काम र प्रवेश (१०)

मानवजातिले यतिसम्म प्रगति गर्नु पूर्वाभास विनाको अवस्था हो। परमेश्‍वरको काम र मानिसको प्रवेश काँधमा काँध मिलाएर अगाडि बढ्छ र यसैले परमेश्‍वरको काम पनि एक अतुलनीय भव्य घटना हो। मानिसको प्रवेश आजको दिनसम्म मानिसले कहिल्यै कल्पना नगरेको आश्‍चर्य हो। परमेश्‍वरको काम चरम बिन्दुमा पुगेको छ—र सोही अनुरूप मानिसको “प्रवेश”[१] पनि शिखरमा पुगेको छ। परमेश्‍वरले उहाँले सक्नुभएसम्म आफूलाई होच्याउनुभएको छ र उहाँले कहिल्यै पनि मानवजाति वा ब्रह्माण्ड र सबै थोकको विरोध गर्नुभएको छैन। यसैबीच, मानिस परमेश्‍वरको शिरमा चढेको छ र परमेश्‍वरमाथिको मानिसको थिचोमिचो शिखरमा पुगेको छ; सबै शिखरमा पुगेको छ र धार्मिकताको दिन देखा पर्ने समय भएको छ। किन निरन्तर भूमिलाई उदासीले छोप्‍न र सबै मानिसहरूलाई अन्धकारले ढाक्‍न दिने? परमेश्‍वरले कैयौँ हजार वर्षदेखि हेर्दै आउनुभएको छ—दशौँ हजार वर्षदेखि पनि हुन सक्छ—अनि लामो समयदेखि उहाँको सहनशीलता सीमामा पुगेको छ। उहाँले मानवजातिको हरेक चाल हेर्दै आउनुभएको छ, उहाँले मानवजातिको अधर्मले कति लामो समय उपद्रव गर्छ भनी हेर्दै आउनुभएको छ, तैपनि लामो समयदेखि लाटिएको मानिसले केही पनि महसुस गर्दैन। अनि परमेश्‍वरका कामहरूलाई कसले अवलोकन गरेको छ र? कसले आफ्ना आँखा उठाएर टाढा हेरेको छ र? कसले कहिल्यै ध्यान दिएर सुनेको छ र? को परमप्रभुको हातमा कहिल्यै परेको छ र? मानिसहरू सबै काल्पनिक डरहरूले ग्रस्त[२] छन्। नल र परालको थुप्रोको के काम? तिनीहरूले गर्न सक्ने एउटै कुरा भनेको परमेश्‍वरलाई यातना दिएर मार्नु मात्र हो। तिनीहरू नल र परालको थुप्रो मात्र भए तापनि तिनीहरूले “सर्वोत्तम”[३] तरिकाले गर्न सक्‍ने एउटा कुरा अझ बाँकी छ: परमेश्‍वरलाई यातना दिएर मार्नु अनि “यसले मानिसहरूको हृदयलाई हर्षित तुल्याउँछ” भनेर चिच्याउनु। कस्ता झिँगे सिपाही र गँगटे जर्नलहरू! आश्चर्य रूपले, मानिसहरूको अटुट हुलमाझ, अभेद्य घेराबन्दीले उहाँलाई घेर्दै तिनीहरूले आफ्नो ध्यान परमेश्‍वरतर्फ केन्द्रित गर्छन्। तिनीहरूको जोश अझ तातो गरी बलिरहेको छ,[४] तिनीहरूले परमेश्‍वरलाई हुलका हुल गरेर घेरेका छन्, ताकि उहाँ एक इन्च पनि हलचल गर्न नसकून्। तिनीहरूका हातमा हरप्रकारका हतियारहरू छन् र परमेश्‍वरलाई तिनीहरू आफ्ना आँखा रिसले भरेर कुनै शत्रुलाई हेरेझैँ हेर्छन्; तिनीहरू “परमेश्‍वरका हातखुट्टा चुँड्न” आतुर छन्। कस्तो अचम्म! मानिस र परमेश्‍वर किन यसरी मिल्नै नसक्‍ने शत्रुहरू बने? के यो सबैभन्दा प्रेमिलो परमेश्‍वर र मानिसबीच रिसिबीको कारणले भएको हो? के परमेश्‍वरका कार्यहरू मानिसको लागि फाइदाजनक नभएकोले गर्दा हो? के तिनले मानिसलाई हानि गर्छन्? परमेश्‍वरले मानिसको घेराबन्दी तोड्नुहोला, तेस्रो स्वर्गमा फर्कनुहोला र फेरि मानिसलाई कालकोठरीमा फालिदिनुहोला भनेर डराउँदै मानिसले एक टक लगाएर उहाँलाई हेर्छ। मानिस परमेश्‍वरसँग सावधान छ, चिन्तित छ र मानिसमाझ रहनुभएका परमेश्‍वरलाई “मेसिन गन” ताकेर ऊ जमिनमा यताउता जिउ मर्काउँछ। मानौँ कि, परमेश्‍वर अलिकति मात्र चलमलाउनुभयो भने मानिसले कुनै पनि कुरा बाँकी नछोडी उहाँको हरेक कुरा नष्ट गर्नेछ—उहाँको सारा शरीर र उहाँले पहिरनुभएका हरेक कुरा। परमेश्‍वर र मानिसबीचको सम्बन्ध सुधार्नै नसकिने अवस्थामा पुगेको छ। मानिसले परमेश्‍वरलाई बुझ्‍न सक्दैन; यसैबीच मानिसले जानी-जानी आफ्ना आँखाहरू बन्द गर्छ र मेरो अस्तित्व हेर्न र मेरो न्यायलाई क्षमा गर्न पूर्ण रूपमा अनिच्छुक हुन्छ र यताउता व्यर्थै भौँतारिन्छ। यसैले, मानिसले अपेक्षा नै नगरेको बेला, म चुपचाप बगिजान्छु र अब फेरि कहिल्यै मानिससँग को माथि र को तल छ भनेर तुलना गर्नेछैनँ। मानवजाति सबैभन्दा तल्लो दर्जाको “जन्तु” हो र म उसलाई अबउप्रान्त ध्यान नदिने इच्छा गर्छु। मैले धेरै पहिले नै मेरो सबै अनुग्रह म शान्तसँग बस्‍ने ठाउँमा फिर्ता लगेको छु; मानिस यति अवज्ञाकारी भएको हुनाले उसले मेरो मूल्यवान् अनुग्रहको आनन्द उठाउनुपर्ने के कारण छ र? मप्रति शत्रुतापूर्ण व्यवहार गर्ने शक्तिहरूलाई व्यर्थमा मेरो अनुग्रह प्रदान गर्न म इच्छुक छैनँ। मेरा मूल्यवान् फलहरू कनानका जोशिला र उत्सुकतासाथ मेरो पुनरागमनको प्रतीक्षा गर्ने किसानहरूलाई प्रदान गर्नेछु। म केवल स्वर्ग अनन्तसम्म रहोस् र यसअलावा, मानिस कहिले बूढो नहोस्, स्वर्ग र मानिसले सदाको लागि आराम गरून् अनि आदर्श युगमा प्रवेश गर्दा सदाबहार “सल्ला र साइप्रसहरू” सधैँ परमेश्‍वर र स्वर्गको साथमा रहून् भन्‍‍ने चाहना गर्छु।

