स्वभाव परिवर्तन भएका मानिसहरू परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गरेकाहरू हुन्

मानिसहरूभित्र पवित्र आत्माको मार्गको पहिलो पाइला भनेको सबैभन्दा पहिले मानिसको हृदयलाई मानिस, घटना र वस्तुहरूबाट टाढा राखेर परमेश्‍वरको वचनतर्फ आकर्षित गर्नु हो, जसले गर्दा मानव हृदयले परमेश्‍वरका वचनहरू पूर्ण रूपमा शङ्कारहित र बिलकुलै सत्य छन् भनी विश्‍वास गरोस्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने, तैँले उहाँका वचनहरूमा विश्‍वास गर्नैपर्छ; धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेपछि पनि, यदि तँलाई पवित्र आत्माले लिनुभएको मार्गबारे थाहा हुँदैन भने, के तँ साँच्‍चै विश्‍वासी होस् त? एक सामान्य मानव जीवन, अर्थात् परमेश्‍वरसित सामान्य सम्बन्ध भएको सामान्य मानव जीवन प्राप्त गर्न, तैँले पहिले उहाँका वचनहरूमा विश्‍वास गर्नुपर्छ। यदि तैँले मानिसहरूमा पवित्र आत्माले गर्नुहुने कामको पहिलो पाइला प्राप्त गरेको छैनस् भने, तँसँग कुनै जग हुँदैन। यदि सिद्धान्तहरूमध्ये सबैभन्दा कम महत्त्वपूर्ण सिद्धान्त पनि तँदेखि टाढा छ भने, कसरी तँ अगाडिको बाटो हिँड्नेछस्? परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुने सही बाटोमा खुट्टा टेक्‍नुको अर्थ पवित्र आत्माको वर्तमान कामको सही बाटोमा प्रवेश गर्नु हो; यसको अर्थ पवित्र आत्माले लिनुभएको मार्गमा खुट्टा टेक्‍नु हो। अहिले, पवित्र आत्माले लिनुभएको बाटो भनेको परमेश्‍वरका वर्तमान वचनहरू हुन्। त्यसै गरी, यदि मानिसहरूले पवित्र आत्माको बाटोमा खुट्टा टेक्‍नु छ भने, तिनीहरूले देहधारी परमेश्‍वरका वर्तमान वचनहरू पालन गर्नुपर्छ, खानुपर्छ र पिउनुपर्छ। उहाँले गर्नुहुने काम भनेको वचनहरूको काम हो; सबै कुरा उहाँका वचनहरूबाट सुरु हुन्छ, र सबै कुरा उहाँका वचनहरू अर्थात् उहाँका वर्तमान वचनहरूको जगमा निर्मित हुन्छन्। चाहे देहधारी परमेश्‍वरको बारेमा निश्‍चित हुने कुरा होस्, वा देहधारी परमेश्‍वरलाई चिन्‍ने कुरा होस्, यी दुवैको लागि उहाँका वचनहरूमा थप ध्यान पुर्याउनु आवश्यक हुन्छ। नत्रभने, मानिसहरूले केही पनि हासिल गर्न सक्दैनन् र तिनीहरू खाली हात हुनेछन्। परमेश्‍वरको वचन खाने र पिउने जगमा आधारित रहेर अनि त्यसमार्फत उहाँलाई चिनेर र उहाँलाई सन्तुष्ट पारेर मात्र, मानिसहरूले बिस्तारै परमेश्‍वरसँग सामान्य सम्बन्ध स्थापित गर्न सक्छन्। मानिसका लागि, परमेश्‍वरका वचनहरू खानु र पिउनु अनि ती वचनहरूलाई अभ्यास गर्नुभन्दा राम्रो सहकार्य अर्को कुनै छैन। यस्तो अभ्यासमार्फत, तिनीहरू परमेश्‍वरका मानिसहरूको गवाहीमा दृढ रहन सबैभन्दा सक्षम हुन्छन्। जब मानिसहरूले परमेश्‍वरका वर्तमान वचनहरूको सार बुझ्‍न र तिनलाई पालन गर्न सक्छन्, तब तिनीहरू पवित्र आत्माले डोऱ्याउनुभएको मार्गमा जिउँछन् र तिनीहरूले मानिसलाई सिद्ध पार्ने परमेश्‍वरको सही मार्गमा खुट्टा टेकेका हुन्छन्। यसभन्दा पहिले, मानिसहरूले परमेश्‍वरको अनुग्रह खोजेर, वा शान्ति र आनन्द खोजेर मात्रै पनि परमेश्‍वरको काम प्राप्त गर्न सक्थे, तर अहिले परिस्थिति फरक छ। देहधारी परमेश्‍वरका वचनहरूविना, उहाँका वचनहरूको वास्तविकताविना, मानिसहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्दैनन् र तिनीहरू सबैलाई परमेश्‍वरले हटाउनुहुनेछ। एक सामान्य आत्मिक जीवन हासिल गर्नको लागि, मानिसहरूले पहिले परमेश्‍वरका वचनहरू खानु र पिउनुपर्छ र तिनलाई अभ्यास गर्नुपर्छ, अनि त्यसपछि त्यही जगमा परमेश्‍वरसित सामान्य सम्बन्ध स्थापित गर्नुपर्छ। तैँले कसरी सहकार्य गर्छस्? परमेश्‍वरका मानिसहरूको गवाहीमा तँ कसरी दृढ भई खडा हुन्छस्? तैँले परमेश्‍वरसित कसरी सामान्य सम्बन्ध स्थापित गर्छस्?

