परमेश्वरका अभिप्रायहरूअनुसार कसरी सेवा गर्ने
जब कुनै व्यक्तिले परमेश्वरमा विश्वास गर्छ, तब उसले सटीक रूपले उहाँको सेवा कसरी गर्नुपर्छ त? परमेश्वरको सेवा गर्नेहरूले के-कस्ता सर्तहरू पूरा गर्नुपर्छ र कुन-कुन सत्यताहरू बुझ्नुपर्छ? अनि तिमीहरूको सेवामा के-कस्ता विचलनहरू रहेका छन्? तिमीहरूले यी सबै कुराहरूको उत्तर जान्नुपर्छ। यी विषयहरूले तिमीहरू परमेश्वरमा कसरी विश्वास गर्छौ, अनि पवित्र आत्माले डोऱ्याउनुहुने मार्गमा कसरी हिँड्छौ र यावत् थोकमा परमेश्वरलाई तिमीहरूलाई योजनाबद्ध गर्न दिन्छौ भन्ने कुरालाई छुन्छन्, अनि तिनले तिमीहरूलाई तिमीहरूमा हुने परमेश्वरको कामको हरेक कदम बुझाउँछन्। जब तिमीहरू त्यस बिन्दुमा पुग्छौ, तब तिमीहरूले परमेश्वरमा विश्वास गर्नु भनेको के हो, परमेश्वरमा कसरी सही प्रकारले विश्वास गर्ने, र परमेश्वरको अभिप्रायसित एकतामा काम गर्नका निम्ति तिमीहरूले के गर्नुपर्छ त्यो बुझ्नेछौ। यसले तिमीहरूलाई परमेश्वरको कामप्रति पूरा र सम्पूर्ण रूपमा आज्ञाकारी बनाउनेछ; तिमीहरूमा कुनै गुनासो हुनेछैन, तिमीहरूले आलोचना गर्नेछैनौ, वा विश्लेषण गर्नेछैनौ, परमेश्वरको कामको खोजको कुरा त परै छाडौं। यसरी, तिमीहरूले आफूलाई डोर्याएर भेडालाई जस्तै मार्ने अनुमति परमेश्वरलाई दिँदै मृत्युसम्मै परमेश्वरमा समर्पित हुनेछौ, यसरी तिमीहरू सबै १९९० को दसकका पत्रुसहरू बन्न सक्नेछौ अनि अलिकति पनि गुनासो नगरी, क्रूसमा चढ्नुपऱ्यो भने पनि परमेश्वरलाई प्रेम गर्न सक्नेछौ। तब मात्र तिमीहरू १९९० को दसकका पत्रुसहरू जस्तो भएर जिउन सक्नेछौ।
सङ्कल्प भएका सबैले परमेश्वरको सेवा गर्न सक्छन्—तर परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्ने र बुझ्नेहरू मात्र परमेश्वरको सेवा गर्न योग्य र हकदार हुन्छन्। मैले तिमीहरूमाझ यो कुरा पत्ता लगाएको छु: धेरै मानिस के विश्वास गर्छन् भने यदि तिनीहरू परमेश्वरका लागि जोसका साथ मार्गको प्रचार गर्ने, परमेश्वरका लागि दौडधुप गर्ने, परमेश्वरप्रति आफूलाई अर्पण गर्ने र उहाँका लागि कुराहरू त्याग्ने, आदि गर्छन् भने, यो परमेश्वरको सेवा गर्नु हो। अधिकांश धार्मिक मानिसहरू परमेश्वरको सेवा गर्नु भनेको हातमा बाइबल लिएर यताउता दौडनु, स्वर्गको राज्यको सुसमाचार प्रचार गर्नु र मानिसहरूलाई पश्चात्ताप गर्न र पाप स्वीकार गर्न लगाएर मुक्ति दिनु हो भन्ने विश्वास गर्छन्। त्यस्ता धार्मिक अधिकारीहरू पनि धेरै छन् जसले सेमिनरीमा उच्च अध्ययन र तालिम लिएपछि गिर्जाघरहरूमा प्रचार गर्नु, र बाइबलका पदहरू पढेर मानिसहरूलाई सिकाउनु नै परमेश्वरको सेवा गर्नु हो भन्ने सोच्छन्। यसबाहेक, गरिब क्षेत्रहरूमा यस्ता मानिसहरू छन् जो परमेश्वरको सेवा गर्नु भनेको आफ्ना दाजुभाइ-दिदीबहिनीहरूमाझ बिरामीहरूलाई निको पार्नु र पिशाचहरू निकाल्नु, तिनीहरूका लागि प्रार्थना गर्नु, र तिनीहरूको सेवा गर्नु हो भन्ने विश्वास