिए। यूहन्नाजस्तो अगमवक्ताले मार्ग तयार गरेको हुनाले, प्रभु येशूले आउनसाथ सीधै आफ्‍नो क्रूसको बाटो हिँड्न सुरु गर्न सक्नुभयो। जब परमेश्‍वर आफ्नो काम गर्न देह बन्नुभयो, त्यसबेला उहाँले मानिसहरू चुन्‍ने काम गरिरहनु परेन, न त उहाँ आफैले मानिसहरू वा काम गर्ने ठाउँ नै खोज्नु पऱ्यो। उहाँ आउनुहुँदा उहाँले त्यस्ता कामहरू गर्नुभएन; उहाँ आउनुभन्दा अघि नै सही व्यक्तिले उहाँका निम्ति ती कुराहरू तयार पारिसकेका थिए। येशूले आफ्नो काम सुरु गर्नुभन्दा अघि नै यूहन्नाले यो काम पूरा गरिसकेका थिए, किनकि जब देहधारी परमेश्‍वर आफ्‍नो काम गर्न आउनुभयो, उहाँले तिनीहरूकहाँ गएर सीधै आफ्नो काम सुरु गर्नुभयो जसले उहाँलाई पर्खिरहेका थिए। येशू मानिसलाई शुद्धीकरण गर्ने काम गर्न आउनुभएको थिएन। उहाँ त्यो सेवकाइ गर्न मात्र आउनुभयो जुन उहाँले गर्नुपर्थ्यो; अरू कुनै पनि कुराको उहाँसित कुनै सम्बन्ध थिएन। जब यूहन्ना आए तब तिनले केही पनि गरेनन्, तर प्रभु येशूको कामको पात्र बन्न सकून् भनी मन्दिर र यहूदीहरूको झुन्डबाट ती मानिसहरूलाई बाहिर निकाले जसले स्वर्ग राज्यको सुसमाचार ग्रहण गरेका थिए। यूहन्नाले सात वर्षसम्म काम गरे, जसको अर्थ, तिनले सात वर्षसम्‍म सुसमाचार प्रचार गरे भन्ने हो। तिनको कामको अवधिमा यूहन्नाले धेरै आश्‍चर्यकर्महरू गरेनन्, किनकि तिनको काम भनेको बाटो तयार पार्नु थियो; तिनको काम तयारी गर्ने काम थियो। अरू सबै काम येशूले गर्न लाग्नुभएको काम, तिनीसित सम्बन्धित थिएन; तिनले मानिसहरूलाई तिनीहरूको पाप स्वीकार गर्न र पश्‍चात्ताप गर्न मात्र लगाए अनि मानिसहरूले मुक्ति पाउन सकून् भनी तिनीहरूलाई बप्तिस्मा दिए। तिनले नयाँ काम गरे अनि मानिसले पहिले कहिल्यै नहिँडेको बाटो खोलेको भए तापनि तिनले येशूको निम्ति बाटो मात्रै तयार पारे। तिनी तयारीको काम गर्ने अगमवक्ता मात्र थिए, अनि तिनी येशूले गर्ने काम गर्न असक्षम थिए। स्वर्ग राज्यको सुसमाचार प्रचार गर्ने पहिलो व्यक्ति येशू हुनुहुन्नथियो तापनि उहाँले त्यही बाटोलाई अगाडि बढाउनुभयो जुन यूहन्नाले सुरु गरेका थिए, अझै पनि उहाँको काम गर्न सक्‍ने कोही पनि थिएन, र त्यो यूहन्नाको कामभन्दा उच्च थियो। येशूले आफ्नो बाटो आफै तयार गर्न सक्नुभएन; उहाँको काम सीधै परमेश्‍वरको पक्षमा गरिएको थियो। यसैले यूहन्नाले जति वर्ष काम गरेका भए पनि तिनी एक अगमवक्ता र बाटो तयार पार्ने मानिस नै थिए। येशूले गर्नुभएको तीन वर्षे कामले यूहन्नाले सात वर्षसम्म गरेका कामलाई उछिन्यो, किनकि उहाँको कामको सार त्यस्तै थिएन। येशूले आफ्नो सेवकाइ गर्न थाल्नुहुँदा यूहन्नाको काम समाप्त भएको थियो, त्यस बेलासम्‍म यूहन्नाले प्रभु येशूको प्रयोगका निम्ति प्रशस्त मानिस र स्थानहरू तयार पारिसकेका थिए, र तीन वर्षको काम सुरु गर्नका निम्ति ती सब प्रभु येशूका निम्ति पर्याप्त थिए। अनि यसरी, यूहन्नाको काम समाप्त हुनसाथै प्रभु येशूले औपचारिक रूपमा उहाँको आफ्नो काम सुरु गर्नुभयो, अनि यूहन्‍नाद्वारा बोलिएका वचनहरूलाई पर पन्छाइए। किनकि यूहन्‍नाद्वारा गरिएको काम परिवर्तनका निम्ति मात्र थियो, र तिनका वचनहरू मानिसलाई नयाँ वृद्धितिर डोर्याउने जीवनका वचनहरू थिएनन्, आखिर, तिनका वचनहरू अस्थायी प्रयोगका निम्ति मात्रै थिए।

येशूले गर्नुभएको काम अलौकिक थिएन; त्यसको प्रक्रिया थियो, र यो सबै कुराहरूको सामान्य नियम बमोजिम बढ्दै गयो। येशूले उहाँको जीवनको अन्तिम छ महिना सम्‍ममा, उहाँ यो काम गर्न आउनुभएको हो भन्‍ने निश्‍चित रूपमा जान्नुभयो, अनि उहाँ क्रूसमा टाँगिन आउनुभएको हो भनी जान्नुभयो। जसरी उहाँले गेतसमनीको बगैंचामा तीन पल्ट प्रार्थना गर्नुभयो त्यसरी नै उहाँ क्रूसमा टाँगिनुभन्दा अघि पनि येशूले निरन्तर पिता परमेश्‍वरसित प्रार्थना गर्नुभयो। बप्तिस्मापछि येशूले साढे तीन वर्षसम्‍म आफ्नो सेवकाइ गर्नुभयो, र उहाँको आधिकारिक काम साढे दुई वर्षसम्‍म जारी रह्यो। पहिलो वर्षको अवधिमा उहाँलाई शैतानले दोष लगायो, मानिसहरूले सताए अनि उहाँ मानिसको परीक्षामा पर्नुभयो। उहाँले आफ्‍नो काम गर्नुहुँदा उहाँले धेरै वटा परीक्षामाथि विजय पाउनुभयो। अन्तिम छ महिनामा, जब येशू चाँडै क्रूसमा टाँगिन लाग्नुभएको थियो त्यसबेला पत्रुसको मुखबाट उहाँ जीवित परमेश्‍वरका पुत्र हुनुहुन्छ, उहाँ ख्रीष्ट हुनुहुन्छ भन्ने वचन निस्कियो। तब मात्र उहाँको कामको बारेमा सबैले जाने, अनि त्यसबेला मात्र उहाँको पहिचान प्रकट भयो। त्यसपछि, येशूले आफ्ना चेलाहरूलाई उहाँ मानिसको निम्ति क्रूसमा टाँगिनुपर्छ, र तेस्रो दिनमा उहाँ फेरि जीवित हुनुहुनेछ; उहाँ उद्धारको काम पूरा गर्न आउनुभएको हो, र उहाँ उद्धारकर्ता हुनुहुन्थ्यो भनी भन्‍नुभयो। अन्तिम छ महिनामा मात्र उहाँले आफ्नो पहिचान र उहाँले गर्न चाहनुभएको कामबारे प्रकट गर्नुभयो। यो परमेश्‍वरको समय पनि थियो, अनि काम त्यसरी नै गर्नु पर्नेथियो। त्यस बेला, येशूको कामका केही भाग पुरानो करार, साथै मोशाको व्यवस्था र व्यवस्थाको युगको अवधिमा दिइएको यहोवाको वचनअनुसार थियो। येशूले उहाँको भागको काम गर्न यी सबै कुराहरू प्रयोग गर्नुहुन्थ्यो। उहाँले मानिसहरूलाई प्रचार गर्नुभयो र सभाघरहरूमा तिनीहरूलाई