७५. म आफ्ना झूटहरूद्वारा जे जोगाउन खोजिरहेकी थिएँ
म मण्डलीमा मलजल गर्ने टोली अगुवा हुँ। हरेक दिन मण्डलीमा नयाँ विश्वासीहरू जोडिने हुनाले, सुपरिवेक्षकले हामीलाई उनीहरू कसरी भेलामा सहभागी भइरहेका छन् भनेर समयमै रिपोर्ट गर्न भन्नुभएको थियो। एक दिन, रिपोर्ट लेख्दै गर्दा मैले केही नयाँ विश्वासीहरूका लागि कुनै पनि भेलाको प्रबन्ध नगरिएको थाहा पाएँ। म छक्क परेँ र सोचेँ, “मैले यो कुरा कसरी छुटाएँ?” मैले यस्तो सामान्य गल्ती गरेकी छु भनेर मैले विश्वास गर्नै सकिनँ। म हरेक दिन आफ्नो कर्तव्य यति होसियारीपूर्वक निर्वाह गर्थेँ, त्यसोभए यस्तो समस्या कसरी उत्पन्न हुन सक्यो? विगतमा, सुपरिवेक्षकले म जिम्मेवार छु, मसँग आफ्नो कर्तव्यमा बोझको बोध छ र म स-साना कुरामा ध्यान दिएर काम गर्छु भनेर मूल्याङ्कन गर्नुभएको थियो। तर यस पटक, मैले यति सामान्य गल्ती गरेकी थिएँ। मैले सोचेँ, “यदि मैले यसबारे साँचो कुरा लेखेँ भने, के सुपरिवेक्षकले मेरो बारेमा नराम्रो सोच्नुहुनेछ? त्यसमाथि, म त टोली अगुवा हुँ, र म हरेक दिन मेरा ब्रदर-सिस्टरहरूलाई आफ्नो कर्तव्यमा होसियार हुन सम्झाउँछु, तर आज म नै लापरवाह भएकी छु। के उनीहरूले म नारा मात्र फलाक्छु अनि शब्द र धर्मसिद्धान्तहरू मात्र भट्याउँछु भन्ने सोच्नेछन्?” मलाई सकसक लागिरहेको थियो, र मैले के गर्नुपर्छ भन्ने विचारहरू मेरो दिमागमा खेलिरहे। केही बेर सोचेपछि, मैले कुनै पनि हालतमा उनीहरूलाई यसबारे थाहा दिनु हुँदैन भन्ने निर्णय गरेँ। त्यसैले, मैले सुपरिवेक्षकलाई बुझाउने रिपोर्टमा, मैले ती नयाँ विश्वासीहरूलाई खबर गरेकी थिएँ, तर उनीहरूले नेटवर्कमा खराबी भएकाले त्यस दिन भेलामा सहभागी हुन नसक्ने बताएका थिए भनेर भनिदिएँ। यति लेखेपछि, मैले मनमनै सोचेँ, “मैले सुपरिवेक्षकलाई त छलेँ, तर यदि ती नयाँ विश्वासीहरूलाई मलजल गर्ने सिस्टरले उनीहरूलाई भेलामा उपस्थित नहुनुको वास्तविक कारण सोधिन् र सुपरिवेक्षकलाई साँचो कुरा रिपोर्ट गरिन् भने के होला? के त्यसले मेरो झूटको पर्दाफास गर्दैन र? यदि मैले सुपरिवेक्षकलाई झूट बोलेको र धोका दिने प्रयास गरेको कुरा उहाँले थाहा पाउनुभयो भने, उहाँले मेरो बारेमा के सोच्नुहुन्छ होला? मेरा ब्रदर-सिस्टरहरूले मेरो बारेमा के सोच्लान्? के यस्तो घृणास्पद र लाजमर्दो काम गरेका कारण उनीहरूले मलाई पूर्ण रूपमा छली ठान्नेछन्? यदि त्यसो भयो भने मेरो इज्जत माटोमा मिल्नेछ। म यो मामलालाई कुनै पनि समस्या नरहने गरी कसरी सम्हाल्न सक्छु? जबसम्म यी नयाँ विश्वासीहरूलाई मलजल गर्ने सिस्टरले सुपरिवेक्षकसँग कुरा गर्दिनन्, तबसम्म यो कुरा बाहिर आउनेछैन।” त्यसैले म हतार-हतार ती सिस्टरलाई भेट्न गएँ र मैले उनलाई सत्य कुरा बताएँ, अनि उनले भोलिपल्ट प्रबन्ध मिलाउँदा हुन्छ भनिन्। यो सुनेर, रातभरिको व्यस्त कामपछि मैले बल्ल राहतको सास फेरेँ। तर पछि, मलाई साँच्चै अप्ठ्यारो लाग्यो र मैले सोचेँ, “मैले स्पष्ट रूपमा प्रबन्ध मिलाएकी थिइनँ तर त्यसको सट्टा मैले नयाँ विश्वासीहरू भेलामा उपस्थित भएनन् भनेँ। यसो गरेर के म स्पष्ट रूपमा अरूलाई धोका दिने प्रयास गरिरहेकी थिइनँ र? तर यदि मैले सुपरिवेक्षकसामु आफ्नो गल्ती स्वीकार गरेँ भने, उहाँमाथि परेको मेरो राम्रो छाप गुम्नेछ।” एकैछिन त म भावनाहरूको भुमरीमा फसेँ र मलाई के गर्ने के गर्ने भयो। मैले तुरुन्तै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई अहिले असाध्यै नराम्रो लागिरहेको छ। मलाई थाहा छ, मैले जे गरेँ त्यो तपाईँ र सुपरिवेक्षकलाई धोका दिने प्रयास थियो, तर मसँग सुपरिवेक्षकसामु आफ्नो गल्ती स्वीकार गर्ने साहस नै छैन, किनभने यदि मैले त्यसो गरेँ भने उहाँको नजरमा रहेको मेरो राम्रो छवि बिग्रनेछ भनेर मलाई डर लाग्छ। परमेश्वर, कृपया मलाई मार्गदर्शन गर्नुहोस्, ताकि मैले यसबाट पाठ सिक्न र सत्यता अभ्यास गर्न सकूँ।”
प्रार्थना गरिसकेपछि, मैले आफ्नो स्थितिअनुसार परमेश्वरका वचनहरूका सान्दर्भिक खण्डहरू खोजेँ। मैले परमेश्वरका वचनहरू पढेँ: “मानिसहरू आफ्नो दैनिक जीवनमा प्राय सधैँ निरर्थक कुरा, झूट, अनि अज्ञानी, मूर्ख र प्रतिरक्षात्मक कुराहरू बोलिरहन्छन्। यीमध्ये धेरैजसो कुरा आफ्नै आडम्बर र घमण्डका खातिर र आफ्नै अहम् सन्तुष्ट पार्न भनिन्छ। यस्ता झूटा कुराहरू बोल्नु भनेको तिनीहरूका भ्रष्ट स्वभावहरूको प्रकटीकरण हो। यदि तैँले यी भ्रष्ट तत्त्वहरू सुल्झाइस् भने, तेरो हृदय शुद्ध हुनेछ, अनि तँ बिस्तारै झन् शुद्ध र झन् इमानदार हुँदै जानेछस्। वास्तवमा, मानिसहरू सबैलाई आफूले किन झूट बोल्छु भनेर थाहा हुन्छ। तिनीहरू व्यक्तिगत लाभका खातिर, आडम्बर र अभिमानका खातिर, अनि ख्याति