सत्यतालाई बुझिसकेपछि त्यसलाई अभ्यास गर्नुपर्छ
परमेश्वरको काम र वचन तिमीहरूको स्वभावलाई बदली गराउने उद्देश्यको निम्ति हुन्; उहाँको लक्ष्य तिमीहरूलाई केवल उहाँको काम र वचन बुझ्ने वा जान्ने तुल्याउनु मात्रै होइन। त्यो पर्याप्त छैन। बोध क्षमता भएको व्यक्तिलाई परमेश्वरको वचन बुझ्न कुनै कठिनता हुनु हुँदैन, किनभने परमेश्वरको अधिकांश वचन मानव भाषामा व्यक्त गरिएको छ, अनि उहाँले धेरै सरल रूपमा बोल्नुहुन्छ। उदाहरणको निम्ति, उसले जे बुझेको र अभ्यास गरेको परमेश्वर चाहनुहुन्छ सो जान्न ऊ पूर्ण रूपले सक्षम छ; यो बोध क्षमता भएको एउटा सामान्य व्यक्तिले गर्न सक्ने कुरा हो। निश्चित रूपमा, परमेश्वरले वर्तमान चरणमा बोलिरहनुभएका वचनहरू खास गरेर स्पष्ट तथा पारदर्शी छन्, अनि मानिसहरूले विचार नगरेका धेरै कुराहरू, साथै सबै प्रकारका मानव अवस्थाहरू परमेश्वरले औँल्याइरहनुभएको छ। उहाँका वचनहरू सर्व-व्यापक छन्, अनि पूर्णिमाको प्रकाश जस्तै स्पष्ट छन्। त्यसैले, अहिले मानिसहरूले धेरै विषयहरू बुझ्दछन्, तर अझै केही कुरा हराइरहेको छ—मानिसहरूले उहाँको वचनलाई अभ्यास गर्ने कुरा। मानिसहरूले सत्यताका सबै पक्षहरूलाई विस्तृत रूपमा अनुभव गर्नैपर्छ, तिनीहरूलाई जे उपलब्ध गराइन्छ त्यसलाई ग्रहण गर्नको निम्ति केवल पर्खिरहनुको सट्टा तिनीहरूले त्यसलाई अझै विस्तृत रूपमा छानबिन गर्ने र खोजी गर्ने गर्नुपर्छ; नत्रभने तिनीहरू परजीवीभन्दा अलि बढी मात्रै हुन्छन्। तिनीहरूले परमेश्वरको वचन जान्दछन्, तापनि त्यसलाई अभ्यास गर्दैनन्। यस्तो प्रकारको मानिसले सत्यतालाई प्रेम गर्दैनन् अनि आखिरमा तिनीहरूलाई हटाइनेछ। १९९० को दशकको पत्रुस जस्तै हो, जसको अर्थ तिमीहरूमध्ये हरेकले परमेश्वरको वचनलाई अभ्यास गर्नुपर्छ, तिमीहरूको अनुभवहरूमा साँचो प्रवेश हुनुपर्छ अनि परमेश्वरसँगको तिमीहरूको सहकार्यमा अझ धेरै र अझ ठूलो अन्तर्दृष्टि हासिल गर्नुपर्छ जुन तेरो आफ्नै जीवनको निम्ति सधैँभरि वृद्धि भएर जाने सहायता हुनेछ। यदि तिमीहरूले परमेश्वरका थुप्रै वचनहरू पढेका छौ तर केवल शब्दको अर्थ मात्र बुझ्छौ अनि तिमीहरूमा परमेश्वरको वचन सम्बन्धमा आफ्ना व्यवहारिक अनुभवहरूमार्फत आउने प्रत्यक्ष ज्ञानको कमी छ भने तैँले परमेश्वरको वचन बुझ्ने छैनस्। जहाँसम्म तेरो सवाल छ, परमेश्वरको वचन जीवन होइन, केवल जीवनरहित वचनहरू हुन्। अनि यदि तँ केवल जीवनरहित वचनहरू पालना गर्दै जिउँछस् भने तैँले परमेश्वरको वचनको सार राम्ररी बुझ्न सक्दैनस्, न त तैँले उहाँको इच्छा नै बुझ्नेछस्। तैँले उहाँको वचन तेरा वास्तविक अनुभवहरूमा