७८. छद्मभेष उतार्दा धेरै राहत महसुस हुँदोरहेछ

शियाओमेई, चीन

मार्च २०२१ मा, म भिडियोको कामप्रति जिम्मेवार थिएँ। सुरुमा, मलाई आफ्ना धेरै कमजोरी छन् जस्तो लाग्थ्यो। मैले नबुझेको कुनै कुरा हुँदा, म प्रायः अगुवाहरू वा अन्य ब्रदर-सिस्टरहरूलाई सोध्ने गर्थेँ। एक पटक, मैले अगुवाहरूद्वारा अरू कसैलाई लेखिएको पत्र संयोगवश देखेँ। त्यसमा के लेखिएको थियो भने, मैले यो कर्तव्य लामो समयदेखि नगरेको भए तापनि, मसँग केही क्षमता छ, र भिडियोहरू निर्माण गर्ने मेरो प्रगति तुलनात्मक रूपमा छिटो छ। म संवर्धन गर्नका लागि उपयुक्त उम्मेदवार हुँ। पत्रले अन्य ब्रदर-सिस्टरहरूका समस्याहरूबारे पनि उल्लेख गरेको थियो। प्रशंसा पाउने व्यक्ति म मात्र थिएँ। मेरो मनस्थितिमा केही सूक्ष्म परिवर्तनहरू आए। मलाई म अरू ब्रदर-सिस्टरहरूभन्दा उत्तम छु जस्तो लाग्यो, र अझ म त सुपरिवेक्षक पो थिएँ। त्यसैले भविष्यमा, यदि उनीहरूले भिडियो प्रविधिका बारेमा कुनै प्रश्नहरू उठाए भने, मैले ती समाधान गर्न सक्ने हुनैपर्नेथ्यो। एक पटक, हामी कामका बारेमा छलफल गर्दै थियौँ। एक जना सिस्टरले एउटा प्रश्न उठाइन्, तर मैले त्यसलाई समाधान गर्न सकिनँ। मैले मनमनै सोचेँ, “यदि मैले यो कसरी गर्ने जानेको छैन र मैले बुझेको छैन भनेँ भने, के उनीहरूले मलाई तुच्छ ठान्नेछन्? के उनीहरूले ममा कुनै खास कुरा छैन, र म उनीहरूभन्दा उत्तम छैन भनेर सोच्नेछन्?” त्यसैले, मैले अन्य ब्रदर-सिस्टरहरूलाई उनीहरूसँग कुनै विचार छ कि भनेर सोधेँ। मेरा ब्रदर-सिस्टरहरू आफ्ना रायहरू बताउँदै गर्दा, मैले हतार-हतार सामग्रीहरू खोजेँ। उनीहरूले बोलिसकेपछि, मैले उनीहरूबाट उल्लेख नभएका केही समाधान थपेँ। मैले बोलिसक्नेबित्तिकै, केही सिस्टरले भने, “तपाईँसँग यसबारे छलफल नगरेको भए, हामीले वास्तवमै यस पक्षलाई बुझ्ने थिएनौँ। तपाईँसँग छलफल गर्नेबित्तिकै हामीलाई धेरै स्पष्ट भयो।” पछि, जब-जब कसैलाई कुनै समस्या वा कठिनाइहरू पर्थ्यो, तब उनीहरू तीबारे मसँग छलफल गर्न चाहन्थे। म धेरै खुसी थिएँ। मैले मनमनै सोचेँ, “अहिले उनीहरू सबै मेरो प्रशंसा गर्छन्। सुपरिवेक्षकका रूपमा म राम्रो छु भनेर उनीहरू पक्कै पनि सोच्छन्। मैले राम्रो गर्नैपर्छ। मैले कुनै गल्ती गर्नु हुँदैन।”

एक पटक, एक जना अगुवाले मलाई एउटा भिडियो फरवार्ड गरिन्। त्यो भिडियो सिस्टर शियाओ रानले निर्माण गरेकी थिइन्, र त्यसमा केही समस्या थिए। शियाओ रानको प्राविधिक सीप भिडियो सम्पादन गर्ने स्तरको छैन भनेर अगुवाहरू चिन्तित थिए, त्यसैले उनीहरूले मलाई उनीसँगै मिलेर त्यसलाई सम्पादन गर्न आग्रह गरे। भिडियोमा भएका समस्याहरू देखेपछि, ममा सम्पादनका केही विचारहरू आए। तर, केही प्रविधिबारे मसँग पक्का ज्ञान थिएन, र वास्तवमा यसलाई कसरी राम्ररी सम्पादन गर्ने भन्ने बारेमा मेरो पकड थिएन। मैले मनमनै सोचेँ, “यदि मैले यसलाई राम्ररी सम्पादन गरिनँ भने, अगुवाहरूले मेरा बारेमा के सोच्नेछन्? पहिले, उनीहरूमा मबारे धेरै राम्रो छाप थियो। यदि मैले यो भिडियो राम्ररी सम्पादन गर्न सकिनँ भने, के अगुवाहरूले म अदक्ष रहेकी, र उनीहरूमा मेरो जुन छाप थियो, म त्यस्तो सिपालु नरहेकी भनेर सोच्नेछन्? यसरी त हुँदैन। मैले अगुवाहरूमा यस्तो छाप छाड्नु हुँदैन।” त्यतिबेला, मैले सोचेँ, “जे भए पनि, यो भिडियो शियाओ रानले निर्माण गरेकी हुन्। शियाओ रानलाई नै सम्पादन गर्न किन नलगाउने? यदि यो राम्ररी सम्पादन भएन भने, त्यो उनको समस्या हो। पछि अगुवाहरूले यसबारे सोधे भने, मैले गर्नुपर्ने अरू नै महत्त्वपूर्ण काम थियो भनेर भन्दिन्छु।” तर, शियाओ रानलाई भिडियो कसरी सम्पादन गर्ने भनेर थाहा थिएन, र उनले मेरो राय मागिन्। मैले मनमनै सोचेँ, “यदि मैले यो भिडियोमा प्रयोग भएका प्रविधिहरूमा मेरो पकड छैन भनेँ भने, शियाओ रानले मेरा बारेमा के सोच्नेछिन्? के उनले म सुपरिवेक्षक भएर पनि यतिसम्म गर्न सक्दिनँ भनेर सोच्नेछिन्?” मेरी सिस्टरले मेरो मनमा के छ भनेर थाहा नपाऊन् भनेर, मैले म यसलाई कसरी सम्पादन गर्नेथिएँ भन्नेबारे आफ्ना विचारहरू मात्र बताएँ। मैले विशिष्ट प्राविधिक पक्षहरू कसरी चलाउने भन्ने कुरा मात्रै सरसरती भनिदिएँ। शियाओ रानको अलमल्ल परेको अनुहार देखेर, मैले थप केही सोध्ने आँट गरिनँ। मलाई के डर लाग्यो भने यदि मैले धेरै प्रश्न सोधेँ, र त्यसपछि उनले मलाई मैले उत्तर दिन नसक्ने अन्य प्रश्नहरू सोधिन् भने, के गर्ने भनेर मलाई थाहा हुनेछैन। मैले उनलाई केवल परमेश्‍वरलाई बारम्बार प्रार्थना गर्न र परमेश्‍वरमा भर पर्न भनेँ। पछि, शियाओ रानले अझै पनि सम्पादन गर्न सकिनन्। त्यहाँ अरू कुनै उपाय थिएन। मैले केवल आफ्नो आँट जुटाउनुपर्‍यो र उनीसँगै बसेर सम्पादन गर्नुपर्‍यो। मलाई यो कसरी गर्ने भनेर थाहा छैन भन्ने कुरा शियाओ रानले थाहा नपाऊन् भन्नका लागि, मैले लुकिछिपी स्रोतहरू खोजेँ र ट्यूटोरियलहरू हेरेँ। म यति व्यस्त भएँ कि मलाई चक्कर लागेजस्तो भयो, मेरो दिमाग सुन्निएजस्तो भयो, र म हृदयदेखि नै धेरै थकित भएँ। अन्ततः, यस भिडियोको सम्पादन सकिन झन्डै एक महिना लाग्यो।

