परमेश्वरको कामको दर्शन (३)
परमेश्वर पहिलोपटक पवित्र आत्माद्वारा गर्भधारण भई देह बन्नुभयो, र यो उहाँले गर्न चाहनुभएको कामसँग सान्दर्भिक थियो। अनुग्रहको युग येशूको नाउँबाट सुरु भयो। जब येशूले आफ्नो सेवकाइ गर्न थाल्नुभयो, पवित्र आत्माले येशूको नाउँको गवाही दिन थाल्नुभयो, र उप्रान्त यहोवाको नाउँको चर्चा हुन छाड्यो; बरु, पवित्र आत्माले मुख्य रूपमा येशूको नाउँमा नयाँ काम सुरु गर्नुभयो। उहाँमा विश्वास गर्नेहरूको गवाही येशू ख्रीष्टको लागि थियो र तिनीहरूले गरेका काम पनि येशू ख्रीष्टको लागि नै थियो। पुरानो करारको व्यवस्थाको युग अन्त्य हुनुको अर्थ मुख्य रूपमा यहोवाको नाउँमा सञ्चालन गरिएको काम समाप्त भयो भन्ने थियो। त्यहाँदेखि उता, परमेश्वरको नाउँ यहोवा थिएन; यसको साटो उहाँलाई येशू भनियो, र यहाँबाट उसो पवित्र आत्माले विशेष गरी येशूको नाउँमा काम सुरु गर्नुभयो। त्यसैले, आज तिमीहरू अझै पनि यहोवाका वचनहरू खाने र पिउने गर्छौ, र अझै पनि कामकुरामा व्यवस्थाको युगको काम लागु गर्छौ—के तिमीहरू प्रावधानहरू लागु गरिरहेका छैनौ र? के तिमीहरू विगतमा अड्किएका छैनौ र? अहिले तिमीहरूलाई थाहा छ, आखिरी दिनहरू आइसकेका छन्। के यो हुन सक्छ, कि जब येशू आउनुहुन्छ, उहाँलाई अझै पनि येशू नै भनिनेछ? यहोवाले इस्राएलका मानिसहरूलाई मसीह आउनुहुनेछ भनेर बताउनुभयो, तैपनि जब उहाँ आउनुभयो, उहाँलाई मसीह नभनेर येशू भनियो। येशूले उहाँ फेरि आउनुहुनेछ, र उहाँ जसरी जानुभयो त्यसरी आउनुहुनेछ भनी भन्नुभयो। यी येशूका वचनहरू थिए, तर येशू कसरी जानुभयो के तैँले देखिस्? येशू सेतो बादलमा सवार भएर जानुभयो, तर के यो हुन सक्छ कि उहाँ व्यक्तिगत रूपमा सेतो बादलमा सवार भएर मानिसमाझ आउनुहुनेछ? यदि त्यस्तो हो भने, के उहाँलाई अझै येशू भनिनेछैन? जब येशू फेरि आउनुहुन्छ, युगमा परिवर्तन भइसकेको हुनेछ, त्यसोभए के उहाँलाई अझै येशू भन्न सकिन्छ? के परमेश्वरलाई येशूको नाउँबाट मात्र चिन्न सकिन्छ? के उहाँलाई नयाँ युगमा नयाँ नाउँले बोलाउन सकिँदैन? के सारा अनन्तताभरि परमेश्वरलाई एक व्यक्तिको स्वरूप र एउटा विशेष नाउँले प्रतिनिधित्व गर्न सक्दछ? प्रत्येक युगमा, परमेश्वरले नयाँ काम गर्नुहुन्छ र उहाँलाई नयाँ नाउँले बोलाइनुहुन्छ; उहाँले कसरी विभिन्न युगहरूमा उही काम गर्न सक्नुहुन्छ? उहाँ कसरी पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? येशूको नाउँलाई छुटकाराको कामका लागि लिइएको थियो, तब के आखिरी दिनहरूमा उहाँ फर्कनुहुँदा पनि उहाँलाई अझै त्यही नाउँले बोलाइन्छ? के उहाँले अझै पनि छुटकाराको काम गरिरहनुभएको हुनेछ? यहोवा र येशू एक हुनुभए पनि किन विभिन्न युगमा उहाँहरूलाई विभिन्न नाउँले बोलाइन्छ? के यो उहाँहरूका कामको युग फरक-फरक भएकोले होइन र? के एउटै नाउँले परमेश्वरको सम्पूर्णता प्रतिनिधित्व गर्न सक्छ? यस्तो भएकोले, परमेश्वरलाई विभिन्न युगमा भिन्नाभिन्नै नाउँले बोलाउनुपर्छ, र उहाँले युगलाई परिवर्तन गर्न र युगको प्रतिनिधित्व गर्न नाउँ प्रयोग गर्नुपर्दछ। किनकि कुनै पनि नाउँले पूर्ण रूपमा परमेश्वर स्वयम्को प्रतिनिधित्व गर्न सक्दैन, र प्रत्येक नाउँले एउटा निश्चित युगमा परमेश्वरको स्वभावको विशेषताको मात्र प्रतिनिधित्व गर्न सक्छ; त्यसले केवल उहाँको कामको प्रतिनिधित्व गर्नुपर्छ। त्यसकारण, त्यो सम्पूर्ण युगमा प्रतिनिधित्व गर्न परमेश्वरले उहाँको स्वभाव सुहाउँदो नाउँ चुन्न सक्नुहुन्छ। चाहे त्यो यहोवाको युग होस् वा येशूको युग होस्, उहाँकै नाउँले प्रत्येक युगको प्रतिनिधित्व गर्दछ। अनुग्रहको युग समाप्त भएको छ, अन्तिम युग आइपुगेको छ, र येशू आइसक्नुभएको छ। उहाँलाई अझै कसरी येशू भन्न सकिन्छ? उहाँ कसरी अझै पनि मानिसहरूका बीचमा येशूको स्वरूपमा आउन सक्नुहुन्छ? के तैँले येशू नासरतको एक छविबाहेक अरू केही हुनुहुन्नथियो भन्ने कुरा बिर्सिस्? के येशू मानव जातिका उद्धारक मात्र हुनुहुन्थ्यो भन्ने तैँले बिर्सिस्? उहाँले कसरी आखिरी दिनहरूमा मानिसलाई विजय गर्ने र सिद्ध पार्ने कामको जिम्मेवारी लिन सक्नुभयो? येशू सेतो बादलमा सवार भएर जानुभयो—यो तथ्य हो—तर मानिसमाझ सेतो बादलमा फर्केर आउनुभएपछि पनि उहाँलाई कसरी येशू नै भनेर बोलाउन सकिन्छ र? यदि उहाँ साँच्चै बादलमा आउनुभयो भने, मानिसहरू उहाँलाई चिन्न कसरी असफल बन्छन् र? के सारा संसारभरिका मानिसहरूले उहाँलाई चिन्नेछैनन् र? त्यसोभए, के येशू मात्र परमेश्वर बन्नुहुन्न र? त्यो अवस्थामा, परमेश्वरको स्वरूप एक यहूदीको रूप हुनेथियो, साथै सदाका लागि त्यस्तै हुनेथियो। येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर के तँ उहाँका वचनहरूको वास्तविक अर्थ जान्दछस्? के यो उहाँले तिमीहरूको समूहलाई भन्नुभएको हुन सक्छ? तँ यति मात्र जान्दछस्, कि उहाँ जसरी बादलमा सवार भएर जानुभएको थियो त्यसरी नै आउनुहुनेछ, तर परमेश्वर आफैले कसरी आफ्नो काम गर्नुहुन्छ भन्ने के तँलाई ठीकसँग थाहा छ? यदि तँ साँच्चै देख्न सक्थिस् भने, येशूले बोल्नुभएका वचनहरूको व्याख्या कसरी गर्नुपर्छ? उहाँले भन्नुभयो: जब मानिसका पुत्र आखिरी दिनहरूमा आउँदछ, त्यो ऊ आफैले जान्नेछैन, स्वर्गदूतहरूले जान्नेछैनन्, स्वर्गका दूतहरूले जान्नेछैनन्, र सारा मानव जातिले जान्नेछैन। केवल पिताले मात्र जान्नुहुन्छ, अर्थात्, आत्माले मात्र जान्नुहुन्छ। मानिसको पुत्रले आफैले पनि जान्दैन, तापनि, के तँ देख्न र जान्न सक्छस्? यदि तैँले जान्न र आफ्नै आँखाले देख्न सक्थिस् भने, के यी वचनहरू व्यर्थमा बोलिएका हुने थिएनन् र? अनि त्यसबेला येशूले के भन्नुभयो? “तर त्यो दिन र घडीका बारेमा न त कुनै मानिसलाई थाहा छ, न त स्वर्गका दूतहरूलाई, न त पुत्रलाई, तर मेरा पितालाई मात्रै थाहा छ। तर नोआका दिनहरू जस्ता थिए, मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ। … यसकारण, तिमीहरू पनि तयार होऊ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउनुहुनेछ।” जब त्यो दिन आउँछ, मानिसको पुत्र आफैलाई पनि त्यो थाहा हुँदैन। मानिसका पुत्रले एक सामान्य र साधारण व्यक्ति, परमेश्वरको देहधारी शरीरलाई बुझाउँछ। मानिसका पुत्र आफैलाई पनि थाहा छैन भने तैँले कसरी जान्न सक्छस्? येशूले भन्नुभयो, कि उहाँ जसरी जानुभएको थियो त्यसरी नै आउनुहुनेछ। जब उहाँ आउनुहुन्छ, त्यो उहाँ आफैले पनि थाहा पाउनुहुन्न, त्यसोभए के उहाँले तँलाई पहिल्यैबाट जानकारी दिन सक्नुहुन्छ? के तँ उहाँको आगमनलाई देख्न सक्छस्? के यो ठट्टा होइन? परमेश्वर हरेक पल्ट पृथ्वीमा आउनुहुँदा उहाँले आफ्नो नाउँ, आफ्नो लिङ्ग, आफ्नो स्वरूप, र आफ्नो काम परिवर्तन गर्नैपर्छ; उहाँले आफ्नो काम दोहोऱ्याउनुहुन्न। उहाँ त्यो परमेश्वर हुनुहुन्छ जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न। जब उहाँ पहिले आउनुभयो, उहाँलाई येशू भनियो; उहाँ यस पटक फेरि आउनुहुँदा के उहाँलाई अझै येशू नै भन्न सकिन्छ? पहिले जब उहाँ आउनुभयो, उहाँ पुरुष हुनुहुन्थ्यो; के उहाँ यस पटक फेरि पुरुष हुन सक्नुहुन्छ? अनुग्रहको युगमा उहाँको काम क्रूसमा टाँगिनु थियो; जब उहाँ फेरि आउनुहुनेछ, के उहाँ अझै पनि मानव जातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ? के उहाँलाई फेरि क्रूसमा टाँग्न सकिन्छ? के त्यो उहाँको कामलाई दोहोऱ्याउनुजस्तो हुँदैन र? के तँलाई थाहा छैन, परमेश्वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न? कतिपय मानिस यस्ता छन्, जो परमेश्वर सधैँभरि