गर्छन्। तिमीहरूमध्ये, यस्ता धेरै छन् जो परमेश्वरको सेवा गर्नु भनेको हरेक दिन परमेश्वरका वचनहरू खानु र पिउनु र परमेश्वरलाई प्रार्थना गर्नु, साथै जताततै मण्डलीहरूको भ्रमण गर्नु र त्यहाँ काम गर्नु हो भन्ने विश्वास गर्छन्। अरू दाजुभाइ-दिदीबहिनीहरू पनि छन् जो परमेश्वरको सेवा गर्नु भनेको कहिल्यै विवाह नगर्नु वा घरजम नगर्नु र आफ्नो सम्पूर्ण सत्त्व परमेश्वरलाई समर्पित गर्नु हो भन्ने विश्वास गर्छन्। तैपनि परमेश्वरको सेवा गर्नुको वास्तविक अर्थ थोरै मानिसलाई मात्र थाहा छ। हुन त परमेश्वरको सेवा गर्ने मानिसहरूको सङ्ख्या आकाशका ताराहरूको जति नै छ, तर सिधै सेवा गर्न सक्ने, र परमेश्वरका अभिप्रायहरूअनुरूप सेवा गर्न सक्षम हुनेहरूको सङ्ख्या नगण्य—अत्यन्तै कम—छ। म किन यसो भन्छु? म यसो भन्छु किनभने तिमीहरू “परमेश्वरको सेवा गर्नु” भन्ने वाक्यांशको सार बुझ्दैनौ, र तिमीहरू परमेश्वरका अभिप्रायहरूअनुरूप कसरी सेवा गर्ने भन्ने कुरा अत्यन्तै कम बुझ्छौ। परमेश्वरप्रतिको कस्तो प्रकारको सेवा ठ्याक्कै उहाँका अभिप्रायहरूअनुरूप हुन्छ भन्ने कुरा मानिसहरूले तुरुन्तै बुझ्न आवश्यक छ।
यदि तिमीहरू परमेश्वरका अभिप्रायहरूअनुरूप सेवा गर्न चाहन्छौ भने, तिमीहरूले पहिले कस्ता मानिसहरू परमेश्वरलाई मन पर्छन्, कस्ता मानिसहरूलाई परमेश्वरले घृणा गर्नुहुन्छ, कस्ता मानिसहरू परमेश्वरद्वारा सिद्ध पारिन्छन्, र कस्ता मानिसहरू परमेश्वरको सेवा गर्न योग्य हुन्छन् भन्ने कुरा बुझ्नैपर्छ। कम्तीमा पनि, तिमीहरू यो ज्ञानले सुसज्जित हुनुपर्छ। अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्वरको कामको उद्देश्य, र परमेश्वरले वर्तमानमा गर्ने काम जान्नुपर्छ। यो बुझेपछि, र परमेश्वरका वचनहरूको मार्गदर्शनमार्फत, तिमीहरूले पहिले प्रवेश गर्नुपर्छ, र पहिले परमेश्वरको आज्ञा स्वीकार गर्नुपर्छ। जब तिमीहरूले परमेश्वरका वचनहरूको व्यावहारिक अनुभव पाएका हुन्छौ, र जब तिमीहरू परमेश्वरको कामलाई साँचो रूपमा चिन्छौ, तब तिमीहरू परमेश्वरको सेवा गर्न योग्य हुनेछौ। अनि जब तिमीहरू उहाँको सेवा गर्छौ तब परमेश्वरले तिमीहरूको आत्मिक आँखा खोलिदिनुहुनेछ र तिमीहरूलाई उहाँको कामको अझ ठूलो बुझाइ प्राप्त गर्न र यसलाई अझ स्पष्ट रूपमा देख्न सम्भव तुल्याउनुहुनेछ। जब तँ यस वास्तविकतामा प्रवेश गर्छस्, तेरा अनुभवहरू अझ गहन र व्यावहारिक हुनेछन्, र त्यस्ता अनुभवहरू प्राप्त गरेका तिमीहरू सबै जना मण्डलीहरूमाझ हिँड्न र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई भरणपोषण प्रदान गर्न सक्षम हुनेछौ, ताकि तिमीहरू प्रत्येकले एक-अर्काका सबलताहरूबाट सिकेर आफ्ना कमीकमजोरीहरू पूर्ति गर्न सक, र आफ्नो आत्मामा अझ समृद्ध ज्ञान प्राप्त गर्न सक। यो प्रभाव हासिल गरेपछि मात्र तिमीहरू परमेश्वरका अभिप्रायहरूअनुरूप सेवा गर्न सक्षम हुनेछौ र आफ्नो सेवाको क्रममा परमेश्वरद्वारा सिद्ध पारिनेछौ।
