बाइबल सम्बन्धमा (१)

परमेश्‍वरमाथिको विश्‍वासमा बाइबललाई कसरी हेर्नुपर्छ? यो सिद्धान्तको प्रश्‍न हो। हामी किन यो प्रश्‍नबारे कुरा गर्दैछौं? किनकि भविष्यमा तिमीहरूले सुसमाचार फैलाउनेछौ र राज्यको युगको कामलाई फराकिलो पार्नेछौ, र परमेश्‍वरको आजको कामको बारेमा मात्र कुरा गर्न सक्‍नु पर्याप्त छैन। उहाँको कामलाई विस्तार गर्नका निम्ति, तिमीहरूले मानिसहरूको पुराना धार्मिक विचारहरू र पुरानो विश्‍वासको माध्यमहरूलाई सुल्झाउन सक्षम हुनु र उनीहरूलाई पूर्ण रूपले विश्‍वस्त तुल्याउन सक्‍नु महत्त्वपूर्ण हुन्छ—र त्यस बिन्दुमा पुग्नको लागि बाइबल समावेश हुन्छ। धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्‍वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्‍वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढा हुनु भनेको प्रभुमा विश्‍वास गर्नु होइन, बाइबलबाट टाढा हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्‍वास गर्छस् भने तैँले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैँले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैँले त्यसो गरिस् भने तैँले परमेश्‍वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वास नै बाइबलमाथिको विश्‍वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्‍वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्‍वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्‍वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरूले बाइबललाई परमेश्‍वर जस्तो मानेर त्यसको आराधना गर्छन्, यो उनीहरूको जीवनरक्त जस्तो बन्छ, र यसलाई गुमाउनु आफ्नो जीवन गुमाउनुजस्तै हुन्छ। मानिसहरूले बाइबललाई परमेश्‍वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्‍वरभन्दा उच्च देख्‍नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्‍वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँच्न सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ। यसरी प्रभुमा विश्‍वास गर्नेबित्तिकै मानिसहरू बाइबल पढ्न थाल्छन्, र बाइबल कण्ठ गर्न थाल्छन्, र तिनीहरूले जति धेरै बाइबल कण्ठ गर्न सक्छन्, त्यसले त्यति नै धेरै तिनीहरूले प्रभुलाई प्रेम गर्छन् र तिनीहरूमा ठूलो विश्‍वास छ भनी प्रमाणित गर्दछ। बाइबल पढेकाहरू र त्यसबारे अरूसँग कुरा गर्न सक्नेहरू सबै असल दाजुभाइ तथा दिदी-बहिनीहरू हुन्। यत्तिका वर्षहरूमा प्रभुप्रति मानिसहरूको विश्‍वास र बफादारितालाई उनीहरूको बाइबलको ज्ञानको हदअनुसार मापन गरिएको छ। धेरै मानिसहरू परमेश्‍वरमा किन विश्‍वास गर्ने भन्‍ने कुरा समेत बुझ्दैनन्, न त कसरी विश्‍वास गर्नुपर्छ भनेर नै बुझ्छन्, र बाइबलका अध्यायहरूको अर्थ बुझ्नका लागि अन्धाधुन्ध सुराकहरू खोज्नेबाहके अरू केही गर्दैनन्। मानिसहरूले कहिल्यै पनि पवित्र आत्माको कामको निर्देशन पछ्याएका छैनन्; शुरुदेखि नै, तिनीहरूले बाइबलको कठोर अध्ययन र अनुसन्धान गर्नुबाहेक अरू केही गरेका छैनन्, र कसैले पनि बाइबलबाहिर पवित्र आत्माको नयाँ काम कहिल्यै फेला पारेको छैन। कोही पनि कहिल्यै