बाइबल सम्बन्धमा (१)
परमेश्वरमाथिको विश्वासमा बाइबललाई कसरी हेर्नुपर्छ? यो सिद्धान्तको प्रश्न हो। हामी किन यो प्रश्नबारे सङ्गति गर्दै छौँ? किनकि भविष्यमा तिमीहरूले व्यापक रूपमा सुसमाचार प्रचार गर्नेछौ र राज्यको युगको कामलाई फैलाउनेछौ, र परमेश्वरको आजको कामसम्बन्धी ज्ञान मात्र बाँड्न सक्नु पर्याप्त छैन। उहाँको कामलाई फैलाउनका निम्ति, तिमीहरूले मानिसहरूको पुराना धार्मिक विचारहरू र पुरानो विश्वासको माध्यमहरूलाई सुल्झाउन सक्षम हुनु र उनीहरूलाई पूर्ण रूपले विश्वस्त तुल्याउन सक्नु महत्त्वपूर्ण हुन्छ—र त्यस बिन्दुमा पुग्नको लागि बाइबल समावेश हुन्छ। धेरै वर्षदेखि मानिसहरूका परम्परागत विश्वासका माध्यमहरू (ख्रीष्टियन धर्मको, जुन विश्वका तीन प्रमुख धर्ममध्ये एक हो) बाइबल पढ्नु नै भएको छ; बाइबलबाट टाढा हुनु भनेको प्रभुमा विश्वास गर्नु होइन, बाइबलबाट टाढा हुनु शास्त्रविरुद्ध र झूटो शिक्षा हो, र जब मानिसहरूले अन्य पुस्तकहरू पढ्छन् तब पनि यी पुस्तकहरूको जग बाइबलको व्याख्या नै हुनुपर्दछ। यसको अर्थ के हो भने, यदि तँ प्रभुमा विश्वास गर्छस् भने तैँले बाइबल पढ्नै पर्छ, र बाइबल बाहिर तैँले कुनै पुस्तकको पूजा गर्नुहुँदैन जसमा बाइबल समावेश छैन। यदि तैँले त्यसो गरिस् भने तैँले परमेश्वरलाई धोका दिइरहेको हुन्छस्। बाइबल भएको समयदेखि नै प्रभुमाथिको मानिसहरूको विश्वास नै बाइबलमाथिको विश्वासको रूपमा रहिआएको छ। मानिसहरूले प्रभुमा विश्वास गर्छन् भन्नुको सट्टा तिनीहरूले बाइबलमा विश्वास गर्छन् भन्नु राम्रो हुन्छ; उनीहरूले बाइबल पढ्नु सुरु गरे भन्नुभन्दा उनीहरूले बाइबलमा विश्वास गर्न थाले भन्नु राम्रो हुन्छ; उनीहरू प्रभुको सामु फर्किए भन्नुभन्दा उनीहरू बाइबलको अगि फर्किए भन्नु राम्रो हुन्छ। यसरी, मानिसहरू बाइबललाई परमेश्वर जस्तो मानेर त्यसको आराधना गर्छन्, र यसलाई आफ्नो प्राणवायुका रूपमा लिन्छन्, र यसलाई गुमाउनु भनेको आफ्नो जीवन गुमाउनुसरह हुनेछ। मानिसहरूले बाइबललाई परमेश्वर जत्तिकै उच्च रूपमा हेर्छन्, र यसलाई परमेश्वरभन्दा उच्च देख्नेहरू पनि छन्। यदि मानिसहरू पवित्र आत्माको कामविहीन छन् भने, यदि उनीहरूले परमेश्वरलाई महसुस गर्न सक्दैनन् भने, उनीहरू बाँचिरहन सक्छन्—तर उनीहरूले बाइबल वा बाइबलका प्रसिद्ध अध्यायहरू र भनाइहरू हराउने बित्तिकै उनीहरूको जीवन नै हराएको जस्तो हुन्छ। यसरी प्रभुमा विश्वास गर्नेबित्तिकै मानिसहरू बाइबल पढ्न थाल्छन्, र बाइबल कण्ठ गर्न थाल्छन्, र तिनीहरूले जति धेरै बाइबल कण्ठ गर्न सक्छन्, त्यसले त्यति नै धेरै तिनीहरूले प्रभुलाई प्रेम गर्छन् र तिनीहरूमा ठूलो विश्वास छ भनी प्रमाणित गर्दछ। जसले बाइबल पढेका छन् र जो त्यसबारे अरूसँग कुरा गर्न सक्छन्, तिनीहरू सबै सबैभन्दा असल दाजुभाइ-दिदीबहिनी हुन्। यत्तिका वर्षसम्म प्रभुप्रति मानिसहरूका आस्था र बफादारी तिनीहरूले बाइबल कति बुझेका छन् भन्ने आधारमा मापन गरिएका छन्। धेरै मानिस परमेश्वरमा किन विश्वास गर्ने भन्ने कुरा समेत बुझ्दैनन्, न त कसरी विश्वास गर्नुपर्छ भनेर नै बुझ्छन्, र बाइबलका अध्यायहरूको अर्थ बुझ्नका लागि अन्धाधुन्ध सुराकहरू खोज्नेबाहके अरू केही गर्दैनन्। मानिसहरूले कहिल्यै पनि पवित्र आत्माको कामको निर्देशन पछ्याएका छैनन्; शुरुदेखि नै, तिनीहरूले बाइबलको कठोर अध्ययन र अनुसन्धान गर्नुबाहेक अरू केही गरेका छैनन्, र कसैले पनि बाइबलबाहिर पवित्र आत्माको नयाँ काम कहिल्यै फेला पारेको छैन। कोही पनि बाइबल छोडी अर्कोतिर जान सक्दैन, न त कसैले कहिल्यै त्यसो गर्ने आँट नै गरेको छ। मानिसहरूले यति धेरै वर्षसम्म बाइबल अध्ययन गरेका छन्, तिनीहरूले यति धेरै व्याख्याहरू गरेका छन्, अनि तिनीहरूले यति धेरै काम गरेका छन्; तिनीहरूमा बाइबलको बारेमा