आफ्नो दैनिक जीवनमा परमेश्‍वरसित सामान्य सम्बन्ध छ कि छैन भनी कसरी हेर्ने:

१. के तँ परमेश्‍वरको आफ्नै गवाहीमा विश्‍वास गर्छस्?

२. के तँ आफ्नो हृदयमा परमेश्‍वरका वचनहरू सत्य र त्रुटिहीन छन् भनी विश्‍वास गर्छस्?

३. के तँ उहाँका वचनहरू अभ्यास गर्ने व्यक्ति होस्?

४. के तँ उहाँको आदेशप्रति बफादार छस्? उहाँको आदेशप्रति बफादार हुन तँ के गर्छस्?

५. के तैँले गर्ने सबै कुरा परमेश्‍वरलाई प्रसन्‍न तुल्याउन र उहाँप्रति बफादार हुनका लागि हुन्?

माथि सूचीबद्ध गरिएका कुराहरूद्वारा, तैँले वर्तमान चरणमा परमेश्‍वरसँग तेरो सामान्य सम्बन्ध छ कि छैन सो जाँच्न सक्छस्।

यदि तँ परमेश्‍वरको आदेश स्विकार्न, उहाँको प्रतिज्ञा स्विकार्न र पवित्र आत्माको मार्गलाई पछ्याउन सक्छस् भने, तँ परमेश्‍वरको इच्छामा हिँडिरहेको छस्। के तैँले आफ्नो मनभित्र पवित्र आत्माको बाटोलाई स्पष्ट रूपमा बुझेको छस्? के अहिले तँ पवित्र आत्माको मार्गअनुरूप काम गर्छस्? के तेरो हृदय परमेश्‍वरसँग नजिक हुन्छ? के तँ पवित्र आत्माको सबैभन्दा नयाँ ज्योतिसँग कदम मिलाउने इच्छा गर्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिने इच्छा गर्छस्? के तँ पृथ्वीमा परमेश्‍वरको महिमाको प्रकटीकरण बन्‍न चाहन्छस्? के तँसँग परमेश्‍वरले तँलाई दिनुभएको मापदण्ड पूरा गर्ने संकल्प छ? यदि परमेश्‍वरका वचनहरू बोलिँदा तँभित्र सहकार्य गर्ने संकल्प र परमेश्‍वरलाई सन्तुष्ट पार्ने संकल्प हुन्छ भने—यदि यो तेरो मानसिकता हो भने—त्यसको अर्थ परमेश्‍वरको वचनले तेरो हृदयमा फल फलाएको छ भन्‍ने हुन्छ। यदि तँमा त्यस्तो संकल्पको अभाव छ भने, यदि तँसँग तैँले पछ्याउनुपर्ने कुनै लक्ष्य नै छैन भने, त्यसको अर्थ परमेश्‍वरद्वारा तेरो हृदय छोइएको छैन।