जो परमेश्वरको सेवा गर्छन् तिनीहरू परमेश्वरका घनिष्ठ मानिस हुनुपर्छ, तिनीहरू परमेश्वरलाई खुसी पार्ने खालका, र परमेश्वरप्रति एकनिष्ठ बफादारी देखाउन सक्ने हुनुपर्छ। मानिसहरूको निजी रूपमा होस् वा सार्वजनिक रूपमा, परमेश्वरको उपस्थितिमा तेरा कार्यहरूले उहाँलाई खुसी पार्न सक्नुपर्छ, र ती सबै उहाँसामु दृढ रहन सक्नुपर्छ; अरू मानिसले तँलाई जे-जस्तो व्यवहार गरे पनि, परमेश्वरको बोझलाई ख्याल गर्न तैँले सधैँ आफू हिँड्नुपर्ने मार्गमा हिँड्नुपर्छ। यस्ता मानिसहरू मात्र परमेश्वरका घनिष्ठ मानिस हुन्। परमेश्वरका घनिष्ठ मानिसहरूले सिधै उहाँको सेवा गर्न सक्नुको कारण के हो भने तिनीहरूलाई परमेश्वरको महान् आज्ञा र परमेश्वरको बोझ दिइएको हुन्छ, तिनीहरू परमेश्वरको हृदयलाई आफ्नै बनाउन, र परमेश्वरको बोझलाई आफ्नै बोझको रूपमा लिन सक्छन्, र तिनीहरू आफ्ना भविष्यका सम्भावनाहरूको लाभ वा क्षतिलाई कुनै ख्याल गर्दैनन्—तिनीहरूका सम्भावनाहरूमा तिनीहरूसँग केही पनि नहुने, र तिनीहरूले केही पनि प्राप्त नगर्ने अवस्था हुँदा समेत, तिनीहरू सधैँ परमेश्वरलाई प्रेम गर्ने हृदयले परमेश्वरमा विश्वास गर्नेछन्। त्यसैले, यस प्रकारको व्यक्ति परमेश्वरको घनिष्ठ व्यक्ति हो। परमेश्वरका घनिष्ठ मानिसहरू उहाँका विश्वासपात्र पनि हुन्; परमेश्वरका विश्वासपात्रहरूले मात्र उहाँको हतारो, र उहाँका विचारहरू बुझ्न सक्छन्, र तिनीहरूको देह पीडादायी र कमजोर भए पनि, तिनीहरू परमेश्वरलाई सन्तुष्ट पार्नका लागि पीडा सहन र आफूले प्रेम गर्ने कुरालाई छोड्न सक्षम हुन्छन्। परमेश्वरले त्यस्ता मानिसहरूलाई बढी बोझ दिनुहुन्छ, र परमेश्वर जे गर्न चाहनुहुन्छ त्यो त्यस्ता मानिसहरूको गवाहीमा प्रमाणित हुन्छ। यसर्थ, यी मानिसहरू परमेश्वरलाई मन पर्ने हुन्छन्, तिनीहरू परमेश्वरको सेवा गर्ने र उहाँका अभिप्रायहरूअनुरूप हुने मानिस हुन्, र यस्ता मानिसहरूले मात्र परमेश्वरसँगै राजाका रूपमा शक्ति हातमा लिन सक्छन्। जब तँ साँचो रूपमा परमेश्वरको घनिष्ठ व्यक्ति बन्छस्, ठीक त्यही बेला तैँले परमेश्वरसँगै राजाका रूपमा शक्ति हातमा लिनेछस्।
येशूले परमेश्वरको आज्ञा—सम्पूर्ण मानवजातिको छुटकाराको काम—पूरा गर्न सक्नुभयो किनभने उहाँले आफ्ना लागि कुनै योजना वा प्रबन्ध नगरी, परमेश्वरका अभिप्रायहरूको ख्याल गर्न सक्नुभयो। उहाँ परमेश्वरको—परमेश्वर स्वयम्को—घनिष्ठ हुनुहुन्थ्यो, जुन तिमीहरू सबैले राम्रोसँग बुझेको कुरा हो। (वास्तवमा, उहाँ परमेश्वरद्वारा गवाही दिइनुभएका परमेश्वर स्वयम् हुनुहुन्थ्यो। म यस समस्यालाई चित्रण गर्न येशूको तथ्य प्रयोग गर्नका लागि यहाँ यो कुरा उल्लेख गर्दै छु।) उहाँले परमेश्वरको व्यवस्थापनको योजनालाई एकदमै केन्द्रमा राख्न सक्नुभयो, र सधैँ स्वर्गमा हुनुहुने पितालाई प्रार्थना गर्नुभयो र स्वर्गमा हुनुहुने पिताको इच्छा खोज्नुभयो। उहाँले प्रार्थना गर्नुभयो र भन्नुभयो, “हे परमेश्वर