मैले मानिससँग धेरै दिन र रातहरू बिताएको छु, म मानिससँग संसारमा सँगै बसेको छु र मैले मानिसको लागि धेरै मापदण्डहरू बनाएको छैनँ; मैले मानिसलाई सधैँ अगाडितर्फ मार्गदर्शन मात्र गर्छु, मैले मानिसलाई मार्गदर्शन बाहेक केही पनि गर्दिनँ र मानिसको नियतिको खातिर म प्रबन्ध-कार्यलाई निरन्तर अगाडि बढाउँछु। स्वर्गमा हुनुहुने पिताको इच्छा कसले बुझेको छ? स्वर्ग र पृथ्वीको बीचमा कसले यात्रा गरेको छ? म अबउप्रान्त मानिसको “वृद्धावस्था” उसँग बिताउने इच्छा गर्दिनँ किनकि मानिस अत्यन्तै पुरानो ढङ्‍गको छ, उसले केही पनि बुझ्दैन; उसले त मैले तयार गरेको भोजमा बेस्सरी खान मात्र जान्दछ, ऊ बाँकी सबैबाट अलग रहन्छ, र उसले अन्य कुनै पनि विषयमा विचार नै गर्दैन। मानवजाति अत्यन्तै कन्जुस छ, मानिसमाझ धेरै ठूलो कोलाहल, उदासी र खतरा छ, अनि यसकारण म आखिरी दिनहरूमा प्राप्त गरिने विजयका मूल्यवान् फलहरू बाँड्न चाहन्नँ। मानिसले आफै सृजना गरेका प्रचुर आशिष्‌हरूको आनन्द उठाओस्, किनकि मानिसले मेरो स्वागत गर्दैन—मैले किन मानिसलाई नक्कली मुस्कान ल्याउन कर लगाउने? संसारका हरेक कुनामा न्यानोपनको अभाव छ, संसारका सारा भूभागहरूमा वसन्तको नामनिसान छैन, किनकि पानीमा बस्‍ने जीवझैँ मानिसमा अलिकति पनि न्यानोपन छैन, ऊ लाशझैँ छ र उसको नशामा बग्‍ने रगत पनि मुटु चिस्याउने जमेको बरफजस्तै छ। न्यानोपन कहाँ छ? मानिसले परमेश्‍वरलाई कुनै पनि कारणविना क्रूसमा टाँग्यो, र त्यसपछि उसले अलिकति पनि सन्देहको महसुस गरेन। कसैले कहिले पनि पछुतो गरेको छैन, अनि यी क्रूर निरंकुशहरूले अझ पनि मानिसको पुत्रलाई फेरि एक पटक “जिउँदै पक्रने”[५] र तिनीहरूको हृदयभित्रका घृणालाई अन्त्य गर्न उहाँलाई गोली बर्साउने समूहको अगाडि ल्याउने योजना बनाइरहेका छन्। यस्तो खतरापूर्ण भूमिमा रहेर मलाई के फाइदा छ र? यदि म यहीं रहेँ भने मैले मानिसलाई द्वन्द्व र हिंसा अनि कहिले अन्त्य नहुने दुःख मात्र ल्याउनेछु, किनकि मैले मानिसकहाँ कहिल्यै शान्ति ल्याएको छैन, केवल युद्ध ल्याएको छु। मानवजातिका आखिरी दिनहरू युद्धले भरिनुपर्छ र हिंसा र द्वन्द्वको बीचमा मानिसको गन्तव्य गिर्नुपर्छ। म युद्धको “आनन्द” बाँडचुँड गरी लिन चाहन्नँ, म मानिसको रक्तपात र बलिदानमा साथ दिनेछैन किनकि मानिसको अस्वीकारले मलाई “निराशा” मा पुर्‍याएको छ र मसँग मानिसका युद्धहरू हेर्ने हृदय छैन—मानिस आफ्नो धित मरुञ्‍जेल लडाइँ गरोस्। म आराम गर्न चाहन्छु, म सुत्‍न चाहन्छु; मानवजातिका आखिरी दिनहरूमा भूतहरू उसका साथी बनून्! मेरो इच्छा कसले जान्दछ? मानिसले मेरो स्वागत गर्दैन र उसले कहिल्यै पनि मलाई पर्खेन, त्यसकारण म उसलाई बिदा दिन मात्र सक्छु, अनि म उसलाई मानवजातिको गन्तव्य प्रदान गर्छु, म मेरा सबै सम्पत्ति मानिसलाई छोडिदिन्छु, मेरो जीवन मानिसका बीचमा रोप्छु, मेरो जीवनको बीउ मानिसको हृदयको भूमिमा रोप्छु, ऊकहाँ मेरा चिरस्थायी सम्झनाहरू छोड्छु, मेरो सबै प्रेम मानवजातिकहाँ छोड्छु र मानिसले ममा कदर गर्ने सबै कुरा मानिसलाई दिन्छु, म यी सबै प्रेमको उपहारको रूपमा दिन्छु जसद्वारा हामीले एक अर्काको चाहना गर्छौं। हामीले एक अर्कालाई सदा प्रेम गरौं, हामीले एक अर्कालाई दिने असल कुरा हाम्रो हिजो होस् भन्‍ने मेरो चाहना छ, किनकि मैले मेरो सम्पूर्णता मानवजातिलाई दिइसकेको छु—मानवजातिसँग के नै गुनासो हुन सक्छ र? मैले पहिले नै मेरो जीवनको सम्पूर्णता मानिसकहाँ छोडेको छु र कुनै शब्दविना नै, मैले प्रेमको सुन्दर भूमिलाई मानवजातिको निम्ति जोत्‍न कठिन परिश्रम गरेको छु; मैले मानिससँग कहिले पनि न्यायोचित सर्तहरू राखेको छैनँ, मैले मानिसका प्रबन्धहरूमा समर्पित हुने र मानवजातिको निम्ति अझ सुन्दर भोलि सृजना गर्ने बाहेक केही पनि गरेको छैनँ।