अपरिवर्तनीय हुनुहुन्छ भनेर भन्छन्। त्यो सही हो, तर त्यसको अर्थ परमेश्वरको स्वभाव र उहाँको सार अपरिवर्तनीय छन् भन्ने हुन्छ। उहाँको नाउँ र काममा आएका परिवर्तनहरूले उहाँको सार परिवर्तन भएको प्रमाणित गर्दैनन्; अर्को शब्दमा भन्नुपर्दा, परमेश्वर सधैँ नै परमेश्वर नै हुनुहुनेछ, र यो कहिल्यै परिवर्तन हुनेछैन। यदि तँ परमेश्वरको काम अपरिवर्तनीय छ भनी भन्छस् भने, के उहाँको छ हजार वर्षे व्यवस्थापनको योजना समाप्त हुन सम्भव हुनेथियो त? तँ परमेश्वर सदासर्वदा अपरिवर्तनीय हुनुहुन्छ भन्ने मात्र जान्दछस्, तर के तँ परमेश्वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न भनी जान्दछस्? यदि परमेश्वरको काम कहिल्यै परिवर्तन नभएको भए, के उहाँ मानवजातिलाई डोऱ्याएर आजको दिनसम्म ल्याउन सक्नुहुनेथ्यो? यदि परमेश्वर सधैभरि अपरिवर्तनीय हुनुहुन्थ्यो भने, उहाँले किन दुइटा युगको काम गरिसक्नुभयो त? उहाँको काम अगाडि बढ्न कहिल्यै रोकिँदैन, भन्नुको अर्थ के हो भने उहाँको स्वभाव बिस्तारै मानिसलाई प्रकट गरिन्छ, र जे प्रकट गरिन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो। सुरुमा, परमेश्वरको स्वभाव मानिसबाट लुकेको थियो, उहाँले कहिल्यै उहाँको स्वभाव मानिससामु खुल्लमखुल्ला प्रकट गर्नुभएन, र मानिसलाई उहाँबारे कुनै ज्ञान नै थिएन। यसकारण, परमेश्वर मानिसलाई उहाँको स्वभाव बिस्तारै प्रकट गर्न उहाँको काम प्रयोग गर्नुहुन्छ, तर यसरी काम गर्नुको अर्थ हरेक युगमा उहाँको स्वभाव परिवर्तन हुन्छ भन्ने होइन। परमेश्वरका अभिप्रायहरू सधैँ परिवर्तन भइरहने हुनाले उहाँको स्वभाव सधैँ परिवर्तन भइरहन्छ भन्ने होइन। बरु, के हो भने, परमेश्वरको कामका युगहरू भिन्नाभिन्नै भएकाले, उहाँ आफ्नो अन्तर्निहित स्वभावलाई त्यसको सम्पूर्णतामा, एक-एक कदम गर्दै मानिसलाई प्रकट गर्नुहुन्छ, ताकि मानिसले उहाँलाई चिन्न सकोस्। तर सुरुमा परमेश्वरको कुनै खास स्वभाव हुँदैन र युगहरू बित्दै जाँदा उहाँको स्वभाव बिस्तारै परिवर्तन हुँदै आएको छ भन्ने कुराको प्रमाण यो हुँदै होइन—त्यस्तो बुझाइ भ्रामक हुनेथियो। परमेश्वर मानिसलाई उहाँको अन्तर्निहित र विशेष स्वभाव—उहाँ जे हुनुहुन्छ—त्यो प्रकट गर्नुहुन्छ, र उहाँ युगहरूको बिताइअनुसार त्यसो गर्नुहुन्छ; एउटै युगको कामले परमेश्वरको सम्पूर्ण स्वभाव व्यक्त गर्न सक्दैन। अनि त्यसकारण, “परमेश्वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न” भन्ने शब्दहरूले उहाँको काम जनाउँछन्, अनि “परमेश्वर सधैँभरि अपरिवर्तनीय हुनुहुन्छ” भन्ने शब्दहरूले अन्तर्निहित रूपमा परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई जनाउँछन्। जे भए पनि, तैँले छ हजार वर्षको कामलाई एउटा बिन्दुमा सीमित गर्न सक्दैनस्, वा त्यसलाई मृत शब्दहरूले घेरेर राख्न सक्दैनस्। मानिसको मूर्खता त्यस्तो हुन्छ। परमेश्वर मानिसले कल्पना गरेजस्तो सरल हुनुहुन्न, र उहाँको काम कुनै एक युगमा रहिरहन सक्दैन। उदाहरणका लागि, यहोवाले सधैँ परमेश्वरको नाउँ प्रतिनिधित्व गर्न सक्दैन; परमेश्वरले येशूको नाउँमा पनि आफ्नो काम गर्न सक्नुहुन्छ। यो परमेश्वरको काम सधैँ अगाडि दिशामा बढिरहेको छ भन्ने सङ्केत हो।
परमेश्वर सधैँ परमेश्वर हुनुहुन्छ र उहाँ कहिल्यै शैतान बन्नुहुनेछैन; शैतान सधैँ शैतान हो र यो कहिल्यै परमेश्वर बन्नेछैन। परमेश्वरको बुद्धि, परमेश्वरको विलक्षणता, परमेश्वरको धार्मिकता र परमेश्वरको प्रताप कहिल्यै परिवर्तन हुनेछैन। उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कहिल्यै परिवर्तन हुनेछैन। तर, उहाँको कामको हकमा भन्दा, यो सधैँ अगाडिको दिशामा बढिरहेको हुन्छ, सधैँ अझ गहिरिँदै जान्छ, किनभने उहाँ सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न। हरेक युगमा परमेश्वर नयाँ नाम धारण गर्नुहुन्छ, हरेक युगमा उहाँ नयाँ काम गर्नुहुन्छ र हरेक युगमा उहाँ आफ्ना सृजित प्राणीहरूलाई आफ्ना नयाँ अभिप्रायहरू र नयाँ स्वभाव देख्न दिनुहुन्छ। नयाँ युगमा, यदि मानिसहरूले परमेश्वरको नयाँ स्वभावको अभिव्यक्ति देख्न नसकेका भए, के तिनीहरूले उहाँलाई सधैँका लागि क्रूसमा टाँग्नेथिएनन् र? अनि त्यसो गरेर, के तिनीहरूले परमेश्वरलाई सीमित गर्नेथिएनन् र? यदि परमेश्वर देहमा पुरुषका रूपमा मात्र आउनुभएको भए, मानिसहरूले उहाँलाई पुरुषका रूपमा, पुरुषहरूका परमेश्वरका रूपमा परिभाषित गर्नेथिए र उहाँलाई महिलाहरूका परमेश्वर हुनुहुन्छ भनी कहिल्यै विश्वास गर्नेथिएनन्। त्यसपछि पुरुषहरूले परमेश्वर पुरुषहरूकै लिङ्गको हुनुहुन्छ, परमेश्वर पुरुषहरूका शिर हुनुहुन्छ भनी ठान्नेथिए—तर त्यसोभए महिलाहरूबारे चाहिँ के नि? यो अन्याय हो; के यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि यस्तो भएको भए, परमेश्वरले मुक्ति दिने सबै जना उहाँजस्तै पुरुष हुनेथिए र एउटी पनि महिलाले मुक्ति पाउनेथिइन। परमेश्वरले मानवजाति सृष्टि गर्नुहुँदा, आदमलाई सृष्टि गर्नुभयो र उहाँले हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई मात्र सृष्टि गर्नुभएन, तर आफ्नै स्वरूपमा पुरुष र महिला दुवै बनाउनुभयो। परमेश्वर पुरुषहरूका मात्र परमेश्वर हुनुहुन्न—उहाँ महिलाहरूका पनि परमेश्वर हुनुहुन्छ। परमेश्वर आखिरी दिनहरूमा कामको नयाँ चरणमा प्रवेश गर्नुहुन्छ। उहाँले अझ बढी आफ्नो स्वभाव प्रकट गर्नुहुनेछ र यो येशूको समयको कृपा र प्रेमिलो दया हुनेछैन। उहाँसँग गर्नुपर्ने नयाँ काम भएकाले, यो नयाँ काम नयाँ स्वभावसँगै आउनेछ। त्यसैले, यदि यो काम आत्माद्वारा गरिएको भए—यदि परमेश्वर देह नबन्नुभएको भए र त्यसको साटो आत्माले सिधै मेघ गर्जनमार्फत बोल्नुभएको भए, ताकि मानिससँग उहाँलाई सम्पर्क गर्ने कुनै उपाय नहोस्, के मानिसले उहाँको स्वभाव जान्न सक्नेथियो? यदि आत्माले मात्रै काम गरेको भए, मानिससँग परमेश्वरको स्वभाव जान्ने कुनै उपाय हुनेथिएन। जब परमेश्वर देह बन्नुहुन्छ, जब वचन देहमा देखा पर्नुहुन्छ र उहाँ देहमार्फत आफ्नो सम्पूर्ण स्वभाव व्यक्त गर्नुहुन्छ, तब मात्र मानिसहरूले आफ्नै आँखाले परमेश्वरको स्वभाव देख्न सक्छन्। परमेश्वर साँच्चै र साँचो रूपमा मानिसमाझ जिउनुहुन्छ। उहाँको रूप र स्वरूप छ; मानिस वास्तवमा उहाँको स्वभावसँग संलग्न हुन सक्छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यससँग संलग्न हुन सक्छ; यसरी मात्र मानिसले साँच्चै उहाँलाई चिन्न सक्छ। त्यससँगसँगै, परमेश्वरले यस्तो काम पनि पूरा गर्नुभएको छ जसमा “परमेश्वर पुरुषहरूका परमेश्वर र महिलाहरूका परमेश्वर हुनुहुन्छ” र देहमा आफ्नो सम्पूर्ण काम सम्पन्न गर्नुभएको छ। उहाँ कुनै पनि युगमा काम दोहोर्याउनुहुन्न। आखिरी दिनहरू आइसकेका हुनाले, उहाँले आखिरी दिनहरूको आफ्नो काम गर्नुहुनेछ र आखिरी दिनहरूमा आफ्नो सम्पूर्ण स्वभाव प्रकट गर्नुहुनेछ। आखिरी दिनहरूको कुरा गर्दा, यसले फरक युगलाई जनाउँछ, जसका बारेमा येशूले तिमीहरूले निश्चय नै प्रकोप सामना गर्नेछौ अनि भूकम्प, अनिकाल र महामारीहरू सामना गर्नेछौ, जसले यो नयाँ युग हो र उप्रान्त पुरानो अनुग्रहको युग रहेन भन्ने देखाउनेछ भनी भन्नुभएको थियो। मानिसहरूले भनेजस्तै परमेश्वर सधैँ अपरिवर्तनीय हुनुहुन्छ, उहाँको स्वभाव सधैँ कृपालु र प्रेमिलो छ, उहाँ मानिसलाई आफूलाई जस्तै प्रेम गर्नुहुन्छ र उहाँ सबैलाई मुक्ति प्रदान गर्नुहुन्छ र मानिसलाई कहिल्यै घृणा गर्नुहुन्न भनी मान्ने हो भने, के उहाँको काम कहिल्यै समाप्त हुन सक्नेथियो