बाइबल सम्बन्धमा (३)
बाइबलमा भएका सबै कुरा परमेश्वरले व्यक्तिगत रूपमा बोल्नुभएका वचनहरूको अभिलेख होइनन्। बाइबलमा परमेश्वरको कार्यको अघिल्ला दुई चरणहरूको अभिलेख राखिएको छ, जसमा एउटा अंश अगमवक्ताहरूको अगमवाणीको अभिलेख हो, र अर्को अंश परमेश्वरले सबै युगहरूमा प्रयोग गर्नुभएका मानिसहरूद्वारा लेखिएका अनुभव र ज्ञान हुन्। मानवीय अनुभवहरू मानवीय धारणा र ज्ञानद्वारा प्रभावित भएका हुन्छन् र यो टार्न नसकिने कुरा हो। बाइबलका धेरैजसो पुस्तकहरूमा मानवीय धारणा, मानवीय पूर्वाग्रह, र मानवका बेतुकका बोधहरू छन्। अवश्य नै, धेरैजसो वचनहरू पवित्र आत्माको अन्तर्ज्ञान र ज्योतिका परिणाम हुन्, र ती सही बुझाइहरू हुन्—तर पनि ती सत्यताको पूर्णतः सही अभिव्यक्ति हुन् भनेर भन्न सकिँदैन। कुनै चीजको बारेमा तिनीहरूको दृष्टिकोण व्यक्तिगत अनुभवबाट प्राप्त ज्ञान, वा पवित्र आत्माको अन्तर्ज्ञानबाहेक अरू केही हुँदैन। अगमवक्ताहरूका अगमवाणीहरूलाई व्यक्तिगत तवरमा परमेश्वरले निर्देशित गर्नुभएको थियो: यशैया, दानियल, एज्रा, यर्मिया र इजकिएललगायतका भविष्यवाणीहरू पवित्र आत्माको प्रत्यक्ष निर्देशनबाट आएका हुन्; यी व्यक्तिहरू द्रष्टा थिए, तिनीहरूले भविष्यवाणी गर्ने आत्मा पाएका थिए, र तिनीहरू सबै पुरानो करारका अगमवक्ताहरू थिए। व्यवस्थाको युगको दौरान, यहोवाको प्रेरणा पाएका यी व्यक्तिहरूले थुप्रै भविष्यवाणी बोले, जसलाई यहोवाले प्रत्यक्ष निर्देशन दिनुभएको थियो। अनि यहोवाले तिनीहरूमा किन काम गर्नुभयो त? किनभने इस्राएलका मानिसहरू परमेश्वरका चुनिएका मानिसहरू थिए, र अगमवक्ताहरूका कामहरू तिनीहरूको बीचमा गरिनु थियो; त्यसकारण, अगमवक्ताहरूले त्यस्ता प्रकाशहरू प्राप्त गर्न सके। वास्तवमा, तिनीहरू आफूले भने तिनीहरूलाई दिइएका परमेश्वरका प्रकाशहरू बुझ्न सकेनन्। पवित्र आत्माले तिनीहरूका मुखबाट यी शब्दहरू बोल्नुभयो ताकि भविष्यका मानिसहरूले यी कुराहरू बुझ्न सकून् र तिनीहरू वास्तवमा परमेश्वरका आत्मा, पवित्र आत्माका काम थिए, मानवबाट आएका थिएनन् र तिनीहरूलाई पवित्र आत्माको कामको पुष्टि गर्नलाई आएका थिए भनी देख्न सकून्। अनुग्रहको युगको दौरान, तिनीहरूको सट्टामा येशू आफैले यो सबै काम गर्नुभयो, र त्यसैले मानिसहरूले त्यसउप्रान्त भविष्यवाणी बोलेनन्। त्यसो भए, के येशू अगमवक्ता हुनुहुन्थ्यो? येशू निस्सन्देह, एक अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ प्रेरितहरूको काम गर्न पनि सक्षम हुनुहुन्थ्यो—उहाँ भविष्यवाणी