६५. रोगबिमारमा परमेश्वरको प्रेमको अनुभव
सन् २००३ मा, मैले परमेश्वरको आखिरी दिनहरूको काम स्वीकार गरेँ। त्यसको लगत्तै, मैले पत्तै नपाइ, मेरा पेटका समस्या, लो ब्लड प्रेसर, लो सुगर र अन्य रोगहरू निको भए। म धेरै खुसी र कृतज्ञ थिएँ। मैले मनमनै सोचेँ, “परमेश्वरले मानिसहरूको हेरचाह र सुरक्षा मात्र गर्नुहुन्न, तर मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन उहाँका वचनहरू पनि व्यक्त गर्नुहुन्छ, र तिनीहरूलाई सुन्दर गन्तव्यमा पुर्याउनुहुन्छ। मैले परमेश्वरमा विश्वास गरेर सही निर्णय गरेकी छु!” हरेक दिन, म परमेश्वरका वचनहरू पढ्न र भजनहरू सिक्न समय निकाल्थेँ, र म आफूलाई समर्पित गर्न उत्साहित थिएँ, अनि घाम-पानी वा जाडो र हुरी जेसुकै भए पनि, म आफ्नो कर्तव्यमा लागिरहेँ। यस अवधिमा, मेरो परिवारले मलाई सतायो, आफन्त र छिमेकीहरूले मेरो खिसी र निन्दा गरे, र चिनियाँ कम्युनिस्ट पार्टीले पनि मलाई सतायो र मेरो खेदो खन्यो, तर यी परिस्थितिहरूले मलाई मेरो कर्तव्य निर्वाह गर्नबाट रोकेनन्। जब म यी कुराहरू सम्झन्थेँ, तब म आफ्ना प्रयास र समर्पणहरूको हिसाब गर्थेँ, र म आफू परमेश्वरको साँचो विश्वासी भएको महसुस गर्थेँ, अनि यसरी नै निरन्तर लागिरहेँ भने, मैले मुक्ति पाउँछु र म बाँच्नेछु भन्ने कुरामा म विश्वस्त थिएँ। म धेरै खुसी थिएँ।
सन् २०२० मा, म केही दिनसम्म खोकीले ग्रस्त भएँ, तर मैले यसमा खासै ध्यान दिइनँ। सन् २०२१ सम्ममा, मेरो खोकी अझ गम्भीर भयो। म दिनभर खोकिरहन्थेँ, र विशेषगरी पल्टिँदा, मेरो खोकी रोकिँदैनथियो। म खोक्दाखोक्दै कहिले निदाएँ भन्ने पत्तै पाउँदिनथेँ, र मलाई अक्सर रिँगटा लाग्थ्यो, मुटुको धड्कन बढ्थ्यो, सास फेर्न गाह्रो हुन्थ्यो, र चिसो पसिना आउँथ्यो। धेरै समय नबित्दै, मेरो तौल १०० पाउण्डभन्दा बढीबाट घटेर करिब ८० पाउण्डमा झर्यो। पछि, मेरो अवस्था झनै बिग्रियो। डरलाग्दो खोकीले गर्दा मेरो पूरै छाती र पेट दुख्थ्यो, जसले गर्दा म आराम गर्न सक्दिनथेँ, र उत्तानो परेर पल्टेपछि मात्र मलाई अलिकति सञ्चो हुन्थ्यो। म चीसोप्रति साह्रै संवेदनशील भएँ। अरूले पातलो लुगा लगाउँदा पनि, मैले बाक्लो लुगा लगाउनुपर्थ्यो, र सुत्दा बाक्लो सिरक ओढ्नुपर्थ्यो। हल्का काम गर्दा पनि म यति थकित हुन्थेँ कि मलाई हलचल गर्नै गाह्रो हुन्थ्यो, र मलाई सास फेर्न गाह्रो हुने भएकोले म बोल्न समेत सक्दिनथेँ। मेरो पेट फुलेको र दुखेको महसुस हुन्थ्यो, र म अक्सर खाना खान सक्दिनथेँ। पेटको जुनसुकै भागमा थिच्दा पनि दुख्थ्यो, र निरन्तर खोक्दा यो झनै बढ्थ्यो। मैले मनमनै सोचेँ, “मलाई किन गम्भीर रोग लागेजस्तो लक्षण देखिँदै छ?” महामारीपछि, म पेटको अल्ट्रासाउन्ड गर्न अस्पताल गएँ, र डाक्टरले गम्भीर हुँदै मेरो पित्तनलीमा साना-साना धेरै वटा पत्थरी भएको, र पेल्भिक क्षेत्रमा तरल पदार्थ जमेको, जुन पानी हो कि रगत हो भनेर स्पष्ट रूपमा भन्न नसकिने कुरा बताए। उनले मलाई थप जाँचका लागि ठूलो अस्पतालमा जान पटक-पटक आग्रह पनि गरे, र म तुरुन्तै जानुपर्छ भने। मलाई अलि शङ्का लाग्यो। मैले सोचेँ, यी वर्षभरि मैले परमेश्वरका लागि त्याग गरेको र आफूलाई समर्पित गरेको हुनाले, परमेश्वरले मलाई गम्भीर बिरामी हुनबाट जोगाउनुपर्थ्यो। मैले सोचेँ, “केही