र? जब येशू आउनुभयो र क्रूसमा टाँगिनुभयो, सबै पापीहरूका लागि आफूलाई बलिदान गर्नुभयो र आफूलाई वेदीमा चढाउनुभयो, तब उहाँले छुटकाराको काम पूरा गरिसक्नुभएको थियो र अनुग्रहको युगलाई समाप्त पारिसक्नुभएको थियो। त्यसोभए आखिरी दिनहरूमा त्यस युगको काम दोहोर्याउनुको के अर्थ हुनेथ्यो र? के त्यही कुरा गर्नुले येशूको कामको इन्कार हुनेथिएन र? यदि परमेश्वरले यस चरणमा आउनुहुँदा क्रूसीकरणको काम नगर्नुभएर बरु प्रेमिलो र कृपालु नै रहनुभएको भए, के उहाँले त्यस युगलाई समाप्त गर्न सक्नुहुनेथियो र? के प्रेमिलो र कृपालु परमेश्वरले त्यस युगलाई समाप्त गर्न सक्नुहुनेथियो र? युगलाई समाप्त गर्ने परमेश्वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको हो, जसमा उहाँ अधार्मिक सबै कुरा प्रकट गर्नुहुन्छ, असङ्ख्य मानिसहरूको सार्वजनिक रूपमा न्याय गर्नुहुन्छ र उहाँलाई सच्चा रूपमा प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ। यस्तो स्वभावले मात्र त्यस युगलाई समाप्त गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरू सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्न सकिँदैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकट गर्न सकिन्छ। मानिसहरू आफूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र आफू साँचो रूपमा के हो त्यो देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र असङ्ख्य मानिसले परमेश्वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। त्यसकारण, यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्ने होइन। मानौँ, मानिसहरूका परिणाम प्रकट गर्ने आखिरी दिनहरूमा, परमेश्वर मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयाका साथ प्रेम गर्नुहुन्छ र तिनीहरूप्रति निरन्तर प्रेमिलो हुनुहुन्छ, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याई, बरु नरमपन, धैर्य र क्षमा देखाउनुहुन्छ र तिनीहरूका पाप जति नै गम्भीर भए पनि, कुनै धर्मी न्याय नगरी तिनीहरूलाई क्षमा गर्नुहुन्छ। त्यसोभए, परमेश्वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? यसलाई सधैँ मानिसहरूप्रति प्रेमिलो हुने न्यायाधीश, दयालु मुहार र कोमल हृदयको न्यायाधीशसँग तुलना गर्न सकिन्छ, जो मानिसहरूलाई उनीहरूले जस्तोसुकै अपराध गरेका भए पनि प्रेम गर्छ र तिनीहरू जोसुकै भए पनि तिनीहरूप्रति प्रेम र सहनशीलता देखाउँछ—त्यस्तो न्यायाधीशले कहिले चाहिँ न्यायसङ्गत फैसला गर्न सक्छ र? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।
परमेश्वरका सबै व्यवस्थापनहरूमा उहाँको काम पूर्ण रूपमा स्पष्ट छ: अनुग्रहको युग, अनुग्रहको युग नै हो, र आखिरी दिनहरू, आखिरी दिनहरू नै हुन्। प्रत्येक युगबीच स्पष्ट भिन्नताहरू छन्, किनकि परमेश्वरले हरेक युगमा त्यो काम गर्नुहुन्छ जसले त्यस युगको प्रतिनिधित्व गर्दछ। किनकि आखिरी दिनहरूको काम गर्नका लागि, युगलाई समाप्त गर्न जलन, न्याय, सजाय, क्रोध र विनाश हुनुपर्दछ। आखिरी दिनहरूले अन्तिम युगलाई बुझाउँछ। अन्तिम युगको अवधिमा, के परमेश्वरले युगको अन्त्य गर्नुहुनेछैन र? युगको अन्त्य गर्न, परमेश्वरले आफ्नो साथमा सजाय र न्याय ल्याउनैपर्छ। यस तरिकाले मात्र उहाँले युगको अन्त्य गर्न सक्नुहुन्छ। येशूले मानिस निरन्तर बाँचिरहोस् र जिइरहोस्, र ऊ अझ राम्रो तरिकाले अस्तित्वमा रहोस् भन्ने खोजी गर्नुभयो। उहाँले मानिसलाई पापबाट बचाउन, उसलाई निरन्तर नैतिक पतनमा झर्नबाट र पाताल र नरकमा जिउनबाट जोगाउन, र मानिसलाई पाताल र नरकबाट बचाउँदा, उसलाई जिइरहन दिन खोज्नुभयो। अब आखिरी दिनहरू आइपुगेका छन्। परमेश्वरले मानिसलाई नष्ट गर्नुहुनेछ र मानव जातिलाई पूर्ण रूपमा नाश पार्नुहुनेछ, अर्थात्, उहाँले मानवजातिको विद्रोहीपनलाई रूपान्तरण गर्नुहुनेछ। यस कारणले गर्दा, विगतको कृपालु र प्रेमिलो स्वभाव लिएर युगको अन्त्य गर्न वा उहाँको छ हजार वर्षको व्यवस्थापन योजनालाई सफल बनाउन परमेश्वरको निम्ति असम्भव हुनेछ। प्रत्येक युगमा परमेश्वरको स्वभावको विशेष प्रतिनिधित्व हुँदछ, र प्रत्येक युगमा परमेश्वरले गर्नु पर्ने कामहरू हुन्छन्। यसैले, प्रत्येक युगमा परमेश्वर स्वयम्ले गर्नुहुने काममा उहाँको वास्तविक स्वभावको अभिव्यक्ति समावेश हुन्छ, र उहाँको नाउँ र उहाँले गर्नुहुने काम, दुवै युगसँगै परिवर्तन हुँदछ—ती सबै नयाँ हुन्छन्। व्यवस्थाको युगको अवधिमा मानव जातिलाई डोऱ्याउने काम यहोवाको नाउँमा गरिएको थियो र पृथ्वीमा पहिलो चरणको काम सुरु भएको थियो। यस चरणमा काम भनेको मन्दिर र वेदी निर्माण गर्ने, व्यवस्था प्रयोग गरेर इस्राएलका मानिसहरूलाई मार्गदर्शन गर्ने, र इस्राएलका मानिसहरूमाझ काम गर्ने थियो। इस्राएलका मानिसहरूलाई मार्गदर्शन गरेर, उहाँले पृथ्वीमा आफ्नो कामका लागि एउटा आधार खडा गर्नुभयो। यही आधारबाट उहाँले आफ्नो काम इस्राएलभन्दा बाहिर फैलाउनुभयो, जसको अर्थ यो हो, कि इस्राएलबाट सुरु गरेर उहाँले आफ्नो कामलाई बाहिरतिर फैलाउनुभयो, जसले गर्दा पछि आउने पुस्ताहरूले यहोवा परमेश्वर हुनुहुन्छ, र यहोवाले नै स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो, र सबै सृजित प्राणी यहोवाले नै बनाउनुभएको हो भनी क्रमिक रूपमा थाहा पाए। उहाँले आफ्नो काम इस्राएलका मानिसहरूद्वारा तिनीहरूभन्दा पार बाहिरसम्म फैलाउनुभयो। इस्राएलको भूमि पृथ्वीमा यहोवाको काम भएको पहिलो पवित्र स्थल थियो, र इस्राएलको भूमिमा नै परमेश्वरले पृथ्वीमा पहिलो पटक काम गर्नुभयो। व्यवस्थाको युगको काम त्यही थियो। अनुग्रहको युगको अवधिमा येशू मानिसलाई मुक्ति दिने परमेश्वर हुनुहुन्थ्यो। उहाँसँग जे थियो र उहाँ जे हुनुहुन्थ्यो त्यो अनुग्रह, प्रेमपूर्ण दया, कृपा, सहनशीलता, धैर्य, नम्रता, प्रेम, र उदारता थियो, र उहाँले गर्नुभएका धेरै काम मानिसको छुटकाराका लागि थियो। उहाँको स्वभाव कृपा र प्रेमपूर्ण दयाको स्वभाव थियो, र उहाँ कृपालु र प्रेमिलो हुनुभएकाले, उहाँ मानिसका निम्ति क्रूसमा टाँगिनु पर्यो, ताकि परमेश्वर मानिसलाई आफूसमान प्रेम गर्नुहुन्छ, यहाँसम्म कि उहाँले आफैलाईले पूर्ण रूपमा अर्पण गर्नुभयो भन्ने कुरा देखाउन सकियोस्। अनुग्रहको युगमा, परमेश्वरको नाम येशू थियो, अर्थात्, परमेश्वर मानिसलाई मुक्ति दिने परमेश्वर हुनुहुन्थ्यो, र उहाँ एक कृपालु र प्रेमिलो परमेश्वर हुनुहुन्थ्यो। परमेश्वर मानिसको साथमा हुनुहुन्थ्यो। उहाँको प्रेम, उहाँको कृपा र उहाँको मुक्ति प्रत्येक व्यक्तिको साथमा थियो। येशूको नाउँ र उहाँको उपस्थितिलाई स्वीकार गरेर मात्र मानिसले शान्ति र आनन्द, अनि उहाँको आशिष्, उहाँको विशाल र असङ्ख्य अनुग्रहहरू, र उहाँको मुक्ति पाउन सक्थ्यो। येशूको क्रूसीकरणद्वारा उहाँलाई पछ्याउने सबैले मुक्ति पाए र तिनीहरूका पापहरू क्षमा भए। अनुग्रहको युगको अवधिमा, येशू परमेश्वरको नाउँ थियो। अर्को शब्दमा भन्नुपर्दा, अनुग्रहको युगको काम मुख्य रूपमा येशूको नाउँमा नै गरिएको थियो। अनुग्रहको युगको अवधिमा, परमेश्वरलाई येशू भनिन्थ्यो। उहाँले पुरानो करारभन्दा उताको नयाँ कामको चरण लिनुभयो, र उहाँको काम क्रूसीकरणसितै समाप्त भयो। यो उहाँको कामको सम्पूर्णता थियो। त्यसकारण, व्यवस्थाको युगको अवधिमा यहोवा परमेश्वरको नाउँ थियो, र अनुग्रहको युगमा येशूको नाउँले परमेश्वरको प्रतिनिधित्व गर्यो। आखिरी दिनहरूमा, उहाँको नाउँ सर्वशक्तिमान् परमेश्वर हो—त्यो सर्वशक्तिमान्, जो आफ्नो शक्ति प्रयोग गरेर मानिसलाई मार्गदर्शन गर्नुहुन्छ, मानिसलाई विजय गर्नुहुन्छ, र मानिसलाई प्राप्त गर्नुहुन्छ, र अन्त्यमा उक्त युगलाई अन्त्य गर्नुहुन्छ। प्रत्येक युगमा, उहाँको कामको हरेक चरणमा, परमेश्वरको स्वभाव स्पष्ट हुन्छ।