बोल्न र प्रचार गर्न र देशभरिका मानिसहरूलाई सिकाउन पनि सक्नुहुन्थ्यो। यद्यपि, उहाँले गर्नुभएको काम र उहाँले प्रतिनिधित्व गर्नुभएको पहिचान उस्तै थिएन। उहाँ सबै मानवजातिलाई छुटकारा दिलाउन, मानिसलाई पापबाट छुटकारा दिलाउन आउनुभयो। उहाँ एक अगमवक्ता र प्रेरित हुनुहुन्थ्यो, तर त्यो भन्दा पनि बढी उहाँ ख्रीष्ट हुनुहुन्थ्यो। एक अगमवक्ताले भविष्यवाणी बोल्न सक्छ, तर यस्तो अगमवक्ता ख्रीष्ट हो भनेर भन्न सकिदैन। त्यतिखेर, येशूले धेरै अगमवाणी बोल्नुभयो, र त्यसैले यो भन्न सकिन्छ कि उहाँ एक अगमवक्ता हुनुहुन्थ्यो, तर उहाँ अगमवक्ता हुनुभएकाले ख्रीष्ट हुनुहुन्नथ्यो भनी भन्न सकिदैन। यसको कारण के हो भने, उहाँले कामको चरण कार्यान्वयन गर्नमा परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्नुभयो, र उहाँको परिचय यशैयाको भन्दा फरक थियो: उहाँ छुटकाराको काम पूरा गर्न आउनुभयो, र उहाँले मानव जीवनको लागि पनि प्रबन्ध गर्नुभयो, र परमेश्वरका आत्मा सोझै उहाँमा आउनुभयो। उहाँले गर्नुभएको काममा, परमेश्वरका आत्माबाट कुनै प्रेरणा वा यहोवाबाट निर्देशनहरू आएका थिएनन्। बरु, आत्माले नै प्रत्यक्ष रूपमा काम गर्नुभयो—यो कुरा उहाँ अगमवक्ताजस्तो हुनुहुन्न भनेर प्रमाणित गर्न पर्याप्त छ। उहाँले गर्नुभएको काम छुटकाराको काम थियो, त्यसपछि दोस्रोमा भविष्यवाणी बोल्ने काम थियो। उहाँ एक अगमवक्ता, प्रेरित हुनुहुन्थ्यो, तर त्यो भन्दा बढी उहाँ छुटकाराकर्ता हुनुहुन्थ्यो। भविष्यवाणी गर्नेहरूले भने केवल अगमवाणी बोल्न सक्थे, तर अन्य कुनै काम गर्नमा परमेश्वरका आत्माको प्रतिनिधित्व गर्न असमर्थ थिए। किनकि येशूले धेरै काम गर्नुभयो जुन पहिला कहिल्यै मानिसबाट भएको थिएन, र मानवजातिलाई छुटकारा गर्ने काम पनि गर्नुभयो, त्यसैले उहाँ यशैयालगायत भन्दा फरक हुनुहुन्थ्यो। केहि व्यक्तिले आजको मूलधारलाई स्वीकार गर्दैनन् किनभने यसले तिनीहरूका लागि बाधा सिर्जना गरेको छ। तिनीहरू भन्छन्: “पुरानो करारमा धेरै अगमवक्ताहरूले धेरै वचनहरू पनि बोलेका थिए—त्यसो भए तिनीहरू किन देह बन्नुभएको परमेश्वर थिएनन्? आजका परमेश्वर वचनहरू बोल्नुहुन्छ—उहाँ देहधारी परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्न के त्यो पर्याप्त छ? तैँले बाइबलको बढाइ गर्दैनस्, न त तैँले यसको अध्ययन नै गर्छस्—त्यसो भए, तँसँग उहाँ परमेश्वरको देहधारण हुनुहुन्छ भनेर भन्न सक्ने के आधार छ? तँ भन्छस्, तिनीहरू पवित्र आत्माद्वारा निर्देशित छन्, र तँ विश्वास गर्छस्, कामको यो चरण व्यक्तिगत तवरले परमेश्वरले गर्नुभएको काम हो—तर यसको लागि तेरो आधार के हो? तँ आज परमेश्वरको वचनमा आफ्नो ध्यान केन्द्रित गर्छस्, र यस्तो देखिन्छ, तैँले बाइबललाई इन्कार गरेको छस् र यसलाई एकातिर पन्छाएका छस्।” अनि त्यसैले, तिनीहरू भन्छन्, तँ झुटा शिक्षा र विधर्ममा विश्वास गर्छस्।
