परमेश्वरको वचनद्वारा सबै कुरा पूरा हुन्छ
परमेश्वरले विभिन्न युगअनुरूप उहाँको वचन बोल्नुहुन्छ र उहाँको काम गर्नुहुन्छ, र उहाँले फरक-फरक युगमा फरक-फरक वचनहरू बोल्नुहुन्छ। परमेश्वरले नियमहरू अनुसार काम गर्नुहुन्न वा त्यही काम दोहोऱ्याउनुहुन्न, वा विगतका कुराहरूमा डुब्नुहुन्न; उहाँ परमेश्वर हुनुहुन्छ, जो सधैँ नयाँ हुनुहुन्छ र कहिल्यै पुरानो हुनुहुन्न, र उहाँले हरेक दिन नयाँ वचन बोल्नुहुन्छ। तैँले आज जे पालन गर्नुपर्छ त्यो पालन गर्नैपर्छ; यो मानिसको जिम्मेवारी र कर्तव्य हो। अहिलेको समयमा त्यो अभ्यास परमेश्वरको ज्योति र वचनमा केन्द्रित हुनु महत्त्वपूर्ण छ। परमेश्वरले नियमअनुसार गर्नुहुन्न, र आफ्नो बुद्धि र सर्वशक्तिमान्ता प्रष्ट पार्न उहाँ विभिन्न दृष्टिकोणबाट बोल्न सक्नुहुन्छ। उहाँ आत्माको, वा मानिसको वा तेस्रो व्यक्तिको दृष्टिकोणबाट बोल्नुभयो भन्ने कुराले कुनै फरक पार्दैन—परमेश्वर सधैँ परमेश्वर हुनुहुन्छ, अनि उहाँ मानिसको दृष्टिकोणबाट बोल्नुभयो भनेर तैँले उहाँ परमेश्वर हुनुहुन्न भनी भन्न सक्दैनस्। परमेश्वर विभिन्न दृष्टिकोणबाट बोल्नु भएकोले मानिसहरूका बीचमा धारणाहरू पनि प्रकट भएका छन्। त्यस्ता मानिसहरूमा परमेश्वरको ज्ञान हुँदैन, अनि उहाँको कामको ज्ञान हुँदैन। यदि परमेश्वर सधैँ एउटै दृष्टिकोणबाट बोल्नुभयो भने के मानिसले परमेश्वरको विषयमा नियमहरू बनाउँदैनन् र? के परमेश्वरले मानिसलाई त्यस्तो किसिमले काम गर्ने अनुमति दिन सक्नुहुन्थ्यो? परमेश्वर जुनसुकै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँले त्यसो गर्ने कारणहरू छन्। यदि परमेश्वर सधैँ आत्माको दृष्टिकोणबाट बोल्नुभएको थियो भने के तँ उहाँसँग संलग्न हुन सक्नेथिइस्? यसैले तँलाई उहाँको वचन दिन र तँलाई वास्तविकतामा डोऱ्याउन उहाँ कहिलेकहीँ तेस्रो व्यक्तिको रूपमा बोल्नुहुन्छ। परमेश्वरले गर्नुहुने सबै कुरा उपयुक्त हुन्छन्। संक्षेपमा, यो सबै परमेश्वरद्वारा गरिन्छ, तैँले यसमा शङ्का गर्नु हुँदैन। उहाँ परमेश्वर हुनुहुन्छ, यसैले उहाँ जुनै दृष्टिकोणबाट बोल्नुभए पनि उहाँ सधैँ परमेश्वर नै हुनुहुनेछ। यो अपरिवर्तनीय सत्यता हो। उहाँले जसरी काम गर्नुभए पनि उहाँ परमेश्वर हुनुहुन्छ, उहाँको सार बदलिँदैन। पत्रुसले परमेश्वरलाई यति धेरै प्रेम गर्थे र तिनी परमेश्वरको आफ्नै अभिप्रायअनुसारका मानिस थिए, तर परमेश्वरले प्रभु र ख्रीष्टको रूपमा तिनको साक्षी दिनुभएन, किनकि एउटा प्राणीको सार जे छ त्यही हो, त्यो कहिल्यै बदलिन सक्दैन। परमेश्वरले आफ्नो काम नियमहरू अनुसार गर्नुहुन्न, तर आफ्नो कामलाई अझ प्रभावकारी बनाउन र उहाँको विषयमा मानिसको ज्ञानलाई अझ गहिरो बनाउन उहाँले विभिन्न तरिकाहरू प्रयोग गर्नुहुन्छ। उहाँले काम गर्नुहुने प्रत्येक तरिकाले उहाँलाई चिन्न मानिसलाई सहायता गर्दछ, र त्यो मानिसलाई सिद्ध बनाउनको निम्ति हो। उहाँले काम गर्ने जुनसुकै तरिका प्रयोग गर्नु भए पनि त्यो हरेक मानिसलाई निर्माण गर्न र सिद्ध बनाउनका निम्ति हो। उहाँको काम गर्ने एउटा तरिका धेरै समयसम्म रहे पनि त्यो उहाँप्रतिको मानिसको विश्वासलाई तयार पार्नको निम्ति हुन्छ। यसैले, तिमीहरूको हृदयमा कुनै शङ्का हुनु हुँदैन। यी सबै परमेश्वरको काम गर्ने चरणहरू हुन्, अनि तिमीहरू ती सबैमा समर्पित हुनुपर्छ।
