परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

व्यावहारिकताको ज्ञान र परमेश्‍वरको कामको पूर्ण बुझाइ प्राप्त गर्नु—यी दुवै उहाँका वचनहरूमा देखिन्छन्, र यी वाणीहरूमार्फत मात्र तैँले अन्तर्दृष्टि प्राप्त गर्न सक्छस्। यसैले परमेश्‍वरको वचनले सुसज्‍जित हुनका निम्ति तैंले अझ धेरै काम गर्नुपर्छ। सङ्गतिमा परमेश्‍वरका वचनहरूबारे तेरो बुझाइको बारेमा बता, र यस तरिकाले तैँले अरूलाई अन्तर्दृष्टि र समस्या समाधान गर्ने मार्ग दिन सक्छस्—यो एउटा व्यावहारिक मार्ग हो। परमेश्‍वरले तेरो लागि वातावरण मिलाउनुभन्दा अघि, तिमीहरू प्रत्येकले पहिले आफैलाई उहाँको वचनले सुसज्‍जित पार्नुपर्छ। यो हरेकले गर्नुपर्ने कुरा हो; यो एक जरुरी प्राथमिकता हो। पहिले, एउटा यस्तो स्थितिमा पुग् जहाँ तैँले परमेश्‍वरको वचन कसरी खाने र पिउने भनी जान्‍नेछस्। तैंले गर्न नसक्‍ने कुनै पनि कुराको निम्ति अभ्यासको मार्ग भेट्टाउन उहाँका वचनहरूमा खोज्, र तैंले नबुझेका कुनै पनि विषय वा तँमाथि आउन सक्‍ने कुनै पनि कठिनाइको लागि ती वाणीहरूलाई राम्रोसित जाँचेर हेर्। परमेश्‍वरका वचनहरूलाई तेरो आपूर्ति बना, र तेरा व्यावहारिक कठिनाइ र समस्याहरूको समाधान गर्न तिनको सहयोग ली; यसको साथै, उहाँका वचनहरूलाई तेरो जीवनको सहयोग बना। यी कुराहरू गर्नको लागि तेरो तर्फबाट कोसिस आवश्यक पर्छ। परमेश्‍वरको वचन खाँदा र पिउँदा, तैंले परिणामहरू प्राप्त गर्नैपर्छ; तैंले उहाँको अघि आफ्नो हृदय शान्त बनाउन सक्‍नुपर्छ, र तैंले जबजब समस्याहरूको सामना गर्छस् तबतब उहाँका वाणीहरूअनुसार अभ्यास गर्नैपर्छ। जब तैँले कुनै समस्याको सामना गरेको हुँदैनस्, त्यसबेला तैंले उहाँका वचनहरू खाने र पिउने कार्यमा ध्यान दिनुपर्छ। कहिलेकहीँ तैँले प्रार्थना गर्न र परमेश्‍वरको प्रेमको बारेमा चिन्तन गर्न सक्छस्, सङ्गतिमा परमेश्‍वरका वचनहरूबाट तैंले बुझेका कुराहरू बताउन सक्छस्, अनि ती वाणीहरू पढ्दा तैंले आफूभित्र अनुभव गरेको अन्तर्दृष्टि र प्रकाशका साथै तँमा उत्पन्‍न भएका प्रतिक्रियाहरूको बारेमा बताउन सक्छस्। यसबाहेक, तैँले मानिसहरूलाई समस्या समाधान गर्ने मार्ग दिन सक्छस्। यो कुरा मात्र व्यावहारिक हुन्छ। यसो गर्नुको उद्देश्य भनेको परमेश्‍वरका वचनहरूलाई आफ्नो व्यावहारिक आपूर्ति बनाउनु हो।