यदि तँ आखिरी दिनहरूमा परमेश्वरको कार्यको बारेमा साक्षी दिन चाहन्छस् भने, तैँले बाइबलको भित्री कथा, बाइबलको संरचना र बाइबलको सार बुझ्नुपर्छ। आज, मानिसहरू बाइबल नै परमेश्वर हुन् र परमेश्वर नै बाइबल हुनुहुन्छ भनेर विश्वास गर्छन्। त्यसैले, तिनीहरू बाइबलका सबै वचनहरू मात्र परमेश्वरले बोल्नुभएका वचनहरू थिए र ती सबै परमेश्वरले भन्नुभएको थियो भनेर विश्वास गर्छन्। परमेश्वरमा विश्वास गर्नेहरूले यो समेत सोच्छन् कि, पुरानो र नयाँ करारका सबै छैसठ्ठी पुस्तकहरू मानिसहरूले लेखेका भए पनि, ती सबै परमेश्वरका प्रेरणाद्वारा दिइएका थिए, र पवित्र आत्माका वाणीहरूका अभिलेख थिए। यो मानिसको गलत बुझाइ हो, र यो कुरा तथ्यहरूसँग पूर्ण रूपमा मेल खाँदैन। वास्तवमा, अगमवाणीका पुस्तकहरूबाहेक पुरानो करारको अधिकांश भाग एक ऐतिहासिक अभिलेख हो। नयाँ करारका केही पत्रहरू मानिसका अनुभवहरूबाट आएका हुन्, र केही पवित्र आत्माको अन्तर्ज्ञानबाट आएका हुन्; उदाहरणका लागि, पावलका पत्रहरू मानिसकै कामबाट उत्पन्न भएका थिए, ती सबै पवित्र आत्माको अन्तर्ज्ञानका परिणाम हुन्, र ती मण्डलीहरूका लागि लेखिएका थिए, र मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि उपदेश र प्रोत्साहनका शब्दहरू थिए। तिनीहरू पवित्र आत्माले बोलेका वचनहरू थिएनन्—पावल पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे, न त तिनी अगमवक्ता नै थिए, तिनले यूहन्नाले देखेका दर्शनहरू देख्ने कुरा त परै जाओस्। तिनका पत्रहरू एफिसस, कोरिन्थ, गलातिया र अन्य मण्डलीहरूको लागि लेखिएका थिए। त्यसकारण, नयाँ करारका पावलका पत्रहरू पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरू थिए, अनि तिनीहरू न त पवित्र आत्माबाट आएका प्रेरणाहरू हुन्, न त तिनीहरू पवित्र आत्माका प्रत्यक्ष वाणीहरू नै हुन्। ती केवल उपदेश, सान्त्वना र प्रोत्साहनका शब्दहरू हुन् जुन तिनले आफ्नो कामको सिलसिलामा मण्डलीहरूको लागि लेखेका थिए। त्यसैले पनि ती पावलको त्यतिखेरको कामका अभिलेख हुन्। ती प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए, ताकि त्यस समयका