७९. अब म निर्धक्क भई आफ्नो कर्तव्य स्वीकार गर्न सक्छु
सन् २०२३ को नोभेम्बरमा, मलाई दुईवटा मण्डलीको कामको जिम्मेवारीमा रहने गरी प्रचारक चुनियो। यो नतिजा थाहा पाएपछि, म निकै अचम्ममा परेँ, र केही चिन्तित भएँ। मैले सोचेँ, “प्रचारकहरूको कार्यक्षेत्र फराकिलो हुन्छ र ठूलो जिम्मेवारी हुन्छ। म पहिले पनि प्रचारक भइसकेकी थिएँ, तर मैले वास्तविक काम नगरेकी र हैसियतका लाभहरूमा लिप्त भएकीले, अनि मण्डलीको कामका विभिन्न पक्षमा कुनै नतिजाहरू हासिल नभएकाले, म बर्खास्त भएँ। अहिले, जताततै सिसिपीबाट धरपकडको ठूलो लहर चलिरहेको छ र परिस्थिति एकदमै प्रतिकूल छ। यदि मैले अनुपयुक्त तरिकाले कामको प्रबन्ध गरेँ र परमेश्वरको घरका हितहरूमा नोक्सान पुऱ्याएँ भने, मलाई पक्कै पनि जवाफदेही ठहराइनेछ। मलाई बर्खास्तसमेत गरिन सक्छ। यदि मैले धेरै दुष्टता गरेँ र मलाई प्रकट गरी हटाइयो भने, मैले मुक्तिको मौका गुमाउनेछु। त्यसो भयो भने, परमेश्वरमाथिको यतिका वर्षको विश्वासपछि पनि मसँग हात लाग्यो शून्य हुनेछैन र—डोकोमा दुध दुहुन खोजे जस्तै? त्यसभन्दा त एउटा मात्र मण्डलीको अगुवा भएर जिम्मेवारी लिनु बेस हुन्छ। यसरी, ममा त्यति धेरै बोझ पर्नेछैन।” मैले माथिल्ला अगुवाहरूलाई म कामकुराहरू ढिलो बुझ्छु र मण्डलीको काम अनि मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशमा रोकावट नल्याउनका लागि उहाँहरूले अर्को उम्मेदवार खोज्नुपर्छ भनी बताउन एउटा पत्र लेख्ने योजना बनाएँ। तर, त्यसपछि मैले सोचेँ, “मैले हरेक दिन सामना गर्ने मानिस, घटना र कामकुराहरूमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ र उहाँले नै तिनलाई योजनाबद्ध गर्नुहुन्छ। पहिले, म यो कर्तव्य पूरा गर्न असफल भएँ। के यो परमेश्वरले मलाई फेरि यही कर्तव्य निर्वाह गरेर पश्चात्ताप गर्ने मौका दिइरहनुभएको हुन सक्छ? यसमाथि, धेरै ब्रदर-सिस्टर गिरफ्तारीमा परेका छन्, र मण्डलीको कामका लागि मानिसहरूको आवश्यकता छ। म आफ्नो विवेकको विरुद्धमा गएर यस समयमा यो कर्तव्य अस्वीकार गर्न सक्दिनँ। त्यसो गर्दा परमेश्वरलाई धेरै चोट पुग्नेछ।” म परमेश्वरलाई सन्तुष्ट पार्न चाहन्थेँ, तर मलाई आफ्नो कर्तव्य राम्रोसँग निर्वाह नगरूँला र जवाफदेही हुनुपर्ला भन्ने डर पनि थियो। म भित्रभित्रै ठूलो दुविधामा थिएँ, अनि त्यो रात म निदाउन नसकी ओछ्यानमा यताउता पल्टिरहेँ, मेरो हृदयलाई एउटा ठूलो ढुङ्गाले थिचेजस्तो महसुस भइरहेको थियो।
भोलिपल्ट बिहान, मैले मेरी सहकर्मी सिस्टर, वाङ नानसँग खुलेर कुरा गरेँ र उनीसँग आफ्नो स्थितिबारे सोधखोज गरेँ। उनले मेरा लागि परमेश्वरका वचनको एउटा खण्ड खोजिदिइन्। परमेश्वर भन्नुहुन्छ: “ख्रीष्टविरोधीहरूले हृदयमा यी कुराहरू बोक्छन्, र यी सबै गलतफहमी, विरोध, आलोचना, र परमेश्वरविरुद्धको प्रतिरोध हुन्। तिनीहरूसँग परमेश्वरको कामबारे केही पनि ज्ञान हुँदैन। परमेश्वरका वचनहरूबारे खोजीनिती गर्दै गर्दा, परमेश्वरको स्वभाव, पहिचान र सारबारे खोजीनिती गर्दा, तिनीहरू यस्ता निष्कर्षहरूमा पुग्छन्। ख्रीष्टविरोधीहरूले यी कुराहरूलाई हृदयका गहिराइमा लुकाउँछन्, र आफैलाई चेतावनी दिन्छन्: ‘सतर्कता नै सुरक्षाको आधार हो; अरूका नजरमा नपर्नु नै उत्तम हुन्छ; थुतुनो निकाल्नेलाई नै पहिले प्रहार गरिन्छ; र टुप्पोमा एक्लै भइन्छ! जहिलेसुकै होस्, कहिल्यै थुतुनो ननिकाल, कहिल्यै धेरै शिखरमा नपुग; जति उचाइमा पुग्छौ, त्यति नै नराम्ररी बजारिन्छौ।’ तिनीहरू परमेश्वरका वचनहरू सत्यता हुन् भनेर विश्वास गर्दैनन्, र उहाँको स्वभाव धर्मी र पवित्र छ भनेर विश्वास गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूलाई मानव धारणा वा कल्पनाले हेर्छन्, र परमेश्वरको स्वभाव, पहिचान र सारलाई सीमाङ्कन गर्न शैतानको तर्क र सोच उपयोग गर्दै, तिनीहरूले परमेश्वरको कामलाई पनि मानव दृष्टिकोण, मानव सोच र मानव धूर्तताद्वारा नै हेर्छन्। स्पष्ट रूपमा, ख्रीष्टविरोधीहरूले परमेश्वरको स्वभाव, पहिचान र सार नस्विकार्ने र नमान्ने मात्र होइन; त्यसको उल्टो, तिनीहरू त परमेश्वरप्रतिका धारणा, प्रतिरोध, र विद्रोहले भरिएका हुन्छन्, र तिनीहरूमा उहाँबारे अलिकति पनि वास्तविक ज्ञान हुँदैन। परमेश्वरको काम, परमेश्वरको स्वभाव, र परमेश्वरको प्रेमसम्बन्धी ख्रीष्टविरोधीहरूको परिभाषा भनेको प्रश्नवाचक चिन्ह—सन्देह मात्रै हुन्छ, र तिनीहरू यसप्रति शङ्काग्रस्त, र इन्कार र लाञ्छनाले भरिपूर्ण हुन्छन्; त्यसोभए, उहाँको पहिचान के हो त? परमेश्वरको स्वभावले उहाँको पहिचान प्रतिनिधित्व गर्छ; परमेश्वरको स्वभावबारे तिनीहरूको सोच यस्तो भएको हुँदा, परमेश्वरको पहिचानसम्बन्धी तिनीहरूको सोच स्वस्पष्ट छ—यो प्रत्यक्ष इन्कार हो। ख्रीष्टविरोधीहरूको सार यही हो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु दस (भाग छ))। परमेश्वरले के खुलासा गर्नुभयो भने, ख्रीष्टविरोधीहरू परमेश्वरका वचन नै सत्यता हुन् भनेर स्विकार्दैनन्। तिनीहरू परमेश्वरको धार्मिकतामा विश्वास गर्दैनन्, र परमेश्वरको घरमा सत्यताले शासन गर्छ भन्ने कुरा त झनै विश्वास नै गर्दैनन्। तिनीहरू आफ्नै धारणा र कल्पनाहरूमा भर परेर परमेश्वरको पहिचान र सारलाई तौलने र सीमित गर्ने गर्छन्, र परमेश्वरको धार्मिकताका बारेमा शङ्काहरूले भरिएका हुन्छन्। तिनीहरू परमेश्वरको विश्वसनीयता र धार्मिकतालाई इन्कार गर्छन् अनि परमेश्वर निष्पक्ष र धर्मी हुनुहुन्न भन्ठान्छन्। यो परमेश्वरविरुद्धको ईशनिन्दा हो। परमेश्वरका वचनमा भएको खुलासासँग आफूलाई तुलना गर्दा, मैले आफूले प्रकट गरेको स्वभाव ख्रीष्टविरोधीको जस्तै रहेको देखेँ। यस चुनावमा मलाई प्रचारक चुनिएको थियो, तर मेरो हृदय परमेश्वरप्रतिको सतर्कता र शङ्काहरूले भरिएको थियो। मलाई मेरो कार्यक्षेत्र धेरै ठूलो र जिम्मेवारी धेरै बोझिलो हुने भएकाले, यदि मैले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरिनँ र मण्डलीको काममा अवरोध पुऱ्याएँ भने, म बर्खास्त हुने मात्र नभई हटाइने जोखिममा पनि पर्नेछु भन्ने कुराको चिन्ता थियो। मैले परमेश्वरको कामलाई हेर्न आफ्नै दिमाग अनि धारणा र कल्पनाहरू प्रयोग गरेँ, र मैले आफ्नो कर्तव्य निर्वाहमा ठूलो जिम्मेवारी वहन गर्दा छिट्टै प्रकट भइनेछ भनी भ्रमपूर्ण विश्वास गरेँ, र तसर्थ आफ्नो कर्तव्य अस्वीकार गर्ने बहानाहरू खोजिरहेँ। मैले परमेश्वरको धर्मी स्वभाव बुझिनँ, र परमेश्वरको घरलाई संसारजस्तै ठानेँ, जहाँ निष्पक्षता र धार्मिकताको कमी हुन्छ। यो परमेश्वरविरुद्धको ईशनिन्दा हो। मैले परमेश्वरको घरले कसरी सिद्धान्तहरूअनुसार मानिसहरूलाई बर्खास्त गर्छ र हटाउँछ भन्ने कुरा सोचेँ। तपाईँलाई काम राम्रोसँग नगरेकै कारण हटाइनेछ भन्ने हुँदैन—यो त परिस्थितिहरूमा निर्भर गर्दछ। कतिपय मानिसहरू बर्खास्त हुनुको कारण तिनीहरूको कर्तव्यमा समस्या र विचलनहरू देखा पर्नु अनि धेरै पटक सङ्गति र मद्दत दिइँदा पनि कामकुराहरूमा सुधार नगर्नु हो। यो त मैले पहिले प्रचारक छँदा वास्तविक काम नगरेजस्तै हो। त्यस समयमा, अगुवा र कामदारहरूले मसँग सङ्गति गर्नुभयो र मलाई मद्दत गर्नुभयो, तर म कहिल्यै बदलिइनँ र काममा अवरोध पुऱ्याएँ, त्यसैले मलाई बर्खास्त गरियो। तर, बर्खास्त हुनु र हटाइनु एउटै कुरा होइन। मैले आत्मचिन्तन र पश्चात्ताप गरेपछि र ममा केही परिवर्तन आएपछि, मण्डलीले मेरा लागि फेरि एउटा उपयुक्त कर्तव्यको प्रबन्ध गरिदियो। मैले बर्खास्त गरिनु भनेको परमेश्वरले मलाई मुक्ति दिने एउटा तरिका हो भन्ने बुझेँ। कतिपय मानिसको क्षमता निकै कमजोर हुन्छ र तिनीहरू केही निश्चित काम गर्न योग्य हुँदैनन्। यस्तो परिस्थितिमा, तिनीहरूलाई तिनीहरूको जीवन प्रवेश र मण्डलीको कामका लागि लाभदायक हुने एउटा उपयुक्त कर्तव्यमा खटाइन्छ। तर, दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले निरन्तर आफ्नो कर्तव्यमा अवरोध र बाधाहरू उत्पन्न गराउँछन्। तिनीहरूसँग जसरी सङ्गति गरे पनि, तिनीहरू कहिल्यै कामकुराहरूमा सुधार गर्दैनन्; तिनीहरू जिद्दी गर्दै पश्चात्ताप गर्न इन्कार गर्छन्, र तिनीहरू अनगिन्ती दुष्ट कार्य गर्छन्। यस्तो अवस्थामा तिनीहरूलाई मण्डलीबाट निकालिनैपर्छ वा निष्कासित गरिनैपर्छ। परमेश्वरको घरले मानिसहरूसँग सिद्धान्तहरूअनुसार व्यवहार गर्छ। परमेश्वरको घरमा सत्यताले शासन गर्छ र धार्मिकताले शासन गर्छ। मैले मानिस र कामकुराहरूलाई परमेश्वरका वचनअनुसार हेर्नुपर्थ्यो। यस पटक परमेश्वरले मलाई फेरि प्रचारकको कर्तव्य निर्वाह गर्ने अनुग्रह गर्नु भनेको उहाँले मलाई पश्चात्ताप गर्ने र बदलिने मौका दिनु थियो। यो परमेश्वरको प्रेम थियो, र मैले परमेश्वरप्रति सतर्कता अपनाउनु र उहाँलाई गलत बुझ्नु हुँदैनथ्यो। मैले कामकुराहरूमा सुधार गर्न इच्छुक हुँदै परमेश्वरलाई प्रार्थना गरेँ, र आफ्नै समस्याहरू समाधान गर्न सत्यता खोजेँ।
मैले प्रचारकको कर्तव्य सम्हाल्ने तयारी गर्दैगर्दा, मेरो हृदय अझै पनि केही हदसम्म चिन्तित थियो। संयोगवश सिस्टर लिउ शिन पनि पहिले यस्तै स्थितिमा थिइन्, त्यसैले उनले मलाई पढ्नका लागि केही अनुभवात्मक गवाहीका लेख खोजिदिइन्, र तिनमा उद्धृत गरिएको परमेश्वरका वचनको एउटा खण्ड मेरो लागि धेरै लाभदायक भयो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “कतिपय मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निर्वाह गर्ने तिनीहरूका सर्त यस्ता हुन्छन्: पहिलो, यो फुर्सदिलो काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्मेवारी लिनुपर्ने हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्मेवारी पनि लिन चाहँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्वरको घरमा तिनीहरू के काम लाग्छन् र? परमेश्वरको घरको काम शैतानसँग युद्ध गर्नु, साथै राज्यको सुसमाचार फैलाउनुसँग सम्बन्धित छ। कुन कर्तव्यमा जिम्मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले जिम्मेवारी झनै लिनु पर्दैन