एक दिनको अवधिमा, तैंले आफू साँच्‍चै नै परमेश्‍वरको सामु रहेर कति घण्टा बिताउँछस्? तेरो दिनको कति समयचाहिँ वास्तवमै परमेश्‍वरलाई जान्छ? देहलाई कति समय जान्छ? आफ्नो हृदयलाई सधैँ परमेश्‍वरमा केन्द्रित गर्नु भनेको उहाँद्वारा सिद्ध पारिने सही बाटोमा हुनुको पहिलो कदम हो। यदि तैँले आफ्नो हृदय, शरीर र आफ्नो सबै साँचो प्रेम परमेश्‍वरमा अर्पण गर्न र उहाँको सामु राख्‍न, उहाँप्रति पूर्ण आज्ञाकारी बन्‍न र उहाँको इच्‍छालाई पूर्ण रूपमा ध्यान दिन सक्छस् भने—परमेश्‍वरको वचनलाई सबै कुराको सिद्धान्त र आधारको रूपमा लिँदै, देहको लागि, परिवारका लागि र तेरा आफ्नै व्यक्तिगत चाहनाहरूका लागि नभई, परमेश्‍वरको परिवारको हितका लागि यसो गर्न सक्छस् भने—त्यसो गर्दा तेरा अभिप्रायहरू र तेरा दृष्टिकोणहरू सबै सही ठाउँमा हुनेछन्, र तँ परमेश्‍वरको सामु उहाँको स्याबासी पाउने व्यक्ति बन्‍नेछस्। परमेश्‍वरले मन पराउनुहुने मानिसहरू ती हुन् जो पूर्ण रूपमा उहाँतर्फ रहेका छन्; तिनीहरू ती मानिसहरू हुन् जो पूर्ण रूपमा उहाँमा समर्पित हुन सक्छन्। जसलाई परमेश्‍वरले घृणा गर्नुहुन्छ तिनीहरू ती मानिसहरू हुन् जो उहाँतर्फ आधा हृदयका हुन्छन् र जसले उहाँको विरुद्धमा विद्रोह गर्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ, जसले उहाँमा विश्‍वास त गर्छन् तर सधैँ उहाँबाट आनन्द लिन चाहन्छन् र उहाँका निम्ति आफूलाई पूर्ण रूपमा समर्पित गर्न असमर्थ हुन्छन्। उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जसले उहाँलाई प्रेम गर्छौं त भन्छन्, तर आफ्नो हृदयमा उहाँको विरुद्धमा विद्रोह गर्छन्; उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ जो छलकपट गर्न शब्दचातुर्य र आलङ्कारिक वचनहरूको प्रयोग गर्छन्। जो साँचो रूपमा परमेश्‍वरमा समर्पित हुँदैनन् वा जो साँचो रूपले उहाँको अघि झुक्दैनन्, तिनीहरू विश्‍वासघाती र अति नै अहङ्कारी प्रकृतिका हुन्छन्। जो सामान्य, व्यावहारिक परमेश्‍वरको अगाडि साँचो रूपले समर्पित हुन सक्दैनन्, तिनीहरू झनै अहङ्कारी हुन्छन्, र तिनीहरू विशेष रूपमा प्रधान स्वर्गदूतका बफादार सन्तान हुन्। जसले आफूलाई साँचो रूपमा परमेश्‍वरका लागि समर्पित गर्छन् ती मानिसहरूले आफ्नो सम्पूर्ण अस्तित्व नै उहाँको सामु राख्छन्; तिनीहरू साँचो रूपमा उहाँका वाणीहरूमा समर्पित हुन्छन्, र उहाँका वचनहरूलाई अभ्यास गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्छन् र तिनलाई आफ्नो अस्तित्वको आधार बनाउँछन्, र तिनीहरूले परमेश्‍वरका वचनहरूमा इमानदारीसाथ खोजी गरी कुन-कुन भागचाहिँ अभ्यास गर्नुपर्छ भनी पत्ता लगाउन सक्छन्। साँचो रूपमा परमेश्‍वरको सामु जिउने मानिसहरू तिनीहरू नै हुन्। यदि तैँले यसो गरिस् भने, त्यो तेरो जीवन प्रवेशको लागि फाइदाजनक हुनेछ, र तैँले आफ्नो जीवन स्वभाव रूपान्तरित होस् भनेर उहाँका वचनहरू खाएर अनि पिएर आफ्ना आन्तरिक आवश्यकता र कमीहरूलाई पूरा गर्न सक्छस्, र त्यसले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छ। यदि तँ परमेश्‍वरका मापदण्डअनुरूप काम गर्छस् र यदि तैँले देहलाई सन्तुष्ट नपारी त्यसको साटो उहाँको इच्छा पूरा गर्छस् भने, त्यसमा तँ उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गरेको हुन्छस्। परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नु भनेको तैँले आफ्नो कर्तव्य निर्वाह गर्न र परमेश्‍वरको कामका मागहरू पूरा गर्न सक्‍नु हो। यस प्रकारका व्यावहारिक कदमहरूलाई मात्र उहाँका वचनहरूको वास्तविकतामा प्रवेश गर्नु हो भनी भन्‍न सकिन्छ। यदि तँ यस वास्तविकतामा प्रवेश गर्न सक्छस् भने तँमा सत्यता हुनेछ। यो वास्तविकता प्रवेशको सुरुआत हो; तैँले पहिले यो तालिम लिनुपर्छ, त्यसपछि मात्र तँ अझ गहन वास्तविकताहरूमा प्रवेश गर्न सक्‍नेछस्। आज्ञाहरू कसरी पालन गर्ने र परमेश्‍वरको सामु कसरी बफादार हुने भन्‍नेबारेमा विचार गर्; तँ कहिले राज्यमा प्रवेश गर्न सक्षम हुनेछस् भन्‍नेबारे मात्र निरन्तर नसोच्। यदि तेरो स्वभाव परिवर्तन हुँदैन भने, तैंले जे सोचे पनि त्यो व्यर्थ हुनेछ! परमेश्‍वरका वचनहरूको वास्तविकतामा प्रवेश गर्नको निम्ति, पहिले तँ त्यो अवस्थामा पुग्‍नुपर्छ जहाँ तेरा सबै योजना र विचारहरू परमेश्‍वरका लागि हुन्छन्—यो नै न्यूनतम आवश्यकता हो।

