अभ्यास (२)

बितेको समयमा, मानिसहरूले परमेश्‍वरसँग रहन र हरेक क्षणमा आत्मामा जिउनको लागि आफैलाई तालिम दिन्थे। आजको अभ्यासको तुलनामा, यो आत्मिक तालिमको एउटा साधारण रूप हो; यो मानिसहरू जीवनको सही मार्गमा प्रवेश गर्नुअघि तिनीहरूले गर्नुपर्ने अभ्यासको सबैभन्दा सतही र सरल विधि हो, र यो मानिसहरूको विश्‍वासको अभ्यासको सबैभन्दा पहिलो चरण हो। यदि मानिसहरू सधैँ आफ्नो जीवनमा यस किसिमको अभ्यासमा भर पर्दछन् भने, तिनीहरूसँग धेरै भावनाहरू हुनेछन्, र तिनीहरूले गल्तीहरू पनि गर्न सक्‍नेछन्, र तिनीहरू वास्तविक जीवनमा प्रवेश गर्न असमर्थ हुनेछन्; तिनीहरूले आफ्नो आत्मालाई तालिम दिन, आफ्नो हृदयमा सामान्य रूपमा परमेश्‍वरको नजिक जान मात्र सक्‍नेछन्, र तिनीहरूले परमेश्‍वर आफूसँग भएकोमा सधैँ ठूलो आनन्द पाउनेछन्। तिनीहरूले आफैलाई परमेश्‍वरसँगको एकताको सानो क्षेत्रमा सीमित राख्नेछन्, र कुनै पनि अत्यन्तै गहन कुरालाई पहुँच गर्न सक्‍नेछैनन्। यस्ता सीमाहरूभित्र जिउने मानिसहरूले कुनै ठूलो प्रगति गर्न सक्दैनन्। कुनै पनि समयमा, तिनीहरू यसो भन्दै चिच्याउन सक्छन्, “अहो! प्रभु येशू। आमेन!” तिनीहरू लगभग हरेक दिन नै यस्तै हुन्छन्—यो विगतको समयको अभ्यास हो, हरेक क्षण आत्मामा जिउने कार्यको अभ्यास। यो अभद्र कार्य होइन र? आज, जब परमेश्‍वरका वचनहरू चिन्तन गर्ने समय हुन्छ, केवल परमेश्‍वरका वचनहरूमा चिन्तन गर्नुमा ध्यान देओ; जब सत्यलाई अभ्यास गर्ने समय आउँछ, सत्यलाई अभ्यास गर्ने कुरामा ध्यान देओ; जब तेरो कर्तव्य पूरा गर्ने समय हुन्छ, केवल तेरो कर्तव्य पूरा गर्। यस प्रकारको अभ्यास वास्तवमा एकदम स्वतन्त्रता दिने किसिमको हुन्छ; यसले तँलाई मुक्त गर्छ। यो बूढो धार्मिक मानिसहरूले प्रार्थना गरेका र अनुग्रहको शब्‍द बोलेको जस्तो होइन। अवश्य नै, पहिले यो विश्‍वासका मानिसहरूका अभ्यासहरू थिए, तर अब यस तरिकाले अभ्यास गर्नु अत्यन्तै पछौटेपन हो। अहिले परमेश्‍वरको काम उच्च स्तरमा छ; आज बताइने, अर्थात्, “परमेश्‍वरलाई वास्तविक जीवनमा ल्याउनु” भन्‍ने वाक्य अभ्यासको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो। मानिसहरूको वास्तविक जीवनमा हुनुपर्ने सामान्य मानवता यही हो, र मानिसहरूको सामान्य मानवतामा हुनुपर्ने कुरा भनेको परमेश्‍वरले आज बोल्नुहुने सबै वचनहरू हुन्। परमेश्‍वरका यी वचनहरूलाई वास्तविक जीवनमा ल्याउनु नै “परमेश्‍वरलाई वास्तविक जीवनमा ल्याउनु” भन्ने वाक्यको व्यावहारिक अर्थ हो। आज, मानिसहरूले मुख्यतया निम्न कुराद्वारा आफूलाई सुसज्जित गर्नुपर्छ: एउटा सन्दर्भमा, तिनीहरूले आफ्नो क्षमता सुधार गर्नुपर्दछ, शिक्षित हुनुपर्दछ, र उनीहरूको पढ्ने र बुझ्ने क्षमतामा सुधार गर्नुपर्छ; अर्कोमा, तिनीहरूले सामान्य मानिसको जीवन बिताउनुपर्छ। तँ भर्खरै संसारबाट परमेश्‍वरको सामु आएको छस्; तैंले पहिले आफ्नो हृदयलाई