परमेश्वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ
परमेश्वर अहिले मानिसहरूको एउटा निश्चित समूहलाई प्राप्त गर्न चाहनुहुन्छ, यस्ता मानिसहरूको एउटा यस्तो झुन्ड जो उहाँसँग सहकार्य गर्न मेहनत गर्छन्, जो उहाँको कामप्रति समर्पित हुन सक्छन्, जसले परमेश्वरले बोल्नुभएका वचनहरू सत्य छन् भनी विश्वास गर्छन्, र जसले परमेश्वरका आवश्यकताहरूलाई व्यवहारमा लागू गर्न सक्छन्; तिनीहरू हृदयमा साँचो समझ भएकाहरू हुन्, तिनीहरू सिद्ध तुल्याइन सक्नेहरू हुन्, र तिनीहरू अनिवार्य रूपमा पूर्णताको बाटोमा हिँड्न सक्नेछन्। जो सिद्ध तुल्याइन सक्दैनन् तिनीहरू ती मानिसहरू हुन् जसमा परमेश्वरको कामको स्पष्ट ज्ञान हुँदैन, जसले परमेश्वरका वचनहरू खाँदैनन् र पिउँदैनन्, जसले उहाँको वचनमा ध्यान दिँदैनन्, र जसमा परमेश्वरलाई प्रेम गर्ने हृदय हुँदैन। जसले देहधारी परमेश्वरमा शङ्का गर्छन्, तिनीहरू उहाँको बारेमा सधैँ अनिश्चित हुन्छन्, उहाँको वचनलाई कहिल्यै पनि गम्भीरतासित लिँदैनन् र उहाँलाई सधैँ धोका दिन्छन्, जसले परमेश्वरको विरोध गर्छन् र जो शैतानका हुन्; त्यस्ता व्यक्तिहरूलाई सिद्ध गर्ने कुनै उपाय हुँदैन।
यदि तँ सिद्ध पारिन चाहन्छस् भने, तैँले पहिले परमेश्वरको नजरमा निगाह पाउनैपर्छ, किनभने उहाँ तिनैलाई सिद्ध पार्नुहुन्छ जसलाई उहाँ निगाह देखाउनुहुन्छ र जो उहाँका अभिप्रायहरूअनुरूप छन्। यदि तँलाई परमेश्वरका अभिप्रायहरूअनुरूप हुने इच्छा छ भने, तँसँग उहाँको कामप्रति समर्पित हुने हृदय हुनैपर्छ, तैँले सत्यता पछ्याउन सक्दो प्रयास गर्नैपर्छ र तैँले सबै कुरामा परमेश्वरको छानबिन स्विकार्नैपर्छ। के तैँले गर्ने सबै कामकुरा परमेश्वरको छानबिनबाट गुज्रेका छन्? के तेरो नियत सही छ? यदि तेरो नियत सही छ भने, परमेश्वरले तँलाई अनुमोदन गर्नुहुनेछ; यदि तेरो नियत गलत छ भने, यसले तेरो हृदयले परमेश्वरलाई होइन, देह र शैतानलाई प्रेम गर्छ भन्ने देखाउँछ। त्यसकारण, तैँले सबै कुरामा परमेश्वरको छानबिन स्विकार्ने तरिकाका रूपमा प्रार्थनालाई प्रयोग गर्नैपर्छ। जब तँ प्रार्थना गर्छस्, म व्यक्तिगत रूपमा तेरो अगाडि नउभिएको भए पनि, पवित्र आत्मा तँसँगै हुनुहुन्छ र तैँले म जो व्यक्ति हुँ उहाँलाई र परमेश्वरका आत्मा दुवैलाई प्रार्थना गरिरहेको हुन्छस्। तँ किन यस देहमा विश्वास गर्छस्? तँ विश्वास गर्छस् किनभने उहाँसँग परमेश्वरका आत्मा हुनुहुन्छ। यदि यस व्यक्तिसँग