बाइबल छोडी अर्कोतिर गएको छैन, न त तिनीहरूले कहिल्यै त्यसो गर्ने आँट नै गरेका छन्। मानिसहरूले यति धेरै वर्षसम्म बाइबल अध्ययन गरेका छन्, तिनीहरूले यति धेरै व्याख्याहरू गरेका छन्, अनि तिनीहरूले यति धेरै काम गरेका छन्; तिनीहरूमा बाइबलको बारेमा विभिन्न मतभिन्नताहरू पनि छन् जसको बारेमा तिनीहरू निरन्तर बहस गर्छन्, त्यसैले आज दुई हजारभन्दा बढी सम्प्रदायहरू गठन भएका छन्। तिनीहरू सबै बाइबलमा भएका केही विशेष व्याख्याहरू वा अझ गहिरा रहस्यहरू फेला पार्न चाहन्छन्, तिनीहरू यसलाई अन्वेषण गर्न चाहन्छन् र यसमा इस्राएलमा भएको यहोवाको कामको पृष्ठभूमि, वा यहूदियामा येशूको कामको पृष्ठभूमि, वा अरू कसैले थाहा नपाएका थप रहस्यहरू पत्ता लगाउन चाहन्छन्। मानिसहरूको बाइबलप्रतिको दृष्टिकोण मोह र विश्‍वासको छ, र कोही पनि बाइबलको भित्री कथा वा तत्वबारे पूर्ण रूपमा स्पष्ट छैनन्। त्यसैले, आज बाइबलको कुरा आउँदा मानिसहरूमा अवर्णनीय आश्चर्य-भाव पैदा हुन्छ, र त्यसप्रति तिनीहरू अझ बढी मोहित हुन्छन् र त्यसमा अझ बढी विश्‍वास गर्छन्। आज, सबै जना बाइबलमा आखिरी दिनहरूको कामका अगमवाणीहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू परमेश्‍वरले आखिरी दिनहरूमा के काम गर्नुहुन्छ र आखिरी दिनहरूका चिन्हहरू के-के हुन् भनी पत्ता लगाउन चाहन्छन्। यसप्रकार, तिनीहरूले गर्ने बाइबलको आराधना अझ बढी जोशिलो हुँदै जान्छ र आखिरी दिनहरू जति नजिकिंदै जान्छन् तिनीहरूले विशेष गरी आखिरी दिनहरूसम्बन्धी बाइबलका अगमवाणीहरूलाई अझ बढी अन्धाधुन्ध विश्‍वास गर्छन्। बाइबलमाथि त्यस्तो अन्धविश्‍वास भएकोले, बाइबलमा त्यस्तो भरोसा भएकोले, तिनीहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै इच्छा हुँदैन। मानिसहरूले आफ्ना धारणाहरूमा केवल बाइबलले मात्र पवित्र आत्माको काम ल्याउन सक्छ भन्‍ने सोच्छन्; तिनीहरूले सोच्छन् कि केवल बाइबलमा तिनीहरूले परमेश्‍वरका पाइलाहरू भेट्न सक्छन्; केवल बाइबलमा परमेश्‍वरको कामका रहस्यहरू लुकेका छन्; अन्य पुस्तकहरू वा मानिसहरूले होइन, केवल बाइबलले परमेश्‍वरका सबै कुराहरू र उहाँको कार्यको सम्पूर्णता स्पष्ट पार्न सक्छ; बाइबलले स्वर्गको कामलाई पृथ्वीमा ल्याउन सक्छ; र बाइबलले दुवै युग सुरु र अन्त्य गर्न सक्छ। यस्ता धारणाहरू भएकाले मानिसहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै झुकाव हुँदैन। त्यसकारण, विगतमा मानिसहरूका निम्ति बाइबल जति नै धेरै सहयोगी भएको भए पनि यो परमेश्‍वरको नवीनतम काममा बाधा बनेको छ। बाइबलबिना, मानिसहरूले परमेश्‍वरका पाइलाहरू अन्यत्र खोजी गर्न सक्छन्, तैपनि आज, उहाँका पाइलाहरू बाइबलद्वारा रोकिएका छन्, र उहाँको नवीनतम काम विस्तार गर्नु दुई गुणा कठिन, र एक कडा संघर्ष बनेको छ। यो सबै बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरूका साथै बाइबलका विभिन्न अगमवाणीहरूको कारण भएको हो। मानिसहरूका मनमा बाइबल एउटा मूर्ति बनेको छ, यो उनीहरूका दिमागमा एउटा पहेली बनेको छ, र बाइबल बाहिर परमेश्‍वरले काम गर्न सक्नुहुन्छ भन्‍ने विश्‍वास गर्न तिनीहरू असमर्थ छन्, मानिसहरूले बाइबल