बाइबल सम्बन्धमा (४)
धेरै मानिस के विश्वास गर्छन् भने, बाइबल बुझ्नु र यसको व्याख्या गर्न सक्षम हुनु भनेको साँचो मार्ग पत्ता लगाउनुसरह हो—तर वास्तवमा, के कामकुराहरू यति सरल छन् र? बाइबलको वास्तविकता कसैलाई पनि थाहा छैन: यो त परमेश्वरको कामको ऐतिहासिक अभिलेख, र परमेश्वरको कामका अघिल्ला दुई चरणको गवाहीभन्दा बढी केही पनि होइन, र यसले तँलाई परमेश्वरको कामको उद्देश्यको बुझाइ प्रदान गर्दैन। यसमा व्यवस्थाको युग र अनुग्रहको युगको दौरान परमेश्वरको कामका दुई चरण अभिलेख गरिएको छ भन्ने कुरा बाइबल पढेका सबैलाई थाहा छ। पुरानो करारमा इस्राएलको इतिहास र सृष्टिको समयदेखि व्यवस्थाको युगको अन्त्यसम्म यहोवाले कसरी काम गर्नुभयो भन्ने कुरा अभिलेख गरिएको छ। नयाँ करारमा पृथ्वीमा येशूले गर्नुभएका काम अभिलेख गरिएको छ, जुन सुसमाचारका चार पुस्तकमा छन्, र यसमा पावलको काम पनि अभिलेख गरिएको छ—के ती ऐतिहासिक अभिलेखहरू होइनन् र? विगतका कुराहरूलाई आज फर्काएर ल्याउँदा ती इतिहास बन्छन्, र ती जति नै सत्य वा वास्तविक भए पनि, ती इतिहास नै हुन्—र इतिहासले वर्तमानलाई सम्बोधन गर्न सक्दैन, किनभने परमेश्वर इतिहासलाई फर्केर हेर्नुहुन्न! यसैले, यदि तँ केवल बाइबल बुझ्छस्, र आज परमेश्वरले गर्न चाहनुभएको कामबारे केही बुझ्दैनस् भने, र यदि तँ परमेश्वरमा विश्वास त गर्छस् तर पवित्र आत्माको काम खोज्दैनस् भने, तँलाई परमेश्वरको खोजी गर्नुको अर्थ थाहा छैन। यदि तँ इस्राएलको इतिहास अध्ययन गर्न, परमेश्वरले सम्पूर्ण स्वर्ग र पृथ्वी सृष्टि गर्नुभएको इतिहास अनुसन्धान गर्न बाइबल पढ्छस् भने, तँ परमेश्वरमा विश्वास गर्दैनस्। तर आज, तैँले परमेश्वरमा विश्वास गर्ने, तैँले जीवन, र परमेश्वरको ज्ञान पछ्याउने, र मृत शब्द र धर्मसिद्धान्तहरू वा इतिहासको बुझाइ नपछ्याउने हुनाले, तैँले परमेश्वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नैपर्छ, र पवित्र आत्माको कामको दिशा खोज्नैपर्छ। यदि तँ पुरातत्वविद् भएको भए तैँले बाइबल पढ्न सक्नेथिस्—तर तँ होइनस्, तँ परमेश्वरमा विश्वास गर्नेहरूमध्ये एक होस्, र तैँले परमेश्वरका वर्तमान अभिप्रायहरूको खोजी गर्नु नै उत्तम हुनेछ। तैँले बाइबल पढेर बढीमा इस्राएलको थोरै इतिहास बुझ्नेछस्, अब्राहाम, दाऊद र मोशाको जीवनबारे जान्नेछस्, उनीहरूले कसरी यहोवाको डर माने, यहोवाले आफ्नो विरोध गर्नेहरूलाई कसरी जलाउनुभयो, र उहाँले त्यस युगका मानिसहरूसँग कसरी बोल्नुभयो भनेर तैँले पत्ता लगाउनेछस्। तैँले केवल विगतको परमेश्वरको कामबारे पत्ता लगाउनेछस्। बाइबलका अभिलेखहरू इस्राएलका मानिसहरूले