सत्यता कसरी पछ्याउने (३०)

पछिल्लो पटक, हामीले देहधारी परमेश्‍वरबारे मानिसहरूमा हुने धारणा र कल्पनाहरूको समस्याबारे सङ्गति गर्‍यौँ, जुन “सत्यता कसरी पछ्याउने” भन्‍ने विषयभित्र रहेको “त्याग्‍नु” भन्‍ने अभ्यासका मार्गहरूमध्ये एक, “आफू र परमेश्‍वरबीचका तगाराहरू र परमेश्‍वरप्रतिको शत्रुता त्याग्‍ने” कुरासँग सम्बन्धित छ, होइन र? (हो।) मानिसहरूले देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ भन्‍नेबारे हामीले सङ्गति गर्‍यौँ। त्यसोभए, हामीले पछिल्लो पटक परमेश्‍वरको देहधारणसँग सम्बन्धित कुन-कुन सत्यताहरूका बारेमा सङ्गति गर्‍यौँ? (पछिल्लो पटक हामीले परमेश्‍वर अस्पष्ट रूपमा बोल्नुहुन्न भन्‍नेबारे सङ्गति गर्‍यौँ, जुन परमेश्‍वरले मानिसहरूलाई नलोभ्याउने कुराको एक भाग हो, साथै हैसियतप्रतिको परमेश्‍वरको मनोवृत्तिका बारेमा पनि सङ्गति गर्‍यौँ।) हामीले देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिको समान स्तरमा नराख्ने विषयमा सङ्गति गर्‍यौँ, जसमा परमेश्‍वरले मानिसहरूलाई नलोभ्याउने कुरा समावेश छ, र हामीले देहधारी परमेश्‍वर हैसियतलाई कसरी लिनुहुन्छ भन्‍नेबारे पनि सङ्गति गर्‍यौँ। यस विषयमा हामीले के सङ्गति गर्‍यौँ? तिमीहरूले के थाहा पाएका छौ, मलाई भन। (विगतमा, मलाई परमेश्‍वरको पहिचान सृष्टिकर्ताको पहिचान हो र उहाँको हैसियत अत्यन्तै उच्च छ भन्‍ने लाग्थ्यो। परमेश्‍वरको सङ्गतिमार्फत मैले के देखेको छु भने, परमेश्‍वर आफूलाई कहिल्यै उच्च हैसियत भएको व्यक्तिका रूपमा प्रस्तुत गर्नुहुन्न, न त उहाँ यस हैसियतको कहिल्यै आनन्द नै लिनुहुन्छ। परमेश्‍वरले मानवजातिलाई मुक्ति दिन मूल्य चुकाउनुको कारण पनि यो हैसियत होइन; बरु, यसो गरेर उहाँ मानवजातिप्रतिको आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको छ। यसबाहेक, विगतमा, मलाई कसैसँग उच्च हैसियत भएमा, ऊसँग शक्ति हुन्छ भन्‍ने लाग्थ्यो। परमेश्‍वरको सङ्गतिमार्फत मात्रै मैले हैसियतले वास्तवमा एउटा पदवीलाई मात्र प्रतिनिधित्व गर्छ, र परमेश्‍वरको घरमा कुनै व्यक्ति अगुवा वा कामदार हुनु भनेको परमेश्‍वरले त्यस व्यक्तिलाई एउटा कार्यभार सुम्पनु र जिम्मेवारी दिनुसरह रहेछ भन्‍ने कुरा महसुस गरेँ। परमेश्‍वरको सङ्गति सुनेपछि मैले प्राप्त गरेका बुझाइहरू यिनै हुन्।) मैले जेसुकै सङ्गति गरे पनि, एक हिसाबमा, यो मानिसहरूलाई सबै प्रकारका कुराहरूका बारेमा परमेश्‍वरका दृष्टिकोण र सिद्धान्तहरू के-के हुन्, र परमेश्‍वरको स्वभाव सारका साँचो प्रकटीकरण र प्रकाशहरू के-के हुन् भन्‍ने कुरा अझ स्पष्ट र सही रूपमा जान्न दिनका लागि हो—मानिसहरूले जान्नुपर्ने कुरा यही हो। अर्को हिसाबमा, यस विषयवस्तुको सङ्गतिले मानिसहरूलाई सबै प्रकारका कुराहरूलाई व्यवहार गर्ने केही सही दृष्टिकोण दिन्छ, जसले गर्दा तिनीहरू तिनलाई व्यवहार गर्ने र सम्हाल्ने सिद्धान्तहरू बुझ्न सक्छन्। उदाहरणका लागि, परमेश्‍वर हैसियतलाई कसरी लिनुहुन्छ भन्‍ने कुरालाई नै लिऊँ। एक हिसाबमा, यसबारेको सङ्गतिले तँलाई परमेश्‍वर देह बन्नुहुँदा र मानवजातिको एक सदस्य बन्न पृथ्वीमा आउनुहुँदा—अर्थात्, उहाँ सामान्य मानवताभित्र जिउनुहुँदा—हैसियतप्रतिका उहाँका विचार र दृष्टिकोणहरू कस्ता हुन्छन्, र हैसियतलाई सम्हाल्ने उहाँका सिद्धान्तहरू कस्ता हुन्छन् भन्‍ने कुरा बुझ्न मद्दत गर्छ। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो। अर्को हिसाबमा, मानिसहरूले आफूले जान्नुपर्ने यी सत्यताहरू बुझून् भनेर मात्रै परमेश्‍वर हैसियतलाई कसरी लिनुहुन्छ भन्‍नेबारे सङ्गति गरिने होइन; अझ महत्त्वपूर्ण कुरा त, मानिसहरूले सत्यता बुझेपछि, तिनीहरूसँग यस समस्यालाई हेर्ने र सम्हाल्ने सही विचार र दृष्टिकोण अनि अभ्यासका सिद्धान्तहरू होऊन् भनेर गरिने हो। छोटकरीमा, हामीले जस्तोसुकै समस्याबारे सङ्गति गरे पनि, एक हिसाबमा, यो तँलाई यस प्रकारको समस्यालाई लिने सही दृष्टिकोणहरू थाहा दिनका लागि हो, र अर्को हिसाबमा, यो तँलाई यस प्रकारको समस्या सम्हाल्ने अभ्यासका सिद्धान्तहरू र अभ्यासको मार्ग थाहा दिनका लागि हो।

देहधारी परमेश्‍वरसँग परमेश्‍वरको पहिचान हुनुका साथै परमेश्‍वरका चुनिएका मानिसहरूमाझ उहाँको हैसियत भए पनि, यो हैसियत भ्रष्ट मानवहरूले कुरा गर्ने हैसियतभन्दा पूर्ण रूपमा फरक छ। परमेश्‍वरका लागि, एक हिसाबमा, यो हैसियत सत्यता समावेश भएको एउटा भनाइ मात्रै हो; अर्को हिसाबमा, देहधारी परमेश्‍वरको जीवन र सारको कुरा गर्दा, यो हैसियत कुनै प्रकारको पद होइन, बरु देहधारी परमेश्‍वरमा भएको जीवनको सारको सन्दर्भमा बोलिएको कुरा हो। त्यसोभए, सारमा, भ्रष्ट मानवहरूले कुरा गर्ने हैसियत वास्तवमा देहधारी परमेश्‍वरको यो हैसियतभन्दा फरक छ। भ्रष्ट मानवजातिमाझ हैसियत भनेको के हो? (शक्तिको प्रतीक।) भ्रष्ट मानवजातिमाझ, व्यक्तिको पहिचान र सारसँग हैसियतको कुनै सरोकार हुँदैन; यो एउटा पदवी मात्रै हो। उदाहरणका लागि, भ्रष्ट मानवजातिमाझ, कतिपय मानिस प्रमुख कार्यकारी अधिकृत, प्रबन्धक हुन्छन्, वा तिनीहरूसँग कुनै सामाजिक हैसियत हुन्छ। यो मानिसहरूबीचको एउटा पदवी वा वर्ग र श्रेणीको विभाजन मात्रै हो; व्यक्तिको साँचो पहिचान र सारसँग यसको कुनै सरोकार हुँदैन। त्यसकारण, मानिसहरूबीच रहेको देहधारी परमेश्‍वरको तथाकथित “हैसियत” मानव समाजका शासकहरूको जस्तो होइन; उहाँ कुनै शासक हुनुहुन्न, न त उहाँ निहित स्वार्थ भएको व्यक्ति नै हुनुहुन्छ। मानिसहरूबीच, परमेश्‍वरको हैसियत बारे उहाँको सार र पहिचानको हिसाबमा मात्रै कुरा गरिन्छ, र परमेश्‍वरको पहिचान र सारबारे परमेश्‍वरको जीवन, र परमेश्‍वरको अख्तियार, शक्ति, र स्वभावका कारण मात्र बोलिन्छ। परमेश्‍वरको हैसियत मानिसहरूको बीचमा रहेको कुनै प्रकारको पदवी होइन। त्यसकारण, मानिसहरूले देहधारी परमेश्‍वरलाई विभिन्न सामाजिक वर्गका हैसियत भएका मानिसहरूसँग समान स्तरमा राख्न मिल्दैन। विभिन्न सामाजिक वर्गका हैसियत भएका मानिसहरू जुनसुकै वर्गका भए पनि, तिनीहरूलाई सामूहिक रूपमा शासक वर्ग भनिन्छ। शासक वर्गको सार के हो भने, एक हिसाबमा, तिनीहरूसँग आफ्नो हैसियतअनुरूपको काम हुन्छ; अर्को हिसाबमा, जुनसुकै समय वा सामाजिक वातावरणमा पनि, यो शासक वर्गमा लगभग मानिसहरूबीच रहेका नेताहरू, उत्कृष्ट व्यक्तिहरू, निहित स्वार्थ भएकाहरू, इत्यादि समावेश हुन्छन्। विशेष गरी सय वर्षभन्दा अघि अवस्था यस्तै थियो—समाजमा हैसियत र प्रतिष्ठा भएको शासक वर्गका अधिकांश मानिस निहित स्वार्थ भएका मानिस नै थिए। त्यसोभए “निहित स्वार्थ भएकाहरू” को अर्थ के हो? यसले आफ्नै लागि फाइदा खोज्न आफ्नो शक्ति र हैसियत प्रयोग गर्ने मानिसहरूलाई जनाउँछ। तिनीहरू कुन माध्यमबाट फाइदा खोज्छन्? आफ्नो राजनीतिक प्रभाव र शक्तिमार्फत, तिनीहरू आफ्ना प्रजाहरूमाथि शासन गर्छन्; तिनीहरूको शासन र प्रशासनअन्तर्गत, यी प्रजाहरूले तिनीहरूलाई नजराना बुझाउँछन्, वा अझ स्पष्ट रूपमा भन्दा, कर तिर्छन्। तर, देहधारी परमेश्‍वरको हैसियत र शासक वर्गको हैसियतको सारमा भिन्‍नता छ। तिनीहरू समाजमा वा मानिसहरूको समूहमाझ जुनसुकै वर्गका शासकहरू वा शक्ति र हैसियत भएका व्यक्तिहरू भए पनि, शासक वर्गको हैसियत एउटा पद र उपाधि मात्रै हो। तिनीहरू आफूले शासन गर्ने मानिसहरूलाई, वा आफ्नो शासन र प्रशासनको दायराभित्र रहेकाहरूलाई सरल तरिकाले मात्रै शासन गर्छन्—समग्र रूपमा भन्दा, यसलाई शासन गर्नु भनिन्छ, र सङ्कुचित अर्थमा, यसलाई शासन र प्रशासन गर्नु भनिन्छ। शासन, सञ्चालन र प्रशासनमार्फत, तिनीहरूले शक्ति र आफ्नो हैसियतले ल्याउने विभिन्न फाइदा प्राप्त गर्छन्। देहधारी परमेश्‍वरसँग परमेश्‍वरको पहिचान र सार हुने भए पनि, र उहाँसँग परमेश्‍वरको हैसियत हुने भए पनि, उहाँले गर्ने काम, उहाँको कामको सार, र उहाँको हैसियतको सार स्वयम् समाजका र मानवजातिबीचका विभिन्न शासक वर्गको भन्दा फरक हुन्छ। देहधारी परमेश्‍वरले मानिसहरूमा गर्ने काम तिनीहरूलाई शासन वा प्रशासन गर्ने काम होइन, बरु तिनीहरूलाई अगुवाइ गर्ने, आपूर्ति गर्ने, मार्गदर्शन गर्ने, सहायता गर्ने, मद्दत गर्ने, काटछाँट गर्ने, न्याय गर्ने, र सजाय दिने काम हो। यो सबै काम गर्नुको पछाडि परमेश्‍वरको उद्देश्य भनेको मानिसहरूलाई आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र तीबाट मुक्त हुन सक्षम तुल्याउनु हो। उहाँले मानिसहरूमा गर्ने सबै कामको सबैभन्दा आधारभूत प्रकृति भनेको तिनीहरूलाई सत्यता र जीवन प्रदान गर्नु हो, ताकि तिनीहरूलाई परमेश्‍वरको अघि ल्याउन सकियोस्। उहाँले गर्ने काम यही हो। परमेश्‍वरले पृथ्वीमा गर्न र बोल्न चाहनुभएका काम र वचनहरू उहाँ लिनुहुन्छ, र ती काम मानिसहरूमा गर्नुहुन्छ र ती वचनहरू मानिसहरूलाई बोलिदिनुहुन्छ, ताकि तिनीहरूले सुन्न र बुझ्न सकून्, र तिनीहरूसँग अभ्यासको मार्ग होस्, र अन्ततः तिनीहरूले आफ्ना भ्रष्ट स्वभावहरू फालून्, तिनीहरू परमेश्‍वरको अधीनमा रहून्, र साँच्चै परमेश्‍वरको आराधना गर्ने मानिस बनून्। यस क्रममा, भ्रष्ट मानवहरूले देहधारी परमेश्‍वरबाट प्राप्त गर्ने कुरा मुख्य रूपमा सत्यताको आपूर्ति, जीवनको आपूर्ति, र मार्गको आपूर्ति हो। अन्ततः तिनीहरू साँच्चै परमेश्‍वरको अधीनमा रहन, साँचो सृजित प्राणी—मानकअनुरूपका सृजित प्राणी—बन्न, र परमेश्‍वरलाई सन्तुष्ट पार्न, परमेश्‍वरको मान्यता र स्वीकृति प्राप्त गर्न, र परमेश्‍वरको आराधना गर्ने मानव बन्न सक्षम हुन्छन्। मानवहरूले देहधारी परमेश्‍वरबाट प्राप्त गर्ने कुराहरू यिनै हुन्। देहधारी परमेश्‍वरसँग यो हैसियत भए पनि र उहाँले यो काम गर्नुभएको भए पनि, उहाँ मानवजातिको नजरानाको आनन्द लिनुहुन्न। देहधारी परमेश्‍वरसँग हैसियत भए पनि, उहाँ शासक वर्गको कुनै पनि सदस्यले आनन्द लिने हैसियतका फाइदाहरूको आनन्द लिनुहुन्न, न त उहाँ आफ्नो हैसियतले उहाँलाई प्रदान गर्ने विभिन्न प्रकारका उदार व्यवहारको नै आनन्द लिनुहुन्छ। त्यसैले, देहधारी परमेश्‍वरसँग देहधारी परमेश्‍वरको हैसियत भए पनि, उहाँ निहित स्वार्थ भएको व्यक्ति हुनुहुन्न, न त उहाँ शोषक वर्गको हिस्सा नै हुनुहुन्छ। जसरी स्वर्गमा हुनुहुने परमेश्‍वर, परमेश्‍वरका आत्माले सम्पूर्ण मानवजातिलाई अगुवाइ गर्नुहुन्छ, त्यसरी नै देहधारी परमेश्‍वरले आफ्नो काम गर्दा मानवजातिलाई आपूर्ति गर्नुहुन्छ, मार्गदर्शन गर्नुहुन्छ, सहायता गर्नुहुन्छ, र मद्दत गर्नुहुन्छ, र मानवजातिबाट कुनै पनि भौतिक वा अभौतिक कुराहरूको माग कहिल्यै गर्नुहुन्न। त्यसकारण, जब देहधारी परमेश्‍वर मानिसहरूबीच काम गर्न आउनुहुन्छ, तब मानिसहरूले आफ्ना आँखाले देख्ने हैसियत वा तिनीहरूका विचार र धारणाहरूअनुसार उहाँले राख्ने हैसियत उहाँसँग भए पनि, उहाँ मानिसहरूबाट नजरानाको आनन्द लिनुहुन्न। उहाँले गर्ने काम र मानवजातिका लागि उहाँले गर्ने आपूर्ति निःशुल्क छ; उहाँ मानवजातिबाट कुनै शुल्क, कर, वा पारिश्रमिकको माग गर्नुहुन्न। अहिलेसम्म, के तिमीहरूले उहाँलाई एक पैसा पनि दिएका छौ? (छैनौँ।) के तिमीहरूले कहिल्यै प्रवचन सुन्नका लागि पैसा तिरेका छौ? (छैनौँ।) हाम्रा भेला हुने ठाउँहरूमा प्रवेश कार्ड आवश्यक पर्दैन, तिमीहरूले भेलाहरूमा उपस्थित हुन टिकट किन्नु पर्दैन, र तिमीहरूले एक पैसा पनि तिर्नु पर्दैन। यसबाहेक, तिमीहरूले पढ्ने पुस्तकहरू, तिमीहरूले हेर्ने भिडियोहरू, र तिमीहरूले सुन्ने प्रवचनका रेकर्डिङहरू सबै निःशुल्क छन्। तिमीहरूसँग कहिल्यै एक पैसा पनि लिइएको छैन। होइन र? (हो।) कसैसँग पनि एक पैसा लिइएको छैन; सबै कुरा निःशुल्क छ। कतिपय मानिस सोध्छन्, “के व्यक्तिगत भेटीहरू व्यक्तिको आम्दानीको निश्चित प्रतिशतमा हुनुपर्छ?” त्यस्तो होइन; भेटीहरू सबै स्वेच्छाले दिइन्छन्। दशांश भनेको विश्‍वासीहरूले चढाउनुपर्ने कुरा मात्रै हो, तर कसैले आफ्नो आम्दानीको दसौँ भाग चढाए पनि वा पाँचौँ भाग चढाए पनि, यो पूर्ण रूपमा स्वेच्छिक कुरा हो। यसबाहेक, परमेश्‍वरमा विश्‍वास गर्ने धेरै मानिसले आफूले चढाउनुपर्ने कुरा कहिल्यै चढाएका छैनन्, तैपनि तिनीहरू भेलाहरूमा उपस्थित हुन्छन् र अझै पनि परमेश्‍वरका वचनहरू पढ्न र प्रवचनहरू सुन्न सक्छन्। कहिल्यै भेटी नचढाएकै कारणले कुनै पनि व्यक्तिको प्रवचन सुन्ने अधिकार, भेलाहरूमा उपस्थित हुने अधिकार, वा आफ्नो कर्तव्य निर्वाह गर्ने अधिकार खोसिएको छैन—कसैलाई पनि यस्तो भएको छैन, होइन र? (हो।)

व्यवस्थाको युगदेखि वर्तमान राज्यको युगसम्म, परमेश्‍वरले निरन्तर रूपमा मानवजातिलाई भरणपोषण गर्दै आउनुभएको छ। परमेश्‍वरका आत्माले मानवजातिसँग बोल्न सुरु गर्नुभएको समयदेखि परमेश्‍वरको पहिलो देहधारणसम्म, त्यसपछि परमेश्‍वरको दोस्रो देहधारणसम्म, परमेश्‍वरले अनगिन्ती वचनहरू बोल्नुभएको छ, र मानवजातिमा हिसाब गर्न नसकिने काम पनि गर्नुभएको छ। उहाँले यति धेरै वचनहरू बोल्नुभएको छ, र उहाँले मानवजातिका लागि यति धेरै आपूर्ति गर्नुभएको छ—यो पहिले नै अमापनीय छ। अनि के परमेश्‍वरले कहिल्यै मानिसहरूसँग एक पैसा पनि माग गर्नुभएको छ? उहाँले कहिल्यै त्यसो गर्नुभएको छैन। उहाँले मानिसहरूसँग एक बोरा अन्नको समेत कहिल्यै माग गर्नुभएको छैन; उहाँले मानिसहरूलाई यसरी नै अटुट रूपमा र निःशुल्क भरणपोषण मात्रै गर्नुहुन्छ। देहधारी परमेश्‍वर होस् वा परमेश्‍वर स्वयम्, उहाँसँग सर्वोच्च हैसियत भए पनि, उहाँले मानवजातिलाई निःशुल्क भरणपोषण गर्नुहुन्छ। यसबाहेक, देहधारी परमेश्‍वरले मानिसहरूसँग समान रूपमा अन्तरक्रिया गर्नुहुन्छ, मानवजातिलाई हृदयदेखि नै र आमनेसामने भरणपोषण गर्नुहुन्छ, र उहाँले तिनीहरूलाई अगुवाइ गर्ने तरिका अझ बढी व्यावहारिक छ। परमेश्‍वरले हरेक कदममा अगुवाइ गर्नुहुन्छ, र व्यक्तिगत रूपमा कामको हरेक पक्षको अगुवाइ गर्नुहुन्छ। यसबाहेक, परमेश्‍वरले आफ्नो काम गर्दा कुनै प्रतिनिधिको प्रयोग गर्नुहुन्न; परमेश्‍वर स्वयम्‌ले व्यक्तिगत रूपमा यो काम गर्नुहुन्छ। मानव शब्दहरूमा भन्दा, यसलाई शिष्ट दीनताका साथ योग्य व्यक्तिहरूसँग सम्पर्क गर्नु, वा मानिसहरूमाझ नचिन्‍ने भएर हिँड्नु भनिन्छ। परमेश्‍वर व्यक्तिगत रूपमा मानिसहरूमाझ बोल्न र काम गर्न आउनुहुन्छ, मानिसहरूमाझ जिउनुहुन्छ र तिनीहरूसँग आमनेसामने रहनुहुन्छ। मानिसहरूले आफ्नै कानले परमेश्‍वरको स्वर सुन्न सक्छन्, आफ्नै आँखाले परमेश्‍वरले गर्नुहुने काम देख्न सक्छन्, र परमेश्‍वरले गर्नुहुने काम आफैले व्यक्तिगत रूपमा अनुभव गर्न सक्छन्। मानिसहरूलाई परमेश्‍वरसँग हैसियत छ र आफू र परमेश्‍वरको बीचमा दूरी छ भन्‍ने महसुस भए पनि, परमेश्‍वरको नजरमा, मानिसहरूले देख्ने वा महसुस गर्ने त्यस्तो कुनै दूरी हुँदैन। परमेश्‍वरले आफूलाई परमेश्‍वरको पहिचान भएको व्यक्तिको रूपमा प्रस्तुत गर्नुहुन्न, र माथिबाट बसेर मानवजातिलाई हेला गर्नुहुन्न, बरु उहाँले मानिसहरूसँग समान स्तरमा रहेर बोल्नुहुन्छ र काम गर्नुहुन्छ। के मैले यी वर्षहरूमा तिमीहरूसँग भेलाहरूमा यसरी नै बोलेको र सङ्गति गरेको छैन र? म आफूलाई ठूलो ठान्दिनँ, र मसँग ठूलो शक्ति र उच्च हैसियत छ भन्‍ने मैले कहिल्यै महसुस गरेको छैन; मलाई त्यस्तो महसुस हुँदैन, र मैले यसरी काम पनि गरेको छैन। भ्रष्ट मानिसहरू भ्रष्टताले भरिएका, परमेश्‍वरप्रतिको शत्रुताले भरिएका, र परमेश्‍वरका शत्रुहरू रहेका भए पनि, मानिसहरूलाई मुक्ति दिने काम गर्दा, परमेश्‍वर मानिसहरूप्रति धैर्यता, सहिष्णुता, कृपा, र प्रेमपूर्ण दयाले भरिपूर्ण रहनुहुन्छ। जब उहाँले मानिसहरूमा काम गर्नुहुन्छ र तिनीहरूसँग बोल्नुहुन्छ, तब उहाँ प्रेमले भरिपूर्ण रहनुहुन्छ—उहाँले श्रमसाध्य गम्भीरताका साथ त्यसो गर्नुहुन्छ भनेर समेत भन्न सकिन्छ। मानिसहरूलाई जे आवश्यक पर्छ, परमेश्‍वरले तिनीहरूलाई त्यो प्रशस्त मात्रामा भरणपोषण गर्नुहुन्छ। उहाँले मानिसहरूसँग पहेलीमा बोल्नुहुन्न, न त उहाँले तिनीहरूलाई दुबिधामा नै राख्नुहुन्छ, बरु उहाँको मनमा जे छ त्यही बोल्नुहुन्छ। उहाँले तिमीहरूले बुझ्नुपर्ने सत्यताहरू एउटा वाक्य पनि नछोडी आपूर्ति गर्नुहुन्छ। जबसम्म यो तिमीहरूले बोध गर्न सक्ने कुरा हुन्छ, तबसम्म उहाँले अलिकति पनि कुरा लुकाउनुहुन्न। उहाँले तिमीहरूलाई यी सत्यताहरू प्राप्त गर्न दिनुहुन्छ, र ती तिमीहरूलाई स्पष्ट हुने र तिमीहरूले ती बुझ्ने तुल्याउनुहुन्छ। विशेष गरी तिमीहरूले नबुझ्ने र तिमीहरूलाई अन्योलपूर्ण लाग्ने कुराहरूको हकमा, उहाँले तिमीहरूले नबुझेसम्म, श्रमसाध्य गम्भीरताका साथ बारम्बार ती कुराहरू दोहोर्‍याउनुहुन्छ, र तिनलाई बारम्बार जोड दिनुहुन्छ। यसरी, देहधारी परमेश्‍वरले गर्नुहुने काम र परमेश्‍वरका आत्माले गर्नुहुने काम सधैँ यस्तै रहिआएको छ। उहाँले मुक्ति दिने मानवजाति भ्रष्ट मानवजाति भए पनि, परमेश्‍वरले मानवजातिलाई कहिल्यै तिरस्कार गर्नुभएको छैन। मानिस र परमेश्‍वर, सार र जीवनमा, पृथक र पूर्ण रूपमा फरक भए पनि, मानिसप्रतिको परमेश्‍वरको मनोवृत्तिको हिसाबमा, परमेश्‍वरले मानिसलाई कहिल्यै आफ्नो शत्रुको रूपमा, साँच्चै भ्रष्ट मानवजातिको रूपमा, वा तिरस्कार गर्नुपर्ने लक्ष्यको रूपमा व्यवहार गर्नुभएको छैन। यसको विपरीत, परमेश्‍वरले मानिसलाई आफ्नो काम र मुक्तिको प्राप्तकर्ताको रूपमा व्यवहार गर्नुहुन्छ। यसबाहेक, अझ महत्त्वपूर्ण कुरा के हो भने, मानिससँग बोल्दा परमेश्‍वरको मनोवृत्ति र मुड, साथै मानिसप्रतिको उहाँको अपेक्षाको हिसाबमा भन्दा, परमेश्‍वरले मानिसलाई परिवारको रूपमा व्यवहार गर्नुहुन्छ। त्यसैले, मानिस आफैले परमेश्‍वरको हैसियतलाई जसरी हेरे पनि, परमेश्‍वरले उच्च हैसियतको दृष्टिकोणबाट मानवजातिलाई हेर्न कहिल्यै पनि श्रेष्ठताको स्थान लिनुभएको छैन, तर यसको सट्टा उहाँले आफूलाई मानिसको समान स्तरमा राख्नुभएको छ, र मानिससँग लामो, हृदयदेखिको कुराकानी समेत गर्न सक्नुहुन्छ; उहाँ र मानिसको बीचमा कुनै दूरी छैन, र हैसियतको कुनै भिन्नता छैन। मानवजातिप्रतिको परमेश्‍वरको मनोवृत्ति र परमेश्‍वरले गर्नुभएका सबै कामलाई हेर्दा, देहधारी परमेश्‍वरसँग परमेश्‍वरको सार र परमेश्‍वरको जीवन भएको कारणले गर्दा नै, बाहिरी रूपमा उहाँ एक साधारण व्यक्ति जस्तो देखिए पनि, उहाँले मानवजातिलाई शासक वर्गको कुनै पनि सदस्यको मानसिकता भन्दा फरक मानसिकताका साथ व्यवहार गर्न सक्नुहुन्छ। देहधारी परमेश्‍वरले मात्रै यसो गर्न सक्नुहुन्छ; कुनै पनि मानवले यसो गर्न सक्दैन, शासक वर्गको कुनै व्यक्तिले त झनै सक्दैन। परमेश्‍वरले मानिससँग जस्तोसुकै वचनहरू बोल्नुभएको भए पनि वा उहाँले मानिसमा जस्तोसुकै काम गर्नुभएको भए पनि, परमेश्‍वरले मानिसबाट कुनै फाइदाको माग नगर्नुको अलाबा, अझ महत्त्वपूर्ण कुरा के हो भने उहाँले मानिसलाई उसले बुझ्नुपर्ने सत्यताहरू, उसले अभ्यास गर्नुपर्ने मार्गहरू, र उसले बुझ्नुपर्ने अघि बढ्ने दिशा अझ बढी प्रदान गर्नुभएको छ। यसका साथै, परमेश्‍वरले मानिसलाई उसको दैनिक जीवनका लागि आवश्यक पर्ने आधारभूत आवश्यकताका कुराहरू पनि प्रदान गर्नुभएको छ। परमेश्‍वर मानिसको जीवनको स्रोत मात्रै हुनुहुन्न, तर उसको जीविकोपार्जनको स्रोत पनि हुनुहुन्छ। होइन र? (हो।) कतिपय मानिसहरूले सधैँ यस्तो सोच्छन्, “मैले यी वर्षहरूभरि सर्वशक्तिमान्‌ परमेश्‍वरलाई पछ्याएको छु, र आफ्नो कर्तव्य निर्वाह गर्नका लागि मेरो व्यक्तिगत भविष्य, मेरो अध्ययन, र मेरो विवाह सम्बन्ध त्यागेको छु, तैपनि अहिलेसम्म मैले केही पनि प्राप्त गरेको छैन।” त्यसपछि तिनीहरूले पछुतो महसुस गर्छन् र गुनासो गर्छन्। यो विशेष गरी मण्डलीबाट निकालिएका कतिपय मानिसहरू, र पक्राउ परेका र जेलमा परेकाहरूका हकमा लागू हुन्छ—तिनीहरूले यी सबै वर्षहरू परमेश्‍वरमा विश्‍वास गरेर केही पनि प्राप्त गरेका छैनन् भन्‍ने विश्‍वास गर्छन्। मलाई भन त, के यो दृष्टिकोण सही छ? (छैन।) यो कुन हिसाबमा गलत छ? तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेर वास्तवमा के प्राप्त गर्नुपर्छ भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन। तिनीहरूले आफूले देख्न र समात्न सक्ने कुराहरू, जस्तै पैसा, ख्याति र प्राप्ति, र हैसियत प्राप्त गर्नुपर्छ, र यदि तिनीहरूले यी कुराहरू प्राप्त गरेका छैनन् भने, तिनीहरूले केही पनि प्राप्त गरेका छैनन् भन्‍ने सोच्छन्। वास्तवमा, परमेश्‍वरले मानिसलाई धेरै सत्यताहरू प्रदान गर्नुहुन्छ; ती मानिसहरूले सत्यता नपछ्याएको वा सत्यता स्वीकार नगरेको कारणले गर्दा नै तिनीहरूले केही पनि प्राप्त गरेका हुँदैनन्। यदि, यी वर्षहरूभरि आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तिनीहरूले सत्यता पछ्याउन, सत्यता स्वीकार गर्न सकेका, र तिनीहरू परमेश्‍वरले तिनीहरूका लागि खडा गर्नुभएका वातावरणहरूको अधीनमा बस्न सकेका भए, तिनीहरूले पक्कै पनि केही सत्यताहरू बुझ्नेथिए र परमेश्‍वरको केही ज्ञान प्राप्त गर्नेथिए। तिनीहरूले भौतिक कुराहरू प्राप्त नगरेका भए पनि, तिनीहरूले अझ बढी मूल्यवान् कुराहरू, मानव संसारका सबैभन्दा बहुमूल्य कुराहरू प्राप्त गर्नेथिए—जुन कुराहरूलाई जतिसुकै पैसा वा भौतिक फाइदाहरूसँग पनि साट्न सकिँदैन।

