७७. अब मैले मानिसहरूलाई सही तरिकाले व्यवहार गर्न जानेकी छु
सन् २०२२ को मार्चमा, म मण्डली अगुवा चुनिएँ। मसँगै काम गर्ने ब्रदर-सिस्टरहरूको मार्गदर्शन र सहयोगमा, केही समयपछि मैले काममा भएका केही विचलन र समस्या पत्ता लगाएर समाधान गर्न सकेँ, अनि बिस्तारै कामको नतिजाहरूमा केही सुधार देखिए। मेरा ब्रदर-सिस्टरहरू ममा कार्य सामर्थ्य छ भन्थे। म निकै खुसी थिएँ, अनि मलाई आफूले तालिम लिन थालेको छोटो समय मात्र भए पनि, ममा राम्रो क्षमता छ र मैले समस्याहरू पत्ता लगाएर राम्रोसँग काम गर्न सकेकी छु भन्ने अनुभूति हुन्थ्यो। मलाई आफू अत्यन्तै दुर्लभ प्रतिभा हुँ भन्ने लाग्थ्यो! पछि, सिस्टर लु याओ मण्डलीमा एक अगुवाका रूपमा चुनिइन् र मेरी सहकर्मी भइन्। मैले उनलाई कामसँग परिचित हुन र त्यसलाई बुझ्न मद्दत गरेँ। केही समयपछि मैले लु याओ आफ्नो काममा केही मात्रामा मात्र सहभागी हुन सक्छिन्, तर आफू जिम्मेवार रहेको काम साँच्चै सम्हाल्न सक्दिनन् भन्ने थाहा पाएँ। ममा अलिकति तिरस्कार जाग्यो, “मैले तिमीलाई काम कसरी गर्ने भनेर सिकाउन यति धेरै समय र ऊर्जा लगाएँ—तिमी किन यति सुस्त प्रगति गर्दैछ्यौ! उतिबेला मेरा ब्रदर-सिस्टरहरूले मलाई कामसँग परिचित गराउँदा, कसैले मलाई केही कुरा बताउनेबित्तिकै म त्यो बुझिहाल्थेँ र पछि त्यसकै आधारमा अरू कुरा पनि बुझ्न सक्थेँ। तिमीलाई यो किन यति गाह्रो भएको? यसरी त हुँदैन। मैले तिमीलाई हप्काउनैपर्ने भएको छ!” त्यसैले, मैले उनलाई कडा रूपमा भनेँ, “मैले यी कार्य कसरी गर्ने भनेर पहिले नै एकदम प्रस्टसँग बुझाइसकेकी छु। तपाईँ तिनलाई अझैसम्म किन गर्न सक्नुहुन्न? तपाईँले केही ध्यान दिइरहनुभएको छ कि छैन?” लु याओको अनुहार रातोपिरो भयो, र उनले नबोली घोसेमुन्टो लगाइन्। उनी अत्यन्तै दुःखी देखिएपछि, मैले मनमनै सोचेँ, “मैले अलि बढी नै भनेँ कि क्या हो? जे भए पनि, लु याओले भर्खर तालिम लिन सुरु गरेकी छिन्, र उनले धेरै कार्यसँग परिचित गराउनुपर्नेछ। त्यसमाथि, उनी उमेरमा अलि पाको छिन् र उनको स्मरणशक्ति पनि त्यति राम्रो छैन।” तर, त्यसपछि मैले फेरि सोचेँ, “हुन त मेरो स्वर अलि रुखो थियो, तर म उनी सकेसम्म छिटो कामसँग परिचित होऊन् भनेर मद्दत गर्न मात्र चाहन्थेँ,” अनि मैले आत्मचिन्तन गरिनँ।
पछि, म प्रचारक चुनिएँ, र भर्खरै चुनिएकी अगुवा, सिस्टर हान लुलाई कामसँग परिचित हुन मद्दत गर्दै थिएँ। एकपटक, हामी केही मानिस निकालिने सिद्धान्तअनुरूप छन् कि छैनन् भनेर लेखाजोखा गरिरहेका थियौँ। मैले केही मानिस स्पष्ट रूपमा दुष्ट मानिसका रूपमा प्रकट भएको देखेँ, तर हान लुले त्यो खुट्ट्याएकी थिइनन्। मलाई हृदयमा अलिकति तिरस्कार महसुस भयो, “तिमीले पहिले पनि सफा गर्ने काम गरेकी छौ। के हामीले यसअघि यस क्षेत्रका सिद्धान्तहरूबारे सङ्गति गरेका छैनौँ र? तिमी प्रगति गर्नुको साटो कसरी झन् पछाडि परिरहेकी छौ?” त्यसपछि मैले सोचेँ, माथिल्ला अगुवाहरूले खुट्ट्याउने सम्बन्धमा मसित सङ्गति गर्दा र मलाई मार्गदर्शन दिँदा, ममा पनि कमीहरू त थिए, तर म उनीजति असक्षम थिइनँ। त्यसैले, मैले हान लुलाई कडा रूपमा भनेँ, “तपाईँले मानिसहरूको सारअनुसार समस्याहरूलाई हेर्नुपर्छ! तपाईँले असङ्गत कुराहरू मात्रै हेर्न मिल्दैन!” मैले यसो भन्दा हान लु छक्क परिन्, अनि उनले शान्त भएर जवाफ दिइन्, “म सिद्धान्तहरूलाई धर्मसिद्धान्तका हिसाबले त बुझ्छु, तर जब म फरक मानिसहरूको सामना गर्छु, तब म तिनीहरूलाई खुट्ट्याउनै सक्दिनँ।” यो