सच्चा हृदयका साथ परमेश्वरप्रति समर्पित हुनेहरूलाई अवश्य पनि परमेश्वरले प्राप्त गर्नुहुनेछ
पवित्र आत्माको काम दिन-प्रतिदिन परिवर्तन हुन्छ। हरेक चरणसँगै यो अझ माथि उठ्छ, आजको भन्दा भोलिको प्रकाश अझ उच्च हुन्छ, र यो एकपछि अर्को चरण गर्दै निरन्तर अझ माथि चढ्दै जान्छ। परमेश्वरले मानिसलाई यस्तै कामद्वारा सिद्ध पार्नुहुन्छ। यदि मानिसहरूले गति समाउन सकेनन् भने, तिनीहरू कुनै पनि समयमा हटाइन सक्छन्। यदि तिनीहरूमा समर्पणको हृदय छैन भने, तिनीहरूले अन्त्यसम्म पछ्याउन सक्नेछैनन्। अघिल्लो युग बितिसकेको छ; यो नयाँ युग हो। अनि नयाँ युगमा, नयाँ काम गरिनुपर्छ। विशेष गरी मानिसहरूलाई सिद्ध पारिने अन्तिम युगमा, परमेश्वरले अझ नयाँ काम, अझ छिटो गर्नुहुनेछ, त्यसैले यदि मानिसहरू जानी-जानी समर्पित भएनन् भने, तिनीहरूलाई परमेश्वरका पदचापहरू पछ्याउन गाह्रो हुनेछ। परमेश्वर कुनै पनि प्रावधान पालन गर्नुहुन्न, न त उहाँ आफ्नो कामको कुनै पनि चरणलाई सधैँभरि अपरिवर्तनीय रूपमा नै लिनुहुन्छ। बरु, उहाँ निरन्तर अझ नयाँ र अझ उच्च काम गर्नुहुन्छ। हरेक चरणसँगै, उहाँको काम झन्-झन् व्यावहारिक, र मानिसका खास आवश्यकताहरूसँग झन्-झन् मिल्दो बन्दै जान्छ। यस्तो कामको अनुभव गरेर मात्र मानिसहरूले आफ्नो स्वभावको अन्तिम रुपान्तरण हासिल गर्न सक्छन्। जीवनसम्बन्धी मानिसको ज्ञान अझ उच्च स्तरहरूमा पुग्छ, र त्यसै गरी, परमेश्वरको काम पनि अझ उच्च स्तरहरूमा पुग्छ। यसरी मात्र मानिसलाई सिद्ध पार्न सकिन्छ र ऊ परमेश्वरको निम्ति प्रयोगयोग्य बन्न सक्छ। परमेश्वर एकातिर मानिसका धारणाहरूलाई खण्डन गर्न र उल्टाउन, र अर्कोतिर मानिसलाई अझ उच्च र अझ व्यावहारिक स्थितिमा, परमेश्वरप्रतिको विश्वासको सर्वोच्च क्षेत्रमा पुर्याउन यस तरिकाले काम गर्नुहुन्छ, ताकि अन्त्यमा, परमेश्वरको इच्छा पूरा गर्न सकियोस्। जानी-जानी विरोध गर्ने विद्रोही प्रकृतिका सबैलाई परमेश्वरको कामको यो द्रुत र शक्तिशाली चरणद्वारा हटाइनेछ; जो जानी-जानी समर्पित हुन्छन् र खुसीसाथ विनम्र बन्छन् तिनीहरू मात्र बाटोको अन्त्यसम्म अघि बढ्न सक्छन्। यस प्रकारको काममा, तिमीहरू सबैले कसरी समर्पित हुने र आफ्ना धारणाहरूलाई कसरी पन्छाउने भनी सिक्नुपर्छ। तिमीहरू आफूले चाल्ने हरेक कदममा सतर्क हुनुपर्छ। यदि तिमीहरू लापरवाह भयौ भने, तिमीहरू पक्कै पनि पवित्र आत्माद्वारा तिरस्कार गरिने, परमेश्वरको काममा अवरोध गर्ने व्यक्ति बन्नेछौ। कामको यस चरणबाट गुज्रनुअघि, मानिसका पुराना प्रावधान र नियमहरू यति असङ्ख्य थिए कि ऊ बहकियो, र अभिमानी बन्यो अनि उसले आफैलाई