परमेश्‍वरको काम समृद्ध र प्रशस्त भए तापनि मानिसको प्रवेश अभावग्रस्त नै छ। मानिस र परमेश्‍वर बीचको संयुक्त “उद्यम” मा लगभग सबै नै परमेश्‍वरका काम हुन्; मानिसले कति हदसम्म प्रवेश गरेको छ भन्‍ने विषयमा कुरा गर्दा, यो कुरा देखाउने उसँग लगभग केही पनि छैन। मानिस यति दरिद्र र दृष्टिविहीन छ कि उसले आफ्नो हातमा “प्राचीन हतियारहरू” लिएर आजको परमेश्‍वरसँग आफ्नो तागतको मापन पनि गर्छ। यी “प्राचीन वानरहरू” मुस्किलले मात्र सिधा हिँड्न सक्षम छन् र यिनीहरू आफ्ना “नाङ्‍गा” शरीरहरूको कुनै सरम मान्दैनन्। तिनीहरूलाई परमेश्‍वरको कामको मूल्याङ्‍कन गर्न के कुराले योग्य बनाउँछ? यी चारखुट्टे वानरहरूमध्ये धेरैका आँखाहरू क्रोधले भरिएका छन् र तिनीहरूले सारा भूमिमा प्रख्यात हुने वानर-मानिसहरू र परमेश्‍वर बीचको आखिरी दिनहरूको प्रतिस्पर्धा गराउनको निम्ति आफ्ना हातहरूमा प्राचीन ढुङ्‍गे हतियारहरू लिएर संसारले पहिले कहिल्यै नदेखेको वानर-मानिसहरूको प्रतिस्पर्धा सुरु गर्ने प्रयास गर्दै आफूलाई परमेश्‍वरको विरुद्ध उभ्याउँछन्। यसबाहेक, यी आधा सिधा उभिने प्राचीन वानर-मानिसहरूमध्ये धेरै आत्मसन्तुष्टिले भरिन्छन्। अनुहार ढाक्‍ने एकदमै जगल्टिएका रौँहरू भएका तिनीहरू प्राणघाती इरादाले भरिपूर्ण छन् र तिनीहरूले आफ्ना अगाडिका खुट्टाहरू उचाल्छन्। तिनीहरू आधुनिक मानिसको रूपमा विकसित हुन बाँकी नै छ, यसैले आफ्नो निधारलाई राम्ररी जोडिएका शीतका थोपाहरूजस्ता पसिनाका दानाहरूले ढाकेर कहिलेकाहीँ तिनीहरू सिधा उभिन्छन् र कहिलेकाहीँ तिनीहरू घस्रन्छन्—तिनीहरूको उस्तुकता स्पष्ट देखिन्छ। त्यसका भारी र ढिला चार खुट्टामा उभिएको, प्रहारलाई मुस्किलले छल्‍न सक्‍ने र जबाफी हमला गर्ने तागतविनाको, आफ्नो मित्र, मौलिक स्वरूपको, प्राचीन वानर-मानिसलाई हेरेर तिनीहरूले मुस्किलले आफूलाई रोक्‍न सक्छन्। आँखाको एक निमेषमा—के भयो भनेर देख्‍न पाउनु अगावै—अखडाभित्रको “हिरो” हावामा खुट्टा ठाडो पारेर जमिनमा ढल्छ। ती सारा वर्षहरू जमिनमा गलत तरिकाले टेकेका ती खुट्टाहरू अकस्मात् उत्तानो परेका छन् र अबउप्रान्त उक्त वानर-मानिसमा प्रतिवाद गर्ने कुनै इच्छा छैन। यस समयपछि, यीमध्ये सबैभन्दा प्राचीन वानर-मानिसलाई पृथ्वीबाट हटाइएको छ—यो साँच्चै नै “पीडादायी” कुरा हो। यस प्राचीन वानर-मानिसको अकस्मात् अन्त्य भएको छ। मानिसको अद्भुत संसारबाट ऊ किन यति चाँडो हतारिनु परेको? अफसोसको कुरो, त्यसले परमेश्‍वर विरुद्ध आफ्नो तागत मापन नगरीकन यस संसारबाट बिदा लियो! कस्तो विचारहीन बूढो वानर-मानिस—कानेखुसी नगरी, “प्राचीन संस्कृति र कलाहरू” आफ्ना सन्तानहरूलाई नसुम्पिई मर्‍यो! आफ्ना नजिककालाई आफ्नो छेउमा बोलाएर आफ्नो प्रेमको बारेमा बताउने समय उसलाई मिलेन, उसले ढुङ्‍गाको पाटीमा कुनै सन्देश छोडेन, उसले स्वर्ग-दिन छुट्याएन र अकथनीय कष्टको बारेमा केही भनेन। उसले अन्तिम सास फेर्दा, आफ्ना आँखा बन्द गर्नु अगाडि, चार कडा खुट्टाहरूलाई आकाशतिर फर्केका रुखका हाँगाहरू झैँ माथितिर तन्काउनुअघि उसले आफ्ना सन्तानहरूलाई “परमेश्‍वरलाई चुनौती दिन अखडामा नचढ्नू” भनी अर्ती दिनलाई आफ्नो मर्न लागेको शरीरको छेउमा बोलाएन। यस्तो लाग्छ, उसले नराम्रो मृत्युवरण गर्‍यो…। अकस्मात्, अखडामुनिबाट गर्जनयुक्त हाँसो सुनिन्छ; आधा सिधा उभिएको वानर-मानिस उत्तेजित हुन्छ; हातमा बाह्रसिङ्‍गे वा पुरानो वानर-मानिसभन्दा विकसित अन्य जङ्गली जन्तु शिकार गर्नको लागि प्रयोग गरिने “ढुङ्‍गाको लाठो” लिएर रिसले चूर हुँदै ऊ उसको मनमा राम्ररी सोचिएको योजना[६] को साथमा अखडामा उफ्रन्छ। मानौं उसले कुनै सराहनीय काम नै गरेको छ। आफ्नो ढुङ्‍गाको लाठोको “बल” मा ऊ “तीन मिनेटसम्म” सिधा उभिन्छ। यस तेस्रो “खुट्टा” को “शक्ति” कति ठूलो! यसले ठूलो, भद्दा, मूर्ख आधा उभिएको वानर-मानिसलाई तीन