मण्डलीहरूका दाजुभाइ तथा दिदीबहिनीहरूले उनको सल्लाह अनुसरण गरून् र प्रभु येशूको पश्चात्तापको मार्गमा हिँडून्। पावलले चाहे तिनीहरू त्यो समयका मण्डलीहरू हुन् वा भविष्यका, तिनीहरू सबैले तिनले लेखेका कुरा खानु र पिउनुपर्छ भनेर कुनै पनि हिसाबले भनेनन्, न त तिनले आफ्ना सबै शब्दहरू परमेश्वरबाट आएका हुन् भनेर नै भने। त्यस बेलाको मण्डलीको परिस्थितिअनुसार, उनले केवल दाजुभाइ तथा दिदीबहिनीहरूसँग कुराकानी गरे र तिनीहरूलाई हौसला दिए र तिनीहरूमा विश्वासको प्रेरणा दिए र उनले केवल मानिसहरूलाई प्रचार गरे वा सम्झाए अनि उपदेश दिए। तिनका शब्दहरू आफ्नै बोझमा आधारित थिए र तिनले यी शब्दहरूमार्फत मानिसहरूलाई सहायता गरे। तिनले त्यस समयका मण्डलीहरूको प्रेरितको काम गरे, तिनी प्रभु येशूद्वारा प्रयोग भएका कामदार थिए, र यसैले तिनले मण्डलीहरूको जिम्मेवारी लिनुपर्थ्यो, र मण्डलीहरूको काम गर्नुपर्थ्यो, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको स्थितिको बारेमा थाहा पाउनुपर्थ्यो—र यसैकारण, तिनले प्रभुमा सबै दाजुभाइ तथा दिदीबहिनीहरूका लागि पत्रहरू लेखे। तिनले मानिसहरूका लागि भनेका सबै सुधारात्मक र सकारात्मक कुराहरू सही थिए, तर यसले पवित्र आत्माको वाणीहरूलाई प्रतिनिधित्व गर्दैन, र यसले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैन। एकजना मानिसको अनुभवहरूका अभिलेखहरू र एकजना मानिसको पत्रहरूलाई मानिसहरूले मण्डलीहरूको लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको रूपमा लिनु एक अत्यन्तै गलत बुझाइ, र एक ठूलो ईश्वरनिन्दा हो! यो कुरा विशेषगरी पावलले मण्डलीहरूका निम्ति लेखेका पत्रहरूको प्रसङ्गमा सत्य हुन आउँछ, किनकि उनका पत्रहरू त्यस बेलाका प्रत्येक मण्डलीको परिस्थितिहरू र स्थितिहरूको आधारमा दाजुभाइ तथा दिदीबहिनीहरूका लागि लेखिएका थिए र ती प्रभुमा दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रोत्साहन दिनको लागि थिए ताकि तिनीहरूले प्रभु येशूको अनुग्रह प्राप्त गर्न सकून्। तिनका पत्रहरू त्यसबेलाका दाजुभाइ तथा दिदीबहिनीहरूलाई जगाउनको लागि थियो। यो भन्न सकिन्छ कि यो तिनको आफ्नै बोझ थियो र यो पवित्र आत्माले उनलाई दिनुभएको बोझ पनि थियो; जे भए पनि, तिनी त्यस समयका मण्डलीहरूको नेतृत्व गर्ने एक प्रेरित थिए जसले मण्डलीहरूको लागि पत्रहरू लेखे र तिनीहरूलाई प्रोत्साहित गरे—यो तिनको जिम्मेवारी थियो। तिनको पहिचान केवल एक कामदार प्रेरितको मात्र थियो, र तिनी परमेश्वरले