अभ्यास (१)

विगतमा, मानिसहरूले अनुभव गर्ने तरिकाहरूमा धेरै विचलन र विसङ्गतिहरू थिए। तिनीहरूले परमेश्‍वरका मापदण्डका स्तरहरूलाई बुझ्दै बुझेनन्, त्यसैले विभिन्‍न क्षेत्रहरूमा मानिसहरूका अनुभवहरू गलत भए। परमेश्‍वरले मानिसबाट अपेक्षा गर्नुभएको मापदण्ड भनेको मानिस सामान्य मानवतामा जिउन सक्षम होस् भन्‍ने हो। उदाहरणको लागि, खाने र लाउनेबारेमा आधुनिक परम्पराहरू अनुसरण गर्नु, सुट र टाई लगाउनु, आधुनिक कलाको बारेमा थोरै सिक्‍नु र आफ्नो फुर्सदको समयमा कला, संस्कृति र मनोरञ्‍जनको आनन्द लिनु ठीकै हुन्छ। तिनीहरूले केही अविस्मरणीय फोटोहरू लिन सक्छन्, तिनीहरूले पढेर केही उपयोगी ज्ञान प्राप्त गर्न सक्छन्, र जिउने वातावरण तुलनात्मक रूपमा राम्रो बनाउन सक्छन्। यी सबै कुराहरू सामान्य मानवताको लागि उपयुक्त छन्, तैपनि मानिसहरूले ती कुराहरूलाई परमेश्‍वरले घृणा गर्नुहुने कुराको रूपमा लिन्छन् र ती काम गर्नदेखि आफूलाई रोक्छन्। तिनीहरूको अभ्यासमा केही नियमहरू पालन गर्ने कार्य मात्र समावेश हुन्छ, जसले खाडलको पानी जस्तो निष्प्राण र पूर्णतया अर्थहीन जीवनतर्फ उन्मुख गराउँछ। वास्तवमा, परमेश्‍वरले कहिल्यै पनि मानिसहरूलाई यस तरिकाले काम गर्नुपर्छ भनी भन्‍नुभएको छैन। सबै मानिसहरू आफ्नो स्वभावलाई नियन्त्रण गर्न चाहन्छन् र परमेश्‍वरसँग नजिक रहनका लागि निरन्तर आफ्नो आत्माभित्र प्रार्थना गर्छन्, तिनीहरूले आफ्नो मनमस्तिष्कमा परमेश्‍वरका अभिप्रायहरूका बारेमा निरन्तर विचार गर्छन्, तिनीहरूका आँखाले निरन्तर यो वा त्यो कुरा अवलोकन गरिरहेका हुन्छन्, र परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध केही गरी तोडिएला कि भनेर तिनीहरू डराइरहेका हुन्‍छन्। यी सबै कुराहरू मानिस आफैले निकालेका निष्कर्षहरू हुन्; ती मानिसहरू आफैले बनाएका नियमहरू हुन्। यदि तँलाई आफ्नै प्रकृति सारको बारेमा थाहा छैन र आफ्नो अभ्यास कुन स्तरसम्म पुग्‍न सक्छ भनी बुझ्न सक्दैनस् भने, परमेश्‍वरले मानिसबाट वास्तवमा कुन मापदण्ड चाहनुहुन्छ भनेर निश्‍चित हुने तँसित कुनै उपाय हुनेछैन, र तँसित अभ्यासको सही मार्ग पनि हुनेछैन। परमेश्‍वरले मानिसबाट खास के चाहनुहुन्छ भन्‍ने कुरा तैँले बुझ्‍न नसक्‍ने हुनाले, तेरो दिमाग सधैँ घुमिरहेको हुन्छ, तँ परमेश्‍वरका अभिप्रायहरूको विश्‍लेषण गर्दै आफ्‍नो मस्तिष्कमा जोर लगाइरहन्छस् र पवित्र आत्माको छुवाइ र अन्तर्दृष्टि प्राप्त गर्ने कुनै मार्ग खोज्दै छामछुम गर्छस्। फलस्वरूप, तैँले आफूलाई उपयुक्त लाग्‍ने अभ्यासका केही तरिकाहरू विकास गर्छस्। परमेश्‍वरले मानिसलाई वास्तवमा के मापदण्ड दिनुहुन्छ भन्‍नेबारेमा तँलाई केही थाहा छैन; परिणामको बारेमा अलिकति पनि वास्ता नगरी र आफ्नो अभ्यासमा विचलन वा त्रुटिहरू छन् कि छैनन् भनेर त झनै वास्ता नगरी, तँ तेरा आफ्‍नै अभ्यासहरूलाई अन्धाधुन्ध अघि बढाउँछस्। यसरी, तेरो अभ्यास प्राकृतिक रूपमै सटीकतारहित र सिद्धान्तविहीन हुन्छ। यसमा खास गरी सामान्य मानव तर्क र विवेकका साथै परमेश्‍वरको स्याबासी र पवित्र आत्माको समर्थनको कमी हुन्छ। तँलाई तेरो आफ्नै बाटोमा हिँड्नु नै पूर्ण रूपमा सजिलो हुन्छ। यस किसिमको अभ्यास भनेको त आफैलाई बन्देज लगाउन र नियन्त्रण गर्न नियमहरू पालना गर्नु वा जानाजानी अधिक भार उठाउनु मात्र हो। तैपनि तँ आफ्नो अभ्यास सही र ठीक छ भनी सोच्छस्, तर तँलाई आफ्ना अधिकांश अभ्यासहरूमा अनावश्यक प्रक्रिया वा अनुपालन मात्र समावेश छ भन्‍ने तँलाई थाहा छैन। आफ्नो स्वभावमा कुनै परिवर्तन नगरी, कुनै नयाँ बुझाइ र नयाँ प्रवेश प्राप्त नगरी वर्षौंसम्‍म यसरी अभ्यासहरू गर्नेहरू धेरै छन्। तिनीहरूले अन्जानमा उही पुराना गल्तीहरू दोहोर्‍याउँछन् र तिनीहरूले आफ्नो क्रूर स्वभावलाई पूर्ण रूपमा प्रकट हुन दिन्छन्, यहाँसम्म कि कतिचोटि त तिनीहरूले विवेकहीन अमानवीय कार्यहरू गर्छन्, र मानिसहरूलाई सोचेको सोच्यै र तीनछक पार्ने व्यवहारहरू गर्छन्। के यस्ता मानिसहरूले स्वभावको परिवर्तन अनुभव गरेका छन् भनेर भन्‍न सकिन्छ?

