सत्यता कसरी पछ्याउने (२९)

हामीले देहधारी परमेश्‍वरसम्बन्धी केही सत्यताहरूका बारेमा पहिले नै सङ्गति गरिसकेका छौँ। के सत्यताको यस पक्षमा सङ्गति गर्दा परमेश्‍वरलाई चिन्नमा मद्दत पुग्छ जस्तो तिमीहरूलाई लाग्छ? (लाग्छ।) त्यसोभए, त्यो राम्रो हो। हामीले यस विषयमा पहिले पनि अलिकति सङ्गति गरेका थियौँ, तर हामीले एक-एक बुँदा गर्दै यसबारे विस्तृत रूपमा सङ्गति गरेका थिएनौँ; बरु, हामीले यसबारे टुक्रा-टुक्रा गरेर सङ्गति गरेका थियौँ। यस पटक हामीले सङ्गति गरिरहेको कुरा देहधारी परमेश्‍वरसँग सम्बन्धित विषयभित्रका सत्यताहरू हुन्, जसमा परमेश्‍वरबारे मानिसका धारणाहरू, साथै परमेश्‍वरप्रतिका उसका मनोवृत्तिहरू र परमेश्‍वरबारेको उसको ज्ञान समावेश छन्। एकातिर, यी सत्यताहरूका बारेमा सङ्गति गर्नुको उद्देश्य मानिसले परमेश्‍वरलाई बुझ्न र चिन्न सकोस्, र परमेश्‍वरप्रतिका उसका मनोवृत्ति र दृष्टिकोणहरू समावेश रहेका उसले जान्नैपर्ने सत्यताहरू बुझ्न सकोस् भन्‍ने हो। अर्कोतिर, यी विषयहरू अत्यन्तै महत्त्वपूर्ण भएकाले गर्दा हो। तिनलाई केले महत्त्वपूर्ण बनाउँछ? कुरा के हो भने, मानिसले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देख्न वा छुन सक्दैन र उहाँलाई विरलै मात्र महसुस गर्न सक्छ; स्वर्गमा हुनुहुने परमेश्‍वर मानिसबाट धेरै टाढा हुनुहुन्छ। यदि कसैले परमेश्‍वरसँग सम्बन्ध स्थापित गर्ने प्रयास गर्‍यो भने, यो कुरा उसका लागि अत्यन्तै खोक्रो र अस्पष्ट हुनेछ। एकातिर, मानिस परमेश्‍वरबारेका धारणाहरू र कल्पनाहरूले भरिएको हुने हुनाले यो खोक्रोपन र अस्पष्टता हुन्छ। अर्कोतिर, मानिसलाई परमेश्‍वरको वास्तविकता र व्यावहारिकता, वा परमेश्‍वरको पहिचान र सारबारे कुनै पनि बुझाइ नभएको हुनाले, र ऊ पूर्ण रूपमा आफ्नै मनगढन्ते सोचबाट उब्जेका धारणाहरू र कल्पनाहरूका बीचमा जिउने हुनाले यस्तो हुन्छ। त्यसैले, मानिसले परमेश्‍वरलाई पछ्याउन थालेपछि, उसले परमेश्‍वरसँग स्थापित गर्ने सम्बन्ध उसका धारणाहरू र कल्पनाहरूमा, उसको मनगढन्ते सोचको जगमा, र साथै परमेश्‍वरप्रतिका उसका विभिन्न मागहरू र चाहनाहरूमा नै लगभग निर्माण भएको हुन्छ। मानिस र परमेश्‍वरबीचको यस प्रकारको जगमा निर्माण भएको सम्बन्ध अत्यन्तै अस्थिर, अत्यन्तै असुरक्षित, र अवश्य नै, अत्यन्तै अविश्वसनीय हुन्छ। हावाको सानो झोक्का चल्दा वा कुनै असामान्य परिस्थिति उत्पन्न हुँदा, यस प्रकारको सम्बन्ध सजिलै टुट्न सक्छ, र यो सजिलै विच्छेद हुन सक्छ। उदाहरणका लागि, जब मानिसले आफूले चाहेजस्तो नभएका कुराहरूको सामना गर्छ, जब उसले कष्ट, अवरोधहरू, र असफलताहरूको सामना गर्छ, वा जब उसले आफ्ना धारणाहरू अनुरूप नरहेका वा आफ्ना दैहिक हितहरू पूरा नगर्ने किसिमका सबै प्रकारका कुराहरूको सामना गर्छ—जब मानिसले आफ्ना धारणाहरूअनुसार त देखा नपर्नुपर्ने हो भनी विश्‍वास गरेका यीमध्ये कुनै पनि परिस्थितिहरूको सामना गर्छ—तब उसले स्वाभाविक रूपमा परमेश्‍वरमाथि शङ्का गर्नेछ। उसले परमेश्‍वरको अस्तित्वमा शङ्का गर्नेछ, परमेश्‍वरले मानिसमाथि सार्वभौमिकता राख्नुहुने तरिकाहरू र परमेश्‍वरले उसका लागि कुराहरू योजनाबद्ध गर्नुहुने र प्रबन्ध गर्नुहुने तरिकाहरू सही छन् कि छैनन् भनी उसले शङ्का गर्नेछ, र अवश्य नै, परमेश्‍वरले यसरी काम गर्नु सही हो कि होइन, साथै मानिसप्रति परमेश्‍वरका कुनै लुकेका उद्देश्यहरू वा खराब अभिप्रायहरू छन् कि छैनन्, र यस्तै अन्य कुराहरूमा उसले शङ्का गर्नेछ। छोटकरीमा भन्दा, मानिस र परमेश्‍वरबीचको यस प्रकारको सम्बन्ध अत्यन्तै अस्थिर र असुरक्षित हुन्छ; मानव शब्दमा भन्दा, यो अनिश्चितताले भरिएको हुन्छ। मानिस र परमेश्‍वरबीचको यस प्रकारको सम्बन्ध मानिसका धारणाहरू र कल्पनाहरूमा, र मनगढन्ते सोचबाट मानिसले परमेश्‍वरसँग गर्ने विभिन्न मागहरूको जगमा निर्माण भएको हुने हुनाले, मानिसलाई परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास जतिसुकै ठूलो छ भन्‍ने लागे पनि, वा परमेश्‍वरलाई पछ्याउने आफ्नो सङ्कल्प जतिसुकै ठूलो छ भन्‍ने लागे पनि, परमेश्‍वरको दृष्टिकोणबाट हेर्दा, उहाँले यस प्रकारको सम्बन्धलाई मान्यता दिनुहुन्न। अवश्य नै, वस्तुगत तथ्यहरूको हिसाबमा, यो अस्थिर हुन्छ; सबै प्रकारका वातावरणहरू र विभिन्न मानिस, घटना र कामकुराहरूमा हुने परिवर्तनहरू, साथै विभिन्न विशेष परिस्थितिहरूको उदयका कारण, यो जुनसुकै समयमा र जुनसुकै ठाउँमा टुट्न वा विच्छेद हुन सक्छ। कसैले केही सत्यताहरू बुझेको भए पनि, जब उसले परमेश्‍वरलाई बुझ्दैन वा चिन्दैन, तब उसले अझै पनि परमेश्‍वरमाथि शङ्का गर्नेछ। उसले परमेश्‍वरको अस्तित्वमा शङ्का नगरे पनि, ऊप्रति यसरी काम गर्नुमा परमेश्‍वरको उद्देश्य के हो, र उहाँले यसरी काम गर्नु सही हो कि होइन भनेर उसले अझै पनि शङ्का गर्नेछ। त्यसकारण, मानिसले परमेश्‍वरलाई नबुझ्दा वा नचिन्दा उसले परमेश्‍वरसँग स्थापित गर्ने यो सम्बन्ध कुनै पनि परीक्षामा खरो उत्रन सक्दैन, र यसले कुनै पनि विशेष वातावरणको शोधनलाई विरलै मात्र सहन सक्छ भनेर भन्न सकिन्छ। यसको कारण परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूमा गल्ती वा विचलनहरू हुनु, वा परमेश्‍वर विचारहीन हुनु, मानिसका कमजोरीहरू वा उसका विभिन्न आवश्यकताहरूलाई ध्यानमा राख्न असफल हुनु होइन; बरु, भ्रष्ट मानवहरू अन्तर्निहित रूपमा नै परमेश्‍वरबारे धारणाहरू र कल्पनाहरूले भरिएका हुने हुनाले हो। सुरुदेखि नै, मानिसमा भ्रष्ट स्वभावहरू हुने हुनाले, परमेश्‍वरसँगको उसको यो सम्बन्ध एक सृजित प्राणी र सृष्टिकर्ताबीचको सामान्य सम्बन्धको जगमा निर्माण भएको हुँदैन। यसरी, मानिसले गलत अडान लिन्छ र त्रुटिपूर्ण दृष्टिकोणहरू प्रयोग गरेर परमेश्‍वरसँगको आफ्नो सम्बन्धलाई हेर्छ र स्थापित गर्छ, र उसले यस सम्बन्धलाई कायम राख्न त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू, साथै त्रुटिपूर्ण विधिहरू पनि प्रयोग गर्छ। यसरी, मानिस र परमेश्‍वरबीचको यो सम्बन्ध असामान्य बन्छ। यसले मानिसलाई परमेश्‍वर, उहाँका योजनाबद्ध कार्यहरू, र उहाँका प्रबन्धहरूको अझ राम्ररी अधीनमा बस्न र यसरी उसका लागि परमेश्‍वरका मागहरू पूरा गर्न मद्दत गर्न नसक्ने मात्र होइन, तर यसले गर्दा परमेश्‍वरले उसलाई घृणा र तिरस्कार गर्नुहुन्छ, र यसले मानिसलाई मुक्ति प्राप्त गर्ने आफ्नो अवसर गुमाउनेसमेत बनाउँछ। मानिसले लामो समयसम्म परमेश्‍वरलाई पछ्याउँदै जाँदा, उसले झन्-झन् धेरै सत्यताहरू बुझ्दै जाँदा, र आफ्नो कर्तव्य पूरा गर्ने क्रममा उसले केही पूँजी जम्मा गर्दै र केही अनुभव र पाठहरू प्राप्त गर्दै जाँदा, उसलाई परमेश्‍वरसँगको आफ्नो सम्बन्ध सही र सुरक्षित छ भन्‍ने झन्-झन् बढी महसुस हुन्छ। तर, परमेश्‍वरबारे मानिसको ज्ञानको सन्दर्भमा भन्दा, मानिस र परमेश्‍वरबीचको यस प्रकारको सम्बन्ध परमेश्‍वरका नजरमा अझै पनि असामान्य नै हुन्छ। यसलाई अझै पनि सुधार गर्न र जाँच्न आवश्यक हुन्छ, र मानिसले अझै पनि धेरै सत्यताहरू बुझ्नुपर्छ र परमेश्‍वरबारे अझ ठूलो बुझाइ र ज्ञान प्राप्त गर्नुपर्छ। यसरी मात्रै मानिस र परमेश्‍वरबीचको सम्बन्ध परमेश्‍वरका नजरमा साँच्चै मानकअनुरूप हुन सक्छ, र अवश्य नै, त्यसपछि मात्रै मानिसले सृष्टिकर्तालाई कसरी व्यवहार गर्छ, उसले परमेश्‍वरलाई कसरी व्यवहार गर्छ भन्‍ने कुरामा अझ सही र विवेकी रूपमा एक सृजित प्राणीको स्थान लिन सक्छ। त्यसकारण, देहधारी परमेश्‍वरलाई चिन्ने—पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई चिन्ने—सम्बन्धी सत्यता कुनै प्रकारको शैक्षिक ज्ञान वा एक प्रकारको सामान्य ज्ञान होइन, यो कुनै प्रकारको सिद्धान्त वा नारा हुने कुरा त परै जाओस्। बरु, यो परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न, एक सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध स्थापित गर्न मानिसले बुझ्नैपर्ने सत्यताको एउटा पक्ष हो। यो सत्यताको एउटा यस्तो पक्ष हो जसमा परमेश्‍वरको सारलाई चिन्ने, परमेश्‍वरले काम गर्ने र बोल्ने तरिकाहरूलाई चिन्ने, र परमेश्‍वरले सबै प्रकारका कामकुराहरू गर्ने सिद्धान्तहरूलाई चिन्ने कुरा समावेश हुन्छ। मानिसले सत्यताको यस पक्षलाई बुझेपछि, देहधारी परमेश्‍वरलाई चिनेपछि, र परमेश्‍वरबारे आधारभूत बुझाइ प्राप्त गरेपछि, उसले परमेश्‍वरसँग सबैभन्दा उचित र सबैभन्दा उपयुक्त सम्बन्ध—एक सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध स्थापित गर्नेछ। यस प्रकारको सम्बन्धको जगमा मात्रै परमेश्‍वरलाई सन्तुष्ट पार्न सत्यता अभ्यास गर्ने मानिसको खोजी, र परमेश्‍वरको अधीनमा बस्ने र उहाँको आराधना गर्ने उसको खोजी सकारात्मक दिशातर्फ अघि बढ्नेछ; त्यसपछि मात्रै मानिस झन्-झन् बढी दुष्टताबाट अलग बस्नेछ, र मुक्तिको मार्गमा लाग्नेछ।

यसबारे मनन गर्: यदि कसैसँग परमेश्‍वरबारे कुनै ज्ञान छैन भने—अर्थात्, उसले परमेश्‍वरमा विश्‍वास गरे पनि, ऊ परमेश्‍वरले कामकुराहरू गर्नुहुने सिद्धान्त र तरिकाहरू, र ती गर्नुको पछाडि उहाँको उद्देश्यबारे धारणाहरू र कल्पनाहरूले भरिएको छ, र ऊ परमेश्‍वरले सबै प्रकारका कामकुराहरू कसरी गर्नुहुन्छ भन्‍ने निश्‍चित विवरणहरूबारे धारणाहरू र कल्पनाहरूले भरिएको छ भने—उसले विभिन्न कुराहरूको सामना गर्दा, कसरी तिनलाई लिनेछ? उसले सत्यता कसरी खोज्नेछ? उसको आधार के हुनेछ? उसका सिद्धान्तहरू के हुनेछन्? उसका लक्ष्यहरू के हुनेछन्? यी सरल प्रश्नहरू होइनन्। यदि कोही परमेश्‍वरबारे धारणाहरू र कल्पनाहरूले भरिएको छ, र ऊसँग परमेश्‍वरले कामकुराहरू गर्नुहुने सिद्धान्त र तरिकाहरूको अलिकति पनि बुझाइ छैन, र उहाँले सबै प्रकारका कामकुराहरू गर्नुका पछाडि उहाँको उद्देश्य के हो भन्‍ने पटक्कै बुझ्दैन, र उसले परमेश्‍वरलाई पूर्ण रूपमा मानव धारणाहरू र कल्पनाहरू, परम्परागत संस्कृति, र ज्ञानमा आधारित तर्कका आधारमा व्यवहार गर्छ भने, के उसले परमेश्‍वरलाई चिन्न र ऊ उहाँको अधीनमा बस्न सक्छ? (सक्दैन।) यदि परमेश्‍वरलाई चिन्ने कसैको खोजी समग्रमा मानव धारणाहरू र कल्पनाहरू, ज्ञान र दर्शन, र परम्परागत संस्कृतिमा आधारित छ, र उसको खोजी यस जगमा निर्माण भएको छ र यी कुराहरूद्वारा सीमित छ भने, के यो खोजी परमेश्‍वरका मागहरू पूरा गर्ने अवस्थाबाट धेरै टाढा हुनेछैन र? के यो परमेश्‍वरले माग गर्नुहुने कुराको विपरीत हुनेछैन र? (हुनेछ।) जब तिमीहरूले सङ्गतिद्वारा यी पक्षहरू—देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकता; उहाँले बोल्ने र काम गर्ने सिद्धान्त र तरिकाहरू; र उहाँको बोलाइ र कामको पछाडिका उद्देश्य, मनसाय, र लक्ष्यहरू—बुझ्छौ, तब तिमीहरूले परमेश्‍वरले काम गर्ने र बोल्ने सिद्धान्त र तरिकाहरू, साथै त्यसो गर्नुको पछाडिको उहाँको उद्देश्यबारे आधारभूत बुझाइ प्राप्त गर्नेछौ। यो बुझाइ परमेश्‍वरबारे रहेका मानिसका धारणाहरू र कल्पनाहरूबाट आउँदैन, न त यो मानिसले आफ्नो ज्ञानको आधारमा निष्कर्ष निकाल्ने कुनै कुरा नै हो, यो मानिसले परम्परागत संस्कृतिको आधारमा कल्पना गर्ने कुरा हुनु त झनै परको कुरा हो; बरु, यसमा मानिसले देख्ने, सम्पर्कमा आउने, र अनुभव गर्ने पृथ्वीमा हुनुहुने परमेश्‍वरका अत्यन्तै व्यावहारिक प्रकटीकरणहरू समावेश हुन्छन्। देहधारी परमेश्‍वरले कामकुराहरू गर्ने, काम गर्ने, र बोल्ने सिद्धान्त र तरिकाहरू—साथै त्यसो गर्नुको पछाडि उहाँको उद्देश्य—जसलाई उहाँले पूर्ण रूपमा व्यावहारिक तरिकाहरूमा प्रदर्शन गर्नुहुन्छ, ती तँलाई परमेश्‍वरको सार र स्वभाव, साथै परमेश्‍वरले कामकुराहरू गर्ने, काम गर्ने, र बोल्ने निश्‍चित सिद्धान्त र तरिकाहरू, र त्यसो गर्नुको पछाडि उहाँको उद्देश्य बुझ्न र चिन्न दिनका लागि पर्याप्तभन्दा पनि बढी छन्। त्यसकारण, देहधारी परमेश्‍वरका विभिन्न पक्षहरूलाई बुझ्नु भनेको परमेश्‍वर अर्थात्, सृष्टिकर्तालाई बुझ्ने एउटा मार्ग हो। देहधारी परमेश्‍वरलाई चिन्दा यसले सृष्टिकर्ताको पूर्ण र व्यापक ज्ञानमा डोर्‍याउन नसक्ने भए पनि, कम्तीमा पनि, देहधारी परमेश्‍वरलाई चिन्नु भनेको स्वर्गमा हुनुहुने परमेश्‍वरलाई चिन्ने र सृष्टिकर्तालाई चिन्ने एउटा मार्ग हो। तँलाई यी कुराहरू बताउनुको पछाडि मेरो उद्देश्य के हो? परमेश्‍वरलाई बुझ्नु र चिन्नु भनेको मानिसले आफ्नो सम्पूर्ण जीवनभरि सिक्ने प्रयास गर्नुपर्ने कुराहरू भए पनि, र मानिसले जीवनभरको प्रयास समर्पित गरेर पनि परमेश्‍वरलाई पूर्ण र विस्तृत रूपमा चिन्न नसक्ने भए पनि, देहधारी परमेश्‍वरलाई चिनेर, तैँले स्वर्गमा हुनुहुने परमेश्‍वर र सृष्टिकर्तालाई अझ व्यावहारिक तरिकाले, अझ बढी सटीकता र वस्तुनिष्ठताका साथ बुझ्नेछस्—यति नै पर्याप्त छ। अर्थात्, देहधारी परमेश्‍वरलाई चिन्‍ने कार्यद्वारा परमेश्‍वरलाई बुझ्नु र चिन्नु नै तेरो लागि पर्याप्त हुन्छ; तैँले परमेश्‍वरलाई चिन्न र उहाँसँग सामान्य सम्बन्ध स्थापित गर्नका लागि सर्तहरू पूरा गर्नका लागि त्यति नै पर्याप्त हुन्छ। देहधारी परमेश्‍वरलाई चिन्दा त्यो कुरा तँलाई स्वर्गमा हुनुहुने परमेश्‍वर र सृष्टिकर्तालाई चिन्नका लागि पर्याप्त हुन्छ।