आज जे कुराको चर्चा गरिएको छ त्यो वास्तविकताभित्रको प्रवेश हो—स्वर्गमा उक्लनु, वा राजाका रूपमा शक्ति प्रयोग गर्नु होइन; जे कुराको चर्चा गरिएको छ त्यो वास्तविकतामा प्रवेश गर्ने पछ्याइ मात्र हो। योभन्दा व्यावहारिक पछ्याइ अरू कुनै छैन, र राजाका रूपमा शक्ति प्रयोग गर्नेबारे कुरा गर्नु अवास्तविक हो। मानिसमा ठूलो जिज्ञासा हुन्छ, र ऊ आज परमेश्वरको कामलाई आफ्ना धार्मिक धारणाहरूद्वारा मापन गर्छ। परमेश्वरका काम गर्ने यति धेरै विधि अनुभव गरेपछि, मानिस अझै पनि परमेश्वरको काम चिन्दैन, अझै पनि चिन्ह र अचम्मका कार्यहरू खोज्छ, र अझै पनि परमेश्वरका वचनहरू पूरा भएका छन् कि छैनन् भनी हेर्छ। के यो पूर्ण अन्धोपन होइन र? परमेश्वरका वचनहरू पूरा नभए, के तँ अझै पनि उहाँ परमेश्वर हुनुहुन्छ भनी विश्वास गर्नेथिइस् र? आज, मण्डलीमा त्यस्ता धेरै मानिस चिन्ह र अचम्मका कार्यहरू हेर्न पर्खिरहेका छन्। तिनीहरू यदि परमेश्वरका वचनहरू पूरा भए भने उहाँ परमेश्वर हुनुहुन्छ; यदि परमेश्वरका वचनहरू पूरा भएनन् भने, उहाँ परमेश्वर हुनुहुन्न भनेर भन्छन्। त्यसोभए, के तँ परमेश्वरका वचनहरू पूरा भएको कारणले उहाँमा विश्वास गर्छस्, कि उहाँ परमेश्वर स्वयम् हुनुभएको कारणले? परमेश्वरमाथिको विश्वासबारे मानिसको दृष्टिकोणलाई सच्याउनैपर्छ! जब तँ परमेश्वरका वचनहरू पूरा भएका छैनन् भन्ने देख्छस्, तब तँ भाग्छस्—यो कस्तो प्रकारको विश्वासी हो? जब तँ परमेश्वरमा विश्वास गर्छस्, तब तैँले सबै कुरा परमेश्वरको योजनाबद्ध कार्यको कृपामा छोड्नुपर्छ र तँ परमेश्वरका सबै कामप्रति समर्पित हुनुपर्छ। परमेश्वरले पुरानो करारमा अति धेरै वचन बोल्नुभयो—तैँले आफ्नै आँखाले तीमध्ये कुनचाहिँ पूरा भएको देखिस्? के तैँले त्यो नदेख्दैमा तैँले यहोवा साँचो परमेश्वर हुनुहुन्न भनेर भन्न मिल्छ? धेरै वटा वचन पूरा भएका हुन सक्ने भए पनि, मानिसले त्यो स्पष्ट रूपमा देख्न सक्दैन किनभने मानिससँग सत्यता हुँदैन र ऊ केही पनि बुझ्दैन। परमेश्वरका वचनहरू पूरा भएका छैनन् भन्ने महसुस हुँदा कतिपय मानिस भाग्न चाहन्छन्। प्रयास गरेर हेर्। तँ भाग्न सक्छस् कि सक्दैनस् हेर्। भागेर गइस् भने पनि, तँ फर्केर आउने नै छस्। परमेश्वरले तँलाई उहाँको वचनद्वारा नियन्त्रण गर्नुहुन्छ, अनि यदि तँ मण्डली र परमेश्वरको वचनलाई छोडेर गइस् भने, तँसँग जिइरहने कुनै उपाय हुनेछैन। यदि तँलाई यो विश्वास लाग्दैन भने, आफै प्रयास गरेर हेर्—के तँ यतिकै छोडेर जान सक्छु भन्ने सोच्छस्? परमेश्वरका आत्माले तँलाई नियन्त्रण गर्नुहुन्छ। तँ जान सक्दैनस्। यो परमेश्वरको प्रशासनिक आदेश हो! यदि केही मानिस त्यसो गरेर हेर्न चाहन्छन् भने, गरून्! तँ यो व्यक्ति परमेश्वर हुनुहुन्न भनेर भन्छस्, त्यसैले उहाँलाई चिढ्या अनि उहाँले के गर्नुहुन्छ हेर्। सम्भवतः तेरो देह मर्नेछैन र तँ अझै पनि आफै खान र लाउन सक्षम हुनेछस्, तर मानसिक रूपमा त्यो असहनीय हुनेछ; तँलाई तनाव र पीडा महसुस हुनेछ; योभन्दा पीडादायी कुरा केही पनि हुनेछैन। मानिसले मानसिक सास्ती र कहर सहन सक्दैन—सायद तँ दैहिक कष्ट सहन सक्षम छस्, तर तँ मानसिक तनाव र दीर्घकालीन सास्ती सहन पूर्ण रूपमा असक्षम छस्। आज, कतिपय मानिस कुनै चिन्ह र अचम्मका कार्यहरू देख्न नसकेका कारण नकारात्मक बन्छन्, तैपनि तिनीहरू जतिसुकै नकारात्मक बने पनि कोही पनि भाग्ने आँट गर्दैन, किनकि परमेश्वर उहाँको वचनद्वारा मानिसलाई नियन्त्रण गर्नुहुन्छ। कुनै तथ्य अगाडि आएको हुँदैन, तर अझै कोही पनि भाग्न सक्दैन। के यी परमेश्वरका कार्यहरू होइनन् र? आज, परमेश्वर मानिसलाई जीवन प्रदान गर्न पृथ्वीमा आउनुभएको छ। मानिसहरूले कल्पना गरेजस्तो, परमेश्वर र मानिसबीच शान्तिपूर्ण सम्बन्ध सुनिश्चित गर्न, उहाँ सधैँ चिन्ह र अचम्मका कार्यहरू देखाएर तँलाई फकाउनुहुन्न। जसको ध्यान जीवनमाथि छैन, र जो त्यसको साटो परमेश्वरलाई चिन्ह र अचम्मका कार्यहरू देखाउन लगाउनमा ध्यान केन्द्रित गर्छन्, ती सबै फरिसी हुन्! अनि येशूलाई क्रूसमा टाँग्ने पनि फरिसीहरू नै थिए। यदि तँ परमेश्वरमा विश्वास गर्नेबारे तेरो आफ्नै दृष्टिकोणअनुसार परमेश्वरलाई मापन गर्छस्, परमेश्वरका वचनहरू पूरा भए उहाँमा विश्वास गर्छस्, र ती पूरा भएनन् भने शङ्का गर्छस् र परमेश्वरविरुद्ध ईशनिन्दा समेत गर्छस् भने, के तँ उहाँलाई क्रूसमा टाँग्दैनस् र? यस्ता मानिसहरू उचित कामहरूमा ध्यान दिँदैनन्, र तिनीहरू आरामको लालसा गर्छन्!