विभिन्न मतभिन्नता पनि छन् जसको बारेमा तिनीहरू निरन्तर बहस गर्छन्, त्यसैले आज दुई हजारभन्दा बढी सम्प्रदायहरू गठन भएका छन्। तिनीहरू सबै बाइबलमा भएका केही श्रेष्ठ व्याख्या वा अझ गहिरा रहस्यहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू यसलाई अन्वेषण गर्न चाहन्छन् र यसमा इस्राएलमा भएको यहोवाको कामको पृष्ठभूमि, वा यहूदियामा येशूको कामको पृष्ठभूमि, वा अरू कसैले थाहा नपाएका थप रहस्यहरू पत्ता लगाउन चाहन्छन्। बाइबलप्रतिको मानिसहरूको दृष्टिकोण आसक्ति र आस्थाले भरिएको छ, र बाइबलपछाडिको वास्तविक कथाबारे वा बाइबलको सारबारे कोही पनि पूर्ण रूपमा स्पष्ट हुन सक्दैन। आज पनि, बाइबलको कुरा आउँदा मानिसहरूमा अवर्णनीय आश्चर्य-भाव पैदा हुन्छ, र त्यसप्रति तिनीहरू अझ बढी मोहित हुन्छन् र त्यसमा अझ बढी विश्वास गर्छन्। आज, सबै जना बाइबलमा आखिरी दिनहरूको कामका अगमवाणीहरू पत्ता लगाउन चाहन्छन्, तिनीहरू परमेश्वरले आखिरी दिनहरूमा के काम गर्नुहुन्छ र आखिरी दिनहरूका चिन्हहरू के-के हुन् भनी पत्ता लगाउन चाहन्छन्। यसप्रकार, तिनीहरूले गर्ने बाइबलको आराधना अझ बढी जोशिलो हुँदै जान्छ र आखिरी दिनहरू जति नजिकिंदै जान्छन् तिनीहरूले विशेष गरी आखिरी दिनहरूसम्बन्धी बाइबलका अगमवाणीहरूलाई अझ बढी अन्धाधुन्ध विश्वास गर्छन्। बाइबलमाथि त्यस्तो अन्धविश्वास भएकोले, बाइबलमा त्यस्तो भरोसा भएकोले, तिनीहरूमा पवित्र आत्माको कामको खोजी गर्ने कुनै इच्छा हुँदैन। मानिसहरू आफ्ना धारणाहरूमा बाइबलले मात्र पवित्र आत्माको काम ल्याउन सक्छ भन्ने सोच्छन्; तिनीहरू सोच्छन् कि केवल बाइबलमा तिनीहरूले परमेश्वरका पाइलाहरू भेट्न सक्छन्; केवल बाइबलमा परमेश्वरको कामका रहस्यहरू लुकेका छन्; अन्य पुस्तकहरू वा मानिसहरूले होइन, केवल बाइबलले परमेश्वरका सबै कुराहरू र उहाँको कार्यको सम्पूर्णता स्पष्ट पार्न सक्छ; बाइबलले स्वर्गको कामलाई पृथ्वीमा ल्याउन सक्छ; र बाइबलले दुवै युग सुरु र अन्त्य गर्न सक्छ। यी धारणाहरूका कारण मानिसहरूमा पवित्र आत्माको काम खोज्ने कुनै झुकाव हुँदैन। त्यसकारण, विगतमा मानिसहरूका निम्ति बाइबल जति नै धेरै सहयोगी भएको भए पनि यो परमेश्वरको नवीनतम काममा बाधा बनेको छ। बाइबलविना, मानिसहरूले परमेश्वरका पदचापहरू अन्यत्र खोज्न सक्थे, तैपनि आज, उहाँका पदचापहरू बाइबलभित्र “सीमित पारिएका” छन्, र उहाँको पछिल्लो काम फैलाउन झन् दोब्बर कठिन, र अत्यन्तै चुनौतीपूर्ण बनेको छ। यो सबै बाइबलका प्रसिद्ध अध्याय र भनाइका साथै बाइबलका थुप्रै अगमवाणीका कारण भएको हो। मानिसहरूका मनमा बाइबल एउटा मूर्ति बनेको छ, यो उनीहरूका दिमागमाएउटा पहेली बनेको छ, र बाइबल बाहिर परमेश्वरले काम गर्न सक्नुहुन्छ भन्ने विश्वास गर्न तिनीहरू असमर्थ छन्, मानिसहरूले बाइबल बाहिर पनि परमेश्वर पाउन सक्छन् भनी तिनीहरू विश्वास गर्न सक्दैनन्, तिनीहरू अन्तिम काममा परमेश्वर बाइबलबाट छुट्टिएर जान र फेरि नयाँ सुरुवात गर्न सक्नुहुन्छ भन्ने त झनै विश्वास गर्न सक्दैनन्। यो मानिसहरूले सोच्नै नसक्ने कुरा हो; उनीहरू यसमा विश्वास गर्न सक्दैनन्, न त उनीहरूले यसको कल्पना गर्न नै सक्छन्। बाइबल परमेश्वरको नवीनतम काम स्वीकार गर्नमा मानिसहरूका निम्ति ठूलो अड्चन बनेको छ र परमेश्वरको नवीनतम काम फैलाउनमा कठिनाइ बनेको छ। तसर्थ, यदि तिमीहरू बाइबलपछाडिको वास्तविक कथा बुझ्दैनौ भने, तिमीहरू सफलतापूर्वक व्यापक रूपमा सुसमाचार प्रचार गर्न असक्षम हुनेछौ, न त तिमीहरू व्यापक रूपमा नयाँ कामको गवाही दिन नै सक्षम हुनेछौ। आज तिमीहरूले बाइबल नपढ्ने भए पनि, तिमीहरू अझै पनि त्यसलाई धेरै मन पराउँछौं, भन्नुको अर्थ, तिमीहरूका हातमा बाइबल नहोला, तर तिमीहरूका धेरै वटा धारणाहरू त्यसैबाट आउँछन्। तिमीहरू बाइबलका उत्पत्तिहरू