परमेश्‍वरको अगाडि शान्त हुन तालिम दिनुपर्छ। अभ्यासको सबैभन्दा पहिलो सुरुआत यही हो, र यो तेरो जीवनको स्वभाव परिवर्तनको पहिलो कदम पनि हो। कतिपय मानिसहरू आफ्‍ना अभ्यासमा तुलनात्मक रूपमा अनुकूल हुन सक्छन्; तिनीहरूले काम गर्दै गर्दा नै वास्तविकतामा बुझ्‍नुपर्ने सत्यताहरू र अभ्यासका सिद्धान्तहरूलाई पत्ता लगाउँदै सत्यको बारेमा सोच्छन्। एउटा पक्ष के हो भने, तँसँग सामान्य मानव जीवन हुनुपर्दछ, र अर्को कुरा भनेको सत्यतामा प्रवेश हुनैपर्छ। यी सबै कुराहरूले वास्तविक जीवनको लागि उत्तम अभ्यासको निर्माण गर्छन्।

परमेश्‍वरलाई मानिसहरूको वास्तविक जीवनमा ल्याउनका लागि मुख्यतया तिनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, परमेश्‍वरलाई चिन्ने प्रयास गर्नुपर्दछ, र सामान्य मानवतामा रहेर परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्य पूरा गर्नुपर्दछ। यो गर्नु भनेको तिनीहरूले हरेक पल्ट कुनै काम गर्दा परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, तिनीहरूले प्रार्थना गरेनन् भने त्यो ठीक होइन र तिनीहरूले उहाँप्रति ऋणी महसुस गर्नुपर्दछ भन्‍ने होइन। आजको अभ्यास त्यस्तो छैन; यो वास्तवमै खुकुलो र सरल छ! यसका लागि मानिसहरूले सिद्धान्तहरू पालन गर्नु आवश्यक पर्दैन। बरु, प्रत्येक व्यक्तिले तिनीहरूको आफ्नो व्यक्तिगत कदअनुसार काम गर्नुपर्छ: यदि तेरो परिवारका सदस्यहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, तिनीहरूलाई अविश्‍वासीको रूपमा व्यवहार गर्, र यदि तिनीहरू विश्‍वास गर्छन् भने, उनीहरूलाई विश्‍वासीको रूपमा व्यवहार गर्। प्रेम र धैर्यको प्रयोग नगर्, बरु बुद्धिको प्रयोग गर्। केही मानिसहरू तरकारी किन्न बाहिर जान्छन् र हिँड्दै गर्दा तिनीहरू यसो भन्दै गुनगुनाउँछन्: “हे परमेश्‍वर! तपाईं आज मैले कुन-कुन सब्जीहरू खरीद गरेको चाहनुहुन्छ? म तपाईंको सहायता माग्छु। हामीले सबै कुरामा उहाँको नाउँको महिमा गर्नुपर्छ र हामी सबैले उहाँको गवाही दिनुपर्छ भनी परमेश्‍वरले माग गर्नुहुन्छ, त्यसैले यदि विक्रेताले मलाई सडेको सब्जी दिए पनि म परमेश्‍वरलाई धन्यवाद दिनेछु—म सहनेछु। हामी परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले तरकारीहरू छनौट गरेर लिन सक्दैनौं।” यसो गर्नु भनेको गवाही दिनु हो भन्‍ने तिनीहरूलाई लाग्छ, र यसको फलस्वरूप तिनीहरूले सडेका सब्जीहरू किन्न पैसा खर्च गर्छन्, तर तिनीहरू अझै प्रार्थना गर्दै यसो भन्छन्: “हे परमेश्‍वर! तपाईंलाई स्वीकार्य छ भने म यी सडेका तरकारीहरू खानेछु।” के त्यस्तो अभ्यास हास्यास्पद छैन र? के यो कुनै सिद्धान्त अनुसरण गर्नु होइन र? यसभन्दा पहिले, मानिसहरू हरेक क्षण आत्मामा जिउन तालिम लिन्थे—यो पहिले अनुग्रहको युगमा गरिने गरिएको कामसँग सम्बन्धित छ। भक्ति, नम्रता, प्रेम, धैर्य, सबै कुराहरूका लागि धन्यवाद