अब, परमेश्‍वरमाथिको विश्‍वास परमेश्‍वरको वचनको युगमा प्रवेश गरेको छ। तुलनात्मक रूपले भन्‍ने हो भने, मानिसहरूले कुनै बेला जति प्रार्थना गर्थे त्यति प्रार्थना गर्दैनन्; परमेश्‍वरका वचनहरूले सत्यताका सबै पक्षहरू र अभ्यासका सबै मार्गहरूको बारेमा स्पष्ट रूपमा बताएका छन्, त्यसैले अब मानिसहरूले खोजी गर्दै छामछुम गर्ने कुनै आवश्यकता छैन। राज्यको युगमा, परमेश्‍वरको वचनले मानिसहरूलाई अगाडि बढाउँछ, र यो त्यस्तो जीवन हो जसमा सबै कुरा उनीहरूले देख्‍ने गरी स्पष्ट पारिएको हुन्छ—किनकि परमेश्‍वरले सबै कुरा स्पष्ट रूपमा उदाङ्गो पार्नुभएको छ, र मानिसलाई जीवनमा गल्ती गर्दै र सिक्दै अघि बढ्न बाध्य गरिएको छैन। विवाह, सांसारिक मामिलाहरू, जीवन, भोजन, वस्‍त्र र आश्रय, पारस्परिक सम्बन्धहरू, व्यक्तिले कसरी परमेश्‍वरको इच्छा पूरा हुने तरिकाले सेवा गर्न सक्छ, व्यक्तिले कसरी देहको परित्याग गर्नुपर्छ, र यस्तै अन्य कुराहरू, यीमध्ये परमेश्‍वरले तिमीहरूलाई कुन कुराको बारेमा चाहिँ वर्णन गर्नुभएको छैन र? के तैँले अझै पनि प्रार्थना र खोजी गर्नुपर्छ र? वास्तवमा त्यसको कुनै आवश्यकता छैन! यदि तैँले अझै पनि यी कुराहरू गर्छस् भने, तैँले अनावश्यक रूपमा कार्य गरिरहेको छस्। यो अज्ञानता र मूर्खता हो, र पूर्ण रूपमा अनावश्यक कुरा हो! योग्यताको अभावमा रहेका र परमेश्‍वरका वचनहरू बुझ्न नसक्‍नेहरूले मात्र लगातार मूर्खतापूर्ण प्रार्थनाहरू गर्छन्। सत्यताको अभ्यास गर्नका लागि मुख्य कुरा भनेको तँसँग सङ्कल्प छ कि छैन भन्‍ने हो। कतिपय मानिसहरू आफ्ना दैहिक इच्छाहरूलाई पछ्याउँदा त्यो कार्य सत्यताअनुरूप हुँदैन भनेर जाने पनि त्यसको पछि लाग्‍ने जिद्दी गर्छन्। अनि यसले तिनीहरूका आफ्नै जीवनको प्रगतिमा बाधा पुर्‍याउँछ, अनि प्रार्थना र खोजी गरे पनि उनीहरू अझै पनि देहको अघि झुकेर व्यवहार गर्न चाहन्छन्। यसो गरेर, के तिनीहरूले जानाजानी पाप गरिरहेका हुँदैनन् र? दैहिक भोगविलासको लालसा गर्नेहरू र पैसाको लोभ गर्नेहरूले जस्तै तिनीहरूले परमेश्‍वरसित यसरी प्रार्थना गर्छन्: “हे परमेश्‍वर! के तपाईं मलाई दैहिक सुख र धनको लालच गर्न अनुमति दिनुहुन्छ? के मैले यस प्रकारले पैसा कमाउनु तपाईंको इच्छा हो?” के यो प्रार्थना गर्ने उपयुक्त तरिका हो त? यसो गर्ने मानिसहरूलाई स्पष्ट रूपमै परमेश्‍वर यी कुराहरूमा प्रसन्‍न हुनुहुन्‍न, र उनीहरूले यी कुराहरूलाई त्याग्‍नुपर्छ भन्‍ने राम्ररी नै थाहा हुन्छ, तर तिनीहरूले आफ्नो हृदयमा राख्‍ने कुरा पहिल्यै निश्‍चित भइसकेको हुन्छ, र जब तिनीहरूले प्रार्थना र खोजी गर्छन्, तिनीहरूले परमेश्‍वरलाई करमा पारी आफूलाई यस प्रकारको व्यवहार गर्ने अनुमति दिन मनाउने कोसिस गरिरहेका हुन्छन्। तिनीहरूले आफ्नो हृदयमा, यसको समर्थनमा परमेश्‍वरले केही भन्‍नुहोस् भनी माग पनि गर्छन्—यसैलाई नै विद्रोहीपन भनिन्छ। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो पक्षमा बनाउने र आफ्नै स्वतन्त्र राज्य खडा गर्ने मानिसहरू पनि छन्। यस्ता कार्यहरूले परमेश्‍वरको विरोध गर्छ भन्‍ने तँलाई राम्ररी थाहा छ, तर तैँले यस्तो केही गर्ने सङ्कल्‍प गरिसकेपछि तँ शान्त र हताश नभई परमेश्‍वरलाई खोज्न र प्रार्थना गर्न थालिहाल्छस्। तँ कति बेसरम र निर्लज्‍ज छस्! जहाँसम्म सांसारिक कुराहरूलाई छोड्ने विषय छ, यसबारेमा धेरै पहिले नै बताइसकिएको छ। परमेश्‍वरले सांसारिक कुराहरू घृणा गर्नुहुन्छ भनेर स्पष्ट रूपमा जान्दाजान्दै, यसरी प्रार्थना गर्ने मानिसहरू पनि छन्: “हे परमेश्‍वर! म सांसारिक कुराहरूको पछि लागेको तपाईं चाहनुहुन्‍न भन्‍ने मलाई थाहा छ, तर तपाईंको नाउँ बदनाम नहोस् भनेर म यसो गर्छु; सांसारिक मानिसहरूले ममा तपाईंको महिमा देख्‍न सकून् भनेर म यसो गर्छु।” यो कस्तो प्रकारको प्रार्थना हो? के तिमीहरू भन्‍न सक्छौ? यो परमेश्‍वरलाई बाध्य पार्ने र दबाब दिने प्रार्थना हो। के यसरी प्रार्थना गर्न तँलाई लाज लाग्दैन? यसरी प्रार्थना गर्ने मानिसहरूले जानाजानी परमेश्‍वरको विरोध गर्छन्, र यस प्रकारको प्रार्थना पूर्ण रूपले शङ्कास्पद अभिप्राय हो; यो वास्तवमा शैतानी स्वभावको अभिव्यक्ति हो। परमेश्‍वरका वचनहरू, खास गरी उहाँको इच्छा, उहाँको स्वभाव र उहाँले विभिन्‍न प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ भन्‍नेबारे बोलिएका वचनहरू स्पष्ट छन्। यदि तैँले सत्यता बुझ्दैनस् भने, तैँले परमेश्‍वरका वचनहरू अझ धेरै पढ्नुपर्छ—यसो गर्दाको नतिजा अन्धाधुन्ध प्रार्थना र खोजी गर्दा आउने नतिजाभन्दा उत्तम हुन्छ। धेरै अवस्थाहरू यस्ता छन् जसमा खोजी र प्रार्थनाको सट्टा परमेश्‍वरका वचनहरू पढ्नु र सत्यता सङ्गति र्ने गर्नु राम्रो हुन्छ। तेरा नियमित प्रार्थनाहरूमा, तैँले परमेश्‍वरका वचनहरूभित्रबाट आफूलाई अझ बढी मनन गर्ने र जान्‍ने प्रयास गर्नुपर्छ। यो तेरो जीवनको प्रगतिका लागि अझै बढी लाभदायक हुन्छ। यदि अहिले पनि, तँ आकाशतिर आँखा उठाउँदै खोजी गर्छस् भने, के यसले तँ अझै पनि अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छस् भन्‍ने देखाउँदैन र? पहिले, तैँले आफ्नो खोजी र प्रार्थनाका नतिजाहरू देखिस्, र पवित्र आत्माले तेरो आत्मालाई केही हदसम्म छुनुभयो किनभने त्यो अनुग्रहको युगको समय थियो। तैँले परमेश्‍वरलाई देख्‍न सक्दैनथिइस्, त्यसैले छामछुम गर्दै अघि बढ्दै जानु र त्यसरी खोजी गर्नेबाहेक तँसँग कुनै विकल्‍प थिएन। अब परमेश्‍वर मानिसमाझ आउनुभएको छ, वचन देहमा देखा पर्नुभएको छ, र तैँले परमेश्‍वरलाई देखेको छस्; यसैले पवित्र आत्माले अब पहिलेजसरी काम गर्नुहुन्‍न। युग परिवर्तन भएको छ र पवित्र आत्माले काम गर्ने तरिका पनि बदलेको छ। मानिसहरूले पहिलेजति धेरै प्रार्थना नगर्ने भए पनि, परमेश्‍वर पृथ्वीमा हुनुहुभएको हुँदा, अब मानिसहरूका निम्ति परमेश्‍वरलाई प्रेम गर्ने मौका छ। मानवजाति परमेश्‍वरलाई प्रेम गर्ने युगमा प्रवेश गरेको छ र सामान्यतया तिनीहरू आफूभित्र नै परमेश्‍वरको नजिक जान सक्छन्: “हे परमेश्‍वर! तपाईं साँच्‍चै नै अति असल हुनुहुन्छ, र म तपाईंलाई प्रेम गर्न चाहन्छु!” केही स्पष्ट र सरल वचनहरूले नै मानिसहरूको हृदयभित्र परमेश्‍वरप्रतिको प्रेम व्यक्त गरिदिन्छन्; यो प्रार्थना मानिस र परमेश्‍वरबीचको प्रेमलाई गहिराउनका लागि मात्र बोलिएको हो। तँ कहिलेकहीँ आफैले विद्रोहीपन प्रकट गरेको देख्छस् र यसो भन्छस्: “हे परमेश्‍वर! म किन यति भ्रष्ट छु?” तँलाई एकदुईपटक आफैलाई हिर्काउने तीव्र इच्‍छा हुन्छ, र तेरो आँखा आँसुले भरिन्छ। यस्तो समयमा, तैँले आफ्नो हृदयमा पछुतो र पीडा महसुस गर्छस्, तर तँसित यी भावनाहरू व्यक्त गर्ने कुनै उपाय हुँदैन। यो पवित्र आत्माको वर्तमान काम हो, तर जीवनको पछि लाग्‍नेहरूले मात्र यसलाई प्राप्त गर्न सक्छन्। तँलाई तँप्रति परमेश्‍वरसँग धेरै प्रेम छ र तँसँग एक विशेष प्रकारको भावना छ भन्‍ने लाग्छ। तँसँग स्पष्टसँग प्रार्थना गर्न शब्दहरू नभए पनि, तँलाई परमेश्‍वरको प्रेम सधैँ समुद्रजस्तो गहिरो भएको महसुस हुन्छ। यो स्थितिलाई व्यक्त गर्नका लागि उपयुक्त शब्‍दहरू छैनन्, र यो यस्तो अवस्था हो जुन प्रायजसो आत्मामा उत्पन्‍न हुन्छ। व्यक्तिलाई उसको हृदयमा परमेश्‍वरको नजिक लैजाने उद्देश्यको यस किसिमको प्रार्थना र सङ्गति सामान्य हुन्छ।

अहिले मानिसहरूले छामछुम गर्ने र खोजी गर्ने समय अतीत बनिसकेको भए पनि, यसको अर्थ उनीहरूले अबदेखि प्रार्थना र खोजी गर्नु आवश्यकता छैन भन्‍ने होइन, न त यसको अर्थ मानिसहरूले काम गर्न थाल्नुभन्दा अघि परमेश्‍वरको इच्छा प्रकट होस् भनी पर्खनुपर्दैन भन्‍ने नै हो; यी त मानिसका भ्रमहरू मात्र हुन्। परमेश्‍वर मानिसहरूको माझमा बास गर्न, तिनीहरूको ज्योति, जीवन, र मार्ग बन्‍न आउनुभएको छ: तथ्य यही हो। अवश्य नै, पृथ्वीमा परमेश्‍वरको आगमन हुँदा उहाँले निश्‍चय पनि मानवजातिका लागि व्यावहारिक मार्ग र जीवन ल्याउनुहुन्छ, जुन उपभोग गर्नलाई तिनीहरूको प्रकृतिसँग सुहाउँदो हुन्छ—उहाँ मानव अभ्यासका सबै तरिकाहरू तोड्न आउनुभएको होइन। मानिस अब छामछुम र खोजी गर्दै जिउँदैन, किनकि त्यसलाई प्रतिस्थापित गर्दै परमेश्‍वर उहाँको काम गर्न र वचनहरू बोल्न पृथ्वीमा आउनुभएको छ। उहाँ मानिसलाई तिनीहरूले जिउँदै आइरहेको अन्धकार र अस्पष्टताको जीवनबाट छुटकारा दिन, र तिनीहरूलाई ज्योतिले भरिपूर्ण जीवन पाउन सक्षम पार्न आउनुभएको छ। अहिलेको काम भनेको स्पष्टसित अवस्था औँल्याउनु, स्पष्ट रूपमा बोल्नु, प्रत्यक्ष रूपमा जानकारी दिनु र कामकुराहरूलाई स्पष्ट रूपमा परिभाषित गर्नु हो, ताकि मानिसहरूले यी कुराहरू त्यसरी नै व्यवहारमा उतार्न सकून् जसरी यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई बलि कसरी चढाउने र मन्दिर कसरी निर्माण गर्ने भनी डोर्‍याउनुभएको थियो। त्यसकारण, प्रभु येशू जानुभएपछि जसरी तिमीहरूले उत्कट खोजी गर्ने जीवन जिउँथ्यौ, अब त्यसरी जिउनु आवश्यक छैन। के तिमीहरूले भविष्यमा सिक्दैसिक्दै सुसमाचार फैलाउने काम गर्नुपर्छ? के तिमीहरूले जिउने उचित तरिका लडखडाउँदै पत्ता लगाउने कोसिस गर्नुपर्छ? के तिमीहरूले आफ्नो कर्तव्य कसरी गर्ने भनेर छामछुम गर्नुपर्छ? के तिमीहरूले कसरी साक्षी दिनुपर्छ भनी जान्‍नका लागि भुइँमा लम्पसार पर्नु आवश्यक छ? के तिमीहरूले कसरी वस्‍त्र लाउनु वा जिउनुपर्छ भनी जान्‍नलाई उपवास र प्रार्थना गर्नु आवश्यक छ? के तिमीहरूले परमेश्‍वरद्वारा विजय गरिने कार्यलाई स्वीकार गर्न स्वर्गका परमेश्‍वरसँग निरन्तर प्रार्थना गर्नु आवश्यक छ? के तिमीहरूले परमेश्‍वरको आज्ञा कसरी पालन गर्नुपर्छ भनी जान्‍नका निम्ति निरन्तर, रातदिन प्रार्थना गर्नु आवश्यक छ? तिमीहरूको माझमा, कुरा नबुझेको कारण अभ्यास गर्न सक्दैनौं भनी भन्‍नेहरू धेरै भन्छन्। मानिसहरूले आजका दिनमा परमेश्‍वरको काममा ध्यान नै दिइरहेका छैनन्! मैले धेरै पहिले नै धेरै वचनहरू