पठाउनुभएको एक प्रेरित थिए; तिनी अगमवक्ता थिएनन्, न त तिनी भविष्यवक्ता नै थिए। तिनको लागि, तिनको आफ्नो काम र दाजुभाइ तथा दिदीबहिनीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण थियो। तसर्थ, तिनी पवित्र आत्माको तर्फबाट बोल्न सक्दैनथे। तिनका शब्दहरू पवित्र आत्माका वचनहरू थिएनन्, तिनलाई परमेश्वरको वचन भन्न मिल्ने कुरा त परै जाओस्, किनकि पावल परमेश्वरको सृष्टिबाहेक अरू केही थिएनन्, र तिनी अवश्य पनि परमेश्वरको देहधारण थिएनन्। तिनको परिचय येशूको जस्तो थिएन। येशूका शब्दहरू पवित्र आत्माका वचनहरू थिए, ति परमेश्वरका वचनहरू थिए, किनकि उहाँको परिचय परमेश्वरको पुत्र—ख्रीष्टको थियो। कसरी पावल उहाँको बराबर हुन सक्छन् र? यदि मानिसहरूले पावलको जस्तो पत्रहरू र शब्दहरूलाई पवित्र आत्माका वाणीहरूका रूपमा देख्छन् र तिनलाई परमेश्वरको रूपमा पुज्छन् भने, तिनीहरू फरक नै छुट्याउन नसक्ने अति नै अविवेकी छन् भनेर मात्र भन्न सकिन्छ। अझै कठोर रूपमा बोल्दा, के यो ईश्वरनिन्दा होइन र? कुनै मानिस कसरी परमेश्वरको तर्फबाटबोल्न सक्छ र? अनि कसरी मानिसहरू तिनका पत्रहरू र तिनले बोलेका शब्दहरूको अभिलेखहरूसामु ती पवित्र पुस्तक वा स्वर्गीय पुस्तक नै हुन् जस्तो गरी झुक्न सक्छन र? के कुनै मानिसले परमेश्वरका वचनहरूलाई यत्तिकै बोल्न सक्छ त? कुनै मानिसले कसरी परमेश्वरको तर्फबाट बोल्न सक्छ र? अनि त्यसो भए, तँ के भन्छस्—तिनले मण्डलीहरूको लागि लेखेका पत्रहरूमा तिनको आफ्नै विचारको दाग मिसिएको हुन सक्दैन र? कसरी तिनमा मानव विचारहरूको दाग नलागेको हुन सक्छ र? तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र आफ्नै ज्ञानको आधारमा मण्डलीहरूको लागि पत्रहरू लेखे। उदाहरणका लागि, पावलले गलातिका मण्डलीहरूलाई एउटा पत्र लेखे जसमा एउटा निश्चित धारणा थियो, र पत्रुसले अर्को पत्र लेखेका थिए, जसमा अर्को दृष्टिकोण थियो। तीमध्ये कुनचाहिँ पवित्र आत्माबाट आयो र? निश्चित रूपमा कसैले पनि भन्न सक्दैन। तसर्थ, यो मात्र भन्न सकिन्छ कि तिनीहरू दुवैले मण्डलीहरूका लागि बोझ बहन गरेका थिए, तैपनि तिनीहरूका पत्रहरूले तिनीहरूको कद प्रतिनिधित्व गर्छन्, तिनले दाजुभाइ तथा दिदीबहिनीहरूको लागि प्रावधन र सहयोग अनि मण्डलीहरूमाथिको तिनीहरूको बोझलाई प्रतिनिधित्व गर्दछन् र तिनले मानव कार्यलाई मात्र प्रतिनिधित्व गर्दछन—ती सम्पुर्ण रूपमा पवित्र आत्माका थिएनन्। यदि तैँले तिनका पत्रहरूलाई पवित्र आत्माका वचनहरू हुन् भनेर