मिनेटसम्म थाम्यो—यो आदरणीय[७] बूढो वानर-मानिस रबाफी छ भन्‍ने कुरामा कुनै आश्‍चर्य छैन। निश्‍चय नै, त्यो प्राचीन ढुङ्‍गे हतियार “मानिसहरूले सोचेजस्तै छ”: त्यसमा एउटा चक्‍कु, बिँड, धार र टुप्पो छ, त्यसमा भएको एउटै कमजोरी भनेको त्यसको धारमा चमक नहुनु हो—त्यो कति खेदजनक छ। त्यो प्राचीन समयको “सानो हिरो” लाई फेरि हेर, जो अखडामा खडा भएको छ र तल भएकाहरूलाई घृणाको नजरले हेरिरहेको छ, मानौं कि तिनीहरू दुर्बल नीच हुन्‌, अनि ऊ आफूचाहिँ वीर हिरो। उसले मञ्‍चअगाडि भएकालाई आफ्नो हृदयमा गुप्‍त रूपले घृणा गर्छ। “देश समस्यामा छ र हामीमध्ये हरेक उत्तरदायी छौँ, तिमीहरू किन तर्कन्छौ? तिमीहरूले देशले विनाशको सामना गरेको देख्छौ, तर रक्तपातपूर्ण युद्धमा सहभागी हुन चाहँदैनौ, के त्यसकारण यस्तो गरेका हौ? देश विनाशको नजिक छ—किन तिमीहरू सबैभन्दा पहिले चासो देखाउने र सबैभन्दा अन्तिममा आनन्द मनाउने हुँदैनौ? देश असफल भएको र यसमा मानिसहरू सडेको तिमीहरू कसरी सहन सक्छौ? के तिमीहरू राष्ट्रिय अधीनताको सरम सहन इच्छुक छौ? कस्तो नालायकहरूको झुण्ड!” उसले यस्तो सोच्दै गर्दा मञ्‍चअगाडि झगडा सुरु हुन्छ र उसका आँखा अझ क्रुद्ध हुन्छन्, मानौँ कि ती आँखाहरूले ज्वाला प्रहार गर्न[८] लागेका छन्। युद्धमा परमेश्‍वरलाई हराउन ऊ बेचैन छ, मानिसहरूलाई खुसी पार्नको लागि परमेश्‍वरलाई मृत्युको मुखमा पुर्‍याउन ऊ लालायित छ। उसको ढुङ्‍गे हतियार प्रसिद्धिको लायक होला तर त्यो कहिल्यै पनि परमेश्‍वरको विरुद्धमा जान सक्दैन भन्‍ने कुरा उसलाई थाहै छैन। उसले आफ्नो बचाउ गर्नु अगाडि, ऊ ढलेर आफ्नो खुट्टामा खडा हुनुअगाडि नै, दुवै आँखाका ज्योति गुमाएर ऊ अगाडि र पछाडि हल्लिन्छ। ऊ आफ्ना पुरानो पुर्खातिर ढल्छ र फेरि उठ्दैन; प्राचीन वानर-मानिसलाई जोरले पक्डेर ऊ अब फेरि कराउँदैन र आफ्नो नीचता स्वीकार गर्छ, अनि उसमा प्रतिवाद गर्ने कुनै इच्छा हुँदैन। ती दुई वानर-मानिसहरू अखडाअगाडि नै मर्छन्। मानवजातिको पुर्खा जो वर्तमान दिनसम्म जीवित थियो, ऊ धार्मिकताको सूर्य देखा परेपछि अज्ञानताले मर्‍यो, यो कस्तो दुर्भाग्य! तिनीहरूले यति महान् आशिष्‌लाई त्यतिकै जान दिए, त्यो कति मूर्खतापूर्ण कुरो थियो—तिनीहरूको आशिष्‌को दिन, हजारौँ वर्ष पर्खेका ती वानर-मानिसहरूले दियाबलसहरूको राजासँग “आनन्द मनाउनलाई” ती आशिष्‌हरूलाई पातालमा लगेका छन्! किन यी आशिष्‌हरूलाई जीवित रहनेहरूको संसारमा आफ्ना छोरा र छोरीहरूसँग आनन्द मनाउनको लागि नराख्‍ने? तिनीहरूले केवल समस्याको माग गरिरहेका छन्! तिनीहरूले थोरै प्रतिष्ठा, ख्याति र अभिमानको निम्ति नरकका ढोकाहरू खोल्‍नमा प्रथम हुन र नरकका छोराहरू हुनको लागि संघर्ष गर्दै मारिने दुर्भाग्य भोग्‍नु, यो कस्तो बरबादी! त्यस्तो मूल्य अत्यन्तै अनावश्यक छ। “राष्ट्रिय भावनाले ओतप्रोत” भएका त्यस्ता पुराना पुर्खाहरू आफैलाई नरकमा थुनेर अनि दुर्बल नीचहरूलाई बाहिरै राखेर “आफ्नै लागि यति कठोर तर अरूको निम्ति यति सहनशील” हुनु, यो कस्तो टीठलाग्दो कुरो। यस्ता “मानिसहरूका प्रतिनिधिहरू” कहाँ पाउन सकिन्छ? तिनीहरूका “सन्तानहरूको कल्याण” र “भावी पुस्ताको शान्तिपूर्ण जीवन” को निम्ति तिनीहरू परमेश्‍वरलाई बाधा पार्न दिँदैनन्, अनि यसैले तिनीहरूले आफ्नै जीवनलाई कति पनि ध्यान दिँदैनन्। तिनीहरूले कुनै रोकटोकविना, विनाशब्द पातालमा प्रवेश गरेर आफैलाई “राष्ट्रिय उद्देश्यका” निम्ति समर्पण गर्छन्। त्यस्तो राष्ट्रवाद कहाँ पाउन सकिन्छ? परमेश्‍वरसँग युद्ध गर्दै तिनीहरू मृत्युसँग डराउँदैनन्, न त रक्तपातसँग नै डराउँछन्, भोलिको निम्ति त तिनीहरू डराउने झन् कुरै नगरौं। तिनीहरू केवल युद्ध मैदानतर्फ दौडन्छन्। तिनीहरूले आफ्नो “समर्पण भाव” को निम्ति अनन्तसम्म पछुतो गर्नु र नरकको सधैँ जलिरहने ज्वालामा जल्‍नु कस्तो दयालाग्दो कुरो!

