सामान्य स्थितिमा कसरी प्रवेश गर्ने

मानिसहरूले परमेश्‍वरका वचनहरू जति धेरै ग्रहण गर्छन्, उनीहरूले त्यति नै धेरै अन्तर्दृष्टि प्राप्त गर्छन् र परमेश्‍वरलाई चिन्ने आफ्‍नो खोजीमा तिनीहरू त्यति नै धेरै भोकाउँछन् र तिर्खाउँछन्। परमेश्‍वरका वचनहरू स्वीकार गर्नेहरू मात्र सम्‍पन्‍न र अझै गहन अनुभवहरू प्राप्त गर्न सक्‍ने हुन्छन्, र तिनीहरूको जीवन मात्र तिलका फूलझैँ निरन्तर फक्रिँदै जान सक्छ। जीवनको पछि लाग्ने सबैले यसलाई आफ्नो पूर्णकालीन कामको रूपमा लिनुपर्छ; तिनीहरूले “परमेश्‍वरविना, म जिउन सक्दिनँ; परमेश्‍वरविना, म कुनै काम गर्न सक्दिनँ; परमेश्‍वरविना, सबै थोक रित्तो छन्” भन्‍ने अनुभूति गर्नुपर्दछ। यसकारण, तिनीहरूले यो पनि सङ्कल्प गर्नुपर्दछ, “पवित्र आत्माको उपस्थितिविना म केही गर्नेछैनँ, यदि परमेश्‍वरका वचनहरू पढ्दा त्यसले कुनै प्रभाव परेन भने, म कुनै पनि कुरा गर्न उदासीन हुन्छु।” तिमीहरूले आफैलाई लिप्त नबनाओ। जीवनसम्बन्धी अनुभवहरू परमेश्‍वरले प्रदान गर्नुभएको अन्तर्ज्ञान र मार्गदर्शनबाट आउँछन्, र ती तिमीहरूका व्यक्तिपरक प्रयत्नहरूमा छर्लङ्ग देखिने हुन्छन्। तिमीहरूले आफ्ना लागि यो माग गर्नुपर्छ: “जब जीवनका अनुभवको कुरा आउँछ, मैले बहाना गरेर हुँदैन।”

कहिलेकाहीँ, असामान्य परिस्थितिहरूमा, तैँले परमेश्‍वरको उपस्थिति गुमाउँछस्, र प्रार्थना गर्दा परमेश्‍वरको अनुभूति गर्न सक्दैनस्। त्यस्तो समयमा, डरको अनुभव गर्नु सामान्य कुरा हो। तैँले तत्कालै खोजी गर्न सुरु गर्नुपर्दछ। यदि तैँले खोजी गरिनस् भने, परमेश्‍वर तँबाट टाढा हुनुहुनेछ र तँ एक दिन, दुई दिन, एक महिना वा दुई महिनासम्म पनि पवित्र आत्माको उपस्थिति, साथै पवित्र आत्माको कामविना नै रहनेछस्। यस्ता परिस्थितिहरूमा, तँ एकदमै अविश्‍वसनीय रूपले चेतनाशून्य बन्छस् र फेरि पनि शैतानको कैदी बन्छस्, यहाँसम्‍म कि तँ सबै प्रकारका खराबी गर्न सक्‍ने बन्छस्। तैँले धनसम्पत्तिको लोभ गर्छस्, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई धोका दिन्छस्, चलचित्र र भिडियोहरू हेर्छस्, जुवातास खेल्छस् र अनुशासनहीन भई धुम्रपान र मद्यपान पनि गर्छस्। तेरो हृदय परमेश्‍वरबाट टाढा भइसकेको हुन्छ, तँ गोप्य रूपमा आफ्नै बाटोमा गइसकेको हुन्छस् र तैँले स्वेच्छाचारी रूपमा परमेश्‍वरको कामलाई आलोचना गरेको हुन्छस्। कतिपय अवस्थाहरूमा, मानिसहरू यति तल गिरेका हुन्छन् कि तिनीहरू यौनजन्य प्रकृतिका पापहरू गर्न समेत कुनै लाज वा सङ्कोच मान्दैनन्। यस्तो व्यक्ति पवित्र आत्माले त्याग्‍नुभएको हुन्छ; वास्तवमा, त्यस्तो व्यक्तिमा पवित्र आत्माको काम लामो समयदेखि अनुपस्थित रहेको हुन्छ। त्यस्ता