वर्तमान समयमा, परीक्षामाझ रहेका र परमेश्‍वरको कामलाई नबुझ्ने धेरै मानिसहरू छन्, तर म तँलाई भन्छु: यदि तँ यो कुरा बुझ्दैनस् भने, तैंले यसबारेमा राय नबनाउनु नै राम्रो हुन्थ्यो। सायद सत्यता सम्पूर्ण रूपमा प्रकट हुने दिन आउनेछ, त्यसपछि तैँले बुझ्नेछस्। राय नबनाउनु नै तेरो लागि लाभदायक हुन्छ, तैपनि तैँले निष्क्रिय बनेरचाहिँ पर्खनु हुँदैन। तैंले सक्रियतासाथ प्रवेश गर्न खोज्नुपर्छ; तब मात्र तँ वास्तवमै प्रवेश गर्ने व्यक्ति बन्‍नेछस्। मानिसहरूले आफ्नो विद्रोहीपनको कारण व्यावहारिक परमेश्‍वरको बारेमा सधैँ धारणाहरू बनाउँछन्। यसले गर्दा, सबै मानिसहरूले कसरी समर्पित हुने भनी सिक्‍नु आवश्यक छ, किनकि व्यावहारिक परमेश्‍वर मानवजातिका लागि एउटा ठूलो परीक्षा हुनुहुन्छ। यदि तँ दृढ रहन सक्दैनस् भने सबै कुरा समाप्त हुन्छ; यदि तँसँग व्यावहारिक परमेश्‍वरको व्यावहारिकताको बारेमा बुझाइ छैन भने, तँ परमेश्‍वरद्वारा सिद्ध पारिन योग्य हुनेछैनस्। मानिसहरू सिद्ध पारिन सक्छन् कि सक्दैनन् भन्‍ने कुराको महत्त्वपूर्ण चरण भनेकै तिनीहरूले परमेश्‍वरको व्यावहारिकतालाई बुझ्नु हो। देहधारी परमेश्‍वर पृथ्वीमा आउनुभएको तथ्यको व्यावहारिकता प्रत्येक व्यक्तिका निम्ति परीक्षा हो; यदि तँ यस सम्बन्धमा दृढ रहन सक्छस् भने, तँ परमेश्‍वरलाई चिन्‍ने र उहाँलाई साँच्‍चै प्रेम गर्ने व्यक्ति हुनेछस्। यदि यस सम्बन्धमा तँ दृढ रहन सक्दैनस् र तैँले आत्मामा मात्र विश्‍वास गर्छस् तर परमेश्‍वरको व्यावहारिकतामा विश्‍वास गर्न सक्दैनस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास जति नै ठूलो भए पनि त्यो व्यर्थ हुनेछ। यदि तैँले देखिनुहुने परमेश्‍वरमा विश्‍वास गर्न सक्दैनस् भने, के परमेश्‍वरका आत्मामा विश्‍वास गर्न सक्छस् त? के तैंले केवल परमेश्‍वरलाई मूर्ख तुल्याउन खोजिरहेको छैनस् र? तँ देख्‍न र छुन सकिने परमेश्‍वरको अघि समर्पित छैनस्, त्यसो भए के तँ आत्माको सामु समर्पित हुन सक्छस् त? आत्मा अदृश्य र छुन नसकिने हुनुहुन्छ, त्यसैले जब तँ परमेश्‍वरका आत्माप्रति समर्पित हुन्‍छु भनी भन्छस्, तब के तैंले मूर्ख कुरा गरिरहेको हुँदैनस् र? आज्ञाहरूलाई पालन गर्नको निम्ति चाहिने मुख्य कुरा भनेको व्यावहारिक परमेश्‍वरलाई बुझ्नु हो। तैंले व्यावहारिक परमेश्‍वरलाई बुझेपछि, तँ आज्ञाहरू पालन गर्न सक्षम हुनेछस्। ती आज्ञाहरू पालन गर्नको निम्ति दुई वटा मुख्य तत्वहरू हुन्‍छन्: एउटाचाहिँ उहाँका आत्माको सारमा दृढ रहनु, र आत्माको सामु आत्माको परीक्षा स्विकार्न सक्‍नु हो; अर्कोचाहिँ, देहधारी देहको बारेमा सही बुझाइ प्राप्त गर्नु, र वास्तविक समर्पण हासिल गर्न सक्‍नु हो। चाहे देहको अघि होस् वा आत्माको अघि, व्यक्तिको मनमा सधैँ परमेश्‍वरप्रति समर्पण र आदर हुनुपर्छ। यस्तो व्यक्ति मात्र सिद्ध हुन योग्यको हुन्छ। यदि तँमा व्यावहारिक परमेश्‍वरको व्यावहारिकताको ज्ञान छ भने—अर्थात् यदि तँ यस परीक्षामा दृढ भएर खडा भइस् भने—तेरो निम्ति केही पनि अत्यधिक हुनेछैन।

