अध्याय १६

म मानिसलाई धेरै कुरा भन्‍न चाहन्छु, मैले उसलाई बताउनुपर्ने धेरै कुरा छन्। तर मानिसमा बुझ्‍ने क्षमताको धेरै नै कमी छ; उसले मैले प्रदान गरेअनुसार मेरा वचनहरूलाई पूर्ण रूपमा बुझ्‍न सक्दैन, र एउटा पक्षलाई मात्रै बुझ्छ, अरू पक्षबारे अनजान रहन्छ। तैपनि म मानिसलाई उसको शक्तिविहीनताको कारण मृत्युदण्ड दिँदिनँ, न त उसको कमजोरीको कारण म शोकमा नै डुब्छु। मानिसले मेरा अभिप्रायहरूलाई नबुझे पनि, सदाझैँ, म मेरो काम गर्छु र बोल्छु मात्रै; जब त्यो दिन आउँछ, मानिसहरूले आफ्नो हृदयको गहिराइबाट मलाई चिन्‍नेछन्, र आफ्‍ना विचारहरूमा मलाई याद गर्नेछन्। जब म यो पृथ्वीबाट प्रस्थान गर्छु, तब म मानिसको हृदयको सिंहासनमा उक्लिने दिन पनि ठीक त्यही नै हुनेछ, भन्‍नुको अर्थ, यो सबै मानिसले मलाई चिन्‍ने दिन हुनेछ। त्यसकारण, यो मेरा पुत्रहरू र मानिसहरूले पृथ्वीमाथि शासन गर्न थाल्‍ने दिन पनि हुनेछ। मलाई चिन्‍नेहरू निश्‍चय नै मेरो राज्यका खम्‍बाहरू बन्‍नेछन्, र मेरो राज्यमा शासन गर्न र शक्ति चलाउनको लागि तिनीहरूबाहेक अरू कोही पनि योग्य हुनेछैनन्। मलाई चिन्‍नेहरू सबैसँग मेरो सारत्व हुन्छ, र तिनीहरू सबै मानिसका बीचमा मेरो अनुरूप जिउन सक्छन्। मानिसले मलाई कुन हदसम्‍म चिन्छ भन्‍ने कुराको मलाई फिक्री छैन: कसैले कुनै पनि हालतमा मेरो कामलाई बाधा गर्न सक्दैन, र मानिसले मलाई कुनै सहयोग गर्न सक्दैन र मेरो लागि उसले केही पनि गर्न सक्दैन। मानिसले मेरो ज्योतिमा मेरो अगुवाइ पछ्याउन, र यो ज्योतिमा मेरो इच्छा खोज्‍न मात्रै सक्छन्। आज, मानिसहरूसँग योग्यताहरू छन्, र तिनीहरूले मेरो अघि घमण्डको साथ खडा हुन, र कुनै रोकटोकविना मसँग हाँसो र ठट्टा गर्न, अनि मलाई उसकै स्तरको मानिसलाई जस्तो सम्‍बोधन गर्न सक्छ भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। अझै पनि मानिसले मलाई चिन्दैन, उसले अझै पनि हामीमा उस्तै प्रकृति छ, हामी दुवै देह र रगत हौं, र हामी दुवै मानव संसारमा जिउँछौं भन्‍ने विश्‍वास गर्छ। उसको हृदयमा मप्रतिको डर निकै कम छ; ऊ मेरो सामुन्ने हुँदा उसले मलाई आदर गर्छ, तर उसले आत्माको अघि मेरो सेवा गर्न सक्दैन। मानौं मानिसको लागि आत्मा अस्तित्वमा नै हुनुहुन्‍न। परिणामस्वरूप, कुनै पनि मानिसले आत्मालाई कहिल्यै चिनेको छैन; मेरो देहधारणमा मानिसहरूले देह र रगतको शरीर मात्रै देख्छन्, र परमेश्‍वरका आत्मालाई बुझ्दैनन्। के यसरी मेरा अभिप्रायहरूलाई साँच्‍चै पूरा गर्न सकिनेछ? मलाई मूर्ख बनाउने कार्यमा मानिसहरू विशेषज्ञ बनेका छन्; मलाई मूर्ख तुल्याउनको लागि तिनीहरूलाई शैतानले विशेष रूपमा तालिम दिएको छ भन्‍ने देखिन्छ। तैपनि म शैतानको बाधामा पर्दिनँ। पृथ्वीमा मेरो राज्य स्थापित गर्न सकियोस् भनेर, सारा मानवजातिलाई जित्‍नको लागि र सारा मानवजातिलाई भ्रष्ट तुल्याउनेलाई पराजय गर्नको लागि म अझै पनि मेरो बुद्धिको प्रयोग गर्नेछु।