पछि, अगुवाहरूले हामीलाई भिडियो प्रविधिका बारेमा केही अध्ययन सामग्रीहरू दिए, ताकि हामी तीबारे छलफल गर्न र सँगै सिक्न सकौँ। म यसअघि यस्तो नयाँ भिडियो प्रविधिको सम्पर्कमा आएकी थिइनँ, र मैले केही अध्ययन सामग्रीहरू बुझिनँ। तर, म आफ्ना ब्रदर-सिस्टरहरूसामु आफ्नो हृदय खोल्न र यसबारे छलफल गर्न चाहन्नथेँ। परिणामस्वरूप, मलाई अध्ययन सामग्रीहरू धेरैभन्दा धेरै मेहनत लाग्यो। एक पटक, हामी एउटा अध्ययन सामग्रीका बारेमा छलफल गर्दै थियौँ। ली शिनले मलाई एक निश्चित प्रकारको रेन्डरिङ गर्नका लागि प्रविधि, सिद्धान्त र आवश्यकताहरू के-के हुन् भनेर सोधिन्। त्यतिबेला, म त्यति पक्का थिइनँ। यदि मैले केही भन्न सकिनँ भने ली शिनले मेरा बारेमा के सोच्ने होलिन् भनेर म चिन्तित थिएँ, र त्यसैले मैले बहादुरीको नाटक गरेँ र एकदमै झाराटारुवा जवाफ दिएँ। ली शिनको आधा मात्र बुझेको जस्तो अनुहार हेर्दा, मेरो जवाफले उनको समस्या समाधान गर्न नसकेको मैले थाहा पाएँ, त्यसैले उनको ध्यान मोड्न मैले हतार-हतार अर्कै प्रश्न सोधेँ। त्यसपछि ली शिनले मसँग अन्य समस्याहरूबारे कुरा गरिन्। त्यतिबेला मलाई केही आत्मग्लानि महसुस भएको, र यसरी व्यवहार गर्नु अनुपयुक्त हो भन्ने थाहा भए तापनि, मैले त्यसबारे धेरै सोचविचार गरिनँ र त्यसलाई त्यत्तिकै छाडिदिएँ। कहिलेकाहीँ, कठिनाइहरू आउँदा, म अगुवाहरूलाई त्यसबारे सोध्न चाहन्थेँ, तर फेरि सोच्थेँ, “अगुवाहरूले मेरो क्षमताको आधारमा मैले यो समस्या समाधान गर्न सक्नुपर्छ भन्ने सोचेको बेला, मैले सोधखोज गर्ने पत्र लेखेँ भने, उनीहरूले मेरा बारेमा के सोच्नेछन्? के मेरो क्षमता उनीहरूले सोचेको स्तरको छैन र मैले कुनै प्रगति गरिरहेकी छैन भनेर सोच्नेछन्? के म अन्य ब्रदर-सिस्टरहरूभन्दा फरक छैन भनेर सोच्नेछन्?” यस्तो सोचेपछि, मैले कठिनाइहरू पर्दा आफ्ना अगुवाहरूसँग मद्दत मागिनँ। बरु, समस्याहरू आफैँ कसरी समाधान गर्ने भनेर सोचेँ। मैले कुनै समाधान सोच्न नसकेकाले केही भिडियोहरूको प्रगतिमा बाधा पुग्यो। यस्तो स्थितिमा जिउँदा मलाई अत्यन्तै दिक्दार महसुस भयो, मानौँ परमेश्‍वरले मलाई त्याग्नुभएको थियो। जब म परमेश्‍वरका वचन पढ्थेँ तब त्यहाँ कुनै ज्योति हुँदैनथियो, र कहिलेकाहीँ मेरो हृदयले यति दमित महसुस गर्थ्यो कि म रुन चाहन्थेँ। म मेरा सिस्टरहरूसामु खुलस्त हुन र मेरो स्थितिका बारेमा सङ्गति गर्न चाहन्थेँ, तर फेरि म आफ्नो मन बदल्थेँ: “उनीहरू सबैका आफ्ना कर्तव्यहरूमा धेरै कठिनाइ छन्, र उनीहरू सबैले अलि नकारात्मक महसुस गरिरहेका छन्। यदि म पनि नकारात्मक भएँ भने, के उनीहरू अझ बढी नकारात्मक हुनेछैनन् र? म सुपरिवेक्षक हुँ। म यस टोलीको प्रमुख हुँ। अरूहरू नकारात्मक हुन सक्छन्, तर सुपरिवेक्षकका नाताले, मैले जस्तोसुकै कठिनाइहरू आए पनि डटिरहनुपर्छ।” जब मैले यसरी सोचेँ, तब मेरा ओठबाट शब्दहरू निस्कन सकेनन्। उनीहरूलाई प्रोत्साहित गर्न मैले जबरजस्ती केही शब्द र धर्मसिद्धान्तहरू फलाकेँ, तर ती मलाई नै निरस लागिरहेका थिए। त्यतिबेला, मेरो हृदय पीडामा थियो, र मलाई लाग्यो यो कर्तव्य गर्नु निकै कठिन छ। कहिलेकाहीँ, म आफ्नो साइकल चलाउँदै गर्दा रुन पुग्थेँ, र कहिलेकाहीँ ब्रदर-सिस्टरहरूलाई उनीहरूको घरमा भेट्न जाँदा म बाथरुममा छिरेर रुने गर्दथेँ। रोइसकेपछि, म आफ्ना आँसु पुछ्थेँ र ऐनामा हेर्थेँ। जब म फेरि बाहिर आउँथेँ, म केही पनि नभएको जस्तो बहाना गर्न आफैलाई बाध्य पार्थेँ। त्यतिबेला, म निरन्तर आफ्नो स्थिति र आफ्ना कठिनाइहरूलाई दबाइरहेकी थिएँ। मेरो हृदय धेरै दिक्दार थियो। म कुन भ्रष्ट स्वभावमा जिइरहेकी थिएँ जसले यस्तो गराएको थियो भन्ने मलाई थाहा थिएन। मार्च २०२२ को एक दिन, अगुवाहरूको एउटा पत्र आयो, जसमा मेरा कर्तव्यले लामो समयदेखि कुनै नतिजाहरू नल्याउनुको वास्तविक कारण सोधिएको थियो। के म गलत मार्गमा हिँडिरहेकी थिएँ त? त्यसपछि मात्र मैले आत्मचिन्तन गर्न थालेँ। मेरो दिमागमा, म सुपरिवेक्षक भएदेखिका हरेक घटना दृश्यहरू बारम्बार घुमिरहे। मेरो दिमागमा एउटा शब्द आयो: छद्मभेष।

