अध्याय १५

मानिसहरू सबै आत्म-ज्ञानको कमी भएका प्राणी हुन्, र तिनीहरू आफूलाई चिन्न सक्दैनन्। तैपनि, तिनीहरू अरू सबैलाई आफ्नो हत्केलाजस्तै छर्लङ्गै चिन्छन्, मानौँ अरूले गरेका र भनेका सबै कुरा पहिले उनीहरूकै अगाडि तिनीहरूद्वारा “निरीक्षण” गरिएका हुन्, र गरिनुअघि उनीहरूको स्वीकृति प्राप्त गरिएको हो। फलस्वरूप, यस्तो लाग्छ कि तिनीहरूले अरू सबैलाई उनीहरूको मनोवैज्ञानिक स्थितिसम्म पूर्ण मापन गरेका छन्। मानवजाति सबै यस्तै हुन्छन्। आज तिनीहरू राज्यको युगमा प्रवेश गरेका भए पनि, तिनीहरूको प्रकृति अपरिवर्तित नै रहेको छ। तिनीहरू अझै पनि मेरो अगाडि म जे गर्छु त्यही गर्छन्, जबकि मेरो पिठ्युँ पछाडि तिनीहरू आफ्नै अनौठो “काम” गर्न थाल्छन्। तर, पछि, मेरो अगाडि आउँदा, तिनीहरू पूर्ण रूपमा अर्कै मानिस जस्ता देखिन्छन्, जो स्पष्ट रूपमा शान्त र निडर हुन्छन्, जसको शान्त मुद्रा र स्थिर धड्कन हुन्छ। के मानिसहरूलाई यति घृणास्पद बनाउने ठ्याक्कै यही कुराले होइन र? अति धेरै मानिस दुइटा पूर्ण रूपमा फरक अनुहार बोकेर हिँड्छन्—एउटा मेरो अगाडि हुँदा, र अर्को मेरो पिठ्युँ पछाडि हुँदा। तिनीहरूमध्ये धेरै जना मेरो अगाडि हुँदा भर्खरै जन्मेका थुमाजस्तै व्यवहार गर्छन्, तर मेरो पिठ्युँ पछाडि हुँदा, तिनीहरू हिंस्रक बाघमा परिणत हुन्छन् र पछि डाँडाकाँडामा खुसीले उडिहिँड्ने साना चराचुरुङ्गीजस्तै व्यवहार गर्छन्। धेरैले मेरो अगाडि उद्देश्य र सङ्कल्प देखाउँछन्। धेरै जना तृष्णा र अभिलाषा बोकेर मेरा वचनहरू खोज्दै मेरो अगाडि आउँछन्, तर मेरो पिठ्युँ पछाडि हुँदा, तिनीहरू तीप्रति वितृष्ण महसुस गर्छन् र तिनलाई परित्याग गर्छन्, मानौँ मेरा वाणीहरू बोझ हुन्। कैयौँ पटक, मानवजातिलाई मेरो शत्रुद्वारा भ्रष्ट तुल्याइएको देखेपछि, मैले मानिसहरूमा आफ्नो आशा राख्न छोडेको छु। कैयौँ पटक, तिनीहरू रुँदै मेरो अगाडि क्षमा माग्न आएको देखेपछि पनि, तिनीहरूको आत्म-सम्मानको कमी र हठी ढिठ्याइँका कारणले गर्दा, तिनीहरूसँग साँचो हृदय र सच्चा अभिप्रायहरू हुँदाहुँदै पनि, मैले रिसमा तिनीहरूका कार्यहरूप्रति आँखा चिम्लेको छु। कैयौँ पटक, मैले मसँग सहकार्य गर्न पर्याप्त आत्मविश्‍वास बोकेका मानिसहरू देखेको छु, जो, मेरो अगाडि हुँदा, मेरो अँगालोमा बसेर यसको न्यानोपनको स्वाद लिइरहेका जस्ता देखिन्छन्। कैयौँ पटक, मेरा चुनिएका मानिसहरूको निर्दोषता, जीवन्तता, र प्यारोपन देखेर, म कसरी यी कुराहरूका कारणले निकै प्रसन्न नहुन सक्छु र? मानवजातिलाई मेरो हातमा रहेका तिनीहरूका पूर्वनियोजित आशिष्‌हरूमा कसरी आनन्द लिने भन्‍ने थाहा हुँदैन, किनभने तिनीहरू “आशिष्‌” वा “दुःख” को अर्थ ठ्याक्कै के हो भन्ने बुझ्दैनन्। त्यसकारण, मानिसहरू मलाई साँचो रूपमा पछ्याउँदैनन्। यदि भोलिको अस्तित्व नहुने हो भने, तिमीहरूमध्ये को चाहिँ मेरो उपस्थितिमा हिउँजस्तै शुद्ध र जेडजस्तै निष्खोट हुनेथियो? के मप्रतिको तेरो प्रेमलाई एउटा स्वादिष्ट भोजन, उच्चस्तरीय कपडा, वा उच्च पद वा मोटो तलबसँग साट्न सकिन्छ र? के यसलाई तँलाई अरूले गर्ने प्रेमसँग साट्न सकिन्छ र? के वास्तवमा परीक्षाहरूको भोगाइले गर्दा मानिसहरूले मप्रतिको प्रेम त्याग्ने हुन सक्छ? अथवा दुःख र सङ्कष्टहरूले गर्दा तिनीहरू मेरा प्रबन्धहरूबारे गुनासो गर्न सक्छन्? मेरो मुखमा भएको धारिलो तरवारलाई कसैले कहिल्यै साँचो रूपमा अनुभव गरेको छैन: तिनीहरू साँचो रूपमा यसको साँचो अर्थलाई नबुझी यसको सतही अर्थ मात्र जान्दछन्। यदि मानवजातिले साँच्चै मेरो तरवारको धारिलोपन देख्न सक्ने भए, तिनीहरू मुसाजस्तै भागेर आफ्नो दुलोमा पस्नेथिए। तिनीहरूको बोधोपनका कारणले गर्दा, मानिसहरू मेरा वचनहरूको साँचो अर्थ केही पनि बुझ्दैनन्, र त्यसैले तिनीहरूलाई मेरा वाणीहरू कति शक्तिशाली छन् वा तिनले मानव प्रकृतिलाई कति चाहिँ खुलासा गर्छन् र ती वचनहरूद्वारा तिनीहरूको आफ्नै भ्रष्टताको कति न्याय गरिएको छ भन्‍ने थाहा हुँदैन। यसरी, मेरा वचनहरूबारे तिनीहरूको अपूरो बुझाइको परिणामस्वरूप, धेरैजसो मानिसले उत्साहहीन मनोवृत्ति अपनाएका छन्।

