सिद्धता हासिल गर्न परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर
तैँले परमेश्वरका अभिप्रायहरूलाई जति धेरै ख्याल गर्छस्, तैँले त्यति नै बढी बोझ वहन गर्नेछस्, अनि तैँले जति ठूलो बोझ वहन गर्छस्, तेरो अनुभव त्यति नै गहिरो हुनेछ। जब तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, परमेश्वरले तँमाथि एउटा बोझ राखिदिनुहुनेछ, अनि त्यसपछि उहाँले तँलाई सुम्पनुभएका कार्यहरूका सम्बन्धमा तँलाई अन्तर्दृष्टि दिनुहुनेछ। जब परमेश्वरले तँलाई यो बोझ दिनुहुन्छ, तब तैँले परमेश्वरका वचनहरू खाने र पिउने क्रममा सम्बन्धित सत्यताहरूलाई विशेष ध्यान दिनेछस्। यदि तँसित दाजुभाइ-दिदीबहिनीहरूको जीवन स्थितिप्रति बोझ छ भने, यो तँलाई परमेश्वरद्वारा सुम्पिएको बोझ हो, अनि तैँले आफ्ना दैनिक प्रार्थनाहरूमा यो बोझलाई सधैँ आफूसँगै बोक्नेछस्। परमेश्वरले जे गर्नुहुन्छ, त्यो तँमाथि लादिएको छ, अनि परमेश्वर जे गर्न चाहनुहुन्छ, तँ त्यो गर्न इच्छुक छस्; परमेश्वरको बोझलाई तेरो आफ्नै बोझका रूपमा लिनु भनेको यही नै हो। यस अवस्थामा, तैँले परमेश्वरका वचनहरू खाँदा र पिउँदा, तैँले यस प्रकारका समस्याहरूलाई सम्बोधन गर्नेछस्, अनि सोच्नेछस्, “मैले यी समस्याहरू कसरी समाधान गर्ने होला? मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई मुक्त हुन र आत्मामा आनन्द प्राप्त गर्न म कसरी मद्दत गर्न सक्छु?” सङ्गति गर्दा तैँले यी समस्याहरू समाधान गर्नमा पनि ध्यान दिनेछस् अनि परमेश्वरका वचनहरू खाँदा र पिउँदा, तैँले यी समस्याहरूसँग सम्बन्धित वचनहरू खान र पिउनमा ध्यान दिनेछस्। बोझको भावनासहित परमेश्वरका वचनहरू खाएर र पिएर तैँले उहाँका मागहरू बुझ्न थाल्छस्, अनि तेरो लागि अगाडिको मार्ग अझ प्रस्ट बन्नेछ। यो भनेको तँसँग बोझ हुँदा उत्पन्न हुने पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति हो, र यो तेरो लागि परमेश्वरको मार्गदर्शन पनि हो। म किन यसो भन्छु? यदि तँसित कुनै बोझ छैन भने, परमेश्वरका वचनहरू खाँदा र पिउँदा तैँले ध्यान दिनेछैनस्; जब तैँले हृदयमा बोझ बोकेर परमेश्वरका वचनहरू खान्छस् र पिउँछस्, तब तैँले तिनको सार बुझ्न, आफ्नो मार्ग भेट्टाउन, र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्नेछस्। त्यसकारण, तैँले परमेश्वरलाई तँमाथि अझै बढी बोझहरू राखिदिनुहोओस् र तँलाई अझै ठूला कार्यभार सुम्पनुहोओस् भनी प्रार्थना गर्नुपर्छ, ताकि भविष्यमा तेरो अभ्यासका निम्ति तँसित अझ प्रस्ट मार्ग होस्; ताकि तैँले परमेश्वरका वचनहरू खाँदा र पिउँदा त्यसले अझ राम्रा नतिजाहरू देओस्; ताकि तँ उहाँका वचनहरूको सारलाई बुझ्न सक्षम बनेस्; ताकि तँ पवित्र आत्माद्वारा उत्प्रेरित हुन अझ सक्षम बनेस्।