शिक्षा दिनुभयो, अनि उहाँसित शत्रुतामा रहेका फरिसीहरूलाई हप्काउन उहाँले पुरानो करारका अगमवक्ताहरूका भविष्यवाणीहरू प्रयोग गर्नुभयो, अनि तिनीहरूका अनाज्ञाकारिता प्रकट गर्न र तिनीहरूलाई दोषी ठहर्‍याउन उहाँले पवित्र-शास्‍त्रका वचनहरू प्रयोग गर्नुभयो। किनकि येशूले जे गर्नुभएको थियो त्यसलाई तिनीहरू तुच्छ ठान्थे; विशेष गरी, येशूका धेरै वटा कामहरू पवित्रशास्‍त्रको व्यवस्थाअनुसार गरिएको थिएन, अनि यसबाहेक, उहाँले जे सिकाउनुभयो ती तिनीहरूका आफ्नै वचनभन्दा उच्च थिए, अनि पवित्रशास्‍त्रमा अगमवक्ताहरूले गरेका भविष्यवाणीका वचनहरूभन्दा उच्च थिए। येशूको काम मानिसको छुटकारा र उहाँको क्रूसीकरणको निम्ति मात्र थियो, यसैले उहाँले कुनै मानिसलाई जित्नका निम्ति धेरै कुराहरू भन्नु आवश्यक थिएन। उहाँले मानिसलाई सिकाउनुभएका धेरै कुरा पवित्र-शास्‍त्रका वचनहरूबाट लिइएका थिए, अनि उहाँका कामहरू पवित्र-शास्‍त्रका वचनहरूभन्दा उत्तम नभए पनि उहाँले क्रूसीकरणको कामलाई पूरा गर्न सक्‍नुभयो। उहाँको काम वचनको थिएन, न त मानव जातिलाई जित्नु नै थियो, तर मानव जातिलाई छुटकारा दिनका निम्ति गरिएको काम थियो। उहाँले मानव जातिका निम्ति पापबलिको रूपमा मात्र काम गर्नुभयो, अनि मानव जातिका निम्ति वचनको स्रोतको रूपमा काम गर्नुभएन। उहाँले अन्यजातिहरूको काम गर्नुभएन, जुन मानिसहरूलाई जित्ने काम थियो, तर क्रूसमा टाँगिने काम गर्नुभयो, यो काम तिनीहरूका माझमा गरियो जसले परमेश्‍वर हुनुहुन्छ भन्‍ने विश्‍वास गरे। उहाँको काम पवित्रशास्‍त्रको आधारमा गरिएको भए पनि, अनि फरिसीहरूलाई दोषी ठहर्‍याउन उहाँले प्राचीन अगमवक्ताहरूले भविष्यवाणी गरेका वचनहरू प्रयोग गर्नुभए पनि क्रूसीकरणको काम पूरा गर्न यो नै पर्याप्त थियो। यदि आजको काम पवित्रशास्‍त्रमा प्राचीन अगमवक्ताहरूले गरेका भविष्यवाणीहरूको आधारमा गरिन्थ्यो भने तिमीहरूलाई जित्न असम्भव हुने थियो, किनकि पुरानो करारमा तिमी चिनियाँ मानिसहरूका अनाज्ञाकारिता र पापको बारेमा उल्लेख छैन, अनि तिमीहरूका पापको कुनै इतिहास छैन। यसैले, यदि बाइबलमा यो काम अझै रहिरहन्थ्यो भने तिमीहरूले कहिल्यै पनि समर्पण गर्ने थिएनौ। बाइबलले इस्राएलीहरूको सीमित इतिहास मात्र उल्लेख गर्दछ, जसले तिमीहरू खराब कि असल छौ भनी प्रमाणित गर्न वा तिमीहरूको न्याय गर्न सक्दैन। कल्पना गर, यदि मैले इस्राएलीहरूको इतिहासअनुसार तिमीहरूको न्याय गर्नु पऱ्यो भने के तिमीहरू आज जस्तै मेरो पछि लाग्नेछौ? तिमीहरू कति कठोर छौ भन्ने कुरा के तिमीहरू जान्दछौ? यदि यो चरणमा कुनै वचन बोलिएन