सुनेपछि, म झनै बेचैन र क्रोधित भएँ, “विगतमा मैले सफा गर्ने काम कहिल्यै गरेकी थिइनँ, तर मलाई बुझाउनेबित्तिकै मैले त्यो बुझिहालेँ। जे भए पनि, तिमीले त पहिले पनि सफा गर्ने काम गरेकी छौ, तैपनि तिमीमा कसरी खुट्ट्याउने क्षमताको कमी हुन सक्छ?” त्यसपछि मैले उनलाई कडा रूपमा हप्काएँ, “तपाईँले यसो भनिरहँदा, के आफ्ना लागि बहाना मात्रै बनाइरहनुभएको छैन र? तपाईँले पहिले पनि सफा गर्ने काम गर्नुभएको छ, र हामीले पनि पहिले नै सिद्धान्तहरूबारे सङ्गति गरेका छौँ। यदि तपाईँ अहिलेसम्म पनि खुट्ट्याउन सक्नुहुन्न भने, के तपाईँ आफ्नो कर्तव्य लापर्बाहीपूर्वक निर्वाह गरिरहनु भएको छैन र?” मैले यसो भनेको सुनेपछि, हान लुले असहज मान्दै शिर निहुराइन् र एक शब्द पनि बोलिनन्। हान लुको हाउभाउ देखेपछि, मैले मनमनै सोचेँ, “के मेरो बोल्ने तरिकाले उनलाई बन्धनमा पारेको हो?” तर, जब मैले यी समस्याहरू देखेँ, तब मैले गरम मिजासी प्रकट गर्नबाट आफूलाई रोक्न सकिनँ। पछि, मैले मनन गरेँ: मानिसहरूलाई संवर्धन गर्दा म किन निरन्तर गरम मिजासी प्रकट गर्छु? त्यस समयावधिमा, मैले खोजी गर्न परमेश्वरलाई प्रार्थना गरेँ, अनि बोल्दा र व्यवहार गर्दा आफूलाई रोक्न सक्दो प्रयास गरेँ। तर, कहिलेकाहीँ म आफ्नो रिसलाई विस्फोट हुनबाट रोक्न सक्दिनथेँ, र पछि मेरो हृदयलाई पीडा हुन्थ्यो। केही दिनपछि, हान लुले मलाई अरूप्रतिका मेरा मागहरू अति उच्च भएको र मेरो कडा बोलीले गर्दा अरूलाई मेरो कुरा स्विकार्न गाह्रो भएको भन्दै सुझाव दिइन्। हान लुको कुरा सुनेपछि, सुरुमा त मैले त्यसलाई स्विकार्नै सकिनँ। मैले मनमनै सोचेँ, “म त गरम मिजासी प्रकट नगरूँ भनेर आफूलाई रोक्न कडा प्रयास गरिरहेकै छु नि। तिमी किन आफ्नै समस्याहरूबारे चिन्तन गर्दिनौ? यदि तिमी आफ्नो काम राम्ररी गर्न सक्दिनौ भने, म कसरी तिमीप्रति असल बन्न सक्छु र?” तर, मैले आफ्नै कदको आधारमा अरूबाट मागहरू गर्ने गरेकी भनेर यसअघि लु याओले भनेको मलाई याद आयो, र अहिले हान लु पनि त्यही नै भनिरहेकी छिन्। यसभित्र परमेश्वरको अनुमति थियो, र मैले आफ्नो तर्क अघि सारिरहन मिल्दैनथ्यो; म समर्पित हुनैपर्थ्यो।
पछि, एक सिस्टरले मेरो स्थितिबारे थाहा पाएपछि, उनले मेरा लागि परमेश्वरका वचनका केही खण्ड खोजिदिइन्। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “यदि तैँले मण्डली अगुवा वा कामदारको हैसियतमा परमेश्वरका चुनिएका मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न र परमेश्वरको राम्रो गवाही दिन नेतृत्व गर्नुपर्यो भने, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको मानिसहरूलाई परमेश्वरका वचनहरू पढ्न र सत्यताबारे सङ्गति गर्नका लागि अझ धेरै समय बिताउन मार्गदर्शन गर्नु हो। यसरी, परमेश्वरका चुनिएका जनहरूले मानिसलाई मुक्ति दिनेबारे परमेश्वरको लक्ष्य र उहाँको कामको उद्देश्यबारे अझ गहन ज्ञान प्राप्त गर्न सक्छन् र परमेश्वरका अभिप्राय र मानिसका लागि उहाँका विभिन्न मापदण्डहरू बुझ्न सक्छन्, जसले उनीहरूलाई आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गर्ने र परमेश्वरलाई सन्तुष्ट पार्ने मौका दिन्छ। … यदि तैँले मानिसहरूलाई हप्काउन र काटछाँट गर्न शब्द र धर्मसिद्धान्तहरू मात्र बोल्छस् भने, के तैँले उनीहरूलाई सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न मद्दत गर्न सक्छस्? यदि तैँले सङ्गति गर्ने कुराहरू व्यावहारिक छैनन् भने, र यदि त्यो शब्द र