परमेश्वरका वचनहरू खानु र पिउनु, प्रार्थना गर्नु र तालिम लिनु, परमेश्वरको बोझ स्वीकार गर्नु, अनि उहाँले तँलाई सुम्पनुहुने कार्यभारहरू स्वीकार गर्नु—यो सबै तँसित अगाडि बढ्ने मार्ग होस् भनेर हो। परमेश्वरको आज्ञाप्रति तँसँग जति बढी बोझ हुन्छ, उहाँद्वारा सिद्ध पारिन तँलाई त्यति नै सजिलो हुनेछ। कतिपय त आह्वान गर्दा समेत परमेश्वरको सेवामा अरूसित सहकार्य गर्न अनिच्छुक हुन्छन्; यिनीहरू अल्छी मानिस हुन् जो आरामको लालसा गर्छन्। तँलाई जति बढी अरूसँग सहकार्य गरेर सेवा गर्न भनिन्छ, तैँले त्यति नै बढी अनुभवहरू हासिल गर्नेछस्। बोझ र अनुभवहरू बढी भएकाले तैँले सिद्ध हुने बढी अवसरहरू पाउनेछस्। त्यसकारण, यदि तैँले सच्चाइका साथ परमेश्वरको सेवा गर्न सकिस् भने तैँले, परमेश्वरको बोझलाई ख्याल गर्नेछस्, त्यसो हुँदा; तैँले परमेश्वरद्वारा सिद्ध पारिने अझ धेरै अवसरहरू पाउनेछस्। हाल त्यस्ता मानिसहरूको समूहलाई सिद्ध पारिँदै छ। तँलाई जति बढी पवित्र आत्माले छुनुहुन्छ, तैँले त्यति नै बढी समय परमेश्वरको बोझप्रति सचेत हुन अर्पित गर्नेछस्, तँलाई त्यति नै बढी परमेश्वरद्वारा सिद्ध तुल्याइनेछ—तबसम्म सिद्ध तुल्याइनेछ जबसम्म तँ अन्ततः परमेश्वरले प्रयोग गर्नुहुने व्यक्ति हुँदैनस्। हाल, केही व्यक्तिहरू यस्ता छन् जसले मण्डलीको निम्ति कुनै बोझहरू बोक्दैनन्। यी मानिसहरू सुस्त र लापरवाह छन् अनि यिनीहरूले केवल आफ्नै देहको मात्र वास्ता गर्छन्। त्यस्ता मानिसहरू अत्यन्तै स्वार्थी हुन्छन् र तिनीहरू अन्धा पनि हुन्छन्। यदि तैँले यो कुरा स्पष्टसित देख्न सक्दैनस् भने, कुनै पनि बोझ बोक्नेछैनस्। तैँले जति बढी परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छस्, त्यति नै बढी बोझ उहाँले तँलाई सुम्पिनुहुनेछ। स्वार्थीहरू त्यस्ता कुराहरूको कष्ट भोग्न अनिच्छुक हुन्छन्; तिनीहरू मूल्य चुकाउन अनिच्छुक हुन्छन् र परिणामस्वरूप, तिनीहरूले परमेश्वरद्वारा सिद्ध तुल्याइने अवसरहरू गुमाउनेछन्। के तिनीहरूले आफैलाई हानि पुऱ्याइरहेका छैनन् र? यदि तँ परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने व्यक्ति होस् भने, तँमा मण्डलीको निम्ति साँचो बोझ विकसित हुनेछ। वास्तवमा, यसलाई मण्डलीका निम्ति तैँले वहन गर्ने बोझ भन्नुको सट्टामा यसलाई तैँले आफ्नै जीवनका लागि वहन गर्ने बोझ भन्नु उत्तम हुनेछ किनकि परमेश्वरले यस्ता अनुभवहरूमार्फत तँलाई सिद्ध पार्नुहोओस् भन्नका लागि नै मण्डलीका निम्ति तँमा बोझ विकसित हुने हो। त्यसकारण, जसले मण्डलीका निम्ति सबैभन्दा ठूलो बोझ वहन गर्छ, जसले जीवन प्रवेशका निम्ति बोझ वहन गर्छ—तिनीहरूलाई