राज्यभित्र, मेरो मुखबाट निस्केका वाणीहरू मात्र होइन, मेरा पाउहरू पनि समस्त भूमिहरूमा सर्वत्र औपचारिक रूपमा हिँड्छन्। यसरी, मैले सबै अशुद्ध र फोहोरी ठाउँहरूलाई विजय गरेको छु, यसरी स्वर्ग मात्र परिवर्तन भइरहेको छैन, पृथ्वी पनि परिवर्तनको प्रक्रियामा छ, र पछि नवीकरण हुनेछ। ब्रह्माण्डभित्र, इन्द्रियहरूलाई आनन्दित र मानिसहरूलाई प्रफुल्लित पार्ने हृदयस्पर्शी पक्ष प्रस्तुत गर्दै, हरेक वस्तु मेरो महिमाको चमकमा नयाँ जस्तै गरी चम्कन्छ, मानौँ यो अहिले शैतानद्वारा बाधा नपारिएको अवस्थामा र बाहिरी शत्रुको आक्रमणबाट स्वतन्त्र रही मानव कल्पनामा पैदा भएका आकाशहरूभन्दा माथिको स्वर्गमा अवस्थित छ। ब्रह्माण्डको सबैभन्दा माथिल्लो ठाउँमा, मेरो आदेशमा असङ्ख्य ताराहरूले आफ्‍ना तोकिएका स्थानहरू लिन्छन्, अन्धकारको घडीमा ताराहरूका क्षेत्रहरूमा आफ्नो ज्योति फैलाउँछन्। कुनै पनि प्राणीले आज्ञा नमान्‍ने विचारहरू मनमा राख्‍ने हिम्मत गर्दैन, र यसरी, मेरा प्रशासनिक आदेशहरूको सारको कारण सम्पूर्ण ब्रह्माण्ड राम्रोसँग सञ्‍चालित र व्यवस्थित हुन्छ: कहिल्यै पनि कुनै बाधा उत्पन्‍न भएको छैन, न त ब्रह्माण्ड कहिल्यै विभाजन नै भएको छ। म ताराहरूभन्दा माथि उड्दै उफ्रन्छु, र जब सूर्यले आफ्ना किरणहरू छर्छ, मेरो हातबाट हाँसका प्वाँखहरू जत्रा हिउँका कणहरूको ठूलो वर्षा गराएर म तिनीहरूको न्यानोपन मेटाइदिन्छु। तैपनि जब म मेरो मन परिवर्तन गर्छु, ती सबै हिउँ पग्लेर नदी बन्छ, र एकै क्षणमा आकाशहरूमुनि सबै ठाउँमा वसन्त आएको हुन्छ र जीवन्त हरियालीले पृथ्वीको सम्पूर्ण दृश्यलाई रूपान्तरण गरेको हुन्‍छ। म आकाशभन्दा माथि जान्छु, र तुरुन्तै मेरो स्वरूपको कारण पृथ्वीलाई अत्यन्तै कालो अन्धकारले ढाक्छ: चेतावनीविना “रात” आइपुगेको हुन्‍छ, र संसारभरि यति अँध्यारो हुन्छ कि कसैले आफ्नो अनुहारको अघि आफ्नै हातसमेत देख्‍न सक्दैन। ज्योति निभेपछि, यस मौकाको फाइदा उठाउँदै, मानिसहरूले एकअर्कोलाई नाश पार्छन्, र एकअर्कोबाट खोस्दै र लुट्दै आपसी विनाशको हिंसात्मक कार्य गर्छन्। पृथ्वीका राष्ट्रहरू अस्तव्यस्त विखण्डनमा पर्छन् र धूमिल अशान्तिको स्थितिमा प्रवेश गर्छन् र अन्ततः ती सबै कुनै पनि छुटकारा पाउनै नसक्‍ने अवस्थामा पुग्छन्। मानिसहरू आफ्नो पीडामाझ दुःख, विलाप र छटपटीको सास्तीसँग सङ्घर्ष गर्छन् र वेदनामा दयनीय रूपले विलौना गर्छन्, र मानिसको संसारमा एकचोटि फेरि अचानक ज्योति आओस् र यसरी अन्धकारका दिनहरू समाप्त होऊन् र पहिले एकचोटि अस्तित्वमा रहेको त्यो शक्ति पुनर्स्थापित होस् भन्‍ने इच्छा गर्छन्। तैपनि, मैले मेरा बाहुला झट्कारेर मानवजातिलाई छोडेको धेरै भइसक्यो, संसारका गल्तीहरूका लागि म फेरि कहिल्यै तिनीहरूलाई दया देखाउनेछैनँ: मैले धेरै अघि नै सम्पूर्ण पृथ्वीका मानिसहरूलाई तिरस्कार गरेको छु, त्यहाँका अवस्थाहरूप्रति मेरा आँखाहरू चिम्लेको छु, मानवताको हरेक चाल र हाउभाउबाट मेरो अनुहार अर्कोतिर फर्काएको छु, र यसको अपरिपक्‍वता र निर्दोषताप्रति प्रसन्‍न हुन छोडेको छु। म संसारलाई फेरि नयाँ बनाउने अर्को योजनामा लागेको छु, ताकि यो नयाँ संसारको चाँडै नै पुनर्जन्म हुन सकोस्, र यो फेरि कहिल्यै नडुबोस्। मानवजातिमाझ, यस्ता धेरै विराना राज्यहरू छन् जो मैले तिनीहरूलाई सही तुल्याऊँ भन्‍ने प्रतीक्षामा छन्, र यस्ता धेरै गल्तीहरू छन् जसलाई मैले व्यक्तिगत रूपले रोक्‍नुपर्छ, अनि मैले बढार्नुपर्ने धूलो अधिक छ, र मैले खुलासा गर्नुपर्ने रहस्यहरू कैयौँ छन्। सारा मानवजाति मेरो प्रतीक्षामा छ, र मेरो आगमनको तृष्णा गरिरहेको छ।