मानिसहरूमाझ आफ्नो काम गर्दा, मानिसहरूको नजरमा देहधारी परमेश्‍वरको हैसियत भए पनि, मानवजातिमाझ हैसियत भएका मानिसहरूले जस्तै उहाँले हैसियतका फाइदाहरू, मानिसहरूबाट भेटीहरू, वा शक्ति वा उहाँको हैसियतले उहाँलाई दिने कुनै पनि प्रकारको अनुकूल व्यवहारको आनन्द लिनुहुन्न। मानवजातिमाझ हैसियत भएका मानिसहरूले जस्तै उहाँले उच्च र शक्तिशाली स्थानमा रहेर व्यवहार पनि गर्नुहुन्न, आदेशहरू जारी गर्नुहुन्न, वा श्रेष्ठताको स्थानबाट यस हैसियतको आनन्द लिनुहुन्न। यो त ठ्याक्कै उल्टो छ: उहाँले श्रेष्ठताको स्थान नलिने मात्रै होइन, तर उहाँले मानिसहरूलाई समान रूपमा व्यवहार पनि गर्नुहुन्छ, तिनीहरूका आवश्यकताहरू आपूर्ति गर्न तिनीहरूमाझ जिउनुहुन्छ। जीवन प्रवेशसँग सम्बन्धित मानिसहरूका आवश्यकताहरू आपूर्ति गर्नुको अलाबा, उहाँले तिनीहरूको दैनिक जीवनका केही थप आवश्यकताहरू पनि आपूर्ति गर्नुहुन्छ। देहधारी परमेश्‍वर उपयुक्त भएको बेला वा आवश्यक परेको बेला मानिसहरूको दैनिक जीवन र काममा पनि संलग्न रहनुहुन्छ, तिमीहरूलाई सामान्य रूपमा र नियमितताका साथ जिउन मद्दत गर्नुहुन्छ, र तिमीहरूलाई आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न निर्देशन दिनुहुन्छ र मद्दत गर्नुहुन्छ। त्यसैले, तैँले जुनसुकै दृष्टिकोणबाट हेरे पनि, देहधारी परमेश्‍वरसँग विशेष हैसियत भए पनि, उहाँले हैसियतलाई कसरी लिनुहुन्छ भन्‍ने कुरा हैसियत भएको कुनै पनि मानवको जस्तो हुँदैन। उहाँसँग यो हैसियत भए पनि, उहाँले गर्नुहुने काममा, उहाँको दैनिक जीवनमा, र उहाँले मानिसहरूलाई कसरी व्यवहार गर्नुहुन्छ त्यस सम्बन्धी उहाँका सिद्धान्तहरूमा, उहाँले आफ्नो जिम्मेवारी मात्रै पूरा गरिरहनुभएको हुन्छ। देहधारी परमेश्‍वर स्वयम्‌का हकमा, उहाँले आफ्नो सेवकाइ निर्वाह गरिरहनुभएको हुन्छ, र मानवजातिका लागि, उहाँले आफ्नो जिम्मेवारी पूरा गरिरहनुभएको हुन्छ। उहाँले देहधारी परमेश्‍वरको हैसियत भएको आधारमा मानवजातिप्रतिको देहधारी परमेश्‍वरको जिम्मेवारी पूरा गर्नुहुन्छ। एक हिसाबमा, मानवजातिप्रतिको उहाँको जिम्मेवारी भनेको मानिसहरूलाई तिनीहरूको जीवनसँग सम्बन्धित सबैभन्दा बढी आवश्यक पर्ने सत्यता आपूर्ति गर्नु हो; अर्को हिसाबमा, तिनीहरूको सामान्य मानवताको सन्दर्भसँग सम्बन्धित तिनीहरूमा कमी रहेको कुरा पूरा गर्नु, मानिसहरूलाई मार्गदर्शन दिनु हो ताकि तिनीहरू सामान्य मानवता भएकाहरूमा हुनुपर्ने सिद्धान्तहरूअनुसार जिउन सकून्। मैले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। तर जब कतिपय मानिसहरूले मैले यी कुराहरू भनेको सुन्छन्, तब तिनीहरूले आफ्नो हृदयमा यस्तो सोच्छन्, “हामी सबै वयस्क हौँ, र हाम्रो दैनिक जीवनमा आउने यी सबै कुराहरू हामी बुझ्छौँ। के हामीलाई साँच्चै तपाईंको मार्गदर्शन आवश्यक छ र?” तिमीहरू सबै वयस्क भए पनि, तिमीहरूले आफ्नो दैनिक जीवनमा धेरै कमीकमजोरीहरू प्रदर्शन गर्छौ, र तिमीहरू सामान्य मानवताका मापदण्डहरूभन्दा धेरै तल छौ। अरू कुनै कुरामा नगईकन भन्दा पनि, तिमीहरूलाई आफ्नो दैनिक जीवनमा स्वस्थ र उचित तरिकाले खान मात्रै पनि पर्याप्त रूपमा गाह्रो हुन्छ। कहिलेकाहीँ, जब मैले तिमीहरूलाई यस सन्दर्भमा समस्या भएको देख्छु, तब म थोरै मार्गदर्शन दिन्छु र तिमीहरूलाई विचार गर्नका लागि केही सल्लाह दिन्छु। यसबाहेक, तिमीहरूले मानव जीवनसँग सम्बन्धित मामलाहरूलाई कसरी सम्हाल्छौ भन्‍ने कुराको हकमा, यदि मैले तिमीहरूलाई यस सम्बन्धी समस्याहरू भएको देखेँ वा सुनेँ भने—वा म तिमीहरूका ती समस्याहरूको सम्पर्कमा आएँ भने—म तिमीहरूलाई केही सल्लाह पनि दिनेछु, तिमीहरूलाई कुराहरू जाँच्न मद्दत गर्नेछु, तिमीहरूका गलत दृष्टिकोण र अभ्यासहरूलाई सच्याउनेछु, तिमीहरूलाई केही सिद्धान्तहरू दिनेछु, र तिमीहरूलाई आफूलाई कसरी आचरणमा ढाल्ने र यी मामलाहरूलाई कसरी सम्हाल्ने भनेर बताउनेछु। मैले अनुभव नगरेका वा नसम्हालेका केही विशेष मामलाहरू भए पनि, जब मैले त्यस्ता कुराहरूको सामना गर्छु, तब म सिद्धान्तहरू बोध गर्न सक्छु। मलाई के गर्नुपर्छ भन्‍ने थाहा हुन्छ; म तिमीहरूलाई कुराहरू जाँच्न मद्दत गर्नेछु, र तिमीहरूलाई केही सङ्केत र सल्लाह दिनेछु, ताकि तिमीहरूले पनि जीवनमा आउने विभिन्न मामलाहरूमा सामान्य मानवताका सिद्धान्त र मापदण्डहरूअनुसार काम गर्न सक। आफ्नो विवेकको विरुद्धमा नजाओ, र नैतिकताको सीमा पार नगर। तिमीहरूले गर्ने कुरामा तिमीहरू विवेकी हुनुपर्छ; गैरविश्‍वासीहरूले जस्तै अनियन्त्रित रूपमा व्यवहार नगर, बरु नियमहरू पालन गर, आफ्नो विवेकको विरुद्धमा नजाने वा नैतिकताको सीमा पार नगर्ने सबैभन्दा आधारभूत सिद्धान्तमा आधारित भएर मामलाहरू सम्हाल। जब मैले यी कुराहरू देख्छु, तब म तिमीहरूलाई सङ्केतहरू पनि दिनेछु र तिमीहरूलाई कुराहरू जाँच्न मद्दत गर्नेछु, तिमीहरूको दैनिक जीवनका आधारभूत आवश्यकताहरूलाई नियमन गर्नेछु। तिमीहरूको व्यवहार र तिमीहरूको सामान्य मानवताको विवेक र समझलाई नियमन गर्नका लागि यो तिमीहरूका लागि लाभदायक हुन्छ। कतिपय मानिसहरूले यसो भन्न सक्छन्, “तपाईं उच्च रूपमा शिक्षित हुनुहुन्न, तपाईंले बाहिरी संसारका धेरै मामलाहरूमा भाग लिनुभएको छैन, र तपाईंलाई समाजको खेलको नियम थाहा छैन। तपाईंलाई हामीलाई नियमन गर्ने अधिकार केले दिन्छ?” म के भन्छु भने, म तँलाई नियमन गर्न साँच्चै योग्य छु। म बाहिरका ती कुराहरूमा सहभागी नभए पनि, व्यक्ति हिँड्ने मार्ग, व्यक्तिको खोजी, र सत्यता सिद्धान्तहरू समावेश भएका मामलाहरूको हकमा, म तिमीहरूलाई यी कुराहरूमा मद्दत गर्न सक्छु। मलाई सिद्धान्तहरू थाहा छ, र व्यक्तिको आत्मआचरणको सीमा कहाँ हुनुपर्छ भन्‍ने मलाई थाहा छ। तैँले यो सीमा पार गरेको छस् कि छैनस् वा सिद्धान्तहरू उल्लङ्घन गरेको छस् कि छैनस् भन्‍ने कुरा मलाई मेरो हृदयमा स्पष्ट रूपमा थाहा हुन्छ। मलाई थाहा हुन्छ, तर तँलाई थाहा हुँदैन। तँलाई यो किन थाहा हुँदैन? किनभने तँ आफ्ना भ्रष्ट स्वभावहरूभित्र जिउँछस् र संसारका विभिन्न दुष्ट प्रचलनहरूबाट गहिरो रूपमा प्रभावित छस्। यसबाहेक, धेरैजसो मानिसहरूसँग सही विवेक र समझ हुँदैन, त्यसैले तिनीहरू सधैँ फाइदा लिन मन पराउँछन्, सधैँ छली बन्ने र अवसरवादी छोटो बाटो अपनाउने, र छिद्रहरूको दुरुपयोग गर्ने प्रयास गर्छन्। तिनीहरू फाइदा लिनका लागि कानुनसँग जोखिम मोलेर काम गर्छन्, सधैँ केही घृणास्पद र घिनलाग्दा कुराहरू कसरी गर्ने भनेर सोचिरहेका हुन्छन्। जब मैले तँलाई त्यस्ता कुराहरू गर्न चाहेको देख्छु, तब म तँलाई केही सङ्केतहरू दिनेछु, तेरो लागि केही जाँच गर्नेछु, र तँलाई त्यसरी काम गर्नबाट जोगिन सङ्केत गर्नेछु। यदि मैले तँलाई सङ्केत गरिनँ वा तेरो लागि जाँच गरिनँ भने, तँलाई आफूले गरिरहेको कुरा उचित छ भन्‍ने सधैँ महसुस हुनेछ। तेरो औचित्य कहाँबाट आउँछ? “गैरविश्‍वासीहरू सबैले यसो गर्छन्, त्यसोभए हामीले किन गर्न सक्दैनौँ? हामीले किन घाटा भोग्नुपर्छ र?” भन्‍ने तेरो विश्‍वासबाट। त्यसलाई घाटा भोग्नु भनिँदैन; त्यसलाई नियमहरू पालन गर्नु भनिन्छ। आफूलाई आचरणमा ढाल्दा विवेकको सीमा पालन गर्नु भनेको व्यक्तिले गर्नुपर्ने कुरा नै हो; यो घाटा भोग्नु होइन। मेरो सिद्धान्त यही हो। तँ सधैँ घाटा भोग्नुपर्छ कि भनेर डराउँछस्, र त्यति मात्र होइन, तैँले सक्रिय रूपमा फाइदा लिन र छिद्रहरूको दुरुपयोग गर्ने प्रयास पनि गर्छस्। यसलाई नियमन गरिनुपर्ने हुन्छ, र यसलाई सुधार गर्नुपर्ने आवश्यकता हुन्छ। त्यसैले, जब मैले कसैले यसरी कुराहरू सम्हाल्छन् भनेर सङ्केतहरू देखाएको देख्छु, तब म तुरुन्तै तिनीहरूलाई त्यसो नगर्न सङ्केत गर्छु; त्यसरी काम गर्नु घिनलाग्दो कुरा हो। जब तैँले त्यो सानो फाइदा लिन्छस् तब तँलाई आफ्नो हृदयमा गर्व र सन्तुष्टि महसुस हुन्छ, तर त्यसो गर्दा तैँले के कुरालाई घात गर्छस्? यो तेरो विवेक र तेरो निष्ठा हो, जसले तँलाई परमेश्‍वरबाट “खराब समीक्षा” दिलाउँछ। के तँलाई थाहा छ यो एउटा खराब समीक्षाले कति वटा असल कार्यहरूलाई रद्द गर्न सक्छ? तँलाई थाहा छैन, र तैँले यो महसुस गर्दैनस्। तँलाई थाहा नभएको र यसबारे कुनै सचेतना नभएको हुनाले, मैले तँलाई सङ्केत गर्नुपर्छ। महत्त्वपूर्ण क्षणहरूमा र महत्त्वपूर्ण मामलाहरूमा, म अगाडि आउनुपर्छ र तँलाई त्यसरी काम नगर्न, तैँले नियमहरू पालन गर्नुपर्छ र फाइदा लिनु हुँदैन भनेर भन्नुपर्छ। यी मामलाहरूमा, म तँलाई नियन्त्रण गर्न मेरो हैसियत प्रयोग गरिरहेको हुँदिनँ, बरु म तँसँग सिद्धान्तहरू सङ्गति गरिरहेको हुन्छु, तँलाई तेरो व्यवहार नियमन गर्न मद्दत गरिरहेको हुन्छु, तेरो विवेकलाई सचेत गराइरहेको हुन्छु, तँसँग विवेक र विवेकशीलताको मापदण्ड हुने तुल्याइरहेको हुन्छु, र जीवनमा व्यक्तिको सही लक्ष्य र दिशा के हुनुपर्छ भन्‍ने कुरा तँलाई देखाइरहेको हुन्छु। त्यसपछि, जब तैँले फेरि त्यसरी काम गर्ने विचार गर्छस्, तब तैँले यसलाई आफ्नो विवेकको आधारमा सही ठहराउन सक्नेछैनस्; तेरो अनुहार रातो हुनेछ, र त्यस्तो केही गर्ने विचारले नै तँलाई लाजमर्दो महसुस गराउनेछ। यसरी, तँलाई यो कुरा भन्नुको पछाडि रहेको मेरो उद्देश्य पूरा हुन्छ, र यसले अपेक्षित प्रभाव पार्छ। यसलाई नै नियमन भनिन्छ।

मण्डलीको कामसँग सम्बन्धित नहुने सानातिना मामलाहरूमा म सामान्यतया हस्तक्षेप गर्दिनँ, तर परमेश्‍वरका चुनिएका मानिसहरूको शारीरिक र मानसिक भलाइ जोडिएका केही मामलाहरूमा, म कहिलेकाहीँ केही शब्दहरू बोल्छु र केही सल्लाह दिन्छु। त्यसोभए, कुन पहिचान र कस्तो प्रकारको हैसियतले म यी मामलाहरूमा हस्तक्षेप गर्छु त? के यो आमाबुबाको रूपमा हो? कुलको मुखियाको रूपमा? गोठालोको रूपमा? अगुवाको रूपमा? वा तेरो हाकिमको रूपमा हो? मलाई यीमध्ये कुनै पनि हो जस्तो लाग्दैन। त्यसोभए, म त्यस्ता मामलाहरूमा कस्तो भूमिका खेल्छु त? सबैभन्दा पहिले, हैसियतमा कुनै भिन्नता छैन; म जिम्मेवारीको बोधबाट बोल्छु र काम गर्छु। तेरो जीवनमा जेसुकै कुरा आइपरे पनि, मैले त्यो याद गरेँ र मलाई यसबारे थाहा छ भने, म तँलाई सही मार्गमा डोऱ्याउनेछु, तँलाई तेरो विवेकअनुसार काम गर्न र सबैभन्दा आधारभूत, मौलिक यस सीमामा आधारित भएर काम गर्न सक्षम तुल्याउनेछु, जसले तेरो व्यवहारलाई नियमन गर्नेछ र तेरा अभिप्रायहरूलाई सच्याउनेछ, र तँलाई जीवनप्रतिको सही दृष्टिकोण स्थापित गर्न, र यस प्रकारको कुरालाई सम्हाल्न र यस प्रकारको समस्यालाई सही दृष्टिकोण र हेराइबाट हेर्न सक्षम तुल्याउनेछ। म तेरो लागि कुराहरू जाँच्न मद्दत गर्नेछु। मैले तेरो लागि कुराहरू जाँच्न मद्दत गर्दा, तँलाई तेरो आत्मसम्मान र अभिमानमा चोट पुगेको महसुस भए पनि, म तँलाई पुलपुल्याउँदिनँ वा तेरो चापलुसी गर्दिनँ; म तँसँग समान स्तरमा उभिएर, तँप्रतिको जिम्मेवारीको बोधबाट तँलाई मद्दत गर्छु। तिमीहरूलाई यो तरिका कस्तो लाग्छ? (राम्रो लाग्छ।) म तँलाई ठूला-ठूला कुराहरू भन्दिनँ, र म नाराहरू लगाउँदिनँ—म तँलाई कुनै निश्चित कुरा कसरी गर्ने र त्यसलाई कसरी उचित रूपमा गर्ने भनेर मात्रै बताउँछु, तँलाई फाइदा र बेफाइदाहरू स्पष्ट रूपमा व्याख्या गर्छु। तेरो दृष्टिकोणबाट हेर्दा, मैले बोल्ने वचनहरू सरल र साधारण हुन्छन्। ती केवल सरल भाषा हुन्, तिनमा कुनै गहन ज्ञान, दर्शन, वा सिद्धान्तहरू समावेश हुँदैनन्। तर ती सुनेपछि, तँसँग एउटा मार्ग हुन्छ र कसरी काम गर्ने भन्‍ने तँलाई थाहा हुन्छ। मानिसहरूको नजरमा देहधारी परमेश्‍वरको हैसियत अद्वितीय भए पनि, र यो अत्यन्तै उच्च हैसियत भए पनि, उहाँले गर्नुहुने कामको दायरा यस उच्च हैसियतद्वारा सीमित हुँदैन। यसको विपरीत, कुरा जतिसुकै ठूलो वा सानो भए पनि, उहाँले सबै कुरामा ध्यान दिनुहुन्छ। तँसँग जस्तोसुकै समस्या वा कठिनाइहरू भए पनि, मैले ती देखेँ भने, म तँसँग तिनका बारेमा कुरा गर्नेछु, र म श्रेष्ठताको स्थान लिनेछैनँ; यदि तँ सुन्न इच्छुक छस् भने, सुन्, र यदि तँ सुन्न इच्छुक छैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैनँ। यदि यो महत्त्वपूर्ण मामला हो, मण्डलीको काम र सत्यता सिद्धान्तहरूसँग सम्बन्धित रहेको मामला हो भने, म तँलाई कसरी अभ्यास गर्ने भनेर बताउनेछु, र म पछि त्यसको अनुगमन गर्नेछु; यदि यो तेरो व्यक्तिगत जीवनको मामला हो भने, म तँसँग हृदयदेखिको कुराकानी गर्नेछु, ठूला-ठूला कुराहरू नगरी मेरा हृदयका दृष्टिकोणहरू बाँड्नेछु—यदि तँ सुन्न इच्छुक छस् भने, तैँले यसलाई स्वीकार गर्न सक्छस्, र यदि तँ सुन्न इच्छुक छैनस् भने, म तँलाई हप्काउनेछैनँ वा तँलाई नियन्त्रित गर्नेछैनँ। यदि तैँले यसलाई स्वीकार गर्न सक्छस् भने, म तँ सही र उचित वचनहरू स्वीकार गर्न सक्ने असल व्यक्ति होस् भन्‍ने देख्नेछु, त्यसपछि तँसँग अझ बढी बोल्न इच्छुक हुनेछु; यदि तैँले सही वचनहरू स्वीकार गर्दैनस् र मैले भनेको कुरा सुन्दैनस् भन्‍ने मैले देखेँ भने, म भविष्यमा तँसँग बोल्नेछैनँ, वा म तँसँग कम बोल्नेछु। मानिसहरूसँग सङ्गत गर्ने कुरामा मेरा आफ्नै छनौटहरू र मेरा आफ्नै सिद्धान्तहरू छन्। के म हैसियत भएको व्यक्तिले जस्तै बोल्छु र काम गर्छु भन्‍ने तिमीहरूलाई लाग्छ? (लाग्दैन।) उदाहरणका लागि, विगतका भेलाहरूमा, तीसदेखि पचास जना मानिसहरू भए पनि वा असीदेखि सय जना भए पनि, मैले कहिल्यै माइक्रोफोन प्रयोग गरिनँ; म सीधै बोल्थेँ र मानिसहरूले मेरो कुरा सुन्न सक्थे। आजभोलि, कतिपय ठाउँहरूमा, भेलामा बीस वा तीस जना मानिसहरू मात्रै हुँदा पनि, कतिपय वक्ताहरू अझै पनि माइक्रोफोन प्रयोग गर्छन्—के त्यसो गर्नु आवश्यक हुन्छ र? के तैँले बोल्ने वचनहरूले कुनै पनि तरिकाले अरूको आत्मिक वृद्धि गर्छन् र? तैपनि तैँले बोल्नका लागि माइक्रोफोन प्रयोग गर्नैपर्छ—के यो आफूलाई ठूलो ठान्नु होइन र? त्यो त सांसारिक अधिकारीहरूको सिको गर्नु हो। हेर्, म पनि प्रायजसो दाजुभाइ-दिदीबहिनीहरूसँग कुराकानी र सङ्गति गर्छु; कहिलेकाहीँ, हामी करिब बीस जना मानिसहरू उपस्थित भएर आँगनमा बसेर कुरा गर्छौँ। त्यहाँ पृष्ठभूमिको आवाज हुन्छ, तैपनि मैले माइक्रोफोन प्रयोग नगरीकनै सबैले मेरो कुरा स्पष्ट रूपमा सुन्छन्। जे सङ्गति गर्नुपर्ने हो त्यो स्पष्ट रूपमा सङ्गति गरिन्छ, र कुनै पनि कुरा रोकिँदैन। के अझै पनि माइक्रोफोन प्रयोग गर्नु आवश्यक हुन्छ र? त्यस्ता औपचारिकताहरूमा संलग्न हुनुको के अर्थ छ र? त्यो त एउटा सांसारिक चलन हो; तडकभडक देखाउन र आफूलाई ठूलो ठान्‍न सबैलाई मन पर्छ, र तिनीहरूले रवाफ र आडम्बरको बारेमा विशेष ध्यान दिन्छन्। यदि साधारण मानिसहरूले यसरी व्यवहार गर्न सक्छन् भने, यदि कसैसँग अलिकति हैसियत हुने हो भने, तिनीहरूले आफूलाई संसारकै महान् ठान्नेथिए, होइन र? तिमीहरूलाई यी कुराहरू भन्नुको पछाडि मेरो उद्देश्य भनेको तिमीहरूलाई एउटा तथ्य थाहा दिनु हो: मानिसको नजरमा देहधारी परमेश्‍वरसँग हैसियत भए पनि, यस हैसियतको बारेमा मेरा भावनाहरू तिमीहरूका भन्दा फरक छन्। मलाई त म एक साधारण व्यक्ति हुँ जस्तो मात्रै लाग्छ, र तिमीहरूसँग कुराकानी गर्नु र सत्यतामा सङ्गति गर्नु भनेको मेरो जिम्मेवारी पूरा गर्नु हो। त्यसोभए म तिमीहरूसँग के माग गर्छु त? त्यो के हो भने तिमीहरू सकारात्मक कुराहरू स्वीकार गर्न, सत्यता स्वीकार गर्न, र सत्यता सिद्धान्तहरूअनुसार कामकुराहरू गर्न सक्षम होऊ; म तिमीहरूलाई कुनै अतिरिक्त कुरा गर्न माग गर्दिनँ। पहिलो, म तिमीहरूलाई आराधना गर्न दण्डवत् गर भनी माग गर्दिनँ; दोस्रो, हामी भेट्दा तिमीहरूले मलाई चापलुसीपूर्ण तरिकाले अभिवादन गर भनी म माग गर्दिनँ—सामान्य र स्वाभाविक रूपमा व्यवहार गर्नु नै पर्याप्त हुन्छ। के परिवारका सदस्यहरूले भेट्दा सधैँ एक-अर्कालाई अभिवादन गर्नु आवश्यक हुन्छ र? यदि तिनीहरू प्रायजसो एक-अर्कालाई भेट्दैनन् भने, जम्काभेट हुँदा नमस्कार भन्नु सामान्य कुरा हो; यो शिष्ट हुनु हो, र यो सामान्य मानवताको विवेकशीलतामा हुनुपर्ने कुरा हो—मानिसहरूको त कुरै छोडौँ, पशुहरूलाई समेत एक-अर्कालाई अभिवादन गर्न आउँछ! तर, मसँग हैसियत भएकै कारणले, तैँले मलाई देख्दा निहुरिएर र शिष्टतापूर्वक मलाई कस्तो छ भनेर सोध्नु आवश्यक छैन। यो अनावश्यक औपचारिकता हो, र यो मैले तिमीहरूसँग माग गर्ने कुरा होइन। तिमीहरूप्रतिको मेरा मागहरू अत्यन्तै व्यावहारिक र उचित छन्। यदि तिमीहरूसँग सामान्य मानवता छ, र तिमीहरूले सत्यतालाई प्रेम गर्छौ र सत्यता पछ्याउँछौ भने, तिमीहरूले यी सबै मागहरू पूरा गर्न सक्नेछौ, किनभने यी मागहरू पटक्कै खोक्रा वा उच्च छैनन्; ती सबै सामान्य मानिसहरूले हासिल गर्न सक्ने कुराहरू हुन्। यदि तिमीहरूले मैले यी वर्षहरूमा तिमीहरूसँग सङ्गति गरेका सत्यताका विभिन्न पक्षहरूलाई बुझेका र बोध गरेका छौ, र तिमीहरूसँग अनुभवात्मक ज्ञान र जीवन प्रवेश छ भने, तिमीहरूको जीवनमा सबै प्रकारका कुराहरू आइपर्दा तिमीहरूले सत्यता सिद्धान्तहरूअनुसार काम गर्न सक्नेछौ। तिमीहरूले मानिसहरूलाई गर्ने व्यवहार, तिमीहरूको काम, तिमीहरूका कर्तव्यहरू, ख्रीष्ट विरोधीहरू, झूटा अगुवाहरू, सुमधुर सहकार्य, तिमीहरूलाई मन नपर्ने सबै प्रकारका कुराहरू, र अरू धेरै कुराहरूमा सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न सक्नेछौ—तिमीहरूसँग माग गरिएको कुरा यही हो। मैले तिमीहरूसँग गर्ने मागहरू सबै तिमीहरूले सामान्य मानवतामा हासिल गर्न सक्ने दायराभित्रका कुराहरू हुन्। मैले बोलिसकेपछि, म तिमीहरूले हासिल गर्नुपर्ने परिणामहरू हासिल गर्नका लागि यी वचनहरूअनुसार अभ्यास गर भनेर माग गर्छु।

कतिपय मानिसहरूले यति धेरै वर्षसम्म प्रवचनहरू सुनेका छन् तर कहिल्यै कुनै भेटी चढाएका छैनन्। के परमेश्‍वरको घरले यस मामलामा दबाब दिन्छ? अहँ, दिँदैन। कसले कहिल्यै कुनै भेटी चढाएको छैन, वा कसले सधैँ परमेश्‍वरको घरसँग जीवनयापनको खर्च मागिरहेको छ भनेर पनि म कहिल्यै सोधपुछ गर्दिनँ। म यी मामलाहरूबारे सोधपुछ गर्दिनँ, र मलाई यिनको वास्ता पनि छैन। मलाई वास्ता लाग्ने कुरा भनेको तैँले आफ्नो कर्तव्य कसरी निर्वाह गर्छस्, तैँले मूल्य चुकाउन सक्छस् कि सक्दैनस्, र तैँले सही सल्लाह स्वीकार गर्न सक्छस् कि सक्दैनस्; तँलाई कुराहरू आइपर्दा तैँले आफैविरुद्ध विद्रोह गर्न र आफ्ना महत्त्वाकाङ्क्षाहरू र चाहनाहरू त्याग्न सक्छस् कि सक्दैनस्; तँसँग हैसियत हुँदा तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न र मानिसहरूलाई निष्पक्ष रूपमा व्यवहार गर्न सक्छस् कि सक्दैनस्; कामकुराहरू गर्दा तैँले सिद्धान्तहरू खोज्छस् कि खोज्दैनस् र तेरो हृदयमा सिद्धान्तहरू छन् कि छैनन्; तैँले सिद्धान्तहरू नबुझेका मामलाहरूमा तैँले आफ्नै इच्छाअनुसार काम गर्छस् कि गर्दैनस्; तैँले आफ्नै इच्छाअनुसार काम गरेपछि कसैले त्यो औँल्याउँदा तैँले त्यसलाई स्वीकार गर्न, पछुतो महसुस गर्न, र आफूलाई परिवर्तन गर्न सक्छस् कि सक्दैनस्; तँलाई आलोचना गर्नेहरूलाई तैँले घृणा गर्ने, दबाउने, वा यातना दिने गर्छस् कि दिँदैनस्; सामान्य मानव जीवनको दायराभित्रका मामलाहरू—बोल्ने र काम गर्ने, साथै बाँच्नका लागि आधारभूत आवश्यकताहरू—का सम्बन्धमा तेरा माग गरिएका मानकहरू के-के हुन्, र तँसँग सीमा छ कि छैन भन्‍ने कुरा हुन्। मलाई सत्यता, आफूलाई आचरणमा ढाल्ने सिद्धान्तहरू, जीवनप्रतिको व्यक्तिको दृष्टिकोण, र व्यक्ति हिँड्ने मार्गसँग सम्बन्धित यस्ता मामलाहरूको वास्ता लाग्छ। यसका साथै, म भेटीहरू समावेश हुने मामलाहरूको बारेमा पनि सोधपुछ गर्छु र छानबिन गर्छु। यदि कुनै अगुवाले, भेटीहरूको खर्च समावेश हुने काम गर्दा, सिद्धान्तहरू पालन गर्दैन, बरु जथाभाबी खर्च गर्छ र भेटीहरू खेर फाल्ने कार्यमा संलग्न हुन्छ, र खुलासा गरिएपछि र काटछाँट गरिएपछि, उसलाई कुनै पछुतो हुँदैन, न त उसले आफ्ना पापहरू स्वीकार गर्छ र पश्चात्ताप नै गर्छ, र उसले घाटाको भर्पाई गर्न इन्कार गर्ने मात्र होइन तर उसले तर्क गर्ने र आफूलाई सही साबित गर्ने प्रयास पनि गर्छ भने—तिनीहरूमध्ये कतिपयले जाली कुराहरू बनाउने र झूटा प्रमाणहरू खडा गर्ने, वा गम्भीर मामलाहरूमा प्रमाणहरू नष्ट गर्ने समेत गर्छन्, र यस्तै अरू कुराहरू गर्छन् भने—म यी मामलाहरूको बारेमा सोधपुछ गर्नेछु र छानबिन गर्नेछु। के यी सबै मामलाहरूमा व्यक्तिले आफूलाई कसरी आचरणमा ढाल्छ र परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा ऊ कुन मार्गमा हिँड्छ भन्‍ने कुरा समावेश हुँदैन र? (हुन्छ।) के तँ मलाई यी मामलाहरूको वास्ता लाग्नु उचित हो भनेर भन्छस्? (भन्छु।) कतिपय मानिसहरू निकै राम्रा परिवारका सदस्यहरू हुन्छन् र निकै धनी हुन्छन्; के म तिनीहरूको परिवारले वर्षमा कति कमाउँछ, तिनीहरूले भेटीहरू चढाएका छन् कि छैनन्, वा तिनीहरूले दशांश चढाएका छन् कि छैनन् भनेर सोधपुछ गर्छु भन्‍ने तँलाई लाग्छ? मैले भेलाहरूमा प्रचार गर्दा कहिल्यै त्यस्ता कुराहरू भनेको छैन। कतिपय मानिसहरू यसो भन्छन्, “के तपाईंले सार्वजनिक स्थानहरूमा यसबारे कुरा नगर्ने, तर निश्चित व्यक्तिहरूबाट गोप्य रूपमा यसबारे सोधपुछ गर्ने गर्नुहुन्‍न र?” मसँग अन्तरक्रिया र सङ्गत गरेका दाजुभाइ-दिदीबहिनीहरूलाई मैले कहिल्यै यी मामलाहरूबारे सोधपुछ गरेको छु कि छैन भनेर तैँले सोध्न सक्छस्—मैले गरेको छैन। मलाई भन्, म सोध्न अनिच्छुक भएको हुँ, कि मलाई रुचि नभएको हो? (तपाईंलाई रुचि नभएको हो।) मलाई रुचि छैन, जसको अर्थ मेरो मनमा यी कुराहरू छैनन्—यी कुराहरू मेरो मनमा छैनन्। यो यस मामलाको एउटा पक्ष हो। अर्को कुरा, दाजुभाइ-दिदीबहिनीहरूको परिवारको आर्थिक अवस्था र सामाजिक हैसियत कस्तो छ भन्‍ने मलाई साँच्चै थाहा हुँदैन। मलाई किन थाहा हुँदैन? किनभने म तिनीहरूबारे उत्सुक छैन, र म तिनीहरूबारे सोधपुछ गर्दिनँ। यदि मलाई व्यक्तिगत मामलाहरूबारे थाहा भए पनि, त्यो तिमीहरूले तिनीहरूको परिवार धनी छ भनेर उल्लेख गरेको सुनेर मात्रै हो; मलाई यति आधारभूत जानकारी मात्रै थाहा हुन्छ। तिनीहरूले कस्तो प्रकारको काम गर्छन् वा वर्षमा कति कमाउँछन् भन्‍ने कुरा, मलाई साँच्चै थाहा हुँदैन। म तिमीहरूको कुनै पनि परिवारको आर्थिक अवस्था, तिमीहरूको आम्दानी कति छ, वा तिमीहरू धनी छौ कि गरिब छौ भन्‍नेबारे कहिल्यै सोधपुछ गर्दिनँ वा वास्ता गर्दिनँ—मलाई यी कुराहरूको वास्ता छैन। कतिपय मानिसहरूले, दाजुभाइ-दिदीबहिनीहरूसँग केही पटक अन्तरक्रिया गरेपछि, तिनीहरूको परिवारको आधारभूत अवस्थाहरू—तिनीहरूको परिवारले के गर्छ, कुन परिवार धनी छ, कुन गरिब छ, र तिनीहरूको परिवारसँग सम्पत्तिको रूपमा कति छ भन्‍ने कुरालाई निकै राम्ररी बोध गर्छन्। तिनीहरूले तिनीहरूका पुर्खाहरूका विगत तीन पुस्ताले जीविकोपार्जनका लागि के गर्थे भनेर अनुसन्धान गर्न मात्रै बाँकी राख्छन्। तिनीहरूले यी मामलाहरूमा निकै रुचि राख्छन् र तिनका बारेमा विशेष गरी छिटो पत्ता लगाउँछन्। के तिमीहरू त्यस्ता मानिसहरूले आफ्ना उचित कार्यहरूलाई बेवास्ता गरिरहेका हुन्छन् भनेर भन्छौ? (भन्छौँ।) कसैसँग एकपटक मात्रै अन्तरक्रिया गरेपछि वा भेटेपछि, तिनीहरूलाई त्यस व्यक्तिले महिनामा कति कमाउँछ, सामान्यतया खाने र लाउने सम्बन्धी उसको मानक कस्तो छ, र समाजमा स्थान र हैसियत भएका कुन मानिसहरूसँग उसले सङ्गत र अन्तरक्रिया गर्छ भन्‍ने थाहा हुन्छ—तिनीहरू यी सबै कुराहरू जान्न सक्षम हुन्छन्। मैले कसैसँग धेरै पटक अन्तरक्रिया गरेपछि पनि, मलाई यी कुराहरू थाहा हुँदैन। यदि तिनीहरूले संसारमा के काम गर्छन् र तिनीहरूको वार्षिक तलब कति छ भनेर मलाई बताउन आफैले पहल गरे भने मात्रै मलाई अलिकति थाहा हुन्छ, तर म पछि त्यो याद राख्दिनँ। कतिपय मानिसहरू यसो भन्छन्, “तपाईंले मानिसलाई मुक्ति दिने काम गर्नुहुन्छ—के तपाईंलाई बाहिरी संसारका धेरै मामलाहरूबारे थाहा नहुनु ठीक हो र?” मलाई भन्, के सत्यतासँग सम्बन्धित नरहेका ती मामलाहरूबारे जान्नु आवश्यक छ र? (छैन।) म सत्यतासँग सम्बन्धित मामलाहरू मात्रै छानबिन गर्छु; म तेरो स्वभाव, तेरो मानवता, तेरो आत्मआचरण, र तँ हिँड्ने मार्ग समावेश रहेका समस्याहरू मात्रै छानबिन गर्छु। तँसँग कति पैसा छ भनेर म छानबिन गर्दिनँ, न त तेरो पैसा कहाँबाट आउँछ भनेर नै म छानबिन गर्छु। म यी कुराहरूबारे सोधपुछ गर्न वा जान्न चाहन्नँ, र यो मेरो सोख होइन। जब म मानिसलाई हत्केलाजस्तै राम्ररी चिन्छु भन्छु, तब मेरो भनाइको अर्थ म मानिसको स्वभाव बुझ्छु, उसको भ्रष्टताको सार र खास अवस्था बुझ्छु, र सबै प्रकारका मानिसहरूको मानवता बुझ्छु भन्‍ने हो; यो यस मामलाको एउटा पक्ष हो। यसको अर्थ सबै प्रकारका मानिसहरूले प्रकट गर्ने स्वभावहरूमा कस्तो प्रकारको सार समावेश हुन्छ, मानिसहरूले प्रकट गर्ने विभिन्न स्थितिहरूमा के-कस्ता समस्याहरू समावेश हुन्छन्, र तिनीहरूका समस्याहरू समाधान गर्न र तिनीहरूलाई आफू रहेको स्थितिबाट बाहिर निस्कन सक्षम तुल्याउनका लागि कसरी सङ्गति गर्ने, तिनीहरूलाई कसरी भरणपोषण गर्ने, र तिनीहरूलाई कसरी मद्दत गर्ने भन्‍ने कुरा बुझ्नु पनि हो। छोटकरीमा, म मेरो कामसँग सम्बन्धित र सत्यतासँग सम्बन्धित मामलाहरू मात्रै छानबिन गर्छु।