नै परमेश्वरले सिद्ध पार्नुहुन्छ। के तैँले यसलाई स्पष्टसित देखेको छस्? यदि तँ रहेको मण्डली बालुवा जस्तै छरिएको छ तर तँ चिन्तित हुँदैनस् र आत्तिँदैनस्, अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले सामान्य रूपमा परमेश्वरका वचनहरू खान र पिउन नसक्दा पनि आँखा चिम्लिन्छस् भने, यो कुनै बोझ नहुनुको प्रकटीकरण हो। त्यस्ता मानिसहरूलाई परमेश्वरले प्रेम गर्नुहुन्न। जसलाई परमेश्वरले प्रेम गर्नुहुन्छ, तिनीहरू धार्मिकताको निम्ति भोकाउँछन् र तिर्खाउँछन् र परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छन्। यसर्थ, तिमीहरू अहिले नै परमेश्वरको बोझलाई ख्याल गर्ने हुनुपर्छ; तिमीहरूले परमेश्वरको बोझलाई ख्याल गर्नुअघि उहाँले असङ्ख्य मानिसहरूलाई आफ्नो धर्मी स्वभाव प्रकट गरुञ्जेलसम्म पर्खिनु हुँदैन। के त्यति बेलासम्म धेरै ढिलो हुनेछैन र? परमेश्वरद्वारा सिद्ध पारिने राम्रो अवसर अहिले नै हो। यदि तैँले यस अवसरलाई आफ्नो हातबाट फुत्किन दिइस् भने, मोशाले कनानको असल भूमिमा प्रवेश गर्न असक्षम हुँदा बाँकी जीवनभरि पछुताएर मर्ने बेलामा पनि अफसोस मानेजस्तै तँ तेरो बाँकी जीवनभरि पछुताउनेछस्। जब परमेश्वरको धर्मी स्वभाव असङ्ख्य मानिसहरूलाई प्रकट गरिन्छ, तब तँ पछुतोले भरिनेछस्। परमेश्वरले तँलाई सजाय नदिनुभए तापनि अफसोसका कारण तैँले आफैलाई सजाय दिनेछस्। कोही-कोही यसद्वारा विश्वस्त हुँदैनन् तर यदि तँलाई त्यो विश्वास लाग्दैन भने, पर्खेर त हेर्। कतिपय मानिसहरू ठ्याक्कै तिनै हुन् जसले यी वचनहरू आफूमा साकार भएको देख्नेछन्। के तँ यी वचनहरूका लागि आफैलाई बलिदान गर्न तयार छस्?
यदि तँ परमेश्वरद्वारा सिद्ध पारिने अवसरहरू खोज्दैनस् र यदि तैँले सिद्ध पारिने पछ्याइमा अरूभन्दा बढी सफल हुनका निम्ति मेहनत गर्दैनस् भने, अन्ततः तैँले पछुताउनेछस्। मानिसहरूलाई सिद्ध पार्ने सर्वोत्तम अवसर अहिले नै हो; यो अत्यन्तै राम्रो समय हो। यदि तैँले परमेश्वरद्वारा सिद्ध पारिने कुरालाई गम्भीरतापूर्वक पछ्याइनस् भने, उहाँको काम पूरा भएपछि, तैँले अवसर गुमाइसकेको हुनेछस्—त्यो ज्यादै ढिला भइसकेको हुनेछ। तेरो सङ्कल्प जतिसुकै ठूलो भए तापनि, यदि परमेश्वरले काम गर्न छाडिसक्नुभएको छ भने, तैँले लखतरान भइन्जेल प्रयास गरे पनि कहिल्यै सिद्धता हासिल गर्न सक्नेछैनस्। तैँले यो अवसर पक्रनैपर्छ र पवित्र आत्माले आफ्नो महान् काम गर्नुहुँदा उहाँसित सहकार्य गर्नैपर्छ। यदि तैँले यो मौका गुमाइस् भने, तैँले जतिसुकै प्रयासहरू गरे पनि तँलाई अर्को मौका दिइनेछैन। तिमीहरूमध्ये कतिपय यसो भन्दै चिच्याउँछौ, “परमेश्वर, म तपाईंको बोझलाई ध्यान दिन इच्छुक छु, म तपाईंका