यदि कसैले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पूर्ण रूपमा चिन्न चाह्यो, र उहाँको पूर्ण, विस्तृत ज्ञान प्राप्त गर्ने आशा गर्‍यो भने, के त्यो सम्भव हुनेछ? (हुनेछैन।) उसले त्यो कहिल्यै हासिल गर्न सक्नेछैन। यो असम्भव भएको हुनाले, परमेश्‍वरलाई चिन्न भनेर मानिसलाई अझै पनि किन भनिन्छ त? किनभने, यदि तैँले परमेश्‍वरलाई सही र व्यावहारिक रूपमा चिन्न सकिस् भने, यो परमेश्‍वरलाई पछ्याउने, सत्यता पछ्याउने, र परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने कार्यमा तेरो लागि लाभदायक र उपयोगी हुन्छ। यसका साथै, तैँले सत्यता अभ्यास गर्न र मुक्ति प्राप्त गर्नका लागि परमेश्‍वरलाई चिन्नु अत्यन्तै महत्त्वपूर्ण र आवश्यक छ। त्यसोभए तैँले के गर्नुपर्छ? (हामीले परमेश्‍वरलाई चिन्ने सम्बन्धी सत्यताहरूलाई महत्त्व दिनुपर्छ। हामीले सत्यताको यस पक्षलाई कुनै साधारण सत्यता जस्तै गरी बुझ्ने प्रयास गर्नु हुँदैन।) एकातिर, तैँले देहधारी परमेश्‍वरलाई सही मनोवृत्तिका साथ व्यवहार गर्नुपर्छ। यसका साथै, देहधारी परमेश्‍वर र परमेश्‍वरबारे तँसँग कस्ता धारणाहरू र कल्पनाहरू छन् भनी तैँले जाँच्नुपर्छ, र तिनलाई कसरी त्याग्ने भन्‍ने कुरा पत्ता लगाउनुपर्छ। चाहे दैनिक जीवनमा होस्, तेरो कर्तव्य पूरा गर्ने क्रममा होस्, वा तैँले आफ्नो जीवन अनुभव गर्दा होस्, परमेश्‍वरसँगको तेरो अन्तरक्रिया र सङ्गतिमा, परमेश्‍वरबारे तँसँग कस्ता धारणाहरू र कल्पनाहरू छन्, र परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिमा यी दुई वटा समस्याहरू छन् कि छैनन् भनेर तैँले जाँच्नुपर्छ: एउटा देहधारी परमेश्‍वरलाई स्वर्गमा हुनुहुने परमेश्‍वरसँग तुलना गर्नु हो, र अर्को देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवहरूसरह राख्नु हो। यी दुई वटा समस्याहरू जाँच्दा त्यसले तँलाई परमेश्‍वरबारे रहेका तेरा केही धारणाहरू र कल्पनाहरू पहिचान गर्न, वा तँ र परमेश्‍वरबीच के-कस्ता समस्याहरू छन् भनी पत्ता लगाउन सक्षम तुल्याउन सक्छ; वा, यसले तँलाई तेरा केही गलत विचार र दृष्टिकोणहरू र परमेश्‍वरप्रतिका गलत मनोवृत्तिहरू उजागर गर्न मद्दत गर्न पनि सक्छ। यसरी तैँले आफैलाई जाँच्नुको उद्देश्य आफूलाई परमेश्‍वरसम्बन्धी तेरा विभिन्न त्रुटिपूर्ण विचार, दृष्टिकोण, र मनोवृत्तिहरू स्पष्ट रूपमा पहिचान गर्न मद्दत गर्नु हो, ताकि तैँले तिनलाई त्याग्न सक्, र परमेश्‍वरका वचनहरू, परमेश्‍वरको काम, र परमेश्‍वर स्वयम्‌लाई सही विचार र दृष्टिकोणहरूका साथ, सही मनोवृत्तिका साथ, र सही तरिकाहरूमा व्यवहार गर्न सक्। यसरी अभ्यास गरेर मात्रै तँ र परमेश्‍वरबीचको सम्बन्ध बिस्तारै सामान्य बन्न सक्छ र त्यसले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छ—होइन र? (हो।) यदि तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरसँगको तेरो सम्बन्ध एक सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्धको आधारमा, र परमेश्‍वरले मानिसबाट माग गर्नुहुने मानकको जगमा बिस्तारै विकास हुनेछ। यो मानक पूरा गरेपछि मात्रै मानिस र परमेश्‍वरबीचको सम्बन्ध झन्-झन् सामान्य बन्न सक्छ। यहाँ “सामान्य” ले केलाई जनाउँछ? के तिमीहरूलाई थाहा छ? (यसको अर्थ के हो भने, मानिसले सृष्टिकर्तालाई कसरी व्यवहार गर्छ भन्‍ने कुरामा उसले एक सृजित प्राणीको स्थान अझ राम्ररी लिन सक्छ। ऊसँग परमेश्‍वरप्रति उप्रान्त कुनै सतर्कता र शङ्का हुँदैन, तर उसले परमेश्‍वरलाई खुलापन र इमानदारीताका साथ व्यवहार गर्न सक्छ।) के अरू कसैसँग थप्नका लागि केही छ? (परमेश्‍वरसँग कसैको सम्बन्ध सामान्य बनेपछि, ऊ परमेश्‍वरप्रति सतर्क वा शङ्कालु नहुने मात्र होइन, तर उसले परमेश्‍वरसँग उप्रान्त मागहरू पनि गर्दैन, ऊसँग कुनै अत्यधिक चाहनाहरू हुँदैनन्, र ऊ परमेश्‍वरका योजनाबद्ध कार्यहरू र प्रबन्धहरूको साँच्चै अधीनमा बस्न सक्छ।) तैँले ठ्याक्कै सही कुरा भनिस्। मुक्ति प्राप्त गर्ने मानिसहरूमा देखिने अन्तिम प्रकटीकरण भनेको तिनीहरू एक सृजित प्राणीको उचित स्थानमा उभिन र सृष्टिकर्ताको अधीनमा बस्न सक्छन् भन्‍ने हो। जब मानिस परमेश्‍वरको अधीनमा बस्छ, तब उसले साँच्चै परमेश्‍वरको आराधना गर्छ; साँच्चै परमेश्‍वरको आराधना गरेर मात्रै उसले परमेश्‍वरको डर प्राप्त गर्न सक्छ, र साँच्चै परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्छ। त्यसकारण, परमेश्‍वरसँग मानिसको कस्तो प्रकारको सम्बन्ध हुन्छ, वा उसले परमेश्‍वरसँग कस्तो प्रकारको सम्बन्ध स्थापित गर्छ भन्‍ने कुराको हकमा, यो केमा निर्भर हुन्छ? यो मानिसको खोजी र परमेश्‍वरप्रतिको उसको मनोवृत्तिमा, र उसले परमेश्‍वरलाई कति धेरै चिन्छ भन्‍ने कुरामा निर्भर हुन्छ। यदि तँलाई परमेश्‍वरबारे कुनै ज्ञान छैन, र तँ उहाँबारे धारणाहरू र कल्पनाहरूले, र उहाँप्रतिका अत्यधिक चाहनाहरूले भरिएको छस् भने, तैँले केही सत्यताहरू अभ्यास गर्न र एक सृजित प्राणीले गर्नुपर्ने केही कर्तव्यहरू गर्न सके पनि, परमेश्‍वरसँगको तेरो सम्बन्धको सन्दर्भमा, तैँले गर्ने कर्तव्यहरू वा तैँले अभ्यास गर्ने सत्यताहरू अत्यन्तै सीमित हुन्छन्। उदाहरणका लागि, आफ्‍नो कर्तव्य पूरा गर्दा, तैँले कुराहरू त्याग्न र आफूलाई अर्पण गर्न, र कष्ट भोग्न र मूल्य चुकाउन सक्छस्, वा तैँले मण्डलीमा आफ्नो क्षमताभित्रका केही कामहरू गर्न सक्छस्। तर जब परमेश्‍वरले तँलाई तेरा धारणाहरू अनुरूप नहुने कुराहरू गर्नुहुन्छ, वा जब उहाँले तँलाई वञ्चित गर्नुहुन्छ, वा तँलाई ताडना दिनुहुन्छ र अनुशासनमा राख्‍नुहुन्छ, तब के तँ उहाँको अधीनमा बस्न सक्छस्? यदि तँसँग परमेश्‍वरबारे साँचो बुझाइ र ज्ञान छ भने, तैँले अत्यन्तै स्वाभाविक रूपमा एक सृजित प्राणीको स्थान लिनेछस् र तँसँग अधीनताको मनोवृत्ति हुनेछ। तर यदि तँसँग परमेश्‍वरबारे साँचो बुझाइ र ज्ञान छैन भने, जब तैँले आफूले चाहेजस्तो नरहने कुराहरूको सामना गर्छस्, वा जब तैँले तेरा व्यक्तिगत हितहरू समावेश हुने कुराहरूको सामना गर्छस्, तब तैँले अत्यन्तै स्वाभाविक रूपमा परमेश्‍वरबारे सबै प्रकारका विचारहरू र सबै प्रकारका धारणाहरू र कल्पनाहरू विकास गर्नेछस्। यसरी, एक सृजित प्राणीको रूपमा, तँलाई परमेश्‍वरप्रतिको साँचो अधीनता प्राप्त गर्न अत्यन्तै गाह्रो हुनेछ। तँसँग केही सतही अधीनता वा अधीनमा बस्ने इच्छा भए पनि, यदि यो परमेश्‍वरका मागहरू अनुरूप छैन भने, तेरो यो अधीनता परमेश्‍वरले चाहनुभएको कुरा हुँदैन। यदि तेरो यो अधीनता पूर्ण रूपमा मानव धारणाहरू र कल्पनाहरूबाट उत्पन्न हुन्छ, परमेश्‍वर र परमेश्‍वरको कामबारे तेरो ज्ञानसँग बाझिन्छ, र यसले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छ भने, यो मिसावटयुक्त अधीनता हो; यो साँचो अधीनता होइन, र यो परमेश्‍वरले चाहनुहुने अधीनता होइन। परमेश्‍वरले त्यस्तो अधीनतालाई अनुमोदन गर्नुहुन्न। उहाँका नजरमा, तँमा अधीनता पटक्कै हुँदैन। यदि तँ साँचो रूपमा परमेश्‍वरको अधीनमा बस्न असमर्थ छस् भने, यसको अर्थ तेरो तथाकथित “खोजी” र तथाकथित “सत्यताको अभ्यास” ले तँलाई परमेश्‍वरसँग एक सृजित प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध स्थापित गर्न लगभग मद्दत नै गर्न सकेको छैन भन्‍ने हुन्छ। तैँले गर्ने धेरैजसो कुराहरूमा, तँ तेरा व्यक्तिगत चाहनाहरू, धारणाहरू, र कल्पनाहरूका बीचमा जिइरहेको हुन्छस्, र त्यसले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैन। परमेश्‍वरको अनुमोदन प्राप्त नगर्दा त्यसले अन्ततः एउटा कुरामा डोर्‍याउँछ: तैँले गर्ने र अभ्यास गर्ने कुराहरू परमेश्‍वरले माग गर्नुहुने कुराभन्दा धेरै परका हुन्छन्, र तँ आफ्नै मनगढन्ते सोचमा, वा तेरा धारणाहरू र कल्पनाहरूमा जिउँछस्। अन्त्यमा, तैँले गर्ने र अभ्यास गर्ने कुराहरू, र तैँले हिँड्ने मार्गले तँलाई मुक्तिको मार्गमा लाग्न र मुक्ति प्राप्त गर्नका लागि डोर्‍याउन सक्नेछैनन्। त्यसोभए के तेरा कार्यहरू व्यर्थ हुनेछैनन् र? (हुनेछन्।) यी परिस्थितिहरूमा, तेरा कार्यहरू व्यर्थ हुनेछन्। त्यसोभए के तैँले परमेश्‍वरमाथिको यतिका वर्षसम्‍मको तेरो विश्‍वासबाट लगभग केही पनि प्राप्त गरेको हुनेछैनस् र? (हो।) केही पनि प्राप्त नगर्नुको कारण के हो? (मानिसहरू सधैँ आफ्ना व्यक्तिगत चाहनाहरू, धारणाहरू, र कल्पनाहरूमा जिउँदै परमेश्‍वरमा विश्‍वास गर्ने मार्गमा हिँड्छन्।) धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि तैँले केही प्राप्त नगर्नुको कारण तैँले मूल्य नचुकाएको, तँ कष्ट सहन अनिच्छुक भएको, वा आफूलाई अर्पण गर्न अनिच्छुक भएको हुनाले होइन, तैँले आफ्नो कर्तव्य पूरा नगरेकोले हुनु त परै जाओस्। बरु, यसको कारण के हो? त्यो के हो भने, कष्ट भोग्ने र मूल्य चुकाउने, कुराहरू त्याग्ने र आफूलाई अर्पण गर्ने, र आफ्‍नो कर्तव्य पूरा गर्ने क्रममा, तैँले गर्ने धेरैजसो कुराहरू तेरो मनगढन्ते सोचको परिणाम स्वरूप मात्रै गरिएका हुन्छन्, र परमेश्‍वरका मागहरूअनुसार काम गर्नुको सट्टा, तँ तेरा धारणाहरू र कल्पनाहरूमा जिउँदै तैँले ती गर्छस्। तैपनि तैँले सधैँ परमेश्‍वरका मागहरूअनुसार काम गरिरहेको छु भन्‍ने विश्‍वास गर्छस्। तेरो यो विश्‍वास धारणाहरूले भरिएको हुने हुनाले, तँ अन्ततः सत्यता प्राप्त गर्न र मुक्ति प्राप्त गर्ने परिणाम हासिल गर्न असफल हुन्छस्। त्यसैले, तेरा सबै कार्यहरू व्यर्थ भए। यदि कोही अन्ततः यस बिन्दुमा पुग्यो भने, के तिमीहरू यसलाई निकै दुःखलाग्दो कुरा हो भनेर भन्दैनौ र? (भन्छौँ।) बाहिरी रूपमा हेर्दा, मानिसहरूले आफ्ना कर्तव्यहरू पूरा गरिरहेका, परमेश्‍वरका वचनहरू प्रचार गरिरहेका, र कष्ट भोगिरहेका र मूल्य चुकाइरहेका जस्तो देखिन्छ, तर वास्तवमा, तिनीहरूले धेरै धारणाहरू र कल्पनाहरू, र धेरै गलत विचार, दृष्टिकोण, र मनोवृत्तिहरू राख्दै परमेश्‍वरलाई पछ्याइरहेका र उहाँको सेवा गरिरहेका हुन्छन्। यदि तैँले यी दूषितताहरूका साथ आफ्‍नो कर्तव्य पूरा गर्छस् भने, अन्ततः, जब परमेश्‍वरले तँलाई जाँच्नुहुन्छ, तब परमेश्‍वरले किन यसरी काम गर्नुहुन्छ, वा परमेश्‍वरले तँबाट के अपेक्षा गर्नुहुन्छ र तँलाई यसरी जाँचेर उहाँले तँमा के परिणाम हासिल गर्ने अभिप्राय राख्नुहुन्छ भन्‍ने तँलाई थाहा हुनेछैन। अन्त्यमा, जब परमेश्‍वरले तँलाई जाँच्नुहुन्छ, तब तैँले परमेश्‍वरलाई भन्ने वचनहरू र तेरा प्रार्थनाहरू गुनासोहरू, अबोधगम्यता, र शङ्काले भरिएका हुनेछन्, यहाँसम्म कि दुःख र पीडा, र परमेश्‍वरबारे धारणाहरू र कल्पनाहरूले भरिएका समेत हुनेछन्। त्यसोभए के यो सबै समयको तेरो खोजी असफलतामा परिणत हुनेछैन र, अनि तैँले भोगेको कष्ट र तैँले चुकाएको मूल्य व्यर्थ हुनेछैन र? (हुनेछ।) उदाहरणका लागि, मानौँ तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छस् र सधैँ कष्ट सहेको छस् र मूल्य चुकाएको छस्; तैँले बाहिरी रूपमा परमेश्‍वरले तँलाई गर्न भन्नुभएका सबै कुराहरू गरेको छस् र यी वचनहरूलाई दृढतापूर्वक पालन गरेको छस्। तर एक दिन, अय्यूबको जस्तै परीक्षा तँमाथि आइपर्छ, र तँ अचानक शङ्कालु बन्छस्: “के मेरो विश्‍वास गलत हुन सक्छ? के म गलत मार्गमा हिँडिरहेको हुन सक्छु? परमेश्‍वरले मेरो लागि किन यस्तो वातावरण खडा गर्नुहुन्छ? परमेश्‍वरले ममाथि किन यस्तो प्रकारको काम गर्नुहुन्छ? उहाँले ममाथि किन यस्तो कुरा घट्न दिनुहुन्छ?” तँ कुरा बुझ्दैनस्, र के भइरहेको छ भन्‍ने तँलाई थाहा हुँदैन। एकातिर, व्यक्तिपरक रूपमा हेर्दा, तैँले नबुझ्ने धेरै कुराहरू हुन्छन्। यसका साथै, मानिसहरूमा हुने सबैभन्दा ठूलो समस्या के हो? जब तिनीहरूले सबै प्रकारका कुराहरूको सामना गर्छन्, तब तिनीहरूले गर्न जान्ने कुरा भनेको प्रार्थना गर्नु र यी परिस्थितिहरूबाट आफूलाई मुक्त गर्न खोज्नु मात्रै हो। अलिकति सिपालुहरूले आफूले परमेश्‍वरलाई चिढ्याएका छन् कि छैनन्, परमेश्‍वरले तिनीहरूलाई अनुशासन दिइरहनुभएको छ कि छैन, तिनीहरूमा परमेश्‍वरका अभिप्रायहरू अनुरूप नरहेको कुनै कुरा छ कि छैन, वा तिनीहरूका व्यवहार र कामहरूले गर्दा तिनीहरू परमेश्‍वरको घृणाको पात्र बनेका छन् कि छैनन् भनी पत्ता लगाउन आफैलाई चिन्ने प्रयास गर्नेछन्। तर, जब धेरैजसो मानिसहरूले त्यस्ता कुराहरूको सामना गर्छन्, तब तिनीहरूले—सकारात्मक अर्थमा—परमेश्‍वरको कामका लागि सक्रिय रूपमा आफ्नो भूमिका कसरी निर्वाह गर्ने र परमेश्‍वरसँग कसरी सहकार्य गर्ने, एक सृजित प्राणीले पालन गर्नुपर्ने सिद्धान्तहरूअनुसार वा सृष्टिकर्ताका निर्देशनहरूअनुसार कसरी अभ्यास गर्ने, वा हातमा रहेको समस्या समाधान गर्न अभ्यासको मार्ग र सत्यता सिद्धान्तहरू कसरी सक्रिय रूपमा खोज्ने भन्‍ने कुरा जान्दैनन्। यो धेरैजसो मानिसहरूको समझभन्दा बाहिरको कुरा हो। के यो कुरा यस्तै होइन र? (हो।) हेर् त, जब मानिसहरूले कुराहरूको सामना गर्छन्, तब तिनीहरूले विभिन्न ठाउँमा कारणहरू खोज्ने प्रयास गर्छन्—तिनीहरूले आफूभित्र कारण खोज्न सक्छन्, तिनीहरूले वस्तुगत कारणहरू खोज्ने प्रयास गर्न सक्छन्, तिनीहरूले तर्क गर्न र आफैलाई सही ठहराउन प्रयोग गर्न सकिने केही बहानाहरू बनाउने प्रयास गर्न सक्छन्, वा तिनीहरूले अरू मानिसहरूमाथि शङ्का गर्न सक्छन् र यसको कारणका लागि तिनीहरूतिर हेर्न सक्छन्। तर विरलै मात्र कुनै व्यक्ति सत्यता सिद्धान्तहरू सक्रिय रूपमा खोज्न र समस्यालाई सक्रिय रूपमा समाधान गर्न परमेश्‍वरको अघि आउँछ। अन्ततः, जब परमेश्‍वरले मानिसहरूले सामना गरिरहेको परिस्थिति वा वातावरणलाई हटाउनुहुन्छ, तब मानिसहरूले कति प्राप्त गर्न सक्छन्? धेरैजसो मानिसहरूलाई अर्को पटक त्यस्ता कुराहरूको सामना गर्दा तिनीहरू होसियार हुनुपर्छ भन्‍ने मात्रै थाहा हुन्छ, र तिनीहरूलाई यी कुराहरू फेरि आउन सक्ने सङ्केतहरू पाउँदा तिनलाई कसरी बेवास्ता गर्ने वा प्रभावहीन बनाउने भन्‍ने मात्रै थाहा हुन्छ। तर त्यस्ता कुराहरूको सामना गर्दा तिनीहरूले कसरी सक्रिय रूपमा सहकार्य गर्नुपर्छ, परमेश्‍वरले मानिसहरूलाई बताउनुहुने सिद्धान्तहरूअनुसार कसरी अभ्यास गर्ने, र सत्यता सिद्धान्तहरूअनुसार समस्या कसरी समाधान गर्ने भनेर धेरै कम मानिसहरूले मात्रै मनन गर्छन्। धेरैजसो मानिसहरूलाई यसो गर्न सजिलो हुँदैन, होइन र? (हो।)

के देहधारी परमेश्‍वरलाई चिन्ने कुरासँग देहधारी परमेश्‍वरबारे आफ्ना धारणाहरू र कल्पनाहरू त्याग्‍ने विषयमा सङ्गति गर्नुको कुनै सम्बन्ध हुन्छ? (हुन्छ।) के सम्बन्ध हुन्छ त? (यदि हामी देहधारी परमेश्‍वरलाई चिन्दैनौँ, र हाम्रा आफ्नै धारणा र कल्पनाहरूका आधारमा मात्रै परमेश्‍वरमा विश्‍वास गर्छौँ भने, अन्त्यमा हाम्रो हात रित्तो हुने र हाम्रा सबै प्रयास व्यर्थ हुने, र हामीले केही पनि प्राप्त नगर्ने सम्भावना धेरै हुन्छ। त्यसैले, यदि हामी परमेश्‍वरप्रतिको हाम्रो विश्‍वासमा सही मार्गमा लाग्न चाहन्छौँ भने, हामीले देहधारी परमेश्‍वरलाई चिन्नैपर्छ। यो सत्यता अत्यन्तै महत्त्वपूर्ण छ।) सिद्धान्तको हिसाबमा तैँले बुझ्नुपर्ने कुरा यही हो—त्यसोभए तैँले कसरी अभ्यास गर्नुपर्छ त? यो एउटा महत्त्वपूर्ण प्रश्‍न हो। तैँले देहधारी परमेश्‍वरको ज्ञान प्राप्त गरेपछि, यस ज्ञानका आधारमा वास्तविक जीवनका सबै प्रकारका कुराहरू सम्हाल्नुपर्छ र समाधान गर्नुपर्छ, र सबै प्रकारका कुराहरूका लागि अभ्यासका सिद्धान्तहरू के हुनुपर्छ भनी पत्ता लगाउन यसलाई प्रयोग गर्नुपर्छ। तँसँग जस्तोसुकै ज्ञान भए पनि, यो ज्ञान हुनुको उद्देश्य समस्याहरू समाधान गर्नु हो, तैँले कुनै सिद्धान्तमा निपुणता हासिल गर्नु होइन। हेर्, हामीले देहधारी परमेश्‍वरसँग सम्बन्धित यति धेरै विषयमा सङ्गति गरेका छौँ, तर जुनसुकै विषय भए पनि, यसमा वास्तविक जीवनका खास समस्याहरू समावेश हुन्छन्। तैँले यी खास समस्याहरूको सामना गर्दा तिनका बारेमा अलिकति सोच्नुपर्छ। तँ तिनका बारेमा के सोच्छस्? तीप्रति तेरो मनोवृत्ति कस्तो छ? तँसँग तिनलाई समाधान गर्ने कस्तो योजना छ? तँ तिनलाई त्यत्तिकै छोडिदिन्छस् कि तिनलाई समाधान गर्न सत्यता खोज्छस्? यी विषयहरूमा मेरो सङ्गति सुनेपछि, यदि तँ केही सिद्धान्त मात्रै याद गर्छस्, तर तेरा कठिनाइ र समस्याहरू समाधान गर्न मेरा वचनहरूलाई वास्तविक जीवनमा लागू गर्न सक्दैनस् भने, तैँले प्राप्त गरेको कुरा धर्मसिद्धान्त मात्रै हो, जुन तेरो लागि उपयोगी हुँदैन। तर यदि तँ यी विषयहरूमा मेरो सङ्गति सुनेपछि मेरा वचनहरूलाई वास्तविक जीवनमा लागू गर्छस्, परमेश्‍वरबारे तेरा त्रुटिपूर्ण दृष्टिकोण र त्रुटिपूर्ण मनोवृत्तिहरू सच्याउँछस्, परमेश्‍वरबारेका तेरा धारणा र कल्पनाहरू हटाउँछस्, र परमेश्‍वरसँगको तेरो सम्बन्धमा सुधार ल्याउँछस् भने, तैँले प्राप्त गरेको कुरा सत्यता हुन्छ। यदि तँ तेरा धारणा र कल्पनाहरू, तेरा त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू, र परमेश्‍वरबारेका तेरा त्रुटिपूर्ण मनोवृत्तिहरू समाधान गर्न मैले तँसँग सङ्गति गरेका वचन र विषयवस्तु प्रयोग गर्छस् भने, तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न सक्षम हुनेछस्। तर यदि तँ आफूसँग भएका समस्याहरूलाई उदासीन रूपमा लिन्छस् र तिनको वास्ता गर्दैनस्, तँ परमेश्‍वरका वचनहरूको तुलनामा आफू कस्तो छु भनी हेरेर कहिल्यै चिन्तन गर्दैनस्, र परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिमा समस्याहरू छन् भन्‍ने तँलाई स्पष्ट रूपमा थाहा छ तैपनि यो खास समस्या समाधान गर्न सत्यता खोज्दैनस् भने, मेरा वचनहरू तेरा लागि अर्थहीन भएका हुन्छन्, र तैँले ती व्यर्थमा सुनेको हुन्छस्, होइन र? (हो।) तिमीहरूको अवस्था कस्तो छ? (हामीले परमेश्‍वरका वचनहरूलाई धर्मसिद्धान्तका रूपमा लिनु हुँदैन, र हामीले वास्तविक जीवनमा ती अभ्यास गर्नुपर्छ भन्‍ने हामीलाई थाहा भए पनि, अहिले हाम्रो प्रवेश अझै पनि तुलनात्मक रूपमा सतही नै छ।) तिमीहरूको जीवन प्रवेश सतही हुनु चिन्ता गर्नुपर्ने कुरा होइन—तिमीहरूले निरन्तर सत्यता खोजेमा बिस्तारै अझ गहिरो प्रवेश हासिल गर्नेछौ। यस जगमा रहेर, बिस्तारै कामकुराहरूबारे मनन गर् र आफैलाई जाँच्, र परमेश्‍वरका वचनहरूसँग आफैलाई दाँज्, अनि त्यसपछि तेरा त्रुटिपूर्ण विचार र दृष्टिकोणहरू—र परमेश्‍वरबारेका तेरा त्रुटिपूर्ण मनोवृत्तिहरू—सच्या, र सही विचार र दृष्टिकोणहरू, र सही मनोवृत्तिका साथ परमेश्‍वरलाई व्यवहार गर्न र चिन्। यसरी, चरणबद्ध रूपमा, परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै जानेछ।