कतिपय मानिसहरू भन्छन्, “आज्ञाहरू पालन गर्नु सजिलो छ; परमेश्‍वरको सामु हुँदा खुलस्त रूपमा र भक्तिपूर्वक बोले पुग्छ, र कुनै हाउभाउ देखाउनु हुँदैन; आज्ञाहरू पालन गर्नु भनेको यही हो।” के यो कुरा सही हो? त्यसो भए, यदि तँ परमेश्‍वरको पिठिउँपछाडि उहाँको विरोध गर्ने केही काम गर्छस् भने के त्यसलाई आज्ञाहरू पालन गरेको मान्‍न सकिन्छ? आज्ञाहरू पालन गर्ने कार्यमा के-के कुराहरू समावेश हुन्छन् भन्‍नेबारेमा तँमा पूर्ण बुझाइ हुनुपर्छ। यो कुरा तँमा परमेश्‍वरको व्यावहारिकताको वास्तविक बुझाइ छ कि छैन भन्‍ने कुरासित सम्बन्धित हुन्छ; यदि तँमा व्यावहारिकताको बुझाइ छ र यो परीक्षाको अवधिमा तँ डगमगाउँदैनस् र लड्दैनस् भने, तँमा बलियो गवाही छ भनेर मान्‍न सकिन्छ। परमेश्‍वरको लागि गुञ्‍जायमान गवाही दिने कुरा मुख्य रूपले तँसँग व्यावहारिक परमेश्‍वरको बारेमा बुझाइ छ कि छैन र साधारण मात्र नभई सामान्य पनि रहनुभएका यस व्यक्तिमा तँ समर्पित हुन सक्छस् कि सक्दैनस्, र तँ मृत्युसम्मै समर्पित रहन सक्छस् कि सक्दैनस् भन्‍ने कुरासँग सम्बन्धित हुन्छ। यदि समर्पणद्वारा तैँले साँच्‍चै नै परमेश्‍वरको गवाही दिन्छस् भने, त्यसको अर्थ तँलाई परमेश्‍वरले प्राप्त गर्नुभएको छ भन्‍ने हुन्छ। यदि तँ मृत्युसम्‍मै समर्पित रहन सक्छस् र उहाँको अघि गुनासोमुक्त हुन्छस्, कुनै दोष लाउँदैनस्, कुनै निन्दा गर्दैनस्, कुनै धारणाहरू राख्दैनस् र कुनै गुप्त अभिप्रायहरू राख्दैनस् भने यस तरिकामार्फत परमेश्‍वरले महिमा प्राप्त गर्नुहुनेछ। मानिसद्वारा हेला गरिएको एक सामान्य व्यक्तिको अगाडि समर्पित हुनु र कुनै धारणाहरू नराखी मृत्युसम्मै समर्पित हुन सक्‍नु नै साँचो गवाही हो। मानिसहरू जुन वास्तविकताभित्र प्रवेश गरून् भन्‍ने परमेश्‍वर चाहनुहुन्छ त्‍यो भनेको उहाँका वचनहरू पालन गर्न सक्‍ने, तिनलाई अभ्यास गर्न सक्‍ने, व्यावहारिक परमेश्‍वरअगाडि झुक्‍न र आफ्नै भ्रष्टतालाई जान्‍न सक्‍ने, उहाँको सामु आफ्नो हृदय खोल्‍न सक्‍ने र अन्त्यमा उहाँका यी वचनहरूमार्फत उहाँद्वारा प्राप्त गरिन सक्‍ने व्यक्ति बन् भन्‍ने हो। जब यी वाणीहरूले तँलाई जित्छन् र तँलाई पूर्ण रूपमा उहाँको आज्ञाकारी बनाउँछन्, तब परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्छ; यसद्वारा उहाँले शैतानलाई लज्‍जित पार्नुहुन्छ र उहाँको काम पूरा गर्नुहुन्छ। जब तँमा देहधारी परमेश्‍वरको व्यावहारिकताको बारेमा कुनै धारणा हुँदैन—अर्थात्, जब तँ यो परीक्षामा दृढ भएर खडा हुन्छस्—तब तैँले यो गवाही राम्रोसँग दिएको हुन्छस्। यदि तैँले यस व्यावहारिक परमेश्‍वरलाई पूर्ण रूपमा बुझ्ने र तँ पत्रुसजस्तै मृत्युसम्म समर्पित हुन सक्‍ने दिन आउँछ भने, तँलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछ र सिद्ध तुल्याउनुहुनेछ। परमेश्‍वरले गर्नुहुने कुनै पनि कामकुरा तेरा धारणाहरूसँग मेल खाँदैन भने त्यो तेरो लागि परीक्षा हो। यदि परमेश्‍वरको काम तेरो विचारसँग मेल खान्थ्यो भने त्यसका निम्ति तैँले दुःख भोग्‍नु वा तँलाई शोधन गरिनु आवश्यक हुँदैनथ्यो। उहाँको काम अति व्यावहारिक र तेरा धारणाहरूअनुरूप नभएकोले तैँले ती धारणाहरूलाई छोड्नुपर्छ। त्यही कारणले गर्दा, यो तेरो लागि एउटा परीक्षा हो। परमेश्‍वरको व्यावहारिकताको कारणले गर्दा नै सबै मानिसहरू परीक्षाहरूको माझमा छन्; उहाँको काम अलौकिक होइन, व्यावहारिक छ। कुनै पनि धारणाहरू नराखी उहाँका व्यावहारिक वचनहरू र उहाँका व्यावहारिक वाणीहरू पूर्ण रूपमा बुझेर, अनि उहाँको काम अझ बढी व्यावहारिक हुँदै जाँदा उहाँलाई साँचो रूपमा प्रेम गर्न सकेर, तँ उहाँद्वारा प्राप्त गरिनेछस्। परमेश्‍वरद्वारा प्राप्त गरिने मानिसहरूको समूह भनेको परमेश्‍वरलाई चिन्‍ने मानिसहरू हुन्; अर्थात्, तिनीहरू उहाँको व्यावहारिकताको बारेमा जान्‍ने मानिसहरू हुन्। यसबाहेक, तिनीहरू परमेश्‍वरको व्यावहारिक कामप्रति समर्पित हुन सक्‍ने मानिसहरू पनि हुन्।