वा परमेश्वरको कामका अघिल्ला दुइटा चरणको वास्तविक कथा बुझ्दैनौ। तिमीहरूले प्रायजसो बाइबल नपढ्ने भए पनि, तिमीहरूले बाइबललाई बुझ्नुपर्छ, तिमीहरूले बाइबलको सही ज्ञान हासिल गर्नैपर्छ, यसरी मात्र तिमीहरू परमेश्वरको छ हजार वर्षको व्यवस्थापन योजना कुन विषयमा छ भन्ने कुरा जान्न सक्नेछौ। तिमीहरूले मानिसहरूलाई जित्न, यो प्रवाह नै सत्य मार्ग हो भनी उनीहरूलाई स्वीकार गराउन, आज तिमीहरूले हिँड्ने मार्ग सत्यताको मार्ग हो, यो पवित्र आत्माद्वारा डोर्याइन्छ, र यो कुनै पनि मानवद्वारा खोलिएको होइन भनी स्वीकार गराउनका निम्ति यी कुराहरू प्रयोग गर्नेछौ।
परमेश्वरले व्यवस्थाको युगमा काम गर्नुभएपछि, पुरानो करारको पुस्तक प्रकाशित गरियो, त्यही समयदेखि नै मानिसहरूले बाइबल पढ्न सुरु गरे। येशू आउनुभएपछि, उहाँले अनुग्रहको युगको काम गर्नुभयो, र उहाँका प्रेरितहरूले नयाँ करार लेखे। यसरी बाइबलका पुरानो र नयाँ करारहरू प्रकाशित भएका थिए, र आजसम्म पनि, परमेश्वरमा विश्वास गर्ने सबैले बाइबल पढ्दै आएका छन्। बाइबल इतिहासको एक पुस्तक हो। निःसन्देह, यसमा अगमवक्ताहरूका केही भविष्यवाणीहरू पनि समावेश छन् र त्यस्ता भविष्यवाणीहरू कुनै पनि प्रकारले इतिहास होइनन्। बाइबलमा थुप्रै भागहरू छन्—त्यहाँ अगमवाणी मात्र छैन, वा यहोवाको काम मात्र छैन, न त त्यहाँ केवल पावलका पत्रहरू मात्र छन्। बाइबलमा कति भागहरू छन् तँलाई थाहा हुनुपर्दछ; पुरानो नियममा उत्पत्ति, प्रस्थान…, आदि छन् र त्यहाँ अगमवाणीहरूका पुस्तकहरू पनि छन् जुन अगमवक्ताहरूले लेखेका थिए। अन्त्यमा, पुरानो नियम मलाकीको पुस्तकमा गएर समाप्त हुन्छ। यसले व्यवस्थाको युगको काम अभिलेख गर्छ, जसको नेतृत्व यहोवाले गर्नुभएको थियो; उत्पत्तिदेखि मालाकीको पुस्तकसम्म, यो व्यवस्थाको युगको सबै कामको विस्तृत अभिलेख हो। भन्नुको अर्थ, पुरानो नियमले ती सबै कुराहरू अभिलेख गर्छ जुन व्यवस्थाको युगमा यहोवाद्वारा डोऱ्याइएका मानिसहरूले अनुभव गरेका थिए। पुरानो करारको व्यवस्थाको युगमा, यहोवाले उहाँका निम्ति अगमवाणी बोल्न, विभिन्न वंश र राष्ट्रलाई निर्देशनहरू दिन र यहोवाले गर्नुहुने कामको भविष्यवाणी गर्न ठूलो सङ्ख्यामा अगमवक्ताहरू खडा गर्नुभयो। खडा गरिएका यी मानिसहरू सबैलाई यहोवाद्वारा अगमवाणी गर्ने आत्मा दिइएको थियो। तिनीहरूले यहोवाका दर्शनहरू देख्न सक्थे र उहाँको आवाज सुन्न सक्थे, र यसरी तिनीहरूले उहाँद्वारा प्रेरणा पाए र अगमवाणी लेखे। तिनीहरूले गरेको काम यहोवाको आवाजको अभिव्यक्ति, यहोवाको अगमवाणीको अभिव्यक्ति थियो, र त्यस समय यहोवाको काम आत्मालाई प्रयोग गरी मानिसहरूलाई डोऱ्याउनु थियो; उहाँ देह बन्नुभएन, र मानिसहरूले उहाँको अनुहार देखेनन्। यसरी, उहाँले आफ्नो काम गर्न धेरै अगमवक्ताहरू खडा गर्नुभयो, उहाँले तिनीहरूलाई वाणीहरू दिनुभयो जसलाई तिनीहरूले इस्राएलको हरेक कुल र वंशमा हस्तान्तरण गरिदिए। तिनीहरूको काम अगमवाणी बोल्नु थियो, र तिनीहरूमध्ये कसै-कसैले अरूलाई देखाउन यहोवाले तिनीहरूलाई दिनुभएका निर्देशनहरू लेखे। यहोवाले तिनीहरूलाई अगमवाणी बोल्न वा भविष्यको कामको अगमवाणी गर्न वा त्यस समयमा गर्नुपर्ने बाँकी कामहरूबारे अगमवाणी गर्न खडा गर्नुभयो ताकि मानिसहरूले यहोवाको अद्भुतता र बुद्धि देख्न सकून्। अगमवाणीका यी पुस्तकहरू बाइबलका अन्य पुस्तकहरू भन्दा बिलकुलै भिन्न थिए; ती त अगमवाणीको आत्मा दिइएका व्यक्तिहरूद्वारा—यहोवाबाट दर्शन वा आवाज पाएका व्यक्तिहरूद्वारा—बोलिएका वा लेखिएका वचनहरू थिए। अगमवाणीका पुस्तकहरूबाहेक, पुरानो नियमका अरू सबै कुराहरू यहोवाले आफ्नो काम पूरा गरिसक्नुभएपछि मानिसहरूद्वारा तयार पारेका अभिलेखहरूले भरिएका छन्। यी पुस्तकहरूले यहोवाद्वारा खडा गरिएका अगमवक्ताहरूद्वारा