परमेश्वरसँग तेरो सम्बन्ध कस्तो छ?
परमेश्वरमा विश्वास गर्दा, तैँले कम्तीमा पनि परमेश्वरसँग सामान्य सम्बन्ध राख्नेसम्बन्धी समस्या समाधान गर्नैपर्छ। यदि परमेश्वरसँग तेरो सामान्य सम्बन्ध छैन भने, परमेश्वरमाथिको तेरो विश्वासको अर्थ गुम्छ। परमेश्वरसँग सामान्य सम्बन्ध स्थापित गर्ने काम पूर्ण रूपमा परमेश्वरको उपस्थितिमा तेरो हृदयलाई शान्त पारेर गरिन्छ। परमेश्वरसँग सामान्य सम्बन्ध राख्नु भनेको उहाँको कुनै पनि काममा शङ्का नगर्न र त्यसलाई इन्कार नगर्न सक्षम हुनु र उहाँको कामप्रति समर्पित हुन सक्षम हुनु हो। यसको अर्थ परमेश्वरको उपस्थितिमा सही अभिप्रायहरू राख्नु र आफ्नै लागि योजनाहरू नबनाउनु हो, र यसको अर्थ तैँले जे गर्दा पनि परमेश्वरको घरका हितहरूलाई प्राथमिकता दिनु, परमेश्वरको छानबिनलाई स्वीकार गर्नु, र उहाँका प्रबन्धहरूमा समर्पित हुनु पनि हो। आफूले गर्ने सबै कुरामा परमेश्वरको उपस्थितिमा आफ्नो हृदयलाई शान्त पार्न तँ सक्षम हुनैपर्छ। तैँले परमेश्वरका अभिप्रायहरू बुझेको छैनस् भने पनि, तैँले आफ्नो क्षमताले भ्याएसम्म आफ्ना कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नैपर्छ। एकपटक परमेश्वरका अभिप्रायहरू तँसामु प्रकट गरिएपछि, तैँले तीअनुसार अभ्यास गरिस् भने त्यो खासै ढिलो हुनेछैन। जब परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बनेको हुन्छ, तब तैँले मानिसहरूसँग पनि सामान्य सम्बन्ध बनाउनेछस्। परमेश्वरसँग सामान्य सम्बन्ध निर्माण गर्न, सबै कुरा परमेश्वरका वचनहरूको जगमा निर्मित हुनुपर्छ, तँ परमेश्वरका वचनहरू र परमेश्वरले जे माग्नुहुन्छ त्यसअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम हुनैपर्छ, तैँले आफ्ना दृष्टिकोणहरू सही बनाउनैपर्छ, तैँले सबै कुरामा सत्यता खोज्नैपर्छ, र तैँले सत्यता बुझेपछि त्यसलाई अभ्यास गर्नैपर्छ। चाहे तँलाई जेसुकै आइपरोस्, तैँले परमेश्वरलाई प्रार्थना गर्नैपर्छ र परमेश्वरप्रति समर्पणको हृदयले खोज्नैपर्छ। यसरी अभ्यास गर्दा, तैँले परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न सक्नेछस्। उचित तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नुका साथसाथै, तँ परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा फाइदा नहुने कुनै पनि काम गर्दैनस्, र दाजुभाइ-दिदीबहिनीहरूको उत्थान नहुने कुनै पनि कुरा बोल्दैनस् भन्ने कुरा पनि तैँले सुनिश्चित गर्नैपर्छ। कम्तीमा पनि, तैँले आफ्नो विवेकविरुद्ध जाने कुनै पनि काम गर्नु हुँदैन, र तैँले कुनै पनि लाजमर्दो काम पटक्कै गर्नु हुँदैन। विशेष गरी, तैँले परमेश्वरविरुद्ध विद्रोह गर्ने वा उहाँको प्रतिरोध गर्ने, वा मण्डलीको काम वा जीवनमा बाधा दिने कुनै पनि काम पटक्कै गर्नु हुँदैन। तैँले गर्ने