अनुभव गर्छस् भने मात्र परमेश्वरको वचनको आत्मिक अर्थ आफै तँतर्फ खोलिनेछ, अनि अनुभवद्वारा मात्रै तैँले धेरै सत्यताहरूको आत्मिक अर्थ बुझ्न र परमेश्वरको वचनका रहस्यहरूको साँचो खोल्न सक्छस्। यदि तैँले यसलाई अभ्यासमा लगाउँदैनस् भने उहाँको वचन जतिसुकै स्पष्ट भएतापनि तैँले बुझेको कुरा सबै रित्ता वचनहरू र सिद्धान्तहरू हुन्छन् जुन तेरो निम्ति धार्मिक नियमहरू भएका छन्। के फरिसीहरूले गरेको यही नै होइन र? यदि तिमीहरूले परमेश्वरको वचन अभ्यास र अनुभव गर्छौ भने यो तिमीहरूको निम्ति व्यवहारिक बन्छ; यदि तैँले यसलाई अभ्यास गर्न खोज्दैनस् भने परमेश्वरको वचन तेरो निम्ति तेस्रो स्वर्गको दन्त्यकथा भन्दा केही बढी मात्रै हुन्छ। वास्तवमा, परमेश्वरमा विश्वास गर्ने प्रक्रिया भनेको तिमीहरूले उहाँको वचनलाई अनुभव गर्नुको साथै उहाँद्वारा तिमीहरूलाई हासिल गरिने प्रक्रिया हो अथवा यसलाई अझ स्पष्टसित भन्नुपर्दा, परमेश्वरमा विश्वास गर्नु भनेको उहाँको वचनको ज्ञान र बुझाइ प्राप्त गर्नु र उहाँको वचनलाई अनुभव गर्नु र जिउनु हो; परमेश्वरमा विश्वास गर्नुपछाडिको वास्तविकता त्यही नै हो। यदि तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ अनि परमेश्वरको वचनलाई अभ्यास गर्न र सत्यता वास्तविकतामा प्रवेश गर्न नखोजीकनै अनन्त जीवनको आशा गर्छौ भने तिमीहरू मूर्ख हौ। यो त भोजमा गएर केवल भोजनलाई हेर्नु र स्वादिष्ट कुराहरूलाई केही नचाखेर तिनीहरूको नाम कण्ठस्थ गर्नु जस्तो मात्रै हुनेछ, त्यहाँ केही पनि खाँदै नखानु वा पिउँदै नपिउनु जस्तो हुनेछ। के त्यस्तो मानिस मूर्ख हुँदैन र?
मानिसले धारण गर्नुपर्ने सत्यता परमेश्वरको वचनमा पाइन्छ र सत्यता नै त्यो कुरा हो जुन मानवजातिको निम्ति सबैभन्दा फाइदाजनक र सहयोगी हुन्छ। यो तिमीहरूको शरीरलाई चाहिने शक्ति र सम्पोषण हो, यस्तो कुरा जसले मानिसको सामान्य मानवतालाई पुनर्स्थापित गर्न सहायता गर्छ। यो त त्यो सत्यता हो जुन कुराले मानिस सुसज्जित हुनुपर्छ। तिमीहरू जति बढी परमेश्वरको वचनलाई अभ्यास गर्छौ, त्यति नै चाँडै तिमीहरूको जीवन फक्रनेछ अनि त्यति नै धेरै सत्यता स्पष्ट हुनेछ। तिमीहरू कदमा बढ्दै जाँदा तिमीहरूले आत्मिक संसारका कुराहरूलाई बढी स्पष्टतापूर्वक देख्नेछौ अनि शैतानमाथि विजय प्राप्त गर्न तिमीहरूले बढी शक्ति पाउनेछौ। तिमीहरूले परमेश्वरको वचनलाई अभ्यास गर्दा तिमीहरूले नबुझेका सत्यताको धेरै कुराहरू स्पष्ट हुनेछन्। धेरै मानिसहरू परमेश्वरको वचनको पाठलाई बुझे मात्र पनि सन्तुष्ट हुन्छन् र अभ्यासमा आफ्नो अनुभव गहिर्याउनुभन्दा