बिर्सियो। यी सबै बाधाहरू हुन् जसले मानिसलाई परमेश्वरको नयाँ काम स्वीकार गर्नबाट रोक्छन्; ती परमेश्वरसम्बन्धी मानिसको ज्ञानका शत्रु हुन्। मानिसहरूसँग न त हृदयमा समर्पण हुनु न त सत्यताको उत्कट चाहना हुनु खतरनाक कुरा हो। यदि तँ सरल काम र वचनहरूप्रति मात्र समर्पित हुन्छस्, र अझ गहन कुराहरू स्वीकार गर्न असक्षम छस् भने, तँ पुराना तरिकाहरूमा टाँसिने र पवित्र आत्माको कामको गति समाउन नसक्ने व्यक्ति होस्। परमेश्वरले गर्नुहुने काम युगअनुसार फरक पर्छ। यदि तँ एउटा चरणमा परमेश्वरको कामप्रति राम्ररी समर्पित हुन्छस्, तर अर्को चरणमा उहाँको कामप्रति तेरो समर्पण कमजोर हुन्छ, वा तँ समर्पित हुन असक्षम हुन्छस् भने, परमेश्वरले तँलाई त्याग्नुहुनेछ। परमेश्वरले यो कदम चाल्नुहुँदा तँ उहाँको गति समाउँछस्, र उहाँ अर्को कदममा उक्लनुहुँदा पनि तैँले निरन्तर गति समाउनुपर्छ; तब मात्र तँ पवित्र आत्माप्रति समर्पित व्यक्ति बन्नेछस्। तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तँ आफ्नो समर्पणमा स्थिर रहनैपर्छ। तैँले मन लाग्दा मात्रै समर्पित हुने र मन नलाग्दा समर्पित नहुने गर्न मिल्दैन। यस प्रकारको समर्पणलाई परमेश्वरले अनुमोदन गर्नुहुन्न। यदि तँ नयाँ कामका बारेमा मेरो सङ्गतिको गति समाउन सक्दैनस्, र अघिल्ला भनाइहरूलाई नै पक्रिरहन्छस् भने, तेरो जीवनमा कसरी प्रगति हुन सक्छ? परमेश्वरको काम भनेको उहाँका वचनहरूमार्फत तँलाई आपूर्ति गर्नु हो। जब तँ उहाँका वचनहरूप्रति समर्पित हुन्छस् र तिनलाई स्वीकार गर्छस्, तब पवित्र आत्माले पक्कै पनि तँमा काम गर्नुहुनेछ। म जसरी बोल्छु पवित्र आत्माले ठीक त्यसरी नै काम गर्नुहुन्छ; मैले भनेजस्तै गर्, अनि पवित्र आत्माले तुरुन्तै तँमा काम गर्नुहुनेछ। म तिमीहरूलाई हेराउनका लागि नयाँ प्रकाश जारी गर्छु, तिमीहरूलाई वर्तमानको प्रकाशमा ल्याउँछु, अनि जब तँ यो प्रकाशमा प्रवेश गर्छस्, तब पवित्र आत्माले तुरुन्तै तँमा काम गर्नुहुनेछ। कतिपयले अवज्ञाकारी भएर यसो भन्न सक्छन्, “म तपाईँले भन्नुभएको कुरा अभ्यास गर्दै गर्दिनँ।” यस्तो अवस्थामा, म तँलाई भन्छु कि तँ अब बाटोको अन्त्यमा आइपुगेको छस्; तँ सुकिसकेको छस्, र तँ जीवनविहीन छस्। यसरी, आफ्नो स्वभाव रुपान्तरणको अनुभव गर्दा, वर्तमान प्रकाशको गति समाउनुभन्दा महत्त्वपूर्ण कुरा केही छैन। पवित्र आत्माले परमेश्वरद्वारा प्रयोग गरिने निश्चित मानिसहरूमा मात्रै होइन, अझ भन्नुपर्दा, मण्डलीमा पनि काम गर्नुहुन्छ। उहाँले जोकोहीमा पनि काम गरिरहनुभएको हुन सक्छ। उहाँले वर्तमान समयमा तँमा काम गर्न सक्नुहुन्छ, र तैँले