त्यसबेला यहोवाको मार्गदर्शनमा कसरी परमेश्वरको डर माने र जिए भन्ने कुरासँग सम्बन्धित छन्। इस्राएलीहरू परमेश्वरका चुनिएका मानिसहरू भएका कारण, तँ पुरानो करारमा इस्राएलका सबै मानिसको यहोवाप्रतिको बफादारी, कसरी यहोवामा समर्पित हुनेहरू सबैले उहाँबाट हेरचाह र आशिष् पाए भन्ने कुरा देख्न सक्छस्; तँ परमेश्वरले इस्राएलमा काम गर्नुहुँदा उहाँ कृपा र प्रेमिलो दयालुपनले भरिपूर्ण हुनुहुन्थ्यो, साथसाथै उहाँमा भस्म पार्ने आगोको ज्वाला पनि थियो, र निम्नदेखि लिएर शक्तिशालीसम्मका सारा इस्राएली यहोवाको डर मान्थे, त्यसैले सम्पूर्ण जाति नै परमेश्वरद्वारा आशिषित थियो भन्ने कुरा जान्न सक्छस्। पुरानो करारमा अभिलेख गरिएको इस्राएलको इतिहास यस्तै छ।
बाइबल इस्राएलमा परमेश्वरको कामको ऐतिहासिक अभिलेख हो, र यसमा प्राचीन अगमवक्ताहरूका धेरै अगमवाणीका साथै यहोवाले त्यस समय आफ्नो कामको दौरान बोलेका केही वाणी अभिलेख गरिएको छ। यसैले, सबै मानिस यस पुस्तकलाई पवित्र ठान्छन् (किनकि परमेश्वर पवित्र र महान् हुनुहुन्छ)। अवश्य नै, यी सबै यहोवाको डर मान्ने र परमेश्वरको भक्ति गर्ने तिनीहरूको हृदयको नतिजा हो। सृजित प्राणीहरूले आफ्ना सृष्टिकर्ताको यति डर मान्ने र प्रिय ठान्ने भएकाले मात्रै मानिसहरू यस पुस्तकलाई यसरी उल्लेख गर्छन्, र केही मानिस त यस पुस्तकलाई स्वर्गीय पुस्तक पनि भन्ने गर्छन्। वास्तवमा, यो मानव अभिलेख मात्र हो। यहोवाले व्यक्तिगत रूपमा यसको नामाकरण गर्नुभएको थिएन, न त यसको रचना गर्नको लागि यहोवाले व्यक्तिगत तवरमा अगुवाइ नै गर्नुभयो। अर्को शब्दमा भन्दा, यस पुस्तकको लेखक परमेश्वर नभई मानिस हो। पवित्र बाइबल मानिसले यसलाई दिएको सम्मानजनक नाम मात्र हो। यो नामबारे यहोवा र येशूले एकअर्कासँग छलफल गरेर निर्णय गर्नुभएको थिएन; यो मानव विचारभन्दा बढी केही पनि होइन। किनकि यो पुस्तक यहोवाले लेख्नुभएको थिएन, येशूले लेख्नुभएको हुने कुरा त परै जाओस्। बरु, यो धेरै प्राचीन अगमवक्ता, प्रेरित र द्रष्टाहरूले दिएका विवरणहरू हुन्, जसलाई पछिल्ला पुस्ताहरूले प्राचीन लेखहरूको पुस्तकका रूपमा सङ्ग्रहित गरे, र यो पुस्तक मानिसहरूका लागि विशेष रूपमा पवित्र देखिन्छ, तिनीहरू यस पुस्तकमा भविष्यका पुस्ताहरूद्वारा खोलिने धेरै अगम्य र गहन रहस्य समावेश रहेको विश्वास गर्छन्। त्यसैले, मानिसहरूले यो पुस्तक स्वर्गीय पुस्तक हो भनेर विश्वास गर्न अझ बढी सम्भावना हुन्छ। चार सुसमाचार र प्रकाशको पुस्तकलाई यसमा जोडेपछि त, यसप्रति मानिसहरूको मनोवृत्ति अरू कुनै पनि पुस्तकप्रतिको भन्दा विशेष रूपमा फरक हुन्छ, त्यसैले कसैले पनि यो “स्वर्गीय पुस्तक” को चिरफार गर्ने आँट गर्दैन किनकि यो एकदमै “पवित्र” छ।