सुरुमा, पुरानो करारको व्यवस्थाको युगको अवधिमा मानिसलाई डोऱ्याउनु एउटा बच्चाको जीवनलाई डोऱ्याउनु जस्तो थियो। सबैभन्दा पहिलेको मानव जाति यहोवाको नयाँ जन्मेको शिशु थियो; तिनीहरू इस्राएलीहरू थिए। तिनीहरूमा परमेश्वरको डर कसरी मान्ने वा पृथ्वीमा कसरी जिउने भन्ने केही ज्ञान थिएन। भन्न खोजेको कुरा के हो भने, यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, अर्थात् उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई कसरी यहोवाको डर मान्ने वा पृथ्वीमा रहेका यहोवाका विधानहरू पालन गर्ने भनी बुझ्ने सामर्थ्य दिनुभएन। यहोवाको प्रत्यक्ष मार्गदर्शनविना कसैले पनि यो कुरा जान्न सक्दैनथियो, किनकि सुरुमा मानिसमा यो सामर्थ्य नै थिएन। मानिसलाई यहोवा परमेश्वर हुनुहुन्छ भन्ने मात्रै थाहा थियो, तर उहाँको डर कसरी मान्ने, कस्तो प्रकारको आचरणलाई उहाँको डर मानेको भन्न सकिन्थ्यो, कस्तो प्रकारको मनले उहाँको डर मान्नुनुपर्थ्यो, वा उहाँको डरमा उहाँलाई के चढाउने त्यसको बारेमा मानिसलाई केही थाहा थिएन। मानिसले यहोवाद्वारा सृष्टि गरिएका सबै थोकमध्ये उपभोग गर्न सकिने कुरा उपभोग गर्न मात्र जानेको थियो, तर मानिस वास्तवमै “सृजित प्राणी” को उपाधिको योग्य बन्न पृथ्वीमा कसरी जिउनुपर्छ भन्ने कुराबारे भने ऊ पूर्ण रूपमा अनभिज्ञ थियो। कसैले निर्देशन नदिई, कसैले तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ नगरी यस मानवजातिले कहिल्यै उचित मानव जीवन जिएको हुने थिएन, तर शैतानले क्रुद्ध बनेर कैदी बनाएका हुनेथिए। यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, भन्नुपर्दा, उहाँले मानव जातिका पुर्खा, हव्वा र आदमलाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई अरू कुनै बौद्धिकता वा बुद्धि दिनुभएन। तिनीहरू पहिलेदेखि नै पृथ्वीमा बसिरहेका भए तापनि तिनीहरूले प्रायः केही पनि बुझेका थिएनन्। त्यसैले, मानवजातिको सृष्टि गर्ने यहोवाको काम आधा मात्र सकिएको थियो, पूर्ण रूपमा सम्पन्न भएको थिएन। उहाँले केवल माटोबाट मानिसको ढाँचा बनाएर त्यसलाई उहाँको सास दिनुभएको थियो, तर मानिसलाई उहाँको डर मान्ने पर्याप्त सङ्कल्प दिनुभएको थिएन। सुरुमा, मानिसमा उहाँको डर मान्ने वा उहाँदेखि त्रस्त हुने हृदय थिएन। मानिसले उहाँका वचनहरू सुन्न मात्र जानेको थियो, तर पृथ्वीको जीवन र मानव जीवनको सामान्य नियमहरूको आधारभूत ज्ञानको बारेमा ऊ अनजान थियो। अनि यसरी, यहोवाले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो र सात दिनको योजना पूरा गर्नुभएको भए तापनि, उहाँले कुनै पनि प्रकारले मानिसलाई सृष्टि गर्ने कार्य पूरा गर्नुभएको थिएन, किनकि मानिस बाहिरी आवरण मात्र थियो, र उसमा मानिस हुनुको वास्तविकताको कमी थियो। मानिसलाई यति मात्र थाहा थियो कि मानवजातिको सृष्टि गर्ने यहोवा हुनुहुन्छ, तर यहोवाका वचन र विधानहरू कसरी पालन गर्नुपर्छ भन्नेबारे उसलाई अलिकति पनि ज्ञान थिएन। त्यसकारण मानव जाति अस्तित्वमा आएपछि पनि यहोवाको काम पूरा भएको थिएन। उहाँले अझै पनि मानव जातिलाई उहाँको सामु आउन पूर्ण रूपमा अगुवाइ गर्नु बाँकी नै थियो, ताकि तिनीहरू पृथ्वीमा एकसाथ जिउन र उहाँको डर मान्न सकून्, ताकि उहाँको अगुवाइद्वारा तिनीहरू पृथ्वीमा सामान्य मानव जीवनको सही बाटोमा आउन सकून्। यस तरिकाले मात्र मुख्य रूपले यहोवाको नाउँमा सञ्चालन गरिएको काम पूरा हुन सक्थ्यो; अर्थात्, यसरी मात्र संसारको सृष्टि गर्ने यहोवाको काम पूर्ण रूपमा समाप्त हुन सक्थ्यो। त्यसकारण, मानवजातिलाई सृष्टि गरेपछि, मानवजातिले उहाँका आदेश र विधानहरू पालना गर्न र पृथ्वीमा सबै सामान्य मानव गतिविधिमा भाग लिन सकोस् भनेर उहाँले केही हजार वर्षसम्म पृथ्वीमा मानवजातिको जीवनलाई डोऱ्याउनुपऱ्यो। त्यसपछि मात्र यहोवाको काम पूर्ण रूपमा सकियो। उहाँले मानवजातिलाई सृष्टि गर्नुभएपछि यो काम हातमा लिनुभयो र यसलाई याकूबको युगसम्म निरन्तरता दिनुभयो, जुन बेला उहाँले याकूबका बाह्र छोरालाई इस्राएलका बाह्र कुल बनाउनुभयो। त्यस समयदेखि यता, इस्राएलका सारा मानिस पृथ्वीमा आधिकारिक रूपमा उहाँद्वारा डोऱ्याइएका मानिस बने, र इस्राएल पृथ्वीको त्यही ठाउँ बन्न पुग्यो जहाँ उहाँले आफ्नो काम गर्नुभयो। यहोवाले यी मानिसहरूलाई त्यो पहिलो समूह बनाउनुभयो जसमाथि उहाँले आधिकारिक रूपमा पृथ्वीमा आफ्नो काम गर्नुभयो र उहाँले सम्पूर्ण इस्राएल भूमिलाई उहाँको कामको मूल केन्द्र बनाउनुभयो, जुन ठाउँबाट उहाँले अझ ठूला काम समेत गर्नुभयो, ताकि पृथ्वीमा उहाँबाट जन्मेका सबै मानिसले उहाँको डर मान्न र पृथ्वीमा कसरी जिउनुपर्छ भनी जान्न सकून्। अनि यसैले, इस्राएलीहरूले गरेका कामहरू अन्यजाति मानिसहरूले पछ्याउनुपर्ने एउटा उदाहरण बन्यो, र इस्राएलीहरूका बीचमा भनिएका कुरा अन्यजातिका मानिसहरूले सुन्नु पर्ने वचनहरू बने। किनकि यहोवाका व्यवस्था र आज्ञाहरू सबैभन्दा पहिले प्राप्त गर्ने तिनीहरू नै थिए, अनि त्यसरी नै पहिलो पटक यहोवाको मार्गको डर मान्न जान्ने पनि तिनीहरू नै थिए। तिनीहरू मानवजातिका ती पुर्खा थिए जसलाई यहोवाको मार्ग थाहा थियो, साथै तिनीहरू यहोवाद्वारा चुनिएका मानवजातिका प्रतिनिधि पनि थिए। जब अनुग्रहको युग आइपुग्यो, तब उहाँले मानिसलाई यस प्रकारले मार्गदर्शन गर्न छोड्नुभयो। मानिसले पाप गरेको थियो र आफैलाई पापमा छोडिदिएको थियो, र त्यसैले उहाँले मानिसलाई पापबाट मुक्ति दिन थाल्नुभयो। यस्तो प्रकारले, उहाँले मानिसलाई यसरी हप्काउनुभयो कि उसले पापबाट पूर्ण रूपमा मुक्ति पायो। आखिरी दिनहरूमा, मानिस वर्तमान नैतिक पतनको अवस्थासम्म खस्किएको छ। तसर्थ, यस चरणको काम न्याय र सजायमार्फत गरिन्छ—यस तरिकाले मात्र काम पूरा गर्न सकिन्छ। यो केही युगदेखिको काम रहिआएको छ, परमेश्वर एउटा युगलाई अर्को युगबाट अलग गर्न र तिनका बीचमा परिवर्तन ल्याउन आफ्नो नाउँ, आफ्नो काम, र परमेश्वरका विभिन्न स्वरूप प्रयोग गर्नुहुन्छ; परमेश्वरको नाउँ र उहाँको कामले उहाँको युग र प्रत्येक युगमा उहाँको कामको प्रतिनिधित्व गर्दछ। प्रत्येक युगमा परमेश्वरको काम सधैँ एक समान हुन्छ, उहाँ सधैँ एउटै नाउँद्वारा बोलाइनुहुन्छ भन्ने मानिलिँदा, मानिसहरूले उहाँलाई कसरी चिन्दछन्? परमेश्वरलाई यहोवा भन्नुपर्दछ, र परमेश्वरलाई यहोवा भन्नुबाहेक अरू अर्कै नाउँद्वारा बोलाइन्छ भने ऊ परमेश्वर होइन। वा अन्यथा परमेश्वर मात्र येशू हुन सक्नुहुन्छ, र येशूको नाउँबाहेक उहाँ अरू कुनै नाउँले बोलाइनु हुँदैन; येशूबाहेक, यहोवा परमेश्वर हुनुहुन्न, र सर्वशक्तिमान् परमेश्वर पनि परमेश्वर हुनुहुन्न। मानिस यस्तो विश्वास गर्छ: “परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छभन्ने कुरा साँचो हो, तर परमेश्वर यस्तो परमेश्वर हुनुहुन्छ जो मानिससँग हुनुहुन्छ। उहाँलाई येशू नै भनिनैपर्छ, किनकि परमेश्वर मानिससँग हुनुहुन्छ।” यस्तो विश्वास गर्नु भनेको प्रावधानहरू पालन गर्नु, र परमेश्वरलाई एउटा निश्चित क्षेत्रमा सीमित गर्नु हो। त्यसैले, प्रत्येक युगमा परमेश्वरले गर्नुहुने काम, उहाँलाई बोलाइने नाम, र उहाँले धारण गर्नुहुने स्वरूप—उहाँले आजको दिनसम्म प्रत्येक चरणमा गर्नुहुने