कति चाखलाग्दो! परमेश्‍वरको देहधारणलाई किन मानिसहरूद्वारा सधैँ इन्कार र गाली गरिन्छ? किन मानिसहरूमा परमेश्‍वरको देहधारणको बारेमा केही पनि बुझाइ छैन? के परमेश्‍वर गलत समयमा आउनुभएकोले यसो भएको हुन सक्छ? के परमेश्‍वर गलत ठाउँमा आउनुभएको हुनाले यसो भएको हुन सक्छ? के परमेश्‍वरले मानिसको “स्वीकृतिको हस्ताक्षर” विना एक्लै काम गर्नुभएको हुनाले यसो भएको हुन सक्छ? के परमेश्‍वरले मानिसको अनुमतिविना आफै निर्णय गर्नुभएको कारणले यसो भएको हुन सक्छ? तथ्यहरूले यो बताउँछन् कि परमेश्‍वरले पूर्वसूचना दिनुभयो। परमेश्‍वरले देह बन्‍नुभएर गल्ती गर्नुभएन—के उहाँले मानिसको सहमति माग्‍नुपर्छ र? यसअलावा, परमेश्‍वरले मानिसलाई धेरै पहिले नै स्मरण गराउनुभयो, सायद मानिसहरूले बिर्सेका छन्। तिनीहरू दोषी छैनन्, किनकि मानिसलाई शैतानले धेरै पहिलेदेखि नै भ्रष्ट पारेको छ जसले गर्दा उसले स्वर्गमुनि हुने कुनै पनि कुरा बुझ्‍न सक्दैन, आत्मिक संसारमा हुने घटनाहरूको बारेमा त कुरै नगरौं! यो कस्तो लज्जास्पद कुरो, मानिसका पूर्वजहरू, वानर-मानिसहरू, अखडामा मरे, तर यो अचम्मको कुरा होइन: स्वर्ग र पृथ्वी कहिल्यै पनि मिलेका छैनन्, अनि दिमाग ढुङ्‍गाबाट बनेको वानर-मानिसले परमेश्‍वर फेरि देह बन्‍न सक्‍नुहुन्थ्यो भन्‍ने कुरा कसरी बुझ्‍न सक्थ्यो र? कति दुःखको कुरो, “साठी वर्षको” यस्तो “बूढो मानिस” परमेश्‍वरको देखा पर्नुभएको दिनमा मर्‍यो। त्यस्तो महान् आशिष्‌को आगमनमा आशिष् विहीन भएर उसले संसार छोड्‍नु के आश्‍चर्यको कुरा होइन र? परमेश्‍वरको देहधारणले सबै धर्म र क्षेत्रहरूलाई तरङ्गित पारेको छ, यसले धार्मिक वृत्तका मूल प्रणालीलाई “भद्रगोलको अवस्थामा” धकेलिदिएको छ र यसले परमेश्‍वर देखा पर्नुभएको चाहना गर्नेहरूको हृदय हल्लाइदिएको छ। कसले उपासना गर्दैन र? कसले परमेश्‍वरलाई देख्‍न चाहँदैन र? परमेश्‍वर धेरै वर्षदेखि व्यक्तिगत रूपमा मानिसको बीचमा रहँदै आउनुभएको छ, तापनि मानिसले कहिले पनि यसलाई महसुस गरेको छैन। आज, परमेश्‍वर स्वयम् देखा पर्नुभएको छ र उहाँको पहिचान जनसाधारणलाई देखाउनुभएको छ—यसले कसरी मानिसको हृदयमा हर्ष ल्याउँदैनथ्यो र? परमेश्‍वरले एक पटक मानिससँग आनन्द र शोक बाँडचुँड गर्नुभयो र आज उहाँको मानवजातिसँग पुनर्मिलन भएको छ र ऊसँग बितेका समयका कथाहरू सुनाउँदै हुनुहुन्छ। उहाँ यहूदियाबाट बाहिर जानुभएपछि मानिसहरूले उहाँलाई भेट्टाउन सकेनन्। तिनीहरूले फेरि एक पटक उहाँलाई भेट्ने चाहना गर्छन्, तर पनि आज तिनीहरूले उहाँलाई फेरि भेटेर उहाँसँग तिनीहरूको पुनर्मिलन भइसकेको छ भन्‍ने तिनीहरूलाई थाहै हुँदैन। यसले कसरी हिजोका सोचहरूमा हलचल नल्याउला र? दुई हजार वर्षअगाडि आजकै दिन यहूदीका सन्तान योनाको छोरो सिमोनले येशूलाई उद्धारकर्ताको रूपमा लियो, उहाँकै टेबुलमा खायो र उहाँलाई धेरै वर्ष पछ्यायो अनि उहाँप्रति गहिरो प्रेम महसुस गर्‍यो: उसले उहाँलाई आफ्नो हृदयको गहिराइबाट प्रेम गर्‍यो, उसले प्रभु येशूलाई अत्यन्तै प्रेम गर्‍यो। चिसो डुँडमा जन्मिएको सुनौलो कपाल भएको बालक कसरी परमेश्‍वरको देहधारणको पहिलो स्वरूप हुनुहुन्थ्यो भन्‍ने बारेमा यहूदी मानिसहरूलाई केही पनि थाहा थिएन। तिनीहरूले उहाँलाई आफूजस्तै सोचे, कसैले पनि उहाँलाई फरक सोचेन—मानिसहरूले सामान्य र साधारण येशूलाई कसरी पहिचान गर्न सक्थे र? यहूदी मानिसहरूले उहाँलाई त्यस समयको यहूदी छोराको रूपमा सोचे। कसैले पनि उहाँलाई प्रेमिलो परमेश्‍वरको रूपमा हेरेन, मानिसहरूले उहाँसँग अन्धाधुन्ध माग गर्ने बाहेक केही पनि गरेनन्, तिनीहरूले उहाँसँग प्रचुर र प्रशस्त मात्रामा अनुग्रह, शान्ति र आनन्दको माग गरे। तिनीहरूलाई के मात्र थाहा थियो भने उहाँसँग लखपति मानिससँग जस्तै जोकोहीले इच्छा गरेको हरेक कुरा छ। तथापि मानिसहरूले उहाँलाई प्रेमिलो व्यक्तिको रूपमा व्यवहार गरेनन्; त्यस बेलाका मानिसहरूले उहाँलाई प्रेम गरेनन् र उहाँको विरोध मात्र गरे अनि उहाँसँग तर्कहीन मागहरू गरे। उहाँले कहिले पनि प्रतिरोध गर्नुभएन, मानिसले उहाँलाई नचिनेको भए तापनि उहाँले निरन्तर मानिसहरूलाई अनुग्रह दिनुभयो। उहाँले मानिसलाई चुपचाप न्यानोपन, प्रेम र दया दिनेबाहेक केही पनि गर्नुभएन, त्यो भन्दा बढी त उहाँले मानिसलाई व्यवस्थाको बन्धनबाहिर निकाल्नुभयो र उसलाई अभ्यासका नयाँ माध्यमहरू दिनुभयो। मानिसले उहाँलाई प्रेम