यो कामको अनुभव गर्नेछस्। अर्को अवधिमा, उहाँले अरू कसैमा काम गर्न सक्नुहुन्छ, जुन अवस्थामा तैँले चाँडो पछ्याउनुपर्छ; तँ वर्तमान प्रकाशलाई जति नजिकबाट पछ्याउँछस्, तेरो जीवन त्यति नै वृद्धि हुन सक्छ। कोही व्यक्ति जस्तोसुकै प्रकारको भए पनि, यदि पवित्र आत्माले उसमा काम गर्नुहुन्छ भने, तैँले पछ्याउनैपर्छ। तँ आफैले कामकुराहरू भोग्दा, तैँले उसको भोगाइको वास्तविक अनुभव प्राप्त गरिस् भने, तैँले अझ उच्च कुराहरू प्राप्त गर्नेछस्। यस प्रकारको अभ्यासमार्फत, तैँले अझ छिटो प्रगति गर्नेछस्। यो मानिसले सिद्धता प्राप्त गर्ने मार्ग र जीवन वृद्धि हुने माध्यम हो। सिद्ध पारिने मार्गमा पवित्र आत्माको कामप्रति तेरो समर्पणमार्फत पुगिन्छ। परमेश्वरले तँलाई सिद्ध पार्न कस्तो प्रकारको व्यक्तिमार्फत काम गर्नुहुनेछ, वा उहाँले तँलाई कुन व्यक्ति, घटना, वा कामकुरामार्फत कुराहरू प्राप्त गर्न र देख्न दिनुहुनेछ भन्ने तँलाई थाहा हुँदैन। यदि तँ यो सही मार्गमा पाइला टेक्न सक्छस् भने, यसले तँ परमेश्वरद्वारा सिद्ध पारिने ठूलो आशा छ भन्ने देखाउँछ। यदि तँ सक्दैनस् भने, यसले तेरो भविष्य अन्धकारमय, प्रकाशविहीन छ भन्ने देखाउँछ। जब तँ सही मार्गमा हिँड्न थाल्छस्, तब तैँले सबै कुरामा प्रकाश प्राप्त गर्नेछस्। पवित्र आत्माले अरूलाई जेसुकै प्रकट गर्नुभए पनि, यदि तँ तिनीहरूको ज्ञानका आधारमा आफैले कुराहरू अनुभव गर्नतिर लागिस् भने, त्यो तेरो जीवनको हिस्सा बन्नेछ, र तैँले यो अनुभवबाट अरूलाई आपूर्ति गर्न सक्नेछस्। जो शब्दहरू रटेर अरूलाई आपूर्ति गर्छन् तिनीहरू कुनै अनुभव प्राप्त नगरेका मानिस हुन्; तैँले आफ्नो खास अनुभव र ज्ञानका बारेमा बोल्न सुरु गर्नुअघि अरूको अन्तर्दृष्टि र ज्योतिमार्फत अभ्यासको मार्ग भेट्टाउन सिक्नुपर्छ। यो तेरो आफ्नै जीवनका लागि अझ ठूलो फाइदा हुनेछ। परमेश्वरबाट आउने सबै कुरामा समर्पित हुँदै, तैँले यसरी नै अनुभव गर्नुपर्छ। तेरो जीवन वृद्धि हुन सकोस् भनेर, तैँले सबै कुरामा परमेश्वरका अभिप्रायहरू खोज्नुपर्छ र सबै कुरामा पाठहरू सिक्नुपर्छ। यस्तो अभ्यासले सबैभन्दा छिटो प्रगति गराउँछ।
पवित्र आत्माले तेरा खास अनुभवहरूमार्फत तँलाई अन्तर्दृष्टि दिनुहुन्छ, र तेरो विश्वासमार्फत तँलाई सिद्ध पार्नुहुन्छ। के तँ साँच्चै सिद्ध पारिन इच्छुक छस्? यदि तँ साँच्चै परमेश्वरद्वारा सिद्ध पारिन इच्छुक छस् भने, तँसँग आफ्नो देहलाई त्याग्ने साहस हुनेछ, तैँले परमेश्वरका वचनहरू अभ्यास गर्न सक्नेछस्, र तँ नकारात्मक वा कमजोर हुनेछैनस्। तँ परमेश्वरबाट आउने सबै कुराप्रति समर्पित हुन सक्नेछस्, र