धर्मसिद्धान्तहरूबाहेक अरू केही होइन भने, तैँले उनीहरूलाई जति नै काटछाँट गरिस् र हप्काइस् भने पनि, त्यो व्यर्थ हुनेछ। के तैँले मानिसहरू तँसित केही हदसम्म डराउनु, उनीहरूले तैँले अह्राएको काम गर्नु, र विरोध गर्ने आँट नगर्नुलाई उनीहरूले सत्यता बुझेको र उनीहरू समर्पणकारी भएको समान ठान्छस्? यो पूर्ण रूपमा गलत छ। जीवन प्रवेश त्यति सरल छैन। अगुवा बन्न आउने कतिपय मानिसहरू बलियो प्रभाव पार्न खोज्ने नयाँ प्रबन्धकहरू जस्तै हुन्छन्; तिनीहरूले सुरुमा परमेश्वरका चुनिएका मानिसहरूमाथि आफ्नो नयाँ-प्राप्त अख्तियार लाद्न र सबैलाई आफ्नो आज्ञा पालन गराउन खोज्छन्। तिनीहरू यसले तिनीहरूको काम सजिलो बनाउनेछ भन्ने सोच्छन्। यदि तँसँग सत्यता वास्तविकता छैन र तैँले समस्याहरू समाधान गर्न सत्यताबारे सङ्गति गर्न सक्दैनस् भने, तब चाँडै नै, तेरो साँचो कद प्रकट हुनेछ, तेरो साँचो रङ्ग खुलासा हुनेछ, र तँ हटाइन पनि सक्छस्। कतिपय प्रशासनिक काममा, मानिसहरूलाई अलिकति काटछाँट गर्नु र अनुशासनमा राख्नु स्वीकार्य हुन्छ। तर यदि तँ सत्यताबारे सङ्गति गर्न असक्षम छस् भने, अन्तमा, तँ अझै पनि समस्याहरू समाधान गर्न असक्षम हुनेछस्, र यसले कामका नतिजाहरूलाई असर गर्नेछ। मण्डलीमा जस्तोसुकै समस्याहरू देखा परे पनि, यदि तँ सधैँ मानिसहरूलाई पाठ पढाउँछस् र निरन्तर दोष लगाउँछस्, र यदि तँ सधैँ मानिसहरूलाई नखरा देखाउने काम मात्र गर्छस् भने, यो तेरो भ्रष्ट स्वभाव प्रकट भइरहेको हो, र तैँले आफ्नो भ्रष्टताको कुरूप अनुहार देखाएको छस्। यदि तँ सधैँ आफूलाई उच्च स्थानमा राख्छस् र मानिसहरूलाई यसरी पाठ पढाउँछस् भने, समय बित्दै जाँदा, मानिसहरूले तँबाट जीवनको आपूर्ति प्राप्त गर्न सक्नेछैनन्, तिनीहरूले कुनै पनि व्यावहारिक कुरा प्राप्त गर्नेछैनन्, र तिनीहरूले बरु तँलाई अत्यन्तै घृणा गर्नेछन् र घिन मान्नेछन्। यसबाहेक, कतिपय मानिसहरू यस्ता हुनेछन् जसले, खुट्ट्याउने क्षमताको कमीको कारणले तँबाट प्रभावित भएर, अरूलाई पाठ पढाउन र काटछाँट गर्न सिक्नेछन्; तिनीहरू पनि रिसाउनेछन् र तिनीहरूले आफ्नो आवेश गुमाउनेछन्। तैँले मानिसहरूका समस्याहरू समाधान गर्न नसक्ने मात्र होइन—तैँले तिनीहरूका भ्रष्ट स्वभावहरूलाई पनि बढावा दिइरहेको हुनेछस्। अनि के त्यो मानिसहरूलाई अनन्त विनाशको मार्गमा डोऱ्याउनु होइन र? के त्यो दुष्टताको कार्य होइन र? एउटा अगुवाले मूलतः सत्यताका बारेमा सङ्गति गरेर र जीवन आपूर्ति गरेर अगुवाइ गर्नुपर्छ। यदि तैँले सधैँ आफूलाई उच्च स्थानमा राख्छस् र अरूलाई पाठ पढाउँछस् भने, के तिनीहरूले सत्यता बुझ्न सक्नेछन्? यदि तैँले यसरी केही समय काम गरिस्, र मानिसहरूले तँ वास्तवमा के होस् भनी स्पष्ट रूपमा देखे भने, तिनीहरूले तँलाई अस्वीकार गर्नेछन्। के तैँले यसरी काम गरेर मानिसहरूलाई परमेश्वरसामु ल्याउन सक्छस्? कदापि सक्दैनस्। तैँले केवल मण्डलीको कामलाई अस्तव्यस्त बनाउनेछस् र परमेश्वरका चुनिएका मानिसहरूलाई तँलाई तिरस्कार र अस्वीकार गर्ने बनाउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “तैँले सबै कुरा बुझ्छस् भन्ने नसोच्। म तँलाई भन्छु, तैँले देखेको र अनुभव गरेको सबै कुरा पनि तैँले मेरो व्यवस्थापन योजनाको हजार भागको एक भाग बुझ्नलाई पर्याप्त छैन। अनि, तँ किन त्यति अहङ्कारी हुन्छस्? तँसँग भएको थोरै प्रतिभा र अलिकति ज्ञान येशूले आफ्नो कामको लागि एक सेकण्ड प्रयोग गर्न पनि पर्याप्त छैन! तँसँग वास्तवमा कति अनुभव छ? तैँले