हरेक कुरामा खुला र इमानदार बन् र तेरो हरेक कार्य परमेश्वरको अगाडि प्रस्तुत गर्न योग्य छ भनी सुनिश्चित गर्। कहिलेकाहीँ देह कमजोर हुन सक्ने भए पनि, तैँले व्यक्तिगत लाभको लोभ नगरी, कुनै पनि स्वार्थी वा घृणास्पद काम नगरी, बारम्बार आत्मचिन्तन गर्दै, परमेश्वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्न सक्नैपर्छ। यसरी, तँ प्रायजसो परमेश्वरसामु जिउन सक्षम हुनेछस्, र परमेश्वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा सामान्य बन्नेछ।
तैँले गर्ने सबै कुरामा, तैँले आफ्ना अभिप्रायहरू सही छन् कि छैनन् भनेर जाँच्नैपर्छ। यदि तँ परमेश्वरका मागहरूअनुसार कार्य गर्न सक्षम छस् भने, परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ। यो न्यूनतम मानक हो। यदि तैँले आफ्ना अभिप्रायको निरीक्षण गरेर आफूले कुनै गलत अभिप्रायहरू विकास गरेको पत्ता लगाइस्, अनि तँ तीविरुद्ध विद्रोह गर्न र परमेश्वरका वचनहरू अनुसार कार्य गर्न सक्षम भइस् भने, तँ परमेश्वरको अगाडि सच्चा व्यक्ति बन्नेछस्। यसले परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य भएको, र तैँले गर्ने सबै कुरा परमेश्वरका खातिर भएको, तेरो आफ्नै लागि नभएको दर्साउँछ। आफूले भन्ने र गर्ने सबै कुरामा, तँ आफ्नो हृदयलाई सही राख्न र आफ्ना कार्यहरूमा न्यायोचित हुन सक्, र कार्य गर्दा आफ्ना भावनाहरू वा आफ्नै इच्छामा नबग्। परमेश्वरका विश्वासीहरूले यिनै सिद्धान्तहरूअनुसार कार्य गर्नुपर्छ। एउटा सानो कुराले पनि मानिसका अभिप्राय र कद प्रकट गर्न सक्छ, त्यसैले, परमेश्वरबाट सिद्ध पारिने मार्गमा प्रवेश गर्नका लागि तिनीहरूले पहिले आफ्ना अभिप्रायहरू र परमेश्वरसँगको आफ्नो सम्बन्धलाई ध्यान दिनैपर्छ। जब परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य हुन्छ तब मात्र तँ उहाँद्वारा सिद्ध पारिन सक्छस्; तब मात्र परमेश्वरको काटछाँट, अनुशासन, र शोधनले तँमा आफ्नो अभिप्रेत प्रभाव हासिल गर्न सक्छ। भन्नुको अर्थ, यदि मानिसहरू परमेश्वरलाई आफ्नो हृदयमा राख्न सक्षम छन् र व्यक्तिगत लाभ पछ्याउने वा आफ्नै भविष्यबारे (अर्थात्, आफ्नो देहबारे) सोच्ने गर्दैनन्, बरु त्यसको सट्टा जीवन प्रवेशका लागि बोझ बोक्छन्, सत्यता पछ्याउन सक्दो प्रयास गर्छन्, र परमेश्वरको कामप्रति समर्पित हुन्छन् भने—यदि तँ यसो गर्न सक्छस् भने, तैँले पछ्याउने लक्ष्यहरू सही हुनेछन्, र परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ। परमेश्वरसँगको आफ्नो सम्बन्धलाई सही बनाउनु भनेको व्यक्तिको आत्मिक यात्रामा प्रवेश गर्ने पहिलो कदम हो भनेर भन्न सकिन्छ। मानिसको भाग्य परमेश्वरको हातमा हुने र परमेश्वरद्वारा पूर्वनिर्धारित हुने, अनि मानिसद्वारा परिवर्तन गर्न नसकिने भए पनि, तँ परमेश्वरद्वारा सिद्ध पारिन वा उहाँद्वारा प्राप्त गरिन सक्छस् कि सक्दैनस् भन्ने कुरा परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। तँमा कमजोर वा विद्रोही पक्षहरू हुन सक्छन्—तर यदि तेरा दृष्टिकोण र तेरा अभिप्रायहरू सही छन्, र यदि परमेश्वरसँगको तेरो सम्बन्ध सही र सामान्य छ भने, तँ परमेश्वरद्वारा सिद्ध पारिन योग्य छस्। यदि परमेश्वरसँग तेरो सही सम्बन्ध छैन, र तँ देह वा आफ्नो परिवारको खातिर काम गर्छस् भने, तैँले जतिसुकै कडा परिश्रम गरे पनि, त्यो व्यर्थ हुनेछ। यदि परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छ भने, अरू सबै कुरा आफै मिल्दै जानेछन्। परमेश्वरले अरू केही हेर्नुहुन्न, बरु परमेश्वरमाथिको विश्वासमा तेरा दृष्टिकोणहरू ठीक छन् कि छैनन्: अन्ततः तँ कोमा विश्वास गर्छस्, तँ कसको खातिर विश्वास गर्छस्, र तँ किन विश्वास गर्छस् भन्ने कुरा मात्र हेर्नुहुन्छ। यदि तँ यी कुराहरू स्पष्ट रूपमा देख्न र सही दृष्टिकोणका साथ अभ्यास गर्न सक्षम छस् भने, तैँले आफ्नो जीवनमा प्रगति गर्नेछस्, र तँ सच्चा मार्गमा प्रवेश गर्ने प्रत्याभूति पनि हुनेछ। यदि परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छैन, र परमेश्वरमाथिको तेरो विश्वासका दृष्टिकोणहरू अनाचारी छन् भने, अरू सबै कुरा व्यर्थ हुन्छन्, र चाहे तैँले आफ्नो विश्वासलाई जसरी अभ्यास गर्, तैँले केही पनि प्राप्त गर्नेछैनस्। परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बनेपछि मात्र तैँले देहविरुद्ध विद्रोह गर्ने, प्रार्थना गर्ने, दुःख भोग्ने, सहने, समर्पित हुने, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई मद्दत गर्ने, परमेश्वरप्रति आफूलाई अझ बढी अर्पण गर्ने, आदि गर्दा उहाँको अनुमोदन प्राप्त गर्नेछस्। तँ जे गर्छस् त्यसको मूल्य र महत्त्व छ कि छैन भन्ने कुरा तेरा अभिप्रायहरू सही छन् कि छैनन् र तेरा दृष्टिकोणहरू ठीक छन् कि छैनन् भन्ने कुरामा निर्भर हुन्छ। आजकल, धेरै मानिस घडी हेर्न टाउको ढल्काएजस्तै गरी परमेश्वरमा विश्वास गर्छन्—तिनीहरूका दृष्टिकोणहरू टेढा छन्, र तिनीहरूले गर्नुपर्ने भनेको यसलाई जित्ने मात्र हो। यदि यो समस्या समाधान भयो भने, सबै कुरा ठीक हुनेछ; यदि भएन भने, सबै कुरा व्यर्थ हुनेछ। कतिपय मानिस मेरो उपस्थितिमा राम्रो व्यवहार गर्छन्, तर मेरो पिठ्युँ पछाडि, तिनीहरू मेरो प्रतिरोध मात्र गर्छन्। यो कुटिलपन र छलीपनको एउटा प्रकटीकरण हो, र यस प्रकारको व्यक्ति शैतानको नोकर हो; ऊ परमेश्वरको जाँच गर्न आएको शैतानका ठेट मूर्तरूप हो। यदि तँ मेरो काम र मेरा वचनहरूप्रति समर्पित हुन सक्षम छस् भने मात्र तँ सच्चा व्यक्ति होस्। यदि तँ परमेश्वरका वचनहरू खान र पिउन सक्षम छस् भने; यदि तैँले गर्ने सबै कुरा परमेश्वरसामु प्रस्तुत गर्न योग्य छन् र तँ आफूले गर्ने सबै कुरामा खुला र इमानदार तरिकाले व्यवहार गर्छस् भने; यदि तँ लाजमर्दा कामकुरा, वा अरूको जीवनलाई हानि गर्ने कामकुरा गर्दैनस् भने; र यदि तँ ज्योतिमा जिउँछस् र आफूलाई शैतानद्वारा शोषित हुन दिँदैनस् भने, परमेश्वरसँगको तेरो सम्बन्धलाई उचित क्रममा राखिएको छ।
