७६. एउटी स्नातकोत्तर विद्यार्थीको छनौट
म सानो छँदा मेरो परिवार एकदमै गरिब थियो, अनि हाम्रा छिमेकी र आफन्त सबैले हामीलाई तुच्छ ठान्थे। मेरी आमा मलाई सानै उमेरदेखि यस्तो कुरा सिकाउनुहुन्थ्यो, “तैँले कडा मेहनत गरेर पढ्नुपर्छ र ठूली भएपछि हाम्रो परिवारलाई गौरवान्वित गराउनुपर्छ।” मैले मेरी आमाका कुरा मनमा कुँदेर राखेँ र एक दिन राम्रो डिग्री हासिल गरेर राम्रो जागिर पाउनेछु अनि मेरो परिवारको जीवन सुधार्नेछु भन्ने आशा राख्दै पढाइमा कडा मेहनत गरेँ। एक पटक, हड्डी भाँचिएर शल्यक्रिया गरेपछि, मेरो खुट्टामा प्लास्टर लगाएर मलाई डिस्चार्ज गरिएको थियो र म हिँड्न सक्दिनथेँ, अनि मेरी आमा मलाई हरेक दिन बोकेर स्कूल लैजानुहुन्थ्यो। पीडा र अरूको अनौठो हेराइको बाबजुद म आफ्नो पढाइमा लागिरहेँ। स्कूलमा छँदा केही दुर्घटना भोग्नुपरे पनि, मैले पढाइ कहिल्यै छोडिनँ। राम्रो विश्वविद्यालयमा भर्ना हुनका लागि, मैले पढाइमा कहिल्यै हेलचेक्य्राइँ गरिनँ। हरेक दिन, बिहान ७ बजेदेखि राति ११ बजेसम्म, खानपान र अन्य आवश्यक कुराबाहेक, म पढिरहेकी हुन्थेँ। पछि म अन्ततः एउटा उच्च-स्तरीय विश्वविद्यालयमा भर्ना भएँ। कलेजको तेस्रो वर्षमा, मैले स्नातकोत्तर प्रवेश परीक्षाको तयारी गरेँ। एउटा प्रतिष्ठित स्नातकोत्तर कार्यक्रममा भर्ना हुनका लागि, मैले आफूलाई झन्डै एक वर्षसम्म सबै कुराबाट अलग राखेँ, र स्नातकोत्तरका कोर्सहरू पढ्न पुस्तकालयमा दिनको दश घण्टाभन्दा बढी समय बिताएँ। मैले अलिकति पनि आराम गर्ने आँट गरिनँ। अन्ततः, मैले आफ्नो लक्ष्य प्राप्त गरेँ र देशकै सबैभन्दा प्रतिष्ठित स्नातकोत्तर कार्यक्रमहरूमध्येको एकमा भर्ना पाएँ। स्नातक गरेपछि, मैले एउटा सार्वजनिक संस्थाको अनुसन्धान केन्द्रमा काम गर्न थालेँ र नौ-देखि-पाँचको आम जीवन जिउन थालेँ। सेवा-सुविधा र तलब पनि राम्रै थियो। हामीलाई तुच्छ ठान्ने ती आफन्तहरू उपहार ल्याएर भेट्न आउन थाले। मैले आफ्ना सहपाठीहरूलाई भेट्दा, उनीहरू पनि मेरो तारिफ र प्रशंसा गर्थे। म मेरा आमाबुबाको गौरव बनेँ, र म निकै खुसी थिएँ।
तर काम सुरु गरेपछि, मैले आफूभित्र अवर्णनीय रित्तोपन महसुस गरेँ। म लामो समयसम्म वैज्ञानिक अनुसन्धानको क्षेत्रमा रहेँ, अनि मैले जति धेरै वैज्ञानिक ज्ञान अध्ययन गरेँ, यस संसारमा धेरै बुझ्न नसकिने अज्ञात कुराहरू रहेछन् भनी त्यति नै महसुस गरेँ। मैले मेरो सम्पूर्ण जीवन अनुसन्धानमा समर्पित गरेँ भने पनि, अन्तिम परिणाम समुद्रमा एक थोपा पानी मात्र हुनेछ। त्यसोभए यस अनुसन्धानलाई निरन्तरता दिनुको के अर्थ थियो र? मलाई आफूले के पछ्याउनुपर्छ वा यो रित्तोपन र अन्योलको भावनाबाट कसरी छुटकारा पाउने भन्ने कुरा थाहा थिएन। मैले व्यायाम गरेर र पढेर आफ्नो जीवनलाई भर्ने प्रयास गरेँ, तर त्यसले केही काम गरेन। अलिकति फुर्सदको समय हुँदा, मलाई रित्तोपनको एउटा ठूलो भावनाले घेर्थ्यो र भित्रभित्रै खाइरहन्थ्यो। अझ सन्तुष्ट महसुस गर्नका लागि, मैले अझ राम्रो भविष्य सुरक्षित गर्ने आशामा थप अध्ययनका लागि विदेशको एउटा प्रतिष्ठित विश्वविद्यालयमा आवेदन दिने निर्णय गरेँ। यसो गर्दा धेरै दबाब हुन्छ भन्ने थाहा भए तापनि, मैले आफैँलाई सान्त्वना दिँदै भनेँ, “जीवन यस्तै हो। खोला तलतिर बगेजस्तै मानिस उँभो लाग्न खोज्छ। यो एकदमै सामान्य कुरा हो।” यस लक्ष्यलाई पछ्याउने तयारी गर्नै लाग्दा, मैले संयोगवश सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको सुसमाचार सुन्ने मौका पाएँ। परमेश्वरका वचनहरू पढेर मैले के थाहा पाएँ भने, मानिसहरूलाई परमेश्वरले सृष्टि गर्नुभएको हो र तिनीहरू सुरुमा भ्रष्ट थिएनन्, अनि मानिसहरू विना कुनै झैझगडा मिलेर बस्न सक्थे, तर मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएपछि, उनीहरूमा सबै प्रकारका भ्रष्ट स्वभावहरू विकास भएका रहेछन्, र उनीहरू अन्धकार र पीडामा जिउँदै एक-अर्कासँग लड्न र छल गर्न थालेका रहेछन्। मानवजातिलाई मुक्ति दिन र मानिसहरूलाई सत्यता र जीवन प्राप्त गर्न दिनका लागि, परमेश्वरले व्यवस्थाको युग, अनुग्रहको युग र राज्यको युगमा तीन चरणको काम गर्नुभएको छ। अहिले, परमेश्वर आफ्नो कामको अन्तिम चरण गरिरहनुभएको छ, जुन मानवजातिलाई सबै सत्यता प्रकट गर्नु हो, ताकि मानिसहरू शैतानका बन्धन र हानिबाट मुक्त हुन सकून्, आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फाल्न सकून्, र अन्ततः एउटा सुन्दर गन्तव्यतर्फ डोर्याइन सकून्। मैले परमेश्वरका वचनहरू जति धेरै पढेँ, म त्यति नै तानिएँ, र मैले उहाँका वचनहरूमार्फत जीवनको अर्थ र रहस्यहरू बुझेँ, अनि मैले आफ्नो हृदयमा पहिले कहिल्यै महसुस नगरेको शान्ति र आनन्द महसुस गरेँ।