तैँले आफ्ना सबै कार्य—चाहे अरूका अगाडि गरिएका होऊन् वा तिनीहरूको पिठ्युँ पछाडि—परमेश्वरसामु प्रस्तुत गर्न सक्नेछस्। यदि तँ इमानदार व्यक्तिका रूपमा काम गर्छस्, र सबै कुरामा सत्यता अभ्यास गर्छस् भने, तँ सिद्ध पारिने व्यक्ति बन्नेछस्। अरूका अगाडि एउटा र तिनीहरूको पिठ्युँ पछाडि अर्को व्यवहार गर्ने ती छली मानिसहरू सिद्ध पारिन इच्छुक हुँदैनन्। तिनीहरू सबै अनन्त विनाशका पुत्र र विनाशका पुत्र हुन्; तिनीहरू शैतानका हुन्, र तिनीहरू परमेश्वरद्वारा चुनिएका होइनन्। परमेश्वरले त्यस्ता मानिसहरूलाई चयन गर्नुहुन्न! यदि तेरा कार्यहरू र व्यवहार परमेश्वरसामु प्रस्तुत गर्न वा परमेश्वरका आत्माद्वारा छानबिन गर्न सकिँदैनन् भने, यो तँमा केही खराबी छ भन्ने कुराको प्रमाण हो। तैँले परमेश्वरको न्याय र सजायलाई स्विकार्नैपर्छ, र आफ्नो स्वभावको रुपान्तरणमा ध्यान केन्द्रित गर्नुपर्छ; तब मात्र तैँले सिद्ध पारिने मार्गमा पाइला टेक्न सक्नेछस्। यदि तँ साँच्चै परमेश्वरद्वारा सिद्ध पारिन र परमेश्वरको इच्छा पछ्याउन इच्छुक छस् भने, तँ एक शब्द गुनासो नगरी, परमेश्वरको कामका बारेमा मनमानी आलोचना नगरी वा निष्कर्ष ननिकाली, परमेश्वरको सबै कामप्रति समर्पित हुनुपर्छ। परमेश्वरद्वारा सिद्ध पारिनका लागि न्यूनतम आवश्यकताहरू यिनै हुन्। परमेश्वरद्वारा सिद्ध पारिन खोज्नेहरूका लागि आवश्यक सर्त यो हो: सबै कुरामा परमेश्वरलाई प्रेम गर्ने हृदयले काम गर्ने। परमेश्वरलाई प्रेम गर्ने हृदयले काम गर्नुको अर्थ के हो? यसको अर्थ तेरा सबै कार्य र व्यवहार परमेश्वरसामु प्रस्तुत गर्न सकिन्छ भन्ने हो। अनि तँसँग सही अभिप्रायहरू भएकाले, तेरा कार्यहरू सही होऊन् वा गलत, तँ ती कुरा परमेश्वर वा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई देखाउन डराउँदैनस्, र तँ परमेश्वरसमक्ष शपथ खाने आँट गर्छस्। तैँले आफ्नो हरेक अभिप्राय, सोच, र विचारलाई परमेश्वरसमक्ष प्रस्तुत गरेर उहाँलाई अवलोकन गर्न दिनुपर्छ; यदि तँ यस तरिकाले अभ्यास र प्रवेश गर्छस् भने, तेरो जीवनमा तीव्र प्रगति हुनेछ।
तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तैँले परमेश्वरका सबै वचन र उहाँका सबै काममा विश्वास गर्नुपर्छ। भन्नुको अर्थ, तैँले परमेश्वरमा विश्वास गर्ने हुनाले, तँ उहाँप्रति समर्पित हुनैपर्छ। यदि तँ यसो गर्न असक्षम छस् भने, तैँले विश्वास गरे पनि वा नगरे पनि केही फरक पर्दैन। यदि तैँले धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छस्, तैपनि तँ कहिल्यै उहाँप्रति समर्पित भएको छैनस्, र उहाँका सम्पूर्ण वचनलाई