पछि, मैले परमेश्‍वरका यी वचनहरू पढेँ: “मानिसहरूको भ्रष्ट स्वभावमा एउटा साझा समस्या छ, एउटा यस्तो साझा समस्या जुन हरेक व्यक्तिको मानवतामा विद्यमान रहन्छ, र यो सबैभन्दा गम्भीर समस्या हो। यो साझा समस्या तिनीहरूको मानवताको सबैभन्दा कमजोर, सबैभन्दा घातक भाग हो, र तिनीहरूको प्रकृति सारमा, यो खुलासा वा परिवर्तन गर्नलाई सबैभन्दा गाह्रो कुरा हो। यो समस्या के हो त? यो मानिसहरू सधैँ असाधारण, अलौकिक, र सिद्ध मान्छे बन्न चाहने समस्या हो। मानिसहरू अन्तर्निहित रूपमै सृजित प्राणी हुन्। के सृजित प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सबै कुरामा निपुणता प्राप्त गर्न, सबै कुरा बुझ्न, सबै कुरा स्पष्ट रूपमा देख्न, र सबै कुराका लागि सक्षम हुन सक्छन्? तिनीहरूले सक्दैनन्। तैपनि, मानिसहरूभित्र एउटा भ्रष्ट स्वभाव हुन्छ र एउटा घातक कमजोरी हुन्छ: तिनीहरूलाई आफूले कुनै सीप वा पेसा सिक्नेबित्तिकै आफू सक्षम छु, आफू हैसियत र महत्त्व भएको मानिस हुँ, र आफू पेसेवार हुँ भन्‍ने लाग्छ। तिनीहरूको वास्तविक सामर्थ्य जस्तो भए पनि, तिनीहरू सबै आफूलाई प्रसिद्ध वा असाधारण व्यक्तिको भेषमा प्रस्तुत गर्न चाहन्छन्, केही हदसम्म प्रसिद्ध व्यक्ति बन्न, र अरूलाई आफू एउटै पनि खोट नभएको सिद्ध र दोषरहित रहेको सोच्न लगाउन चाहन्छन्; तिनीहरू अरूको नजरमा भव्य र प्रभावशाली छविसहितको, कुनै पनि कुरा गर्ने क्षमता भएको, र आफूले गर्न नसक्ने केही पनि नभएको, कुनै सक्षम, शक्तिशाली, असाधारण, वा प्रसिद्ध र महान् व्यक्ति देखिन चाहन्छन्। तिनीहरू आफूले अरूको सहायता खोजेमा, आफू असक्षम र हीन देखिने, र मानिसहरूले तिनीहरूलाई तुच्छ ठान्ने सोच्छन्। यसकारण, तिनीहरू सधैँ नाटक गर्न चाहन्छन्। कतिपय मानिसलाई कुनै काम गर्न लगाइँदा, उनीहरू आफूलाई त्यो गर्न आउँछ भनेर भन्छन् तर वास्तवमा तिनीहरूले त्यो जानेका हुँदैनन्। पछि, गुप्त रूपमा उनीहरू त्यसबारे खोजी गर्छन् र त्यो कसरी गर्ने भनी सिक्‍ने कोसिस गर्छन्, तर अन्ततः केही दिनसम्म अध्ययन गरेपछि पनि तिनीहरूले अझै त्यसलाई कसरी गर्ने भनेर बुझ्दैनन्। तिनीहरूले त्यो कसरी गर्दै छन् भनी सोधिँदा, तिनीहरू भन्छन्, ‘यो लगभग, लगभग सकियो!’ तर हृदयमा, तिनीहरूले यस्तो सोचिरहेका हुन्छन्, ‘यो अहिले सकिने त कुरै छैन, मैले केही बुझेको छैन, के गर्ने मलाई थाहा छैन! मैले मेरो भित्री कुरा फुत्काउनु हुँदैन, मैले मुखौटा ओढ्न जारी राख्‍नुपर्छ, मैले मानिसहरूलाई मेरा कमीकमजोरी र अज्ञानता देखाउनु हुँदैन, मैले तिनीहरूलाई मलाई हेप्‍न दिनु हुँदैन!’ यो कस्तो समस्या हो? यो कुनै पनि हालतमा आफ्‍नो इज्‍जत बचाउन भोग्ने कष्ट मात्र हो। यो कस्तो किसिमको स्वभाव हो? त्यस्ता मानिसहरूको अहङ्कारको कुनै सीमा हुँदैन, तिनीहरूले सबै समझ गुमाइसकेका हुन्छन्। तिनीहरू साधारण मानिस बन्‍न चाहँदैनन्, तिनीहरू मामुली, सामान्य मानिस बन्‍न चाहँदैनन्, बरु महामानव, असाधारण व्यक्ति, वा सक्षम मानिस बन्न चाहन्छन्। यो निकै ठूलो समस्या हो! सामान्य मानवताभित्रका कमजोरीहरू, कमीहरू, अज्ञानता, मूर्खता, र समझको कमीको सम्बन्धमा भन्दा, तिनीहरूले ती सबै कुरा पोको पार्छन्, र अरू मानिसहरूलाई त्यो देख्न दिँदैनन्—तिनीहरू आफ्नो भेष बदलिरहन्छन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। परमेश्‍वर भन्नुहुन्छ, मानिसहरू सृजित प्राणी हुन्, र तिनीहरूले सर्वसक्षमता हासिल गर्न सक्दैनन्। न त तिनीहरूले सबै कुरामा निपुणता हासिल गर्न