एक पटक, मैले परमेश्वरका यी वचनहरू पढेँ: “सामाजिक विज्ञानहरूको प्रादुर्भाव भएदेखि, मानिसको मनचाहिँ विज्ञान र ज्ञानद्वारा ओगटिएको छ। विज्ञान र ज्ञान मानवजातिलाई शासन गर्नका लागि औजार बनेका छन्, जसले गर्दा मानिससँग परमेश्वरलाई आराधना गर्नका निम्ति पर्याप्त स्थान छैन, र परमेश्वरको आराधना गर्नका लागि त्यति धेरै अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानिसको हृदयमा परमेश्वरका लागि स्थान नहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। तत्पश्चात् मानवजातिको हृदय र मन भर्न परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो भन्ने सत्यताप्रति विरोधाभासी हुने सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरू व्यक्त गर्न धेरै सामाजिक वैज्ञानिक, इतिहासकार, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यसरी, परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्वास गर्नेहरू पहिलेभन्दा कम हुँदै गएका छन्, र विकासवादको सिद्धान्तमा विश्वास गर्नेहरूको सङ्ख्या पहिलेभन्दा बढ्दै गएको छ। पुरानो करारीय युगमा भएका परमेश्वरको काम र उहाँका वचनहरूका अभिलेखहरूलाई झन्-झन् धेरै मानिसले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिन्छन्। परमेश्वरको गरिमा र महान्ताप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्, अनि तिनीहरू परमेश्वरको अस्तित्व र यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ भन्ने सिद्धान्तप्रति आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र जातिहरू र राज्यहरूको नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानिस केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … केही मानिसले मात्र आज परमेश्वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी खोज्न अग्रसरता लिन्छन् वा मानवको गन्तव्यमाथि उहाँ कसरी सार्वभौमिकता राख्नुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। … विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्न सक्दैन। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो र उसका निरर्थक बलिदान र अन्वेषणहरूले झन्झन् ऊमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछन्, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको नियतिबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त झनै सक्षम हुँदैनस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन। आखिर, मानिस मानिस नै हो, अनि परमेश्वरको हैसियत र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो। मानिसले परमेश्वरको जीवनको आपूर्ति र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उसका आवश्यकताहरू, उसको अन्वेषण गर्ने चाहना, र उसको हृदयको खालीपन समाधान हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। परमेश्वरका वचनहरूले मेरो हृदय छोए। मैले के महसुस गरेँ भने मैले अहिलेसम्म पछ्याउँदै आएको विज्ञान र ज्ञान सत्यता थिएनन्, र तिनले मेरो आत्माका आवश्यकता पूरा गर्न वा मेरो जीवनको अन्योल समाधान गर्न सक्दैनथे। मैले तिनलाई जति पछ्याएँ, मेरो हृदय विज्ञान र ज्ञानद्वारा त्यति नै ओगटियो र भरियो, जसले मलाई परमेश्वरबाट झन् टाढा लग्यो। अरूले मलाई राम्रो डिग्री र उज्ज्वल भविष्य भएकी व्यक्तिका रूपमा हेरे पनि, र म खुसी हुनुपर्छ भन्ने सोचे पनि, म खुसी थिइनँ। बरु, म भविष्यबारे अनिश्चितता र अन्योलले भरिएकी थिएँ। यो रित्तोपन र अन्योलको भावनाबाट छुटकारा पाउन, मैले व्यायाम गरेर र पढेर आफूलाई भर्ने प्रयास गरेँ, तर यीमध्ये कुनैले पनि मेरो हृदयको रित्तोपनलाई अलिकति पनि कम गर्न सकेन, त्यसैले मैले कुनै कुराका लागि लागिपर्दा यो भावना कम हुन्छ भन्ने विश्वास गर्दै जीवनका अझ उच्च लक्ष्यहरू पछ्याउने अठोट गरेँ, तर यसको सट्टा, मैले झनै दबिएको महसुस गरेँ। मलाई के कुरा स्पष्ट भयो भने मैले आफ्नो सम्पूर्ण जीवन वैज्ञानिक अनुसन्धानमा खन्याए तापनि, म यस संसारबारे त्यति धेरै बुझाइ प्राप्त गर्नेछैनँ, बरु, म जति धेरै शोध गर्छु, त्यति नै धेरै अज्ञात कुरा सामना गर्नेछु, र म यस संसारबारे झन्-झन् हक्क न बक्क र अन्योलमा पर्नेछु। मैले जति नै किताब पढे पनि वा जति नै वैज्ञानिक ज्ञान हासिल गरे पनि, अरूलाई मेरो भविष्य उज्ज्वल रहेको लागे पनि, ती सबै व्यर्थ हुन्, र त्यसले मेरो हृदयको रित्तोपन वा मेरो जीवनको अन्योललाई समाधान गर्दैन भन्ने महसुस गरेँ। मैले आफू भित्रको यो रित्तोपनको सास्तीबाट मुक्त हुन सधैँ असमर्थ रहँदै आउनुको कारण पनि बुझेँ; त्यसको कारण मैले मानिसका लागि उहाँले दिनुभएको जीवन सत्यताको आपूर्ति प्राप्त नगरेकीले परमेश्वरलाई नभेट्टाउनु, र मैले जीवनका रहस्यहरू वा अर्थ नबुझ्नु थियो। मानवजातिलाई परमेश्वरले सृष्टि गर्नुभएको हो, र मानिसहरूलाई जीवनका लागि चाहिने कुरा परमेश्वर प्रदान गर्न सक्नुहुन्छ। मानवजातिलाई के चाहिन्छ भन्ने कुरा परमेश्वर मात्र सबैभन्दा राम्रोसँग बुझ्नुहुन्छ, र परमेश्वरद्वारा व्यक्त गरिएको सत्यताले मात्र मानव हृदयको रित्तोपनलाई समाधान गर्न सक्छ। परमेश्वरका वचन खान र पिउन अझ धेरै समय मिलोस् भनेर, मैले विदेशमा थप अध्ययन गर्नमा थप समय र ऊर्जा नखर्चिने निर्णय गरेँ। मैले अन्तर्राष्ट्रिय विद्यालयमा पढाउनु पनि एउटा राम्रो विकल्प हो, किनकि यसले नियमित बिदा, गर्मी र जाडोयामको बिदा दिन्छ, र अनुसन्धान केन्द्रमा काम गर्दाको भन्दा बढी तलब पनि दिन्छ भन्ने देखेँ। पढाउनु एउटा स्थिर र सम्मानित जागिर पनि थियो, त्यसैले मैले आफ्नो पेसा परिवर्तन गरेँ र एउटा विद्यालयमा पढाउन थालेँ।