जब मानिसहरू आधिकारिक रूपमा परमेश्‍वरको राज्यको तालिममा प्रवेश गर्छन्, तब परमेश्‍वरले तिनीहरूबाट अपेक्षा गर्नुहुने मापदण्डहरू उच्‍च स्तरका हुन पुग्छन्। कुन दृष्टिकोणमा यी उच्‍च मापदण्डलाई देख्‍न सकिन्छ? पहिले, मानिसहरूसँग जीवन छैन भनेर भनिन्थ्यो। आज, तिनीहरू जीवनको खोजी गर्छन्, तिनीहरू परमेश्‍वरका मानिसहरू बन्‍न, परमेश्‍वरबाट प्राप्त गरिन, परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छन्। के यो उच्‍च स्तर होइन र? वास्तवमा, परमेश्‍वरले मानिसहरूबाट अपेक्षा गर्नुहुने मापदण्डहरू पहिलेको भन्दा सरल छन्। मानिसहरू सेवा-कर्ताहरू हुन वा मर्न आवश्यक छैन—तिनीहरू परमेश्‍वरका मानिसहरू बन्‍नुपर्छ, बस त्यत्ति मात्र हो। के यो अझ सरल छैन र? तैँले परमेश्‍वरमा आफ्नो हृदय समर्पण गर्ने र उहाँको अगुवाइमा आफू समर्पित हुने मात्र गर्नुपर्छ, र सबै कुरा सफल हुनेछ। तँ किन यो यति कठिन छ भन्‍ने महसुस गर्छस्? आज उल्‍लेख गरिएको जीवन प्रवेश गर्ने कुरा पहिलेको भन्दा स्पष्ट छ। विगतमा, मानिसहरू अन्योलमा हुन्थे र सत्यता वास्तविकता के हो जान्दैनथे। वास्तवमा, परमेश्‍वरका वचनहरू सुनेर प्रतिक्रिया दिनेहरू, पवित्र आत्माबाट अन्तर्दृष्टि र प्रकाश पाएकाहरू र परमेश्‍वरको सामु उहाँको सिद्धता प्राप्त गर्नेहरू र स्वभाव परिवर्तन भएकाहरू—त्यस्ता सबै मानिसहरूसित जीवन हुन्छ। परमेश्‍वर जीवित प्राणीहरू चाहनुहुन्छ, मरेका वस्तुहरू चाहनुहुन्‍न; यदि तँ मरेको छस् भने, तँसँग जीवन हुँदैन, र परमेश्‍वर तँसँग बोल्नुहुनेछैन, उहाँले तँलाई उहाँका मानिसहरूमध्ये एकको रूपमा उठाउनुहुने कुरा त परै जाओस्। तँलाई परमेश्‍वरले माथि उठाउनुभएको र तैँले उहाँबाट त्यत्ति ठूलो आशिष्‌ पाएको हुनाले, यसले तिमीहरू जीवन भएका र परमेश्‍वरबाट आएको जीवन पाएका मानिसहरू हौ भन्‍ने देखाउँछ।