स्वीकार गर्दैनस्, बरु परमेश्वर तँप्रति समर्पित हुनुपर्छ र उहाँले तेरा धारणाहरूअनुसार काम गर्नुपर्छ भनी माग गर्छस् भने, तँ सबैभन्दा विद्रोही होस्, तँ एक अविश्वासी होस्। मानिसका धारणाहरूसँग नमिल्ने परमेश्वरको काम र वचनहरूप्रति त्यस्ता मानिसहरू कसरी समर्पित हुन सक्छन् र? सबैभन्दा विद्रोही ती व्यक्तिहरू हुन् जसले जानी-जानी परमेश्वरसामु झुक्न इन्कार गर्छन् र परमेश्वरको प्रतिरोध गर्छन्। तिनीहरू परमेश्वरका शत्रु, ख्रीष्टविरोधी हुन्। तिनीहरू सधैँ परमेश्वरको नयाँ कामप्रति शत्रुवत् मनोवृत्ति पाल्छन्; तिनीहरूमा कहिल्यै समर्पित हुने झुकाव अलिकति पनि हुँदैन, न त तिनीहरूले कहिल्यै खुसीसाथ आफूलाई समर्पित गरेका वा नम्र तुल्याएका नै हुन्छन्। अरूसामु, तिनीहरूमा नै सबैभन्दा धेरै अहम् हुन्छ, र तिनीहरू कसैको अगाडि आफूलाई कहिल्यै समर्पित गर्दैनन्। परमेश्वरको अगाडि, तिनीहरू आफूलाई “प्रवचनहरू” प्रचार गर्ने काममा सर्वश्रेष्ठ, अनि अरूहरूमाथि काम गर्नका लागि सबैभन्दा सिपालु ठान्छन्। तिनीहरूले आफ्नो स्वामित्वमा रहेका “खजानाहरू” लाई कहिल्यै पनि त्याग्दैनन्; बरु तिनीहरू तिनलाई आराधना गर्ने र अरूलाई प्रचार गर्ने पारिवारिक विरासत ठान्छन्, र तिनीहरू तिनलाई आदर्श ठान्ने मूर्खहरूलाई भाषण दिन यी प्रयोग गर्छन्। मण्डलीभित्र निश्चय नै केही निश्चित सङ्ख्यामा यस प्रकारका मानिसहरू हुन्छन्। यस्तो भन्न सकिन्छ कि तिनीहरू “अदम्य नायकको वंश” हुन्, जो पुस्तौँ पुस्तादेखि परमेश्वरको घरमा बसेका छन्। तिनीहरू “प्रवचनहरू” (धर्मसिद्धान्तहरू) प्रचार गर्नुलाई सर्वोच्च कर्तव्य मान्छन्। वर्षैपिच्छे, एकपछि अर्को पुस्तासम्म, तिनीहरू आफ्नो “पवित्र र तोड्न नसकिने” कर्तव्य कडाइका साथ गरिरहन्छन्। तिनीहरूलाई छुने आँट कसैले पनि गर्दैन; एक जनाले पनि खुला रूपमा तिनीहरूको भर्त्सना गर्ने आँट गर्दैन। तिनीहरू परमेश्वरको घरमा “राजा” बन्छन् र एउटा युगदेखि अर्को युगसम्म अरूहरूलाई अत्याचार गर्दै तिनीहरू छाडा दौडिन्छन्। दुष्ट पिशाचहरूको यो झुण्ड मेरो कामलाई ध्वस्त पार्न आपसमा हात मिलाउन चाहन्छन्; म कसरी यी जीवित दियाबलसहरूलाई मेरो आँखाअगाडि अस्तित्वमा रहन दिन सक्छु र? आधा मात्र समर्पित हुनेहरूले त अन्त्यसम्म निरन्तरता दिन सक्दैनन् भने, हृदयमा अलिकति पनि समर्पण नभएका यी अत्याचारीहरूको त कुरै छोडौँ! परमेश्वरको काम मानिसलाई सजिलै प्राप्त हुँदैन। आफूसँग भएको सम्पूर्ण बल प्रयोग गरेर पनि, मानिसहरूले यसको एक भाग मात्र प्राप्त गर्न सक्छन्, जसले गर्दा अन्ततः तिनीहरू सिद्ध पारिन्छन्। त्यसोभए, परमेश्वरको कामलाई