एक दिन, मैले परमेश्वरका वचनहरूका दुईवटा खण्ड भेट्टाएँ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्नुको अर्थ र मूल्यबारे केही बुझाइ प्राप्त गरेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “मानवजातिका सदस्यहरू र निष्ठावान इसाईहरूका रूपमा, परमेश्वरको आज्ञा पूरा गर्नका निम्ति हाम्रो मन र शरीर चढाउनु हामी सबैको जिम्मेवारी र दायित्व हो, किनकि हाम्रो सम्पूर्ण अस्तित्व परमेश्वरबाट आएको हो, र परमेश्वरको सार्वभौमिकताकै कारण यो अस्तित्वमा रहेको छ। यदि हाम्रा शरीर र मन परमेश्वरको आज्ञा र मानवजातिको न्यायोचित अभियानप्रति समर्पित छैनन् भने, परमेश्वरको आज्ञाका निम्ति शहीद भएकाहरूसामु हाम्रो आत्मा लज्जित हुनेछ, र हामीलाई सबै थोक प्रदान गर्नुहुने परमेश्वरसामु झन् धेरै लज्जित हुनेछ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। “परमेश्वर उहाँको देखापराइको अभिलाषा राख्नेहरूलाई खोजिरहनुभएको छ, उहाँका वचनहरू मान्नेहरूलाई खोजिरहनुभएको छ, उहाँको आज्ञा नबिर्सनेहरू र आफ्नो हृदय र शरीर उहाँलाई अर्पण गर्नेहरूलाई खोजिरहनुभएको छ, र उहाँसामु बालकहरूझैँ समर्पित हुने र प्रतिरोधी नहुनेहरूलाई खोजिरहनुभएको छ। यदि तँ आफैलाई परमेश्वरमा अर्पित गर्छस्, र कुनै शक्तिद्वारा रोकिँदैनस् भने, परमेश्वरले तँलाई निगाहका साथ हेर्नुहुनेछ, र तँलाई आशिष् प्रदान गर्नुहुनेछ। यदि तँसँग उच्च हैसियत, सम्माननीय प्रतिष्ठा, ज्ञानको भण्डार, विविध सम्पत्ति, र धेरै मानिसहरूको समर्थन छ, तैपनि तँ यी कुराहरूको झमेला अनुभूत गर्दैनस् र उहाँको बोलावट र उहाँको आज्ञा स्वीकार गर्न र तँबाट परमेश्वरले माग्नुभएका कार्यहरू गर्नका लागि अझै पनि परमेश्वरका सामु आउँछस् भने, तैँले गरेका सबै कुराहरू यस पृथ्वीमा सबैभन्दा अर्थपूर्ण अभियान र मानवजातिका निम्ति सबैभन्दा न्यायवान् प्रयास हुनेछन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ)। परमेश्वरका वचनहरू पढेपछि, मैले परमेश्वरको अभिप्राय बुझेँ। आखिरी दिनहरूको यो काम मानवजातिलाई मुक्ति दिने परमेश्वरको कामको अन्तिम चरण हो। परमेश्वर झन् धेरै मानिसले उहाँको आज्ञा स्वीकार गरून् भन्ने आशा गर्नुहुन्छ, ताकि उनीहरूले रित्तोपन र कष्टमा बाँचिरहेकाहरूलाई उहाँको मुक्ति प्राप्त गर्न, र शैतानको सास्ती र भ्रष्टताबाट मुक्त हुन उहाँसामु ल्याऊन्। यो मानवजातिको सबैभन्दा न्यायोचित कार्य हो, र इसाईका रूपमा यो हाम्रो जिम्मेवारी र दायित्व हो। व्यक्तिको हैसियत, प्रतिष्ठा, ज्ञान वा सम्पत्ति जतिसुकै ठूलो किन नहोस्, यदि उसले परमेश्वरको आज्ञा स्वीकार गर्न र सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न यी कुराहरूलाई पन्छाउन सक्छ भने, परमेश्वर यस्तो कुरालाई अनुमोदन गर्नुहुन्छ। मैले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले जीवनमा आफ्नो भविष्यको मार्गमा कसरी हिँड्ने भन्ने नजानेर, आफू रित्तोपन र कष्टमा जिएको, र जीवनमा कठिनाइ र सङ्कटहरू सामना गर्दा त्यत्तिको पिडित र असहाय महसुस गरेको कुरा सम्झेँ। परमेश्वरको मुक्तिले नै मलाई यस्तो रित्तो र अन्योलग्रस्त जीवनबाट मुक्त गर्यो, र मलाई सहारा र दिशा दियो। परमेश्वरले मलाई पहिले उहाँको आवाज सुन्ने मौका दिनुभयो, त्यसैले मैले मजस्तै रित्तोपन र कष्टमा बाँचिरहेका मानिसहरूलाई परमेश्वरको सुसमाचार प्रचार गर्नुपर्छ, ताकि उनीहरूले पनि परमेश्वरको आवाज सुन्न, सत्यता बुझ्न, र शान्ति र आनन्दसाथ जिउन सकुन्। यी विचारहरू मनमा राख्दै, म आफ्नो कर्तव्य निर्वाह गर्नमा अझ धेरै समय लगाउन चाहन्थेँ। तर विद्यालयमा मेरो दैनिक तालिका पूरै व्यस्त हुन्थ्यो, र कहिलेकाहीँ त म परमेश्वरका वचनहरू अझ धेरै पढ्ने समय पनि पाउँदिनथेँ। ब्रदर-सिस्टरहरूले सक्रिय रूपमा आफ्ना कर्तव्यहरू निर्वाह गरिरहेको देख्दा, मलाई चिन्ता लाग्यो, र आफ्नो यति धेरै समय र ऊर्जा खाइरहेको यो जागिर छोड्न मन लाग्यो। तर म यसलाई छोड्न हिचकिचाइरहेकी थिएँ। मैले राम्रो डिग्री र राम्रो जागिर पाउनकै लागि झन्डै बीस वर्ष कडा मेहनत गरेर पढेँ, र यस बेलासम्म मैले लामो समय काम गरेकी थिइनँ, र मेरा आमाबुबालाई उचित रूपमा सम्मान गरेकी थिइनँ, त्यसैले म यी सबै कुरा कसरी यत्तिकै छोड्न सक्थेँ र? मलाई एकदमै दुविधा भयो र कुन कुरा छान्ने भनी थाहा भएन।
एक दिन, मैले परमेश्वरको वचनको भजन सुनेँ र म गहन रूपमा प्रभावित भएँ।
तिमीले परमेश्वरमाथिको विश्वासलाई सबैभन्दा माथि राख्नैपर्छ