र सबै कुरा बुझ्न नै सम्भव छ। तर, मानिसहरूमा आत्मज्ञानको कमी हुन्छ, र अलिकति कुरा सिक्नेबित्तिकै तिनीहरूले आफूलाई असाधारण ठान्न पुग्छन्। तिनीहरूले देखावा गर्छन् र आफूलाई जे पनि गर्न सक्ने महान् व्यक्तिको छद्मभेषमा राख्छन्। तिनीहरूमा कमी र कमजोरीहरू भए तापनि, आफ्नो वास्तविक रूप कसैले नदेखोस् भनेर तिनीहरू छद्मभेष धारण गर्ने ठूलो प्रयास गर्छन्। यस्तो मानिसहरूको अहङ्कारी स्वभावहरूले गर्दा हुन्छ। मैले अगुवाहरूबाट थोरै प्रशंसा पाउनेबित्तिकै आफूलाई अन्य ब्रदर-सिस्टरहरूभन्दा उत्तम छु भन्ने सोचेको कुरा सम्झेँ। यसबाहेक, म सुपरिवेक्षक थिएँ, र मलाई लाग्थ्यो, मेरा ब्रदर-सिस्टरहरूले उठाएका सबै समस्या मैले समाधान गर्न सक्नुपर्छ। त्यसैले मैले सबै कुरा बुझेको छद्मभेष धारण गर्न थालेँ। मैले जस्तोसुकै कठिनाइ भोगेपनि वा ममा जुनसुकै खराबीहरू भए पनि, म मानिसहरूलाई थाहा दिन चाहन्नथेँ। अगुवाहरूले शियाओ रान र मलाई भिडियो सम्पादन गर्न आग्रह गरे। म आफ्ना कमी र कमजोरीहरू उजागर गर्न चाहन्नथेँ, र त्यसैले मैले समस्याहरू शियाओ रानतिर धकेलिदिएँ। जब उनले मेरो राय मागिन्, तब मैले बुझेको बहाना गरेँ, र उनलाई झाराटारुवा तरिकाले मूर्ख बनाएँ। अन्तमा, मसँग अरू कुनै विकल्पहरू नभएपछि मात्र मैले उनीसँगै बसेर भिडियो सम्पादन गरेँ। यसले गर्दा भिडियोको सम्पादन हुँदासम्म एक महिना ढिलाइ भयो। ली शिनले मलाई व्यावसायिक सीपसँग सम्बन्धित एउटा गाह्रो प्रश्न सोधिन् जुन मैले स्पष्ट रूपमा बुझेकी थिइनँ। तर, मेरी सिस्टरले मलाई तुच्छ ठान्लिन् भन्ने डरले मैले जवाफमा केही झाराटारुवा शब्दहरू मात्र बताएँ। पछि, जब मेरी सिस्टरले फेरि सोधिन्, मलाई पोल खुल्छ कि भन्ने डर लाग्यो, र मेरी सिस्टरको ध्यान मोड्न मैले छलको प्रयोग गरेँ। आफ्नो कर्तव्यमा मैले नबुझेका कुराहरू हुँदा मैले मेरा अगुवाहरूलाई सोधिनँ। यदि मैले यसो गरेँ भने म असक्षम देखिनेछु भन्ने मलाई लागिरह्यो, र त्यसैले मैले अगुवाहरूले थाहा नपाऊन् भनेर देखावा गरेँ। आफूले सबै कुरा बुझेको छु जस्तो देखिन छद्मभेष धारण गरेँ। यसले गर्दा केही समस्याहरू लामो समयसम्म समाधान नभई बसे, र भिडियो निर्माणको प्रगतिमा प्रत्यक्ष असर पर्‍यो। वास्तवमा, मैले यो कर्तव्य भर्खरै निर्वाह गर्न सुरु गरेकी थिएँ। मैले केही प्रगति गरेकी भए तापनि, त्यहाँ केही प्रविधिहरू थिए जसको सम्पर्कमा म यसअघि आएकी थिइनँ, त्यसैले मैले नबुझेका केही कुरा हुनु पूर्ण रूपमा सामान्य थियो। अलिकति पनि समझ भएको जोकोहीलाई आफू सिद्ध छैन र सबै कुरा बुझ्न असम्भव छ भन्ने थाहा हुन्छ, त्यसैले उनीहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अरूको मार्गदर्शन र मद्दत चाहिन्छ, र प्रश्नहरू हुँदा उनीहरूले आफैँ अग्रसर भएर अरू मानिसहरूलाई सोध्छन्, र यो पूर्ण रूपमा सामान्य हो। तर, यो मेरा लागि सबैन्दा ठूलो कठिनाइ बनेको थियो। म आफ्नै कमी र कमजोरीहरूको सामना गर्न सक्दिनथेँ, र म खराबीहरू भएको सामान्य मानिस बन्न चाहन्नथेँ। म निरन्तर देखावा गर्न र सिद्ध मानिस बन्न चाहन्थेँ। मैले पाइलैपिच्छे छद्मभेष धारण गरेँ। कठिनाइमा पर्दा अरूलाई सोध्नु भनेको असक्षमताको अभिव्यक्ति हो, र यसबाट अरूले मलाई तुच्छ ठान्ने मौका पाउनेछन् भन्नेसम्म मैले सोचेँ। म साँच्चै अति अहङ्कारी र अति पाखण्डी थिएँ! जब मेरो चिन्तन यस बिन्दुमा पुग्यो, तब मैले भित्रभित्रै आफैलाई घृणा गरेँ। मैले गरेका कुराहरू साँच्चै नै घृणित थिए भन्ने मलाई लाग्यो।