र? तैँले सुसमाचार प्रचार गरे पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निर्वाह गर्ने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य निर्वाह गर्न सक्दैनस्। आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउने किसिमको व्यक्ति कायर हुन्छ, कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्नता छुट्याउन सक्नुपर्छ। वास्तवमा, यो कायरताको समस्या होइन। तिनीहरू धनी बन्ने कुरामा, वा आफ्नै फाइदाका लागि केही गरिरहँदा किन यति आँटिला हुन्छन्? तिनीहरूले यी कुराका लागि जुनसुकै जोखिम लिनेछन्। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै जोखिम लिँदैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणास्पद हुन्छन्, र सबैभन्दा कुटिल हुन्छन्। आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्वरप्रति रतिभर निष्कपट हुँदैनन्, उसको बफादारीको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्मेवारी लिने आँट गर्छ? कस्तो प्रकारको व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्ति जो परमेश्वरको घरको कामको सबभन्दा निर्णायक क्षणमा अग्रसर हुँदै बहादुरीका साथ अघि बढ्छ, जसले सबैभन्दा महत्त्वपूर्ण र निर्णायक काम देख्दा बहादुरीका साथ गह्रौँ बोझ लिन्छ र कठिनाइ र खतरा सहन डर मान्दैन। त्यो परमेश्वरप्रति बफादार व्यक्ति हो, ख्रीष्टको असल सिपाही हो। के आफ्नो कर्तव्यमा जिम्मेवारी लिन डराउने सबैले सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; तिनीहरूको मानवतामै एउटा समस्या छ। तिनीहरूमा इन्साफ वा जिम्मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र घृणास्पद मानिस हुन्, तिनीहरू परमेश्वरका सच्चा विश्वासी होइनन्, र तिनीहरूले कत्तिपनि सत्यता स्विकार्दैनन्। यो एउटै कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। परमेश्वरका विश्वासीहरूले सत्यता प्राप्त गर्न ठूलो मूल्य चुकाउनुपर्छ, र यो अभ्यास गर्दा तिनीहरूले धेरै बाधाहरू सामना गर्नेछन्। तिनीहरूले त्याग गर्नुपर्छ, आफ्ना देहगत हितहरू पन्छाउनुपर्छ, र केही कष्टहरू भोग्नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता अभ्यास गर्न सक्नेछन्। त्यसो भए, के जिम्मेवारी लिन डराउने यस किसिमको व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? सत्यता अभ्यास गर्न निश्चय नै सक्दैन, त्यो प्राप्त गर्ने त कुरै छाडौँ। तिनीहरू सत्यता अभ्यास गर्न, र आफ्ना हितहरूमा हानि खेप्न डराउँछन्; तिनीहरू अपमानित हुने, मानहानि गरिने र गलत ठहराइने डर मान्छन्, साथै तिनीहरू सत्यता अभ्यास गर्ने आँट गर्दैनन्। फलस्वरूप, तिनीहरू सत्यता प्राप्त गर्न पनि सक्दैनन्, र परमेश्वरमा विश्वास गरेको जति वर्ष भए पनि, तिनीहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग एक))। परमेश्वर भन्नुहुन्छ, आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउनेहरू स्वार्थी, नीच, विश्वासघाती र छली हुन्छन्। यस प्रकारको व्यक्तिमा मानवता हुँदैन; ऊ परमेश्वरका साँचो विश्वासी होइन। ऊ परमेश्वरद्वारा तिरस्कृत भई हटाइन मात्र सक्छ। मैले आफ्नो हालैको व्यवहार सम्झेँ। मैले देखेँ, आफू परमेश्वरद्वारा खुलासा गरिएकै रूखबाट खस्ने पातले पनि आफ्नो टाउको फुटाउला