पिता! तपाईँको इच्छा जे हो त्यो पूरा गर्नुहोस्, र मेरा चाहनाहरूअनुसार नभई तपाईँको योजनाअनुसार कार्य गर्नुहोस्। मानिस कमजोर भए तापनि, तपाईँले उसको किन वास्ता गर्नुपर्छ र? तपाईँको हातमा भएको कमिलाजस्तो मानिस तपाईँको चिन्ताको योग्य कसरी हुन सक्छ र? म आफ्नो हृदयमा तपाईँको इच्छा पूरा गर्न मात्र चाहन्छु, र म चाहन्छु कि तपाईँले ममा आफ्नै चाहनाहरूअनुसार जे गर्न चाहनुहुन्छ त्यो पूरा गर्नुहोस्।” यरूशलेम जाने बाटोमा, येशू वेदनामा हुनुहुन्थ्यो, मानौँ उहाँको हृदयमा छुरी घुमाइँदै थियो, तैपनि उहाँमा पछि हट्ने अलिकति पनि अभिप्राय थिएन; उहाँलाई क्रूसमा टाँगिने ठाउँतर्फ अघि बढ्न बाध्य पार्ने एउटा शक्तिशाली बल सधैँ थियो। उहाँ अन्ततः क्रूसमा टाँगिनुभयो र पापी देहको स्वरूप बन्नुभयो, र मानवजातिको छुटकाराको काम पूरा गर्नुभयो। उहाँ मृत्यु र पातालका सबै बन्धनभन्दा माथि उठ्नुभयो। उहाँको अघि, मृत्यु, नरक, र पातालले आफ्नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए। उहाँ तेत्तिस वर्षसम्म जिउनुभयो, र त्यस अवधिभरि उहाँले सधैँ त्यस समयको परमेश्वरको कामअनुसार परमेश्वरका अभिप्रायहरू पूरा गर्न आफ्नो सक्दो प्रयास गर्नुभयो, आफ्नो व्यक्तिगत लाभ वा हानिको कहिल्यै ख्याल गर्नुभएन, र सधैँ परमेश्वर पिताका अभिप्रायहरूका खातिर योजनाहरू बनाउनुभयो। त्यसैले, परमेश्वरले बप्तिस्मा लिएपछि, उहाँले भन्नुभयो, “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” परमेश्वरका अभिप्रायहरूअनुसार भएको परमेश्वरप्रतिको उहाँको सेवाका कारण, परमेश्वरले सम्पूर्ण मानवजातिलाई छुटकारा दिने भारी बोझ उहाँको काँधमा राख्नुभयो र उहाँलाई त्यो पूरा गर्न लगाउनुभयो, र उहाँ यो महत्त्वपूर्ण काम पूरा गर्न योग्य र हकदार हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनभरि परमेश्वरका लागि असीमित कष्ट सहनुभयो, र उहाँलाई शैतानद्वारा अनगिन्ती पटक प्रलोभनमा पार्यो, तर उहाँ कहिल्यै निराश हुनुभएन। परमेश्वरले उहाँलाई यस्तो महत्त्वपूर्ण काम दिनुभयो किनभने उहाँ उहाँलाई भरोसा गर्नुहुन्थ्यो, र उहाँलाई प्रेम गर्नुहुन्थ्यो, त्यसैले परमेश्वरले व्यक्तिगत रूपमा भन्नुभयो, “यो मेरो प्रिय पुत्र हो, जसप्रति म अति प्रसन्न छु।” त्यस समयमा, येशू मात्र यो आज्ञा पूरा गर्न सक्नुहुन्थ्यो, र यो अनुग्रहको युगमा सम्पूर्ण मानवजातिलाई छुटकारा दिने परमेश्वरको कामको पूर्णताका वास्तविक परिस्थितिहरूको एउटा पक्ष थियो।
यदि तिमीहरू येशूजस्तै परमेश्वरको बोझको ख्याल गर्न, र आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्षम छौ भने, परमेश्वरले आफ्नो भारी जिम्मेवारी तिमीहरूलाई सुम्पनुहुनेछ, ताकि तिमीहरूले परमेश्वरको सेवा गर्न आवश्यक सर्तहरू पूरा गर्नेछौ। यस्ता परिस्थितिहरूमा मात्र तिमीहरूले आफू परमेश्वरको इच्छा पछ्याउने व्यक्ति, परमेश्वरको आज्ञा पूरा गर्ने व्यक्ति, र साँचो