परमेश्वरमा विश्वास गर्नका लागि तैँले तेरो अभिप्राय र दृष्टिकोणलाई उचित स्थितिमा राख्नुपर्छ, तँसँग परमेश्वरका वचन तथा परमेश्वरका कार्यहरू, परमेश्वरले प्रबन्ध गर्नुहुने सबै वातावरणहरू, परमेश्वरले गवाही दिनुहुने मानिस, र व्यावहारिक परमेश्वरको बारेमा सही बुझाइ, र व्यवहार गर्ने सही तरिका हुनुपर्छ। तैँले आफ्नो विचार अनुसार अभ्यास गर्नु हुँदैन वा तेरा आफ्नै तुच्छ युक्तिहरू लागू गर्नु हुँदैन। तैँले जेसुकै गरे पनि, तैँले सत्यको खोजी गर्न सक्नुपर्छ र, सृष्टि भएको प्राणीको तेरो हैसियतमा, परमेश्वरको सबै कार्यमा समर्पित हुनुपर्छ। यदि परमेश्वरबाट सिद्ध हुन खोज्ने र जीवनको सही मार्गमा प्रवेश गर्ने तेरो लालसा भएमा, तेरो हृदय सधैँ परमेश्वरको उपस्थितिमा जिउनुपर्छ। स्वच्छन्द नबन्, शैतानलाई नपछ्या, शैतानलाई आफ्नो काम गर्ने कुनै पनि अवसर नदे, र शैतानलाई तँलाई प्रयोग गर्न नदे। तैँले आफूलाई सम्पूर्ण रूपमा परमेश्वरलाई सुम्पनुपर्छ र परमेश्वरलाई तँमाथि शासन गर्न दिनुपर्छ।
के तँ शैतानको नोकर बन्न इच्छुक छस्? के तँ शैतानद्वारा दुरुपयोग गरिन इच्छुक छस्? तँ परमेश्वरद्वारा सिद्ध पारिन सक्नका लागि परमेश्वरमा विश्वास गर्छस् र उहाँलाई पछ्याउँछस् कि परमेश्वरको कामका लागि प्रतिभार बन्न सक्नका लागि? के तँ यस जीवनमा परमेश्वरद्वारा प्राप्त गरिन र अर्थपूर्ण जीवन जिउन इच्छुक छस्, कि तँ बरु मूल्यहीन र रित्तो जीवन जिउन चाहन्छस्? तँ परमेश्वरद्वारा प्रयोग गरिन रुचाउँछस् कि शैतानद्वारा दुरुपयोग गरिन? तँ परमेश्वरका वचनहरू र सत्यताले आफूलाई भर्न दिन रुचाउँछस् कि पाप र शैतानले आफूलाई भर्न दिन? यी कुराहरूलाई ध्यानपूर्वक विचार गर्। तेरो दैनिक जीवनमा, तैँले आफूले बोल्ने कुन शब्दहरू र गर्ने कुन कामकुराहरूले परमेश्वरसँगको आफ्नो सम्बन्धमा असामान्यता ल्याउन सक्छ भनी बुझ्नैपर्छ, र त्यसपछि सही शैलीमा प्रवेश गर्न आफैलाई सच्याउनैपर्छ। हर समय, तेरा शब्दहरू, तेरा कार्यहरू, तेरो हरेक गतिविधि, र तेरा सबै सोच र विचारहरूको जाँच गर्। आफ्नो वास्तविक स्थितिको उचित बुझाइ प्राप्त गर् र पवित्र आत्माको कामको शैलीमा प्रवेश गर्। परमेश्वरसँग सामान्य सम्बन्ध राख्ने एक मात्र तरिका यही हो। परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छ कि छैन भनी मूल्याङ्कन गरेर, तैँले आफ्ना अभिप्रायहरू सच्याउन, मानिसको प्रकृति सार