मानिसले सामना गर्ने सबैभन्दा ठूलो कठिनाइको एउटा पक्ष के हो भने ऊ परमेश्वरको काम चिन्दैन। मानिसमा नकार्ने मनोवृत्ति नभए पनि, शङ्का गर्ने मनोवृत्ति हुन्छ। मानिस नकार्दैन, तर ऊ पूर्ण रूपमा स्वीकार पनि गर्दैन। यदि मानिसहरूमा परमेश्वरको कामको पूर्ण ज्ञान छ भने, तिनीहरू भाग्नेछैनन्। अर्को पक्ष के हो भने मानिसलाई व्यावहारिकता थाहा छैन। आज, प्रत्येक व्यक्ति परमेश्वरको वचनको सम्पर्कमा आएको छ; इमानदारीपूर्वक भन्नुपर्दा, तैँले भविष्यमा चिन्ह र अचम्मका कार्यहरू देख्न सक्नेछस् भन्ने नसोच्। म तँलाई प्रस्ट रूपमा भन्छु: वर्तमान चरणमा, तैँले देख्न सक्ने भनेको परमेश्वरका वचनहरू मात्र हुन्, र कुनै तथ्य नभए पनि, परमेश्वरको जीवनलाई अझै पनि मानिसभित्र समाविष्ट गर्न सकिन्छ। सहस्राब्दीय राज्यको मुख्य काम यही नै हो, र यदि तँ यो काम बुझ्न सक्दैनस् भने, तँ कमजोर हुनेछस् र ढल्नेछस्; तँ परीक्षाहरूका बीचमा तल झर्नेछस् र, गम्भीर अवस्थाहरूमा, शैतानद्वारा बन्दी बनाइनेछस्। परमेश्वर मुख्य रूपमा पृथ्वीमा आफ्नो वचन बोल्न आउनुभएको छ; तँ जुन कुरासँग सम्पर्कमा छस् त्यो परमेश्वरको वचन हो, तैँले जे पढ्छस् त्यो परमेश्वरको वचन हो, तैँले जे सुन्छस् त्यो परमेश्वरको वचन हो, तैँले जे पालन गर्छस् त्यो परमेश्वरको वचन हो, तैँले जे अनुभव गर्छस् त्यो परमेश्वरको वचन हो, अनि यो पटक देहधारी बन्नुहुँदा, परमेश्वरले मानिसलाई सिद्ध पार्न मुख्य रूपले वचन प्रयोग गर्नुहुन्छ। उहाँले चिन्ह र चमत्कारहरू देखाउनुहुन्न, र विशेष गरी येशूले विगतमा गर्नुभएका काम गर्नुहुन्न। उहाँहरू दुवै परमेश्वर र देह हुनुभए तापनि, उहाँहरूका सेवकाइहरू एकै किसिमका छैनन्। जब येशू आउनुभयो, उहाँले पनि परमेश्वरको कामको केही अंश गर्नुभयो र केही वचन बोल्नुभयो—तर उहाँले पूरा गर्नुभएको मुख्य काम के थियो? उहाँले मुख्य रूपमा क्रूसीकरणको काम पूरा गर्नुभएको थियो। क्रूसीकरणको काम पूरा गर्न र सम्पूर्ण मानवजातिलाई छुटकारा दिन उहाँ पापी देहको स्वरूप बन्नुभयो, र सम्पूर्ण मानवजातिको पापका खातिर उहाँ पापबलि बन्नुभयो। यो नै उहाँले पूरा गर्नुभएको मुख्य काम हो। अन्ततः उहाँले पछि आउनेहरूलाई क्रूसको मार्ग देखाउनुभयो। जब येशू आउनुभयो, त्यो मुख्य रूपमा छुटकाराको काम पूरा गर्नका लागि थियो। उहाँले सम्पूर्ण मानवजातिलाई छुटकारा दिनुभयो, र मानिसलाई स्वर्गको राज्यको सुसमाचार ल्याइदिनुभयो, र यसबाहेक, उहाँले स्वर्गको राज्यको मार्ग ल्याउनुभयो। फलस्वरूप, पछि आउने सबैले यसो भने, “हामी क्रूसको मार्गमा हिँड्नुपर्छ, र हामीले क्रूसका लागि आफ्नो बलिदान दिनुपर्छ।” सुरुमा, येशूले मानिसलाई पश्चात्ताप गर्न र आफ्ना पापहरू स्वीकार गर्न लगाउन, अवश्यै, अरू केही काम पनि गर्नुभयो र केही वचन पनि बोल्नुभयो। तर उहाँको सेवकाइ अझै पनि क्रूसीकरण नै थियो, र उहाँले मार्गको प्रचार गर्दै बिताउनुभएको साढे तीन वर्ष पछि आउने क्रूसीकरणको तयारीका लागि थियो। येशूले केही पटक गर्नुभएको प्रार्थना पनि क्रूसीकरणकै खातिर थियो। उहाँले जिउनुभएको सामान्य मानव जीवन र उहाँ पृथ्वीमा जिउनुभएको साढे तेत्तीस वर्ष मुख्य रूपमा क्रूसीकरणको काम पूरा गर्नका खातिर थिए; ती उहाँलाई यो कामको अभिभारा लिने शक्ति दिनका लागि थिए। त्यसैले परमेश्वरले उहाँलाई क्रूसीकरणको काम सुम्पनुभएको हो भनेर भनिन्छ। आज देहधारी परमेश्वरले कुन काम पूरा गर्नुहुनेछ? आज, परमेश्वर मुख्य रूपले “वचन देहमा देखा पर्नुहुन्छ” को काम पूरा गर्न देहधारी हुनुभएको छ। उहाँ मानिसलाई सिद्ध पार्न वचन प्रयोग गर्नुहुन्छ, र मानिसलाई वचनको काटछाँट र वचनको शोधन स्वीकार गर्न लगाउनुहुन्छ। उहाँले आफ्ना वचनहरूमा तँलाई आपूर्ति र जीवन प्राप्त गर्ने अनि उहाँका काम र कार्यहरू देख्ने तुल्याउनुहुन्छ। परमेश्वर तँलाई सजाय दिन र शोधन गर्न वचन प्रयोग गर्नुहुन्छ, र यसैले यदि तैँले पीडा भोगिस् भने पनि, त्यो पनि परमेश्वरको वचनको कारणले नै हो। आज, परमेश्वरले तथ्यहरूद्वारा काम गर्नुहुन्न, तर वचनहरूद्वारा गर्नुहुन्छ। उहाँको वचन तँमा आएपछि मात्र पवित्र आत्मा तँभित्र काम गर्न सक्नुहुन्छ र तँलाई कष्ट भोग्ने वा मिठास चाख्ने तुल्याउनुहुन्छ। परमेश्वरको वचनले मात्र तँलाई वास्तविकतामा ल्याउन सक्छ, र परमेश्वरको वचन मात्र तँलाई सिद्ध पार्न सक्षम छ। त्यसकारण, तैँले कम्तीमा पनि यो बुझ्नैपर्छ: परमेश्वरद्वारा आखिरी दिनहरूमा गरिएको काम मुख्य रूपले उहाँको वचन प्रयोग गरेर प्रत्येक व्यक्तिलाई सिद्ध पार्नु र मानिसलाई मार्गदर्शन गर्नु हो। उहाँले सबै काम उहाँको वचनद्वारा गर्नुहुन्छ; तँलाई सजाय दिन उहाँले तथ्यहरू प्रयोग