बताएको थिएँ, तर तिमीहरूले ती वचनहरू पढ्नमा कहिल्यै ध्यान दिएनौ, यसैले अभ्यास कसरी गर्ने भनी तिमीहरूले नजान्‍नु कुनै अचम्मको कुरा होइन। अवश्य नै, आजको युगमा अझै पनि पवित्र आत्माले मानिसहरूलाई छुनुहुन्छ र तिनीहरूलाई आनन्द महसुस गराउनुहुन्छ, र उहाँ मानिसको साथमा जिउनुहुन्छ। यो तेरो जीवनमा प्रायजसो आउने ती[क] विशेष, रमाइला भावनाहरूको स्रोत हो। कहिलेकहीँ, त्यस्तो दिन आउँछ जब तँ परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ भन्‍ने महसुस गर्छस् र तँ उहाँसित प्रार्थना नगरी बस्‍न सक्दैनस्: “हे परमेश्‍वर! तपाईंको प्रेम अति सुन्दर छ र तपाईंको स्वरूप अति महान् छ। म तपाईंलाई गहन प्रेम गर्न चाहन्छु। म आफै पूर्ण रूपमा समर्पित हुन र मेरो सम्पूर्ण जीवन तपाईंको निम्ति अर्पण गर्न चाहन्छु। तपाईंको लागि हो भने र यसो गर्दा मैले तपाईंलाई प्रेम गर्न सक्छु भने म तपाईंलाई सबै थोक समर्पण गर्नेछु…।” यो पवित्र आत्माले तँलाई दिनुभएको आनन्दको अनुभूति हो। यो अन्तर्दृष्टि होइन, न त यो ज्योति नै हो; यो छोइनुको अनुभव हो। योसँग मिल्दोजुल्दो अनुभवहरू घरीघरी प्राप्त हुनेछन्: कहिलेकहीँ जब तँ काम गर्नका लागि जान्छस्, तब प्रार्थना गर्छस् र परमेश्‍वरको नजिक आउँछस् र तैँले यस्तो छुवाइ महसुस गर्छस् कि आशुले तेरो अनुहार भिज्नेछ र, तैँले सबै आत्मनियन्त्रण गुमाउँछस्, र तँ आफ्नो हृदयभित्रको उत्साह प्रकट गर्न सकिने स्थान खोज्‍न उत्सुक हुन्छस्…। कहिलेकहीँ यस्ता समयहरू पनि हुन्छन् जुन बेला तँ कुनै सार्वजनिक ठाउँमा हुन्छस्, र तैँले परमेश्‍वरको प्रेमको धेरै आनन्द प्राप्त गरेको, आफ्नो नियति साधारण नभएको, र अझ भन्‍ने हो भने अरूले भन्दा आफूले बढी अर्थपूर्ण जीवन जिइरहेका अनुभूति गर्नेछस्। परमेश्‍वरले तँलाई उठाउनुभएको छ र त्यो तँप्रतिको परमेश्‍वरको महान् प्रेम हो भन्‍ने कुरा तैँले भित्री रूपमा जान्‍नेछस्। मनको गहिराइमा तैँले परमेश्‍वरमा एक प्रकारको प्रेम छ भन्‍ने महसुस गर्नेछस् जसलाई मानिसले व्यक्त गर्न र बुझ्‍न सक्दैन, मानौं तँलाई त्यो थाहा छ तर त्यो वर्णन गर्ने कुनै उपाय छैन, त्यसले तँलाई सधैँ सोच्न बाध्य तुल्याउँछ, तर तँ त्यसलाई व्यक्त गर्न सक्दै सक्दैनस्। यस्तो समयमा, तैँले आफू कहाँ छु भन्‍ने पनि बिर्सनेछस्, र तैँले यसरी पुकार्नेछस्: “हे परमेश्‍वर! तपाईं अति अबोध्य र अति प्रिय हुनुहुन्छ!” यसले मानिसहरूलाई अलमलमा पार्छ, तर त्यस्ता कुराहरू बारम्‍बार भइरहन्छन्। तिमीहरूले धेरैपटक यस्तो अनुभव गरेका छौ। पवित्र आत्माले आज तँलाई दिनुभएको र तैँले अहिले जिइरहेको हुनुपर्ने जीवन यही हो। यो तँलाई जिउनदेखि रोक्‍नको लागि दिइएको होइन, बरु तेरो जिउने तरिका बदल्नका निम्ति दिइएको हो। यो त्यस्तो भावना हो जसलाई वर्णन वा व्यक्त गर्न सकिँदैन। यो मानिसको वास्तविक अनुभूति पनि हो, र त्योभन्दा पनि बढी, यो पवित्र आत्माको काम हो। तैँले यसलाई आफ्नो हृदयमा त बुझ्न सक्छस्, तर यसबारे कसैलाई पनि स्पष्ट रूपमा बताउन सक्दैनस्। यो तँ ढिलो बोल्‍ने भएकोले वा तँ भकभकाउने भएकोले होइन, बरु शब्‍दहरूमा व्यक्त गर्न नसकिने भावना भएकोले गर्दा भएको हो। आज तँलाई यी कुराहरूको आनन्द लिन दिइएको छ, र तैँले यही जीवन जिइरहेको हुनुपर्छ। अवश्य नै, तेरो जीवनका अन्य पक्षहरू खाली छैनन्; यति मात्र हो कि यो छुवाइको अनुभव तेरो जीवनको एक किसिमको आनन्द बन्छ, जसले तँलाई पवित्र आत्माबाट सधैँ त्यस्ता अनुभवहरूको आनन्द लिन इच्छुक बनाउँछ। तर तैँले यो जान्‍नुपर्छ कि यस प्रकारको छुवाइ देहदेखि बाहिर जान, तेस्रो स्वर्गमा जान वा सारा संसारभरि यात्रा गर्नको निम्ति दिइएको होइन। बरु, तैँले आज उपभोग गरेको परमेश्‍वरको प्रेमलाई महसुस गर्न र त्यसको स्वाद लिन सक्, परमेश्‍वरको आजको कामको महत्त्व अनुभव गर्न सक्, र आफूलाई परमेश्‍वरको वास्ता र सुरक्षासँग फेरि परिचित गरा भनेर दिइएको हो। यी सबै कुराहरू तँलाई परमेश्‍वरको आजको कामको बारेमा अझ ठूलो ज्ञान प्राप्त होस् भनेर दिइएको हो—परमेश्‍वरले यो काम गर्नुको लक्ष्य यही हो।

परमेश्‍वर देहधारी हुनुअघि, जिउने तरिका भन्‍नु नै खोजी गर्दै छामछुम गर्नु थियो। त्यस बेला मानिसहरूले परमेश्‍वरलाई देख्‍न सक्दैनथे, त्यसैले खोजी गर्दै छामछुम गर्नुबाहेक अरू विकल्प थिएन। आज तैँले परमेश्‍वरलाई देखेको छस् र तैँले कसरी अभ्यास गर्नुपर्छ भनेर उहाँले तँलाई प्रत्यक्ष रूपमा बताउनुहुन्छ; यसैले तैँले छामछुम वा खोजी गर्नु आवश्यक छैन। उहाँले मानिसलाई जुन बाटोमा डोर्‍याउनुहुन्छ त्यो सत्यताको मार्ग हो, र उहाँले मानिसलाई बताउनुहुने कुराहरू र मानिसले प्राप्त गर्ने कुराहरू जीवन र सत्यता हुन्। तँसँग मार्ग, जीवन र सत्यता छ, यसैले जहीँतहीँ खोजी गरिरहनुपर्ने के आवश्यकता छ र? पवित्र आत्माले सँगसँगै दुई चरणहरूको काम गर्नुहुन्‍न। मैले आफ्ना वचनहरू बोलिसकेपछि पनि, यदि मानिसहरूले होसियारीसाथ परमेश्‍वरको वचन