१ यदि तँ परमेश्वरमा विश्वास गर्न चाहन्छस्, र तँ परमेश्वरलाई प्राप्त गर्न र उहाँको सन्तुष्टि प्राप्त गर्न चाहन्छस् भने, तैँले केही कष्ट भोग्नैपर्छ र केही प्रयास लगाउनैपर्छ, अन्यथा तैँले यी कुराहरू प्राप्त गर्न सक्नेछैनस्। तिमीहरूले धेरै प्रवचन सुनेका भए पनि, सुन्दैमा ती तेरा हुन्छन् भन्ने होइन; तैँले तिनलाई आत्मसात् गर्नैपर्छ र तिनलाई आफ्नो बनाउनैपर्छ। तैँले तिनलाई आफ्नो जीवनमा समाहित गर्नैपर्छ र आफ्नो अस्तित्वमा ल्याउनैपर्छ, र यी वचनहरू र प्रवचनहरूलाई तेरो जिउने दिशालाई मार्गदर्शन गर्न, र तेरो जीवनमा अस्तित्वको मूल्य र जीवित हुनुको अर्थ भर्न दिनुपर्छ। यसरी, तेरा लागि यी वचनहरू सुन्नु सार्थक हुनेछ।
२ यदि मैले बोल्ने वचनहरूले तेरो दैनिक जीवनमा एउटा मोड ल्याउँदैनन् वा तेरो जीवनमा अस्तित्वको मूल्य थप्दैनन् भने, तँ ती व्यर्थमा सुन्छस्। तैँले परमेश्वरमा विश्वास गर्नुलाई आफ्नो जीवनको एउटा प्रमुख मामिला मान्नैपर्छ, खाना, लुगा, वा अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण—यसरी, तैँले नतिजाहरू पाउनेछस्। यदि तँ फुर्सदको समयमा मात्रै विश्वास गर्छस्, र तँ विश्वास गर्नमा आफूलाई अर्पित गर्दैनस्, र सधैँ अन्योलमा पर्छस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १०
परमेश्वरका वचनहरूबारे बारम्बार मनन गरेर मैले के बुझेँ भने, यदि हामी हाम्रो परमेश्वरप्रतिको विश्वासमा सत्यता र साँचो जीवन प्राप्त गर्न चाहन्छौँ भने, यो परमेश्वरका वचनहरू पढ्ने र केही धर्मसिद्धान्त बुझ्ने कुरा मात्र होइन। यी कुराहरू प्राप्त गर्नका लागि वास्तविक जीवनमा परमेश्वरका वचनहरू अभ्यास र अनुभव गर्नुपर्छ, र परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको पछ्याइ परिवर्तन गर्न दिनुपर्छ। यदि कसैले परमेश्वरमा आस्था राखेको दाबी गर्छ तर सबै पक्षमा सत्यता अभ्यास र अनुभव गर्दैन, र अझै पनि सांसारिक सम्भाव्यता पछ्याउनुलाई आफ्नो जीवनको लक्ष्य मान्छ भने, उसले यसरी जिएर कहिल्यै सत्यता प्राप्त गर्नेछैन। परमेश्वरले आखिरी दिनहरूमा निकै धेरै सत्यता व्यक्त गर्नुभएको थियो, तैपनि मैले अझै परमेश्वरका धेरै वचन पढेर सिध्याएकी थिइनँ, र मैले शब्द र धर्मसिद्धान्तहरूसमेत पूर्ण रूपमा बुझेकी थिइनँ। तर, म भने आफ्नो जीवनलाई कुनै फाइदा नपुऱ्याउने र मलाई परमेश्वरका वचन खान र पिउन अनि सत्यता बुझ्न अतिरिक्त समय प्रदान नगर्ने काममा हरेक दिन धेरै समय खर्च गर्दै, आफ्नो खाली समयमा यसरी नै आफ्नो आस्था अभ्यास गरिरहेकी थिएँ मैले आफ्नो खाली समयमा यसरी नै आस्था अभ्यास गरिरहेमा, म आफ्नो आस्थाको अन्त्यसम्ममा पनि सत्यताको बुझाइ कहिल्यै प्राप्त गर्नेथिइनँ, सत्यता अनुभव गर्ने र चिन्ने कुरा त परै जाओस्। यी कुराहरू बुझेपछि, मेरो हृदयमा कुराहरू स्पष्ट भए। मैले आफ्नो खाली समयमा यसरी आस्था अभ्यास गरिरहनु हुँदैनथ्यो, नत्र मैले मुक्तिको मौका गुमाउने थिएँ। मैले निरन्तर परमेश्वरलाई हृदयमा प्रार्थना गरेँ, र उहाँले मलाई सही छनौट गर्न मार्गदर्शन गर्नुहुनेछ भन्ने आशा गरेँ।
परमेश्वरमा विश्वास गर्नु र सत्यता पछ्याउनु जीवनको सही मार्ग हो भन्ने थाहा पाइसकेपछि पनि, मलाई आफ्नो कर्तव्य निर्वाह गर्नका लागि आफ्नो जागिर छोड्न किन यति गाह्रो भइरहेको छ भनी म सोचिरहन्थेँ। मलाई साँच्चै के कुराको चिन्ता थियो? मैले यसको पछाडिको एउटा कारण मेरा आमाबुबाको विचारलाई पन्छाउन मलाई भएको कठिनाइ रहेछ भन्ने कुरा महसुस गरेँ। मलाई आफूले काम नगरेमा र पैसा कमाएमा भने, आफ्ना आमाबुबालाई उचित रूपमा सम्मान गर्न नसकूँला, र उहाँहरूको यतिका वर्षका प्रयास र अपेक्षाहरूपश्चात मैले उहाँहरूलाई निराश पारूँला भन्ने चिन्ता थियो। यस सन्दर्भमा परमेश्वरका वचनहरूले के भन्छन् भनी मैले खोजेँ। मैले परमेश्वरका वचनहरूका दुईवटा खण्ड सम्झेँ र ती खोजेर पढेँ। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको नियोजनका खातिर तँ आफ्नो भूमिका खेल्छस् र तँ आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसुकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि यावत् थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। “परमेश्वरले यो संसार सृष्टि गर्नुभयो र यसमा उहाँले जीवन दिनुभएको जीवित प्राणी, मानिसलाई ल्याउनुभयो। त्यसपछि, मानिसले आमाबुबा र नातेदारहरू पायो, अनि ऊ उप्रान्त एक्लो भएन। मानिसले यस भौतिक संसारलाई पहिलो पटक देखेदेखि नै, उसको भाग्यमा परमेश्वरको नियोजनमा बाँच्न लेखिएको थियो। परमेश्वरबाट आएको जीवनको सासले नै प्रत्येक जीवित प्राणीलाई हुर्काएर वयस्कतासम्म धान्छ। यस क्रममा, मानिस परमेश्वरको हेरचाहमा अस्तित्वमा रहन्छ र हुर्कन्छ भनेर कसैले महसुस गर्दैन; बरु, तिनीहरू मानिस आफ्ना आमाबुबाको लालनपालनको अनुग्रहमा हुर्कन्छ र उसको हुर्काइलाई उसैको जीवनको नैसर्गिक प्रवृत्तिले अघि बढाउँछ भन्ने विश्वास गर्छन्। यस्तो किन हुन्छ भने, मानिसले उसको जीवन उसलाई कसले दिएको हो वा यो कहाँबाट आउँछ भन्ने जान्दैन, जीवनको जन्मजात प्रवृत्तिले कसरी चमत्कारहरू सृजना गर्छ भन्ने कुरा जान्नु त परै जाओस्। उसको जीवनलाई निरन्तरता दिने आधार खाना हो, दृढता नै उसको जीवनको अस्तित्वको स्रोत हो, अनि उसको मनमा भएका विश्वासहरू नै पुँजी हुन् जसमाथि उसको अस्तित्व निर्भर हुन्छ भन्ने मात्र ऊ जान्दछ। मानिस परमेश्वरको अनुग्रह