देहधारी परमेश्‍वरको विषयमा हामीले बोलेका कुराहरू अमूर्त वा खोक्रा छैनन्। यो अत्यन्तै खास छ, यसमा वास्तविक जीवन समावेश छ, र यो वास्तविक जीवनबाट पटक्कै अलग छैन, त्यसैकारण म यो खोक्रो वा अमूर्त छैन भनेर भन्छु। यदि तैँले हृदयदेखि सुनिस् र मनन गरिस् भने, तँ सत्यताको यस पक्षमा झन्-झन् स्पष्ट हुनेछस्। छोटकरीमा भन्दा, यदि कसैले परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न चाहन्छ, र एक सृजित प्राणी र सृष्टिकर्ताबीचको सामान्य सम्बन्ध स्थापित गर्न चाहन्छ भने, परमेश्‍वरलाई चिन्ने यो पाठ उसले सिक्नैपर्ने कुरा हो, र परमेश्‍वरलाई चिन्ने प्रक्रिया उसले अनुभव गर्नैपर्ने कुरा हो। परमेश्‍वरलाई चिन्ने यो पाठ दुई वटा कुराबाट सुरु हुनुपर्छ: देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकता चिन्ने, र देहधारी परमेश्‍वरबारे धारणा र कल्पनाहरू त्याग्‍ने। यो पाठ सबैभन्दा आधारभूत पक्षहरूबाट सुरु हुनुपर्छ भनेर पनि भन्न सकिन्छ। तैँले देहधारी परमेश्‍वरसँग एक सृजित प्राणी र सृष्टिकर्ताबीचको सामान्य सम्बन्ध स्थापित गरेपछि, र मानिस र परमेश्‍वरबीचको सामान्य सम्बन्ध स्थापित गरेपछि मानव दृष्टिकोण लिनेछस् र देहधारी परमेश्‍वर, उहाँका वचन र उहाँको काम, र तँप्रतिको उहाँको जस्तोसुकै मनोवृत्तिलाई पनि सही विचार र दृष्टिकोणहरूका साथ, र सही मनोवृत्तिका साथ लिनेछस्। तैँले देहधारी परमेश्‍वरसँग सामान्य सम्बन्ध—मानिस र परमेश्‍वरबीचको सम्बन्ध—स्थापित गरेपछि, परमेश्‍वरसँग खुलस्त र इमानदार हुन, उहाँप्रति आदरपूर्ण हुन, र उहाँप्रति आज्ञाकारी हुन तँलाई त्यति गाह्रो हुनु हुँदैन, होइन र? (हो।) यो मानिसले पछ्याउनुपर्ने लक्ष्य हो, र यो मानिसले अभ्यास गर्नुपर्ने सिद्धान्त पनि हो। देहधारी परमेश्‍वरसँग सामान्य सम्बन्धको स्थापना उहाँसँग अन्तरक्रिया गर्न, सङ्गत गर्न, कुराकानी गर्न, र व्यवहार गर्नबाट सुरु हुनुपर्छ। यस जगमा, तैँले देहधारी परमेश्‍वरबारेको तेरो बुझाइ बढाउनुपर्छ, उहाँसँग बारम्बार कुराकानी र सञ्चार गर्नुपर्छ, र यसरी परमेश्‍वरबारे साँचो बुझाइ र ज्ञान प्राप्त गर्नुपर्छ। यदि स्वर्गमा हुनुहुने परमेश्‍वरसँग कुराकानी गर्नु, अन्तरक्रिया गर्नु र सङ्गति गर्नु मानिसका लागि अत्यन्तै टाढाको कुरा र पहुँचभन्दा बाहिरको कुरा समेत हो, र यो अवास्तविक र अवस्तुगत पनि छ भने, मानिसले परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गरेको जगमा उहाँसँग अन्तरक्रिया, सञ्चार, र सङ्गत गर्न कसरी सक्छ त? देहधारी परमेश्‍वरले बोलिरहनुभएको र काम गरिरहनुभएको यस अवधिमा, मानिसले यी कुराहरू हासिल गर्ने अवस्थाहरू छन्; चाहे जीवनमा होस् वा काम गर्दा होस्, यी अवस्थाहरू उपलब्ध छन्। यी अवस्थाहरू उपलब्ध भएकाले, मानिसले मौका गुमाउनु हुँदैन। मानिसका लागि सृष्टिकर्तालाई कसरी सही रूपमा व्यवहार गर्ने भनेर तालिम लिने यो एउटा राम्रो अवसर हो। यदि मानिसले यस अवसरको फाइदा उठायो र यसको सदुपयोग गर्‍यो भने, उसले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई अझ व्यावहारिक तरिकाले बुझ्ने र चिन्ने अवसर र माध्यम प्राप्त गर्नेछ। त्यसपछि मानिसका लागि, स्वर्गमा हुनुहुने परमेश्‍वरलाई बुझ्नु र चिन्नु उप्रान्त अस्पष्ट र खोक्रो कुरा रहँदैन, र अवश्य नै, यो उसले सोच्न मात्रै सक्ने तर हासिल गर्न नसक्ने कुरा बन्‍न छोड्छ। मानवहरू देहधारी परमेश्‍वरको सम्पर्कमा आउने र उहाँसँग सङ्गत गर्ने क्रममा, एक हिसाबमा, तिनीहरू बिस्तारै आफैलाई चिन्छन् र परमेश्‍वरबारे तिनीहरूसँग भएका विभिन्न धारणा र कल्पनाहरूलाई चिन्न पुग्छन्। यसका साथै, तिनीहरूले बिस्तारै परमेश्‍वरको खुसी, रिस, दुःख, र आनन्द, मानिसप्रतिका परमेश्‍वरका विभिन्न मनोवृत्ति, र परमेश्‍वरले बोल्ने र काम गर्ने सिद्धान्त र तरिकाहरूबारे, साथै त्यसो गर्नुपछाडिको उहाँको उद्देश्य पनि जान्दछन्। यहाँ के महत्त्वपूर्ण छ भने, मानिसले आफ्ना आँखाले देख्ने, आफ्ना कानले सुन्ने, र आफ्नो हृदयले अनुभव गर्ने कुराहरूमार्फत उसलाई परमेश्‍वरका वचन र कार्यहरूका विभिन्न पक्ष अझ व्यावहारिक र सही रूपमा बुझ्न दिनु हो। यी अवस्थाहरूमा, मानिस परमेश्‍वरबारेका आफ्ना धारणा र कल्पनाहरूबीच जिउनेछैन। यदि परमेश्‍वर आखिरी दिनहरूमा देह नबन्नुभएको भए, मानिसले अझै पनि अनुग्रहको युगका प्रभु येशूमा विश्‍वास गरेको भए पनि, र धेरै वर्षसम्म त्यसो गरेको भए पनि, परमेश्‍वरबारे उसको बुझाइ र ज्ञान लगभग शून्य हुनेथ्यो; ऊसँग परमेश्‍वरको साँचो ज्ञान अलिकति पनि हुनेथिएन। त्यसैले, धार्मिक संसारमा परमेश्‍वरलाई साँच्चै चिन्ने कोही पनि छैन। आखिरी दिनहरूका देहधारी परमेश्‍वरलाई स्वीकार गर्नेहरूले प्राप्त गरेको परमेश्‍वरको ज्ञान फरक छ; अनुग्रहको युगमा प्रभु येशूमा विश्‍वास गर्नेहरूले भन्दा यो ज्ञान हुनेहरूले परमेश्‍वरबारे धेरै कुरा जान्दछन्। आखिरी दिनहरूका देहधारी परमेश्‍वरले लामो समयदेखि काम गरिरहनुभएको हुनाले, धेरै सत्यता व्यक्त गर्नुहुने हुनाले, ठूलो मात्रामा काम गर्नुहुने हुनाले, मानिससँग लामो समयसम्म अन्तरक्रिया, सङ्गति गर्नुभएको र जिउनुभएको हुनाले, र उहाँ धेरै प्रकारका मानिसहरूको सम्पर्कमा आउनुहुने हुनाले, फलस्वरूप, मानिसले परमेश्‍वरलाई बुझ्न र चिन्नका लागि अवस्थाहरू अझ अनुकूल छन्। अर्थात्, यस देहधारणले मानिसलाई परमेश्‍वरको सम्पर्कमा आउनका लागि अझ अनुकूल अवस्था र अवसरहरू प्रदान गर्नुभएको छ, उसलाई आफ्नै कानले परमेश्‍वरको स्वर सुन्न, र आफ्नै आँखाले परमेश्‍वरको हरेक चाल, परमेश्‍वरको हर्ष, रिस, दुःख, र खुसी, साथै परमेश्‍वरको दैनिक जीवनका विभिन्न पक्षका धेरै विवरण देख्न दिनुभएको छ। मानिस सम्पर्कमा आउन सक्ने देहधारी परमेश्‍वरको मानवताको बाहिरी रूपबाहेक, परमेश्‍वरको जीवन र उहाँको सारसँग सम्बन्धित सबै विवरण मानिसलाई परमेश्‍वरबारे अझ गहिरो र अझ सही बुझाइ प्राप्त गर्न दिनका लागि पर्याप्त हुनुपर्छ। अवश्य नै, यो अझ गहिरो र अझ सही बुझाइले मानिसलाई परमेश्‍वरसँग अझ राम्रो, अझ स्वस्थ सम्बन्ध स्थापित गर्न र विभिन्न धारणा र कल्पनाहरूबाट मुक्त हुन, परमेश्‍वरबारे उसमा भएका सबै धारणा र कल्पना फाल्न सक्षम तुल्याउनुपर्छ। होइन र? (हो।) त्यसकारण, मैले जुनसुकै विषयमा सङ्गति गरे पनि, सङ्गतिको उद्देश्य भनेको परमेश्‍वरलाई अझ राम्ररी बुझ्न र चिन्न मानिसलाई मद्दत गर्नु हो। अवश्य नै, मैले एक व्यक्तिका रूपमा देहधारी परमेश्‍वरको परिवार, उहाँले प्राप्त गरेको शिक्षा, वा उहाँ हुर्किएको वातावरणबारे कहिल्यै बोलेको छैनँ, उहाँको पारिवारिक इतिहास, उहाँको परिवारको रीतिरिवाज, उहाँको घरको वातावरण, वा उहाँको परिवारले अपनाएका निश्‍चित जीवनशैली र शैक्षिक विधिहरूबारे कुरा गर्नु त झनै परको कुरा हो। अवश्य नै, मैले तिमीहरूलाई मेरो व्यक्तित्व कस्तो छ वा मेरा आनीबानीहरू के-के हुन् भनेर कहिल्यै बताएको छैनँ, न त मैले आधारभूत आवश्यकताहरूसम्बन्धी मेरो जीवनका सानातिना विवरणहरूबारे नै कहिल्यै कुरा गरेको छु। बरु, मैले केका बारेमा कुरा गरेको छु त? (देहधारी परमेश्‍वरले आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने केही सिद्धान्तबारे।) चाहे त्यो उदाहरणहरू दिने कुरा होस्, कुनै सन्दर्भमा तथ्यहरूबारे बोल्ने कुरा होस्, वा सत्यताको कुनै पक्षबारे बोल्ने कुरा होस्, मैले समेटेका सबै कुरामा परमेश्‍वरको काम, परमेश्‍वरको सार, र परमेश्‍वरको पहिचान समावेश भएका छन्; ती सबै परमेश्‍वरबारेको मानिसको ज्ञानसँग सम्बन्धित छन्। मैले आधारभूत आवश्यकताहरूसँग सम्बन्धित केही उदाहरण पनि दिए, मेरो उद्देश्य तिमीहरूलाई म के खान्छु, म के लगाउँछु, वा मेरा आनीबानीहरू के-के हुन् भन्‍ने कुरामा ध्यान केन्द्रित गर्न लगाउनु होइन, बरु परमेश्‍वर देहमा आउनुहुँदा र मानिसहरूसँगै जिउनुहुँदा उहाँले आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने सिद्धान्तहरू के-के हुन् भनी तिमीहरूलाई जान्न मद्दत गर्नका लागि हो। मैले बताउने कुराहरूमा देहधारी परमेश्‍वरका जिउने केही तरिका समावेश भए पनि, यो तिमीहरूलाई यी कुराहरूबारे उहाँका दृष्टिकोण र सिद्धान्तहरू बुझ्न, एक हिसाबमा सिद्धान्तहरू बुझ्न र बोध गर्न, र यसका आधारमा, परमेश्‍वरको सामान्यता र व्यावहारिकता, साथै उहाँले आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने सिद्धान्तहरू अझ राम्ररी बुझ्न मद्दत गर्नका लागि हो। यी सिद्धान्तहरूका निश्‍चित विवरणहरू बुझ्नु भनेको ठ्याक्कै तिमीहरूलाई देहधारी परमेश्‍वर, यो साधारण व्यक्तिको जीवन कस्तो छ, र उहाँको जीवन परमेश्‍वरसँग कसरी सम्बन्धित छ भनेर बुझ्न सक्षम तुल्याउनु हो। म यही सिद्धान्तअनुसार सङ्गति गर्छु। मेरो उद्देश्य तिमीहरूलाई आधारभूत आवश्यकताहरूसम्बन्धी मेरा छनौटहरू, मेरो निश्‍चित जीवनशैली, वा मलाई कुन रङहरू मन पर्छ भन्‍ने कुराको नक्कल गर्न लगाउनु होइन। मेरो उद्देश्य त्यो होइन। म त तिमीहरूलाई मेरा सिद्धान्तहरू मात्र बताइरहेको छु। उदाहरणका लागि, जब म तँलाई म के खान्छु वा मेरा दैनिक बानीहरू के-के हुन् भनेर बताउँछु, तब यो तैँले मेरो नक्कल गर्न सकेस् वा कुनै निश्चित नियम पालन गर्न सकेस् भनेर होइन, बरु परमेश्‍वर पृथ्वीमा आउनुहुँदा देहधारी परमेश्‍वरको साधारणपन र सामान्यताभित्र के समावेश हुन्छ, र उहाँले आफूलाई आचरणमा ढाल्ने र कामकुराहरू गर्ने सिद्धान्तहरू के-के हुन् भनी तँलाई थाहा दिनका लागि हो। मैले दिने उदाहरणहरूमार्फत र केही तथ्यहरूमार्फत, तैँले सिद्धान्तहरू, सत्यताको यो पक्ष, र तैँले जान्नुपर्ने परमेश्‍वरको जीवन र स्वभाव बुझ्नु नै पर्याप्त हुन्छ। त्यसैले, मलाई लामो कपाल मन पर्छ कि छोटो कपाल मन पर्छ भनेर म तँलाई कहिल्यै बताउँदिनँ; म तँलाई कपाल लामो राख्नु वा छोटो राख्नुका कारण र सिद्धान्तहरू के-के हुन् भनेर मात्रै बताउँछु, ताकि तैँले सिद्धान्तहरू बुझ्न सकेस्। देहधारी परमेश्‍वरबारे यी सत्यताहरूमा सङ्गति गर्दा परमेश्‍वरको सार र परमेश्‍वरको पहिचानबारे मानिसको ज्ञान समावेश हुन्छ, र यसमा परमेश्‍वरको सामान्यता र व्यावहारिकता समावेश हुन्छ। यदि कसैले पृथ्वीमा हुनुहुने परमेश्‍वर त परमेश्‍वरको काम र वचनहरूसँग मात्रै सम्बन्धित हुनुहुन्छ, र स्वर्गमा हुनुहुने परमेश्‍वर मात्रै परमेश्‍वरका कार्यहरूसँग सम्बन्धित हुनुहुन्छ भनेर विश्‍वास गर्छ भने, के यो बोध सही हुन्छ त? (हुँदैन।) त्यसोभए के पृथ्वीमा हुनुहुने परमेश्‍वरद्वारा बोलिएका वचनहरू र गरिएको काम स्वर्गमा हुनुहुने परमेश्‍वरबाट उत्पन्न हुन्छन् त? (हुँदैनन्।) यदि तँ यसलाई यसरी बोध गर्न सक्छस् भने यो राम्रो कुरा हो। म कहाँ जन्मेको थिएँ, मेरो हुर्काइ कस्तो थियो, वा मैले कस्तो प्रकारको शिक्षा प्राप्त गरेँ भनेर मैले तिमीहरूलाई कहिल्यै बताएको छैन, न त म हुर्केको वातावरण, मैले अनुभव गरेको शैक्षिक वातावरण, वा मेरो पारिवारिक इतिहासबारे नै मैले कहिल्यै कुरा गरेको छु, गरेको छु त? (गर्नुभएको छैन।) कतिपय मानिस यसो भन्छन्, “तपाईँको परिवार कुनै प्रख्यात परिवार होइन। तपाईँ एक साधारण व्यक्ति जस्तै हुर्कनुभयो। यो कुरा गर्न लायक छैन, त्यसैले तपाईँ यसबारे कुरा उठाउनुहुन्न।” के मैले यीबारे कुरा नगर्नुको कारण यही हो त? (होइन।) त्यसोभए म किन तिनका बारेमा कुरा गर्दिनँ त? (ती कुराहरूबारे बताउनुले हामीलाई देहधारी परमेश्‍वरलाई चिन्नका लागि कुनै मद्दत गर्दैन।) देहधारी परमेश्‍वरलाई चिन्ने कुरासँग तिनको कुनै सम्बन्ध छैन, त्यसैले म तिनका बारेमा कुरा गर्दिनँ। यदि मैले ती कुराहरूबारे बताएँ भने, तिमीहरू गए हुन्छ र नसुन्दा हुन्छ। तर यदि मैले तिमीहरूलाई देहधारी परमेश्‍वरको काम, वचन, स्वभाव, र सार, साथै उहाँको जीवनका विभिन्न अभिव्यक्ति र प्रकटीकरणबारे बताएँ भने, तिमीहरूले ध्यान दिएर र गम्भीरतापूर्वक सुन्नुपर्छ। तिमीहरूले सत्यतासँग सम्बन्धित कुराहरू सुन्नैपर्छ; यो विषयवस्तु सुन्नु तिमीहरूले परमेश्‍वरलाई चिन्नका लागि उपयोगी हुन्छ। कतिपय मानिस यसो भन्छन्, “सत्यताको मेरो पछ्याइसँग परमेश्‍वरलाई चिन्नुको के सम्बन्ध छ र?” मलाई भन, के कुनै सम्बन्ध छ? (छ।) के परमेश्‍वरलाई चिन्ने कुराले सत्यताको पछ्याइलाई प्रतिस्थापन गर्न सक्छ? परमेश्‍वरलाई चिन्नु र सत्यता पछ्याउनुको बीचमा के सम्बन्ध छ? के तिमीहरूलाई सत्यतासँग मैले अहिले तिमीहरूसँग सङ्गति गरिरहेको देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकतामा प्रकट हुने कामकुराहरू गर्ने र बोल्ने सिद्धान्तहरूको कुनै सम्बन्ध छ भन्‍ने लाग्छ? (हो।) त्यसोभए सत्यता पछ्याउनुसँग परमेश्‍वरलाई चिन्नुको के सम्बन्ध छ त? (मलाई के लाग्छ भने, परमेश्‍वरलाई चिन्नु नै सत्यता पछ्याउनु हो। किनभने परमेश्‍वरलाई चिन्नुले हामीलाई परमेश्‍वरले कामकुराहरू गर्नेने विभिन्न सिद्धान्त र परमेश्‍वरले प्रकट गर्ने विभिन्न स्वभाव चिन्न दिन्छ, र हाम्रा आफ्नै कार्य र कामहरू र हामीले प्रकट गर्ने भ्रष्ट स्वभावहरूबारे चिन्तन गर्न मद्दत गर्छ। यसले हामीलाई हाम्रो अभ्यासका लागि एउटा दिशा पनि प्रदान गर्छ। यो एउटा कुरा हो। अर्को कुरा के हो भने, परमेश्‍वरलाई चिन्नुले मानिसलाई सत्यता पछ्याउन प्रेरित गर्न सक्छ। जब कसैसँग परमेश्‍वरको सार र स्वभावबारे केही ज्ञान हुन्छ, तब उसको हृदयमा सकारात्मक चाहना र सङ्कल्प उत्पन्न हुनेछ—उसले परमेश्‍वरलाई अझ बढी चिन्न चाहनेछ, र ऊ सत्यता पछ्याउने मार्गमा लाग्न चाहनेछ—र उसले बिस्तारै आफ्ना भ्रष्ट स्वभावहरू फाल्नेछ र ऊ परमेश्‍वरद्वारा माग गरिएको स्वरूपमा जिउनेछ। त्यसकारण, मलाई के लाग्छ भने, परमेश्‍वरलाई चिन्नु नै सत्यता पछ्याउनु हो, र यसले मानिसलाई सत्यता पछ्याउन प्रेरित गर्न सक्छ।) जब कसैले परमेश्‍वरको ज्ञान पछ्याइरहेको हुन्छ, तब उसले वास्तवमा सत्यता पनि पछ्याइरहेको हुन्छ; उसले सत्यतालाई गम्भीरतापूर्वक लिइरहेको हुन्छ, र परमेश्‍वर कसरी काम गर्नुहुन्छ र परमेश्‍वर विभिन्न क्षेत्रमा के माग गर्नुहुन्छ भनेर ठ्याक्कै देखिरहेको हुन्छ। मानिसले यी कुराहरू विस्तृत रूपमा बुझेपछि, ऊसँग आफ्नो अभ्यासमा अझ स्पष्ट लक्ष्य र अझ सही दिशा हुनेछ। परमेश्‍वरको ज्ञान पछ्याउनु आफैमा सत्यता पछ्याउनु हो—यो भनाइ गलत होइन, र यी दुई कुरा एक-अर्कासँग बाझिँदैनन्। त्यसोभए, के सत्यता पछ्याउनुले तँलाई परमेश्‍वरलाई चिन्न दिन सक्छ? (सक्छ।) सत्यता पछ्याउँदै गर्दा, तँ बिस्तारै परमेश्‍वरलाई पनि चिन्न पुग्छस्। सत्यता पछ्याउने प्रक्रिया नै सत्यता अभ्यास गर्ने प्रक्रिया हो। सत्यता अभ्यास गर्दा, तैँले बिस्तारै परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरले तँसँग गरेका मागहरू बुझ्छस्, र निश्‍चित मामिलाहरूमा परमेश्‍वरले माग गरेका मानक, चाहना, र अभिप्रायहरू के-के हुन् भनेर बुझ्छस्। यी कुराहरू बुझेपछि, तँ बिस्तारै परमेश्‍वरलाई चिन्न पुग्छस्। बुझ्ने यो प्रक्रिया नै परमेश्‍वरलाई चिन्ने प्रक्रिया हो। यी दुई कुराहरू एक-अर्काका परिपूरक हुन्; यी दुईमध्ये कुनै पनि कुरा एक्लै अस्तित्वमा हुँदैन। तँसँग सत्यताको जुनसुकै पक्षबारे साँचो अनुभव, ज्ञान, र बोध भए पनि, तैँले सत्यताको जुनसुकै पक्षमा यी लाभहरू प्राप्त गरे पनि, तैँले प्राप्त गर्ने कुरामा परमेश्‍वरको ज्ञान पनि समावेश हुनेछ। जब तँसँग सत्यताको अनुभव र ज्ञान हुन्छ, तब तँसँग परमेश्‍वरको ज्ञान र बुझाइ पनि हुन्छ। तँसँग परमेश्‍वरको ज्ञान भएपछि, तँ परमेश्‍वरका अभिप्रायहरू र परमेश्‍वरले माग गरेका मानकहरूबारे अझ बढी निश्चित हुन सक्छस्। त्यसपछि, सत्यता अभ्यास गर्दा, तँ अझ सटीक हुनेछस्, र तैँले धारणा र कल्पनाहरूलाई पक्रिरहेको हुनेछैनस्; तँलाई परमेश्‍वरका अभिप्रायहरू के हुन् र परमेश्‍वर तँलाई के गर्न लगाउनुहुन्छ भन्‍ने स्पष्ट रूपमा थाहा हुनेछ। परमेश्‍वरलाई चिन्‍नु र सत्यता पछ्याउनु एक-अर्काबाट अलग छैनन्, र ती एक-अर्कासँग बाझिँदैनन्; बरु, ती एक-अर्काका परिपूरक हुन्। त्यसकारण, देहधारी परमेश्‍वरलाई चिन्नु सत्यताको तेरो पछ्याइ र अभ्यासका लागि उपयोगी र लाभदायी हुन्छ। यसले यस सन्दर्भमा प्रेरक-शक्तिका रूपमा काम गर्न सक्छ। यसभन्दा पहिले, धेरै मानिसले यस्तो सोचेका थिए, “अब मसँग देहधारी परमेश्‍वरद्वारा व्यक्त गरिएका यी वचनहरू छन्, त्यसैले मैले परमेश्‍वरलाई प्राप्त गरेको छु। कुराहरूको सामना गर्दा, मैले यी वचनहरूअनुसार अभ्यास गर्नु मात्र आवश्यक छ। मसँग परमेश्‍वरको बुझाइ वा ज्ञान नभए पनि, ठीकै छ; यसले मेरो सत्यताको अभ्यासलाई असर गर्नेछैन।” तर जब तिनीहरूले वास्तविक जीवनमा सत्यता अभ्यास गर्ने प्रयास गरे, तब तिनीहरू सबैले के महसुस गर्न सके भने, परमेश्‍वरले अत्यन्तै निश्‍चितताका साथ बोल्नुभएको भए पनि, र उहाँका वचनहरूबाट तिनीहरूले धेरै निश्‍चित मामिलाका लागि अभ्यासका सिद्धान्तहरू र परमेश्‍वरले माग गरेका मानकहरू के-के हुन् भनी बुझ्न सके पनि, तिनीहरूको दैनिक जीवनमा तिनीहरूलाई आइपरेका धेरै कुराको हकमा, तिनीहरूमा अझै पनि निश्चितताको कमी थियो। यसरी कामकुराहरू गर्नु सही हो, वा यसरी कामकुराहरू गर्नु परमेश्‍वरका अभिप्रायहरूअनुरूप छ भन्‍ने कुरामा तिनीहरू शतप्रतिशत निश्चित हुँदैनथे। तर जब तँ देहधारी परमेश्‍वरले आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सटीक सिद्धान्तहरू बुझ्छस्, तब तँलाई पूर्ण रूपमा सहज महसुस हुनेछ। फेरि त्यस्तै कुराहरूको सामना गर्छस्, तैँले तिनलाई पहिले झैँ सम्हाल्नेछैनस्, जुवा खेले जसरी अनुमानका आधारमा काम गर्नेछैनस्, र आफूले गरेको कुरा सही थियो कि गलत थियो भनेर पछि तँलाई थाहा नहुने अवस्था हुनेछैन। देहधारी परमेश्‍वरले बोल्ने र काम गर्ने सिद्धान्तहरू बुझेर, परमेश्‍वरबारेका मानिसका धारणा र कल्पनाहरू उसले थाहै नपाई घट्नेछन् र कम हुनेछन्, र ती बिस्तारै समाधान हुनेछन्। अर्थात्, जब तँ देहधारी परमेश्‍वरलाई चिन्छस्, र विशेष गरी जब तँ उहाँले आफूलाई आचरणमा ढाल्ने र कार्य गर्ने सिद्धान्त र तरिकाहरू थाहा पाउँछस्, तब तँसँग सत्यता अभ्यास गर्न र जीवनका सबै प्रकारका कुरा सम्हाल्नका लागि अझ सटीक लक्ष्य र दिशा हुनेछ। जब परमेश्‍वर देह बन्नुभएको थिएन र स्वर्गमा हुनुहुने परमेश्‍वर वा पवित्र आत्माले नै मानिसमा काम गरिरहनुभएको थियो, तब मानिसले यी कुराहरूको जवाफ कहिल्यै पाउँदैनथ्यो, न त उसले मानिसले बुझ्नुपर्ने मानव जीवनका विभिन्न निश्‍चित समस्या बुझेर स्वर्गमा हुनुहुने परमेश्‍वरबाट कुनै लाभ नै प्राप्त गर्थ्यो। मानिसले केही नियम र आज्ञा पालन गर्न सके पनि, सत्यता सिद्धान्तहरू र उसले हिँड्ने मार्गको हकमा भन्दा, यदि परमेश्‍वर काम गर्न र बोल्न देहधारी नहुनुभएको भए, मानवजातिले तिनलाई कहिल्यै चिन्न वा बुझ्न सक्नेथिएन। मानिसले तिनलाई पवित्र आत्माको प्रबोधनबाट प्राप्त गर्न सक्दैन, न त उसले तिनलाई स्वर्गमा हुनुहुने परमेश्‍वरबाट नै प्राप्त गर्न सक्छ। मानिसले जिउन र बाँच्नका लागि बुझ्नैपर्ने यी सत्यता सिद्धान्तहरू देहधारी परमेश्‍वरबाट प्राप्त गर्नु नै एक मात्र मार्ग हो। छोटकरीमा भन्दा, देहधारी परमेश्‍वरलाई चिन्नु भनेको परमेश्‍वरलाई चिन्ने मार्ग हो, परमेश्‍वरलाई बुझ्ने एउटा मार्ग हो, र अझ बढी, मानिसले परमेश्‍वरसँग सम्बन्ध स्थापित गर्न वा कायम राख्नका लागि आवश्यक मार्ग हो।

पछिल्लो पटक, हामीले देहधारी परमेश्‍वरलाई भ्रष्ट मानवजातिसमान नराख्‍नु भन्‍ने बृहत् विषयभित्र समावेश रहेको “परमेश्‍वरले मानिसलाई प्रलोभनमा पार्नुहुन्न” भन्‍ने विषयमा सङ्गति गरेका थियौँ। हामी कहाँ पुगेर रोकिएका थियौँ? (परमेश्‍वरले मानिसलाई प्रलोभनमा नपार्ने कुराका तीन वटा निश्‍चित प्रकटीकरणहरूका बारेमा सङ्गति गर्नुभयो: मानिसबाट कुरा नफुत्काउने, मानिसलाई नउक्साउने, र मानिसलाई नभड्काउने। हामीले मानिसलाई नभड्काउने विषयको सङ्गति पूरा गर्‍यौँ।) यी तीन वटा विषयहरू—मानिसबाट कुरा नफुत्काउने, मानिसलाई नउक्साउने, र मानिसलाई नभड्काउने—यी सबैमा परमेश्‍वरले मानिसलाई प्रलोभनमा नपार्ने कुराका निश्‍चित प्रकटीकरणहरू समावेश हुन्छन्। हाम्रो पछिल्लो सङ्गतिपछि के तिमीहरूले कुनै चिन्तन गर्‍यौ? मैले यतिका वर्षहरूमा तिमीहरूलाई भनेका कुराहरू हेर—के तिनले मानिसलाई प्रलोभनमा नपार्ने परमेश्‍वरको सिद्धान्तलाई प्रतिबिम्बित गर्छन्? (गर्छन्। परमेश्‍वरले हामीसँग बोल्दा हामीबाट कुरा फुत्काउने प्रयास कहिल्यै गर्नुभएको छैन। तपाईं सधैँ सीधा कुरा गर्नुहुन्छ। तपाईं हामीलाई धैर्यपूर्वक र क्रमिक रूपमा निर्देशन दिनुहुन्छ, सधैँ हामीलाई मार्गदर्शन गर्नुहुन्छ र हाम्रो भरणपोषण गर्नुहुन्छ, अनि हामीलाई सहयोग र मद्दत गर्नुहुन्छ।) तिमीहरूसँग बोल्दा मैले लागू गर्ने एउटा सिद्धान्त भनेको तिमीहरूलाई प्रलोभनमा नपार्नु हो, र त्यसका निश्‍चित प्रकटीकरणहरू तिमीहरूबाट कुरा नफुत्काउनु, तिमीहरूलाई नउक्साउनु, र तिमीहरूलाई नभड्काउनु भन्‍ने हुन्। कहिलेकाहीँ म तिमीहरूलाई केही कुराहरूका बारेमा सोध्न सक्छु, तर यसमा पटक्कै कुनै प्रलोभन हुँदैन। त्यसैले, जब तैँले परमेश्‍वरलाई गलत बुझ्छस्, तब तैँले यस्तो मनन गर्नुपर्छ, “परमेश्‍वरका कुनै पनि वचनहरूमा प्रलोभनमा पार्ने वा कुरा फुत्काउने काम हुँदैन। मैले परमेश्‍वरलाई गलत बुझ्नु हुँदैन। परमेश्‍वरका वचनहरूको शाब्दिक अर्थ नै उहाँको अभिप्राय हो। परमेश्‍वरले मलाई जे सोध्नुभए पनि, म सत्यतापूर्वक जवाफ दिनेछु र उहाँलाई खुलस्त र इमानदार रूपमा बताउनेछु। मलाई जति थाहा छ म त्यति नै भन्‍नेछु, र यदि मलाई केही कुरा थाहा छैन भने, म त्यति नै भन्‍नेछु, र मैले जवाफ दिनुभन्दा पहिले यसबारे बुझ्नुपर्छ भनेर परमेश्‍वरलाई बताउनेछु।” खुलस्त र इमानदार हुनु भनेको यही हो। तिमीहरूसँग बोल्दा र मामिलाहरू सम्हाल्दा, यदि मैले तिमीहरूले कठिनाइहरू सामना गरिरहेका छौ भन्‍ने देखेँ वा मैले तिमीहरूमा कुनै समस्याहरू पत्ता लगाएँ भने—ती तिमीहरूले आफ्नो कर्तव्य पूरा गर्दाका समस्याहरू भए पनि वा तिमीहरूको मानवताका समस्याहरू भए पनि—म तिमीहरूसँग कुराकानी गर्ने अवसर खोज्नेछु। यसो गर्नुको पछाडि मेरो उद्देश्य भनेको तिमीहरूलाई तिमीहरूका समस्याहरूको सार के हो भन्‍ने कुरा स्पष्ट रूपमा देख्‍न मद्दत गर्नु हो, ताकि तिमीहरूले तिनलाई जानेपछि तिनलाई समाधान गर्न सक। तँलाई तेरा समस्याहरू समाधान गर्न मद्दत गर्नुको पछाडि मेरो उद्देश्य भनेको, एकातिर, तेरो मानवताका अवगुण वा समस्याहरू सुधार होऊन्, र तैँले भ्रष्ट स्वभावहरूअनुसार नजिइकन मानव रूपमा जिउन सक् भन्‍ने हो। अर्को हिसाबमा, यो तैँले आफ्नो कर्तव्य अझ राम्ररी पूरा गर् भनेर हो। मेरो उद्देश्य तँलाई परमेश्‍वरको घरका लागि मेहनत लगाउन प्रयोग गर्नु होइन, तर तँलाई अझ सहज रूपमा, मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न, अवरोध र बाधा नपुर्‍याउन, तैँले गर्नुपर्ने कुराहरू आफ्नो उत्कृष्ट क्षमताअनुसार गर्न, आफ्नो भूमिका निर्वाह गर्न, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न मद्दत गर्नु हो। यदि तेरो मानवतामा समस्याहरू छन् भने, म तँलाई तिनका बारेमा छोटकरीमा बताउनेछु। यदि तैँले यसलाई स्वीकार गर्न सकिस् भने, त्यो स्वाभाविक रूपमा नै सबैभन्दा राम्रो कुरा हो; यदि तैँले त्यस बेला यसलाई स्वीकार गर्न सकिनस् भने, म तँलाई जानकारी दिन मेरो आफ्नै तरिका प्रयोग गर्नेछु, ताकि तेरा समस्याहरू के हुन् भन्‍ने तँलाई थाहा होस्। छोटकरीमा भन्दा, मेरो उद्देश्य सधैँ तँलाई सहयोग र मद्दत गर्नु हो। मेरो अभिप्राय तँलाई गलत वा दुष्ट मार्गमा हिँड्न प्रलोभनमा पार्ने, तँलाई पतित बनाउने वा दुष्टता गर्न लगाउने भन्‍ने कहिल्यै हुँदैन। मेरो उद्देश्य तँलाई मद्दत गर्नु मात्रै हुन्छ; मेरो अभिप्राय असल छ, र यसको पछाडिको अभिप्राय सही र सकारात्मक छ। अवश्य नै, जब म यी वचनहरू बोल्छु र यी कुराहरू गर्छु, तब यसमा कुनै जबरजस्ती गर्ने कुरा समावेश हुँदैन। अर्थात्, तैँले यी वचनहरू सुनेपछि, तँ मद्वारा बाँधिनु हुँदैन। मैले तेरो मानवताका समस्याहरूका बारेमा निश्‍चयताका साथ बोले पनि वा तैँले आफ्नो कर्तव्य निर्वाह गर्दाका समस्याहरूलाई विश्लेषण गरे पनि, तैँले अझै पनि यसो भन्‍न सक्छस्, “तपाईंले ममा खुलासा गर्नुभएका यी समस्याहरूलाई मैले अझै पहिचान गर्न सकेको छैन; मैले तिनमा चिन्तन गर्नुपर्छ।” म भन्छु, तैँले यसरी चिन्तन गर्नुपर्छ, वा सबैसँग यस समस्याको बारेमा सङ्गति गर्नुपर्छ। म तँलाई मेरा व्यक्तिगत इच्छाहरूअनुसार केही गर्न जबरजस्ती माग गर्दिनँ; बरु, म तँलाई पर्याप्त स्वतन्त्रता दिन्छु। जब म तेरा समस्याहरू खुलासा गर्छु, तब मैले तँलाई सचेत गराइरहेको हुन्छु। तँलाई सचेत गराउने यो विधिमा अस्पष्ट रूपमा बोल्ने कुरा समावेश हुँदैन, तर तैँले देखाउने र प्रदर्शन गर्ने शब्द वा व्यवहारहरूलाई खुलासा गरेर कुनै तथ्यको बारेमा सङ्गति गर्ने कुरा समावेश हुन्छ, ताकि तँमा साँच्चै यी समस्याहरू छन् भन्‍ने कुरा तँलाई थाहा होस्। म तँलाई स्पष्ट र सीधा रूपमा बताउनेछु। तैँले मलाई उच्च दृष्टिकोणले हेर्न सक् भनेर म तँलाई गलत भ्रममा पार्न, तँलाई नकारात्मकता, कमजोरी, र अन्योलमा पार्न, वा मेरा वचनहरू अत्यन्तै गहन, बुझ्न गाह्रो, र बुझ्‍न नसकिने छन् भन्‍ने तँलाई महसुस गराउनका लागि अस्पष्ट शब्दहरू पटक्कै प्रयोग गर्नेछैनँ। म त्यसो गर्नेछैनँ। म तँलाई सीधा र स्पष्ट रूपमा बताउनेछु; म घुमाउरो कुरा गर्नेछैनँ र तँलाई अनुमान लगाउने अवस्थामा छोड्नेछैनँ। उदाहरणका लागि, कतिपय मानिसहरू अत्यन्तै भावुक हुन्छन् र कुरा थपेर बोल्ने प्रवृत्तिका हुन्छन्। म तिनीहरूलाई सीधा भन्छु, “तेरा शब्दहरूमा अत्यन्तै मिसावट छ, तँ पूर्ण रूपमा आफ्ना भावनाहरूका आधारमा बोल्छस्, र तैँले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनस्। तँ मान्छे खुसी पारिहिँड्ने व्यक्ति मात्रै होस्।” म यति नै सीधा छु। जब कतिपय मानिसहरूलाई कुनै परिस्थितिको सामना गर्दा कसरी अभ्यास गर्ने भन्‍ने थाहा हुँदैन, तब म तिनीहरूलाई सीधै भन्छु, “यस मामिलामा, तैँले यसरी काम गर्नुपर्छ; त्यस मामिलाका लागि, यसरी अभ्यास गर्।” म तिनीहरूलाई कुरा बताउँदा यति नै स्पष्ट हुन्छु। यो सुनेपछि, कामकुराहरूमा आफ्नो हृदय लगाउने मानिसहरू र विवेकी मानिसहरूले स्पष्ट रूपमा बुझ्न सक्छन्; तिनीहरू अन्योलमा पर्दैनन् वा भ्रमित हुँदैनन्, र तिनीहरूले के गर्नुपर्छ भन्‍ने कुरा हृदयमा साँच्चै थाहा पाउँछन्। अवश्य नै, विकृत बोध सामर्थ्य भएका कतिपय अन्योलमा परेका मानिसहरू मलाई यसरी बोलेको सुनेपछि अन्योलमा पर्छन्। तिनीहरूले सुन्‍नलाई जतिसुकै प्रयास गरे पनि, तिनीहरूले यसलाई बुझ्न वा सिद्धान्तहरू बुझ्न सक्दैनन्; मैले तिनीहरूलाई अझै पनि उदाहरणहरू दिनु र कुराहरू विस्तृत रूपमा व्याख्या गर्नुपर्ने आवश्यक हुन्छ। तर मैले उदाहरण दिएर तिनीहरूलाई फेरि सिकाए पनि, तिनीहरूले अझै बुझ्न सक्दैनन् र कसरी अभ्यास गर्ने भन्‍ने जान्दैनन्। मैले कुराहरू स्पष्ट रूपमा व्याख्या नगरेकोले यस्तो भएको होइन, तर तिनीहरूको क्षमता अत्यन्तै कमजोर भएकोले र तिनीहरू आफै अत्यन्तै अन्योलमा परेकाले यस्तो भएको हो। छोटकरीमा भन्दा, मेरो बोल्ने सिद्धान्त भनेको, तिमीहरूले मेरो कुरा सुनेपछि, तिमीहरू भ्रमित नहोओ, र तिमीहरूको मनमा अभ्यासको स्पष्ट मार्ग होस्, र सही रूपमा कसरी अभ्यास गर्ने भन्‍ने तिमीहरूले जान भन्‍ने हो। तिमीहरूसँग बोल्नुको पछाडि मेरो उद्देश्य यही हो।