पछि, मैले आत्मचिन्तन पनि गरेँ। किन मैले निरन्तर छद्मभेष धारण गरेर देखावा गरेँ? मैले परमेश्‍वरका वचनको एउटा खण्ड पढेँ, जसले मेरो हृदयलाई अझ उज्यालो र स्पष्ट महसुस गरायो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “सन्दर्भ जेसुकै भए पनि, ख्रीष्टविरोधीले जे कर्तव्य पूरा गर्ने भए पनि, उसले आफू कमजोर नभएको, सधैँ बलियो भएको, आस्थाले भरपूर भएको, कहिल्यै नकारात्मक नभएको छाप छोड्ने कोसिस गर्छ, ताकि मानिसहरूले उसको वास्तविक कद वा परमेश्‍वरप्रतिको वास्तविक मनोवृत्ति कहिल्यै नदेखून्। वास्तवमा, उसको हृदयको गहिराइमा, के साँच्चै उसले गर्न नसक्ने केही पनि छैन भनी विश्‍वास गर्छ? के उसले साँच्‍चै ऊ कमजोरी, नकारात्मकता वा भ्रष्टताको प्रकटीकरणरहित छ भनी विश्‍वास गर्छ? बिलकुलै गर्दैन। ऊ अभिनय गर्न सिपालु हुन्छ, चीजहरू लुकाउन बाठो हुन्छ। ऊ मानिसहरूलाई आफ्नो सबल र सानदार पक्ष देखाउन मन पराउँछ; ऊ आफ्नो कमजोर र वास्तविक पाटो अरूले देखेको चाहँदैन। उसको उद्देश्य स्पष्ट छ, सरल रूपमा भन्नुपर्दा, यो आफ्नो आडम्बर र अभिमान बचाइराख्नु, मानिसहरूको हृदयमा आफ्नो स्थान सुरक्षित गर्नु हो। उसले आफ्नो नकारात्मकता र कमजोरीहरूबारे र आफ्नो विद्रोही र भ्रष्ट पक्षबारे खुलेर कुरा गऱ्यो भने, यसले उसको हैसियत र प्रतिष्ठालाई गम्भीर रूपमा क्षति गर्नेछ, र यो फाइदाभन्दा बेफाइदा बढी हुनेछ भन्ने सोच्छ। त्यसैले ऊ कहिलेकाहीँ आफू कमजोर, विद्रोही, र नकारात्मक भएको स्विकार्नुभन्दा मर्न तयार हुन्छ। यदि सबैले उसको कमजोर र विद्रोही पक्ष देख्ने, तिनीहरूले ऊ भ्रष्ट भएको र अलिकति पनि नबदलिएको देख्ने त्यस्तो कुनै दिन आयो भने पनि, उसले अझै पनि नाटक गर्न जारी राख्‍नेछ। उसले सोच्छ कि यदि उसले आफूमा भ्रष्ट स्वभाव भएको, आफू साधारण, नगण्य व्यक्ति भएको स्वीकार गरेमा, मानिसहरूका हृदयमा आफ्नो स्थान गुम्नेछ, सबैको आराधना र श्रद्धा गुम्नेछ, र यसरी पूर्ण रूपमा असफल हुनेछ। त्यसैले, जे भए पनि, ऊ मानिसहरूसामु निष्कपट रूपमा खुलस्त हुनेछैन; चाहे जे भए पनि, उसले आफ्नो शक्ति र हैसियत अरू कसैलाई दिनेछैन; बरु, उसले प्रतिस्पर्धा गर्न सक्दो कोसिस गर्नेछ, र कहिल्यै हार मान्नेछैन। … ख्रीष्टविरोधीहरूले आफूलाई अटल, दृढ इच्छाशक्ति भएको, अनि त्याग गर्न र कष्ट भोग्‍न सक्‍ने व्यक्तिका रूपमा, कमजोरी नै नभएको र कुनै दोष वा समस्या नभएको व्यक्तिका रूपमा प्रस्तुत गर्छन्। यदि कसैले तिनीहरूको भ्रष्टता र कमीकमजोरीलाई औँल्याइदियो, तिनीहरूलाई सामान्य दाजुभाइ-दिदीबहिनीहरूका रूपमा, समान व्यवहार गर्‍यो, र खुलस्त भएर तिनीहरूसँग सङ्गति गर्‍यो भने, तिनीहरूले यस मामलालाई कसरी लिन्छन्? आफूलाई निर्दोष र जायज तुल्याउन, आफू सही रहेको प्रमाणित गर्न, र अन्त्यमा मानिसहरूलाई तिनीहरूमा कुनै समस्या छैन, र तिनीहरू सिद्ध, आत्मिक मानिसहरू हुन् भनी देख्ने तुल्याउनका लागि सक्दो गर्छन्। के यो सबै ढोँग मात्रै होइन र? आफूलाई त्रुटिरहित र पवित्र ठान्‍ने सबै मानिसहरू ढोँगी हुन्। म किन तिनीहरू सबै ढोँगी हुन् भनी भन्छु? मलाई भन, के भ्रष्ट मानवजातिको बीचमा कुनै त्रुटिरहित मानिस छ? के साँचो रूपमा पवित्र कुनै व्यक्ति छ? (छैन।) पक्कै छैन। जब शैतानद्वारा मानिस यति गहन रूपमा भ्रष्ट तुल्याइएको छ र जन्मजात रूपमै ऊसँग सत्यता छैन भने, उसले कसरी त्रुटिरहितता हासिल गर्न सक्छ? परमेश्‍वर मात्रै पवित्र हुनुहुन्छ; सारा भ्रष्ट मानवजाति दूषित छ। यदि कुनै व्यक्तिले आफूमा कुनै त्रुटि छैन भन्दै पवित्र व्यक्तिको नक्कल गर्छ भने, त्यो व्यक्ति के हुनेथियो? ऊ दियाबलस, शैतान, र प्रधान स्‍वर्गदूत हुनेथियो—ऊ खाँटी ख्रीष्टविरोधी हुनेथियो। ख्रीष्टविरोधीले मात्रै त्यसरी त्रुटिरहित र पवित्र व्यक्ति हुँ भनेर दाबी गर्न सक्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग दस))। परमेश्‍वरका वचन पढेपछि, मलाई मुटुमा छुरा