बुझ्न, र आफैलाई साँच्चै बुझ्न सक्नेछस्, र, त्यसो गर्दा, तँ वास्तविक अनुभवहरूमा प्रवेश गर्न, वास्तविक रूपमा आफ्नै विरुद्ध विद्रोह गर्न, र अभिप्रायका साथ समर्पित हुन सक्नेछस्। परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छ कि छैन भन्ने विषयसँग सम्बन्धित यी मामिलाहरू अनुभव गर्दै गर्दा, तैँले परमेश्वरद्वारा सिद्ध पारिने अवसरहरू भेट्टाउनेछस् र पवित्र आत्माको कामका धेरै स्थितिबारे पकड राख्न सक्षम हुनेछस्। तैँले शैतानका धेरै युक्ति छर्लङ्गै देख्न र यसका षड्यन्त्रहरूलाई चिर्न पनि सक्नेछस्। यस मार्गले मात्रै परमेश्वरद्वारा सिद्ध पारिने अवस्थातर्फ डोर्याउँछ। तैँले परमेश्वरसँगको तेरो सम्बन्धलाई ठिक पार्नुपर्छ, ताकि तँ उहाँका प्रबन्धहरूमा पूर्ण रूपमा समर्पित हुन सकेस्, र वास्तविक अनुभवको अझै गहिराइमा प्रवेश गर्न र पवित्र आत्माको काम अझै बढी प्राप्त गर्न सकेस्। जब तँ परमेश्वरसँग सामान्य सम्बन्ध राख्ने अभ्यास गर्छस्, तब धेरैजसो मामिलामा, देहको विरुद्ध विद्रोह गरेर र परमेश्वरसँगको वास्तविक सहकार्यमार्फत सफलता हासिल गरिनेछ। तैँले के बुझ्नुपर्छ भने, “सहकार्य गर्ने हृदयबिना, परमेश्वरको काम प्राप्त गर्न गाह्रो हुन्छ; यदि देहले कष्ट भोग्दैन भने, परमेश्वरले कुनै आशिष् दिनुहुनेछैन; यदि आत्माले सङ्घर्ष गर्दैन भने, शैतान लज्जित हुनेछैन।” यदि तँ यी सिद्धान्तहरू अभ्यास गर्छस् र तिनलाई पूर्ण रूपमा बुझ्छस् भने, परमेश्वरमाथिको तेरो विश्वासका दृष्टिकोणहरू सच्चिनेछन्। तिमीहरूको अहिलेको अभ्यासमा, तिमीहरूले “धित मरुञ्जेल खान खोज्ने” मानसिकता त्याग्नैपर्छ; तिमीहरूले “सबै कुरा पवित्र आत्माद्वारा गरिन्छ, र मानिसहरूले हस्तक्षेप गर्न सक्दैनन्” भन्ने मानसिकता त्याग्नैपर्छ। यसो भन्ने हरेकले सोच्छ, “मानिसहरू जे चाहन्छन्, त्यही गर्न सक्छन्, र समय आएपछि, पवित्र आत्माले उहाँको काम गर्नुहुनेछ। मानिसहरूले देहलाई रोक्नु वा सहकार्य गर्नु आवश्यक छैन; एक मात्र महत्त्वपूर्ण कुरा भनेको तिनीहरू पवित्र आत्माद्वारा प्रेरित हुनु नै हो।” यी विचारहरू सबै बेतुके छन्। यस्ता परिस्थितिहरूमा, पवित्र आत्मा काम गर्न सक्नुहुन्न। यस्तै प्रकारको दृष्टिकोणले पवित्र आत्माको काममा ठूलो व्यवधान खडा गर्छ। प्रायजसो, पवित्र आत्माको काम मानव सहकार्यमार्फत प्राप्त गरिन्छ। मानिसहरू सहकार्य गर्दैनन् र तिनीहरूसँग कुनै सङ्कल्प हुँदैन, तैपनि तिनीहरू आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न र पवित्र आत्माको काम अनि परमेश्वरबाट अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न चाहन्छन्; यी साँच्चै नै अतिशयोक्तिपूर्ण विचारहरू हुन्। यसलाई “आफ्नै स्वार्थमा लिप्त हुनु र शैतानलाई क्षमा गर्नु” भनिन्छ। परमेश्वरसँग त्यस्ता