परमेश्वरका आत्मा नहुनुभएको भए, के तैँले उहाँमा विश्वास गर्नेथिइस्? तैँले यस व्यक्तिमा विश्वास गर्दा, परमेश्वरका आत्मामा विश्वास गरिरहेको हुन्छस्। तँलाई यस व्यक्तिको डर मान्न लगाउनु भनेको परमेश्वरका आत्माको डर मान्न लगाउनु हो। परमेश्वरका आत्मामाथिको विश्वास यस व्यक्तिमाथिको विश्वास हो र यस व्यक्तिमाथिको विश्वास पनि परमेश्वरका आत्मामाथिको विश्वास हो। तैँले प्रार्थना गर्दा, तँलाई परमेश्वरका आत्मा तँसँग हुनुहुन्छ र परमेश्वर तेरो अगाडि हुनुहुन्छ भन्ने महसुस हुन्छ र त्यसकारण तँ उहाँका आत्मालाई प्रार्थना गर्छस्। आज, धेरैजसो मानिस आफ्ना कार्यहरू परमेश्वरसामु ल्याउन डराउँछन्; तैँले उहाँको देहलाई धोका दिन सक्ने भए पनि, उहाँका आत्मालाई धोका दिन सक्दैनस्। परमेश्वरको छानबिन थेग्न नसक्ने कुनै पनि मामिला सत्यताअनुरूप हुँदैन र त्यसलाई त्याग्नुपर्छ; त्यसो नगर्नु भनेको परमेश्वरलाई चिढ्याउनु हो। त्यसैले, चाहे तँ प्रार्थना गरिरहेको होस्, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसँग बोलिरहेको र सङ्गति गरिरहेको होस् वा आफ्नो कर्तव्य निर्वाह गरिरहेको र कामकुराहरू सम्पन्न गरिरहेको होस्, तैँले आफ्नो हृदय परमेश्वरसामु राख्नैपर्छ। तैँले आफ्नो प्रकार्य पूरा गर्दा, परमेश्वर तँसँगै हुनुहुन्छ र यदि तेरो नियत सही छ र त्यो परमेश्वरको घरको कामका लागि हो भने, उहाँले तैँले गर्ने सबै कुरा स्विकार्नुहुनेछ; तैँले सच्चा रूपमा आफ्नो प्रकार्य पूरा गर्नुपर्छ। तैँले प्रार्थना गर्दा, तँसँग परमेश्वरलाई प्रेम गर्ने हृदय हुनुपर्छ र तैँले परमेश्वरको हेरचाह, सुरक्षा र छानबिन खोज्नुपर्छ। यदि तेरा अभिप्रायहरू यिनै हुन् भने, तेरा प्रार्थनाहरू प्रभावकारी हुनेछन्। उदाहरणका लागि, तैँले भेलाहरूमा प्रार्थना गर्दा, यदि तँ आफ्नो हृदय खोलेर परमेश्वरलाई प्रार्थना गर्छस् अनि झुट नबोली आफ्नो हृदयमा जे छ त्यो उहाँलाई बताउँछस् भने, तेरा प्रार्थनाहरू निश्चय नै प्रभावकारी हुनेछन्। यदि तँसँग गम्भीर रूपमा परमेश्वरलाई प्रेम गर्ने हृदय छ भने, परमेश्वरसामु शपथ खा: “हे स्वर्ग र पृथ्वी अनि यावत् थोकमा हुनुहुने परमेश्वर, म तपाईँसामु कसम खान्छु: तपाईँका आत्माले मैले गर्ने सबै कुराको छानबिन गर्नुहोओस् र मलाई हरसमय सुरक्षा दिनुहोओस् र हेरचाह गर्नुहोओस्, ताकि मैले गर्ने सबथोक तपाईँको उपस्थितिमा दृढ रहन सकून्। यदि मेरो हृदयले तपाईँलाई प्रेम गरेन वा