रूपमा परमेश्वरको सेवा गर्ने व्यक्ति रहेको भनेर भन्ने आँट गर्नेछौ। येशूको उदाहरणसँग तुलना गर्दा, के तँ आफूलाई परमेश्वरको घनिष्ठ भन्ने आँट गर्छस्? के तँ आफूलाई परमेश्वरको इच्छा पछ्याउने व्यक्ति भन्ने आँट गर्छस्? के तँ आफूलाई साँचो रूपमा परमेश्वरको सेवा गर्ने व्यक्ति भन्ने आँट गर्छस्? आज, तँलाई परमेश्वरको सेवा कसरी गर्ने भन्ने थाहा छैन, के तँ आफूलाई परमेश्वरको घनिष्ठ भन्ने आँट गर्छस्? यदि तैँले आफूलाई परमेश्वरको सेवा गर्ने व्यक्ति भन्छस् भने, के तँ उहाँको निन्दा गर्दैनस् र? यसबारे सोच: तँ परमेश्वरको सेवा गरिरहेको छस् कि आफ्नै? तँ शैतानको सेवा गर्छस्, तैपनि हठी भई आफूले परमेश्वरको सेवा गरिरहेको भनेर भन्छस्—यसमा, के तँ परमेश्वरको निन्दा गर्दैनस् र? धेरै मानिस—मेरो पिठ्यूँपछाडि—हैसियतका फाइदाहरूमा रमाउँछन्; तिनीहरू खानामा लिप्त हुन्छन्, तिनीहरू सुत्न मन पराउँछन्, र तिनीहरू देहको हरेक ख्याल राख्छन्, अनि देहका लागि कुनै निस्कने बाटो छैन कि भनेर सधैँ डराउँछन्। तिनीहरू मण्डलीमा आफ्नो भूमिका राम्ररी पूरा गर्दैनन्, तर मण्डलीको भरमा बाँच्छन्, अन्यथा तिनीहरू मेरा वचनहरू प्रयोग गरेर आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई उपदेश दिन्छन्, अनि माथिबाट अरूलाई नियन्त्रित गर्छन्। यी मानिसहरू आफूलाई परमेश्वरको इच्छा पछ्याउने मानिस भनिरहन्छन् र सधैँ आफूलाई परमेश्वरका घनिष्ठ भन्छन्—के यो बेतुके होइन र? यदि तेरो मनसाय सही छ, तर तँ परमेश्वरका अभिप्रायहरूअनुसार सेवा गर्न असक्षम छस् भने, तँ मूर्ख भइरहेको छस्; तर यदि तेरो मनसाय सही छैन, र तँ अझै पनि आफूलाई परमेश्वरको सेवा गर्ने व्यक्ति भन्छस् भने, तँ परमेश्वरको विरोध गर्ने व्यक्ति होस्, र तँ परमेश्वरद्वारा दण्डित हुनुपर्छ! मलाई त्यस्ता मानिसहरूप्रति कुनै सहानुभूति छैन! तिनीहरू परमेश्वरको घरमा अरूको भरमा बाँच्छन्, सधैँ देहसुखमा लिप्त हुन्छन्, र परमेश्वरका हितहरूलाई कुनै वास्ता गर्दैनन्। तिनीहरू सधैँ व्यक्तिगत फाइदा खोज्छन्, र परमेश्वरका अभिप्रायहरूमा ध्यान दिँदैनन्। तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा परमेश्वरका आत्माको छानबिन स्वीकार गर्न सक्दैनन्। तिनीहरू कुटिल र छली भएर सधैँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई ठगिरहेका हुन्छन्, र तिनीहरू दुईमुखे हुन्छन्। तिनीहरू दाखबारीको फ्याउरोजस्तै हुन्छन्, सधैँ दाख चोर्छन् र दाखबारी नष्ट गर्छन्। के त्यस्ता मानिसहरू परमेश्वरका घनिष्ठ हुन सक्छन्? के तँ परमेश्वरका आशिष्हरू उत्तराधिकारमा प्राप्त गर्न योग्य छस्? तँ आफ्नो जीवन र मण्डलीका लागि कुनै बोझ लिँदैनस्, के तँ परमेश्वरको आज्ञा प्राप्त गर्न योग्य छस्? तँजस्तो व्यक्तिलाई कसले भरोसा गर्ने आँट गर्छ र? जब तँ यसरी सेवा गर्छस्, तब के परमेश्वर तँलाई अझ ठूलो काम सुम्पन सक्नुहुन्छ र? के यसले काममा ढिलाइ गराउँदैन र?