गर्नुहुन्न। यस्ता समयहरू हुन्छन्, जब केही मानिसहरूले परमेश्वरको विरोध गर्छन्। परमेश्वरले तँलाई ठूलो वेदनामा पार्नुहुन्न, तेरो देहलाई सजाय दिनुहुन्न, न त त्यसले कुनै पीडा नै भोग्छ—तर तँमाथि उहाँको वचन आउने, अनि त्यसले तँलाई शोधन गर्नेबित्तिकै यो तेरो निम्ति असहनीय हुन्छ। के त्यस्तो हुँदैन र? सेवाकर्ताहरूको समयमा परमेश्वरले मानिसलाई अतल कुण्डमा फालिदिनु भन्नुभयो। के मानिस अन्ततः साँच्चै अतल कुण्डमा परेको छ? मानिसलाई शोधन गर्न वचनहरू प्रयोग गरेर मानिस अतल कुण्डमा प्रवेश गऱ्यो। त्यसकारण, जब परमेश्वर आखिरी दिनहरूमा देहधारी हुनुहुन्छ, उहाँ मुख्यतः सबै हासिल गर्न र सबै प्रकट गर्न वचन प्रयोग गर्नुहुन्छ। उहाँको वचनमा मात्र उहाँ के हुनुहुन्छ भनी तैँले देख्न सक्छस्; उहाँको वचनमा मात्र उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ भनी देख्न सक्छस्। जब देहधारी परमेश्वर पृथ्वीमा आउनुहुन्छ, उहाँले वचन बोल्ने बाहेक अरू काम गर्नुहुन्न—त्यसैले तथ्यहरूको कुनै आवश्यकता छैन; वचनहरू नै पर्याप्त छन्। किनभने उहाँ मुख्यतः यही काम गर्न आउनुभएको हो, मानिसलाई उहाँका वचनहरूमा उहाँको महान् शक्ति र सर्वोच्चता देख्ने तुल्याउन, मानिसलाई उहाँका वचनहरूमा उहाँको विनम्रता र गुप्तता देख्ने तुल्याउन, अनि मानिसलाई उहाँका वचनहरूमा उहाँको सम्पूर्णता जान्ने तुल्याउन आउनुभएको हो। उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सब उहाँका वचनहरूमा छन्। उहाँको बुद्धि र अद्भुतता उहाँका वचनहरूमा छन्। तँ यसमा परमेश्वरले उहाँका वचनहरू बोल्ने अनेकौँ विधि देख्न सक्छस्। परमेश्वरले यति लामो समय काम गर्नुभएको छ, र बढीजसो उहाँ मानिसका लागि प्रबन्ध गर्ने, उसलाई खुलासा गर्ने, वा उसलाई काटछाँट गर्ने काम गर्दै आउनुभएको छ। परमेश्वर कुनै व्यक्तिलाई हल्का रूपमा श्राप दिनुहुन्न, र श्राप दिँदा पनि, उहाँ उसलाई वचनमार्फत श्राप दिनुहुन्छ। त्यसकारण, परमेश्वर देह बन्नुभएको यस युगमा, परमेश्वरले फेरि बिरामीलाई निको पारेको र पिशाचहरू धपाएको हेर्ने अपेक्षा नगर्, र निरन्तर चिन्हहरू खोज्न छोड्—तिनको कुनै काम छैन! ती चिन्हहरूले मानिसलाई सिद्ध पार्न सक्दैनन्! स्पष्ट रूपमा भन्नुपर्दा: आज, देहधारी व्यावहारिक परमेश्वर स्वयम्ले कार्य गर्नुहुन्न; उहाँ केवल बोल्नुहुन्छ। सत्यता यही हो! उहाँले तँलाई सिद्ध पार्न वचनहरू प्रयोग गर्नुहुन्छ, साथै तँलाई खुवाउन र मलजल गर्न वचनहरू प्रयोग गर्नुहुन्छ। उहाँ काम गर्न पनि वचनहरू प्रयोग गर्नुहुन्छ, र उहाँ तथ्यहरूलाई प्रतिस्थापन गर्न र तँलाई उहाँको व्यावहारिकता थाहा दिन वचनहरू प्रयोग गर्नुहुन्छ। यदि तैँले परमेश्वरको कामको यो शैलीलाई स्पष्ट रूपमा देखिस् भने, तँ नकारात्मक बन्ने सम्भावना हुँदैन। नकारात्मक कुराहरूमा ध्यान केन्द्रित गर्नुको सट्टा, तिमीहरूले सकारात्मक कुरामा मात्र ध्यान केन्द्रित गर्नुपर्छ—भन्नुको अर्थ, चाहे परमेश्वरका वचनहरू पूरा होऊन् वा नहोऊन्, अथवा तथ्यहरू अगाडि आऊन् वा नआऊन्, परमेश्वर मानिसलाई उहाँका वचनहरूबाट जीवन प्राप्त गर्न लगाउनुहुन्छ, र यो नै सबैभन्दा ठूलो चिन्ह हो; र अझ बढी, यो एक निर्विवाद तथ्य हो। परमेश्वरलाई चिन्ने यो सबैभन्दा राम्रो प्रमाण हो, र यो चिन्हहरूभन्दा पनि ठूलो चिन्ह हो। यी वचनहरूले मात्र मानिसलाई सिद्ध पार्न सक्छन्।
परमेश्वरको राज्यको युग सुरु हुनसाथै, परमेश्वरले उहाँका वचनहरू प्रकट गर्न थाल्नुभयो। भविष्यमा यी वचनहरू क्रमिक रूपमा पूरा हुनेछन्, अनि त्यो समयमा मानिस जीवनमा बढ्नेछ। मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न परमेश्वरले गर्नुहुने वचनको प्रयोग अझ बढी व्यावहारिक, अझ बढी आवश्यक हुनेछ, अनि मानिसको विश्वासलाई सिद्ध बनाउने आफ्नो काम गर्न उहाँले अरू केही होइन तर उहाँको वचन प्रयोग गर्नुहुन्छ, किनकि अहिले वचनको युग हो, यसको निम्ति विश्वास, संकल्प र मानिसको सहकार्य आवश्यक हुन्छ। आखिरी दिनहरूमा हुने देहधारी परमेश्वरको काम मानिसको निम्ति सेवा र प्रबन्ध गर्न उहाँको वचन प्रयोग गर्नु नै हो। देहधारी परमेश्वरले आफ्ना वचनहरू बोलिसक्नुभएपछि मात्र ती पूरा हुन थाल्नेछन्। उहाँ बोल्नुभएको समयमा उहाँका वचनहरू पूरा हुँदैनन्, किनकि उहाँ शरीरको चरणमा हुनुहुँदा उहाँका वचनहरू पूरा हुन सक्दैनन्। यस्तो हुन्छ ताकि मानिसले परमेश्वर आत्मा होइन शरीरमा हुनुहुन्छ भनी देख्न सकून्; ताकि मानिसहरूले आफ्नै आँखाले परमेश्वरको व्यावहारिकता देख्न सकून्। उहाँको काम पूरा भएको दिन, जब उहाँले पृथ्वीमा बोल्नुपर्ने सबै वचनहरू बोलिसक्नुभएको हुन्छ, उहाँका वचनहरू पूरा हुन थाल्छन्। यो