ब्रदर-सिस्टरले मैले जति त्याग र समर्पण गरेका छैनन्, अनि मैले जति कष्ट पनि उठाएका छैनन्, तर तिनीहरू स्वस्थ छन् र तिनीहरूले सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्। मैले यति धेरै कष्ट उठाएँ र त्याग गरेँ, तैपनि मलाई एकपछि अर्को रोग लागिरहन्छ। परमेश्वरले मलाई किन सुरक्षित राख्नुभएन? कतै परमेश्वरले मलाई घृणा गर्न थाल्नुभएको र त्याग्नुभएको त होइन? नत्र म किन यसरी रोगको शिकार भइरहन्थेँ त?” मैले जति सोचेँ, मलाई त्यति नै पीडा महसुस भयो। परमेश्वरलाई प्रार्थना गर्दा के भन्ने मलाई थाहा हुन्थेन, र परमेश्वरका वचनको कुन अध्याय पढ्ने भन्ने पनि मलाई थाहा हुन्थेन। म आफ्ना केही कर्तव्यहरूमा व्यस्त रहन चाहन्थेँ, तर मलाई हलचल गर्नै नसक्ने गरी थकाइ लाग्थ्यो। मलाई भित्रभित्रै अवर्णनीय असहजताको महसुस हुन्थ्यो, र ममा रत्तिभर पनि ऊर्जा आउँदैनथ्यो।
भोलिपल्ट, डाक्टरले मेरो अवस्था कति गम्भीर छ भनेर भनेका कुरा सम्झँदा, म धेरै चिन्तित र हताश भएँ। त्यसैले मैले परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, यो रोगले गर्दा म असाध्यै पीडामा छु। मेरो कद साँच्चै सानो छ र मलाई यसको अनुभव कसरी गर्ने भन्ने थाहा छैन। म बिन्ती गर्छु, यो विषयमा तपाईंको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्, र अब जे आउँछ त्यसलाई कसरी अनुभव गर्ने भनेर जान्न मलाई मदत गर्नुहोस्।” पछि, मैले परमेश्वरका वचनहरू पढेँ: “मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा पछ्याउने कुरा भनेको भविष्यका लागि आशिष्हरू प्राप्त गर्नु हो; तिनीहरूको विश्वासको लक्ष्य यही हो। सबै मानिसहरूसँग यही मनसाय र आशा हुन्छ, तर तिनीहरूको प्रकृतिमा भएको भ्रष्टतालाई परीक्षा र शोधनमार्फत निराकरण गरिनुपर्छ। जुनसुकै पक्षहरूमा मानिसहरूलाई शुद्ध पारिएको छैन र मानिसहरूले अझै भ्रष्टता प्रकट गर्छन्, तिनै पक्षहरूमा तिनीहरूलाई शोधन गरिनुपर्छ—यो परमेश्वरको प्रबन्ध हो। परमेश्वरले तेरो लागि वातावरणहरू खडा गर्नुहुन्छ, र तँलाई तिनमा शोधन भोग्न बाध्य पार्नुहुन्छ ताकि तैँले आफ्नो भ्रष्टता चिन्न सक्। अन्ततः तँ यस्तो बिन्दुमा पुग्छस् जहाँ तँ आफ्ना परिकल्पना र चाहनाहरू त्याग्न, अनि मर्नै परे पनि परमेश्वरको सार्वभौमिकता र प्रबन्धप्रति समर्पित हुन इच्छुक हुन्छस्। त्यसकारण, यदि मानिसहरूसँग शोधनका धेरै वर्षहरू छैनन् भने, यदि तिनीहरूले केही निश्चित मात्राको कष्ट सहन गर्दैनन् भने, तिनीहरूले आफ्ना सोच र हृदयमा देहको भ्रष्टताको बन्धनबाट आफूलाई मुक्त गर्न सक्नेछैनन्। जुन पक्षहरूमा मानिसहरू अझै आफ्नो शैतानी प्रकृतिको बन्धनमा हुन्छन्, र जुन पक्षहरूमा तिनीहरूसँग अझै आफ्नै चाहना र मागहरू हुन्छन्, तिनै पक्षहरूमा तिनीहरूले कष्ट भोग्नुपर्ने हुन्छ। कष्टमार्फत मात्र मानिसहरूले पाठ सिक्न सक्छन्, जसको मतलब तिनीहरू सत्यता प्राप्त गर्न र परमेश्वरका अभिप्रायहरू बुझ्न सक्षम हुन्छन्। वास्तवमा, कष्ट र परीक्षाहरू अनुभव गरेर धेरै सत्यताहरू बुझिन्छ। आरामदायी र सहज परिस्थितिमा वा परिस्थिति अनुकूल हुँदा, कसैले पनि परमेश्वरका अभिप्रायहरू बुझ्न, परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि चिन्न, वा परमेश्वरको धर्मी स्वभाव बोध गर्न सक्दैन। त्यो असम्भव हुनेछ!