र हैसियतकै लागि अरूसित प्रतिस्पर्धा गर्न खोज्छन्, र आफूलाई आफू हुँदै नभएको कुराका रूपमा प्रस्तुत गर्छन्। तर तिनीहरूका झूटहरूलाई अन्त्यमा अरूले प्रकट र खुलासा गरिदिन्छन्, अनि तिनीहरूले आफ्नो इज्जतका साथै आफ्नो सम्मान र निष्ठा पनि गुमाउँछन्। यो सबै झूटको अत्यधिक मात्राले गराएको हो। तेरा झूटहरू अनगिन्ती छन्। तैँले बोल्ने हरेक शब्द अशुद्ध र झूटो छ, र तेरो एउटै शब्दलाई पनि साँचो वा इमानदार मान्न सकिँदैन। तँलाई आफूले झूट बोल्दा इज्जत गुमाउनबाट जोगिएको अनुभूति हुने भए पनि, भित्रभित्रै, तँ आफू अपमानित भएको महसुस गर्छस्। तेरो विवेकले तँलाई धिक्कार्छ, र तँ भित्री रूपमा आफूप्रति तिरस्कार र अवहेलना महसुस गर्छस्, र यस्तो सोच्छस्, ‘म किन यस्तो दयनीय जीवन जिइरहेको छु? के सत्य बोल्नु यति गाह्रो हुन्छ? के मैले आफ्नो घमण्डको खातिर झूटको सहारा लिनैपर्ने हो? किन मेरो जीवन यति थकाइलाग्दो छ?’ तैँले यस्तो थकाइलाग्दो जीवन जिउनै पर्दैन। यदि तँ इमानदार व्यक्ति बन्ने अभ्यास गर्न सक्छस् भने, तँ तनावरहित, स्वतन्त्र, र आजाद जीवन जिउन सक्षम हुनेछस्। तर, तैँले झूट बोलेर आफ्नो अभिमान र आडम्बर कायम राख्ने मार्ग रोजेको छस्। फलस्वरूप, तँ थकाइलाग्दो र दयनीय जीवन जिउँछस्। त्यो सब तँ आफैले आफैमाथि निम्त्याएको होस्। व्यक्तिले झूट बोलेर घमण्ड महसुस गर्न सक्छ, तर त्यो घमण्डको अनुभूति भनेको के हो? त्यो बस एक खोक्रो कुरा हो, र त्यो पूर्णतया व्यर्थ कुरा हो। झूट बोल्नु भनेको आफ्नो चरित्र र इज्जत बेच्नु हो। यसले व्यक्तिको इज्जत र चरित्र लैजान्छ, र यसले परमेश्वरलाई तँप्रति अप्रसन्न बनाउनेछ र उहाँले यसलाई घृणा गर्नुहुनेछ। के यो सार्थक छ त? छैन। के यो सही मार्ग हो त? अहँ, यो सही मार्ग होइन। बारम्बार झूट बोल्नेहरू आफ्नो शैतानी स्वभावअनुसार जिउँछन्; तिनीहरू शैतानको सत्ताअन्तर्गत जिउँछन्। तिनीहरू ज्योतिमा जिउँदैनन्, न त तिनीहरू परमेश्वरको उपस्थितिमै जिउँछन्। तँ निरन्तर कसरी झूट बोल्ने भनेर सोच्छस्, र झूट बोलिसकेपछि, तैँले त्यो झूट कसरी ढाकछोप गर्ने भनेर सोच्नुपर्छ। अनि जब तैँले त्यो झूट राम्रोसित ढाकछोप गर्दैनस् र त्यो खुलासा भइदिन्छ, तब तैँले आफ्नो दिमाग खियाएर विरोधाभासहरू हटाउन र आफ्नो कुरा पत्यारिलो बनाउन जोर लगाउनुपर्ने हुन्छ। के यसरी जिउनु थकाइलाग्दो हुँदैन र? अति थकाइलाग्दो हुन्छ। के यसो गर्नु सार्थक छ? अहँ, यो सार्थक छैन। झूट बोल्नु र त्यसपछि ढाकछोप गर्न दिमाग खियाउनु, र त्यो सब घमण्ड, आडम्बर, र हैसियतको खातिर गर्नु, यसमा के नै अर्थ छ र? अन्त्यमा, तैँले मनन गर्छस् र मनमनै सोच्छस्, ‘यसको के अर्थ छ? झूट बोल्नु र त्यसपछि ढाकछोप गर्नुपर्दा एकदमै थकाइलाग्दो हुन्छ। मैले यसरी व्यवहार गरेर काम चल्दैन; मलाई योभन्दा सजिलो त इमानदार व्यक्ति बन्नु हुन्थ्यो।’ तँ इमानदार व्यक्ति बन्न चाहन्छस्, तर तँ आफ्नो घमण्ड, आडम्बर र व्यक्तिगत स्वार्थ त्याग्न सक्दैनस्। तँ यी कुराहरू जोगाइराख्न झुटहरू प्रयोग गरेर झुट बोल्न सहारा लिन मात्र सक्छस्। यदि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने, तैँले सत्यता अभ्यास गर्नका निम्ति विभिन्न कष्ट सहन सक्नेछस्। त्यसको अर्थ आफ्नो प्रतिष्ठा र हैसियत गुमाउनुपर्यो अनि अरूबाट अपमान र गिल्ला सहनुपर्यो भने पनि, तैँले नराम्रो मान्नेछैनस्, अनि तैँले के सोच्नेछस् भने जबसम्म तँ सत्यता अभ्यास गर्न र परमेश्वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस्, तबसम्म त्यो काफी छ। सत्यतालाई प्रेम गर्नेहरूले सत्यता अभ्यास गर्न र इमानदार मानिस हुन रोज्छन्। यो सही मार्ग हो र यो परमेश्वरद्वारा आशिषित हुन्छ। यदि व्यक्तिले सत्यता प्रेम गर्दैन भने, उसले के रोज्छ? तिनीहरूले आफ्नो प्रतिष्ठा, हैसियत, मर्यादा र निष्ठाको खोल कायम राख्न झुटहरू प्रयोग गर्न रोज्छन्। यसका लागि बरु तिनीहरू सत्यता अभ्यास गर्नुभन्दा छली मानिस हुन्छन् अनि परमेश्वरद्वारा घृणा र इन्कार गरिन्छन्। त्यस्ता मानिसहरू सत्यताप्रति वितृष्णा राख्ने र परमेश्वरलाई इन्कार गर्नेहरू हुन्। तिनीहरू आफ्नै प्रतिष्ठा र हैसियत रोज्छन्; तिनीहरू छली मानिस बन्न चाहन्छन्। तिनीहरू परमेश्वर खुसी बन्नुहुन्छ कि हुन्न वा उहाँले तिनीहरूलाई मुक्ति दिनुहुन्छ कि हुन्न भनेर वास्ता गर्दैनन्। के त्यस्ता मानिसहरूले परमेश्वरबाट अझै पनि मुक्ति पाउन सक्छन् त? निश्चय नै सक्दैनन्, किनकि तिनीहरूले गलत मार्ग रोजेका छन्। तिनीहरू ढाँटेर अनि छल गरेर मात्र जिउन सक्छन्; तिनीहरू हरदिन झूट बोल्ने र त्यसलाई ढाकछोप गर्ने, अनि आफ्नो सफाइ दिन दिमाग खियाउने पीडादायी दिनहरू मात्र बिताउन