रोपिएजस्तो महसुस भयो। ख्रीष्टविरोधीहरूले प्रतिष्ठा र हैसियतलाई जीवनभन्दा बढी महत्त्वपूर्ण मान्छन्। तिनीहरू विशेष गरी छद्मभेष धारण र छल गर्न सिपालु हुन्छन्। तिनीहरूले आफूलाई कुनै कमजोरी वा कमीहरू नभएको, र भ्रष्टताको प्रकटीकरण नभएको सिद्ध छविका रूपमा ढाल्छन्। अरूलाई आफ्नो आराधना र सम्मान गर्न लगाउने लक्ष्य हासिल गर्न तिनीहरूले यसो गर्छन्। म परमेश्‍वरले खुलासा गरेका ख्रीष्टविरोधीहरूजस्तै थिएँ। मलाई पनि विशेष गरी अरूलाई आफ्नो बलियो र गौरवशाली पक्ष देखाउन, र अरूद्वारा सम्मानित र प्रशंसित हुन, र अरूको हृदयमा मेरो हैसियत होस् भन्ने मन पर्छ। चाहे अगुवाहरूले मलाई भिडियो सम्पादन गर्न आग्रह गर्दा होस् वा मेरा ब्रदर-सिस्टरहरूले मलाई प्रश्न सोध्दा होस्, म सधैँ छद्मभेष धारण गरी नबुझेको बेला पनि बुझेको बहाना गर्थेँ। मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई छल गर्ने र भ्रममा पार्ने काम समेत गरेँ। जब मेरा ब्रदर-सिस्टरहरूले प्रश्न सोध्थे र म बुझ्दिनथेँ, तब म किन स्पष्ट र इमानदार हुन सकिनँ? के मलाई उनीहरूले मेरा कमीहरू देख्नेछन्, म पनि उनीहरूजस्तै साधारण रहेछु भन्ने विश्वास गर्न थाल्नेछन्, र मेरो प्रशंसा गर्न वा मलाई आदर्श मान्न छाड्नेछन् भन्ने डर लागेको होइन र? सुपरिवेक्षकका रूपमा आफ्नो छवि जोगाउन, मैले आफ्नो कर्तव्यमा नबुझेका कुराहरूबारे प्रश्न सोध्ने आँट गरिनँ। मलाई अगुवाहरूले म उनीहरूले पहिले भनेजस्तो राम्रो क्षमता भएको व्यक्ति होइन भन्ने सोच्नेछन्, र मलाई तुच्छ ठान्नेछन् भन्ने डर थियो। मेरा कर्तव्यहरू र जीवन प्रवेशमा कठिनाइहरूको सामना गर्नुपर्दा र अगाडि बढ्ने बाटो नदेख्दा म पहिले नै पीडामा थिएँ, तर म आफ्नो नकारात्मकता र कमजोरीहरू अरूलाई देखाउनुभन्दा एक्लै गुप्तमा रुन रुचाउँथेँ। मेरा ब्रदर-सिस्टरहरूले मेरो साँचो कद र क्षमता देख्नेछन्, र मेरो प्रशंसा गर्न छाड्नेछन् भन्ने मलाई ज्यादै डर लाग्यो। म साँच्चै धेरै पाखण्डी र बहाना गर्न धेरै सिपालु थिएँ! सबै सृजित मानिसहरूमा खराबी र कमजोरीहरू हुन्छन्। तर, मैले आफ्नै अपूर्णतालाई स्वीकार गर्न सकिनँ, र मेरा सबै कमी र कमजोरीहरू लुकाउन देखावा गरेँ। म निरन्तर छद्मभेषको मुखौटो लगाइरहेकी थिएँ, र सधैँ बलियो र पूर्ण आस्थावान् जस्तो देखिने नाटक गरेँ। यसमा मेरो उद्देश्य अरूको हृदयमा हैसियत बनाउनु, अनि मानिसहरूलाई मेरो प्रशंसा र आदर गर्न लगाउनु थियो। दिनभरि, मैले आफ्नै प्रतिष्ठा र हैसियतलाई लिएर मेरो दिमाग खियाएँ, म फाइदा र नोक्सानका बारेमा चिन्ता गर्दै बसेँ, तर मेरा मुख्य कर्तव्यहरूसँग साँच्चिकै सम्बन्धित कामको सन्दर्भमा भने म उदासीन थिएँ। मैले कुनै वास्तविक काम गर्न सकिनँ। मलाई आफूले भिडियो राम्ररी सम्पादन गर्न सकिनँ भने इज्जत गुमाउनेछु भन्ने डर भएकाले, मैले ढिलाइ गरेँ र यसलाई सम्पादन गर्ने आँट गरिनँ। यसले भिडियोको कामको प्रगतिमा असर गर्‍यो। सुपरिवेक्षकका रूपमा, मेरो मुख्य काम ब्रदर-सिस्टरहरूसँग मिलेर हाम्रा कर्तव्यहरू निर्वाह गर्ने क्रममा देखा परेका विभिन्न समस्याहरू समाधान गर्नु, र भिडियोको काम सुचारु रूपमा अघि बढेको सुनिश्चित गर्नु थियो। तर, मैले आफ्नै जिम्मेवारीहरू पूरा गरिनँ, र निरन्तर छद्मभेष धारण गरेँ। ममा मानवताको कति धेरै कमी थियो! मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “के सृजित प्राणीहरूले सर्वशक्तिमान्‌ता प्राप्त गर्न सक्छन्? के तिनीहरूले सिद्धता र निष्खोटता प्राप्त गर्न सक्छन्?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू)। मानिसहरू सामान्य हुन्छन्। तिनीहरूले सर्वसक्षमता हासिल गर्नै सक्दैनन्। तर, सरल रूपमा भन्नुपर्दा, मेरो व्यवहार आफूलाई सबै सर्वसक्षम, सिद्ध व्यक्ति बनाउने प्रयास थियो। एक भ्रष्ट व्यक्तिका रूपमा, मैले सर्वसक्षम कसरी बन्ने भनेर दिनभरि सोचेँ। मेरो प्रकृति साँच्चै नै दुष्ट थियो!