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मानिसहरूको विश्वासमा लुकेका अभिप्राय र आशाहरू, साथै परमेश्वरका परीक्षाहरू र शोधनहरू पछाडिको अर्थलाई खुलासा गर्छन्। परमेश्वरले कुनै पनि अर्थहीन काम गर्नुहुन्न, न त मानिसहरूलाई हानि पुर्याउने कुनै काम नै गर्नुहुन्छ। मलाई यो रोग लाग्नुको अर्थ परमेश्वरले मलाई त्याग्न चाहनुभएको होइन, बरु परमेश्वरले मलाई जाँचिरहनुभएको र शोधन गरिरनुभएको थियो, र मेरो विश्वासमा रहेका अशुद्धताहरूलाई शुद्ध पारिरहनुभएको थियो। मलाई मेरा रोगहरू सुरुमा निको भएको बेलाको कुरा याद आयो। म आफूलाई समर्पित गर्न जोसिलो थिएँ र परमेश्वरको प्रेम साँचो रूपमा चुकाउने सङ्कल्प गरेको थिएँ, र मैले जतिसुकै कष्ट उठाएको वा आफूलाई समर्पित गरेको भए पनि, मैले ती सबै खुसीसाथ र स्वेच्छाले गरेको थिएँ। म आफूलाई परमेश्वरको साँचो विश्वासी ठान्थेँ, र यदि म यसरी नै लागिरहेँ भने, मुक्ति मेरो पहुँचभित्र हुन्छ भन्ने विश्वास गर्थेँ। तर जब रोगले फेरि आक्रमण गर्यो, तब मेरो थोरै विश्वास, स्वार्थ र परमेश्वरप्रतिको गलत बुझाइ प्रकट भयो। म अर्कै मान्छे बनेजस्तो भयो। यो परमेश्वरले यसो भन्नुहुँदा खुलासा गर्नुभएजस्तै हो: “धेरै जना मानिसहरू शान्ति र अन्य फाइदाहरू पाउनका लागि परमेश्वरमा विश्वास गर्छन्। यदि त्यो तेरो आफ्नै फाइदाको कुरा होइन भने तँ परमेश्वरमा विश्वास गर्दैनस्, र यदि तैँले परमेश्वरका अनुग्रहहरू प्राप्त गर्न सकिनस् भने, तँ ठुस्किन्छस्। तँ जे भन्छस् त्यो कसरी तेरो वास्तविक कद हुन सक्छ?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (३))। सुरुदेखि नै, मेरा त्याग र समर्पणहरू मेरै स्वार्थका लागि थिए। यसमा, मैले परमेश्वरलाई धोका दिने र उहाँसँग मोलतोल गर्ने प्रयास गरिरहेकी थिएँ। म साह्रै स्वार्थी र घृणास्पद थिएँ, र ममा परमेश्वरलाई सन्तुष्ट पार्ने कुनै चाहना नै थिएन। यदि यो रोगद्वारा म प्रकट नभएको भए, मैले वर्षौँदेखि विश्वासमा गरेका सबै त्यागहरू अनुग्रह र आशिष्हरू पाउनका लागि थिए, र मैले परमेश्वरसँग मोलतोल गर्ने प्रयास गरिरहेको थिएँ भन्ने कुरा महसुस गर्नेथिइनँ। मेरो मुक्तिका लागि नै परमेश्वरले यो परिस्थिति मिलाउनुभएको थियो र मलाई यसरी प्रकट गर्नुभएको थियो। तर मैले परमेश्वरको अभिप्राय बुझेकी थिइनँ र उहाँबारे गुनासो गरेको र उहाँलाई गलत बुझेकी थिएँ। मैले परमेश्वरप्रति गहन ऋणी भएको महसुस गरेँ र पश्चात्ताप गर्ने इच्छा गर्दै उहाँलाई प्रार्थना गरेँ।
त्यो रात, मैले “अय्यूब र पत्रुस जस्तै साक्षी बन” शीर्षकको परमेश्वरका वचनहरूको एउटा भजन भिडिओ हेरेँ: “सायद तँलाई विजय गरिएको छ भनेर भन्छस् होला, तर के तँ मृत्युसम्मै समर्पित हुन सक्छस्? कुनै सम्भावनाहरू भए पनि वा नभए पनि, तँ अन्त्यसम्मै पछ्याउन सक्षम हुनुपर्छ, वातावरण जस्तै भए पनि तैँले परमेश्वरप्रतिको आस्था गुमाउनै हुँदैन। आखिरीमा, तैँले गवाहीका दुई पक्ष प्राप्त गर्नुपर्छ: अय्यूबको गवाही—मृत्युसम्मको समर्पणता; र पत्रुसको गवाही—परमेश्वरप्रतिको सर्वोच्च प्रेम। एउटा पक्षमा, तँ अय्यूबजस्तै हुनुपर्छ: तिनले सबै भौतिक सम्पत्तिहरू गुमाए, र तिनलाई दैहिक बिमारीले घेऱ्यो, तापनि तिनले यहोवाको नाउँ त्यागेनन्। यो अय्यूबको