सक्छन्। यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राख्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो मर्यादा र निष्ठा कायम राख्न नसक्ने मात्र होइन, त्योभन्दा पनि खराब कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने मौका पनि गुमाउँछस्। तैँले त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राख्न सके पनि, तैँले सत्यता त्यागेको र परमेश्वरलाई धोका दिएको हुन्छस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुन्छस्, जुन सबैभन्दा ठूलो क्षति र अनन्त पछुतो हो। छलीहरूले यो कहिल्यै छर्लङ्ग देख्नेछैनन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, छली मानिसहरू आफ्नो आडम्बर, अभिमान र हित जोगाउनका लागि बोल्छन् र काम गर्छन्। परमेश्वरले यो कुरा मन पराउनुहुन्न भन्ने तिनीहरूलाई राम्ररी थाहा हुन्छ, तर पनि तिनीहरू झूट बोल्न, आफूलाई ढाकछोप गर्न र धोका दिन आफ्नो दिमाग खियाउँछन्। तिनीहरूले आफ्नो अभिमान र आडम्बर जोगाएजस्तो देखिएला, तर तिनीहरूले सत्यता अभ्यास गर्ने अवसर गुमाउँछन्, र यदि तिनीहरूले पश्चात्ताप गरेनन् भने, तिनीहरू अन्ततः परमेश्वरद्वारा हटाइनेछन्, र तिनीहरूले परमेश्वरद्वारा मुक्ति दिइने अवसर पूर्ण रूपमा गुमाउनेछन्। यो कुरा थाहा पाएपछि, म स्तब्ध भएँ। मेरो व्यवहार ठ्याक्कै परमेश्वरले खुलासा गर्नुभएका स्थितिहरू जस्तै थियो! केही नयाँ विश्वासीहरूका लागि भेलाको प्रबन्ध गरिएको छैन भन्ने थाहा पाउनेबित्तिकै, यदि सुपरिवेक्षकले यो कुरा थाहा पाउनुभयो भने उहाँले मेरो बारेमा के सोच्नुहुन्छ होला र उहाँले मेरो बारेमा पहिलेभन्दा नकारात्मक सोच्नुहुन्छ कि भनेर मलाई चिन्ता लाग्यो। मलाई मेरा ब्रदर-सिस्टरहरूले यो कुरा थाहा पाएपछि, उनीहरूले मैले सधैँ उनीहरूलाई कर्तव्यमा बढी लगनशील हुन सम्झाउने गरेकी, तर मैले आफ्नै कर्तव्यमा यस्तो सामान्य गल्ती गरेकी भनेर कुरा उठाउलान् कि भन्ने पनि चिन्ता लाग्यो। ममा उनीहरूले मलाई वास्तविकता नभएको र शब्द र धर्मसिद्धान्तहरू मात्र भट्याउने व्यक्ति सोच्लान् भन्ने डर थियो। मानिसहरूका नजरमा मेरो राम्रो छवि जोगाउन, मैले झूट बोलेँ र इन्टरनेटको खराबीले गर्दा नयाँ विश्वासीहरू भेलामा उपस्थित भएका थिएनन् भनेर भनेँ। तर म नयाँ विश्वासीहरूलाई मलजल गर्ने सिस्टरले वास्तविक अवस्था थाहा पाउलिन् र सुपरिवेक्षकलाई रिपोर्ट गर्लिन्, जसले गर्दा मैले कुरा फेरेको खुलासा होला भनेर पनि चिन्तित थिएँ। यस कारणले, म हतारिँदै मलजल गर्ने सिस्टरकहाँ गएँ र आफैले जोडतोडका साथ अवस्थाबारे बुझाउन खोजेँ। आफ्नो आडम्बर र अभिमान जोगाउन, मैले दिमाग खियाएर झूट बोलेँ र आफ्नो झूटलाई ढाकछोप गर्ने प्रयास गरेँ। यो परमेश्वरको अभिप्रायविपरीत छ भन्ने मलाई राम्ररी थाहा थियो, र मलाई दोषी महसुस भयो, तर पनि मैले सत्यता अभ्यास गरिनँ। म आफ्नो भ्रष्ट स्वभावद्वारा बाँधिएकी थिएँ, र मलाई पीडा र थकान दुवै महसुस भयो। मैले एक व्यक्तिको रूपमा आफ्नो इज्जत र निष्ठा दुवै गुमाएँ। मलाई मैले जे गरेँ त्यसो गर्दा मैले कुनै कुरा अधुरो छोडेको छैन भन्ने लाग्थ्यो, तर वास्तवमा, परमेश्वरले सबै कुराको छानबिन गर्नुहुन्छ। म एउटा जोकरजस्तै व्यवहार गरिरहेकी थिएँ। मैले जति बढी चिन्तन गरेँ, त्यति नै मलाई मैले गरेको काम घृणित, घृणास्पद र तुच्छ छ, र मेरा कार्यहरूले गर्दा परमेश्वरले मलाई तिरस्कार गर्नुहुन्छ भन्ने अनुभूति भयो। साथसाथै, मैले आफू साँच्चिकै खतरामा भएझैँ एक अवर्णनीय बेचैनी र डर महसुस गरेँ। जसरी परमेश्वर भन्नुहुन्छ: “यदि तँ झूटहरूले तैँले चाहने प्रतिष्ठा, हैसियत, आडम्बर र घमण्ड कायम राख्न सक्छन् भनेर सोच्छस् भने, तँ पूरै गलत छस्। वास्तवमा, झूटहरू बोलेर, तैँले आफ्नो आडम्बर र घमण्ड अनि आफ्नो मर्यादा र निष्ठा कायम राख्न नसक्ने मात्र होइन, त्योभन्दा पनि खराब कुरा त, तैँले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने मौका पनि गुमाउँछस्। तैँले त्यो बेला आफ्नो प्रतिष्ठा, हैसियत, आडम्बर, र घमण्ड कायम राख्न सके पनि, तैँले सत्यता त्यागेको र परमेश्वरलाई धोका दिएको हुन्छस्। यसको मतलब, तैँले उहाँबाट मुक्ति पाउने र सिद्ध पारिने तेरो मौका पूर्णतया गुमाएको हुन्छस्, जुन सबैभन्दा ठूलो क्षति र अनन्त पछुतो हो”। झूट बोलेर अरूका अगाडि आफ्नो आडम्बर र अभिमान जोगाउन, र मानिसहरूका नजरमा मेरो राम्रो छवि कायम राख्न सके तापनि, मैले सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने अवसर गुमाएँ, र परमेश्वरसामु अनन्त कालसम्म नमेटिने अपराध गरेँ। पछि, मैले सोचेँ, “म किन सधैँ झूट नबोली बस्नै सक्दिनँ? यसको मूल कारण के हो?”