पृथ्वीमा, म मानिसहरूको हृदयमा वास गर्ने व्यावहारिक परमेश्‍वर स्वयम् हुँ; स्वर्गमा, म यावत् थोकको सार्वभौम हुँ। मैले पहाडहरू चढेको छु र नदीहरू तरेको छु, र म मानिसहरूबीच बतासजस्तै हिँडेको छु। व्यावहारिक परमेश्‍वर स्वयम्‌लाई खुलेआम विरोध गर्ने आँट कसले गर्छ? सर्वशक्तिमान्‌को सार्वभौमिकताबाट उम्कने आँट कसले गर्छ? म निस्सन्देह स्वर्गमा छु भनेर दाबी गर्ने आँट कसले गर्छ? यसबाहेक, म निर्विवाद रूपमा पृथ्वीमा छु भनेर दाबी गर्ने आँट कसले गर्छ? मानिसहरूबीच म कहाँ छु भनेर स-विस्तार बताउन सक्ने कोही पनि छैन। म स्वर्गमा हुँदा अलौकिक परमेश्‍वर स्वयम् हुँ, र म पृथ्वीमा हुँदा व्यावहारिक परमेश्‍वर स्वयम् हुँभन्ने हुन सक्छ र? निश्‍चय नै, म व्यावहारिक परमेश्‍वर स्वयम् हुँ कि होइन भन्‍ने कुरा म यावत् थोकको सार्वभौम भएको कारणबाट वा मैले मानव संसारका कष्टहरू भोग्ने तथ्यबाट निर्धारण गर्न सकिँदैन, सकिन्छ र? यदि त्यसो हुन्थ्यो भने, के मानिसहरू कुनै आशा नरहने गरी अज्ञानी हुनेथिएनन् र? म स्वर्गमा छु, तर म पृथ्वीमा पनि छु; म यावत् थोकबीच छु, र असङ्ख्य मानिसबीच पनि छु। मानिसहरू हरेक दिन मेरो सम्पर्कमा आउन सक्छन्; यसबाहेक, तिनीहरू मलाई हरेक दिन देख्न सक्छन्। जहाँसम्म मानिसको सवाल छ, म कहिले लुकेको र कहिले सदृश्‍य भएको जस्तो देखिन्छु; म वास्तवमा अस्तित्वमा भएजस्तो देखिन्छु, तैपनि म अस्तित्वमा नभएजस्तो पनि देखिन्छु। ममा मानिसले बुझ्‍न नसक्ने रहस्यहरू निहित छन्। मानौँ सबै मानिस ममा अझ धेरै रहस्य पत्ता लगाउनका लागि, र त्यसद्वारा आफ्नो हृदयमा भएको त्यो असहज भावना हटाउने आशा गर्दै माइक्रोस्कोपबाट मलाई चियाएर हेरिरहेका छन्। तर, तिनीहरूले एक्स-रे नै प्रयोग गरे पनि, मसँग भएका कुनै पनि रहस्यहरू तिनीहरू कसरी उजागर गर्न सक्छन् र?