जीवन स्वभाव परिवर्तन गर्ने खोजीको क्रममा, अभ्यासको मार्ग सरल हुन्‍छ। यदि आफ्नो व्यावहारिक अनुभवमा, तैँले पवित्र आत्माका वर्तमान वचनहरू पालन गर्न र परमेश्‍वरको काम अनुभव गर्न सक्छस् भने, तेरो स्वभाव परिवर्तन हुन सक्छ। यदि तँ पवित्र आत्माले जे भन्‍नुहुन्छ त्यो पालन गर्छस् भने, र पवित्र आत्माले जे भन्‍नुहुन्छ त्यही खोजी गर्छस् भने, तँ उहाँको आज्ञापालन गर्ने व्यक्ति होस्, र तेरो स्वभावमा परिवर्तन आउनेछ। पवित्र आत्माका वर्तमान वचनहरूद्वारा मानिसहरूको स्वभाव परिवर्तन हुन्छ; यदि तँ सधैँ आफ्नो पुरानो अनुभव र विगतका नियमहरूमा टाँसिइरहन्छस् भने, तेरो स्वभाव परिवर्तन हुन सक्दैन। यदि पवित्र आत्माका आजका वचनहरूले सबै मानिसहरू सामान्य मानवतामा प्रवेश गर्नुपर्छ भनेर भन्छ तर तँ बाहिरी कुराहरूको मोहमा अल्झिरहन्छस् भने, र वास्तविकताको बारेमा तँ अलमल्ल पर्छस् र त्यसलाई गम्भीरतासाथ लिँदैनस् भने, तँ पवित्र आत्माको कामको गतिमा हिँड्न नसक्‍ने र पवित्र आत्माको मार्गनिर्देशनको मार्गमा प्रवेश नगरेको व्यक्ति होस्। तेरो स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने कुरा, तँ पवित्र आत्माका वर्तमान वचनहरूको गतिलाई पछ्याउन सक्छस् कि सक्दैनस् र तँसँग साँचो ज्ञान छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यो तिमीहरूले पहिले जे बुझेका थियौ त्योभन्दा फरक छ। तैँले पहिले स्वभावमा परिवर्तन हुनु भनेको हतारमा कुरै नबुझी दोष दिइहाल्ने तिमीहरू परमेश्‍वरको अनुशासनमा परेपछि विचार नगरी बोल्न छाड्नु हो भनी बुझेको थिइस्; तर त्यो परिवर्तनको एउटा पक्ष मात्र हो। अहिले, सबैभन्दा महत्त्वपूर्ण कुरा पवित्र आत्माको मार्गनिर्देशनलाई पछ्याउनु हो: परमेश्‍वरले जे भन्‍नुहुन्छ त्यो मान्‍नु र उहाँले जे भन्‍नुहुन्छ त्यो पालन गर्नु हो। मानिसहरूले आफ्नो स्वभाव आफै परिवर्तन गर्न सक्दैनन्; तिनीहरू परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि दुःखकष्ट र शोधन भएर जानैपर्छ, वा उहाँका वचनहरूद्वारा निराकरण, अनुशासित र काटछाँट गरिनुपर्छ। तब मात्र तिनीहरूले परमेश्‍वरप्रति आज्ञाकारिता र बफादारिता हासिल गर्न सक्छन्, र अबउप्रान्त उहाँप्रति लापरवाही हुनेछैनन्। परमेश्‍वरका वचनहरूको शोधनमा पर्दा नै मानिसहरूको स्वभाव परिवर्तन हुन्छ। उहाँका वचनहरूको खुलासा, न्याय, अनुशासन र निराकरणद्वारा मात्र तिनीहरू अबउप्रान्त सोचविचार नगरी काम गर्न छोड्छन् र त्यसको साटो स्थिर र शान्त बन्छन्। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि परमेश्‍वरका वर्तमान वचनहरू र उहाँको काम मानिसहरूका धारणाहरूसँग मेल नखाए पनि तिनीहरू ती कुरामा समर्पित हुन सक्छन्, तिनीहरू ती धारणाहरूलाई एकातिर पन्छ्याएर स्वेच्छाले समर्पित हुन सक्छन्। विगतमा, स्वभाव परिवर्तनको कुराले मुख्य रूपमा आफैलाई त्याग्‍न सक्‍ने हुनु, देहलाई दुःख भोग्‍न दिनु, आफ्नो शरीरलाई अनुशासनमा राख्‍नु, र आफैलाई शारीरिक अभिलाषाहरूबाट मुक्त गर्नु भन्‍ने कुरालाई बुझाउँथ्यो, जुन स्वभावमा आउने एक प्रकारको परिवर्तन हो। आज, स्वभाव परिवर्तनको साँचो अभिव्यक्ति परमेश्‍वरका वर्तमान वचनहरू पालन गर्नु र उहाँको नयाँ कामलाई साँचो रूपमा जान्‍नु हो भन्‍ने कुरा सबैलाई थाहा छ। यस तरिकाले, मानिसहरूका आफ्‍नै धारणाहरूले रङ्गिएका परमेश्‍वरसम्‍बन्धी तिनीहरूको पहिलेको बुझाइलाई हटाउन सकिन्छ, र तिनीहरूले परमेश्‍वरको साँचो ज्ञान र उहाँप्रतिको आज्ञापालन हासिल गर्न सक्छन्—यही मात्र स्वभावमा हुने परिवर्तनको सच्‍चा अभिव्यक्ति हो।