कि भनेर डराउने प्रकारको व्यक्ति पो रहेछु। म प्रचारक चुनिँदा, मलाई परिस्थिति प्रतिकूल छ र कामका विभिन्न पक्षमा मानिसहरूको कमी छ भन्ने कुरा थाहा भए तापनि, म स्वार्थी र नीच थिएँ र मैले आफैलाई जोगाउन खोजेँ। मण्डलीको काम र मेरा ब्रदर-सिस्टरहरूको जीवन प्रवेशलाई जोगाउने बहाना बनाएर मैले गोप्य रूपमा आफ्नो कर्तव्य अस्वीकार गरेँ र त्यसो गर्नु मेरो बुद्धिमानी हो भन्नेसमेत ठानेँ। वास्तवमा, मेरो हरेक विचार आफ्नै खातिर थियो। मैले आफ्नो स्वभाव साँच्चै विश्वासघाती र छली रहेछ भन्ने कुरा देखेँ! म “इनामविना औँलो पनि नउठाउनू” र “अरूको होइन आफ्नै दुनो सोझ्याउनुपर्छ” जस्ता शैतानी विषहरूअनुसार जिएँ। मैले जे गरेँ, आफ्नै लागि गरेँ। म परमेश्वरमा विश्वास गर्थेँ, तर परमेश्वर मेरो हृदयमा हुनुहुन्नथ्यो—म ठ्याक्कै अविश्वासीहरूजस्तै थिएँ। म नबदलिए, मैले आफैलाई बर्बाद गर्नेथिएँ। परमेश्वरमा साँच्चिकै विश्वास गर्ने र उहाँप्रति बफादार रहने ब्रदर-सिस्टरहरूले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्छन्; बाहिरी परिवेश जतिसुकै प्रतिकूल भए पनि, तिनीहरू राज्यको सुसमाचार फैलाउनका लागि भारी बोझ थाम्न तत्पर हुन्छन्, र व्यक्तिगत लाभ वा हानिको ख्याल नगरी सकारात्मक र सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहन्छन्। कतिपय ब्रदर-सिस्टर त धेरैवटा कामसमेत गर्छन्: एक जना व्यक्तिले कयौँ कर्तव्य सम्हाल्छ, कष्ट भोग्छ र मूल्य चुकाउँछ, अनि अन्ततः राम्रा नतिजाहरू हासिल गर्छ। तर, मैले आफूलाई तुलना गरेर हेर्दा, परमेश्वरको घरको कामका लागि मानिसहरूको खाँचो रहेको महत्त्वपूर्ण समयमा मैले आफ्नो कर्तव्य अस्वीकार गर्न चाहेकी थिएँ। ममा विवेकको पूर्ण कमी थियो! मैले आफू पहिले कसरी हैसियतका लाभहरूमा लिप्त भएकी र वास्तविक काम नगरेकी हुनाले आफ्नो कर्तव्यबाट बर्खास्त भएकी थिएँ भन्ने कुरा सम्झेँ। परमेश्वरले मेरा अपराधअनुसार मलाई व्यवहार गर्नुभएन, बरु मलाई पश्चात्ताप गर्ने मौकासमेत दिनुभयो। मैले यसको अझ बढी कदर गर्नुपर्थ्यो, र यो कर्तव्य स्वीकार गर्दै यो जिम्मेवारी बोक्नुपर्थ्यो। परमेश्वरको अभिप्राय बुझिसकेपछि, म भित्री हृदयदेखि नै यो कर्तव्य स्वीकार गर्न तत्पर भएँ।
पछि, म फेरि परमेश्वरसामु आएँ र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा मलाई कुन कुराले लगातार आफ्नै लागि उम्कने बाटोबारे सोच्न र योजना बनाउन बाध्य तुल्याइरहेको छ भनी खोजी गर्नका लागि प्रार्थना गरेँ। मैले परमेश्वरका वचन पढेँ: “ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न सक्नु कुनै संयोग होइन—तिनीहरू अवश्य नै आफ्नै अभिप्राय र उद्देश्य, अनि आशिष्हरू प्राप्त गर्ने इच्छाद्वारा आफ्नो कर्तव्य पूरा गर्छन्। अनि अवश्य नै, तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूको उद्देश्य र मनोवृत्तिलाई तिनीहरूले दिनरात सोच्ने र चिन्ता गर्ने आशिष्हरू, असल गन्तव्य, एवम् असल सम्भावना र नियति प्राप्त गर्ने इच्छाबाट अलग गर्न सकिँदैन। तिनीहरू आफ्नो कामबाहेक अरू कुनै कुराबारे पनि नबोल्ने व्यापारीहरूजस्तै हुन्छन्। ख्रीष्टविरोधीहरूले जे गरे पनि त्यो सबै ख्याति, लाभ, र हैसियतसँग सम्बन्धित हुन्छ—त्यो सबै आशिष्हरू प्राप्त गर्नु अनि सम्भावनाहरू र