सिद्धान्तहरूले आफूलाई सुसज्जित बनाउने कुरामा ध्यान दिन्छन् तर के त्यो फरिसीहरूको तरिका होइन र? त्यसैले “परमेश्वरको वचन जीवन हो” भन्ने वाक्यांश कसरी तिनीहरूका निम्ति वास्तविक हुन्छ त? परमेश्वरको वचन पढ्दैमा व्यक्तिको जीवन बढ्न सक्दैन, परमेश्वरको वचनलाई अभ्यास गरेर मात्रै व्यक्तिको जीवन बढ्न सक्छ। यदि जीवन र कद पाउनको निम्ति मात्र परमेश्वरको वचनलाई बुझ्नु आवश्यक छ भन्ने तेरो विश्वास हो भने तेरो बुझाइ गलत छ। साँचो प्रकारले परमेश्वरको वचन बुझ्ने काम तब हुन्छ जब तैँले सत्यतालाई अभ्यास गर्छस् अनि तैँले बुझ्नुपर्छ कि “सत्यतालाई अभ्यास गरेर मात्रै यसलाई बुझ्न सकिन्छ”। आज परमेश्वरको वचन पढेर तैँले परमेश्वरको वचनलाई चिन्छु भनेर मात्र भन्न सक्छस् तर यसलाई बुझ्छु भनेर तैँले भन्न सक्दैनस्। कोही भन्छन् कि सत्यतालाई अभ्यास गर्ने एउटै तरिका यसलाई पहिले बुझ्नु हो तर यो आंशिक रूपले मात्रै सही हो र निश्चय नै पूर्ण रूपले चाहिँ साँचो होइन। तैँले सत्यताको ज्ञान पाउनुअघि तैँले त्यो सत्यतालाई अनुभव गरेको हुँदैनस्। तैँले सुनेको कुनै उपदेशमा केही बुझेको अनुभूति गर्नु साँचो प्रकारले बुझ्नु होइन—यो त केवल सत्यताको शाब्दिक अर्थहरूलाई मात्रै ग्रहण गर्नु हो र यो भित्री साँचो अर्थलाई बुझ्नु जस्तै होइन। सत्यताको सतही ज्ञान हुँदैमा तँ वास्तवमै त्यसलाई बुझ्छस् वा तँसित त्यसको बारेमा ज्ञान छ भन्ने अर्थ लाग्दैन; सत्यताको साँचो अर्थ त त्यसलाई अनुभव गरेपछि आउँछ। त्यसकारण, तैँले सत्यतालाई अनुभव गरेपछि मात्रै तैँले त्यसलाई बुझ्न सक्छस्, अनि मात्रै तैँले त्यसका लुकेका भागहरूलाई राम्ररी बुझ्न सक्छस्। शब्दमा लुकेको अन्य अर्थलाई राम्ररी बुझ्ने र सत्यताको सारलाई बुझ्ने एउटै उपाय भनेको अनुभवलाई गहिर्याउनु हो। त्यसकारण, तँ सत्यतासित जहाँ पनि जान सक्छस् तर यदि तँमा सत्यता छैन भने तेरो आफ्नो परिवारका सदस्यहरूलाई समेत तैँले विश्वस्त तुल्याउने प्रयास गर्ने कुरा सोच्दै नसोचे हुन्छ, धर्मी मानिसहरूको त कुरै छाडिदे। सत्यताविना तँ हावामा उडिरहेको हिमकण मात्रै होस्, तर सत्यताको साथले तँ खुशी र स्वतन्त्र हुन सक्छस् अनि कसैले तँलाई आक्रमण गर्न पनि सक्दैन। सिद्धान्त जतिसुकै बलियो भएतापनि त्यसले सत्यतामाथि विजय पाउन सक्दैन। सत्यताले संसार आफै झुल्न सक्छ अनि पहाडहरू र समुद्रहरू हल्लन सक्छन् जबकि सत्यताको कमीले बलियो शहरका पर्खालहरू पनि किराहरूद्वारा भग्नावशेषमा बदलिनसक्छ। यो एउटा स्पष्ट तथ्य हो।