दिनु—यी सब अनुग्रहको युगमा प्रत्येक विश्‍वासीबाट माग गरिएको कुरा थियो। त्यस बेला, मानिसहरूले परमेश्‍वरसँग सबै कुराको निम्ति प्रार्थना गर्थे; तिनीहरूले लुगा किन्दा प्रार्थना गर्थे र भेला हुने बारेमा सूचना पाउँदा पनि, उनीहरूले यसरी प्रार्थना गर्थे: “हे परमेश्‍वर! तपाईं म गएको चाहनुहुन्छ कि चाहनुहुन्‍न? यदि तपाईं म गएको चाहनुहुन्छ भने, मेरो लागि एक सहज मार्ग तयार गर्नुहोस्। यदि तपाईं म नगएको चाहनुहुन्छ भने मलाई अल्झाएर लडाउनुहोस्।” तिनीहरूले प्रार्थना गर्दा परमेश्‍वरलाई बिन्ती गर्थे, र प्रार्थनापछि तिनीहरूले असहज महसुस गर्थे र जाँदैनथिए। केही दिदी-बहिनीहरू भेलाहरूबाट घर फर्कंदा आफ्ना अविश्‍वासी पतिहरूले कुटपिट गर्लान् भनी डराएको कारण प्रार्थना गर्दा असहज महसुस गर्थे र भेलाहरूमा जाँदैनथे। तिनीहरू त्यो परमेश्‍वरको इच्छा हो भनी विश्‍वास गर्थे, वास्तवमा, तिनीहरू गएकै भए पनि केही हुने थिएन। परिणाम स्वरूप तिनीहरूले त्यो भेला छुटाउँथे। यी सबै कुरा मानिसहरूको अज्ञानताको परिणाम थियो। यस्तो अभ्यास गर्ने मानिसहरू तिनीहरूका आफ्नै भावनाहरूद्वारा जिउँछन्। अभ्यास गर्ने यो तरिका अति त्रुटिपूर्ण र हास्यास्पद छ र अस्पष्टताले रङ्गिएको छ। यसमा तिनीहरूका आफ्नै व्यक्तिगत भावना र विचारहरू धेरै छन्। यदि तँलाई भेला हुने बारेमा बताइन्छ भने जा; त्यसका निम्ति परमेश्‍वरसित प्रार्थना गर्नु आवश्यक छैन। के यो सरल छैन र? यदि तैंले आज कुनै वस्त्र किन्नुपर्छ भने, तुरुन्तै गएर किन्। परमेश्‍वरलाई प्रार्थना गर्दै यसो नभन्: “हे परमेश्‍वर! तपाईं म गएको चाहनुहुन्छ कि चाहनुहुन्न? म गएपछि कुनै दाजुभाइ र दिदीबहिनी आए भने के होला?” कुनै दाजुभाइ वा दिदीबहिनी आउला भनी तँ डराउँछस्, तर परिणाम यो हुन्छ कि साँझ परिसक्दा पनि कोही आउँदैन। अनुग्रहको युगमा पनि, अभ्यास गर्ने यो तरिका अव्यावहारिक र गलत थियो। यसैले, यदि मानिसहरूले बितेको समयमा जस्तै अभ्यास गर्छन् भने, तिनीहरूको जीवनमा कुनै परिवर्तन हुनेछैन। तिनीहरूले अज्ञानतामा जे आउँछ त्यो सहनेछन्, समझशक्तिलाई ध्यान दिनेछैनन्, र अन्धाधुन्ध आज्ञापालन गर्ने र सहने बाहेक अरू केही गर्नेछैनन्। त्यसबेला, मानिसहरूले परमेश्‍वरको महिमा गर्ने कुरामा ध्यान केन्द्रित गर्थे, तर परमेश्‍वरले तिनीहरूबाट कुनै महिमा प्राप्त गर्नुहुन्‍नथियो, किनभने तिनीहरू व्यावहारिक जीवन बिताउँदैनथे। तिनीहरूले आफ्नो व्यक्तिगत धारणाअनुसार आफैलाई बन्धनमा राखे र सीमित बनाए, अनि धेरै वर्षको अभ्यासले पनि उनीहरूको जीवनमा कुनै परिवर्तन ल्याएन। तिनीहरूले केवल सहन, नम्र हुन, प्रेम गर्न र क्षमा गर्न मात्र जान्दथे, तर तिनीहरूमा पवित्र आत्माबाट पाइने अति थोरै ज्ञानको पनि अभाव थियो। त्यस्तो प्रकारले मानिसहरूले कसरी परमेश्‍वरलाई चिन्न सक्थे? र तिनीहरूले सम्भवतः कसरी परमेश्‍वरको महिमा गर्न सक्थे?