नियतिसँग जोडिएको हुन्छ। भित्री रूपमा, तिनीहरूको हृदय त्यस्ता कुराहरूले भरिएको हुन्छ; र त्यही नै ख्रीष्टविरोधीहरूको प्रकृति सार हो। त्यस्तो प्रकृति सारको कारणले गर्दा नै अरूले तिनीहरूको अन्तिम परिणाम हटाइनु हो भन्ने कुरा स्पष्ट रूपमा देख्न सक्छन्” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वर के खुलासा गर्नुहुन्छ भने, ख्रीष्टविरोधीहरू परमेश्वरमाथिको आफ्नो विश्वासमा आशिष्हरू प्राप्त गर्ने अभिप्राय बोक्छन्, र परमेश्वरसँग मोलमोलाइ गर्ने प्रयास गर्छन्। तिनीहरू आफ्ना स्वभावहरूमा परिवर्तन ल्याउन वा सत्यता प्राप्त गर्नका लागि परमेश्वरमा विश्वास गर्दै गर्दैनन्। तिनीहरू गलत मार्गमा हिँडिरहेका हुन्छन्, र तिनीहरूको अन्तिम परिणाम हटाइनु नै हुनेछ। परमेश्वरका वचनसँग आफूलाई तुलना गर्दा, मैले आफ्नो पछ्याइपछाडिको दृष्टिकोण ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै रहेछ भन्ने देखेँ। मैले परमेश्वरमा विश्वास गर्न थालेदेखि अहिलेसम्मै, मेरो एउटै लक्ष्य थियो: आशिष्हरू प्राप्त गर्नु। मैले यसभन्दा पहिले असल परिणाम र गन्तव्य पाउन अनि भविष्यमा मुक्ति पाएर जीवित रहनका लागि, म आफ्नो परिवारले मलाई जतिसुकै सताए पनि, र मैले आफ्नो परिवारलाई छोडेर हिँड्नु समेत परे पनि परमेश्वरमा विश्वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न तत्पर रहेको कुरा सोचेँ। एक पटक मलाई प्रहरीले झन्डै गिरफ्तार गरेको थियो, तर त्यसपछि म पछि हटिनँ र पहिले जस्तै सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेँ। अहिले भने प्रचारकको कर्तव्यले मलाई फेरि बोलाइरहँदा, मलाई यो कर्तव्य राम्रोसँग निर्वाह गर्न नसक्ने, जवाफदेही ठहराइने र असल परिणाम नपाउने हो कि भन्ने डर लाग्यो, त्यसैले आफूलाई जोगाउन म यो कर्तव्य अस्वीकार गर्न चाहन्थेँ। म आफ्नो कर्तव्य निर्वाह गर्न इच्छुक भए वा नभए पनि, म सबैभन्दा पहिले आफ्नै हितहरूको ख्याल गर्थेँ, र त्यो सबै आशिष्हरू प्राप्त गर्नका लागि थियो। मैले आफ्नो प्रकृति स्वार्थी र छली रहेछ, र परमेश्वरमाथिको मेरो विश्वास वास्तवमा परमेश्वरसँग मोलमोलाइ गर्ने र उहाँलाई छल गर्ने प्रयास मात्र रहेछ भन्ने देखेँ। मैले परमेश्वरमाथिको आफ्नो विश्वासमा आशिष्हरू प्राप्त गर्ने अभिप्राय बोकेकी थिएँ, र म परमेश्वरलाई सन्तुष्ट पार्न मात्रै आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनथेँ। फाइदा हुने अवस्थामा मात्र म आफूलाई केही हदसम्म समर्पित गर्थेँ। यसरी मैले आफ्नो कर्तव्य निर्वाह गर्नु विशुद्ध रूपमा कारोबारी थियो, र यसमा निष्कपटता छँदै थिएन। परमेश्वरमाथिको मेरो विश्वासमा, मेरो पछ्याइपछाडिको दृष्टिकोण गलत थियो, र म हिँडिरहेको मार्ग परमेश्वरका मागहरूको विपरीत दिशामा गइरहेको थियो। यसरी नै अघि बढिरहेमा, मैले कसरी मुक्ति पाउन सक्थेँ र? आफूलाई नबदलेमा, म केवल परमेश्वरद्वारा हटाइनेथिएँ।