नष्ट गर्न खोज्ने प्रधान स्वर्गदूतका सन्तानहरूको के हुन्छ? के तिनीहरू परमेश्वरद्वारा प्राप्त गरिने आशा अझै कम हुँदैन र? विजयको काम गर्नुमा मेरो उद्देश्य विजयका खातिर मात्र विजय गर्नु होइन, बरु धार्मिकता र अधार्मिकतालाई प्रकट गर्न, मानिसको दण्डका लागि प्रमाण प्राप्त गर्न, दुष्टलाई दोषी ठहराउन विजय गर्नु, र अझ बढी, जानी-जानी समर्पित हुनेहरूलाई सिद्ध पार्नका खातिर विजय गर्नु हो। अन्त्यमा, सबैलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ, र सिद्ध पारिनेहरूका सोच र विचारहरू समर्पणले भरिएका हुनेछन्। अन्ततः सम्पन्न गरिने काम यही हो। यसैबीच, विद्रोहीपनका कार्यहरूले भरिएकाहरूलाई दण्ड दिइनेछ र दन्किरहेको आगोमा फालिनेछ, र तिनीहरू अनन्त श्रापका पात्र हुनेछन्। जब त्यो समय आउँछ, युगौँयुगभरि अस्तित्वमा रहेको त्यो “महान् र अदम्य नायकहरूको वंश” सबैभन्दा नीच र सबैभन्दा बहिष्कृत “कमजोर र शक्तिहीन काँतरहरूको वंश” बन्नेछ। यसले मात्र परमेश्वरको सम्पूर्ण धार्मिकता, र मानिसले गरेको उल्लङ्घन नसहने उहाँको स्वभावलाई प्रकट गर्न सक्छ, र यसले मात्र मेरो हृदयभित्रको घृणालाई शान्त पार्न सक्छ। के तिमीहरू यो पूर्ण रूपमा मनासिब छ भन्ने कुरामा सहमत छैनौ र?
पवित्र आत्माको कामको अनुभव गर्ने सबैले र यस प्रवाहमा रहेका सबैले जीवन प्राप्त गर्न सक्दैनन्। जीवन सबै मानिसको साझा सम्पत्ति होइन, र स्वभावमा आउने परिवर्तनहरू तिनीहरू सबैले सजिलै हासिल गर्दैनन्। परमेश्वरको कामप्रतिको समर्पणमा वास्तविकता हुनुपर्छ र यो जिइनुपर्छ। सतही समर्पणले मात्रै परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्दैन, र आफ्नो स्वभावमा परिवर्तनको खोजी नगरी परमेश्वरको वचनका सतही पक्षहरूप्रति मात्र समर्पित हुनु परमेश्वरका अभिप्रायहरूअनुरूप हुँदैन। परमेश्वरप्रतिको समर्पण र परमेश्वरको कामप्रतिको समर्पण उस्तै कुरा हुन्। परमेश्वरप्रति मात्रै समर्पित हुने तर उहाँको कामप्रति समर्पित नहुनेहरूलाई समर्पित मान्न सकिँदैन, साँचो रूपमा समर्पित नहुने तर बाहिरी रूपमा चापलुसी गर्नेहरूको त झन् कुरै छोडौँ। परमेश्वरप्रति साँचो रूपमा समर्पित हुने सबैले कामबाट लाभ प्राप्त गर्न र परमेश्वरको स्वभाव र कामबारे बुझाइ हासिल गर्न सक्छन्। यस्ता मानिसहरू मात्र परमेश्वरप्रति साँचो रूपमा समर्पित हुन्छन्। यस्ता मानिसहरू नयाँ काममार्फत नयाँ ज्ञान प्राप्त गर्न, र नयाँ परिवर्तनहरू भोग्न सक्षम हुन्छन्। यी मानिसहरू मात्र परमेश्वरद्वारा अनुमोदित हुन्छन्, यी मानिसहरू मात्र सिद्ध पारिन्छन्, र यिनीहरू मात्र त्यस्ता मानिस