म तिमीहरू परमेश्वरका अभिप्रायहरूअनुसार सेवा गर्नका लागि कुन-कुन सर्तहरू पूरा गर्नैपर्छ भनी जान्न सक भनेर यो कुरा भन्छु। यदि तिमीहरू आफ्नो हृदय परमेश्वरलाई दिँदैनौ भने, यदि तिमीहरू येशू जस्तै परमेश्वरका अभिप्रायहरूको ख्याल गर्दैनौ भने, तिमीहरूलाई परमेश्वरको भरोसा प्राप्त गर्न गाह्रो हुनेछ, र तिमीहरू अन्ततः परमेश्वरद्वारा न्याय गरिनेछौ। तँ सायद आज परमेश्वरप्रतिको आफ्नो सेवामा सधैँ परमेश्वरलाई छल गर्ने मनसाय पाल्छस् र सधैँ उहाँसँग झाराटारुवा तरिकाले व्यवहार गर्छस्। छोटकरीमा भन्दा, जेसुकै भए पनि, यदि तँ परमेश्वरलाई छल गर्छस भने, तँमाथि निर्मम न्याय आइपर्नेछ। अहिले, तिमीहरू परमेश्वरको सेवा गर्ने सही मार्गमा भर्खरै प्रवेश गरेको बेला, पहिले आफ्नो हृदय परमेश्वरलाई देऊ; तिमीहरूमा विभाजित हृदय हुनु हुँदैन। तँ परमेश्वरको अघि भए पनि, वा अरू मानिसहरूको अघि भए पनि, तेरो हृदय सधैँ परमेश्वरतर्फ फर्केको हुनुपर्छ, र तँमा येशूले जस्तै परमेश्वरलाई प्रेम गर्ने सङ्कल्प हुनुपर्छ। यसरी, परमेश्वरले तँलाई सिद्ध पार्नुहुनेछ, ताकि तँ परमेश्वरको सेवा गर्ने र उहाँका अभिप्रायहरूसँग मिल्ने व्यक्ति बन्न सकेस्। यदि तँ साँच्चै परमेश्वरद्वारा सिद्ध पारिन चाहन्छस्, र तेरो सेवा उहाँका अभिप्रायहरूअनुसार होस् भन्ने चाहन्छस् भने, तैँले परमेश्वरमाथिको आस्थाबारे तेरा अघिल्ला दृष्टिकोणहरू परिवर्तन गर्नुपर्छ, र परमेश्वरको सेवा गर्ने तेरा पुराना अभ्यासहरू परिवर्तन गर्नुपर्छ, ताकि तेरो अझ धेरै भाग परमेश्वरद्वारा सिद्ध पारियोस्। यसरी, परमेश्वरले तँलाई त्याग्नुहुनेछैन, र, तँ पत्रुसजस्तै परमेश्वरलाई प्रेम गर्नेहरूको अग्रदस्तामा हुनेछस्। यदि तँ अपश्चात्तापी रहन्छस् भने, तैँले यहूदाको जस्तै परिणाम भोग्नेछस्। परमेश्वरमा विश्वास गर्ने सबैले यो कुरा बुझ्नुपर्छ।