पछि, मैले परमेश्‍वरका केही वचन पढेँ: “यदि तँलाई आफ्‍नो हृदयमा तँ कस्तो व्यक्ति होस्, तेरो सार के हो, तेरा कमीकमजोरीहरू के-के हुन् र तैँले कस्तो भ्रष्टता प्रकट गर्छस् भन्‍नेबारेमा स्पष्ट छ भने, तैँले यसबारेमा खुलस्‍त रूपमा अरूसँग सङ्गति गर्नुपर्छ, ताकि अरूले तेरो साँचो स्थिति के हो, तेरा विचार र दृष्टिकोणहरू के-के हुन् भनेर देख्‍न सकून्, ताकि त्यस्ता कुराहरूका बारेमा तेरो ज्ञान के छ भन्‍ने तिनीहरूले जान्‍न सकून्। तैँले जे गरे पनि, ढोँग वा देखावटी नगर्, अनि कसैले थाहा नपाओस् भनेर अरूबाट आफ्‍नो भ्रष्टता र कमीकमजोरीहरू नलुका; यस्तो झूटो व्यवहार तेरो हृदयभित्रको अवरोध हो, र यो भ्रष्ट स्वभाव पनि हो, र यसले मानिसहरूलाई पश्‍चात्ताप गर्न र परिवर्तन हुनबाट रोक्‍न सक्छ। तैँले परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ, र अरूले गर्ने तेरो प्रशंसा, तिनीहरूले तँलाई दिने प्रभामण्डल, र तँलाई प्रदान गर्ने मुकुटहरूजस्ता झूटा कुराहरूबारे चिन्तन गर्नुपर्छ र तिनको चिरफार गर्नुपर्छ। यी कुराहरूले तँलाई गर्ने हानिलाई तैँले छर्लङ्ग देख्‍नैपर्छ। त्यसो गर्दा, तँलाई आफ्‍नो सामर्थ्य थाहा हुन्छ, तैँले आत्म-सचेतना प्राप्त गर्नेछस्, र तैँले अबउप्रान्त आफूलाई एक महामानव, वा महान् व्यक्तिका रूपमा हेर्न छोड्नेछस्। तँमा त्यस्तो आत्म-सचेतना आएपछि, तँलाई सत्यता स्वीकार गर्न सजिलो हुनेछ। परमेश्‍वरका वचनहरू र परमेश्‍वरले मान्छेबाट माग्‍नुहुने कुराहरूलाई हृदयमा स्वीकार गर्नु; सृष्टिकर्ताले तँलाई दिनुहुने मुक्तिलाई स्वीकार गर्नु; एक साधारण व्यक्ति र व्यावहारिक रूपमा असली व्यक्ति बन्नु; अनि तँ एक सृजित प्राणी र सृष्टिकर्ता परमेश्‍वरबीच एउटा सामान्य सम्‍बन्ध स्थापित गर्नु—परमेश्‍वर मानिसहरूबाट ठ्याक्कै यही कुरा माग्नुहुन्छ, र यो तिनीहरूले पूर्ण रूपमा हासिल गर्न सक्‍ने कुरा हो। … तिमीहरूले गर्नुपर्ने भनेकै मैले प्रबन्ध गरेको विधि अभ्यास गर्ने मात्र हो। सामान्य व्यक्ति बन्, आफ्नो भेष नबदल्, बरु परमेश्‍वरलाई प्रार्थना गर्, अनि शुद्ध र सरल तरिकामा खुलस्त हुन र अरूसँग हृदयबाट बोल्न सिक्। यस्तो अभ्यासले स्वाभाविक रूपमा फल फलाउनेछ। तैँले बिस्तारै सामान्य व्यक्ति हुन सिक्नेछस्; तेरा लागि त्यस उप्रान्त जिउनु थकाइलाग्दो हुनेछैन, तँ सास्ती र पीडामा पर्न छोड्नेछस्। सबै मानिसहरू सामान्य मानिस हुन्। तिनीहरूका व्यक्तिगत प्रतिभाहरू फरक हुन्छन् र तिनीहरू क्षमतामा अलि फरक हुन सक्छन्, तर त्यसबाहेक तिनीहरूबीच कुनै भिन्नता हुँदैन। यदि परमेश्‍वरको मुक्ति र सुरक्षा नहुने हो भने, तिनीहरू सबैले नै दुष्ट काम गर्नेथिए र दण्ड भोग्नेथिए। यदि तँ आफू सामान्य व्यक्ति हो भनेर स्विकार्न सक्छस् भने, यदि तँ मान्छेका कल्पना र खोक्रा भ्रमहरूबाट बाहिर निस्किन र इमानदार व्यक्ति हुने खोजी गर्न र इमानदार कार्यहरू गर्न सक्छस् भने, यदि तँ आज्ञाकारी रूपमा परमेश्‍वरप्रति समर्पित हुन सक्छस् भने, तँसित कुनै समस्या हुनेछैन र तँ पूर्णतया मानव रूपमा जिउनेछस्। यो त्यति सरल हुँदाहुँदै पनि तँसित किन हिँड्ने मार्ग छैन?(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। “तैँले यी कुराहरू भन्न सिक्नैपर्छ, जस्तै ‘म सक्दिनँ,’ ‘यो मेरो क्षमताभन्दा बाहिर छ,’ ‘म त्यसमा घुस्न सक्दिनँ,’ ‘मैले त्यो अनुभव गरेको छैनँ,’ ‘मलाई बिलकुलै केही थाहा छैन,’ ‘म किन यति कमजोर छु? म किन केही न कामको छु?’ ‘ममा यति कम क्षमता छ,’ ‘म अति बोधो र मन्द बुद्धिको छु,’ ‘म यति अज्ञानी छु कि मलाई यो कुरा बुझ्न र त्यसलाई सम्हाल्न कैयौँ दिन लाग्नेछ,’ र ‘मैले यो कुरा कसैसित छलफल गर्नुपर्छ।’ तैँले यसरी अभ्यास गर्न सिक्नैपर्छ। यो तेरो आफू सामान्य व्यक्ति भएको स्वीकारोक्ति र सामान्य व्यक्ति हुने चाहनाको बाह्य सङ्केत हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। परमेश्‍वरका वचनहरू पढेपछि, मैले मनन गर्न थालेँ। वास्तवमा, विगतमा अगुवाहरूले मेरो प्रशंसा गर्नु, म त्यस समयमा व्यावसायिक सीपहरू अध्ययन गर्नमा निकै सक्रिय भएकीले, र मैले केही भिडियोहरू निर्माण गरेकीले र केही सुधार देखाएकीले मात्र थियो। कक्षा एकमा पढ्ने एउटा प्राथमिक विद्यालयको बच्चाजस्तै, जसले कक्षामा दुई दिन राम्ररी सुनेको थियो र त्यसपछि शिक्षकहरूले दुई-चार पटक प्रशंसा गरेका थिए, यसको मतलब ऊ आफ्ना सहपाठीहरूभन्दा उत्तम थियो भन्ने थिएन। न त यसको मतलब उसले सबै पुस्तकबाट सबै ज्ञान सिकेको थियो भन्ने नै हो। अगुवाहरूबाट प्रशंसा पाउनुको अर्थ म भिडियो प्रविधिहरूमा सिपालु छु र अब मलाई कुनै समस्या हुनेछैन भन्ने थिएन। वास्तवमा, म अझै पनि एक सिकारु नै थिएँ, जसले प्रविधिहरू आधा मात्र बुझेको थियो। ममा अझै धेरै कमजोरी र कमीहरू थिए। सिक्न र पकड बनाउन अझै धेरै कुरा बाँकी थियो। मैले आफैलाई सही रूपमा व्यवहार गर्नुपर्थ्यो, र मेरो साँचो कद र साँचो स्तरको स्पष्ट दृष्टिकोण राख्नुपर्थ्यो। यदि मैले अरू कसैको प्रशंसाको एउटा शब्दले गर्दा आफ्नो धरातल बिर्सेँ भने, अन्ततः म पूर्ण रूपमा समझ नभएको एक अहङ्कारी व्यक्ति बन्न पुग्ने थिएँ। विगतमा, मलाई के लागिरहन्थ्यो भने, म सुपरिवेक्षक भएकाले अरू मानिसहरू नकारात्मक हुनु ठीकै हो तर मेरा लागि चाहिँ ठीक होइन। जस्तोसुकै समस्या आए पनि, मैले डटिरहनुपर्छ र अरू मानिसहरूलाई मेरो कमजोरी देख्न दिनु हुँदैन। वास्तवमा, यो आफूलाई महामानवका रूपमा व्यवहार गर्नु थियो; यो सामान्य मानवताको अभिव्यक्ति थिएन। म सुपरिवेक्षक भए तापनि, यसको मतलब म मेरा ब्रदर-सिस्टरहरूभन्दा उत्तम थिएँ भन्ने होइन: यो त केवल कर्तव्य र जिम्मेवारीहरूमा फरक हुनु मात्र थियो। चाहे जीवन प्रवेशको सन्दर्भमा होस् वा व्यावसायिक सीपको सन्दर्भमा, सबैसँग कमी र कमजोरीहरू हुन्छन्। मैले केही समस्याहरूको भित्री कुरा देख्न वा बुझ्न नसक्नु पूर्ण रूपमा सामान्य थियो। यो तिललाई पहाड बनाउनुपर्ने कुरा होइन। मसँग इमानदार मनोवृत्ति हुनुपर्छ, आफ्ना कमजोरीहरू स्वीकार्नुपर्छ, र मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर अध्ययनका लागि सामग्रीहरू खोज्नुपर्छ। हामीले नबुझेका कुराहरू हाम्रा अगुवाहरूलाई सोध्नुपर्छ, ताकि हामीले समस्याहरू समाधान गर्न सकौँ र ती समस्याले मण्डलीको काममा बाधा नपुर्‍याओस्।