मेरो कामको परिणामस्वरूप, मेरा मानिसहरूले मसँगसँगै महिमा प्राप्त गर्ने क्षणमा, ठूलो रातो अजिङ्गरको ओडार पत्ता लगाइनेछ, सबै हिलो हटाएर सफा गरिनेछ, र कैयौँ वर्षदेखि जमेको सबै प्रदूषित पानी अबउप्रान्त अस्तित्वमै नरहने गरी मेरो दन्केको आगोमा सुकिजानेछ। त्यसपछि, ठूलो रातो अजिङ्गर आगो र गन्धकको कुण्डमा नष्ट हुनेछ। के तिमीहरू त्यो अजिङ्गरले तिमीहरूलाई खोसेर नलैजाओस् भनी साँच्‍चै मेरो प्रेमिलो हेरचाहमुनि रहिरहन इच्छुक छौ? के तिमीहरू साँच्‍चै त्यसका युक्तिहरूलाई घृणा गर्छौ? कसले मेरो लागि बलियो साक्षी दिन सक्छ? मेरो नाउँका खातिर, मेरो आत्माका खातिर, र मेरो सम्पूर्ण व्यवस्थापनको योजनाका खातिर, कसले आफ्ना सबै सामर्थ्यको बलि चढाउन सक्छ? आज, राज्य मानव संसारमा छ, र यो म व्यक्तिगत रूपमै मानिसको संसारमा ओर्लेको समय हो। यदि त्यस्तो नभएको भए, के कोही अलिकति पनि डर नमानी मेरो पक्षबाट लडाइँको मैदानमा उत्रिन सक्थ्यो र? राज्यले आकार लिओस्, मेरो हृदय सन्तुष्ट होस्, अनि त्यसबाहेक, मेरो दिन आओस्, यावत् थोकहरू पुनर्जीवित हुने र प्रशस्त मात्रामा बढ्ने समय आओस्, मानिसहरूलाई दुःखको समुद्रबाट उद्धार गर्न सकियोस्, भोलिको दिन आओस् र यो अद्भुत होस्, फलोस् र फुलोस्, र त्यसबाहेक, भविष्यको आनन्द पूरा हुन सकोस् भनेर, सबै मानिस आफ्नो पूरा शक्तिका साथ सङ्घर्ष गरिरहेका छन्, र मेरो लागि आफ्नै बलि चढाउन कुनै कसर बाँकी राखेका छैनन्। के यो मा विजयी भइसकेको छु भन्‍ने कुराको सङ्केत होइन र? के यो मेरो योजनाको समाप्तिको निसान होइन र?