भन्छस् भने, तँ हास्यास्पद छस्, र तैँले ईश्वरनिन्दा गर्दैछस्! नयाँ करारका पावलका पत्रहरू र अन्य पत्रहरू हालसालैका आत्मिक व्यक्तिहरूका संस्मरण जस्तै हुन्: ती वाचम्यान नीका पुस्तकहरू वा लरेन्सका अनुभवहरूसँग मिल्दाजुल्दा छन्। कुरा यति मात्र हो कि हालसालैका आत्मिक व्यक्तित्वका पुस्तकहरूलाई नयाँ करारमा संकलित गरिएको छैन, तैपनि यी मानिसहरूको सार चाहिँ एउटै थियो: तिनीहरू एक निश्चित अवधिमा पवित्र आत्माले प्रयोग गर्नुभएका व्यक्तिहरू थिए, र तिनीहरूले प्रत्यक्ष रूपमा परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैनथे।
नयाँ करारको मत्तीको सुसमाचारले येशुको वंशावलीको दस्तावेजीकरण गर्छ। सुरुमा, यसले भन्छ कि येशू अब्राहाम र दाऊदका सन्तान र योसेफका छोरा थिए; त्यसपछि यसले भन्छ कि येशू पवित्र आत्माबाट गर्भधारण हुनुभयो अनि कन्याबाट जन्मनुभयो—यसको मतलब उहाँ योसेफको छोरा वा अब्राहम र दाऊदका सन्तान हुनुहुन्नथ्यो। यद्यपि, वंशावलीले येशू योसेफसित सम्बन्धित हुनुहुन्छ भनेर जोड दिन्छ। त्यसपछि, वंशावलीले येशू जन्मनुभएको प्रक्रियाको अभिलेख राख्न सुरू गर्दछ। यसले भन्छ कि येशू पवित्र आत्माबाट गर्भधारण हुनुभएको थियो, उहाँ कन्याबाट जन्मनुभयो, र उहाँ योसेफको छोरा हुनुहुन्नथ्यो। यद्यपि वंशावलीमा यो स्पष्ट रूपमा लेखिएको छ कि येशू योसेफका पुत्र हुनुहुन्थ्यो र वंशावली येशूका निम्ति लेखिएकोले यसमा बयालिस पुस्ताका अभिलेखहरू राखिएका छन्। जब यो योसेफको पुस्तामा जान्छ, तब यसले तुरुन्तै भन्छ कि योसेफ मरियमको पति थिए, र यी शब्दहरू येशू अब्राहामका सन्तान हुनुहुन्छ भनेर प्रमाणित गर्नका निम्ति दिइएका थिए। के यो विरोधाभास होईन र? वंशावलीले स्पष्ट रूपमा योसेफको पुर्खाको अभिलेख राख्छ, यो स्पष्ट रूपमा योसेफको वंशावली हो, तर मत्तीले यो येशूको वंशावली हो भनेर जोड दिन्छन्। के यसले पवित्र आत्माद्वारा येशूको गर्भधारणको तथ्यलाई इन्कार गर्दैन र? त्यसो भए, मत्तीले लेखेको वंशावली मानव विचार होइन र? यो हास्यास्पद छ! यसरी यो पुस्तक पूर्ण रूपमा पवित्र आत्माबाट आएको थिएन भनेर तैँले थाहा पाउन सक्छस्। हुन सक्छ, केही मानिसहरूले यस्तो सोच्न सक्छन कि पृथ्वीमा परमेश्वरको वंशावली हुनुपर्छ, जसको फलस्वरूप तिनीहरूले येशूलाई अब्राहमको बयालीसौँ पुस्ताको रूपमा तोक्छन्। त्यो साँच्चै हास्यास्पद छ! पृथ्वीमा आइसकेपछि परमेश्वरको कसरी एउटा वंशावली हुन सक्छ? यदि तैँले परमेश्वरको वंशावली छ भनेर भन्छस् भने, के तैँले उहाँलाई