हुन् जसका स्वभावहरू परिवर्तन भएका हुन्छन्। परमेश्वरद्वारा अनुमोदन गरिनेहरू ती हुन् जो खुसीसाथ परमेश्वरप्रति, साथै उहाँको वचन र कामप्रति समर्पित हुन्छन्। यस्ता मानिसहरू मात्र सच्चा मानिस हुन्, यस्ता मानिसहरू मात्र निष्कपट रूपमा परमेश्वरलाई चाहन्छन्, र निष्कपट रूपमा परमेश्वरको खोजी गर्छन्। मुखले मात्र परमेश्वरप्रतिको आफ्नो विश्वासको कुरा गर्ने, तर सारमा उहाँलाई गालीगलौज गर्नेहरूको कुरा गर्नुपर्दा, तिनीहरू छद्मभेषी मानिस हुन्, जसले सर्पको विष बोकेका हुन्छन्; तिनीहरू सबैभन्दा छली हुन्छन्। ढिलोचाँडो, यी खलनायकहरूको झुण्डको दुष्ट आवरण हटाइनेछ। के आज भइरहेको काम यही होइन र? दुष्ट मानिसहरू सधैँ दुष्ट नै हुनेछन्, र दण्डको दिनबाट कहिल्यै उम्कनेछैनन्। असल मानिसहरू सधैँ असल नै हुनेछन्, र परमेश्वरको काम अन्त्य हुँदा प्रकाश गरिनेछन्। दुष्टहरूमध्ये कसैलाई पनि धर्मी मानिनेछैन, न त धर्मीहरूमध्ये कसैलाई दुष्ट नै मानिनेछ। के म कुनै मानिसलाई गलत रूपमा आरोपित हुन दिन्छु होला र?
तेरो जीवन अघि बढ्दै जाँदा, तँसँग सधैँ हरेक कदमसँगै अझ गहन बन्दै जाने नयाँ प्रवेश र नयाँ, अझ उच्च अन्तर्दृष्टि हुनुपर्छ। हरेकले प्रवेश गर्नुपर्ने कुरा यही हो। यदि, सङ्गति गरेर, प्रवचनहरू सुनेर, परमेश्वरको वचन पढेर, वा कुनै मामिलालाई सम्हालेर, तैँले नयाँ अन्तर्ज्ञान र नयाँ अन्तर्दृष्टि प्राप्त गर्छस्, तँ पुराना प्रावधानहरू र पुराना समयहरूभित्र फेरि कहिल्यै जिउँदैनस्, र परमेश्वरको वचनबाट नबहकिकन सधैँ नयाँ प्रकाशमा जिउँछस् भने, सही मार्गमा लाग्नु भनेकै यही हो। कुनै सतही स्तरमा मूल्य चुकाएर मात्र हुँदैन; दिन-प्रतिदिन, परमेश्वरको वचन अझ ठूला उचाइहरूमा पुग्छ, र हरेक दिन नयाँ कुराहरू देखा पर्छन्, अनि मानिसले पनि हरेक दिन नयाँ प्रवेश गर्नुपर्छ। परमेश्वर जसरी बोल्नुहुन्छ, त्यसरी नै उहाँ आफूले बोलेका सबै कुरालाई साकार पार्नुहुन्छ, र यदि तैँले गति समाउन सकिनस् भने, तँ पछि पर्नेछस्। तँ प्रार्थना गर्दा अझ गहिराइमा जानुपर्छ; परमेश्वरको वचन खाने र पिउने काम रोकिँदै-चल्दै गर्ने खालको हुनु हुँदैन। आफूले प्राप्त गर्ने अन्तर्दृष्टि र ज्योतिलाई तैँले अझ गहन बनाउनुपर्छ, साथै तेरा धारणा र कल्पनाहरू बिस्तारै हट्दै जानुपर्छ। तैँले आफ्नो न्याय गर्ने क्षमतालाई पनि बलियो बनाउनुपर्छ, र तँलाई जे आइपरे पनि, त्यसबारे तँ आफैले सोच्नुपर्छ र तेरा आफ्नै दृष्टिकोणहरू हुनुपर्छ। आत्मासम्बन्धी केही मामिलाहरू बुझेर, तैँले बाहिरी कुराहरूमा अन्तर्ज्ञान प्राप्त गर्नुपर्छ र यी समस्याहरूको सारलाई बुझ्नुपर्छ। यदि