परमेश्वरका वचनहरू पूरा हुने युग होइन, किनकि उहाँले अझै उहाँका वचनहरू बोलिसक्नुभएको छैन। यसैले, जब तँ परमेश्वरले पृथ्वीमा अझै उहाँका वचनहरू बोलिरहनुभएको देख्छस् तब उहाँको वचन पूरा होला भनी नपर्खी। जब परमेश्वरले आफ्ना वचनहरू बोल्न बन्द गर्नुहुन्छ, र जब पृथ्वीमा उहाँको काम पूरा हुन्छ त्यत्ति बेला उहाँका वचनहरू पूरा हुन थाल्छन्। उहाँ पृथ्वीमा वचनहरूमा बोल्नुहुन्छ, त्यहाँ एक हिसाबले जीवनको प्रबन्ध हो, अर्को त्यहाँ अगमवाणी हो—आउने कुराहरूको अगमवाणी, जुन कुराहरू गरिनेछन्, अनि अझ पूरा हुन बाँकी रहेका कुराहरूको अगमवाणी। येशूका वचनहरूमा पनि अगमवाणी थियो। एक हिसाबले उहाँले जीवन दिनुभयो र अर्को हिसाबले अगमवाणी बोल्नुभयो। आज, वचनहरू र तथ्यहरू पूरा गर्ने कुरा गरिँदैन, यसको साथसाथै मानिसका आफ्नै आँखाहरूले देख्न सकिने र परमेश्वरले गर्नुभएका काम बीच ठूलो भिन्नता छ। यति मात्र भन्न सकिन्छ कि, एक पटक परमेश्वरको काम पूरा गरिएको हुन्छ, उहाँका वचनहरू पूरा गरिनेछन्, अनि वचनहरूपछि तथ्यहरू आउनेछन्। आखिरी दिनहरूमा देहधारी परमेश्वरले पृथ्वीमा वचनको सेवकाइ गर्नुहुन्छ, अनि वचनको सेवकाइ गर्दा उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, र अरू विषयहरूलाई ध्यान दिनुहुन्न। एक पल्ट परमेश्वरको काम परिवर्तन भएपछि उहाँका वचनहरू पूरा हुन थाल्नेछन्। आज वचनहरू सबैभन्दा पहिले तँलाई सिद्ध बनाउनका निम्ति प्रयोग गरिन्छ; जब उहाँले सारा ब्रह्माण्डभरि महिमा प्राप्त गर्नुहुन्छ, उहाँको काम पूरा हुनेछ—बोलिनुपर्ने सबै वचनहरू बोलिसकेको हुनेछ, र सबै वचनहरू तथ्य भएका हुनेछन्। परमेश्वर आखिरी दिनहरूमा पृथ्वीमा वचनको सेवकाइ गर्न आउनुभएको छ, ताकि मानवजातिले उहाँलाई चिन्न सकोस्, र मानवजातिले उहाँको वचनबाट उहाँ के हुनुहुन्छ भन्ने कुराका साथै उहाँको बुद्धि र उहाँका सबै आश्चर्यकर्म देख्न सकोस्। राज्यको युगमा, परमेश्वर मुख्यतः सारा मानवजातिलाई विजय गर्न वचन प्रयोग गर्नुहुन्छ। भविष्यमा, उहाँको वचन प्रत्येक धर्म, क्षेत्र, राष्ट्र र व्यक्तिगत सम्प्रदायमाथि पनि आउनेछ। परमेश्वर विजय गर्न, उहाँको वचनमा अख्तियार र शक्ति छ भनी सबै मानिसलाई देखाउन वचन प्रयोग गर्नुहुन्छ—त्यसैले आज तिमीहरू परमेश्वरको वचनको मात्र सामना गर्छौ।
यस युगमा परमेश्वरले बोल्नुभएका वचनहरू व्यवस्थाको युगमा बोलिएका वचनहरूभन्दा फरक छन्, साथै ती अनुग्रहको युगमा बोलिएका वचनहरूभन्दा पनि फरक छन्। अनुग्रहको युगमा, परमेश्वरले वचनको काम गर्नुभएन, तर सारा मानव जातिलाई छुटकारा दिनका निम्ति उहाँले क्रूसीकरणको वर्णन मात्र गर्नुभयो। बाइबलले येशू किन क्रूसमा टाँगिनुभएको र क्रूसमा उहाँले भोग्नुभएको दुःखको बारेमा र मानिस कसरी परमेश्वरको निम्ति क्रूसमा टाँगिनुपर्छ भन्ने कुरा मात्र वर्णन गर्दछ। त्यस युगको अवधिमा, परमेश्वरले गर्नुभएका सबै काम क्रूसीकरणबाट केन्द्रित थियो। राज्यको युगमा, देहधारी परमेश्वरले उहाँमा विश्वास गर्ने सबैलाई विजय गर्नका निम्ति वचनहरू बोल्नुहुन्छ। “वचन शरीरमा देखा पर्नुहुन्छ” भनेको यही हो। आखिरी दिनहरूमा यो काम गर्नलाई परमेश्वर आउनुभएको छ, भन्नुको अर्थ, उहाँ वचन शरीरमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्न आउनुभएको छ। उहाँले वचनहरू मात्र बोल्नुहुन्छ, अनि त्यहाँ तथ्यहरूको उदय बिरलै हुन्छ। वचन देहमा देखा पर्नुको सार यही हो र जब देहधारी परमेश्वरले आफ्ना वचनहरू बोल्नुहुन्छ, त्यो देहमा वचनको देखा पराइ, र देहमा वचनको आगमन हो। “प्रारम्भमा वचन हुनुहुन्थ्यो, र वचन परमेश्वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्वर हुनुहुन्थ्यो, र वचन देह बन्नुभयो।” यो (वचन शरीरमा देखा पर्ने काम) परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुने काम हो, अनि यो उहाँको सम्पूर्ण व्यवस्थापन योजनाको अन्तिम अध्याय हो, यसैले परमेश्वर संसारमा आउनुपर्छ र उहाँका वचनहरू शरीरमा प्रकट गर्नुपर्छ। आज जे गरिन्छ, भविष्यमा जे गरिनेछ, परमेश्वरद्वारा जे पूरा गरिनेछ, मानिसको अन्तिम गन्तव्य, तिनीहरू जो मुक्त हुनेछन्, तिनीहरू जो नाश पारिनेछन्, र इत्यादि—अन्त्यमा पूरा गरिने यी सबै काम स्पष्ट रूपमा बताइएको छ, अनि यी सबै वचन देहमा देखा पर्नुहुन्छ भन्ने तथ्यको वास्तविक महत्त्वलाई पूरा गर्नका निम्ति हो। पहिले जुन प्रशासनिक आदेश र संविधान जारी गरिएको थियो, तिनीहरू जो नाश पारिनेछन्, तिनीहरू जो विश्राममा प्रवेश गर्नेछन्—यी वचनहरू सबैलाई पूरा गरिनैपर्छ। यो देहधारी परमेश्वरले आखिरी दिनहरूमा मुख्य रूपमा पूरा गर्नुहुने काम हो। उहाँले मानिसहरूलाई परमेश्वरले अघिबाटै