देखेका र तैँले आफ्नो जीवनभरि सुनेका अनि तैँले कल्पना गरेका सबै कुराहरू मैले एक पलमा गर्ने कामभन्दा पनि थोरै छन्! तैँले कुरा नकोट्याएको र गल्ती नखोतलेकै जाती हुन्छ। तँ आफूले चाहेजति अहङ्कारी बन्न सक्छस्, तर तँ एक सृष्टि गरिएको प्राणीबाहेक केही पनि होइनस्, तँ कमिला बराबरको पनि छैनस्! तेरो पेटभित्र जति छ त्यो सबै कमिलाको पेटमा भएको भन्दा पनि थोरै छ! तैँले केही अनुभव र वरिष्ठता प्राप्त गरेको छस् भन्दैमा, यसले तँलाई ठूलो पल्टिने र ठूलाठूला गफ चुट्ने अधिकार दिन्छ भनेर नसोच्। के तेरा अनुभव र तेरो वरिष्ठता मैले उच्चारण गरेका शब्दहरूको उपज होइनन् र? के तँ ती तेरो आफ्नै परिश्रम र मेहनतको बलमा आएका हुन् भन्ने विश्वास गर्छस्?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्)। परमेश्वरका वचन पढेर सिध्याएपछि, मलाई साँच्चै लज्जित महसुस भयो। जबदेखि म अगुवा बनेकी थिएँ र मेरो कामले केही नतिजाहरू दिएको थियो, तब म आत्मतुष्ट र आत्मसन्तुष्ट भएकी थिएँ। म मेरो क्षमता राम्रो छ, म धेरै बौद्धिक छु, र अरूले बुझाउनेबित्तिकै कुराहरू बुझिहाल्छु भन्ने सोच्थेँ, त्यसैले मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई हेयको नजरले हेर्न थालेँ। जब म लु याओलाई उनको काममा मद्दत गरिरहेकी थिएँ, तब उनले केही समयदेखि तालिम लिइरहेको भएपछि पनि स्वनिर्भर रूपमा काम गर्न नसकेको देखेर मलाई हृदयमा तिरस्कार महसुस भयो। म आफूले त्यो गर्न सक्ने तर उनले किन नसक्ने भनेर मैले प्रश्न गरेँ, र उच्च ओहदाबाट उनलाई हप्काउने र गाली गर्ने कामसमेत गरेँ। म प्रचारक चुनिएपछि, हान लुप्रति मागहरू राख्दा मैले फेरि अरूलाई मापन गर्ने मानकका रूपमा आफैलाई प्रयोग गरेँ। हान लुले सिद्धान्तहरू नबुझेकी देख्दा, मैले मनमनै उनी लापरवाह छिन् भन्ने निष्कर्ष निकालेँ, र उनलाई धेरै गाली पनि गरेँ। यसले गर्दा, मसँगको सम्बन्धमा हान लु झन्-झन् दबाब र बन्धनमा परिन्। मलाई म सिद्धान्तविना नै मानिसहरूसँग व्यवहार गर्दिरहेछु भन्ने महसुस भयो। उनीहरूको कद र क्षमताअनुसार उनीहरूलाई फरक-फरक व्यवहार गर्नुको सट्टा, म मानिसहरूलाई मापन गर्न मानकका रूपमा आफैलाई प्रयोग गर्थेँ। मेरा ब्रदर-सिस्टरहरूले मेरा मागहरू पूरा नगर्दा, म उनीहरूलाई तिरस्कार गर्थेँ, हेयको नजरले हेर्थेँ, अनि उच्च ओहदाबाट हप्काउँथेँ। वास्तवमा, परमेश्वरका वचनको अन्तर्दृष्टि र मेरा ब्रदर-सिस्टरहरूको मार्गदर्शन र मद्दतविना, मैले पनि काम गर्न जानेकी हुँदिनथेँ। तर, मैले निर्लज्ज भई यसलाई पुँजीका रूपमा प्रयोग गरेँ र निरन्तर रूपमा मेरा ब्रदर-सिस्टरहरूलाई तुच्छ ठान्ने र हेप्ने काम गरेँ। म साँच्चै नै पूर्ण रूपमा समझविहीन थिएँ! अगुवा र कामदारहरूप्रति परमेश्वरका मागहरू भनेको उनीहरूले समस्याहरू समाधान गर्नका लागि सत्यताबारे सङ्गति गर्न सकून्, आफ्ना ब्रदर-सिस्टरहरूको काममा भएका कुनै पनि विचलन र समस्याहरू औँल्याउन सकून्, र उनीहरूलाई सिद्धान्तहरूमा कसरी प्रवेश गर्ने भनी मार्गदर्शन गर्न सकून् भन्ने हो। तर, म आफ्नै जिम्मेवारीहरू पूरा गर्न असफल मात्र भइनँ, मैले उच्च ओहदाबाट अरूलाई हप्काउने, र मेरा ब्रदर-सिस्टरहरूलाई हानि पुर्याउने काम पनि गरेँ। यो कसरी मैले कर्तव्य निर्वाह गरिरहेको भयो र? मैले जे गरेकी थिएँ त्यसबारे सोच्दा मलाई गहिरो पछुतो भयो। म कसरी यति मानवताविहीन हुन सकेँ, र मैले कसरी मेरा ब्रदर-सिस्टरहरूलाई साँचो मद्दत र प्रेमको सानोभन्दा सानो अंश दिन सकिनँ?