मानिसको बीचमा, ताराहरूको आकार वा अन्तरिक्षको आकारलाई निधो गर्न प्रयास गर्नेहरू पनि छन्। तैपनि तिनीहरूको अनुसन्धान कहिल्यै पनि सफल प्रमाणित भएको छैन, र तिनीहरूले बेचैन भई शिर निहुराउने र आफैलाई असफलतामा पार्नेबाहेक केही पनि गर्न सक्दैनन्। सबै मानिसका बीचमा खोजी गरिसकेपछि अनि मानिसका असफलताहरूमा उसको गतिशीलतालाई शिर उठाएर अवलोकन गरिसकेपछि, म मप्रति पूर्ण रूपमा विश्‍वस्त भएको, मेरो आज्ञापालन गर्ने र ममा समर्पित हुने कसैलाई पनि देख्दिनँ। मानिसका महत्त्वाकाङ्क्षाहरू कति अनियन्त्रित छन्! जब गहिराइको सम्पूर्ण अनुहार अँध्यारो थियो, तब मैले मानिसको बीचमा संसारको तीतो स्वाद चाख्न थालेँ। मेरो आत्माले संसारभरि यात्रा गर्छ र सबै मानिसहरूको हृदयलाई नियाल्छ, तैपनि म पनि त्यसरी नै मेरो देहधारी शरीरमा मानवजातिलाई जित्छु। मानिसले मलाई देख्दैन, ऊ अन्धो छ; उसले मलाई चिन्दैन, किनभने ऊ अचेत छ; मानिसले मेरो विरोध गर्छ, किनभने ऊ विद्रोही हो; मानिस मेरो अघि घुँडा टेक्‍न आउँछ, किनभने उसमाथि मैले विजय गरेको छु; मानिसले मलाई प्रेम गर्छ, किनभने म अन्तर्निहित रूपमा नै मानिसको प्रेम पाउन योग्य छु; मानिस मेरो अनुरूप जिउँछ र उसले मेरो प्रकटीकरण गर्छ, किनभने मेरो शक्ति र मेरो बुद्धिले उसलाई मेरा अभिप्रायअनुरूप तुल्याउँछ। मानिसको हृदयमा मेरो निम्ति एउटा ठाउँ छ, तर मैले मानिसको आत्मामा बसेको मानिसबाट मप्रतिको प्रेम कहिल्यै प्राप्त गरेको छैन। मानिसको आत्मामा साँच्‍चै नै उसले अरू सबै कुरालाई भन्दा बढी प्रेम गरेका कुराहरू छन्, तर तीमध्ये म एक होइन, त्यसकारण मानिसको प्रेम साबुनको फिँजजस्तै हो: जब बतास चल्छ, यो फुटेर कहिल्यै नदेखिने गरी हराउँछ। मानिसप्रतिको मेरो मनोवृत्तिमा म सधैँ स्थिर र अपरिवर्तनीय रही आएको छु। के मानवजातिको बीचमा कसैले यस्तै गर्न सक्थ्यो र? मानिसको नजरमा म हावाजस्तै अस्पृश्य र अदृश्य छु, र यही कारणले गर्दा धेरैजसो मानिसले असीमित आकाशमा, वा बटारिएर यताउता चल्‍ने समुद्रमा, वा शान्त तालमा, वा खोक्रा वचन र धर्मसिद्धान्तहरूमा मात्रै खोजी गर्न सक्छन्। मानवजातिको सारलाई जान्‍ने एक व्यक्ति पनि छैन, मभित्रको रहस्यबारे केही भन्‍न सक्‍ने कुनै व्यक्ति हुने कुरा त परै जाओस्, त्यसकारण म मानिसलाई मैले उसको लागि तय गरेको भनी मानिसले कल्‍पना गरेका सबैभन्दा उच्‍च मापदण्डहरू पूरा गर्न लगाउँदिनँ।

मेरा वचनहरूका बीचमा, पहाडहरू ढल्छन्, पानी उल्टो बग्छ, मानिस अधीनमा रहन्छ र तालहरू निरन्तर बग्न थाल्छन्। उर्लिरहेका समुद्रहरू क्रोधित भई आकाशतर्फ उर्लिए पनि, मेरा वचनहरूका बीचमा त्यस्ता समुद्रहरू तालको सतहजस्तै शान्त बन्छन्। मेरो हातको अलिकति इसाराले डरलाग्दा तुफानहरू तुरुन्तै गायब हुन्छन् र मबाट टाढा जान्छन् अनि मानव संसारलाई तुरुन्तै शान्तिमा फर्काइन्छ। तर जब म आफ्नो रिस पोख्छु, तब पहाडहरू तुरुन्तै टुक्राटुक्रा हुन्छन्, जमिन तुरुन्तै हल्लिन थाल्छ, पानी तुरुन्तै सुक्छ र मानिस तुरुन्तै प्रकोपद्वारा घेरिन्छ। म आफ्नो रिसका कारण, मानिसका चिच्याहटहरूलाई वास्ता गर्दिनँ, उसको पुकाराको जवाफमा कुनै सहायता प्रदान गर्दिनँ, किनभने मेरो रिस बढिरहेको छ। म स्वर्गहरूमाझ हुँदा, ताराहरू मेरो उपस्थितिका कारण कहिल्यै आतङ्कमा परेका छैनन्। बरु, तिनीहरू मेरा लागि आफ्नो काममा आफ्नो सम्पूर्ण हृदय र शक्ति लगाउँछन् र त्यसैले म तिनीहरूलाई अझ बढी ज्योति प्रदान गर्छु र तिनीहरूलाई अझ चहकिला रूपमा चम्कन लगाउँछु, ताकि तिनीहरूले मेरा लागि अझ बढी महिमा प्राप्त गरून्। स्वर्गहरू जति उज्यालो हुन्छन्, तलको संसार त्यति नै अँध्यारो हुन्छ। यतिका धेरै मानिसले मेरा प्रबन्धहरू अनुपयुक्त छन् भनी गुनासो गरेका छन्, धेरैले आफ्नै राज्य बनाउन मलाई छाडेका छन्, जसलाई प्रयोग गरेर तिनीहरू मलाई धोका दिन्छन् र अन्धकारको स्थितिलाई उल्टाउँछन्। तैपनि कसले आफ्नो सङ्कल्पद्वारा यो हासिल गरेको छ र? अनि को आफ्नो सङ्कल्पमा सफल भएको छ र? मेरो हातद्वारा प्रबन्ध गरिएको कुरालाई कसले उल्टाउन सक्छ र? जब भूमिभरि वसन्त छाउँछ, म गोप्य र शान्त रूपमा संसारमा ज्योति पठाउँछु, ताकि पृथ्वीमा, मानिसले हावामा अचानक ताजगीको महसुस गरोस्। तर ठिक त्यही क्षण, म मानिसका आँखाहरूलाई धूमिल पारिदिन्छु, ताकि उसले कुहिरोले जमिनलाई ढाकिरहेको मात्र देखोस् अनि सबै मानिस र कुरा अस्पष्ट होऊन्। मानिसहरूले गर्न सक्ने भनेकै आफैमा सुस्केरा हाल्ने र यस्तो सोच्ने मात्र हो, “ज्योति किन एक क्षणका लागि मात्र रह्यो? परमेश्‍वर मानिसलाई किन कुहिरो र धमिलोपन मात्र दिनुहुन्छ?” मानिसहरूको निराशाबीच, कुहिरो तुरुन्तै हराउँछ तर जब तिनीहरू अचानक ज्योतिको एउटा झिल्को देख्छन्, तब म तिनीहरूमाथि मुसलधारे वर्षा बर्साउँछु र तिनीहरू सुतिरहेको बेला चट्याङले तिनीहरूको कानको जाली फुटाइदिन्छ। आतङ्कित बनेका तिनीहरूले ओत लाग्ने