काम—ले कुनै पनि प्रावधान पालन गर्दैनन्, र तिनको कुनै पनि प्रकारको सीमितता छैन। उहाँ यहोवा हुनुहुन्छ, तर उहाँ येशू, साथसाथै मसीह र सर्वशक्तिमान् परमेश्वर पनि हुनुहुन्छ। उहाँको नाउँ क्रमशः परिवर्तन हुँदै जाँदा उहाँको काम पनि बिस्तारै परिवर्तन हुन्छन्। कुनै एउटा नाउँले पूर्ण रूपले उहाँको प्रतिनिधित्व गर्न सक्दैन, तर उहाँलाई बोलाइने सबै नाउँले उहाँको प्रतिनिधित्व गर्न सक्छन्, र प्रत्येक युगमा उहाँले गर्नुहुने कामले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ। मानिलिऔँ, जब आखिरी दिनहरू आइपुग्छन्, तैँले देख्ने परमेश्वर अझै पनि येशू नै हुनुहुन्छ, र उहाँ सेतो बादलमा सवार हुनुहुन्छ, र उहाँमा अझै पनि येशूको रूप छ, र उहाँ अझै पनि येशूकै वचनहरू बोल्नुहुन्छ: “तिमीहरूले आफ्नो छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्नुपर्छ। तिमीहरूले उपवास बस्नुपर्छ र प्रार्थना गर्नुपर्छ। आफ्ना शत्रुहरूलाई प्रेम गर। आफ्नो जीवनलाई जति प्रिय ठान्छौ, आफ्ना शत्रुहरूलाई त्यति नै प्रेम गर। सहनशीलता देखाऊ, अनि धैर्यवान् र नम्र होऊ। मेरा चेलाहरू बन्नुभन्दा अघि तिमीहरूले यी सबै कुराहरू गर्नुपर्दछ। र यी सबै कुराहरू गरेर, तिमीहरू मेरो राज्यमा प्रवेश गर्न सक्छौ।” के यो अनुग्रहको युगको काम अन्तर्गत पर्दैन र? के उहाँले जे भन्नुहुन्छ, त्यो अनुग्रहको युगको बाटो हुँदैन र? यदि तिमीहरूले यी वचनहरू सुन्यौ भने तिमीहरूलाई कस्तो लाग्नेथियो? के तिमीलाई अझै पनि यो येशूको काम हो भन्ने लाग्दैनथियो? के यो त्यसको नकल गरेको हुनेथिएन र? के मानिसले यसमा आनन्द पाउन सक्छ? के तिमीहरूले परमेश्वरको काम अहिले जस्तो छ त्यस्तै मात्र रहन सक्छ र अझै अगाडि बढ्दैन भन्ने महसुस गर्नेथियौ। उहाँसँग यति धेरै शक्ति छ, र अब नयाँ काम अरू बाँकी छैन, र उहाँले आफ्नो शक्तिलाई त्यसको सीमामा ल्याउनुभएको छ। आजभन्दा दुई हजार वर्ष अगाडि अनुग्रहको युग थियो, र दुई हजार वर्षपछि पनि उहाँले अझै अनुग्रहको युगको बाटोको प्रचार गर्दैहुनुहुन्छ, र अझै पनि मानिसहरूलाई पश्चात्ताप गर्न लगाउँदैहुनुहुन्छ। मानिसहरूले भन्नेछन्, “परमेश्वर, तपाईंसँग मात्र यति धेरै शक्ति छ। म विश्वास गर्छु, तपाईं धेरै बुद्धिमान् हुनुहुन्छ, र पनि तपाईं अझै धैर्य मात्र जान्नुहुन्छ अनि धैर्यको मात्र चिन्ता गर्नुहुन्छ। तपाईंले शत्रुलाई कसरी प्रेम गर्नुपर्छ भन्ने मात्रै जान्नुहुन्छ, त्योबाहेक अरू केही जान्नुहुन्न।” मानिसहरूले परमेश्वरलाई अनुग्रहको युगमै सीमित राख्नेछन्, र सधैँ उहाँ प्रेमिलो र कृपालु हुनुहुन्छ भनी विश्वास गर्नेछन्। के तँ परमेश्वरको काम सधैँ उही पुरानो मैदानमा नै खडा हुनेछ भनी सोच्छस्? त्यसैले, उहाँको कामको यस चरणमा उहाँ क्रूसमा टाँगिनुहुनेछैन, र तिमीहरूले देख्ने र छुने सबै कुरा तिमीहरूले कल्पना गरेको वा सुनेको जस्तो बिलकुलै हुनेछैन। आज, परमेश्वर फरिसीहरूसित भिड्नुहुन्न, न त संसारलाई र उहाँलाई चिन्नेहरूलाई उहाँको पछि लाग्ने तिमीहरू मात्र हौ भनी जान्न दिनुहुन्छ, किनकि उहाँलाई फेरि क्रूसमा टाँगिनेछैन। अनुग्रहको युगको अवधिमा, येशूले आफ्नो सुसमाचारको कामका लागि सम्पूर्ण देशभरि खुल्लमखुल्ला प्रचार गर्नुभयो। क्रूसीकरणको कामको लागि उहाँ फरिसीहरूसँग भिड्नुभयो; यदि उहाँले फरिसीहरूसँग सङ्गत नगर्नुभएको भए र शक्तिमा रहेकाहरूले उहाँलाई कहिल्यै नचिनेका भए, उहाँ कसरी दोषी ठहराइन, त्यसपछि धोका पाउन र क्रूसमा टाँगिन सक्नुहुन्थ्यो? त्यसकारण, उहाँ क्रूसमा टाँगिनको निम्ति फरिसीहरूसित भिड्नुभयो। आज, उहाँ प्रलोभनहरूबाट बच्न आफ्नो काम गोप्य रूपमा गर्नुहुन्छ। परमेश्वरका दुई देहधारणमा काम र महत्त्व फरक-फरक छन्, र यो परिस्थिति पनि फरक छ, त्यसैले उहाँले गर्नुहुने काम कसरी त्यस्तै हुन सक्छ र?
के येशूको “परमेश्वर हामीसँग” भन्ने नाउँले परमेश्वरको स्वभावलाई पूर्णरूपमा प्रतिनिधित्व गर्नसक्छ? के त्यसले पूर्ण रूपमा परमेश्वरलाई व्यक्त गर्न सक्छ? यदि मानिसले परमेश्वरलाई येशू मात्र भनी बोलाउन सकिन्छ र परमेश्वरको अर्को नाउँ हुन सक्दैन, किनकि परमेश्वरले आफ्नो स्वभाव परिवर्तन गर्न सक्नुहुन्न भनी भन्छ भने, यी शब्दहरू साँच्चै ईश्वरनिन्दा हुन्छ! के तँ येशू नाउँ, परमेश्वर हामीसँग हुनुहुन्छ भन्ने नाउँले मात्र पूर्ण रूपमा परमेश्वरको प्रतिनिधित्व गर्न सक्छ भनी विश्वास गर्छस्? परमेश्वरलाई धेरै वटा नाउँले सम्बोधन गर्न सकिन्छ, परमेश्वरलाई समेट्ने नाउँ एउटै मात्र छैन, परमेश्वरलाई प्रतिनिधित्व गर्न एउटा मात्र नाउँ पनि छैन। यसैले, परमेश्वरका धेरै वटा नाउँहरू छन्, तर यी धेरै वटा नाउँले परमेश्वरको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैनन्, किनकि परमेश्वरको स्वभाव यति समृद्ध छ कि त्यो मानिसको क्षमताले बुझ्न सक्नेभन्दा बढी छ। मानिसले मानव जातिको कुनै पनि भाषा प्रयोग गरेर परमेश्वरलाई पूर्णरूपमा समेट्ने कुनै तरिका छैन। मानव जातिले परमेश्वरको स्वभावको बारेमा जे जान्दछ ती सबैलाई समेट्न तिनीहरूसित सीमित शब्दावली मात्र छ: महान्, आदर्शमयी, अद्भुत, बुझ्न नसकिने, सर्वोच्च, पवित्र, धर्मी, बुद्धिमान, आदि। यो सीमित शब्दावलीले मानिसले परमेश्वरको स्वभावमा देखेको थोरै कुराको समेत वर्णन गर्न सक्दैन। समय बित्दै जाँदा, अरू धेरैले त्यस्ता शब्दहरू थपे जसले उनीहरूका हृदयको जोशको राम्ररी वर्णन गर्न सक्छ भन्ने तिनीहरूले ठानेका थिए: परमेश्वर अति महान् हुनुहुन्छ! परमेश्वर अत्यन्तै पवित्र हुनुहुन्छ! परमेश्वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ! आज, यस्ता मानव भनाइहरू चरम सीमामा पुगेका छन्, तापनि मानिस अझै पनि आफैलाई व्यक्त गर्न असक्षम छ। त्यसैले, मानिसका नजरमा परमेश्वरका धेरै वटा नाउँ छन्, तापनि उहाँको नाउँ एउटै मात्र छैन, अनि परमेश्वरको सत्त्व प्रशस्त भएको तर मानिसको भाषा अति कमजोर भएको हुनाले यसो भएको हो। कुनै एउटा विशेष शब्द वा नाउँले परमेश्वरलाई उहाँको सम्पूर्णतामा प्रतिनिधित्व गर्नै सक्दैन, त्यसो भए के तँ उहाँको नाउँ निश्चित गर्न सकिन्छ भन्ने सोच्छस्? परमेश्वर अति महान् र अति पवित्र हुनुहुन्छ—के तँ उहाँलाई प्रत्येक युगमा उहाँको नाउँ परिवर्तन गर्ने अनुमति दिँदैनस्? त्यसकारण, परमेश्वरले व्यक्तिगत रूपमा आफ्नो काम गर्नुहुने प्रत्येक युगमा, उहाँले युग सुहाउँदो एउटा नाउँ प्रयोग गर्नुहुन्छ, जसले उहाँले गर्न चाहनुभएको कामलाई समेट्छ। उहाँ त्यस युगमा उहाँको स्वभावको प्रतिनिधित्व गर्न उक्त युगको महत्त्व बोकेको यो विशेष नाउँ प्रयोग गर्नुहुन्छ। यो आफ्नो स्वभाव व्यक्त गर्न परमेश्वरले मानव जातिको भाषा प्रयोग गर्नुभएको हो। त्यसरी नै, आत्मिक अनुभवहरू प्राप्त गर्ने र परमेश्वरलाई व्यक्तिगत रूपमा देख्ने धेरै मानिसहरूले यो एउटा विशेष नाउँ पूर्ण रूपमा परमेश्वरको प्रतिनिधित्व गर्न असमर्थ छ भन्ने महसुस गर्छन्—अहो, यसमा कुनै सहायता गर्न सकिँदैन—त्यसैले मानिसले अब परमेश्वरलाई कुनै नाउँबाट सम्बोधन गर्दैन, तर उहाँलाई “परमेश्वर” मात्र भन्छ। यस्तो लाग्छ, कि मानिसको हृदय प्रेमले भरिपूर्ण छ र अन्तर्विरोधहरूमा पनि परेको छ, किनकि मानिसले परमेश्वरको व्याख्या गर्न जान्दैन। परमेश्वर जे हुनुहुन्छ त्यो अति प्रशस्त छ, यसैले त्यसको वर्णन गर्ने कुनै तरिका नै छैन। परमेश्वरको स्वभावको सार बताउने कुनै एउटा शब्द छैन, अनि परमेश्वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै वर्णन गर्ने शब्द एउटा