मानिसलाई प्रलोभनमा नपार्ने यस सिद्धान्तभित्र, यी तीन वटा प्रकटीकरणहरू—मानिसबाट कुरा नफुत्काउने, मानिसलाई नउक्साउने, र मानिसलाई नभड्काउने—बाहेक अर्को एउटा प्रकटीकरण छ: अस्पष्ट नहुने। अस्पष्ट हुनुको अर्थ के हो? यसको अर्थ सुन्दा सही लाग्ने तर गलत कुराहरू भन्‍नु, स्पष्ट र निसन्देह रूपमा नबोल्नु, कुराहरूलाई धमिलो सुनिने बनाउनु, र सुन्दा सही लाग्ने तर अभ्यास गर्न वा लागू गर्न नसकिने, र केवल खोक्रा कुराहरू मात्रै भएका वचनहरू बोल्नु हो। यसलाई अस्पष्ट र धमिलो हुनु भनिन्छ। त्यसोभए, अस्पष्ट नहुनुको अर्थ व्यक्तिका वचनहरू यी गुणहरूबाट मुक्त हुन्छन् र तिनमा यो सार हुँदैन भन्‍ने हो; बरु, ती स्पष्ट र सरल हुन्छन्, तिनको अर्थ सटीक हुन्छ, र तिनले मानिसलाई पछ्याउने मार्ग दिन्छन्। हेर् त, जब म सत्यताका विभिन्न पक्षहरूका बारेमा सङ्गति गर्छु, तब हरेक पटक मैले नयाँ विषय प्रस्तुत गर्दा, म पहिले तँलाई सत्यताको यस पक्षको परिभाषा प्रदान गर्ने प्रयास गर्छु। तँलाई परिभाषा प्रदान गर्नुको पछाडि मेरो उद्देश्य के हुन्छ? यो तँलाई अवधारणा स्पष्ट पार्नु, र तँलाई मैले बोलिरहेको सत्यताको सटीक परिभाषा जान्न सक्षम तुल्याउनु भन्‍ने हुन्छ। तँ यस सटीक परिभाषामा स्पष्ट भएपछि र तैँले यसलाई ठम्याउन सकेपछि, तँसँग एउटा लक्ष्य र मार्गदर्शन हुनेछ। मैले मानिसलाई प्रदान गर्ने परिभाषाहरूमार्फत मानिसमा यो परिणाम हासिल गरेपछि, उसले के अभ्यास गर्नुपर्छ र के पालन गर्नुपर्छ भन्‍ने कुराप्रति ऊ आफ्नो हृदयमा अझ स्पष्ट रूपमा जान्न सक्षम हुन्छ। त्यसपछि, म केही निश्‍चित उदाहरणहरू दिन्छु। उदाहरणहरू दिनुको पछाडि मेरो उद्देश्य मानिसलाई सत्यताको यस पक्षमा अझ बढी स्पष्टता प्राप्त गर्न मद्दत गर्नु, उसलाई यसको सटीक ज्ञान प्राप्त गर्न मद्दत गर्नु, र यसलाई कसरी अभ्यास गर्ने भन्‍ने कुरा जान्न उसलाई मद्दत गर्नु भन्‍ने हुन्छ। त्यसपछि, मैले बोलेको कुराले यसको प्रभाव र यसको उद्देश्य हासिल गरेको हुनेछ। यो उद्देश्य हासिल गर्ने सबैभन्दा उत्तम तरिका के हो? यो तँलाई परिभाषा र उदाहरणहरूमार्फत, तैँले कस्ता सत्यता सिद्धान्तहरू पालन गर्नुपर्छ भन्‍ने कुरा सिकाउनु हो। आत्मिक बुझाइ नभएका र छलफल भइरहेको कुराभित्रका सत्यता सिद्धान्तहरू बुझ्न नसक्ने, केवल निश्चित प्रावधानहरू कसरी पालन गर्ने भन्‍ने मात्रै जान्ने मानिसहरू धेरै भए पनि, कम्तीमा पनि, तिनीहरूले पालन गर्ने प्रावधानहरूचाहिँ स्पष्ट हुन्छन्। उदाहरणका लागि, सत्यता सिद्धान्तहरूको कुनै निश्चित पक्षमा सङ्गति गर्दा, मानिसले निश्चित कुराहरू खानु अस्वस्थकर हुन्छ, र मानिसले गर्ने निश्चित छनौटहरू र उसले गर्ने निश्चित कुराहरू गलत हुन्छन् भन्दै म केही उदाहरणहरू दिन सक्छु। त्यसपछि आत्मिक बुझाइ र बोध सामर्थ्य भएका मानिसहरूले यसो भनेर जान्नेछन्, “त्यसोभए यस प्रकारको कुराको सटीक बुझाइ यही हो। मलाई अब सिद्धान्तहरू थाहा भयो, र कसरी अभ्यास गर्ने, कसरी छनौट गर्ने, र के स्वीकार गर्ने वा के इन्कार गर्ने भन्‍ने थाहा भयो।” तर, जब आत्मिक बुझाइ नभएका मानिसहरूले यो सुन्छन्, तब तिनीहरूले भन्छन्, “मैले बुझेँ। परमेश्‍वरले हामीलाई यो खान दिनुहुन्न, र उहाँले हामीलाई त्यो प्रयोग गर्न दिनुहुन्न।” आत्मिक बुझाइ नभएका यी मानिसहरूका प्रकटीकरणहरूले पनि केही कुरा चित्रण गर्छन्: तिनले मैले दिने उदाहरणहरू अत्यन्तै निश्‍चित हुन्छन् र ती मानिसले आफ्नो वास्तविक जीवनमा सामना गर्न सक्ने कुराहरू हुन् भन्‍ने देखाउँछन्। ती पटक्कै खोक्रा हुँदैनन्, र ती सैद्धान्तिक कुराहरू, नारा, वा गहन ज्ञान होइनन्।

देहधारी परमेश्‍वरले अस्पष्ट वा धमिलो रूपमा बोल्नुहुन्न; मैले भेलाहरूमा सङ्गति गर्दा मात्रै होइन, तर मैले सामान्य रूपमा तिमीहरूसँग बोल्दा पनि यही कुरा लागू हुन्छ। कहिलेकाहीँ म तिमीहरूका कर्तव्यहरूका बारेमा कुरा गर्छु, कहिलेकाहीँ म मण्डलीको कामको बारेमा कुरा गर्छु, र कहिलेकाहीँ म मानिसका भ्रष्ट स्थितिहरू र उसको अभ्यासमा हुने विचलनहरूका बारेमा कुरा गर्छु। मैले जुनसुकै विषयमा सङ्गति गरे पनि, म सधैँ मेरो सङ्गतिलाई तिमीहरूका स्थितिहरू, तिमीहरूको कद, र तिमीहरूका अहिलेका समस्याहरूमा आधारित गर्छु। जब म तिमीहरूसँग सङ्गति गर्छु, तब म कहिल्यै नारा लगाउँदिनँ; बरु, म निश्‍चित स्पष्टीकरणहरू प्रदान गर्छु र कुराहरूलाई विस्तृत रूपमा व्याख्या गर्छु, त्यसपछि तिमीहरूका लागि एउटा मार्ग औँल्याउँछु। कहिलेकाहीँ म यति धेरै बोल्छु, मलाई आफैलाई समेत म लामो बोलिरहेको छु जस्तो लाग्छ, तर अन्त्यमा, तिमीहरूले अझै पनि यो कुरालाई बुझ्छौ। यो निकै राम्रो परिणाम हो। यसो भन्नुको पछाडि मेरो तात्पर्य के हो? मेरो तात्पर्य के हो भने, जब म दैनिक जीवनमा तिमीहरूसँग कुनै कुरामा सङ्गति गर्छु, तब त्यो सङ्गतिमा तिमीहरूलाई एउटा साधारण काममा खटाउने कुरा मात्रै समावेश भए पनि, म आफूले भनेको कुरा तिमीहरूलाई स्पष्ट भएको छ र तिमीहरूले कुनै अस्पष्टताविना यसलाई बुझेका छौ भन्‍ने कुरा सुनिश्‍चित गर्छु। मेरा वचनहरूमा कुनै अस्पष्टता हुँदैन भन्नुको अर्थ के हो? यसको अर्थ म ठूला-ठूला विचारहरू फलाक्दिनँ, म हाकिमले जस्तो बोल्दिनँ, र म शब्द र धर्मसिद्धान्तहरू, वा खोक्रा, धाक लगाउने कुराहरू बोल्दिनँ। मैले भन्ने कुराको अर्थ निश्चित र स्पष्ट हुन्छ, त्यसमा कुनै धमिलोपन हुँदैन। म स्पष्ट र सरल रूपमा बोल्ने मात्रै होइन, तर म कसरी अभ्यास गर्ने भन्‍ने कुरा पनि तिमीहरूलाई सिकाउँछु। उदाहरणका लागि, विदेशमा बस्दा, यदि हामीले आँगनमा दैनिक प्रयोगका लागि केही संरचनाहरू बनाउनुपर्‍यो भने, म यो काम सम्हाल्ने व्यक्तिलाई त्यस्ता संरचनाहरू बनाउनका लागि के-कस्ता आवश्यकता र सर्तहरू छन् भनेर सरकारसँग परामर्श लिनू भनेर भन्‍नेछु। उसले सबै कुरा स्पष्ट रूपमा बुझेपछि, उसले सरकारले माग गरेका सर्त र तोकिएका कुराहरूअनुसार कडाइका साथ संरचनाहरू बनाउनुपर्छ। यदि हामीले सरकारले माग गरेका सर्तहरू पूरा गर्न सक्दैनौँ भने, हामीले ती नबनाउने निर्णय गर्न सक्छौँ। यो मामिला सम्हाल्दा, म त्यस व्यक्तिलाई केही ध्यान दिनुपर्ने कुराहरू बताउँछु, र उसले सायद नसोचेका केही विशेष परिस्थितिहरूलाई कसरी सम्हाल्ने भनेर पनि निर्देशन दिन्छु। म सबै कुरा स्पष्ट रूपमा भन्छु, र उसले मेरो कुरा सुनेपछि मामिलालाई कसरी सम्हाल्ने भन्‍ने कुरा जान्दछ। जब कतिपय मानिसहरूले अरूलाई काम खटाउँछन्, तब तिनीहरू अस्पष्ट र धमिलो रूपमा बोल्छन्; तिनीहरूले हाकिमले जस्तो बोल्ने र धर्मसिद्धान्त र खोक्रा कुराहरू निकाल्ने बाहेक केही गर्दैनन्। उदाहरणका लागि, जब तिनीहरूले कसैलाई कुनै कुरा सम्हाल्न सरकारी विभागमा जाने प्रबन्ध गर्छन्, तब तिनीहरूले यसो मात्रै भन्छन्, “सरकारकहाँ जाऊ र के-कस्ता प्रावधानहरू छन् भनेर सोधपुछ गर।” यो सुनेपछि, मामिला सम्हाल्ने व्यक्तिलाई के गर्ने वा उसले यस मामिलाको बारेमा कसरी सोधपुछ गर्नुपर्छ भन्‍ने थाहा हुँदैन; उसले त्यत्तिकै सोधपुछ गर्छ र कुरा त्यत्ति नै हुन्छ, र अन्त्यमा कुनै परिणाम हासिल गर्दैन। के मानिसहरूलाई यसरी काममा खटाउनु हाकिमले जस्तो व्यवहार गर्नु होइन र? (हो।) जब मैले निश्‍चित काम गरिरहेको हुन्छु, तब म काममा रहेका समस्याहरू, साथै पूर्वानुमान गर्न सकिने समस्याहरू र तिमीहरूले उठाउने समस्याहरूका बारेमा एक-एक गरी सङ्गति गर्नेछु र तिनलाई समाधान गर्नेछु। प्रत्येक समस्यामा सङ्गति गर्दा, एक हिसाबमा, म यसलाई सत्यता सिद्धान्तहरूअनुसार समाधान गर्ने लक्ष्य राख्छु; र यसका साथै, जब केही विशेष परिस्थितिहरू समावेश हुन्छन्, तब म तिनलाई सम्हाल्नेछु र सोहीअनुसार तिनमा सङ्गति गर्नेछु। मैले प्रस्तुत गर्ने सिद्धान्तहरू र मैले सङ्गति गर्ने विषयवस्तु कहिल्यै अस्पष्ट हुँदैनन्। कम्तीमा पनि, मेरो मनसाय भनेको स्पष्टताका लागि प्रयास गर्नु, तँलाई एउटा बृहत् सिद्धान्त दिनु हो ताकि तैँले त्यस्ता कुराहरूको सामना गर्दा, तैँले यो सिद्धान्त लागू गर्न र यसअनुसार काम गर्न सक्। यसले तँसँग पछ्याउने मार्ग छ, र दैनिक जीवनमा कुराहरूको सामना गर्दा तँ अलमल्ल पर्दैनस्, तर समस्याहरू कसरी सम्हाल्ने र काम कसरी गर्ने भन्‍ने तँलाई थाहा हुन्छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्छ। म तँलाई भ्रमित पार्न वा दबाउनका लागि सुन्दा सही लाग्ने धर्मसिद्धान्त र सैद्धान्तिक कुराहरूका बारेमा ठूला-ठूला भाषणहरू दिँदिनँ, वा तँलाई स्वीकार गर्न लगाउन र अधीनमा बस्‍न लगाउनका लागि सुन्दा सही लाग्ने ज्ञान वा सैद्धान्तिक कुराहरू सिकाउँदिनँ; म यस्तो कुरा गर्दिनँ। मैले मानिसहरूलाई मेरो अगाडि बसाएर सैद्धान्तिक कुराहरूका बारेमा धाक लगाएर बोलेको, अनि मैले बोलिसकेपछि तिनीहरू सबैलाई पूर्ण रूपमा अन्योलमा पारेको, तिनीहरूले केही बुझेको र प्राप्त गरेको जस्तो महसुस गराएको, तैपनि कुनै पनि समस्या समाधान नभएको जस्तो महसुस गराएको, र सङ्गतिका यी केही घण्टाहरू समयको बरबादी थिए भन्‍ने बोध तिनीहरूलाई गराएको कहिल्यै छैन। म यसो गर्दिनँ। यदि तिमीहरूसँग समस्याहरू छन् भने, म तिनलाई समाधान गर्छु; यदि तिमीहरूका कुनै समस्याहरू छैनन् भने, म तिमीहरूलाई बाधा नदिनका लागि सक्दो प्रयास गर्छु। मैले तिमीहरूलाई भन्ने कुराहरू सबै अत्यन्तै निश्‍चित हुन्छन्। उदाहरणका लागि, जब भजनको काममा समस्याहरू हुन्छन्, तब म तिमीहरूसँग भजनसम्बन्धी समस्याहरूका बारेमा नै सङ्गति गर्छु। मैले यस क्षेत्रमा सान्दर्भिक पेसेवर ज्ञान अध्ययन नगरेको भए पनि, म सिद्धान्तहरूमा सङ्गति गर्न सक्छु। जब अनुवादको काममा समस्याहरू हुन्छन्, तब म अङ्ग्रेजीमा निपुण नभए पनि, म तिमीहरूसँग अनुवादका सिद्धान्तहरूमा सङ्गति गर्नेछु, र तिमीहरूले सम्हाल्न नसक्ने सिद्धान्तका समस्याहरू समाधान गर्नका लागि तिमीहरूलाई मद्दत गर्नेछु, र मेरो सङ्गतिको माध्यमबाट तिमीहरूले सत्यता अभ्यास गर्ने केही सिद्धान्तहरू बुझ्न सक्छौ भन्‍ने कुरा सुनिश्‍चित गर्नका लागि प्रयास गर्नेछु। सायद, तिमीहरूले मेरो कुरा सुनेपछि, कुनै गहन सत्यता वा रहस्यहरू त बुझ्दैनौ होला, तर तिमीहरूले अभ्यासका सिद्धान्तहरूको एउटा पक्ष वा तिमीहरू संलग्न भएको कामका समस्याहरू समाधान गर्ने मार्ग जान्नेछौ—मैले तिमीहरूसँग सम्पर्क गर्दा, अन्तरक्रिया गर्दा, र मामिलाहरू सम्हाल्दा तिमीहरूमा हासिल गर्न लक्ष्य राख्‍ने परिणाम यही हो।

अस्पष्ट नहुनु भन्‍ने विषयभित्र अर्को एउटा कुरा समावेश छ: जब कुनै निश्चित प्रकारको व्यक्ति वा निश्चित प्रकारको कुरालाई खुट्ट्याउने कुरा आउँछ, तब मैले तँसँग सङ्गति गर्ने सिद्धान्तहरू तँलाई त्यस प्रकारको व्यक्तिको सार र त्यस प्रकारको कुराको प्रकृति स्पष्ट रूपमा पहिचान गर्नका लागि मद्दत गर्न, र त्यस प्रकारको व्यक्तिको सार के हो, त्यस प्रकारको कुराको प्रकृति के हो, तैँले उसलाई कसरी व्यवहार गर्नुपर्छ, र उसको बारेमा तँसँग कस्ता सही दृष्टिकोण र मनोवृत्तिहरू हुनुपर्छ भन्‍ने कुराको बारेमा तेरो हृदयमा स्पष्टता प्राप्त गर्न मद्दत गर्नका लागि हुन्। यी समस्याहरूमा सङ्गति गर्नुको पछाडिको मेरो उद्देश्य भनेको तँलाई सबै प्रकारका मानिस, घटना र कामकुराहरूप्रति सही दृष्टिकोण, मनोवृत्ति, र अडानहरू राख्न मद्दत गर्नु हो, जसले गर्दा तैँले सिद्धान्तहरू कायम राख्दा, गलत सिद्धान्तहरू होइन, तर सही सिद्धान्तहरू कायम राखिरहेको हुन्छस् भन्‍ने कुरा सुनिश्‍चित हुन्छ। मेरो उद्देश्य तँलाई मानिस, घटना र कामकुराहरूलाई खुट्ट्याउन सक्षम तुल्याउनु हो, ताकि सबै प्रकारका मानिस, घटना र कामकुराहरूको सार र साँचो रूप के हो भन्‍ने कुरा तैँले जान्‍न सक्; तँलाई सकारात्मक कुराहरू—साथसाथै—नकारात्मक कुराहरू जान्न दिनु हो; र तैँले आफ्नो दैनिक जीवनमा जस्तोसुकै मानिस, घटना र कामकुराहरूको सामना गरे पनि तँलाई आफ्नै सही अडान राख्न मद्दत गर्नु हो। सही अडान हुनुको अर्थ के हो? यसको अर्थ तैँले सिद्धान्तहरू कायम राख्न सही अडान लिन सक्छस्, बीचको बाटो अपनाउँदैनस्, र तँ भ्रमित व्यक्ति, अन्योलमा परेको व्यक्ति, वा मान्छे खुसी पारिहिँड्ने व्यक्ति हुँदैनस् भन्‍ने हुन्छ। हेर् त, सुरुमा, जब सर्पले आदम र हव्वालाई प्रलोभनमा पार्‍यो, तब त्यसले तिनीहरूलाई भन्यो, “परमेश्‍वरले तिमीहरूलाई असल र खराबको ज्ञानको रूखको फल खान दिनुहुन्न। त्यो खाएपछि तिमीहरू निश्‍चय नै मर्नेछौ भनेर परमेश्‍वरले भन्नुभयो, तर वास्तवमा, तिमीहरू मर्ने नै छौ भन्ने छैन।” सर्पको यो भनाइ अत्यन्तै अस्पष्ट भए पनि, यसले आदम र हव्वामा प्रलोभनमा पार्ने प्रभाव पार्‍यो, र एउटा विनाशकारी परिणाम ल्यायो। यो परिणाम के थियो? आदम र हव्वाले उप्रान्त परमेश्‍वरका वचनहरू सुनेनन्, उप्रान्त परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन्, तिनीहरूसँग उप्रान्त सही अडान थिएन, र तिनीहरूले उप्रान्त आफ्नो मौलिक अडान र मौलिक सिद्धान्तहरू कायम राखेनन्। बरु, परमेश्‍वरप्रतिको तिनीहरूको शङ्काको आधारमा, तिनीहरूले परमेश्‍वरका निर्देशनहरूमा विश्‍वास गरेनन्, र तिनीहरूले असल र खराबको ज्ञानको रूखको फल खाए भने तिनीहरू मर्नेछन् भन्‍ने विश्‍वास गरेनन्। त्यसपछि तिनीहरूका मनमा अनेक विचारहरू आउन थाले, र यस्तो भइरहँदा तिनीहरूले हात बढाएर असल र खराबको ज्ञानको रूखको फल टिपे। यो प्रलोभनको प्रक्रिया थियो, र यो आदम र हव्वा प्रलोभनमा परेको परिणाम पनि थियो। प्रलोभनमा पार्ने यस प्रक्रियामा तिनीहरूले शैतानका वचनहरू सुन्ने र तिनमा विश्‍वास गर्ने, मनमा आफ्नै विचारहरू उब्जाउने, परमेश्‍वरलाई शङ्का गर्न थाल्ने, र उप्रान्त परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्ने कुराहरू समावेश थिए। आदम र हव्वा प्रलोभनमा परेको परिणाम के भयो भने तिनीहरू परमेश्‍वरका वचनहरूविरुद्ध गए र तिनीहरूले असल र खराबको ज्ञानको रूखको फल खाए। सर्पले “यदि तिमीहरूले यो खायौ भने तिमीहरू पक्कै पनि मर्नेछैनौ; परमेश्‍वरले भन्नुभएको कुरा गलत हो, र परमेश्‍वरले तिमीहरूलाई धोका दिइरहनुभएको छ” भनेर नभने पनि, सर्पको “यदि तिमीहरूले यो खायौ भने तिमीहरू अवश्यै मर्नेछौ भन्ने छैन” भन्‍ने भनाइमा, यो “अवश्यै ... भन्ने छैन” भन्‍ने कुरा अस्पष्ट शब्दावली थियो। यो अस्पष्ट शब्दावली प्रकृतिको हिसाबमा प्रलोभनमा पार्ने खालको थियो; यसले मानिसलाई परमेश्‍वरमा शङ्का गर्ने र परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्ने तुल्यायो। यो अस्पष्ट शब्दावलीले मानिसलाई आफ्नो सही अडान, साथै सिद्धान्तहरू कायम राख्ने उसको जाँगर र विश्‍वास गुमाउने पनि तुल्यायो। अन्त्यमा के भयो? मानिस सर्पद्वारा प्रलोभनमा पर्ने मार्गमा लाग्यो, उसले परमेश्‍वरलाई धोका दियो, र ऊ पापमा जियो। यस दृष्टिकोणबाट हेर्दा, मानिसलाई प्रलोभनमा पार्दा सर्पले बोलेको “अवश्यै ... भन्ने छैन” भन्‍ने वाक्यांशको नकारात्मक प्रभाव अत्यन्तै ठूलो थियो। यसले सीधै परमेश्‍वरका वचनहरूलाई इन्कार गरेन वा मानिसलाई सीधै परमेश्‍वरका वचनहरू नसुन्न भनेन, र यसले मानिसलाई सीधै परमेश्‍वरलाई शङ्का र सन्देह गर्न भनेन, यसले मानिसलाई स्पष्ट रूपमा “यदि तैँले यो खाइस् भने तँ मर्नेछैनस्” भन्‍ने कुरा त झनै भनेन। तैपनि मानिसको मनमा अनेक सोच उब्जाउन, उसलाई धोका दिन, र उसलाई असल र खराबको ज्ञानको रूखको फल खान प्रलोभनमा पार्नका लागि “अवश्यै ... भन्ने छैन” जस्तो एउटा अस्पष्ट वाक्यांश पर्याप्त थियो। अस्पष्ट शब्दावलीले मानिसमा ल्याएका परिणामहरू यिनै हुन्। यो “अवश्यै ... भन्ने छैन” भन्‍ने अस्पष्ट वाक्यांश कहाँबाट आयो? सुरुमा, यो वाक्यांश सर्पले हव्वालाई प्रलोभनमा पार्दा बोलेका वचनहरूबाट आएको थियो। यसभन्दा पहिले, परमेश्‍वरले आदम र हव्वालाई दिनुभएका केही निर्देशनहरूमा तैँले एउटै पनि अस्पष्ट शब्द भेट्टाउन सक्दैनस्, न त तैँले अस्पष्टताको अलिकति सङ्केत नै भेट्टाउन सक्छस्। अर्थात्, परमेश्‍वरले बोल्नुहुने वचनहरू सबै इमानदार, साँचो, र सटीक हुन्छन्। उहाँले बोल्नुहुने हरेक वाक्यले सही अडान, र सही र सटीक दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ, जसलाई मानिसले पालन राख्नुपर्छ, र जसको अधीनमा मानिस सधैँभरि बस्‍नुपर्छ, र तिनका बारेमा कहिल्यै शङ्का गर्नु हुँदैन। परमेश्‍वरका कुनै पनि वचनहरू अस्पष्ट हुँदैनन्, त्यसैले परमेश्‍वरका कुनै पनि वचनहरूले मानिसलाई प्रलोभनमा पार्दैनन्। नकारात्मक अर्थमा भन्दा, परमेश्‍वरका वचनहरूमा मानिसका लागि अलिकति पनि प्रलोभन वा छल हुँदैन; सकारात्मक अर्थमा भन्दा, परमेश्‍वरले भन्नुहुने सबै कुराले मानिसको रक्षा र सुरक्षा गर्ने काम गर्छ, र मानिसको जीवनलाई जोगाउन र ऊ र परमेश्‍वरबीचको यो सबैभन्दा घनिष्ठ सम्बन्धलाई कायम राख्न सक्षम हुन्छ भनेर भन्न सकिन्छ। तर, “अवश्यै ... भन्ने छैन” भन्‍ने सर्पको यो अस्पष्ट वाक्यांशले यस सम्बन्धलाई पूर्ण रूपमा तोड्यो, र मानिसलाई परमेश्‍वरबाट पूर्ण रूपमा टाढा तान्यो, उसलाई परमेश्‍वरमा शङ्का गर्ने र परमेश्‍वरबाट आफूलाई टाढा बनाउने तुल्यायो, र उसलाई परमेश्‍वरले देख्नुहोला भनेर अत्यन्तै लाज मान्‍ने तुल्यायो। यही आधारमा, सर्पले मानिसलाई अझै प्रलोभनमा पार्‍यो, भ्रष्ट तुल्यायो, र विनाश गर्‍यो। आदम र हव्वालाई दिइएका परमेश्‍वरका निर्देशनहरू समावेश भएको खण्डबाट हेर्दा, परमेश्‍वरका वचनहरूको सार र उहाँले बोल्नुको उद्देश्य मानिसका लागि अत्यन्तै लाभदायक छ—परमेश्‍वरका वचनहरू सुन्नु र परमेश्‍वरको अधीनमा बस्‍नु मानिसमा हुनुपर्ने अडान हो, र यो मानिसले सधैँभरि पालन गर्नुपर्ने सत्यता सिद्धान्त पनि हो। परमेश्‍वरले मानिसलाई सधैँभरि प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, रक्षा गर्नुहुन्छ, र प्यारो मान्नुहुन्छ, जबकि शैतानले बोल्नु र काम गर्नुको उद्देश्य मानिसलाई प्रलोभनमा पार्नु र भ्रष्ट तुल्याउनु, मानिसलाई परमेश्‍वरमा शङ्का गर्न र उहाँबाट टाढा हुन लगाउनका लागि प्रलोभनमा पार्नु, त्यसपछि मानिसलाई यसको आराधना गर्न र यसद्वारा भ्रष्ट हुनका लागि प्रलोभनमा पार्नु हो। देहधारी परमेश्‍वरसँग परमेश्‍वरको जीवन र परमेश्‍वरको सार हुने हुनाले, उहाँसँग आफ्ना वचन र कार्यहरूमा अस्पष्ट नहुने यो निश्‍चित प्रकटीकरण र सिद्धान्त पनि हुन्छ। मेरा सबै प्रवचनहरूमार्फत, र तिमीहरूको दैनिक जीवनमा देहधारी परमेश्‍वरको सम्पर्कमा आएर, परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै सत्यताहरूमा, शैतानका वचनहरूमा पाइने जस्तो कुनै अस्पष्ट शब्दावली हुँदैन, र शैतानले प्रयोग गर्ने जस्ता कुनै अस्पष्ट अभिव्यक्तिहरू हुँदैनन् भन्‍ने कुरा तिमीहरूले पक्कै पनि बिस्तारै पत्ता लगाउनेछौ, होइन र? (हो।) अस्पष्ट नहुनु भनेको परमेश्‍वरले बोल्दा र काम गर्दा उहाँको साँचोपन र विश्‍वासयोग्यताको प्रकटीकरण हो, र यो परमेश्‍वरको सारको प्रकटीकरण पनि हो। अर्थात्, शैतानले मानिसलाई प्रलोभनमा पार्नका लागि बोल्दा हुने खालको सार परमेश्‍वरसँग हुँदैन; परमेश्‍वरको सार यस कुराबाट मुक्त हुन्छ। त्यसकारण, कतिपय सानातिना कुराहरूको हकमा देहधारी परमेश्‍वरका वचनहरू धेरै विस्तृत वा स्पष्ट नभए पनि, उहाँले मानिसलाई प्रलोभनमा पार्न शैतानले प्रयोग गर्ने जस्ता कुनै पनि अस्पष्ट शब्दहरू पटक्कै प्रयोग गर्नुहुनेछैन, र उहाँले तँलाई अलमल्लमा पार्ने वा तँलाई परमेश्‍वरको बारेमा शङ्का गर्ने र परमेश्‍वरबाट टाढा बनाउने तुल्याउने प्रकारको भाषा, बोल्ने तरिका, वा काम गर्ने तरिका पटक्कै प्रयोग गर्नुहुनेछैन। बरु, परमेश्‍वरले जसरी बोल्नुभए पनि र उहाँले जे भन्नुभए पनि, उहाँले हासिल गर्न चाहनुहुने अन्तिम लक्ष्य भनेको तँ परमेश्‍वरको झन्-झन् नजिक बन्, तैँले उहाँका वचनहरूबाट परमेश्‍वरका अभिप्रायहरू बुझ्, तँसँग सही विचार र दृष्टिकोणहरू र सही अडान होस्, र तँ सत्यता सिद्धान्तहरू कायम राख्न अझ बढी प्रेरित बन् भन्‍ने हुन्छ। यो यस मामिलाको एउटा पक्ष हो। अर्को कुरा, तैँले यी स्पष्ट र निसन्देह वचनहरूबाट एउटा लक्ष्य, जीवनको सही मार्गदर्शन, र अगाडि बढ्ने मार्गदर्शन प्राप्त गर् भन्‍ने लक्ष्य परमेश्‍वरले राख्नुहुन्छ। अवश्य नै, अझ महत्त्वपूर्ण कुरा के हो भने जब तँसँग सबै प्रकारका मानिस, घटना र कामकुराहरूप्रति सही दृष्टिकोण र अडानहरू हुन्छन्, र तैँले सत्यता सिद्धान्तहरू पालन गर्छस्, तब तैँले परमेश्‍वरको सुरक्षा र हेरचाह प्राप्त गर्नेछस्, त्यसपछि परमेश्‍वरको मान्यता र स्वीकृति प्राप्त गर्नेछस्। त्यसोभए, के तिमीहरू लाभान्वित हुनेहरू होइनौ र? (हौँ।) परमेश्‍वरका वचन र कार्यहरू अस्पष्ट हुँदैनन् भन्‍ने तथ्यले मात्रै तिमीहरूका निम्ति यति ठूलो लाभ ल्याएको छ। के तिमीहरूले अहिलेसम्म यसलाई अलिकति बुझ्‍न थालेका छौ? (थालेका छौँ।) मैले यी सबै कुरा नभनेको भए, तिमीहरूले आफ्नो जीवनभरि कहिल्यै यसलाई बुझ्‍नेथिएनौ होला। तिमीहरूलाई यस्तो मात्रै महसुस हुनेथियो, “तपाईंका वचनहरू सत्यता हुन्। तपाईंका वचनहरू तुलनात्मक रूपमा सटीक र वस्तुगत छन्, र हाम्रो बारेमा तपाईंको बुझाइ तुलनात्मक रूपमा गहन छ,” तर देहधारी परमेश्‍वरले बोल्दा उहाँ अस्पष्ट हुनुहुन्न भन्‍ने कुरालाई तिमीहरूले सायद पहिचान गर्न सक्नेथिएनौ, होइन र? (हो।)