यदि मानिसहरूले परमेश्‍वरलाई आफ्नो वास्तविक जीवनमा, र तिनीहरूका सामान्य मानव जीवनमा ल्याउँछन् भने मात्र तिनीहरू परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्न सक्दछन्। परमेश्‍वरका वचनहरूले नै आज तिमीहरूलाई डोऱ्याउँछ; विगतको समयमा जस्तो खोज्नु र छामछाम-छुमछुम गर्नु कुनै आवश्यक छैन। जब तैँले परमेश्‍वरका वचनहरू बमोजिम अभ्यास गर्न सक्छस्, र मैले खुलासा गरेको मानवीय स्थितिबमोजिम आफैलाई जाँच्न सक्छस्, तब तैँले परिवर्तन हासिल गर्न सक्नेछस्। यो कुनै धर्मसिद्धान्त होइन, तर परमेश्‍वरले मानिसबाट जे चाहनुहुन्छ त्यो हो। आज, म तँलाई अवस्थाहरू कस्ता छन् सो बताउँछु: तैँले मेरा वचनहरू अनुसार कार्य गर्नमा मात्र ध्यान दे। तँलाई मैले गरेका मेरा मागहरू एक सामान्य मानिसका आवश्यकताहरूमा आधारित छन्। मैले तँलाई पहिले नै मेरा वचनहरू भनिसकेको छु; जबसम्म तैँले ती अभ्यास गर्ने कुरामा ध्यान दिन्छस्, तँ परमेश्‍वरको अभिप्रायहरूसँग अनुरूप हुनेछस्। परमेश्‍वरका वचनहरूभित्र जिउने समय अहिले नै हो। परमेश्‍वरका वचनहरूले सबै कुराको वर्णन गरेका छन्, सबै कुरा स्पष्ट पारिएको छ, र जबसम्म तँ परमेश्‍वरका वचनहरू अनुसार जिउँछस्, तब तैँले पूर्ण रूपमा स्वतन्त्र र मुक्त जीवन जिउनेछस्। विगतमा, जब मानिसहरूले परमेश्‍वरलाई उनीहरूको वास्तविक जीवनमा ल्याउँथे, तिनीहरूले अति धेरै सिद्धान्त र विधिविधानको अभ्यास गरे, र त्यसबाट गुज्रेर गए; यहाँसम्म कि स-साना मामिलाहरूमा पनि उनीहरू प्रार्थना गर्थे र खोजी गर्थे, यस क्रममा स्पष्टसँग बताइएका परमेश्‍वरका वचनहरूलाई पन्साउथे र ती पढ्न बेवास्ता गर्थे। यसको साटो, तिनीहरूले आफ्नो सम्पूर्ण समय खोजी कार्यमा लगाउँथे—फलस्वरूप कुनै परिणाम प्राप्त हुँदैनथ्यो। उदाहरणको लागि, भोजन र लुगाफाटोका विषयहरूलाई लिऊँ: परमेश्‍वरले तेरा लागि सबै कुरा मिलाइदिनुभएको होस् भन्दै तँ प्रार्थना गर्छस् र यी विषयहरूलाई परमेश्‍वरको हातमा राख्छस्। जब परमेश्‍वरले यी शब्दहरू सुन्नुहुन्छ, उहाँले भन्नुहुनेछ: “के मैले आफैलाई यस्ता तुच्छ कुराहरूमा संलग्‍न गर्नु आवश्यक छ? मैले तेरा लागि सृष्टि गरेको सामान्य मानवता र तर्क-शक्ति कहाँ गयो?” कहिलेकहीँ, कसैले उनीहरूको कार्यहरूमा गल्ती गर्दछन्; त्यसपछि तिनीहरू आफूले परमेश्‍वरलाई अप्रसन्न पारेका छन् भनी विश्‍वास गर्छन् र सङ्कोची बन्छन्। कतिपय मानिसका स्थिति धेरै राम्रो हुन्छ, तर जब उनीहरूले कुनै स-साना कामहरू गलत तरिकाले गर्छन्, तिनीहरू परमेश्‍वरले तिनीहरूलाई सजाय दिइरहनुभएको छ भन्‍ने विश्‍वास गर्छन्। वास्तवमा, यो परमेश्‍वरले गर्नुभएको काम हुँदैन, तर मानिसहरूका आफ्नै मनको प्रभाव हो। कहिलेकहीँ, तैंले कसरी अनुभव गरिरहेको कुरामा केही गलत हुँदैन, तर