बाहिर पनि परमेश्‍वर पाउन सक्छन् भनी तिनीहरू विश्‍वास गर्न सक्दैनन्, उनीहरूले अन्तिम कामको समयमा परमेश्‍वर बाइबलबाट टाढा हुन र फेरि पहिलेदेखि सुरु गर्न सक्नुहुन्छ भनी विश्‍वास गर्ने कुरा त परै जाओस्। यो मानिसहरूले सोच्नै नसक्ने कुरा हो; उनीहरू यसमा विश्‍वास गर्न सक्दैनन्, न त उनीहरूले यसको कल्पना गर्न नै सक्छन्। परमेश्‍वरको नयाँ कामलाई स्वीकार गर्ने विषयमा बाइबल मानिसहरूका निम्ति ठूलो बाधा र परमेश्‍वरको यो नयाँ काम फैलाउने कार्यको कठिनाइ बनेको छ। यसैले यदि तिमीहरूले बाइबलको भित्री कथा बुझ्दैनौ भने, तिमीहरूले सफलतापूर्वक सुसमाचार फैलाउन सक्‍नेछैनौ, न त तिमीहरूले नयाँ कार्यको गवाही दिन नै सक्छौ। आज तिमीहरूले बाइबल नपढ्ने भए पनि, तिमीहरू अझै पनि त्यसलाई धेरै मन पराउँछौं, भन्नुको अर्थ, तिमीहरूका हातमा बाइबल नहोला, तर तिमीहरूका धेरै वटा धारणाहरू त्यसैबाट आउँछन्। तिमीहरू बाइबलको उत्पत्ति वा परमेश्‍वरको कामको अघिल्लो दुई चरणका भित्री कथा बुझ्दैनौ। तिमीहरूले प्रायजसो बाइबल नपढ्ने भए पनि, तिमीहरूले बाइबललाई बुझ्नुपर्छ, तिमीहरूले बाइबलको सही ज्ञान हासिल गर्नैपर्छ, यसरी मात्र तिमीहरू परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापन योजना कुन विषयमा छ भन्‍ने कुरा जान्न सक्नेछौ। तिमीहरूले मानिसहरूलाई जित्न, यो प्रवाह नै सत्य मार्ग हो भनी उनीहरूलाई स्वीकार गराउन, तिमीहरूले आज हिँड्ने मार्ग सत्यको मार्ग हो, र यो पवित्र आत्माद्वारा निर्देशित छ, र यो कुनै पनि मानवद्वारा सुरु गरिएको होइन भनी स्वीकार गराउनका निम्ति यी कुराहरूलाई प्रयोग गर्नेछौ।

परमेश्‍वरले व्यवस्थाको युगमा काम गर्नुभएपछि, पुरानो करारको पुस्तक प्रकाशित गरियो, त्यही समयदेखि नै मानिसहरूले बाइबल पढ्न सुरु गरे। येशू आउनुभएपछि, उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँका प्रेरितहरूले नयाँ करार लेखे। यसरी बाइबलका पुरानो र नयाँ करारहरू प्रकाशित भएका थिए, र आजसम्म पनि, परमेश्‍वरमा विश्‍वास गर्ने सबैले बाइबल पढ्दै आएका छन्। बाइबल इतिहासको एक पुस्तक हो। निःसन्देह, यसमा अगमवक्ताहरूका केही भविष्यवाणीहरू पनि समावेश छन् र त्यस्ता भविष्यवाणीहरू कुनै पनि प्रकारले इतिहास होइनन्। बाइबलमा थुप्रै भागहरू छन्—त्यहाँ अगमवाणी मात्र छैन, वा यहोवाको काम मात्र छैन, न त त्यहाँ केवल पावलका पत्रहरू मात्र छन्। बाइबलमा कति भागहरू छन् तँलाई थाहा हुनुपर्दछ; पुरानो नियममा उत्पत्ति, प्रस्थान…, आदि छन् र त्यहाँ अगमवाणीहरूका पुस्तकहरू पनि छन् जुन अगमवक्ताहरूले लेखेका थिए। अन्त्यमा, पुरानो नियम मलाकीको पुस्तकमा गएर समाप्त हुन्छ। यसले व्यवस्थाको युगको काम अभिलेख गर्छ, जसको नेतृत्व यहोवाले गर्नुभएको थियो; उत्पत्तिदेखि मालाकीको पुस्तकसम्म, यो व्यवस्थाको युगको सबै कामको विस्तृत अभिलेख हो। भन्नुको अर्थ, पुरानो नियमले ती सबै कुराहरू अभिलेख गर्छ जुन व्यवस्थाको युगमा यहोवाद्वारा डोऱ्याइएका मानिसहरूले अनुभव गरेका थिए। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले खडा गर्नुभएका धेरै अगमवक्ताहरूले उहाँको निम्ति अगमवाणी व्यक्त गरे, विभिन्न कुल र जातिहरूलाई निर्देशनहरू दिए र यहोवाले गर्नुहुने कामबारे भविष्यवाणी गरे। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाले अगमवाणी गर्ने आत्मा दिनुभएको थियोः तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; तिनीहरू त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। उत्पत्ति र प्रस्थानका पुस्तकहरूको तुलना यशैया र दानिएलका पुस्तकहरूसँग गर्न नसकिएझैं, यी पुस्तकहरूले यहोवाले खडा गर्नुभएका अगमवक्ताहरूले बोलेका भविष्यवाणीको स्थान लिन सक्दैनन्। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। यसरी, जब तिमी बाइबल पढ्छौ, तिमीहरूले मुख्य रूपमा यहोवाले इस्राएलमा जे गर्नुभयो त्यो पढिरहेका हुन्छौ; बाइबलको पुरानो नियमले मुख्य रूपमा यहोवाले इस्राएललाई डोऱ्याउनुभएको काम, इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकाल्न मोशालाई प्रयोग गर्नुभएको कुराको अभिलेख गर्दछ, जसले तिनीहरूलाई फारोको बन्धनबाट मुक्त गरे, र तिनीहरूलाई उजाडस्थानमा लगे, अनि त्यहाँबाट तिनीहरू कनानमा प्रवेश गरे, र त्यसपछि आउने सबै कुराहरू कनानमा जिइएको तिनीहरूको जीवन थियो। यसबाहेकका अरू सबै भागहरू इस्राएलभरि यहोवाले गर्नुभएको कामका अभिलेखहरूले भरिएको छ। पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, यो यहोवाले त्यही देशमा गर्नुभएको काम हो जहाँ उहाँले आदम र हव्वालाई बनाउनुभएको थियो। नोआपछि परमेश्‍वरले आधिकारिक रूपमा पृथ्वीमा मानिसहरूलाई डोऱ्याउन थाल्नुभएको कुरादेखि नै पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलको काम हो। अनि इस्राएलदेखि बाहिरको कुनै पनि काम किन अभिलेख गरिएको छैन त? किनकि इस्राएल देश मानवजातिको उद्गमस्थल हो। सुरुमा, इस्राएलबाहेक अरू कुनै देश थिएन, र यहोवाले अरू कुनै ठाउँमा काम गर्नुभएन। यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्‍वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्‍वर स्वयम्‌को कामको भविष्यवाणी गर्छन्। यी सबै परमेश्‍वरबाट आएका हुन्, यो पवित्र आत्माको काम हो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुराहरू यहोवाको कामको बारेमा मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।

मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले सृष्टिको काम भयो, तर उत्पत्ति पुस्तक मानवजाति सृष्टि गरिएपछि मात्र आयो; यो व्यवस्थाको युगको अवधिमा मोशाद्वारा लेखिएको पुस्तक थियो। यो आज तिमीहरूमाझ भइरहने कुराहरू जस्तै छः घटनाहरू घटेपछि तिमीहरूले भविष्यका मानिसहरूलाई देखाउनका निम्ति ती कुराहरू लेख्छौ, अनि तिमीहरूले जे अभिलेख गरेका हुन्छौ ती कुराहरू भविष्यका मानिसहरूको लागि विगतमा घटेका घटनाहरू हुन्—ती इतिहासभन्दा बढी अरू केही होइनन्। पुरानो नियममा अभिलेख गरिएका कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, र नयाँ नियममा लेखिएका कुराहरूचाहिँ अनुग्रहको युगको अवधिमा येशूले गर्नुभएको काम हो; तिनीहरूले दुई फरक-फरक युगहरूमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छन्। पुरानो