मानिसहरूले बाइबल पढेपछि तिनीहरू किन यसमा अभ्यास गर्नुपर्ने उचित मार्गहरू पाउन सक्छन्? तिनीहरू किन आफूले बुझ्न नसकेका धेरै कुरा प्राप्त गर्न सक्छन्? आज, म बाइबललाई यसरी नै चिरफार गर्दै छु तर यसको मतलब म यसलाई घृणा गर्छु, वा म सन्दर्भका रूपमा यसको मूल्यलाई अस्वीकार गर्छु भन्ने होइन। म तँलाई सधैँ अन्धकारमा नराखियोस् भनेर बाइबलको अन्तर्निहित मूल्य र उत्पत्तिबारे व्याख्या र स्पष्टता प्रदान गर्दै छु। किनभने मानिसहरूमा बाइबलबारे अत्यन्तै धेरै दृष्टिकोण छन्, र तीमध्ये धेरै त गलत नै छन्, अनि यसरी बाइबल पढ्नुले उनीहरूलाई उनीहरूले प्राप्त गर्नुपर्ने कुरा प्राप्त गर्नबाट रोक्ने मात्र होइन, अझ महत्त्वपूर्ण कुरा त के छ भने, यसले मैले गर्न चाहेको काममै बाधा पुर्याउँछ, यसले भविष्यको काममा ठूलो अवरोध खडा गर्छ, र लाभहरू होइन, केवल कमजोरीहरू प्रदान गर्छ। तसर्थ, म तँलाई बाइबलको सार र बाइबलपछाडिको भित्री कथा मात्र बुझ्न भनिइरहेको छु। म तँलाई बाइबल नपढ्, वा तँ यो मूल्यहीन छ भनेर घोषणा गर्दै हिँड् भनेर भनिरहेको छैनँ, बरु तँसँग बाइबलको सही ज्ञान र दृष्टिकोण राख्नु भनेर मात्र भनिरहेको छु। अत्यन्तै एकतर्फी नहो! बाइबल मानिसद्वारा लेखिएको एउटा इतिहासको पुस्तक भए पनि, यसमा प्राचीन सन्त र अगमवक्ताहरूले जुन परमेश्वरको सेवा गर्दा प्रयोग गर्ने थुप्रै सिद्धान्तका साथै परमेश्वरको सेवा गर्ने सम्बन्धमा प्रेरितहरूका भर्खरैका अनुभवहरू पनि अभिलेख गरिएको छए—यी सबै मानिसहरूको साँचो समझ र ज्ञान थिए, र ती कुराले यस युगका मानिसहरूलाई साँचो मार्गको पछ्याइमा सन्दर्भका रूपमा काम गर्न सक्छन्। तसर्थ, बाइबल पढ्दा मानिसहरूले जीवनका थुप्रै मार्ग पनि प्राप्त गर्न सक्छन्, जुन अरू पुस्तकहरूमा पाउन सकिँदैन। यी मार्गहरू विगतका युगहरूमा अगमवक्ता र प्रेरितहरूले अनुभव गरेका पवित्र आत्माको कामका जीवनका मार्गहरू हुन्, र तीमध्ये धेरैजसो वचन निकै बहुमूल्य छन्, र तिनले मानिसहरूलाई चाहिने कुराहरू प्रदान गर्न सक्छन्। तसर्थ, सबै मानिस बाइबल पढ्न मन पराउँछन्। बाइबलमा धेरै कुरा लुकेका हुनाले, यसप्रतिका मानिसहरूका धारणाहरू महान् आत्मिक व्यक्तित्वहरूको कुनै लेखनप्रतिको धारणाभन्दा फरक छन्। बाइबल भनेको पुरानो र नयाँ युगमा यहोवा र येशूको सेवा गरेका मानिसहरूको अनुभव र ज्ञानहरूको अभिलेख र सङ्ग्रह हो, त्यसैले पछिका पुस्ताहरू अभ्यास गर्नका लागि यसबाट धेरै अन्तर्दृष्टि, प्रकाश र मार्गहरू प्राप्त गर्न सक्षम भएका छन्। बाइबल कुनै पनि