आफ्‍नो काम गर्दा, मैले तिमीहरूप्रति पूरा गर्ने जिम्मेवारी भनेको तिमीहरूका समस्याहरू समाधान गर्नु हो। सानो स्तरमा भन्दा, यसको अर्थ तिमीहरूको दैनिक जीवनमा तिमीहरूको मानवताले जिउने कुरामा आएका समस्याहरू समाधान गर्नु हो; ठूलो स्तरमा भन्दा, यसको अर्थ तिमीहरूका भ्रष्ट स्वभावका समस्याहरू समाधान गर्नु र तिमीहरूलाई मुक्तिको मार्ग स्पष्ट रूपमा देखाउनु हो। त्यसकारण, देहधारी परमेश्‍वर मानवजातिको भेटी, चापलुसी, वा पछ्याइको आनन्द लिन, वा मानव संसारको सुखको आनन्द लिन मानिसहरूमाझ आउनुभएको होइन, बरु आफ्नो जिम्मेवारी पूरा गर्न आउनुभएको हो। उहाँसँग परमेश्‍वरको पहिचान छ र उहाँसँग परमेश्‍वरको जीवन छ; उहाँ परमेश्‍वर स्वयम्‌को काम गर्न र परमेश्‍वर स्वयम्‌ले मानिसप्रति पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मानिसहरूमाझ आउनुभएको हो। यो कामको जुनसुकै चरण भए पनि वा यो मानिसहरूको जुनसुकै समूहको बीचमा भए पनि, परमेश्‍वरले मानिसहरूसँग अन्तरक्रिया गर्दा गर्नुहुने कामको आधारभूत लक्ष्य भनेको तिनीहरूलाई सबै प्रकारका समस्याहरू समाधान गर्न मद्दत गर्नु हो। मैले कहिलेकाहीँ दैनिक जीवनका केही सानातिना मामलाहरूबारे कुरा गरे पनि, र तिमीहरूलाई आफूले केही कथाहरू मात्रै सुनिरहेको छु जस्तो लागे पनि, वास्तवमा, मैले तिमीहरूसँग सङ्गति गर्ने यी सानातिना मामलाहरूमा तिमीहरूका समस्याहरू, र तिमीहरूले बुझ्नुपर्ने सत्यताहरू समावेश हुन्छन्, जुन तिमीहरूले समाधान गर्नुपर्ने र प्रवेश गर्नुपर्ने कुराहरू हुन्। सुनेपछि, सत्यता सिद्धान्तहरू खोज्नमा ध्यान केन्द्रित गर्नेहरू र सत्यता अभ्यास गर्नमा ध्यान केन्द्रित गर्नेहरूले यसबारे सचेत नै नभईकन केही सत्यताहरू बुझ्नेछन् र आफूलाई आचरणमा ढाल्ने र काम गर्ने केही सिद्धान्तहरू बुझ्नेछन्। तर, आत्मिक बुझाइ नभएका मानिसहरूले सुनेपछि पनि बुझ्नेछैनन्, र सङ्गतिमा केवल सानातिना घरेलु मामलाहरू समावेश छन् भन्‍ने समेत महसुस गर्नेछन्। वास्तवमा, तैँले पनि धेरैजसो समय यी सानातिना मामलाहरूबाट पाठ सिक्न सक्नुपर्छ। किनभने हामीले कुराहरूको जुनसुकै पक्षबारे सङ्गति गरिरहेका भए पनि—चाहे त्यो दैनिक जीवनसँग सम्बन्धित कुरा होस्, व्यक्तिको कर्तव्य समावेश हुने कुरा होस्, वा जीवन प्रवेश समावेश हुने कुरा होस्—हामीले सङ्गति गर्ने सिद्धान्त र बुझाइ कुनै पहेलीहरू समाधान गर्न वा कुनै रहस्यहरू उजागर गर्नका लागि होइनन्—बरु, हाम्रो सङ्गतिले एउटा तथ्य व्याख्या गर्न, व्यक्तिका विचार र दृष्टिकोणका समस्याहरू समाधान गर्न, र व्यक्तिले सबै प्रकारका कुराहरूलाई कसरी हेर्छ र उसले सबै प्रकारका मानिसहरूलाई कसरी व्यवहार गर्छ भन्‍ने समस्याहरू समाधान गर्नका लागि दैनिक भाषा प्रयोग गर्छ। उदाहरणका लागि, लुगाको शैली र रङ छनौट गर्ने कुरालाई नै लिऊँ। दैनिक पहिरनको लागि होस् वा कार्यक्रमहरू बनाउनका लागि होस्, लुगाको शैली र रङ छनौट गर्ने मेरा सिद्धान्त र उद्देश्यहरू तिमीहरूका भन्दा फरक छन्। तिमीहरूका सिद्धान्त र अभिप्रायहरू के-के हुन्? ती भनेका आफूलाई सुन्दर वा आकर्षक देखाउनका लागि सिँगार्ने कार्य हुन्—तिमीहरू आकर्षक देखियौ भने र तिमीहरूले ध्यान खिच्यौ भने, तिमीहरू सन्तुष्ट हुन्छौ। मेरा मूल अभिप्राय र उद्देश्यहरू के-के हुन्? ती भनेका तिमीहरूलाई शालीन, इमानदार, र मानव रूप र मर्यादा भएको देखाउनु हो, ताकि मानिसहरूले तिमीहरूलाई केही मात्रामा आदर गरून् र तिमीहरूलाई हेला गर्ने, खेलौना बनाउने, वा तिमीहरूका बारेमा कुनै कुटिल विचार वा अनुचित विचारहरू राख्ने आँट नगरून्। यसो गर्दा, मैले तँलाई प्रदर्शन गर्ने अवसरबाट वञ्चित गरिरहेको हुँदिनँ, बरु मैले तँलाई रक्षा गरिरहेको छु, तँलाई मानव रूप भएको तुल्याइरहेको हुन्छु र तँलाई इमानदार उपस्थिति प्रस्तुत गर्ने जस्तो देखिने तुल्याइरहेको हुन्छु, ताकि खराब अभिप्राय भएकाहरूले तँलाई शोषण गर्ने कुनै अवसर नपाऊन्, र ती दुष्ट मानिसहरूले तेरो फाइदा उठाउने वा तँलाई खेलौनाको रूपमा व्यवहार गर्ने आँट नगरून्। तिनीहरूले तँलाई आदर गर्नुपर्नेछ। यसरी, के तेरो निष्ठा सुरक्षित हुँदैन र? (हुन्छ।) लुगाको शैली र रङ छनौट गर्ने जस्तो सरल मामलामा, मैले परमेश्‍वरको घरको हित र प्रतिष्ठाको रक्षा गर्न यसो गर्छु भन्‍ने तिमीहरूलाई लाग्न सक्छ, तर वास्तवमा, यो साँच्चै मुख्य उद्देश्य होइन; मुख्य उद्देश्य भनेको तिमीहरूलाई रक्षा गर्नु हो। यो सानो मामलामा मात्रै पनि, मेरा दृष्टिकोणहरू तिमीहरूका भन्दा पूर्ण रूपमा फरक छन्। तिमीहरूले आफ्नो व्यक्तिगत जीवनमा कसरी पहिरन लगाउँछौ र आफूलाई सिँगार्छौ भन्‍ने कुराको हकमा, म तिमीहरूलाई ठाउँ दिन्छु र तिमीहरूलाई आफ्नो देखावटीपन सन्तुष्ट पार्न स्वतन्त्र रूपमा छनौट गर्न अनुमति दिन्छु। यी मामलाहरू भनेका सत्यताका बारेमा सङ्गति गरिएपछि र मानिसहरूले सत्यता बुझेपछि तिनीहरूले सामान्य मानवता प्राप्त गर्ने कुरामा निर्भर हुन्छन्, ताकि तिनीहरूले आत्म-संयम हासिल गर्न सकून् र तिनीहरू शालीन, इमानदार बन्न सकून्, र तिनीहरूसँग मानव रूप हुन सकोस्। तर, जब तिमीहरू सार्वजनिक स्थानहरूमा देखा पर्छौ, तब मैले तिमीहरूका लागि कुराहरू जाँच्न मद्दत गर्नुपर्छ। यो पूर्ण रूपमा तिमीहरूलाई रक्षा गर्नका लागि हो, तिमीहरूलाई नियन्त्रण गर्न वा बन्धनमा पार्नका लागि होइन। तिमीहरूले जेसुकै सोचे पनि, कामकुराहरू गर्ने मेरा सिद्धान्तहरू यस्तै छन्, र यस मामलामा, अन्तिम निर्णय मेरै हुन्छ। कतिपय व्यक्तिहरू अलिक असन्तुष्ट भए पनि, तिनीहरूले भित्रभित्रै अलिक कुण्ठित महसुस गरे पनि, वा यस मामलाको बारेमा आशङ्काहरू राखे पनि, त्यसले केही फरक पार्दैन; तैँले भविष्यमा बुझ्नेछस्। यसका साथै, लुगाको रङ, कपडा, र शैलीको बारेमा मेरा छनौटहरू रूढिवादी वा पुराना परम्पराहरूद्वारा बाँधिएका छैनन्; मसँग पुराना विचार र धारणाहरू छैनन्। यदि तँ पाको उमेरको छस् भने, म तँलाई अझै जीवन्त देखिने खालको शैली दिन्छु, तेरो लागि केही चहकिला रङका लुगाहरू छान्छु ताकि तँ जवान देखिन सक् तर कामुक होइन। यो तेरो लागि राम्रो कुरा हो; जब मानिसहरूले तँ पाको उमेरको भए पनि, तँमा अझै पनि केही जीवन्तता छ भन्‍ने देख्छन्, र तँ निकै सुव्यवस्थित र आकर्षक देखिन्छस्, तब तिनीहरूले तँलाई आदर गर्नेछन् र तँलाई केही सम्मान दिनेछन्, यसरी तेरो मर्यादा पूर्ण रूपमा सुरक्षित छ भन्‍ने कुरा सुनिश्चित हुन्छ। यो तिमीहरूले नसोच्ने कुरा हो। केही व्यक्तिहरूले यसबारे सोचेका हुन सक्छन्, तर कसले यो सिद्धान्तलाई पालन गर्न सक्छ, र कसले यो सिद्धान्तमा निपुणता हासिल गर्न सक्छ? तिमीहरूले साँच्चै यसमा निपुणता हासिल गर्न सक्दैनौ, होइन र? (हो।) तिमीहरूमध्ये कतिपयले भन्छौ, “म बूढो भएँ, र बूढा मानिसहरू बूढा मानिसहरू जस्तै देखिनुपर्छ। म त जवान मानिसहरूका लागि उदाहरण बन्नुपर्छ र मलाई केही आदर गर्ने तिनीहरूलाई तुल्याउनुपर्छ।” तैँले आफ्नो फुलेको कपाल रङ्गाउँदैनस्, तेरो अनुहार फुस्रो भए पनि अलिकति हल्का मेकअप गर्दैनस्, आफ्ना झरेका अगाडिका दाँतहरू हाल्दैनस्, जसले गर्दा तैँले बोल्दा तेरा दाँतको खाली ठाउँबाट हावा छिरेर सुसेली बज्छ, र चहकिला लुगाहरू लगाउँदैनस्, तर खैरो र कालो मात्रै लगाउँछस्। नतिजास्वरूप, मानिसहरूले तेरो गालामा पटक्कै रङ नभएको पाउँछन्; तँ बिरामी जस्तो मात्रै देखिन्छस्। मलाई भन्, जवान मानिसहरूले तँलाई देख्दा कस्तो महसुस गर्छन्? जब तिनीहरूले तँलाई सम्बोधन गर्छन्, तब तिनीहरूले “बूढो” भन्‍ने शब्द थप्नुपर्छ, तँलाई “बूढी दिदी” वा “बूढो दाइ” भनेर बोलाउनुपर्छ। के त्यसले तँलाई सहज महसुस गराउँछ? तँ यसलाई स्वीकार गर्न हिचकिचाउँछस्, र तैँले मनमनै सोच्छस्, “म तिमीहरूभन्दा अलिक पाको उमेरको भए पनि, के म साँच्चै त्यति बूढो छु र?” तँलाई यति बूढो देखिने बन्नू भनेर कसले भन्यो? तेरो अनुहारको रङलाई अझै राम्रो बनाउने रङका लुगाहरू छान्नु ठीक हुँदैन र? अलिकति सिँगारिइस् भने मानिसहरूले तँमा जीवन्तता छ भन्‍ने देख्न सक्छन्, र तँ उमेरमा पाको भए पनि, तेरो मानसिकता पाको छैन भन्‍ने देख्न सक्छन्—के त्यसले तँलाई आदर दिलाउँदैन र? चालीस वर्ष नाघेकी एउटी महिला थिई, र जब मैले उसलाई प्रस्तुतिको लागि गुलाबी रङको लुगा लगाउन भनेँ, तब उसले भनी, “मेरो उमेरमा गुलाबी रङ लगाउँदा, के त्यो आफूलाई आफ्नो उमेरभन्दा जवान देखाउने प्रयास गरेको हुँदैन र?” उसको दृष्टिकोण मेरोभन्दा फरक थियो। मैले भनेँ, “यो आफूलाई आफ्नो उमेरभन्दा जवान देखाउने प्रयास गर्नु होइन; क्यामेराको अगाडि हुँदा यस्तो गर्नु आवश्यक हुन्छ। म तँलाई सुझावहरू दिन्छु र तँलाई शैलीमा मद्दत गर्छु ताकि तेरो गालामा केही रङ भएको जस्तो देखियोस्, र तँ आकर्षक र सुव्यवस्थित देखिन सक्। यदि तँलाई यो आफूलाई आफ्नो उमेरभन्दा जवान देखाउने प्रयास गर्नु हो भन्‍ने लाग्छ, र तैँले यसलाई त्यसरी नै हेर्छस् भने, नलगा। यदि तैँले भद्दा लुगा लगाइस् भने, तँ तुरुन्तै दस वर्ष बूढी देखिनेछस्।” यदि मैले उसलाई ऊ दस वर्ष बूढी देखिन्छे भनेर भनेँ भने, ऊ यसबारे बेखुसी हुन्छे, तर मैले उसलाई अलिक जवान देखाउने प्रयास गरेको कुरा पनि उसले स्वीकार गर्न सक्दिन। के यो व्यक्तिसँग व्यवहार गर्न निकै गाह्रो छैन र? (छ।) यी सरल मामलाहरूमा मात्रै पनि, यदि मानिसहरूसँग सही विचार र दृष्टिकोणहरू छन् भने, तिनीहरूले तिनलाई उपयुक्त रूपमा, उचित रूपमा, र सिद्धान्तहरूअनुरूप सम्हाल्नेछन्। तर, यी मामलाहरूको बारेमा धेरैजसो मानिसहरूका विचार र दृष्टिकोणहरू अत्यन्तै विकृत, रूढिवादी, वा कट्टर हुन्छन्, र कतिपय मानिसहरूले त देखावटीपन समेत गर्छन्। यी मामलाहरूमा मेरा विचार र दृष्टिकोणहरूलाई सत्यता भन्न नसकिए पनि, ती कम्तीमा पनि उपयुक्त, उचित, र सामान्य मानवताको दायराभित्र छन्। त्यसैले, कहिलेकाहीँ, यी साना मामलाहरूमा समेत, म तिमीहरूलाई कुनै न कुनै हदसम्म केही सङ्केत र सुझावहरू दिन्छु। यदि तँ ध्यान दिने किसिमको छस् र तैँले सही विचार र दृष्टिकोणहरू स्वीकार गर्न सक्छस् भने, तैँले यसबारे सचेत नै नभईकन यी कुराहरू बोध गर्नेछस्। यदि तँ ध्यान दिँदैनस्, वा सधैँ आफ्नै राय र विचारहरू राख्छस्, वा यदि तँ अझै पनि आफू भित्र धेरै पुराना, परम्परागत, मूर्ख, र जिद्दी विचार र दृष्टिकोणहरू राख्छस् भने, तैँले मैले भनेको कुरा बुझ्न वा त्यसको अर्थ निकाल्न सक्दैनस् होला। तर जेसुकै भए पनि, र जुनसुकै पक्षहरूमा भए पनि, मैले गर्ने कामको दायराभित्र सामना गर्न सकिने यी मामलाहरू हुन् भने, म तिमीहरूलाई लाभान्वित गर्न, तिमीहरूलाई सही दिशातिर डोऱ्याउन, तिमीहरूलाई आफ्ना भ्रमपूर्ण विचार र दृष्टिकोणहरू सच्याउन मद्दत गर्न, र सबै प्रकारका सही विचार र दृष्टिकोणहरू स्थापित गर्न सक्दो प्रयास गर्छु। यो मेरो जिम्मेवारी हो। जिम्मेवारी पूरा गर्ने यस बुँदामा मात्रै पनि, देहधारी परमेश्‍वरले गर्नुहुने कामको प्रकृति मानवजातिमाझ हैसियत भएको कुनै पनि व्यक्तिले गर्ने कामको प्रकृतिभन्दा पूर्ण रूपमा फरक छ, होइन र? (हो।)

मेरो विचारमा, हैसियतलाई लिएर मानिसहरूले गर्ने काममा आधारभूत रूपमा दुई वटा कुरा समावेश हुन्छन्: एउटा आफ्नो हैसियतको सुरक्षा गर्नु हो, र अर्को व्यक्तिगत फाइदाहरूको माग गर्नु हो। हैसियतसँग सम्बन्धित मानिसहरूका आवश्यकता र मागहरू यिनै हुन्। हैसियत भएको कुनै पनि व्यक्ति जुनसुकै काममा संलग्न भए पनि, त्यो सत्यता आपूर्ति गर्ने वा जीवन आपूर्ति गर्ने काम हुँदैन, मानिसहरूलाई जीवनको मार्गदर्शन र मार्ग देखाउने कुरा त झनै हुँदैन। बरु, तिनीहरू भौतिक वा अभौतिक काममा संलग्न हुन्छन्, मानिसहरूलाई व्यवस्थापन वा नियन्त्रण गर्छन्, र कुनै पेशागत क्षेत्र वा ज्ञानको कुनै पक्ष, कुराहरूको उत्पादन, वा अन्य विभिन्न क्षेत्रहरूको कुरामा मानिसहरूलाई आफ्नो अगुवाइ स्वीकार गर्न लगाउँछन्। त्यसपछि, तिनीहरूले आफ्नो अख्तियार स्थापित गर्न र आफ्नो हैसियत सुदृढ गर्न आफ्नो शक्ति प्रयोग गर्छन्, जसको माध्यमबाट तिनीहरूले व्यक्तिगत फाइदाहरू खोज्छन्। यी फाइदाहरूलाई दुई प्रकारमा विभाजन गरिन्छ: आर्थिक फाइदाहरू र प्रतिष्ठासम्बन्धी फाइदाहरू। त्यसकारण, मानिसहरूमाझ हैसियत भएको कुनै पनि व्यक्तिले गर्ने कामको प्रकृति देहधारी परमेश्‍वरले गर्नुहुने कामको प्रकृतिभन्दा पूर्ण रूपमा फरक हुन्छ। उसले न त मानिसहरूलाई भरणपोषण गर्छ न त तिनीहरूलाई मद्दत नै गर्छ, तिनीहरू मानिसहरूबाट मागहरू गर्नबाट पछि हट्नु कुरा त झनै परको कुरा हो। हैसियत प्राप्त गरेपछि र हैसियतको स्थानबाट काम गरेपछि व्यक्तिले प्राप्त गर्ने हैसियत र आर्थिक फाइदाहरूका आधारमा हेर्दा, मानिसहरूमाझ हैसियत भएको कुनै पनि व्यक्ति अन्ततः र अपरिहार्य रूपमा निहित स्वार्थ भएको व्यक्ति नै बन्नेछ। किनभने तिनीहरूसँग भएको हैसियतले तिनीहरूलाई व्यक्तिगत रूपमा सेवा दिन्छ, र तिनीहरूले गर्ने सबै कुरा हैसियत र फाइदाहरूका लागि हुन्छ; यो मानिसहरूलाई आपूर्ति गर्न वा मद्दत गर्नका लागि हुँदैन। यस सन्दर्भमा, यो कुरा देहधारी परमेश्‍वरले गर्नुहुने कामभन्दा पूर्ण रूपमा फरक हुन्छ। यसबाहेक, हैसियत भएको कुनै पनि व्यक्तिले मानिसहरूलाई जे भने पनि वा मानिसहरूका लागि जे गरे पनि, उसको अन्तिम लक्ष्य भनेको तिनीहरूबाट भावनात्मक निष्ठा, आर्थिक योगदान, र हैसियतको योगदानको माग गर्नु नै हुन्छ। अर्थात्, यदि उसले राम्रो बोल्छ र राम्रो काम गर्छ, र मानिसहरूको मन जित्छ, जसले गर्दा मानिसहरूले उसलाई उच्च सम्मान गर्छन् र उसको अनुमोदन गर्छन् भने, मानिसहरूको हृदयमा त्यस व्यक्तिको बारेमा राम्रो राय हुनेछ—त्यस व्यक्तिसँग बढी प्रतिष्ठा, बढी प्रभाव, र ठूलो ख्याति हुनेछ, र अझ धेरै मानिसहरू उसको वरिपरि जम्मा हुनेछन् र ऊद्वारा जितिनेछन्। उसले मानिसहरूबाट माग गर्ने भावनात्मक निष्ठा यही हो। अर्थात्, मानिसहरूले उसलाई अझ बढी आदर्श मान्नेछन् र आफ्नो हृदयमा उसको बारेमा अझ बढी प्रशंसा गर्नेछन्, र उसको अगुवाइको शैली, उसको बोलीवचन र हाउभाउ, र उसले आफूलाई आचरणमा ढाल्ने र व्यवहार गर्ने तरिका र शैलीप्रति अझ बढी आकर्षित हुनेछन् र तिनीहरू जितिनेछन्। यसरी, तिनीहरूको हैसियत अझ उच्च र अझ सुरक्षित बन्छ, र यसले मानिसहरूका बीचमा रहेको तिनीहरूको हैसियतलाई पूर्ण रूपमा सुदृढ गर्छ। मानिसहरूको हृदयमा तिनीहरूको हैसियत सुरक्षित भएपछि, यही बेला, तिनीहरूले प्राप्त गर्ने आर्थिक र भौतिक फाइदाहरू अझ प्रचुर हुन्छन्। तिनीहरूले मानिसहरूको हृदयमा आफ्नो हैसियत सुरक्षित गर्न काम गर्नुको वास्तविक कारण भनेको तिनीहरूले अझ बढी भौतिक र आर्थिक फाइदाहरू प्राप्त गर्न सकून् भन्‍ने हो। यो देहधारी परमेश्‍वरले मानिसहरूमाझ ओगट्नुहुने हैसियत र उहाँले गर्नुहुने कामभन्दा पूर्ण रूपमा फरक छ। मानिसहरूले यो कुरा स्पष्ट रूपमा देख्नुपर्छ। के यहाँ कुनै भिन्नता छ? (छ।) हेर् त, जब मानिसहरूसँग हैसियत हुन्छ र तिनीहरूका प्रशंसकहरू हुन्छन्, तब तिनीहरूले आफ्नो हैसियतको खातिर धेरै कुराहरू गर्छन्। तिनीहरूले आफ्नो छवि सुधार्छन्, वाक्पटुता सिक्छन्, र आफ्नो निजी जीवनलाई पूर्ण रूपमा लुकाउँछन्, जसमा तिनीहरूको जीवनसाथीको छनौट, तिनीहरूको वैवाहिक स्थिति, र तिनीहरूको व्यक्तिगत निवास र अन्य विवरणहरू समेत समावेश हुन्छन्। तिनीहरूले यी सबै कुराहरू लुकाउँछन् र अरूलाई यसबारे थाहा दिँदैनन्। तिनीहरूले मानिसहरूका बीचमा आफ्नो हैसियत र छविको सुरक्षा गर्नका लागि नै यी सबै गर्छन्। तिनीहरूसँग धेरै निजी मामिलाहरू हुन्छन् जसलाई गोप्य राखिन्छ, खुलस्त रूपमा खुलाइँदैन, र ती कुरा अरू कसैलाई थाहा हुँदैन। सार्वजनिक रूपमा, तिनीहरूले निकै प्रभावशाली, भव्य, आदरणीय, र सुन्दर देखिनका लागि आफूलाई सजाउँछन्, र तिनीहरूको बोली निकै कोमल र विचारशील हुन्छ; मानिसहरूले जे सुन्न चाहन्छन् तिनीहरूले त्यही भन्छन्, र मानिसहरूले जे हेर्न चाहन्छन् तिनीहरूले त्यही प्रदर्शन गर्छन्। तिनीहरूले पर्याप्त गृहकार्य गर्छन् र आफ्नो व्यक्तिगत छवि निर्माण गर्न सबै प्रकारका कुराहरू गर्छन्। जब कुनै काण्ड वा तिनीहरूले गरेको कुनै खराब कुरा बाहिरिन्छ र तिनीहरूका प्रशंसकहरूलाई थाहा हुन्छ, तब तिनीहरूले आफूलाई सही ठहराउन र देखावटी रूप प्रस्तुत गर्न सक्दो प्रयास गर्नेछन्, र त्यस मामिलालाई ढाकछोप गर्न सम्भव भएसम्मका सबै उपायहरू रच्नेछन्। त्यस्ता कतिपय मानिसहरूले त आफूलाई पूर्ण रूपमा नयाँ रूपमा प्रस्तुत समेत गर्छन्, मानिसहरूको हृदयमा आफ्नो छवि कायम राख्न सम्भव भएसम्मका सबै उपायहरू रच्छन्। यी सबै गर्नुको पछाडि तिनीहरूको उद्देश्य भनेको मानिसहरूका बीचमा आफ्नो हैसियत कायम राख्नु हो; मानिसहरूको बीचमा तिनीहरूको हैसियत कायम रहेपछि, तिनीहरूले पछ्याउने भौतिक कुराहरू, पैसा, र सुखविलासहरू पनि सबै सुरक्षित रहन्छन्। त्यसकारण, तिनीहरूले जे गरे पनि—र चाहे त्यो सार्वजनिक रूपमा होस् वा गोप्य रूपमा होस्—त्यो सबै अत्यन्तै भ्रामक हुन्छ। तिनीहरूले आफ्नो हृदयमा के सोचिरहेका छन्, तिनीहरूको मानवता र चरित्र कस्तो छ, वा विभिन्न कुराहरूका विषयमा तिनीहरूका दृष्टिकोण र छनौटहरू वास्तवमा के हुन् भन्‍ने कुरा तैँले कहिल्यै थाहा पाउनेछैनस्। तिनीहरूले वास्तवमा के सोच्छन् भन्‍ने कुरा तैँले कहिल्यै सुन्नेछैनस्। तिनीहरूले आफ्ना प्रशंसकहरू र आफ्ना दर्शकहरूका लागि धेरै परिवर्तन ल्याए पनि र परित्यागहरू गरे पनि, त्यो तिनीहरूको साँचो अभिप्रायको विरुद्धमा गएर गरिएको हुन्छ। तिनीहरू किन यसरी आफ्ना साँचो अभिप्रायहरूको विरुद्धमा गएर काम गर्छन्? यो आफ्नो हैसियत कायम राख्नका लागि हो। किनभने तिनीहरूलाई के थाहा हुन्छ भने यदि तिनीहरूले मानिसहरूलाई देखाउनका लागि सार्वजनिक रूपमा आफ्नो साँचो अनुहार स्पष्ट पारे भने, तिनीहरूले धेरै प्रशंसकहरू गुमाउनेछन्, र तिनीहरूद्वारा तिरस्कृत र श्रापित पनि हुनेछन्। जब तिनीहरूले आफ्ना प्रशंसकहरू गुमाउँछन्, तब तिनीहरूको हैसियतमा विनाशकारी गिरावट आउनेछ, र त्यसको लगत्तै, तिनीहरूले पछ्याउने पैसा, फाइदाहरू, सुखविलासहरू, र भौतिक कुराहरू, र तिनीहरूको हैसियतले तिनीहरूलाई प्रदान गर्ने कुनै पनि अनुकूल परिस्थितिहरू र उदार व्यवहार समेत सबै गुम्नेछन्। त्यसकारण, तिनीहरू सबैले आफ्नो छविको सुरक्षा गर्न र आफ्नो हैसियत कायम राख्न सक्दो प्रयास गर्छन्। तिनीहरूले आफ्नो हैसियत र छवि कायम राख्न कुनै पनि मूल्य चुकाउनेछन् र कुनै पनि माध्यम अपनाउनेछन्—कतिपयले आफ्नो लिङ्ग परिवर्तन गर्छन्, कतिपयले प्लास्टिक सर्जरी गर्छन्, कतिपयले आफ्नो विवाह सम्बन्ध लुकाउँछन्, र कतिपयले त गोप्य रूपमा हत्या समेत गर्छन्; तिनीहरूले जे पनि गर्नेछन्। तैपनि, मानिसहरूका बीचमा, तिनीहरूले अरूलाई जे गर्छन्—र अरूले तिनीहरूबाट जे प्राप्त गर्न सक्छन्—त्यसमा कुनै पनि सकारात्मक मार्गदर्शन वा सकारात्मक भरणपोषणको लगभग कमी नै हुन्छ। मानिसहरूका बीचमा तिनीहरूले खेल्ने भूमिका भनेको केवल मानिसहरूको झूटो सानलाई सन्तुष्ट पार्नु र तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूलाई पूरा गर्नु, मानिसहरूलाई आफ्नो नाम र आफ्नो शक्तिको अधीनमा जम्मा गर्नु, त्यसपछि मानिसहरूलाई भावनात्मक, मानसिक, र आर्थिक रूपमा निर्मम रूपमा भ्रमित पार्नु र शोषण गर्नु हो। त्यसैले म के भन्छु भने हैसियत भएको जोकोही पनि लगभग निहित स्वार्थ भएको व्यक्ति हुन्छ। यो त राम्रो तरिकाले भनिएको हो; म त्योभन्दा कठोर केही भन्न चाहन्नँ। तिमीहरू आफैले यो कुरा पत्ता लगाउन सक्छौ। त्यसैले, हैसियत भएको कुनै पनि व्यक्तिको हकमा, जब तैँले तिनीहरूलाई देख्छस्, तब तँलाई तिनीहरूको कुराकानीको शैली असाधारण छ, र तिनीहरू दयालु, सुन्दर, र आकर्षक छन् भन्‍ने महसुस हुन सक्छ, र तैँले तिनीहरूलाई धेरै आदर्श मान्न सक्छस्। विशेष गरी, विपरीत लिङ्गी कतिपय मानिसहरूले त आफूलाई तिनीहरूप्रति समर्पित गर्न समेत चाहन सक्छन्। यी सबै भ्रमित हुनुका र मगज परिवर्तन गरिनुका सङ्केतहरू हुन्। पर्दा पछाडिको तिनीहरूको जीवन, तिनीहरूको साँचो मानवता, र सकारात्मक कुराहरूप्रतिको तिनीहरूको मनोवृत्तिको बारेमा कुरा नगरौँ—यी कुराहरू पत्ता लगाउनु आवश्यक छैन। यदि तैँले साँच्चै तिनीहरूप्रति आफूलाई समर्पित गर्न चाहेको भए, तैँले तिनीहरूसँग जिउन थालेपछि तँ छक्क पर्नेथिइस्। त्यतिबेलासम्म, तिनीहरू तैँले आफ्नो हृदयमा ठानेको जस्ता उच्च र असाधारण छैनन् भन्‍ने कुरा तँलाई थाहा हुनेथियो; तैँले उप्रान्त तिनीहरूलाई आदर्श मान्नेथिइनस्, र तैँले तिनीहरूलाई साधारण व्यक्तिको रूपमा व्यवहार गर्नेथिइस्। तिमीहरूको वर्तमान कदको आधारमा त, के त्यो हदसम्म जानु आवश्यक छ? (छैन।)

जब समाजमा हैसियत भएका मानिसहरू सार्वजनिक रूपमा, अटोग्राफ सभाहरूमा, पत्रकार सम्मेलनहरूमा, वा प्रत्यक्ष प्रदर्शनहरूमा देखा पर्छन्, तब मानिसहरूले तिनीहरूलाई जयजयकार गर्छन् र तिनीहरूमाथि ठूलो आशा राख्छन्। कतिपय मानिसहरूले त तिनीहरूसँग एक पटक हात मिलाउँछन् र जीवनभर आफ्नो हात धुन चाहँदैनन्, र कतिपय मानिसहरूले तिनीहरूलाई एक पटक अङ्गालो हाल्छन् र जीवनभर कहिल्यै विवाह नगर्ने निर्णय गर्छन्। के तिमीहरूलाई त्यस्ता मानिसहरू अत्यन्तै मूर्ख हुन् जस्तो लाग्दैन र? (लाग्छ।) तैँले तिनीहरूको खातिर कहिल्यै विवाह नगर्ने निर्णय गर्छस्, तर यदि कुनै दिन तैँले तिनीहरूलाई सडकमा भेटिस् र अभिवादन गरिस् भने, के तिनीहरूले तँलाई कुनै ध्यान दिनेछन्? (दिनेछैनन्।) तिनीहरू हैसियत भएका मानिसहरू, आदरणीय मानिसहरू, उच्च-वर्गका व्यक्तिहरू हुन्; तिनीहरूको नजरमा, तँ केही पनि होइनस्। जब तिनीहरूले तँलाई आफ्नो अटोग्राफ दिन्छन्, तँसँग हात मिलाउँछन्, र तँलाई अङ्गालो हाल्छन्, तब के तिनीहरूले तँलाई मन पराउँछन् जस्तो तँलाई साँच्चै लाग्छ? तँ गलत छस्; तँ अत्यन्तै अबोध छस्! जब तिनीहरूलाई तेरो आवश्यकता पर्छ, तब तँ तिनीहरूका लागि खजाना बन्छस्; जब तिनीहरूलाई तेरो आवश्यकता पर्दैन, तब तँ एउटा झार मात्रै होस्—वा, तँ केही पनि होइनस् भनेर भन्न सकिन्छ। तँ एक साधारण नागरिकको रूपमा मात्रै रहेको हुनाले, समाजमा हैसियत भएको जोकोही—सबैभन्दा तल्लो तहको अधिकारी समेत—तेरो पहुँचभन्दा बाहिर हुन्छ। तँ वयस्क होस् वा तँ सक्षम होस्, त्यसले केही फरक पार्दैन—तिनीहरूको नजरमा, तँ कोही पनि होइनस्; तिनीहरूले तँलाई पटक्कै गम्भीरतापूर्वक लिँदैनन्। समाजमा हैसियत भएका मानिसहरूको साँचो रूप यही हो। त्यसकारण, मानव संसारमा शक्ति र हैसियत भएकाहरूको वर्गमा पर्ने मानिसहरूको सारलाई हेर्दा, तिनीहरू लगभग सबै नै निहित स्वार्थ भएका मानिसहरू हुन्। तिनीहरूले तँमाथि कुनै ठूलो आशा राख्दैनन्, र कुनै पनि जिम्मेवारी वहन गर्दैनन्, तिनीहरूले सित्तैँमा केही दिने वा योगदान गर्ने कुरा त परै जाओस्—तिनीहरूले तँलाई केही पनि प्रदान गर्दैनन् भनेर त भनिरहनु नै पर्दैन। तिनीहरूले तँबाट कुराहरू माग गर्न मात्रै चाहन्छन्—तैँले तिनीहरूलाई आदर्श मानेको, प्रशंसा गरेको, र भावनात्मक स्तरमा तिनीहरूलाई पछ्याएको चाहन्छन्, त्यसपछि तिनीहरूले तँबाट आर्थिक र भौतिक फाइदाहरू प्राप्त गर्न चाहन्छन्। तिनीहरूले फाइदाहरू प्राप्त गरेपछि र तिनीहरूको हैसियत सुरक्षित भएपछि, यदि तैँले तिनीहरूको साथी बन्न, तिनीहरूको मित्र बन्न, र तिनीहरूसँग समान स्तरमा रहन चाहिस् भने, के तिनीहरू सहमत हुनेछन्? (हुनेछैनन्।) यदि तैँले तिनीहरूलाई सहमत हुन बाध्य पार्ने प्रयास गरिस् भने, तिनीहरूले के गर्नेछन् जस्तो तँलाई लाग्छ? (तिनीहरू खुलस्त रूपमा तेरो विरुद्धमा जानेछन्।) तँ तिनीहरूका लागि उप्रान्त कुनै कामको छैनस् भन्‍ने देखेर, तिनीहरूले तँलाई लात हानेर पन्छाउनेछन्, तँलाई “यहाँबाट गइहाल्” भनेर भन्‍नेछन्, र तँ एउटा फोहोरी भिखारी होस् भन्दै तँलाई अपमान समेत गर्नेछन्। तँ छक्क पर्नेथिइस्, होइन र? (हो।) मानिसहरूले हैसियतलाई यसरी हेर्ने भएकाले, र हैसियतले तिनीहरूलाई विभिन्न अनुकूल परिस्थितिहरू वा प्रचुर फाइदाहरू दिने भएकोले नै, तिनीहरूले हैसियतलाई अत्यन्तै महत्त्वपूर्ण मान्छन् र यसलाई धेरै मूल्यवान् ठान्छन्। तर, मानवजातिको बीचमा हैसियत भएको कुनै पनि व्यक्तिले गर्ने कुरा मानवजातिप्रतिको जिम्मेवारी पूरा गर्नु होइन, यो भरणपोषणको कुनै रूप होइन, र यो निःशुल्क हुँदैन; बरु, यसका उद्देश्य र मागहरू हुन्छन्। तिनीहरूले आफ्नो हैसियतको स्थानबाट बोल्ने हरेक शब्दको एउटा उद्देश्य हुन्छ, र तिनीहरूले गर्ने हरेक कुरा पनि निश्चित लक्ष्य हासिल गर्नका लागि हुन्छ; अवश्य नै, यो तँबाट अझ ठूलो फाइदाहरू प्राप्त गर्नका लागि हुन्छ—यहाँसम्म कि तँलाई चुसेर रित्तो पार्नका लागि हुन्छ। तिनीहरूले तँलाई जे गर्छन् त्यो लगभग तँलाई भ्रमित पार्न, भावशून्य पार्न, र तेरो शोषण गर्नका लागि हुन्छ। यसलाई सबैभन्दा सरल र सबैभन्दा सीधा तरिकामा भन्दा, यो तेरो खल्ती रित्तो पार्नका लागि हुन्छ। केका लागि खल्ती रित्तो पार्ने? तिनीहरूका टिकटहरू किन्न, तिनीहरूका उत्पादनहरू किन्न, तिनीहरूका सामानहरू किन्न, र तिनीहरूलाई सबैभन्दा बढी आवश्यक पर्ने कुराहरू दिनका लागि। त्यसैले, व्यक्तिसँग हैसियत भएपछि, फाइदाहरू आफै पछ्याउँदै आउँछन्। जब मानिसहरूसँग हैसियत हुन्छ र तिनीहरू हैसियतको स्थानमा उभिन्छन्, तब अरूलाई भ्रमित पार्न तिनीहरूलाई सजिलो हुन्छ, र तिनीहरूलाई कामकुराहरू गर्नका लागि आफ्नो हैसियतको सुविधा प्रयोग गरेर फाइदा लिन पनि सजिलो हुन्छ। मानवजातिको एक सदस्यको रूपमा, तैँले हैसियतलाई आदर्श मान्ने हुनाले, तँ सजिलै हैसियत भएका मानिसहरू वा हैसियतको स्थानमा उभिएका मानिसहरूद्वारा भ्रमित हुन, नियन्त्रित हुन, र उक्साइन सक्छस्—यो र त्यो गर्नका लागि उक्साइन सक्छस्। विशेष गरी समाजमा ठूलो ख्याति भएका ती स्टारहरू र सेलिब्रेटीहरू—जब तिनीहरू मञ्चबाट “तपाईंहरू सबैलाई कस्तो छ? नभेटेको धेरै भयो!” भनेर कराउँछन्, तब दर्शकवर्गमा रहेका तिनीहरूका प्रशंसकहरूले चम्किलो लट्ठी हल्लाउँछन्, र तिनीहरू कराउँछन् र चिच्याउँछन्, पागल हुन्छन्। तिनीहरू कति पागल हुन्छन्? कतिपय मानिसहरू त्यहीँ र त्यतिबेलै भक्कानिएर रोइरहेका हुन्छन्, र कतिपय मानिसहरू त्यहीँ बेहोस हुन्छन् र तिनीहरूलाई हतार-हतार आकस्मिक कक्षमा लगिन्छ। ती केही शब्दहरूबाट मात्रै, ती केही गीतहरू सुनेर र त्यो एउटा प्रदर्शन हेरेर मात्रै, तिनीहरूले यसरी आफ्नो होस गुमाउँछन्, मानौँ तिनीहरूको दिमाग खुस्केको छ। के तँ यी मानिसहरू मूर्ख हुन् भनेर भन्छस्? (हो।) त्यसोभए के तिनीहरू त्यसपछि पनि यी प्रदर्शनहरूमा उपस्थित हुन जारी राख्नेछन्? (राख्नेछन्।) के यो भ्रमित हुनु होइन र? त्यस्तो प्रकारको प्रदर्शनको टिकट सायद निकै महँगो हुन्छ। तैँले त्यति धेरै पैसा तिर्छस्, र तिनीहरूले केही गीतहरू मात्रै गाउँछन् र तिनीहरू मञ्चमा अलिकति उफ्रिन्छन्। के त्यति धेरै पैसा खर्च गर्नु उचित हुन्छ? के तँलाई ठगिएको हुँदैन र? कतिपय मानिसहरूले त आफ्ना आमाबुबालाई आफ्नो मनपर्ने प्रख्यात व्यक्तिको साङ्गीतिक कार्यक्रमको टिकट किन्न वा तिनीहरूका सामानहरू किन्नका लागि पैसा खर्च गर्न बाध्य समेत पार्छन्। यदि तिनीहरूको परिवार गरिब छ र परिवारले त्यो किन्न सक्दैन भने, तिनीहरूले आफ्ना आमाबुबालाई काम नलाग्ने र असक्षम भन्छन्। तिनीहरूका आमाबुबाले यसबारे केही गर्न सक्दैनन्; यो समाजको प्रचलन नै यस्तै छ। आफ्ना छोराछोरीहरूबाट यसरी हप्काइ खाएपछि, कतिपय आमाबुबाले त निकै हीनताबोध समेत गर्छन् र अरूको अगाडि आफू फलानोको आमाबुबा हुँ भनेर स्वीकार गर्ने आँट गर्दैनन्। के यो सामाजिक प्रचलनहरूले गर्दा भएको होइन र? (हो।) त्यसोभए यो प्रचलन कसरी बन्यो? यो हैसियत, ख्याति, र प्राप्तिसम्बन्धी मानवजातिको विचार र दृष्टिकोणहरू झन्-झन् दुष्ट बन्दै गएको, र अन्ततः आजको दिनसम्म यस दुष्ट प्रचलनसँगै विकास हुँदै गएको, र एकपछि अर्को पुस्तासम्‍म मानिसहरूलाई हानि पुर्‍याएको परिणामबाट बनेको हो। हैसियत भएका ती मानिसहरूले अरूलाई के गर्छन्? तिनीहरूले आफ्नो उच्च स्थानबाट मानिसहरूलाई कराउँदै भन्ने शब्दहरू के-के हुन्? तिनीहरूले मानिसहरूलाई के दिन्छन्? तिनीहरूले भ्रामक र दुष्ट विचार र दृष्टिकोणहरू दिन्छन्; तिनीहरूले दुष्ट प्रचलनहरू दिन्छन्; तिनीहरूले दिने कुराहरू सबै नकारात्मक कुराहरू हुन्। अन्त्यमा, तँ अझै पनि स्वेच्छाले तिनीहरूका टिकट र उत्पादनहरूमा आफ्नो पैसा खर्च गर्न तँछाडमछाड गर्छस्, र यदि तैँले ती किन्न सकिनस् भने, तँ सुटुक्क रुन्छस् र हीनताबोध समेत गर्छस्। के यो त स्वेच्छाले आफूलाई गिराउनु होइन र? (हो।) संसार वास्तवमा यस्तै छ; मानवजाति वास्तवमा यस्तै छ। मानवजातिको बीचमा, दुष्ट प्रचलनहरू सधैँ हाबी हुन्छन्, र यी दुष्ट प्रचलनहरू निरन्तर विकास र परिवर्तन पनि भइरहेका हुन्छन्। ती जसरी परिवर्तन भए पनि, दुष्ट प्रचलनहरूको अग्रपङ्क्तिमा सधैँ हैसियत, शक्ति, र प्रतिष्ठा भएका मानिसहरूको एउटा समूह हुन्छ। यस अग्रपङ्क्तिको नेतृत्व गर्नेहरूलाई अन्ततः के हुनेछ? म भन्नेछैनँ; तिमीहरू आफै यसबारे मनन गर्न सक्छौ।

