बाइबल सम्बन्धमा (२)
बाइबललाई पुरानो र नयाँ करार पनि भनिन्छ। “करार” शब्दले केलाई जनाउँछ, तिमीहरूलाई थाहा छ? पुरानो करारमा रहेको “करार” शब्द यहोवाले मिश्रीहरूलाई ढालेर इस्राएलीहरूलाई फारोबाट बचाउँदा इस्राएलका मानिसहरूसँग गर्नुभएको करारबाट आएको हो। अवश्य नै, ढोकाको चौकोसमा पोतिएको थुमाको रगत नै यो करारको प्रमाण थियो, जसमार्फत परमेश्वरले मानिससँग करार स्थापित गर्नुभएको थियो, जसमा ढोकाको चौकोसमाथि र दुवै छेउमा थुमाको रगत पोतिएका जति सबै इस्राएली हुन्, तिनीहरू परमेश्वरका चुनिएका मानिस हुन् र तिनीहरू सबैलाई यहोवाले बचाउनुहुनेछ भनेर भनिएको थियो (किनभने त्यति बेला यहोवाले मिश्रका ज्येष्ठ पुत्र र पहिलो वंशका भेडा र गाईवस्तु सबैलाई मार्न लाग्नुभएको थियो)। यो करारको अर्थ दुई तहको छ। मिश्रका कुनै पनि मानिस वा वस्तुभाउलाई यहोवाले मुक्ति दिनुहुनेछैन; उहाँले तिनीहरूका ज्येष्ठ पुत्र र पहिलो वंशका भेडा र गाईवस्तु सबैलाई ढाल्नुहुनेछ। तसर्थ, अगमवाणीका थुप्रै पुस्तकमा मिश्रीहरूलाई कठोर सजाय दिइनेछ भनी पूर्वानुमान गरिएको थियो—यो यहोवाको करारको नतिजा थियो। करारको पहिलो तहको अर्थ यही हो। यहोवाले मिश्रका ज्येष्ठ पुत्र र पहिलो वंशका सबै वस्तुभाउलाई ढाल्नुभयो, तर उहाँले सबै इस्राएलीलाई जोगाउनुभयो, जसको मतलब जो इस्राएली भूमिका थिए ती सबै यहोवाका प्रिय थिए र सबै जोगिनेथिए; उहाँ तिनीहरूमाथि दीर्घकालीन काम गर्न चाहनुहुन्थ्यो, र उहाँले थुमाको रगत प्रयोग गरेर तिनीहरूसँग करार स्थापित गर्नुभयो। त्यसउप्रान्त यहोवाले इस्राएलीहरूलाई ढाल्नुहुनेथिएन र उहाँले तिनीहरू सधैँका लागि उहाँका चुनिएका मानिस हुनेछन् भनेर भन्नुभयो। इस्राएलका बाह्र कुलमाझ, उहाँ व्यवस्थाको युगभरि उहाँको काममा लाग्नुहुनेथियो, उहाँले इस्राएलीहरूमाझ आफ्ना सबै व्यवस्था सार्वजनिक गर्नुहुनेथियो, अनि तिनीहरू मध्येबाट अगमवक्ता र न्यायकर्ताहरू छान्नुहुनेथियो र तिनीहरू उहाँको कामको केन्द्र बन्नेथिए। यहोवाले तिनीहरूसँग एउटा करार गर्नुभयो: युग परिवर्तन नभएसम्म उहाँ चुनिएका मानिसहरूमाझ मात्र काम गर्नुहुनेथ्यो। यहोवाको करार अपरिवर्तनीय थियो, किनकि यो रगतमा बनेको, र उहाँका चुनिएका मानिसहरूसँग स्थापित गरिएको थियो; अझ महत्त्वपूर्ण कुरा, उहाँले पूरै युगका लागि आफ्नो काम सुरु गर्न उपयुक्त क्षेत्र र लक्ष्य रोज्नुभएको थियो। फलस्वरूप, मानिसहरूले यो करारलाई विशेष महत्त्वका साथ हेरे। करारको दोस्रो तहको अर्थ यही हो। करार स्थापना हुनुभन्दा अघिको “उत्पत्ति” बाहेक, पुरानो करारका अन्य सबै पुस्तकमा करारको स्थापनापछि इस्राएलीहरूमाझ परमेश्वरले गर्नुभएको कामको अभिलेख राखिएको छ। अवश्य पनि, कहिलेकहीँ अन्यजातिहरूका विवरणहरू पनि आउँछन्, तर समग्रमा, पुरानो करारमा परमेश्वरले इस्राएलमा गर्नुभएको कामको विवरण राखिएको छ। इस्राएलीहरूसँग गरिएको यहोवाको करारको कारण, व्यवस्थाको युगमा लेखिएका पुस्तकहरूलाई पुरानो करार भनिन्छ। ती पुस्तकहरू इस्राएलीहरूसँगको यहोवाको करारबाट नामाकरण गरिएका छन्।
नयाँ करारको नाम येशूले क्रूसमा बगाउनुभएको रगत र उहाँमा विश्वास गर्ने सबैसँग उहाँले गर्नुभएको करारबाट राखिएको हो। येशूको करार यस्तो थियो: उहाँले बगाएको रगतको कारण मानिसहरूले पापबाट क्षमा पाउन केवल उहाँमा विश्वास गर्नुपर्थ्यो, र यसरी तिनीहरूले मुक्ति पाउनेथिए, र उहाँमार्फत पुनर्जन्म पाउनेथिए, र अबउप्रान्त पापी रहँदैनथिए; उहाँको अनुग्रह प्राप्त गर्नका लागि मानिसहरूले उहाँमा विश्वास मात्र गरे भने, मरेपछि तिनीहरूले नरकमा दुःख पाउनेथिएनन्। अनुग्रहको युगमा लेखिएका सबै पुस्तक यो करारपछि आएका थिए र ती सबैमा करारमा रहेका काम र वाणीका दस्तावेज राखिएका छन्। ती पुस्तकहरू प्रभु येशूको क्रूसीकरणबाट भएको मुक्ति वा करारभन्दा बाहिर जाँदैनन्; ती सबै नै प्रभुमा रहेका अनुभवी दाजुभाइहरूले लेखेका पुस्तक हुन्। तसर्थ, यी पुस्तकहरू पनि एउटा करारबाट नामाकरण गरिएका छन्: तिनलाई नयाँ करार भनिन्छ। यी दुइटा करारले व्यवस्थाको युग र अनुग्रहको युगलाई मात्र समावेश गर्छन्, र अन्तिम युगसँग तिनको कुनै सम्बन्ध छैन। तसर्थ, आजका आखिरी दिनहरूका मानिसहरूका लागि बाइबल त्यति धेरै उपयोगी छैन। बढीमा, यसले एक अस्थायी सन्दर्भको मात्र काम गर्छ, तर आधारभूत रूपमा यसको उपयोगिता निकै कम छ। यद्यपि धार्मिक मानिसहरू अझै पनि यसलाई सबैभन्दा बहुमूल्य ठान्छन्। तिनीहरूले बाइबल जानेका हुँदैनन्; तिनीहरू बाइबलको व्याख्या गर्न मात्र जान्दछन्, र मूलतः यसको उत्पत्तिबारे अनजान छन्। बाइबलप्रति तिनीहरूको मनोवृत्ति यस्तो छ: बाइबलका सबै कुरा ठीक छन्, यसमा कुनै अशुद्धता वा त्रुटि छैन। तिनीहरूले बाइबल ठीक र त्रुटिरहित छ भनेर पहिले नै निर्धारण गरेका हुनाले, तिनीहरूले यसलाई ठूलो चासोको साथ अध्ययन र जाँच गर्न थाले। आजको चरणको कामबारे बाइबलमा पूर्वानुमान गरिएको थिएन; सबैभन्दा अन्धकार स्थानमा विजयको कामको कहिल्यै कुनै उल्लेख गरिएको थिएन। किनकि यो सबैभन्दा पछिल्लो काम हो। कामको युग फरक भएकै कारण, येशू आफै पनि यो चरणको काम आखिरी दिनहरूमा गरिनेछ भनेर अनजान हुनुहुन्थ्यो—अनि यस्तोमा, आखिरी दिनहरूका मानिसहरूले बाइबल जाँचेर त्यसभित्र यस चरणको कामलाई कसरी भेट्टाउन सक्छन्?
बाइबलको व्याख्या गर्ने धेरैजसो व्यक्तिहरूले वास्तविकताको कुनै आधारविना तर्क प्रयोग गरेर निचोडहरू निकाल्छन्। तिनीहरू धेरै वटा कोणबाट बाइबलको छानबिन गर्न तर्क मात्र प्रयोग गर्छन्। वर्षौंवर्षदेखि, कसैले पनि बाइबललाई चिरफार गर्न वा बाइबललाई “हुँदैन” भन्न हिम्मत गरेको छैन, किनकि यो पुस्तक नै “पवित्र पुस्तक” हो र मानिसहरू यसलाई परमेश्वरका रूपमा पुज्छन्। यो केही हजार वर्षदेखि चलिआएको छ। परमेश्वरले कुनै ध्यान दिनुभएको छैन, र कसैले पनि बाइबलपछाडिको वास्तविक कथा पत्ता लगाएको छैन। हामी बाइबललाई बहुमूल्य ठान्नु भनेको मूर्तिपूजा गर्नु हो भन्छौँ, तैपनि ती भक्त विश्वासीहरूमध्ये कसैले पनि त्यसलाई यस प्रकारले हेर्ने आँट गर्दैनन्, र तिनीहरूले तँलाई अर्ती दिनेछन्: “ब्रदर! त्यसो नभन, त्यो ज्यादै नराम्रो कुरा हो! तिमी कसरी परमेश्वरविरुद्ध ईश्वरनिन्दा गर्न सक्छौ?” त्यसपछि तिनीहरूले एउटा असहज, अप्ठ्यारो चालढाल प्रदर्शन गर्नेछन्: “हे येशू कृपालु मुक्तिदाता, म तपाईँलाई उसको पाप क्षमा गर्न बिन्ती गर्छु, किनकि तपाईँ मानिसलाई प्रेम गर्ने प्रभु हुनुहुन्छ, र हामी सबैले पाप गरेका छौँ, कृपया हामीलाई महान् कृपा देखाउनुहोस्, आमेन।” तिनीहरू यति “धर्मात्मा” हुन्छन्; सत्यता स्विकार्न तिनीहरूलाई कसरी सजिलो हुन सक्थ्यो र? तैँले त्यसो भन्दा तिनीहरू रन्थनिने गरी तर्सिनेछन्। बाइबल मानव विचारहरूद्वारा दूषित भएको र त्यसमा मानव धारणाहरू भएको हुन सक्छ भनेर त झन् कसैले सोच्ने आँट गर्दैन, र यो त्रुटि कसैले देख्न सक्दैन। बाइबलमा भएका केही कुरा व्यक्तिहरूका अनुभव र ज्ञान हुन्, यसमा भएका केही कुरा पवित्र आत्माका अन्तर्दृष्टि हुन्, र त्यसमा मानव सोचाइको मिश्रण पनि छ। यी कुरामा परमेश्वरले कहिल्यै हस्तक्षेप गर्नुभएको छैन, तर यसको पनि सीमा हुन्छ: यी कुरा सामान्य मानव सोचाइभन्दा बाहिर जान सक्दैनन्। यदि जान्छन् भने, तिनले परमेश्वरको काममा बाधा र अवरोध निम्त्याइरहेका हुन्छन्, र ती शैतानका काम हुन्, किनकि त्यसो गर्दा मानिसहरूको कर्तव्य खोसिन्छ, र मानिसहरू शैतानको काम गर्न र त्यसको प्रभुत्वमा पर्न बाध्य हुन्छन्। यस क्षणमा पवित्र आत्माले तिनीहरूलाई त्यस तरिकाले काम गर्न दिनुहुनेछैन। कहिलेकहीँ, कतिपय दाजुभाइ-दिदीबहिनीहरू सोध्छन्: “के मैले फलानो तरिकाले काम गर्नु ठीक हुन्छ?” म तिनीहरूको कद हेर्छु र भन्छु: “हुन्छ!” कतिपय मानिस यसो पनि भन्छन्: “यदि म फलानो तरिकाले काम गर्छु भने, के मेरो स्थिति सामान्य छ?” अनि म भन्छु: “हो! सामान्य छ, अत्यन्तै सामान्य छ!” अरू भन्छन्: “के मैले यस्तो तरिकाले काम गर्नु ठीक हुन्छ?” अनि म भन्छु: “हुँदैन!” तिनीहरू भन्छन्: “किन उसले गर्दा ठीक हुने तर मैले गर्दा नहुने?” अनि म भन्छु: “किनकि तँ जे गरिरहेको छस् त्यो शैतानबाट आउँछ, यो एउटा बाधा हो र तेरा कार्यहरूपछाडिका प्रेरणा र स्रोत गलत छन्।” यस्तो समय पनि आउँछ जुन बेला काम त्यस बिन्दुमा