खाँदैनन् र पिउँदैनन्, र सत्यलाई राम्ररी पछ्याउँदैनन्, अझै पनि तिनीहरू अनुग्रहको युगमा गरेझैं काम गर्छन्, अन्धोजस्तो बनेर छामछुम गर्छन्, निरन्तर प्रार्थना र खोजी गर्छन् भने, के त्यसको अर्थ मेरो यस चरणको काम अर्थात् वचनहरूको काम व्यर्थमा गरिँदै छ भन्‍ने हुँदैन र? मैले मेरो वचन बोलेर समाप्त गरिसकेको हुँदा पनि, मानिसहरूले अझै पनि पूर्ण रूपमा बुझ्न सक्दैनन्, किनकि तिनीहरूमा क्षमताको अभाव छ। मण्डली जीवन जिएर र एकअर्कासँग सङ्गति गरेर यो समस्या समाधान गर्न सकिन्छ। पहिले, अनुग्रहको युगमा, परमेश्‍वरले देहधारण गर्नुभएको भए तापनि, उहाँले वचनहरूको काम गर्नुभएन, पवित्र आत्माले त्यस समयमा कामलाई कायम राख्‍नका लागि त्यसरी नै काम गर्नुभयो। त्यसबेला मुख्य रूपमा पवित्र आत्माले नै काम गर्नुभयो, तर अहिले देहधारी परमेश्‍वरले पवित्र आत्माको स्थान लिएर आफैले काम गरिरहनुभएको छ। पहिले, जबसम्म मानिसहरूले बारम्बार प्रार्थना गर्थे, तिनीहरूले शान्ति र आनन्द अनुभव गर्थे; त्यसमा निन्दाका साथसाथै अनुशासन पनि हुन्थ्यो। यो सब पवित्र आत्माको काम थियो। अहिले यी स्थितिहरू कमै हुन्छन्। पवित्र आत्माले कुनै एउटा युगमा एक किसिमको काम मात्र गर्न सक्‍नुहुन्छ। यदि देहले मानिसहरूमा एक प्रकारको काम गर्ने र पवित्र आत्माले अर्को प्रकारको काम गर्ने गरी उहाँले एकसाथ दुई किसिमको काम गर्नुभएको भए, र यदि देहले भनेका कुराहरूको महत्त्व नहुने, आत्माले गर्नुभएको कामको मात्र महत्त्व हुने भएको भए, ख्रीष्टसँग कुनै सत्यता, बाटो वा जीवन हुनेथेन। यो आफैमा विरोधाभास हुनेथ्यो। के पवित्र आत्माले त्यसरी काम गर्न सक्‍नुहुन्छ? परमेश्‍वर सर्वशक्तिमान्, सर्वज्ञानी, पवित्र र धर्मी हुनुहुन्छ, र उहाँले कहिल्यै पनि कुनै गल्ती गर्नुहुन्‍न।

मानिसका विगतका अनुभवहरूमा धेरै विचलन र त्रुटिहरू हुन्थे। यसमा सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने वा तिनीहरूले गर्नुपर्ने केही कुराहरू हुन्थे, वा यसमा मानव जीवनमा तर्कने नसकिने गल्तीहरू हुन्थे, र जब ती कुराहरूलाई राम्रोसँग सम्हालिँदैनथ्यो, तब मानिसहरूले त्यसको जिम्मेवार परमेश्‍वरलाई बनाउँथे। एउटी बहिनीले घरमा पाहुनाहरू बोलाएकी थिइन्। उनका रोटीहरू राम्ररी बाफिएका थिएनन्, त्यसैले उनले सोचिन्: “यो पक्‍कै पनि परमेश्‍वरको अनुशासन हो। परमेश्‍वरले मेरो व्यर्थको हृदयलाई फेरि निराकरण गर्दै हुनुहुन्छ; मेरो घमण्ड साँच्‍चै ठूलो छ।” वास्तवमा, जहाँसम्म मान्छेको सामान्य सोच्ने तरिकाको कुरा छ, जब पाहुनाहरू आउँछन्, तँ उत्साहित बन्छस् र हतार गर्छस्, तँ आफूले गरिरहेको हर काममा अव्यवस्थित बन्छस्, र यसरी कि त भात डढ्छ कि त तरकारीमा नुन चर्को हुन्छ। काममा धेरै आकुलव्याकुल हुँदा यस्तो हुन्छ, तर मानिसहरूले अन्त्यमा त्यसलाई “परमेश्‍वरको अनुशासन” भन्‍ने ठान्छन्। वास्तवमा, यी सबै मानव जीवनमा हुने गल्तीहरू मात्र हुन्। के तैँले परमेश्‍वरमा विश्‍वास नगर्दा पनि बारम्बार यस्तो कुराको सामना गर्दैनस् र? समस्याहरू उत्पन्‍न हुँदा ती प्रायः मानिसहरूले गरेका गल्तीहरूका नतिजा हुन्छन्—त्यस्ता गल्तीहरू पवित्र आत्माका काम हुन् भन्‍ने हुँदैन। परमेश्‍वरसँग त्यस्ता गल्तीहरूको कुनै सरोकार हुँदैन। जस्तै, खाइरहेको बेला तैँले आफ्नो जिब्रो टोक्छस्, के त्यो परमेश्‍वरको अनुशासन हो त? परमेश्‍वरको अनुशासनका सिद्धान्तहरू हुन्छन् र सामान्यतया यो तब देखिन्छ जब तँ जानाजानी अपराध गर्छस्। तैँले परमेश्‍वरको नाउँ वा उहाँको गवाही वा कामसँग सम्‍बन्धित कार्य गर्दा मात्र उहाँले तँलाई अनुशासनमा राख्‍नुहुन्छ। अहिले मानिसहरूले आफूले गर्ने कार्यहरूमा सचेत हुनलाई चाहिने सत्यता पर्याप्त मात्रामा बुझेका छन्। उदाहरणको लागि: तैँले मण्डलीको पैसा हिनामिना गरिस् वा त्यो लापरवाहसाथ खर्च गरिस् भने के तँलाई केही महसुस नहुने हुन सक्छ र? त्यसो गर्दा तैँले केही त महसुस गर्नेछस्। त्यो गरिसकेपछि मात्र केही महसुस गर्नु पनि असम्भव हुन्छ। तैँले आफ्नो विवेकको विरुद्धमा गर्ने कार्यहरूको बारेमा तँ आफ्नो हृदयमा स्पष्ट हुन्छस्। मानिसहरूको आ-आफ्नै रुचि र प्राथमिकताहरू हुने भएकाले, सत्यलाई कसरी अभ्यास गर्नुपर्छ भनी जानेर पनि उनीहरू आफैमा लिप्त हुन्छन्। त्यसैले, तिनीहरूले केही गरिसकेपछि, कुनै प्रत्यक्ष धिक्‍कार महसुस गर्दैनन् वा कुनै स्पष्ट अनुशासन कारबाही भोग्‍दैनन्। यस्तो किन हुन्छ भने तिनीहरूले जानाजानी अपराध गरेका हुन्छन्, त्यसैले परमेश्‍वरले तिनीहरूलाई अनुशासनमा राख्‍नुहुन्‍न; जब धर्मी न्यायको समय आउँछ, हरेकले आफ्नो कर्मको आधारमा परमेश्‍वरबाट दण्ड पाउँछ। अहिले मण्डलीमा केही मानिसहरू पैसा हिनामिना गर्ने खालका छन्, केही मानिसहरू पुरुष र महिलाबीच स्पष्ट सिमा कायम नगर्नेहरू छन, र केही मानिसहरूचाहिँ परमेश्‍वरको कामलाई गोप्य रूपमा दोष लगाउने, अवज्ञा गर्ने र ध्वस्त पार्नेहरू छन्। तैपनि किन