यसले कहिल्यै तपाईँलाई विश्वासघात गऱ्यो भने, मलाई कठोर सजाय र श्राप दिनुहोस्। मलाई यो जुनी वा आउँदो संसार कुनैमा पनि क्षमा नगर्नुहोस्!” के तँ यस्तो शपथ खाने आँट गर्छस्? यदि गर्दैनस् भने, यसले तँ कायर छस् र तँ अझै पनि आफूलाई प्रेम गर्छस् भन्ने देखाउँछ। के तिमीहरूमा यो सङ्कल्प छ? यदि यो साँच्चै तिमीहरूको सङ्कल्प हो भने, तिमीहरूले यो शपथ खानुपर्छ। यदि तँसँग उक्त सङ्कल्प छ र तँ यस्तो शपथ खान्छस् भने, परमेश्वरले तेरो सङ्कल्प पूरा गर्नुहुनेछ। तैँले परमेश्वरसामु शपथ खाँदा, उहाँ सुन्नुहुन्छ। परमेश्वरले तेरो प्रार्थना र तेरो अभ्यासका आधारमा तँ पापी होस् कि धर्मी होस् भनी निर्धारण गर्नुहुन्छ। अब तिमीहरू सिद्ध पारिने क्रममा छौ र यदि तँ सिद्ध पारिने कुरामा साँच्चै विश्वास गर्छस् भने, तैँले आफूले गर्ने सबै कुरा परमेश्वरसामु ल्याउनेछस् र उहाँको छानबिन स्विकार्नेछस्। यदि तँ अत्यन्तै विद्रोही कुरा गर्छस् वा यदि तँ परमेश्वरलाई विश्वासघात गर्छस् भने, उहाँले तेरो शपथ साकार पार्नुहुनेछ; त्यस बिन्दुमा, चाहे तैँले विनाशको सामना गर्नुपरोस् वा सजायको, त्यो तँ आफैले निम्त्याएको हुनेछस्। तैँले शपथ खाइस्, त्यसैले तैँले त्यो पालन गर्नुपर्छ। यदि तैँले शपथ खाइस्, तर त्यो पालन गरिनस् भने, नन्त कष्ट भोग्नेछस्। शपथ तेरै भएको हुनाले, परमेश्वरले तेरो शपथ साकार पार्नुहुनेछ। कतिपय मानिस प्रार्थना गरेपछि डराउँछन् र भन्छन्, “सबै सिद्धियो! दुराचारी बन्ने मेरो मौका गुम्यो; खराब कामकुराहरू गर्ने मेरो मौका गुम्यो; मेरा सांसारिक लालसाहरूमा लिप्त हुने मौका गुम्यो!” यी मानिसहरू अझै पनि संसार र पापलाई प्रेम गर्छन्, र तिनीहरूले अनन्त कष्ट भोग्ने निश्चित छ।
परमेश्वरको विश्वासीका रूपमा, तँ आफ्ना सबै कार्य र कर्म उहाँसामु ल्याउन र उहाँको छानबिन स्विकार्न सक्षम हुनैपर्छ। यदि तैँले गर्ने कामकुरा परमेश्वरका आत्माको अगाडि ल्याउन सकिन्छ तर परमेश्वरको देहको अगाडि ल्याउन सकिँदैन भने, यसले तैँले उहाँको आत्माको छानबिन स्विकारेको छैनस् भन्ने देखाउँछ। परमेश्वरका आत्मा को हुनुहुन्छ? त्यो कुन व्यक्ति हो जसलाई परमेश्वर गवाही दिनुहुन्छ? के उहाँहरू एउटै र उही हुनुहुन्न र? धेरैले उहाँहरूलाई दुई अलग स्वरूप ठान्छन्, र परमेश्वरका आत्मा भनेको परमेश्वरका आत्मा नै हो, र परमेश्वर जसलाई गवाही दिनुहुन्छ, त्यो मानिस मात्र हो भन्ने विश्वास गर्छन्। तर के तँ गलत