र उहाँको आपूर्तिबारे पूर्णतः अनजान हुन्छ र परमेश्वरले उसलाई दिनुभएको जीवन ऊ यसरी नै खेर फाल्छ…। परमेश्वरले दिनरात रेखदेख गर्ने एउटा व्यक्तिले पनि उहाँको आराधना गर्ने पहलकदमी लिँदैन। परमेश्वर आफूले योजना बनाएअनुसार, मानिसमा काम मात्र गर्नुहुन्छ, जसबाट कुनै पनि अपेक्षा गर्न सकिँदैन। कुनै दिन मानिस उसको सपनाबाट ब्युँझनेछ अनि उसले अचानक जीवनको मूल्य र अर्थलाई, परमेश्वरले उसलाई दिनुभएको सबै कुराका निम्ति उहाँले चुकाउनुभएको मूल्यलाई, र जुन उत्कटताका साथ परमेश्वर मानिस उहाँतर्फ फर्कियोस् भनी व्यग्र अभिलाषा राख्नुहुन्छ, त्यसलाई महसुस गर्नेछ भन्ने आशाका साथ परमेश्वर यसो गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। परमेश्वरका वचनहरूबारे मनन गरेर, मेरो हृदय स्पष्ट भयो र म गहन रूपमा प्रभावित भएँ। मानिसहरू परमेश्वरबाट आउँछन्, र हाम्रो जीवनको सास परमेश्वरले नै दिनुभएको हो। हामी हाम्रा आमाबुबाप्रति अलिकति पनि ऋणी छैनौँ। मेरा आमाबुबाले मलाई हुर्काउनुभएको र मेरो शिक्षाको बन्दोबस्त गर्नुभएको तथ्य परमेश्वरको सार्वभौमिकता र बन्दोबस्त थियो। मेरा आमाबुबा केवल आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गरिरहनुभएको थियो। मेरो शिक्षाको स्तर जतिसुकै भए पनि त्यो परमेश्वरले नै पूर्वनिर्धारण गर्नुभएको थियो, मेरा आमाबुबाले निर्धारण गर्नुभएको थिएन। मैले आफ्ना आमाबुबाको प्रेम र बलिदानलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्नुपर्थ्यो। फर्केर हेर्दा, मेरो जीवनका कुनै पनि चरणहरू मेरो नियन्त्रणमा थिएनन्। उदाहरणका लागि, मेरो गाउँका मेरो उमेरका बच्चाहरूमध्ये, मैले मात्र केही दुर्घटनाका कारण धेरै कक्षा छुटाएकी थिएँ, तैपनि मेरो पढाइ सहज रूपमा अघि बढ्यो। यसका साथै, म बच्चा छँदा केही गम्भीर दुर्घटनामा परेकी थिएँ, तर म बालबाल बाँचेकी थिएँ। म परमेश्वरको हेरचाह र सुरक्षाअन्तर्गत यहाँसम्म आइपुगेकी हुँ, र मैले मेरो परम कृतज्ञता परमेश्वरलाई दिनुपर्थ्यो। यसबाहेक, हामीमध्ये हरेकको आफ्नै मिसन हुन्छ। मसँग आफूले पूरा गर्नुपर्ने एउटा कर्तव्य र जिम्मेवारी छ, र परमेश्वरले मेरा लागि तय गर्नुभएको जीवनको एउटा मार्ग छ, र म मेरा आमाबुबाका अपेक्षाहरूका लागि मात्र जिउनु हुँदैन। मेरा आमाबुबाको आफ्नै नियति छ, र मैले कडा मेहनत गरेर र पैसा कमाएर, उहाँहरूको नियति बदल्न सक्छु भन्ने होइन। यदि परमेश्वरले उहाँहरूका लागि अनुकूल जीवन परिस्थितिहरू पूर्वनिर्धारित गर्नुभएको छैन भने, मैले जति नै कोसिस गरे पनि, उहाँहरूले त्यसबाट फाइदा पाउनुहुनेछैन। मैले आफ्नै हातले मेरा आमाबुबाका लागि सुखद जीवन सिर्जना गर्ने प्रयास गरिरहनु हुँदैन। अब मैले अन्ततः जीवनमा सही मार्ग फेला पारेकी, र मैले परमेश्वरका वचनहरूबाट जीवनको आपूर्ति प्राप्त गरेकी हुनाले, मैले परमेश्वरका वचनअनुसार अभ्यास गर्नुपर्छ, परमेश्वरतर्फ हेर्नुपर्छ, मेरा आमाबुबा लगायत सबै कुरा उहाँलाई सुम्पिनुपर्छ, र लगनशीलताका साथ सत्यता पछ्याउनुपर्छ।
मैले आफ्नो जागिर छोड्ने र आफूलाई पूर्ण रूपमा परमेश्वरप्रति समर्पित गर्ने अभिप्राय राखेकी भए पनि, आफूले बीस वर्षभन्दा बढी समयदेखि पछ्याउँदै आएको भविष्य त्याग्ने कुरा सोच्दा, मेरो हृदय अझै पनि अलिकति हिचकिचाइरहेको थियो। खोज्ने र मनन गर्ने क्रममा, मैले के महसुस गरेँ भने, मेरो दृढ सङ्कल्पको कमीको कारण मैले अझै पनि अरूभन्दा अलग बन्न र अरूको जीवनभन्दा माथिल्लो स्तरको जीवन पछ्याउन चाहेकीले, अनि र मैले सत्यता पछ्याउनुको महत्त्व नबुझेकीले ख्याति र प्राप्तिलाई राम्रोसँग बुझ्न नसक्नु रहेछ। त्यसैले, मैले सचेत रूपमा यस क्षेत्रमा सत्यताको खोजी गरेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “तैँले देख्न सक्छस् कि गैरविश्वासी संसारमा, धेरै गायक र चलचित्रका ताराहरू छन् जो प्रसिद्ध हुनुअघि कठिनाइ सहन निकै सक्षम थिए र आफूलाई आफ्नो कामप्रति समर्पित गर्थे। तर जब तिनीहरूले ख्याति प्राप्त गर्छन् र धेरै पैसा कमाउन थाल्छन्, तब तिनीहरू सही मार्गमा हिँड्दैनन्। तिनीहरूमध्ये कतिपयले लागुऔषध सेवन गर्छन्, कतिपयले आत्महत्या गर्छन्, र तिनीहरू जवानीमै मर्छन्। यसको कारण के हो? तिनीहरूका भौतिक सुखहरू अत्यधिक हुन्छन्, तिनीहरू अत्यन्तै आरामदायी हुन्छन्, र तिनीहरूलाई अझ ठूलो सुख वा अझ ठूलो उत्साह कसरी प्राप्त गर्ने भनी थाहा हुँदैन। तिनीहरूमध्ये कतिपय अझ उच्च स्तरको उत्साह र आनन्दको खोजीमा लागुऔषधतर्फ लाग्छन्, र, लामो समयसम्म प्रयोग गरेपछि, तिनीहरूले त्यो छोड्न सक्दैनन्। केही धेरै लागु पदार्थ सेवन गरेर मर्छन्, अरू त्यसबाट उम्किन नजानेर अन्त्यमा आत्महत्या नै गर्छन्। यस्ता कति धेरै उदाहरणहरू छन्। तैँले जति राम्ररी खान-पान गरे पनि, जति राम्रा पहिरन लगाए पनि, तेरो घर जतिसुकै राम्रो भए पनि, तैँले जति रमाइलो गरे पनि, वा तेरो जीवन जति सुखद भए पनि, अनि तेरा चाहनाहरू जति पूर्ण रूपमा पूरा भए पनि, अन्तिममा त्यो खोक्रोपनमाथि खोक्रोपन मात्रै हुन्छ, र नतिजा विनाश हुन्छ। के