यी वचनहरू सङ्गति गर्नुको उद्देश्य, एक हिसाबमा, तँलाई हैसियत भनेको के हो भन्‍ने कुरा थाहा दिनु हो, र अर्को हिसाबमा, तँलाई देहधारी परमेश्‍वरले ओगट्नुहुने हैसियत र मानिसहरूले ओगट्ने हैसियतबीचको भिन्नता जान्न र बुझ्न लगाउनु हो। यी पूर्ण रूपमा फरक प्रकृति र सारका कुरा हुन्। देहधारी परमेश्‍वरको हैसियत उहाँको सार र जीवनद्वारा निर्धारित हुन्छ; यो कुनै स्थान होइन, यो उहाँलाई मानवजातिले दिएको होइन, र उहाँले ज्ञान र सिद्धान्तहरू प्राप्त गर्नुभएको र समाजमा पर्याप्त जीवन अनुभव प्राप्त गर्नुभएको कारणले मानिसहरूले उहाँलाई उचालेर उहाँले प्राप्त गर्नुभएको कुरा पनि होइन। देहधारी परमेश्‍वरको हैसियत उहाँको पहिचानद्वारा निर्धारित हुन्छ, र उहाँको पहिचान उहाँको जीवन र उहाँको सारद्वारा निर्धारित हुन्छ। यस्तो पहिचान र सार भए पनि, उहाँले मानवजातिको बीचमा प्रमुख हैसियत भएकाहरूले जस्तै उच्च र शक्तिशाली भएको व्यवहार गर्नुहुन्न, मानिसहरूलाई दमन गर्नुहुन्न, मानिसहरूलाई आफ्‍नो गुटमा तान्‍नुहुन्न, मानवजातिसँग मागहरू गर्नुहुन्न, वा मानिसहरूमाथि प्रभुत्व जमाउनुहुन्न। अवश्य नै, देहधारी परमेश्‍वर निहित स्वार्थ भएको व्यक्ति हुनुहुन्न। उहाँले आफूलाई पछ्याउनेहरूबाट आर्थिक र भौतिक फाइदाहरू लगायत कुनै पनि फाइदाको माग कहिल्यै गर्नुभएको छैन। स्वाभाविक रूपमा, उहाँले आफ्ना अनुयायीहरूबाट कुनै पारिश्रमिक माग पनि गर्नुभएको छैन। बरु, उहाँले निरन्तर रूपमा आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ र आफ्नो पहिचानको साथ र आफ्नो स्थानबाट आफ्नो काम गर्नुहुन्छ, आफूलाई पछ्याउनेहरूलाई आवश्यक पर्ने सबै सत्यताहरू आपूर्ति गर्नुहुन्छ। अवश्य नै, देहधारी परमेश्‍वरले आफ्नो काम गर्दा र आफ्नो जिम्मेवारी पूरा गर्दाको अवधिमा, उहाँले मानवजातिको बीचमा हैसियत भएका तथाकथित मानिसहरूले जस्तै उच्च स्थानबाट मानिसहरूलाई बोलाउनुहुन्न, न त उहाँ मानिसहरूको हृदय जित्न र तिनीहरूले उहाँको प्रशंसा गरून् भन्नका लागि कुनै निश्चित वातावरण सिर्जना गर्न, तडकभडक देखाउन, वा कुराहरूको प्रदर्शन गर्न उच्च स्थानमा नै उभिनुहुन्छ। परमेश्‍वरले, देहधारी परमेश्‍वरको आफ्नो पहिचानमा, यीमध्ये कुनै पनि कुरा गर्नुहुन्न। उहाँको पहिचान र हैसियत उहाँको आफ्नै सारद्वारा निर्धारित हुन्छन्; ती मानिसहरूको प्रशंसाको परिणामबाट आएका होइनन्, न त ती मानवजातिको कुनै मतदानको परिणाम नै हुन्। त्यसोभए ती कसरी आए? परमेश्‍वरले सत्यता व्यक्त गर्नुभएको र यी रहस्यहरू उजागर गर्नुभएको कारणले मात्रै मानिसले यो देह परमेश्‍वरको पहिचान र हैसियत भएको परमेश्‍वर स्वयम् हुनुहुन्छ भन्‍ने कुरा जान्न पुग्छ। कतिपय मानिसहरूले यसो भन्छन्, “परमेश्‍वरले किन आफ्नै गवाही दिनुहुन्छ?” किनभने मानवजातिले परमेश्‍वरलाई चिन्दैन, र मानवजाति परमेश्‍वरको प्रतिरोध गर्न र परमेश्‍वरलाई दोषी ठहराउन मात्रै सक्षम छ, त्यसैले परमेश्‍वरले सत्यता व्यक्त गर्नुभएको हुनाले मात्रै उहाँको आफ्नै पहिचान र हैसियतको गवाही दिन सकिन्छ—कुनै व्यक्तिसँग पवित्र आत्माको अलिकति अन्तर्दृष्टि भए पनि, उसले स्पष्ट रूपमा यसको गवाही दिन सक्छ नै भन्‍ने हुँदैन—अपेक्षित परिणाम हासिल गर्नका लागि परमेश्‍वरले आफ्नै गवाही दिनु नै पर्छ। के परमेश्‍वरको गवाही दिन मानवजातिमा भर पर्दा अपेक्षित परिणाम हासिल गर्न सकिन्छ? (सकिँदैन।) किन सकिँदैन? (मानिसले परमेश्‍वरलाई चिन्दै चिन्दैन।) ठीक भन्यौ; किनभने मानवजातिले परमेश्‍वरलाई चिन्दैन—कसैले पनि चिन्दैन। त्यसकारण, परमेश्‍वर देह बन्नुभयो, मानिसको पुत्र बन्नुभयो, र देखा पर्न र काम गर्न थाल्नुभयो, मानवजातिलाई बोलाउनुभयो ताकि सबैले परमेश्‍वरका वाणी र वचनहरू सुनून्। त्यसपछि पवित्र आत्माले काम गर्न थाल्नुभयो, मानिसहरूलाई एकै ठाउँमा जम्मा गर्नुभयो, त्यसपछि परमेश्‍वरले मानिसहरूसँग बोल्न र तिनीहरूमाझ काम गर्न थाल्नुभयो। सुरुमा, केही व्यक्तिहरूले यसलाई स्वीकार गर्न सकेनन्; तिनीहरूसँग देहधारी परमेश्‍वरको बारेमा धारणाहरू थिए र तिनीहरूले उहाँलाई चिनेनन् वा बुझेनन्। तर, पवित्र आत्माले ठूलो काम गर्नुहुन्छ, र परमेश्‍वर स्वयम्‌ले आफ्नै कामलाई कायम राख्नुहुन्छ। यतिका वर्ष बोल्ने र काम गर्ने क्रममा, के मानिसहरूले परमेश्‍वरको पहिचान र हैसियतलाई केही हदसम्म पहिचान गर्न पुगेका छैनन् र? (पुगेका छन्।)

धेरै मानिसहरूले परमेश्‍वरको बारेमा कुनै ज्ञान नपाएर पनि—र खास गरी उहाँको पहिचान र हैसियतको बारेमा धेरै धारणाहरू र कल्पनाहरू, वा मानव इच्छाका दूषितताहरू हुँदाहुँदै पनि—धेरै वर्षदेखि उहाँमा विश्‍वास गरेका छन्, तैपनि परमेश्‍वरले बोल्नुभएको र काम गर्नुभएको, मानिसहरूप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्नुभएको, र यतिका वर्षदेखि तिनीहरूका लागि आफूलाई अर्पण गर्नुभएको कुराबाट, एउटा परिणाम पहिले नै देख्न सकिन्छ। के तिमीहरूलाई यो परिणाम के हो भन्‍ने थाहा छ? (मलाई लाग्छ यो परिणाम भनेको मानिसहरू परमेश्‍वरका वचनहरूद्वारा विजय गरिएका छन्, र तिनीहरूले परमेश्‍वरको सारलाई स्वीकार गर्नुपरेको छ भन्‍ने हो।) मानिसहरू विजय गरिएका छन् भन्‍ने कुरा सही हो। मानिसहरू परमेश्‍वरद्वारा प्राप्त गरिनुअघि तिनीहरूले अझै केही मार्गहरू पार गर्नुपर्ने भए पनि, तिनीहरूलाई उहाँले पहिले नै विजय गरिसक्‍नुभएको छ। त्यसोभए मानिसहरूलाई विजय गरिएको छ भन्‍ने कुराको प्रमाण के हो? सुरुमा, जब परमेश्‍वरले यो व्यक्ति देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर गवाही दिनुभयो, तब धेरै मानिसहरूसँग धारणाहरू थिए, तिनीहरूले प्रतिरोधी महसुस गरे, र यो तथ्यलाई स्वीकार गर्न वा मान्न इच्छुक भएनन्। तर, अहिले, तिमीहरू—सुरुमा यो व्यक्ति परमेश्‍वर, देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर पटक्कै स्वीकार गर्न नचाहने तिमीहरूमध्येका मानिसहरू समेत—धैर्यता र प्रत्याशाले भरिएर बस्न, र शान्तपूर्वक र गम्भीरताका साथ मेरो सङ्गति सुन्न सक्षम भएका छौ। मानिसहरू परमेश्‍वरद्वारा विजय गरिएका छन् भनी प्रमाणित गर्नका लागि यति मात्रै पनि पर्याप्त छ, होइन र? (हो।) दस वर्षभन्दा अघि, तिमीहरूसँगका मेरा भेलाहरू र सङ्गतिहरूमा, मैले करिब चालीस मिनेटसम्म बोलेपछि, धेरै मानिसहरू शान्त भएर बस्न सक्दैनथे। कतिपय शौचालय जान्थे, कतिपय पानी पिउँथे, कतिपय एक-अर्कासँग कानेखुसी गर्थे, र कतिपय हाई काढ्थे र जिउ तन्काउँथे। लगभग साठी प्रतिशतभन्दा बढी मानिसहरू अस्थिर हुन्थे। मैले भनेको कुरा तिनीहरूले बुझ्न सक्दैनथे, बोध गर्न सक्दैनथे, र ग्रहण गर्न सक्दैनथे। मलाई भन, के तिमीहरूसँग सङ्गति गर्नु मेरो लागि थकाउने कुरा थिएन र? मैले के देखेँ भने तिमीहरूको कद अत्यन्तै सानो छ, र तिमीहरू प्रवचन सुन्न शान्त भएर बस्न सक्दैनौ—के तिमीहरू मानिसहरूले भनेको कुरा ग्रहण गर्न नसक्ने किन्डरगार्टनका बच्चाहरू जस्तै थिएनौ र? त्यसैले मैले धैर्य गर्नुपर्थ्यो, र धैर्यपूर्वक तिमीहरूलाई सङ्गति र मार्गदर्शन गर्नुपर्थ्यो। पछि, मानिसहरूले अझ बढी सुन्दै र केही कुराहरू बुझ्दै जाँदा, र सत्यतामा रुचि राख्न थालेपछि, बिस्तारै, एक-अर्कासँग कानेखुसी गर्ने मानिसहरू कम हुँदै गए, र हाई काढ्ने र जिउ तन्काउने मानिसहरू कम हुँदै गए। भेलाहरूको दौडान, धेरैजसो मानिसहरूले अब ध्यान दिएर प्रवचनहरू सुन्न सक्थे; तिनीहरू शान्त भएर बस्न र तिनलाई ग्रहण गर्न सक्थे, र जीवनको मार्गका आधारभूत कुराहरू बोध गर्न सक्थे। अर्को एउटा राम्रो सूचक पनि छ: जब म सत्यता सिद्धान्तहरूको कुनै पक्षको बारेमा कुरा गर्छु, तब धेरै मानिसहरूले हतार-हतार टिपोट गर्छन्। महत्त्वपूर्ण र निर्णायक वचनहरू सुन्दा, तिनीहरूले पछि तिनमा मनन गर्न सकून् भनेर छिटो-छिटो तिनलाई टिप्छन्। यो अद्भुत कुरा हो! यी मानिसहरूसँग साँच्चै बोध सामर्थ्य छ; तिनीहरूले सत्यतामा मेहनत गर्न थालेका छन् र वास्तविकतामा ध्यान केन्द्रित गर्न जानेका छन्। मेरो सामान्य सङ्गतिमा होस् वा मानिसहरूसँग कुराकानी गर्दा होस्, विषयवस्तुमा सत्यता सिद्धान्तहरू समावेश छन् भने, मानिसहरूले ध्यान दिएर सुन्छन् र टिपोट गर्छन्; यो एउटा राम्रो सूचक हो। हेर् त, यस यात्राभरि, चरणबद्ध रूपमा, मानिसहरूका स्थितिहरू झन्-झन् राम्रो हुँदै गइरहेका छन्। यसबाहेक, परमेश्‍वरको घरले उत्पादन गरेका अनुभवात्मक गवाहीका भिडियोहरू र चलचित्रहरूबाट नै देख्न देख्‍न सकिन्छ कि, धेरै मानिसहरूले आफूले पहिलो पटक आफ्ना कर्तव्यहरू निर्वाह गर्न थालेदेखि अहिलेसम्म केही साँचो अनुभवहरू प्राप्त गरेका छन्। त्यसोभए मानिसहरूको सबैभन्दा ठूलो प्राप्ति के भएको छ? त्यो के हो भने तिनीहरूले मैले यतिका वर्षदेखि सङ्गति गरेका विभिन्न सत्यताहरूका आधारमा सबै प्रकारका कुराहरूलाई हेर्न र अनुभव गर्न सक्छन्। तिनीहरू सबैले केही सत्यताहरू बुझेका छन् र तिनीहरू सबै केही समस्याहरू समाधान गर्न सक्षम भएका छन्; तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूको केही बोध र बुझाइ प्राप्त गरेका छन्, तिनीहरू परमेश्‍वरको अधीनमा बस्न पुगेका छन्, र तिनीहरूको जीवन स्वभावमा परिवर्तनहरू आएका छन्। के यी कुराहरू तिनीहरूले प्राप्त गरेका कुराहरू होइनन् र? (हुन्।) विगतमा, जब तिमीहरूले पहिलो पटक प्रवचनहरू सुन्न थालेका थियौ, तब तिमीहरू शान्त भएर बस्न सक्दैनथ्यौ। कतिपय मानिसहरूले यो तिमीहरू जवान भएको कारणले हुन सक्छ भनेर भने। वास्तवमा, त्यस्तो होइन; चालीस र पचास वर्षका मानिसहरू पनि शान्त भएर बस्न सक्दैनथे, किनभने तिनीहरूले बुझ्न सक्दैनथे र यो तिनीहरूको पहुँचभन्दा बाहिर थियो। तिनीहरूले आफूले सुनेको हरेक शब्द सही छ भन्‍ने महसुस गर्थे, तर तिनीहरूले आफ्ना धारणाहरूसँग नमिल्ने कुरा सुन्नेबित्तिकै, तिनीहरूले यसलाई भित्री रूपमा स्वीकार गर्न सक्दैनथे, त्यसपछि तिनीहरू अलिकति पनि सामान्य मानव रूपविना भएर, कुप्रिन, हल्लिन, वा एक-अर्कासँग कानेखुसी गर्न थाल्थे। त्यसैले मैले धैर्यताका साथ बोल्नुपर्थ्यो। मैले यति धेरै वर्षसम्म बोलेँ, सबै प्रकारका समस्याहरूका बारेमा अलि-अलि गर्दै बोलेँ, सबैलाई आधारभूत कुराहरू बोध गर्न सक्षम बनाएँ। धेरै मानिसहरूसँग अहिले जीवन प्रवेशको हिसाबमा धेरै अनुभव नभए पनि, र प्रायजसो तिनीहरूसँग कुनै जीवन प्रवेश नभए पनि, कम्तीमा पनि, तिनीहरूसँग कस्तो अनुभूति हुन्छ? तिनीहरू सत्यतामा रुचि राख्ने भएका छन् र तिनीहरूमा यसबारे सचेतना छ, र तिनीहरूले आफ्नो हृदयमा सत्यताप्रतिको केही अनुराग विकास गरेका छन्। तिनीहरूसँग सत्यता र सकारात्मक कुराहरूको केही अवधारणा, आफूलाई कसरी आचरणमा ढाल्ने भन्‍ने केही अवधारणा, सत्यता सिद्धान्तहरूअनुसार काम गर्ने केही अवधारणा, र मुक्ति प्राप्त गर्ने केही अवधारणा छ। त्यसकारण, तिनीहरू प्रवचनहरू सुन्दा शान्त भएर बस्न र तिनलाई ग्रहण गर्न सक्छन्। यी कुराहरूको अवधारणा हुनुको अर्थ तिनीहरू यी वचनहरू र यी सत्यताहरूद्वारा विजय गरिएका छन् भन्‍ने हुन्छ। तिनीहरूले यी वचनहरू सत्यता हुन् भन्‍ने कुरा स्वीकार गरेका छन्, सकारात्मक र नकारात्मक कुराहरूबीच भिन्नता छ भन्‍ने कुरा स्वीकार गरेका छन्, र परमेश्‍वरले भन्नुहुने र गर्नुहुने सबै कुरा सत्यता हो, र यो सबै मानिसलाई मुक्ति दिनका लागि हो भन्‍ने कुरा स्वीकार गरेका छन्। हेर् त, मानिसहरू शान्त भएर बस्न नसक्ने अवस्थाबाट, शान्त भएर बस्न सक्ने र परमेश्‍वरका वचनहरू सत्यता हुन् र परमेश्‍वरले गर्नुहुने सबै कुरा मुक्ति हो भन्‍ने कुरा स्वीकार गर्ने अवस्थामा पुग्न—यस्तो ठूलो फड्को मार्न कति वर्ष लाग्यो? मैले कति वचनहरू बोल्नुपर्‍यो, र मैले कति काम गर्नुपर्‍यो? मैले मानिसमा गरेको कामको सन्दर्भमा मात्रै भन्दा पनि—उसको भ्रष्ट सारलाई खुलासा गर्ने, उसका विचार र दृष्टिकोणहरू परिवर्तन गर्ने, उसका भ्रष्ट स्वभावहरू समाधान गर्ने, उसलाई सत्यता बुझ्न र परमेश्‍वरप्रति समर्पण हासिल गर्न मद्दत गर्ने, उसलाई मुक्ति प्राप्त गर्ने सही मार्गमा ल्याउने—यी परिणामहरू हासिल गर्नका लागि मैले कति वचनहरू बोल्नुपर्‍यो? मलाई भन्, के कुनै मानवले यो काम गर्न सक्थ्यो? हैसियत भएकाहरूमध्ये कसले यो काम गर्न सक्थ्यो? (कसैले पनि गर्न सक्दैनथ्यो।) एक हिसाबमा, मानिसले यो काम गर्न सक्दैन। अर्को हिसाबमा, यदि कुनै व्यक्तिले बोलिरहेको र काम गरिरहेको भए पनि, र उसले बोलेका वचनहरू सबै सही भए पनि र अरूले तिनमा रुचि राखे पनि, यदि पवित्र आत्माले काम गर्नुभएन भने, के यस व्यक्तिका वचनहरू सुन्ने र प्रचार गर्ने यति धेरै मानिसहरूले हामीले अहिले प्राप्त गरेका परिणामहरू हासिल गर्न सक्थे? (सक्दैनथे; यसले मानिसहरूको हृदयलाई छुन सक्दैनथ्यो।) परमेश्‍वरका वचनहरू र परमेश्‍वरका आत्माले यो काम गर्न एकसाथ काम गरिरहनुभएको छ। देहधारी परमेश्‍वरले परमेश्‍वरका आत्मासँगको समन्वयमा बोल्नुहुन्छ र काम गर्नुहुन्छ, जबकि परमेश्‍वरका आत्माले मानिसहरूलाई तिनीहरूको दैनिक जीवनमा मार्गदर्शन गर्न र अन्तर्दृष्टि दिन देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूसँग एकैसाथ समन्वय गर्नुहुन्छ। यी दुई पक्षहरूको संयोजनले हामीले अहिले प्राप्त गरेका परिणामहरू, साथै भविष्यमा हासिल गरिने परिणामहरू हासिल गरेको छ। मलाई भन्, के यो साधारण व्यक्तिको—देहधारी परमेश्‍वरको—हैसियत एउटा हैसियत मात्रै हो? होइन। उहाँको यो हैसियत कुनै प्रकारको पद होइन। यो मानिसहरूले उल्‍लेख गर्न सक्‍ने कुनै व्यक्तिको उच्च छवि वा शक्तिको प्रतीक होइन। त्यसोभए, यो के हो त? (यो परमेश्‍वरको सारको प्रतीक हो।) उहाँको हैसियत उहाँसँग सत्यता, मार्ग, र जीवन छ भन्‍ने कुराको प्रतीक हो। मलाई भन्, जब हैसियत भएको कुनै पनि भ्रष्ट मानवले कामकुरा गर्छ, तब के ऊसँग स्वर्गमा हुनुहुने परमेश्‍वरको सहकार्य हुन्छ? (हुँदैन।) त्यसकारण, देहधारी परमेश्‍वरको हैसियत सामान्य अर्थमा हैसियत होइन, बरु परमेश्‍वरको पहिचान, सार, र जीवनको प्रतीक हो। मैले यसो भन्‍नुको तात्पर्य के हो? तैँले देहधारी परमेश्‍वरलाई संसारमा हैसियत भएको कुनै पनि व्यक्तिलाई जस्तो व्यवहार गर्नु हुँदैन। जब तैँले संसारमा हैसियत भएका मानिसहरूलाई व्यवहार गर्छस्, तब तैँले तिनीहरूसँग सङ्गत गर्नका लागि संसारसँग व्यवहार गर्ने दर्शनहरू प्रयोग गर्छस्। तैँले तिनीहरूको अगाडि झुक्नुपर्छ र चापलुसी गर्नुपर्छ, तिनीहरूको मनसाय बुझ्नुपर्छ र तिनीहरूको हाउभाउ हेर्नुपर्छ, र तिनीहरूलाई खुसी पार्न राम्रा कुराहरू भन्नुपर्छ; तैँले इमानदारीपूर्वक बोल्न सक्दैनस्, तैँले कुनै सामर्थ्य देखाउन सक्दैनस्, तैँले तिनीहरूको श्रेय खोस्न सक्दैनस्, र यस्तै अरू कुराहरू; नत्र भने तिनीहरूले तँलाई दमन गर्नेछन् वा तँलाई कष्ट दिनेछन्। तर, जब तैँले देहधारी परमेश्‍वरसँग सङ्गत गर्छस् र अन्तरक्रिया गर्छस्, तब तैँले पालन गर्नुपर्ने कुरा भनेका सत्यता सिद्धान्तहरू हुन्। यदि तैँले सत्यता सिद्धान्तहरूअनुसार उहाँसँग सङ्गत गर्छस् र अन्तरक्रिया गर्छस् र उहाँलाई सही रूपमा व्यवहार गर्न सक्छस् भने, तैँले उहाँको हैसियतलाई गम्भीरतापूर्वक नलिए पनि, उहाँलाई उच्च सम्मान नगरे पनि, उहाँको आदर नगरे पनि, वा उहाँमाथि आशा नराखे पनि, र तैँले उहाँको चापलुसी र चाकरी नगरे पनि, उहाँले तँलाई अझै पनि सही रूपमा व्यवहार गर्नुहुनेछ, होइन र? (हो।) तिमीहरू “हो” भनेर त भन्छौ, तर के तिमीहरू साँच्चै देहधारी परमेश्‍वरलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्न सक्छौ? (मलाई म अझै त्यसो गर्न सक्दिनँ जस्तो लाग्छ; म त्यसका लागि प्रयास मात्रै गर्न सक्छु।) तैँले त्यसका लागि प्रयास गर्न कडा मेहनत गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने तैँले सत्यता पछ्याउनुपर्छ, र सबै कुरामा सत्यता सिद्धान्तहरू खोज्नुपर्छ; त्यसपछि तँ बिस्तारै त्यसो गर्न सक्षम हुनेछस्। यदि तैँले सत्यतामा ध्यान केन्द्रित गरिस् भने, देहधारी परमेश्‍वरसँग यो विशेष हैसियत भए पनि, उहाँ भ्रष्ट मानवजातिको बीचमा हैसियत भएका मानिसहरूभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ भन्‍ने कुरा तैँले महसुस गर्नेछस्। जब तैँले यो कुरा महसुस गर्छस्, र उहाँ ईश्वरीय सार र परमेश्‍वरको पहिचान भएको व्यक्ति हुनुहुन्छ भन्‍ने कुरा स्वीकार गर्छस्, तब तैँले उहाँलाई सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्नेछस्। तेरो हृदयमा उहाँप्रतिको प्रेम र आदर हुनेछ, र तैँले उहाँलाई खुला र इमानदार रूपमा व्यवहार गर्नेछस्। साथसाथै, तँ एक सृजित प्राणीको स्थानबाट आज्ञाकारी र अधीनमा रहने पनि हुनेछस्; तैँले यस्तो हुने चाहना गर्नेछस्, र तँमा यस्ता प्रकटीकरणहरू हुनेछन्। यदि तैँले यो कुरा महसुस गरिनस् भने, तैँले सधैँ यस्तो मनन गर्नेछस्, “समाजमा हैसियत भएका मानिसहरूको कति धेरै तडकभडक हुन्छ हेर त; तिनीहरू जहाँ गए पनि, तिनीहरूलाई मानिसहरूले घेर्छन्। तिनीहरू शिक्षित हुन्छन् र परिष्कृत तरिकाले बोल्छन्। तिनीहरूको रूप, लुगा लगाउने शैली, र शृङ्गारले तिनीहरूलाई कुलीनताको आभा दिन्छ, र तिनीहरूका हाउभाउ र तिनीहरू हिँड्ने तरिका सुन्दर हुन्छ। एक नजरमै तिनीहरू साधारण मानिसहरू होइनन् भनेर भन्‍न सकिन्छ। अनि तिनीहरूको व्यवस्था कस्तो हुन्छ हेर त: तिनीहरूसँग जीवन र काममा मद्दत गर्न व्यक्तिगत सहायकहरू हुन्छन्, तिनीहरूको खानाको आवश्यकताका लागि व्यक्तिगत भान्छेहरूको टोली हुन्छ, तिनीहरूका लागि लेखहरू लेख्न व्यक्तिगत सचिवहरूको टोली हुन्छ, र प्रमुख मामिलाहरूमा छलफल गर्न सल्लाहकार र विशेषज्ञहरूको टोली हुन्छ। तिनीहरू बाहिर जाँदा तिनीहरूका लागि व्यक्तिगत चालकहरू हुन्छन्, र तिनीहरूले उडान गर्नुपर्दा व्यक्तिगत पाइलटहरू हुन्छन्, र तिनीहरू जहाँ गए पनि तारे होटेलहरूमा बस्छन्। यी सबै प्रथम श्रेणीका व्यवस्थाहरू हुन्। परमेश्‍वरसँग हैसियत भएर पनि, उहाँले किन यस्तो व्यवहार प्राप्त गर्नुहुन्न? यदि उहाँले यस्तो व्यवहार प्राप्त गर्नुभयो भने, के हामी अनुयायीहरूलाई पनि गर्व महसुस हुनेथिएन र? उहाँ जुन देशमा जानुहुन्छ त्यहाँ उहाँका लागि रातो कार्पेट ओछ्याउँदा, र उहाँले भ्रमण गर्नुहुने जुनसुकै ठाउँमा उहाँलाई स्वागत गर्न धेरै मानिसहरू लाइनमा उभिँदा—त्यो कति प्रतिष्ठित हुनेथियो!” जब तैँले परमेश्‍वरको ज्ञान प्राप्त गर्छस्, तब तँसँग उप्रान्त यी मागहरू वा यी विचारहरू हुनेछैनन्।

देहधारी परमेश्‍वर भ्रष्ट मानवजातिमाझ जिउनुहुने भए पनि, उहाँ भ्रष्ट मानवजातिका सदस्य हुनुहुन्न, त्यसैले भ्रष्ट मानिसहरूसँग हुने तथाकथित स्थान र हैसियतजस्ता कुराहरूसम्बन्धी आवश्यकताहरू उहाँसँग हुँदैनन्। उहाँसँग किन भ्रष्ट मानिसहरूसँग हुने आवश्यकताहरू हुँदैनन्? किनभने हैसियत र व्यक्तिको तथाकथित “मूल्य” सम्बन्धी उहाँको दृष्टिकोण भ्रष्ट मानिसहरूको जस्तो हुँदैन। उहाँ भ्रष्ट मानिसहरूजस्तो प्रशोधनबाट गुज्रनुभएको वा भ्रष्ट हुनुभएको छैन अनि पदानुक्रम र हैसियतको आनन्दसम्बन्धी उहाँका सोच र दृष्टिकोणहरू भ्रष्ट मानिसहरूका जस्ता छैनन्। त्यसैले, मेरो हकमा व्यक्तिगत रूपले भन्नुपर्दा, हैसियत र व्यक्तिको मूल्यका सन्दर्भमा, मेरो हृदयमा यी कुराहरू छैनन्। मेरो हृदयमा भएको कुरा भनेको मानिसहरूसँग परिवारसरह सँगै बस्ने, जीवन र कामको मामिलाहरूबारे कुरा गर्ने र मानिसहरूका विभिन्न कठिनाइहरूबारे कुरा गर्ने चाहना मात्रै हो। मलाई कुनै तडकभडक देखाउन मन पर्दैन र तथाकथित शालीनता त मलाई झनै मन पर्दैन। मैले तिमीहरूलाई धेरैपटक भनेको छु र यो तिमीहरूले याद गरेको कुरा हुन सक्छ: मेरो आफ्नै जीवनमा मेरा कुनै व्यक्तिगत दासीहरू, व्यक्तिगत सहायकहरू वा व्यक्तिगत सचिवहरू छैनन्। मसँग यीमध्ये कोही पनि छैन। समाजका ती उच्च-पदस्थ व्यक्तिहरूलाई हेर; तिनीहरूसँग लुगा धुने, खाना पकाउने र पेस्ट्री बनाउने मानिसहरू र व्यक्तिगत चालकहरू हुन्छन्। तिनीहरूले आफ्नो जीवनमा कुनै पनि कुराको ख्याल राख्नु पर्दैन; तिनीहरूका लागि विशेष रूपमा कुराहरू व्यवस्थापन गर्ने मानिसहरू हुन्छन्। व्यक्ति जति उच्च पदको हुन्छ, उसको तामझाम त्यति नै व्यापक हुन्छ। एक साधारण मेयर वा प्रान्तीय राज्यपालसँग त मेयर वा राज्यपालको आधिकारिक निवास हुन्छ भने, अझ उच्च पदमा हुनेहरूको त कुरै छोडौँ। के देहधारी परमेश्‍वरसँग आधिकारिक निवास छ? (छैन।) त्यसोभए के मैले मण्डलीलाई आफ्ना लागि एउटा निवास उपलब्ध गराउन भनेको छु? (भन्नुभएको छैन।) मैले मण्डलीलाई मेरा लागि आधिकारिक निवास उपलब्ध गराउन भनेको छैनँ, न त मैले आफ्ना लागि सहयोगीहरू वा रक्षकहरू खटाउन नै भनेको छु, झन् मैले अरू कुनै मागहरू गरेको हुनु त परै जाओस्। एउटै कुरा के हो भने शुद्धाशुद्धि जाँच टोलीका मानिसहरू मेरा प्रवचनहरू र सङ्‍गतिको शब्दचयन परिष्कृत गर्छन्, तिनलाई पाठमा सङ्कलन गर्छन् र ती वितरण गर्छन्। तिनीहरूलाई कामका विज्ञ कर्मचारी मान्न सकिन्छ तर तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्; तिनीहरूले मेरा लागि व्यक्तिगत रूपमा काम गरिरहेका छैनन्। यो मण्डलीको काम हो। त्यसैले, के मैले कहिल्यै आफ्ना व्यक्तिगत मामिलाहरूमा तिमीहरूलाई दुःख दिएको छु? (दिनुभएको छैन।) मेरा लागि लुगा धुने, खाना पकाउने, मेरो कोठा सफा गर्ने, व्यक्तिगत यात्रा—के मैले कहिल्यै यी कुराहरूमा तिमीहरूलाई दुःख दिएको छु? के मैले कहिल्यै मण्डलीलाई मेरा लागि व्यक्तिगत दासीहरू वा व्यक्तिगत सहायकहरू उपलब्ध गराउन भनेको छु? मैले कहिल्यै त्यस्ता मागहरू गरेको छैनँ। मलाई भन त, के त्यस्ता कुराहरू नहुँदा मलाई दिक्क लाग्छ? के यसले मलाई दुःखी बनाउँछ? के मैले तिमीहरूलाई हप्काउनुपर्छ र तिमीहरू विवेकहीन छौ भनेर भन्नुपर्छ? मैले त्यस्ता मामिलाहरूमा तिमीहरूलाई कहिल्यै हप्काएको छैनँ, झन् मैले तिमीहरूसँग कुनै मागहरू गरेको हुनु त परै जाओस्। म आफ्नै गाँस, बास, कपास र यातायातको ख्याल राख्छु। सामान्यतया म अनौपचारिक लुगा लगाउँछु र भेलाहरूमा म औपचारिक सुट लगाउँछु; यो भरसक सरल हुन्छ। म बिरलै आफ्ना लुगाहरू ड्राई-क्लिन गर्न दिन्छु; ती प्रायजसो सबै हातले वा मेसिनले धोइन्छन्। जब म कुकुर पाल्छु, तब त्यो कुनै विलासी जातको हुँदैन। धेरैजसो मानिस संसारका प्रसिद्ध व्यक्तिहरू र हैसियत भएका मानिसहरू जे खान्छन्, लगाउँछन् र प्रयोग गर्छन् त्यो पछ्याउँछन् र त्यसैको नक्कल गर्छन्। के तँ मलाई तिनीहरूजस्तै पाउँछस्? जब कतिपय मानिसले कुनै प्रख्यात व्यक्तिले पालेको कुकुरको जात देख्छन्, तब तिनीहरू त्यस्तै कुकुर खोज्‍न चाहन्छन्। गैरविश्‍वासीहरू सबैसँग यही दृष्टिकोण हुन्छ; कुकुर पाल्ने कुरामा समेत, तिनीहरू प्रवृत्तिहरू पछ्याउँछन् र तिनीहरूले विलासी जातको, प्रख्यात व्यक्तिहरूले पाल्ने खालको कुकुर नै खोज्‍नुपर्छ। मैले पाल्ने कुकुर साधारण कुकुर मात्रै हो। कुकुरको व्यक्तित्व राम्रो छ, ऊ मायालु र बफादार, आज्ञाकारी छ, कुरा बुझ्ने, मानिसहरूसँग मिल्ने छ र सुखसुविधामा लिप्त छैन भने त्यो नै ठिक छ। कतिपय मानिस यसो भन्छन्, “तपाईँलाई विलासी जातको कुकुर पाल्न निकै सजिलो हुनेथिएन र?” यो निकै सजिलो हुनेथ्यो, तर मलाई त्यो मन पर्नेथिएन। म प्रख्यात मानिसहरू के लगाउँछन् वा प्रयोग गर्छन् भनेर कहिल्यै सोधपुछ गर्दिनँ, न त म त्यो खोज्नमा नै मेहनत गर्छु। म कतिपय मानिसजस्तो छैनँ जो हैसियत प्राप्त गरेपछि यस्तो सोच्छन्, “म पनि अब प्रसिद्ध व्यक्ति हुँ। प्रसिद्ध व्यक्तिहरू जे खान्छन्, लगाउँछन्, प्रयोग गर्छन् र बाहिर जाँदा जस्तो कार चढ्छन्, मैले त्यसैको नक्कल गर्नुपर्छ। म पछि पर्नु हुँदैन।” मैले यी कुराहरूमा कहिल्यै मेहनत गरेको छैनँ। म प्रसिद्ध व्यक्ति हुँ कि होइन मलाई थाहा छैन, न त म वास्ता नै गर्छु। जेहोस्, मैले जे गरे पनि—मेरो दैनिक जीवन र कामको खर्चजस्ता सबै पक्षमा—मेरा आफ्नै सिद्धान्तहरू, मेरा आफ्नै आवश्यकताहरू, मेरा आफ्नै छनौटका दायराहरू र मेरो आफ्नै मानक छ। यो मानक भनेको अत्यन्तै साधारण र अत्यन्तै सरल हुनु मात्रै हो; औसत मात्रै भए पनि ठिक छ। मेरो पहिरन, श्रृङ्गार र खाना, बास अनि यातायातलाई देख्दा मानिसहरू मलाई आदर गर्छन् र कम्तीमा पनि म मर्यादित र इमानदार व्यक्तिजस्तो देखिन्छु भने, त्यो नै पर्याप्त हुन्छ; यो त्यति नै सरल छ। मानिसहरू मेरो पहिरन, मेरो शैली र मेरो रूप देखेपछि मलाई उच्च सम्मान दिन्छन् कि दिँदैनन् र तिनीहरूको हृदयमा मेरो कस्तो हैसियत हुनेछ भन्‍ने कुराको हकमा भन्दा, यीमध्ये कुनै पनि कुराले मलाई फरक पार्दैन। के तिमीहरूलाई मेरा हैसियतसँग सम्बन्धित कुनै अत्यधिक मागहरू छन् जस्तो लाग्छ? (लाग्दैन।) यो तिमीहरूले कल्पना गर्न नसक्‍ने र तिमीहरूले छर्लङ्गै देख्न नसक्‍ने कुरा हो। छोटकरीमा भन्दा, म तिमीहरू मैले तिमीहरूलाई भनिरहेको कुरा विश्वास गर भन्‍ने मात्र माग गर्छु। यो आफै पनि तेरा लागि निकै गाह्रो कुरा हो। तेरो आफ्नै दिमागमा के छ र तैँले के सोचिरहेको छस् भन्‍ने कुरा तँ आफैलाई थाहा छ। मैले बोलेका यी वचनहरूलाई विश्वास गर्न सक्नु, तिनलाई सत्यताका रूपमा स्विकार्नु र तिनलाई तथ्यका रूपमा स्विकार्नु, तेरा लागि निकै गाह्रो कुरा हो। यो कुन जगमा निर्माण हुनैपर्छ? यो भरोसाको जगमा निर्माण हुनुपर्छ, होइन र? (हो।) हैसियतप्रतिका मेरा सोच र दृष्टिकोणहरू यिनै हुन् र मेरा सम्बन्धित प्रकटीकरणहरू यिनै हुन्। मसँग मानिसका नजरमा उच्च प्रशंसित वा मानिसले माग गर्ने हैसियतका सामान्य तामझामहरू नभए पनि, यसले मैले गर्ने कामलाई पटक्कै असर गर्दैन, न त यसले तिमीहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्नुमा नै मलाई असर गर्छ। म हैसियतका खातिर तिमीहरूबाट उच्च सम्मान पाउनका लागि कहिल्यै आफूलाई आकर्षक बनाउनेछैनँ। वास्तवमा, तिमीहरूले अहिलेसम्म प्रवचनहरू सुनिरहेका छौ र अझै पनि निकै राम्रो गरिरहेका छौ र तिमीहरूका हालका प्रकटीकरणहरूलाई हेर्दा, तिमीहरूले सबै सकारात्मक दिशामा विकास गरिरहेका छौ। त्यसकारण, हैसियत, छवि र हैसियतका तामझामहरू पछ्याउनु व्यर्थ छ। सत्यताले मात्रै मानिसलाई विजय गर्न सक्छ र सत्यताले मात्रै मानिसलाई परिवर्तन गर्न सक्छ। परमेश्‍वरका वचनहरूले मानवजातिलाई परिवर्तन गर्न सक्छन् र सबै कुरा सृष्टि पनि गर्न सक्छन्। एक हिसाबमा, यो परमेश्‍वरका वचनहरूको शक्ति र परमेश्‍वरका वचनहरूको अख्तियारले हासिल गर्ने परिणाम हो। अर्को हिसाबमा, यो परमेश्‍वरका आत्माको कामले हासिल गर्ने परिणाम पनि हो। मानिससँग घमण्ड गर्नलायक केही पनि छैन; कुरा के हो भने परमेश्‍वरका वचनहरू असल छन्, सत्यता असल छ अनि परमेश्‍वरको काम र परमेश्‍वरका आत्माले मानिसमा गरेको काम अत्यन्तै असल छ। परमेश्‍वरले यसरी काम गर्नुभएको र मानिसमा यो परिणाम हासिल गर्नुभएको हुनाले, के तिमीहरू “परमेश्‍वरका वचनहरू मानिसका लागि मुक्ति हुन्” भन्‍ने वाक्यांश साँचो हो भनी देख्न सक्छौ? (सक्छौँ।) परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, परमेश्‍वरका वचनहरू कहिल्यै अपर्याप्त हुँदैनन् र परमेश्‍वर सर्वशक्तिमान्‌ पनि हुनुहुन्छ—देहधारी परमेश्‍वर जतिसुकै नगण्य देखिनुभए पनि वा उहाँसँग जतिसुकै थोरै सामर्थ्य भएजस्तो देखिए पनि, त्यसले केही फरक पार्दैन; यीमध्ये कुनै पनि कुराले उहाँले सत्यता व्यक्त गर्नुलाई असर गर्न सक्दैन, न त यसले उहाँका वचनहरूले मानिसमा हासिल गर्ने परिणामहरूलाई नै असर गर्न सक्छ। देहधारी परमेश्‍वर बाहिरी रूपमा अत्यन्तै नगण्य देखिनुभए पनि, सामान्य र व्यावहारिक देखिनुभए पनि र मानिसले उहाँलाई तुच्छ ठाने पनि—र मानिसले उहाँप्रति कुनै पनि बेला धारणाहरू र शत्रुता विकास गर्न सक्ने भए पनि—उहाँसँग परमेश्‍वरको सार र परमेश्‍वरको जीवन भएको हुनाले, उहाँले व्यक्त गर्ने सत्यता मानिसलाई विजय गर्न पूर्ण रूपमा सक्षम छ। अन्ततः उहाँले मानिसलाई परमेश्‍वरसामु ल्याउन र उसलाई उसका भ्रष्ट स्वभावहरूबाट मुक्त गर्न पनि सक्नुहुन्छ ताकि उसलाई परमेश्‍वरले प्राप्त गर्न सक्‍नुहोओस्, यसरी उहाँ परमेश्‍वरको छ-हजार-वर्षे व्यवस्थापन योजना पूरा गर्न र यस योजनालाई अन्त्य गर्न सक्नुहुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरसँग सम्बन्धित हैसियत, छवि र यस्तै अरू कुराहरू महत्त्वपूर्ण हुँदैनन्। महत्त्वपूर्ण कुरा के हो? (के हो भने देहधारी परमेश्‍वरसँग परमेश्‍वरको सार छ; उहाँ सत्यता, मार्ग र जीवन हुनुहुन्छ अनि उहाँ परमेश्‍वरका वचनहरू व्यक्त गर्न सक्नुहुन्छ।) महत्त्वपूर्ण कुरा के हो भने यी देहधारी परमेश्‍वरसँग परमेश्‍वरको हैसियत मात्रै छैन, तर उहाँसँग परमेश्‍वरको पहिचान र सार पनि छ। उहाँ परमेश्‍वरका वचनहरू व्यक्त गर्न सक्नुहुन्छ र उहाँका वचनहरू मानिसलाई विजय गर्न, मानिसलाई मुक्ति दिन र मानिसलाई सिद्ध पार्न सक्षम छन्, जसले गर्दा परमेश्‍वर उसलाई पूर्ण रूपमा प्राप्त गर्न सक्‍नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यही हो।