अरूले चाहिँ तैंले सही प्रकारले अनुभव गरिरहेको छैनस् भनी भन्छन्, र त्यसैले तँ पासोमा पर्छस्—तँ आन्तरिक रूपमा नकारात्मक बन्छस्, र अन्धकारमा हुन्छस्। धेरै चोटि, जब मानिसहरू यस प्रकारले नकारात्मक हुन्छन्, तिनीहरूलाई परमेश्‍वरले सजाय दिइरहनुभएको छ भन्‍ने लाग्छ, तर परमेश्‍वर भन्नुहुन्छ: “मैले तँलाई सजाय दिने कुनै काम गरेको छैनँ; तैँले कसरी मलाई त्यसरी दोष दिन सक्छस्?” मानिसहरू सजिलै नकारात्मक बन्छन्। तिनीहरू बारम्बार अति संवेदनशील पनि बन्छन् र प्रायजसो परमेश्‍वरको विषयमा गुनासो गर्दछन्। तैंले त्यस्तो प्रकारले कष्ट भोगेको परमेश्‍वर चाहनुहुन्न, तैपनि तैँले आफैलाई त्यो स्थितिमा पर्न दिन्छस्। त्यस प्रकारको दु:ख भोगाइको कुनै मूल्य हुँदैन। मानिसहरूलाई परमेश्‍वरले गर्नुभएका कामहरूको बारेमा थाहा छैन, र धेरै कुराहरूमा तिनीहरू अनजान हुन्छन् र स्पष्टसँग बुझ्न असमर्थ छन्, त्यसैले तिनीहरू आफ्नै धारणा र कल्पनाहरूमा फस्न थाल्छन्, झन्-झन् गहन रूपमा फस्दै जान्छन्। कतिपय मानिसहरू भन्छन्, कि सबै थोक र विषय परमेश्‍वरको हातमा छन्—त्यसकारण के मानिसहरू नकारात्मक हुँदा परमेश्‍वरलाई थाहा हुँदैन र? अवश्य परमेश्‍वरलाई थाहा हुन्छ। जब तँ मानव धारणामा फस्छस्, तब पवित्र आत्माले तँमा काम गर्ने कुनै उपाय हुँदैन। धेरै चोटि कतिपय मानिसहरू नकारात्मक अवस्थामा फस्छन्, तर म अझै पनि मेरो कामलाई जारी राख्छु। तँ नकारात्मक भए पनि सकारात्मक भए पनि, म तँद्वारा करमा पर्दिनँ—तर मैले बोल्‍ने धेरै वचनहरू र मैले गर्ने धेरै काम मानिसहरूको अवस्थाअनुसार एक-अर्कासँग घनिष्ठ रूपमा सम्बन्धित छन्। जब तँ नकारात्मक हुन्छस्, यसले पवित्र आत्माको काममा बाधा दिँदैन। सजाय र मृत्युको परीक्षाको समयमा, मानिसहरू सबै एक नकारात्मक अवस्थामा फसेका थिए, तर त्यसले मेरो काममा बाधा पुर्‍याएन। जब तँ नकारात्मक थिइस्, पवित्र आत्माले अरूमा गर्नुपर्ने काम गरिरहनुभयो। तैँले एक महिनाको लागि पछि लाग्‍न छोड्न सक्छस्, तर म काम गरिरहन्छु—तैँले वर्तमान वा भविष्यमा जे गरे पनि, यसले पवित्र आत्माको काम रोक्न सक्दैन। कतिपय नकरात्मक स्थितिहरू मानिसको कमजोरीबाट आउँछन्; जब मानिसहरूले साँच्चै परमेश्‍वरका आवश्यकताहरू पूरा गर्न वा तिनलाई बुझ्न सक्दैनौं भन्‍ने ठान्छन्, तब तिनीहरू नकारात्मक बन्छन्। उदाहरणको लागि, सजायको समयमा, परमेश्‍वरका वचनहरूले सजायको बीचमा पनि केही हदसम्म परमेश्‍वरलाई प्रेम गर्ने कुरा बताएको छ, तर मानिसहरूले आफूलाई असक्षम ठाने। तिनीहरूको देहलाई शैतानले अति धेरै गहन रूपले भ्रष्ट पारेकोमा र तिनीहरूका क्षमता अति कमजोर भएकोमा तिनीहरूले विशेष गरी शोक गरे र विलाप गरे। तिनीहरूले आफू त्यस्तो वातावरणमा जन्मेकोमा अति दुःखी महसुस गरे। र कतिपय मानिसहरूलाई आफूले परमेश्‍वरमा विश्‍वास गर्न र परमेश्‍वरलाई चिन्‍नको लागि धेरै ढिलो भएको छ, र तिनीहरू सिद्ध बनाइन अयोग्य छन् भन्‍ने महसुस गरे। यी सबै सामान्य मानव अवस्थाहरू हुन्।