गवाही थियो। पत्रुसले मृत्युसम्म परमेश्वरलाई प्रेम गर्न सके—तिनले आफ्नो मृत्यु सामना गर्दा पनि परमेश्वरलाई प्रेम गर्थे, तिनलाई क्रूसमा टाँगिदा पनि तिनले परमेश्वरलाई प्रेम गरिरहे। तिनले आफ्नै सम्भावनाहरूका बारेमा सोचेनन् वा सुन्दर आशा वा अव्यावहारिक विचारहरूको पछि लागेनन्, तिनले केवल परमेश्वरलाई प्रेम गर्न खोजे, तिनी परमेश्वरका सब प्रबन्धमा समर्पित हुन खोजे। यो स्तर हासिल गरेपछि मात्रै तैँले गवाही दिएको भनेर मानिनेछ, त्यसपछि मात्र तँ विजय गरिसकिएपछि तैँले यस्तै मानक प्राप्त गर्नुपर्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (२))। यो भजन सुन्दा म भावविह्वल भई रोएँ। अय्युबले कति ठूला परीक्षाहरूको सामना गरेका थिए। उनले आफ्नो सम्पत्ति गुमाए, उनका छोराछोरी मरे, उनको जीउभरि खटिराहरू आए, तैपनि त्यस्तो चरम पीडामा, अय्युबले परमेश्वरलाई इन्कार गरेनन् वा उहाँबारे गुनासो गरेनन्, बरु उनले परमेश्वरको प्रशंसा गरे, उहाँको नामको गुणगान गाए, र परमेश्वरका लागि गुञ्जयमान गवाही दिए। पत्रुसले आफ्नो जीवन परमेश्वरलाई चिन्न र प्रेम गर्नका लागि नै बिताए, र आफ्नो मृत्युको समयमा पनि, उनले आफूले परमेश्वरलाई पर्याप्त प्रेम नगरेको बताए। परमेश्वरले उनीप्रतिको आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ कि गर्नुहुन्न भन्ने वास्ता नगरी, उनले अझै पनि परमेश्वरमा विश्वास गरिरहे र उहाँलाई प्रेम गरिरहे। पत्रुसले परमेश्वरको गवाही दिए र परमेश्वरको हृदयलाई सान्त्वना दिए। अय्युब र पत्रुस त्यस्ता मानिसहरू थिए जसले परमेश्वरलाई साँच्चै परमेश्वरको रूपमा व्यवहार गरे। तिनीहरू परमेश्वरप्रति समर्पित थिए, र तिनीहरूमा परमेश्वरसँग मोलतोल गर्ने वा मागहरू राख्ने कुनै चाहना थिएन, र परमेश्वरले तिनीहरूको गवाहीबाट महिमा प्राप्त गर्नुभयो। तर मेरो हकमा भने, जब मेरो रोग बिग्रियो र परमेश्वरले मेरा इच्छाहरू र मागहरू पूरा गर्नुभएन, तब मैले प्रतिरोधी महसुस गरेँ र भित्रभित्रै गुनासो गरेँ। मैले परमेश्वरका वचनहरू पढ्न र प्रार्थना गर्नसमेत सकिरहेको थिइनँ। ममा न्यूनतम समर्पण वा समझ पनि थिएन, परमेश्वरको गवाही दिने कुरा त परै जाओस्। यतिका वर्ष परमेश्वरमा विश्वास गरेपछि, अनि परमेश्वरका यति धेरै वचनहरू खाइसकेपछि र पिइसकेपछि अनि यति धेरै प्रवचनहरू सुनिसकेपछि पनि, मैले अझै यस्तो व्यवहार गर्ने रहेछु र मैले त सधैँ परमेश्वरसँग मोलतोल गर्ने प्रयास गरिरहने रहेछु भनेर कहिल्यै सोचेकी थिइनँ। म साँच्चै स्वार्थी र घृणास्पद रहेछु! मैले यसबारे जति सोचेँ, म परमेश्वरप्रति त्यति नै ऋणी महसुस गरेँ। मैले परमेश्वरलाई रुँदै प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई मेरा विश्वासका वर्षभरि मैले गरेको कर्तव्य निर्वाह तपाईंलाई सन्तुष्ट पार्नका लागि थियो भन्ने कुनै बेला लागेको थियो, तर यो रोगले ल्याएको प्रकटीकरणमार्फत, मैले अन्ततः मेरा त्याग र समर्पणहरू सबै आशिष्हरू पाउनका लागि मात्र रहेछन् भन्ने कुरा महसुस गरेकी छु। मैले तपाईंलाई कहिल्यै साँचो रूपमा परमेश्वरको रूपमा व्यवहार गरिनँ। हे परमेश्वर, म कति भ्रष्ट छु र तपाईंको प्रेम पाउन अयोग्य छु। मेरो रोगको अवस्था जेसुकै भए पनि, म तपाईंका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित हुन इच्छुक छु।” बिस्तारै, मेरो स्थितिमा सुधार आयो; म हरेक दिन आफ्नो कर्तव्यमा मेहनत लगाउन सक्थेँ, र मलाई मेरो रोगले त्यति बन्धनमा पारेन। जब मैले आफ्नो कर्तव्य निर्वाह गर्न आफ्नो हृदय स्थिर गरेँ, तब अचम्मको कुरा, मेरो स्वास्थ्यमा केही सुधार आयो, र मलाई त्यति धेरै जाडो महसुस हुन छोड्यो। म परमेश्वरप्रति धेरै कृतज्ञ भएँ! त्यसपछि, आफ्नो कर्तव्य निर्वाह गर्दै मैले उपचारका लागि औषधी खान जारी राखेँ।
जुलाई २०२२ मा, मलाई धेरै ज्वरो आयो र केही दिनसम्म खोकी लागिरह्यो, र मलाई निरन्तर थकाइ महसुस भइरह्यो। भर्याङ चढ्दा, मलाई सास फेर्न गाह्रो हुन्थ्यो, र मेरो मुटु फुट्लाजस्तै गरी ढुकढुक हुन्थ्यो। मैले मनमनै सोचेँ, “यसपालि, म समर्पित हुनैपर्छ र मैले गुनासो गर्नु हुँदैन।” तर सेप्टेम्बरसम्ममा, मेरो रोग झन्-झन् बिग्रँदै गयो। मेरो खोकी लाग्ने क्रम बढ्यो, मलाई लगातार दुई हप्तासम्म उच्च ज्वरो आयो, र औषधी खाँदा पनि कुनै सुधार भएन। सुरुमा, मलाई यो सामान्य रुघाखोकी र ज्वरो मात्र हो भन्ने लागेको थियो, तर मेरो अवस्था बिग्रँदै गएपछि, म जँचाउन अस्पताल गएँ। प्रारम्भिक जाँचमा क्षयरोगको शङ्कासहित फोक्सोमा पानी जमेको पनि देखियो। डाक्टरले गम्भीर हुँदै, फोक्सोमा अत्यधिक पानी जमेको कारणले मेरो दाहिने फोक्सोले काम गर्न छोडेको कुरामा जोड दिए, अनि मेरो अवस्था धेरै गम्भीर भइसकेको, र मैले तुरुन्तै अस्पताल भर्ना भएर उपचार गराउनुपर्ने, अब ढिला गर्नु नहुने कुरा बताए। मेरो मन खिन्न भयो, र मैले सोचेँ, “मेरो रोग कसरी यति गम्भीर हुन सक्यो? म विगत दुई वर्षमा धेरै पटक गम्भीर बिरामी परेकी छु, र म कमजोर भए पनि, मैले कहिल्यै आफ्नो कर्तव्य निर्वाह गर्न छोडेकी छैन। मेरो अवस्थामा किन सुधार भएन, बरु झन् बिग्रियो?” म धेरै हताश र भयभीत भएँ, र सोचेँ, “मैले परमेश्वरमा विश्वास गरेको १९ वर्ष भयो। मैले आफ्नो कर्तव्य निर्वाह गर्न परिवार र काम त्यागेकी छु, र मैले सहनुपर्ने सबै कष्ट सहेकी छु। मैले दौडनुपर्ने दौड दौडेकी छु, र म जतिसुकै बिरामी भए पनि, म आफ्नो कर्तव्यमा डटिरहेकी छु। मलाई त परमेश्वरलाई पछ्याएर, मैले आशिष्हरू पाउनेछु र मुक्ति पाउनेछु भन्ने लागेको थियो, तर अहिले त म मर्ने गरी बिरामी परेकी छु। यदि म मरेँ भने, मैले मुक्ति पाउने मौका पूर्ण रूपमा गुमाउनेछु। त्यसो भए के मेरा सबै प्रयास र समर्पणहरू व्यर्थ हुनेछैनन् र?” यस्तो सोच्दा, मेरो मन धेरै भारी भयो, र म पूर्ण रूपमा निराश भएँ। यस बिन्दुमा, मेरो स्थितिमा केही गडबड छ भन्ने मैले महसुस गरेँ, र मैले रुँदै परमेश्वरलाई प्रार्थना गरेँ, “हे परमेश्वर, मलाई मर्न लागेजस्तो महसुस भइरहेको छ। मसँग अहिले वास्तवमै कुनै उपाय छैन, अनि मेरो हृदय पीडाले भरिएको छ। हे परमेश्वर, म बिन्ती गर्छु, तपाईंको अभिप्राय बुझ्न मलाई मार्गदर्शन गर्नुहोस्।” प्रार्थना गरेपछि, मलाई परमेश्वरका वचनहरूका केही खण्डहरू याद आयो:
५. यदि तँ मप्रति धेरै प्रेम राख्दै सधैँ अत्यन्तै बफादार रहिआएको छस्, तैपनि तँ रोगको सास्ती, आर्थिक अभाव, तेरा मित्र तथा आफन्तहरूद्वारा त्यागिनु वा जीवनका अन्य कुनै दुर्गतिहरूबाट दुःख भोग्छस् भने, के मप्रतिको तेरो बफादारी र प्रेम अझ पनि निरन्तर रहनेछ?