तिनीहरूको सबै कुरा राम्रो छ? त्यस्ता कामहरू गर्दा, तिनीहरू सचेत हुन्छन्, र आफ्नो हृदयमा धिक्‍कार महसुस गर्छन् र यसैको कारण कहिलेकहीँ तिनीहरूले सजाय र शोधन भोग्छन्, तर तिनीहरू अत्यन्तै निर्लज्‍ज छन्! मानिसहरू छाडापनमा संलग्‍न हुँदाजस्तै—त्यस बेला आफू के गर्दै छु भनी तिनीहरूलाई थाहा हुन्छ, तर तिनीहरूको विलासी इच्छा धेरै नै ठूलो हुन्छ र तिनीहरूले आफैलाई नियन्त्रण गर्न सक्दैनन्। पवित्र आत्माले तिनीहरूलाई अनुशासनमा राख्‍नुभयो भने पनि, त्यसबाट केही फाइदा हुँदैन, त्यसैले पवित्र आत्माले तिनीहरूलाई अनुशासनमा राख्‍नुहुन्‍न। यदि पवित्र आत्माले तिनीहरूलाई अनुशासनको कारबाही गर्नुभएन भने, यदि तिनीहरूले कुनै धिक्‍कार महसुस गर्दैनन् र तिनीहरूको देहलाई केही पनि हुँदैन भने, त्यसपछिको धिक्‍कार कस्तो हुन सक्छ र? त्यो काम त भई नै सक्यो—कस्तो अनुशासन कारबाही हुन सक्छ र? यसले तिनीहरू अत्यन्तै निर्लज्‍ज छन् र तिनीहरूमा मानवताको अभाव छ, र तिनीहरू श्राप र दण्डको योग्य छन् भन्‍ने मात्र प्रमाणित गर्छ! पवित्र आत्माले अनावश्यक रूपमा काम गर्नुहुन्‍न। यदि तँलाई सत्यता राम्ररी थाहा छ तर त्यसको अभ्यास गर्दैनस् भने, र यदि तँ कुनै पनि दुष्कर्म गर्न सक्षम छस् भने, तैँले दुष्टको साथमा आफूलाई दण्ड दिइने दिनको प्रतीक्षा गर्न मात्र सक्छस्। यो नै तेरो लागि सर्वोत्तम अन्त्य हो! अहिले मैले विवेकको बारेमा बारम्बार प्रवचन दिएको छु, र विवेक न्यूनतम मापदण्ड हो। यदि मानिसहरूमा विवेकको कमी छ भने, उनीहरूले पवित्र आत्माको अनुशासन गुमाएका छन्; तिनीहरूले जे मन लाग्यो त्यही गर्न सक्छन् र परमेश्‍वरले तिनीहरूलाई कुनै ध्यान दिनुहुन्‍न। साँच्‍चै नै विवेक र बुद्धि भएकाहरूले कुनै गल्ती गर्दै छन् भने तिनीहरूलाई त्यो थाहा हुन्छ। तिनीहरूले विवेकमा थोरै दोष महसुस गर्दा नै असहज महसुस गर्नेछन्; तिनीहरूले भित्री लडाइँको सामना गर्नेछन् र अन्ततः देहलाई परित्याग गर्नेछन्। तिनीहरू गम्भीर रूपमा परमेश्‍वरको विरोध गर्ने कुनै पनि काम गर्ने स्थितिमा पुग्‍नेछैनन्। मानिसहरूले जब केही गलत गर्छन्, तब चाहे पवित्र आत्माले तिनीहरूलाई अनुशासित र दण्डित गर्नुभए पनि नभए पनि, उनीहरूलाई केही न केही महसुस हुन्छ। यसैले, अहिले मानिसहरूले सबै प्रकारका सत्यताहरू बुझ्छन् र यदि तिनीहरूले ती अभ्यास गर्दैनन् भने त्यो एउटा मानव समस्या हो। म मानिसहरूसँग कहिल्यै पनि यसरी कुनै प्रतिक्रिया दिँदिनँ, न त म तिनीहरूको लागि कुनै आशा नै गर्छु। तैँले आफूलाई जस्तो मन लाग्छ त्यस्तो गर्न सक्छस्!

कतिपय मानिसहरू भेला हुँदा, तिनीहरूले परमेश्‍वरको वचनलाई एकातिर राख्छन् र सधैँ यो वा त्यो व्यक्ति कस्तो छ भनी कुरा गरिरहन्छन्। अवश्य नै, थोरै भए पनि समझ हुनु राम्रो कुरा हो, जसको कारण तँ जहाँ गए पनि सजिलैसित धोकामा पर्नेछैनस्, र सजिलै ठगिने वा मूर्ख बन्‍नेछैनस्—यो पनि मानिसहरूमा हुनुपर्ने एक पाटो हो। तर तैँले यस पाटोमा मात्र ध्यान केन्द्रित हुनु हुँदैन। यो कामकुराहरूको नकारात्मक पक्षसँग सम्बन्धित हुन्‍छ, र तैँले सधैँ आफ्ना आँखा अरू मानिसहरूमा लगाइरहन सक्दैनस्। अहिले तँमा पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने कुराको अत्यन्तै थोरै ज्ञान छ, परमेश्‍वरमाथिको तेरो विश्‍वास अति सतही छ, र तँमा अत्यन्तै थोरै मात्र सकारात्मक कुराहरू छन्। तैँले विश्‍वास गरेको व्यक्ति परमेश्‍वर हुनुहुन्छ, र तैँले बुझ्नुपर्ने व्यक्ति पनि परमेश्‍वर नै हुनुहुन्छ, शैतान होइन। यदि तँलाई शैतानले कसरी काम गर्छ र दुष्टात्माहरूले कसरी काम गर्छन् ती सबै तरिकाहरूको बारेमा मात्र थाहा छ, तर परमेश्‍वरको बारेमा कुनै पनि प्रकारको ज्ञान छैन भने, त्यसको के अर्थ हुन्छ र? के आज तैँले विश्‍वास गर्ने भनेको परमेश्‍वरलाई होइन र? तेरो ज्ञानमा यी सकारात्मक कुराहरू किन सामेल छैनन्? तैँले प्रवेशको सकारात्मक पक्षमा ध्यान नै दिँदैनस्, न त तैँले त्यसलाई बुझ्छस्, त्यसो भए तँ आफ्नो विश्‍वासमा केचाहिँ प्राप्त गर्न चाहन्छस्? के तैँले कसरी खोजी गर्नुपर्छ भनी जान्दैनस्? तैँले नकारात्मक पक्षहरूको बारेमा धेरै जान्दछस्, तर प्रवेशको सकारात्मक पक्षको बारेमा तँ शून्यमै छस्, त्यसरी तेरो कद कसरी बढ्न सक्छ? शैतानसितको लडाइँको बारेमा बाहेक अरू केही कुरा नगर्ने तँजस्तो व्यक्तिका निम्ति भविष्यमा कस्ता सम्भावनाहरू हुन सक्छन्? के तेरो प्रवेश अति पुरानो हुनेछैन र? तैँले अहिले यस्तो काम गरेर के प्राप्त गर्न सक्‍नेछस्? अहिले तैँले बुझ्नुपर्ने मुख्य कुराहरू भनेका परमेश्‍वरले अहिले के गर्न चाहनुहुन्छ, मानिसले कसरी सहकार्य गर्नुपर्छ, तिनीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ, तिनीहरूले पवित्र आत्माको कामलाई कसरी बुझ्नुपर्छ, आज परमेश्‍वरले भन्‍नुहुने सबै वचनहरूमा तिनीहरू कसरी प्रवेश गर्नुपर्छ, तिनीहरूले ती वचनहरू कसरी खानु, पिउनु, अनुभव गर्नु र