मानिसको देह शैतानको हो, यो विद्रोही स्वभावले भरिएको छ, यो निकै दुःखलाग्दो किसिमको फोहोर छ, र यो अशुद्ध कुरा हो। मानिसहरू देहको मनोरञ्जनको अति नै लोभ गर्दछन् र देहका प्रकटीकरणहरू धेरै छन्; यसैकारण परमेश्‍वरले मानिसको देहलाई केही हदसम्म तुच्छ ठान्नुहुन्छ। जब मानिसहरूले शैतानका फोहोर र भ्रष्ट थोकहरू फ्याँक्छन्, तिनीहरूले परमेश्‍वरको मुक्ति प्राप्त गर्छन्। तर यदि तिनीहरूले अझै आफूलाई फोहोर र भ्रष्टताबाट अलग गर्दैनन् भने, तिनीहरू अझै पनि शैतानको अधिकार क्षेत्रमा जिइरहेका हुन्छन्। मानिसहरूले गर्ने गुप्त सहायता, छलकपट र कुटिलपन सबै शैतानका कुराहरू हुन्। परमेश्‍वरले दिनुहुने मुक्ति तँलाई शैतानका यिनै कुराहरूबाट मुक्त गर्नका निम्ति हो। परमेश्‍वरको काम गलत हुन सक्दैन; यो सबै मानिसहरूलाई अन्धकारबाट मुक्त गर्नका लागि गरिन्छ। जब तैँले एक निश्चित बिन्दुसम्‍म विश्‍वास गरेको छस् र आफूलाई देहको भ्रष्टताबाट अलग गर्न सक्छस्, र अब उप्रान्त यो भ्रष्टताको बन्धनमा रहँदैनस्, तब के तैँले मुक्ति पाएको हुँदैनस् र? जब तँ शैतानको अधिकार क्षेत्रमा जिउँछस् तब तँ परमेश्‍वरलाई प्रकट गर्न असमर्थ हुन्छस्, तँ कुनै फोहोर वस्तु हुन्छस् र परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्। तँलाई शुद्ध पारिएपछि र सिद्ध बनाइएपछि, तँ पवित्र हुनेछस्, तँ एक सामान्य मानिस हुनेछस्, र तैँले परमेश्‍वरबाट आशिष् पाउनेछस् र तँ परमेश्‍वरका निम्ति आनन्दको मानिस बन्‍नेछस्। आज परमेश्‍वरले गर्नुभएको काम मुक्ति हो, र यसबाहेक, यो न्याय, सजाय र सराप हो। यसका धेरै वटा पक्षहरू छन्। तिमीहरू सबैले देख्छौ कि परमेश्‍वरका वाणीहरूमा न्याय र दण्डका साथै सरापहरू पनि छन्। म एउटा प्रभाव हासिल गर्नका लागि, मानिसलाई तिनीहरू आफैलाई चिन्ने बनाउनका लागि बोल्छु, मानिसहरूलाई मार्नका लागि होइन। मेरो हृदय तिमीहरूको हितका लागि हो। बोल्नु मैले कार्य गर्ने एउटा तरिका हो; वचनहरू मार्फत म परमेश्‍वरको स्वभाव व्यक्त गर्दछु र तँलाई परमेश्‍वरको इच्छाबारे बुझाउँछु। तेरो देह मर्न सक्छ, तर तँसँग एउटा आत्मा र एउटा प्राण छ। यदि मानिसहरूमा देह मात्र थियो भने, तिनीहरूको विश्‍वासको कुनै अर्थ हुनेथिएन, न त मैले गरेको यो सब कामको कुनै अर्थ नै हुनेथियो। आज, म एउटा तरिकामा बोल्छु र फेरि अर्को तरिकामा बोल्छु; केही समय म मानिसलाई अत्यन्तै घृणा गर्छु, र केही समय म अत्यन्तै प्रेम गर्छु। म तेरो स्वभावमा परिवर्तन ल्याउन, साथसाथै परमेश्‍वरको कामसम्बन्धी तेरो धारणालाई रूपान्तरण गर्नका लागि यी सब गर्दछु।