देहधारी परमेश्‍वरका वचनहरू अस्पष्ट नहुनुको अर्को एउटा प्रकटीकरण छ, त्यो के हो भने, मैले तिमीहरूसँग सङ्गति गर्ने विभिन्न विषयहरूमा, व्यावसायिक कामसँग सम्बन्धित भए पनि वा जीवन प्रवेशसँग सम्बन्धित भए पनि, मेरो सङ्गतिमा कुनै ज्ञान, दर्शन, वा धर्मशास्त्र समावेश हुँदैन—यो यी कुराहरूबाट पूर्ण रूपमा मुक्त हुन्छ। व्यावसायिक कामको कुनै कुरा समावेश भए पनि, मैले सङ्गति गर्ने अधिकांश कुराहरूमा, मैले भन्ने कुराको निचोड भनेको मुख्यतया तिमीहरूलाई सान्दर्भिक सत्यता सिद्धान्तहरू कसरी बोध गर्ने, र यस क्षेत्रमा व्यावसायिक ज्ञान र सीपहरूलाई कसरी सही रूपमा लागू गर्ने भनेर बताउनु हो, ताकि तिमीहरूले परमेश्‍वरको अझ राम्ररी गवाही दिन र मानकअनुरूप आफ्नो कर्तव्य पूरा गर्न सक। म तिमीहरूमा ज्ञान हालिदिँदिनँ। कहिलेकाहीँ म तिमीहरूसँग केही सामान्य ज्ञान बाँड्छु, जस्तै रुघाखोकीबाट बच्ने सामान्य ज्ञान: जाडोमा न्यानो भएर बस्ने कार्यलाई सुनिश्‍चित गर। चिसो लाग्‍न नदे। जब झ्याल खुला हुन्छ, तब त्यसको नजिक नबस्, ताकि हावाको झोक्कामा बस्नबाट जोगिन सकियोस्। यो सबै सामान्य ज्ञान हो। सामान्य ज्ञानले केलाई जनाउँछ? (व्यक्तिले आफ्नो दैनिक जीवनमा जान्नुपर्ने केही जीवन अनुभवलाई।) यो आफ्नो स्वास्थ्य कसरी कायम राख्ने भन्‍ने बारेको जीवन अनुभव र अन्तर्दृष्टि हो, होइन र? (हो।) म तिमीहरूमा सामाजिक ज्ञान वा धर्मशास्त्रीय ज्ञान भर्दिनँ। म किन तिमीहरूमा यी कुराहरू भर्दिनँ? (यी कुराहरूले हामीलाई कुनै फाइदा गर्दैनन्।) त्यसले यसको एउटा पक्षको जवाफ दिन्छ। अरू के छ? (सामाजिक ज्ञान शैतानको ज्ञान हो; परमेश्‍वरले हामीलाई बहकाउनका लागि यी कुराहरू हामीमा भर्नुहुन्न।) मलाई भन, के मसँग शैतानको कुनै कुरा छ? (छैन।) जब म तिमीहरूसँग सङ्गति गर्छु र कुराकानी गर्छु, तब म के कुरा गर्छु? (ती सबै सकारात्मक कुराहरू हुन्छन्, र ती सबै सत्यता हुन्छन्।) शैतानको ज्ञान, दर्शन, तर्क, समझको कुरा, र धर्मशास्त्र—म यी कुराहरू सिक्ने प्रयास कहिल्यै गर्दिनँ, र तिमीहरूले यी कुराहरू मभित्र भेट्टाउनेछैनौ। कतिपय मानिसहरूले यसो भन्छन्, “तपाईं किन अलिकति सिक्ने प्रयास गर्नुहुन्न?” त्यो साँच्चै मेरो सोख होइन। मलाई ती कुराहरू मन पर्दैन। जब म मानिसहरूले धर्मशास्त्रको बारेमा कुरा गरेको सुन्छु, तब मलाई घिन र वितृष्णा महसुस हुन्छ। धर्मशास्त्र भनेको त सुन्दा सही लाग्ने खालका धर्मसिद्धान्त र सैद्धान्तिक कुराहरू मात्रै हुन्; यो व्यावहारिक हुँदैन, होइन र? कतिपय मानिसहरूलाई बाइबल छर्लङ्गै थाहा हुन्छ, र तिनीहरू सधैँ अगमवक्ताहरूका पुस्तकहरू, र कुनै निश्चित अध्याय र पदमा के अगमवाणी गरिएको छ, यो कसरी पूरा हुनेछ, र यसभित्रका रहस्यहरू के-के हुन् भनेर अगमवाणीका पुस्तकहरू अध्ययन गरिरहेका हुन्छन्। म यी कुराहरू कहिल्यै अध्ययन गर्दिनँ, र मैले तिनको अध्ययन गर्न मेहनत लगाउनुपर्ने कुनै आवश्यकता छैन। मलाई स्वभावैले नै यी कुराहरू मन पर्दैन। जब म दैनिक जीवनमा कुराहरूको सामना गर्छु, तब म कसरी उचित रूपमा काम गर्ने, यी समस्याहरू समाधान हुन सक्ने गरी कसरी काम गर्ने, र तिनलाई समाधान गर्ने सबैभन्दा उत्तम तरिका के हो भनेर मात्रै मनन गर्छु। धेरै मानिसहरूका हकमा, जब तिनीहरूले कुराहरूको सामना गर्छन्, तब तिनीहरूले गुनासो गर्छन्, पछुतो महसुस गर्छन्, वा तिनीहरू अन्योलमा पर्छन्, वा तिनीहरूले ठूला-ठूला धर्मसिद्धान्तहरू बोल्छन् र नारा लगाउँछन्। जब म कुराहरूको सामना गर्छु, तब म तिनलाई समाधान गर्ने उचित तरिकाबारे शान्त भएर मनन गर्छु; मैले मनन गर्ने कुरा भनेको समाधानहरू हुन्। त्यसकारण, जब म तिमीहरूसँग बोल्छु र सङ्गति गर्छु, तब म वास्तविक कुराहरूका बारेमा, तिमीहरूले आफ्ना कर्तव्यहरू पूरा गर्दा आउने कुराहरूका बारेमा, र दैनिक जीवनमा समावेश हुने कुराहरू, जस्तै निश्चित मानिस, घटना र कामकुराहरू, आधारभूत आवश्यकताहरू, र यस्तै कुराहरूका बारेमा कुरा गर्न मन पराउँछु। म वास्तविक कुराहरूका बारेमा मात्रै कुरा गर्छु। म खोक्रा कुराहरूले भरिएका ठूला-ठूला भाषणहरू दिन्नँ। तिमीहरूले मसँग लामो समय बिताएपछि, तिमीहरूले के देख्नेछौ भने, म जीवनका वास्तविक कुराहरू र वास्तविक समस्याहरूप्रति अत्यन्तै गम्भीर र उत्सुक छु। म यस्तै व्यक्ति हुँ। म कुनै पनि कुरामा अस्पष्ट छैन—विशेष गरी, जब यसमा तिमीहरूको कर्तव्य निर्वाह वा तिमीहरूको जीवन प्रवेश समावेश हुन्छ, तब यो कुरा अझ बढी लागू हुन्छ, होइन र? (हो।) यसले अस्पष्ट नहुनुको एउटा पक्षलाई समेट्छ।

देहधारी परमेश्‍वर अस्पष्ट नहुनु परमेश्‍वरले मानिसलाई प्रलोभनमा नपार्ने विषयसँग पनि सम्बन्धित छ। परमेश्‍वर अस्पष्ट नहुनुको अर्थ मेरो बोल्ने र काम गर्ने तरिका अत्यन्तै स्पष्ट छ भन्‍ने हुन्छ। म कुराहरूलाई जस्तो छ त्यस्तै भन्छु; म सुन्दा सही लाग्ने कुनै पनि शब्दहरू प्रयोग गर्दिनँ, वा सुन्दा सही लाग्ने खालका कामकुरा गर्ने कुनै तरिकाहरू अपनाउँदिनँ। कहिलेकहीँ हतारमा निष्कर्षमा पुग्न नसकिने केही कुराहरू हुँदा समेत, म तिमीहरूलाई यसो भन्नेछु, “हामी यस व्यक्तिलाई केही समय अवलोकन गरौँ। यस मामिलामा अलिकति पर्खौँ। अहिलेका लागि, हामीले गर्न सक्ने भनेको मानव रूपमा जे सम्भव छ त्यो मात्रै हो। अर्को चरणका लागि, कुराहरू कुन दिशामा विकास हुन्छन् त्यो हेरौँ। कुराहरू विकास हुने दिशाको आधारमा हामीले बिस्तारै योजनाहरू बनाउन र लक्ष्यहरू निर्धारण गर्न सक्छौँ।” हेर त, म तिमीहरूलाई कुराहरू स्पष्ट रूपमा व्याख्या गर्नेछु, र सम्बद्ध सिद्धान्तहरू तथा तिमीहरूले आफ्ना कार्यहरूलाई कसरी दिशा-निर्देशित गर्नुपर्छ भन्‍ने कुरा स्पष्ट रूपमा बताउनेछु। तिमीहरूलाई के गर्ने वा निश्चित कुराहरू कसरी सम्हाल्ने भन्ने थाहा नभएजस्तो महसुस गराउनका लागि म सुन्दा सही लाग्ने शब्दहरू पटक्कै प्रयोग गर्नेछैनँ। कतिपय मानिसहरूलाई कस्तो भनेर ठहर गर्दा समेत, म तिनीहरूले गरेका केही विशेष कुराहरूका आधारमा र तिनीहरूका विभिन्न प्रकटीकरणहरूका आधारमा सङ्गति गर्छु, ताकि तिमीहरूलाई यस प्रकारको व्यक्तिको सार स्पष्ट रूपमा चिन्न, र उसलाई कसरी व्यवहार गर्ने भन्‍ने जान्नका लागि मद्दत गर्न सकूँ। होइन र? (हो।) अर्थात्, म मामिलाहरू सम्हाल्ने मेरो तरिकामा व्यक्तिगत भावनाहरू वा निजी रिसइबी कहिल्यै मिसाउँदिनँ। कतिपय मानिसहरूलाई सम्हाल्दा समेत, यदि तिमीहरू यस प्रकारको व्यक्तिहरूको सारबारे स्पष्ट छैनौ भने, म यसबारे निश्‍चित तरिकाले सङ्गति गर्नेछु, तिनीहरूमा भएका समस्याहरू तिमीहरूलाई स्पष्ट रूपमा व्याख्या गरिदिनेछु, त्यसपछि तिनीहरू कहाँ पर्छन् भनी पहिचान गर्न र तिनीहरूको सारलाई विश्लेषण गर्न सत्यता प्रयोग गर्नेछु, र परमेश्‍वरको घरले तिनीहरूलाई किन यसरी सम्हाल्छ, यस प्रकारको व्यक्तिहरूलाई व्यवहार गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरू किन यस्ता छन्, र तिनीहरूलाई सम्हाल्नुको परिणाम किन निश्चित प्रकारको हुन्छ भन्‍ने कुरामा स्पष्टता प्राप्त गर्न तिमीहरूलाई मद्दत गर्नेछु। कतिपय मानिसहरूले सम्हालिएपछि आफ्ना पापहरू स्वीकार नगरे पनि वा पश्चात्ताप नगरे पनि, र तिनीहरूलाई किन बर्खास्त गरियो वा पठाइयो, वा तिनीहरूलाई किन निकालियो भन्‍ने कुरा नजाने पनि, यो तिनीहरूले आफूलाई नचिनेको र तिनीहरूमा कुनै पछुतो नभएको कुरा मात्रै हुन्छ। तर, परमेश्‍वरको घरले तिनीहरूलाई किन सम्हाल्यो र तिनीहरूलाई सम्हाल्नुको परिणाम किन निश्चित प्रकारको भयो भन्‍ने कुराको हकमा, हामीले समस्याहरूलाई खुला रूपमा राख्नुपर्छ ताकि तिमीहरूले यी समस्याहरूका विवरणहरू, यी मानिसहरूमा के-कस्ता समस्याहरू छन्, तिनीहरूलाई सम्हाल्नुका पछाडि परमेश्‍वरको घरका कारणहरू के-के हुन्, र तिनीहरूलाई सम्हाल्ने आधार के हो भन्‍ने कुरा जान्न सक। छोटकरीमा भन्दा, सुरुदेखि अहिलेसम्म मैले तिमीहरूसँग सङ्गति गरेका सबै वचनहरूमा, मानिसहरूलाई के भनिँदै छ भन्‍ने थाहा नहुने, तिनीहरूले छर्लङ्गै देख्न नसक्‍ने, र तिनीहरू यसभित्रको सत्यताप्रति अज्ञानी हुने किसिमका ईश्‍वरत्वको भाषामा बोलिएको भागमा बाहेक, तिमीहरूको जीवन प्रवेश समावेश हुने कुनै पनि समस्याको कुरामा—चाहे त्यो मानिसको ख्रीष्टविरोधी स्वभावलाई खुलासा गर्ने कुरा होस् वा मानिसका भ्रष्ट स्वभावहरूका विभिन्न प्रकटीकरण र प्रकाशहरूलाई खुलासा गर्ने कुरा होस् त्यस कुरामा—म सधैँ यी कुराहरूलाई निकै स्पष्ट र सटीक रूपमा औँल्याउँछु र व्याख्या गर्छु, र कुन कुराहरू सकारात्मक हुन्, कुन कुराहरू नकारात्मक हुन्, तिमीहरूले के पालन गर्नुपर्छ, र तिमीहरूले के सुधार गर्नुपर्छ, केको विरुद्ध विद्रोह गर्नुपर्छ, र के कुरालाई इन्कार गर्नुपर्छ भन्‍ने कुरा जान्न तिमीहरूलाई मद्दत गर्छु। छोटकरीमा भन्दा, बोल्ने सम्बन्धी मेरो निरन्तरको सिद्धान्त भनेको सत्यता, परमेश्‍वरका अभिप्रायहरू, मानिसका लागि परमेश्‍वरद्वारा माग गरिएका मानकहरू, र मानिसले पालन गर्नुपर्ने अभ्यासका सिद्धान्तहरूका विभिन्न पक्षहरूलाई स्पष्ट रूपमा सङ्गति गर्नु हो, ताकि तिमीहरूलाई सटीक लक्ष्य, सटीक निर्देशन, र अभ्यासका सटीक सिद्धान्तहरू र अभ्यासको मार्ग प्राप्त होस्। यसबाहेक, तिमीहरूसँग बोल्दा, म विभिन्न सिद्धान्तहरू पालन नगर्ने मानिसहरूको अन्तिम परिणाम र अन्त्यको बारेमा पनि स्पष्ट रूपमा सङ्गति गर्छु; विशेष गरी, म तिमीहरूलाई हरेक व्यक्तिमा पाइने विभिन्न समस्याहरूको ठहर कसरी गरिन्छ भन्‍ने कुरा स्पष्ट रूपमा बताउँछु। उदाहरणका लागि, कतिपय मानिसहरू आफ्ना कर्तव्यहरू पूरा गर्दा झाराटारुवा हुन्छन्, तिनीहरूले सत्यता पछ्याउँदैनन्, र तिनीहरूमा कहिल्यै जीवन प्रवेश हुँदैन, यसका लागि म यसो भन्छु, “तेरो कर्तव्य निर्वाहको बारेमा ठहर गरिएको छ: तैँले श्रम गरिरहेको छस्। यदि तैँले अन्त्यसम्म यसरी नै विश्‍वास गरिरहिस् भने, तैँले मुक्ति प्राप्त गर्नु असम्भव हुनेछ। तैँले सत्यता पछ्याउनुपर्छ, जीवन प्रवेश प्राप्त गर्नुपर्छ, श्रमिक हुनुको यो स्थितिलाई फाल्नुपर्छ, र मुक्तिको मार्गमा लाग्ने प्रयास गर्नुपर्छ। आफ्‍नो कर्तव्य पूरा गर्नुको उद्देश्य मुक्ति प्राप्त गर्नु हो, मेहनत लगाउनु वा श्रम गर्नु होइन।” हेर् त, के यो कुरा अत्यन्तै स्पष्ट छैन र? (छ।) यसले तँलाई सत्यता अभ्यास नगर्दा र जीवन प्रवेश नहुँदाका परिणामहरू के-के हुन् भन्‍ने कुरा स्पष्ट रूपमा थाहा दिन्छ। यसका साथै, मैले सत्यताको जुनसुकै पक्षमा सङ्गति गरे पनि, म त्यस विषयमा एउटा कोण वा एउटा दृष्टिकोणबाट मात्रै सङ्गति गर्दिनँ, तर विभिन्न विधिहरू प्रयोग गरेर र धेरै उदाहरणहरू दिएर, धेरै कोण र दृष्टिकोणहरूबाट सङ्गति गर्छु। म तिमीहरूलाई सम्बद्ध सत्यता सिद्धान्तहरू बुझ्न सक्षम तुल्याउने प्रयास गर्छु, तिमीहरूले धर्मसिद्धान्त वा प्रावधानहरूको कुनै पक्ष मात्रै बुझेको, वा सरल तरिकाले ज्ञानको कुनै पक्षको बारेमा सिकेको चाहँदिनँ। परमेश्‍वर पहिलो पटक मानवजातिको सम्पर्कमा आउनुभएको र मानिसलाई उहाँको पहिलो निर्देशन प्रदान गर्नुभएको समयदेखि अहिलेसम्म, परमेश्‍वरको बोल्ने सिद्धान्त अपरिवर्तित रहेको छ। परमेश्‍वरले आत्माको रूपमा बोल्नुभए पनि र काम गर्नुभए पनि वा देहमा बोल्नुभए पनि र काम गर्नुभए पनि, उहाँले सधैँ यो सिद्धान्त पालन गर्नुभएको छ: स्पष्ट र कडा रूपमा बोल्ने। मानव दृष्टिकोणबाट हेर्दा, उहाँले मानिसलाई भन्नुहुने र प्रदान गर्नुहुने कुराहरू सबै निर्देशनहरू हुन्, र अवश्य नै, ती भरणपोषण पनि हुन्। अर्थात्, सृजित मानवहरूका रूपमा, मानिसहरूले परमेश्‍वरले बोल्नुहुने हरेक वचनलाई मनमा दृढतापूर्वक राख्नुपर्छ, र आफ्नो दैनिक जीवनमा, विशेष गरी आफ्ना कर्तव्यहरू पूरा गर्दा, परमेश्‍वरका वचनहरूलाई धर्मशास्त्रीय सिद्धान्तहरूको सँगालोको रूपमा लिनुको सट्टा, यसलाई कडाइका साथ पालन गर्नुपर्छ। परमेश्‍वरले बोल्नुभएको हरेक वचन र परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सत्यताको हरेक पक्ष मानिसलाई सही मार्गमा डोऱ्याउन, र मानिसलाई स्पष्ट लक्ष्य र निर्देशन दिनका लागि हुन्। यदि मानिसले तिनलाई पालन गर्यो भने, ऊ मानकअनुरूपको र परमेश्‍वरद्वारा मान्यता प्राप्त सृजित मानव बन्‍नेछ।

अस्पष्ट नहुने सम्बन्धी यस पक्षको बारेमा अरू कुनै समस्याहरू छन्? तिमीहरू अरू के सोच्न सक्छौ? पहिले मुख्य भूमि चीनमा, कामको यो चरण आधिकारिक रूपमा सुरु हुनुअघि, जब कतिपय तथाकथित अगुवाहरूले कसैले यौन अनैतिकता गरेको कुरा पत्ता लगाउँथे, तब तिनीहरूले यसैलाई मुख्य मुद्दा बनाउँथे। तिनीहरूले संलग्न व्यक्तिलाई भुइँमा घुँडा टेक्न र आफ्ना पापहरू स्वीकार गर्न लगाउँथे, र ती अगुवाहरूले तिनीहरूले भनेका सबै कुरा मान्थे। तिनीहरूले परमेश्‍वरको भूमिका खेल्थे, यस साधारण विश्‍वासीले आफ्ना पापहरू स्वीकार गरेको सुन्थे, र जब तिनीहरूले पर्याप्त रूपमा स्पष्ट नभएका कुराहरू सुन्थे, तब तिनीहरूले विवरणहरूका लागि दबाब समेत दिन्थे। वास्तवमा, त्यसो गर्नु अनावश्यक हुन्थ्यो—व्यक्तिले आफ्ना पापहरू स्वीकार गर्यो भने, पश्चात्ताप गर्यो भने, र त्यस्तो फेरि गरेन भने, त्यो नै पर्याप्त हुनुपर्थ्यो। मानिसहरूले आफ्ना पापहरू मानिसको अघि होइन, परमेश्‍वरको अघि स्वीकार गर्छन्। मानिसहरूले न्यायकर्ताको रूपमा काम गर्नु हुँदैन, परमेश्‍वरको प्रतिनिधित्व गर्ने प्रयास गर्नु त झनै हुँदैन। तर यी तथाकथित अगुवाहरूले तोकेर नै व्यक्तिका पापहरूका विवरणहरूका लागि दबाब दिन्थे, जसले गर्दा अरूलाई यो कुरा सुन्दा मात्रै पनि घिन लाग्दो र असहज लाग्दो महसुस हुन्थ्यो। तिनीहरूले व्यक्तिलाई अत्यन्तै लाजमर्दो अवस्थामा नपुर्‍याएसम्म सोधपुछ गर्न छोड्दैनथे। यस्तो कुरा सुन्दा तिमीहरूलाई कस्तो लाग्छ? (हामीलाई अत्यन्तै घिन लाग्छ।) त्यस्ता अगुवाहरू झूटा अगुवाहरू हुन्, र तिनीहरूमा दुष्ट मानिसहरूको सार हुन्छ। तिनीहरू न्यायकर्ताको रूपमा काम गर्न र मुद्दाहरूको सुनुवाइ गर्न समेत चाहन्थे; तिनीहरूमा साँच्चै लाजको कुनै बोध हुँदैन! जब साधारण विश्‍वासीहरूले पाप गर्थे, विशेष गरी यौन अनैतिकताको पाप गर्थे, तब यी अगुवाहरूले निकै चासो राख्थे, विस्तृत प्रश्नहरू सोध्थे र निश्‍चित कुराहरू बताउनका लागि दबाब दिन्थे। तिनीहरूले मण्डलीको कामलाई कहिल्यै यसरी लिँदैनथे, तर जब तिनीहरूले यौन अनैतिकताका समस्याहरू पत्ता लगाउँथे, तब तिनीहरू असामान्य रूपमा मोहित र अत्यन्तै गम्भीर बन्थे, र पाप गर्ने व्यक्तिलाई त आफूलाई जमिनले निलिदिए हुन्थ्यो जस्तो लाग्ने गरी यति धेरै सोधपुछ गर्थे। तिनीहरूले आफूले कुराहरूलाई गम्भीरतापूर्वक लिइरहेका छौँ र अस्पष्ट कुरा गरिरहेका छैनौँ भन्‍ने समेत महसुस गर्थे, र तिनीहरूले आफू वास्तविक काम गर्न सक्षम छौँ भन्‍ने महसुस गर्थे। के यो अत्यन्तै हास्यास्पद कुरा होइन र? कतिपय मानिसहरूसँग हैसियत भएकोले, तिनीहरूले परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्छु भन्‍ने सोच्छन्, त्यसैले तिनीहरू विभिन्‍न कुराहरू गर्न आफ्नो हैसियतको फाइदा उठाउँछन्। साधारण विश्‍वासीहरूसँग धेरै खुट्ट्याउने क्षमता नहुने हुनाले, तिनीहरूले सही र गलत नजान्ने हुनाले, र मानिसका लागि परमेश्‍वरका मागहरू के-के हुन् भन्‍ने नजान्ने हुनाले, तिनीहरूले ती तथाकथित अगुवाहरूले तिनीहरूलाई जे गर्न भने पनि त्यसको आज्ञापालन गर्थे, र अगुवाहरूको आज्ञापालन नगर्नु भनेको परमेश्‍वरको विरुद्धमा विद्रोह गर्नु हो भन्‍ने सोच्थे। अत्यन्तै लाजमर्दो अवस्थामा पुग्ने गरी सोधपुछ गरिँदा समेत, तिनीहरूले गुनासो गर्दैनथे, र तिनीहरूले आफू परमेश्‍वरको अधीनमा बसिरहेका छौँ र परमेश्‍वरसँग इमानदार र निष्कपट भइरहेका छौँ भन्‍ने समेत विश्‍वास गर्थे। ती तथाकथित अगुवाहरूले यस्तो सोच्थे, “यति ठूलो कुरा भएको छ—हामीले यसलाई कसरी सम्हाल्छौँ भन्‍ने कुरामा हामी अस्पष्ट हुनु हुँदैन। तैँले यौन अनैतिकताको काम गरिस्; सबै विवरणहरू प्रकाशमा ल्याइनुपर्छ। तैँले सबैको अगाडि आफ्ना पापहरू स्वीकार गर्नुपर्छ!” अन्त्यमा, तिनीहरूले व्यक्तिलाई अत्यन्तै लाजमर्दो र पीडादायी अवस्थामा नपुर्‍याएसम्म सोधपुछ गर्थे, यहाँसम्म पुर्‍याउँथे कि, उसलाई अब जिउन समेत मन लाग्दैनथ्यो। तिनीहरूले गरेको कामको बारेमा तिमीहरूलाई के लाग्छ? (यो काम राम्ररी गरिएन।) के मैले कहिल्यै त्यस्ता कुराहरू गरेको तिमीहरूले देख्छौ? जब म तिमीहरूसँग अन्तरक्रिया गर्छु, तब के मैले कहिल्यै तिमीहरूका निजी मामिलाहरूका बारेमा जान्ने प्रयास गरेको छु? (गर्नुभएको छैन।) मलाई भन, के म तिमीहरूका निजी मामिलाहरू वा तिमीहरूले गोप्य रूपमा गरेका खराब कामहरूका बारेमा जान्न चाहन्छु? म यी कुराहरूका बारेमा जान्न चाहन्नँ। जब म यी कुराहरूका बारेमा जान्न चाहन्नँ भन्छु, तब के मैले बहाना गरिरहेको हुन्छु, वा मसँग यी कुराहरूका बारेमा जान्ने कुनै अवसरहरू हुँदैनन्? (दुवै होइन; परमेश्‍वर यी कुराहरूका बारेमा जान्न चाहनुहुन्न।) म यी कुराहरूका बारेमा जान्न चाहन्नँ किनभने मलाई तिनमा कुनै रुचि छैन, र किनभने मैले तिनका बारेमा जान्नुपर्ने कुनै आवश्यकता छैन। यदि तिमीहरूका कुनै समस्याहरू छन् भने, तिमीहरूले आफै परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ वा तिनलाई समाधान गर्न सत्यता खोज्नुपर्छ; यो नै सबैभन्दा उत्तम तरिका हो। कतिपय मानिसहरू अगुवा बनेपछि, हैसियत भएका मानिसहरूले गर्न चाहने कुराहरू गर्नका लागि आफ्नो हैसियतको फाइदा उठाउन चाहन्छन्, र मानिसहरूका विचार र निजी मामिलाहरू बुझ्ने प्रयास गर्छन्। तिनीहरूले अगुवा र कामदारहरूले गर्नुपर्ने वास्तविक काम केही पनि गर्दैनन्, तैपनि तिनीहरू मानिसहरूका निजी मामिलाहरूमा चियोचर्चो गर्नमा निकै गम्भीर हुन्छन्। तिनीहरूले यसरी काम गर्दा सबै जना आफूप्रति कायल हुन्छन् भन्‍ने समेत सोच्छन्; तिनीहरूलाई निकै सम्मानित महसुस हुन्छ। के त्यस्ता मानिसहरूमा कुनै समझ हुन्छ? तिनीहरू पूर्ण रूपमा समझविहीन हुन्छन्, र तिनीहरूमा कुनै मानवता हुँदैन।