परमेश्‍वर देहमा हुनुभएको समयमा, उहाँले मानिसहरूबाट चाहनुभएको समर्पणमा तिनीहरूले कल्पना गरेजस्तो दोष लाउने वा विरोध गर्ने कार्यबाट टाढा बस्‍ने कुराहरू पर्दैनन्। बरु, उहाँ मानिसहरूले उहाँका वचनहरूलाई आफू जिउने सिद्धान्तको रूपमा र आफ्नो अस्तित्वको आधारको रूपमा प्रयोग गरून्, उहाँका वचनहरूको सारलाई पूर्ण रूपमा व्यवहारमा उतारून् र उहाँको इच्छालाई पूर्ण रूपमा सन्तुष्ट पारून् भन्‍ने चाहनुहुन्छ। मानिसहरूलाई देहधारी परमेश्‍वरप्रति समर्पित हुन लगाउने मापदण्डको एउटा पक्षले उहाँका वचनहरूलाई व्यवहारमा लागू गर्ने कार्यलाई जनाउँछ भने, अर्को पक्षले उहाँको सामान्यता र व्यावहारिकतामा समर्पित हुन सक्‍नुलाई जनाउँछ। यी दुवै निरपेक्ष हुनुपर्छ। यी दुवै पक्षहरू हासिल गर्न सक्‍नेहरू सबै नै आफ्नो हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम राख्‍ने व्यक्तिहरू हुन्। तिनीहरू सबै नै परमेश्‍वरद्वारा प्राप्त गरिएका मानिसहरू हुन्, र तिनीहरू सबैले आफ्नै जीवनलाई प्रेम गरेझैँ परमेश्‍वरलाई प्रेम गर्छन्। देहधारी परमेश्‍वरले उहाँको काममा सामान्य र व्यावहारिक मानवता धारण गर्नुहुन्छ। यस तरिकाले, उहाँको सामान्य र व्यावहारिक मानवता दुवैको बाहिरी आवरण मानिसहरूको निम्ति ठूलो परीक्षा बन्छ; त्यो तिनीहरूको सबैभन्दा ठूलो कठिनाइ बन्छ। तैपनि, परमेश्‍वरको सामान्यता र व्यावहारिकतालाई हटाउन सकिँदैन। उहाँले समाधान खोज्न हरप्रकारको कोसिस गर्नुभयो, तर अन्त्यमा उहाँले आफूलाई सामान्य मानवताको बाहिरी आवरणबाट मुक्त गर्न सक्‍नुभएन। किनभने आखिर जे भए पनि उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, स्वर्गमा हुनुहुने आत्माका परमेश्‍वर हुनुहुन्‍न। उहाँ मानिसहरूले देख्‍न नसक्‍ने परमेश्‍वर हुनुहुन्‍न, उहाँ त सृष्टिको एक सदस्यको आवरण पहिरिनुभएको परमेश्‍वर हुनुहुन्छ। यसरी, उहाँले आफैलाई उहाँको सामान्य मानवताको आवरणबाट अलग गर्न कदापि सजिलो हुँदैन। त्यसकारण, चाहे जे भए पनि, आफूले गर्न चाहनुभएको कामलाई उहाँले देहको दृष्टिकोणबाट नै गर्नुहुन्छ। यो काम सामान्य र व्यावहारिक परमेश्‍वरको अभिव्यक्ति हो, त्यसैले मानिसहरू समर्पित नहुनु कसरी उचित हुन्छ र? मानिसहरूले परमेश्‍वरका कार्यहरूको बारेमा के पो गर्न सक्छन् र? उहाँले जे गर्न चाहनुहुन्छ त्यही गर्नुहुन्छ; उहाँ जुन कुरामा खुसी हुनुहुन्छ, त्यो त्यस्तै नै रहन्छ। यदि मानिसहरू समर्पित हुँदैनन् भने, तिनीहरूसँग अरू के-कस्ता राम्रा योजनाहरू हुन सक्छन् र? अहिलेसम्म, समर्पणले मात्रै मानिसहरूलाई मुक्ति दिन सकेको छ; कसैसँग पनि अरू कुनै राम्रा विचारहरू छैनन्। यदि परमेश्‍वरले मानिसहरूलाई जाँच गर्न चाहनुहुन्छ भने, तिनीहरूले यसबारेमा के गर्न सक्छन् र? तैपनि, यी सबै कुरा स्वर्गमा हुनुहुने परमेश्‍वरले सोच्नुभएको थिएन; यो त देहधारी परमेश्‍वरले सोच्नुभएको कुरा थियो। उहाँले यो काम गर्न चाहनुहुन्छ, त्यसैले कुनै पनि व्यक्तिले यसलाई परिवर्तन गर्न सक्‍दैन। स्वर्गका परमेश्‍वरले देहधारी परमेश्‍वरले गर्नुहुने कुनै पनि कार्यमा हस्तक्षेप गर्नुहुन्‍न, त्यसैले के यो मानिसहरू उहाँमा समर्पित हुनुपर्ने अझ ठूलो कारण होइन र? उहाँ व्यावहारिक र सामान्य दुवै हुनुभए पनि उहाँ पूर्ण रूपमा देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ। उहाँका