एकदिन, मैले परमेश्वरका वचन पढेँ र अन्ततः मैले किन मानिसहरूसँग सही व्यवहार गर्न नसकेकी रहेछु भन्ने कुरा बुझेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “शैतानको स्वभावहरूभित्र धेरै प्रकारका भ्रष्ट स्वभावहरू समावेश हुन्छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्कार नै मानिसका भ्रष्ट स्वभावहरूको मूल कारण हो। मानिसहरू जति धेरै अहङ्कारी हुन्छन्, त्यति नै समझ विहीन हुन्छन्, र तिनीहरू जति धेरै समझविहीन हुन्छन्, तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? मानिसहरूमा अहङ्कारी स्वभावहरू हुने भएकाले, तिनीहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झने मात्र होइन, तर सबैभन्दा खराब कुरा त, तिनीहरूमा परमेश्वरका लागि कुनै सम्मान समेत हुँदैन, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने भए पनि, तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्ने ठान्छन् र आफैलाई अरूभन्दा श्रेष्ठ ठान्छन्। अहङ्कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्कारको समस्यालाई समाधान गरिनुपर्छ। अन्य सबैलाई आफूभन्दा तल रहेको ठान्नु सानोतिनो कुरा हो। महत्त्वपूर्ण विषय त के हो भने, अहङ्कारी स्वभावले मानिसहरूलाई परमेश्वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पित हुनदेखि रोक्छ, र यसले मानिसहरूलाई निरन्तर शक्तिका निम्ति परमेश्वरसँग प्रतिस्पर्धा गर्ने र अरूलाई नियन्त्रण गर्ने प्रयास गर्न लगाउँछ। यस्तो किसिमको व्यक्तिमा परमेश्वरको डर मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको विरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्! दुष्कर्म गर्ने समस्या समाधान गर्न, उनीहरूले पहिले आफ्नो प्रकृतिको समस्या समाधान गर्नुपर्छ। स्वभावमा परिवर्तन नगरी यो समस्याको आधारभूत समाधान ल्याउन सम्भव हुँदैन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। परमेश्वरका वचन मनन गर्दा, मैले मानिसहरूले परमेश्वरको प्रतिरोध गर्नुको मूल कारण अहङ्कारी प्रकृति नै हो भन्ने बुझेँ। मैले काममा केही अनुभव प्राप्त गरेको र केही नतिजाहरू हासिल गरेको, त्यसैले मेरो क्षमता राम्रो रहेको र आफूलाई धेरै बुद्धिमानी ठानेको कुरा सम्झेँ। मेरा सिस्टरहरूलाई उनीहरूको काम गर्न मार्गदर्शन गरिरहँदा, मैले उनीहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गरिनँ, र उनीहरूको कद र क्षमताअनुसार उनीहरूसँग मागहरू राखिनँ। बरु, मैले उनीहरूलाई मापन गर्ने मानकका रूपमा आफैलाई प्रयोग गरेँ र निरन्तर आफूलाई सिस्टरहरूसँग तुलना गरेँ। जब मेरा सिस्टरहरूले मेरा मागहरू पूरा गरेनन्, तब मैले उनीहरूलाई तिरस्कार गरेँ, हप्काएँ, र गाली गरेँ। आफ्नो कर्तव्य निर्वाह गरिरहँदा, मैले मानिसहरूलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गरिनँ, बरु मानिस र कामकुरालाई हेर्ने आधारका रूपमा आफ्नै अनुभव र दृष्टिकोणहरूलाई प्रयोग गरेँ। के म आफ्नै विचार र दृष्टिकोणहरूलाई सत्यता सिद्धान्तका रूपमा लिइरहेकी थिइनँ र? मैले लु याओ र हान लु दुवैले भर्खरै मण्डलीको काम गर्ने तालिम लिन सुरु गरेका थिए भन्ने कुरा सोचेँ। उनीहरूमा कमीहरू भए पनि, उनीहरू काम राम्ररी गर्न चाहन्थे र मबाट केही मद्दत पाउने आशा राख्थे। तर, म अहङ्कारी स्वभावमा जिइरहेकी थिएँ र मैले उनीहरूका कठिनाइहरूलाई पटक्कै बुझिनँ। बरु, मैले उनीहरू मजस्तै हुनुपर्छ भनी माग गरेँ, र उनीहरूले मेरा मागहरू पूरा नगर्दा उनीहरूलाई गाली गरेँ र हप्काएँ, जसको फलस्वरूप उनीहरू मेरो बन्धनमा परिरहे। यो कुरा बुझेपछि, मलाई हृदयमा डर लाग्यो। एउटा अहङ्कारी स्वभावले मलाई यस्ता कामकुराहरू गर्न बाध्य तुल्याउन सक्छ र आफूलाई पटक्कै महसुस नहुने गरी म यसप्रति यतिसम्म संवेदनहीन हुन सक्छु भनेर मैले कहिल्यै सोचेकी थिइनँ। मलाई आफू साँच्चै खतरामा छु जस्तो लाग्यो, र आफ्नो अहङ्कारी स्वभावअनुसार जिउन अनिच्छुक भएर मैले पश्चात्ताप गर्दै परमेश्वरलाई प्रार्थना गरेँ।