६. यदि तैँले हृदयमा कल्पना गरेको कुनै पनि कुरा मैले गरेको कामसँग मिलेन भने, तँ कसरी आफ्नो भविष्यको मार्गमा हिँड्नुपर्छ?
७. यदि तैँले पाउने आशा गरेका कुनै पनि कुराहरू पाइनस् भने, के तँ मेरो अनुयायी बनिरहन सक्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्वासघात (२)
परमेश्वरका मागहरूको सामना गर्दा, मेरो दिमाग अचानक स्पष्ट भयो। यी मागहरू ती मापदण्डहरू हुन् जसद्वारा परमेश्वरले व्यक्तिको स्वभाव परिवर्तन भएको छ कि छैन भनी नाप्नुहुन्छ। ती एक विश्वासीले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने सर्तहरू पनि हुन्। परमेश्वरमा साँचो विश्वास गर्नेहरू उहाँप्रति बफादार हुन्छन् र उहाँलाई प्रेम गर्ने हुन्छन्, अनि तिनीहरू जुनसुकै परिस्थितिमा पनि परीक्षाहरूमा खडा हुन सक्छन्। परमेश्वरले गर्नुहुने काम तिनीहरूको कल्पना वा आशाहरूअनुरूप नभए पनि, तिनीहरू अझै परमेश्वरलाई पछ्याउन र उहाँप्रति बफादार रहन सक्छन्। विगत सम्झँदा, मैले एकपटक परमेश्वरसामु कसम खाँदै के दृढ प्रतिबद्धता जनाएकी थिएँ भने, जेसुकै भए पनि म परमेश्वरलाई पछ्याउनेछु, र परिस्थिति जस्तोसुकै बदलिए पनि, र मैले जस्तोसुकै पीडा, सङ्कष्ट, परीक्षाहरू, वा शोधनहरू अनुभव गरे पनि, म परमेश्वरमाथिको मेरो विश्वासमा डटिरहनेछु र अन्त्यसम्मै उहाँलाई पछ्याउनेछु। तर तथ्यहरूले ममा विश्वासको कमी भएको र मसँग रत्तिभर पनि समझ नभएको कुरा प्रकट गर्यो। जब ममाथि रोग आइलाग्यो र मैले बाँच्ने कुनै आशा देखिन, तब मैले परमेश्वरसँग तर्क गरेँ, र मलाई गम्भीर रोग लाग्दा पनि म आफ्ना कर्तव्यहरूमा डटिरहेको हुनाले, मेरो रोगमा सुधार नआई किन झन् बिग्रियो भनी प्रश्न गरेँ। बिरामी हुँदा कर्तव्य निर्वाह गरेको पीडासहित मैले वर्षौँदेखि गरेका मेरा त्याग र समर्पणहरूलाई समेत मैले परमेश्वरका अगाडि ल्याएँ, र यिनलाई पूँजी र योग्यताका रूपमा गनेँ। मैले के सोचेँ भने, मसँग कुनै ठूलो उपलब्धि नभए पनि, कम्तीमा मैले कष्ट त उठाएकी छु, र त्यसैले परमेश्वरले मसँग यस्तो व्यवहार गर्नु हुँदैन। मैले परमेश्वरसँग तर्क गरेँ, र उहाँले मसँग अन्यायपूर्ण व्यवहार गरिरहनुभएको छ भनी गुनासो गरेँ। मलाई मेरा विगतका त्यागहरूप्रति पश्चात्ताप समेत लाग्यो। म कति विद्रोही र अविवेकी थिएँ! मैले मेरा विश्वासमा गरेका वर्षौँका त्याग र समर्पणहरू त यसका बदलामा अनुग्रह र आशिष्हरू पाउनका लागि मात्र रहेछन् भन्ने देखेँ। मैले परमेश्वरमा विश्वास नगर्नेहरूको बारेमा सोचेँ। तिनीहरू परमेश्वरले दिनुभएका सबै कुरा खान्छन्, पिउँछन्, र आनन्द लिन्छन् तर तिनीहरूले न त कृतज्ञता देखाउँछन् न त स्वर्गको आराधना नै गर्छन्, र जब प्राकृतिक र मानवसृजित प्रकोपहरूको सामना गर्छन्, तिनीहरू स्वर्गको विषयमा गुनासो गर्छन् र विरोध गर्छन्। के म पनि ती अविश्वासीहरूजस्तै थिइनँ र? वास्तवमा, संसारको अन्न खाने मानिसहरू बिरामी पर्नु नितान्त सामान्य कुरा हो। मानिसले परमेश्वरमा विश्वास गर्छ कि गर्दैन भन्ने कुरासँग रोगको कुनै सरोकार हुँदैन, तैपनि मैले मेरो रोगका कारण परमेश्वरबारे गुनासो गरेँ, उहाँलाई प्रश्न गरेँ, र उहाँको विरोधमा कराएँ। मैले मसँग कुनै विवेक वा समझ नभएको देखेँ। मसँग रत्तिभर पनि परमेश्वरको डर मान्ने हृदय थिएन। म कति विद्रोही थिएँ! यो रोगले मलाई पूर्ण रूपमा प्रकट गर्यो र मेरो कद वास्तवमै कति दयनीय र सानो रहेछ भन्ने