बोलिएका भविष्यवाणीको स्थान लिन सक्दैनन्; उदाहरणका लागि, उत्पत्ति र प्रस्थानका पुस्तकहरूलाई यशैयाको पुस्तक र दानिएलको पुस्तकसँग तुलना गर्न मिल्दैन। ती अगमवाणीहरू काम पूरा हुनुभन्दा अघि बोलिएका थिए; अन्य पुस्तकहरू भने काम समाप्त भएपछि लेखिएका थिए, जुन कुरा लेख्न मानिसहरू सक्षम थिए। त्यस समयका अगमवक्ताहरूले यहोवाबाट प्रेरणा पाए र केही अगमवाणी बोले, तिनीहरूले धेरै वचनहरू बोले, र तिनीहरूले अनुग्रहको युगका कुराहरूका साथसाथै आखिरी दिनहरूमा संसारको विनाश हुनेबारे पनि अगमवाणी गरे—जुन काम गर्ने यहोवाले योजना गर्नुभएको थियो। बाँकी पुस्तकहरू सबैले यहोवाले इस्राएलमा गर्नुभएको काम लेखे। यसरी, जब तिमी बाइबल पढ्छौ, तिमीहरूले मुख्य रूपमा यहोवाले इस्राएलमा जे गर्नुभयो त्यो पढिरहेका हुन्छौ; बाइबलको पुरानो करारमा मुख्य रूपमा यहोवाले इस्राएललाई मार्गदर्शन गर्नुभएको काम, इस्राएलीहरूलाई मिश्रबाट बाहिर निकाल्न, तिनीहरूलाई फारोका जन्जिरहरूबाट मुक्त गर्न, र तिनीहरूलाई उजाडस्थलमा लग्न उहाँले मोशालाई प्रयोग गर्नुभएको, त्यसपछि तिनीहरू कनानमा प्रवेश गरेको, र यसपछि कनानमा तिनीहरूको जीवनको अभिलेख गरिएको छ। यसबाहेकका अरू सबै भागहरू इस्राएलभरि यहोवाले गर्नुभएको कामका अभिलेखहरूले भरिएको छ। पुरानो करारमा अभिलेख गरिएका सबै कुरा इस्राएलमा यहोवाले गर्नुभएको काम—अर्थात्, यहोवाले त्यही भूमिमा गर्नुभएको काम हो जहाँ उहाँले आदम र हव्वालाई बनाउनुभएको थियो। नोआपछि परमेश्वरले आधिकारिक रूपमा पृथ्वीमा मानिसहरूलाई डोऱ्याउन थाल्नुभएको कुरादेखि नै पुरानो नियममा अभिलेख गरिएका सबै कुराहरू इस्राएलको काम हो। अनि इस्राएलभन्दा बाहिरको कामको किन कुनै पनि अभिलेख छैन? किनकि इस्राएलको भूमि मानवजातिको उद्गमस्थल हो, र सुरुमा, इस्राएलबाहेक अरू कुनै राष्ट्र थिएन, र यहोवाले अरू कुनै ठाउँमा काम गर्नुभएन। यस प्रकार, बाइबलको पुरानो नियममा जे अभिलेख गरिएको छ त्यो पूर्ण रूपमा त्यसबेला परमेश्वरले इस्राएलमा गर्नुभएको काम हो। अगमवक्ताहरू, यशैया, दानिएल, यर्मिया र इजकिएलद्वारा बोलिएका वचनहरू … तिनीहरूका वचनहरूले पृथ्वीमा उहाँको अन्य कामको भविष्यवाणी गर्छन्, तिनीहरूले यहोवा परमेश्वर स्वयम्को कामको भविष्यवाणी गर्छन्। यो पूर्णतया परमेश्वरबाट आएको हो, यो पवित्र आत्माको काम थियो, र अगमवक्ताहरूका यी पुस्तकहरूबाहेक अरू सबै कुरा त्यस समयको यहोवाको कामबारे मानिसहरूका अनुभवहरूको अभिलेख हुन्।
मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले सृष्टिको काम भयो, तर उत्पत्ति पुस्तक मानवजाति सृष्टि गरिएपछि मात्र आयो; यो व्यवस्थाको युगको अवधिमा मोशाद्वारा लेखिएको पुस्तक थियो। यो आज तिमीहरूमाझ भइरहने कुराहरू जस्तै छः घटनाहरू घटेपछि तिमीहरूले भविष्यका मानिसहरूलाई देखाउनका निम्ति ती कुराहरू लेख्छौ, अनि तिमीहरूले जे अभिलेख गरेका हुन्छौ ती कुराहरू भविष्यका मानिसहरूको लागि विगतमा घटेका घटनाहरू हुन्—तिनलाई इतिहासका रूपमा मात्र पढ्न सकिन्छ। पुरानो नियममा अभिलेख गरिएका कुराहरू इस्राएलमा यहोवाले गर्नुभएको काम हो, र नयाँ नियममा लेखिएका कुराहरूचाहिँ अनुग्रहको युगको अवधिमा येशूले गर्नुभएको काम हो; तिनीहरूले दुई फरक-फरक युगहरूमा परमेश्वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छन्। पुरानो करारले व्यवस्थाको युगको अवधिमा परमेश्वरले गर्नुभएको कामको दस्तावेजीकरण गर्छ, त्यसैले पुरानो करार एउटा इतिहासको पुस्तक हो। नयाँ करार भनेको अनुग्रहको युगको कामको उपज हो, र जब नयाँ काम सुरु भयो, तब नयाँ करार पनि पुरानो भयो, त्यसैले नयाँ करार पनि एउटा इतिहासको पुस्तक हो। निश्चय नै, नयाँ नियम पुरानो नियम जत्तिकै व्यवस्थित छैन, न त यसले त्यति नै धेरै कुराहरूको अभिलेख