छैनस्? यस व्यक्तिले कसको तर्फबाट काम गर्दछ? देहधारी परमेश्वरलाई नचिन्नेहरूसँग आत्मिक बुझाइ हुँदैन। परमेश्वरका आत्मा र उहाँको देहधारी शरीर एकै हुनुहुन्छ, किनकि परमेश्वरका आत्माले देहमा मूर्त रूप लिनुहुन्छ। यदि यो व्यक्ति तँप्रति दयालु छैन भने, के परमेश्वरका आत्मा दयालु हुनुहुनेछ र? के तँ भ्रमित छैनस् र? आज, परमेश्वरको छानबिन स्वीकार गर्न नसक्नेहरू सबैले उहाँको स्वीकृति प्राप्त गर्न सक्दैनन्, र देहधारी परमेश्वरलाई नचिन्नेहरू सिद्ध पारिन सक्दैनन्। तैँले गर्ने सबै कामकुरालाई हेर्, र तिनलाई परमेश्वरसामु ल्याउन सकिन्छ कि सकिँदैन भनी हेर्। यदि तँ आफूले गरेका सबै कुरा परमेश्वरसामु ल्याउन सक्दैनस् भने, त्यसले तँ दुष्कर्म गर्ने व्यक्ति होस् भन्ने देखाउँछ। के दुष्कर्मीहरूलाई सिद्ध पार्न सकिन्छ? तैँले गर्ने सबै कुरा, प्रत्येक कार्य, प्रत्येक अभिप्राय, र प्रत्येक प्रतिक्रिया परमेश्वरसामु ल्याइनुपर्छ। यसको अर्थ तेरो दैनिक आत्मिक जीवन—प्रार्थना गर्नु, परमेश्वरको नजिक आउनु, परमेश्वरका वचनहरू खानु-पिउनु, तेरा ब्रदर-सिस्टरहरूसित सङ्गति गर्नु र मण्डली जीवन जिउनुदेखि—अरूसँगको सहकार्यमा गरिएको तेरो सेवासम्म, सबै कुरालाई परमेश्वरको छानबिनका निम्ति उहाँसामु ल्याइनुपर्छ। यो यस्तो अभ्यास हो जसले तँलाई जीवनमा वृद्धि हासिल गर्न मद्दत गर्नेछ। परमेश्वरको छानबिन स्विकार्ने प्रक्रिया शुद्धीकरणको प्रक्रिया हो। तँ परमेश्वरको छानबिन स्वीकार गर्न जति धेरै सक्छस्, त्यति नै बढी शुद्ध पारिन्छस् र तँ परमेश्वरका अभिप्रायहरू अनुसारको त्यति धेरै हुन्छस्, जसले गर्दा तँ भोगविलासीतामा पर्नेछैनस्, र तेरो हृदय उहाँको उपस्थितिमा रहन सक्षम हुनेछ। तैँले उहाँको छानबिन जति धेरै स्वीकार गर्छस्, शैतानको अपमान र देहविरुद्ध विद्रोह गर्ने तेरो क्षमता त्यति नै बढी हुन्छ। यसैले परमेश्वरको छानबिन स्वीकार गर्नु भनेको मानिसहरूले अनुसरण गर्नुपर्ने अभ्यासको मार्ग हो। चाहे तैँले जेसुकै गरे पनि, तैँले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्दा समेत आफ्ना कार्यहरू परमेश्वरसामु ल्याउनुपर्छ र उहाँको छानबिन खोज्नुपर्छ, र परमेश्वर स्वयम्प्रति जानीबुझी समर्पित हुनुपर्छ; यसले तेरो अभ्यासलाई अझै सटीक बनाउनेछ। तैँले गर्ने सबै कुरा परमेश्वरसामु ल्याइस् र परमेश्वरको छानबिन स्वीकार गरिस् भने मात्र तँ परमेश्वरको उपस्थितिमा जिउने व्यक्ति हुन सक्छस्।