बुझ्नुपर्छ, तिनीहरूले परमेश्‍वरको इच्छालाई कसरी पूरा गर्नुपर्छ, कसरी परमेश्‍वरद्वारा पूर्ण रूपमा जितिएर परमेश्‍वरको अघि समर्पित हुनुपर्छ, आदि हुन्…। तैँले ध्यान केन्द्रित गर्नुपर्ने र तँ अहिले प्रवेश गर्नुपर्ने कुराहरू यिनै हुन्। के तैँले बुझिस्? अरू मानिसहरू असल हुन् कि खराब हुन् भनी छुट्याउनमा मात्रै ध्यान केन्द्रित गर्दा के फाइदा हुन्छ? तैँले यतातिर शैतानलाई चिन्‍न सक्छस्, उतातिर दुष्टात्माहरूलाई चिन्‍न सक्छस्—तैँले दुष्टात्माहरूको बारेमा पूर्ण ज्ञान पाउन सक्छस्, तर यदि तैँले परमेश्‍वरको कामको बारेमा केही पनि भन्‍न सक्दैनस् भने, के यस्तो समझशक्ति परमेश्‍वरसम्‍बन्धी ज्ञानको विकल्प हुन सक्छ? मैले पहिले नै दुष्टात्माको कामका प्रकटीकरणहरूको बारेमा सङ्गति गरिसकेको छु, तर यो त्यसको मुख्य भाग होइन। अवश्य नै मानिसहरूमा केही समझशक्ति हुनुपर्छ र यो परमेश्‍वरको सेवा गर्नेहरूमा हुनुपर्ने कुरा हो, ताकि तिनीहरू मूर्ख कामहरू गर्न र परमेश्‍वरको काममा अवरोध पुऱ्याउनबाट जोगिऊन्। तैपनि, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्‍वरको कामको ज्ञान हुनु र परमेश्‍वरको इच्छालाई बुझ्नु हो। तँभित्र परमेश्‍वरको कार्यको यस चरणको के ज्ञान छ? के तँ परमेश्‍वरले के काम गर्नुहुन्छ, परमेश्‍वरको इच्छा के हो, तेरा आफ्नै कमीकमजोरीहरू के-के हुन् र तैँले आफूलाई के कुराले सुसज्‍जित पार्नुपर्छ भन्‍ने विषयमा कुरा गर्न सक्छस्? के तैँले तेरो सबैभन्दा नयाँ प्रवेश के हो, भन्‍न सक्छस्? तैँले फल टिप्‍न र नयाँ प्रवेशको बारेमा बुझाइ प्राप्त गर्न सक्‍नुपर्छ। भ्रममा परेको बहाना नगर्; आफ्नो अनुभव र ज्ञानलाई अझ गहन पार्न तैँले नयाँ प्रवेशमा धेरै प्रयत्‍न लगाउनुपर्छ, र अझै बढी तैँले नयाँनयाँ प्रवेशहरू र अनुभव गर्ने सबैभन्दा सही तरिकाहरूको ज्ञान प्राप्त गर्नुपर्छ। यति मात्र होइन, नयाँ काम र नयाँ प्रवेशहरूमार्फत, तैँले तेरा अघिल्ला पुराना र विचलन भएका अभ्यासहरूको समझ प्राप्त गर्नुपर्छ, र नयाँ अनुभवहरूमा प्रवेश गर्नका लागि तिनलाई कसरी फाल्ने भनी खोजी गर्नुपर्छ। तैँले तुरुन्तै बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने कुराहरू यिनै हुन्। तैँले पुराना र नयाँ प्रवेशहरूबीचको भिन्‍नता र सम्बन्धलाई बुझ्नुपर्छ। यदि तैँले यी कुराहरू बुझेको छैनस् भने, तेरो निम्ति प्रगति गर्ने कुनै उपाय हुनेछैन, किनकि तैँले पवित्र आत्माको कामको गतिलाई पछ्याउन सक्‍नेछैनस्। तैँले सामान्य रूपमा परमेश्‍वरको वचन खाने र पिउने गर्न सक्‍नुपर्छ र सामान्य सङ्गति गर्न सक्‍नुपर्छ अनि तेरो पहिलेको पुरानो अभ्यास र तेरो परम्परागत धारणा बदल्न तिनको प्रयोग गर्न सक्‍नुपर्छ, ताकि तँ नयाँ अभ्यास र परमेश्‍वरको नयाँ काममा प्रवेश गर्न सक्। तैँले हासिल गर्नुपर्ने कुराहरू यिनै हुन्। मैले तँलाई तँ सही रूपमा कस्तो छस् त्यो मात्र पत्ता लाउन लगाइरहेको छैनँ; लक्ष्य यो होइन। बरु म तँलाई सत्यतासम्‍बन्धी तेरो अभ्यास र जीवन प्रवेशसम्‍बन्धी तेरो बुझाइलाई गम्भीरतासाथ ली भनेर मात्र भनिरहेको छु। तैँले आफैलाई चिन्‍ने क्षमताले तेरो वास्तविक कदको प्रतिनिधित्व गर्दैन। यदि तँ परमेश्‍वरको कामको अनुभव गर्न सक्छस् भने, तँसित परमेश्‍वरका वचनहरूमा भएका सत्यताको अनुभव र बुझाइ छ, र तँ पहिलेका आफ्ना व्यक्तिगत धारणा र गल्तीहरू खुट्‍याउन सक्छस् भने, त्यही नै तेरो वास्तविक कद हो र त्यो तिमीहरू सबैले हासिल गर्नुपर्ने कुरा हो।

धेरै परिस्थितिहरूमा तिमीहरूलाई कसरी अभ्यास गर्ने भन्‍ने नै थाहा हुँदैन, र यस्तो अवस्थामा तिमीहरूलाई पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्‍ने कुरा थाहा हुने त कुरै भएन। कहिलेकहीँ तैँले यस्तो काम गर्छस् जुन स्पष्ट रूपमा पवित्र आत्माको अवज्ञा हुन्छ। परमेश्‍वरका वचनहरू खाएको र पिएकोले, तँमा यस मामिलाको सिद्धान्तको ज्ञान पहिलेदेखि नै छ, त्यसैले तँभित्र धिक्‍कार र अशान्तिको अनुभूति छ; निश्‍चय नै यो केही सत्य जानेको आधारमा मात्र कुनै व्यक्तिले महसुस गर्ने भावना हो। यदि मानिसहरूले परमेश्‍वरको आजको वचनअनुसार सहकार्य वा अभ्यास गर्दैनन् भने, उनीहरूले पवित्र आत्माको काममा बाधा पुर्‍याइरहेका हुन्छन्, र उनीहरूले निश्‍चय नै आफूभित्र अशान्त महसुस गर्छन्। मानौं, तैँले कुनै कुराको सिद्धान्त बुझ्छस्, तर तैँले त्यसअनुसार अभ्यास गर्दैनस् भने, तैँले मनभित्र धिक्‍कार अनुभूति गर्छस्। यदि तैँले सिद्धान्त बुझ्दैनस् र तँलाई सत्यताको यस पक्षको बारेमा केही पनि थाहा छैन भने, तैँले यस कुरामा धिक्‍कार अनुभूति गर्छस् भन्‍ने जरुरी छैन। पवित्र आत्माको धिक्‍कार सधैँ प्रसङ्गअनुसार हुन्छ। तैँले प्रार्थना नगरेको र पवित्र आत्माको काममा सहकार्य नगरेकोले तैँले त्यो काममा ढिलाइ गरिस् भन्‍ने तँलाई लाग्छ। वास्तवमा, यसलाई ढिलाइ गर्न सकिँदैन। पवित्र आत्माले अरू कसैलाई काममा लगाउनुहुनेछ; पवित्र आत्माको