एक दिन मेरो उपासनाको समयमा, मैले परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “जब तँलाई परिवारका अग्रजहरूले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ,’ भनेर बारम्बार भन्छन्, यो तैँले आफूलाई राम्रो देखाउनमा महत्त्व दिएस्, तँ सम्मानपूर्वक जिएस्, र तैँले बेइज्जत हुने कामकुरा नगरेस् भन्नका लागि हो। तर त्यसोभए यो भनाइले मानिसहरूलाई सकारात्मक तरिकाले डोर्याउँछ कि नकारात्मक तरिकाले? के यसले तँलाई सत्यतामा डोर्याउन सक्छ? के यसले तँलाई सत्यता बुझ्न अगुवाइ गर्न सक्छ? (अहँ, सक्दैन।) निश्चय नै सक्दैन! परमेश्वरले मानिसहरूबाट माग गर्ने कुरा भनेको तिनीहरू इमानदार हुनुपर्छ भन्ने हो। जब तैँले अपराध गरेको हुन्छस्, वा केही गलत गरेको हुन्छस्, वा परमेश्वरको विरुद्ध विद्रोह गर्ने र सत्यताको विरुद्ध जाने केही गरेको हुन्छस्, तब तैँले आत्मचिन्तन गर्नुपर्छ, आफ्नो गल्ती चिन्नुपर्छ, र आफ्ना भ्रष्ट स्वभावहरूलाई चिरफार गर्नुपर्छ; यसरी मात्रै तैँले साँचो पश्चात्ताप हासिल गर्न सक्छस्, र त्यसपछि परमेश्वरका वचनहरूअनुसार काम गर्न सक्छस्। इमानदार बन्ने अभ्यास गर्न मानिसहरूमा कस्तो प्रकारको मानसिकता हुनुपर्छ? के आवश्यक मानसिकता र ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइले देखाउने दृष्टिकोणबीच कुनै मतभेद छ? (छ।) उक्त मतभेद के हो? ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइले मानिसहरूलाई आफ्नो उत्कृष्ट प्रभाव जमाउन र आफूलाई राम्रो देखाउने कामहरू बढी गर्नलाई महत्त्व दिन—बरु खराब वा अपमानजनक कामहरू नगर्न, आफ्नो कुरूप पक्ष नदेखाउन—र सम्मान वा इज्जत नभएको जीवन नजिउन भन्छ। आफ्नो अभिमानको खातिर, आफूलाई राम्रो देखाउनका खातिर, व्यक्तिले आफू पूर्ण रूपमा बेकम्मा छु भनी भन्न सक्दैन, अरूलाई आफ्नो नराम्रो पाटो र लाजमर्दो पक्षहरू बताउने कुरा त परै जाओस्, किनभने व्यक्तिले सम्मानजनक र इज्जतिलो जीवन जिउनुपर्छ, र इज्जत हुनका लागि अभिमान चाहिन्छ, र अभिमान हुनका लागि ढोँग गर्नुपर्ने र आफूलाई सजाउनुपर्ने हुन्छ। के यो कुरा इमानदार व्यक्ति हुनुसँग बाझिँदैन र? (बाझिन्छ।) तँ इमानदार व्यक्ति बनिरहँदा, तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइलाई पहिले नै त्यागिसकेको हुन्छस्। यदि तँ इमानदार व्यक्ति बन्न चाहन्छस् भने, आफ्नो स्वरूपलाई महत्त्व नदे; व्यक्तिको स्वरूपको मूल्य एक पैसा पनि हुँदैन। सत्यताको उपस्थितिमा, व्यक्तिले आफ्नो खुलासा गर्नुपर्छ, ढोँग गर्नु वा बनावटी रूप देखाउनु हुँदैन। व्यक्तिले परमेश्वरलाई आफ्ना साँचो विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, आदि प्रकट गर्नुपर्छ, र यी कुराहरूलाई आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसामु पनि उदाङ्गो पार्नुपर्छ। यो आफ्नो अभिमानको खातिर जिउनु होइन, बरु इमानदार व्यक्ति बन्नका लागि जिउनु, सत्यतालाई पछ्याउनका लागि जिउनु, साँचो सृजित प्राणी बन्नका लागि जिउनु, र परमेश्वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनका लागि जिउनु हो। तर जब तँ यो सत्यता बुझ्दैनस्, र परमेश्वरका अभिप्रायहरू बुझ्दैनस्, तब तेरो परिवारले तँलाई सिकाएका कुराहरू तेरो हृदयमा हाबी हुने गर्छन्। त्यसैले जब तँ केही गलत गर्छस्, तब तँ त्यसलाई लुकाउँछस् र ढोँग गर्छस्, र यसो सोच्छस्, ‘मैले यसबारे कसैलाई बताउन मिल्दैन, र म यो कुरा थाहा पाउने अरू कसैलाई पनि यसबारे मानिसहरूलाई बताउन दिनेछैन। यदि तिमीहरूमध्ये कसैले कसैलाई भन्यौ भने, म त्यसलाई सजिलै जान दिनेछैन। मेरो अभिमान पहिलो प्राथमिकता हो। जिउनु भनेको आफ्नो अभिमानबाहेक अरू केहीका लागि होइन, जुन अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण छ। यदि कुनै व्यक्तिसँग अभिमान छैन भने, उसले आफ्नो सबै इज्जत गुमाउँछ। त्यसैले तँ साँचो बोल्न सक्दैनस्, तैँले ढोँग गर्नुपर्ने हुन्छ, तैँले ढाकछोप गर्नुपर्ने हुन्छ, नत्र तँसँग अभिमान वा इज्जत रहनेछैन, र तेरो जीवन बेकम्मा हुनेछ। यदि कसैले तँलाई आदर गर्दैन भने, तँ केवल बेकम्मा हुन्छस्, तँ केवल निकृष्ट रद्दी हुन्छस्।’ के यसरी अभ्यास गरेर इमानदार व्यक्ति बन्न सम्भव हुन्छ? के आफूलाई उदाङ्गो पार्न र आफूलाई चिरफार गर्न सम्भव हुन्छ? (अहँ, हुँदैन।) अवश्य नै, यसो गरेर तैँले ‘रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ’ भन्ने भनाइ पालन गरिरहेको हुन्छस्, जुन तेरो परिवारले सिकाइमार्फत तँमा हालिदिएको कुरा हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्वरका वचनहरूको खुलासाबाट, मैले अन्ततः के महसुस गरेँ भने, म “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने शैतानी विषअनुसार जिइरहेकी रहेछु। यो नै मैले कसरी काम गर्ने र कसरी आफूलाई आचरणमा ढाल्ने भन्ने कुराको मार्गदर्शक बनेको थियो। बाल्यकालदेखि नै, मेरो परिवारले मलाई सधैँ यो सिकाएको थियो, “यस जुनीमा, तैँले आफ्नो प्रतिष्ठामा ध्यान दिनुपर्छ ताकि अरूले तँलाई उच्च ठानून् र उनीहरूमा तेरो राम्रो छाप परोस्। यदि तँ चौतर्फी रूपमा बदनाम भइस् भने, तेरा आमाबुबाको समेत इज्जत गुम्नेछ।” विद्यालय जान थालेपछि, शिक्षकहरूले हामीलाई प्रायः सिकाउँथे, “सार्थक जीवन जिउनका लागि, तिमीले अरूको प्रशंसा जित्नुपर्छ।” यी भ्रामक विचारहरूको प्रभावमा परेर, मैले जे गर्दा पनि अरूले मलाई कसरी हेर्छन् भन्ने कुरामा विशेष ध्यान दिएँ। परमेश्वरलाई भेट्टाएपछि र मण्डलीमा आफ्नो कर्तव्य सम्हालेपछि पनि, मैले अरूको नजरमा मेरो छवि कस्तो छ भन्ने कुरामा धेरै ध्यान दिएँ, र यदि मैले क्षणिक गल्ती गरेँ भने, म समस्या निम्त्याउँछु र ब्रदर-सिस्टरहरूको हृदयमा आफूले बनाएको राम्रो छवि बिगार्छु भन्ने चिन्ताले मैले हरेक दिन होसियारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेँ। सानोभन्दा सानो समस्याले समेत मलाई ज्यानै जाने खतरामा परेजस्तो महसुस गराउँथ्यो र मेरो हृदयमा डरलाग्दो चिन्ता भरिदिन्थ्यो। आफ्नो राम्रो छवि जोगाउन, मैले सुपरिवेक्षकसामु आफ्ना गल्तीहरू स्वीकार गर्ने आँट गरिनँ, त्यसैले मैले चालबाजी र धोकाको सहारा लिएँ, र नयाँ विश्वासीहरूको भेलाको अवस्थाबारे झूटो रिपोर्ट गरेँ। यी शैतानी विषहरूद्वारा जिएर, म साँच्चै कुटिल र छली बनेँ, र आफ्नो अभिमान र हैसियत कायम राख्नका लागि, मैले मानव हुनुका आधारभूत सिद्धान्तहरू नै गुमाएँ। मैले यस्तो तुच्छ र मूल्यहीन जीवन जिएँ! इमानदार व्यक्ति बन्ने प्रयास गर्दा, जब यो “रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ” भन्ने शैतानी नियमसँग बाझियो, तब मैले आफू सत्यता अभ्यास गर्न वा सत्यताको पक्षमा उभिन असक्षम रहेको पाएँ। यदि म यसरी नै अघि बढिरहेँ भने मैले कसरी मुक्ति पाउन सक्थेँ र? शैतानी विषहरूद्वारा जिउनुका गम्भीर परिणामहरू बुझेपछि, मलाई सत्यता अभ्यास नगरेकोमा गहिरो पछुतो भयो, त्यसैले मैले परमेश्वरका वचनहरूमा एउटा अभ्यासको मार्ग खोजेँ।
पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “इमानदार व्यक्ति बन्न, तैँले सुरुमा आफ्नो हृदय उदाङ्गो पार्नुपर्छ ताकि सबैले त्यसभित्र हेर्न सकून्, तँ के सोच्दैछस् भनी देख्न सकून्, अनि तेरो साँचो अनुहार हेर्न सकून्। तैँले भेष बदल्ने वा आफूलाई ढाकछोप गर्ने प्रयास गर्नै हुँदैन। त्यसपछि मात्र अरूले तँलाई भरोसा गर्नेछन् र तँलाई इमानदार व्यक्ति मान्नेछन्। यही नै इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास, अनि पूर्वसर्त हो। यदि तँ सधैँ नाटक गरिरहन्छस्, सधैँ पवित्रता, कुलीनता, महानता, र उच्च चरित्रको ढोंग गर्छस्, आफ्नो भ्रष्टता र त्रुटिहरू अरूबाट लुकाउँछस्, तिनीहरूलाई झूटो छवि प्रस्तुत गर्छस्, र तिनीहरूलाई तँ इमानदार, महान्, आत्म-त्यागी, न्यायवान्, र निःस्वार्थ छस् भनी विश्वास गर्न लगाउँछस् भने—के यसमा छलीपन र छल छैन र? समय बित्दै जाँदा, मानिसहरूले तँलाई छर्लङ्गै देख्न सक्नेछैनन् र? त्यसैले, पाखण्डी नबन् वा मुखौटो नलगा। बरु, सरल र खुला बन्, र आफूलाई उदाङ्गो पार्न सिक्—आफ्नो हृदय अरूले देख्ने गरी खुला पार्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास)। “तैँले जस्तोसुकै समस्याहरूको सामना गरे पनि, तिनलाई समाधान गर्न तैँले सत्यताको खोजी गर्नैपर्छ, तैँले कदापि छद्मभेष धारण गर्नु वा अरूको सामु झूटो स्वरूप प्रस्तुत