परमेश्वरबारे बुझाइ नभएकाहरू कहिल्यै पनि परमेश्वरप्रति पूर्ण रूपमा समर्पित हुन सक्दैनन्। यस्ता मानिसहरू विद्रोहको पुत्र हुन्। तिनीहरू अत्यन्तै महत्त्वाकाङ्क्षी हुन्छन् र तिनीहरूमा अत्यन्तै धेरै विद्रोहीपन हुन्छ, त्यसैले तिनीहरू परमेश्वरबाट टाढा रहन्छन् र उहाँको छानबिन स्विकार्न अनिच्छुक हुन्छन्। यस्ता मानिसहरूलाई सजिलै सिद्ध पार्न सकिँदैन। कतिपय मानिस परमेश्वरका वचनहरू खाने र पिउने तरिकामा र ती स्विकार्ने कुरामा रोजीछाडी गर्छन्। तिनीहरू आफ्ना धारणाहरूअनुरूप रहेका परमेश्वरका वचनहरूका निश्चित अंशहरूलाई स्वीकार गर्छन् र आफ्ना धारणाहरूअनुरूप नरहेकाहरूलाई अस्वीकार गर्छन्। के यो परमेश्वरविरुद्ध सबैभन्दा स्पष्ट विद्रोह र प्रतिरोध होइन र? यदि कसैले वर्षौँसम्म परमेश्वरमा विश्वास गर्छ तर उहाँबारे अलिकति पनि बुझाइ प्राप्त गर्दैन भने, ऊ अविश्वासी हो। परमेश्वरको छानबिन स्विकार्न इच्छुक हुनेहरू ती हुन् जो उहाँको बुझाइ पछ्याउँछन्, जो उहाँका वचनहरू स्विकार्न इच्छुक हुन्छन्। परमेश्वरको उत्तराधिकार पाउने र उहाँका आशिष्हरू उत्तराधिकारमा प्राप्त गर्ने तिनीहरू नै हुन् र तिनीहरू सबैभन्दा बढी आशिषित् हुन्छन्। परमेश्वर ती मानिसहरूलाई श्राप दिनुहुन्छ जसको हृदयमा उहाँका लागि कुनै ठाउँ छैन र उहाँ त्यस्ता मानिसहरूलाई सजाय दिनुहुन्छ र छोड्नुहुन्छ। यदि तँ परमेश्वरलाई प्रेम गर्दैनस् भने उहाँले तँलाई छोड्नुहुनेछ र यदि तँ मैले भनेको कुरा सुन्दैनस् भने, म वाचा गर्छु, परमेश्वरको आत्माले तँलाई छोड्नुहुनेछ। यदि तँलाई विश्वास लाग्दैन भने प्रयास गरेर हेर्! आज म तँलाई एउटा अभ्यासको मार्ग प्रस्ट पारिदिन्छु, तर तैँले यसलाई व्यवहारमा लागु गर्नु वा नगर्नु तँमै निर्भर हुन्छ। यदि तँ यस कुरामा विश्वास गर्दैनस्, यदि तँ यसलाई व्यवहारमा लागु गर्दैनस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने कुरा तैँले आफै देख्नेछस्! यदि तँ परमेश्वरको बुझाइ पछ्याउँदैनस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछैन। परमेश्वर ती मानिसहरूमा काम गर्नुहुन्छ जसले उहाँका वचनहरू पछ्याउँछन् र तिनलाई बहुमूल्य ठान्छन्। तँ परमेश्वरका वचनहरूलाई जति बढी बहुमूल्य ठान्छस्, उहाँका आत्माले तँभित्र त्यति नै बढी काम गर्नुहुनेछ। कुनै व्यक्तिले परमेश्वरका वचनहरू जति धेरै बहुमूल्य ठान्छ, उसले परमेश्वरद्वारा सिद्ध पारिने त्यति नै बढी मौकाहरू