गरेन, उसले उहाँको डाह मात्र गर्‍यो र उहाँका असाधारण प्रतिभाहरूको पहिचान गर्‍यो। प्रेमिलो येशू मुक्तिदाता मानवजातिकहाँ आउनुहुँदा उहाँले कति ठूलो अपमान भोग्‍नुभयो भन्‍ने कुरा अन्धो मानवजातिले कसरी जानोस् र? कसैले पनि उहाँको कष्टको बारेमा सोचविचार गरेन, कसैले पनि परमेश्‍वर पिताप्रतिको उहाँको प्रेमलाई जानेन, र कसैले पनि उहाँको एकलोपनलाई जान्‍न सकेन; मरियम उहाँलाई जन्म दिने आमा भए तापनि कृपालु प्रभु येशूको हृदयमा भएका सोचहरूको बारेमा तिनले कसरी जान्‍न सक्थिन् र? मानिसको पुत्रले सहनुभएको व्यक्त नै गर्न नसकिने कष्टको बारेमा कसले जान्दथ्यो र? उहाँसँग अनुरोधहरू गरेपछि त्यस समयमा मानिसहरूले उहाँलाई बेपरवाह गर्दै आफ्नो मनको पछाडि राखे र उहाँलाई निकालेर बाहिर फाले। त्यसैले दिनप्रतिदिन, वर्षौँवर्ष उहाँ सडकहरूमा भौतारिनुभयो, कठिन साढे तेत्तीस वर्षसम्म यताउता भौतारिनुभयो, र ती वर्षहरू लामा र छोटा दुवै थिए। जब मानिसहरूलाई उहाँको आवश्यकता पर्‍यो तिनीहरूले उहाँसँग माग गर्ने प्रयासका साथ उहाँलाई मुस्कानका साथ आफ्ना घरमा निमन्त्रणा दिए—अनि उहाँको योगदान पाएपछि तिनीहरूले उहाँलाई ढोकाबाहिर तुरुन्तै धकेलिदिए। मानिसहरूले उहाँले आफ्नो मुखबाट उपलब्ध गराउनुभएको खाना खाए, तिनीहरूले उहाँको रगत पिए, तिनीहरू उहाँले तिनीहरूलाई प्रदान गर्नुभएको अनुग्रहमा रमाए, तैपनि तिनीहरूले उहाँको विरोध गरे किनकि तिनीहरूले आफूलाई कसले जीवन दिनुभएको भन्‍ने कुरा कहिल्यै पनि जानेनन्। अन्ततः तिनीहरूले उहाँलाई क्रूसमा काँटी ठोकिदिए, तैपनि उहाँले आवाज निकाल्‍नुभएन। आज पनि उहाँ चुपचाप हुनुहुन्छ। मानिसहरूले उहाँको देह खान्छन्, तिनीहरूले उहाँको रगत पिउँछन्, तिनीहरूले उहाँले तिनीहरूको निम्ति बनाउनुभएको खाना खान्छन्, अनि तिनीहरू उहाँले तिनीहरूको निम्ति खोल्‍नुभएको बाटो हिँड्छन्, तैपनि तिनीहरूले उहाँलाई इन्कार गर्ने इरादा राख्छन्; वास्तवमा तिनीहरूले आफूहरूलाई जीवन दिनुहुने परमेश्‍वरलाई शत्रुलाई झैँ व्यवहार गर्छन् र दासहरूलाई चाहिँ स्वर्गीय पिताको रूपमा व्यवहार गर्छन्। यसमा, के तिनीहरूले जानी-जानी उहाँको विरोध गर्दैनन् र? येशू कसरी क्रूसमा मर्न पुग्‍नुभयो? के तिमीहरूलाई थाहा छ? के उहाँलाई उहाँको सबैभन्दा नजिक रहेको, उहाँसँगै खाएको, पिएको र उहाँसँगै रमाएको यहूदाले धोका दिएन र? के उहाँ नगण्य सामान्य शिक्षकभन्दा बढी हुनुभएको कारण यहूदाले येशूलाई धोका दिएको होइन र? यदि मानिसहरूले येशू असाधारण र उहाँ स्वर्गको हुनुहुन्थ्यो भन्‍ने कुरा देखेका भए, तिनीहरूले कसरी उहाँलाई जिउँदै चौबीस घण्टासम्म उहाँको शरीरमा सास बाँकी नरहेसम्म क्रूसमा कीला ठोक्‍ने थिए र? परमेश्‍वरलाई कसले जान्‍न सक्छ? मानिसहरूले तृप्त नहुने लालचसाथ परमेश्‍वरको आनन्द लिने बाहेक केही पनि गर्दैनन्, तर तिनीहरूले उहाँलाई कहिल्यै पनि चिनेका छैनन्। तिनीहरूलाई औँला दिइएको थियो तर तिनीहरूले डुँडुलो निलेका छन्, अनि तिनीहरूले “येशू” लाई पूर्ण रूपमा आफ्नो आदेश र आज्ञा पालन गर्ने बनाए। कहीँ पनि शिर राख्‍ने ठाउँ नभएको मानिसको पुत्रलाई कसले कहिल्यै दया देखाएको छ? परमेश्‍वरको आज्ञा पूरा गर्नको निम्ति उहाँसँग लागिपर्ने कसले कहिल्यै सोच राखेको छ? कसले कहिल्यै उहाँको लागि सोचेको छ? उहाँका कठिनाइहरूको बारेमा कोही कहिल्यै विचारशील भएको छ? अलिकति पनि प्रेमविना मानिसले उहाँलाई अगाडि र पछाडि बटार्छ; मानिसलाई उसको ज्योति र जीवन कहाँबाट आउँछ भन्‍ने थाहा छैन र दुई हजार वर्ष पहिलेका मानिसका बीचमा कष्ट भोग्नुभएका “येशूलाई” पुनः एक पटक क्रूसमा टाँग्‍ने गोप्य योजना बनाउने बाहेक उसले केही पनि गर्दैन। के “येशूले” त्यस्तो घृणालाई प्रेरित गर्नुहुन्छ? के उहाँले धेरै पहिले गर्नुभएका सबै काम-कुराहरू बिर्सिसकिएको छ? हजारौँ वर्षदेखि एकत्रित भएको घृणा अन्तमा बाहिर निस्कनेछ। तिमीहरू, काटीकुटी यहूदीहरूजस्तै छौ! “येशू” कहिले तिमीहरूको विरोधी हुनुभएको छ र तिमीहरूले उहाँलाई त्यति धेरै घृणा गर्नुपर्छ? उहाँले त्यति धेरै कुराहरू गर्नु र भन्‍नुभएको छ—के तीमध्ये कुनै पनि तिमीहरूको निम्ति फाइदाजनक छैनन् र? उहाँले सट्टाभर्ना नमागी आफ्नो जीवन तिमीहरूको निम्ति दिनुभयो, उहाँले तिमीहरूलाई आफ्नो सम्पूर्णता दिनुभयो—के तिमीहरू वास्तवमा अझै पनि उहाँलाई जिउँदै खान चाहन्छौ? उहाँले कुनै पनि कुरा आफूसँग