गर्नु हुँदैन। चाहे त्यो तेरा कमीहरू होऊन्, तेरा अपर्याप्तताहरू होऊन्, तेरा त्रुटिहरू होऊन्, वा तेरा भ्रष्ट स्वभावहरू नै किन नहोऊन्, तैँले यी सबै कुराहरूका बारेमा खुलेर सङ्गति गर्नैपर्छ। तिनलाई ढाकछोप नगर्। आफूलाई कसरी खोल्ने भनी सिक्नु जीवन प्रवेशतर्फको पहिलो कदम हो, र यो पहिलो तगारो हो, जसलाई पार गर्न सबैभन्दा कठिन हुन्छ। तैँले यो तगारो पार गरेपछि, सत्यतामा प्रवेश गर्न सजिलो हुनेछ। जब तैँले यो कदम चाल्छस्, तब यसले के सङ्केत गर्नेछ? यसले के सङ्केत गर्नेछ भने, तँ आफ्नो हृदय खोलिरहेको छस्, र तेरा हरेक पक्षलाई—चाहे त्यो असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक—अरू मानिसहरू र परमेश्वरले देख्ने गरी उदाङ्गो पारिरहेको र खोलिरहेको छस्, परमेश्वरबाट कुनै कुरा लुकाइरहेको वा ढाकछोप गरिरहेको, परमेश्वरप्रति कुनै छद्मभेष, छल, वा कपट प्रयोग गरिरहेको छैनस्, र त्यसरी नै अरू मानिसहरूसँग पनि स्पष्ट भइरहेको छस्। यसरी, तँ ज्योतिमा जिउनेछस्; परमेश्वरले तेरो छानबिन त गर्नुहुन्छ नै, तेरा कार्यहरूमा सिद्धान्त र पारदर्शिता छ भनी अरू मानिसहरूले पनि देख्नेछन्। तैँले आफ्नो प्रतिष्ठा, छवि, र हैसियतको रक्षा गर्न कुनै पनि विधिहरू प्रयोग गर्नु आवश्यक छैन, न त तैँले आफ्ना गल्तीहरूलाई कुनै किसिमले लुकाउनु वा ढाकछोप गर्नु नै आवश्यक छ। तँ यी व्यर्थका प्रयासहरूमा संलग्न हुनु आवश्यक छैन। यदि तँ यी कुराहरू त्याग्न सक्छस् भने, तेरो जीवन निकै तनावरहित, बन्धन र पीडाबाट मुक्त बन्नेछ, र तँ पूर्ण रूपमा ज्योतिमा जिउनेछस्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूबाट मैले बुझेँ कि छली वा ठग नबन्नका लागि, मैले परमेश्वरका वचनहरूअनुसार इमानदार व्यक्ति बन्ने अभ्यास गर्नुपर्छ, र मैले हृदय खोलेर आफ्ना ब्रदर-सिस्टरहरूसँग सङ्गति गर्ने, र मनमा जे छ त्यो साँचो रूपमा बोल्ने अभ्यास गर्नुपर्छ। मसँग जस्तोसुकै भ्रष्ट स्वभावहरू भए पनि, मैले मेरो कर्तव्यमा जस्तोसुकै गल्तीहरू गरे पनि, वा मसँग जस्तोसुकै दुर्बलता वा कमीकमजोरीहरू भए पनि, मैले खुलस्त हुन र आफूलाई उदाङ्गो पार्न सिक्नुपर्छ, र मेरा ब्रदर-सिस्टरहरूलाई उनीहरूमा जस्तै ममा पनि धेरैवटा भ्रष्ट स्वभावहरू छन् र म उनीहरूभन्दा राम्रो छँदै छैन भनेर देखाउनुपर्छ। खुलस्त हुँदा र सिधा कुरा गर्दा मात्र मेरो हृदयले शान्त र सहज महसुस गर्न सक्छ। यो कुरालाई मनमा राखेर, म आफ्नो स्थितिबारे मेरा ब्रदर-सिस्टरहरूसामु खुल्न चाहन्थेँ। तर सत्य कुरा बोल्ने बारेमा सोचेपछि, म निकै बेचैन भएँ। सुपरिवेक्षकले मलाई काटछाँट गर्नुहुनेछ र मेरा ब्रदर-सिस्टरहरूले मलाई हेयको नजरले हेर्नेछन् भनेर म डराएकी थिएँ। त्यसैले, मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँका वचनहरूअनुसार अभ्यास गर्न र इमानदार व्यक्ति बन्न मलाई मार्गदर्शन गर्नुहोस् भनी परमेश्वरसँग बिन्ती गरेँ। प्रार्थना गरेपछि, मैले उत्प्रेरित महसुस गरेँ, र नयाँ विश्वासीहरूको भेलाको बारेमा रिपोर्ट गर्दा मैले साँचो कुरा बताएकी थिइनँ भनेर सुपरिवेक्षकलाई म्यासेज गर्ने साहस जुटाएँ। मेरो म्यासेज पढेपछि, सुपरिवेक्षकले मलाई यस्तो किन गरेको भनेर मात्र सोध्नुभयो र अरू धेरै कुरा भन्नुभएन। पछि, एउटा भेलाको दौरानमा, मैले इमानदार व्यक्ति बन्ने विषयमा परमेश्वरका वचनहरूलाई आधार बनाएर मेरा ब्रदर-सिस्टरहरूसँग पनि खुलेर सङ्गति गरेँ। मैले आफ्ना गल्तीहरू लुकाउन आफूले झूट बोलेको र धोका दिएको बारेमा कुरा गरेँ, र यस विषयमा आफ्ना चिन्तन र बुझाइहरू साझा गरेँ, ताकि उनीहरूले मेरो अनुभवलाई एउटा सावधानी कथाका रूपमा लिन सकून्। आफ्नो कुरा सुनाएपछि, बल्ल मेरो हृदयको भारी बोझ हट्यो, र मेरो हृदयलाई तत्काल सहज महसुस भयो।