नियमले व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छ, र यसरी पुरानो नियम एक ऐतिहासिक पुस्तक हो भने नयाँ नियमचाहिँ अनुग्रहको युगको कामको उपज हो। जब नयाँ काम सुरु भयो, तब नयाँ नियम पनि पुरानो भयो—र यसरी नयाँ नियम पनि एउटा ऐतिहासिक पुस्तक हो। निश्चय नै, नयाँ नियम पुरानो नियम जत्तिकै व्यवस्थित छैन, न त यसले त्यति नै धेरै कुराहरूको अभिलेख नै गर्दछ। यहोवाले बोल्नुभएका अनेकौं वचनहरू सबै बाइबलको पुरानो नियममा अभिलेख गरिएका छन् भने चारवटा सुसमाचारका पुस्तकहरूमा येशूका केही वचनहरू मात्र अभिलेख गरिएका छन्। निश्चय नै, येशूले पनि धेरै काम गर्नुभयो, तर त्यसलाई विस्तृत रूपमा अभिलेख गरिएको छैन। येशूले जति काम गर्नुभयो त्यसैको कारण नयाँ नियममा थोरै मात्र अभिलेख गरिएका छन्; उहाँले पृथ्वीमा साढे तीन वर्षमा गर्नुभएको काम र प्रेरितहरूले गरेका कामहरू जति छन् ती यहोवाले गर्नुभएको कामभन्दा धेरै नै कम थिए। अनि यसैकारण, नयाँ नियममा पुरानो नियममा भन्दा थोरै पुस्तकहरू छन्।

बाइबल कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्‍वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको अवधिमा यहोवाले गर्नुभएका सबै कामहरू अनि उहाँले गर्नुभएको सृष्टिको काम अभिलेख गरिएको छ। यसका सबै भागहरूले यहोवाद्वारा गरिएको काम अभिलेख गर्दछन्, र यसले अन्ततः मलाकीको पुस्तकमा यहोवाको कामका विवरणहरू समापन गर्दछ। पुरानो नियममा परमेश्‍वरले गर्नुभएका दुईवटा कामहरू अभिलेख गरिएका छन्: एउटा सृष्टिको काम हो, र अर्को व्यवस्थाको घोषणा हो। दुवै काम यहोवाले गर्नुभएको थियो। व्यवस्थाको युगले यहोवा परमेश्‍वरको नाउँमा गरिएको कामको प्रतिनिधित्व गर्दछ; यो आधारभूत रूपमा यहोवाको नाउँमा गरिएका कामहरूको सम्पूर्णता हो। त्यसैले, पुरानो नियमले यहोवाको कामको अभिलेख गर्दछ, र नयाँ नियमले येशूको कामको अभिलेख गर्दछ, त्यो काम जुन विशेष रूपले येशूको नाउँमा गरिएको थियो। येशूको नाउँको महत्त्व र उहाँले गर्नुभएको काम प्रायः नयाँ नियममा लेखिएको छ। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले इस्राएलमा मन्दिर र वेदी निर्माण गर्नुभयो, उहाँले पृथ्वीमा इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो, त्यसले तिनीहरू उहाँका चुनिएका मानिसहरू थिए, उहाँले पृथ्वीमा चुन्नुभएका र उहाँको जस्तै हृदय भएका मानिसहरूको पहिलो समूह र उहाँले व्यक्तिगत रूपमा डोऱ्याउनुभएको पहिलो समूह थिए भनी प्रमाणित गर्छ। इस्राएलका बाह्र कुल यहोवाले चुन्नुभएका पहिलो मानिसहरू थिए, र त्यसैले उहाँले सधैं व्यवस्थाको युगमा यहोवाको काम समाप्त नहुञ्जेल तिनीहरूमा काम गर्नुभयो। दोस्रो चरणको काम नयाँ नियमको अनुग्रहको युगको काम थियो, र त्यो यहूदीहरूको बीचमा, इस्राएलका बाह्र कुलमध्ये एकमा गरिएको थियो। यस कामको दायरा सानो थियो किनकि येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। येशूले यहूदियाको देशमा मात्र काम गर्नुभयो, र साढे तीन वर्ष मात्र काम गर्नुभयो; त्यसैले, नयाँ नियममा अभिलेख गरिएका कुराहरूले पुरानो नियममा अभिलेख गरिएको कामको मात्रालाई