अभिप्रायहरूलाई पूरा गर्न इच्छुक छु।” तैपनि, अभ्यास गर्नको निम्ति तँसित कुनै मार्ग छैन, त्यसैले तेरा बोझहरू टिक्नेछैनन्। यदि तेरो अगाडि मार्ग छ भने, तैँले एक पल्टमा एउटा अनुभव हासिल गर्नेछस् अनि तेरो अनुभव संरचित र व्यवस्थित हुनेछ। एउटा बोझ पूरा भइसकेपछि, तँलाई अर्को दिइनेछ। तेरो जीवनको अनुभव गहिरो हुँदै जाँदा, तेरा बोझहरू पनि अझ गहन हुनेछन्। कोही-कोही मानिसहरू केवल पवित्र आत्माले आफूलाई स्पर्श गर्नुभएको बेला मात्रै बोझ बोक्छन्; केही समयपछि अभ्यास गर्न तिनीहरूसित मार्ग नहुँदा, तिनीहरूले कुनै पनि बोझहरू बोक्न छोड्छन्। केवल परमेश्वरका वचनहरू खाएर अनि पिएर मात्रै तैँले आफ्ना बोझहरूलाई विकसित गर्न सक्दैनस्। धेरै सत्यताहरू बुझेर तैँले समझ प्राप्त गर्नेछस्, सत्यतालाई प्रयोग गरेर समस्याहरू समाधान गर्न सिक्नेछस् अनि परमेश्वरका वचनहरू तथा परमेश्वरका अभिप्रायबारे अझ सटीक बुझाइ हासिल गर्नेछस्। यी कुराहरूद्वारा, तैँले बोक्नका निम्ति बोझहरू विकास गर्नेछस् अनि तब मात्रै तैँले उचित प्रकारले काम गर्न सक्नेछस्। यदि तँसित बोझ छ तर सत्यताको स्पष्ट बुझाइ छैन भने, त्यसले पनि काम गर्नेछैन; तैँले व्यक्तिगत रूपले परमेश्वरका वचनहरू अनुभव गर्नुपर्छ र त्यसलाई कसरी अभ्यास गर्ने हो सो जान्नुपर्छ। तँ आफै वास्तविकताभित्र प्रवेश गरिसकेपछि मात्रै तैँले अरूको निम्ति जुटाउन, अरूलाई डोऱ्याउन सक्नेछस् र तँ परमेश्वरद्वारा सिद्ध तुल्याइन सक्नेछस्।
“मार्ग … (४)” मा यो लेखिएको छ, तिमीहरू युगौं-युगअघि नै परमेश्वरद्वारा पूर्वनियुक्त गरिएका राज्यका मानिसहरू हौ र तिमीहरूलाई कसैले पनि खोसेर लैजान सक्दैन। त्यहाँ यो पनि उल्लेखित छ, सबै जना परमेश्वरद्वारा प्रयोग गरिएका तथा सिद्ध तुल्याइएका होऊन् भन्ने परमेश्वर इच्छा गर्नुहुन्छ अनि उहाँले तिनीहरू परमेश्वरका मानिसहरूको रूपमा खडा होऊन् भन्ने माग गर्नुहुन्छ अनि परमेश्वरका मानिसहरू भएर मात्रै तिनीहरूले परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्छन्। त्यो बेला, तिमीहरू सबैले यस विषयमा सङ्गति गरेका थियौ, परमेश्वरका मानिसहरूका स्तरहरूमा आधारित प्रवेशको मार्गबारे बातचित गरेका थियौ। त्यसैकारण, त्यस समय अवधिमा पवित्र आत्माले गर्नुभएको काम तिनीहरूलाई तिनीहरूको नकारात्मक अवस्थाबाट बाहिर ल्याउन र सकारात्मक अवस्थामा डोऱ्याउनको लागि थियो। त्यो बेला, पवित्र आत्माको काम प्रत्येकलाई परमेश्वरका मानिसहरूको रूपमा परमेश्वरका वचनहरूमा आनन्द लिन सक्षम तुल्याउने अनि तिमीहरूमध्ये प्रत्येकलाई परमेश्वरका मानिसहरू हौ र शैतानले तिमीहरूलाई खोसेर लान सक्दैन भनी स्पष्ट प्रकारले बुझ्ने तुल्याउनेतर्फ उन्मुख