वर्तमान चरणमा, पहिले सत्यता जान्नु, अनि त्यसपछि त्यसलाई अभ्यास गर्नु र सत्यताको साँचो अर्थले आफैलाई अझ धेरै सुसज्जित गर्नु अत्यन्तै महत्वपूर्ण छ। तिमीहरूले यसलाई हासिल गर्न खोज्नुपर्छ। केवल अरूलाई तेरा वचनहरू अनुसरण गराउन खोज्नुभन्दा तैँले तिनीहरूलाई तेरो अभ्यास अनुसरण गराउन लगाउनुपर्छ। केवल यस प्रकारले मात्रै तैँले अर्थपूर्ण कुरा भेट्टाउन सक्छस्। तँमाथि जेसुकै हुन आए तापनि, तैँले जसलाई भेटे तापनि, जबसम्म तँसित सत्यता हुन्छ, तँ दृढ भई खडा हुन सक्नेछस्। परमेश्वरको वचन मानिसलाई जीवन दिने कुरा हो, मृत्यु दिने कुरा होइन। यदि परमेश्वरको वचन पढेर पनि तँ जाग्दैनस्, तर अझै मृतक नै हुन्छस् भने तँसित केही गलत छ। यदि तैँले परमेश्वरको धेरै वचन पढेको र धेरै व्यवहारिक वचनहरू सुनेको केही समयपछि पनि तँ अझै मृत्युको अवस्थामा छस् भने यो के कुराको प्रमाण हो भने, तँ सत्यतालाई महत्त्व दिने व्यक्ति होइनस्, न त तँ सत्यतालाई अनुसरण गर्ने व्यक्ति नै होस्। यदि तिमीहरूले साँचो रीतिले परमेश्वरलाई प्राप्त गर्न खोज्यौ भने, तिमीहरूले आफैलाई सिद्धान्तहरूले सुसज्जित गर्ने र अरूलाई सिकाउन उत्कृष्ट सिद्धान्तहरू प्रयोग गर्ने कुरामा ध्यान केन्द्रित गर्नेथिएनौ, बरु परमेश्वरको वचनलाई अनुभव गर्ने र सत्यतालाई व्यवहारमा उतार्ने कुरामा ध्यान केन्द्रित गर्नेथियौ। के तिमीहरूले अहिले प्रवेश गर्न खोजिरहनुपर्ने कुरा यही होइन र?
मानिसमा आफ्नो काम गर्नको निम्ति परमेश्वरसित सीमित समय छ, त्यसैले यदि तैँले उहाँसित सहकार्य गर्दैनस् भने के परिणाम आउन सक्छ र? किन तिमीहरूले उहाँका वचनहरू बुझिसकेपछि तिमीहरूले त्यो पालन गरेको परमेश्वर सधैँ चाहनुहुन्छ? किनभने परमेश्वरले उहाँका वचनहरू तिमीहरूलाई प्रकट गर्नुभएको छ र तिमीहरूको अर्को कदम वास्तवमा त्यसलाई पालन गर्नु हो। जब तिमीहरूले यी वचनहरू अभ्यास गर्छौ, परमेश्वरले अन्तर्दृष्टि दिने र मार्गदर्शन दिने काम गर्नुहुनेछ। यसरी नै यो काम गरिनुपर्छ। परमेश्वरको वचनले मानिसलाई जीवनमा फल्दोफुल्दो हुने तुल्याउँछ र यसमा कुनै त्यस्ता तत्वहरू हुँदैनन् जसले मानिसलाई विचलित वा निष्क्रिय हुने तुल्याउँछ। तैँले भन्छस् तैँले परमेश्वरको वचन पढेको छस् र त्यसलाई अभ्यास गरेको छस्, तर तैँले अझै पवित्र आत्माबाट कुनै काम प्राप्त गरेको छैनस्। तेरा वचनहरूले केवल एउटा बालकलाई मात्रै मूर्ख बनाउन सक्छ। अरू मानिसहरूले तेरो मनसाय ठीक छ वा छैन भनी नजान्लान् तर के परमेश्वरले जान्नुहुन्छ भन्ने सम्भव छैन भन्ने तँलाई लाग्छ? कसरी अरू मानिसहरूले परमेश्वरको वचन अभ्यास गर्छन् अनि पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गर्छन्, तापनि