उछिन्न नसकेको हो। अनुग्रहको युगमा येशूले गर्नुभएको काम मुख्य रूपमा सुसमाचारका चार वटा पुस्तकमा लेखिएको छ। अनुग्रहको युगका मानिसहरू हिँडेका बाटो उनीहरूको जीवन स्वभावको सबैभन्दा सतही परिवर्तनहरू नै थिए, जसका अधिकांश भागहरू प्रेरितहरूका पत्रहरूमा लेखिएका छन्। ती पत्रहरूले त्यस बेला पवित्र आत्माले कसरी काम गर्नुभयो भनेर देखाउँछन्। (निश्‍चय नै, पावलले सजाय पाएको वा विपत्तिले प्रहार गरेको भए पनि वा नभए पनि, तिनले गरेका काममा तिनी पवित्र आत्माद्वारा निर्देशित थिए, तिनी त्यस्ता व्यक्ति थिए जो त्यस समय पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए; पत्रुस पनि पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए, तर तिनले पावलले जति धेरै काम गरेनन्। पावलको काममा मानिसका अशुद्धताहरू थिए, तापनि पावलले लेखेका पत्रहरूमा ती समयमा पवित्र आत्माले कसरी काम गर्नुहुन्थ्यो भन्‍ने कुरा देख्न सकिन्छ। पावलले डोऱ्याएको बाटो ठीक थियो, त्यो सही थियो, र त्यो पवित्र आत्माको बाटो थियो।)

यदि तैँले व्यवस्थाको युगको काम अनि इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने तैँले पुरानो करार पढ्नुपर्छ; यदि तैँले अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नुपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्न सक्छस् त? तैँले आजको परमेश्‍वरको नेतृत्वलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्‍वर देह बन्नुभएको छ र चीनका अरू चुनिएका मानिसहरूलाई छान्नुभएको छ। परमेश्‍वरले यी मानिसहरूमा काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामबाट अघि बढ्नुहुन्छ, र अनुग्रहको युगमा भएको कामबाट अघि बढ्नुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो परमेश्‍वरले पृथ्वीमा भर्खरै गर्नुभएको काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्‍वरले पृथ्वी र इस्राएलदेखि बाहिर अझ ठुलो, अझ नयाँ काम गर्नुभएको छ भनी मानिसहरूलाई थाहा छैन, जुन इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामको बारेमा एउटै कुरा पनि नछोडी अग्रिम रूपमा कसले लेख्न सक्थ्यो र? त्यो जीर्ण पुरानो पुस्तकको परम्परालाई चुनौती दिने यो अझ शक्तिशाली, अझ बुद्धिमानी काम कसले अभिलेख गर्न सक्थ्यो र? आजको काम इतिहास होइन, र यस्तो भएकोले यदि तैँले आजको नयाँ मार्गमा हिंड्न चाहन्छस् भने तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्‍वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। तिमीहरूले बुझ्नुपर्ने सबै कुरा यही हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन पुरानो ऐतिहासिक विवरणहरूको बीचमा जिउनु? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना विवरणहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् अनि यहाँको र अहिलेको काम होइनन् भनी प्रमाणित गर्दछ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको कुनै विवरण नभए पनि, नयाँ मार्ग यहाँको र अहिलेको हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।