आखिरी दिनहरू आइपुगेका छन् र विश्‍वभरिका देशहरू गोलमालमा छन्। राजनीतिक अस्तव्यस्तता छ, जताततै अनिकाल, रूढी, बाढी-पहिरो र खडेरी जताततै देखा परेको छ। मानिसको संसारमा विनाश आएको छ; स्वर्गले पनि विपत्ति पठाएको छ। यी आखिरी दिनका चिन्‍हहरू हुन्। तर मानिसहरूका लागि त, यो संसार भव्य र सानदार छ भन्‍ने देखिन्छ; यो झन्-झन् बढी त्यस्तै हुँदैछ, मानिसहरूका सारा हृदय यसप्रति तानिन्छ, र धेरै मानिसहरू यसमा फसिएका छन् र आफैलाई यसबाट मुक्त गर्न सक्दैनन्; धेरै सङ्ख्याका मानिसहरूलाई चलाकी र जादुगरीमा संलग्‍न हुनेहरूले मोहित तुल्याउनेछन्। यदि तँ प्रगतिको लागि प्रयास गर्दैनस्, आदर्शहरू विहीन छस्, र आफैलाई साँचो मार्गमा बसालेको छैनस् भने, तँलाई पापको बढ्दो छालले बगाइदिनेछ। सबै देशहरूमध्ये चीन सबैभन्दा पछाडिएको देश हो; यो त्यो देश हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्केर बस्छ, यसमा मूर्तिपूजा गर्ने र जादू-मन्‍त्र गर्ने धेरै मानिसहरू छन्, यहाँ धेरै मन्दिरहरू छन्, र यो फोहोर भूतात्माहरू बास बस्‍ने ठाउँ हो। तँ यहीँ जन्मेका थिइस्, तैंले यसद्वारा शिक्षा पाइस् र त्यसको प्रभावमा परिस्; तँ त्यसद्वारा भ्रष्ट पारिएको र सताइएको छस्, तर बिउँझिएपछि तैंले त्यसलाई त्याग्छस् र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन्छस्। यो परमेश्‍वरको महिमा हो, र यसैले कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्‍वरले यत्रो ठूलो काम गर्नुभएको छ, यति धेरै वचनहरू बोल्नुभएको छ, र उहाँले आखिरमा तिमीहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुहुनेछ—यो परमेश्‍वरको व्यवस्थापनको कामको एउटा हिस्सा हो, र तिमीहरू शैतानसँगको परमेश्‍वरको लडाइँका “विजय गरी लुटिएका थोकहरू” हौ। तैँले सत्यलाई जति धेरै बुझ्छस् र तेरो मण्डली जीवन जति राम्रो हुन्छ, त्यो ठूलो रातो अजिङ्गरलाई त्यति नै बढी घुँडा टेकाइन्छ। यी सबै आत्मिक संसारका विषयहरू हुन्—ती आत्मिक संसारका लडाइँहरू हुन्, र जब परमेश्‍वर विजयी हुनुहुनेछ, शैतान लज्जित हुनेछ र ढल्‍नेछ। परमेश्‍वरको कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्‍वर यस्तो वृहत् काम गर्नुहुन्छ र मानिसहरूको यो समूहलाई पूर्ण रूपमा मुक्ति दिनुहुन्छ, ताकि तैँले शैतानको प्रभावबाट मुक्त हुन, पवित्र भूमिमा बस्न, परमेश्‍वरको ज्योतिमा रहन, र ज्योतिको नेतृत्व र अगुवाइ पाउन सक्छस्। अनि त्यसपछि तेरो जीवनको अर्थ हुन्छ। तिमीहरूले जे खान्छौ र पहिरिन्छौ त्यो अविश्‍वासीहरूको भन्दा फरक हुन्छ; तिमीहरूलाई परमेश्‍वरका वचनहरूमा आनन्द लाग्छ, र तिमीहरू अर्थपूर्ण जीवन जिउँछौ—र तिनीहरू कुन कुरामा रमाउँछन्? तिनीहरूले