मैले देखेँ। ममा परमेश्वरप्रति कुनै बफादारी नै थिएन। यसबारे सोच्दा, मलाई गहन रूपमा दोषी महसुस भयो। त्यसपछि मलाई परमेश्वरका वचनहरू याद आयो: “मैले सुरुदेखि नै मानिसका लागि कडा मानक राखेको छु। यदि तेरो बफादारी अभिप्राय र सर्तहरूसहित आउँछ भने, बरु मलाई तेरो तथाकथित बफादारी नभएकै ठिक छ, किनभने मानिसहरूले आफ्ना अभिप्रायहरूद्वारा मलाई धोका दिने र सर्तहरू राखेर मबाट जबरजस्ती असुल्न खोज्ने कुरालाई म घृणा गर्छु। म मानिस मप्रति पूर्ण रूपमा बफादार होस्, र उसले एउटै शब्दको खातिर र त्यसलाई प्रमाणित गर्नका लागि सबै काम गरोस् भन्ने मात्र चाहन्छु: त्यो हो विश्वास। तिमीहरूले चिप्ला कुरा गरेर मलाई खुसी पार्ने प्रयास गर्दा म त्यसलाई घृणा गर्छु, किनभने मैले तिमीहरूलाई सधैँ सच्चाइका साथ व्यवहार गरेको छु, त्यसैले म तिमीहरूले पनि मप्रति साँचो विश्वासका साथ काम गर भन्ने चाहन्छु” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ साँच्चै परमेश्वरको विश्वासी होस्?)। “म कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्नैपर्छ; फोहोरीहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, फोहोरीहरूलाई पवित्र भूमि मैलो बनाउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्म खटेको हुन सक्ने भए तापनि, आखिरमा तँ अझै पनि अत्यन्तै फोहोरी हुन्छस्, र तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुन्छ! संसारको सृष्टि भएदेखि अहिलेसम्म, मेरो चापलुसी गर्नेहरूलाई मैले राज्यमा त्यति सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन!” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता व्यक्तिले हिँड्ने मार्गमा निर्भर हुन्छ)। मलाई परमेश्वरका वचनहरूमा अख्तियार र शक्ति भएको महसुस भयो, र मैले परमेश्वरको चिढ्याउन नसकिने पवित्र र धर्मी स्वभाव पनि महसुस गरेँ। स्वर्गको राज्यको ढोका परमेश्वरद्वारा सुरक्षित गरिएको छ, र अशुद्ध तथा भ्रष्टहरूलाई राज्यमा प्रवेश गर्न अनुमति दिइँदैन। परमेश्वरले कुनै पनि व्यक्तिलाई उनीहरूको श्रम वा प्रयासका कारण आफ्नो राज्यमा सहज रूपमा प्रवेश दिनुहुनेछैन। यो एउटा स्वर्गीय नियम हो जसलाई कसैले तोड्न सक्दैन। मैले मेरा वर्षौँको विश्वासबारे सोचेँ। मैले मेरा बाहिरी त्याग, समर्पण, कष्ट, र प्रयासहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्ने पूँजीका रूपमा लिएँ। मसँग परमेश्वरप्रति आधारभूत समर्पणता समेत थिएन, त्यसैले परमेश्वर मलाई घृणा नगरी कसरी बस्न सक्नुहुन्थ्यो र? परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, र उहाँले मानिसका लागि गर्नुहुने हरेक काम निष्कपट हुन्छ। परमेश्वरले मानिसहरूमा उहाँप्रति साँचो विश्वास र विशुद्ध बफादारी होस् भन्ने आशा पनि गर्नुहुन्छ, तर मेरा विश्वासका वर्षभरि, मैले सधैँ लेनदेन गर्ने अभिप्रायहरू पालेकी थिएँ र मेरा कर्तव्यहरूमा उहाँलाई धोका दिने प्रयास गरेकी थिएँ, र मेरा भ्रष्ट स्वभावहरूमा अलिकति पनि परिवर्तन आएको थिएन। कुन हिसाबले म परमेश्वरको राज्यमा प्रवेश गर्न योग्य थिएँ र? यसबारे सोच्दा, मलाई डर लाग्यो। म भाग्यमानी थिएँ, किनकि परमेश्वरले मलाई समयमै प्रकट गर्नुभयो, नत्र भने, मैले गलत दृष्टिकोणका साथ पछ्याइरहने थिएँ र म अन्त्यमा पूर्ण विनाशमा पर्ने थिएँ। म परमेश्वरप्रति साँच्चै कृतज्ञ भएँ! मैले मेरो हृदयमा मौन प्रार्थना गरेँ, “हे परमेश्वर, म कति भ्रष्ट छु। मेरो रोगको उपचार छ वा छैन भन्ने कुराको वास्ता नगरी, म यो विषय तपाईंलाई सुम्पन्छु। चाहे म बाँचुँ वा मरुँ, यो सब तपाईंको हातमा छ भन्ने म विश्वास गर्छु।” प्रार्थना गरेपछि, मैले अझ बढी राहत महसुस गरेँ।