पाउनेछ। परमेश्वर उहाँलाई साँच्चै प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ र उहाँको अघि शान्त हृदय हुनेहरूलाई सिद्ध पार्नुहुन्छ। तैँले परमेश्वरका सबै कामलाई बहुमूल्य ठान्नुपर्छ, परमेश्वरको अन्तर्दृष्टिलाई बहुमूल्य ठान्नुपर्छ, परमेश्वरको उपस्थितिलाई बहुमूल्य ठान्नुपर्छ, परमेश्वरको हेरचाह र सुरक्षालाई बहुमूल्य ठान्नुपर्छ, साथै परमेश्वरका वचनहरू कसरी तेरो वास्तविकता बन्छन् र तिनले कसरी तेरो जीवनको भरणपोषण गर्छन् भन्ने कुरालाई बहुमूल्य ठान्नुपर्छ—यो सबैभन्दा बढी परमेश्वरका अभिप्रायहरूअनुरूप छ। यदि तँ परमेश्वरको कामको कदर गर्छस्, अर्थात्, यदि उहाँले तँमा गर्नुभएका सबै कामको कदर गर्छस् भने, उहाँले तँलाई आशिष् दिनुहुनेछ र तँसित भएका सबै कुरालाई बढाउनुहुनेछ। यदि तँ परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्दैनस् भने, उहाँले तँमा काम गर्नुहुनेछैन; उहाँले तेरो विश्वासका लागि तँलाई थोरै अनुग्रह मात्र प्रदान गर्नुहुनेछ, तँलाई अलिकति भौतिक आशिष् दिनुहुनेछ वा तेरो परिवारलाई अलिकति सुरक्षा दिनुहुनेछ। तैँले परमेश्वरका वचनहरूलाई आफ्नो वास्तविकता बनाउन, उहाँलाई सन्तुष्ट पार्न सक्ने हुन र उहाँका अभिप्रायहरूअनुरूप हुन खोज्नुपर्छ; तैँले उहाँको अनुग्रहको आनन्द लिन मात्रै खोज्नु हुँदैन। विश्वासीहरूका लागि परमेश्वरको काम पाउनु, सिद्धता प्राप्त गर्नु र परमेश्वरको इच्छा पालन गर्ने मानिस बन्नुभन्दा महत्त्वपूर्ण कुरा अरू केही छैन। तैँले पछ्याउनुपर्ने लक्ष्य यही हो।
अनुग्रहको युगमा मानिसले पछ्याउने सबै कुरा अहिले अप्रचलित भएका छन्, किनकि अहिलेको खोजीको स्तर उच्च छ; जुन कुरा खोजिन्छ त्यो अझ उच्च र अझ बढी व्यावहारिक दुवै छ। जुन कुरा खोजिन्छ त्यसले मानिसले भित्रबाट चाहेको कुरा राम्ररी पूरा गर्न सक्छ। विगतका युगहरूमा परमेश्वरले मानिसहरूमाथि त्यसरी काम गर्नुभएन जसरी आज उहाँले गर्नुहुन्छ; अनि आज उहाँ तिनीहरूसित जति धेरै बोल्नुहुन्छ त्यति त्यसबेला बोल्नुभएन, न त उहाँका मागहरू आजका जस्तै उच्च नै थिए। आज परमेश्वरले तिमीहरूलाई यी कुराहरू बताउनुभएको कुराले परमेश्वरको मूल अभिप्राय तिमीहरूमा, मानिसहरूको यो झुन्डमा केन्द्रित छ भन्ने देखाउँछ। यदि तँ साँच्चै परमेश्वरद्वारा सिद्ध हुन चाहन्छस् भने त्यसलाई आफ्नो मुख्य लक्ष्य बनाएर त्यसको पछि लाग्। तँ यताउति दगुरिरहेको, आफैलाई खर्च गरिरहेको, एउटा काम