मानिसहरूको सामान्य सम्बन्ध हुँदैन। तैँले आफूभित्र शैतानी स्वभावका धेरै अभिव्यक्ति र प्रकटीकरण भेट्टाउनुपर्छ र परमेश्वरले अहिले माग गर्ने कुराको विपरीत जाने तेरा कुनै पनि अभ्यासहरू भेट्टाउनुपर्छ। के तँ अब शैतानको विरुद्ध विद्रोह गर्न सक्षम हुनेछस्? तैँले परमेश्वरसँग सामान्य सम्बन्ध प्राप्त गर्नुपर्छ, परमेश्वरका अभिप्रायहरूअनुसार कार्य गर्नुपर्छ, र नयाँ जीवन भएको नयाँ व्यक्ति बन्नुपर्छ। विगतका अपराधहरूमा अल्झेर नबस्; अत्यधिक पछुतो नमान्; खडा हुन र परमेश्वरसँग सहकार्य गर्न सक्षम बन्, र तैँले पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गर्। यसरी, परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य बन्नेछ।
यदि यो पढिसकेपछि, तँ यी वचनहरू स्वीकार गर्छस् भनेर दाबी मात्रै गर्छस्, तर तेरो हृदय अप्रभावित रहन्छ र तँ परमेश्वरसँगको आफ्नो सम्बन्धलाई सामान्य बनाउन खोज्दैनस् भने, यसले तँ परमेश्वरसँगको आफ्नो सम्बन्धलाई महत्त्व दिँदैनस् भन्ने प्रमाणित गर्छ। यसले तेरा दृष्टिकोणहरू अझै सही पारिएका छैनन्, तेरा अभिप्रायहरू परमेश्वरद्वारा प्राप्त गरिनु र उहाँको महिमा गर्नुमा अझै केन्द्रित छैनन्, बरु शैतानका षड्यन्त्रहरूलाई सफल हुन दिन र आफ्ना लक्ष्यहरू हासिल गर्नमा केन्द्रित छन् भनेर प्रमाणित गर्छ। त्यस्ता मानिसहरू गलत अभिप्राय र अनुचित दृष्टिकोणहरू पाल्छन्। परमेश्वरले जे भन्नुभए पनि वा उहाँले जसरी भन्नुभए पनि, त्यस्ता मानिसहरू पूर्ण रूपमा उदासीन रहन्छन् र तिनीहरूमा अलिकति पनि रूपान्तरण देख्न सकिँदैन। तिनीहरू डराउने र लजाउने दुवै गर्दैनन्। यस्तो व्यक्ति आत्माविहीन र अन्योलमा परेको हुन्छ। परमेश्वरले बोल्ने हरेक वाणीको हकमा भन्दा, तैँले ती पढेर बुझिसकेपछि, तिनलाई अभ्यास गर्। विगतमा जस्तोसुकै व्यवहार गरेको भए पनि, कहिलेकाहीँ तेरो देह कमजोर भयो वा तँ विद्रोही भइस् वा तैँले प्रतिरोध गरिस् होला; यसले खासै महत्त्व राख्दैन र यसले आज तेरो जीवनलाई परिपक्व हुनबाट रोक्न सक्दैन। आज जबसम्म तँ परमेश्वरसँग सामान्य सम्बन्ध राख्न सक्छस्, तबसम्म आशा हुन्छ। यदि तैँले परमेश्वरका वचनहरू पढेपिच्छे तँमा परिवर्तन आउँछ र अरूले तेरो जीवन परिवर्तन भएर राम्रो भएको छ भनी भन्न सक्छन् भने, यसले परमेश्वरसँगको तेरो सम्बन्ध अब सामान्य छ र यसलाई सही पारिएको छ भन्ने देखाउँछ। परमेश्वर मानिसहरूलाई तिनीहरूका अपराधहरूअनुसार व्यवहार गर्नुहुन्न। तैँले बुझेर थाहा पाइसकेपछि, जबसम्म तँ विद्रोह गर्न वा प्रतिरोध गर्न छोड्न सक्छस्, तबसम्म परमेश्वरले अझै पनि तँमाथि कृपा गर्नुहुनेछ। जब तँसँग परमेश्वरद्वारा सिद्ध पारिनुलाई पछ्याउन बुझाइ र सङ्कल्प हुन्छ, तब परमेश्वरको उपस्थितिमा तेरो अवस्था सामान्य बन्नेछ। तैँले जे