पछि, मैले परमेश्वरका वचनको अर्को खण्ड पढेँ, र सत्यता सिद्धान्तहरूअनुसार मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्ने कुरा थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तैँले अरूसँग कसरी व्यवहार गर्नुपर्छ त्यो परमेश्वरका वचनमा स्पष्ट देखाइएको वा सङ्केत गरिएको छ; परमेश्वरले जुन मनोवृत्तिले मानवजातिसँग व्यवहार गर्नुहुन्छ मानिसहरूले एकअर्कासित गर्ने व्यवहारमा पनि त्यही मनोवृत्ति अपनाउनुपर्छ। परमेश्वरले प्रत्येक व्यक्तिसँग कसरी व्यवहार गर्नुहुन्छ? कतिपय मानिसहरू अपरिपक्व कदका हुन्छन्; वा युवा हुन्छन्; वा थोरै समय मात्र परमेश्वरमा विश्वास गरेका हुन्छन्; वा प्रकृति सारअनुसार खराब हुँदैनन्, दुर्भावपूर्ण हुँदैनन्, तर अलि अज्ञानी वा कम क्षमताका मात्रै हुन्छन्। अथवा तिनीहरू अत्यन्तै धेरै बन्धनहरूमा परेका हुन्छन्, र तिनीहरूले सत्यता बुझ्न बाँकी नै हुन्छ, तिनीहरूले जीवन प्रवेश गर्न बाँकी नै हुन्छ, त्यसैले तिनीहरूलाई मूर्ख कामहरू वा अज्ञानी कार्यहरू गर्नबाट जोगाउन सकिँदैन। तर परमेश्वर मानिसहरूको क्षणिक मूर्खतामा अल्झिरहनुहुन्न; उहाँले तिनीहरूको हृदय मात्र हेर्नुहुन्छ। यदि तिनीहरूसँग सत्यता पछ्याउने सङ्कल्प छ भने—जुन सही हो—र तिनीहरूको उद्देश्य यही हो भने, परमेश्वरले तिनीहरूलाई अवलोकन गरिरहनुभएको हुन्छ, तिनीहरूलाई पर्खिरहनुभएको हुन्छ, र तिनीहरूलाई प्रवेश गर्न अनुमति दिने समय र मौकाहरू दिँदै हुनुहुन्छ। यो होइन कि परमेश्वरले तिनीहरूलाई एउटै अपराधका लागि कट्टा गर्नुहुन्छ। त्यो त मानिसहरूले प्रायः गर्ने कुरा हो; परमेश्वर मानिसहरूसँग त्यसरी व्यवहार गर्नुहुन्न। यदि परमेश्वर मानिसहरूसँग त्यसरी व्यवहार गर्नुहुन्न भने, किन मानिसहरूले चाहिँ अरूलाई त्यसरी व्यवहार गर्छन् त? के त्यसले तिनीहरूको भ्रष्ट स्वभाव देखाउँदैन? तिनीहरूका भ्रष्ट स्वभाव ठ्याक्कै यही हो। परमेश्वरले अज्ञानी र मूर्ख मानिसहरूसँग कसरी व्यवहार गर्नुहुन्छ, उहाँले अपरिपक्व कद भएका मानिसहरूसित कसरी व्यवहार गर्नुहुन्छ, उहाँले मानवजातिको भ्रष्ट स्वभावको सामान्य प्रकटीकरणहरूलाई कसरी व्यवहार गर्नुहुन्छ, र दुर्भावपूर्ण मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ त्यो तैँले हेर्नुपर्छ। परमेश्वर फरक-फरक मानिसहरूसित फरक-फरक तरिकाले व्यवहार गर्नुहुन्छ, र उहाँसँग विभिन्न मानिसहरूका विभिन्न स्थिति व्यवस्थापन गर्ने विभिन्न तरिका पनि छन्। तैँले यी सत्यताहरू बुझ्नुपर्छ। तैँले यी सत्यताहरूलाई बुझे पछि, मामलाहरूलाई कसरी अनुभव गर्ने र मानिसहरूलाई सिद्धान्तहरू अनुसार कसरी व्यवहार गर्ने भनी तैँले जान्नेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। परमेश्वरका वचनबाट मैले परमेश्वर मानिसहरूलाई अत्यन्तै सिद्धान्तपरक तरिकाले व्यवहार गर्नुहुन्छ भन्ने कुरा देखेँ। परमेश्वरका मागहरू मानिसहरूको क्षमता र कदअनुसार फरक-फरक हुन्छन्। उहाँले सबैलाई एउटै तराजुमा जोख्नुहुन्न, बरु मानिसहरूलाई उनीहरूको वास्तविक परिस्थितिका आधारमा निष्पक्ष व्यवहार गर्नुहुन्छ। लु याओको क्षमता अलि कमजोर भए पनि, उनी काम गर्नै सक्दिनन् भन्ने होइनथ्यो। त्यसमाथि, उनी स्थिर भएर आफ्नो कर्तव्य निर्वाह गर्थिन्, र एकपटक बुझेपछि, उनी समय र ऊर्जा लगाएर त्यसलाई राम्ररी गर्न सक्दो प्रयास गर्न सक्थिन्। उनले नबुझेका कुराहरूका हकमा, मैले धैर्यतापूर्वक उनीसँग सङ्गति गर्नुपर्ने र उनलाई मार्गदर्शन दिनुपर्ने हुन्थ्यो। कहिलेकाहीँ कुराहरू प्रस्टसँग बुझाउन नसक्दा, मैले उनलाई प्रक्रियागत रूपमा नै काम सिकाउनुपर्ने हुन्थ्यो। आखिरमा, यदि तपाईँले कर्तव्य निर्वाह गर्ने तालिम भर्खरै सुरु गर्नुभएको छ भने, त्यससँग परिचित हुने एउटा प्रक्रिया अवश्यै हुन्छ। हुन त हान लुले पहिले सफा गर्ने काम गरेकी थिइन्, तर यसको अर्थ उनले सबथोक बुझेकी र छर्लङ्ग देखेकी छिन् भन्ने थिएन। हप्काउनु र गाली गर्नुको सट्टा, मैले उनीसँग सङ्गति गरी मद्दत गर्नुपर्थ्यो। यो कुरा बुझेपछि, मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई निष्पक्ष रूपमा र सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न इच्छुक हुँदै परमेश्वरलाई प्रार्थना गरेँ।