नराखी, सांसारिक महिमा, मानिसका बीचमा भएको न्यानोपन वा मानिसका बीचमा भएको प्रेम, मानिसका बीचमा भएका सबै आशिष्‌हरूमा नरमाई, आफ्नो सबै थोक तिमीहरूलाई दिनुभएको छ। मानिसहरू उहाँप्रति यति नीच छन्, उहाँले कहिल्यै पनि पृथ्वीका सारा सम्पत्तिहरूको आनन्द लिनुभएन, उहाँले आफ्नो सारा इमान्दार र स्‍नेही हृदय मानवजातिको निम्ति समर्पण गर्नुहुन्छ—अनि कसले कहिल्यै उहाँलाई न्यानोपन दिएको छ? उहाँलाई कसले कहिल्यै आराम दिएको छ? मानिसले सबै दबाब उहाँमाथि थुपारेको छ, उसले सबै दुर्भाग्य उहाँलाई सुम्पिदिएको छ, मानिसका बीचमा भएका सबैभन्दा दुर्भाग्यपूर्ण अनुभवहरूलाई जबरजस्ती उहाँमाथि थुपारेको छ, उसले सबै अन्यायको दोष उहाँलाई दिन्छ र उहाँले यसलाई मौनतामा स्वीकार गर्नुभएको छ। के उहाँले कसैको विरोध गर्नुभएको छ र? के उहाँले कसैबाट कहिल्यै थोरै भरपाई माग्नुभएको छ र? कसले उहाँलाई कहिल्यै सहानुभूति देखाएको छ र? सामान्य मानिसहरूको रूपमा, तिमीहरूमध्ये कसले मनोरम बाल्यकाल पाएन र? कसले रङ्गीन जवानी पाएन र? कोसँग प्रियजनहरूको न्यानोपन छैन र? कोसँग आफन्त र साथीभाइहरूको प्रेम छैन र? कसले अरूको सम्मान पाएको छैन र? को न्यानो परिवाररहित छ र? कसले विश्‍वासपात्रको सान्त्वना पाएको छैन र? अनि के उहाँले यीमध्ये कुनै कुराको कहिल्यै आनन्द लिनुभएको छ र? कसले उहाँलाई कहिल्यै थोरै न्यानोपन दिएको छ र? कसले उहाँलाई कहिल्यै थोरै सान्त्वना दिएको छ र? कसले उहाँलाई कहिल्यै थोरै मानव नैतिकता देखाएको छ र? कसले उहाँलाई कहिल्यै सहेको छ र? कठिन समयहरूमा को कहिल्यै उहाँसँग रहेको छ र? कसले उहाँसँग कठिन जीवन कहिल्यै गुजारेको छ र? मानिसले कहिल्यै पनि उहाँले पालना गर्नुपर्ने मापदण्डहरूलाई कम गरेको छैन; उसले त बिनासङ्कोच उहाँसँग माग मात्र गर्छ, मानौं कि मानिसको संसारमा आउनुभएर उहाँले मानिसको गोरु वा घोडा, उसको कैदी बन्नुपर्छ र उहाँको सबै थोक मानिसलाई दिनुपर्छ; यदि होइन भने, मानिसले उहाँलाई कहिल्यै माफ गर्नेछैन, उहाँसँग कहिल्यै सहज व्यवहार गर्नेछैन, उहाँलाई कहिल्यै परमेश्‍वर भनेर पुकार्नेछैन र उहाँलाई कहिल्यै उच्‍च आदर गर्नेछैन। मानिस उहाँप्रतिको मनोवृत्तिमा अत्यन्तै कठोर छ, मानौँ कि उहाँलाई मृत्युसम्मै यातना दिनको निम्ति लागिपरेको छ, त्यसपछि मात्र उसले परमेश्‍वरले पालना गर्नुपर्ने मापदण्डलाई खुकुलो गर्नेछ; नत्रभने मानिसले कहिल्यै पनि परमेश्‍वरले पालना गर्नुपर्ने आवश्यक मापदण्डलाई कहिले पनि कम गर्नेछैन। यस्तो मानिसलाई परमेश्‍वरले कसरी घृणा गर्नुहुन्न र? के यो आजको वियोग होइन र? मानिसको विवेक कहीँ पनि देखिन्‍न। उसले परमेश्‍वरको प्रेमको पैँचो तिर्नेछु भनेर भन्छ तर उसले परमेश्‍वरलाई चिर्छ र उहाँलाई यातना दिएर मार्छ। के यो उसका पुर्खाहरूबाट हस्तान्तरण भई आएका परमेश्‍वरप्रतिको उसको विश्‍वासको कुनै “गोप्य रेसिपि” होइन र? “यहूदीहरू” नपाइने ठाउँ कहीँ छैन र आज पनि तिनीहरूले त्यही काम गर्छन्, तिनीहरूले आज पनि परमेश्‍वरको विरोध गर्ने त्यही काम गर्छन् तर पनि तिनीहरू आफूहरूले परमेश्‍वरलाई माथि उठाइरहेका छौं भन्‍ने विश्‍वास गर्छन्। के मानिसको आफ्नै आँखाले परमेश्‍वरलाई चिन्‍न सक्थ्यो र? देहमा जिउने मानिसले कसरी आत्माबाट आउनुभएको देहधारी परमेश्‍वरलाई परमेश्‍वरको रूपमा व्यवहार गर्न सक्थ्यो र? मानिसमाझ उहाँलाई कसले चिन्‍न सक्थ्यो र? मानिसको बीचमा सत्यता कहाँ छ? साँचो धार्मिकता कहाँ छ? परमेश्‍वरको स्वभावलाई चिन्‍न को सक्षम छ? स्वर्गका परमेश्‍वरसँग कसले प्रतिस्पर्धा गर्न सक्छ? आश्‍चर्य नमाने हुन्छ, उहाँ मानिसको बीचमा आउनुभएको बेला कसैले पनि परमेश्‍वरलाई चिनेको छैन र उहाँलाई इन्कार गरिएको छ। मानिसले कसरी परमेश्‍वरको अस्तित्वलाई सहन गर्न सक्थ्यो र? उसले कसरी ज्योतिलाई अन्धकार हटाउने अनुमति दिन सक्छ र? के यो सबै मानिसको सम्माननीय भक्ति होइन र? के यो मानिसको इमान्दार प्रवेश होइन र? अनि के परमेश्‍वरको काम मानिसको प्रवेशमा केन्द्रित छैन र? म चाहन्छु कि तिमीहरूले परमेश्‍वरको कामलाई मानिसको प्रवेशसँग मिलाएर मानिस र परमेश्‍वर बीचमा राम्रो सम्बन्ध स्थापित गर अनि तिमीहरूको क्षमताले भ्याएसम्म मानिसले गर्नुपर्ने कर्तव्य निर्वाह गर। तत्पश्चात्, यस तरिकाबाट परमेश्‍वरको कामको अन्त्य हुनेछ र निष्कर्षको रूपमा उहाँले महिमा प्राप्त गर्नुहुनेछ!