गैरविश्वासीहरूले पछ्याउने खुसी वास्तविक खुसी हो? वास्तवमा, त्यो खुसी होइन। त्यो मानव कल्पना हो, पतन हुने एउटा उपाय हो, र त्यो मानिस पतित बन्ने मार्ग हो। मानिसहरूले पछ्याउने कथित खुसी झुटो हुन्छ। त्यो वास्तवमा कष्ट हो। यो मानिसहरूले पछ्याउनुपर्ने लक्ष्य होइन, न त त्यसमा जीवनको मूल्य नै हुन्छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने केही तरिका र विधिहरूमा तिनीहरूलाई देहको सन्तुष्टि र वासनाप्रतिको आशक्तिलाई तिनीहरूको लक्ष्य बनाउन लगाउने पर्छन्। यसमार्फत, शैतानले मानिसलाई सुप्त बनाउँछ, लोभ्याउँछ, भ्रष्ट तुल्याउँछ, त्यसलाई नै खुसी सोच्ने, र त्यो उद्देश्यको पछि लाग्ने बनाउँछ। मानिसहरू ती कुरा प्राप्त गर्नु नै खुसी प्राप्त गर्नु हो भन्ने विश्वास गर्छन्, त्यसैले तिनीहरू त्यो लक्ष्य पछ्याउने मार्गमा लाग्न आफ्नो शक्तिले भ्याएजति सबै गर्छन्। अनि, तिनीहरूले त्यो प्राप्त गरेपछि, खुसी नभई खोक्रोपन र पीडा महसुस गर्छन्। यसले त्यो सही मार्ग होइन भन्ने प्रमाणित गर्छ; त्यो मृत्युको बाटो हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “मानिसहरू आफ्नो जीवनभरिको ऊर्जा नियतिविरुद्ध लड्दै सकाउँछन्, अनि आफ्नो सम्पूर्ण जीवन परिवारको पालनपोषण गर्न खोज्दै अनि प्रतिष्ठा र नाफाका खातिर यताउता दौडधुप गर्दै बिताउँछन्। मानिसहरूले बहुमूल्य ठान्ने कुराहरू पारिवारिक प्रेम, पैसा, र ख्याति र प्राप्ति हुन्, अनि तिनीहरू यी कुराहरूलाई जीवनको सबैभन्दा बहुमूल्य कुराका रूपमा हेर्छन्। सबै मानिस आफू अभागी भएको गुनासो गर्छन्, तैपनि तिनीहरू मानिसहरूले सबैभन्दा बढी बुझ्नुपर्ने र खोजबिन गर्नुपर्ने मामलाहरू: मानिस किन जीवित छ, मानिस कसरी जिउनुपर्छ, र मानव जीवनको मूल्य र अर्थ के हो, भन्ने कुरालाई अझै बेवास्ता गर्छन्। तिनीहरू आफ्नो सम्पूर्ण जीवन जति लामो भए पनि, आफ्नो युवावस्था नगइन्जेल अनि तिनीहरूको कपाल नफुलिन्जेल र अनुहार चाउरी नपरून्जेल, ख्याति र प्राप्तिले तिनीहरूलाई बुढो हुनबाट रोक्न सक्दैन, पैसाले तिनीहरूको हृदयको रित्तोपन भर्न सक्दैन भनी नबुझिन्जेल, अनि कोही पनि जन्म, बुढेसकाल, रोग, र मृत्युका नियमहरूबाट उम्कन सक्दैन, र कोही पनि नियतिका प्रबन्धहरूबाट उम्कन सक्दैन भनी नबुझिन्जेल त्यो जीवन ख्याति र प्राप्ति पछ्याउन केवल दौडधुप गरेर बिताउँछन्। … मानिसहरूले आफ्नो जीवन बिताएर निपुणता हासिल गर्ने विभिन्न बाँच्ने सीपहरूले तिनीहरूलाई प्रशस्त भौतिक ऐसआराम पाउन सक्षम तुल्याए पनि, ती सीपहरूले तिनीहरूको हृदयलाई कहिल्यै साँचो सान्त्वना र स्थिरता दिँदैनन्। बरु तिनले त मानिसहरूलाई निरन्तर आफ्नो दिशा गुमाउन लगाउँछन्, आफूलाई नियन्त्रण गर्न गाह्रो बनाउँछन्, अनि जीवनको अर्थ सिक्ने एक पछि अर्को मौका गुमाउन लगाउँछन्, र मानिसहरूमा कसरी सही रूपमा मृत्यु सामना गर्ने भन्नेबारे गुप्त समस्याहरू उत्पन्न गराउँछन्—यसरी मानिसहरूको जीवन बरबाद हुन्छ। हरेक व्यक्तिलाई जीवनभरिको लागि उहाँको सार्वभौमिकताको अनुभव गर्न र त्यसलाई जान्ने मौका दिएर सृष्टिकर्ताले हरेक व्यक्तिलाई निष्पक्ष व्यवहार गर्नुहुन्छ, तैपनि मृत्यु नजिक आएपछि मात्रै, यसको कालो छाया देखिएपछि मात्रै व्यक्तिले ज्योति देख्न थाल्छ—अनि त्यो बेलासम्म ढिला भइसकेको हुन्छ!” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरूबारे मनन गरेर मैले के बुझेँ भने, व्यक्तिको भौतिक जीवन जतिसुकै राम्रो भए पनि वा उसले जति नै ख्याति र प्राप्ति हासिल गरे पनि, त्यो साँचो खुसी होइन। ख्याति र प्राप्तिको पछ्याइ शैतानले मानिसहरूलाई बहकाएर परमेश्वरबाट टाढा लैजाने एउटा माध्यम हो। मैले आफ्नो सम्पूर्ण जीवन पैसा, ख्याति, र प्राप्ति पछ्याउनमा बिताएँ भने पनि, यी कुराहरूले मलाई आत्मिक रित्तोपन र पीडाबाट मुक्त गर्दैनन्, बरु, यसको सट्टा, तिनले गर्दा मैले सत्यता प्राप्त गर्ने मौका गुमाउने थिएँ र मेरो जीवन बर्बाद हुनेथ्यो। म आफ्नो जागिर छोड्न हिचकिचाइरहेकी थिएँ किनभने म ठूलो इनाम प्राप्त गर्न, एउटा श्रेष्ठतर र सुखी जीवन हासिल गर्न, र अरूलाई मेरो परिवारलाई तुच्छ ठान्नबाट रोक्न यसको प्रयोग गर्न चाहन्थेँ। तर के म यी कुराहरू प्राप्त गरेपछि साँच्चै खुसी थिएँ त? मैले अरूको सम्मान पाउनका लागि उच्च डिग्री हासिल गर्न झन्डै बीस वर्ष खर्च गरेँ, र अहिले मैले अरूको प्रशंसा अनि साथीसङ्गी र आफन्तहरूबाट चापलुसी र तारिफ प्राप्त गरेकी थिएँ, तर मेरो हृदयले अलिकति पनि शान्ति वा सुरक्षा महसुस गरेन, र भित्रभित्रै, मलाई रित्तोपन र अन्योलका भावनाहरूले अझै पनि घेर्थे र खाइरहन्थे। यसमाथि, यो पछ्याइले मलाई ठूलो दबाबमा पार्यो। म सधैँ अरूसँगको तुलना र प्रतिस्पर्धामा अल्झिरहन्थेँ, यतिसम्म कि स्नातक गरेपछि पनि, मलाई आफूले उच्च शिक्षा हासिल नगरेमा पछि परूँला र तुच्छ ठानिऊँला भन्ने चिन्ता लाग्थ्यो। मलाई वैज्ञानिक अनुसन्धानको काम पटक्कै मन नपरे तापनि, अरूको सम्मान पाउनका लागि, मैले विदेशमा थप अध्ययन गर्नुको पछि लाग्न, आफ्नो अनुसन्धानलाई निरन्तरता दिन, र