पछि, मैले परमेश्वरका वचन पढेँ: “त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्नो सारा हृदय र बल लगाउनु, परमेश्वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्वरलाई सन्तुष्ट पार्नको लागि आफ्नो कर्तव्यमा आफ्नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले के बुझेँ भने, इमानदार व्यक्ति हुनका लागि, तपाईँसँग पहिले एउटा इमानदार हृदय हुनुपर्छ र आफ्नो ख्याल नगरी वा आफ्नै लागि योजना नबनाई परमेश्वरलाई सन्तुष्ट पार्न मात्र आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। तर, मैले आफ्नो कर्तव्य निर्वाह गर्दा, हरेक मोडमा आफ्नै लागि युक्ति रचेँ। मेरो हृदय अति नै छली थियो! मैले नोआलाई सम्झेँ। उनीसँग एउटा सरल र इमानदार हृदय थियो। परमेश्वरले उनलाई जहाज निर्माण गर्ने निर्देशन दिँदा, उनले परमेश्वरको हृदयप्रति ख्याल देखाउन र परमेश्वरको आज्ञा स्विकार्न सके। उनी आज्ञाकारी र समर्पित थिए, र उनले आशिष् वा प्रकोपका बारेमा सोचेनन्; अन्ततः, उनले परमेश्वरका मागहरूअनुसार जहाजको निर्माण पूरा गरे। म नोआसँग तुलना गरिन योग्य त छैन, तर म उनको सिको गर्दै आज्ञाकारी र समर्पित व्यक्ति बन्नैपर्छ, मैले सरल र इमानदार हृदयका साथ आफ्नो कर्तव्य स्वीकार गर्नैपर्छ, आफूले गर्न सक्ने कुराहरू गर्न सक्दो प्रयास गर्नैपर्छ, र इमानदार व्यक्ति बन्नेसम्बन्धी मागहरू पूरा गर्ने प्रयत्न गर्नैपर्छ। दुई दिनपछि, मैले अगुवाहरूलाई जवाफ लेख्दै आफू प्रचारकको कर्तव्य निर्वाह गर्न इच्छुक रहेको बताएँ।
त्यसपछि, माथिल्ला अगुवाहरूबाट एउटा पत्र आयो, जसमा धरपकडको ठूलो लहरपछि एउटा मण्डलीको काम ठप्प भएको र घटनापछि उत्पन्न परिस्थिति सम्हाल्नुपर्ने आवश्यकता रहेको भनेर भनिएको थियो। उहाँहरूले म त्यो गर्न सक्छु त भनेर सोध्नुभएको थियो। पत्र पढिसकेपछि मेरो मुटु जोडले ढुकढुक गर्न थाल्यो, “यदि मैले काम राम्रोसँग गरिनँ भने, अन्तिम जवाफदेही म नै हुनेछ।” मलाई यस्तो सोच गलत हो, र म अझै पनि जिम्मेवारी लिन डराइरहेकी छु भन्ने महसुस भयो। मैले परमेश्वरका वचन पढेँ: “तैँले सकारात्मक र सक्रिय रूपमा सहकार्य गर्नैपर्छ, आफूले निर्वाह गर्नुपर्ने कर्तव्य राम्रोसँग निर्वाह गर्न र आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न सक्दो गर्नैपर्छ। सृजित प्राणीले गर्नुपर्ने कुरा यही नै हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ)। “यदि तँलाई साँच्चै नै बोझको बोध हुन्छ, र तँ आफ्नो कर्तव्य निर्वाह गर्नु भनेको तेरो व्यक्तिगत जिम्मेवारी पूरा गर्नु हो, तैँले कर्तव्य निर्वाह गर्दैनस् भने तँ पशु हुन्छस् र जिउन योग्य हुँदैनस्, अनि तैँले आफ्नो कर्तव्य राम्ररी निर्वाह गरिस् भने मात्रै तँमा सफा विवेक हुन्छ र तँ मानव कहलिन लायक हुन्छस् भन्ने विश्वास गर्छस् भने—यदि आफ्नो कर्तव्य पूरा गर्दा तँलाई बोझको यस्तो बोध हुन्छ भने—तैँले सबै कुरा लगनशील रूपमा गर्न, सत्यताको खोजी गर्न र सिद्धान्तहरूअनुसार कामकुरा गर्न, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न र परमेश्वरलाई सन्तुष्ट तुल्याउन सक्नेछस्। यदि तँ परमेश्वरले तँलाई दिनुभएको मिसन, र तेरो लागि परमेश्वरले बलिदान दिनुभएको सबै कुरा अनि तँप्रतिको परमेश्वरका अपेक्षाहरूको निम्ति लायक छस् भने, यो साँचो रूपमा प्रयास गर्नु हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ)। परमेश्वरका वचनले मलाई अभ्यासको मार्ग देखाए। मैले सकारात्मक र सक्रिय भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्थ्यो। यस मण्डलीको काम ठप्प भएको थियो, र यसका लागि विस्तृत योजना र बन्दोबस्तहरूको आवश्यकता थियो; उक्त घटनापछिको काम पनि जतिसक्दो चाँडो सम्हाल्नुपर्ने थियो। परमेश्वरको घरका हितहरूको रक्षा गर्नु र मेरा ब्रदर-सिस्टरहरूको सुरक्षा गर्नु मेरो जिम्मेवारी थियो। यदि मैले आफू उम्कने बाटो खोजिरहने र जवाफदेही हुनुपर्ने डरले आफ्नो कर्तव्य निर्वाह नगर्ने हो भने, म मानव हुन योग्य हुन्नथिएँ।