आफ्नै विचारहरूको आधारमा उहाँले जे गर्न चाहनुहुन्छ त्यही गर्नुहुन्छ। स्वर्गका परमेश्‍वरले सबै काम उहाँलाई सुम्पनुभएको छ; उहाँले जे गर्नुहुन्छ त्यसप्रति तँ समर्पित हुनैपर्छ। उहाँसँग मानवता छ र उहाँ अति सामान्य हुनुहुन्छ, तैपनि उहाँले जानीजानी नै यी सबै बन्दोबस्त मिलाउनुभएको छ, त्यसैले मानिसहरूले कसरी अस्वीकृतिको भावसहित बकुल्लाको जस्तो आँखा बनाई उहाँलाई हेर्न सक्छन्? उहाँ सामान्य हुन चाहनुहुन्छ, यसैले उहाँ सामान्य हुनुहुन्छ। उहाँ मानवताभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ मानवताभित्र बस्‍नुहुन्छ। उहाँ ईश्‍वरत्वभित्र जिउन चाहनुहुन्छ, त्यसैले उहाँ ईश्‍वरत्वमा रहनुहुन्छ। मानिसहरूले यसलाई जसरी मन लाग्यो त्यसरी हेर्न सक्छन्, तर परमेश्‍वर सधैँ परमेश्‍वर नै हुनुहुनेछ र मानिसहरू सधैँ मानिसहरू नै हुनेछन्। उहाँको सारलाई केही सानातिना कुराको कारण अस्वीकार गर्न सकिँदैन, न त कुनै एउटा सानो कुराको कारण उहाँलाई परमेश्‍वरको “व्यक्ति” बाट बाहिर धकेलेर निकाल्‍न नै सकिन्छ। मानिसहरूसँग मानवजातिको स्वतन्त्रता छ र परमेश्‍वरसित परमेश्‍वरको मर्यादा छ; यी कुराले एकअर्कालाई हस्तक्षेप गर्दैनन्। के मानिसहरूले परमेश्‍वरलाई थोरै स्वतन्त्रता दिन सक्दैनन्? के तिनीहरूले परमेश्‍वर अलि अनौपचारिक हुनुभएको सहन सक्दैनन्? परमेश्‍वरसित त्यस्तो कठोर नहोओ! प्रत्येक व्यक्तिमा एकअर्काप्रति सहिष्णुता हुनुपर्छ; के त्यसपछि सबै कुरा ठीक हुनेछैनन् र? के अझै पनि केही खिन्‍नता बाँकी रहनेछ र? यदि कसैले त्यस्तो सानोतिनो कुरालाई सहन सक्दैन भने, तिनीहरूले कसरी “प्रधानमन्त्रीको हृदय डुङ्गा खियाउनका निम्ति पर्याप्त छ” भनी भन्‍न सक्छन्? तिनीहरू कसरी साँचो मानिस हुन सक्छन्? मानवजातिका लागि कठिनाइ उत्पन्‍न गर्ने परमेश्‍वर हुनुहुन्‍न, बरु परमेश्‍वरका लागि कठिनाइ उत्पन्‍न गर्ने मानवजाति हो। तिनीहरू सधैँ तिललाई पहाड बनाउँदै काम गर्छन्। तिनीहरूले साँच्‍चै नै शून्यताबाट कुनै कुरा बनाउँछन् र यो अत्यन्तै अनावश्यक छ! जब परमेश्‍वरले सामान्य र व्यावहारिक मानवताभित्र काम गर्नुहुन्छ, तब उहाँले जे गर्नुहुन्छ त्यो मानवजातिको काम होइन, त्यो त परमेश्‍वरको काम हो। तैपनि मानिसहरूले उहाँको कामको सारलाई देख्दैनन्; तिनीहरूले सधैँ उहाँको मानवताको बाहिरी आवरणलाई मात्र देख्छन्। तिनीहरूले त्यस्तो ठूलो कामचाहिँ देखेका छैनन् तर तिनीहरू उहाँको सामान्य र साधारण मानवतालाई देखेको छौँ भनी जिद्दी गर्छन् र त्यो कुरालाई छोड्दै छोड्दैनन्। यसलाई कसरी परमेश्‍वरमा समर्पित भएको भनेर भन्‍न सकिन्छ? स्वर्गका परमेश्‍वर अब पृथ्वीका परमेश्‍वरमा “परिणत” हुनुभएको छ, र पृथ्वीका परमेश्‍वर अब स्वर्गका परमेश्‍वर हुनुहुन्छ। उहाँहरूको बाहिरी रूपरङ्ग एकसमान भए पनि त्यसले फरक पार्दैन, न त उहाँहरूले वास्तवमा कसरी काम गर्नुहुन्छ भन्‍ने कुराले नै कुनै फरक पार्छ। अन्त्यमा, जसले परमेश्‍वरको आफ्नै काम गर्नुहुन्छ उहाँ परमेश्‍वर स्वयम् नै हुनुहुन्छ। तैंले चाहे पनि वा नचाहे पनि तँ समर्पित हुनैपर्छ—यो तैँले छनौट गर्न पाउने विषय होइन! मानिसहरूले परमेश्‍वरको आज्ञापालन गर्नुपर्छ र मानिसहरू अलिकति पनि बहाना नबनाई पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुनुपर्छ।