पनि छैन। यदि कसैले मलाई, “वास्तवमा तपाईं कुन नाउँ प्रयोग गर्नुहुन्छ?” भनी सोध्छ भने, म तिनीहरूलाई भन्नेछु, “परमेश्वर, परमेश्वर हुनुहुन्छ!” के यो परमेश्वरका निम्ति सर्वोत्तम नाम होइन र? के यसमा परमेश्वरको स्वभावलाई सबैभन्दा राम्रोसँगले समेटिएको छैन र? त्यसो हो भने, परमेश्वरको नाउँ जाँचपड्ताल गर्न तिमीहरू किन त्यत्ति धेरै प्रयास गर्छौ? तिमीहरूलाई किन खाना र निन्द्रा नै त्यागेर एउटा नाउँका खातिर सधैँ टाउको दुखाउनु परेको? त्यो दिन आउनेछ, जब परमेश्वरलाई यहोवा, येशू वा मसीह भनिनेछैन—उहाँलाई सृष्टिकर्ता मात्र भनिनेछ। त्यस बेला उहाँले पृथ्वीमा धारण गर्नुभएका सबै नाउँहरू समाप्त हुनेछ, किनकि पृथ्वीमा उहाँको काम समाप्त भएको हुनेछ, त्यसपछि उहाँको कुनै नाउँ हुनेछैन। जब सबै थोक सृष्टिकर्ताको अधीनमा आउँदछन्, उहाँलाई अत्याधिक उपयुक्त तर अपूर्ण नाउँ किन चाहिन्छ र? के तँ अझै परमेश्वरको नाउँ जाँचपड्ताल गरिरहेको छस्? के तँ अझै पनि परमेश्वरलाई यहोवा मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ अझै पनि परमेश्वरलाई येशू मात्र भनिन्छ भन्ने हिम्मत गर्छस्? के तँ परमेश्वरको विरुद्धमा गरिने ईश्वर निन्दाको पाप सहन सक्छस्? सुरुमा परमेश्वरको कुनै नाउँ थिएन भन्ने तँलाई थाहा हुनुपर्छ। उहाँले केवल एउटा वा दुईवटा वा धेरै नाउँ लिनुभयो, किनकि उहाँले गर्नुपर्ने काम थियो र मानव जातिलाई व्यवस्थापन गर्नुपर्थ्यो। उहाँलाई जुनसुकै नाउँले बोलाए पनि—के उहाँले त्यो स्वतन्त्र रूपमा चुन्नुभएन र? के उहाँलाई त्यो निर्धारण गर्न तेरो—एक सृजित प्राणीको—आवश्यकता पर्छ? परमेश्वरलाई जुन नाउँले सम्बोधन गरिन्छ त्यो नाउँ मानिसले मानव जातिको भाषामा उहाँलाई बुझ्न सक्ने अनुसार छ, तर यो नाउँ मानिसले सोच्न सक्ने कुरै होइन! तैँले केवल स्वर्गमा परमेश्वर हुनुहुन्छ, उहाँलाई परमेश्वर भनिन्छ, उहाँ महान् शक्ति भएका महान् परमेश्वर हुनुहुन्छ, जो अति बुद्धिमान् हुनुहुन्छ, अति उच्च, अति अद्भुत, अति रहस्यमय र अति सर्वशक्तिमान् हुनुहुन्छ भनेर मात्र भन्न सक्छस्, अरू केही भन्न सक्दैनस्; तैँले जान्न सक्ने भनेकै यति थोरै मात्र हो। यस्तो भएकोले के येशूको नाउँले मात्र परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्न सक्छ? जब आखिरी दिनहरू आउँछन्, काम गर्न परमेश्वर उहाँ नै हुनुभए पनि उहाँको नाउँ परिवर्तन हुनुपर्दछ, किनकि यो एउटा फरक युग हो।
परमेश्वर सारा ब्रह्माण्डमा र माथिको क्षेत्रमा महान् हुनुभएकोले के उहाँले देहको स्वरूप प्रयोग गरेर आफूलाई पूर्ण रूपमा व्याख्या गर्न सक्नुहुन्छ र? आफ्नो कामको एक चरण गर्नका लागि परमेश्वरले आफैलाई यस देह धारण गराउनुहुन्छ। देहको यो स्वरूपमा कुनै खास महत्त्व छैन, युगहरू बितेर जाने कुरासँग यसको कुनै सम्बन्ध छैन, न त परमेश्वरको स्वभावसँग यसको कुनै सम्बन्ध छ। येशूले किन आफ्नो स्वरूप रहिरहन दिनुभएन? किन उहाँले मानिसलाई उहाँको चित्र बनाउन दिनुभएन, जुन पछिबाट आउने पुस्ताहरूलाई हस्तान्तरण गर्न सकिन्थ्यो? किन उहाँले मानिसहरूलाई उहाँको स्वरूप परमेश्वरको प्रतिरूप हो भनेर स्वीकार गर्ने अनुमति दिनुभएन? मानिसको स्वरूप परमेश्वरको स्वरूपमा सृष्टि गरिएको भए पनि, के मानिसको स्वरूपले परमेश्वरको उच्च स्वरूपको प्रतिनिधित्व गर्नु सम्भव थियो? जब परमेश्वर देह बन्नुहुन्छ, उहाँ केवल स्वर्गबाट मात्र एउटा खास शरीरमा आउनुहुन्छ। देहमा ओर्लनुहुने उहाँको आत्मा नै हो, जसद्वारा उहाँले आत्माको काम गर्नुहुन्छ। शरीरमा प्रकट गरिने आत्मा यही हो, र आत्माले नै देहमा उहाँको काम गर्नुहुन्छ। देहमा गरिएको कामले आत्मालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ, र देह कामका लागि हो, तर त्यसको अर्थ देहको स्वरूप परमेश्वर स्वयम्को स्वरूपको प्रतिस्थापन हो भन्ने होइन; परमेश्वर देह बन्नुको उद्देश्य वा महत्त्व यो होइन। आत्माले शरीरमा उहाँको काम राम्ररी हासिल गर्न सक्नुभएको होस् भनेर उहाँको कामको निम्ति उपयुक्त वास गर्ने ठाउँ प्राप्त गर्न, मानिसहरूले उहाँका कामहरू देखून्, उहाँको स्वभावलाई बुझ्न सकून्, उहाँका वचनहरू सुन्न सकून्, र उहाँको कामको चमत्कारहरू जान्न सकून् भनेर मात्रै उहाँले देहमा काम गर्नुहुन्छ। उहाँको नाउँले उहाँको स्वभावको प्रतिनिधित्व गर्दछ, उहाँको कामले उहाँको चिनारीको प्रतिनिधित्व गर्दछ, तर उहाँको देहको रूपले उहाँको स्वरूपको प्रतिनिधित्व गर्छ भनी उहाँले कहिल्यै पनि भन्नुभएन, त्यो त केवल मानिसको धारणा मात्रै हो। यसैले, परमेश्वरको देहधारणको महत्त्वपूर्ण पक्षहरू उहाँको नाउँ, उहाँको काम, उहाँको स्वभाव, र उहाँको लिङ्ग हो। यस युगमा उहाँको व्यवस्थापनको प्रतिनिधित्व गर्न यी कुराहरूको प्रयोग गरिन्छ। उहाँको व्यवस्थापनसँग उहाँ शरीरमा देखा पर्नुहुने कुराको कुनै सम्बन्ध छैन, त्यो त्यस समयको उहाँको कामका निम्ति मात्र हो। तापनि देहधारी परमेश्वरको कुनै विशेष रूप नहुनु असम्भव छ, यसकारण उहाँले आफ्नो प्रकटीकरण निश्चित गर्न एउटा उपयुक्त परिवार चुन्नुहुन्छ। यदि परमेश्वरको प्रकटीकरणसित प्रतिनिधित्वको महत्त्व हुन्थ्यो भने उहाँको जस्तै अनुहार भएका सबै जनाले परमेश्वरको प्रतिनिधित्व गर्नेथिए। के त्यो अति भयानक गल्ती हुनेथिएन र? मानिसले येशूलाई पुजून् भनेर मानिसले उहाँको चित्र बनाएका थिए। त्यस बेला, पवित्र आत्माले कुनै विशेष निर्देशनहरू दिनुभएन, त्यसकारण मानिसले त्यो काल्पनिक चित्र आजसम्म हस्तान्तरण गर्दैआएको छ। वास्तवमा, परमेश्वरको सुरुको मनसाय अनुसार मानिसले त्यसो गर्नुहुँदैन थियो। मानिसको जोशले मात्र येशूको चित्र आजको दिनसम्म रहेको छ। परमेश्वर आत्मा हुनुहुन्छ, र अन्तिम विश्लेषणमा पनि मानिसले उहाँको स्वरूप के हो सो पूर्ण रूपमा पत्ता लगाउन सक्दैन। उहाँको स्वरूपलाई उहाँको स्वभावले मात्र प्रतिनिधित्व गर्न सक्छ। उहाँको नाक, उहाँको मुख, आँखा, र केशको ढाँचा कस्तो हुनेछन् भन्ने बारेमा भन्दा यी सब तेरो पत्ता लगाउने क्षमताभन्दा बाहिर छन्। जब यूहन्नाकहाँ प्रकाश आयो, तिनले मानिसको पुत्रको स्वरूपलाई हेरे: उहाँको मुखबाट एउटा धारिलो दुईधारे तरवार निस्केको थियो, उहाँका आँखा आगोका ज्वालाजस्ता थिए, उहाँको शिर र केश ऊनजस्तो सेतो थियो, उहाँका पाउहरू टल्काएका काँसाजस्ता थिए। उहाँको छातीमा सुनौला फित्ता थियो। उहाँका वचनहरू अत्यन्तै स्पष्ट थिए, तर तिनले वर्णन गरेका परमेश्वरको स्वरूप सृष्टि गरिएको प्राणीको स्वरूप थिएन। तिनले जे देखे त्यो एउटा दर्शन मात्र थियो, र भौतिक संसारको व्यक्तिको स्वरूप थिएन। यूहन्नाले एउटा दर्शन देखेका थिए, तर तिनले परमेश्वरको वास्तविक रूप देखेनन्। सृष्टि गरिएको प्राणीको स्वरूपले बनेको परमेश्वरको देहधारी शरीर परमेश्वरको स्वभावलाई त्यसको पूर्णतामा प्रतिनिधित्व गर्न सक्दैन। जब यहोवाले मानव जाति सृष्टि गर्नुभयो, उहाँले त्यो आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र पुरुष र स्त्रीको रूपमा सृष्टि गर्नुभयो भनी भन्नुभयो। त्यस बेला, उहाँले पुरुष र स्त्रीलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो भनी भन्नुभयो। मानिसको स्वरूप परमेश्वरको स्वरूपसँग मेल खाए पनि त्यसलाई व्याख्या गर्दै मानिसको स्वरूप परमेश्वरको स्वरूप हो भन्न मिल्दैन। न त तैँले परमेश्वरको पूर्ण नमुना दिन मानव जातिको भाषा नै प्रयोग गर्न सक्छस्, किनकि परमेश्वर अति उच्च, अति महान्, अति अचम्मका र बुझ्नै नसकिने हुनुहुन्छ!