परमेश्‍वरका वचन र कामबाट, परमेश्‍वर अस्पष्ट हुनुहुन्न भन्‍ने तथ्यलाई सबैले महसुस गर्न सक्छन्। यदि तैँले परमेश्‍वरले बोल्नुहुने हरेक वाक्य र उहाँको बोलाइको हरेक दृष्टान्तलाई इमानदारीपूर्वक कदर गर्छस्, र तँमाथिको परमेश्‍वरको कामलाई इमानदारीपूर्वक बुझ्छस् र अनुभव गर्छस् भने, परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, र उहाँको काम र वचनहरूमा मानिसप्रतिको उहाँको प्रेम र वास्ता समावेश छ भन्‍ने कुरामा तैँले अझ बढी विश्‍वास गर्नेछस्। मानिसका लागि परमेश्‍वरको जीवनको भरणपोषणले उसलाई कहिल्यै बहकाएको छैन। अर्थात्, परमेश्‍वरले मानिसलाई कहिल्यै गलत मार्गदर्शन दिनुभएको छैन वा गलत कुराको प्रदर्शन गरिदिनुभएको छैन, न त उहाँले कहिल्यै गलत भनाइहरू नै बताउनुभएको छ, मानिसलाई अन्योलमा पार्ने खालका सुन्दा सही लाग्ने कुराहरू बताउने त झनै गर्नुभएको छैन। बरु, विषयवस्तु जेसुकै भए पनि वा यसमा सत्यताको जुनसुकै पक्ष समावेश भए पनि, उहाँले मानिसलाई अथक रूपमा सकारात्मक र सही भनाइहरू प्रदान गर्नुहुन्छ। यसमा मानिसहरूको दैनिक जीवनसम्बन्धी विषयवस्तु समावेश हुँदा समेत, म मेरो व्यक्तिगत अनुभवलाई प्रयोग गर्दै, जीवनको बारेमा सामान्य ज्ञानका केही कुराहरू बाँड्नेछु। विशेष गरी, जब म कतिपय युवाहरूलाई मार्गदर्शन गरिरहेको हुन्छु, तब म तिनीहरूलाई जिउने बारेमा सामान्य ज्ञानका केही कुराहरू बताउनेछु ताकि तिनीहरू अनावश्यक घुमाउरो बाटो लिनबाट जोगिऊन्, र तिनीहरूले जिउने त्रुटिपूर्ण तरिकाहरू नअपनाऊन् वा त्रुटिपूर्ण जीवनशैलीका बानीबेहोराहरू विकास नगरून्। त्यसकारण, सत्यता सङ्गति गर्दा होस् वा दैनिक जीवनमा होस्, देहधारी परमेश्‍वरले तिनीहरूका लागि भरणपोषण प्रदान गर्ने, तिमीहरूलाई सहयोग गर्ने, र तिमीहरूलाई मद्दत गर्ने काम पूर्ण रूपमा गर्नुहुन्छ। देहधारी परमेश्‍वरले काम गर्ने र सत्यता सङ्गति गर्ने कुराको हकमा भन्दा, उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनहरू तिमीहरूले पालन गर्न, र तिमीहरूले पूर्ण रूपमा र निसन्देह रूपमा पालन गर्न र तिमीहरू अधीनमा बस्नका लागि योग्य छन्। किनभने यी वचनहरू परमेश्‍वरको जीवन र परमेश्‍वरको सारबाट आउँछन्—तिनले तिमीहरूलाई मुक्तिको मार्गमा डोऱ्याउँछन्, र ती तिमीहरूलाई परमेश्‍वरतर्फ फर्कन डोऱ्याउने वचनहरू हुन्। मैले दैनिक जीवनमा भन्ने कतिपय कुराहरूलाई तैँले मनमा लिनु पर्दैन, तर मेरो व्यक्तिगत हिसाबमा, मेरो अभिप्राय कसैलाई चोट पुर्‍याउनु भन्‍ने पटक्कै हुँदैन। मलाई तेरो व्यक्तित्व, तेरो स्वभाव, कामकुरा गर्ने तेरो तरिका, वा तेरो कुनै पक्ष खासै मन नपरे पनि, म तँलाई पटक्कै चोट पुर्‍याउनेछैनँ, न त म तँलाई सर्पले जस्तै प्रलोभनमा पार्ने कुनै कुरा कहिल्यै गर्ने नै छु। म तँलाई गलत वा दुष्ट मार्गमा हिँड्नका लागि प्रलोभनमा पार्नेछैनँ, न त म तँलाई पतित हुन, पाप गर्न, वा परमेश्‍वरको प्रतिरोध गर्ने कुराहरू गर्नका लागि प्रलोभनमा पार्ने नै छु; म यस्तो कुरा पटक्कै गर्नेछैनँ। तँमा मलाई खासै मन नपर्ने वा मेरो व्यक्तित्वसँग खासै नमिल्ने कुनै कुरा भए पनि, र मैले दैनिक जीवनमा तँसँग सङ्गत वा अन्तरक्रिया नगरे पनि, मेरो पहिचानको आधारमा, म तँलाई पूर्ण रूपमा सही व्यवहार गर्नेछु। यदि तैँले सत्यता वा जीवन प्रवेश समावेश हुने कुनै कुरा खोजिस् भने, म तँलाई पूर्ण रूपमा स्पष्ट रूपमा र अस्पष्ट नहुने तरिकाले अभ्यासको मार्ग बताउनेछु। एउटा कुरा निश्चित छ: मलाई तँ मन नपरे पनि, म तँलाई बहकाउनेछैनँ। म तँलाई सही तरिकाले व्यवहार गर्नेछु। यदि तँ सत्यता पछ्याउन इच्छुक छस् र मुक्तिको मार्गमा लाग्न इच्छुक छस् भने, म तँसँग तैँले पालन गर्नुपर्ने अभ्यासका सिद्धान्तहरूमा सङ्गति गर्नेछु; यो पक्‍का हो।

परमेश्‍वरले मानिसलाई प्रलोभनमा पार्नुहुन्‍न भन्‍ने विषयमा मानिसहरूले देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्छन् भन्‍ने कुरा पनि समावेश हुन्छ, होइन र? (हो।) भ्रष्ट स्वभावका यी प्रकटीकरणहरू—मानिसहरूलाई उक्साउने, मानिसहरूलाई भड्काउने, मानिसहरूबाट कुरा निकाल्‍ने प्रयास गर्ने, र अस्पष्ट र धमिलो रूपमा बोल्ने—मानिसमा अत्यन्तै आम रूपमा हुने हुनाले, र यी सबै मानवजातिको भ्रष्ट सारका प्रकटीकरणहरू भएका हुनाले, मानिसले देहधारी परमेश्‍वरलाई यिनै विधि, दृष्टिकोण, र हेराइहरू अनुसार व्यवहार गर्छ। त्यसोभए, मानिसले यी पक्षहरू जान्नु आवश्यक छ, र मानिसलाई देहधारी परमेश्‍वरले प्रदर्शन गर्नुहुने यी प्रकटीकरणहरू: मानिसलाई नउक्साउने, मानिसलाई नभड्काउने, मानिसबाट कुरा नफुत्काउने, र अस्पष्ट नहुने जस्ता कुराहरू पनि स्पष्ट रूपमा व्याख्या गरिनु आवश्यक छ। यी कुराहरू बुझेपछि, मानिसले देहधारी परमेश्‍वरलाई नयाँ दृष्टिकोणबाट चिन्नेछ। एक हिसाबमा, यसले मानिसलाई परमेश्‍वरको सार समावेश हुने देहधारी परमेश्‍वरका पक्षहरूको बारेमा अझ बढी ज्ञान प्राप्त गर्न सक्षम बनाउन सक्छ, र यस कुराले उसलाई स्वर्गमा हुनुहुने परमेश्‍वरलाई अझ राम्ररी चिन्न र बुझ्न सक्षम बनाउँछ। अर्को हिसाबमा, यसले मानवहरूलाई अन्य भ्रष्ट मानवहरूसँग व्यवहार गर्ने तरिकाले देहधारी परमेश्‍वरसँग व्यवहार गर्नबाट पनि जोगाउन सक्छ। यी कुराहरूमा सङ्गति गर्दा यसले मानिसलाई देहधारी परमेश्‍वरसँग सही तरिकाले व्यवहार गर्न ठूलो मद्दत गर्नेछ, र उसलाई परमेश्‍वरप्रतिको आफ्नो मनोवृत्ति सुधार्न पनि ठूलो मद्दत गर्नेछ, यसरी उसलाई सही मनोवृत्ति र विधिहरू प्रयोग गरेर देहधारी परमेश्‍वरलाई व्यवहार गर्न सक्षम बनाउनेछ। त्यसै गरी, देहधारी परमेश्‍वरसँग सही तरिकाले व्यवहार गर्दा यसले मानिसलाई सृष्टिकर्तासँग सही तरिकाले व्यवहार गर्न पनि मद्दत गर्नेछ। अर्थात्, यदि तँ सही मनोवृत्ति र सही विधिहरू प्रयोग गरेर सृष्टिकर्तालाई व्यवहार गर्न चाहन्छस् भने, र यदि तँ सृजित प्राणीको रूपमा सृष्टिकर्तासँग सामान्य सम्बन्ध स्थापित गर्न चाहन्छस् भने, र सृष्टिकर्तालाई सृजित प्राणीको सही मनोवृत्तिका साथ व्यवहार गर्न चाहन्छस् भने, तैँले पहिले देहधारी परमेश्‍वरलाई सही मनोवृत्ति र विधिहरू प्रयोग गरेर व्यवहार गर्नुपर्छ। तैँले देहधारी परमेश्‍वरलाई सही मनोवृत्ति र विधिहरू प्रयोग गरेर व्यवहार गरेपछि, तँसँग सृष्टिकर्तालाई सही तरिकाले व्यवहार गर्ने अवसर वा आधारभूत माध्यम हुनेछ। त्यसकारण, देहधारी परमेश्‍वरलाई कसरी व्यवहार गर्ने भन्‍ने कुरा मानिसले पन्छाउन नसक्ने एउटा बाधा हो। यदि तँ देहधारी परमेश्‍वरलाई सही तरिकाले व्यवहार गर्ने यो बाधालाई सहज रूपमा पार गर्न चाहन्छस् भने, तैँले देहधारी परमेश्‍वरको सार जान्नुपर्छ, देहधारी परमेश्‍वरको सामान्यता र व्यावहारिकता जान्नुपर्छ, र देहधारी परमेश्‍वरको जीवन सार, उहाँको जीवनको जियाइ, र जीवनका प्रकटीकरणहरू वास्तवमा के-के हुन् भन्‍ने कुरा चिन्नुपर्छ र बुझ्नुपर्छ। जब तैँले यी कुराहरू चिन्छस् र बुझ्छस्, तब मात्र तँसँग देहधारी परमेश्‍वरसँग सही तरिकाले व्यवहार गर्ने अवसर र माध्यम हुनेछ। यदि मानिस परमेश्‍वरको अधीनमा बस्न र उसले उहाँको आराधना गर्न चाहन्छ भने, परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने क्रममा उसले पार गर्नुपर्ने बाधा यही हो। यदि तैँले यो बाधा पार गर्न सकिस् भने, तँ परमेश्‍वरको नजरमा मानकअनुरूपको सृजित प्राणी बन्‍ने आशा हुनेछ, र तँ परमेश्‍वरद्वारा स्वीकार गरिएको व्यक्ति बन्‍ने आशा हुनेछ।

हामीले भर्खरै सङ्‍गति गरेका केही विषयहरूका लगायत, तिमीहरूले बुझ्नुपर्ने अर्को एउटा विषय पनि छ, त्यो के हो भने देहधारी परमेश्‍वरले हैसियतलाई ठ्याक्कै कसरी लिनुहुन्छ भन्‍ने कुरा। मानवजातिका लागि यो अत्यन्तै महत्त्वपूर्ण विषय हो, जीवन अनुभवमा बेवास्ता गर्न नसकिने विषय हो। यो सीधै मानिसको आत्मिक जीवनको वास्तविक मानसिकतासँग सम्बन्धित हुन्छ, जसमा उसको जीवनका सबै पक्षहरू समावेश हुन्छन्। त्यसकारण, देहधारी परमेश्‍वरले हैसियतलाई कसरी लिनुहुन्छ भन्‍ने विषयमा उहाँको मनोवृत्ति र सिद्धान्तहरूका बारेमा तिमीहरूसँग सङ्‍गति गर्नु पनि आवश्यक छ। मानवजातिको बीचमा, हैसियतलाई मानिसहरूले आफ्नो जीवनभरि बेवास्ता गर्न नसक्ने विषय हो भनेर भन्न सकिन्छ, र यो धेरैजसो मानिसहरूले पछ्याउने कुरा पनि हो। हैसियतको कुरा गर्दा, यसले सबैको हृदयमा एक निश्चित स्थान ओगट्छ र एक निश्चित महत्त्व राख्छ। सबैका लागि, हैसियत हुनु भनेको उच्च प्रतिष्ठाको प्रतीक हो, साथै समाजमा वर्ग र शक्तिको प्रतीक हो। हैसियत भएपछि, मानिसले यसले ल्याउने सम्मान र उच्चस्तरीय जीवनशैली, साथै यसले प्रदान गर्ने विभिन्न लाभ र शक्तिको आनन्द लिन सक्छ; तसर्थ, हैसियत सबैका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छ। तर मानवजातिले हैसियतलाई जतिसुकै उच्च महत्त्व दिए पनि, वा मानवजातिका लागि हैसियत जतिसुकै महत्त्वपूर्ण भए पनि, के देहधारी परमेश्‍वरले यसलाई त्यसरी नै हेर्नुहुन्छ? (हेर्नुहुन्न।) पक्कै पनि हेर्नुहुन्न। मानवजातिका लागि हैसियत अत्यन्तै महत्त्वपूर्ण हुन्छ, तर देहधारी परमेश्‍वर, यो साधारण व्यक्तिका लागि—अर्थात्, व्यक्तिगत रूपमा मेरा लागि—मसँग हैसियतको कुनै अवधारणा नै छैन, न त मसँग यसलाई पछ्याउने कुनै चाहना नै छ। अवश्य नै, यसबारे मसँग कुनै विचार वा सचेतना हुने त कुरै आउँदैन—मसँग यीमध्ये कुनै पनि कुरा छैन। म जन्मदेखि नै यस्ता भावनाहरूबाट मुक्त छु; अर्थात्, म कुराहरू याद गर्न सक्ने र कुराहरू कसरी काम गर्छन् भनी बुझ्न सक्ने उमेरको भएदेखि नै, ममा यो सचेतना छैन। परिवारमा हुने हैसियत होस्, विद्यालयमा हुने हैसियत होस्, वा मानिसहरूको बीचमा रहेको मेरो स्थान र मूल्य होस्, मेरो हृदय यी कुराहरूबाट मुक्त छ; ममा यो सचेतना छँदै छैन। सचेतनाको यो कमी कसरी प्रदर्शन हुन्छ? म अरूसँग प्रतिस्पर्धा गर्ने बारेमा कहिल्यै सोच्दिनँ, र म कसैसँग हैसियतका लागि प्रतिस्पर्धा गर्ने विचार कहिल्यै राख्दिनँ। जब कसैले मसँग प्रतिस्पर्धा गर्ने प्रयास गर्छ, तब म भन्छु, “तँ केका लागि प्रतिस्पर्धा गर्दैछस्? यसो गर्नुको अर्थ के हो?” म बिस्तारै हुर्कंदै जाँदा, मैले मानिसहरू र कामकुराहरूलाई अझ स्पष्ट रूपमा कसरी हेर्ने भनेर सिकेँ। सबै प्रकारका मानिसहरू र कामकुराहरूको अनुभव गर्ने र सामना गर्ने क्रममा, मैले के थाहा पाएँ भने मानिसहरू सबै एक-अर्कासँग प्रतिस्पर्धा गर्न मन पराउँछन्। मानिसहरूले प्रतिस्पर्धा गर्ने कुरा भनेका हैसियत, शक्ति, प्रतिष्ठा, र हितहरू हुन्; मानिसहरू यी कुराहरूका लागि प्रतिस्पर्धा गर्छन्। म सानो छँदा, मसँग यी कुराहरूका लागि प्रतिस्पर्धा गर्ने बारेमा कुनै अवधारणा थिएन। हुर्किसकेपछि, म त्यस्तो प्रतिस्पर्धालाई खुट्ट्याउन मात्रै सक्षम भएँ, र मानिसहरूले मसँग किन प्रतिस्पर्धा गरे भनेर बुझेँ मात्र, तर म आफैमा अरू कसैसँग प्रतिस्पर्धा गर्ने कुनै चाहना अझै पनि थिएन। म मानिसहरूसँग प्रतिस्पर्धा नगर्नुका कस्ता प्रकटीकरणहरू देखाउँछु? जब अरूले मसँग प्रतिस्पर्धा गर्ने प्रयास गर्छन्, तब म मनमनै सोच्छु, “यदि तैँले मसँग प्रतिस्पर्धा गरेर आफूले चाहेको कुरा पाउन सक्छस् भने, तैँले मलाई उछिनेको छस्; यदि तैँले सक्दैनस् भने, मैले तँलाई उछिनेको छु, तर म तँभन्दा महान् छु भन्‍ने मलाई लाग्दैन। मैले तँलाई उछिने पनि, म तँलाई धम्काउने वा यातना दिनेछैनँ; यसबाट मैले कुनै फाइदा पाउनेछैनँ, न त म तँभन्दा धेरै प्रभावशाली भएको नै महसुस गर्नेछु।” हेर् त, मसँग भएको मानसिकता, मेरो सामान्य स्थिति यस्तै प्रकारको छ; हैसियतप्रतिको मेरो सचेतना र अवधारणा यस्तै छ। म मण्डलीमा आएपछि पनि अवस्था यस्तै थियो। म पहिलो पटक साधारण विश्वासी बन्दा निकै उत्साही भएको हुनाले, र उच्च-स्तरका अगुवाहरूले मेरो कदर गरेको हुनाले, कतिपय मानिसहरूले मेरो डाहा गर्न थाले। मैले सोचेँ, “यसमा डाहा गर्नुपर्ने कुरा के छ र? यदि तँ पनि त्यत्तिकै उत्साही छस् र मूल्य पनि चुकाउँछस्, धेरै भजनहरू सिक्छस्, धेरै प्रार्थना गर्छस्, मण्डली जीवनमा धेरै सहभागी हुन्छस्, र दाजुभाइ-दिदीबहिनीहरूलाई धेरै मद्दत गर्छस् भने, के उच्च-स्तरका अगुवाहरूले तेरो पनि कदर गर्नेथिएनन् र?” ती परिस्थितिहरूमा, कदर गरिनु कुनै प्रकारको सम्मान हो, हैसियत हुनुको प्रतीक हो, वा कुनै प्रकारको उच्च पहिचान प्राप्त गर्नु हो भन्‍ने मलाई लागेन; मैले यीमध्ये कुनै पनि कुरा महसुस गरिनँ। पछि, बिस्तारै, मेरो हैसियत झन्-झन् विशेष बन्दै गयो, र यो झन्-झन् उच्च हुँदै गयो। जब मैले औपचारिक रूपमा काम गर्न थालेँ, तब पनि मेरो हैसियत त्यति उच्च छ, वा म अरूभन्दा प्रभावशाली वा अरूभन्दा फरक छु भन्‍ने मलाई लागेन। व्यक्तिगत रूपमा, म आफैमा यो सचेतना थिएन, तर कतिपय मानिसहरूले मलाई हेर्ने र मलाई व्यवहार गर्ने तरिका पहिलेभन्दा फरक थियो। त्यसपछि मात्रै मैले हैसियत प्राप्त गरेपछि मानिसहरूका बीचमा हुँदा यस्तो महसुस हुने रहेछ भन्‍ने महसुस गरेँ। जब मसँग हैसियत भयो र मैले काम गर्न थालेँ, तब मानिसहरूले मलाई हेर्ने तरिका फरक भयो, मसँग बोल्‍ने तिनीहरूको मनोवृत्ति फरक भयो, र तिनीहरूको शब्द छनौट, बोलाइको शैली, र अन्य हरेक पक्ष फरक भए। म व्यक्तिको रूपमा परिवर्तन भएको छैनँ। मेरो रूप अझै पनि उस्तै छ, र मेरो व्यक्तित्व, मेरो जीवनशैलीका बानीबेहोराहरू, र मेरो बोल्ने तरिका परिवर्तन भएका छैनन्। त्यसोभए मप्रतिको मानिसहरूको मनोवृत्ति किन फरक छ? यो मानिसहरूको हैसियतप्रतिको चाहना देखा पर्नु हो। मानिसहरू सबैले हैसियतलाई उच्च सम्मान गर्छन्; मसँग हैसियत भएपछि, मप्रतिको मानिसहरूको मनोवृत्ति परिवर्तन भयो। मानिसहरूले मन पराएको कुरा हैसियत थियो, म होइन—किनभने म त परिवर्तन नै भएको थिइनँ। परिवर्तन भएको एउटै कुरा मेरो स्थान थियो। म प्रवचनहरू सुन्ने साधारण विश्वासीबाट मञ्चबाट प्रचार गर्ने व्यक्ति बनेँ, र मप्रतिको मानिसहरूको मनोवृत्ति फरक भयो। जब मप्रतिको मानिसहरूको मनोवृत्ति फरक भयो, तब मात्रै मसँग हैसियत छ भन्‍ने मैले महसुस गरेँ। मानिसहरू मसँग अझ विनम्रतापूर्वक बोल्थे र मलाई आदरपूर्ण उपाधिहरूले सम्बोधन गर्थे। जब म त्यहाँ बसेर बोल्थेँ, तब कसैले मलाई पानी हालेर दिन्थ्यो; जब खाना खाने बेला हुन्थ्यो, तब कसैले मलाई खाना पस्किदिन्थ्यो र मेरा लागि चपस्टिक ल्याइदिन्थ्यो। त्यसपछि मात्रै मैले मसँग हैसियत भएकै कारणले मानिसहरूले मलाई यस्तो व्यवहार गरेका हुन् भन्‍ने याद गरेँ। तर, मेरो हकमा भन्दा, मलाई अझै पनि “हैसियत हुनु भनेको शक्ति हुनु हो; हैसियतले आफू र अरूको बीचमा दूरी सिर्जना गर्छ, व्यक्तिलाई श्रेष्ठता दिन्छ, र व्यक्तिलाई आफ्नो तरिकाले चल्न, आफूले चाहेको जे पनि गर्न दिन्छ” भन्‍ने लागेन। ममा यो सचेतना थिएन, न त मलाई यस्तो महसुस नै भयो। त्यसकारण, जब म साधारण विश्वासी थिएँ, तब म मानिसहरूसँग सामान्य रूपमा अन्तरक्रिया गर्न सक्थेँ, र जब मसँग हैसियत भयो, तब मानिसहरूसँग अन्तरक्रिया गर्ने मेरो तरिका परिवर्तन भएन; म अझै पनि तिनीहरूसँग सामान्य रूपमा मिलजुल हुन सक्थेँ।

हैसियत हुनुले शक्ति हुनुलाई सङ्केत गर्छ, तर मैले कसैलाई दबाउन कहिल्यै शक्तिको प्रयोग गरेको छैनँ वा कसैलाई भाषण दिन मेरो हैसियतको प्रयोग गरेको छैनँ। मसँग हैसियत भएको कारणले गर्दा, मैले हरेक कुरामा अन्तिम निर्णय गर्न सक्छु, र मैले मेरो हैसियतको फाइदा उठाएर आफूले चाहेका कुराहरू गर्न आफ्नो अधिकार प्रयोग गर्न सक्छु भन्‍ने पनि मलाई कहिल्यै लागेको छैन। ममा त्यस्ता विचारहरू कहिल्यै आएका छैनन्, र मैले कहिल्यै यसरी काम गरेको छैनँ। म अझै पनि मण्डलीका प्रशासनिक आदेशहरू, मण्डलीका नियमहरू, र मण्डलीका कार्य प्रबन्धहरू पालन गर्छु। ममा हैसियतको कुनै सचेतना छैन, न त कुनै कुरा गर्न वा आफ्ना लागि केही फाइदा खोज्न शक्तिको प्रयोग गर्ने कुनै सचेतना नै छ। मैले त्यस्ता कुराहरू कहिल्यै भनेको छैनँ, न त मैले त्यस्ता कामहरू नै कहिल्यै गरेको छु। मानौँ कुनै व्यक्ति मकहाँ आउँछ र आफ्नो कर्तव्य पूरा गर्नमा केही कठिनाइहरू भइरहेको छ भनेर भन्छ, र मैले उसलाई अर्को कर्तव्यका लागि नयाँ काममा खटाउन सक्छु कि भनेर सोध्छ। शक्ति भएको व्यक्तिले सामान्यतया के भन्छ? “मैले त केवल एक शब्द भनिदिए पुग्छ, होइन र? यसमा अन्तिम निर्णय गर्ने व्यक्ति म नै हुँ!” यो भ्रष्ट मानवहरूले प्रायजसो प्रयोग गर्ने मन्त्र हो, तर मैले यस्तो कुरा कहिल्यै भनेको छैनँ। म भन्छु, “तँलाई यो कर्तव्य पूरा गर्नमा कठिनाइहरू छन्, त्यसैले मैले निश्‍चित अवस्थाको बारेमा सोध्नुपर्छ। मण्डलीले सामान्यतया सिद्धान्तहरू र व्यक्तिका अवस्थाहरूका आधारमा मानिसहरूको कर्तव्य समायोजन गर्छ। यसबारे पत्ता लगाउन र यसलाई समाधान गर्न म अगुवा र कामदारहरूकहाँ जानुपर्छ।” यस मामिलामा मेरा सिद्धान्तहरू के-के हुन्? मेरा विचारहरू के-के हुन्? तिनीहरूले मलाई यो मामिलाप्रति ध्यानाकर्षण गराउँछन्, र मैले तिनीहरूले भनेको कुरा मात्र सुनेको छु, र तिनीहरूले के गरेका छन् वा पर्दा पछाडि तिनीहरूका कस्ता प्रकटीकरणहरू छन् भन्‍ने मलाई थाहा छैन; म तिनीहरूको कुरामा मात्रै भर पर्न सक्दिनँ। मसँग तिनीहरूको सम्बन्ध राम्रो भए पनि वा तिनीहरूले मलाई कहिल्यै नचिढ्याएका भए पनि, मेरो शक्ति प्रदर्शन गर्न म आफैले स्वेच्छाचारी रूपमा तिनीहरूको कर्तव्य प्रबन्ध गर्न सक्दिनँ। मैले तिनीहरूले सामान्यतया कस्तो व्यवहार गर्छन्, तिनीहरूलाई यो कर्तव्य गर्न प्रबन्ध गर्नु उपयुक्त थियो कि थिएन, अगुवाहरूसँग कुनै विचारहरू थिए कि थिएनन्, र यो सिद्धान्तहरूमा आधारित थियो कि थिएन भनेर मण्डलीका अगुवाहरूलाई सोध्नुपर्छ। यदि यो सिद्धान्तहरूमा आधारित छ भने, तिनीहरूको कर्तव्यलाई स्वेच्छाचारी रूपमा समायोजन गर्न सकिँदैन, होइन र? (हो।) म पक्कै पनि यसो भन्‍नेछैनँ, “मैले त केवल एक शब्द भनिदिए पुग्छ। मसँग यसो गर्ने शक्ति छ। म गएर अगुवाहरूलाई भन्‍नेछु—तिनीहरूले मैले भनेको कुरा कसरी गर्ने रहेछन् हेर।” म यसो गर्नेछैनँ, न त मैले कहिल्यै त्यस्ता कुराहरू भनेको नै छु। जब म मेरो गृहनगरको मण्डलीमा थिएँ, तब मैले यस्तो प्रकारको काम गरिनँ, र पछि, जब म मण्डलीको समग्र काम गर्थेँ र विभिन्न प्रान्तका मण्डलीहरूमा यात्रा गर्थेँ, तब पनि म त्यस्ता कामहरू गर्थिनँ। अर्थात्, मैले व्यक्तिहरूलाई सिद्धान्तविहीन निगाहहरू प्रदान गर्न आफूले प्रयोग गर्ने अधिकार कहिल्यै चलाएको छैनँ; मैले कहिल्यै त्यस्तो चलन बसालेको छैनँ। अहिले हाम्रो मण्डलीमा जतिसुकै मानिसहरू भए पनि, वा तिनीहरू जतिसुकै जातका भए पनि र जतिसुकै देशबाट आएका भए पनि, मेरो पहिचानको हिसाबमा मात्रै हेर्दा, के तिमीहरू मेरो हैसियत निकै उच्च छ भन्दैनौ र? के मेरो शक्ति निकै विशाल छैन र? (छ।) भ्रष्ट मानवजातिमाझ, यो हैसियत निकै ठूलो कुरा हुनेथियो, र यो शक्ति विशाल हुनेथियो! एक औसत व्यक्तिले यसलाई सम्हाल्न सक्नेथिएन; तिनीहरूलाई यो शक्तिको कसरी प्रयोग गर्ने भन्‍ने थाहा हुनेथिएन, र तिनीहरूलाई के खाने वा के गर्ने भन्‍ने समेत थाहा हुनेथिएन। तर म तिमीहरूसँग कसरी बोल्छु र अन्तरक्रिया गर्छु हेर। म सबैसँग अन्तरक्रिया गर्छु, चाहे तिनीहरू अगुवा र कामदारहरू होऊन् वा साधारण विश्वासीहरू होऊन्। मेहनत लगाउने र शारीरिक श्रम गर्नेहरू, खासै ध्यान नखिच्ने मानिसहरू, र नयाँ विश्वासीहरूसँग समेत मैले अन्तरक्रिया गरेको छु। जब म तिमीहरूमा समस्याहरू देख्छु, तब म तिमीहरूसँग सङ्‍गति गर्छु र कुरा गर्छु। कहिलेकाहीँ, नयाँ विश्वासीहरूसँग अन्तरक्रिया गर्दा, म तिनीहरूलाई मेरो पहिचान थाहा नदिनका लागि सक्दो प्रयास गर्छु। मैले आफूलाई एक साधारण व्यक्तिको रूपमा मात्र तिनीहरूलाई देखाउनु नै उत्तम हुन्छ। यदि तिनीहरू मेरो कुरा सुन्न इच्छुक छन् भने, तिनीहरूले थोरै कुरा सुन्न सक्छन्; यदि तिनीहरू इच्छुक छैनन् भने, म तिनीहरूलाई जबरजस्ती गर्दिनँ। म तिनीहरूलाई स्वतन्त्रता दिन्छु। म पक्कै पनि आफूलाई अरूभन्दा माथि राख्नेछैनँ, न त म ठूलो पल्टिनेछु। म को हुँ भनेर तिनीहरूलाई थाहा दिन, मेरो हैसियत कति उच्च छ वा मेरो शक्ति कति महान् छ भनेर तिनीहरूलाई थाहा दिन, र तिनीहरूलाई मदेखि डराउने बनाउन म पक्कै पनि आफ्नो परिचय दिनेछैनँ। मलाई यसो गर्न मन पर्दैन, र मैले कहिल्यै त्यसो गरेको छैनँ। कहिलेकाहीँ जब म आफूसँग परिचित नभएका दाजुभाइ-दिदीबहिनीहरूलाई भेट्छु र तिनीहरूसँग कुराकानी गर्छु, तब तिनीहरूले मलाई तलदेखि माथिसम्म हेर्छन् र मनमनै सोच्छन्, “तैँले आफूलाई को हुँ भन्‍ने ठान्छस्? तैँले किन हामीसँग सङ्‍गति गरिरहेको छस्?” मैले यो व्यक्ति अपरिचित व्यक्ति हो, उसले मलाई केही मात्रामा शत्रुताको नजरले हेर्छ, र उसले मलाई छानबीन गर्न र मलाई हेला गर्न चाहन्छ भन्‍ने देख्छु, तर मलाई वास्ता हुँदैन। यदि तिनीहरूले मलाई हेला गर्छन् र तिनीहरू मेरो सङ्‍गति सुन्न इच्छुक छैनन् भने, म मेरो सङ्‍गतिलाई छोट्याउनेछु; यदि तिनीहरू मेरो कुरा सुन्न इच्छुक छन् भने, म तिनीहरूसँग अझै केही कुराकानी गर्नेछु। कतिपय मानिसहरू मेरो सङ्‍गति सुन्न पाउँदा रमाउँछन् र सुन्‍न इच्छुक हुन्छन्, र तिनीहरूले मलाई खाना खानका लागि बस्न समेत भन्छन् र मसँग कुराकानी गर्नका लागि अग्रसरता जनाउँछन्। त्यसपछि, म तिनीहरू कुन मण्डलीका हुन्, तिनीहरूले के कर्तव्य निर्वाह गर्छन्, वा तिनीहरूको अवस्था कस्तो छ भनेर सोध्दिनँ; म तिनीहरूलाई सामान्य र सही रूपमा व्यवहार गर्छु।