नै गर्दछ। यहोवाले बोल्नुभएका अनेकौं वचनहरू सबै बाइबलको पुरानो नियममा अभिलेख गरिएका छन् भने चारवटा सुसमाचारका पुस्तकहरूमा येशूका केही वचनहरू मात्र अभिलेख गरिएका छन्। निश्चय नै, येशूले पनि धेरै काम गर्नुभयो, तर त्यसलाई विस्तृत रूपमा अभिलेख गरिएको छैन। नयाँ करारमा कम अभिलेख गरिएको छ किनभने येशूले कम काम गर्नुभयो; उहाँले पृथ्वीमा साढे तीन वर्षमा गर्नुभएको काम र प्रेरितहरूले गरेका कामहरू जति छन् ती यहोवाले गर्नुभएको कामभन्दा धेरै नै कम थिए। अनि यसैकारण, नयाँ नियममा पुरानो नियममा भन्दा थोरै पुस्तकहरू छन्।
बाइबल ठ्याक्कै कस्तो किसिमको पुस्तक हो? पुरानो नियम व्यवस्थाको युगको अवधिमा परमेश्वरले गर्नुभएको काम हो। बाइबलको पुरानो नियममा व्यवस्थाको युगको अवधिमा यहोवाले गर्नुभएका सबै कामहरू अनि उहाँले गर्नुभएको सृष्टिको काम अभिलेख गरिएको छ। यसका सबै भागहरूले यहोवाद्वारा गरिएको काम अभिलेख गर्दछन्, र यसले अन्ततः मलाकीको पुस्तकमा यहोवाको कामका विवरणहरू समापन गर्दछ। पुरानो नियममा परमेश्वरले गर्नुभएका दुईवटा कामहरू अभिलेख गरिएका छन्: एउटा सृष्टिको काम हो, र अर्को व्यवस्थाको घोषणा हो। दुवै काम यहोवाले गर्नुभएको थियो। व्यवस्थाको युगले यहोवा परमेश्वरको नाउँमा गरिएको कामको प्रतिनिधित्व गर्दछ; यो आधारभूत रूपमा यहोवाको नाउँमा गरिएका कामहरूको सम्पूर्णता हो। त्यसैले, पुरानो करारमा यहोवाको कामको अभिलेख गरिएको छ। नयाँ करारमा येशूको कामको अभिलेख गरिएको छ, त्यो काम जुन मूलतः येशूको नाउँमा गरिएको थियो। येशूको नाउँको महत्त्व र उहाँले गर्नुभएको काम प्रायः नयाँ नियममा लेखिएको छ। पुरानो नियमको व्यवस्थाको युगको अवधिमा, यहोवाले इस्राएलमा मन्दिर र वेदी निर्माण गर्नुभयो, उहाँले पृथ्वीमा इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो, जसले तिनीहरू उहाँका चुनिएका मानिस रहेको, उहाँले पृथ्वीमा चुन्नुभएका र उहाँका अभिप्रायअनुरूप रहेका मानिसहरूको पहिलो समूह, उहाँले व्यक्तिगत रूपमा डोऱ्याउनुभएको पहिलो समूह रहेको प्रमाणित गर्छ। इस्राएलका बाह्र वटा वंश यहोवाका चुनिएका पहिलो मानिसहरू थिए, त्यसैले व्यवस्थाको युगमा यहोवाको काम समाप्त नहुञ्जेल उहाँले सधैँ तिनीहरूमाथि काम गर्नुभयो। दोस्रो चरणको काम नयाँ नियमको अनुग्रहको युगको काम थियो, र त्यो यहूदीहरूको बीचमा, इस्राएलका बाह्र कुलमध्ये एकमा गरिएको थियो। यस कामको दायरा सानो थियो किनकि येशू देहधारी परमेश्वर हुनुहुन्थ्यो। येशूले यहूदियाको देशमा मात्र काम गर्नुभयो, र साढे तीन वर्ष मात्र काम गर्नुभयो; त्यसैले, नयाँ नियममा अभिलेख गरिएका कुराहरूले पुरानो नियममा अभिलेख गरिएको कामको मात्रालाई उछिन्न नसकेको हो। अनुग्रहको युगमा येशूले गर्नुभएको काम मुख्य रूपमा सुसमाचारका चार वटा पुस्तकमा लेखिएको छ। अनुग्रहको युगका मानिसहरू हिँडेका बाटो उनीहरूको जीवन स्वभावको सबैभन्दा सतही परिवर्तनहरू नै थिए, जसका अधिकांश भागहरू प्रेरितहरूका पत्रहरूमा लेखिएका छन्। ती पत्रहरूले त्यस बेला पवित्र आत्माले कसरी काम गर्नुभयो भनेर देखाउँछन्। (निश्चय नै, चाहे पावलले सजाय पाएको होस् वा दुर्दशा खेप्नुपरेको होस्, तिनले गरेका काममा तिनी पवित्र आत्माद्वारा निर्देशित थिए, तिनी त्यस्ता व्यक्ति थिए जो त्यस समय पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए; पत्रुस पनि पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए, तर तिनले पावलले जति धेरै काम गरेनन्। पावलको काममा मानिसका अशुद्धताहरू थिए, तापनि पावलले लेखेका पत्रहरूमा ती समयमा पवित्र आत्माले कसरी काम गर्नुहुन्थ्यो भन्ने कुरा देख्न सकिन्छ। पावलले डोऱ्याएको बाटो ठीक थियो, त्यो सही थियो, र त्यो पवित्र आत्मा हिँड्नुभएको बाटो थियो।)