यसका लागि लागिपर्नका निम्ति आफ्नो जीवन नै बिताउन आफैँलाई बाध्य पारेँ। मैले के महसुस गरेँ भने ख्याति र प्राप्तिको पछ्याइ एउटा अतल कुण्डजस्तै हो। त्यसलाई कहिल्यै सन्तुष्ट पार्न सकिँदैन, र यसले आत्मामा दमन र अशान्तिको भावना ल्याउँछ, अनि अलिकति पनि खुसी दिँदैन। धेरै सेलेब्रिटी र लेखकहरूकै जस्तै—उनीहरूसँग प्रशस्त मात्रामा ख्याति, सम्पत्ति, र भौतिक सुखसयल हुन्छ, तर अन्त्यमा, उनीहरूले अझै पनि जीवन रित्तो भएको महसुस गर्छन् र उनीहरूलाई के पछ्याउने भन्ने नै थाहा हुँदैन। कोही त लागूऔषधको दुर्व्यसनीसमेत बन्छन्, जबकि कोही चाहिँ डिप्रेसनबाट पीडित हुन्छन् र आत्महत्या गर्छन्। यसले के प्रमाणित गर्छ भने ख्याति, प्राप्ति, पैसा, र भौतिक सुखसयलले साँच्चै सुखी जीवन ल्याउन सक्दैन। परमेश्वरले मलाई सत्यता पछ्याउने र सृष्टिकर्तालाई चिन्ने मौका दिनुभएको थियो, र यदि मैले परमेश्वरका वचनबारे मनन गर्न र सत्यताको बुझाइ पछ्याउनका लागि धेरै समय बाँकी नराखी, हरेक दिन आफ्नो धेरै समय काम गर्न र ख्याति र प्राप्ति पछ्याउनमा बिताइरहेको खण्डमा, मेरो पछ्याइ सांसारिक मानिसहरूको मार्गभन्दा फरक हुनेथिएन, र अन्ततः, म पैसा, ख्याति र प्राप्तिको दास बन्नेथिएँ, अनि आफूभित्रको रित्तोपन र मृत्युको डरबाट छुटकारा पाउन नसक्ने जीवन जिउनेथिएँ। के त्यो खेर फालिएको जीवन मात्र हुनेथिएन र? अब मैले सौभाग्यवश परमेश्वरका आखिरी दिनहरूको काम प्राप्त गर्न पाएकी थिएँ, र मैले जीवन भनेको के हो, यो संसार के हो, र जीवनको मूल्य र अर्थ के हो भनी बुझेकी थिएँ। आफ्नो कर्तव्य निर्वाह गर्नमा थप समय बिताएर, अनि सत्यता प्राप्त गर्न र परमेश्वरको सार्वभौमिकता चिन्नुको पछि लागेर मात्र मेरो जीवन साँच्चै मूल्यवान् र अर्थपूर्ण हुन सक्थ्यो। यी कुराहरू बुझेपछि, मैले जीवनमा कुन बाटो रोज्नुपर्छ भन्ने बारेमा अझ स्पष्ट बुझाइ पाएँ, र मैले आफ्नो यति धेरै समय लिइरहेको यो जागिर छोड्ने सङ्कल्प गरेँ।
पछि, मैले परमेश्वरका वचनहरूका थप दुईवटा खण्ड पढेँ, जसले मलाई अझ बढी प्रेरणा दिए। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “‘सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्वर’ भन्ने भजन सुनेपछि, तिमीहरूले हृदयमा के मनन गर्नुपर्छ? मानवजातिलाई तिनीहरू किन जिउँछन्, किन मर्छन्, र वास्तवमा, यो संसार र यावत थोकका सार्वभौम अनि सबथोकमाथि शासन गर्नुहुने को हुनुहुन्छ, र उहाँ ठ्याक्कै कहाँ हुनुहुन्छ, र उहाँले मानिसबाट के माग गर्नुहुन्छ भन्ने थाहा भएको भए—यदि मानवजातिले यी कुराहरू बुझ्न सक्ने भए, तिनीहरूलाई सृष्टिकर्ताप्रति कस्तो व्यवहार गर्ने, उहाँलाई कसरी आराधना गर्ने र उहाँमा कसरी समर्पित हुने भनेर थाहा हुनेथियो, तिनीहरूले हृदयमा साथ पाउनेथिए, तिनीहरू शान्त र खुसी हुनेथिए, र उप्रान्त यस्तो यातना र पीडामा जिउने थिएनन्। अन्तिम विश्लेषणमा, मानिसहरूले सत्यता बुझ्नैपर्छ। तिनीहरूले आफ्नो जीवनका लागि छनौट गर्ने मार्ग महत्त्वपूर्ण हुन्छ र तिनीहरूको जिउने तरिका पनि महत्त्वपूर्ण हुन्छ। व्यक्तिको जिउने तरिका र उसले हिँड्ने मार्गले उसको जीवन हर्षमय हुन्छ कि दुःखी भन्ने कुरा निर्धारण गर्छ। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो। … मानिसहरूले यस संसारमा जतिसुकै दौडधुप गरे पनि, तिनीहरू आफ्नो करियरमा जतिसुकै सफल भए पनि, तिनीहरूको परिवार जतिसुकै सुखी भए पनि, तिनीहरूको परिवार जतिसुकै ठूलो भए पनि, तिनीहरूको हैसियत जतिसुकै प्रतिष्ठित भए पनि—के तिनीहरू जीवनको सही मार्गमा लाग्न सक्षम हुन्छन्? ख्याति, र प्राप्ति अनि संसारको पछि लागेर, वा आफ्नो करियर पछ्याएर, के तिनीहरू परमेश्वरले यावत् थोक सृष्टि गर्नुभयो र उहाँ मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य देख्न सक्छन्? यो सम्भव छैन। मानिसहरूले जे पछ्याए पनि वा तिनीहरू जुन मार्गमा हिँडिरहेका भए पनि, यदि तिनीहरूले परमेश्वर मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य स्विकार्दैनन् भने, तिनीहरू हिँड्ने मार्ग गलत हुन्छ। त्यो सही मार्ग होइन, बरु टेढो, दुष्टताको मार्ग हो। तेरो आत्मिक साथको स्रोत पूरा भएको भए पनि वा नभएको भए पनि र त्यसका लागि तैँले जहाँ खोजे पनि, त्यो साँचो आस्था होइन, र यो जीवनको सही मार्ग होइन। साँचो आस्था के हो? यो त परमेश्वरको देखापराइ, काम र परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यता स्विकार्नु हो। यो सत्यता जीवनको सही मार्ग अनि मानिसहरूले पछ्याउनुपर्ने सत्यता र जीवन हो। जीवनमा सही मार्ग हिँड्नु भनेको परमेश्वरलाई पछ्याउनु र उहाँका वचनहरूको अगुवाइमा सत्यता बुझ्न, असल र खराब छुट्टयाउन, सकारात्मक कुराहरू के हुन् र नकारात्मक कुराहरू के हुन् भनी जान्न, र उहाँको सार्वभौमिकता र सर्वशक्तिमानता बुझ्न सक्नु हो। जब मानिसहरूले आफ्नो हृदयमा परमेश्वरले स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभएको मात्र होइन, तर उहाँ ब्रह्माण्ड र सबथोकमाथि सार्वभौम पनि हुनुहुन्छ भनेर साँच्चै बुझ्छन्, तब