मानिसहरूलाई दुष्टका हातले अझ धेरै तानिरहेको बेला तिनीहरू भ्रष्टताको झन् गहिराइमा डुबेको मात्र देखिन्छ। अन्त्यमा, तिनीहरूले यस मार्गको अस्तित्वलाई अस्वीकार गर्दछन्, र तिनीहरूले पाप गरेका हुनाले शैतानले तिनीहरूलाई बन्दी बनाएको हुन्छ। यदि तैँले आफूसँग केवल पवित्र आत्माको उपस्थिति मात्र छ, तर पवित्र आत्माको कामको चाहिँ अभाव छ भनेर थाहा पाइस् भने, त्यो खतरनाक अवस्था हो। जब तैँले पवित्र आत्माको उपस्थिति पनि महसुस गर्न सक्दैनस्, तब तँ मृत्युको मुखमा हुन्छस्। यदि तैँले पश्‍चात्ताप गरिनस् भने, तँ पूर्णतया शैतानकहाँ फर्किसकेको हुनेछस्, र तँ हटाइएकाहरूमध्ये एक हुनेछस्। यसकारण, जब तैँले आफू पवित्र आत्माको उपस्थिति मात्रै हुने यस्तो स्थितिमा रहेको, (तैँले पाप गर्दैनस्, आफूलाई नियन्त्रणमा राख्छस् र परमेश्‍वरको स्पष्ट प्रतिरोधमा केही गर्दैनस्) तर तँसँग पवित्र आत्माको कामको अभाव रहेको (प्रार्थना गर्दा तँ भावुक रूपमा प्रभावित भएको अनुभव गर्दैनस्, तैँले परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, स्पष्ट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्दैनस्, तँ परमेश्‍वरका वचनहरू खाने र पिउने कुरामा अनिच्छुक हुन्छस्, तेरो जीवनमा कहिल्यै कुनै वृद्धि हुँदैन र तँ लामो समयदेखि ठूलो ज्योतिबाट वञ्चित छस्) थाहा पाउँछस्—यस्तो समयमा, तँ धेरै सतर्क हुनैपर्दछ। तैँले आफूलाई लिप्त बनाउनु हुँदैन, तैँले उप्रान्त आफ्नो चरित्रलाई स्वतन्त्र छोड्नु हुँदैन। पवित्र आत्माको उपस्थिति जुनसुकै बखत पनि हराउन सक्छ। त्यसैले त यस्तो स्थिति निकै खतरनाक हुन्छ। यदि तँ यस्तो स्थितिमा पुगिस् भने, जतिसक्दो चाँडो अवस्था बदल्ने प्रयत्न गर्। सर्वप्रथम, तैँले पश्‍चात्तापको प्रार्थना गर्नुपर्दछ र परमेश्‍वरलाई तँमाथि उहाँको कृपा एक पटक फेरि बढाइदिन आग्रह गर्नुपर्दछ। अझ धेरै उत्साहका साथ प्रार्थना गर्, परमेश्‍वरका वचनहरू अझ धेरै खान र पिउन तेरो हृदयलाई शान्त बना। यसलाई जग बनाएर, तैँले धेरै समय प्रार्थना गर्नुपर्छ; गाउन, प्रार्थना गर्न, परमेश्‍वरका वचनहरू खान र पिउन अनि आफ्नो कर्तव्य पूरा गर्नमा दुई गुणा प्रयत्न गर्। तँ जब आफ्नो सबैभन्दा कमजोर अवस्थामा हुन्छस्, तब तेरो हृदयलाई सबैभन्दा सजिलोसँग शैतानले अधीनमा लिन्छ। जब त्यसो हुन्छ, तेरो हृदय परमेश्‍वरबाट लिइन्छ र शैतानलाई फिर्ता दिइन्छ, त्यसपछि तँ पवित्र आत्माको उपस्थितिरहित रहन्छस्। त्यस्तो समयमा, पवित्र आत्माको काम पुनः प्राप्त गर्न दुई गुणा कठिन हुन्छ। पवित्र आत्मा अझै तँसँगै हुनुहुँदा उहाँको काम खोजी गर्नु धेरै उपयुक्त हुन्छ, जसले गर्दा परमेश्‍वरले तँमाथि अझै बढी उहाँको अन्तर्दृष्टि