यदि तँ व्यवस्थाको युगको काम हेर्न, र इस्राएलीहरूले कसरी यहोवाको मार्ग पछ्याए भनी हेर्न चाहन्छस् भने, तैँले पुरानो करार पढ्नैपर्छ; यदि तँ अनुग्रहको युगको काम बुझ्न चाहन्छस् भने, तैँले नयाँ करार पढ्नैपर्छ। तर तैँले आखिरी दिनहरूको कामलाई कसरी हेर्छस् त? तैँले आज परमेश्वरको अगुवाइलाई स्वीकार्नुपर्दछ, र आजको काममा प्रवेश गर्नुपर्दछ, किनकि यो नयाँ काम हो, र यसलाई पहिले नै बाइबलमा कसैले पनि अभिलेख गरेको छैन। आज, परमेश्वर देह बन्नुभएको छ र उहाँले चीनमा अरू चुनिएका मानिसहरू छान्नुभएको छ। परमेश्वर यी मानिसहरूमाथि काम गर्नुहुन्छ, उहाँ पृथ्वीमा गरिएको उहाँको कामलाई निरन्तरता दिनुहुन्छ, र अनुग्रहको युगमा भएको कामलाई निरन्तरता दिनुहुन्छ। आजको काम त्यो बाटो हो जहाँ मानिस कहिल्यै हिंडेको छैन, र यो त्यस्तो मार्ग हो जुन कसैले कहिल्यै देखेको छैन। यो यस्तो काम हो जुन पहिला कहिल्यै गरिएको छैन—यो पृथ्वीमा परमेश्वरको नवीनतम काम हो। यसैले, पहिले कहिल्यै नगरिएको काम इतिहास होइन, किनकि अहिले भनेको अहिले हो, र यो विगत बन्न बाँकी नै छ। परमेश्वरले पृथ्वीमा र इस्राएलदेखि बाहिर अझ ठूलो, अझ नयाँ काम गर्नुभएको छ, त्यो इस्राएलको दायराभन्दा धेरै पर, अगमवक्ताहरूको अगमवाणीहरू भन्दा बाहिर गइसकेको छ, जुन अगमवाणीहरूभन्दा बाहिरको नयाँ र अचम्मको काम हो, र इस्राएलभन्दा परको अझ नयाँ काम हो भन्ने कुरा मानिसहरूलाई थाहा छैन, जुन यस्तो काम हो जसलाई मानिसहरूले न त बुझ्न सक्छन् न कल्पना गर्न नै सक्छन्। बाइबलमा त्यस्तो कामको स्पष्ट अभिलेख कसरी हुन सक्छ र? आजको कामका बारेमा एउटै कुरा पनि नछुटाई अग्रिम रूपमा कसले लेखेको हुन सक्थ्यो र? परम्परालाई चुनौती दिने यो अझ ठूलो, अझ बुद्धिमानी कामलाई अति पुरानो भएर ढुसी लागेको त्यो पुस्तकमा कसले अभिलेख गर्न सक्थ्यो र? वर्तमान काम इतिहास होइन, र यस्तो भएकाले, यदि तँलाई आजको नयाँ मार्गमा हिँड्ने इच्छा छ भने, तैँले बाइबललाई छोड्नुपर्छ, तैँले बाइबलका अगमवाणी वा इतिहासका पुस्तकहरूभन्दा पर जानुपर्छ। तब मात्र तैँले नयाँ मार्गमा ठिकसँग हिंड्न सक्नेछस्, अनि मात्र तैँले नयाँ क्षेत्र र नयाँ काममा प्रवेश गर्न सक्नेछस्। तैँले तँलाई आज किन बाइबल नपढ्नु भनिएको छ, किन बाइबलदेखि अलग अर्को काम छ, किन परमेश्वरले बाइबलमा अझ नयाँ र विस्तृत अभ्यास खोज्नुहुन्न, र किन त्यसको सट्टामा बाइबलबाहिर शक्तिशाली काम छ भनेर बुझ्नुपर्दछ। यो सबै तिमीहरूले बुझ्नुपर्ने कुरा हो। तैँले पुरानो र नयाँ कामबीचको भिन्नता बुझ्नुपर्दछ, र तैँले बाइबल नपढे पनि तैँले त्यसलाई चिरफार गर्न सक्नुपर्छ; यदि होइन भने, तैँले अझै बाइबलको आराधना गरिरहनेछस् र तेरो निम्ति नयाँ काममा प्रवेश गर्न र नयाँ परिवर्तनहरू अनुभूत गर्न गाह्रो हुनेछ। त्यहाँ एक उच्च मार्ग छ भने किन त्यो न्यून, पुरानो मार्गको अध्ययन गर्नु? जब त्यहाँ नयाँ वाणीहरू र नयाँ काम छन् भने किन अझै पनि पुराना ऐतिहासिक अभिलेखहरूमाझ जिउने? ती नयाँ वाणीहरूले तेरो निम्ति प्रबन्ध गर्न सक्छन्, जसले यो नयाँ काम हो भनी प्रमाणित गर्दछ; पुराना अभिलेखहरूले तँलाई तृप्त पार्न वा तेरा वर्तमान आवश्यकताहरू पूरा गर्न सक्दैनन्, जसले ती इतिहास हुन् र वर्तमान काम होइनन् भनी प्रमाणित गर्छ। सबैभन्दा उच्च मार्ग भनेको नयाँ काम हो, र नयाँ कामको साथमा, विगतको मार्ग जतिसुकै उच्च भए पनि यो मानिसहरूले फर्केर हेर्ने इतिहास मात्रै हो, र सन्दर्भको रूपमा यसको महत्त्व नै भए पनि, यो अझै पनि पुरानो मार्ग नै हो। यसलाई “पवित्र पुस्तक” मा लेखिएको भए पनि पुरानो मार्ग इतिहास नै हो; “पवित्र पुस्तक” मा यसको एक पाना समेत अभिलेख नभए पनि, नयाँ मार्ग नै वर्तमान हो। यो मार्गले तँलाई बचाउन सक्छ, र यो मार्गले तँलाई परिवर्तन गर्न सक्छ, किनकि यो पवित्र आत्माको काम हो।