के देहधारी परमेश्‍वरसँग सम्बन्धित यी विषयहरूमा सङ्गति गर्दा यसले मानिसहरूलाई परमेश्‍वर चिन्न मद्दत गर्छ? (गर्छ।) मैले तिमीहरूसँग जुनसुकै विषयमा सङ्गति गरे पनि, देहधारी परमेश्‍वरसँग सम्बन्धित विभिन्न विषयहरूलगायत, यो कहिल्यै पनि तिमीहरूलाई मान र श्रद्धा गर्न लगाउन अनि त्यसपछि तिमीहरूलाई परमेश्‍वरको सार्वभौमिकता र परमेश्‍वरको नियन्त्रण स्वीकार गर्न बाध्य पार्न, तिमीहरूलाई बाँधेर परमेश्‍वरले भनेको कुरा गर्न लगाउनका लागि हुँदैन। तिमीहरूले तिमीहरूप्रतिको मेरो मनोवृत्ति बुझ्नुपर्छ। जब-जब म तिमीहरूलाई सत्यताको कुनै पक्षमा भरणपोषण गर्छु, तब-तब म त्यसबारे स्पष्ट रूपमा सङ्‍गति गर्छु ताकि तिमीहरूले त्यो बुझ्न सके, त्यसपछि आफैले त्यसमा मनन गर्न र त्यसको अनुभव गर्न सके। सत्यता स्विकार्ने इच्छा भएका र सकारात्मक कुराहरूलाई प्रेम गर्नेहरूले मैले सङ्‍गति गर्ने यी दृष्टिकोण र भनाइहरूलाई अलि-अलि गर्दै स्विकार्ने प्रयास गर्नेछन्, त्यसपछि आफ्नै जीवनका कठिनाइ र समस्याहरू समाधान गर्न यी वचनहरूअनुसार अभ्यास गर्नेछन्। यदि कुनै व्यक्ति सत्यता स्विकार्न र सकारात्मक कुराहरू स्विकार्न इच्छुक छैन र ऊ केवल आफ्नो हृदयमा यी वचनहरू असल छन् भनेर महसुस गर्छ तर ती कहिल्यै वास्तवमा अभ्यास गर्दैन—बरु तिनलाई एक प्रकारको सिद्धान्तका रूपमा आफ्नो दिमागमा भण्डारण गर्छ र त्यतिकै छोडिदिन्छ भने—हामी त्यस्ता मानिसहरूलाई दोषी ठहराउँदैनौँ। हामीले तिनीहरूलाई दोषी नठहराउनुको कारण के हो? एउटा कुरा के हो भने, मानिसहरूलाई कुन मार्गमा हिँड्ने भनेर छनौट गर्ने अधिकार छ। अर्को कुरा, कतिपय मानिस अहिले साँच्चै सानै उमेरका हुन सक्छन्, तिनीहरूको कद सानो र जग कमजोर हुन सक्छ। सकारात्मक कुराहरू र मानव जीवनबारे चिन्तन गर्न सक्नुअघि, तिनीहरू ठूलो शोधन र सङ्कष्टबाट गुज्रनुपर्छ अनि जीवनका केही ठूला कठिनाइ भोग्नुपर्छ। अरू कतिपय मानिसका हकमा भन्दा, यो तिनीहरू सानै उमेरको भएकाले नभई, तिनीहरूले पर्याप्त कुराहरू अनुभव नगरेकाले र तिनीहरू अझै नब्युँझिएकाले हुन सक्छ। तिनीहरूसँग सकारात्मक कुराहरू र नकारात्मक कुराहरूका बारेमा वा मुक्ति हासिल गर्न सत्यता पछ्याउने बारेमा कुनै पनि अवधारणा हुँदैन। अर्को शब्दमा भन्दा, तिनीहरूको मन अझै खुलेको हुँदैन र तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य र महत्त्व थाहा हुँदैन। तिनीहरू के मात्र सोच्छन् भने, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको एक प्रकारको धार्मिक समारोह हो, परमेश्‍वरमा विश्‍वास गर्नु असल कुरा हो, परमेश्‍वरमा विश्‍वास गर्नुको अर्थ असल व्यक्ति बन्नु र खराब कामकुराहरू नगर्नु मात्रै हो अनि यसले तिनीहरूलाई असल गन्तव्य र असल परिणाम प्राप्त गर्न पनि दिन्छ—तिनीहरूले यो यति नै सरल छ भन्‍ने सोच्छन्। त्यसैले, तिनीहरूसँग सत्यता पछ्याउने बारेमा वा सकारात्मक कुराहरू र नकारात्मक कुराहरूका बारेमा कुनै अवधारणा हुँदैन। सायद यी मानिसहरूमध्ये एउटा समूह केही विशेष मामिला अनुभव गरेपछि अघि बढ्नेछन् र तिनीहरू सत्यता स्विकार्न र सकारात्मक कुराहरू स्विकार्न अनि साँच्चै आफूलाई परिवर्तन गर्न सक्षम हुनेछन्। यसबीच, मानिसहरूको अर्को समूह हुन्छ जसले कहिल्यै कुनै ठूला कठिनाइहरू अनुभव गरेका हुँदैनन् वा जो ती अनुभव गरेपछि पनि विशेष रूपमा हठी रहन्छन्; तिनीहरू कहिल्यै साँच्चै आफूलाई परिवर्तन गर्दैनन्, तिनीहरू सत्यता स्विकार्न र सकारात्मक कुराहरू स्विकार्न असक्षम नै रहन्छन् अनि तिनीहरू अझै पनि आफ्नै इच्छा पछ्याउन र आफूले गर्ने काममा आफूलाई जे मन लाग्छ त्यही गर्न मन पराउँछन्, आफ्नै चाहनाहरू मात्रै पूरा गर्छन्। फलस्वरूप, मानिसहरूको यो समूह अन्ततः अघि बढ्न असफल हुनेछ र तिनीहरूले सत्यता प्राप्त गर्नेछैनन्। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेको समयमा जेसुकै अनुभव गरे पनि, सत्यता स्विकार्न सक्नेहरू अन्ततः मुक्ति हासिल गर्न सक्षम हुनेछन्। सत्यता स्विकार्न नसक्नेहरूले अन्ततः कहिल्यै साँच्चै पश्चात्ताप गर्नेछैनन् र कहिल्यै साँच्चै सत्यता स्विकार्नेछैनन् वा तिनीहरू सत्यताको अधीनमा बस्‍नेछैनन्। त्यस्ता मानिसहरू व्यर्थमा विश्‍वास गर्छन् र अन्ततः तिनीहरूले मुक्ति हासिल गर्न सक्नेछैनन्। यस अवधिमा आफ्ना कर्तव्यहरू पूरा गर्दा तिनीहरूले असल कार्यहरू गर्न सक्छन्; त्यस्तो अवस्थामा, तिनीहरू अन्त्यमा बढीमा बाँच्न मात्रै सक्षम हुनेछन्। जहाँसम्‍म मेरो कुरा छ, तिमीहरूप्रतिको मेरो मनोवृत्ति के हो भने म तिमीहरूसँग सत्यताका विभिन्न पक्षहरूमा, देहधारी परमेश्‍वरसँग सम्बन्धित सत्यतालगायत, धेरै कोण र दृष्टिकोणबाट सङ्‍गति गर्न सक्दो प्रयास गर्नेछु। हामीले भर्खरै कुरा गरेको हैसियतलाई लिने तरिकासँग सम्बन्धित सत्यताको उद्देश्य भनेको तिमीहरूले हैसियतलाई कसरी लिनुपर्छ भनेर बुझ्न तिमीहरूलाई मद्दत गर्नु अनि तिमीहरूलाई हैसियतप्रतिका सही विचार र दृष्टिकोणहरू स्थापित गर्न मद्दत गर्नु हो। हैसियतप्रतिका मेरा सोच र दृष्टिकोणहरू, साथै मेरो जीवनशैली, मेरो विशेष पहिचानको कारणले उत्पन्न हुन्छन्। त्यसोभए के मेरो विशेष पहिचानको परिणामस्वरूप उत्पन्न भएका हैसियतप्रतिका मेरा सोच र दृष्टिकोणहरू सत्यता हुन्? के ती सकारात्मक कुराहरू हुन्? के ती मुक्ति हासिल गर्न भ्रष्ट मानिसहरूमा हुनैपर्ने कुराहरू हुन्? के ती सृजित प्राणीहरूसँग हुनुपर्ने कुराहरू हुन्? (हुन्।) मैले समावेश गरेका कुराहरू सत्यता र सकारात्मक कुराहरू भएका हुनाले, मैले यस हैसियतलाई जुनसुकै पहिचानद्वारा लिए पनि र मेरो मनोवृत्ति जस्तोसुकै भए पनि, तिमीहरूले यी वचनहरूलाई सत्यताका रूपमा स्विकार्नुपर्छ। यी मेरा सोच र दृष्टिकोणहरू हुन्, तर ती सत्यता हुन्, त्यसैले तिमीहरूले ती स्विकार्नुपर्छ, ती ग्रहण गर्नुपर्छ र सही दृष्टिकोणहरूअनुसार हैसियतलाई लिनुपर्छ। तिमीहरूसँग यी विषयहरूबारे कुरा गर्नु र यो विषयवस्तु सङ्‍गति गर्नुको पछाडि मेरो उद्देश्य भनेको तिमीहरूलाई सत्यताको एउटा पक्ष बुझ्न दिनु हो। म आफूलाई सही ठहराउने वा आफ्नो बचाउ गर्ने तरिकाका रूपमा यी कुराहरूबारे कुरा गर्दिनँ, झन् मैले तिमीहरूलाई म अरूभन्दा फरक छु वा म असाधारण व्यक्ति हुँ भनेर थाहा दिनका लागि यसो गर्नु त परै जाओस्। यदि तिमीहरू देहधारी परमेश्‍वरमा कुनै भ्रष्टता छैन, देहधारी परमेश्‍वर मानवजातिका साधारण सदस्य हुनुहुन्न र उहाँ विशेष व्यक्ति हुनुहुन्छ भन्‍ने मात्रै महसुस गर्छौ भने, यो मैले तिमीहरूले बुझून् भन्‍न चाहेको पूर्ण सत्यता होइन। मैले जुनसुकै विषयवस्तु सङ्‍गति गरे पनि र त्यसमा जुनसुकै निश्‍चित उदाहरणहरू समावेश भए पनि, अन्ततः ती सबै तिमीहरूलाई सत्यता बुझ्न मद्दत गर्नमा नै केन्द्रित हुन्छन्। मैले तिमीहरूलाई भरणपोषण गर्ने र तिमीहरूसँग सङ्‍गति गर्ने सबै कुरामा सबै प्रकारका कुरालाई कसरी लिने भन्नेसम्बन्धी दृष्टिकोणहरू समावेश हुन्छन्। तिमीहरूप्रतिको मेरो माग के हो भने तिमीहरूले सही सोच र दृष्टिकोणहरू बुझ्न र स्विकार्न सके अनि ती गलत सोच र दृष्टिकोणहरूलाई पहिचान गर्न र त्याग्न सके। अर्थात् तिमीहरूले सकारात्मक कुराहरूका साथै नकारात्मक कुराहरूलाई खुट्ट्याउन, सकारात्मक कुराहरूलाई स्विकार्न र नकारात्मक कुराहरूलाई त्याग्न सक्नुपर्छ। मैले हैसियतलाई कसरी लिने भन्‍ने विषयहरूबारे गरेको सङ्‍गतिबाट हेर्दा, के तिमीहरू हैसियतसम्बन्धी मेरा सोच, दृष्टिकोण, सिद्धान्त र विधिहरू सकारात्मक कुरा हुन् भनेर भन्छौ? के ती सत्यताअनुरूप छन्? के ती तिमीहरूले पालन गर्नुपर्ने सत्यता सिद्धान्तहरू हुन्? (हुन्।) यदि तिमीहरूले मलाई बुझेका छौ भने, मैले यी वचनहरू व्यर्थमा बोलेको हुँदिनँ। हैसियतका सन्दर्भमा गैरविश्‍वासीहरूका सोच र दृष्टिकोणहरू के-के हुन्? के तिनीहरूमा सत्यता वा मानवताअनुरूप हुने कुनै पक्षहरू हुन्छन्? हैसियतप्रतिका तिनीहरूका सोच र दृष्टिकोणहरूको सार के हो? के यो घृणास्पद र दुष्ट हुन्छ? (हुन्छ।) तिनीहरूका सोच र दृष्टिकोणहरू सबै स्वार्थी, घृणास्पद र दुष्ट हुन्छन्; ती सबैका लागि भ्रष्ट तुल्याउने र विनाशकारी किसिमका हुन्छन्। मानिसहरूमाझ तेरो हैसियत भए पनि वा नभए पनि, यदि तैँले स्विकार्ने कुराहरू यी भ्रमपूर्ण सोच र दृष्टिकोणहरू हुन् भने, तँसँग हैसियत भए पनि, तँ यी सोच र दृष्टिकोणहरूका पीडितहरूमध्ये एक होस्; तँ निहित हितहरू भएको व्यक्ति भए पनि, तिनका पीडितहरूमध्ये एक होस्; तँ शासक वर्गको भए पनि, तिनका पीडितहरूमध्ये एक होस्। यी सोच र दृष्टिकोणहरूको पीडित हुनुको अर्थ के हो? यसको अर्थ तँ पनि त्यस्ता सोच र दृष्टिकोणहरूद्वारा अनि त्यस्ता दुष्ट प्रवृत्तिहरूद्वारा भ्रष्ट तुल्याइएको र बर्बाद पारिएको व्यक्ति होस् भन्‍ने हो। तैँले स्विकार्ने कुराहरू भ्रमपूर्ण अनि दुष्ट सोच र दृष्टिकोणहरू भएका हुनाले र तैँले ती स्विकार्ने मात्रै नभई ती लागू पनि गर्ने भएकाले, तँ तिनका पीडितहरूमध्ये एक होस्। त्यसोभए व्यक्ति कसरी यस भ्रष्टता र विनाशबाट बाहिर निस्कन सक्छ र यसबाट थप हानि हुनबाट जोगिन सक्छ? यसको एकमात्र तरिका छ र त्यो भनेको सही सोच र दृष्टिकोणहरू स्विकार्नु हो। कस्ता सही सोच र दृष्टिकोणहरू? हैसियतलाई कसरी सही रूपमा लिने भन्‍ने सोच र दृष्टिकोणहरू: हैसियतद्वारा नियन्त्रित वा बाँधिएको नहुनु, व्यक्तिगत फाइदा खोज्न हैसियत प्रयोग नगर्नु, अरूलाई विनाश गर्न र भ्रष्ट तुल्याउन वा अरूको शोषण गर्न हैसियतको प्रयोग नगर्नु—अरूलाई कुनै पनि कुरा गर्नका लागि बाध्य नपार्नु। जब तँसँग हैसियत हुन्छ, तब तैँले गर्ने हरेक कुरामा, तँ सत्यता सिद्धान्तहरू खोज्न, आफ्ना व्यक्तिगत हितहरूलाई त्याग्न र हैसियतले तँलाई दिने सुविधाहरू र अनुकूल परिस्थितिहरूविरुद्ध विद्रोह गर्न र ती इन्कार गर्नसमेत सक्षम हुन्छस्। हैसियतका फाइदाहरूको आनन्द लिनुको सट्टा, तँ आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्षम हुन्छस्, आफूसँग भएको हैसियतअनुसार आफूले गर्नुपर्ने जिम्मेवारीहरू पूरा गर्छस्। केही वाक्यको विषयवस्तु धेरै नभए पनि, तिनलाई व्यवहारमा उतार्नु भ्रष्ट मानिसहरूका लागि सजिलो काम होइन। जब तँसँग हैसियत हुँदैन, तब तँलाई “हैसियतका फाइदाहरूको आनन्द नलिनु” त भनिएको कुरा गर्ने मामिला मात्रै हो र यो हासिल गर्न सजिलो छ भन्‍ने महसुस हुन्छ। तर जब तँसँग हैसियत हुन्छ, तब “हैसियतका फाइदाहरूको आनन्द नलिनु” उप्रान्त कुनै निर्देशन पालन गर्ने मामिला मात्रै रहँदैन। यसका लागि तैँले कुराहरू त्याग्नुपर्ने हुन्छ, तैँले विद्रोह गर्नुपर्ने हुन्छ, तैँले कामकुराहरू छोड्नुपर्ने हुन्छ र सबैलाई न्यायपूर्ण रूपमा व्यवहार गर्दै अनि हरेक मामिलालाई न्यायपूर्ण र वस्तुगत रूपमा सम्हाल्दै, तैँले अभ्यासका सही सिद्धान्तहरूअनुसार अभ्यास गर्नुपर्ने हुन्छ। जब तैँले यस भनाइलाई व्यवहारमा उतार्नुपर्छ, तब त्यसमा तेरा हितहरू समावेश हुन्छन्। जब तँसँग हैसियत हुँदैन, तब तँ भन्छस्, “म हैसियतका फाइदाहरूको आनन्द लिन्नँ; म हैसियतका फाइदाहरूको आनन्द लिन इच्छुक छैनँ।” जोकोहीले पनि यी वचनहरू भन्न सक्छ। तर जब तँ हैसियतका फाइदाहरूको आनन्द लिन सक्ने स्थानमा हुन्छस्, तब ती त्याग्‍न र परमेश्‍वरको प्रेम चुक्ता गर्नुका लागि आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मात्रै खोज्नु उप्रान्त त्यति सरल हुँदैन, होइन र? (हो।) यो कुरा तँ सत्यतालाई प्रेम गर्छस् कि गर्दैनस् र तँ देहविरुद्ध विद्रोह गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ।

हामीले भर्खरै सङ्गति गरेको कुरा देहधारी परमेश्‍वरले हैसियतलाई कसरी लिनुहुन्छ भन्‍ने विषयसँग सम्बन्धित थियो। अब हामीले हैसियतलाई कसरी हेर्नुपर्छ भन्‍नेबारे सङ्गति गरिसकेका हुनाले, मानिसले कष्टलाई कसरी हेर्नुपर्छ भन्‍नेबारे सङ्गति गरौँ। यो मानिसहरूले प्रायजसो एक-अर्कासँग कुरा गर्ने विषय हो। मानिसले कष्टलाई कसरी हेर्छ भन्‍ने कुरा उसको विचार र दृष्टिकोणका साथै उसको अभ्यासका सिद्धान्तहरूसँग सम्बन्धित हुन्छन्। मानिसहरूले कष्टलाई कसरी हेर्छन्? कष्ट भनेको मानिसहरूले आफ्नो जीवनमा वा परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा बारम्बार सामना गर्ने र अनुभव गर्ने कुरा हो, र यो तिनीहरूले प्रायजसो छलफल गर्ने विषय पनि हो। धेरैजसो मानिसहरूले कष्टलाई आफ्नो व्यक्तिगत पूँजी, आफ्नो स्थान, र आफ्नो हैसियत, साथै आफ्नो भविष्यको गन्तव्यसँग जोड्छन्। त्यसकारण, धेरैजसो मानिसहरूले कष्ट भोग्दा निश्चित विचारहरू राख्छन्, र यसलाई ठूलो महत्त्व दिन्छन्। खास गरी, व्यक्तिले के-कस्ता कठिनाइहरू भोगेको छ; व्यक्ति कस्तो प्रकारको कष्टबाट गुज्रेको छ; व्यक्तिले कति लामो समयसम्म कष्ट भोगेको छ; व्यक्तिको कष्टबारे अरू कति मानिसहरूलाई थाहा छ, अरू कति मानिसहरूले त्यो देखेका छन्, र अरू कति मानिसहरूले त्यसलाई पहिचान गरेका छन्—यी सबै मानिसहरूलाई धेरै चासो लाग्ने विषयहरू हुन्। यसका साथै, अरू मानिसहरूको हृदयमा हैसियत प्राप्त गर्नका लागि व्यक्तिले कष्टलाई कसरी प्रयोग गर्न सक्छ, आफूले चाहेका कुराहरू, जस्तै फाइदा, प्रतिष्ठा, हैसियत, अरूको उच्च सम्मान, र व्यक्तिगत वैभव प्राप्त गर्न यसलाई कसरी प्रयोग गर्न सक्छ, र यहाँसम्म कि कष्टमार्फत परमेश्‍वरको घरको वा परमेश्‍वरको निगाह, मान्यता, स्वीकार्य, र स्मरण कसरी प्राप्त गर्न सक्छ—यी कुराहरूमा पनि मानिसहरूले आफ्नो हृदयमा ध्यान केन्द्रित गर्छन्। त्यसकारण, मानिसहरूको हृदयमा सत्यता अभ्यास गर्ने कुराले भन्दा कष्टको विषयले बढी महत्त्व राख्छ। त्यसोभए, सही र सत्यता सिद्धान्तअनुरूप हुने गरी व्यक्तिले कष्टलाई ठ्याक्कै कसरी हेर्नुपर्छ? म कष्टलाई कसरी हेर्छु? यी वर्षहरूमा, मैले तिमीहरूसँग सङ्गति गर्दा—र तिमीहरूसँगको मेरो दैनिक अन्तरक्रियाको दौडान—के मैले कहिल्यै मैले के-कस्ता कठिनाइहरू भोगेको छु, मैले कति लामो समयसम्म कष्ट भोगेको छु, मेरो कष्टको उद्देश्य र महत्त्व के थियो, वा कष्ट भोगे पछिका मेरा भावनाहरू के थिए भनेर कुरा गरेको छु? याद गर त, के मैले कहिल्यै यी विषयहरूमा कुरा गरेको छु? के लिखित पाठमा, वा प्रवचनहरूका अडियो रेकर्डिङहरूमा, वा तिमीहरूले सुनेका वचनहरूमा यसको कुनै अभिलेख छ? (छैन, हाम्रो सम्झनामा छैन।) विगतमा, मैले तिमीहरूको बीचमा के कुरा फैलिएको सुनेको थिएँ भने, एक वर्ष चिनियाँ नयाँ वर्षको दौडान, मेरो जाने ठाउँ कतै थिएन र फर्कने घर थिएन, दाजुभाइ-दिदीबहिनीहरूले मलाई अतिथि सत्कार गरेनन्, र पछि म सडकहरूमा भौँतारिएँ; मैले यो कष्ट भोगेको थिएँ भनेर भनिएको थियो। के यो वास्तवमा भएको थियो? (परमेश्‍वरले अघिल्लो प्रवचनमा तपाईंले यो कुरा कहिल्यै अनुभव गर्नुभएन भनेर भन्नुभएको थियो। यो मानिसहरूले फैलाएको कथा थियो।) म आफैलाई समेत यसबारे थाहा थिएन। मैले कहिल्यै अनुभव नगरेको कुरा मलाई कसरी थाहा हुन सक्छ र? मैले त यो मामलालाई स्पष्ट पार्ने काम मात्रै गरेँ, होइन र? यो परिस्थिति कहिल्यै घटेकै थिएन। त्यसैले तिमीहरूलाई याद भएसम्‍म, म लगभग कष्टको बारेमा कुरा नै गर्दिनँ, होइन र? (हो।) कष्टको विषयको हकमा, धेरैजसो मानिसहरूले व्यक्तिगत पूँजी प्राप्त गर्न, अरूको उच्च सम्मान कमाउन, र उनीहरूमा आफ्‍नो राम्रो छवि बनाउनका लागि कष्ट भोग्नु अभ्यासको अत्यन्तै राम्रो तरिका हो भन्‍ने विश्‍वास गर्छन्; तिनीहरूले यो परमेश्‍वरमा विश्‍वास गर्ने कुरामा समावेश सबैभन्दा आधारभूत अभ्यास हो भन्‍ने विश्‍वास गर्छन्। मानिसहरूले यसलाई जसरी हेरे पनि, कष्टको विषयमा मेरा विचार र दृष्टिकोणहरू के हुन् भन्‍ने कुरा अब सुन।

कष्ट केही प्रकारका हुन्छन्। सबैभन्दा आम प्रकारको कष्ट भनेको मानिसहरूले आफ्नै हैसियतको रक्षा गर्न, अरूका बीचमा आफ्नो प्रतिष्ठा कायम राख्न, र राम्रो भविष्य र राम्रो गन्तव्य प्राप्त गर्नका लागि केही कष्ट भोग्नु हो। यसमा आफ्नो कर्तव्य निर्वाह गर्दा राती ढिलासम्म बस्नु र बिहान सबेरै उठ्नु, र राम्रो खाना नखानु वा राम्रो लुगा नलगाउनु जस्तो कुरा समावेश हुन्छ। कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसले सुसमाचार प्रचार गर्न र आफ्ना कर्तव्यहरू पूरा गर्नका लागि आफ्ना परिवार र करियर त्याग्छन्। सरकारले तिनीहरूलाई पक्राउ गर्ने र सताउने मात्रै होइन, तर तिनीहरूका परिवारले पनि तिनीहरूलाई बुझ्दैनन् र तिनीहरूलाई सताउने र बाधा दिने समेत गर्छन्। कतिपय पति वा पत्नीले सम्बन्धविच्छेदको धम्की समेत दिन्छन्, र तिनीहरूका आफन्तहरूको व्यर्थको गफ, निन्दा, र अफवाह फैलाउने काम पनि हुन्छ। तिनीहरूले धेरै कष्ट भोगेका हुन्छन्। तर, राम्रो भविष्य र राम्रो गन्तव्य प्राप्त गर्न, र आफ्नो हैसियत र प्रतिष्ठा जोगाउन, तिनीहरूले जतिसुकै कष्ट भोगे पनि वा तिनीहरूको कष्ट जतिसुकै ठूलो भए पनि, यसरी कष्ट भोग्ने मानिसहरूले कहिल्यै हरेस नखाई सधैँझैँ काम गरिरहन्छन्। छोटकरीमा भन्दा, यस्ता मानिसहरूले आफ्नो हैसियत र प्रतिष्ठाको खातिर, र आफ्नो भविष्य र गन्तव्यको खातिर कष्ट भोग्छन्। तिनीहरू लामो समयसम्म घरबाट टाढा दौडधूप गर्छन्, अरूबाट रूखो व्यवहार सहन्छन्, र अरूद्वारा बहिष्कृत हुन्छन् र गलत बुझाइमा पर्छन्, साधारण मानिसहरूले नभोग्ने धेरै कष्ट भोग्छन्। मलाई भन, आफ्नो हैसियत र प्रतिष्ठाको खातिर वा आफ्नो भविष्य र गन्तव्यको खातिर कष्ट भोग्नुको कुनै मूल्य छ? (छैन।) के परमेश्‍वरले यसलाई स्मरण गर्नुहुन्छ? (गर्नुहुन्‍न।) तिनीहरूले कष्ट भोग्नुको एउटै मात्र उद्देश्य भनेको अगुवा र कामदारहरू, साथै दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई उच्च सम्मान गरून् र तिनीहरूको प्रशंसा गरून् भन्नका लागि हो, ताकि दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई भावी निर्वाचनमा पनि अगुवाको रूपमा निर्वाचित गरिरहून्। तिनीहरूले कष्टलाई आफ्नो खोजीको लक्ष्यको रूपमा लिन्छन्। आफ्नो हैसियत जोगाउन, तिनीहरूले जस्तोसुकै कष्ट पनि सहन सक्छन्। तिनीहरूले आफ्ना सांसारिक भविष्य र करियरहरू त्याग्छन्, र आफ्ना उत्कृष्ट जीवनयापनका वातावरणहरू समेत छोड्छन्, र धेरै कष्ट भोग्छन्। यस प्रकारका मानिसहरूले यो कष्ट भोगेपछि, जताततै धाक लगाउँछन्, प्रायजसो भेलाहरूमा वा अरूलाई काटछाँट गर्दा आफूले कसरी कष्ट भोगेँ भन्‍नेबारे सङ्गति गर्छन्। तिनीहरूले त्यसो गर्नुको उद्देश्य निकै सरल छ: यो केवल आफ्नै अभिमानको रक्षा गर्न र आफ्नै हैसियत र देखावटीपनको रक्षा गर्नका लागि मात्रै हुन्छ। त्यसकारण, तिनीहरूले भोग्ने कष्टको कुनै मूल्य हुँदैन। तिनीहरूले यस कष्टमार्फत आफूलाई चिन्दैनन्, तिनीहरू सत्यता अभ्यास गर्न सक्षम हुनु त झनै परको कुरा हो। यस्तो प्रकारको कष्ट उल्लेख गर्न लायक समेत हुँदैन। कतिपय मानिसहरूले आफ्नो हैसियत र प्रतिष्ठाको खातिर, र आफ्नो भविष्य र गन्तव्यको खातिर मात्रै कष्ट भोग्छन्। तिनीहरूले आफ्नो हैसियत र प्रतिष्ठाको रक्षा गर्न सबै प्रकारका परिश्रमहरू गर्न सक्छन्, र आशिष्‌ प्राप्त गर्न जस्तोसुकै कष्ट पनि सहन सक्छन्। तर, परमेश्‍वरको घरको कामको रक्षा गर्न, परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न, वा दाजुभाइ-दिदीबहिनीहरूका हितहरूको रक्षा गर्नका लागि अलिकति काम गर्न वा एउटा शब्द बोल्न तिनीहरू कहिल्यै अगाडि सर्दैनन्। त्यसो गर्दा कुनै कष्ट नपर्ने वा एउटा वाक्य मात्रै बोले पुग्ने भए पनि, तिनीहरूले त्यसो गर्न सक्दैनन्। त्यसकारण, यस प्रकारका मानिसहरूले भोगेका सबै कष्ट व्यर्थ हुन्छन्, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्न। यस प्रकारका मानिसहरू पूर्ण रूपमा कपटी फरिसीहरू हुन्; तिनीहरू अरूलाई बहकाउने र परमेश्‍वरद्वारा तिरस्कृत हुने मानिसहरू हुन्। आफ्नो हैसियतको खातिर, तिनीहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्न बिहान सबेरै उठ्न र राती ढिलासम्म बस्न सक्छन्, र कष्ट र थकान सहन सक्छन्। तिनीहरू नरोकिईकन लामो समयसम्म काम गर्न सक्छन्, वा वर्षभरि एक दिन पनि बिदा नलिईकन काम गर्न सक्छन्। तिनीहरू आफ्नै हैसियतका लागि मात्रै व्यस्त भएर दौडधूप गर्छन्, र तिनीहरूले बोल्ने हरेक कुरा आफ्नै हैसियत, अभिमान, र प्रतिष्ठाको रक्षा गर्नका लागि हुन्छ। जब कसैले परमेश्‍वरको घरको कामको प्रबन्धविरुद्ध जाने कुनै काम साँच्चै गर्छ, तब तिनीहरूले उनीहरूको कहिल्यै आलोचना गर्दैनन्, उनीहरूलाई रोक्‍नु त झनै परको कुरा हो। त्यसैले, तिनीहरूको कष्ट पूर्ण रूपमा आफ्नै प्रतिष्ठा र हैसियतको खातिर, र आफ्ना व्यक्तिगत हितहरूका लागि हुन्छ। यसलाई परमेश्‍वरले स्मरण नगर्नुहुने मात्रै होइन, तर यसलाई दोषी पनि ठहराइन्छ। विशेष गरी, तिनीहरूले कष्टलाई व्यक्तिगत पूँजीको रूपमा प्रयोग गर्छन् जसद्वारा तिनीहरू अरूलाई बारम्बार उपदेश दिन्छन् र परमेश्‍वरसँग मोलतोल गर्ने प्रयास गर्छन्, यसरी परमेश्‍वरले तिनीहरूको कष्ट देख्नुहुनेछ र तिनीहरूलाई राम्रो मूल्याङ्कन दिनुहुनेछ भन्‍ने आशा राख्छन्। उहाँ तिनीहरूको कष्टसँग सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न र तिनीहरूले भोगेको कष्टका लागि तिनीहरूले आशिष्‌ प्राप्त गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नका लागि तिनीहरूले बारम्बार परमेश्‍वरको परीक्षा पनि गर्छन्। त्यसकारण, त्यस्ता मानिसहरूको कष्टको प्रकृतिका आधारमा, यसलाई स्मरण नगरिने मात्रै होइन, तर यसलाई दोषी समेत ठहराइन्छ; र यो एक प्रकारको सुकर्म नहुने मात्रै होइन, तर यो एक प्रकारको दुष्ट कार्य हो। यस प्रकारका मानिसहरूले मण्डलीको काम र आफ्ना कर्तव्यहरू पूरा गर्नका खातिर तिनीहरूले कति टाढासम्म यात्रा गरेका छन् र कति कष्ट भोगेका छन्, साथै तिनीहरूलाई लाग्ने गम्भीर रोगहरू र तिनीहरूले कति धेरै औषधि खानुपर्छ भन्‍नेबारे प्रायजसो धाक लगाउँछन्। जब तिनीहरू औषधि खान्छन्, तब तिनीहरू प्रायजसो दाजुभाइ-दिदीबहिनीहरूको अगाडि खान्छन् ताकि उनीहरूले तिनीहरूलाई औषधि खाएको देखून्। तिनीहरूले कति काम गरेका छन्, कति कष्ट भोगेका छन्, र कति मूल्य चुकाएका छन्, र तिनीहरूले धेरै काम गरेर आफैलाई बिरामी बनाएपछि मात्रै औषधि खान्छन् भन्‍ने कुरा अझ धेरै मानिसहरूलाई थाहा दिन तिनीहरूले उपायहरू रच्छन्। मानिसहरूले तिनीहरूलाई उच्च सम्मान गरून्, तिनीहरूको प्रशंसा गरून्, र तिनीहरूको आराधना गरून् भन्नका लागि तिनीहरूले यसो गर्छन्। के यस प्रकारका मानिसहरू घिनलाग्दा हुँदैनन् र? (हुन्छन्।) त्यसैले, यस्ता मानिसहरूको कष्ट एक पैसाको पनि मूल्यको हुँदैन; यो वाकवाक लाग्दो हुन्छ। यस प्रकारका मानिसहरूको ठूलो भागले कुनै पनि वास्तविक काम गर्न नसक्ने अवस्था समेत हुन्छ। तिनीहरू अरूलाई देखाउनका लागि एउटा आवरण सिर्जना गर्न देखाउनका लागि मात्रै काम गर्छन्। तिनीहरूले कसैलाई चिढ्याउन सक्ने एउटा शब्द पनि बोल्दैनन् वा एउटा काम पनि गर्दैनन्। मण्डलीको कामको रक्षा गर्ने मामलाहरूको कुरा आउँदा, तिनीहरूले चुइँक्क पनि बोल्दैनन् वा अलिकति पनि काम गर्दैनन्। जब तिनीहरूले मण्डलीको काममा अवरोध र बाधा दिने कसैको सामना गर्छन्, तब तिनीहरूले त्यस व्यक्तिलाई सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्, बरु भावनाहरूका आधारमा काम गर्छन्। यदि तिनीहरूले आफूलाई मन नपर्ने कसैले काममा अवरोध र बाधा दिइरहेको देखे भने, तिनीहरूले प्रदर्शन गर्ने र व्यक्तिगत पूँजी जम्मा गर्ने अवसरको फाइदा उठाउँदै अलिकति बोल्नेछन् र अलिकति केही गर्नेछन्, र समय आएपछि तिनीहरूले श्रेय लिने र इनाम पाउने प्रयास गर्नेछन्। तर यदि काममा अवरोध र बाधा दिने व्यक्ति तिनीहरूलाई मन पर्ने वा तिनीहरूलाई समर्थन गर्ने कोही हो भने, तिनीहरूले उसलाई खुलासा नगर्ने वा नरोक्ने मात्रै होइन, तर तिनीहरूले “उसको कद सानो छ, त्यसैले हामीले धैर्यता अभ्यास गर्नुपर्छ र उसलाई सहायता गर्नुपर्छ” भनेर राम्रो सुनिने बहाना प्रयोग गर्दै उसलाई सहुलियत दिने, रक्षा गर्ने, र उसको गल्ती ढाकछोप गर्ने पनि गर्छन्। वास्तविकतामा, तिनीहरूले कसैलाई नचिढ्याउने प्रयास गर्नु भनेको आफ्नै हैसियतको रक्षा गर्नका खातिर नै हुन्छ। त्यसो भए पनि, मानिसहरूले तिनीहरूलाई उच्च सम्मान गरून् भनेर तिनीहरूले अझै पनि आफ्नो कष्टको प्रयोग गर्न चाहन्छन् र आफ्नै हैसियतको रक्षा गर्न आफ्नो कष्टको प्रयोग गर्न चाहन्छन्। कतिपय मानिसहरूले सामान्यतया धेरै व्यस्त भएको नाटक गर्छन्। खाँदा, तिनीहरूले जानी-जानी अलिकति भात वा स्टिम बन उमालेको सादा पानीमा भिजाउँछन् र यसका साथमा केही अचार खान्छन्, र दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूले साँच्चै कठिनाइ सहन सक्छन् भन्‍ने देखाउँदै खाना खाइसक्ने बित्तिकै भेलामा जान्छन्। तिनीहरू सधैँ एउटै लुगा लगाउँछन्, फोहोर हुँदा पनि त्यसलाई धुँदैनन्, र तिनीहरूले अरू मानिसहरूलाई भन्छन्, “हेर, म यति व्यस्त छु, मसँग खाना खाने वा लुगा धुने समय समेत छैन!” कतिपय मानिसहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा अरूसँग व्यर्थको गफ गर्छन् र समय खेर फाल्छन्, तैपनि तिनीहरूले उनीहरूसँग भेला गरिरहेको र सङ्गति गरिरहेको नाटक गर्छन्। तिनीहरू बिहानदेखि रातीसम्म आफ्ना कर्तव्यहरू निर्वाह गर्न व्यस्त भएजस्तो देखिन्छ, र तिनीहरूले विश्राम गर्नुपर्ने बेलामा राती कम्प्युटरमाथि ढल्किएर सुत्ने समेत गर्छन्। आफ्ना कर्तव्यहरू निर्वाह गर्दा तिनीहरूले कति कष्ट भोग्छन् र कति मूल्य चुकाउँछन् भन्‍ने कुरा मानिसहरूले देखून् भन्नका लागि तिनीहरूले यसो गर्छन्। तिनीहरूको कपाल प्रायजसो लथालिङ्ग हुन्छ र अनुहार फोहोर हुन्छ, र तिनीहरूले कति कष्ट भोग्छन् र कति मूल्य चुकाउन सक्छन् भन्‍ने कुरा मानिसहरूलाई थाहा दिनका लागि मात्रै तिनीहरूले लामो समयसम्म आफ्ना लुगा नफेर्ने वा नधुने वा ननुहाउने समेत गर्छन्। मलाई भन, यो कष्ट भोग्नुको के मूल्य छ र? के यो सबै एउटा देखावटी मात्रै होइन र? (हो।) परमेश्‍वरको घरका कतिपय कामहरू अलिक व्यस्त हुने खालका हुन्छन्, तर मानिसहरूको कपाल लथालिङ्ग हुने, अनुहार फोहोर हुने, र मानव रूप नै नहुने हदसम्म त होइन नि, हो र? कतिपय मण्डलीहरूमा तुलनात्मक रूपमा नराम्रो जीवनयापनका अवस्थाहरू हुन्छन्, तर त्यहाँका मानिसहरूले हरेक दिन स्टिम बन र अचार मात्रै खाने हदसम्म त होइन नि, हो त? सायद केही निश्चित ठाउँहरूमा यस्तो अवस्था हुन सक्छ, तर धेरैजसो ठाउँहरू यस्ता हुन्छन् भन्‍ने सम्भावना छैन। परमेश्‍वरको घरको काम जतिसुकै व्यस्त भए पनि, कम्तीमा पनि, तैँले आठ घण्टाको आरामदायी निद्रा कायम राख्नुपर्छ—तैँले आठ घण्टाको निद्रा समेत पाउन सक्दैनस् भन्‍ने त होइन नि, हो त? यसमा एक वा दुई दिनसम्म रहन सक्ने कहिलेकाहीँका विशेष परिस्थितिहरू समावेश छैनन्। मुख्य भूमि चीनमा, परमेश्‍वरका कतिपय चुनिएका मानिसहरू शैतानको शासनद्वारा हुने गिरफ्तारी र सतावटबाट जोगिनका लागि भाग्छन्। कहिलेकाहीँ तिनीहरू ओडार, परालको कुन्यू, र तबेलाहरूमा सुत्छन् र विश्राम गर्छन्। यी विशेष परिस्थितिहरू हुन्। विदेश आएपछि, यदि मानिसहरूले जानी-जानी केही “कष्टका वातावरणहरू” सिर्जना गर्छन् र जानी-जानी कसरी कष्ट भोग्ने भनेर “तालिम” लिन्छन् भने, के तिनीहरू लगभग तपस्वी भिक्षुहरू नै होइनन् र? हामी तिनीहरूलाई किन त्यसो भन्छौँ? किनभने तिनीहरूले जानी-जानी केही कष्ट भोग्‍ने, केही प्रावधानहरू पालन गर्ने, र आफ्नो शरीरलाई अनुशासनमा राख्‍ने मात्रै गरिरहेका हुन्छन्, अनि त्यसपछि तिनीहरूलाई आफू परिवर्तन भएको छु भन्‍ने महसुस हुन्छ। त्यसपछि तिनीहरूले आफूले कति कष्ट भोगेका छौँ भन्‍नेबारे अरूको अगाडि धाक लगाउँछन्, स्वर्ग र साधारण मानिसहरू दुवैको मन जित्ने आशा राख्छन्, र यसरी आफ्नै लागि प्रतिष्ठा र फाइदाहरू खोज्छन्, र आफूले चाहेको राम्रो गन्तव्य प्राप्त गर्छन्। यो मार्ग अव्यावहारिक छ। जब परमेश्‍वरले कसैको परिणाम निर्धारण गर्नुहुन्छ, तब उहाँले तिनीहरूले कति कष्ट भोगेका छन् वा तिनीहरूले परिश्रम गरेका छन् कि छैनन् र ठूलो योगदान दिएका छन् कि छैनन् भनेर कहिल्यै हेर्नुहुन्न, न त उहाँले तिनीहरूको उमेर नै हेर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूको परिणामको निर्धारण केका आधारमा गर्नुहुन्छ? उहाँले मानिसहरूसँग सत्यता छ कि छैन भन्‍ने कुराको आधारमा यो गर्नुहुन्छ। यदि तैँले कष्टमा मात्रै ध्यान केन्द्रित गर्छस् तर सत्यता प्राप्त गरेको छैनस् भने, तैँले जतिसुकै कष्ट भोगेको भए पनि, त्यो व्यर्थ हुन्छ। यदि तैँले सिद्धान्तहरूविना कष्ट भोग्छस्, र तैँले आफ्नै लागि कठिनाइहरू पनि सिर्जना गर्छस् र जानी-जानी कष्ट भोग्छस् भने, तेरो भाग्यमा नै कष्ट भोग्‍नु लेखेको छ। तेरो कष्ट दयाको योग्य छैन; तैँले आफैले यो निम्त्याएको होस्। परमेश्‍वरले मानिसलाई कष्ट भोग्न भन्नुभएको छैन। परमेश्‍वरले मानिसलाई गलत ठहराउनुहुन्छ र सजाय दिनुहुन्छ, र मानिसलाई जाँच्‍नुहुन्छ र शोधन गर्नुहुन्छ, तर यो उसलाई कष्ट दिनका लागि होइन, बरु उसलाई उसका भ्रष्ट स्वभावहरूबाट मुक्ति दिनका लागि हो। मानिसले भोग्ने धेरैजसो कष्ट उसका भ्रष्ट स्वभावहरूले गर्दा आएको हुन्छ; परमेश्‍वरको अभिप्राय भनेको मानिसलाई कष्ट दिनु भन्‍ने कहिल्यै पनि थिएन।