प्रदान गर्नुहुनेछ र उहाँले तँलाई त्याग्‍नुहुनेछैन। प्रार्थना गर्ने, भजनहरू गाउने, तेरो कार्य पूरा गर्ने र परमेश्‍वरका वचनहरू खाने र पिउने कार्य—यी सबै काम शैतानले आफ्‍नो काम गर्ने कुनै अवसर नपाओस्, पवित्र आत्माले तँभित्र काम गरिरहनुभएको होस् भनेर गरिन्छ। यदि तैँले यसरी पवित्र आत्माको काम पुनः प्राप्त गर्दैनस् र केवल पर्खेर मात्र बस्छस् भने, पवित्र आत्माले तँलाई विशेष रूपमा छुनुभयो वा विशेष रूपमा ज्योति र अन्तर्दृष्टि प्रदान गर्नुभयो भने मात्रै पवित्र आत्माको उपस्थिति फेरि प्राप्त गर्न सहज हुनेछ, नत्र भने पवित्र आत्माको उपस्थिति गुमाएको बेला तैँले उहाँको उपस्थिति फेरि प्राप्त गर्नु सहज हुनेछैन। तैपनि, तेरो स्थिति सुध्रिन एक-दुई दिन मात्र लाग्दैन; कहिलेकाहीँ त कुनै सुधारविना नै छ महिना समेत बित्न सक्छ। किनभने मानिसहरूले आफूलाई धेरै सहज रूपमा लिन्छन्, तिनीहरूले सामान्य तरिकाले परिस्थिति अनुभव गर्न पनि सक्दैनन्, त्यसरी पवित्र आत्माद्वारा त्यागिन्छन्। तैँले पवित्र आत्माको काम पुनः प्राप्त गरिस् भने पनि, परमेश्‍वरको वर्तमान काम तँलाई अझै स्पष्ट नहुन सक्छ, किनभने तँ आफ्‍नो जीवन अनुभवमा धेरै पछाडि परेको हुन्छस्, मानौं तँ दशौं हजार माइल पछाडि परेको छस्। के यो भयानक कुरा होइन र? तैपनि म त्यस्ता मानिसहरूलाई भन्छु, अहिले पश्‍चात्ताप गर्न धेरै ढिलो भएको छैन, तर एउटा शर्त छ: तिमीहरूले अझ धेरै परिश्रम गर्नुपर्छ, र अल्छीपनमा लिप्त हुनु हुँदैन। यदि अरूले एक दिनमा पाँच पटक प्रार्थना गर्छन् भने, तैँले दश पटक गर्नैपर्छ; यदि अरू एक दिनमा दुई घण्टा परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन् भने, तैँले यो काम चार वा छ घण्टा गर्नुपर्छ; र यदि अरूले दुई घण्टा भजन सुन्छन् भने तैँले कम्तीमा पनि आधा दिनसम्म सुन्नैपर्छ। तँ प्रभावित नभएसम्म र तेरो हृदय परमेश्‍वरतर्फ नफर्किएसम्म र तैँले परमेश्‍वरबाट टाढा हुने साहस नगरेसम्म परमेश्‍वरसामु सधैँ शान्त बन् र परमेश्‍वरको प्रेमको बारेमा सोच्—तब मात्रै तेरो परिश्रमको प्रतिफल प्राप्त हुनेछ; अनि मात्र तैँले तेरो पहिलेको सामान्य स्थिति फेरि प्राप्त गर्न सक्‍नेछस्।

कतिपय मानिसहरू आफूले गर्ने खोजीमा निकै उत्सुकतासाथ लागिपर्छन्, तैपनि तिनीहरू सही मार्गमा प्रवेश गर्न असफल हुन्छन्। किनभने तिनीहरू धेरै लापरवाही हुन्छन् र आत्मिक कुराहरूमा ध्यान दिँदैनन्। परमेश्‍वरका वचनहरू कसरी अनुभव गर्ने भन्‍ने तिनीहरूलाई थाहा हुँदैन, र पवित्र आत्माको काम र उपस्थिति के हुन् भन्‍ने थाहा हुँदैन। त्यस्ता मानिसहरू जोशिला तर मूर्ख हुन्छन्; तिनीहरू जीवनको पछि लाग्दैनन्। किनभने तँसँग पवित्र