भने विजयको काम पूरा गर्न असम्भव हुनेछ। म क्रूसमा टाँगिन आएको होइनँ, त्यसैले मैले ती वचनहरू बोल्नैपर्छ, जुन बाइबलको भन्दा अलग छन्, ताकि तिमीहरूलाई जित्न सकियोस्। येशूले गर्नुभएको काम एउटा चरण हो, जुन पुरानो करारभन्दा उच्च छ; त्यो नयाँ युग सुरु गर्न र त्यस युगलाई डोर्याउनका निम्ति प्रयोग गरिएको थियो। उहाँले किन यसो भन्नुभयो, “म व्यवस्थालाई रद्द गर्न आएको होइनँ, तर व्यवस्था पूरा गर्न आएको हुँ?” तापनि उहाँको काम पुरानो करारका इस्राएलीहरूले अभ्यास गरेका व्यवस्थाहरू र पालन गरेका आज्ञाहरू भन्दा धेरै फरक थियो, किनकि उहाँ व्यवस्था पालन गर्न आउनुभएको थिएन, तर त्यो पूरा गर्न आउनुभएको थियो। त्यो पूरा गर्ने प्रक्रियामा धेरै वटा व्यावहारिक कुराहरू सामेल थिए: उहाँको काम अझै बढी व्यावहारिक र वास्तविक थियो, अनि यसबाहेक, त्यो अझै बढी जीवित थियो, अनि यो नियमहरूको अन्धो पालना थिएन। के इस्राएलीहरूले शबाथ पालन गरेनन् र? जब येशू आउनुभयो, उहाँले शबाथ पालन गर्नुभएन, किनकि उहाँले मानिसको पुत्र शबाथका प्रभु हुन् भनी भन्नुभयो, अनि जब शबाथका प्रभु आउनुभयो, उहाँले आफ्नो चाहनाअनुसार गर्नुभयो। उहाँ पुरानो करारका व्यवस्थाहरू पूरा गर्न र त्यो व्यवस्था बदल्न आउनुभएको थियो। आज जे गरिन्छ ती सबै वर्तमानमा आधारित छन्, तापनि यो परमेश्‍वरले व्यवस्थाको युगमा गर्नुभएको कामको जगमा आधारित छ, अनि यसले यो क्षेत्रलाई नाघ्दैन। उदाहरणका निम्ति, तिमीहरूको जिब्रोलाई वशमा राख्‍नू, व्यभिचार नगर्नू—के यी पुरानो करारका व्यवस्थाहरू होइनन् र? आज, तिमीहरूले गर्नुपर्ने कार्यचाहिँ दस आज्ञामा मात्र सीमित छैन, तर अघिबाट आएकोभन्दा उच्च व्यवस्थाका आज्ञाहरू र नियमहरू सामेल छन्। तापनि यसको अर्थ पहिलेबाट आएको कुरा रद्द गरियो भन्ने होइन, किनकि परमेश्‍वरको कामको हरेक चरण पहिलेबाट आएको चरणको जगमा पूरा गरिन्छ। परमेश्‍वरले इस्राएलीहरूको अघि जुन कुरा राख्नुभयो, जस्तै मानिसहरूले बलि चढाउने, बाबु र आमालाई आदर गर्ने, मूर्तिपूजा नगर्ने, अरूलाई आक्रमण नगर्ने वा नसराप्ने, व्यभिचार नगर्ने, धूम्रपान वा मद्यपान नगर्ने, सिनु नखाने वा रगत नपिउने—के यसले आज पनि तिमीहरूले गर्ने अभ्यासको जग बनाउँदैन र? विगतको जगमाथि नै आजसम्म काम पूरा गरिँदैआएको छ। विगतका व्यवस्थाहरू उल्लेख नगरिए पनि र तँबाट नयाँ मागहरू गरिएको भए पनि यी व्यवस्थाहरूलाई रद्द गर्नुको सट्टा उच्च स्तरमा उचालिएका छन्। तिनलाई रद्द गरिएका छन् भन्नुको अर्थ पहिलेका युगहरू पुराना भए भन्ने हुन्छ, जबकी केही यस्ता आज्ञाहरू छन् जसलाई