केवल आफ्ना “पुर्ख्यौली सम्पदा” र “राष्ट्रिय भावना” मा आनन्द मनाउँछन्। तिनीहरूसँग मानवताको छाप रत्तीभर पनि हुँदैन! तिमीहरूका वस्त्र, बोलीवचन र कार्यहरू उनीहरूको भन्दा फरक छन्। आखिरमा, तिमीहरू पूर्ण रूपमा फोहोरबाट उम्‍कनेछौ, अब उप्रान्त शैतानको परीक्षाको पासोमा फस्नेछैनौ, र परमेश्‍वरको दैनिक प्रबन्ध प्राप्त गर्नेछौ। तिमीहरू सधैँ सतर्क हुनुपर्दछ। तिमीहरू फोहोर ठाउँमा बसे पनि तिमीहरूलाई फोहोरको दाग लागेको छैन र तिमीहरू परमेश्‍वरको महान् सुरक्षा पाउँदै उहाँको छेउमा बस्‍न सक्छौ। परमेश्‍वरले तिमीहरूलाई पहेँलो देशका सबै मानिसहरू मध्येबाट चुन्नुभएको छ। के तिमीहरू सबैभन्दा धन्य व्यक्तिहरू होइनौ र? तँ एक सृष्टि गरिएको प्राणी होस्—तैँले अवश्य पनि परमेश्‍वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवनको खोजी गर्नुपर्छ। यदि तैँले परमेश्‍वरको आराधना गर्दैनस् तर तेरो आफ्नै फोहोर देहमा जिउँछस् भने, के तँ मानिसको वस्त्र धारण गरेको पशु हुँदैनस् र? तँ एक मानिस भएकोले तैँले आफैलाई परमेश्‍वरका निम्ति समर्पित गर्नुपर्छ र सबै दुःखहरू भोग्नुपर्छ। तँ आज जुन सानो दुःखमा परेको छस् त्यसलाई तैँले खुसी र दृढतासाथ स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो एक अर्थपूर्ण जीवन जिउनुपर्छ। यस संसारमा, मानिसले शैतानको वस्त्र लगाउँछ, शैतानबाट लिएर खान्छ, र शैतानकै फोहोरमा कुल्चीमिल्ची भई त्यसकै हुकुममा रही काम र सेवा गर्दछ। यदि तैँले जीवनको अर्थ बुझ्दैनस् वा साँचो मार्ग प्राप्त गर्दैनस् भने, यस्तो प्रकारले जिउनुको के महत्त्व हुन्छ र? तिमीहरू त्यस्ता मानिसहरू हौ जसले सही मार्गलाई पछ्याउँछन्, जसले सुधारका खोजी गर्छन्। तिमीहरू त्यस्ता मानिसहरू हौ जो ठूला रातो अजिङ्गरको देशमा खडा हुन्छन्, जसलाई परमेश्‍वरले धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?

अघिल्लो: अभ्यास (१)

अर्को: देहधारणको रहस्य (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

विश्‍वासमा, व्यक्तिले वास्तविकतालाई जोड दिनुपर्छ—धार्मिक विधिविधानमा संलग्‍न हुनु विश्‍वास होइन

तैँले कति वटा धार्मिक अभ्यासहरू पालना गर्छस्? तैँले कति पल्ट परमेश्‍वरको वचन विरुद्ध विद्रोह गरेको छस् र आफ्नै बाटोमा हिँडेको छस्? तैँले...

अध्याय १५

परमेश्‍वर देखा पर्ने घटना अघिबाटै सबै मण्डलीहरूमा प्रकट भइसकेको छ। बोल्नुहुने आत्मा नै हुनुहुन्छ; उहाँ प्रचण्ड रूपले फैलिएको आगो हुनुहुन्छ,...

बाइबल सम्बन्धमा (१)

परमेश्‍वरमाथिको विश्‍वासमा बाइबललाई कसरी हेर्नुपर्छ? यो सिद्धान्तको प्रश्‍न हो। हामी किन यो प्रश्‍नबारे कुरा गर्दैछौं? किनकि भविष्यमा...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्