नियुक्त गर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन् र परमेश्वरले अघिबाटै नियुक्त नगर्नुभएकाहरू कहाँको स्वामित्वमा हुन्छन्, उहाँका मानिसहरू र छोराहरूलाई कसरी वर्गीकरण गरिनेछ, इस्राएललाई के हुनेछ, मिश्रलाई के हुनेछ सो बुझ्ने तुल्याउनुहुन्छ—भविष्यमा ती प्रत्येक वचनहरू पूरा गरिनेछ। परमेश्वरको कामको गति बढिरहेको छ। परमेश्वरले प्रत्येक युगमा के गरिनुपर्छ, आखिरी दिनहरूमा देहधारी परमेश्वरद्वारा के काम हुनुपर्छ, गर्नुपर्ने उहाँको सेवकाइ आदि कुरा मानिसलाई प्रकट गर्ने माध्यमको रूपमा परमेश्वरले वचनको प्रयोग गर्नुहुन्छ, अनि यी वचनहरू सबै वचन शरीरमा देखा पर्नुहुन्छको वास्तविक महत्त्व प्राप्त गर्नका निम्ति हुन्।
मैले पहिले नै भनेको छु कि “चिन्ह र अचम्मका कार्यहरू हेर्नमा ध्यान केन्द्रित गर्ने सबैलाई त्यागिनेछ; तिनीहरू सिद्ध पारिनेमा पर्दैनन्।” मैले यतिका धेरै वचन बोलेको छु, तैपनि मानिसलाई यो कामको रत्तीभर ज्ञान छैन, र, यस बिन्दुमा आइपुगेर पनि, मानिसहरू अझै चिन्ह र अचम्मका कार्यहरू माग्छन्। के परमेश्वरमाथिको तेरो विश्वास चिन्ह र अचम्मका कार्यहरूको पछ्याइभन्दा बढी केही पनि होइन, कि यो जीवन प्राप्त गर्नका निम्ति हो? येशूले पनि धेरै वटा वचन बोल्नुभयो, र तीमध्ये कतिपय अझै पूरा हुन बाँकी छन्। के तँ येशू परमेश्वर हुनुहुन्न भनेर भन्न सक्छस्? परमेश्वरले उहाँ ख्रीष्ट र परमेश्वरको प्रिय पुत्र हुनुहुन्छ भनी गवाही दिनुभयो। के तँ यसलाई नकार्न सक्छस्? आज, परमेश्वर वचनहरू मात्र बोल्नुहुन्छ, र यदि तँलाई यो कुरा पूर्ण रूपमा थाहा छैन भने, तँ अडिग रहन सक्दैनस्। के तँ उहाँ परमेश्वर हुनुभएको कारणले उहाँमा विश्वास गर्छस्, कि उहाँका वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भन्ने आधारमा उहाँमा विश्वास गर्छस्? के तँ चिन्ह र अचम्मका कार्यहरूमा विश्वास गर्छस्, कि परमेश्वरमा विश्वास गर्छस्? आज, उहाँ चिन्ह र अचम्मका कार्यहरू देखाउनुहुन्न—के उहाँ साँच्चै परमेश्वर हुनुहुन्छ? यदि उहाँले बोल्ने वचनहरू पूरा हुँदैनन् भने, के उहाँ साँच्चै परमेश्वर हुनुहुन्छ? के परमेश्वरको सार उहाँले बोल्ने वचनहरू पूरा हुन्छन् कि हुँदैनन् भन्ने कुराद्वारा निर्धारित हुन्छ? कतिपय मानिस परमेश्वरमा विश्वास गर्नुअघि किन सधैँ उहाँका वचनहरू पूरा हुने प्रतीक्षा गरिरहेका हुन्छन्? के यसको अर्थ तिनीहरू उहाँलाई चिन्दैनन् भन्ने होइन र? त्यस्ता धारणाहरू राख्ने सबै परमेश्वरलाई नकार्ने मानिस हुन्। तिनीहरू परमेश्वरलाई मापन गर्न धारणाहरू प्रयोग गर्छन्; यदि परमेश्वरका वचनहरू पूरा भए भने, तिनीहरू उहाँमा विश्वास गर्छन्, र यदि ती पूरा भएनन् भने, तिनीहरू उहाँमा विश्वास गर्दैनन्; र तिनीहरू सधैँ चिन्ह र अचम्मका कार्यहरू हेर्ने पछ्याइमा लाग्छन्। के यी मानिसहरू आधुनिक समयका फरिसी होइनन् र? तँ दृढ रहन सक्छस् कि सक्दैनस् भन्ने कुरा तँ व्यावहारिक परमेश्वरलाई चिन्छस् कि चिन्दैनस् भन्ने कुरामा निर्भर हुन्छ—यो अति महत्त्वपूर्ण छ! तँमा परमेश्वरको वचनको वास्तविकता जति धेरै छ, परमेश्वरको व्यावहारिकतासम्बन्धी तेरो ज्ञान त्यति नै ठूलो हुन्छ, र तँ परीक्षाहरूका दौरान त्यति नै बढी अडिग हुन सक्छस्। तँ चिन्ह र अचम्मका कार्यहरू हेर्नमा जति धेरै ध्यान केन्द्रित गर्छस्, तँ दृढ रहन त्यति नै कम सक्षम हुन्छस्, र तँ परीक्षाहरूका बीचमा ढल्नेछस्। चिन्ह र अचम्मका कार्यहरू जग होइनन्; परमेश्वरको व्यावहारिकता मात्र जीवन हो। कतिपय मानिसलाई परमेश्वरको कामद्वारा हासिल गरिने प्रभावहरू थाहा हुँदैन। तिनीहरू परमेश्वरको कामको ज्ञान नपछ्याई अन्योलमा आफ्ना दिनहरू बिताउँछन्। तिनीहरूको पछ्याइको उद्देश्य सधैँ आफ्ना चाहनाहरू परमेश्वरलाई पूरा गर्न लगाउने मात्र हुन्छ, र त्यसपछि मात्र तिनीहरू आफ्नो विश्वासमा गम्भीर हुनेछन्। तिनीहरू यदि परमेश्वरका वचनहरू पूरा भए भने तिनीहरूले जीवन पछ्याउने, तर यदि उहाँका वचनहरू पूरा भएनन् भने, तिनीहरूले जीवन पछ्याउने कुनै सम्भावना नरहने भनेर भन्छन्। मानिसहरू परमेश्वरमाथिको विश्वास भनेको चिन्ह र अचम्मका कार्यहरू हेर्ने पछ्याइ र स्वर्ग र तेस्रो स्वर्गमा उक्लने पछ्याइ हो भन्ने सोच्छन्। तिनीहरूमध्ये कसैले पनि परमेश्वरमाथिको आफ्नो विश्वास वास्तविकतामा प्रवेश गर्ने पछ्याइ, जीवनको पछ्याइ, र परमेश्वरद्वारा प्राप्त गरिने पछ्याइ हो भनेर भन्दैन। यस्तो पछ्याइको के महत्त्व हुन्छ? जो परमेश्वरको ज्ञान र परमेश्वरको सन्तुष्टि पछ्याउँदैनन् तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिस होइनन्; तिनीहरू परमेश्वरलाई ईशनिन्दा गर्ने मानिस हुन्!