कामलाई कसैले पनि बन्धनमा पार्न सक्दैन। तँलाई आफूले परमेश्‍वरलाई निराश पारेको छु भन्‍ने लाग्छ, र यो तेरो विवेकमा हुनुपर्ने अनुभूति हो। तैँले सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् त्यो तेरो आफ्नै सरोकारको कुरा हो र त्यो परमेश्‍वरसित सम्बन्धित छैन। कहिलेकहीँ तेरो आफ्नै विवेकले तँलाई दोषी महसुस गराउँछ, तर यो पवित्र आत्माबाट आएको अन्तर्ज्ञान वा ज्योति होइन, न त यो पवित्र आत्माले गर्नुभएको धिक्‍कार नै हो। बरु यो त मानव विवेकभित्रको भावना हो। यदि तँ परमेश्‍वरको नाउँ, परमेश्‍वरको गवाही वा परमेश्‍वरको कामसँग सम्‍बन्धित मामिलामा मनोमानी ढङ्गले काम गर्छस् भने, परमेश्‍वरले तँलाई त्यतिकै छोड्नुहुनेछैन। तर एउटा सीमा छ—परमेश्‍वरले तँसँग सामान्य, स-साना कुराहरूमा झमेला लिनुहुनेछैन। उहाँले तँलाई बेवास्ता गर्नुहुनेछ। यदि तैँले सिद्धान्तहरू उल्लङ्घन गर्छस्, र तैँले परमेश्‍वरको कामलाई बाधा र समस्या दिन्छस् भने, उहाँले आफ्‍नो क्रोध तँमाथि खन्याउनुहुनेछ र तँलाई बिलकुल छोड्नुहुनेछैन। तैँले गर्ने केही गल्तीहरू मानव जीवनको सिलसिलामा अपरिहार्य रूपमा हुने गल्तीहरू हुन्। उदाहरणका लागि, तँ आफ्नो रोटी ठीकसँग बफाउँदैनस् र त्यो परमेश्‍वरले तँलाई अनुशासन कारबाही गर्नुभएको हो भन्छस्—यो भन्‍नु पूरै बेमनासिब कुरा हो। तैँले परमेश्‍वरमा विश्‍वास गर्नुअघि, के यस प्रकारको घटना प्रायजसो हुँदैनथ्यो र? तँलाई त्यो पवित्र आत्माले गर्नुभएको अनुशासन कारबाही हो जस्तो लाग्छ, तर वास्तवमा कुरा त्यस्तो होइन (केही विशेष परिस्थितिहरूबाहेक), किनकि यो काम पूर्णतया पवित्र आत्माबाट आएको हुँदैन, बरु मानवीय भावनाहरूबाट आएको हुन्छ। तैपनि, विश्‍वासी मानिसहरूले यस्तो प्रकारले सोच्नु सामान्य कुरा हो। तैँले परमेश्‍वरमा विश्‍वास नगरेको समयमा यस्तो विचार गर्नेथिइनस्। तैँले परमेश्‍वरमा विश्‍वास गरेपछि, तैँले यी कुराहरूबारे सोचविचार गर्दै समय बिताउन थालिस्, त्यसैले तैँले स्वभाविक रूपमा यस्तो प्रकारले सोच्न थालेको हुन्छस्। यो सामान्य मानिसको सोचबाट उत्पन्‍न हुन्छ र यो उनीहरूको मानसिकतासँग सम्बन्धित हुन्छ। तर म तँलाई बताउँछु, त्यस्तो सोच पवित्र आत्माको कामको दायराभित्र पर्दैन। यो पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको विचारद्वारा सामान्य प्रतिक्रिया दिलाउनुभएको एउटा उदाहरण हो; तर यो प्रतिक्रिया पवित्र आत्माको काम होइन भनेर तैँले बुझ्नुपर्छ। यस प्रकारको “ज्ञान” छ भन्दैमा, त्यसले तँमा पवित्र आत्माको काम छ भन्‍ने कुराको प्रमाण दिँदैन। तेरो ज्ञान पवित्र आत्माको अन्तर्दृष्टिबाट उत्पन्‍न हुँदैन, यो पवित्र आत्माको काम हुने त कुरै भएन। यो केवल सामान्य मानव सोचको उपज हो र पवित्र आत्माको अन्तर्दृष्टि वा ज्योतिसँग यसको कुनै सम्बन्ध हुँदैन—यी पूर्ण रूपले भिन्‍नाभिन्‍नै घटनाहरू हुन्। त्यस्ता सामान्य मानव विचारहरू पूर्ण रूपमा पवित्र आत्माबाट आउँदैनन्। जब पवित्र आत्माले मानिसहरूलाई अन्तर्दृष्टि दिनका निम्ति काम गर्नुहुन्छ, तब उहाँले सामान्यतया तिनीहरूलाई परमेश्‍वरको कामको ज्ञान र तिनीहरूको वास्तविक प्रवेश र वास्तविक अवस्थाको ज्ञान दिनुहुन्छ। उहाँले तिनीहरूलाई परमेश्‍वरका जरुरी अभिप्रायहरू र आजका मानिसका लागि उहाँका मापदण्डहरू बुझ्ने पनि तुल्याउनुहुन्छ, ताकि तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न, सतावट र विपत्तिको बाबजुत परमेश्‍वरलाई प्रेम गर्न, र रगत बगाउनु वा प्राण नै अर्पण गर्नुपरे पनि परमेश्‍वरका निम्ति गवाही दिनलाई आफ्ना सबै कुरा त्याग्‍ने सङ्कल्प गर्न सकून् र कुनै पछुतो नगरी त्यसो गर्न सकून्। यदि तँसँग यस प्रकारको सङ्कल्प छ भने, त्यसको अर्थ तँमा पवित्र आत्माको प्रेरणा र काम छ भन्‍ने हुन्छ—तर यो जान् कि बितेर जाने हरेक क्षणमा तँसित यस्तो प्रेरणा हुँदैन। कहिलेकहीँ सेवाहरूमा जब तँ प्रार्थना गर्छस् र परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले अत्यधिक रूपमा आफ्नो हृदय छोएको र प्रेरणा पाएको महसुस गर्छस्। जब सङ्गतिमा हुने अरू कसैले आफ्नो अनुभव र परमेश्‍वरको वचनको बुझाइबारे बताउँछन् त्यस बेला तँलाई अति नयाँ र ताजा महसुस हुन्छ र तेरो हृदय पूर्ण रूपमा सफा र उज्यालो हुन्छ। यो सबै पवित्र आत्माको काम हो। यदि तँ एक अगुवा होस् र तँ मण्डलीमा काम गर्न जाँदा, पवित्र आत्माले तँलाई असाधारण अन्तर्ज्ञान र ज्योति दिनुहुन्छ, मण्डलीभित्र रहेका समस्याहरूको बारेमा अन्तर्दृष्टि दिनुहुन्छ, र तिनलाई समाधान गर्न सत्यता सङ्गति कसरी गर्ने भन्‍ने ज्ञान दिनुहुन्छ, र तँलाई आफ्नो काममा अविश्‍वसनीय रूपमा जोसिलो, जिम्मेवार र गम्भीर बनाउनुहुन्छ भने, यी सबै पवित्र आत्माका काम हुन्।

फूटनोट:

क. मूल पाठमा “यी केही हुन्” भनेर पढिन्छ।

अघिल्लो: बाइबल सम्बन्धमा (४)

अर्को: अभ्यास (२)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्