मैले जोसुकैसँग अन्तरक्रिया गरे पनि—चाहे ती सत्यता पछ्याउने मानिसहरू होऊन् वा नपछ्याउनेहरू होऊन्, चाहे ती समाजमा हैसियत भएका मानिसहरू होऊन् वा नभएकाहरू होऊन्, चाहे ती अगुवा र कामदारहरू होऊन् वा साधारण विश्वासीहरू होऊन्—कामको बारेमा तिमीहरूसँग सङ्‍गति गर्दा वा दैनिक जीवनमा तिमीहरूसँग अन्तरक्रिया गर्दा म कहिल्यै आफूलाई श्रेष्ठ ठान्दिनँ। उदाहरणका लागि, यदि तँलाई तिर्खा लागेको छ भनेर भन्छस् भने, म तँलाई एक गिलास पानी हालिदिनेछु। म ठूलो पल्टिनुपर्छ र मैले तँलाई मेरो सेवा गर्न लगाउनुपर्छ भन्‍ने होइन, न त म यसो भन्‍नेछु, “हैसियत र मूल्यको हिसाबमा हाम्रो बीचमा भिन्‍नता छ; म पक्कै पनि कसैको सेवा गर्ने यस्तो प्रकारको काम गर्नेछैनँ।” ममा त्यस्ता विचारहरू छैनन्। यदि तैँले मेरो लागि पानी हालिदिइस् भने, म यसलाई दाजुभाइ वा दिदीबहिनीको कार्यको रूपमा लिन्छु; यदि तँलाई तिर्खा लागेको छ र मैले तँलाई पानी खन्याइदिनुपर्ने आवश्यकता पर्यो भने, म पनि तँलाई एक गिलास पानी खन्याइदिन सक्छु। जब म भेलाहरूमा सङ्‍गति गरिरहेको हुन्छु, तब कतिपय मानिसहरूले धारणाहरू र शत्रुता पाल्छन्, वा तिनीहरूको मनोवृत्ति खराब हुन्छ, वा तिनीहरू इच्छुक हुँदैनन् र मलाई बेवास्ता गर्छन्। त्यस्तो अवस्थामा, म नियमअनुसार चल्छु; यदि सङ्‍गति गर्नुपर्ने आवश्यकता छ भने म सङ्‍गति गर्छु, र यदि समस्याहरू समाधान गर्न आवश्यकता छ भने म समस्याहरू समाधान गर्छु। म आफूलाई श्रेष्ठ ठान्दिनँ वा ठूलो पल्टिँदिनँ। तैँले मप्रति शत्रुता पाल्छस् भने पनि, म आफूले गर्नुपर्ने काम अझै पनि गर्छु र म आफूले बोल्नुपर्ने वचनहरू बोल्छु। म तँबाट पटक्कै प्रभावित हुँदिनँ, र म काममा अलिकति पनि ढिलाइ गर्दिनँ; तैँले प्राप्त गर्नुपर्ने कुरा पनि अलिकति प्रभावित हुँदैन। यदि यो मेरो सेवकाइको भाग हो, र यसमा सत्यता, सिद्धान्तहरू, र मण्डलीको काम समावेश छ भने, समस्या लिएर मकहाँ जोसुकै आए पनि, म पक्कै पनि यसो भन्‍नेछैनँ, “के तेरो दर्जा पर्याप्त रूपमा उच्च छ? आखिर तँ को होस्? के तँ क्षेत्रीय अगुवा वा जिल्ला अगुवा होस्? वा तँ कुनै निश्चित स्तरको टोली अगुवा वा सुपरिवेक्षक होस्?” म यी कुराहरू सोध्दिनँ। यदि तँ कुनै समस्या लिएर मकहाँ आइस् वा कुनै निश्चित अगुवा वा मण्डलीको कामको कुनै निश्चित पक्षको समस्या रिपोर्ट गरिस् भने, म आवश्यकताअनुसार तँसँग सङ्‍गति गर्नेछु। म आफूलाई श्रेष्ठ ठान्दिनँ, र म तेरो दर्जाको बारेमा सोध्दिनँ। सायद तैँले परमेश्‍वरमा विश्‍वास गरेको धेरै भएको छैन होला, र तँलाई परमेश्‍वरको घरमा तेरो हैसियत उच्च छैन भन्‍ने लाग्छ होला, त्यसैले सोध्नका लागि तँलाई अत्यन्तै लाज लाग्छ होला। तर म कुराहरूलाई त्यसरी हेर्दिनँ; म मानिसलाई उसको हैसियतको आधारमा व्यवहार गर्दिनँ। त्यसैले, तिमीहरू अगुवा र कामदारहरू भए पनि वा साधारण दाजुभाइ-दिदीबहिनीहरू भए पनि, जब म तिमीहरूसँग जीवन प्रवेशको बारेमा सङ्‍गति गर्छु वा तिमीहरूको कामलाई मार्गदर्शन गर्छु, तब म पक्कै पनि हाकिमले जस्तो कुरा गर्नेछैनँ वा तिमीहरूलाई अनुमान गर्न लगाउनेछैनँ, न त म तिमीहरूलाई गाह्रो बनाउन सबै प्रकारका प्रश्नहरू नै सोध्नेछु। तिमीहरूमाथि काम गर्दा र तिमीहरूसँग बोल्दा म कुनै कसर बाँकी राख्दिनँ। म कुरा जस्तो छ त्यस्तै भन्छु, र मलाई जति थाहा छ त्यति भन्छु। म आफूलाई श्रेष्ठ ठान्दिनँ, म तिमीहरूको गिल्ला गर्दिनँ, र म तिमीहरूलाई गाह्रो बनाउँदिनँ। जब म तिमीहरूलाई आफ्नो काममा कठिनाइहरू भएको र यो कसरी गर्ने भन्‍ने थाहा नभएको देख्छु, तब म तिमीहरूलाई मार्गदर्शन र सल्लाह प्रदान गर्छु। तिमीहरूलाई अझ धेरै सिक्न र तिमीहरूको पेशागत सीपहरूमा केही सिद्धान्तहरू बोध गर्न, र सत्यताको अझै अलिकति बुझाइ प्राप्त गर्न मद्दत गर्नका लागि म कुराहरू भन्छु र गर्छु। चाहे सार्वजनिक रूपमा होस् वा व्यक्तिगत रूपमा, म यसरी नै काम गर्छु। चाहे आमनेसामने अन्तरक्रिया गर्दा होस्, वा अनलाइनमा तिमीहरूसँग सङ्‍गति गर्दा र कुराकानी गर्दा होस्, म कहिल्यै देखावटी कुरा गर्दिनँ। देखावटी गर्नु अर्थ के हो? यसको अर्थ सधैँ ठूलो पल्टिनु र प्रभावशाली उपस्थिति देखाउनु हो, जसले तिमीहरूलाई म असाधारण र दबदबापूर्ण छु, र म तिमीहरूभन्दा माथि छु भन्‍ने महसुस गराउँछ। म कहिल्यै यसरी देखावटी कुरा गर्दिनँ। यसका साथै, भेलाहरूको दौडान, म उच्च छवि बनाउने वा उल्लङ्घन नसहने कुरामा विशेष ध्यान दिँदिनँ, र म स्वर्गमा हुनुहुने परमेश्‍वरको भूमिका खेल्दिनँ; म त्यस्ता कामहरू गर्दिनँ। एक पटक कसैले मलाई भेलाहरूको दौडान प्रयोग गर्नका लागि मेरो लागि विशेष रूपमा टेबल तयार गर्नुपर्छ कि पर्दैन भनेर सोध्यो। मैले भनेँ, “त्यसो गर्नुपर्ने कुनै आवश्यकता छैन; जुनसुकै टेबल भए पनि हुन्छ।” त्यसपछि तिनीहरूले एउटा निकै पुरानो टेबल भेट्टाए, र मैले त्यसैले काम चलाएँ। मैले यसो भनिनँ, “तैँले मेरो लागि यो कस्तो टेबल खोजिस्! मेरो पहिचानको आधारमा, तैँले मेरो लागि किन राम्रो टेबल खोजिनस्? के तैँले कामकुराहरू यसरी नै सम्हाल्छस्!” मैले केही भनिनँ, न त मैले उच्च-स्तरीय वा सुनको जलप लगाएको टेबल प्रयोग गर्ने माग नै गरेँ; म यी कुराहरूको बारेमा कहिल्यै किचकिचे भएको छैनँ। पछि, जब अनलाइन भेला भयो, तब पनि म एउटा साधारण स्टुलमा बसेँ र एउटा साधारण डेस्क प्रयोग गरेँ, जसमा एउटा डेस्क बत्ती थियो, र प्रत्येक सङ्‍गतिको विषय र रूपरेखा टिप्न एउटा नोटबुक थियो। यो कुरा यति नै सरल छ। जब मण्डलीमा भेला हुन्छ, तब म साधारण पेशागत पहिरन लगाउँछु—सामान्यतया सुटको ज्याकेट, पाइन्ट, र छालाको जुत्ता, र जाडोमा म ऊनीको ओभरकोट पनि लगाउँछु—जुन अत्यन्तै साधारण पहिरन हो, यो दैनिक लगाउने लुगाभन्दा अलिकति मात्र बढी औपचारिक देखिन्छ। भेलाहरूको दौडान प्रयोग गरिने उच्च-स्तरीय उपकरणहरू भनेका माइक्रोफोन, एम्प्लिफायर, र कम्प्युटर मात्र हुन्; यी मात्र उच्च-स्तरीय, मूल्यवान् कुराहरू हुन्। हेर् त, यो कुरा यति नै सरल छ। विदेशमा भएको कारणले यो कुरा सम्भव भएको हो, जहाँ विश्‍वासको स्वतन्त्रता छ र यी अवस्थाहरू छन्। एम्प्लिफायर प्रयोग गरेर, दाजुभाइ-दिदीबहिनीहरूले कोठाको कुनाबाट पनि स्पष्ट रूपमा सुन्न सक्छन्, र यसले मेरो लागि बोल्ने काम निकै कम रूपमा कष्टकर बनाउँछ। मुख्य भूमि चीनमा हुँदा, यी अवस्थाहरू थिएनन्। मेरो शरीर कमजोर छ र मेरो स्वर मधुरो छ। जब भेलामा धेरै मानिसहरू हुन्थे, तब मैले ठूलो स्वरमा बोल्नुपर्थ्यो, र त्यति गर्दा पनि, श्रोताहरूले मेरो स्वर मधुरो छ भन्‍ने महसुस गर्थे। एक वा दुई दिन चल्ने भेलाको लागि, मैले पूरै समय यसरी नै ठूलो स्वरमा बोलिरहनुपर्थ्यो। मलाई भन्, के त्यो थकाइलाग्दो हुँदैन र? (हुन्छ।) जब हामी मुख्य भूमि चीनमा ठूला भेलाहरू गर्थ्यौँ, तब म धेरै थाक्थेँ। अहिले हामी विदेश आएका छौँ र स्वतन्त्र छौँ, एम्प्लिफायर प्रयोग गरेर, मैले त्यति ठूलो स्वरमा बोल्नु पर्दैन। यसले गर्दा मैले धेरै मेहनत गरिरहनु पर्दैन, र मानिसहरूले पनि अत्यन्तै स्पष्ट रूपमा सुन्न सक्छन्। जब म भेलाहरूमा तिमीहरूलाई प्रवचनहरू प्रचार गर्छु र मानिसलाई आवश्यक पर्ने सत्यताका विभिन्न पक्षहरूमा सङ्‍गति गर्छु, तब त्यहाँ कुनै औपचारिकता हुँदैन, र म कुनै भव्य प्रदर्शन गर्ने प्रयास गर्दिनँ। म तिमीहरूले बुझ्नुपर्ने र तिमीहरूलाई आवश्यक पर्ने सत्यताका विभिन्न पक्षहरूका बारेमा तिमीहरूसँग सङ्‍गति मात्र गर्छु, ताकि तिमीहरूले ती बुझ्न सक, साँचो मार्गमा जग बसाल्न सक, बिस्तारै स्पष्टता प्राप्त गर्न र सत्यताका विभिन्न पक्षहरूमा रुचि विकास गर्न सक, त्यसपछि तिनलाई कसरी व्यवहारमा लागू गर्ने भन्‍ने जान्न सक, अलि-अलि गर्दै आफ्नो हृदय परमेश्‍वरतर्फ फर्काउन र परमेश्‍वरको अधीनमा बस्न सक। यति नै पर्याप्त हुन्छ। हेर् त, के मैले वर्षौँदेखि यसरी नै काम गरेको छैनँ र? (गर्नुभएको छ।) मैले भेलाहरूमा सङ्‍गति गरेका वचनहरू पुस्तकहरूमा छापिन्छन्। भ्रष्ट मानवहरूको कल्पनाअनुसार त, यी वचनहरू सत्यता भएकाले र परमेश्‍वरका अभिव्यक्तिहरू भएकाले, ती कुनै प्रकारको औपचारिकता वा कुनै प्रकारको भव्य प्रदर्शनका साथ व्यक्त गरिएको हुनुपर्छ। वास्तवमा, यो अत्यन्तै साधारण हुन्छ। जब म भेलाहरूमा प्रचार गर्छु, तब मेरो सेवा गर्न वरपर कोही हुँदैन। जब बोल्दा मेरो मुख सुक्खा हुन्छ, तब म पिउनलाई आफै पानी हाल्छु। कहिलेकाहीँ म मेरो घाँटीलाई आराम दिन केही मात्रामा मह-पानी पिउँछु, र कहिलेकाहीँ म सादा पानी मात्र पिउँछु। मेरो जीवन निकै सरल छ; यो तिमीहरूले कल्पना गर्न सक्नेभन्दा पनि सरल छ। कतिपय मानिसहरूले यस्तो सोच्न सक्छन्, “तपाईंले नाटक गरिरहनुभएको छ। तपाईंसँग के कुराको कमी हुन सक्छ र? तपाईंसँग पहिचान र हैसियत छ, त्यसैले तपाईं यति सरल रूपमा जिउनु असम्भव छ।” मेरो जीवन साँच्चै यति नै सरल छ। म पिउने एउटै कप वर्षौँसम्म प्रयोग गर्छु, र जब त्यो फुट्छ वा धेरै पुरानो हुन्छ, तब मात्रै त्यसलाई बदल्छु, त्यसपछि म त्यो नयाँ कपलाई अरू धेरै वर्षसम्म प्रयोग गर्छु। वास्तविकता यही हो। जन्मदेखि अहिलेसम्म, मैले हैसियतलाई यसरी नै लिएको छु। मसँग हैसियत भए पनि वा नभए पनि मेरो लागि यो उस्तै हो; म केवल सरल र नियमित तरिकाले जिउँछु। थाहा नभएका मानिसहरूले सोच्नेछन्, “तपाईंसँग यो हैसियत र यी साधनहरू छन्; तपाईंले कति मोजमस्ती गरिरहनुभएको होला, कसलाई के थाहा!” म साँच्चै कुनै कुरामा लिप्त भएको छैनँ। कहिलेकाहीँ दाजुभाइ-दिदीबहिनीहरूले केही तरकारीहरू ल्याउँछन्, र तिनीहरूले जे ल्याउँछन् म त्यही खान्छु। यो कुरा यति नै सरल छ। म आफूले खाने कुरालाई जटिल बनाउँदिनँ। म जथाभाबी मासु खाँदिनँ, न त म अनौठो र असामान्य खानेकुराहरू नै खान्छु। म अत्यन्तै सरल खाना खान्छु; ती सबै साधारण घरमा पकाइएका परिकारहरू मात्र हुन्। यसबाहेक, यति धेरै वर्षसम्म काम गरिसकेपछि, मलाई कहिल्यै यस्तो लागेको छैन, “हाम्रो मण्डलीमा यति धेरै मानिसहरू छन्; ममा सम्मानको बोध र श्रेष्ठताको बोध छ।” म कुनै सम्मानको बोध महसुस गर्दिनँ, न त मैले मण्डलीमा योगदान दिएको छु, वा मैले प्रभामण्डल लगाएको छु भन्‍ने नै मलाई लाग्छ। ममा यी भावनाहरू हुँदैनन्, न त म यी कुराहरूमा आनन्द नै लिन्छु। बाहिरी मानिसहरूले सोच्न सक्छन्, “तपाईं बाहिरी रूपमा साधारण र सामान्य देखिए पनि, तपाईंले गर्ने काम र तपाईंको अहिलेका अवस्थाहरूलाई हेर्दा, यति धेरै मानिसहरूले तपाईंलाई पछ्याइरहेका छन्, तपाईंको हैसियत पर्याप्त रूपमा उच्च छ र तपाईंको शक्ति पर्याप्त रूपमा महान् छ—तपाईंले आफ्नो हैसियतको आनन्द लिनुपर्छ, तपाईंले गर्ने हरेक कुरामा प्राथमिकता पाउनुपर्छ, र तपाईंमा श्रेष्ठताको बोध हुनुपर्छ।” म के भन्छु भने ममा कहिल्यै कुनै श्रेष्ठताको बोध भएको छैन, न त म हैसियतका लाभहरूको आनन्द नै लिन्छु। यसको अर्थ म यो सचेतना वा यी विचार र भावनाहरूको विरुद्धमा विद्रोह गर्छु भन्‍ने होइन, बरु यी विचारहरू ममा कतै पनि पाइँदैन भन्‍ने हो; ममा त्यस्ता कुराहरू छन् भन्‍ने महसुस गर्दिनँ। त्यसकारण, कहिलेकाहीँ जब म जीवनमा आफैले सम्हाल्न सक्ने कुराहरू सामना गर्छु, तब म आफै गएर तिनलाई सम्हाल्छु, अरूलाई मेरो लागि ती गर्न लगाउँदिनँ। कसैले भन्न सक्छ, “तपाईंलाई यो मामिला सम्हाल्न मद्दत गर्न सक्ने स्थितिमा फलानो दाजु वा फलानी दिदी छन्।” म भन्छु, “मैले त्यो किन सोचिनँ? मेरो दिमाग त्यहाँ किन गएन?” मानिसहरूको नजरमा, म अत्यन्तै मूर्ख छु र मलाई कसरी मोजमस्ती गर्ने भन्‍ने थाहा छैन। तिनीहरू सोच्छन्, “यति धेरै मानिसहरूले तपाईंलाई पछ्याइरहेका छन्, र यस्तो अनुकूल अवस्थाहरू हुँदाहुँदै पनि, तपाईं अझै पनि सानातिना मामिलाहरू व्यक्तिगत रूपमा सम्हाल्‍नुहुन्छ। के तपाईंलाई आफ्नो हैसियतको आनन्द कसरी लिने भन्‍ने थाहा छैन, के तपाईं सांसारिक मामिलाहरूभन्दा माथि हुनुहुन्छ, कि तपाईंले नाटक गरिरहनुभएको छ? तपाईंले किन कुरा बुझ्‍नुहुन्‍न? तपाईंलाई किन यसो गर्न आउँदैन?” किनभने मेरो दिमागमा कहिल्यै यो सचेतना आएको छैन; यो एउटा तथ्य हो।

जब गैरविश्‍वासीहरूले अलिकति शक्ति पाउँछन्, तब तिनीहरू आफूलाई ठूलो व्यक्ति सम्झेर व्यवहार गर्न थाल्छन्। जब तिनीहरूले अलिकति हैसियत पाउँछन्, तब तिनीहरू कोही पनि आफ्नो बराबरीको छैन जस्तो व्यवहार गर्छन्। तिनीहरूलाई लिन जाने र पुर्याउने निजी कार हुन्छ, र तिनीहरूलाई सुरक्षा दिन विशेष कर्मचारीहरू हुन्छन्, त्यति मात्र होइन, तर जब तिनीहरू बाहिर जान्छन्, तब तिनीहरूका झोला बोक्ने र लुगा समात्ने मानिसहरू पनि हुन्छन्। तिनीहरूलाई नुहाइदिने, मालिस गरिदिने, र पौष्टिक खाना तयार गरिदिने मानिसहरू पनि हुन्छन्। मसँग यीमध्ये कुनै पनि कुरा छैन, र मलाई यस्तो व्यवहार गर्नू भनेर मैले मानिसहरूलाई कहिल्यै भनेको छैनँ। जब भ्रष्ट मानवहरूसँग अलिकति क्षमता हुन्छ वा तिनीहरूले अलिकति केही हासिल गर्छन्, तब तिनीहरूले आफूलाई ठूलो व्यक्ति सम्झेर व्यवहार गर्न थाल्छन्। तिनीहरूले आफूले प्रभामण्डल लगाएको महसुस गर्छन्, कोही पनि आफ्नो बराबरीको छैन जस्तो व्यवहार गर्छन्, र राजपरिवारको हुँ जस्तो गरेर व्यवहार गर्न थाल्छन्। जब मानिसहरूले हैसियत प्राप्त गर्छन्, तब तिनीहरूले आफ्नो मूल्य बढेको महसुस गर्छन्—तर तिनीहरू किन यति असक्षम हुन्छन्? तिनीहरू आफैले केही पनि गर्न नसक्ने हुन्छन्। पूर्ण रूपमा स्वस्थ, सबल व्यक्ति पनि कसैको सहाराविना हिँड्न सक्दैन। म के भन्छु भने मलाई पक्कै पनि कसैको सहारा चाहिँदैन। जब म कारमा चढ्छु, तब म सकेसम्म नजिकैको कसैलाई मेरो लागि ढोका खोल्न दिन्नँ। मसँग दुई वटा हात र दुई वटा खुट्टा छन्—म सबै कुरा आफै गर्न सक्छु; मलाई तेरो मद्दत चाहिँदैन। हेर् त, जब हैसियत लिने कुरा आउँछ, तब देहधारी परमेश्‍वर र भ्रष्ट मानवहरूको मनोवृत्ति पूर्ण रूपमा फरक हुन्छ। भ्रष्ट मानवहरूका विभिन्न प्रकटीकरण र अभिव्यक्तिबाट हेर्दा, तिनीहरू हैसियतलाई विशेष महत्त्व दिन्छन् र यसप्रति निकै आसक्त हुन्छन्, जसले गर्दा मानिसमाझ एक प्रतिकूल वातावरण र प्रवृत्ति उत्पन्न हुन्छ। के भन्न सकिन्छ भने, हैसियतले एक व्यक्तिबारे सबै कुरा निर्धारण गर्छ—यसले उसको मूल्य, उसका शब्दहरूले राख्ने महत्त्व, र उसले आनन्द लिन सक्ने लाभ र शक्तिलाई निर्धारण गर्छ। हैसियत नभएकाहरू यी कुराहरूको ख्याल गर्न वा आनन्द लिन योग्यका हुँदैनन्, त्यसैले मानिसले आफ्नो सम्पूर्ण शक्तिले हैसियत पछ्याउँछ। त्यसोभए परमेश्‍वरको घरमा हैसियतले केलाई सङ्केत गर्छ? परमेश्‍वरले हैसियतलाई कसरी हेर्नुहुन्छ? यदि परमेश्‍वरले तँलाई हैसियत दिनुभयो भने, यो परमेश्‍वरले तँलाई एउटा कार्यभार र जिम्मेवारी दिनुभएको सरह हो। यो जिम्मेवारीको प्रतीक हो, एक सृजित प्राणीको रूपमा तैँले आफ्ना जिम्मेवारी र दायित्वहरू पूरा गरिरहेको छस् भन्‍ने कुराको प्रतीक हो; यसको अर्थ अरू केही होइन। यदि तँसँग यो हैसियत छ र तैँले आफ्ना जिम्मेवारीहरू राम्ररी पूरा गर्छस् भने, तँ आफूप्रतिका परमेश्‍वरका अपेक्षाहरूमा असफल भएको छैनस्, न त तँ परमेश्‍वरले तँलाई दिनुभएको यो हैसियत र जिम्मेवारीमा नै असफल भएको छस्। यदि तैँले यो जिम्मेवारीलाई राम्ररी सम्हाल्दैनस्, र तँ यसलाई पूरा गर्न असफल हुन्छस् भने, तँ परमेश्‍वरले तँलाई दिनुभएको यो हैसियत र जिम्मेवारीमा असफल भएको छस्। परमेश्‍वरले मानिसहरूलाई आफ्ना जिम्मेवारीहरू पूरा गर्न, आफ्ना मिसनहरू पूरा गर्न, र तिनीहरूले गर्नुपर्ने कुराहरू गर्न र आफ्ना उचित जिम्मेवारीहरू पूरा गर्नका लागि यो हैसियतको अझ राम्ररी प्रयोग गर्न सक्षम बनाउनलाई मात्रै हैसियत दिनुहुन्छ। जब परमेश्‍वरले तँलाई हैसियत दिनुहुन्छ, तब उहाँले तँलाई कुनै विशेष शक्ति प्रदान गरिरहनुभएको हुँदैन, न त उहाँले तँलाई हैसियतको आनन्द लिने वा कुनै प्रकारको विशेष व्यवहारको आनन्द लिने शक्ति नै दिइरहनुभएको हुन्छ। यसबाहेक, यदि तैँले यो जिम्मेवारी पूरा गर्न सक्छस् र तेरो मिसनलाई सही तरिकाले पूरा गर्न सक्छस् भने, तेरो पहिचान र मूल्य यो हैसियतसँग मिल्नेछ। तर यदि तँ आफ्नो जिम्मेवारी पूरा गर्न असफल हुन्छस्, यदि तँ यो मिसनमा असफल हुन्छस्, र यदि तैँले यो मिसन वा कार्यभार राम्ररी पूरा गर्दैनस् भने, तँ यो हैसियत प्राप्त गर्न अयोग्य छस्, र तेरो कुनै मूल्य छैन। यदि तैँले आफ्नो जिम्मेवारी पूरा गरिस् भने, परमेश्‍वरको नजरमा तँ प्रभावशाली मूल्यको हुन्छस्; यदि तँ आफ्नो जिम्मेवारी पूरा गर्न असफल भइस् भने, परमेश्‍वरको नजरमा तेरो मूल्य नीच हुन्छ। के भन्न सकिन्छ भने, कुनै व्यक्ति कुलीन छ कि छैन र उसको जीवन मूल्यवान् छ कि छैन भन्‍ने कुरा उसको हैसियत कति उच्च वा निम्न छ भन्‍ने कुरामा निर्भर हुँदैन, बरु उसले परमेश्‍वरले दिएको कार्यभार पूरा गरेको छ कि छैन र उसले आफ्नो जिम्मेवारीहरू पूरा गरेको छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। परमेश्‍वर तँलाई एउटा कार्यभार सुम्पनुहुन्छ र तँलाई यो जिम्मेवारी पूरा गर्न भन्नुहुन्छ, अनि उहाँले तँलाई यो जिम्मेवारी पूरा गर्नका लागि आवश्यक पर्ने विभिन्न अवस्था पनि दिनुहुन्छ: यदि तँ आफ्नो जिम्मेवारी पूरा गर्छस् भने, तँ आफ्नो मिसनमा खरो उत्रनेछस्, र परमेश्‍वर सन्तुष्ट हुनुहुनेछ; तर, यदि तँ आफ्नो जिम्मेवारी पूरा गर्दैनस्, बरु आफ्नो हैसियतको आडमा कामकुरा गर्छस् र आफ्नै हित, महत्त्वाकाङ्क्षाहरू, र चाहनाहरू पूरा गर्नका खातिर काम गर्छस् भने, यो परमेश्‍वरले सबैभन्दा बढी मनै नपराउने र घृणा गर्ने कुरा हो। यदि तैँले आफूले प्रयोग गर्ने अधिकारलाई पूर्ण रूपमा आफ्नै ख्याति, प्राप्ति, र हैसियतका लागि काम गर्न, व्यक्तिगत प्राप्तिको लागि दाउपेच गर्न, अरूलाई दबाउन, र हैसियतका लाभहरूमा लिप्त हुन प्रयोग गरिस् भने, तँ परमेश्‍वरले तँलाई सुम्पनुभएको यो कार्यभारमा असफल भएको हुन्छस्, र तँ यो कार्यभारको लागि अयोग्य हुन्छस्। यदि, परमेश्‍वरको आज्ञा स्वीकार गरेपछि, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्छस् र हैसियतका लाभहरूमा लिप्त नभई वा व्यक्तिगत प्राप्ति खोज्न आफ्नो हैसियत वा आफ्नो पदको शक्तिको प्रयोग नगरी काम राम्ररी गर्छस् भने, तैँले आफ्नो मिसन पूरा गरिरहेको हुन्छस्, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गरिरहेको हुन्छस्, र तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्नेछस्।