तिमीहरू सबैले बाइबल बुझ्नैपर्छ—यो काम अत्यन्तै आवश्यक छ! आज, तैँले बाइबल पढ्नु आवश्यक छैन, किनकि त्यसमा कुनै नयाँ कुरा छैन; यो पूर्णत: पुरानो छ। बाइबल एउटा इतिहासको पुस्तक हो, र यदि तैँले अनुग्रहको युगमा पुरानो करार खाएको र पिएको थिइस् भने, अनि यदि तैँले पुरानो करारको युगमा चाहिएको कुरालाई अनुग्रहको युगमा व्यवहारमा लागु गरेको भए, येशूले तँलाई अस्वीकार गर्नुहुनेथ्यो, र तँलाई दोषी ठहराउनुहुनेथ्यो; यदि तैँले येशूका कामहरूमा पुरानो करार लागू गरेको थिइस् भने, तँ एक फरिसी हुने थिइस्। यदि आज, तैँले खान र पिउन अनि प्रयोग गर्नका लागि पुरानो र नयाँ करारलाई एकसाथ राख्छस् भने, आजका परमेश्वरले तँलाई दोषी ठहराउनुहुनेछ; तँ आजको पवित्र आत्माको कामको पछि पतन भएको हुनेछस्! यदि तँ पुरानो करार र नयाँ करार खान्छस् र पिउँछस् भने, तँ पवित्र आत्माको प्रवाहभन्दा बाहिर छस्! येशूको समयमा, येशूले यहूदीहरू र उहाँको पछि लाग्नेहरू सबैलाई त्यस बेला उहाँमा भएको पवित्र आत्माको कामअनुसार डोऱ्याउनुभयो। उहाँले बाइबललाई उहाँको कामको आधारको रूपमा लिनुभएन, तर उहाँको कामअनुसार बोल्नुभयो; उहाँले बाइबलले भनेको कुरामा ध्यान दिनुभएन, न त उहाँले आफ्ना अनुयायीहरूलाई डोऱ्याउने तरिका नै खोज्नुभयो। उहाँले काम गर्न थाल्नुभएदेखि नै पश्चात्तापको मार्गको प्रचार गर्नुभयो—जसको एउटा वचनका बारेमा पुरानो करारका कैयौँ अगमवाणीमा बिलकुलै उल्लेख गरिएको थिएन। उहाँले बाइबलअनुसार काम नगर्नुभएको मात्र होइन, उहाँले त एउटा अझ नयाँ बाटोमा पनि अगुवाइ गर्नुभयो र अझ नयाँ काम पनि गर्नुभयो। उहाँले प्रचार गर्नुहुँदा कहिल्यै पनि बाइबलको उल्लेख गर्नुभएन। व्यवस्थाको युगको अवधिमा कसैले पनि उहाँले जस्तो बिरामीहरूलाई निको पार्ने र दुष्टात्माहरू निकाल्ने आश्चर्यकर्महरू गर्न सकेको थिएनन्। त्यसरी नै उहाँको काम, उहाँका शिक्षा, अनि उहाँको बोलीको अख्तियार र शक्ति व्यवस्थाको युगको कुनै पनि व्यक्तिको पहुँचभन्दा बाहिर थिए। येशूले केवल उहाँको नयाँ काम गर्नुभयो, र धेरै मानिसहरूले बाइबल प्रयोग गर्दै उहाँको निन्दा गरे पनि—र उहाँलाई क्रूसमा टाँग्न पुरानो करार प्रयोग गरे पनि उहाँको काम पुरानो करारको भन्दा उत्तम थियो; यदि यस्तो थिएन भने, मानिसहरूले किन उहाँलाई क्रूसमा टाँग्थे? के त्यो पुरानो करारमा उहाँको शिक्षा, साथै बिरामीलाई निको पार्ने र दुष्टात्माहरूलाई धपाउने उहाँको शक्तिका बारेमा केही नभनिएकोले गर्दा होइन र? उहाँको काम नयाँ मार्गमा डोर्याउनका निम्ति गरिएको थियो, यो जानाजानी बाइबलको विरुद्ध लड्न वा जानाजानी पुरानो करारबाट छुटकारा दिनका निम्ति थिएन। उहाँ आफ्नो सेवकाइ गर्न, उहाँको चाहना र खोजी गर्नेहरूलाई नयाँ काम दिन मात्रै आउनुभयो। उहाँ पुरानो करारको व्याख्या गर्न वा त्यसको कामलाई समर्थन गर्न आउनुभएन। उहाँको काम व्यवस्थाको युगलाई निरन्तर विकसित हुन दिनका लागि थिएन। उहाँको कामले बाइबललाई आधार बनाएको छ कि छैन भन्ने कुरालाई उहाँले कुनै ख्याल गर्नुभएन बरु उहाँ आफूले गर्नुपर्ने काम गर्न मात्रै आउनुभयो, त्यसैले, उहाँले पुरानो करारका अगमवाणीहरूको व्याख्या गर्नुभएन, न त उहाँले पुरानो करारको व्यवस्थाको युगका वचनहरू अनुसार काम नै गर्नुभयो। पुरानो करारले भनेका कुरालाई उहाँले बेवास्ता गर्नुभयो, उहाँको काम त्योसँग सहमत छ कि छैन भनी उहाँले वास्ता गर्नुभएन, अनि अरूले उहाँको कामको बारेमा के जान्दछन् वा तिनीहरूले त्यसलाई दोषी ठहराएका छन् भनी वास्ता गर्नुभएन। उहाँले केवल आफूले गर्नुपर्ने काम गर्दैजानुभयो, यद्यपि धेरै मानिसहरूले उहाँलाई दोषी ठहराउन पुरानो करारका अगमवक्ताहरूका अगमवाणीहरू प्रयोग गरे। मानिसहरूको नजरमा