तैँले उहाँको वचन अभ्यास गर्छस् तर पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गर्दैनस्। के परमेश्वरसित भावनाहरू छन्? यदि तेरा मनसायहरू साँच्चिकै सही छन् अनि तँ सहकार्य गर्न तयार छस् भने, परमेश्वरका आत्मा तँसित हुनुहुनेछ। केही मानिसहरू सधैँ आफ्नै झण्डा खडा गर्न चाहन्छन् तर परमेश्वरले किन तिनीहरूलाई उठ्न र मण्डलीलाई अगुवाइ गर्न दिनुहुन्न? कतिपय मानिसहरूले केवल आफ्नो कार्य पूरा गर्छन् र आफ्नो कर्तव्य सम्पन्न गर्छन्, अनि तिनीहरूले थाहै नपाई तिनीहरूले परमेश्वरको स्वीकृति प्राप्त गरिसकेका हुन्छन्। यो कसरी हुनसक्छ? परमेश्वरले मानिसको हृदयको अन्तस्करणलाई जाँच गर्नुहुन्छ र सत्यतालाई अनुसरण गर्नेहरूले ठीक मनसाय राखेर त्यसो गर्नुपर्छ। जसको ठीक मनसाय छैन, तिनीहरू दृढ भई खडा रहन सक्दैनन्। मूलभूत रूपमा, तिमीहरूको लक्ष्य परमेश्वरको वचनलाई तिमीहरूभित्र प्रभाव पार्न दिनु हो। अर्को शब्दमा, यो भनेको तिमीहरूले परमेश्वरको वचनको अभ्यासमा साँचो बुझाइ प्राप्त गर्नु हो। शायद, परमेश्वरको वचनलाई बुझ्ने तिमीहरूको क्षमता कमजोर होला, तर जब तिमीहरूले परमेश्वरको वचनलाई अभ्यास गर्छौ, तब उहाँले त्यस अपूर्णतालाई निवारण गर्न सक्नुहुन्छ, त्यसैले तिमीहरूले केवल धेरै सत्यताहरू मात्र जान्ने होइन बरु तिनीहरूलाई अभ्यास पनि गर्नुपर्छ। यो ध्यान केन्द्रित गर्नुपर्ने सबैभन्दा ठूलो करा हो जसलाई बेवास्ता गर्न सकिँदैन। येशूले आफ्नो साढे तेत्तीस वर्षीय उमेरमा धेरै अपमानहरू अनि असाध्यै कष्ट सहनुभयो। उहाँले ठूलो कष्ट सहनुभयो किनकि उहाँले केवल सत्यतालाई अभ्यास गर्नुभयो, सबै कुराहरूमा परमेश्वरको इच्छा पालन गर्नुभयो, र परमेश्वरको इच्छालाई मात्र वास्ता गर्नुभयो। यदि उहाँले सत्यतालाई अभ्यास नगरीकन त्यसलाई जान्नु मात्र भएको भए उहाँले यो कष्ट भोग्नुहुने थिएन। यदि येशूले यहूदीहरूका शिक्षाहरूलाई अनुसरण गर्नुभएको भए अनि फरिसीहरूलाई पछ्याउनुभएको भए, उहाँले कष्ट सहनुहुने थिएन। तैँले येशूका कार्यहरूबाट सिक्नुपर्छ कि मानिसमाथि परमेश्वरको कामको प्रभावकारिता मानिसको सहकार्यबाट आउँछ, अनि यो कुरा तिमीहरूले पहिचान गर्नैपर्ने चीज हो। यदि उहाँले सत्यतालाई अभ्यास नगर्नुभएको भए, के येशूले क्रूसमा कष्ट भोग्नुभएझैँ कष्ट भोग्नुहुन्थ्यो र? यदि परमेश्वरको इच्छाअनुसार उहाँ नचल्नुभएको भए के उहाँले त्यस्तो पीडादायी प्रार्थना गर्नुहुन्थ्यो र? त्यसकारण, तिमीहरूले सत्यताको अभ्यासको खातिर कष्ट भोग्नुपर्छ; व्यक्तिले भोग्नुपर्ने कष्ट नै यही हो।