महान् आत्मिक व्यक्तित्वका लेखहरूभन्दा उच्च हुनुको कारण के हो भने, उनीहरूका सबै लेख बाइबलबाट लिइएका हुन्, अनि उनीहरूका सबै अनुभव बाइबलबाट आएका हुन् र बाइबलका व्याख्याहरू हुन्। अनि त्यसैले, मानिसहरूले कुनै पनि महान् आत्मिक व्यक्तित्वका पुस्तकहरूबाट भरणपोषण प्राप्त गर्न सक्ने भए पनि, उनीहरू अझै पनि बाइबललाई नै पुज्छन्, किनकिउनीहरूलाई यो अत्यन्तै महान् र गहन लाग्छ! बाइबलले पावलका पत्रहरू र पत्रुसका पत्रहरूजस्ता जीवनका वचनहरूका केही पुस्तकलाई एकीकृत गरेको भए पनि, र मानिसहरूलाई यी पुस्तकहरूले भरणपोषण दिन र मद्दत गर्न सक्ने भए पनि, यी पुस्तकहरू अझै पनि पुराना नै हुन्, ती अझै पुरानै युगकै हुन्, र ती जतिसुकै राम्रो भए पनि, ती एक अवधिका लागि मात्र उपयुक्त छन्, र चिरस्थायी छैनन्। किनकि परमेश्वरको काम सँधै विकसित भइरहेको हुन्छ, र यो केवल पावल र पत्रुसको समयमा रोकिएर बस्न सक्दैन—अर्थात्, यो सधैँभरि येशूलाई क्रूसमा टाँगिएको अनुग्रहको युगमा रहिरहन सक्दैन। त्यसैले, यी पुस्तकहरू अनुग्रहको युगका लागि मात्र उपयुक्त छन्, आखिरी दिनहरूको राज्यको युगका लागि उपयुक्त छैनन्। तिनले केवल अनुग्रहको युगका विश्वासीहरूका लागि भरणपोषण प्रदान गर्न सक्छन्, राज्यको युगका सन्तहरूका लागि सक्दैनन्, र ती जतिसुकै राम्रा भए पनि, अझै पनि अप्रचलित छन्। यहोवाले गर्नुभएको सृष्टिको काम वा इस्राएलमा उहाँले गर्नुभएको काम पनि यस्तै हो: यो काम जतिसुकै महान् भएको भए पनि, पुरानो हुने नै थियो, र त्यो बितेर जाने समय आउने नै थियो। परमेश्वरको काम पनि यस्तै हो: यो जतिसुकै महान् भए पनि, यो समाप्त हुने समय आउने नै छ; यो सँधै सृष्टिको कार्यमाझ रहन सक्दैन, न त क्रूसीकरणको माझमा नै रहन सक्छ। क्रूसीकरणको काम जति नै विश्वासलाग्दो भए पनि, शैतानलाई पराजित गर्नमा यो जतिसुकै प्रभावकारी भए पनि, काम आखिर काम नै हो, र युगहरू आखिर युगहरू नै हुन्। काम सधैँ उही जगमा रहन सक्दैन, न त समय कहिल्यै परिवर्तन नहुन नै सक्छ, किनकि सृष्टि भएको थियो र आखिरी दिनहरू पनि हुनैपर्छ। यो अपरिहार्य छ! त्यसकारण, आज नयाँ करारमा रहेका जीवनका वचनहरू—प्रेरितहरूका पत्रहरू, र सुसमाचारका चार पुस्तक—इतिहासका पुस्तकहरू भएका छन्, तिनीहरू पुरानो पञ्चाङ्ग भएका छन्, अनि पुरानो पञ्चाङ्गले कसरी मानिसहरूलाई नयाँ युगमा प्रवेश गराउन सक्छन्? यी पञ्चाङ्गहरू मानिसहरूलाई जीवन प्रदान गर्न जति नै सक्षम भए पनि, मानिसहरूलाई क्रूसमा अगुवाइ गर्न जति नै सक्षम भए पनि, के ती पुराना भएका छैनन् र? के ती मूल्यहीन भएका छैनन् र? यसैले, म भन्छु, तैँले अन्धाधुन्ध यी