तँ यी कुराहरूले सुसज्जित छैनस् भने, तैँले कसरी मण्डलीको अगुवाइ गर्न सक्नेछस्? यदि तँ कुनै शब्द र धर्मसिद्धान्तहरूको मात्रै कुरा गर्छस् र त्यसको कुनै वास्तविकता वा अभ्यास गर्ने उपाय छैन भने, तैँले त्यसलाई छोटो समय मात्र टिकाउन सक्नेछस्। नयाँ विश्वासीहरूसँग बोल्दा यो थोरै मात्रामा स्वीकार्य हुन सक्ला, तर केही समयपछि, जब नयाँ विश्वासीहरूले केही व्यावहारिक अनुभव प्राप्त गरेका हुन्छन्, तब तैँले तिनीहरूलाई आपूर्ति गर्न सक्नेछैनस्। त्यसपछि तँ कसरी परमेश्वरको निम्ति प्रयोगयोग्य हुन्छस्? नयाँ अन्तर्दृष्टिविना, तैँले काम गर्न सक्दैनस्। नयाँ अन्तर्दृष्टि नभएकाहरू तिनै हुन् जो अनुभव गर्न जान्दैनन्, र त्यस्ता मानिसहरूले कहिल्यै नयाँ ज्ञान वा नयाँ अनुभव प्राप्त गर्दैनन्। अनि, जीवन आपूर्ति गर्ने मामिलामा, तिनीहरूले कहिल्यै आफ्नो कार्य गर्न सक्दैनन्, न त तिनीहरू परमेश्वरको निम्ति प्रयोगयोग्य नै बन्न सक्छन्। यस प्रकारको व्यक्ति केही नकामको, सास फेर्न मात्र जन्मेको हुन्छ। वास्तवमा, त्यस्ता मानिसहरू काममा आफ्नो कार्य पूरा गर्न पूर्ण रूपमा असक्षम हुन्छन्, तिनीहरू सबै केही नकामका हुन्छन्। तिनीहरू आफ्नो कार्य पूरा गर्न असफल हुने मात्रै होइन, तिनीहरूले वास्तवमा मण्डलीमा धेरै अनावश्यक समस्या पनि ल्याउँछन्। म यी “आदरणीय वृद्ध मानिसहरू” लाई चाँडो मण्डलीबाट निस्केर जान अर्ती दिन्छु, ताकि अब अरूले तँलाई हेप्नु नपरोस्। त्यस्ता मानिसहरूले नयाँ काम बुझेकै हुँदैनन् र तिनीहरू धारणाहरूले भरिएका हुन्छन्। मण्डलीमा तिनीहरू केहीमा पनि काम लाग्दैनन्; बरु, तिनीहरू जताततै मतभेद छर्छन् र नकारात्मक टिप्पणीहरू फैलाउँछन्, साथै मण्डलीमा जथाभावी रूपमा खराब कार्यहरू गरेर र समस्या समेत निम्त्याउँछन्, र यसरी खुट्ट्याउने क्षमता नभएकाहरूलाई अन्योल र अस्तव्यस्ततामा धकेल्छन्। यी जीवित दियाबलसहरू, यी दुष्ट आत्माहरूले जतिसक्दो चाँडो मण्डली छोड्नुपर्छ, नत्र तेरो कारणले मण्डलीलाई नोक्सानी हुनेछ। तँलाई आजको कामको डर नलाग्ला, तर के तँ भोलिको धर्मी दण्डको डर मान्दैनस्? मण्डलीमा ठूलो सङ्ख्यामा सित्तैमा खाने मानिसहरू छन्, र परमेश्वरको सामान्य कामलाई नष्ट पार्न खोज्ने ब्वाँसाहरू धेरै छन्। यी चिजहरू सबै मुख्य पिशाचद्वारा पठाइएका पिशाचहरू हुन्, अज्ञानी थुमाहरूलाई निल्न खोज्ने क्रूर ब्वाँसाहरू हुन्। यदि यी तथाकथित मानिसहरूलाई निष्कासित गरिएन भने, तिनीहरू मण्डलीका परजीवी, भेटीहरू हसुर्ने किरा बन्नेछन्। ढिलोचाँडो, एउटा यस्तो दिन आउनेछ जब यी घृणित, अज्ञानी, नीच, तुच्छ औँसाहरूले दण्ड पाउनेछन्!