आखिरी दिनहरूमा जति धेरै मानिसहरू अस्तित्वमा हुन्छन्, तिनीहरूले संसारको शून्यता त्यति नै धेरै महसुस गर्नेछन्, र उनीहरूसित जीवन जिउने साहस त्यति नै थोरै हुनेछ। यस कारणले गर्दा, अनगिन्ती मानिसहरू निराश भएर मरेका छन्, अरू असङ्ख्य मानिसहरूले आफ्‍नो खोजमा हरेस खाएका छन्, र अरू अनगिन्ती मानिसहरूले शैतानको हातको नियन्त्रणमा पीडा भोगिरहेका छन्। मैले धेरै मानिसहरूलाई बचाएँ र तीमध्ये धेरैलाई सहयोग गरेँ, र मानिसहरूले ज्योति गुमाएको बेला धेरैपटक मैले तिनीहरूलाई ज्योतिको ठाउँमा फर्काएर ल्याएको छु, ताकि तिनीहरूले मलाई ज्योतिमा चिनून् र खुसीले ममा रमाऊन्। मेरो ज्योति आएको कारण, मेरो राज्यमा बसोबास गर्ने मानिसहरूका हृदयमा भक्ति बढ्छ, किनकि म मानवजातिले प्रेम गर्नुपर्ने परमेश्‍वर हुँ—त्यो परमेश्‍वर हुँ, जोसँग मानिसहरू स्‍नेहसाथ जोडिन्छन्—अनि, तिनीहरू मेरो स्वरूपको प्रभावको छापद्वारा भरिएका हुन्छन्। यद्यपि, सबै कुरा भनिसकिएपछि र गरिसकिएपछि, यो आत्माको काम हो कि देहको काम हो भनेर बुझ्ने कोही हुँदैन। यो एउटा कुरा पूर्ण रूपमा अनुभव गर्न मानिसहरूलाई जीवनभरिको समय लाग्छ। मानिसहरूले तिनीहरूका हृदयभित्रका स्थानहरूमा मलाई कहिल्यै पनि तुच्छ ठानेका छैनन्; बरु तिनीहरू आफ्ना आत्माको गहिराइमा मसँग टाँसिइरहन्छन्। मेरो बुद्धिले उनीहरूको प्रशंसा बढाउँछ, मैले गर्ने आश्‍चर्यकर्महरू तिनीहरूका आँखाका तृप्ति हुन्, र मेरा वचनहरूले तिनीहरूको दिमाग घुमाउँछ, तैपनि तिनीहरूले तिनलाई प्रेमपूर्वक सम्हालेर राख्छन्। मेरो व्यावहारिकताले मानिसहरूलाई अन्योल तुल्याउँछ, अवाक् बनाउँछ र छक्‍क पार्छ, र तापनि तिनीहरू तिनलाई स्वीकार्न तयार हुन्छन्। के यो मानिसहरू जस्ता छन् त्यसको सही मापन होइन र?

मार्च १३, १९९२

अघिल्लो: अध्याय १४

अर्को: अध्याय १६

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्