जीवन प्रवेश गर्ने मानिसहरूको खोजी परमेश्‍वरको वचनमा आधारित हुन्छ। यसभन्दा पहिले, उहाँका वचनहरूको कारण सबै कुरा हासिल हुन्छन् भनेर भनिन्थ्यो, तर यो तथ्य कसैले देखेन। यदि तँ वर्तमान चरण अनुभव गर्ने कार्यमा प्रवेश गर्छस् भने, तँलाई सबै कुरा स्पष्ट हुनेछ, र तैँले भविष्यका परीक्षाहरूका लागि राम्रो आधार निर्माण गरिरहेको हुनेछस्। परमेश्‍वरले जे भन्‍नु भए पनि, उहाँका वचनहरूमा प्रवेश गर्नमा ध्यान दे। जब परमेश्‍वरले म मानिसहरूलाई सजाय दिन थाल्नेछु भनी भन्‍नुहुन्छ, तब उहाँको सजायलाई स्वीकार गर्। जब परमेश्‍वरले मानिसहरूलाई मर भनी भन्‍नुहुन्छ, तब त्यो परीक्षालाई स्वीकार गर्। यदि तँ सधैँ उहाँको सबैभन्दा नयाँ वाणीहरूमा जिउँछस् भने, आखिरमा परमेश्‍वरका वचनहरूले तँलाई सिद्ध पार्नेछन्। तँ जति धेरै परमेश्‍वरका वचनहरूमा प्रवेश गर्छस्, त्यति नै चाँडो तँ सिद्ध पारिनेछस्। म किन एकपछि अर्को सङ्गतिमा तिमीहरूलाई परमेश्‍वरका वचनहरूको बारेमा जान्‍न र तिनमा प्रवेश गर्ने आग्रह गर्छु? जब तँ परमेश्‍वरका वचनहरूको खोजी र अनुभव गर्छस्, र उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गर्छस्, तब मात्र पवित्र आत्माले तँभित्र काम गर्ने मौका पाउनुहुन्छ। त्यसकारण, तिमीहरू सबै नै परमेश्‍वरले काम गर्नुहुने हरेक विधिका सहभागीहरू हौ र तिमीहरूको पीडा जुनसुकै हदको भए पनि, आखिरमा तिमीहरू सबैले “उपहार” प्राप्त गर्नेछौ। तिमीहरूले आफ्नो अन्तिम सिद्धता प्राप्त गर्नको लागि परमेश्‍वरका सम्पूर्ण वचनहरूमा प्रवेश गर्नुपर्छ। पवित्र आत्माले मानिसहरूलाई सिद्ध पार्ने काम एकतर्फी रूपमा हुँदैन; उहाँलाई मानिसहरूको सहकार्य चाहिन्छ, उहाँलाई सबैको चेतनशील सहकार्य आवश्यक पर्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि, उहाँका वचनहरूमा प्रवेश गर्नमा ध्यान देओ—यो तिमीहरूको जीवनका लागि अझै बढी लाभदायक हुनेछ। सबै कुरा तिमीहरूको स्वभावमा परिवर्तन हासिल गर्नका लागि हो। जब तँ परमेश्‍वरका वचनहरूमा प्रवेश गर्छस्, तेरो हृदय उहाँद्वारा छोइनेछ, र तँ परमेश्‍वरले उहाँको कामको यस चरणमा प्राप्त गर्न चाहनुभएका सबै कुरा जान्‍न सक्षम हुनेछस्, र तँमा ती कुरा हासिल गर्ने संकल्प हुनेछ। सजाय दिइएको