फूटनोट:

१. यहाँ “मानिसको ‘प्रवेश’” ले मानिसको अवज्ञाकारी व्यवहारलाई जनाउँछ। मानिसको जीवनमा प्रवेशलाई जनाउनुको साटो—जुन सकारात्मक छ—यसले तिनीहरूको नकारात्मक व्यवहार र कामहरूलाई जनाउँछ। यसले व्यापक तवरले मानिसको ती कार्यहरूलाई जनाउँछ जुन परमेश्‍वरका विरुद्ध छन्।

२. “काल्पनिक डरहरूले ग्रस्त” भनेर मानिसको मानवताको पथभ्रष्ट जीवनलाई गिल्ला गर्नलाई प्रयोग गरिएको छ। यसले मानवजातिको जीवनको कुरूप अवस्थालाई जनाउँछ, जहाँ मानिसहरू भूतहरूसँगै बस्छन्।

३. “सर्वोत्तम” गिल्ला गरेर भनिएको हो।

४. “जोश अझ तातो गरी बलिरहेको छ” गिल्ला गरेर भनिएको हो, यसले मानिसको कुरूप अवस्थालाई जनाउँछ।

५. “जिउँदै पक्रने” ले मानिसको हिंस्रक र घृणित व्यवहारलाई जनाउँछ। मानिस क्रूर छ र परमेश्‍वरप्रति अलिकति पनि क्षमाशील छैन अनि उसले उहाँसँग निरर्थक मागहरू गर्छ।

६. “उसको मनमा राम्ररी सोचिएको योजना” गिल्ला गरेर भनिएको हो, अनि यसले मानिसहरूले कसरी आफैलाई जान्दैनन् र आफ्नो वास्तविक कदको बारेमा अनजान छन् भन्‍ने कुरालाई जनाउँछ। यो अपमानजनक अभिव्यक्ति हो।

७. “आदरणीय” गिल्ला गरेर भनिएको हो।

८. “प्रहार गर्न” ले परमेश्‍वरबाट पराजित भई रिसले चूर भएका मानिसहरूको कुरूप अवस्थालाई जनाउँछ। यसले परमेश्‍वरप्रति तिनीहरूको विरोधको हदलाई जनाउँछ।

अघिल्लो: काम र प्रवेश (९)

अर्को: परमेश्‍वरको कामको दर्शन (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्