परमेश्‍वरले मानवजातिका लागि स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्नुभयो—सूर्य, चन्द्रमा, र ताराहरू, घाम, हावा, माटो, पानी, चार ऋतुहरू, साथै मानवजातिको जीवन र अस्तित्वका लागि आवश्यक सबै प्रकारका भौतिक कुराहरू। खान, पिउन, प्रयोग गर्न, र हेर्नका लागि कुराहरू छन्; चारै ऋतुहरूमा सबै प्रकारका जीवित कुराहरू प्रशस्त मात्रामा उपलब्ध हुन्छन्, होइन र? (हो।) अन्न, तरकारी, फलफूल, र बदामहरू छन्, रूखहरूमा र जमिनमा फल्ने कुराहरू छन्; सबै प्रकारका विभिन्न भौतिक कुराहरू अत्यन्तै प्रशस्त छन्, जसमा हरेक स्वाद र रङको पूर्ण आपूर्ति छ। मानिसले परमेश्‍वरबाट आउने भरणपोषणको आनन्द लिओस् भन्‍ने उहाँ चाहनुहुन्छ; मानिसले परमेश्‍वरबाट प्राप्त गर्ने भरणपोषण प्रशस्त र प्रचुर छ, र मानिस यसबाट पोषित हुन्छ। हेर् त, सृजित प्राणीहरूले सृष्टिकर्ताबाट प्राप्त गर्ने कुराहरू प्रशस्त र प्रचुर, अनन्त र कहिल्यै नसकिने हुन्छन्। मानिसले यी सबैको आनन्द लिओस् भन्‍ने परमेश्‍वर पूर्ण रूपमा चाहनुहुन्छ, र सृजित प्राणीहरूले सृष्टिकर्ताले प्रदान गर्नुभएका यी सबै कुराको उचित रूपमा आनन्द लिनुपर्छ। सृजित प्राणीहरूले परमेश्‍वरबाट आनन्द लिने कुरा आशिष्‌ हो, कष्ट होइन। मानवजातिलाई सृष्टि गर्नुको पछाडि परमेश्‍वरको मूल अभिप्राय मानिसलाई कष्ट दिनु भन्‍ने थिएन, तर मानिसले जीवनको यात्रा अनुभव गर्दा परमेश्‍वरबाट आउने भरणपोषणको आनन्द लिओस् भन्‍ने थियो। परमेश्‍वरले सृष्टि गर्नुभएका विभिन्न प्रकारका जीवित प्राणीहरू र जीवित कुराहरू प्रशस्त मात्रामा उपलब्ध छन्; कुनै कुराको कमी छैन। यसमा सुन्नका लागि दिइएका कुराहरू समावेश छन्—हेर त परमेश्‍वरले मानिसका लागि चराहरूको चिरबिर र झ्याउँकिरीको गीतको बारेमा समेत कसरी सोच्नुभएको छ। अर्थात्, परमेश्‍वरले मानिसको भित्री संसारमा सन्तुष्टि, सान्त्वना, र शान्ति ल्याउने हरेक कुराको बारेमा सोच्नुभएको छ। परमेश्‍वरले सृजित प्राणीहरूका लागि तयार गर्नुभएका कुराहरू प्रशस्त मात्रामा उपलब्ध छन्। जब सृजित प्राणीहरूले परमेश्‍वरले प्रदान गर्नुभएका सबै कुराको आनन्द लिन्छन्, तब तिनीहरूले आशिष्‌को आनन्द लिइरहेका हुन्छन्। तपस्वी भिक्षुहरू जस्ता मानिसहरूले के विश्‍वास गर्छन् भने, परमेश्‍वरले मानिसलाई कष्ट मात्रै दिन चाहनुहुन्छ, उहाँले मानिसले आशिष्‌को आनन्द लिएको चाहनुहुन्न, परिस्थितिहरूले अनुमति दिए पनि, उहाँले मानिसलाई तिनको आनन्द लिन दिनुहुन्न, तर मानिसलाई कष्ट मात्रै दिनुहुन्छ। तिनीहरूले के विश्‍वास गर्छन् भने, जब मानिसले चरम कष्ट र थकानको सामना गर्छ, तब परमेश्‍वर खुसी बन्‍नुहुन्छ, सन्तुष्ट बन्‍नुहुन्छ, र उहाँले आफ्नो लक्ष्य हासिल गर्नुभएको हुन्छ। मलाई भन, के यस प्रकारका मानिसहरूले खराब अभिप्रायहरू राख्दैनन् र? के यो परमेश्‍वरका अभिप्रायहरूको विकृत व्याख्या होइन र? (हो।) यो विचार कहाँबाट आयो? यो शैतानबाट आयो, होइन र? (हो।) परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो, तर शैतानले यो कुरा स्वीकार गर्दैन। यसलाई कसरी व्यवस्थापन गर्ने वा कायम राख्ने भन्‍ने यसलाई थाहा छैन, र यी सबै जीवित कुराहरू अस्तित्वमा रहिरहून् भन्‍ने यसले चाहँदैन। यसरी यसले तिनलाई बिगार्छ र नष्ट गर्छ ताकि मानिसले परमेश्‍वरले सृष्टि गर्नुभएका सबै कुराको आनन्द लिन नसकोस्। मानिसमा त्यसको बारेमा राम्रो छवि होस्, र मानिसले त्यसको आराधना गरोस् र त्यसलाई उच्च सम्मान गरोस् भनेर त्यसले मानिसलाई बहकाउँछ र भ्रष्ट तुल्याउँछ। शैतानले आफ्नै काम गर्छ र हरेक कुरामा परमेश्‍वरको विरोध गर्छ। परमेश्‍वरले मानवजातिलाई यी सबैको आनन्द लिन दिनुहुन्छ, जबकि शैतानले मानवजातिलाई यसको आनन्द लिने अधिकारबाट वञ्चित गर्छ, मानवजातिलाई यसको आनन्द लिन दिँदैन, र मानिसलाई कष्ट मात्रै दिन्छ। परमेश्‍वरले मानवजातिलाई यावत् थोकको व्यवस्थापन गर्न र यावत् थोकको आनन्द लिन दिनुहुन्छ, जबकि शैतानले यावत् थोकलाई बिगार्छ। यसले यावत् थोकको अस्तित्वलाई बेवास्ता गर्छ, यावत् थोकको अस्तित्वलाई घृणा गर्छ, यावत् थोकको अस्तित्वलाई दोषी ठहराउँछ, र जानी-जानी मानिसलाई कष्ट खोज्न लगाउँछ। परमेश्‍वरले मानिसका लागि नियोजन गर्नुभएका नियमहरूलाई हेर: जब सूर्य अस्ताउँछ र राती अँध्यारो हुन्छ, तब व्यक्तिले आफ्नो शरीरलाई विश्राम दिनुपर्छ। एक दिनको परिश्रमबाट हुने थकान विश्राममार्फत कम हुन्छ। एक रातको विश्रामपछि, व्यक्तिको शारीरिक शक्ति पुनर्स्थापित हुन्छ, र ऊ ऊर्जाले भरिपूर्ण हुन्छ। भोलिपल्ट, जब सूर्य उदाउँछ, तब उसलाई स्फूर्ति महसुस हुन्छ र उसले अर्को दिनको परिश्रम सुरु गर्छ। यो कस्तो अद्भुत नियम हो! कतिपय मानिसहरूले यो नियम पालन गर्दैनन्। तिनीहरू राती अँध्यारो भएपछि मात्रै काम गर्न थाल्छन्, र सुत्नुअघि बिहानको चार वा पाँच बजेसम्म जागा रहन्छन्, काम र विश्रामको तालिकालाई उल्टो बनाउन चाहन्छन्। परमेश्‍वरले के भन्नुहुन्छ भने, जब सूर्य अस्ताउँछ र चन्द्रमा उदाउँछ, तब मानिसले दिनका लागि आफ्नो परिश्रम रोक्नुपर्छ र बिस्तारै शान्त हुनुपर्छ र विश्राम गर्न सुरु गर्नुपर्छ; उसले सूर्य, चन्द्रमा, र ताराहरूको चाललाई नियन्त्रण गर्ने नियमहरूअनुसार काम गर्नुपर्छ वा विश्राम गर्नुपर्छ, र ऊ यो नियमको विरुद्धमा जानु हुँदैन। “कष्ट भोग्ने” यी मानिसहरूले ठ्याक्कै उल्टो गर्ने जिद्दी गर्छन्। जब तिनीहरूले विश्राम गर्नुपर्ने हुन्छ, तब तिनीहरू सुत्दैनन्; तिनीहरू जानी-जानी राती ढिलासम्म जागा रहन्छन्, र विशेष रूपमा उत्साहित समेत हुन्छन्। जब अरू गहिरो निद्रामा हुन्छन्, तब तिनीहरू सबैभन्दा व्यस्त हुन्छन्, तिनीहरूले कष्ट भोगिरहेका हुन्छन् र आफैलाई थकाइरहेका हुन्छन्। त्यसपछि, जब दिनमा काम गर्ने समय आउँछ, तब के तिनीहरूसँग अझै पनि ऊर्जा बाँकी हुन्छ? के तिनीहरूको ऊर्जाले अझै पनि दिनभरिको काम धान्न सक्छ? (सक्दैन।) तिनीहरूसँग कामलाई जारी राख्नका लागि उठ्नुअघि एक वा दुई घण्टा सुत्नुबाहेक कुनै विकल्प हुँदैन। बिहान, जब अरूले खाइरहेका हुन्छन्, तब तिनीहरू सुतिरहेका हुन्छन्। दिनमा, जब अरूले सामान्य रूपमा काम गरिरहेका हुन्छन्, तब तिनीहरू झुल्छन् र लठ्ठिएका हुन्छन्। तर राती, जब अरूले विश्राम गरिरहेका हुन्छन्, तब तिनीहरू चनाखो हुन्छन् र काम गर्न र व्यस्त हुन थाल्छन्। के यो काम र विश्रामको तालिकालाई उल्टो बनाउनु होइन र? के यो असामान्य कुरा होइन र? (हो।) तैपनि तिनीहरू आफूप्रति निकै खुसी महसुस गर्छन्, र अरू कसैले पनि आफूले जति कष्ट सहन सक्दैन, अरू मानिसहरू सबै औसत व्यक्तिहरू मात्रै हुन् भन्‍ने सोच्छन्। मध्यरातमा, जब अरू विश्राम गर्न लागेका हुन्छन्, तब तिनीहरूले यसो समेत भन्छन्, “तिमी यति चाँडै विश्राम गर्दैछौ?” अर्को व्यक्तिले भन्छ, “मध्यरात भइसक्यो; अघि नै धेरै ढिलो भइसक्यो। यसबाहेक, मसँग कुनै ऊर्जा बाँकी छैन; मेरो कामको दक्षतामा असर पर्नेछ, र मैले राम्रो परिणामहरू प्राप्त गर्नेछैनँ। जब विश्राम गर्ने समय हुन्छ, तब हामीले विश्राम गर्नुपर्छ।” तिनीहरूले भन्छन्, “मध्यरातमा सुत्न जानु भनेको धेरै चाँडो हो! म मध्यरातमा काम गर्न सुरु गर्छु र बिहानको चार वा पाँच बजेसम्म सुत्न जाँदिनँ।” तिनीहरूको दिमागमा केही खराबी हुन्छ, होइन र? तिनीहरूले आफैलाई यातना दिने मात्रै होइन, तर तिनीहरूले अरूलाई पनि बाँध्छन्। जब अरू मध्यरातमा विश्राम गर्छन्, तब तिनीहरूले उनीहरूलाई गलत ठहराउने समेत गर्छन्, र भन्छन्, “तिमी शारीरिक सुखसुविधामा लिप्त हुन्छौ र तिमीमा कष्ट भोग्ने सङ्कल्प छैन। परमेश्‍वरले तिमीलाई यति महत्त्वपूर्ण कार्यभार दिनुभएको हुनाले, तिमीले राती ढिलासम्म काम गर्नुपर्छ र कष्ट भोग्नुपर्छ; तिमी सुत्न जानुअघि कम्तीमा पनि बिहानको दुई बजेसम्म जागा रहनुपर्छ। यो मात्रै आफ्नो कर्तव्यप्रति अर्पित हुनु हो।” यदि कोही सुत्न जानुअघि बिहानको दुई बजेसम्म जागा रहन्छ भने, के उसमा अझै पनि दिनमा आफ्ना कर्तव्यहरू पूरा गर्ने ऊर्जा हुन्छ? (हुँदैन।) मानव शरीरलाई नियन्त्रण गर्ने प्राकृतिक नियमहरूअनुसार, यदि कोही बिहानको दुई बजे सुत्न जान्छ भने, ऊ बिहानको सात वा आठ बजेसम्म उठ्न सक्दैन। ऊ उठेपछि, ऊ शारीरिक रूपमा थकित हुनेछ, मानसिक रूपमा लठ्ठिएको हुनेछ, उसका खुट्टाहरू सुन्निएका हुनेछन्, र उसलाई शरीरभरि असहज महसुस हुनेछ। ऊ दिउँसो एकछिन सुते पनि, उसको शरीर अझै पनि पुनर्स्थापित हुनेछैन, किनभने ऊ परमेश्‍वरले मानिसका लागि नियोजन गर्नुभएका नियमहरूको विरुद्धमा गएको हुन्छ, होइन र? (हो।) तिनीहरू आफैले यसरी कष्ट भोग्ने मात्रै होइन, तर तिनीहरूले अरूले पनि आफूले जस्तै कष्ट भोगून् भन्‍ने माग गर्छन्। यदि अरूले तिनीहरूको तरिकाले काम गरेनन् भने, तिनीहरूले उनीहरूलाई दोषी ठहराउन सैद्धान्तिक आधार निकाल्छन्। सानो कद भएका र खुट्ट्याउने क्षमता नभएका अन्योलमा परेका मानिसहरू यसरी बन्धनमा पर्छन्; तिनीहरूले त्यसै गर्छन्, अलि-अलि गर्दै आफैलाई जागा रहन बाध्य पार्छन्, र बिस्तारै दुई बजेपछि विश्राम गर्ने अवस्थामा पुग्छन्। तिनीहरूले यस्तो समेत सोच्छन्, “कष्ट भोग्ने सङ्कल्प हुनु साँच्चै सजिलो कुरा होइन। हामीले सहन सिक्नुपर्छ, पूर्ण लगनशीलतामा भर पर्न सिक्नुपर्छ, शरीरको विरुद्ध विद्रोह गर्न सिक्नुपर्छ, र प्राकृतिक नियमहरूको विरुद्धमा जान सिक्नुपर्छ। यदि हामीलाई साँच्चै नै असह्य निद्रा लागेको छ भने, हामीले आफ्नो शरीरलाई सुत्नबाट रोक्न व्यावहारिक रूपमा आफैलाई सास्ती दिनुपर्छ। यो मात्रै परमेश्‍वरको आज्ञाप्रति अर्पित हुनु र कष्ट भोग्ने सङ्कल्प हुनु हो, र यसो गर्ने मानिसहरूले मात्रै मुक्ति प्राप्त गर्न सक्छन्!” हेर त, के तिनीहरूको यो जोस मन्दिरका भिक्षु र भिक्षुणीहरूको जस्तै छैन र? (छ।) तपस्वी भिक्षुहरूलाई जस्तै, तिनीहरूलाई पनि कसरी कष्ट सहने भन्‍ने मात्रै थाहा हुन्छ; सत्यता बुझ्ने, सत्यता अभ्यास गर्ने, र मुक्ति प्राप्त गर्ने कुरा त तिनीहरूको हृदयमा पटक्‍कै हुँदैन। त्यसोभए के त्यस्ता मानिसहरूले मुक्ति प्राप्त गर्न सक्छन्? के तिनीहरू बरबाद हुँदैनन् र? (हुन्छन्।) यो कसरी हुन्छ? यो त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूद्वारा मगज परिवर्तन गरिनुको, त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूद्वारा प्रभावित र तहसनहस हुनुको परिणाम हो। यी सबै कुरा मानिसहरूले सत्यता नबुझेको कारणले गर्दा हुन्छ; यो तिनीहरू त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूद्वारा गहिरो रूपमा हानिमा परेको र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास गर्न असमर्थ भएको कारणले गर्दा हुन्छ। त्यसोभए, के अन्ततः अरू मानिसहरूले तँलाई बहकाइरहेका र भ्रष्ट तुल्याइरहेका हुन्छन्, कि शैतानले तँलाई बहकाइरहेको र भ्रष्ट तुल्याइरहेको हुन्छ? छोटकरीमा भन्दा, मानिसले स्विकार्ने त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू शैतानबाट आएका हुन्छन्, परमेश्‍वरबाट होइन; ती नकारात्मक कुराहरू हुन्, सत्यता होइनन्। बाहिरी रूपमा, तैँले अरू मानिसहरूबाट निश्चित विचार र दृष्टिकोणहरू स्वीकार गरेको जस्तो देखिन्छ। तर वास्तवमा, यी विचार र दृष्टिकोणहरू परमेश्‍वरबाट होइन, तर शैतानबाट आएका हुन्छन्। बाहिरी रूपमा, अरू मानिसहरूले तँसँग बोलिरहेका छन् जस्तो देखिन्छ, तर वास्तवमा, शैतानले यी दृष्टिकोणहरू तँमा हालिरहेको हुन्छ। के शैतानले मानिसमा हाल्ने दृष्टिकोणहरू मानिसमार्फत नै प्रसार गरिँदैनन् र? यदि तैँले सत्यता बुझ्दैनस् र सत्यता सिद्धान्तहरूलाई पालन गर्न सक्दैनस् भने, तँ अन्ततः बहकिनेछस्। एकपटक बहकिएपछि, तँ तपस्वी भिक्षुहरू जस्तै हुनेछस्, हरेक दिन कसरी कष्ट भोग्ने र प्रावधानहरू पालन गर्ने भन्‍ने मात्रै जान्नेछस्, र अझै पनि तैँले सत्यता अभ्यास गरिरहेको छु भन्‍ने सोच्नेछस्। अन्त्यमा, तैँले दण्ड पाउनेछस् र तँ केही पनि प्राप्त नगरी मर्नेछस्। के यस्तो प्रकारको कष्ट सहनु सार्थक हो जस्तो तँलाई लाग्छ? (लाग्दैन।) यस्तो कष्ट सहँदा यसले अन्ततः मानिसहरूलाई कहाँ डोर्‍याउँछ? (नरकमा।) तिनीहरू नरकमा पुग्छन्, जहाँ तिनीहरूले शैतानको अघि लेखा दिनुपर्छ। के परमेश्‍वरले तिनीहरूलाई चाहनुहुन्थ्यो? (चाहनुहुन्‍नथियो।) त्यस्ता मानिसहरूले यति धेरै कष्ट सहे र आफूलाई परमेश्‍वरप्रति यति धेरै अर्पित छु भन्‍ने विश्‍वास गरे, र पनि तिनीहरू अन्तमा कसरी शैतानलाई लेखा दिन पुगेका हुन्छन्? परमेश्‍वरले तिनीहरूलाई किन चाहनुभएन? के यो दयालाग्दो कुरा हो? (अहँ, होइन।) परमेश्‍वरमा विश्‍वास गर्दा, यदि मानिसहरूले प्रावधानहरू पालन गर्न र कष्ट भोग्नमा मात्रै ध्यान केन्द्रित गरे, आशिष्‌ प्राप्त गर्ने कुरालाई मात्रै पछ्याउँछन् तर सत्यता पछ्याउँदैनन्, परमेश्‍वरको अधीनमा बस्‍न सक्दैनन्, अझै पनि शैतानी स्वभावहरूद्वारा जिउँछन्, र तिनीहरू अझै पनि शैतानकै हुन् भने, त्यस्ता मानिसहरूले जतिसुकै कष्ट भोगे पनि, तिनीहरूले मुक्ति प्राप्त गर्न असम्भव हुनेछ। यी सबै कुरा मानिसहरू आफै हिँड्ने मार्गद्वारा निर्धारण हुन्छन्।

जब कतिपय मानिसहरूले कष्ट भोग्ने ठूलो सङ्कल्प भएको कसैलाई देख्छन्—त्यस व्यक्तिले भोगेको कष्ट अर्थपूर्ण भए पनि वा नभए पनि—तब तिनीहरूले विशेष गरी कष्ट भोग्न सक्ने व्यक्ति बन्ने चाहना गर्छन्। खास गरी, तिनीहरू आफ्नो शरीरलाई अनुशासनमा राख्न सक्ने, आफ्नै शरीरको विरुद्धमा विद्रोह गर्न सक्ने, र शरीरका अत्यधिक चाहनाहरूको विरुद्धमा विद्रोह गर्न सक्ने प्रकारको व्यक्ति बन्न चाहन्छन्; कष्ट भोग्न सक्नेहरूप्रति तिनीहरूसँग विशेष आदर हुन्छ। तिनीहरू बन्न चाहने प्रकारको व्यक्ति भनेको सांसारिक जीवनबाट अलग भएको र शून्यतामा जिउने, कुनै मानवीय महत्त्वाकाङ्क्षा वा चाहनाहरू नभएको, कुनै व्यक्तिगत सोख, रुचि, वा व्यक्तिगत छनौटहरू पनि नभएको व्यक्ति हो—यीमध्ये कुनै पनि कुरा नभएको र चाहना र इच्छाहरूबाट मुक्त भएको व्यक्ति हो। तिनीहरूले आफ्नो हृदयमा यस प्रकारका मानिसहरूको निकै प्रशंसा गर्छन्, र भन्छन्, “तिनीहरूसँग स्वार्थी अभिप्रायहरू किन हुँदैनन्? तिनीहरूसँग कुनै व्यक्तिगत प्राथमिकता वा चाहनाहरू किन हुँदैनन्, र तिनीहरू कष्ट भोग्न कसरी यति धेरै सक्षम हुन्छन्? म किन कष्ट भोग्न सक्दिनँ? म अत्यन्तै गहिरो रूपमा भ्रष्ट भएको छु! मैले के मात्रै भन्न सक्छु भने, मेरो भ्रष्टता तिनीहरूको भन्दा गहिरो छ।” तिनीहरूमा यस्ता विचार र दृष्टिकोणहरू आएपछि, तिनीहरूले आफैविरुद्ध आक्रमण सुरु गर्छन्: जब तिनीहरू भोकाउँछन् र खान चाहन्छन्, तब तिनीहरूले आफूलाई रोक्छन् र खाँदैनन्; जब तिनीहरू तिर्खाउँछन् र पानी पिउन चाहन्छन्, तब तिनीहरूले आफूलाई नियन्त्रण गर्छन् र पिउँदैनन्; जब सुत्ने समय हुन्छ, तब तिनीहरू जानी-जानी सुत्दैनन्; तिनीहरूले जे गर्न चाहन्छन्, त्यो जानी-जानी गर्दैनन्, र तिनीहरूले जे गर्न चाहँदैनन्, त्यो जानी-जानी गर्छन्—तिनीहरू ठ्याक्कै उल्टो मात्रै गर्छन्। सामान्य मानवताको हिसाबमा के आवश्यक पर्छ, के गर्नुपर्छ, कस्ता जिम्मेवारी र दायित्वहरू पूरा गर्नुपर्छ, र जीवनका कस्ता नियम र सिद्धान्तहरू पालन गर्नुपर्छ भन्‍ने कुरामा तिनीहरूले पटक्कै ध्यान दिँदैनन्, र यसको सट्टा तिनीहरू जानी-जानी यी कुराहरूको विरुद्धमा जान्छन्। कतिपय त जानी-जानी नियमहरूको उल्लङ्घन गर्ने र जानी-जानी कष्ट खोज्ने हदसम्म पनि जान्छन्। उदाहरणका लागि, जब राती विश्राम गर्ने समय हुन्छ, तब तिनीहरूले आफ्नो थकान सहन र नसुत्नका लागि आफैलाई बाध्य पार्छन्। यदि तिनीहरूलाई गुलियो खानेकुरा मन पर्छ भने, तिनीहरू पिरो वा तीतो खानेकुरा मात्रै खान्छन्। काम गर्दा, तिनीहरूले निश्‍चित रूपमा आफूलाई मन नपर्ने कामहरू छान्छन्। तिनीहरूले कठिनाइहरू पार गर्न आफैलाई तालिम दिन्छन् र कष्ट भोग्न सक्षम हुनका लागि आफैलाई तालिम दिन्छन्, आफूलाई आवश्यक पर्ने र मन पर्ने सबै कुरालाई इन्कार गर्छन् र त्यसको विरुद्धमा विद्रोह गर्छन्, र आफूलाई मन नपर्ने र आवश्यक नपर्ने सबै कुरा स्वीकार गर्छन्। तिनीहरूलाई यसरी काम गर्नु सत्यता अभ्यास गर्नु हो, र परमेश्‍वरले पक्कै पनि यसलाई साँच्चै मन पराउनुहुनेछ र स्वीकार गर्नुहुनेछ भन्‍ने लाग्छ; तिनीहरूले जति धेरै कष्ट भोग्छन् र जति धेरै असहजता र पीडा महसुस गर्छन्, परमेश्‍वर त्यति नै बढी खुसी हुनुहुनेछ र यसलाई स्वीकार गर्नुहुनेछ भन्‍ने सोच्छन्। मलाई भन, यी कस्ता विचार र दृष्टिकोणहरू हुन्? के यो चरम कुरा होइन र? (हो।) कतिपय मानिसहरू यस्ता पनि हुन्छन् जसले कष्ट भोग्न र आफ्नो शरीरलाई अनुशासनमा राख्नका लागि, आफूसँग गर्ने काम भए पनि वा नभए पनि, सधैँ कम्प्युटरको अगाडि बस्छन्, र यसले परिणाम ल्याउँछ कि ल्याउँदैन वा तिनीहरू दक्ष छन् कि छैनन् भन्‍ने कुराको वास्ता नगरी हरेक दिन बाह्र घण्टा काम गर्नुपर्छ भन्‍ने नियम पनि आफ्‍नै लागि बनाउँछन्। तिनीहरूको दिमाग लठ्ठिँदा पनि तिनीहरूले विश्राम गर्दैनन्, र बिरामी पर्दा पनि तिनीहरू डाक्टरलाई देखाउन जाँदैनन्। तिनीहरूले यो शरीरको विरुद्धमा विद्रोह गर्नु हो भन्‍ने विश्‍वास गर्छन्, र यस्तो सोच्छन्, “मैले यो पुरानो शरीरलाई आफ्नो मनमानी गर्न दिनु हुँदैन; शरीरले सहज महसुस गर्नु हुँदैन। यदि यसले सहज महसुस गर्‍यो भने, यसले खराब कामहरू गर्नेछ, त्यसैले मैले यसलाई कष्ट दिनुपर्छ। यसले कष्ट भोगेपछि, परमेश्‍वरलाई काम गर्न कति गाह्रो छ भन्‍ने यसले थाहा पाउनेछ, र यसले कष्ट भोगेपछि, यो परमेश्‍वरको अगाडि शान्त हुन सक्षम हुनेछ।” यो कस्तो तर्क हो? तिनीहरूको जोसलाई हेर्दा, तिनीहरूसँग अलिकति सङ्कल्प भएको र तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक छन् जस्ता देखिन्छन्, तर के तिनीहरूको विधि र तरिका अलिकति विकृत, अलिकति चरम छैन र? (छ।) तिनीहरूले कष्ट भोग्दा त्यसले सत्यता अभ्यास गर्ने कार्यलाई प्रतिनिधित्व गर्छ, कष्ट भोग्दा त्यसले अर्पणका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यलाई प्रतिनिधित्व गर्छ, र कष्ट भोग्दा त्यसले दक्षताका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यलाई प्रतिनिधित्व गर्छ भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूले कष्ट भोग्नु नै सर्वोच्च सत्यता सिद्धान्त र अभ्यासको सबैभन्दा सही रूप हो, र यो नै सत्यता पछ्याउनु हो भन्‍ने सोच्छन्। कुराहरू बुझ्ने यो तरिका अत्यन्तै समस्याजनक छ! तिनीहरूले कुनै व्यक्तिले कष्ट भोग्न सक्छ कि सक्दैन र उसले कति कष्ट भोग्छ भन्‍ने कुरा परमेश्‍वरले अन्ततः उसले कस्तो परिणाम प्राप्त गर्नेछ भनेर न्याय गर्नका लागि प्रयोग गर्नुहुने मानक हो भन्‍ने विश्‍वास गर्छन्; तिनीहरूले सत्यता यही हो भन्‍ने विश्‍वास गर्छन्। के तिनीहरूको यो दृष्टिकोण सही छ? (छैन।) त्यसोभए तिनीहरू किन अझै पनि यसमा लागिरहन्छन्? (किनभने तिनीहरू शैतानका त्रुटिपूर्ण विचार र दृष्टिकोणहरूबाट प्रभावित भएका हुन्छन्।) यो यस मामलाको एउटा पक्ष हो; यो कुरा मानिसहरूको बुझाइ र तिनीहरूका धारणाहरूसँग पनि सम्बन्ध छ। तिनीहरूले कष्टलाई राम्रो परिणाम र गन्तव्यसँग साट्न सकिन्छ भन्‍ने सोच्दै, आफ्ना धारणा र कल्पनाहरूमा जिएर, भ्रमहरूमा मात्रै आफूलाई टिकाइराख्छन्। तिनीहरूले यस मामलामा कहिल्यै सत्यता खोज्दैनन्—परमेश्‍वरले कष्टलाई कसरी हेर्नुहुन्छ, परमेश्‍वरले मानिसबाट कस्ता मानकहरू माग गर्नुहुन्छ, वा परमेश्‍वरले मानिसलाई कष्ट दिनुको पछाडि के महत्त्व हुन्छ भन्‍ने कुरा बुझ्न तिनीहरू कहिल्यै खोज्दैनन्। तिनीहरूले कहिल्यै चिन्तन पनि गर्दैनन्, र आफ्नो मनमा यस्तो सोच्दैनन्, “मैले भोगिरहेको कष्ट सत्यता सिद्धान्तहरूअनुरूप छ त? के यस्तो कष्ट मानिसको लागि परमेश्‍वरले गर्नुभएको माग हो? के यसले परमेश्‍वरले मानिसमा गर्नुहुने आफ्नो काममार्फत हासिल गर्न चाहनुभएको प्रभाव हासिल गर्न सक्छ? यो कष्ट सहेर, के मानिसले सत्यताको बुझाइ र परमेश्‍वरका अभिप्रायहरूको बुझाइ हासिल गर्न सक्छ? यदि त्यसो होइन भने, यसले यो मार्ग गलत छ भन्‍ने प्रमाणित गर्छ, र म फर्कनुपर्छ।” यस प्रकारका मानिसहरूले कष्ट भोग्छन् किनभने तिनीहरूका विचार र दृष्टिकोणहरू समस्याजनक हुन्छन्। तिनीहरूसँग कष्टको बारेमा धेरै मानवीय धारणा र कल्पनाहरू हुन्छन्। मानिसहरूका महत्त्वाकाङ्क्षा र खोजीहरूसँग पनि यसको सम्बन्ध हुन्छ। कतिपय मानिसहरू आफ्नो कष्टलाई राम्रो गन्तव्यसँग साट्न चाहन्छन्; कतिपयले कष्टलाई आफ्नो बारेमा धाक लगाउन र अरूले आफूलाई उच्च सम्मान गरून् भन्नका लागि प्रयोग गर्न चाहन्छन्; र कतिपयले सत्यता अभ्यास गर्ने कार्यलाई कष्ट भोग्ने कार्यले प्रतिस्थापन गर्ने लक्ष्य राख्दै, आफूले आफ्नो शरीरलाई अनुशासनमा राखेका छन् र आफूसँग सत्यता वास्तविकता छ भन्‍ने प्रमाणित गर्न कष्टलाई प्रयोग गर्न चाहन्छन्। कतिपय मानिसहरू यस्ता हुन्छन् किनभने तिनीहरूका अभिप्राय र महत्त्वाकाङ्क्षाहरू समस्याजनक हुन्छन्, र अरू कतिपयको हकमा यो तिनीहरूको बुझाइ समस्याजनक भएको कारणले गर्दा हुन्छ। समस्या जहाँसुकै भए पनि, यदि तैँले सत्यताको बुझाइ हासिल गरेको छैनस् भने, तैँले भोग्ने कष्टको कुनै मूल्य हुँदैन। अर्को हिसाबमा, यदि तैँले भोग्ने कष्ट आफैले निम्त्याएको हो भने, यसको कुनै महत्त्व हुँदैन। यो परमेश्‍वरले तेरो लागि खडा गर्नुभएको कष्ट होइन, न त यो सत्यता पछ्याउनका खातिर सामान्य व्यक्तिको रूपमा तैँले भोग्नैपर्ने कष्ट नै हो। त्यसकारण, तैँले भोग्ने कष्टको कुनै पनि महत्त्व हुँदैन। आफ्‍नो गन्तव्यको खातिर वा हैसियतको खातिर कष्ट भोग्नु उचित होइन। यो व्यर्थ र पूर्ण रूपमा महत्त्वहीन हुन्छ; परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्न, र उहाँले यसलाई स्मरण गर्नुहुन्न। त्यसोभए तेरो कष्ट अर्थपूर्ण हुनका लागि तैँले केका लागि कष्ट भोग्नुपर्छ? सत्यता अभ्यास गर्नका खातिर कष्ट भोग्नु, तेरो स्वभाव परिवर्तन गर्नका खातिर कष्ट भोग्नु, र मुक्ति प्राप्त गर्नका खातिर कष्ट भोग्नु अर्थपूर्ण हुन्छ—तैँले भोग्नैपर्ने कष्ट यही हो। यदि तैँले आफ्नो हैसियतको रक्षा गर्न र मानवीय धारणा र कल्पनाहरूलाई सन्तुष्ट पार्नका लागि कष्ट भोग्छस् भने, तैँले भोग्ने कष्टको कुनै पनि महत्त्व हुँदैन; यो अनावश्यक हुन्छ। “अनावश्यक” भन्नुको अर्थ के हो? यसको अर्थ यो पूर्ण रूपमा नचाहिने कुरा हो भन्‍ने हुन्छ। तँ बाटो बिराएर गएको छस्, र तँ हिँड्ने मार्ग गलत छ। तैँले जतिसुकै कष्ट भोगे पनि वा जतिसुकै ठूलो मूल्य चुकाए पनि, परमेश्‍वरले यसलाई पटक्कै स्मरण गर्नुहुन्न, र परमेश्‍वरले यसलाई अनुमोदन गर्नुहुन्न। सत्यता अभ्यास गर्ने कार्यसँग तेरो कष्टको कुनै सम्बन्ध नभएको हुनाले, मुक्ति प्राप्त गर्ने कार्यसँग कुनै सम्बन्ध नभएको हुनाले, र परमेश्‍वरको अधीनमा बस्‍ने कार्यसँग कुनै सम्बन्ध नभएको हुनाले, परमेश्‍वरले यसमा पटक्कै ध्यान दिनुहुन्न। बुझिस्? (बुझेँ।) यो सबैभन्दा मूल्यहीन र अर्थहीन प्रकारको कष्ट हो।