म यति अहङ्कारी हुनुको कारण भनेको मैले मेरो राम्रो क्षमता र कुरा छिटो बुझ्ने खुबीलाई पुँजीका रूपमा प्रयोग गर्नु हो भनेर मैले सोचेँ। पछि, परमेश्वरका वचन पढेपछि मैले अन्ततः यस समस्याका बारेमा केही बुझाइ प्राप्त गरेँ। परमेश्वर भन्नुहुन्छ: “के तिमीहरू मानकअनुरूप आफ्नो कर्तव्य-निर्वाह हासिल गर्न कठिन हुन्छ भनेर भन्छौ? वास्तवमा, यो कठिन छैन; मानिसहरूले नम्र भएर मात्रै लागिपर्न सक्नुपर्छ, तिनीहरूमा थोरै चेतना हुनुपर्छ, र तिनीहरूले उचित स्थान अवलम्बन गर्नुपर्छ। तँ जति नै शिक्षित भए पनि, तैँले जे-जस्ता पुरस्कारहरू जितेको भए पनि, वा तैँले जे हासिल गरेको भए पनि, र तेरो हैसियत र ओहोदा जति उच्च भए पनि, तैँले यी सबै कुराहरू त्याग्नुपर्छ र आडम्बरबाट बाहिर निस्कनुपर्छ—यो सबको कुनै मूल्य छैन। परमेश्वरको घरमा, यी गरिमाहरू जति ठूला भए पनि, ती सत्यताभन्दा उच्च हुन सक्दैनन्, किनकि यी सतही कुराहरू सत्यता होइनन्, र तिनले सत्यताको स्थान लिन सक्दैनन्। तँ यो कुरामा स्पष्ट हुनुपर्छ। यदि तँ ‘म वरदानप्राप्त छु, मेरो दिमाग तेजिलो छ, मेरो प्रतिक्रिया क्षमता शीघ्र छ, म चाँडो सिक्न सक्ने व्यक्ति हुँ, र मेरो स्मरण शक्ति अत्यन्तै राम्रो छ, त्यसकारण म अन्तिम निर्णय आफै गर्न योग्य छु,’ भनेर भन्छस् भने, यदि तँ सधैँ यी कुराहरूलाई पूँजीको रूपमा प्रयोग गर्छस्, र तिनलाई बहुमूल्य, र सकारात्मक ठान्छस् भने, यो समस्या हो। यदि तेरो हृदयमा यी कुराहरूले बास गरेका छन्, र यी कुराले तेरो हृदयमा जरा गाडेका छन् भने, तँलाई सत्यता स्वीकार गर्न गाह्रो हुनेछ—र त्यसका परिणामहरू सोच्न समेत सकिँदैन। तसर्थ, सुरुमा तैँले आफूले प्रेम गरेका, तँलाई राम्रो र बहुमूल्य लागेका कुराहरू त्याग्नु र इन्कार गर्नुपर्छ। ती कुराहरू सत्यता होइनन्; बरु, तिनले तँलाई सत्यतामा प्रवेश गर्नबाट रोक्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। परमेश्वरका वचनबाट मैले के बुझेँ भने, व्यक्तिका क्षमता र वरदानहरू अन्तर्निहित गुण हुन्—ती परमेश्वरबाट आउँछन्। यी कुराहरू हुनुको अर्थ व्यक्तिसँग सत्यता वास्तविकताहरू छन् भन्ने होइन। विगतमा, म जहिले पनि मेरो क्षमता राम्रो छ, म चाँडो बुझ्छु, र म समस्याहरू पत्ता लगाएर समाधान गर्न सक्छु भनी ठान्दथेँ। म यसलाई पुँजीका रूपमा प्रयोग गर्थेँ र यसमा आत्मतुष्ट हुन्थेँ। तर, मैले अहिले के देखेँ भने, यो पुँजीको भरमा जिएर म झन्-झन् अहङ्कारी र अभिमानी भएकी रहेछु। मेरा नजरमा अरू मानिसहरू केही पनि होइनन् जस्तो लाग्थ्यो, र मेरा हृदयमा परमेश्वर हुनुहुन्नथ्यो। यस्ता अन्तर्निहित गुणहरू काम गर्न र मेरो कर्तव्य निर्वाह गर्नमा लाभदायक भए पनि, यदि मैले सत्यता स्वीकार गर्न सकिनँ भने, मेरो क्षमता जतिसुकै राम्रो भए पनि वा मेरा वरदानहरू जतिसुकै उत्कृष्ट भए पनि, म अझै परमेश्वरको प्रतिरोध मात्रै गर्न सक्नेछु।
पछि, कामका मागहरूले गर्दा, मैले अर्को मण्डलीका भर्खरै चुनिएका अगुवा र कामदारहरूलाई काम कसरी गर्ने भनेर मार्गदर्शन गरेँ। उनीहरूमध्ये कतिपयले भर्खरै तालिम सुरु गरेका थिए भने कतिपय भर्खरै आएका थिए, र तिनीहरूलाई गर्न नआउने कामहरू धेरै थिए। चिनियाँ कम्युनिस्ट पार्टीले अत्यन्तै गम्भीर रूपमा सताउने भएकाले, हामी व्यक्तिगत रूपमा भेटेर कुरा गर्न सक्दैनथ्यौँ, त्यसैले मैले उनीहरूका लागि विस्तृत कार्यप्रक्रियाहरू तयार गरिदिएँ। तर, पछि मैले उनीहरूको काममा अझै पनि दिशानिर्देशको कमी देखेँ, र मैले फेरि गरम मिजासी प्रकट गर्न लागेकी थिएँ, “विगतमा, मेरा ब्रदर-सिस्टरहरूले मलाई यसरी नै मार्गदर्शन गर्थे, र म तुरुन्तै बुझिहाल्थेँ र त्यसैका आधारमा अरू कुरा पनि बुझ्न सक्थेँ। तिमीहरूलाई यो किन यति गाह्रो भएको?” उनीहरूसँग रिसाउन र उनीहरूलाई गाली गर्न लाग्दा, मैले अचानक परमेश्वरका वचन सम्झेँ: “परमेश्वरले जुन मनोवृत्तिले मानवजातिसँग व्यवहार गर्नुहुन्छ मानिसहरूले एकअर्कासित गर्ने व्यवहारमा पनि त्यही मनोवृत्ति अपनाउनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ)। उनीहरू नयाँ हुन् र उनीहरूमध्ये केहीले भर्खरै