परमेश्वरले मानिसलाई प्रयोग गर्नुहुने सम्बन्धमा
पवित्र आत्माले विशेष मार्गनिर्देशन र अगुवाइ प्रदान गर्नुभएका व्यक्तिहरूबाहेक अरू कोही पनि स्वतन्त्र रूपमा जिउन सक्दैन, किनकि तिनीहरूलाई ती व्यक्तिहरूका सेवकाइ र गोठालोपनको आवश्यकता पर्छ, जसलाई परमेश्वरले प्रयोग गर्नुभएको हुन्छ। यसैले परमेश्वरले प्रत्येक युगमा विभिन्न मानिसहरूलाई खडा गर्नुहुन्छ जो उहाँको कामको खातिर मण्डलीहरूको गोठालो गर्दै व्यस्तताका साथ दौडधूप गर्छन्। यो भनेको के हो भने, परमेश्वरको काम ती मानिसहरूद्वारा गरिनुपर्छ जोमाथि उहाँले कृपादृष्टि राख्नुहुन्छ र जसलाई उहाँले योग्य पाउनुहुन्छ; पवित्र आत्माले उहाँको काम गर्नका निम्ति तिनीहरू भित्रको प्रयोग गर्न योग्य भाग प्रयोग गर्नुपर्दछ, अनि तिनीहरू पवित्र आत्माद्वारा सिद्ध तुल्याइएर परमेश्वरका प्रयोगका निम्ति योग्य बनाइन्छन्। मानिसको बुझ्ने क्षमता धेरै कम भएकोले तिनीहरू परमेश्वरद्वारा प्रयोग गरिएका व्यक्तिहरूद्वारा गोठालो गरिनुपर्छ; परमेश्वरले मोशालाई पनि त्यसरी नै प्रयोग गर्नुभएको थियो, जसमा उहाँले त्यो बेला प्रयोग गर्न सकिने धेरै कुरा पाउनुभयो, जुन कुराहरू तिनले त्यस चरणको परमेश्वरको काम गर्न प्रयोग गरे। यस चरणमा, परमेश्वरले एक व्यक्तिलाई प्रयोग गर्नुहुन्छ, साथै पवित्र आत्माले काममा प्रयोग गर्न सक्नुहुने त्यस व्यक्तिको भागको फाइदा उठाउनुहुन्छ, र पवित्र आत्माले उसलाई मार्गनिर्देशन गर्ने, त्यसको साथै प्रयोग हुन नसक्ने उसको बाँकी भागलाई सिद्ध पार्ने दुवै काम गर्नुहुन्छ।
परमेश्वरद्वारा प्रयोग गरिने व्यक्तिद्वारा गरिने काम ख्रीष्टको काम वा पवित्र आत्माको कामसँग सहकार्य गर्नका निम्ति हो। यस व्यक्तिलाई परमेश्वरका चुनिएका मानिसहरू सबैलाई अगुवाइ गर्न परमेश्वरद्वारा मानिसहरूमाझ खडा गरिन्छ र उसलाई मानव सहकार्यको काम गर्नका निम्ति पनि परमेश्वरद्वारा खडा गरिन्छ। मानव सहकार्यको काम गर्न सक्ने यस्तो व्यक्ति भएपछि, ऊमार्फत मानिसप्रति परमेश्वरका धेरैजसो माग र पवित्र आत्माले मानिसहरूमाझ गर्नैपर्ने काम हासिल गर्न सकिन्छ। यसलाई अर्को तरिकामा यसरी भन्न सकिन्छ: परमेश्वरले यस मानिसलाई प्रयोग गर्नुको उद्देश्य भनेको परमेश्वरलाई पछ्याउने जति सबैले परमेश्वरका अभिप्रायहरू अझ राम्ररी बुझ्न सकून् र परमेश्वरका मागहरू अझ बढी मात्रामा पूरा गर्न सकून् भन्नका लागि हो। मानिसहरू परमेश्वरका वचनहरू वा परमेश्वरका अभिप्रायहरू सिधै बुझ्न असक्षम हुने हुनाले, परमेश्वरले एक व्यक्तिलाई खडा गर्नुभएको