तैँले सारा अनन्तताभरि सम्मान गर्नुपर्छ। विगतका आज्ञाहरू पहिलेबाटै प्रयोगमा ल्याइएका छन्, जुन अघिबाटै मानिसको अस्तित्व बनेको छ, अनि केही आज्ञाहरूमाथि विशेष जोड् दिइरहनु आवश्यक छैन, जस्तै “धूम्रपान नगर्नू” र “मद्यपान नगर्नू,” आदि। तिमीहरूको आजका खाँचोहरू, तिमीहरूको कदअनुसार अनि आजको कामअनुसार यही जगमाथि नयाँ आज्ञाहरू प्रस्तुत गरिएका छन्। नयाँ युगका निम्ति आज्ञाहरू जारी गर्नुको अर्थ पुरानो युगका आज्ञाहरू खारिज गर्नु होइन, तर त्यही जगमाथि तिनलाई अझ उच्च स्तरमा उठाउनु र मानिसका कार्यहरूलाई अझै पूर्ण र वास्तविकतासँग अझ बढी मिल्दोजुल्दो बनाउनु हो। यदि तिमीहरूले आज इस्राएलीहरूले जस्तो आज्ञाहरू पालन गर्नु र पुरानो करारका व्यवस्था पालन गर्नु मात्र आवश्यक हुन्थ्यो भने, र यदि तिमीहरूले यहोवाले दिनुभएका व्यवस्थाहरू कण्ठ गर्नुपर्थ्यो भने, तिमीहरू परिवर्तन हुने कुनै सम्भावना हुने थिएन। यदि तिमीहरू ती थोरै आज्ञाहरू पालन गर्नुमा र असङ्ख्यौं व्यवस्थाहरू कण्ठ गर्नुमा सीमित हुन्थ्यौ भने तिमीहरूको पुरानो स्वभाव भित्र गढेर बस्ने थियो, र त्यसलाई जैदेखि उखेल्ने कुनै उपाय हुने थिएन। फलस्वरूप, तिमीहरू अझ भ्रष्ट बन्‍नेथियौ, अनि तिमीहरूमध्ये कोही पनि आज्ञाकारी बन्ने थिएनौ। भन्नुको अर्थ यो हो, कि केही साधारण आज्ञाहरू वा अनगन्ती व्यवस्थाहरूले तिमीहरूलाई यहोवाको काम बुझ्न सहायता गर्न सक्दैनन्। तिमीहरू इस्राएलीहरू जस्तो छैनौ: व्यवस्था पालन गरेर अनि आज्ञाहरू कण्ठ गरेर तिनीहरूले यहोवाका कामहरू देख्‍न र उहाँलाई मात्र तिनीहरूका भक्ति दिन सके। तर तिमीहरू यो प्राप्त गर्न सक्दैनौ, अनि पुरानो करारको युगका थोरै आज्ञाहरू तिमीहरूका हृदय अर्पण गर्न लाउनु वा तिमीहरूको रक्षा गर्न मात्र असक्षम छैन, तर त्यसले तिमीहरूलाई लापरवाही बनाउँछ, र तिमीहरूलाई पातालमा पुर्याउँछ। किनकि मेरो कामचाहिँ विजय गर्ने काम हो र त्यो तिमीहरूको अनाज्ञाकारिता र पुरानो स्वभावप्रति लक्षित छ। यहोवा र येशूका दयालु वचनहरू आजको न्यायका कठोर वचनहरूसम्‍म पुग्‍न चुक्‍छ। त्यस्ता कठोर वचनहरूविना तिमी “विशेषज्ञहरू” लाई जित्न असम्भव हुनेथियो, जो हजारौं वर्षदेखि अनाज्ञाकारी भएका छौ। पुरानो करारको व्यवस्थाले धेरै अघि नै तिमीहरूमाथिको आफ्नो शक्ति गुमाइसकेको छ, अनि आजको न्याय पुरानो व्यवस्थाको भन्दा धेरै भयानक छ। तिमीहरूलाई धेरै उपयुक्त हुनेचाहिँ न्याय नै हो, व्यवस्थाका नगण्य प्रतिबन्धहरू होइनन्, किनकि तिमीहरू आदीकालका मानव जाति होइनौ, तर हजारौं वर्षदेखि भ्रष्ट हुँदैआएका मानव जाति