भ्रष्ट मानवहरू सबैलाई हैसियत मन पर्छ; हैसियत पाएपछि, तिनीहरू सबै हैसियतका लाभहरूमा लिप्त हुन्छन्। यदि कुनै व्यक्ति कुनै पनि स्तरको अगुवा हो, वा मानिसहरूमाझ उसको प्रतिष्ठा अलिकति मात्रै छ र उसको शक्ति अलिकति मात्रै छ भने, उसले आफूलाई ठूलो व्यक्ति सम्झेर व्यवहार गर्न थाल्छ। हैसियत प्राप्त गरेको क्षणदेखि नै, तिनीहरूले व्यक्तिगत प्राप्ति खोज्न आफ्नो शक्तिको प्रयोग गर्नेछन्, र तिनीहरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने धेरै कुराहरू, र केही मूर्खतापूर्ण कुराहरू समेत गर्नेछन्। केही व्यक्तिहरूले केही शब्द र धर्मसिद्धान्तहरू बोल्न सके पनि, मानिसहरूसँग अन्तरक्रिया र सङ्‍गति गर्दा, तिनीहरूले पक्षपात गर्नेछन्। यदि तिनीहरूले धनी र हैसियत भएको, तिनीहरूलाई समर्थन गर्ने, तिनीहरूसँग मिलजुल हुने, र तिनीहरूको चापलुसी गर्ने व्यक्तिलाई देखे भने, तिनीहरू त्यो व्यक्तिसँग अझै धेरै बोल्‍नेछन्। यदि तिनीहरूले गरिब, चापलुसी गर्न नजान्ने, तिनीहरूलाई मन नपर्ने, वा कुनै जग नभएको नयाँ विश्‍वासीलाई देखे भने, तिनीहरूले उसलाई बेवास्ता गर्ने बहानाहरू बनाउनेछन्। हेर् त, के तिनीहरूले काम गर्ने तरिकामा कुनै सिद्धान्तहरू हुन्छन्? (हुँदैनन्।) हैसियत पाएपछि, तिनीहरू आफूलाई ठूलो व्यक्ति सम्झेर व्यवहार गर्न थाल्छन्, हाकिमले जस्तो कुरा गर्न र नारा लगाउन जान्दछन्, र आफ्नो हैसियतको आडमा कामकुरा गर्न र ठूलो पल्टिन जान्दछन्। के मानिसहरूमा यस्ता धेरै प्रकटीकरणहरू हुँदैनन् र? (हुन्छन्।) उदाहरणका लागि, यदि अरूले नबुझेको तर तिनीहरूले बुझेको कुनै समस्या छ, र कसैले तिनीहरूलाई यसबारे सोधिरहेको तिनीहरूले देखेनन् भने, तिनीहरूले मनमनै सोच्छन्: “तिमीहरू कसैले पनि मलाई बिन्ती गरिरहेका वा फकाइरहेका छैनौ, र कसैले पनि मलाई उचालिरहेका वा मेरो उच्च मूल्याङ्कन गरिरहेका छैनौ। यदि तिमीहरूले मलाई बिन्ती गर्‍यौ भने, म तिमीहरूलाई बताउन सक्छु, तर यो अझै पनि मेरो मुडमा निर्भर हुन्छ। यदि कसैले मलाई बिन्ती गरेन भने, म केही पनि भन्‍नेछैनँ; म तिमीहरूलाई थाहा नै दिनेछैनँ। मैले केवल एउटा वाक्य भनिदिए पुग्छ, तर यदि मैले त्यो भनिनँ भने, तिमीहरू कसैले पनि बुझ्नेछैनौ!” के यस्ता मानिसहरू दयालु हुन्छन्? (हुँदैनन्।) यसका साथै, मानिसहरूले हैसियत पाएपछि, आफूलाई जे मन लाग्छ त्यही गर्नेछन्। यदि तिनीहरूले आफूसामु नझुक्ने वा आफूप्रति गुनासो गर्ने कसैलाई देखे भने, तिनीहरूले त्यो व्यक्तिलाई कसरी यातना दिने र आक्रमण गर्ने, र उसलाई कसरी वशमा पार्ने भनेर चिन्तन गर्नेछन्। हेर् त, मसँग हैसियत र शक्ति छ, तर गैरविश्‍वासीहरू लगायतका मानिसहरूलाई व्यवहार गर्ने मेरो तरिकामा के त्यस्ता प्रकटीकरणहरू हुन्छन् त? (हुँदैनन्।) दुष्ट मानिसहरूले आफूलाई मन नपर्नेहरूलाई होच्याउने र यातना दिने, र उनीहरूलाई कुल्चिने उपायहरू समेत सोच्नेछन्। मैले आफूलाई मन नपर्ने मानिसहरूलाई कहिल्यै यस्ता कुराहरू गरेको छैनँ, र म विरलै अरूलाई मेरो लागि कामकुराहरू सम्हाल्न नै लागाउँछु। मैले के देखेको छु भने कतिपय मानिसहरूले मलाई दैनिक तरकारी र खानेकुरा बाँड्दा, तिनीहरूले निश्‍चित रूपमा नै मेरा लागि खराब र कमसल कुराहरू छान्छन्। जब अरूले केही राम्रा कुराहरू छान्छन्, तब तिनीहरूले तिनलाई खराब कुराहरूसँग साट्ने समेत गर्छन्। जब कसैले मलाई केही खानेकुरा पठाउँछ, तब भण्डारणको जिम्मा पाएको व्यक्तिले त्यसलाई त्यत्तिकै छोडिदिन्छ र त्यसलाई म्याद गुज्रिन र कुहिन दिन्छ। यी मानिसहरूले आफ्नो हृदयमा यस्तो सोच्छन्, “तँ एक साधारण व्यक्ति मात्रै होस्, तैपनि तँ मलाई तेरो लागि कामकुराहरू सम्हाल्न लगाउँछस्। मैले यसरी काम गर्नु नै पर्याप्त छ। यदि तँसँग अलौकिक क्षमताहरू भएको भए, वा तँ ठूलो हाकिम भएको भए मात्रै म तेरो लागि अलिकति श्रम गर्नेथिएँ।” मैले यो कुरा बुझेँ: तिनीहरू मेरो लागि काम गर्न अनिच्छुक थिए। मण्डलीका दाजुभाइ-दिदीबहिनीहरू भएकाले, तिनीहरूले कम्तीमा पनि मेरो अलिकति आदर गर्नेछन् भन्‍ने मैले मानेको थिएँ। तिनीहरू अनिच्छुक हुनेछन्, तिनीहरूले मलाई हेला गर्नेछन् र मलाई फोहोरलाई जस्तो व्यवहार गर्नेछन् भन्‍ने मैले अपेक्षा गरेको थिइनँ। तिनीहरूले आफ्ना आमाबुबाका लागि, आफ्ना हाकिमहरूका लागि, सरकारी अधिकारीहरूका लागि, र हैसियत भएका मानिसहरूका लागि त काम गर्नेथिए। तर म तिनीहरूका लागि कोही पनि थिइनँ, त्यसैले तिनीहरूले मेरो लागि काम गर्नेथिएनन्। मैले मनमनै सोचेँ: “त्यसोभए तँ यस्तो प्रकारको व्यक्ति होस्। त्यसोभए म तँलाई मेरो लागि काम गर्न लगाउनेछैनँ। यदि तँ यो काम गर्न अनिच्छुक छस् भने, म तँलाई जबरजस्ती गर्नेछैनँ, र म तँलाई दबाउन मेरो हैसियतको प्रयोग गर्नेछैनँ। म एक साधारण व्यक्ति मात्रै हुँ, र म तँलाई दाजुभाइ वा दिदीबहिनीको रूपमा व्यवहार गर्छु, तैपनि तँ फर्केर मलाई यस्तो व्यवहार गर्छस्। त्यसोभए म यो काम गर्नका निम्ति अरू कसैलाई खोज्नेछु; म तँलाई उप्रान्त प्रयोग गर्नेछैनँ।” मण्डलीमा यस्ता धेरै मानिसहरू छन्; तिनीहरू सबै अविश्‍वासीहरू हुन्। तिनीहरूले जतिसुकै प्रवचनहरू सुने पनि, सत्यता बुझ्दैनन्, र तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय अलिकति पनि हुँदैन। यस्ता प्रकारका परिस्थितिहरूमार्फत, तिनीहरूलाई प्रकट गरिन्छ। त्यस्ता मानिसहरूले यति धेरै प्रवचनहरू सुनेका हुन्छन्, र पनि तिनीहरूले किन अझै पनि मलाई यस्तो व्यवहार गर्छन्? तिनीहरूले किन मलाई आफ्ना आफन्त र साथीहरूलाई भन्दा खराब व्यवहार गर्छन्? के त्यस्ता मानिसहरू अत्यन्तै मतलबी हुँदैनन् र? (हुन्छन्।) जताततै मण्डलीहरूमा यस्ता मानिसहरू छन्। तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, त्यसकारण तिनीहरूमा परमेश्‍वरप्रतिको साँचो अधीनता अलिकति पनि कसरी हुन सक्छ र? तिनीहरूमा अधीनताको कमी मात्रै हुँदैन, तर तिनीहरूले घृणा समेत पाल्छन्। तिनीहरूले अरू मानिसहरूलाई राम्रो तरकारी र खानेकुरा दिन सक्छन्, र पनि तिनीहरूले निश्‍चित रूपमा मलाई किन सबैभन्दा कमसल कुराहरू दिन्छन्? यी तरकारी र खानेकुराको पैसा वास्तवमा कसले तिरेको थियो? यो फार्म खडा गर्न कसले पैसा तिरेको थियो? कसैले पनि यी कुराहरू विचार गर्दैन। पछि, जब यी मामिलाहरूको विश्लेषण गरियो, तब कतिपय मानिसहरू अन्ततः बिउँझिए, तर त्यो बेला, कसैले पनि यी मानिसहरूलाई खुलासा गर्ने र सम्हाल्ने पहल गरेन।

मानव संसारमा, देशको सर्वोच्च शासक भनेको मानिसहरूमाझ सबैभन्दा उच्च हैसियत भएको व्यक्ति हो। सबैभन्दा उच्च हैसियत भएकाहरूले के खान्छन् र केको आनन्द लिन्छन्? खासमा त, तिनीहरूले मानिसहरूको मासु खान्छन् र तिनीहरूको रगत पिउँछन्। म किन यसो भन्छु? विगतमा चिनियाँ सम्राटहरूले लगाउने ड्रागन अङ्कित पोसाकहरू कसरी बनाइन्थ्यो हेर। ती सबै विशेष रूपमा अर्डर गरेर बनाइएका हुन्थे; एउटै ड्रागन अङ्कित पोसाकलाई विभिन्न कपडा र बुनाइ विधिहरू प्रयोग गरेर तीन वर्षभन्दा बढी समय लगाएर होसियारीसाथ बुनिन्थ्यो, तैपनि यीमध्ये कतिपय पोसाकहरू जीवनभरिमा एक वा दुई पटक मात्रै लगाइन्थ्यो होला। यदि सम्राटहरूसँग त्यो हैसियत नभएको भए, के तिनीहरूले यी कुराहरूको आनन्द लिन सक्थे र? (सक्दैनथे।) हैसियत हुनु भनेको शक्ति हुनु हो, र शक्ति हुनु भनेको व्यक्तिले आफूलाई जे मन लाग्छ त्यही गर्न सक्छ र सबै धन र वैभवको आनन्द लिन सक्छ, र कसैले पनि तिनीहरूको विरुद्धमा एक शब्द बोल्ने आँट गर्दैन। मानिसहरूलाई यस्तो समेत लाग्छ, “हाम्रो देशको सम्राटले यी कुराहरूको आनन्द लिनुपर्छ; उसले त्यसो गर्नु नै सही हो! यदि उसले राम्रो जीवनको आनन्द लिएन भने, यसले हामी सर्वसाधारणलाई नराम्रो देखाउँछ। सम्राटले यति भव्य लुगा लगाउनु त हाम्रो सम्मानको कुरा हो!” यी मानिसहरू कति नीच हुन्छन्! के तिनीहरूलाई तिनीहरूका शासकहरूले यस्तो मानसिकता बसालिदिएका हुँदैनन् र? (हुन्छन्।) यदि पृथ्वीमा आउनुभएका देहधारी परमेश्‍वरले अलिकति राम्रो जीवनको आनन्द लिनुभयो भने, मानिसहरूले के सोच्नेछन्? “त्यसो गरेर हुँदैन। तपाईं परमेश्‍वर हुनुहुन्छ—तपाईंले त कष्ट पो भोग्नुपर्छ। यदि तपाईंले कष्ट भोग्‍नुभएन भने, के तपाईं हामीले पछ्याउनका लागि योग्य हुनुहुन्छ र? तपाईंले मीठो खानु वा राम्रो लगाउनु हुँदैन; तपाईंले धेरै कष्ट भोग्नुपर्छ—त्यसपछि मात्रै तपाईं परमेश्‍वर हुनुहुन्छ!” के यस्ता मानवहरूमा कुनै मानवता हुन्छ? (हुँदैन।) के यो मानवजातिमा परमेश्‍वरप्रति कुनै असल अभिप्रायहरू हुन्छन्? के तिनीहरूको हृदय अत्यन्तै कुहिएको छैन र? शासकहरूले मानिसहरूलाई शोषण गर्छन्, नियन्त्रण गर्छन्, र गम्भीर रूपमा हानि पुर्‍याउँछन्, तैपनि मानिसहरू स्वेच्छाले आफूलाई उनीहरूद्वारा नियन्त्रित हुन र गम्भीर रूपमा हानि पुर्‍याउन दिन्छन्। अर्कोतर्फ, परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ; उहाँले मानिसको चिन्ता गर्नुहुन्छ, मानिसलाई प्रेम गर्नुहुन्छ र टिठ्याउनुहुन्छ, र उहाँले मानिसलाई सबै कुरा प्रदान गर्नुहुन्छ। तैपनि परमेश्‍वरप्रति मानिसको मनोवृत्ति कस्तो हुन्छ? मानिसलाई यस्तो लाग्छ, “परमेश्‍वरले कष्ट भोग्नु नै सही हो। उहाँले जति धेरै कष्ट भोग्नुहुन्छ, म त्यति नै खुसी हुन्छु; मलाई अलिकति पनि नराम्रो लाग्दैन। परमेश्‍वर आउनुभएको हुनाले, उहाँले यसरी नै कष्ट भोग्नुपर्छ।” के मानिसहरूको मानसिकता यही होइन र? तर वास्तवमा, यो जुनसुकै देहधारण भए पनि, परमेश्‍वरसँग यो हैसियत र शक्ति छ, तैपनि उहाँ कहिल्यै तिनमा लिप्त हुनुभएको छैन, न त उहाँले सांसारिक सुखविलास वा मानिसका भेटीहरूको लालसा नै गर्नुभएको छ। हेर् त, मानव संसारमा अलिकति हैसियत भएको जोकोहीले पनि विशेष व्यवहारको आनन्द लिन चाहन्छ; उसले खाने खाना र पिउने पानी उसलाई विशेष रूपमा प्रदान गरिएको हुन्छ। के परमेश्‍वरलाई विशेष रूपमा प्रदान गरिएको कुनै कुरा छ? (छैन।) फार्ममा जे तरकारी फल्छ म त्यही खान्छु; ती सबै साधारण घरमा पकाइएका परिकारहरू मात्र हुन्। कतिपय दयालु मानिसहरूले मौसमअनुसार मेरो लागि केही राम्रा तरकारीहरू छान्न सक्छन्, तर अन्यथा, त्यहाँ कुनै भिन्नता हुँदैन—तिमीहरूले जे खान्छौ लगभग म पनि त्यही खान्छु। तिमीहरूले सुटुक्क केही राम्रा कुराहरू खाँदा र मलाई केही पनि नपठाउँदा समेत, के मैले कहिल्यै तिमीहरूसँग यसबारे विवाद गरेको छु र? (गर्नुभएको छैन।) कतिपय मानिसहरू मलाई राम्रा तरकारीहरू दिन कहिल्यै इच्छुक हुँदैनन्; तिनीहरूले आफू खान अनिच्छुक भएका उब्रिएका कुराहरू मात्रै मेरो लागि छान्छन्। मैले केही राम्रा तरकारीहरू खाएको देख्दा तिनीहरूलाई असहज महसुस हुन्छ। मैले जे खाए पनि, मैले मेरै खाना खाइरहेको हुन्छु; मैले तेरो खानेकुरा खाइरहेको हुन्नँ, र पनि तँ किन अप्रसन्न हुन्छस्? मलाई विशेष रूपमा प्रदान गरिएको कुनै पनि कुराको मैले कहिल्यै आनन्द लिएको छैनँ, र मैले कहिल्यै भेटीहरूलाई भाग लगाएर, मेरो स्वास्थ्य कायम राख्न एउटा भाग, मेरो दैनिक लुगाफाटो र शृङ्गारका लागि एउटा भाग, र मेरो यात्रा र मनोरञ्जनका लागि एउटा भाग छुट्याएको छैनँ—मैले कहिल्यै यसो गरेको छैनँ। मेरो जीवन सरल छ। धेरैजसो भेटीहरू परमेश्‍वरको घरको कामको लागि, र तिमीहरूको जीवन र तिमीहरूका आधारभूत आवश्यकताहरूको हेरचाह गर्नका लागि प्रयोग गरिन्छ; मैले मेरो लागि केही पनि राखेको छैनँ। होइन र? (हो।) हेर त, साधारण सरकारी अधिकारीहरूले केको आनन्द लिन्छन्? ती सञ्चारमाध्यमका पिछलग्गुहरूले वर्षमा दशौँ हजार युआन त शृङ्गारका सामानहरूमा मात्रै खर्च गर्छन्, र तिनीहरूसँग हरेक कामको खर्चका लागि विशेष कोषहरू हुन्छन्। म के लगाउँछु, म के प्रयोग गर्छु, र म केको आनन्द लिन्छु हेर त—तिनीहरूको तुलनामा त, के यो कुरा समुद्रमा एक थोपा जति पनि हुन्छ र? यो त्यति पनि हुँदैन। म अर्को उदाहरण दिन्छु। हाम्रो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूका बीचमा आर्थिक साधन भएका धनी मानिसहरूलाई नै लिऊँ—तिनीहरूले केको आनन्द लिन्छन्? तिनीहरूले के लगाउँछन् र के प्रयोग गर्छन्? (नाम चलेका ब्रान्डहरू।) तिनीहरू नाम चलेका ब्रान्डका लुगा र सामानहरू लगाउँछन्, धनी र उच्च वर्गको जीवनशैलीको आनन्द लिन्छन्। चीनमा, कतिपय मानिसहरूले आयातित सामानहरूको निकै पूजा गर्छन्; तिनीहरूले लगाउन र प्रयोग गर्नका लागि निश्‍चित रूपमा विदेशी उत्पादनहरू किन्छन्। तिनीहरूले सास फेर्ने हावा स्थानीय हुने बाहेक, तिनीहरूले खाने, लगाउने, र प्रयोग गर्ने सबै कुरा अन्तर्राष्ट्रिय ब्रान्डका हुन्छन्। तिनीहरूले आनन्द लिने कतिपय कुराहरू त हामीले कहिल्यै देखेका समेत हुँदैनौँ। धनीहरूसँग हैसियत हुँदा तिनीहरूले के किन्छन्? विलासी महलहरू, कारहरू, र क्रुज जहाजहरू, साथै निजी जेटहरू, निजी गल्फ कोर्सहरू, निजी क्लबहरू, इत्यादि। के तिनीहरूले आनन्द लिने कुराहरू अत्यधिक विलासी हुँदैनन् र? (हुन्छन्।) के तैँले मलाई यी कुराहरूको आनन्द लिइरहेको देख्छस्? (देख्दिनँ।) म एउटै जोर जुत्ता धेरै वर्षसम्म लगाउँछु, र यदि ती फाटेका छैनन् भने, म तिनलाई लगाइरहन्छु। मसँग नयाँ जुत्ता किन्‍ने पैसा नभएर यस्तो गरेको पक्कै होइन; यो त मेरो जीवनशैलीका बानीबेहोराहरूमध्ये एउटा मात्रै हो। म हैसियत र शक्तिलाई यसरी नै लिन्छु। मेरा कुनै उच्च र भव्य चाहनाहरू छैनन्; मेरो जीवन साधारण, सरल, र अत्यन्तै नियमित छ। कतिपय मानिसहरूको नजरमा, मेरो जीवन निकै एकैनासे छ। यो केवल नियमित दिनचर्या, मितव्ययिता, र तुलनात्मक रूपमा शान्त र सफा हुने कार्यको रूपमा ठहर हुन्छ—यसमा विलासी, उच्च-स्तरीय, वा निकै उत्कृष्ट केही पनि हुँदैन। तर मण्डलीका कतिपय मानिसहरू कुनै निश्चित स्तरको अगुवा बनेपछि, तिनीहरूमा कस्ता प्रकटीकरणहरू हुन्छन्? (तिनीहरू सबै कुरामा उत्कृष्ट कुराको आनन्द लिन चाहन्छन्।) अगुवा बनेपछि, तिनीहरूले आफूलाई ठूलो व्यक्ति सम्झेर व्यवहार गर्न थाल्छन् र आफूसँग हैसियत छ भन्‍ने महसुस गर्छन्। तिनीहरू जहाँ गए पनि, कसैले तिनीहरूलाई बस्नका लागि ठाउँ दिनुपर्छ; यदि कसैले दिएन भने, तिनीहरू रिसाउँछन्। जब तिनीहरू बोल्छन्, तब अरूले सधैँ तिनीहरूलाई तिनीहरूकै तरिकाले चल्न दिनुपर्छ। तिनीहरू जहाँ गए पनि, तिनीहरूको पछि-पछि लाग्ने मानिसहरू सधैँ हुन्छन्, कसैले तिनीहरूको झोला बोकिरहेको हुन्छ, र तिनीहरूको वरिपरि मानिसहरूको झुन्ड हुन्छ। यदि तिनीहरू लामो समयसम्म कतै बाहिर गएका छन् र तिनीहरूलाई तिर्खा वा भोक लाग्यो भने, कसैले तिनीहरूको लागि खानेकुरा र पिउने कुरा ल्याइदिन्छ; यदि तिनीहरू थाके भने, कसैले तिनीहरूलाई मालिस गरिदिन्छ। म भन्छु, यो त अचम्मकै कुरा हो; हैसियत पाएपछि, तिनीहरू विशेष बन्छन्, र तिनीहरू उप्रान्त मानवहरू रहँदैनन्, होइन र? (हो।) त्यसोभए, मलाई हैसियत भएकोमा किन केही पनि महसुस हुँदैन? हैसियतविना, म निकै आरामसँग जिउँछु। जब मसँग हैसियत हुन्छ, तब अरूले मलाई सधैँ विशेष व्यक्तिको रूपमा व्यवहार गर्छन्, र मलाई अप्ठ्यारो र शरीरभरि असहज महसुस हुन्छ। हैसियत नहुनु निकै राम्रो कुरा हो, त्यसैले म आफूसँग कुनै हैसियत नै नभएको जस्तो व्यवहार गर्छु, र एक साधारण व्यक्तिको रूपमा मानिसहरूसँग अन्तरक्रिया गर्छु, र निकै स्वतन्त्र महसुस गर्छु। तिमीहरू स्वतन्त्र महसुस गर्छौ, र म पनि स्वतन्त्र महसुस गर्छु; मानिसहरूसँग यसरी मिलजुल हुनु निकै राम्रो कुरा हो। सामान्यतया, भ्रष्ट मानवहरूले हैसियत प्राप्त गरेपछि, तिनीहरूको सेवा गर्न तिनीहरूको वरिपरि सधैँ केही मानिसहरू हुनैपर्छ। जब तिनीहरूलाई पानी चाहिन्छ, तब कसैले तिनीहरूको लागि खन्याइदिनुपर्छ; जब तिनीहरू खान चाहन्छन्, तब कसैले तिनीहरूलाई चपस्टिक दिनुपर्छ; जब तिनीहरू बाहिर जान्छन्, तब कुनै व्यक्ति तिनीहरूको पछि-पछि लाग्नुपर्छ। तिनीहरूले आफ्नो हैसियतसँग मिल्ने गरी टाउकोदेखि खुट्टासम्म नयाँ लुगाहरू किन्दै, नाम चलेका ब्रान्डका लुगाहरू पनि किन्नुपर्छ। म भन्छु, “अगुवाको रूपमा सेवा प्रदान गर्नु भनेको परमेश्‍वरले तँलाई दिनुहुने कार्यभार र जिम्मेवारी हो—के त्यो हैसियत प्राप्त गर्नु हो र? तैँले के वास्तविक काम गर्न सक्छस् र, जसले गर्दा तँ अहिले नै ठूलो पल्टिरहेको छस्? यदि तैँले साँच्चै काम गर्न सक्छस् भने, परमेश्‍वरको घरले तँलाई लुगाफाटो र काम गर्ने उपकरणहरू, साथै राम्रो मोबाइल फोन र कम्प्युटर प्रदान गर्नेछ। तर तँ कुनै वास्तविक काम गर्न सक्दैनस्, तैपनि तँ अन्धाधुन्ध रूपमा देखावटी गर्छस्। के तैँले यी कुराहरू—हैसियत, ख्याति, र प्राप्ति—पछ्याउन मात्रै परमेश्‍वरमा विश्‍वास गरेको होस्? तँ किन यति सतही छस्?” मैले यति धेरै वर्षसम्म काम गरेको छु, र मेरो कामको दायरा निकै ठूलो छ, तर मलाई मसँग हैसियत छ भन्‍ने लाग्दैन। मसँग कुनै नियमित सुविधाहरू छैनन्, न त मेरो सेवा गर्न र मेरो हेरचाह गर्नका लागि विशेष कर्मचारीहरू नै छन्। म यी कुराहरूको बारेमा पटक्कै किचकिच गर्दिनँ। के तँ मलाई कसरी सौखिन हुने भन्‍ने थाहा छैन भन्छस्? (होइन, परमेश्‍वरलाई यी कुराहरूको वास्ता नै छैन।) यदि म सौखिन हुन चाहन्थेँ भने, म हुन सक्थेँ, र मलाई राम्रा कुराहरू कसरी छान्ने भन्‍ने पनि थाहा हुनेथियो। तर म तिमीहरूभन्दा फरक हुनुको एउटा तरिका के हो? म यी कुराहरूलाई सही रूपमा लिन्छु। मसँग हैसियत भएकै कारणले म मेरो हैसियत अनुसारको लुगाफाटो र रूपरङ्गको प्रयोग गर्नेछैनँ, न त मेरो हैसियत र मूल्य प्रमाणित गर्नका लागि नै यसको प्रयोग गर्नेछु। मैले जे किन्छु वा जे राख्छु, त्यो केवल मलाई मन पर्ने वा आवश्यक पर्ने भएकाले, र मलाई मेरो प्रयोगको लागि उपयुक्त लाग्ने भएकाले मात्रै हो। मसँग हैसियत र शक्ति भएको कारणले, वा मेरो मूल्यको कारणले म कुनै कुरा किन्‍नेछैन वा राख्नेछैनँ।

म तिमीहरूसँग देहधारी परमेश्‍वरले हैसियतलाई कसरी लिनुहुन्छ भन्‍ने विषयमा कुरा गरिरहेको छु, ताकि तिमीहरूले मलाई अलिकति बुझ्न सक र हैसियतको बारेमा मेरो दृष्टिकोण ठ्याक्कै के हो र म यसलाई कसरी लिन्छु भन्‍ने कुरा जान्न सक। अवश्य नै, म यहाँ तिमीहरूलाई सबैभन्दा बढी के भन्न चाहन्छु? एक हिसाबमा, देहधारी परमेश्‍वर स्वयम् र भ्रष्ट मानवहरूले हैसियतलाई कसरी लिन्छन् भन्‍ने कुरामा रहेको भिन्नता तिमीहरूले जान्नु आवश्यक छ। अर्को हिसाबमा, मानिसलाई हैसियत वास्तवमा के हो, र ऊ कसरी आफ्नो उचित स्थानमा रहनुपर्छ र उसले आफ्ना जिम्मेवारीहरू र आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ भन्‍ने कुरा सही रूपमा बुझ्न दिनु हो। सबैमा हुनुपर्ने सही विचार र दृष्टिकोणहरू यिनै हुन्। यस्ता सही विचार र दृष्टिकोणहरू भएपछि, तेरो कर्तव्य, तेरा जिम्मेवारीहरू, र परमेश्‍वरको घरले तँलाई दिएको हैसियतको हकमा, तैँले यी कुराहरूलाई सत्यता र सिद्धान्तहरूअनुरूप लिनेछस्। मैले तिमीहरूसँग देहधारी परमेश्‍वरले हैसियतलाई कसरी लिनुहुन्छ भन्‍ने विषयमा निकै धेरै सङ्‍गति गरेको छु। यीमध्ये कतिपय कुराहरू तिमीहरूले पहिले नै देखिसकेका छौ र तिनलाई वास्तविकतासँग दाँज्न सक्छौ। अरू कुराहरूको हकमा, तिमीहरूले मलाई तिनको बारेमा बोलेको मात्रै सुनेका छौ तर मेरो सम्पर्कमा आएका छैनौ, त्यसैले तिमीहरूसँग तिनलाई वास्तविकतासँग दाँज्ने कुनै उपाय छैन। तिमीहरूले ती देखेका भए पनि वा मैले बोलेका तथ्यहरू मात्रै सुनेका भए पनि, तिमीहरूले तिनलाई सही रूपमा बुझ्न र तिनमा विश्‍वास गर्न सक्छौ भने त्यो नै पर्याप्त हुन्छ। यदि तँलाई अझै पनि शङ्का छ भने, मैले भनेको कुरा तथ्यपरक र सही छ कि छैन भनेर हेर्नका लागि समय बित्दै जाँदा तेरो दैनिक जीवनमा कुराहरू अवलोकन गर्। जब तैँले पुष्टि प्राप्त गर्छस्, तब परमेश्‍वरका लागि हैसियतको अर्थ वास्तवमा के हो, परमेश्‍वरले हैसियतलाई कसरी लिनुहुन्छ, यो साधारण भ्रष्ट मानवहरूको दृष्टिकोणभन्दा कसरी फरक छ, र यस सन्दर्भमा मानिसले बुझ्नुपर्ने वा अभ्यास गर्नुपर्ने सत्यता के हो भन्‍ने कुरा तैँले जान्नेछस्। यस विषयवस्तुको आधारभूत बुझाइ प्राप्त गरेपछि यसले तिमीहरूलाई परमेश्‍वरलाई अझ राम्ररी बुझ्न र परमेश्‍वरलाई अझ सही रूपमा चिन्न सक्षम बनाउनेछ। यसबाहेक, यसले तिमीहरूलाई हैसियतको मामिलालाई सही रूपमा लिन मद्दत गर्नेछ, साथै तिमीहरूलाई यसलाई सम्हाल्ने सही दृष्टिकोण र सही तरिका दिनेछ, होइन र? (हो।)

ठीक छ, आजका लागि हाम्रो सङ्‍गति यहीँ अन्त्य गरौँ। बिदा!

अक्टोबर २६, २०२४

अघिल्लो: सत्यता कसरी पछ्याउने (२८)

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्