तिमीहरूले बाइबललाई बुझ्नुपर्छ—यो काम अत्यन्तै आवश्यक छ! आज, तैँले बाइबल पढ्नु आवश्यक छैन, किनकि त्यसमा कुनै नयाँ कुरा छैन; यो पूर्णत: पुरानो छ। बाइबल एउटा ऐतिहासिक पुस्तक हो, र यदि तैँले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको छस् भने—यदि तैँले अनुग्रहको युगको अवधिमा पुरानो करारको समयमा चाहिने कुराको अभ्यास गरेको छस् भने—येशूले तँलाई अस्वीकार गर्नुहुनेथियो, र तँलाई दण्ड दिनुहुनेथियो; यदि तैँले येशूका कामहरूमा पुरानो करार लागू गरेको थिइस् भने, तँ एक फरिसी हुने थिइस्। यदि आज, तैँले खान र पिउन अनि प्रयोग गर्नका लागि पुरानो र नयाँ करारलाई एकसाथ राख्छस् भने, आजका परमेश्‍वरले तँलाई दोषी ठहराउनुहुनेछ; तँ आजको पवित्र आत्माको कामको पछि पतन भएको हुनेछस्! यदि तँ पुरानो करार र नयाँ करार खान्छस् र पिउँछस् भने, तँ पवित्र आत्माको प्रवाहभन्दा बाहिर छस्! येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्ग फैलाउनुभयो—एउटा यस्तो वचन जसको बारेमा पुरानो करारका अगमवाणीहरूमा एउटै पनि उल्लेख गरिएको थिएन। उहाँले केवल बाइबलअनुसार काम गर्नुभएन भन्‍ने मात्र होइन, तर उहाँले एउटा नयाँ बाटोमा पनि हिँडाउनुभयो र नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्‍चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, शिक्षा अनि उहाँका वचनहरूको अधिकार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको भन्दा उत्तम थियो। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के पुरानो करारमा उहाँको शिक्षा, बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको क्षमताको बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्‍याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानी-जानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तरता दिनका लागि थिएन, किनकि उहाँको कामले बाइबल त्यसको आधार हो कि होइन भन्‍ने कुरामा कुनै ध्यान दिएन; येशू केवल उहाँले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो। यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको गल्ती थिएन र? के परमेश्‍वरको कामका निम्ति सिद्धान्त प्रयोग गर्नु आवश्यक हुन्छ? के परमेश्‍वरको काम अगमवक्ताहरूका अगमवाणीअनुसार हुनै पर्छ? त्यसोभए, ठूलो को हो: परमेश्‍वर वा बाइबल? परमेश्‍वरले किन बाइबलअनुसार काम गर्नुपर्छ र? के परमेश्‍वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्‍ने हुनसक्छ? के परमेश्‍वरले बाइबलबाट टाढा भएर अरू कामहरू गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिनलाई ध्यानमा राख्दै र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुपर्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, तर बरु खुट्टा धोइदिनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा समावेश छैनन् र? यदि येशूले पुरानो करारलाई आदर गर्नुहुन्थ्यो भने उहाँले यी सिद्धान्तहरू किन तोड्नुभयो? कुनचाहिँ पहिले आयो, परमेश्‍वर वा बाइबल, त्यो तँलाई थाहा हुनुपर्छ। शबाथका प्रभु हुनुभएकोले के उहाँ बाइबलका परमप्रभु पनि हुन सक्नुहुने थिएन र?