थियो। त्यसैले, तिमीहरू सबैले यसो भनेर प्रार्थना गऱ्यौ, “परमेश्वर! म तपाईंका मानिसहरूमध्ये एक हुन इच्छुक छु, किनभने युगौँ-युग पहिले नै तपाईंद्वारा पूर्वनियुक्त गरिएका थियौँ, किनभने तपाईंले नै यो हैसियत हामीलाई प्रदान गर्नुभयो। हामी यो हैसियतद्वारा तपाईंलाई सन्तुष्ट पार्न इच्छुक छौं।” तैँले यस प्रकारले प्रार्थना गर्दा, पवित्र आत्माले तँलाई छुनुहुन्थ्यो; यही प्रकारले काम गर्ने पवित्र आत्माको प्रवृत्ति थियो। यस समय अवधिमा, तैँले परमेश्वरको सामु आफ्नो हृदयलाई शान्त तुल्याउन प्रार्थना गर्नुपर्छ अनि आफैलाई तालीम दिनुपर्छ, ताकि तैँले जीवनको निम्ति संघर्ष गर्न सक् र राज्यको तालिममा प्रवेश गर्ने प्रयास गर्न सक्। पहिलो कदम यही नै हो। यस क्षणमा, परमेश्वरको काम भनेको प्रत्येकलाई ठीक बाटोमा प्रवेश गर्न लगाउनु, सामान्य आत्मिक जीवन तथा साँचो अनुभवहरू प्राप्त गर्न लगाउनु, पवित्र आत्माद्वारा सञ्चालित हुन लगाउनु अनि—यी कुराहरूको जगमा परमेश्वरका आज्ञाहरू स्विकार्न लगाउनु हो। राज्यको तालीमभित्र प्रवेश गर्नुको उद्देश्य तिमीहरूको प्रत्येक बोलीवचन, कार्य, चाल, विचार तथा धारणालाई परमेश्वरका वचनहरूभित्र प्रवेश गर्न लगाउनु हो; परमेश्वरद्वारा बारम्बार स्पर्श पाउन लगाउनु हो अनि त्यसद्वारा उहाँलाई प्रेम गर्ने हृदय विकास गर्नु हो; अनि तँलाई परमेश्वरका अभिप्रायका धेरै बोझ सम्हाल्न लगाउनु हो, ताकि प्रत्येक व्यक्ति परमेश्वरद्वारा सिद्ध तुल्याइने मार्गमा हुन सकोस्, ताकि प्रत्येक व्यक्ति ठीक मार्गमा होस्। तँ परमेश्वरद्वारा सिद्ध तुल्याइने यस मार्गमा आएपछि, ठीक मार्गमा हुन्छस्। तेरा विचार तथा धारणाहरू, साथै तेरा गलत मनसायहरूलाई सच्याउन सकिएपछि अनि तँ देहप्रति ध्यान दिने व्यक्तिबाट परमेश्वरका अभिप्रायलाई ख्याल गर्ने व्यक्तिमा परिवर्तन भएपछि अनि तँ गलत मनसायहरूको उदय हुँदा त्यसले ल्याउने बाधालाई रोक्न सक्षम भएर परमेश्वरका अभिप्रायअनुरूप चल्ने भएपछि—यदि तैँले यो रूपान्तरण हासिल गर्न सक्छस् भने, तँ जीवन अनुभवको ठीक मार्गमा छस्। तेरो प्रार्थनाका अभ्यासहरू ठीक मार्गमा भएपछि तेरा प्रार्थनाहरूमा तँ पवित्र आत्माद्वारा छोइनेछस्। जब-जब तैँले प्रार्थना गर्छस्, तँलाई पवित्र आत्माले छुनुहुनेछ; तैँले हरेक पल्ट प्रार्थना गर्दा, परमेश्वरसामु आफ्नो हृदयलाई शान्त तुल्याउन सक्नेछस्। तैँले हरेक पल्ट परमेश्वरका वचनहरूको अध्याय खाएपछि र पिएपछि, यदि तैँले उहाँले अहिले गरिरहनुभएको कामलाई बुझ्न सक्छस् अनि कसरी प्रार्थना गर्ने, कसरी सहकार्य गर्ने, कसरी प्रवेश हासिल गर्ने सो सिक्न सक्छस् भने, तब मात्रै परमेश्वरका वचनहरूको तेरो खुवाइ र पियाइले परिणामहरू