समयमा, केही मानिसहरू यस्ता थिए जसले यो काम गर्ने तरिका हो भनी विश्‍वास गरे, र परमेश्‍वरका वचनहरूमा विश्‍वास गरेनन्। फलस्वरूप, तिनीहरूले शोधनको अनुभव गरेनन्, र तिनीहरू केही प्राप्त नगरी र नबुझीकनै सजायको समयबाट बाहिर निस्के। केही मानिसहरू यस्ता थिए जो रत्तीभर पनि शङ्का नगरी यी वचनहरूमा प्रवेश गरे, र तिनीहरूले परमेश्‍वरका वचनहरू त्रुटिहीन सत्य हुन् र मानवजातिलाई सजाय दिइनुपर्छ भनी भने। तिनीहरूले केही समयसम्म त्यहाँ संघर्ष गरे, आफ्नो भविष्य र आफ्नो गन्तव्यलाई त्यागे, र जब तिनीहरू बाहिर आए, तिनीहरूको स्वभावमा केही परिवर्तन आएको थियो र तिनीहरूले परमेश्‍वरबारे अझ गहन बुझाइ प्राप्त गरेका थिए। सजायबाट गुज्रँदै आउने सबैले परमेश्‍वरको प्रेमिलोपन महसुस गरे, र यस चरणको काम भनेको तिनीहरूमाथि बर्सिने परमेश्‍वरको महान् प्रेमको मूर्तरूप हो, साथै त्यो परमेश्‍वरको प्रेमको विजय र मुक्ति पनि हो भन्‍ने थाहा पाए। तिनीहरूले परमेश्‍वरका विचारहरू सधैँ असल हुन्छन्, र परमेश्‍वरले मानिसमा गर्नुहुने सबै काम घृणाबाट नभई प्रेमबाट आउँछ भनेर पनि भने। परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्नेहरू र उहाँका वचनहरूको खोजीनिती नगर्नेहरूले सजायको समयमा शोधनको अनुभव गरेनन्, फलस्वरूप, पवित्र आत्मा तिनीहरूसँग हुनुहुन्‍नथ्यो र तिनीहरूले केही पनि प्राप्त गरेनन्। सजायको समयमा प्रवेश गर्ने मानिसहरूमा, तिनीहरूले शोधन अनुभव गरे पनि, पवित्र आत्माले लुकेर तिनीहरूभित्र काम गर्दै हुनुहुन्थ्यो र यसको फलस्वरूप तिनीहरूको जीवन स्वभाव परिवर्तन भयो। सबै बाहिरी रूपरङ्ग हेर्दा, कोहीकोही अति सकारात्मक, सारा दिन प्रसन्‍नताले भरिएका देखिन्थे, तर तिनीहरू परमेश्‍वरका वचनहरूको शोधन प्राप्त गर्ने स्थितिभित्र प्रवेश गरेनन् र यसैले तिनीहरू अलिकति पनि परिवर्तन भएनन्, जुन परमेश्‍वरका वचनहरूमा विश्‍वास नगर्नुको परिणाम थियो। यदि तँ परमेश्‍वरका वचनहरूमा विश्‍वास गर्दैनस् भने, पवित्र आत्माले तँभित्र काम गर्नुहुनेछैन। उहाँका वचनहरूमा विश्‍वास गर्ने सबैकहाँ परमेश्‍वर देखा पर्नुहुन्छ, र उहाँका वचनहरूमा विश्‍वास गर्ने र तिनलाई स्वीकार गर्नेहरूले उहाँको प्रेम प्राप्त गर्न सक्‍नेछन्!

परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नका निम्ति, तैँले अभ्यासको मार्ग भेट्टाउनुपर्छ र परमेश्‍वरका वचनहरूलाई कसरी अभ्यास गर्ने भनी जान्‍नुपर्छ। यसरी मात्र तेरो जीवन स्वभावमा परिवर्तन हुनेछ, यस मार्गद्वारा मात्र तँ परमेश्‍वरद्वारा सिद्ध पारिन सक्छस्, र परमेश्‍वरद्वारा यसरी सिद्ध पारिएका मानिसहरू मात्र उहाँको इच्छाअनुरूप हुन सक्छन्। नयाँ ज्योति प्राप्त गर्न, तँ उहाँका वचनहरूभित्र जिउनुपर्छ। पवित्र आत्माद्वारा एकपटक मात्र छोइनु पर्याप्त हुँदैन, तँ अझ गहिराइमा जानुपर्छ। जो एकपल्ट मात्र छोइएका छन्, तिनीहरूको भित्री उत्साह जागृत हुन्छ, र तिनीहरू खोजी गर्न चाहन्छन्, तर यो खोजी लामो समयसम्म टिक्‍न सक्दैन; तिनीहरू पवित्र आत्माद्वारा निरन्तर छोइनुपर्छ। विगतमा धेरैचोटि मैले परमेश्‍वरका आत्माले मानिसहरूको आत्मालाई छुन सकून् भन्‍ने आशा व्यक्त गरेको छु, ताकि तिनीहरूले आफ्नो जीवन स्वभावमा परिवर्तन गर्ने प्रयास गरून् र परमेश्‍वरको छुवाइ प्राप्त गर्न खोज्‍ने क्रममा, तिनीहरूले आफ्नै अपर्याप्तताहरू बुझ्न सकून्, र उहाँका वचनहरू अनुभव गर्ने प्रक्रियामा, तिनीहरूले आफैभित्रका अशुद्धताहरूलाई (आत्म-धार्मिकता, अहङ्कार, धारणाहरू, आदि इत्यादिलाई) हटाउन सकून्। नयाँ प्रकाश प्राप्त गर्न सक्रिय हुनु नै पर्याप्त हुन्छ भनी नसोच—तिमीहरूले सबै नकारात्मक कुराहरूलाई पनि फाल्नुपर्छ। एकातिर तिमीहरू सकारात्मक पक्षबाट प्रवेश गर्नु आवश्यक छ भने, अर्कोतिर तिमीहरूले नकारात्मक पक्षबाट आएका सबै अशुद्ध कुराहरूबाट आफैलाई छुटाउनुपर्छ। तैँले आफूभित्र अझै कुन-कुन अशुद्धताहरू छन् भनी बुझ्नको लागि निरन्तर आफैलाई जाँच्नुपर्छ। मानवजातिका धार्मिक विचारहरू, अभिप्रायहरू, आशाहरू, स्व-धार्मिकता र अहङ्कार सबै अशुद्ध कुराहरू हुन्। आफैभित्र हेर् र तँमा कुन-कुन धार्मिक धारणाहरू छन् कि भनी बुझ्न सबै कुरालाई परमेश्‍वरका प्रकाशका वचनहरूसँग तुलना गर्। जब तैँले ती कुराहरूलाई साँचो रूपमा चिन्छस्, तब मात्र तैँले तिनलाई हटाउन सक्छस्। कतिपय मानिसहरू भन्छन्: “अहिले पवित्र आत्माको वर्तमान कामको ज्योतिलाई पछ्याउनु मात्रै पनि पर्याप्त छ। अरू कुनै कुराको झमेलामा पर्नु आवश्यक छैन।” तर त्यसपछि, जब तेरा धार्मिक विचारहरू जाग्छन्, तैँले ती कुराबाट कसरी छुटकारा पाउँछस्? के तँलाई आज परमेश्‍वरका वचनहरू पालन गर्नु साधारण कुरा हो भन्‍ने लाग्छ? यदि तँ धर्मको मानिस होस् भने, तेरा धार्मिक विचारहरू र तेरो हृदयमा भएका परम्परागत धर्मशास्‍त्रीय सिद्धान्तहरूबाट नै बाधाहरू उत्पन्‍न हुन सक्छन्, र जब यी कुराहरू उत्पन्‍न हुन्छन्, तब तिनले तँलाई नयाँ कुराहरू स्वीकार गर्नमा बाधा दिन्छ। यी सबै वास्तविक समस्याहरू हुन्। यदि तैँले पवित्र आत्माका हालका वचनहरूलाई मात्र पछ्याउँछस् भने, तैँले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैनस्। तैँले पवित्र आत्माको वर्तमान ज्योतिको खोजी गर्ने क्रममा तेरो मनमा कुन-कुन धारणा र अभिप्रायहरू छन्, र तँमा के-कस्तो मानवीय स्व-धार्मिकता रहेको छ, र कुन-कुन व्यवहारहरूले परमेश्‍वरको अवज्ञा गर्छन् भनी थाहा पाउनुपर्छ। यी सबै कुरा पहिचान गरिसकेपछि, तैँले ती सबैलाई फाल्नुपर्छ। तँलाई तेरा पहिलेका कार्य र व्यवहारहरू त्याग्‍न लगाउनु भनेकै तँलाई पवित्र आत्माले आज बोल्नुहुने वचनहरूको अनुसरण गर्ने मौका दिनका लागि हो। एकातिर स्वभावको परिवर्तन परमेश्‍वरका वचनहरूद्वारा हासिल हुन्छ भने, अर्कोतिर यसको निम्ति मानिसको तर्फबाट सहकार्यको आवश्यकता पर्छ। एकातिर परमेश्‍वरको काम छ र अर्कोतिर मानव अभ्यास छ, र दुवै नै अपरिहार्य छन्।