जब येशू आफ्नो काम गर्न आउनुभयो, यो पवित्र आत्माको निर्देशनमा थियो; उहाँले पवित्र आत्माले चाहनुभए जस्तै गर्नुभयो, पुरानो करारको व्यवस्थाको युगअनुसार वा यहोवाको कामअनुसार होइन। येशूले जुन काम गर्न आउनुभयो त्यो यहोवाको व्यवस्था वा यहोवाका आज्ञाहरू पालन गर्नुपर्ने काम थिएन, तैपनि तिनको स्रोत एउटै र उस्तै थियो। येशूले गर्नुभएको कामले येशूको नाउँलाई प्रतिनिधित्व गर्यो, र त्यसले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्यो; यहोवाले गर्नुभएको कामको विषयमा भन्ने हो भने, त्यसले यहोवाको प्रतिनिधित्व गर्थ्यो र त्यसले व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्थ्यो। उहाँहरूका काम दुई फरक युगहरूमा गरिएका एकै आत्माको काम थिए। येशूले गर्नुभएको कामले अनुग्रहको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो, र यहोवाले गर्नुभएको कामले पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्थ्यो। यहोवाले इस्राएल र मिश्रका मानिसहरूलाई र इस्राएल बाहिरका सबै जातिहरूलाई मात्र डोऱ्याउनुभयो। जब परमेश्वरले नयाँ करारको अनुग्रहको युगमा काम गर्नुभयो, परमेश्वरले काम गर्न र त्यो युगलाई मार्गदर्शन गर्न येशूको नाउँ अँगाल्नुभयो। यदि तँ येशूको काम परमप्रभुले गर्नुभएको काममा आधारित थियो, र उहाँले कुनै नयाँ काम थाल्नुभएन, उहाँले जे गर्नुभयो सबै यहोवाको वचनअनुसार, यहोवाको कामअनुसार र यशैयाका अगमवाणीहरू अनुसार थियो भनी भन्छस् भने, येशू देहधारण गर्नुभएका परमेश्वर बन्न सक्नुहुन्न। यदि उहाँले आफ्नो काम यस तरिकाले सञ्चालन गर्नुभएको थियो भने उहाँ एक प्रेरित वा व्यवस्थाको युगका एक सेवक मात्र हुनुहुनेथियो। यदि यो तैँले भनेको जस्तै हो भने, येशूले एउटा युग सुरु गर्न सक्नुहुने थिएन, न त उहाँले अरू कुनै काम नै गर्न सक्नुहुन्थ्यो। त्यसरी नै, पवित्र आत्माले मुख्य रूपले यहोवाद्वारा उहाँको काम गर्नुपर्दछ, अनि यहोवाविना पवित्र आत्माले कुनै नयाँ काम गर्न सक्नुहुनेथिएन। मानिसले येशूको कामलाई यस तरिकाले बुझ्नु गलत हो। यदि कुनै व्यक्तिले येशूद्वारा गरिएको काम यहोवाको वचन र यशैयाका भविष्यवाणीहरू अनुसार गरिएको थियो भनी विश्वास गर्दछ भने, येशू देहधारी परमेश्वर हुनुहुन्थ्यो कि उहाँका भविष्यवक्ताहरूमध्ये एक हुनुहुन्थ्यो? यस धारणाअनुसार अनुग्रहको युग हुनेथिएन, र येशू देहधारी परमेश्वर हुनुहुनेथिएन, किनकि उहाँले गर्नुभएको कामले अनुग्रहको युगलाई प्रतिनिधित्व गर्न सक्दैनथियो र पुरानो करारको व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्न सक्नेथियो। येशू नयाँ काम गर्न, एउटा नयाँ युगको सुरु गर्न, इस्राएलमा पहिले गरिएको कामलाई तोड्न र इस्राएलमा यहोवाले गर्नुभएको कामअनुसार वा उहाँको पुराना प्रावधानहरूअनुरूप, वा कुनै पनि प्रावधान लागु गरेर होइन, बरु उहाँले गर्नुपर्ने नयाँ काम गर्न आउनुहुँदा मात्र एउटा नयाँ युग हुन सक्थ्यो। नयाँ युग सुरु गर्न परमेश्वर आफै आउनुहुन्छ, र त्यो युगलाई समाप्त गर्न परमेश्वर आफै आउनुहुन्छ। युग सुरु गर्ने र युग समाप्त गर्ने काम गर्न मानिस असक्षम छ। यदि येशू आउनुभएपछि पनि उहाँले यहोवाको कामलाई समाप्त गर्नुभएन भने, त्यो उहाँ एउटा व्यक्ति मात्र हुनुहुन्छ र परमेश्वरको प्रतिनिधित्व गर्न असमर्थ हुनुहुन्छ भन्ने कुराको प्रमाण हुनेथियो। वास्तवमा भन्ने हो भने, येशू आउनुभयो र यहोवाको कामलाई समाप्त गर्नुभयो, यहोवाको कामलाई निरन्तरता दिनुभयो र त्यसबाहेक आफ्नै एउटा नयाँ काम पनि गर्दैजानुभयो, ठीक यही कारणले यो एउटा नयाँ युग थियो र येशू परमेश्वर स्वयम् नै हुनुहुन्थ्यो भन्ने कुरालाई यसले प्रमाणित गर्छ। उहाँहरूले कामका दुई भिन्न-भिन्न चरणहरू गर्नुभयो। एउटा चरण मन्दिरमा पूरा गरियो, र अर्को मन्दिरको बाहिर सञ्चालन गरियो। एउटा चरण भनेको व्यवस्थाअनुसार मानिसको जीवनलाई मार्गदर्शन गर्नु थियो, र अर्को पापबलि चढाउनु थियो। कामका यी दुई चरणहरू स्पष्ट रूपमा फरक-फरक थिए; यसले नयाँ युगलाई पुरानोबाट छुट्ट्याउँछ, र ती दुई भिन्नाभिन्नै युग हुन् भन्नु पूर्ण रूपमा सही हुन्छ। उहाँहरूको कामको स्थान फरक थियो, र उहाँहरूको कामको विषयवस्तु फरक थियो, र उहाँहरूको कामको उद्देश्य पनि भिन्न थियो। त्यसरी नै, तिनलाई दुइटा युगमा विभाजन गर्न सकिन्छ; नयाँ र पुरानो करारहरूले नयाँ र पुरानो युगहरूलाई जनाउँछन्। जब येशू आउनुभयो उहाँ मन्दिरमा जानुभएन, जसले यहोवाको युग समाप्त भएको थियो भन्ने प्रमाणित गर्दछ। उहाँ मन्दिरभित्र पस्नुभएन, किनकि मन्दिरमा यहोवाको काम समाप्त भइसकेको थियो, र त्यसलाई फेरि गर्नुपर्ने आवश्यक थिएन, र त्यो फेरि गर्नु भनेको दोहोऱ्याउनु मात्रै हुनेथियो। मन्दिरलाई छोडेर, एउटा नयाँ काम सुरु गरेर अनि मन्दिरभन्दा बाहिर एउटा नयाँ मार्ग खोलेर मात्रै उहाँ परमेश्वरको कामलाई त्यसको चरम बिन्दुमा ल्याउन सक्षम हुनुभयो। यदि उहाँ आफ्नो काम गर्न मन्दिरबाट बाहिर नजानुभएको भए, परमेश्वरको काम मन्दिरको जगमाथि अड्केर बस्नेथियो, र त्यहाँ कुनै नयाँ परिवर्तनहरू हुनेथिएन। यसैले जब येशू आउनुभयो, उहाँ मन्दिरमा प्रवेश गर्नुभएन, र उहाँले मन्दिरमा आफ्नो काम गर्नुभएन। उहाँले मन्दिरको बाहिर काम गर्नुभयो, र आफ्ना चेलाहरूलाई डोऱ्याउँदै आफ्नो काम स्वतन्त्र रूपले अघि बढाउनुभयो। परमेश्वरले आफ्नो काम गर्न मन्दिरबाट प्रस्थान गर्नुको अर्थ परमेश्वरसँग नयाँ योजना थियो भन्ने हुन्छ। उहाँको काम मन्दिरको बाहिर सञ्चालन हुनुपर्ने थियो, र कार्यान्वयन गर्ने तरिकामा नियन्त्रित नरहेको नयाँ कार्य हुनुपर्थ्यो। येशू आइपुग्नुभएपछि तुरुन्तै उहाँले पुरानो करारको युगको यहोवाको कामलाई समाप्त गर्नुभयो। उहाँहरूलाई दुई फरक नाउँले बोलाइएको भए पनि, दुवै चरणका कामहरू पूरा गर्ने एउटै आत्मा हुनुहुन्थ्यो, र गरिएको काम निरन्तर भइरहने काम थियो। जसरी नाउँ फरक थियो, र कामको विषय फरक थियो, त्यसरी नै युग पनि फरक थियो। जब यहोवा आउनुभयो, त्यो यहोवाको युग थियो, र जब येशू आउनुभयो, त्यो येशूको युग थियो। त्यसैले, हरेक आगमन सँगै, परमेश्वरलाई एउटा नाउँले बोलाइन्छ, र जसले एउटा युगलाई प्रतिनिधित्व गर्छ, अनि उहाँ एउटा नयाँ मार्ग खोल्नुहुन्छ; र हरेक नयाँ मार्गका लागि, उहाँ एउटा नयाँ नाउँ धारण गर्नुहुन्छ। यो सबैले परमेश्वर सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पनि पुरानो हुनुहुन्न, र उहाँको काम कहिल्यै अगाडि दिशातर्फ बढ्नबाट रोकिँदैन भन्ने देखाउँछ। इतिहास जहिल्यै पनि अगाडि बढिरहेको छ, र परमेश्वरको काम सधैँ अगाडि बढिरहेको छ। उहाँको छ हजार वर्षे व्यवस्थापन योजना लक्ष्यमा पुग्नका लागि, यो निरन्तर अगाडिको दिशामा अघि बढिरहनुपर्छ। हरेक दिन उहाँले नयाँ काम गर्नैपर्छ, हरेक वर्ष उहाँले नयाँ काम गर्नैपर्छ; उहाँले नयाँ मार्गहरू खोल्नैपर्छ, नयाँ युगहरू सुरु गर्नैपर्छ, र अझ नयाँ र महान् काम सुरु गर्नैपर्छ। यी सबैसँगै, उहाँ नयाँ नाउँहरू र नयाँ काम ल्याउनुहुन्छ। पलपलमा, परमेश्वरका आत्मा नयाँ काम गरिरहनुहुन्छ, पुराना तरिकाहरू वा प्रावधानहरूमा कहिल्यै टाँसिएर बस्नुहुन्न। न त उहाँको काम कहिल्यै रोकिएको छ, बरु हरेक बित्दो पलसँगै पूरा भइरहेको छ। यदि तँ पवित्र आत्माको काम सधैँ अपरिवर्तनीय हुन्छ भन्छस् भने, किन यहोवाले धर्मगुरुहरूलाई मन्दिरमा उहाँको सेवा गर्न भन्नुभयो, तर मानिसहरूद्वारा प्रधान धर्मगुरु र दाऊदको घरानाको भनिएका येशू आउनुहुँदा, उहाँलाई प्रधान धर्मगुरु र महान् राजा भनिए पनि उहाँ किन मन्दिरमा प्रवेश गर्नुभएन? अनि उहाँले किन बलिहरू चढाउनुभएन? मन्दिरभित्र पस्नु वा मन्दिरमा नपस्नु—यो सबै परमेश्वर स्वयम्को काम होइन र? यदि, मानिसले कल्पना गरेझैँ येशू फेरि आउनुहुनेछ र आखिरी दिनहरूमा पनि अझै येशू नै कहलाइनुहुन्छ र अझै पनि सेतो बादलमा सवार भएर येशूको स्वरूपमा मानिसमाझ ओर्लनुहुन्छ भने, के त्यो उहाँको काम दोहोरिएको हुँदैन र? के पवित्र आत्मा पुरानोसँग टाँसिरहन सक्नुहुन्छ? मानिसले विश्वास गर्ने सबै धारणाहरू हुन्, र मानिस सबै कुरा शाब्दिक अर्थअनुसार, र उसका कल्पनाहरूअनुसार पनि बुझ्छ; ती पवित्र आत्माको कामका सिद्धान्तहरूसँग मिल्दो हुँदैनन् र परमेश्वरका सोचहरूसँग मिल्दैनन्। परमेश्वरले त्यस्तो प्रकारले काम गर्नुहुन्न; परमेश्वर त्यति अबुझ र मूर्ख हुनुहुन्न, र उहाँको काम तैँले कल्पना गरेजस्तो सरल छैन। मानिसहरूको कल्पनाअनुसार, येशू बादलमा सवार भएर आउनुहुनेछ र तिमीहरूको बीचमा ओर्लनुहुनेछ। तिमीहरू उहाँलाई देख्नेछौ, जसले बादलमा सवार भएर, तिमीहरूलाई म येशू हुँ भनी भन्नुहुनेछ। तिमीहरूले उहाँको हातमा कीलका डामहरू पनि देख्नेछौ, र उहाँ येशू नै हुनुहुन्छ भनी चिन्नेछौ। अनि उहाँले तिमीहरूलाई फेरि मुक्ति दिनुहुनेछ र उहाँ तिमीहरूका शक्तिशाली परमेश्वर हुनुहुनेछ। उहाँले तिमीहरूलाई बचाउनुहुनेछ, तिमीहरूलाई एउटा नयाँ नाउँ प्रदान गर्नुहुनेछ, र तिमीहरू हरेकलाई एउटा सेतो ढुङ्गा दिनुहुनेछ, त्यसपछि तिमीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने अनुमति दिइनेछ र स्वर्गमा ग्रहण गरिनेछ। के यस्ता विश्वास मानिसका धारणाहरू होइनन् र? के परमेश्वरले मानिसको धारणाअनुसार काम गर्नुहुन्छ, वा उहाँले मानिसका धारणाहरू विपरीत काम गर्नुहुन्छ? के मानिसका धारणाहरू सबै शैतानबाट प्राप्त भएका होइनन् र? के सबै मानिस शैतानले भ्रष्ट भएका छैनन् र? यदि परमेश्वरले आफ्नो काम मानिसको धारणाअनुसार गर्नुभयो भने के उहाँ शैतान बन्नुहुन्न र? के उहाँ सृष्टि गरिएका प्राणीहरूजस्तै बन्नुहुन्न र? अहिले सृजित प्राणीहरू शैतानद्वारा अत्यन्तै भ्रष्ट तुल्याइएका हुनाले, र मानिस शैतानको मूर्त रूप बनेको हुनाले, यदि परमेश्वरले शैतानका कुराहरू अनुरूप काम गर्नुभयो भने के उहाँ शैतानको साठगाँठमा हुनुहुने थिएन र? मानिसले परमेश्वरको कामलाई कसरी बुझ्न सक्छ? त्यसकारण परमेश्वरले कहिल्यै पनि मानिसका धारणाहरू अनुसार काम गर्नुहुन्न, र तैँले कल्पना गरे अनुसार पनि काम गर्नुहुन्न। परमेश्वर स्वयम्ले उहाँ बादलमा सवार भएर आइपुग्ने भन्नुभएको छ भनेर तैँले भन्लास्। परमेश्वर आफैले त्यसो भन्नुभएको थियो भन्ने कुरा सत्य हो, तर परमेश्वरका रहस्यहरू कसैले पनि बुझ्न सक्दैन भन्ने के तँलाई थाहा छैन? के परमेश्वरका वचनहरूको व्याख्या कसैले पनि गर्न सक्दैन भन्ने तँलाई थाहा छैन? के तँ पवित्र आत्माले नै त्यो ज्ञान र प्रकाश दिनुभएको हो भन्नेमा निश्चित छस्, र तँलाई अलिकति पनि शङ्का छैन? त्यसरी तँलाई प्रत्यक्ष रूपमा देखाउने निश्चय नै पवित्र आत्मा हुनुहुन्नथियो। तँलाई निर्देशन दिने पवित्र आत्मा हुनुहुन्थ्यो, कि तेरा आफ्नै धारणहरूको कारण तैँले त्यस्तो विचार गरिस्? तैँले भन्लास्, “परमेश्वर आफैले यसो भन्नुभएको थियो।” तर परमेश्वरका वचनहरूलाई नाप्न हामीले हाम्रो आफ्नै विचार र दिमागको प्रयोग गर्न सक्दैनौं। यशैयाद्वारा बोलिएका वचनहरूको कुरा गर्दा, के तैँले तिनका वचनहरूलाई पूर्ण सुनिश्चितताको साथ व्याख्या गर्न सक्छस्? के तँ तिनका वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? तैँले यशैयाका वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनस् भने येशूका वचनहरूको व्याख्या गर्ने हिम्मत किन गर्छस्? को बढी महान् हुनुहुन्छ, येशू कि यशैया? यसको जबाफ येशू हुनुहुन्छ भन्ने हुन्छ, त्यसकारण तैँले किन येशूले बोल्नुभएका वचनहरूको व्याख्या गर्छस्? के परमेश्वरले तँलाई उहाँको कामको बारेमा अघिबाटै बताउनुहुन्छ र? एउटै पनि सृष्टि गरिएको प्राणीले जान्न सक्दैन, स्वर्गका सन्देशवाहकहरूले पनि जान्दैनन्, न त मानिसका पुत्रले जान्नुहुन्छ, त्यसकारण तैँले कसरी जान्न सक्थिस्? मानिसमा धेरै कुराको कमी छ। अहिले तिमीहरूका लागि महत्त्वपूर्ण कुरा भनेको कामका तीन चरणहरू जान्नु हो। यहोवाको कामदेखि लिएर येशूको कामसम्म, र येशूको कामदेखि अहिलेको चरणको कामसम्म, यी तीन चरणले परमेश्वरको सम्पूर्ण व्यवस्थापनलाई एउटै निरन्तर धागोमा समावेश गर्दछ र ती सबै एउटै आत्माको काम हुन्। संसारको सृष्टि भएदेखि नै परमेश्वर सधैँ मानवजातिको व्यवस्थापन गर्दै काममा लाग्नुभएको छ। सुरु र अन्त्य उहाँ नै हुनुहुन्छ, पहिलो र अन्तिम उहाँ नै हुनुहुन्छ, र युग सुरु गर्ने उहाँ नै हुनुहुन्छ र युगलाई समाप्त गर्ने पनि उहाँ नै हुनुहुन्छ। विभिन्न युगमा र विभिन्न स्थानमा हुने कामका तीन चरणहरू निस्सन्देह रूपमा एकै आत्माले गर्नुहुने काम नै हुन्। यी तीन वटा चरणलाई अलग गर्ने सबैले परमेश्वरको प्रतिरोध गर्छन्। अब, तैँले बुझ्नैपर्छ कि पहिलो चरणदेखि आजसम्मका सबै कामहरू एउटै परमेश्वरको, एउटै आत्माको काम हो। यस कुरामा कुनै शङ्का छैन।