यस अनुभवपछि, मैले मनन गर्न थालेँ, “अरूले आफ्नो कर्तव्यमा समस्या वा विचलनहरू सामना गर्दा त्यसलाई सही तरिकाले व्यवहार गर्न सक्नु, तर मैले समस्याहरू सामना गर्दा आफ्नो हृदय अप्ठ्याराहरूले भरिएको पाउनुको कारण के हो? मेरो हृदयलाई किन असहज भइरहन्छ? अरूको नजरमा राम्रो छवि बनाउने चिन्ताबाहेक अर्को समस्या के हुन सक्छ?” एक दिन मेरो उपासनाको समयमा, मैले “गल्तीहरू स्वीकार गर्न किन यति गाह्रो हुन्छ?” शीर्षकको एउटा अनुभवात्मक गवाही भिडिओको ट्रान्सक्रिप्ट फेला पारेँ। त्यसमा परमेश्वरका वचनहरूको एउटा खण्ड उद्धृत गरिएको थियो जुन मेरो लागि धेरै उपयोगी थियो। सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ: “तँ कसरी साधारण र सामान्य व्यक्ति हुन अभ्यास गर्नुपर्छ? यो कसरी हासिल गर्न सकिन्छ? … पहिले, आफूलाई उपाधि नदे र त्यसपछि त्यसलाई तँलाई बाँध्न नदे, र यसो नभन्, ‘म अगुवा हुँ, म टोली प्रमुख हुँ, म सुपरिवेक्षक हुँ, वा म यस क्षेत्रमा सबैभन्दा ज्ञानी र प्राविधिक रूपमा निपुण व्यक्ति हुँ।’ आफूले आफैलाई दिएको उपाधिद्वारा नियन्त्रित नहो। यसो हुनेबित्तिकै, यसले तँलाई कसिलो गरी बाँध्नेछ; तेरा वचन र कार्यहरू यसबाट प्रभावित हुनेछन्, साथै तेरो सामान्य सोचाइ र निर्णय पनि प्रभावित हुनेछन्। तैँले आफूलाई यो हैसियतका बन्धनहरूबाट मुक्त गर्नैपर्छ। पहिले, यो आधिकारिक उपाधिको पदबाट हट्, र एक साधारण व्यक्तिको पद धारण गर्। त्यसपछि तेरो मानसिकता केही हदसम्म सामान्य हुनेछ। तैँले यो पनि स्वीकार गर्नुपर्छ: ‘मलाई यो कसरी गर्ने भन्ने थाहा छैन, र म त्यो बुझ्दिनँ—मैले केही अनुसन्धान र अध्ययन गर्नुपर्छ,’ वा ‘मैले यो कहिल्यै अनुभव गरेको छैन, त्यसैले मलाई के गर्ने भन्ने थाहा छैन।’ जब तँ आफूले साँच्चै के सोचिरहेको छु भनी भन्न सक्छस् र यसरी इमानदारीपूर्वक बोल्न सक्छस्, तब तँसँग सामान्य समझ हुनेछ। यदि तैँले अरूलाई आफ्नो वास्तविक रूप चिन्न दिइस् भने, तिनीहरूले तँप्रति सामान्य दृष्टिकोण राख्नेछन्, र तैँले देखावटी गर्नु पर्नेछैन। तैँले उप्रान्त गह्रौँ दबाब महसुस गर्नेछैनस्, र तँ अरूसँग सामान्य रूपमा कुराकानी गर्न सक्षम हुनेछस्। यसरी जिउनु स्वतन्त्र र सहज हुन्छ। जीवन धेरै थकाइलाग्दो लाग्नेले आफैलाई मात्रै दोष दिनुपर्छ” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो)। परमेश्वरका वचनहरूको खुलासाबाट, मैले आफ्नै समस्याहरू प्रस्ट देखेँ। सुरुमा, जब मलाई टोली अगुवाको कर्तव्य दिइयो, मैले आफूलाई सही स्थानमा राखिनँ, र मैले आफैलाई टोली अगुवाको पदवी दिएँ। मैले के थाहा पाएँ भने मैले भनेका वा गरेका सबै कुरा यही पदवीको घेराभित्र हुन्थ्यो। मैले सोचेँ, म टोली अगुवा बनिसकेपछि, मेरो व्यावसायिक सीप र कार्य सामर्थ्य अन्य ब्रदर-सिस्टरहरूको भन्दा बलियो हुनुपर्छ, र मेरो सामान्य व्यवहार उनीहरूको भन्दा राम्रो हुनुपर्छ। यी भ्रामक दृष्टिकोणहरू अपनाएपछि, मैले आफ्नो कर्तव्यमा कुनै गल्ती वा विचलन हुन दिइनँ किनभने मलाई अरूले मेरो बारेमा नराम्रो सोच्लान् भन्ने डर थियो। म आफ्नो कर्तव्यमा यति गह्रौँ बोझ बोकिरहेकी थिएँ, र यसरी जिउनु निकै थकाइलाग्दो र पीडादायी थियो। यो सबै मैले सत्यता नबुझेकी र कामकुरालाई परमेश्वरका वचनहरू अनुसार नहेरेकी हुनाले भएको थियो। वास्तवमा, मण्डलीले मलाई टोली अगुवाको कर्तव्य निर्वाह गर्न प्रबन्ध मिलाउनु परमेश्वरको अनुग्रह थियो, र यो मेरा कमीकमजोरीहरू पूर्ति गर्न तालिम लिने एउटा अवसर थियो। म टोली अगुवा भए तापनि, कहिलेकाहीँ मेरा ब्रदर-सिस्टरहरूको मलजलको नतिजा मेरो भन्दा पनि राम्रो हुन्थ्यो। तर म अझै पनि सधैँ के सोच्थेँ भने, टोली अगुवाको नाताले, म अरूभन्दा उत्तम हुनुपर्छ र मैले कुनै गल्ती गर्नु हुँदैन। यो साँच्चै अहङ्कारी र समझविहीन कुरा थियो! म केवल एक भ्रष्ट मानव हुँ, त्यसैले मेरो कर्तव्यमा विचलनहरू आउनु वा भ्रष्ट स्वभावहरू प्रकट हुनु सामान्य कुरा थियो। मैले यसलाई सही तरिकाले व्यवहार गर्नुपर्छ र मेरा ब्रदर-सिस्टरहरूसामु खुलस्त भएर आफूलाई उदाङ्गो पार्नुपर्छ, र मैले आफ्ना विचलन र गल्तीहरूबाट समस्याहरूको सारांश निकाल्नुपर्छ, साथै आत्मचिन्तन गर्नुपर्छ। तब मात्र म आफ्नो कर्तव्य अझ राम्ररी निर्वाह गर्न सक्छु।