आत्माको थोरै ज्ञान पनि छैन, पवित्र आत्माको नित्य चलिरहने कामको विकासको बारेमा तँलाई केही थाहा छैन र तँ आफ्नै आत्माको स्थितिको बारेमा अनभिज्ञ छस्। के त्यस्ता मानिसहरूको विश्‍वास मूर्ख विश्‍वास होइन र? त्यस्ता मानिसहरूले गर्ने खोजीले अन्त्यमा केही प्राप्त गर्दैन। कुनै पनि मानिसको परमेश्‍वरमाथिको विश्‍वासमा जीवन वृद्धि प्राप्त गर्ने कुञ्जी भनेको नै तेरो अनुभवमा परमेश्‍वरले के काम गर्नुहुन्छ भन्‍ने जान्नु, उहाँको प्रेमिलोपनलाई हेर्नु, र उहाँको इच्छा बुझ्नु हो, ताकि तैँले परमेश्‍वरका सबै बन्दोबस्तहरूलाई मान्‍न सक्, परमेश्‍वरका वचनहरूलाई तेरो जीवन बनाउन र यसरी परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्। यदि तेरो विश्‍वास मूर्खतापूर्ण विश्‍वास हो भने, यदि तैँले आत्मिक विषयहरूलाई र आफ्नो जीवन स्वभावमा हुने परिवर्तनहरूलाई कुनै ध्यान दिँदैनस् भने, यदि तैँले सत्यताप्रति कुनै प्रयास लगाउँदैनस् भने, के तैँले परमेश्‍वरको इच्छा बुझ्न सक्‍नेछस्? परमेश्‍वरले के गर्न लगाउनुहुन्छ भनेर यदि तैँले बुझ्दैनस् भने, तँ अनुभव गर्न असमर्थ हुनेछस्, त्यसपछि तँसँग अभ्यास गर्ने कुनै मार्ग हुनेछैन। तैँले परमेश्‍वरका वचनहरू अनुभव गर्दा तैँले ध्यान दिनुपर्ने कुरा भनेको तिनले तँमा उत्पन्न गर्ने प्रभाव हो, ताकि तैँले परमेश्‍वरलाई उहाँका वचनहरूबाट चिन्न सक्। यदि तँलाई परमेश्‍वरका वचनहरू पढ्न मात्र आउँछ, तर तिनलाई कसरी अनुभव गर्ने भन्‍ने थाहा छैन भने, के यसले तँमा आत्मिक बुझाइको कमी छ भन्‍ने देखाउँदैन र? अहिले, अधिकांश मानिसहरूले परमेश्‍वरका वचनहरूको अनुभव गर्न सक्दैनन्, त्यसकारण तिनीहरूले परमेश्‍वरको कामको बारेमा जान्दैनन्। के यो तिनीहरूको अभ्यासको असफलता होइन र? यदि तिनीहरू यसैगरी चलिरहे भने, कुन विन्दुमा तिनीहरू अवस्थालाई पूर्ण रूपमा अनुभव गर्न र जीवनमा वृद्धि हासिल गर्न सक्षम हुनेछन्? के यो खोक्रो कुरा गर्नु सरह मात्र होइन र? तिमीहरूमध्ये धेरै जनाले केवल सिद्धान्तमा मात्र ध्यान केन्द्रित गर्छौ, आत्मिक विषयहरूका बारेमा केही जान्दैनौ, तर अझै पनि परमेश्‍वरद्वारा निकै प्रयोग गरिन र उहाँबाट आशिष प्राप्त गर्न चाहन्छौ। यो पूर्ण रूपमा अवास्तविक कुरा हो! त्यसकारण, तिमीहरूले यस असफलतालाई अन्त्य गर्नैपर्छ, ताकि तिमीहरू सबै आफ्नो आत्मिक जीवनको उचित मार्गमा प्रवेश गर्न, वास्तविक अनुभवहरू प्राप्त गर्न र परमेश्‍वरका वचनहरूको वास्तविकतामा साँच्चै प्रवेश गर्न सक।

अघिल्लो: दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

अर्को: परमेश्‍वरको इच्छा अनुसार कसरी सेवा गर्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्