एउटा भेलामा, मैले मेरा ब्रदर-सिस्टरहरूसामु आफ्नो हृदय खोलेँ। मैले यस अवधिमा देखावा गर्ने र छद्मभेष धारण गर्ने आफ्नो स्थितिलाई खुलासा गरेँ र चिरफार गरेँ। मेरा ब्रदर-सिस्टरहरूले मेरो क्षमता र कद स्पष्ट रूपमा देख्न सकून् भनेर मैले मेरा कमी र कमजोरीहरूबारे कुरा गरेँ। साथसाथै, मैले मेरो कर्तव्यप्रतिको मेरो मनोवृत्ति पनि बदलेँ। भिडियो निर्माण गर्दाखेरि मसँग कुनै उपायहरू नभएको बेला, मैले देखावा गर्न छोडेँ। बरु, म मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर खोजी गर्न लागेँ। मेरा ब्रदर-सिस्टरहरूले केही भन्थे, म केही भन्थेँ, र हामीले थाहा नपाउँदै केही कठिनाइ समाधान हुन्थे। जब मैले आफ्नो छद्मभेषको मखुटो हटाएँ, तब कर्तव्यहरू निर्वाह गर्दा मलाई ढुक्क महसुस भयो। मलाई पहिले जस्तो दमित वा पीडा महसुस भएन। एक पटक, एक जना सिस्टरले मलाई नयाँ ढाँचाको भिडियो कसरी निर्माण गर्ने भनेर सोधिन्। मलाई भिडियोका सिद्धान्त र आवश्यकताहरूबारे त्यति स्पष्ट नभएकाले, यसलाई कसरी निर्माण गर्ने भन्ने बारेमा मसँग कुनै उपायहरू थिएन। मैले मनमनै सोचेँ, “यदि मैले आफूलाई थाहा नभएको बताएँ भने, तब मेरी सिस्टरले मलाई यो व्यावसायिक ज्ञान पनि थाहा नभएको म कसरी सुपरिवेक्षक हुन सकेँ भनेर पो सोच्नेछिन् कि? मलाई तुच्छ पो ठान्नेछिन् कि?” त्यतिबेला, मैले परमेश्‍वरका यी वचनहरू सम्झेँ: “तैँले यी कुराहरू भन्न सिक्नैपर्छ, जस्तै ‘म सक्दिनँ,’ ‘यो मेरो क्षमताभन्दा बाहिर छ,’ ‘म त्यसमा घुस्न सक्दिनँ,’ ‘मैले त्यो अनुभव गरेको छैनँ।’ … तैँले यसरी अभ्यास गर्न सिक्नैपर्छ। यो तेरो आफू सामान्य व्यक्ति भएको स्वीकारोक्ति र सामान्य व्यक्ति हुने चाहनाको बाह्य सङ्केत हो(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरका वचनहरूलाई बहुमूल्य ठान्‍नु नै परमेश्‍वरमाथिको विश्‍वासको जग हो)। मैले छद्मभेषको स्थितिमा जिउँदाको आफ्नो अघिल्लो पीडादायी अनुभवलाई सम्झँदा, म अब त्यसरी जिउन चाहन्नथेँ। मैले आफ्नो कर्तव्य निर्वाह गर्ने सम्बन्धमा मेरा गलत अभिप्राय र दृष्टिकोणहरूलाई बदल्न र सामान्य मानिस बन्न आवश्यक थियो। त्यसपछि, म मेरी सिस्टरसामु खुलस्त हुँदै भनेँ, “मैले पनि यो बुझेकी छैन, र म यस प्रकारको भिडियो निर्माणका सिद्धान्तहरूबारे त्यति स्पष्ट छैन।” त्यसपछि, हामीले सँगै अध्ययन गर्न सकौँ भनेर यस क्षेत्रका सिद्धान्त र सान्दर्भिक पाठ्यक्रमका सामग्रीहरू खोज्यौँ, र मलाई निर्माणको दिशाबारे थप स्पष्टता महसुस भयो। मैले मेरो हृदयमा ढुक्क र स्वतन्त्र महसुस गरेँ। केही समयपछि, अगुवाहरूबाट एउटा पत्र आयो। त्यसमा हामीले निर्माण गरेका कयौँ भिडियोहरूमा प्रगति देखिएको छ, र यो राम्रो कामलाई निरन्तरता दिन भनिएको थियो। अगुवाहरूबाट प्रोत्साहनको पत्र देख्दा म एकदमै उत्साहित भएँ, र थाहै नपाई मेरा आँसु झर्न थाले। एकातिर, मलाई लाज लाग्यो, किनभने मैले पहिले जिइरहेको छद्मभेष र देखावाको स्थितिले भिडियोको काममा ढिलाइ भएको थियो। अर्कोतिर, मैले परमेश्‍वरको पवित्रताको अनुभव गरेँ। जुन बेला म आफ्नो भ्रष्ट स्वभावमा जिइरहेकी थिएँ, जसलाई मैले लामो समयसम्म परिवर्तन गरेकी थिइनँ, त्यो बेला परमेश्‍वरले मलाई मार्गदर्शन गर्नुभएन। जब म परमेश्‍वरतर्फ फर्किएँ, र परमेश्‍वरका वचनअनुसार अभ्यास गर्न तत्पर भएँ, तब मैले परमेश्‍वरको मुस्कुराहटपूर्ण अनुहार देखेँ। अब, ममा मेरो आफ्नै भ्रष्ट स्वभावको केही बुझाइ छ, र मेरो देखावा गर्ने र छद्मभेष धारण गर्ने स्थितिमा केही हदसम्म परिवर्तन आएको छ। यी सबै नतिजा परमेश्‍वरका वचनको मार्गदर्शनले प्राप्त भएका हुन्।

अघिल्लो: ७७. अब मैले मानिसहरूलाई सही तरिकाले व्यवहार गर्न जानेकी छु

अर्को: ७९. अब म निर्धक्क भई आफ्नो कर्तव्य स्वीकार गर्न सक्छु

सम्बन्धित विषयवस्तु

१. मैले परमेश्‍वरको लागि सेवा गर्ने सौभाग्य पाएको छु

गेन्सुइ, दक्षिण कोरिया सर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

७. धन-दासको जागरण

क्षिङ्ग्वु, चीनम सानो छँदा, मेरो परिवार गरिब थियो, र मेरा बाबुआमाले मेरो पढाइको खर्च धान्न सक्नुहुन्न थियो, त्यसैले विद्यालयको शुल्क तिर्न...

१०. हृदयको छुटकारा

झेङ्ग क्षिङ, अमेरिका२०१६ को अक्टोबरमा, हामीहरू विदेशमा हुँदा नै मेरो श्रीमान्‌ र मैले परमेश्‍वरको आखिरी दिनहरूका कामलाई ग्रहण गर्यौ। केही...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्