तिमीहरूले आफ्नो भावी सेवाको मार्गमा कसरी परमेश्‍वरको इच्छा पूरा गर्न सक्छौ? एउटा महत्त्वपूर्ण कुरा भनेको चाहिँ जीवन प्रवेशको, स्वभाव परिवर्तनको र सत्यतामा गहिरो रूपले प्रवेशको खोजी गर्नु हो—सिद्धता प्राप्त गर्ने र परमेश्‍वरद्वारा प्राप्त गरिने मार्ग यही हो। तिमीहरू सबै परमेश्‍वरको आज्ञा प्राप्त गर्नेहरू हौ, तर त्यो कस्तो प्रकारको आज्ञा हो? यो कामको अर्को चरणसँग सम्बन्धित छ; कार्यको अर्को चरण सम्पूर्ण ब्रह्माण्डमा गरिने अझ ठूलो कार्य हुनेछ, त्यसैले आज, तिमीहरूले आफ्नो जीवन स्वभाव परिवर्तन गर्न खोज्‍नुपर्छ, ताकि भविष्यमा तिमीहरू साँच्‍चै नै परमेश्‍वरले उहाँको कामद्वारा महिमा प्राप्त गर्नुहुने कुराको प्रमाण बन्‍नेछौ, जसले तिमीहरूलाई उहाँको भविष्यको कामको सटीक उदाहरण बनाउँछ। आजको खोजी पूर्णतया भविष्यको कामको लागि जग बसाल्नकै निम्ति हो, ताकि तिमीहरू परमेश्‍वरद्वारा प्रयोग हुन र उहाँको साक्षी दिन सक। यदि तिमीहरूले यसलाई आफ्नो खोजीको लक्ष्य बनाउँछौ भने, तिमीहरू पवित्र आत्माको उपस्थिति प्राप्त गर्न सक्षम हुनेछौ। तैँले आफ्नो खोजको लक्ष्य जति उच्‍च राख्छस्, तँ त्यति नै बढी सिद्ध पारिन सक्छस्। तँ सत्यको पछि जति धेरै लाग्छस्, पवित्र आत्माले त्यति नै धेरै काम गर्नुहुन्छ। तैँले आफ्नो खोजमा जति धेरै ऊर्जा लगाउँछस्, तैँले त्यत्ति नै बढी प्राप्त गर्नेछस्। पवित्र आत्माले मानिसहरूलाई तिनीहरूको भित्री स्थितिअनुसार सिद्ध पार्नुहुन्छ। केही मानिसहरू परमेश्‍वरद्वारा प्रयोग हुन वा उहाँद्वारा सिद्ध हुन इच्छुक हुँदैनन्, तिनीहरू आफ्नो देह सुरक्षित होस् र कुनै किसिमको दुर्भाग्य भोग्‍नु नपरोस् भनेर मात्र भन्छन्। केही मानिसहरू राज्यमा प्रवेश गर्न अनिच्छुक हुन्छन् तर अतल कुण्डमा खसालिन भने तयार हुन्छन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले पनि तेरो त्यो इच्छा पूरा गरिदिनुहुनेछ। तँ जुन कुराको पछि लाग्छस् परमेश्‍वरले त्यो पूरा गरिदिनुहुनेछ। त्यसो भए, अहिले तँ कुन कुराको पछि लाग्दै छस् त? के सिद्ध पारिने कुराको पछि लाग्दै छस् हो? के तेरा वर्तमान कार्य र व्यवहारहरू परमेश्‍वरद्वारा सिद्ध हुन र उहाँद्वारा प्राप्त गरिनका लागि हुन्? तैँले यसरी नै दिनहुँ निरन्तर आफैलाई मापन गर्नुपर्छ। यदि तँ आफ्नो सम्पूर्ण हृदयले एउटै लक्ष्यको पछि लाग्छस् भने, परमेश्‍वरले निश्‍चित रूपमा तँलाई सिद्ध बनाउनुहुनेछ। पवित्र आत्माको मार्ग यस्तै हुन्छ। पवित्र आत्माले मानिसहरूलाई जुन बाटोमा डोऱ्याउनुहुन्छ त्यो तिनीहरूको खोजको माध्यमबाट प्राप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध हुन र प्राप्त गरिनको लागि तैँले जति धेरै तृष्णा गर्छस्, पवित्र आत्माले तँभित्र त्यत्ति नै बढी काम गर्नुहुनेछ। तँ खोजी गर्न जति असफल हुन्छस्, र तँ जति धेरै नकारात्मक र प्रतिगमनकारी हुन्छस्, तैँले पवित्र आत्मालाई काम गर्ने अवसरहरूबाट त्यति नै वञ्‍चित गर्छस्; समय बित्दै जाँदा, पवित्र आत्माले तँलाई त्याग्‍नुहुनेछ। के तँ परमेश्‍वरद्वारा सिद्ध हुन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ परमेश्‍वरद्वारा प्रयोग गरिन चाहन्छस्? तिमीहरूले परमेश्‍वरद्वारा सिद्ध पारिन, प्राप्त गरिन र प्रयोग गरिनकै निम्ति सबै कुरा गर्दै खोजी गर्नुपर्छ, ताकि ब्रह्माण्ड र यावत् थोकले तिमीहरूमा परमेश्‍वरका कार्यहरू प्रकट भएको देखून्। यावत् थोकमाझ तिमीहरू मालिक हौ र अस्तित्वमा रहेका सबै कुराहरूमाझ तिमीहरूले आफूमार्फत परमेश्‍वरलाई गवाही र महिमाको आनन्द लिन दिनेछौ—तिमीहरू सारा पुस्ताहरूमध्ये सबैभन्दा धन्यका हौ भन्‍ने कुराको प्रमाण यही हो!

अघिल्लो: परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

अर्को: परमेश्‍वरको अघि आफ्नो हृदयलाई शान्त राख्ने सम्‍बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्