पुग्दैन, र दाजुभाइ-दिदीबहिनीहरू यसबारे अनजान हुन्छन्। कतिपयले मलाई कुनै निश्चित तरिकाले कार्य गर्नु ठीक हुन्छ कि हुँदैन भनेर सोध्छन्, र जब म तिनीहरूका कार्यहरूले भविष्यको काममा अवरोध नल्याउने देख्छु, तब म यो ठिकै हुन्छ भन्छु। पवित्र आत्माको कामले मानिसहरूलाई एउटा दायरा दिन्छ; मानिसहरूले पूर्ण रूपले र हुबहु पवित्र आत्माका मूल अभिप्रायहरू अनुसार कार्य गर्नु पर्दैन, किनकि मानिसहरूमा सामान्य मानव सोचाइ र कमजोरी हुन्छ र तिनीहरूका केही दैहिक आवश्यकता हुन्छन्, तिनीहरूका वास्तविक समस्याहरू हुन्छन् र तिनीहरूका दिमागमा केही यस्ता सोच हुन्छन् जसलाई नियन्त्रण गर्न मूलतः तिनीहरूसँग कुनै उपाय हुँदैन। मैले मानिसहरूलाई माग्ने हरेक कुराको सीमा हुन्छ। कतिपयले मेरा वचनहरू अनेकार्थक छन् र म तिनीहरूलाई जुनसुकै तरिकाले काम गर्न भनिरहेको छु भन्ने विश्वास गर्छन्—किनकि तँ मेरा मागहरूको उपयुक्त दायरा छ भनेर बुझ्दैनस्। यदि यो तैँले कल्पना गरेजस्तो हुन्थ्यो भने—यदि मैले विनाअपवाद सबै मानिसलाई उही मागहरू राखेँ र तिनीहरू सबैलाई एउटै कद हासिल गर्न माग गरेँ भने—यसले काम गर्दैनथ्यो। यो असम्भव कुराको माग गर्नु हो, र यो मानवीय कामको सिद्धान्त हो, परमेश्वरको कामको सिद्धान्त होइन। परमेश्वरको काम मानिसहरूका खास परिस्थितिहरू अनुसार सम्पन्न गरिन्छ र यो तिनीहरूको अन्तर्निहित क्षमतामा आधारित हुन्छ। यो सुसमाचार प्रचार गर्ने सिद्धान्त पनि हो: तैँले प्रकृतिलाई आफ्नै लयमा चल्न दिएर बिस्तारै अगाडि बढ्नुपर्छ; तैँले कसैसित स्पष्ट रूपमा सत्यता बोलिस् भने मात्र उसले कुरा बुझ्नेछ, र त्यसबेला मात्र उसले बाइबललाई थाती राख्न सक्नेछ। यदि परमेश्वरले यो चरणको काम नगर्नुभएको भए, परम्परालाई कसले तोड्न सक्थ्यो र? नयाँ काम कसले गर्न सक्थ्यो र? कसले बाइबलबाहिर नयाँ मार्ग पत्ता लगाउन सक्थ्यो र? मानिसहरूका परम्परागत धारणाहरू र सामन्ती नैतिक सिद्धान्तहरू यत्ति खराब छन् कि तिनीहरूसँग यी चीजहरूलाई आफैले फाल्ने क्षमता हुँदैन, न त तिनीहरूसँग यसो गर्ने साहस नै हुन्छ—आजका मानिसहरू कसरी बाइबलमा भएका केही मृत वचनको कब्जामा परेका छन्, र तिनीहरूको हृदय कसरी ती वचनहरूको स्वामित्वमा पुगेका छन् भनेर त कुरै नगरौँ। त्यसैले तिनीहरू कसरी बाइबल त्याग्न इच्छुक हुन सक्थे र? तिनीहरूले कसरी बाइबलबाहिरको मार्गलाई सजिलै स्विकार्न सक्थे र? त्यो तबसम्म हुन सक्दैन जबसम्म सबै मानिसहरू पूर्ण रूपमा विश्वस्त हुन सकून् भनेर तैँले बाइबलपछाडिको वास्तविक कथा र पवित्र आत्माको कामका सिद्धान्तहरू स्पष्ट रूपमा बुझाउन सक्दैनस्—यो सबैभन्दा जरुरी कुरा हो। किनभने धर्मभित्रका सबैले बाइबललाई उच्च पार्छन् र यसलाई परमेश्वरका रूपमा आराधना गर्छन्। तिनीहरू परमेश्वरलाई पनि बाइबलभित्रै नियन्त्रित गर्न र फेरि एकचोटि परमेश्वरलाई क्रूसमा टाँग्न चाहन्छन्—त्यसपछि मात्र तिनीहरूले आफ्नो लक्ष्य हासिल गरेका हुनेछन्।