परमेश्वरका प्राणीहरूको दर्जा दिएको हुँदैनस् र? परमेश्वर पृथ्वीको नहुनुभएकोले उहाँ सृष्टिको प्रभु हुनुहुन्छ, र उहाँ देहीय हुनुभए तापनि उहाँ मानिस जस्तो उही सारको हुनुहुन्न। कसरी तैँले परमेश्वरलाई परमेश्वरद्वारा सृष्टि गरिएका प्राणीहरूसँग समान दर्जामा राख्न सक्छस्? अब्राहमले परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैनन्। तिनी त्यस समयमा यहोवाको कामको पात्र थिए, तिनी त केवल यहोवाले स्वीकार्नुभएको एक विश्वासी सेवक थिए र तिनी इस्राएलका मानिसहरूमध्ये एक थिए। तिनी कसरी येशूको पुर्खा हुन सक्छन् र?
येशूको वंशावली कसले लेख्यो? के येशू आफैले यो लेख्नुभएको थियो? के येशू आफैले तिनीहरूलाई, “मेरो वंशावली लेख्” भन्नुभएको थियो? येशूलाई क्रूसमा टाँगिएपछि मत्तीले अभिलेख राखेका थिए। त्यस बेला, येशूले धेरै कामहरू गर्नुभयो जुन उहाँका चेलाहरूले बुझ्न नसक्ने प्रकृतिका थिए, र उहाँले कुनै व्याख्या उपलब्ध गराउनुभएको थिएन। उहाँ जानुभइसकेपछि, चेलाहरूले जताततै प्रचार र काम गर्न थाले, र त्यो चरणको कामको खातिर, तिनीहरूले पत्र र सुसमाचारका पुस्तकहरू लेख्न थाले। नयाँ करारको सुसमाचारका पुस्तकहरू येशू क्रूसमा टाँगिनुभएको बीसदेखि तीस वर्षपछि अभिलेखीकरण गरिएका थिए। पहिले, इस्राएलका मानिसहरूले केवल पुरानो करार पढ्थे। यसको मतलब, अनुग्रहको युगको शुरूमा मानिसहरूले पुरानो करार पढ्थे। नयाँ करार केवल अनुग्रहको युगमा देखा पर्यो। जब येशूले काम गर्नुभयो त्यो बेला नयाँ करार अस्तित्वमा थिएन; उहाँ पुनरुत्थान हुनुभएपछि र स्वर्गमा उक्लनुभएपछि मानिसहरूले उहाँको कामको अभिलेखीकरण गरे। त्यसपछि मात्र चारओटा सुसमाचारका पुस्तकहरू आए र यसका अतिरिक्त पावल र पत्रुसका पत्रहरू, साथै प्रकाशको पुस्तक पनि आए। येशू स्वर्गमा उक्लनुभएको तीन सयभन्दा बढी बर्षपछि, त्यसपछिका पुस्ताहरूले यी कागजातहरूलाई छनौट गर्दै एकत्रीकरण गरे, र त्यसपछि मात्र बाइबलको नयाँ करार अस्तित्वमा आयो। यो काम पूरा भएपछि मात्र त्यहाँ नयाँ करार अस्तित्वमा आयो; यो पहिले अस्तित्वमा थिएन। परमेश्वरले ती सबै कामहरू गरिसक्नुभएको थियो, र पावल र अन्य प्रेरितहरूले विभिन्न स्थानहरूमा भएका मण्डलीहरूलाई धेरै पत्रहरू लेखिसकेका थिए। त्यसपछिका मानिसहरूले तिनीहरूका पत्रहरूलाई एकत्रित गरे, र यसमा तिनीहरूले पत्मोस टापुमा युहन्नाले अभिलेख राखेका सबैभन्दा ठूलो दर्शनलाई परिशिष्टको रूपमा संलग्न गरे, जसमा परमेश्वरको आखिरी दिनहरूको कार्यको बारेमा