हो जसलाई यस्तो काम गर्नका लागि प्रयोग गरिन्छ। परमेश्वरद्वारा प्रयोग गरिने यस व्यक्तिलाई परमेश्वरले मानिसहरूलाई मार्गदर्शन गर्ने माध्यमका रूपमा, परमेश्वर र मानिसबीच सञ्चार गर्ने “अनुवादक” का रूपमा पनि वर्णन गर्न सकिन्छ। तसर्थ, यस्तो मानिस परमेश्वरको घरको कुनै पनि कामदार वा प्रेरितभन्दा फरक हुन्छ। तिनीहरू सबैलाई परमेश्वरको सेवा गर्ने मानिस हुन् भन्न सकिन्छ, तैपनि उसको कामको सार र उसलाई परमेश्वरद्वारा प्रयोग गरिनुको पृष्ठभूमिमा, यो मानिस अन्य कामदार र प्रेरितहरूभन्दा धेरै फरक हुन्छ। उसको कामको सार र उसको प्रयोगको पृष्ठभूमिको हिसाबले, परमेश्वरद्वारा प्रयोग गरिने मानिसलाई उहाँद्वारा खडा गरिन्छ, उसलाई परमेश्वरको कामका लागि परमेश्वरद्वारा तयार पारिन्छ र ऊ परमेश्वर स्वयम्को कामसँग सहकार्य गर्छ। कुनै पनि व्यक्तिले कहिल्यै उसको सट्टामा उसको काम गर्न सक्दैन—ईश्वरीय कामका साथसाथै मानव सहकार्य पनि अपरिहार्य छ। यसबीच, अन्य कामदार वा प्रेरितहरूद्वारा सम्पन्न गरिने काम भनेको प्रत्येक अवधिमा मण्डलीहरूका लागि गरिएका प्रबन्धहरूका धेरै पक्षको सम्प्रेषण र कार्यान्वयन मात्र हो, नत्रभने मण्डली जीवन कायम राख्नका लागि जीवनको केही सामान्य प्रबन्ध मात्र हो। यी कामदार र प्रेरितहरू परमेश्वरद्वारा नियुक्त गरिएका हुँदैनन्, झन् तिनीहरूलाई पवित्र आत्माद्वारा प्रयोग गरिने मानिस भन्न मिल्नु त परै जाओस्। तिनीहरू मण्डलीहरूमध्येबाट छानिन्छन् र तिनीहरूलाई केही समयका लागि तालिम दिएर संवर्धन गरिएपछि, प्रयोग गर्न योग्यहरूलाई राखिन्छ, जबकि अयोग्यहरूलाई तिनीहरू जहाँबाट आएका थिए त्यतै फिर्ता पठाइन्छ। यी मानिसहरू मण्डलीहरूमध्येबाट छानिने हुनाले, कतिपयले अगुवा बनेपछि आफ्नो साँचो रङ देखाउँछन् र कतिपयले धेरै नराम्रा कामसमेत गर्छन् र तिनीहरू अन्ततः हटाइन्छन्। अर्कोतर्फ, परमेश्वरद्वारा प्रयोग गरिने मानिस भनेको त्यस्तो व्यक्ति हो जो परमेश्वरद्वारा तयार पारिएको हुन्छ र जोसँग निश्चित क्षमता हुन्छ र जसमा मानवता हुन्छ। ऊ पवित्र आत्माद्वारा अग्रिम रूपमा तयार र सिद्ध पारिएको हुन्छ र पूर्ण रूपमा पवित्र आत्माद्वारा अगुवाइ गरिएको हुन्छ र विशेष गरी उसको कामको कुरा गर्नुपर्दा, ऊ पवित्र आत्माद्वारा निर्देशित र नियन्त्रित हुन्छ—यसको फलस्वरूप, उसले परमेश्वरका चुनिएका मानिसहरूलाई डोर्याउने मार्गमा कुनै विचलन हुँदैन, किनभने परमेश्वर निश्चित रूपमा आफ्नो कामको जिम्मेवारी लिनुहुन्छ र परमेश्वर जहिले पनि आफ्नै काम गर्नुहुन्छ।