उत्पन्न गर्नेछन्। जब, परमेश्वरका वचनहरूद्वारा तैँले प्रवेशको मार्ग भेट्टाउन सक्छस् अनि परमेश्वरको कामको वर्तमान गतिशीलता, साथै पवित्र आत्माको कामको दिशालाई ठम्याउन सक्छस्, तब तँ ठीक मार्गमा प्रवेश गरेको हुनेछस्। परमेश्वरका वचनहरू खाँदा र पिउँदा यदि तैँले मुख्य बुँदाहरूलाई बुझेको छैनस् अनि त्यसपछि अभ्यास गर्नका लागि बाटो भेट्टाउन अझै असक्षम छस् भने, यसले परमेश्वरका वचनहरू कसरी ठीक प्रकारले खाने र पिउने भन्ने तँलाई अझै थाहा छैन अनि तैँले त्यसो गर्ने विधि वा सिद्धान्त पत्ता लगाएको छैनस् भन्ने देखाउँछ। परमेश्वरले हाल गरिरहनुभएको कामलाई यदि तैँले राम्ररी बुझेको छैनस् भने, उहाँले तँलाई सुम्पिनुहुने कामहरू तैँले स्वीकार गर्न सक्नेछैनस्। परमेश्वरले हाल गर्नुहुने काम मानिसहरू प्रवेश गर्नैपर्ने र तिनीहरूले अहिले नै बुझ्नुपर्ने काम हो। के तिमीहरूले यी कुराहरूलाई राम्ररी बुझेका छौ?
यदि तैँले परमेश्वरका वचनहरूलाई प्रभावकारी रूपले खान्छस् र पिउँछस् भने, तेरो आत्मिक जीवन सामान्य हुन्छ अनि तैँले जस्तोसुकै परीक्षाहरूको सामना गरे तापनि, जस्तोसुकै परिस्थितिहरूसित जम्काभेट गर्नुपरे तापनि, जस्तोसुकै शारीरिक रोगव्याधिहरू सहनु परे तापनि, तँ दाजुभाइ तथा दिदीबहिनीहरूबाट विमुख हुनुपरे तापनि वा तैँले पारिवारिक समस्याहरू सामना गर्नु परे तापनि, परमेश्वरको वचन सामान्य रूपमा खान र पिउन सक्छस्, सामान्य रूपले प्रार्थना गर्न सक्छस्, सामान्य रूपले मण्डली जीवनलाई निरन्तरता दिन सक्छस्; यदि तैँले यी सबै हासिल गर्न सक्छस् भने, यसले तँ ठीक मार्गमा छस् भन्ने देखाउनेछ। कोही मानिसहरू धेरै नै कमजोर हुन्छन् अनि तिनीहरूसित दृढताको कमी हुन्छ। सानो बाधा सामना गर्नुपर्दा पनि तिनीहरू बच्चाजस्तो रुन्छन् अनि नकारात्मक हुन्छन्। सत्यताको खोजी गर्नको लागि दृढता तथा संकल्पको आवश्यकता पर्छ। यदि तँ यस पटक परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न असफल भएको छस् भने, तैँले आफैलाई घृणा गर्न सक्नुपर्छ, अनि अर्को पल्ट सफल हुन चुपचाप अठोट गर्नुपर्छ। यदि यस पटक, तँ परमेश्वरको बोझप्रति सचेत भएको थिइनस् भने, भविष्यमा त्यस्तै बाधा सामना गर्नुपर्दा देहविरुद्ध विद्रोह गर्न तैँले निश्चय गर्नुपर्छ अनि परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्ने संकल्प गर्नुपर्छ। यसरी नै तँ प्रशंसायोग्य हुनेछस्। कोही मानिसहरू आफ्ना विचारहरू वा धारणाहरू ठीक छन् कि छैनन् भनेर समेत जान्दैनन्। ती मानिसहरू मूर्ख हुन्। यदि तँ आफ्नो हृदयलाई काबू गर्न अनि देहविरुद्ध विद्रोह गर्न चाहन्छस् भने, पहिले तैँले तेरा मनसायहरू ठीक छन् कि छैनन् भनी जान्नैपर्छ, तब