तिनीहरू उहाँका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन, उहाँका वचनहरूअनुसार जिउन, उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न सक्नेछन्। यसको अर्थ मानिसहरूले जीवनको सही मार्गमा पाइला चालिसकेका छन् भन्ने हुनेछ। जब मानिसहरूले जीवनमा सही मार्ग लिन्छन्, तिनीहरूले मानिसहरू किन जिउँछन् र ज्योतिमा जिउन अनि परमेश्वरको आशिष् र अनुमोदन पाउन तिनीहरू कसरी जिउनुपर्छ भनेर बुझ्न सक्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। “पवित्रशास्त्रमा अय्यूबको बारेमा यस्तो लेखिएको छ: ‘यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे’ (अय्यूब ४२:१७)। यसको अर्थ के हो भने, जब अय्यूबको मृत्यु भयो, तिनीसँग कुनै पछुतो थिएन र तिनले कुनै पीडाको महसुस गरेनन्, बरु यो संसारबाट स्वाभाविक रूपमै तिनी बिदा भए। … अय्यूबले जे-जस्तो अनुभव गरे तापनि, तिनको जीवनका खोजी र लक्ष्यहरू पीडापूर्ण थिएनन्, बरु सुखद थिए। सृष्टिकर्ताले तिनलाई दिनुभएका आशिष्हरू र तारिफको कारण मात्र तिनी खुसी थिएनन्, बरु अझै महत्त्वपूर्ण रूपमा, तिनी त आफ्ना खोजी र जीवनका लक्ष्यहरूको कारण खुशी थिए, परमेश्वरको डर मानेर अनि दुष्टताबाट अलग बसेर प्राप्त गरेको सृष्टिकर्ताको सार्वभौमिकतासम्बन्धी बढ्दो ज्ञान र साँचो बुझाइको कारण खुशी थिए, र यसको साथै सृष्टिकर्ताको सार्वभौमिकताको एक पात्रको रूपमा परमेश्वरको आश्चर्यजनक कार्यको बारेमा तिनको व्यक्तिगत अनुभव, अनि मानिस र परमेश्वरको अन्तरक्रिया, मित्रता र पारस्परिक समझदारीसम्बन्धी कोमल तर बिर्सनै नसकिने अनुभव र यादहरूको कारण खुशी थिए। सृष्टिकर्ताका अभिप्रायहरू जानेपछि प्राप्त हुने सान्त्वना र आनन्दको कारण, र उहाँ महान्, अद्भुत, प्रेमिलो र विश्वासयोग्य हुनुहुन्छ भन्ने देखेर उनले विकास गरेको परमेश्वरको डर मान्ने हृदयका कारण अय्यूब खुसी थिए। अय्यूबले कुनै पनि कष्टविनै मृत्युको सामना गर्न सके किनभने मरेपछि तिनी सृष्टिकर्ताकहाँ फर्केर जानेछन् भन्ने तिनलाई थाहा थियो। जीवनमा तिनले गरेको खोजी र प्राप्तिले नै तिनलाई शान्तिसाथ मृत्युको सामना गर्ने तुल्यायो, सृष्टिकर्ताले आफ्नो जीवन फिर्ता लिने अपेक्षालाई शान्तिसाथ सामना गर्ने तुल्यायो, साथै सृष्टिकर्ताको अघि विशुद्ध र चिन्तारहित रूपमा खडा हुने तुल्यायो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरू पढेपछि, मैले के बुझेँ भने, मानिसहरूसँग जीवनमा एउटा मात्र मौका हुन्छ, र कसैले जीवनमा आफ्नो आर्ग कसरी छान्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ, किनकि यसले व्यक्तिको जीवन सुखी र मूल्यवान् हुनेछ कि हुनेछैन भनी निर्धारण गर्छ। यदि कुनै व्यक्तिले आफ्नो जीवनको अधिकांश समय सांसारिक ख्याति र प्राप्ति पछ्याउन, वा परिवार र दैहिक कुराहरूमा ध्यान केन्द्रित गर्नमै बिताउँछ भने, ऊ जीवनको सही मार्गमा हिँड्न सक्दैन, न त ऊ सृष्टिकर्तालाई चिन्न सक्छ, र उसले आफू किन जिउँछु भन्ने कुरा पक्कै बुझ्नेछैन। आफ्नो जीवन यसरी जिउँदा त्यसको नतिजा रित्तोपन र पीडाको भावना हुनेछ। परमेश्वरलाई पछ्याएर, आफ्नो समय सृजित प्राणीको कर्तव्य निर्वाह गर्न, सत्यता पछ्याउन र परमेश्वरलाई चिन्न प्रयोग गरेर मात्र व्यक्तिको जीवन साँच्चै मूल्यवान् हुन सक्छ। अय्यूबले पनि सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्तको वास्तविक र ठोस अनुभव प्राप्त गरे, र सृष्टिकर्ताको सार्वभौमिकताप्रतिको आफ्नो साँचो अनुभव र बुझाइमार्फत, अय्यूब सृष्टिकर्ताको अख्तियारमा समर्पित हुन सक्षम भए, मृत्युको डरबाट मुक्त भए र, अन्तमा, “वृद्ध र दीर्घायु भए।” (अय्यूब ४२:१७)। आफ्नो पछ्याइमार्फत, अय्यूबले साँच्चै सुखी र अर्थपूर्ण जीवन प्राप्त गरे। यसरी पछ्याउँदा जीवनको रित्तोपन र मृत्युको डर समाधान हुन सक्छ। मैले अय्यूबको उदाहरण पछ्याउनुपर्थ्यो र एउटा अर्थपूर्ण जीवन जिउन खोज्नुपर्थ्यो। यो कुरा बुझेपछि, मैले आफ्नो जागिरबाट राजीनामा दिएँ।
आफ्नो जागिर छोडेपछि, मैले ठूलो स्वतन्त्रताको भाव महसुस गरेँ। मैले त्यसउप्रान्त अर्थहीन किताबी ज्ञानमा आफ्नो यति धेरै समय बिताउनु परेन, र मैले कार्यस्थलमा हुने जालझेल र छलको सामना गर्नु परेन। मलाई ब्रदर-सिस्टरहरूसँग भेला हुन, परमेश्वरका वचन खान र पिउन, र आफ्नो कर्तव्य निर्वाह गर्न अझ धेरै समय मिल्यो, र मैले आफ्नो जीवन प्रवेशमा केही प्रगति गरेँ। परमेश्वरले बन्दोबस्त गर्नुभएको वातावरणमा, मैले केही अड्चन र असफलता अनुभव गरेँ, र मलाई काटछाँट गरियो, जसले मलाई मेरो अहङ्कारी र आत्म-धर्मी भ्रष्ट स्वभावबारे केही ज्ञान प्राप्त गर्न, र सृजित प्राणीका रूपमा मैले आफ्नो उचित स्थानमा उभिनुपर्छ, र सृजित प्राणीको कर्तव्य व्यावहारिक रूपमा पूरा गर्ने समझदार व्यक्ति बन्न सिक्नुपर्छ भनी बुझ्न मद्दत गर्यो। परमेश्वरका वचनहरूको मार्गदर्शन र अगुवाइले गर्दा नै म आफ्नो जागिर छोड्न, परमेश्वरलाई पछ्याउन, र एउटा मूल्यवान् तथा अर्थपूर्ण जीवन पछ्याउन सक्षम भएँ। म परमेश्वरप्रति एकदमै आभारी छु!