के अब तिमीहरूले परमेश्वरमाथिको विश्वास भनेको के हो भनेर बुझ्छौ? के परमेश्वरमा विश्वास गर्नुको अर्थ चिन्हहरू र अचम्मका कामहरू हेर्नु हो? के यसको अर्थ स्वर्ग जानु हो? परमेश्वरमा विश्वास गर्नु कुनै रूपमा सजिलो कुरा होइन। विश्वासका धार्मिक विधिहरूलाई निमिट्यान्न पार्नुपर्छ; बिरामीको चङ्गाइ र पिशाचहरू निकाल्ने कामको पछि लाग्नु, चिन्हहरू र अचम्मका कामहरूमा ध्यान लगाउनु, परमेश्वरको अनुग्रह, शान्ति र आनन्दको अझ बढी लालसा गर्नु, देहको भविष्य र आरामको पछि लाग्नु—यी विश्वासका धार्मिक विधिहरू हुन्, र यस्ता विश्वासका विधिहरू अस्पष्ट किसिमका आस्था हुन्। आज परमेश्वरमाथिको व्यावहारिक विश्वास भनेको के हो? यो परमेश्वरको वचनलाई तेरो जीवन वास्तविकताको रूपमा स्वीकार गर्नु, परमेश्वरलाई उहाँको वचनबाट चिन्नु, र यसरी उहाँप्रति साँचो प्रेम हासिल गर्नु हो। प्रस्ट रूपमा भन्नुपर्दा: परमेश्वरमा विश्वास गर्नु भनेको तँ उहाँमा समर्पित भएस्, तैँले उहाँलाई प्रेम गरेस्, र सृजित प्राणीद्वारा पूरा गरिनुपर्ने कर्तव्य पूरा गरेस् भन्नका लागि हो। परमेश्वरमा विश्वास गर्नुको उद्देश्य यही नै हो। तैँले परमेश्वर कति प्रेमिलो हुनुहुन्छ, परमेश्वर कति आदर गर्न लायक हुनुहुन्छ, र परमेश्वरले उहाँका सृजित प्राणीहरूमा गर्ने काम कसरी तिनीहरूको मुक्ति र तिनीहरूको सिद्धता हो भनेर जान्नैपर्छ—यी तैँले परमेश्वरमाथि विश्वास गर्नुका अत्यावश्यक तत्त्वहरू हुन्। परमेश्वरमा विश्वास गर्नु भनेको मूल रूपमा देहको जीवनबाट परमेश्वरलाई प्रेम गर्ने जीवनमा र भ्रष्टतामा जिउनुबाट परमेश्वरका वचनहरूको जीवनमा जिउनुमा सर्नु हो; यो शैतानको सत्ताबाट बाहिर निस्केर परमेश्वरको हेरचाह र सुरक्षामा जिउनु हो; यो तँ देहप्रति समर्पित हुनुभन्दा परमेश्वरप्रति समर्पित हुन सकेस्, परमेश्वरले तेरो सम्पूर्ण हृदय प्राप्त गर्न र तँलाई सिद्ध पार्न सक्नुहोस्, र तँ शैतानी भ्रष्ट स्वभावहरूबाट मुक्त हुन सकेस् भन्नका लागि हो। परमेश्वरमा विश्वास गर्नु भनेको मूलतः परमेश्वरको महान् शक्ति र महिमा तँमा प्रकट हुन सकोस्, तैँले परमेश्वरको इच्छालाई पछ्याएस्, परमेश्वरको योजना पूरा होस्, साथै तैँले शैतानको अगाडि परमेश्वरको साक्षी दिन सकेस् भन्नका लागि हो। परमेश्वरमाथिको विश्वास चिन्हहरू र अचम्मका कामहरू हेर्ने चाहनामा केन्द्रित हुनु हुँदैन, न त त्यो तेरो आफ्नै देहको खातिर नै हुनुपर्छ। त्यो परमेश्वरलाई चिन्नु, परमेश्वरप्रति समर्पित हुन सक्नु, अनि पत्रुसजस्तै मृत्युसम्मै उहाँप्रति समर्पित हुनुको पछ्याइमा केन्द्रित हुनुपर्छ। मुख्य उद्देश्य भनेको यो कुरा हासिल गर्नु हो। व्यक्तिले परमेश्वरलाई चिन्न र उहाँलाई सन्तुष्ट पार्नका निम्ति पनि परमेश्वरको वचन खान्छ र पिउँछ। परमेश्वरको वचन खाँदा र पिउँदा त्यसले तँलाई परमेश्वरको बारेमा महान् ज्ञान दिन्छ, त्यसपछि मात्र तँ उहाँमा समर्पित हुन सक्छस्। परमेश्वर सम्बन्धी ज्ञानद्वारा मात्रै तैँले उहाँलाई प्रेम गर्न सक्छस्, अनि परमेश्वरमाथिको मानिसको विश्वासमा हुनुपर्ने उद्देश्य यही मात्र हो। यदि परमेश्वरमाथिको विश्वासमा तँ सधैँ चिन्ह र आश्चर्यकर्महरू हेर्ने कामना गर्छस् भने, परमेश्वरमाथिको विश्वासको यो दृष्टिकोण गलत छ। परमेश्वरमा विश्वास गर्नु भनेको मूलतः परमेश्वरका वचनहरूलाई आफ्नो जीवन वास्तविकताका रूपमा स्विकार्नु हो। जब परमेश्वरको मुखबाट आउने वचनहरू मानिसहरूद्वारा अभ्यास गरिन्छन् र तिनीहरूमा साकार हुन्छन्, तब परमेश्वरको उद्देश्य पूरा हुन्छ। परमेश्वरमा विश्वास गर्दा, मानिस परमेश्वरद्वारा सिद्ध पारिने, परमेश्वरप्रति समर्पित हुन सक्षम हुने र परमेश्वरप्रति पूर्ण समर्पण हासिल गर्ने पछ्याइमा लाग्नुपर्छ। यदि तँ कुनै गुनासो नगरी परमेश्वरप्रति समर्पित हुन सक्छस्, तैँले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्न, पत्रुसको कद हासिल गर्न, र परमेश्वरले भन्नुभएको जस्तो पत्रुसको शैली प्राप्त गर्न सक्छस् भने, तब तैँले परमेश्वरमाथिको विश्वासमा सफलता हासिल गरेको हुनेछस्, अनि त्यसले तँ परमेश्वरद्वारा प्राप्त गरिएको छस् भन्ने सङ्केत गर्नेछ।
परमेश्वर सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्वास गर्नेहरू सबैले उहाँको वचन स्वीकार गर्नैपर्छ, अनि उहाँको वचन खानैपर्छ र पिउनैपर्छ; परमेश्वरद्वारा देखाइएका चिह्नहरू र आश्चर्यकर्महरू हेरेर कोही पनि परमेश्वरद्वारा प्राप्त हुन सक्दैनन्। युगौँयुग र पुस्तौँपुस्ताभरि, परमेश्वरले मानिसलाई सिद्ध बनाउन सधैँ वचन प्रयोग गर्नुभएको छ। तसर्थ तिमीहरूले आफ्नो सम्पूर्ण ध्यान चिह्न र अचम्मका कार्यहरूमा लगाउनु हुँदैन, बरु परमेश्वरद्वारा सिद्ध पारिने पछ्याइमा लाग्नुपर्छ। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्वरले केही वचनहरू बोल्नुभयो, अनि अनुग्रहको युगमा येशूले पनि धेरै वटा वचन बोल्नुभयो। येशूले धेरै वटा वचन भनिसक्नुभएपछि, पछिका प्रेरित र चेलाहरूले मानिसहरूलाई येशूद्वारा जारी गरिएका आज्ञाहरूअनुसार अभ्यास गर्न अगुवाइ गरे अनि येशूद्वारा बोलिएका वचनहरू र उहाँले सुनाउनुभएका सिद्धान्तहरूअनुसार कामकुराहरू अनुभव गरे। आखिरी दिनहरूमा, परमेश्वरले मानिसलाई सिद्ध पार्न मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँ मानिसलाई जबर्जस्ती विश्वस्त तुल्याउन चिह्न र अचम्मका कार्यहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्वरको महान् शक्ति प्रकट गर्न सक्दैन। यदि परमेश्वरले चिह्न र अचम्मका कार्यहरू मात्र देखाउनुभएको भए, यसले परमेश्वरको व्यावहारिकता प्रकट गर्न सक्नेथिएन, र यसले मानिसलाई सिद्ध पार्न सक्नेथिएन। परमेश्वरले मानिसहरूलाई चिह्न र अचम्मका कार्यहरूद्वारा सिद्ध पार्नुहुन्न, बरु मानिसलाई मलजल र रखवारी गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिस पूर्ण रूपमा परमेश्वरप्रति समर्पित हुन र परमेश्वरको ज्ञान प्राप्त गर्न सक्छ। उहाँले गर्ने काम र उहाँले बोल्ने वचनको उद्देश्य यही नै हो। परमेश्वर मानिसलाई सिद्ध पार्नका लागि चिह्न र अचम्मका कार्यहरू देखाउने विधि प्रयोग गर्नुहुन्न—उहाँ वचनहरू प्रयोग गर्नुहुन्छ, र मानिसलाई सिद्ध पार्नका लागि कामका धेरै वटा विधि प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, काँटछाँट होस्, वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध पार्न अनि मानिसलाई परमेश्वरको काम, बुद्धि र अद्भुतपनको ज्ञान प्राप्त गर्न सक्षम बनाउन परमेश्वर धैरै वटा फरक-फरक दृष्टिकोणबाट बोल्नुहुन्छ। जब परमेश्वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्ने समयमा मानिसलाई पूर्ण पारिन्छ, तब ऊ चिन्ह र अचम्मका कार्यहरू हेर्न योग्य हुनेछ। जब तँ परमेश्वरलाई चिन्न थाल्छस् र परमेश्वरले जे गर्दा पनि उहाँप्रति समर्पित हुन सक्छस्, तब चिह्न र अचम्मका कार्यहरू देख्दा उहाँबारे अब तँमा कुनै धारणा हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्वरप्रति पूर्ण समर्पित हुन असक्षम छस्—के तँलाई तँ परमेश्वरका चिन्ह र अचम्मका कार्यहरू हेर्न योग्य छस् भन्ने लाग्छ? परमेश्वरले चिन्हहरू र आश्चर्यकर्महरू देखाउने बेला नै परमेश्वर मानिसलाई दण्ड दिनुहुन्छ, अनि त्यही बेला नै युग परिवर्तन हुन्छ, अनि अझ बढी, युग पनि अन्त्य हुन्छ। परमेश्वरको काम सामान्य रूपमा भइरहेको बेला उहाँ चिन्हहरू र आश्चर्यकर्महरू देखाउनुहुन्न। उहाँलाई चिन्हहरू र आश्चर्यकर्महरू देखाउनु अत्यन्तै सजिलो हुन्छ, तर परमेश्वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो परमेश्वरद्वारा गरिने मानिसको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र आश्चर्यकर्महरू देख्यो, र परमेश्वरको आत्मिक शरीर पनि मानिसकहाँ देखा पर्नुभयो भने, के सबै मानिसले परमेश्वरमा “विश्वास” गर्नेथिएनन् र? मैले यसभन्दा पहिले महासङ्कष्टबाट निस्केर आउने विजेताहरूको एउटा समूह पूर्वबाट प्राप्त गरिन्छन् भनेर भनेँ। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ के हो भने, न्याय, सजाय, काँटछाँट, र हरकिसिमका शोधन भोगेपछि मात्र यी प्राप्त गरिने मानिसहरू साँचो रूपमा समर्पित हुन्छन्। यी मानिसहरूको विश्वास अस्पष्ट हुँदैन, तर व्यावहारिक हुन्छ। तिनीहरूले कुनै पनि चिन्ह र आश्चर्यकर्म वा कुनै चमत्कार देखेका हुँदैनन्; तिनीहरू कुनै ठूल्ठूला शब्द र धर्मसिद्धान्तहरू बोल्न, वा गहन अन्तर्ज्ञानहरूबारे कुरा गर्न सक्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता र परमेश्वरका वचनहरू हुन्छन्, र परमेश्वरको व्यावहारिक र साँचो ज्ञान हुन्छ। के यस्तो समूह परमेश्वरको महान् शक्ति प्रकट गराउन अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्वरको काम व्यावहारिक काम हो। येशूको युगमा, उहाँ मानिसलाई सिद्ध पार्नका लागि नभई मानिसलाई छुटकारा दिन आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्चर्यकर्महरू प्रस्तुत गर्नुभयो। किनकि उहाँ मुख्य रूपमा क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको पाटो थिएन। त्यस्ता चिन्ह र अचम्मका कार्यहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका काम थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्वरले केही चिन्ह र अचम्मका कार्यहरू पनि देखाउनुभयो—तर परमेश्वरले आज गर्ने काम व्यावहारिक काम हो, र अहिले उहाँ पक्कै पनि चिन्ह र अचम्मका कार्यहरू देखाउनुहुन्न। यदि उहाँले चिन्ह र अचम्मका कार्यहरू देखाउनुभयो भने उहाँको व्यावहारिक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्वरले मानिसलाई सिद्ध पार्नका लागि वचन प्रयोग गर्ने भन्नुभयो, तर उहाँले चिन्ह र अचम्मका कार्यहरू पनि देखाउनुभयो भने, के मानिस साँच्चै उहाँमा विश्वास गर्छ कि गर्दैन भन्ने कुरा त्यसले प्रकाश गर्न सक्थ्यो र? तसर्थ, परमेश्वर त्यस्ता कामकुरा गर्नुहुन्न। मानिसभित्र धर्म ज्यादै छ; परमेश्वर मानिसभित्र भएका धार्मिक धारणाहरू र अलौकिक कुराहरू सबैलाई निष्कासित गर्न, मानिसलाई परमेश्वरको व्यवहारिकता थाहा दिन अनि परमेश्वरको अस्पष्ट र अवास्तविक अनि पटक्कै अस्तित्वमा छैन भन्न सकिने स्वरूपलाई हटाउन आखिरी दिनहरूमा आउनुभएको छ। त्यसैले, अब तैँले व्यावहारिकताको ज्ञान प्राप्त गर्नु मात्र मूल्यवान् कुरा रहेको छ! सत्यता सबै कुराभन्दा माथि छ। आज तँमा सत्यता कति छ? के चिन्ह र अचम्मका कार्यहरू देखाउने सबै परमेश्वर हुन्? दुष्टात्माहरूले पनि चिन्ह र अचम्मका कार्यहरू देखाउन सक्छन्; के ती सबै परमेश्वर हुन्? परमेश्वरमाथिको विश्वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले पछ्याउने भनेको जीवन हो, चिन्ह र अचम्मका कार्यहरू होइनन्। परमेश्वरमा विश्वास गर्ने सबैको लक्ष्य यही नै हुनुपर्छ।