तालिम सुरु गरेका छन् भन्ने कुरा मैले सम्झेँ। उनीहरूले सिद्धान्तहरू तुरुन्तै नबुझ्नु पूर्ण रूपमा सामान्य कुरा थियो। त्यसमाथि, चिठ्ठीमार्फत कुराकानी गर्दा, कतिपय कुरा अस्पष्ट रूपमा व्यक्त हुने र कतिपय कुरा बुझ्न गाह्रो हुने भइ नै हाल्छ। उनीहरूलाई काम गर्न सिक्न कसरी मद्दत गर्ने भनी खोज्न मैले परमेश्वरलाई प्रार्थना गरेँ। त्यतिबेला, मैले परमेश्वरका वचनको एउटा खण्ड पढ्ने अवसर पाएँ: “तैँले आफूले पूरा गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्नैपर्छ; तैँले ती मण्डलीहरूलाई ख्याल गर्नैपर्छ, जसको कमान तुलनात्मक रूपमा कमजोर र तुलनात्मक रूपमा कार्य योग्यता कम भएकाहरूले सम्हालेका छन्। अगुवा र कामदारहरूले यस्ता मामलाहरूलाई विशेष ध्यान दिनैपर्छ र विशेष मार्गनिर्देशन प्रदान गर्नैपर्छ। विशेष मार्गनिर्देशनले के जनाउँछ? सत्यताबारे सङ्गति गर्ने बाहेक, तैँले अझ विशिष्ट र विस्तृत मार्गनिर्देशन र सहायता पनि प्रदान गर्नैपर्छ, जसका लागि सञ्चारको हिसाबले अझ बढी प्रयत्न आवश्यक पर्छ। यदि तैँले उनीहरूलाई कामका बारेमा व्याख्या गरेपछि पनि उनीहरूले बुझ्दैनन्, र त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुरा जान्दैनन्, वा उनीहरूले धर्मसिद्धान्तको हिसाबले त्यो बुझे पनि र त्यसलाई कार्यान्वयन गर्न जानेका जस्तो देखिए पनि, तँ वास्तविक कार्यान्वयन कस्तो हुनेछ भन्नेबारे अझै अनिश्चित र अलि चिन्तित छस् भने, तब तैँले के गर्नुपर्छ? तँ आफै स्थानीय मण्डलीको गहिराइमा गएर उनीहरूलाई मार्गनिर्देशन गर्नुपर्छ र उनीहरूसँगै त्यो कार्य कार्यान्वयन गर्नुपर्छ। कामका बन्दोबस्तहरूका मागहरूअनुसार गर्न आवश्यक कार्यहरूसम्बन्धी विशिष्ट बन्दोबस्तहरू गर्ने क्रममा उनीहरूलाई सिद्धान्तहरू बता, जस्तै पहिला के गर्ने र त्यसपछि के गर्ने, र मानिसहरूलाई कसरी सही तरिकाले बाँडफाँड गर्ने—यी सबै कुरालाई राम्ररी व्यवस्थित गर्। यो नाराहरू मात्र फलाक्नु वा जथाभावी हुकुम दिनु, र उनीहरूलाई केही धर्मसिद्धान्तका साथ भाषण दिनु, अनि आफ्नो काम सकिएको ठान्नु नभई व्यावहारिक रूपमा उनीहरूलाई तिनीहरूको काममा मार्गनिर्देशन गर्नु हो—त्यो विशिष्ट काम गर्नुको प्रकटीकरण होइन, र नाराहरू फलाक्नु र मानिसहरूमाथि हैकम चलाउनु अगुवा र कामदारहरूका जिम्मेवारी होइनन्। जब स्थानीय मण्डलीका अगुवा वा सुपरिवेक्षकहरूले काम वहन गर्न सक्छन्, र काम सही मार्गमा प्रवेश गरेको हुन्छ, र मूलतः ठूला समस्याहरू केही पनि हुँदैनन्, तब मात्र अगुवा वा कामदार जान मिल्छ” (वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्मेवारीहरू। अगुवा र कामदारहरूका जिम्मेवारीहरू (१०))। मैले उनीहरू आखिर नयाँ हुन् भन्ने कुरा सम्झेँ। उनीहरूसँग सत्यताको सतही बुझाइ थियो र उनीहरूमा सिद्धान्तहरूको बोध थिएन, त्यसैले मैले कार्यप्रक्रिया मात्र बताएको बेला, उनीहरूलाई त्यो बुझ्न साँच्चै सजिलो थिएन। पछि, मेरो सहकर्मी र मैले उनीहरूलाई कामका हरेक पक्षमा भएका समस्याहरू व्यावहारिक रूपमा विश्लेषण गरिदियौँ। हामीले विभिन्न समस्यासम्बन्धी सिद्धान्तहरूबारे सङ्गति गर्यौँ र ती समस्या समाधान गर्ने मार्गहरू औँल्यायौँ। यसरी केही समय सँगै काम गरेपछि, उनीहरू सबैले आफ्ना कर्तव्यमा दिशा र मार्ग फेला पारे। यो नतिजा देखेपछि, म निकै उत्साहित भएँ। यदि मानिसहरूलाई सिद्धान्तहरूअनुसार व्यवहार गरेमा, र वास्तवमै आफ्ना ब्रदर-सिस्टरहरूलाई उनीहरूको काम कसरी गर्ने भनेर मार्गदर्शन गरेमा, हृदयलाई चैन महसुस हुन्छ भनेर मैले थाहा पाएँ।
यस अवधिका मेरा अनुभवहरूंमार्फत, मैले मेरो आफ्नै अहङ्कारी स्वभावबारे केही बुझाइ प्राप्त गरेँ, र मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्ने सिद्धान्तहरूका बारेमा पनि थप कुरा बुझेँ। कमजोर क्षमता भएका वा सुस्त गतिमा काम गर्ने ब्रदर-सिस्टरहरूलाई देख्दा मलाई गरम मिजासी प्रकट गरूँ जस्तो लागे पनि, म तुरुन्तै परमेश्वरलाई प्रार्थना गर्न र उनीहरूलाई सिद्धान्तअनुसार व्यवहार गर्न सक्छु। यसरी आफ्नो कर्तव्य निर्वाह गर्दा, मेरो हृदयलाई अझ बढी चैन महसुस हुन्छ।