केही दिनपछि, सुपरिवेक्षकले मलाई एउटा म्यासेज पठाउनुभयो। उक्त म्यासेजमा एक जना नयाँ विश्वासी भेलामा उपस्थित भएको तर मैले उपस्थित भएको थिएन भनेर रिपोर्ट गरेको भन्ने व्यहोरा उल्लेख थियो, र उहाँले मलाई नयाँ विश्वासीहरूको भेलाको अनुगमन गर्दा अझ होसियार हुन र मेरा रिपोर्टहरू ध्यानपूर्वक जाँच्न भन्नुभयो। म्यासेज पढेपछि, मेरो मुटुको धड्कन रोकियो, र मैले सोचेँ, “मैले त रिपोर्ट जाँचिसकेकी थिएँ, मबाट कसरी यस्तो गल्ती भयो होला?” मैले तुरुन्तै कागजात खोलेँ। त्यतिखेर मलाई याद आयो कि मैले गर्नुपर्ने अन्य जरुरी कामहरू भएकाले, मैले यसलाई सरसर्ती मात्र हेरेकी थिएँ र मैले साँच्चै नै सूचनालाई ध्यानपूर्वक जाँचेकी थिइनँ, र फलस्वरूप मैले नयाँ विश्वासीको भेलाको अवस्थाबारे रिपोर्ट गर्दा त्रुटि भएको थियो। सन्ध्याकालीन भेलाको समयमा, म मेरा ब्रदर-सिस्टरहरूसँग आफ्नो गल्ती साझा गर्न चाहन्थेँ ताकि उनीहरूले यसबाट पाठ सिक्न सकून्। तर म दोधारमा परेँ, र मैले सोचेँ, “यदि मैले अर्को गल्ती गरेँ भन्ने कुरा ब्रदर-सिस्टरहरूले थाहा पाए भने, के उनीहरूले म आफ्नो कर्तव्यमा झारा मात्र टारिरहेकी छु भनी सोच्नेछन्? के उनीहरू मलाई हिजोआज के भइरहेको छ भनेर अचम्म पर्नेछन्, र म किन गल्तीहरू गरिरहन्छु भनेर छक्क पर्नेछन्? उनीहरूले मेरो बारेमा के सोच्नेछन्? के उनीहरूले ममा केही खराबी छ भन्ने सोच्नेछन्?” एकैछिन त म अकमक्क परेँ। त्यतिखेर, मैले आफ्नो स्थितिमा केही गडबडी छ भन्ने महसुस गरेँ, त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, र सत्यता अभ्यास गर्न र इमानदार व्यक्ति बन्न मलाई मार्गदर्शन गर्नुहोस् भनी उहाँसँग बिन्ती गरेँ। त्यसपछि मैले परमेश्वरका वचनहरू पढेँ: “यदि तँ इमानदार व्यक्ति बन्न चाहन्छस् भने, आफ्नो स्वरूपलाई महत्त्व नदे; व्यक्तिको स्वरूपको मूल्य एक पैसा पनि हुँदैन। सत्यताको उपस्थितिमा, व्यक्तिले आफ्नो खुलासा गर्नुपर्छ, ढोँग गर्नु वा बनावटी रूप देखाउनु हुँदैन। व्यक्तिले परमेश्वरलाई आफ्ना साँचो विचारहरू, आफूले गरेका गल्तीहरू, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने पक्षहरू, आदि प्रकट गर्नुपर्छ, र यी कुराहरूलाई आफ्ना दाजुभाइ-दिदीबहिनीहरूसामु पनि उदाङ्गो पार्नुपर्छ। यो आफ्नो अभिमानको खातिर जिउनु होइन, बरु इमानदार व्यक्ति बन्नका लागि जिउनु, सत्यतालाई पछ्याउनका लागि जिउनु, साँचो सृजित प्राणी बन्नका लागि जिउनु, र परमेश्वरलाई सन्तुष्ट पार्न र मुक्ति पाउनका लागि जिउनु हो” (वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। सत्यता कसरी पछ्याउने (१२))। परमेश्वरका वचनहरूले अचानक मेरा विचारहरू स्पष्ट पारे र मलाई सत्यता अभ्यास गर्ने र इमानदार व्यक्ति बन्ने प्रेरणा दिए। म मेरा ब्रदर-सिस्टरहरूसामु आफ्ना गल्तीहरू स्वीकार गर्न चाहन्थेँ, र त्यसो गर्नु अलि लाजमर्दो हुने भए पनि, म परमेश्वरका मागहरूअनुसार इमानदार व्यक्ति बन्ने अभ्यास गरिरहेकी हुनेथिएँ, र मानव रूपमा जिइरहेकी हुनेथिएँ, र आत्मिक रूपमा, म मुक्त र स्वतन्त्र महसुस गर्नेथिएँ। यो कुरा बुझेपछि, मैले हृदयमा परमेश्वरलाई प्रार्थना गरेँ, उहाँका वचनहरूअनुसार अभ्यास गर्न मलाई मार्गदर्शन गर्नुहोस् भनी बिन्ती गरेँ, र अरूले मलाई जसरी हेरे पनि, म केवल परमेश्वरलाई सन्तुष्ट पार्न चाहन्छु भनी सङ्कल्प गरेँ। सन्ध्याकालीन भेलाको समयमा, मैले आफ्ना ब्रदर-सिस्टरहरूलाई लापरवाहीका कारण मैले आफ्नो कर्तव्यमा गरेका गल्तीहरूबारे बताएँ, र मैले उनीहरूलाई मैले जस्तै सामान्य गल्तीहरू नगर्न आग्रह गरेँ। यी कुराहरू भनिसकेपछि, मलाई सहज र मुक्त महसुस भयो।
यस अनुभवमार्फत, मैले आफ्नो कर्तव्य निर्वाह गरिरहँदा, मैले पहिले जस्तो अरूले मेरो बारेमा के सोच्छन् भनेर चिन्ता गर्न छाडेँ, र म अझ शान्त भएर आफ्ना गल्तीहरूलाई सामना गर्न सक्थेँ। हरेक दिन, म आफूले गर्नुपर्ने काम गर्न र कामकुरालाई गम्भीरतापूर्वक लिन सक्दो प्रयास गर्छु, र जब मेरो कर्तव्यमा कुनै समस्या उत्पन्न हुन्छ, यदि ती मेरो भ्रष्ट स्वभावले निम्त्याएका हुन् भने, म चिन्तन गर्न परमेश्वरसामु आउँछु, र आफ्नो भ्रष्ट स्वभाव समाधान गर्न सत्यता खोज्छु। यदि यो गल्ती कुनै विशेष कारणले भएको हो भने, म मेरो कर्तव्यमा गरिएका गल्तीहरूलाई प्रयोग गरेर विचलनको सारांश निकाल्छु र त्यसलाई अर्को पटक सच्याउँछु। मार्गदर्शनका लागि परमेश्वरलाई धन्यवाद! यसरी अभ्यास गरेर, मैले सत्यता अभ्यास गर्दा र इमानदार व्यक्ति बन्दाको खुसी चाखेकी छु।