समय पाउँदैनन् र तिनीहरू मुसलधारे वर्षाद्वारा घेरिन्छन्। एकै क्षणमा, स्वर्गमुनिका यावत् थोक मेरो क्रोधद्वारा पखालिएर सफा हुन्छन्। मानिसहरू अब भारी वर्षा हुनेबारे गुनासो गर्दैनन् र तिनीहरू सबैमा डर मान्‍ने हृदयको जन्म हुन्छ। यो अचानक आएको वर्षाका कारण, अधिकांश मानिस आकाशबाट वर्षेको पानीमा डुब्छन् र पानीमा लास बन्छन्। म सम्पूर्ण पृथ्वीको गहन जाँच गर्छु र धेरै जना जागा रहेका, धेरै जना पश्चात्ताप गरिरहेका, धेरै जना स-साना डुङ्गाहरू चढेर पानीको स्रोत खोजिरहेका, धेरै जना मेरो क्षमा माग्न मलाई ढोगिरहेका, धेरैले ज्योति देखेका, धेरैले मेरो मुहार देखेका, धेरैमा जिउने साहस भएको र सम्पूर्ण संसार रूपान्तरित भएको देख्छु। यो ठूलो मुसलधारे वर्षापछि, यावत् थोक मेरो मनमा जस्ता थिए त्यस्तै अवस्थामा फर्केका छन् र ती अब विद्रोही छैनन्। केही समय नबित्दै, सम्पूर्ण भूमि हाँसोको आवाजले भरिन्छन्, पृथ्वीमा जताततै प्रशंसाको वातावरण छाएको हुन्छ र मेरो महिमा नभएको कुनै ठाउँ हुँदैन। मेरो बुद्धि पृथ्वीमा चारैतिर र सम्पूर्ण ब्रह्माण्डभरि पाइन्छ। यावत् थोकमाझ मेरो बुद्धिका फलहरू हुन्छन्, असङ्ख्य मानिसमाझ मेरो बुद्धिका उत्कृष्ट कृतिहरू प्रशस्त हुन्छन्; सबथोक मेरो राज्यका यावत् थोकजस्तै हुन्छन् र सबै मानिस मेरा खर्कहरूका भेडाहरूजस्तै मेरा स्वर्गहरूमुनि विश्राममा बस्छन्। म असङ्ख्य मानिसमाथि हिँड्छु र चारैतिर हेरिरहेको हुन्छु। कुनै पनि कुरा कहिल्यै पुरानो देखिँदैन र कुनै पनि व्यक्ति पहिलेको जस्तो हुँदैन। म सिंहासनमा विश्राम गर्छु, म सम्पूर्ण ब्रह्माण्डमाथि ढल्किन्छु र म पूर्ण रूपमा सन्तुष्ट हुन्छु, किनभने यावत् थोकले आफ्नो पवित्रता पुनः प्राप्त गरेका हुन्छन् र म फेरि एकपटक शान्तिपूर्वक सियोनभित्र बस्न सक्छु अनि पृथ्वीका मानिसहरू फेरि एकपटक शान्ति र सन्तुष्टिका साथ मेरो मार्गदर्शनमा जिउन र काम गर्न सक्छन्। मेरो पकडभित्र, मेरा असङ्ख्य मानिस सबथोकको व्यवस्थापन गरिरहेका हुन्छन्। तिनीहरूले पहिलेको आफ्नो बौद्धिकता र मौलिक रूप पुनः प्राप्त गरेका हुन्छन्; तिनीहरू अब धुलोले ढाकिएका हुँदैनन्, बरु, मेरो राज्यमा रत्नजस्तै पवित्र हुन्छन्, हरेकको अनुहार मानिसको हृदयभित्रको पवित्र जनको जस्तै हुन्छ, किनभने मेरो राज्य मानिसमाझ स्थापित भएको छ।

मार्च १४, १९९२

अघिल्लो: अध्याय १५

अर्को: अध्याय १७

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्