गरिरहेको भए पनि, विचार गर्: यदि मैले यो गरेँ भने परमेश्वरले के सोच्नुहुनेछ? के यसले मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुर्याउनेछ? के यो परमेश्वरको घरको कामका लागि लाभदायक हुनेछ? चाहे प्रार्थना, सङ्गति, बोली, मामिलाहरू सम्हाल्नमा होस्, वा अरूसँग सम्पर्कमा होस्, आफ्ना अभिप्रायहरू जाँच् र परमेश्वरसँगको आफ्नो सम्बन्ध सामान्य छ कि छैन भनी जाँच गर्। यदि तँ आफ्नै अभिप्राय र सोचहरूलाई खुट्ट्याउन सक्दैनस् भने, यसको अर्थ तँमा भेद छुट्याउने क्षमताको कमी छ, जसले तँ सत्यता अत्यन्तै कम बुझ्छस् भन्ने प्रमाणित गर्छ। यदि तँ परमेश्वरले गर्ने सबै कुरा स्पष्ट रूपमा बुझ्न सक्षम छस् र उहाँको पक्षमा खडा भएर उहाँका वचनहरूको दृष्टिकोणमार्फत कामकुराहरू बुझ्न सक्छस् भने, तेरा दृष्टिकोणहरू सही भएका हुनेछन्। त्यसकारण, परमेश्वरमा विश्वास गर्ने जोकोहीका लागि परमेश्वरसँग असल सम्बन्ध स्थापित गर्नु अत्यन्तै महत्त्वपूर्ण छ; सबैले यसलाई सर्वोपरि महत्त्वको कार्य र आफ्नो जीवनको सबैभन्दा ठूलो घटना ठान्नुपर्छ। तैँले गर्ने हरेक कुरालाई परमेश्वरसँग तेरो सामान्य सम्बन्ध छ कि छैन भन्ने कुराद्वारा मापन गरिन्छ। यदि परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छ र तेरा अभिप्रायहरू सही छन् भने, कार्य गर्। परमेश्वरसँग सामान्य सम्बन्ध कायम राख्न, तँ आफ्ना व्यक्तिगत हितहरूमा घाटा भोग्न डराउनैहुँदैन; तैँले शैतानलाई सफल हुन दिनु हुँदैन, तैँले शैतानलाई तँमाथि प्रभाव जमाउन दिनु हुँदैन र तैँले शैतानलाई तँलाई हाँसोको पात्र बनाउन दिनु हुँदैन। यस्ता अभिप्रायहरू हुनु भनेको परमेश्वरसँगको तेरो सम्बन्ध सामान्य छ भन्ने सङ्केत हो—देहको खातिर होइन, बरु आत्माको शान्तिका लागि, पवित्र आत्माको काम प्राप्त गर्नका लागि र परमेश्वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्नका लागि हो। सही स्थितिमा प्रवेश गर्न, तैँले परमेश्वरसँग असल सम्बन्ध स्थापित गर्नैपर्छ र परमेश्वरमाथिको आफ्नो विश्वासका दृष्टिकोणहरूलाई सही बनाउनैपर्छ। यो परमेश्वरले तँलाई प्राप्त गर्न सक्नुहोओस् र उहाँले तँमा आफ्ना वचनहरूका फलहरू प्रकट गर्न सक्नुहोओस् र तँलाई अझ बढी अन्तर्दृष्टि र ज्योति दिन सक्नुहोओस् भनेर हो। यसरी, तँ सही तरिकामा प्रवेश गरेको हुनेछस्। आजका परमेश्वरका वचनहरू निरन्तर खा र पि, पवित्र आत्माको काम गर्ने वर्तमान तरिकामा प्रवेश गर्, आजका परमेश्वरका मागहरूअनुसार कार्य गर्, अभ्यासका पुराना विधिहरू पालन नगर्, कामकुराहरू गर्ने पुराना तरिकाहरूमा नटाँसी र जतिसक्दो चाँडो आजको काम गर्ने तरिकामा प्रवेश गर्। यसरी, परमेश्वरसँगको तेरो सम्बन्ध पूर्ण रूपमा सामान्य बन्नेछ र तँ परमेश्वरमाथिको विश्वासको सही मार्गमा लागेको हुनेछस्।