आज देहधारी परमेश्‍वरले प्राप्त गर्न चाहनुभएका मानिसहरू ती हुन् जो उहाँको इच्छाअनुरूप छन्। तिनीहरू केवल उहाँको कामप्रति समर्पित हुनुपर्छ, र तिनीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरसम्बन्धी विचारहरू राख्दै अस्पष्टतामा जिउन र देहमा आउनुभएका परमेश्‍वरका निम्ति परिस्थिति कठिन बनाउन छोड्नुपर्छ। उहाँको आज्ञापालन गर्न सक्‍नेहरू तिनीहरू हुन् जो पूर्ण रूपमा उहाँको वचन सुन्छन् र उहाँको प्रबन्धहरूमा समर्पित हुन्छन्। त्यस्ता मानिसहरूले स्वर्गमा हुनुहुने परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ वा अहिले स्वर्गमा हुनुहुने परमेश्‍वरले मानवजातिमाझ कस्तो किसिमको काम गर्दै हुनुहुन्छ भन्‍ने कुरालाई कुनै वास्ता गर्दैनन्; तिनीहरूले पृथ्वीका परमेश्‍वरलाई पूर्ण रूपमा आफ्नो हृदय दिन्छन् र आफ्नो सम्पूर्ण अस्तित्व उहाँको सामु राखिदिन्छन्। तिनीहरूले आफ्नो सुरक्षालाई कहिल्यै पनि कुनै ध्यान दिँदैनन्, न त तिनीहरूले देहमा हुनुहुने परमेश्‍वरको सामान्यता र व्यावहारिकताको बारेमा नै अनावश्यक ध्यान दिन्छन्। देहधारी परमेश्‍वरमा समर्पित हुने मानिसहरूलाई उहाँले सिद्ध पार्न सक्‍नुहुन्छ। स्वर्गका परमेश्‍वरमा विश्‍वास गर्नेहरूले केही पनि पाउनेछैनन्। किनकि स्वर्गका परमेश्‍वरले नभई पृथ्वीका परमेश्‍वरले मानिसहरूलाई प्रतिज्ञा र आशीर्वादहरू दिनुहुन्छ। मानिसहरूले स्वर्गका परमेश्‍वरलाई सधैँ ठूलो बनाउने र पृथ्वीमा हुनुहुने परमेश्‍वरलाई सामान्य मानिसको रूपमा हेर्ने गर्नु हुँदैन; त्यसो गर्नु अनुचित हो। स्वर्गमा हुनुहुने परमेश्‍वर महान् र अद्भुत बुद्धिका हुनुहुन्छ, तर यसको कुनै अस्तित्वमा हुँदैन; पृथ्वीका परमेश्‍वर अति औसत र महत्त्वहीन हुनुहुन्छ, र सामान्य पनि हुनुहुन्छ। उहाँसँग असाधारण दिमाग छैन वा उहाँले पृथ्वी नै भत्काउन सक्‍ने कार्यहरू गर्नुहुन्‍न; उहाँले केवल सामान्य र व्यावहारिक ढङ्गले कार्य गर्नुहुन्छ र बोल्नुहुन्छ। उहाँले मेघगर्जनको माध्यमबाट बोल्‍ने वा हावा र वर्षालाई आज्ञा दिने नगर्नुभए तापनि, उहाँ साँच्‍चै नै स्वर्गका परमेश्‍वरका देहधारण हुनुहुन्छ, र उहाँ वास्तवमै मानवजातिमाझ बास गर्नुहुने परमेश्‍वर हुनुहुन्छ। मानिसहरूले आफूले बुझ्न सक्‍ने र परमेश्‍वर भनी आफूले गरेका कल्पनाहरूसँग मेल खाने व्यक्तिलाई उच्‍च पार्नु हुँदैन र आफूले स्विकार्न र कल्पना गर्नै नसक्‍ने व्यक्तिलाई तुच्छ ठान्‍नु हुँदैन। यो सबै मानिसहरूको विद्रोहबाट आउँछ; यो सबै नै परमेश्‍वरप्रति मानवजातिको विरोधको स्रोत हो।

अघिल्लो: परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

अर्को: सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

परमेश्‍वरको छ हजार वर्षको व्यवस्थापनको योजना अन्त्यतिर आइरहेको छ, र उहाँ देखा पर्नुभएको खोजी गर्ने सबैका निम्ति राज्यको ढोका यसअघि नै...

परमेश्‍वर स्वयम् अद्वितीय ३

परमेश्‍वरको अख्तियार (२)आज हामी “परमेश्‍वर स्वयम् अद्वितीय” शीर्षकको हाम्रो सङ्गतिलाई निरन्तरता दिनेछौं। हामीले पहिले नै यस विषयमा दुईवटा...

परमेश्‍वर स्वयम् अद्वितीय ८

सबै थोकका लागि जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ (२)हामी हाम्रो पछिल्लो विषयको सङ्गतिलाई निरन्तरता दिनेछौं। हाम्रो गत सङ्‍गतिको विषय के...

विजयको कामको भित्री सत्यता (१)

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन र उसले परमेश्‍वरको आराधना गर्न छाडेको छ। आदिमा,...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्