नयाँ करारको समयमा येशूले गर्नुभएको कामले नयाँ काम सुरु गर्‍यो: उहाँले पुरानो करारको काम अनुसार काम गर्नुभएन, न त उहाँले पुरानो करारका यहोवाले बोल्नुभएका वचनहरूलाई नै प्रयोग गर्नुभयो। उहाँले आफ्नै काम गर्नुभयो, र उहाँले नयाँ काम गर्नुभयो, र त्यो काम व्यवस्थाभन्दा अझ उच्च थियो। यसैले, उहाँले भन्नुभयो: “म व्यवस्था वा अगमवक्ताहरू नष्ट गर्न आएको हुँ भन्‍ने नसोच: म नष्ट गर्न होइन, तर पूरा गर्न आएको हुँ।” यसैले, उहाँले जे पूरा गर्नुभयो त्यस अनुसार धेरै वटा सिद्धान्त भङ्ग गरिए। शबाथको दिनमा, उहाँले आफ्ना चेलाहरूलाई अन्नका खेतहरू भएर लग्नुहुँदा ती चेलाहरूले अन्नका बालाहरू टिपे र खाए; उहाँले शबाथ दिन पालन गर्नुभएन र भन्नुभयो, “मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।” त्यसबेला, इस्राएलीहरूको नियमअनुसार शबाथ दिन पालन नगर्ने कुनै पनि मानिसलाई ढुङ्गाले हानेर मारिन्थ्यो। तापनि, येशू न त मन्दिरमा प्रवेश गर्नुभयो न उहाँले शबाथ दिन पालन गर्नुभयो, र उहाँको काम पुरानो करारको समयका यहोवाले गर्नुभएको थिएन। यसरी, येशूले गर्नुभएको कामले पुरानो करारको व्यवस्थालाई उछिन्यो, यो त्योभन्दा अझ उच्च थियो, र यो त्यो अनुरूप थिएन। अनुग्रहको युगको अवधिमा, येशूले पुरानो करारको व्यवस्थाअनुसार काम गर्नुभएन, र ती सिद्धान्तहरूलाई पहिले नै भङ्ग गरिसक्नुभएको थियो। तर इस्राएलीहरू जोरदार रूपमा बाइबलमा अडे र तिनीहरूले येशूको निन्दा गरे—के त्यसो गर्नु येशूको कामलाई इन्कार गर्नु थिएन र? आज धार्मिक संसार पनि जोरदार रूपमा बाइबलमा अडेको छ र कोही-कोही मानिसहरू भन्छन्‌, “बाइबल एउटा पवित्र पुस्तक हो र यो पढ्नुपर्छ।” केही व्यक्तिहरू भन्छन्, “परमेश्‍वरको काम सदाका लागि कायम राख्नुपर्छ, पुरानो करार परमेश्‍वरले इस्राएलीहरूसँग गर्नुभएको करार हो, र यसलाई उल्लङ्घन गर्न सकिँदैन, र शबाथ-दिन सधैँ पालन गर्नुपर्दछ!” के ती हास्यास्पद छैनन् र? येशूले किन शबाथ दिनको पालन गर्नुभएन? के उहाँले पाप गरिरहनुभएको थियो? यस्ता कुराहरू कसले सम्पूर्ण रूपले बुझ्न सक्दछ? मानिसहरूले बाइबल जसरी पढे पनि, उनीहरूको बोध गर्ने सामर्थ्य प्रयोग गरेर परमेश्‍वरको कार्य जान्नु असम्भव हुनेछ। उनीहरूले परमेश्‍वरको शुद्ध ज्ञान प्राप्त नगर्ने मात्र होइन, तर तिनीहरूका धारणा झन्-झन् नराम्रो हुँदैजान्छ, यसरी तिनीहरूले परमेश्‍वरको विरोध गर्न थाल्नेछन्। यदि आजका देहधारी परमेश्‍वर नहुनुभएको भए, मानिसहरू तिनीहरूका आफ्नै धारणाले बरबाद हुनेथिए, र तिनीहरू परमेश्‍वरको सजायमा परेर मर्ने थिए।

अघिल्लो: परमेश्‍वरको कामको दर्शन (३)

अर्को: बाइबल सम्बन्धमा (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्