पञ्चाङ्गहरूमा विश्वास गर्नु हुँदैन। ती धेरै पुराना भइसकेका छन्, तिनले तँलाई नयाँ काममा ल्याउन सक्दैनन्, र तिनले तँलाई बोझ मात्रै दिन सक्छन्। तिनले तँलाई नयाँ काम र नयाँ प्रवेशमा ल्याउन त सक्दैनन् नै, बरु उल्टै तँलाई पुराना धार्मिक मण्डलीहरूमा चाहिँ लैजान्छन्—र यदि त्यसो भयो भने, के तँ परमेश्वरप्रतिको आफ्नो विश्वासमा प्रतिगमन गरिरहेको हुनेथिनस् र?
बाइबलमा परमेश्वरले इस्राएलमा गर्नुभएको कामका साथै इस्राएलका चुनिएका मानिसहरूले गरेका केही कुरा अभिलेख गरिएको छ। केही अंश समावेश गर्न वा हटाउन चयन गरिएको भए पनि, पवित्र आत्माले त्यसको स्वीकृति नदिनुभएको भए पनि, उहाँले कुनै दोष पनि दिनुभएन। बाइबल विशुद्ध रूपमा इस्राएलको इतिहास हो, जुन परमेश्वरको कामको इतिहास पनि हो। अवश्य नै, यशैया, दानिएल र अन्य अगमवक्ताहरूका अगमवाणीहरू, वा यूहन्नाका दर्शनहरूको पुस्तकबाहेक यसमा अभिलेख गरिएका मानिस, घटना, र कामकुराहरू सबै वास्तविक थिए, र तीमध्ये कुनैको पनि साङ्केतिक अर्थ थिएन। त्यतिबेलाका इस्राएलका मानिसहरू ज्ञानी र सभ्य थिए, र तिनीहरूको प्राचीन ज्ञान र संस्कृति उन्नत थियो, त्यसैले तिनीहरूले लेखेका कुरा आजका मानिसहरूले लेख्ने भन्दा उच्चस्तरको थियो। फलस्वरूप, तिनीहरूले ती पुस्तकहरू लेख्न सक्नु कुनै अनौठो कुरा होइन, किनभने यहोवाले तिनीहरूमाझ धेरै काम गर्नुभएको थियो, र तिनीहरूले धेरै कुरा देखेका थिए। दाऊदले यहोवाका कार्यहरू आफ्नै आँखाले देखे, उनले व्यक्तिगत रूपमा ती अनुभव गरे, र धेरै चिह्न र चमत्कार देखे, त्यसैले उनले यहोवाका कार्यहरूको प्रशंसामा ती सबै भजन लेखे। तिनीहरूसँग असाधारण प्रतिभा भएका कारण नभई निश्चित परिस्थितिहरूका कारण तिनीहरूले यी पुस्तकहरू लेख्न सके। तिनीहरूले यहोवाको प्रशंसा गरे किनभने तिनीहरूले उहाँलाई देखेका थिए। यदि तिमीहरूले यहोवाको केही पनि देखेका छैनौ भने, र उहाँको अस्तित्वबारे तँ अनजान छौ भने, तिमीहरू कसरी उहाँको प्रशंसा गर्न सक्छौ? यदि तिमीहरूले यहोवालाई देखेका छैनौ भने, तिमीहरूले उहाँको प्रशंसा गर्न जान्नेछैनौ, न त उहाँको आराधना गर्न नै जान्नेछौ, तिमीहरूले उहाँको गुणगान गाउने गीत लेख्न त झनै सक्नेछैनौ, र तिमीहरूलाई यहोवाका केही कार्य रच्न भनियो भने पनि, तिमीहरू त्यसो गर्न सक्नेछैनौ। आज तिमीहरूले परमेश्वरको प्रशंसा गर्न सक्नु र परमेश्वरलाई प्रेम गर्न सक्नुको कारण के हो भने, तिमीहरूले उहाँलाई देखेका छौ, र उहाँको काम पनि अनुभव गरेका छौ—र यदि तिमीहरूको क्षमता सुधिन्छ भने, के तिमीहरू पनि दाऊदले जस्तै परमेश्वरको प्रशंसामा भजनहरू लेख्न सक्नेछैनौ र?