मात्र तैँले तेरो हृदयलाई काबूमा राख्न सक्छस्। यदि तेरा मनसायहरू ठीक छन् वा छैनन् भनी तँलाई थाहा छैन भने, तेरो हृदयलाई काबू गर्न र देहविरुद्ध विद्रोह गर्न तँलाई सम्भव होला त? यदि तैँले विद्रोह गर्छस् भने पनि, अन्योल तरिकाले त्यसो गर्नेछस्। तेरा गलत मनसायहरूको विरुद्धमा कसरी विद्रोह गर्ने भनी तैँले जान्नुपर्छ। देहको विरुद्धमा विद्रोह गर्नुको अर्थ यही नै हो; आफ्ना मनसाय, विचार तथा धारणाहरू गलत छन् भन्ने जानिसकेपछि, तैँले तुरुन्तै आफ्नो मार्ग बदल्नुपर्छ र ठीक मार्गमा हिँड्नुपर्छ। यो विषयलाई पहिले समाधान गर् अनि यस सम्बन्धमा प्रवेश हासिल गर्न आफैलाई तालीम दे, किनभने आफ्ना मनसायहरू ठीक छन् कि छैनन् भन्ने तँलाई नै राम्रोसित थाहा छ। तेरा गलत मनसायहरू सुधार गरिसकेपछि अनि ती अब परमेश्वरको प्रयोजनको निम्ति भइसकेपछि, तैँले आफ्नो हृदयलाई काबू राख्ने लक्ष्य हासिल गरिसकेको हुनेछस्।
तिमीहरूले अहिले गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्वरको ज्ञान र उहाँको काम प्राप्त गर्नु हो। मानवजातिमाथि पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भन्ने पनि तैँले जान्नैपर्छ; ठीक मार्गमा प्रवेश गर्नको लागि यी कार्यहरू अत्यावश्यक छन्। तैँले यो महत्त्वपूर्ण बुँदा बुझिसकेपछि त्यसो गर्न तेरो लागि सजिलो हुनेछ। तँ परमेश्वरमा विश्वास गर्छस् अनि उहाँलाई चिन्छस्, यसले तेरो विश्वास साँचो हो भनी देखाउँदछ। यदि तैँले अनुभव प्राप्त गर्न जारी राख्छस् तापनि तैँले अझै परमेश्वरलाई चिन्न सक्दैनस् भने, तँ निश्चय नै परमेश्वरको विरोध गर्ने व्यक्ति होस्। जसले आजका देहधारी परमेश्वरलाई विश्वास नगरी येशूलाई मात्र विश्वास गर्छन्, तिनीहरू सबै दोषी ठहरिन्छन्। तिनीहरू सबै पछिल्ला दिनका फरिसीहरू हुन्, किनभने तिनीहरूले आजका परमेश्वरलाई स्वीकार गर्दैनन्; तिनीहरू सबै परमेश्वरको विरोधमा छन्। येशूप्रति तिनीहरूको आराधना जतिसुकै समर्पित भए तापनि, यो सबै व्यर्थमा हुनेछ; परमेश्वरले तिनीहरूलाई स्याबासी दिनुहुनेछैन। परमेश्वर विश्वास गर्छु भनी दाबी चाहिँ गर्ने तर आफ्नो हृदयमा परमेश्वरको साँचो ज्ञान नभएकाहरू सबै जना ढोङ्गी हुन्।
परमेश्वरद्वारा सिद्ध तुल्याइने कुराको खोजी गर्न व्यक्तिले पहिले उहाँद्वारा सिद्ध तुल्याइनुको अर्थ के हो, साथै सिद्ध तुल्याइनका निम्ति कस्ता शर्तहरू पालना गर्नुपर्छ भनी बुझ्नुपर्छ। व्यक्तिले त्यस्ता विषयहरूलाई राम्ररी बुझ्दा अभ्यासको बाटो खोजी गर्नुपर्छ। सिद्ध तुल्याइनका निम्ति, व्यक्ति एउटा निश्चित क्षमताको हुनुपर्छ। धेरै मानिसहरूमा जन्मजातै उच्च क्षमता पर्याप्त हुँदैन, यस्तो अवस्थामा तैँले मूल्य चुकाउनुपर्छ र व्यक्तिपरक ढङ्गले कडा परिश्रम गर्नुपर्छ। जति तेरो क्षमता खराब हुन्छ, त्यति नै बढी तैँले व्यक्तिपरक ढङ्गले प्रयत्न गर्नुपर्छ। परमेश्वरको वचनको तेरो बुझाइ जति बढी हुन्छ र जति बढी तैँले त्यसलाई अभ्यास गर्छस्, त्यति नै चाँडै तैँले सिद्धताको बाटोमा आफ्नो पाइला राख्न सक्छस्। प्रार्थनाद्वारा तँलाई प्रार्थनाको क्षेत्रमा सिद्ध तुल्याइन सकिन्छ, परमेश्वरका वचनहरू खाएर अनि पिएर, तिनीहरूको सारलाई राम्ररी बुझेर, तिनीहरूको वास्तविकताअनुसार जिएर पनि तँलाई सिद्ध तुल्याइन सकिन्छ। परमेश्वरका वचनहरूलाई दैनिक रूपमा अनुभव गरेर तैँले आफूमा के कमी छ जान्नुपर्छ, अझ भन्ने हो भने, तैँले तेरा घातक दोषहरू तथा तेरा कमजोरीहरू के-के हुन् भनी चिन्नुपर्छ र परमेश्वरलाई प्रार्थना तथा बिन्ती गर्नुपर्छ। यसो गरेर, तँलाई क्रमिक रूपले सिद्ध तुल्याइनेछ। सिद्धतातर्फको बाटो यस्तो हुन्छ: प्रार्थना गर्नु; परमेश्वरका वचनहरूलाई खानु र पिउनु; परमेश्वरका वचनहरूको सारलाई राम्ररी बुझ्नु, परमेश्वरका वचनहरूको अनुभवमा प्रवेश गर्ने कुरा हासिल गर्नु, तँ आफैमा के कमी छ भनी जान्नु, परमेश्वरको कामप्रति समर्पित हुनु; परमेश्वरको बोझप्रति सचेत हुनु अनि परमेश्वरलाई प्रेम गर्ने तेरो हृदयमार्फत देहको विरुद्धमा विद्रोह गर्नु; अनि तेरा दाजुभाइ तथा दिदीबहिनीहरूप्रति निरन्तर सङ्गतिमा सामेल हुनु जसले तेरा अनुभवहरूलाई समृद्ध बनाउन सक्दछ। चाहे त्यो सामुदायिक जीवन होस् वा तेरो व्यक्तिगत जीवन, चाहे त्यो ठूलो भेला होस् वा सानो, तिनीहरू सबैले तँलाई अनुभव र तालिम प्राप्त गर्न मदत दिन सक्छन् ताकि तेरो हृदय परमेश्वरसामु शान्त हुन र उहाँमा फर्किन सकोस्। यो सबै सिद्ध तुल्याइने प्रक्रियाको भाग हो। अघि उल्लेख गरिएझैँ परमेश्वरका वचनहरू अनुभव गर्नु भनेको वास्तवमा तिनीहरूलाई चाख्न सक्षम हुनु र आफूलाई ती वचनहरूअनुसार जिउन दिनु हो ताकि तैँले परमेश्वरप्रति अझ ठूलो विश्वास र प्रेम हासिल गर्न सक्। यस प्रकारले, तैँले क्रमिक रूपमा आफ्नो भ्रष्ट, शैतानी स्वभावलाई त्याग्नेछस्; अनुचित अभिप्रायहरूदेखि आफैलाई स्वतन्त्र तुल्याउनेछस्; अनि सामान्य व्यक्तिको स्वरूपमा जिउनेछस्। परमेश्वरको निम्ति तँभित्र जति ठूलो प्रेम हुन्छ—भनाइको अर्थ, तेरो जति बढी भाग परमेश्वरद्वारा सिद्ध तुल्याइएको हुन्छ—त्यति नै कम तँ शैतानी भ्रष्टताको काबूमा हुनेछस्। तेरा व्यवहारिक अनुभवहरूद्वारा तैँले क्रमिक रूपमा सिद्धताको बाटोमा आफ्नो पाइला राख्नेछस्। यसरी, यदि तँ सिद्ध तुल्याइने चाहना गर्छस् भने, तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्नु र उहाँका वचनहरू अनुभव गर्नु विशेष रूपले महत्वपूर्ण छन्।