अर्को प्रकारको कष्ट पनि हुन्छ, जुन मानिसमा भ्रष्ट स्वभावहरू भएको कारणले गर्दा हुन्छ। मानिसको जीवन, उसको खोजी, र ऊ हिँड्ने मार्ग सबै उसका भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित हुन्छन्। मानिसमा भ्रष्ट स्वभावहरू हुने हुनाले, उसमा अपरिहार्य रूपमा नै विद्रोहीपन र प्रतिरोध हुन्छ; मानिसमा भ्रष्ट स्वभावहरू हुने हुनाले, ऊ अझै पनि शैतानको शक्तिअन्तर्गत जिइरहेको हुन्छ। यदि मानिसले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र मुक्ति प्राप्त गर्न चाहन्छ भने, उसले परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्न आवश्यक हुन्छ, र उसले धेरै काटछाँट र अनुशासन, साथै परमेश्‍वरले खडा गर्नुभएका विभिन्न परीक्षा र शोधन अनुभव गर्नुपर्छ। कतिपय मानिसहरूले केही ठूला सङ्कष्टहरू समेत अनुभव गर्नुपर्ने हुन्छ। यो सबै मानिसलाई सत्यता प्राप्त गर्न, आफ्ना शैतानी स्वभावहरू फाल्न, र अन्ततः मुक्ति प्राप्त गर्न सक्षम तुल्याउनका लागि हो; जोकसैले मुक्ति प्राप्त गर्नका लागि यो आवश्यक प्रक्रिया हो। आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र मुक्ति प्राप्त गर्नका लागि, हरेक भ्रष्ट मानवले धेरै कष्ट भोग्नुपर्छ। एक हिसाबमा, जब तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दा भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, तब तिनीहरूले न्याय र सजाय स्विकार्नुपर्छ, काटछाँट स्विकार्नुपर्छ, र परीक्षा र शोधन स्विकार्नुपर्छ; यो भोग्नैपर्ने कष्ट हो। अर्को हिसाबमा, आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नका लागि, मानिसहरूले केही व्यक्तिगत अवगुणहरू र आफ्नै अवस्थाहरूका अपर्याप्तताहरूलाई पार गर्नुपर्छ, र तिनीहरूले केही पेशागत ज्ञान प्राप्त गर्न आवश्यक हुन्छ। यसका लागि मानिसहरूले कष्ट भोग्नु र मूल्य चुकाउनु पनि आवश्यक हुन्छ। विशेष गरी जब मानिसहरूले जीवनयापनका नराम्रा अवस्थाहरू भएका खतरनाक वातावरणहरूमा कर्तव्यहरू निर्वाह गर्छन्, तब तिनीहरूले केही कष्ट पनि भोग्नुपर्छ। यसका साथै, जब मानिसहरू आफ्ना कर्तव्यहरू निर्वाह गर्दा शैतानी स्वभावहरूभित्र जिउँछन्, तब तिनीहरूले आफ्नै इच्छाअनुसार काम गर्छन्, र अवरोध र बाधाहरू ल्याउने कुराहरू समेत गर्छन्, त्यसैले तिनीहरूले हरेक दिन आफूमाथि चिन्तन गर्न र परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गर्न आवश्यक हुन्छ। तिनीहरूले ताडना दिइनु, अनुशासनमा राखिनु, र शोधन गरिनुको कष्ट, वा प्रकट पारिनु, बर्खास्त गरिनु, र हटाइनुको कष्ट पनि भोग्नुपर्छ। यो सबै कष्ट मानिसहरूले भोग्नैपर्ने कुरा हो। यदि तैँले यो कष्ट भोगिनस् भने, तँलाई अन्ततः आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र मुक्ति प्राप्त गर्न निकै गाह्रो हुनेछ। चाहे त्यो परमेश्‍वरका वचनहरूद्वारा खुलासा र न्याय गरिनु होस्, दाजुभाइ-दिदीबहिनीहरूद्वारा काटछाँट गरिनु होस्, वा मानिसहरूलाई जाँच्‍न र तिनीहरूलाई शोधन गर्न परमेश्‍वरले खडा गर्नुहुने वातावरणहरूको सामना गर्नु होस्, यी सबै मानिसहरूले भोग्नैपर्ने प्रकारका कष्टहरू हुन्। ती त हरेक भ्रष्ट मानवले मुक्ति प्राप्त गर्नका लागि अनुभव गर्नुपर्ने प्रक्रियाहरू हुन्, र ती सबै अर्थपूर्ण र मूल्यवान् छन्। यी प्रकारका कष्टहरू भोग्नुको उद्देश्य तैँले अन्ततः मुक्ति प्राप्त गर्न सकेस् र तँ परमेश्‍वरद्वारा प्राप्त गरिन सकेस् भनेर हो। यो कुनै प्रकारको व्यक्तिगत पूँजी पटक्कै होइन, किनभने तैँले अरू मानिसहरूका खातिर यो कष्ट भोगिरहेको हुँदैनस्। तैँले आफ्नै लागि आफ्नो कर्तव्य निर्वाह गर्छस्, तैँले आफ्नै लागि सत्यता अभ्यास गर्छस्, र तैँले आफ्नै खातिर परमेश्‍वरप्रति आफूलाई अर्पण गर्छस् र सबै प्रकारका कष्टहरू भोग्छस्। यसका साथै, आफ्‍ना भ्रष्ट स्वभावहरू समाधान गर्न तैँले सत्यता अभ्यास गर्नु, आफ्‍ना महत्त्वाकाङ्क्षा र चाहनाहरूको विरुद्धमा विद्रोह गर्नु, तेरा विभिन्न प्राथमिकता र मागहरू त्याग्नु, र यस्तै अरू कुराहरू—यो सबै तँ अन्ततः मुक्ति प्राप्त गर्न, परमेश्‍वरप्रतिको समर्पण हासिल गर्न, र परमेश्‍वरको आराधना गर्ने व्यक्ति बन्न सकेस् भनेर हो। तँ अन्तमा बाँच्न र नयाँ मानवजातिको सदस्य बन्न सकेस् भन्नका लागि तैँले यो कष्ट भोग्छस्; यो मूल्यवान् भए पनि, यो परमेश्‍वरप्रतिको योगदान होइन। म किन यो योगदान होइन भनेर भन्छु? किनभने तैँले भोग्ने कष्ट कुनै प्रकारको व्यक्तिगत पूँजी होइन; तैँले यो पूर्ण रूपमा आफ्नै खातिर भोग्छस्। यो खानु र पिउनु जस्तै हो: तैँले बाँच्न सकूँ भनेर मात्रै खान्छस् र पिउँछस्। तैँले आफ्नो दैनिक जीवनमा गर्ने हरेक गतिविधि तेरो शारीरिक जीवन र अस्तित्व कायम राख्नका लागि हुन्छ। यो अरू मानिसहरूका खातिर हुँदैन, तर तेरो आफ्नै लागि मात्रै हुन्छ। त्यसकारण, तैँले धेरै कष्ट भोगे पनि, र तैँले केही कठिन प्रक्रियाहरू अनुभव गरे पनि, यसको अर्थ तैँले कुनै प्रकारको व्यक्तिगत पूँजी प्राप्त गरेको छस् भन्‍ने हुँदैन। यो कुरा उल्लेख गर्न लायक छैन—यो तैँले भोग्नैपर्ने कुरा हो। तैँले यसो भन्नु हुँदैन, “जब म खान्छु, तब म परमेश्‍वरको खातिर त्यसो गर्छु, र म परमेश्‍वरको खातिर मेरो जीवन जिउँछु!” तैँले यी कुराहरू परमेश्‍वरको खातिर गर्दैनस्; तैँले ती आफ्नै लागि गर्छस्। यसमा धाक लगाउन लायक केही पनि छैन। त्यसैले, कतिपय मानिसहरूले सधैँ परमेश्‍वरमा विश्‍वास गर्न र आफ्नो कर्तव्य निर्वाह गर्नका खातिर, आफ्नो जागिर छोडेका छन् र आफ्नो अध्ययन त्यागेका छन् भनेर भन्छन्, वा तिनीहरूले कति काटछाँट भोगेका छन्, तिनीहरूले गोप्य रूपमा कति आँसु बगाएका छन्, र तिनीहरूले गोप्य रूपमा कति कष्ट भोगेका छन् भन्‍नेबारे कुरा गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न र मुक्ति प्राप्त गर्नका खातिर भोगेको ठूलो कष्ट व्यक्तिगत पूँजीको एउटा रूप हो भन्‍ने सोच्दै, सधैँ यी कुराहरू उल्लेख गर्छन्। यो पूर्ण रूपमा गलत हो। भ्रष्ट मानवहरूले मुक्ति प्राप्त गर्नका लागि कष्ट भोग्नुपर्छ; तैँले कष्ट भोग्नु सही हो। यो किन सही हो? किनभने तँलाई शैतानले अत्यन्तै गहन रूपमा भ्रष्ट तुल्याएको छ, तँमा भ्रष्ट स्वभावहरू छन्, र तँमा शैतानी प्रकृति छ। यदि तैँले मुक्ति प्राप्त गर्ने हो भने, र सत्यता स्वीकार गर्न र तँ कति गहिरो रूपमा भ्रष्ट भएको छस् भन्‍ने कुराको बुझाइ हासिल गर्न सक्षम हुने हो भने, तैँले धेरै पीडा भोग्नुपर्छ; विशेष गरी, तेरा भ्रष्ट स्वभावहरू फाल्नका लागि अझै बढी पीडा भोग्नु आवश्यक हुन्छ। यो महिलाले बच्चा जन्माउनु जस्तै हो: उनी प्रसव वेदनाबाट गुज्रनुपर्छ र उनले बच्चा जन्माउँदाको कष्ट भोग्नुपर्छ। तैँले चाहे पनि तँ यसबाट उम्कन सक्दैनस्। तैँले मुक्ति प्राप्त गर्नका लागि भोग्ने कष्ट तैँले आफ्नै खातिर भोग्ने कुरा हो; तैँले परमेश्‍वरको लागि पीडा भोगिरहेको छु भनेर भन्न मिल्दैन। तैँले आफ्नै मुक्तिको खातिर न्याय र सजाय, काटछाँट, र परीक्षा र शोधन भोग्छस्। यो तैँले भोग्नैपर्ने कष्ट हो, र यो एउटा आवश्यक प्रक्रिया हो। त्यसैले, तैँले आफ्नो कर्तव्य निर्वाह गर्न कति कष्ट भोगेको छस्, तैँले मुक्ति प्राप्त गर्न कति कष्ट भोगेको छस्, तैँले परमेश्‍वरको घरको लागि कति काम गरेको छस्, तैँले परमेश्‍वरको लागि कति दौडधूप गरेको छस्, वा सुसमाचार प्रचार गरेर तैँले कति मानिसहरूलाई प्राप्त गरेको छस् भन्‍नेबारे धाक नलगा। यीमध्ये कुनै पनि कुरा व्यक्तिगत पूँजी हुनु सरह होइन, र तैँले कुनै पनि हालतमा यी कुराहरूको श्रेय लिने प्रयास गर्नु हुँदैन। तैँले सत्यता प्राप्त गरेको छस् कि छैनस् भन्‍ने समेत तँलाई थाहा हुँदैन, र तेरो स्वभाव परिवर्तन भएको छ कि छैन भन्‍ने पनि तँलाई थाहा हुँदैन, तैपनि तँ सधैँ त्यस्ता कुराहरूको श्रेय लिने प्रयास गर्छस्। यो कुनै समझ नहुनुको प्रकटीकरण हो। यदि तैँले श्रेय लिन्छस् भने, परमेश्‍वरले तँलाई अहिले नै सय गुणा इनाम दिन सक्नुहुन्छ, तँलाई भौतिक रूपमा प्रशस्त जीवन र शारीरिक सुखसुविधा दिन सक्नुहुन्छ, र तँलाई मानव संसारको महिमा र धनसम्पत्तिको आनन्द लिन दिन सक्नुहुन्छ। तर, यदि तैँले बदलामा यी कुराहरू प्राप्त गर्न मात्रै परमेश्‍वरमा विश्‍वास गर्छस्, र तैँले सत्यता पछ्याउँदैनस् भने, तेरा भ्रष्ट स्वभावहरू फाल्न सकिँदैन, र तैँले मुक्ति प्राप्त गर्न सक्नेछैनस्। तैँले यो जीवनको आनन्द लिन सक्छस्, तर परमेश्‍वरले तँलाई आउँदो संसारमा प्रवेश गर्न दिनुहुनेछैन। तर, यदि तैँले यो जीवनको आनन्द लिनका लागि होइन, तर मुक्ति प्राप्त गर्न र नयाँ मानवजातिको सदस्य बन्न, र तेरा भ्रष्ट स्वभावहरू फाल्न र परमेश्‍वरको आराधना गर्ने सृजित प्राणी बन्नका लागि परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले भोग्ने कष्ट तैँले भोग्नैपर्ने कुरा हो, त्यसभन्दा बढी उल्लेख गर्न लायक छैन। यसलाई जोकोहीको अगाडि उठाउनु कुनै समझ नहुनुको प्रकटीकरण हुनेछ। तेरो कष्टको लक्ष्य, मूल्य, र महत्त्व तँ आफैले मुक्ति प्राप्त गर्नु भन्‍ने हो; यसमा धाक लगाउन लायक केही पनि छैन। होइन र? (हो।) कतिपय मानिसहरूले सधैँ परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि तिनीहरूले कति दौडधूप गरेका छन् र कति कष्ट भोगेका छन्, र तिनीहरूले कति काटछाँट, न्याय, र सजाय अनुभव गरेका छन् भन्‍नेबारे कुरा गर्छन्। तिनीहरूले सधैँ आफ्नो कष्टको “गौरवशाली इतिहास” प्रदर्शन गरिरहेका हुन्छन्। म तँलाई भन्छु: यो लाजमर्दो, घृणास्पद, र वाकवाक लाग्दो छ! यी सबै तैँले गर्नुपर्ने र भोग्नैपर्ने कुराहरू हुन्। तैँले आफूलाई सही साबित गर्ने प्रयास गर्नु हुँदैन। तैँले कसैसँग कुनै पुण्य कमाएको छैनस्। यदि तैँले मण्डलीको काम गर्छस्, मण्डलीको अगुवाइ गर्छस्, र मानिसहरूलाई केही सहायता र मद्दत प्रदान गर्छस् भने पनि, त्यो तेरो जिम्मेवारीको हिस्सा मात्रै हो र तैँले गर्नुपर्ने कुरा हो। किन? एक हिसाबमा, तैँले मानवको कर्तव्य निर्वाह गरिरहेको हुन्छस्। अर्को हिसाबमा, यदि तैँले मानिसहरूलाई सहायता, मद्दत, र भरणपोषण गर्छस् भने पनि, त्यो त सत्यता बुझेपछि मानवको रूपमा आफ्ना दायित्वहरू पूरा गर्नु मात्रै हो, जसले अरूलाई यसबाट लाभ उठाउन दिन्छ। तर, सत्यता तेरो होइन; यो परमेश्‍वरबाट आएको हुन्छ। तैँले यसलाई केवल अरूलाई बताएको र बाँडेको मात्रै हुन्छस्। सत्यता तेरो निजी सम्पत्ति होइन; यो परमेश्‍वरको जीवन हो, र यो परमेश्‍वरको भरणपोषण हो। त्यसैले, जब तैँले मानिसहरूलाई सहायता र मद्दत गर्न मण्डलीको काम गर्छस्, तब त्यो कुनै प्रकारको पुण्य होइन; तैँले एउटा दायित्व र जिम्मेवारी पूरा गरिरहेको हुन्छस्। यदि तैँले यो राम्ररी गर्छस् भने, तैँले आफ्नो दायित्व मात्रै पूरा गरिरहेको हुन्छस् र तँसँग अलिकति विवेक र समझ हुन्छ। यसमा धाक लगाउन लायक केही पनि छैन। यदि तैँले यो कुरा राम्ररी गर्दैनस् भने, तैँले आफैलाई जाँच्नुपर्छ र आफूमाथि चिन्तन गर्नुपर्छ। मण्डलीको काम गर्दा तैँले कुनै बेला जतिसुकै मानिसहरूको अगुवाइ गरेको भए पनि, वा तैँले कुनै बेला जतिसुकै मानिसहरूलाई सहायता र मद्दत गरेको भए पनि, परमेश्‍वरको नजरमा, यी उहाँले स्मरण गर्नुहुने असल कार्यहरू मात्रै हुन्। तर मानिसहरूको हकमा भन्दा, तैँले तिनीहरूबाट कुनै पुण्य कमाएको हुँदैनस्। यो काम गर्दा, तैँले ठूलो मूल्य चुकाएको, धेरै कष्ट भोगेको, र पर्दा पछाडि धेरै अनिदो बसेको भए पनि, र तिमीहरूमध्ये कतिपय बिरामी परेको र कतिले रोगको यातना भोगेको भए पनि, यसको अर्थ तैँले कुनै जस कमाएको छस् भन्‍ने हुँदैन। यो सबै कष्ट भ्रष्ट मानवहरूले मुक्ति प्राप्त गर्न सक्नुअघि सत्यता प्राप्त गर्नका लागि भोग्नैपर्ने कुरा हो; यो अलिकति पनि धाक लगाउन लायक कुरा होइन। त्यसकारण, तैँले यसका लागि वैभवको माग गर्नु हुँदैन, न त तैँले यसका लागि पुण्यको नै माग गर्न मिल्छ। मैले यति धेरै वर्षसम्म तिमीहरूसँग सत्यता सङ्गति गरेको छु र तिमीहरूलाई भरणपोषण गरेको छु, तैपनि मैले तिमीहरूसँग कुनै पुण्य कमाएको छु भन्‍ने मलाई लाग्दैन। अर्कोतर्फ, तैँले कष्ट भोगेर र मूल्य चुकाएर सत्यता बुझेको मात्रै होस्, त्यसपछि यसलाई अरूसँग बाँडेको होस्—के यसको अर्थ तैँले केही पुण्य कमाएको छस् भन्‍ने हुन्छ? तेरा कार्यहरूले अरूलाई केही मद्दत गरेको भए पनि, त्यो परमेश्‍वरका वचनहरू र सत्यताद्वारा हासिल गरिएको परिणाम मात्रै हो। यदि परमेश्‍वरले यी वचनहरू वा यी सत्यताहरू व्यक्त नगर्नुभएको भए, तँसँग मानिसहरूलाई मद्दत गर्नका लागि के हुन्थ्यो र? तैँले मानिसहरूलाई दिने कुरा भ्रष्टता, र मानवीय धारणा र कल्पनाहरू मात्रै हुन्थे; सत्यता हुने सम्भावना नै हुन्थेन। सत्यता परमेश्‍वरबाट मात्रै आउन सक्छ। परमेश्‍वर सत्यताको स्रोत हुनुहुन्छ, र उहाँ मानवजातिलाई जीवन प्रदान गर्ने स्रोत हुनुहुन्छ। तैँले परमेश्‍वरबाट, स्रोतबाट एक थोपा पानी प्राप्त गर्छस्, त्यसपछि त्यो अरू मानिसहरूसँग बाँड्छस्। यदि यसले तिनीहरूको तिर्खा मेट्यो भने पनि, तैँले आफ्नो जिम्मेवारी र दायित्व मात्रै पूरा गरेको हुन्छस्। ती मानिसहरूका लागि, यो कुनै प्रकारको अनुग्रह, निगाह, वरदान, वा भरणपोषण पटक्कै हुँदैन; बढीमा, यो मद्दत मात्रै हुन्छ। तैँले एउटा सृजित प्राणीले पूरा गर्नुपर्ने जिम्मेवारी मात्रै पूरा गरेको हुन्छस्। तेरा अनुभवहरूमार्फत, तैँले परमेश्‍वरका वचनहरू र परमेश्‍वरका अभिप्रायहरू अरूलाई बाँड्छस् र हस्तान्तरण गर्छस्, जसले गर्दा तिनीहरूले तीबाट पोषण र आपूर्ति प्राप्त गर्न सक्छन्। यसरी, मेरो नजरमा, भ्रष्ट मानवहरूले सत्यता स्वीकार गर्ने र मुक्ति प्राप्त गर्ने अवधिमा भोगेको कुनै पनि कष्ट तिनीहरूले भोग्नैपर्ने कुरा हो। मानिसमा भ्रष्ट स्वभावहरू हुने हुनाले, र ऊ शैतानद्वारा तहसनहस र भ्रष्ट भएको हुनाले, शैतानद्वारा नराम्ररी कुल्चिएको हुनाले, र शैतानका विभिन्न विचार र दृष्टिकोणहरू, र यसका पाखण्ड र कुतर्कहरू मानिसहरूमा हालिएको र तिनीहरू त्यसबाट प्रभावित भएको हुनाले, मानवहरूलाई सत्यता स्वीकार गर्न गाह्रो हुन्छ। मानवले सत्यता स्वीकार गर्ने र मुक्ति प्राप्त गर्ने प्रक्रिया भनेको गम्भीर बिरामीले उपचार प्राप्त गर्नु जस्तै हो: तिनीहरूले कष्ट भोग्नुपर्छ, जुनविना तिनीहरू निको हुन सक्दैनन्। मुक्ति प्राप्त गर्नका लागि, भ्रष्ट मानवहरूले सत्यता स्विकार्नुपर्छ, न्याय र सजाय स्विकार्नुपर्छ, र परीक्षा र शोधन स्विकार्नुपर्छ। धेरै कष्ट भोगेमा मात्रै तिनीहरू अन्ततः पूर्ण रूपान्तरणबाट गुज्रन र नयाँ मानवजातिको सदस्य बन्न सक्छन्। कष्टका विभिन्न वातावरणहरूबाट नगुज्रीकन, मानिसले सत्यतालाई यति स्वाभाविक रूपमा र सहज रूपमा स्वीकार गर्नु असम्भव हुन्छ। मानिसका भ्रष्ट स्वभावहरूले गहिरो रूपमा जरा गाडेका हुन्छन् र ती पहिले नै उसको जीवन बनिसकेका हुन्छन्। यसरी, आफ्ना भ्रष्ट स्वभावहरूको विरुद्धमा विद्रोह गर्न, विभिन्न मानवीय महत्त्वाकाङ्क्षा र चाहनाहरूको विरुद्धमा विद्रोह गर्न, विभिन्न भ्रमपूर्ण मानवीय विचार र दृष्टिकोणहरू त्याग्न, र सत्यता स्वीकार गर्नका लागि मानिसले विभिन्न प्रकारका कष्टहरूको शोधन स्वीकार गर्नुपर्छ र धेरै पीडा भोग्नुपर्छ। यस कष्टको बदलामा मानिसले प्राप्त गर्ने कुरा मुक्ति पाउनु र आफ्ना भ्रष्ट स्वभावहरू फाल्नु हो; उसले प्राप्त गर्ने कुरा सत्यताप्रतिको अधीनता र परमेश्‍वरको साँचो आराधना हो; उसले प्राप्त गर्ने कुरा सृजित प्राणीको रूपमा परमेश्‍वरले उसलाई दिनुहुने पहिचान हो। त्यसकारण, यो कष्ट सबैभन्दा ठूलो मूल्यको हुन्छ। तेरा भ्रष्ट स्वभावहरू फाल्न तैँले जस्तोसुकै कष्ट भोगे पनि, एउटा कुरा याद राख्: यो तैँले भोग्नैपर्ने कष्ट हो, र तैँले यो कुरा सबैलाई सुनाउँदै हिँड्नु हुँदैन। यदि यो कष्ट तैँले स्वेच्छाले भोग्ने कुरा हो र तैँले भोग्नैपर्ने कुरा हो भने, तैँले यसलाई सही रूपमा लिनुपर्छ र परमेश्‍वरबाट आएको भनी स्विकार्नुपर्छ। तैँले यसलाई आफ्नै साँचो कदर र अद्भुत अनुभवहरूमा परिणत गर्नुपर्छ, र प्रदर्शन गर्न र आफ्नै लागि व्यक्तिगत पूँजी हडप्न आफ्ना कष्टका अनुभवहरूबारे कुरा गर्नुको सट्टा, यसबारे लेखेर वा बोलेर अरूसँग बाँड्नुपर्छ। तैँले जतिसुकै कष्ट भोगे पनि, यो तेरो व्यक्तिगत पूँजी होइन, र यसको अर्थ तँसँग वरिष्ठता छ भन्‍ने हुँदैन। कुनै व्यक्तिसँग अन्ततः मुक्ति प्राप्त गर्ने योग्यता छ कि छैन भन्‍ने कुरा परमेश्‍वरले उसले कति कष्ट भोगेको छ भन्‍ने आधारमा मापन गर्नुहुन्न। के कष्टलाई यसरी हेर्नु सही हो? (हो।)

मलाई भन, मैले बोलेका कष्टसम्बन्धी यी विचार र दृष्टिकोणहरू, जुन मानिससँग हुनुपर्छ, के ती सत्यता अनुरूप छन्? (छन्।) के कष्टलाई यसरी नै हेरिनुपर्दैन र? (पर्छ।) यदि तैँले कुराहरूलाई यसरी हेर्न सक्छस् भने, तेरा कार्यहरूमा विवेकशीलता र मानवता हुनेछ, र तेरो अहङ्कारी स्वभाव निकै कम हुनेछ। पहिले सही विचार र दृष्टिकोणहरूलाई स्वीकार गर्, त्यसपछि यी विचार र दृष्टिकोणहरूलाई तेरो आफ्नै भ्रष्टतासँग तुलना गर्ने र त्यसलाई समाधान गर्ने विन्दुका रूपमा प्रयोग गर्। तैँले कामकुराहरू गर्दा, यी विचार र दृष्टिकोणहरूका अभ्यासका सिद्धान्तहरूअनुसार अभ्यास गर्, र तेरा भ्रष्ट स्वभावहरू तँलाई थाहै नभई समाधान हुनेछन्। प्रायजसो, व्यक्तिले सही विचार र दृष्टिकोण स्वीकार गरेर, अनि सुरुमा आफ्ना दृष्टिकोणहरूमा परिवर्तन अनुभव गरेर, त्यसपछि आफूले कार्य गर्ने तरिका र आफ्ना स्वभावगत प्रकटीकरणहरूमा क्रमिक परिवर्तन अनुभव गरेर भ्रष्ट स्वभावहरू फालिन्छन्।

कष्टको मामलाको हकमा, तँसँग सुरुमा सही विचार र दृष्टिकोणहरू हुनुपर्छ, र कष्ट भनेको के हो, तँ किन कष्ट भोग्छस्, र तेरो कष्टको लक्ष्य र दिशा सही छ कि छैन भन्‍ने कुरामा तँ निश्चित हुनुपर्छ। यदि तँसँग कष्टबारे सही विचार र दृष्टिकोणहरू छन्, र तैँले आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र सत्यता सिद्धान्तहरू पालन गर्न सकूँ भनेर यसलाई सहन्छस्, र यो कष्ट सहने क्रममा, तैँले परमेश्‍वरको मार्ग पछ्याइरहेको हुन्छस् भने, यो कष्ट एउटा सृजित प्राणीको रूपमा तैँले पूरा गर्नुपर्ने दायित्व हो। यो तैँले गर्नुपर्ने अभ्यास हो, र यो तेरो कर्तव्य पनि हो; एउटा साँचो सृजित प्राणीको रूपमा तैँले गर्नुपर्ने कुरा यही हो। यो तँ पन्छिन नमिल्‍ने जिम्मेवारी हो; अर्थात्, यो कष्ट तैँले बोक्नुपर्ने कुरा हो। यो त आमाबुबाले छोराछोरी जन्माएपछि, उनीहरूलाई हुर्काउनैपर्छ; उनीहरूलाई वयस्क नहोउन्जेल हुर्काउनु आमाबुबाको जिम्मेवारी हो भनेजस्तै हो। आफ्ना छोराछोरी हुर्काउने क्रममा उनीहरूले जतिसुकै कष्ट सहे पनि, यो आमाबुबाले पूरा गर्नुपर्ने जिम्मेवारी हो, र यसमा धाक लगाउन लायक केही पनि हुँदैन। मानिसहरूले पुस्तौँपुस्तादेखि आफ्ना साना नानीहरूलाई यसरी नै हुर्काउँदै आएका छन्। छोराछोरी हुर्काउनका लागि, व्यक्तिले यो पीडा बोक्नैपर्छ, जुन आफैमा एउटा जिम्मेवारी हो। मुक्ति प्राप्त गर्न, सत्यता अभ्यास गर्न, र सत्यता सिद्धान्तहरूलाई कायम राख्न र आफ्नो गवाहीमा दृढ रहन, मानिसहरूले धेरै कष्ट पनि सहनुपर्छ। तर, एउटा कुरा निश्चित छ: यो कष्ट पटक्कै अर्थहीन बलिदान होइन, र यो अर्थहीन कष्ट होइन; बरु, यो अर्थपूर्ण र मूल्यवान् छ। यदि तेरो कष्टको लक्ष्य परमेश्‍वरको गवाही दिनु, सत्यताको अस्तित्व रक्षा गर्नु, सकारात्मक कुराहरूको अस्तित्व रक्षा गर्नु, र न्यायवान् कार्यहरूको अस्तित्व रक्षा गर्नु, र सत्यता सिद्धान्तहरूलाई कायम राख्नु र यसरी तेरो गवाहीमा दृढ रहनु हो भने, तैँले सहने कष्ट मूल्यवान् र अर्थपूर्ण हुन्छ। यदि तेरो कष्टको लक्ष्य सही र सकारात्मक छ भने, यो कष्ट तैँले सहनुपर्ने कुरा नै हो। यो तैँले सहनुपर्ने कुरा हो भन्नुको अर्थ के हो? यसको अर्थ यो एउटा मानवको रूपमा र परमेश्‍वरको प्रभुत्वअन्तर्गतको सृजित प्राणीको रूपमा तैँले बोक्नुपर्ने जिम्मेवारी र तैँले पूरा गर्नुपर्ने दायित्व हो; एक शब्दमा भन्दा, तँ “कर्तव्यले बाँधिएको” हुन्छस्। कर्तव्यले बाँधिएको हुनुको अर्थ के हो? यसको अर्थ कुनै कुराको माग नगरीकन, सम्झौता गर्ने प्रयास नगरीकन, र कुनै श्रेय नखोजीकन कुनै कुरा गर्नु हो; यो केवल तैँले गर्नुपर्ने कुरा हो। यो त परमेश्‍वरले नोआलाई जहाज बनाउने कार्यभार सुम्पनुभएको जस्तै हो। नोआले जहाज बनाउन एक सय बीस वर्षको मूल्य चुकाए, तर उनले कोसँग श्रेय लिने प्रयास गरे? उनले कसैसँग पनि श्रेय लिने प्रयास गरेनन्। ती एक सय बीस वर्षमा जहाज बनाउँदा उनले कति कष्ट सहे? उनले जतिसुकै कष्ट सहे पनि, परमेश्‍वरको नजरमा, यो कार्यभार स्वीकार गर्दा उनले जस्तोसुकै कष्ट सहे पनि त्यो उनले सहनुपर्ने कुरा थियो। किनभने उनी एक मानव थिए, र यो जिम्मेवारी काँधमा हाल्दा उनले यो पीडा स्वीकार गर्नुपर्थ्यो, र यो पीडा र उनको जिम्मेवारी एकै समयमा देखा परे, र एकैसाथ अघि बढे। एक मानवको रूपमा, तैँले परमेश्‍वरको आज्ञा स्वीकार गरेपछि, तैँले यसभित्र समावेश हरेक प्रकारको पीडा स्वीकार गर्नुपर्छ; तँ त्यसो गर्नका लागि कर्तव्यले बाँधिएको हुन्छस्। नोआले अन्ततः आफ्नो कष्टको बदलामा के पाए? उनी जहाजमा बाँच्न र मानवजातिको अर्को पुस्ताको पुर्खा बन्न सक्षम भए; उनले आफ्नो कष्टलाई जीवनरक्षासँग साटे। त्यसकारण, जहाज बनाउँदा उनले जतिसुकै कष्ट सहे पनि, उनले यो मानवजाति वा परमेश्‍वरप्रतिको योगदान हो भनेर कहिल्यै महसुस गरेनन्। उनीसँग विवेकशीलता थियो; उनले त्यस्ता कुराहरू कहिल्यै भनेनन्। उनले यो परमेश्‍वरको मुक्ति र परमेश्‍वरको अनुग्रह हो भन्‍ने महसुस गरे। आज मानवजातिसँग पनि यस्तै मनोवृत्ति हुनुपर्छ। यदि तैँले स्वेच्छाले आफ्नो कर्तव्य निर्वाह गर्छस् र स्वेच्छाले परमेश्‍वरको मुक्ति स्वीकार गर्छस्, र तैँले जस्तोसुकै कर्तव्य निर्वाह गरे पनि, वा आफ्नो कर्तव्य निर्वाह गर्दा तैँले जतिसुकै कष्ट सहे पनि र जेसुकै अनुभव गरे पनि, तेरो लक्ष्य सृष्टिकर्ताले तँलाई दिनुभएको कार्यभार र कर्तव्य पूरा गर्नु, र मुक्ति प्राप्त गर्नु हो भने, तैँले कुन कष्ट नसहने र? तैँले सहने कुनै पनि कष्ट तैँले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्व हुन्छ। स्पष्ट रूपमा भन्दा, यसलाई सहनु तेरो जिम्मेवारी र दायित्व हो; यो धाक लगाउन लायक कुरा होइन। मानिसहरू सधैँ यस्तो सोच्छन्, “मैले कष्ट सहेको छु र मूल्य चुकाएको छु। मैले आफ्नै प्रशंसा गर्नुपर्छ; मैले परमेश्‍वरलाई थाहा दिनुपर्छ, र मैले मानिसहरूलाई थाहा दिनुपर्छ, ताकि मानिसहरूले आफ्नो हृदयमा मेरो बारेमा राम्रो छवि राखून्, र मानिसहरूमाझ मेरो उच्च हैसियत र प्रतिष्ठा होस्।” यो अनावश्यक र व्यर्थ कुरा हो। कष्टमार्फत, तैँले प्राप्त गर्नुपर्ने कुरा पहिले नै प्राप्त गरिसकेको हुन्छस्। परमेश्‍वरले तँलाई प्रदान गर्नुहुने सत्यता र जीवन सबैभन्दा बहुमूल्य कुराहरू हुन्। अरूबाट प्राप्त हुने कुनै पनि प्रतिष्ठा, हैसियत, वा उच्च सम्मानलाई तैँले प्राप्त गरेको सत्यतासँग तुलना गर्न सकिँदैन। तैँले सबैभन्दा बहुमूल्य कुरा पहिले नै प्राप्त गरिसकेको हुनाले, के अरूले तँलाई उच्च सम्मान गरून् भनेर तेरो कष्ट र तैँले चुकाएको मूल्यको बारेमा धाक लगाउनु अझै पनि आवश्यक हुन्छ र? त्यसको कुनै आवश्यकता हुँदैन। सत्यता प्राप्त गर्न र मुक्ति हासिल गर्नका लागि तैँले कष्ट भोग्ने र मूल्य चुकाउने हुनाले, तैँले यो कष्ट सहेको बारेमा धाक लगाउनु हुँदैन। विवेक र विवेकशीलता भएकाहरूले यस मामलालाई सही रूपमा लिनेछन्। अझ महत्त्वपूर्ण कुरा, यदि तैँले कष्टमार्फत अझ धेरै सत्यताहरू बुझ्छस् र परमेश्‍वरका अभिप्रायहरू अझ सही रूपमा बुझ्छस् भने, तँलाई यी वातावरणहरू खडा गरिदिनुभएकोमा तैँले परमेश्‍वरलाई धन्यवाद दिनेछस् र तैँले सहेको कष्टका लागि तँ कृतज्ञ हुनेछस्। तैँले यसो भन्‍नेछस्, “धन्‍न, कष्टका ती वातावरणहरू आए। धन्‍न, परमेश्‍वरले ती रोगहरू, निराशा, असफलता, बर्खास्त, काँटछाँट, र न्याय र सजाय खडा गर्नुभयो। धन्‍न, मलाई साथ दिनका लागि यी कुराहरू थिए।” यदि तँलाई साथ दिने कष्टका यी वातावरणहरू नभएका भए, तैँले आज पाएका लाभहरू पाउन सम्भव हुनेथिएन। तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ, कष्टलाई तैँले श्रेय लिन र अरूको अगाडि वर्णन गर्न प्रयोग गर्न सक्ने पूँजीको रूपमा लिनु हुँदैन। हेर् त, जब मानिससँग सत्यता अनुरूप हुने कुनै निश्चित प्रकारको कुराको सही बुझाइ हुन्छ, तब त्यस्ता कुराहरूमा उसका दृष्टिकोणहरू सही हुनेछन्, उसको अडान सही हुनेछ, र उसको विवेकशीलता सामान्य हुनेछ। मानिसको विवेकशीलतामा असामान्यता हुनुको मूल कारण के हो भने धेरै कुराहरूमा उसका राय, दृष्टिकोण, अडान, र हेराइहरू भ्रमपूर्ण हुन्छन् र ती शैतानले मानिसमा हालेका विचार र दृष्टिकोणहरूमा आधारित हुन्छन्। त्यसकारण तैँले भ्रमपूर्ण विचार र दृष्टिकोणहरू प्रयोग गर्छस्, र यी कुराहरूलाई भ्रमपूर्ण दृष्टिकोणबाट हेर्छस्। तँलाई सधैँ कष्टमा हुँदा, तँलाई गहिरो अन्याय भएको छ र तँमाथि बोझ थोपरिएको छ भन्‍ने महसुस हुन्छ; तँ सधैँ आफूलाई सही साबित गर्न चाहन्छस्, सधैँ कसैलाई आफ्ना गुनासाहरू पोख्न चाहन्छस्, र सधैँ अरूद्वारा उच्च सम्मान पाउन चाहन्छस्, र तिनीहरूको उच्च सम्मानबाट सन्तुष्टिको बोध प्राप्त गर्न चाहन्छस्। तर, अहिले तैँले कष्टको मूल्य र महत्त्व पहिचान गरेको हुनाले, तैँले परमेश्‍वरबाट आएको भनी कष्टलाई सही रूपमा स्विकार्न सक्छस्, र तँ अब यसप्रति प्रतिरोधी हुँदैनस्। जब तिमीहरूको कद अलिकति बढ्छ र तिमीहरूको जीवन केही हदसम्म वृद्धि हुन्छ, तब तिमीहरूमध्ये कतिपयले पत्रुसले जस्तै प्रार्थना गर्नेछौ, र परमेश्‍वरको सजाय र न्यायले आफूलाई कहिल्यै नछोडोस् भनी माग्नेछौ। के तिमीहरूसँग अहिले यो कद छ? (अहिलेसम्म छैन, तर हामी यसका लागि लागिपर्न इच्छुक छौँ।) सत्यता पछ्याइराख र यसका लागि निरन्तर लागिपर। तैँले अझ बढी सत्यता बुझ्दै जाँदा, तैँले भित्री रूपमा कुराहरूलाई हेर्ने तरिका अलि-अलि गर्दै परिवर्तन हुनेछ, र तेरो जीवन बिस्तारै वृद्धि हुनेछ।