अप्रत्याशित रूपमा, जब म समर्पित हुन इच्छुक भएँ, तब मेरो भाइ अचानक बाहिरबाट फर्कियो। मेरो अवस्थाबारे थाहा पाएपछि, उसले मलाई अस्पतालमा उपचार गराउने बन्दोबस्त गर्न धेरै दुःख गर्यो। मलाई यो कुरा विश्वास गर्नै गाह्रो भयो। त्यस्तो गम्भीर महामारीको चरम सीमामा, कुनै पनि अस्पतालमा भर्ना हुनु लगभग असम्भव थियो, त्यसैले म यति चाँडो भर्ना हुन्छु र मैले उपचार पाउँछु भन्ने मैले कहिल्यै अपेक्षा गरेकी थिइनँ। यो परमेश्वरले नै मेरा लागि बाटो खोलिदिनुभएको हो भन्ने कुरा मलाई छर्लङ्ग भयो। कृतज्ञताका आँसुसहित, मैले मेरो हृदयको गहिराइबाट परमेश्वरलाई धन्यवाद र प्रशंसा चढाएँ! जाँच गरेपछि, मलाई प्ल्यूरल इफ्युजन र क्षयरोगसम्बन्धी प्लुरिसी भएको पत्ता लाग्यो, र शल्यक्रियापछि, मेरो दाहिने फोक्सोले फेरि सामान्य रूपमा काम गर्न थाल्यो। मेरो सास फेर्ने क्रम फेरि सहज भयो, र मेरो मनोबल धेरै बढ्यो। अस्पतालमा भर्ना भएको एक हप्तापछि, अस्पतालले मलाई ट्युबरकुलस प्लुरिसीको उपचार गर्ने अर्को अस्पतालसँग सम्पर्क गर्न पनि मदत गर्यो। यसरी, दुवै रोगको उपचार एकैसाथ भयो। मेरो भाइ फर्कनु र म उपचारका लागि भर्ना हुन सक्नु वा नसक्नु सबै परमेश्वरको हातमा रहेछ भन्ने मैले देखेँ। परमेश्वरले मेरो लागि मिलाउनुभएको परिस्थिति मैले सहन सक्ने खालको थियो, र मैले परमेश्वरप्रति प्रकट गरेको चिन्ता, थोरै विश्वास, र गलत बुझाइहरूप्रति मलाई पश्चात्ताप लाग्यो। एक महिनापछि, म अस्पतालबाट डिस्चार्ज भएँ। मैले मेरो मण्डलीको जीवन पुनः सुरु गरेँ, र फेरि आफ्नो कर्तव्य निर्वाह गर्न थालेँ।
यो रोगमार्फत, परमेश्वरले गर्नुहुने सबै काम अर्थपूर्ण हुन्छन् र तिनमा परमेश्वरका श्रमसाध्य अभिप्रायहरू हुन्छन् भन्ने कुरा मैले बुझेँ। मैले सहेको कष्ट मेरो गहिरो भ्रष्टताका कारण आएको थियो, र यो मप्रति परमेश्वरको शुद्धिकरण र मुक्ति पनि थियो। यदि यो रोग नलागेको भए र म मृत्यु नजिक नआएको भए, आशिष्हरू खोज्ने मेरा अभिप्रायहरू कति गम्भीर थिए भन्ने कुरा मैले महसुस गर्ने थिइनँ, र म कष्ट भोगिरहेकी छु र मूल्य चुकाइरहेकी छु जस्तो देखिने भ्रमद्वारा धोकामा परिरहने थिएँ। परमेश्वरका वचनहरूको प्रकटीकरण र न्यायले नै मलाई मेरो विश्वासमा रहेको स्वार्थ, घृणास्पदपन, र अशुद्धता देख्न सक्षम बनायो, र यसले मलाई पछ्याउनका लागि सही लक्ष्य र दिशा प्राप्त गर्न, र आशिष्हरू खोज्ने मेरो अभिप्रायलाई केही हदसम्म त्याग्न सक्षम बनायो। अहिले म लगभग सामान्य रूपमा बाँच्न र काम गर्न सक्छु, र मेरो अवस्था कहिलेकाहीँ बल्झिए पनि, यो मैले सहनुपर्ने कष्ट हो भन्ने मलाई थाहा छ, र म भित्रैदेखि समर्पित हुन सक्छु। म अब परमेश्वरले मलाई स्वास्थ्य दिनुहुन्छ भन्ने अपेक्षा गर्दिनँ, र म मेरो शारीरिक अवस्थाअनुसार आफ्नो क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य पनि निर्वाह गर्न सक्छु। मेरो रोग पूर्ण रूपमा निको हुन सक्छ वा सक्दैन भन्ने कुराको वास्ता नगरी, म लगनशीलतापूर्वक सत्यता पछ्याउनेछु, स्वभावमा परिवर्तन खोज्नेछु, र आफ्नो कर्तव्य पूरा गर्नेछु।