गरिरहेको वा तैँले परमेश्वरको आदेश पाएको भए पनि उद्देश्यचाहिँ सधैँ सिद्ध हुनु र परमेश्वरका अभिप्रायहरू पूरा गर्नु, यी उद्देश्यहरूलाई हासिल गर्नु नै हो। यदि कसैले तिनीहरू परमेश्वरद्वारा सिद्ध हुन वा जीवन प्रवेश गर्न खोज्दैनन्, तर शरीरको शान्ति र आनन्दको पछि मात्र लाग्छन् भनी भन्छन् भने तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। जुन मानिसहरू जीवन वास्तविकताको पछि लाग्दैनन्, तर आउनेवाला संसारको अनन्त जीवनको र यस संसारमा सुरक्षाको पछि मात्र लाग्छन् तिनीहरू मानिसहरूमध्ये सबैभन्दा बढी अन्धो हुन्। यसैले, तैँले गर्ने सबै कुरा सिद्ध हुने र परमेश्वरद्वारा प्राप्त गरिने उद्देश्यले गर्नुपर्छ।
परमेश्वरले मानिसहरूका निम्ति प्रबन्ध गर्नलाई गर्नुहुने काम तिनीहरूका विभिन्न आवश्यकतामा आधारित हुन्छ। एक व्यक्तिको जीवन जति ठूलो हुन्छ, तिनीहरूको आवश्यकता त्यत्ति नै धेरै हुन्छ र तिनीहरू धेरै कुराको पछि लाग्छन्। यदि यस चरणमा तँ कुनै कुराको पछि लागेको छैनस् भने पवित्र आत्माले तँलाई छोड्नुभएको छ भन्ने त्यसले प्रमाण दिन्छ। जीवनको पछि लाग्नेहरू सबैलाई पवित्र आत्माले कहिल्यै पनि त्याग्नुहुन्न; त्यस्ता मानिसहरू सधैँ पछि लाग्छन् र तिनीहरूका हृदयमा सधैँ तृष्णा हुन्छ। त्यस्ता मानिसहरू आफ्नो वर्तमान हैसियतसँग सन्तुष्ट हुँदैनन्। पवित्र आत्माको कामको प्रत्येक चरणले तँमा प्रभाव पार्ने लक्ष्य राख्छ, तर यदि तँ आफ्नो वर्तमान हैसियतबारे आत्म-सन्तुष्ट भइस् भने, यदि तँसित अब कुनै आवश्यकता छैन भने, यदि तँ पवित्र आत्माको कामलाई स्वीकार्दैनस् भने, उहाँले तँलाई त्याग्नुहुनेछ। मानिसहरूलाई हरेक दिन परमेश्वरको जाँचको आवश्यकता पर्छ; तिनीहरूलाई दिनदिनै परमेश्वरका प्रशस्त प्रबन्धहरूको आवश्यकता पर्छ। के मानिसहरूले दिनदिनै परमेश्वरको वचन नखाई र नपिई सफलतापूर्वक काम गर्न सक्छन्? यदि कुनै व्यक्तिले सधैँ परमेश्वरको वचन पर्याप्त मात्रामा खान वा पिउन सकिँदैन भन्ने ठान्छ भने, यदि ऊ सधैँ खोजी गरिरहुन्छ अनि सधैँ भोकाइरहन्छ र तिर्खाइरहन्छ भने, पवित्र आत्माले सधैँ उसमा काम गर्नुहुन्छ। कुनै व्यक्ति जति धेरै भोकाउँछ र तिर्खाउँछ, उसको सङ्गतिबाट उति नै बढी व्यावहारिक कुराहरू बाहिर निस्कन्छन्। कसैले सत्यता खोज्नमा जति धेरै ध्यान दिन्छ, उसले उति नै चाँडो जीवनमा वृद्धि प्राप्त गर्छ, यसले उसलाई अनुभवमा धनी र परमेश्वरको घरको सम्पन्न बनाउँछ।