त्यसपछि, म घटनापछिको काम सम्हाल्न त्यो मण्डलीमा गएँ। त्यस समयमा, मैले धेरै कठिनाइको सामना गरेँ, र आफूले नबुझेका कुराहरूका हकमा म परमेश्वरमा भर परेँ, माथिल्ला अगुवाहरूसँग मद्दत मागेँ, र मेरा ब्रदर-सिस्टरहरूसँग मिलेर काम गरेँ। पछि, परमेश्वरको अगुवाइमा, परमेश्वरका वचनका पुस्तकहरू सुरक्षित रूपमा स्थानान्तरण गरिए, र मेरा ब्रदर-सिस्टरहरूले आफ्नो क्षमताले भ्याएसम्म आफ्ना कर्तव्यहरू निर्वाह गरे। सुसमाचारको काममा अझै कुनै प्रगति नभए पनि, म आफ्नो सम्पूर्ण शक्ति लगाएर त्यसमा काम गरिरहेकी थिएँ, र मलाई उप्रान्त जिम्मेवारी लिन डर लाग्दैनथ्यो। मलाई यो मेरो कर्तव्य र मेरो जिम्मेवारी हो, र मैले यही गर्नुपर्छ भन्ने थाहा थियो। यो कुरा सोचेपछि, मलाई शान्त र चैन महसुस भयो। मैले परमेश्वरका थप वचन पढेँ: “अहिलेका लागि तेरो गन्तव्य वा परिणाम कस्तो हुनेछ, अनि के हुनेछ र भविष्य कस्तो छ, वा तँ प्रकोपबाट जोगिन सक्नेछस् र मर्नेछैनस् कि भन्ने कुरामा केन्द्रित नहो—यी कुराहरूका बारेमा सोच्ने वा यी कुराहरूका बारेमा अनुरोधहरू गर्ने नगर्। परमेश्वरका वचन र उहाँका मागहरूमा मात्रै ध्यान केन्द्रित गर्, र सत्यता पछ्याउन, आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न, परमेश्वरका अभिप्रायहरू पूरा गर्न पुग्, र परमेश्वरको छ हजार वर्षको प्रतीक्षा, र उहाँको छ हजार वर्षको अपेक्षाअनुरूप जिउने गर्। परमेश्वरलाई अलि सान्त्वना दे; तँमा आशा छ भन्ने उहाँलाई देखा, र तँमा उहाँका कामना साकार हुन दे। मलाई भन्, यदि तैँले त्यसो गरिस् भने के परमेश्वरले तँलाई अन्यायपूर्वक व्यवहार गर्नुहुनेछ? अवश्यै गर्नुहुनेछैन! अनि यदि अन्तिम नतिजाहरू तैँले कामना गरेजस्तो छैनन् भने पनि, सृजित प्राणीका रूपमा तैँले त्यो तथ्यलाई कसरी लिनुपर्छ? तँ कुनै व्यक्तिगत योजनाहरू नराखी, सबै कुरामा परमेश्वरका योजनाबद्ध कार्य र प्रबन्धमा समर्पित हुनुपर्छ। के सृष्टि गरिएको प्राणीले लिनुपर्ने दृष्टिकोण यही होइन र? (हो।) यो मानसिकता हुनु सही हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ)। परमेश्वरका हृदयस्पर्शी वचन सुनेपछि, मैले मानिसहरूलाई मुक्ति दिने परमेश्वरका श्रमसाध्य अभिप्रायहरू महसुस गरेँ, र मेरो हृदय अत्यन्त प्रभावित भयो। परमेश्वरको छ हजार-वर्षे व्यवस्थापनको योजना सम्पूर्ण रूपमा मानवजातिलाई मुक्ति दिनका लागि हो। परमेश्वरको चाहना भनेको हामीले गम्भीरतापूर्वक सत्यता पछ्याऔँ र हाम्रा स्वभावहरूमा परिवर्तन ल्याउने प्रयत्न गरौँ, साँचो मानव रूपमा जिऔँ, र परमेश्वरका वचन पालना गर्न, परमेश्वरप्रति समर्पित हुन, र परमेश्वरको आराधना गर्न सकौँ भन्ने हो। यसरी, परमेश्वरको हृदयले सान्त्वना पाउनेछ। भविष्यमा मेरो परिणाम जस्तोसुकै भए पनि, मैले अहिले गर्नुपर्ने मुख्य कुरा भनेको सत्यता पछ्याउनु र परमेश्वरलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्नु हो। परमेश्वरलाई धन्यवाद!