कतिपय मानिसहरूलाई आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा असामान्य वा निको पार्न गाह्रो हुने रोगहरू लाग्छन्। यी रोगहरू अनुभव गरेर, तिनीहरूले अन्ततः केही प्राप्त गर्छन्। रोग बल्झिए पनि, उस्तै रहे पनि, वा निको भए पनि, छोटकरीमा भन्दा, तिनीहरूले यो कष्ट अनुभव गरेर अन्ततः प्राप्त गर्ने कुरा भनेको परमेश्‍वरका अभिप्रायहरूको बुझाइ र विभिन्न सन्दर्भहरूमा आफ्नै समस्याहरूको ज्ञान हो। तिनीहरूले परमेश्‍वर र सत्यतालाई पहिले तिनीहरूले प्रयोग गर्ने गरेका त्रुटिपूर्ण मनोवृत्ति र विधिहरूद्वारा उप्रान्त लिँदैनन्। यो लाभ यस्तो कुरा हो जुन तैँले अरू कुनै प्रकारको अनुभवमार्फत प्राप्त गर्न सक्दैनस्—यसलाई कष्टमार्फत मात्रै प्राप्त गर्न सकिन्छ। त्यो बेला, तँ यो रोगका लागि कृतज्ञ हुनेछस्, र यसो भन्‍नेछस्, “धन्‍न मलाई यो रोग लाग्यो; नत्र भने त, मैले यस्ता लाभहरू प्राप्त गर्नु असम्भव हुनेथियो।” त्यसैले, जब तैँले अरूसँग सङ्गति गर्छस् र यो अनुभव बाँड्छस्, तब तैँले सहेको कष्टलाई जोड दिनुको सट्टा, तैँले आफ्नो अनुभवबाट के प्राप्त गरिस्, तैँले यसबाट के कटनी गरिस्, र यसभित्र मानिसहरूले कुन-कुन सत्यताहरू बुझ्नुपर्छ भन्‍नेबारे सङ्गति गरिरहेको हुनेछस्। तैँले कति कष्ट भोगिस्, यो कति दुःखदायी थियो, र अन्ततः तँमा कसरी कष्ट भोग्ने सङ्कल्प आयो भन्‍नेबारे अरूको अगाडि तैँले आफूलाई उचाल्नेछैनस् र आफ्नै गवाही दिनेछैनस्। तैँले आफ्नै गवाही दिन र आफ्नै प्रशंसा गर्न यसो गरिरहेको हुनेछैनस्, बरु आफ्ना अनुभवहरू बाँड्न र परमेश्‍वरको गवाही दिन यसो गरिरहेको हुनेछस्। कष्टको मामलालाई यसरी नै बुझ्नुपर्छ। मुख्य कुरा भनेको कष्टमा तेरो लक्ष्य के हो, र तेरो कष्टको मूल्य र महत्त्व के हो भन्‍ने कुरा हो। तर यो जेसुकै भए पनि, मानिसहरूले जस्तोसुकै कष्ट सहे पनि र तिनीहरूले जतिसुकै कष्ट भोगे पनि, तिनीहरूको कष्ट तिनीहरूका लागि कहिल्यै पनि व्यक्तिगत पूँजीको रूपमा रहन सक्दैन। यसका साथै, भ्रष्ट मानिसहरू देहमा जिउँछन्। यदि तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्दैनौ भने पनि, के तिमीहरूले मानिसहरूका बीचमा बाँच्नका लागि कष्ट भोग्दैनौ र? (भोग्छौँ, हामीले यसका लागि पनि कष्ट भोग्नुपर्छ।) के देहले पटक्कै कष्ट नभोग्नु सम्भव छ र? (छैन।) कसैले परमेश्‍वरमा विश्‍वास गर्दैन भने पनि, उसले अझै पनि धेरै कष्ट सहनुपर्छ। ख्याति, प्राप्ति, हैसियत, शैक्षिक सफलता, र धनको खोजीमा, साथै छोराछोरी हुर्काउने आदि कुराहरूमा—यी सबै कुराहरूमा कष्ट समावेश हुन्छ। कसले कष्ट भोग्दैन र? यस मानव संसारमा जिउँदा, मानिसहरूले कष्ट सहनैपर्छ; यत्ति हो, कतिपय कष्ट मूल्यविहीन हुन्छन्—जसमा मानिसहरू बाँच्नका लागि र ख्याति र प्राप्तिको खातिर दौडधूप गर्छन्, एक-अर्कासँग प्रतिस्पर्धा गर्छन्, एक-अर्कालाई बहिष्कार गर्ने प्रयास गर्छन्, र एक-अर्कालाई फसाउँछन्। अन्त्यमा, जब तिनीहरू अन्ततः आफ्नो ख्याति, प्राप्ति, र हैसियत प्राप्त गर्न सफल हुन्छन्, तब तिनीहरूले सधैँ तिनलाई गुमाउने चिन्ता गर्छन्, र तिनीहरूले आफ्नो हैसियत नगुमाउनका लागि अझ धेरै कष्ट सहन्छन्। धेरै कठिनाइको साथ, तिनीहरूले आफ्नो हैसियत जोगाउँछन्, तर तिनीहरू शारीरिक र मानसिक रूपमा थकित हुन्छन्, र भावनात्मक रूपमा रित्तिन्छन्। यस संसारमा, धनी र गरिब दुवैले कष्ट भोग्छन्। धनीहरूका आफ्नै दुःखहरू हुन्छन्, र गरिबहरूका पनि आफ्नै दुःखहरू हुन्छन्। छोटकरीमा भन्दा, यस मानव संसारमा जिउनु सजिलो छैन; सबैले कष्ट भोग्छन्। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले आफ्नो जीवन र बाँच्ने कुराको सन्दर्भमा तुलनात्मक रूपमा कम कष्ट भोग्छन्, किनभने तिनीहरूले सत्यता स्वीकार गरेपछि, तिनीहरूका धेरै विचार र दृष्टिकोणहरू गैरविश्‍वासीहरूका भन्दा फरक हुन्छन्, र तिनीहरूले धेरै कुराहरू त्याग्न सक्छन्, र उप्रान्त ती अर्थहीन बलिदानहरू गर्दैनन् वा तिनीहरू व्यर्थका सङ्घर्षहरूमा संलग्न हुँदैनन्—यसरी, तिनीहरूले यस हिसाबमा तुलनात्मक रूपमा कम कष्ट भोग्छन्। तिनीहरू खान र लाउन पाउनमै सन्तुष्ट हुन सक्छन्; तिनीहरूले आफ्नो बाँकी समय सत्यता पछ्याउन, मुक्ति पछ्याउन, र सृजित प्राणीहरूको रूपमा आफ्नो कर्तव्य पूरा गर्नमा बिताउँछन्, होइन र? (हो।) मानिसहरूले आफ्नो शारीरिक जीवनको खातिर केही कष्ट सहनैपर्छ: तिनीहरूले थकान र रोगको पीडा, संसारका विभिन्न दुष्ट प्रचलनहरूको प्रलोभन, बहिष्कृत हुनुपर्छ, र मानिसहरूबीचको लडाइँ र कलह सहनुपर्छ—तिनीहरूले यी सबै कष्ट सहनैपर्छ। यसका साथै, कतिपय मानिसहरू गरिबीमा जिउँछन् र बिरामी पर्दा तिनीहरूसँग उपचारका लागि पैसा हुँदैन। धेरै कुराहरू तिनीहरूले चाहेजस्तो हुँदैनन्, र तिनीहरूले प्रायजसो असहाय महसुस गर्छन्, तर तिनीहरूले यी सबै कष्ट सहन्छन्। मानिसहरूले जसरी भए पनि कष्ट भोग्छन् नै, तर तैँले देहको खातिर जतिसुकै कष्ट सहे पनि त्यो उचित नै हुन्छ; त्यो तैँले सहनुपर्ने कुरा हो। यदि तँ जिउन चाहन्छस् भने, तैँले कष्ट भोग्नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले सहने कष्ट गैरविश्‍वासीहरूले सहने कष्टभन्दा यसको स्वरूपमा केही हदसम्म मिल्दोजुल्दो भए पनि, विश्‍वासीहरूले अन्ततः प्राप्त गर्ने कुरा सत्यता, साथै परमेश्‍वरको आराधना र उहाँप्रतिको अधीनता हो। त्यसैले, यो कष्ट अत्यन्तै मूल्यवान् र अर्थपूर्ण हुन्छ। तँलाई यी कष्टपूर्ण जीवनयापनका वातावरणहरू खडा गरिदिनुभएकोमा तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ, जसले गर्दा तैँले पाठहरू सिक्न र परमेश्‍वरको अधीनमा बस्न सिक्न र तैँले कष्ट अनुभव गरेको हरेक पटक आफ्नो गवाहीमा दृढ रहन सक्छस्, कष्टको अनुभवलाई तैँले धाक लगाउन र आफूलाई उचाल्न प्रयोग गर्न सक्ने पूँजीको रूपमा लिनु हुँदैन। अरूको उच्च सम्मान जित्नका लागि आफूले सहेको कष्टको बारेमा कुरा गरेर सधैँ आफूलाई उचाल्नु र आफ्नै गवाही दिनु—यस प्रकारका मानिसहरू लाजमर्दा हुन्छन्। समझविनाका मानिसहरूले लाजमर्दा कुराहरू मात्रै गर्छन्। जब समझ भएका मानिसहरूले समझको कमी भएको कुनै कुरा गर्छन्, तब तिनीहरूलाई लाज लाग्छ; तिनीहरूले त्यसलाई रोक्छन् र कुरालाई अगाडि बढाउँदैनन्, होइन र? (हो।)

मैले कष्टको विषयमा धेरै सङ्गति गरेको छु। के मैले यसरी सङ्गति गर्दा यो तिमीहरूका लागि उपयोगी भएको छ? (भएको छ।) यसले तिमीहरूलाई कसरी मद्दत गरेको छ? (परमेश्‍वरको सङ्गति सुनेपछि, मैले देहले सहने विभिन्‍न प्रकारका कष्टहरू मानिसले सहनुपर्ने कुरा हुन्, र न्याय र सजाय, काँटछाँट, सङ्कष्ट र परीक्षा, आदिको अनुभव गर्ने कष्ट पनि मानिसले सहनुपर्ने कुरा नै हो भन्‍ने बुझेँ। किनभने मानिसमा शैतानी भ्रष्ट स्वभावहरू हुन्छन्, र यदि मानिसले यो कष्ट सहेन भने, उसका भ्रष्ट स्वभावहरूलाई फाल्न सकिँदैन। यसका साथै, परमेश्‍वरले भर्खरै मानिसले सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न जस्तोसुकै कष्ट सहे पनि त्यो उसको दायित्व र जिम्मेवारी हो, र उसले यसलाई परमेश्‍वरबाट श्रेय लिने प्रयास गर्नका लागि पूँजीको रूपमा प्रयोग गर्नु हुँदैन भनेर भन्नुभयो। परमेश्‍वरको सङ्गतिपछि, मलाई अब म कष्टलाई विवेकपूर्ण रूपमा हेर्न सक्छु भन्‍ने महसुस भएको छ।) यसरी सङ्गति गरेपछि, सधैँ कष्ट पछ्याउने कतिपय मानिसहरू मुक्त हुनेछन्। कतिपय मानिसहरूले सधैँ यस्तो सोच्छन्, “मैले कष्ट सहनैपर्छ, नत्र भने दाजुभाइ-दिदीबहिनीहरूले मलाई हेला गर्नेछन् र अर्को पटक मलाई अगुवा वा कामदारको रूपमा निर्वाचित गर्नेछैनन्। म देखावटी गर्न सक्षम हुनैपर्छ, र मैले अरूको अगाडि कष्ट सहने नाटक गर्न सिक्नुपर्छ।” तैँले देखावटी गर्नु पर्दैन। यदि तँसँग त्यसो गर्ने समय छ भने, तैँले त्यो समय अझ धेरै परमेश्‍वरका वचनहरू पढ्न, अझ धेरै सत्यता बुझ्न, आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गर्न, र आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नका लागि बिताउनु नै तेरो लागि राम्रो हुनेछ, र अन्ततः तैँले सत्यताको हिसाबमा लाभहरू कटनी गर्नेछस्। अरूले तँलाई उच्च सम्मान गरे पनि वा नगरे पनि, यदि तैँले आफैले सत्यताको हिसाबमा लाभहरू कटनी गरेको छस्, र यदि तेरा भ्रष्ट स्वभावहरू फालिएका छन् भने—र तैँले अन्ततः आफ्नै लागि मुक्ति पाउने मौका र सृष्टिकर्ताको स्वीकार्य कमाइस् भने—यो सबैभन्दा मूल्यवान् कुरा हो; एक बुद्धिमान् व्यक्तिले छनौट गर्ने कुरा यही हो। यदि तैँले अरूले तँलाई उच्च सम्मान गरून् भनेर सधैँ तिनीहरूको अगाडि देखावटी गर्छस्, र सधैँ अरूको अगाडि श्रेय लिने र इनाम खोज्ने गर्छस्, तैँले कति कष्ट भोगेको छस्, तैँले कति अन्यायहरू सहेको छस्, तैँले परमेश्‍वरका लागि आफूलाई कसरी समर्पित गरेको छस्, तैँले कति मूल्य चुकाएको छस्, र तैँले कति चढाएको छस् भन्‍नेबारे गवाही दिन्छस् भने, यो त काम गर्ने मूर्ख तरिका हो। तैँले यति ठूलो मूल्य चुकाएको, यति धेरै चढाएको, र यति धेरै कष्ट भोगेको हुनाले, यो कष्ट सहँदा र यो मूल्य चुकाउँदाका तेरा अनुभवहरू, र तैँले यसबाट के प्राप्त गरेको छस् भन्‍ने कुरा सबैसँग बाँड्, ताकि सबैले केही फाइदा लिन सकून् र अभ्यासको मार्ग भेट्टाउन सकून्। तैँले प्राप्त गरेका र कटनी गरेका परिणामहरू प्रस्तुत गर्नुपर्छ—तैँले परमेश्‍वरका अभिप्रायहरूका कुन-कुन पक्षहरू बुझेको छस्, र सत्यताका कुन-कुन पक्षहरूले तँभित्र जरा गाडेका छन् र ती तेरो जीवन बनेका छन्। तैँले यी कुराहरूमा सङ्गति गर्नुपर्छ र कुरा बाँड्नुपर्छ। जब दाजुभाइ-दिदीबहिनीहरूले सत्यताको कुनै निश्चित पक्ष बुझ्दैनन्, वा कुनै निश्चित मामलामा सत्यता सिद्धान्तहरूअनुसार कसरी काम गर्ने भन्‍ने जान्दैनन्, तब तैँले मद्दत र मार्गदर्शन प्रदान गर्न आफ्ना व्यक्तिगत अनुभवहरूमा सङ्गति गर्नुपर्छ। तैँले यति धेरै कष्ट भोगेको हुनाले, तैँले पक्कै पनि धेरै कुरा प्राप्त गरेको हुनुपर्छ, त्यसैले यसलाई बाँड्; धेरै मानिसहरूले तँबाट मद्दत प्राप्त गर्न चाहन्छन्। तैँले आफ्नो कष्टको प्रक्रियाको बारेमा, वा तैँले कति कष्ट भोगेको छस् भन्‍ने बारेमा कुरा गर्नु पर्दैन। कष्ट भोगेपछि तैँले सत्यताका कुन-कुन पक्षहरू जानेको छस् भन्‍नेबारे मात्रै कुरा गर्। मानिसहरूलाई परमेश्‍वरको अघि ल्याउन, परमेश्‍वरसँगका तिनीहरूका द्वन्द्वहरू समाधान गर्न, र उहाँप्रतिका तिनीहरूका गलत विचार र दृष्टिकोणहरू समाधान गर्नका लागि तेरो ज्ञान र तैँले प्राप्त गरेको कुरा प्रयोग गर्। तिनीहरूलाई परमेश्‍वरको अघि ल्याउनु भनेको तिनीहरूलाई सत्यता वास्तविकतामा ल्याउनु हो। तँबाट माग गरिएको कुरा यति मात्रै हो; तैँले यो हासिल गर्न सक्छस् कि सक्दैनस् हेर्। यदि सक्छस् भने, तैँले आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको हुन्छस्, र तेरो कष्ट मूल्यवान् र अर्थपूर्ण हुन्छ। यदि तैँले यो माग समेत पूरा गर्न सक्दैनस् भने, आफ्नो मुख बन्द राख्; तैँले सहेको कष्ट व्यर्थ हुन्छ। यदि तँ सधैँ तैँले कति कष्ट भोगेको छस् भन्‍नेबारे कुरा गर्छस् भने, तैँले धाक लगाइरहेको हुन्छस् र तैँले भ्रष्टता प्रकट गरिरहेको हुन्छस्; तैँले शैतानको गवाही दिइरहेको हुन्छस्, भ्रष्ट स्वभावहरूको गवाही दिइरहेको हुन्छस्, र शैतानका विचार र दृष्टिकोणहरूको गवाही दिइरहेको हुन्छस्—तैँले मानिसहरूलाई भ्रमित पारिरहेको हुन्छस् र बाधाहरू दिइरहेको हुन्छस्। यदि तैँले धेरै कष्ट भोगेको छस् र ठूलो मूल्य चुकाएको छस्, परमेश्‍वरका वचनहरूद्वारा तेरो न्याय, सजाय, काँटछाँट, र अनुशासन भएको छ, र तैँले धेरै पीडा र शोधन अनुभव गरेको छस् भनेर भन्छस् भने, तैँले आफ्नो कष्टको अवधिका तेरा अनुभवहरूलाई लिनुपर्छ—तँ कसरी अधीनमा बसिस्, तैँले कसरी परमेश्‍वरका वचनहरूलाई सही विचार, दृष्टिकोण, र मनोवृत्तिहरूका साथ लिन सकिस्, तैँले कसरी परमेश्‍वरका वचनहरूको न्याय र सजाय स्वीकार गरिस्, र पीडा र शोधनबाट बाहिर निस्कन तैँले कसरी सत्यता खोजिस् भन्‍ने कुराहरू लिनुपर्छ—र तिनको बारेमा सङ्गति गर्नुपर्छ र सबैसँग बाँड्नुपर्छ। धेरै मानिसहरू धार्मिकताको निम्ति भोकाएका र तिर्खाएका हुन्छन्, र तिनीहरू यी कुराहरू सुन्नलाई पर्खिरहेका हुन्छन्। धेरैजसो मानिसहरूलाई कसैले नसिकाईकन नै कसरी कष्ट भोग्ने, कसरी मूल्य चुकाउने, कष्ट भोगेपछि र मूल्य चुकाएपछि कसरी देखावटी गर्ने र आफ्नै गवाही दिने, आदि कुराहरू थाहा हुन्छ। तिनीहरू सबैलाई कसरी देखावटी गर्ने र आफ्ना असल गुणहरूको धाक कसरी लगाउने भन्‍ने थाहा हुन्छ। तिनीहरूले नबुझ्ने कुराहरू के-के मात्रै हुन्छन्? काम गर्ने कुन तरिका सत्यताको अभ्यास गर्नु र सत्यता सिद्धान्तहरूअनुसार कामकुरा गर्नु हो, र काम गर्ने कुन तरिका विकृत हो; काम गर्ने कुन तरिकाले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्छ, र कुन तरिकाले तिनलाई उल्‍लङ्घन गर्छ; मानिसहरूभित्र कस्ता गलत विचार र दृष्टिकोणहरू हुन्छन्; जब तिनीहरूले कामकुराहरूको सामना गर्छन् र भ्रष्टता प्रकट गर्छन् तब कसरी आफूलाई चिन्ने र चिरफार गर्ने; वा काम गर्ने कुन तरिकाको अर्थ तिनीहरू फर्केका छन् भन्‍ने हुन्छ, र काम गर्ने कुन तरिकाको अर्थ तिनीहरू परिवर्तन भएका छन् र वृद्धि भएका छन् भन्‍ने हुन्छ भन्‍ने कुरा तिनीहरूले बुझ्दैनन्। धेरैजसो मानिसहरूमा कमी हुने कुराहरू यिनै हुन्। मानव प्रकृतिअनुसार, मानिसहरूभित्रको जीवनले स्वाभाविक रूपमा प्रकट गर्ने र जिउने कुरा भनेको आफूलाई उचाल्नु, आफ्नै गवाही दिनु, र अरूले आफूलाई उच्च सम्मान गरून् भनेर धाक लगाउनु हो; मानिसहरू सबैभन्दा बढी यही कुरामा सिपालु र निपुण हुन्छन्। मानिसहरू सबैभन्दा बढी जुन कुराहरूमा निपुण हुन्छन्, तिनका बारेमा तैँले सङ्गति गर्नु वा बाँड्नु आवश्यक हुँदैन; परमेश्‍वरका वचनहरूका बारेमा तेरा केही अनुभव, ज्ञान, र बुझाइ बाँड्। मानिसहरूलाई आवश्यक पर्ने कुराहरू यिनै हुन्। मानिसहरूलाई आवश्यक पर्ने कुरा, मानिसहरूको अभ्यास, मानिसहरूका अनुभवहरू, र मानिसहरूले मुक्ति प्राप्त गर्ने कुराका लागि उपयोगी हुने, र परमेश्‍वरसँगका तिनीहरूका द्वन्द्वहरू समाधान गर्न मद्दत गर्ने विषयहरूमा नै सङ्गति गर्। यो मूल्यवान् हुन्छ। तैँले धेरै कष्ट भोगेको छस्, तैँले आफ्नो कष्टमा धेरै ऊर्जा र धेरै रगत-पसिना खर्च गरेको छस्, र तँमा अधीनता पनि छ भनेर भन्छस्, त्यसोभए तैँले के प्राप्त गरेको छस् त? सबैले सुन्न सक्ने गरी ठूलो स्वरमा भन्। सत्यताको बारेमा तेरो ज्ञान र बुझाइ सबैसँग बाँड्नु—जुन कुराको आवश्यकता मानिसहरूलाई हुन्छ—सबैभन्दा स्वागतयोग्य कुरा त्यही हो। मानिसहरूलाई आवश्यक पर्ने कुरा यही हो। यसो गर्नु नै साँचो असल कार्य हो, र यो तेरो जिम्मेवारी र दायित्व हो। यदि, देखावटी गर्नका खातिर, तैँले कस्तो प्रकारको कष्ट सहेको छस् भन्‍नेबारे गवाही दिन्छस्, र मानिसहरूले तँलाई उच्च सम्मान गरून् र तेरो आराधना गरून् भनेर तेरो कष्टले तँलाई दिएको हो भनी तैँले विश्‍वास गर्ने पूँजीको धाक लगाउँछस् भने, यो परमेश्‍वरका अभिप्रायहरूबाट विचलित हुनु हो। यसो गर्नु तेरो जिम्मेवारी वा दायित्व होइन; बरु, यो त तैँले आफ्‍नो विवेक र समझ गुमाएको छस् भन्‍ने कुराको प्रकटीकरण हो। यदि तैँले साँच्चै आफूलाई रोक्न सक्दैनस् र धाक लगाउन चाहन्छस् भने, तेरो अभिमानलाई सन्तुष्ट पार्न तैँले केही व्यक्तिहरूसँग यसबारे अलिकति कुरा गर्न सक्छस्, तर तैँले कहिले रोकिने भनेर जान्नुपर्छ। सार्वजनिक स्थानहरूमा यसलाई निर्लज्जतापूर्वक प्रसारण पटक्कै नगर्; आडम्बरी हुनु भनेको यही हो, र आफैलाई मूर्ख बनाउनु भनेको यही हो। आडम्बरी हुनु र आफैलाई मूर्ख बनाउनुको अर्थ के हो? यो मानिसहरूले हेरून् भनेर सार्वजनिक रूपमा नाङ्गै हुनु बराबर हो—यो त्यति नै घिनलाग्दो कुरा हो। कस्तो प्रकारको व्यक्तिले यस्तो काम गर्छ? यो मानसिक रूपमा बिरामी मानिसहरूले, लाजको बोध र विवेकशीलता नभएका मानिसहरूले गर्ने कुरा हो। यदि तँसँग समझ छ भने, तैँले यस्तो काम पटक्कै गर्नु हुँदैन। कष्ट त तैँले सहनुपर्ने कुरा हो, तर कष्ट सहेपछि तैँले के प्राप्त गरेको छस्? यसलाई नलुका; तैँले यसलाई परमेश्‍वरलाई पछ्याउने र सत्यता पछ्याउने सबै दाजुभाइ-दिदीबहिनीहरूसँग निसङ्कोच बाँड्नुपर्छ। यदि तैँले यो बाँडिस् भने, परमेश्‍वरले तँलाई आशिष्‌ दिनुहुनेछ, र उहाँले तँलाई अझ धेरै कुरा प्रदान गर्नुहुनेछ। यदि तैँले जीवनका अनुभवहरू र परमेश्‍वरको गवाही दिने विषयहरूमा कुरा गर्दैनस्, तर यसको सट्टा सधैँ तैँले कसरी कष्ट भोगिस् र मूल्य चुकाइस् र तँसँग कति पूँजी छ भन्‍नेबारे कुरा गर्छस्, सधैँ अरूको अगाडि आफ्नो परिष्कृत रूप प्रस्तुत गर्छस्, आफ्नो छवि उचाल्छस् र आफ्नो प्रतिष्ठा बढाउँछस्, आफ्नै ख्याति, प्राप्ति, र हैसियतको खातिर बोल्छस् र काम गर्छस्, र जताततै निर्लज्जतापूर्वक धाक लगाउँछस् भने, परमेश्‍वरले तँलाई आशिष्‌ नदिने मात्रै होइन, तर उहाँले तँबाट तँसँग सुरुमा भएको कुरा पनि खोस्नुहुनेछ। किनभने तेरा कार्यहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्‍न वा मान्यता दिनुहुन्‍न, तर दोषी ठहराउनुहुन्छ। त्यसैले म तिमीहरूलाई भन्दै छु, तिमीहरूले यो मार्ग पटक्कै रोज्नु हुँदैन। तैँले जतिसुकै कष्ट भोगेको भए पनि, र यो तैँले सहनुपर्ने कुरा भए पनि वा नभए पनि, वा तैँले स्वेच्छाले कष्ट भोगेको भए पनि वा असहाय भएर निष्क्रिय रूपमा कष्ट भोगेको भए पनि, तैँले आफ्नो कष्टलाई धाक लगाउने पूँजीको रूपमा पटक्कै लिनु हुँदैन। अनि मानिसहरूले तँलाई उच्च सम्मान गरून् भनेर, वा तिनीहरूले कष्ट भोग्ने तेरो सङ्कल्प, कष्ट भोग्ने तेरो तरिका, वा कष्टप्रतिको तेरो मनोवृत्तिको अनुकरण गरून् भनेर तैँले कति कष्ट भोगेको छस् भन्‍नेबारे त्यसलाई सत्यता नै हो जस्तो गरी कहिल्यै सङ्गति नगर्। कहिल्यै यसो नगर्; यो त आफ्नै मार्ग पछ्याएको हुनेछ। व्यक्तिले कति कष्ट भोग्छ भन्‍ने कुरालाई परमेश्‍वरले कहिल्यै हेर्नुहुन्न। सत्यताको खातिर, इन्साफ कायम राख्न र परमेश्‍वरको कामको रक्षा गर्नको खातिर, आफ्ना कर्तव्यहरू राम्ररी निर्वाह गर्नको खातिर, परमेश्‍वरका प्रबन्धहरू र सत्यताको अधीनमा बस्नको खातिर, र सत्यता सिद्धान्तहरू पालन गर्नको खातिर तैँले कति कष्ट भोग्छस्, कति अन्यायहरू सहन्छस्, र कति ठूलो मूल्य चुकाउँछस् भन्‍ने कुरा मात्रै उहाँले हेर्नुहुन्छ। तेरो कष्ट कति ठूलो छ वा तैँले कति कष्ट भोग्छस् भन्‍ने कुराको सट्टा, कष्ट भोग्नुको पछाडि तेरा लक्ष्य, अभिप्राय, र मनसायहरू के-के हुन् भन्‍ने कुरा उहाँले हेर्नुहुन्छ। यदि कष्ट भोग्नुको पछाडि तेरो लक्ष्य आफ्नै अभिमान र व्यक्तिगत हितहरूको रक्षा गर्नु हो भने, तेरो कष्ट एक पैसाको मूल्य बराबर पनि हुँदैन। यदि तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्न कष्ट भोग्छस् भने, तैँले एउटा मात्रै वाक्य बोले पनि त्यसले कतिपय मानिसहरू चिढिन्छन् तर त्यसले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्छ र त्यो मण्डलीको कामका लागि लाभदायक हुन्छ भने, यो एउटा वाक्यलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछ। उहाँले यो वाक्यलाई बहुमूल्य ठान्नुहुनेछ, र उहाँले तँलाई अझ धेरै प्रदान गर्नुहुनेछ, तँलाई बलियो बनाउन तँलाई विश्‍वास दिनुहुनेछ, यसले गर्दा तैँले कामकुराहरूको सामना गर्दा, तँ दुष्ट मानिसहरू वा विरोधी शक्तिहरूसँग डराउनेछैनस्। उहाँले तँलाई स्पष्ट दिमाग दिनुहुनेछ, र तँलाई सत्यताको बारेमा ज्ञान, अन्तर्ज्ञान, ज्योति, र प्रबोधन प्राप्त गर्न सक्षम तुल्याउनुहुनेछ। हेर् त, परमेश्‍वरको आशिष्‌ कति ठूलो छ!

हामीले भर्खरै सङ्गति गरेको कुरा कष्टसम्बन्धी सही विचार र दृष्टिकोणहरू हुन्। तैँले पहिले जसरी काम गर्ने गरेको भए पनि वा तैँले पहिले कष्टलाई जसरी हेर्ने गरेको भए पनि, जब तैँले कष्टसम्बन्धी सत्यताहरू बुझ्छस्, तब तैँले आफूलाई फर्काउनुपर्छ, सही विचार र दृष्टिकोणहरू स्वीकार गर्नुपर्छ, र आफ्ना अभिप्राय र लक्ष्यहरूलाई सही बनाउनुपर्छ, काम गर्ने सिद्धान्त, तरिका र दिशालाई निर्देशित गर्न सही विचार र दृष्टिकोणहरू प्रयोग गर्नुपर्छ। यसरी, तँ सत्यता प्राप्त गर्न सक्षम हुनेछस्। यदि व्यक्तिको मानसिकता सही छैन र उसले सत्यता पटक्कै स्विकार्दैन, मानिसहरूले आफूलाई उच्च सम्मान गरून् भनेर धाक लगाउन र देखावटी गर्न आफूले बुझेका शब्दहरू र धर्मसिद्धान्तहरू मात्रै बोल्छ, र कामकुरा गर्दा आफूलाई जे मन लाग्छ त्यही गर्छ, वर्षौँसम्म परमेश्‍वरमा विश्‍वास गरे पनि ऊ पटक्कै परिवर्तन हुँदैन भने, यो व्यक्ति सत्यतालाई प्रेम नगर्ने र सत्यता स्वीकार नगर्ने व्यक्ति हो। सत्यता स्विकार्ने मानिसहरूले सही विचार र दृष्टिकोणहरूलाई अँगाल्छन् र तिनलाई सुनेपछि हृदयमा राख्छन्। जब तिनीहरूले कामकुराहरूको सामना गर्छन्, तब तिनीहरूले आफ्नो व्यवहारलाई नियमन गर्न, र आफ्ना गलत अभिप्रायहरू र भ्रमपूर्ण विचार र दृष्टिकोणहरूलाई सच्याउन सत्यतालाई मापदण्डको रूपमा प्रयोग गर्छन्। त्यसपछि तिनीहरूले आफूलाई रोक्न र आफ्नो व्यवहारलाई निर्देशित गर्न सही विचार र दृष्टिकोणहरूलाई सिद्धान्तहरू र अभ्यासको मार्गको रूपमा प्रयोग गर्छन्। अन्त्यमा, तिनीहरूले जिउने र प्रकट गर्ने कुरा उप्रान्त भ्रष्ट स्वभावहरू हुनेछैनन्, तर ती सत्यता सिद्धान्तहरू अनुरूप हुनेछन्, जसले तिनीहरूले साँचो परिवर्तन अनुभव गरेका छन् भन्‍ने देखाउँछ। के यो राम्रो कुरा होइन र? (हो।) मानिसहरूले सत्यता पछ्याउनुपर्ने तरिका ठ्याक्कै यही हो। तैँले सत्यता बुझेपछि, परमेश्‍वरका वचनहरूले स्वाभाविक रूपमा तेरो हृदयमा शासन गर्नेछन्; अर्थात्, परमेश्‍वरका वचनहरू तँभित्रको जीवन बन्नेछन्, र तँ परमेश्‍वरका वचनहरू जिउन सक्षम हुनेछस्। जब परमेश्‍वरका वचनहरूले तँभित्र नियन्त्रण लिन्छन्, र तेरा भ्रष्ट स्वभावहरूले उप्रान्त नियन्त्रण गरिरहेका हुँदैनन्, तब तँसँग तेरो जीवनको रूपमा सत्यता हुन्छ, र तँ परमेश्‍वरको प्रिय व्यक्ति हुन्छस्। के परमेश्‍वरले प्रेम गर्नुहुनेहरू खुसी हुन्छन्? (हुन्छन्।) तिनीहरूको खुसी पूर्ण रूपमा उचित हुन्छ; तिनीहरूले कष्ट भोगे पनि, यो अझै पनि एउटा सम्मान नै हुन्छ। तिनीहरूले अनुभव गर्ने कुरा कष्ट हो, तर तिनीहरूले प्राप्त गर्ने कुरा मीठो हुन्छ। यो खुसी हाल तेरो पहुँचभन्दा बाहिर भए पनि—वा सायद धेरै टाढा भए पनि—यदि तैँले लगनशीलताका साथ यस दिशालाई पछ्याइस् भने, ढिलोचाँडो यस्तो दिन आउनेछ जुन बेला तैँले यो आनन्दको कटनी गर्नेछस् र यो खुसीको अनुभूति गर्नेछस्, र यो आनन्द र खुसी तेरो लागि उप्रान्त त्यति टाढाको कुरा हुनेछैन। यस लक्ष्यतर्फ लम्की र यसलाई पछ्याइराख्। ढिलोचाँडो यस्तो दिन आउनेछ जुन बेला सत्यता तेरो जीवन बन्छ, र जहाँ तँ उप्रान्त भ्रष्ट स्वभावहरूद्वारा नियन्त्रित भएको वा बाँधिएको हुँदैनस्, त्यसपछि तैँले यस्तो सोच्नेछस्, “यो कष्ट सहनु सार्थक रहेछ! जब म कष्ट भोग्थेँ, तब यो दुःखदायी र पीडादायी हुन्थ्यो, र म कष्ट भनेको गाह्रो कुरा हो भन्‍ने सोच्थेँ। म अलिकति कष्ट भोग्थेँ त्यसपछि मसँग पूँजी छ भन्‍ने सोच्थेँ। अब मलाई कष्ट भनेको पटक्कै पूँजी होइन, न त यो कुनै मूल्यको कुरा नै हो भन्‍ने महसुस भएको छ—मसँग भ्रष्ट स्वभावहरू छन्, त्यसैले मैले कष्ट सहनुपर्छ। अलिकति कष्ट भोग्नु राम्रो हो; देहले कष्ट सहनुपर्छ। धन्‍न, यो कष्ट मेरो साथमा रह्यो; यसरी मात्रै म सत्यता प्राप्त गर्न, भ्रष्ट स्वभावहरूको बन्धन र नियन्त्रणलाई तोड्न, र आनन्द र खुसीमा जिउन सक्षम भएको छु। दुःख पछि सुख आउँछ।” हेर् त, जसले यसको स्वाद चाखेका छन् तिनीहरूलाई थाहा हुन्छ; जसले यसलाई प्राप्त गरेका छन् तिनीहरूलाई थाहा हुन्छ। जब त्यो दिन आउँछ, तब कुराहरू निकै फरक लाग्‍नेछ, होइन र? (हो।)

ठीक छ, आजका लागि हाम्रो सङ्गति यहीँ अन्त्य गरौँ। बिदा!

नोभेम्बर १६, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (२९)

अर्को: सत्यता कसरी पछ्याउने (३१)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्