हौ। मानिसले आज जे प्राप्त गर्नुपर्छ त्यो आजको मानिसको वास्तविक अवस्थासँग मिल्दोजुल्दो, अहिलेको मानिसको क्षमता र वास्तविक कदअनुसारको छ, अनि यसका निम्ति तैँले नियमहरू पालन गर्नुपर्दैन। यो तेरा पुरानो स्वभावमा परिवर्तन हासिल गर्न सकियोस् भनेर, अनि तेरा विचारहरूलाई पर पन्साउनका सकियोस् भनेर हो। के तँ ती आज्ञाहरू नियमहरू हुन् भनी सोच्छस्? ती मानिसलाई दिइएका सामान्य आवश्यकताहरू हुन् भनेर भन्‍न सकिन्छ। ती तैँले पालन गर्नैपर्ने नियमहरू होइनन्। उदाहरणको लगि, चुरोट पिउन निषेध गरिएको कुरालाई लिऔं—के यो नियम हो? यो नियम होइन। यो सामान्य मानवताले माग गरेको कुरा हो; यो नियम होइन, तर सारा मानवतालाई प्रतिबन्ध लगाइएको कुरा हो। आज प्रस्तुत गरिएका दर्जनौं वा त्योभन्दा बढी आज्ञाहरू पनि नियमहरू होइनन्, ती सामान्य मानवता प्राप्त गर्न चाहिने कुराहरू हुन्। विगतमा मानिसहरूमा यस्ता कुराहरू थिएनन् वा तीबारे तिनीहरूले जान्दैन थिए, यसैले आज मानिसहरूले ती कुरा प्राप्त गर्नु आवश्यक छ, अनि त्यस्ता कुराहरूलाई नियमको रूपमा मानिँदैन। व्यवस्थाहरू नियमहरूजस्ता होइनन्। मैले जुन नियमहरूको कुरा गर्दैछु, ती विधिविधानहरू, औपचारिकताहरू वा मानिसको भ्रष्ट र गलत अभ्यासहरू हुन्; ती त्यस्ता नियम र कानुनहरू हुन् जसले मानिसलाई कुनै सहायता गर्दैन, उसलाई फाइदा हुँदैन, तिनले काम गर्ने यस्तो मार्ग बनाउँछन् जसको कुनै अर्थ हुँदैन। नियमहरूको सार यही नै हो, र त्यस्ता नियमहरूलाई त्यागिदिनुपर्छ, किनकि तिनले मानिसलाई कुनै फाइदा गराउँदैन। जुन कुराले मानिसलाई फाइदा गराउँछ त्यसलाई नै व्यवहारमा लागू गर्नुपर्छ।

अघिल्लो: परमेश्‍वरको कामको दर्शन (२)

अर्को: काम र प्रवेश (२)

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

आज तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्ने र जान्ने प्रयास गर्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधनलाई सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले...

परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको...

अध्याय १०

आखिर, राज्यको युग विगतका समयहरूभन्दा फरक छ। मानवजातिले कस्तो व्यवहार गर्छ त्यससँग यसले सरोकार राख्दैन; बरु, म मेरो काम गर्नको लागि...

विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

तैँले कति वटा धार्मिक अभ्यासहरू पालना गर्छस्? तैँले कति पल्ट परमेश्‍वरको वचन विरुद्ध विद्रोह गरेको छस् र आफ्नै बाटोमा हिँडेको छ? तैँले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्