उहाँको कामको कुनै आधार नभएको र त्यहाँ धेरै कुरा पुरानो करारको विवरणसँग नमिलेको जस्तो देखिन्थ्यो। के यो मानिसको भ्रम थिएन र? के परमेश्वरले उहाँको काममा प्रावधानहरू लागु गर्नु आवश्यक हुन्छ? अनि के परमेश्वरले अगमवक्ताहरूका अगमवाणीअनुसार नै काम गर्नुपर्छ? आखिरकार, ठूलो के हो: परमेश्वर कि बाइबल? परमेश्वरले किन बाइबलअनुसार काम गर्नैपर्छ र? के परमेश्वरसँग बाइबललाई उछिन्ने कुनै अधिकार छैन भन्ने हुन सक्छ? के परमेश्वर बाइबलबाट टाढा भएर अरू काम गर्न सक्नुहुन्न र? येशू र उहाँका चेलाहरूले किन शबाथ-दिन पालना गर्नुभएन? यदि उहाँले शबाथ-दिन अनुसार र पुरानो करारका आज्ञाहरू अनुसार अभ्यास गर्नुहुन्थ्यो भने, येशूले उहाँ आउनुभएपछि शबाथ-दिन किन पालना गर्नुभएन, बरु खुट्टा धुनुभयो, शिर ढाक्नुभयो, रोटी भाँच्नुभयो र दाखरस पिउनुभयो? के यी सबै कुरा पुरानो करारका आज्ञाहरूमा नभएका होइनन् र? यदि येशूले पुरानो करार पालन गर्नुहुन्थ्यो भने, उहाँले यी प्रावधानहरू किन तोड्नुभयो? परमेश्वर र बाइबलमध्ये कुनचाहिँ पहिले आयो भन्ने कुरा तँलाई थाहा हुनुपर्छ! के उहाँ शबाथका प्रभु हुनुभएकाले बाइबलका परमप्रभु पनि हुन सक्नुहुन्न र?
नयाँ करारको युगमा येशूद्वारा गरिएको कामले नयाँ काम सुरु गर्यो। उहाँले पुरानो करारको काम अनुसार काम गर्नुभएन, न त उहाँले पुरानो करारका यहोवाले बोल्नुभएका वचनहरू नै लागू गर्नुभयो। उहाँले आफ्नै काम गर्नुभयो, र उहाँले झनै नयाँ काम गर्नुभयो, जुन काम व्यवस्थाभन्दा उच्च थियो। यसैले, उहाँले भन्नुभयो, “म व्यवस्था वा अगमवक्ताहरू नष्ट गर्न आएको हुँ भन्ने नसोच: म नष्ट गर्न होइन, तर पूरा गर्न आएको हुँ।” यसैले, उहाँले जे पूरा गर्नुभयो त्यस अनुसार धेरै प्रावधान तोडिए। शबाथको दिनमा उहाँले आफ्ना चेलाहरूलाई अन्नका खेतहरूबाट लग्नुहुँदा तिनीहरूले अन्नका बालाहरू टिपे र खाए; उहाँले शबाथ दिन पालन गर्नुभएन र भन्नुभयो, “मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।” त्यसबेला, इस्राएलीहरूको नियमअनुसार शबाथ दिन पालन नगर्ने जोसुकैलाई ढुङ्गाले हानेर मारिन्थ्यो। तर, येशू न त मन्दिरमा प्रवेश गर्नुभयो न उहाँले शबाथ दिन पालन गर्नुभयो, र उहाँको काम पुरानो करारको युगमा यहोवाद्वारा गरिएको थिएन। यसरी, येशूले गरेको कामले पुरानो करारको व्यवस्थालाई उछिन्यो, यो त्योभन्दा अझ उच्च थियो, र उहाँले आफ्नो काम गर्दा पुरानो करारका आधारमा गर्नुभएन। अनुग्रहको युगको अवधिमा, येशू पहिल्यै पुरानो करारको व्यवस्था अनुसार काम गरिरहनुभएको थिएन, र ती प्रावधानहरू तोडिसक्नुभएको थियो। तर इस्राएलीहरूले अझै पनि जोरदार रूपमा धर्मशास्त्रलाई समातिरहे र येशूलाई दोषी ठहराए—के त्यसो गर्नु येशूको कामलाई इन्कार गर्नु थिएन र? आज धार्मिक संसार पनि जोरदार रूपमा बाइबललाई समात्छ र कोही-केही मानिस भन्छन्, “बाइबल एउटा पवित्र पुस्तक हो र यो पढिनैपर्छ।” केही मानिस भन्छन्, “जहिलेसुकै भए पनि, परमेश्वरको काम त्याग्न मिल्दैन। पुरानो करार परमेश्वरले इस्राएलीहरूसँग गर्नुभएको करार हो, र यसलाई फ्याँक्न मिल्दैन, शबाथ-दिन सधैँ पालन गर्नैपर्छ!” के तिनीहरू अत्यन्तै बेतुके छैनन् र? येशूले किन शबाथ-दिन पालन गर्नुभएन? के उहाँ पाप गरिरहनुभएको थियो? यो मामिला कसले राम्रोसँग बुझ्न सक्छ? मानिसहरूले बाइबल जसरी पढे पनि, उनीहरूको बुझ्ने क्षमता प्रयोग गरेर परमेश्वरको काम जान्न असम्भव हुनेछ। तिनीहरूले परमेश्वरको शुद्ध ज्ञान प्राप्त नगर्ने मात्र होइन, तिनीहरूका धारणा झन्-झन् भयङ्कर हुँदै जानेछन्, जसले गर्दा तिनीहरू परमेश्वरको विरोध गर्न थाल्नेछन्। यदि आज परमेश्वरको देहधारण नभएको भए, मानिसहरू तिनीहरूका आफ्नै धारणाले बरबाद हुनेथिए, र तिनीहरू परमेश्वरको सजायमाझ मर्नेथिए।