बाइबल बुझ्नु, इतिहास बुझ्नु, तर पवित्र आत्मा आज के गर्दै हुनुहुन्छ भनेर नबुझ्नु—यस्तो बिलकुलै गर्नु हुँदैन! तैँले इतिहासको अध्ययनमा निकै राम्रो गरेको छस्, तैँले उत्कृष्ट काम गरेको छस्, तर पवित्र आत्माले आज गर्ने कामबारे तँ केही बुझ्दैनस्। के यो मूर्खता होइन र? अरू मानिसहरू तँलाई सोध्छन्: “आज परमेश्वर के गर्दै हुनुहुन्छ? आज तपाईँ के कुरामा प्रवेश गर्नुपर्छ? तपाईँको जीवनको पछ्याइ कस्तो भइरहेको छ? के तपाई परमेश्वरका अभिप्रायहरू बुझ्नुहुन्छ?” तँसँग उनीहरूले सोधेको कुनै प्रश्नको उत्तर हुनेछैन—त्यसैले तँलाई के थाहा छ? तँ भन्नेछस्: “मलाई त मैले आफ्नो देहको विद्रोह गर्नुपर्छ र आफैलाई चिन्नुपर्छ भन्ने मात्र थाहा छ।” अनि यदि त्यसपछि तिनीहरूले “तपाईँलाई अरू के थाहा छ?” भनेर सोधे भने, तैँले आफूलाई परमेश्वरको सबै प्रबन्धमा समर्पित हुने बारेमा थाहा छ, र तैँले बाइबलको थोरै इतिहासबारे बुझेको छस्, र यति नै हो भनेर भन्नेछस्। के यतिका वर्षहरूदेखि परमेश्वरमा विश्वास गरेर तैँले प्राप्त गरेको कुरा यति नै हो त? यदि तैँले बुझेको सबै कुरा यति नै हो भने, तँमा धेरै कुराको कमी छ। यसैले, तिमीहरूको हालको कद मैले तिमीहरूबाट माग गरेको कुरा हासिल गर्न आधारभूत रूपमै असमर्थ छ, र तिमीहरूले बुझ्ने सत्यताहरू तिमीहरूको परख क्षमताको शक्तिझैँ अत्यन्तै थोरै छन्—भन्नुको अर्थ, तिमीहरूको विश्वास एकदम सतही छ! तिमीहरू अझ बढी सत्यताले सुसज्जित हुनुपर्छ, तिमीहरूलाई अझ बढी ज्ञानको आवश्यकता छ, तिमीहरूले अझ धेरै देख्नैपर्छ, त्यसपछि मात्र तिमीहरू व्यापक रूपमा सुसमाचार प्रचार गर्न सक्षम हुनेछौ, किनकि तिमीहरूले हासिल गर्नुपर्ने भनेकै यही हो!