अगमवाणी गरिएको थियो। मानिसहरूले यो अनुक्रम बनाए, जुन आजका वाणीहरू भन्दा फरक छ। आज जे अभिलेख गरिएको छ त्यो परमेश्वरको कार्यको चरणहरूअनुसार छ; आज मानिसहरू जे कुरामा संलग्न हुन्छन् त्यो नै व्यक्तिगत तवरमा परमेश्वरले गर्नुभएको काम हो, र व्यक्तिगत तवरमा उहाँले बोल्नुभएका वचनहरू हुन्। तैँले—मानवजातिले—हस्तक्षेप गर्न आवश्यक छैन; आत्माबाट सीधै आएका वचनहरूलाई चरणबद्ध रूपमा क्रमबद्ध गरिएको छ, र तिनीहरू मानिसका अभिलेखहरूको बन्दोबस्त भन्दा फरक छन्। तिनीहरूले जे अभिलेख राखे, यो भन्न सकिन्छ कि त्यो तिनीहरूको शिक्षा र मानव क्षमताको स्तरअनुसारको थियो। तिनीहरूले जे अभिलेख राखे त्यो मानिसहरूको अनुभवहरू थियो, र प्रत्येकको अभिलेख राख्ने र जान्ने आफ्नै तरिका थियो, र प्रत्येक अभिलेख फरक थियो। तसर्थ, यदि तैँले बाइबललाई परमेश्वरको रूपमा पुज्छस् भने, तँ अत्यन्तै अनभिज्ञ र मूर्ख छस्! किन तँ आजका परमेश्वरको कामको खोजी गर्दैनस्? केवल परमेश्वरको कामले मानिसलाई मुक्त गर्न सक्छ। बाइबलले मानिसलाई मुक्त गर्न सक्दैन, मानिसहरूले यसलाई हजारौं बर्षसम्म पढ्न सक्छन् र अझै पनि तिनीहरूमा थोरै पनि परिवर्तन नहुन सक्छ, र यदि तैँले बाइबललाई पुज्छस् भने, तैँले पवित्र आत्माको काम कहिल्यै पनि प्राप्त गर्न सक्नेछैनस्। इस्राएलमा परमेश्वरले गर्नुभएका कामका दुवै चरणहरू बाइबलमा अभिलेख गरिएका छन्, र यसैले ती सबै अभिलेखहरूमा सबै नामहरू इस्राएलका हुन्, अनि सबै घटनाहरू इस्राएलका हुन्; “येशू” नाम पनि इस्राएली नाम हो। यदि तँ आज बाइबल पढिरहन्छस् भने, के तैँले अनुबन्धको पालन गरिरहेको हुँदैनस् र? बाइबलको नयाँ करारमा जे अभिलेख राखिएको छ त्यो यहूदियाका कुराहरू हुन्। मूल पाठ ग्रीक र हिब्रू दुवैमा थियो, र उहाँलाई बोलाइएको नाम र त्यस बेलाका येशूका शब्दहरू सबै मानिसकै भाषा हुन्। जब उहाँलाई क्रूसमा टाँगिएको थियो, येशूले भन्नुभयो: “एलि, एलि, लामा सबख्थनी?” के यो हिब्रू होइन र? यस्तो किन भएको हो भने येशू यहूदियामा देहधारण हुनुभएको थियो, तर यसले परमेश्वर यहूदी हुनुहुन्छ भन्ने प्रमाणित गर्दैन। आज, परमेश्वर चीनमा देह बन्नुभएको छ, र त्यसैले उहाँले जे भन्नुहुन्छ त्यो पनि निस्सन्देह चिनियाँमा छ। यद्यपि, यसलाई बाइबलबाट अनुवाद गरिएको चिनियाँसँग तुलना गर्न सकिँदैन, किनकि यी शब्दहरूको स्रोत फरक छ: एउटा मानिसहरूले अभिलेख गरिएको हिब्रूबाट आउँछ, र अर्को आत्माका प्रत्यक्ष वाणीहरूबाट आउँछ। कसरी त्यहाँ कुनै भिन्नता हुन सक्दैन र?