सिद्ध पारिनुपर्नेहरू शोधन भएर जानैपर्छ

तँ परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा परमेश्‍वरमा समर्पित हुनैपर्छ, तैँले सत्यतालाई व्यवहारमा लागू गर्नैपर्छ र आफ्ना सबै कर्तव्य पूरा गर्नैपर्छ। यसका साथै, तैँले आफूले अनुभव गर्नुपर्ने कुराहरू बुझ्नैपर्छ। यदि तँ काटछाँट गरिएको, ताडना दिइएको र न्याय गरिएको मात्र अनुभव गर्छस् भने, यदि तँ परमेश्‍वरमा आनन्दित मात्र हुन्छस्, तर परमेश्‍वरले तँलाई अनुशासित वा काटछाँट गरिरहनुहुँदा त्यो महसुस गर्न सक्दैनस् भने—यो अस्वीकार्य हुन्छ। सायद शोधनको यस घटनामा तँ अडिग रहन्छस्, तर यो अझै पनि पर्याप्त हुँदैन; तँ अझै पनि अगाडि बढ्दै जानैपर्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ अनन्त हुन्छ; यो कुनै पनि बिन्दुमा समाप्त हुनेछैन। मानिसहरू परमेश्‍वरमाथिको विश्‍वासलाई अति नै साधारण कुरा मान्छन्, तर तिनीहरूले यो वास्तवमा अनुभव गरेपछि परमेश्‍वरमाथिको विश्‍वास मानिसहरूले कल्पना गरेजस्तो सरल छैन भन्ने थाहा पाउँछन्। जब परमेश्‍वर मानिसलाई शोधन गर्न काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। व्यक्तिलाई गरिने शोधन जति ठूलो हुन्छ, उसको परमेश्‍वरलाई प्रेम गर्ने हृदय त्यति नै ठूलो हुनेछ, अनि उसमा परमेश्‍वरको महान् शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्ति शोधनबाट जति कम गुज्रन्छ, उसको परमेश्‍वरलाई प्रेम गर्ने हृदय त्यति नै सानो हुनेछ, अनि उसमा परमेश्‍वरको महान् शक्ति त्यति नै कम प्रकट हुनेछ। व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ अनि उसले जति सास्ती भोग्छ, परमेश्‍वरप्रतिको उसको प्रेम त्यति नै गहिरिनेछ, परमेश्‍वरमाथिको उसको आस्था त्यति नै सच्चा बन्नेछ, र परमेश्‍वरबारे उसको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा, तैँले ठूलो शोधन र कष्टबाट गुज्रेका, निकै काटछाँट गरिएका र अनुशासनमा राखिएकाती मानिसहरूमा परमेश्‍वरप्रति गहिरो प्रेम र परमेश्‍वरको अझ गहिरो र पूर्ण ज्ञान छ भन्‍ने देख्‍नेछस्। काटछाँट गरिएको अनुभव नगरेकाहरूमा सतही ज्ञान मात्र हुन्छ। तिनीहरू यसो मात्र भन्न सक्छन्, “परमेश्‍वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँ तिनीहरूलाई अनुग्रह दिनुहुन्छ।” यदि तिनीहरूले काटछाँट गरिएको र अनुशासनमा राखिएको अनुभव गरेका छन् भने तिनीहरू परमेश्‍वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। यसरी परमेश्‍वरले मानिसमा गर्नुहुने काम जति अद्भुत हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य हुन्छ र तेरो धारणासँग जति धेरै मेल खाँदैन, परमेश्‍वरको कामले तँलाई जित्न, र तँलाई हासिल गर्न र तँलाई सिद्ध बनाउन त्यति नै सक्षम हुन्छ। परमेश्‍वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्‍वरले मानिसलाई यसरी शोधन नगर्नुभएको भए, यदि उहाँले यस विधिअनुसार काम नगर्नुभएको भए, उहाँको काम अप्रभावी र महत्त्वहीन हुनेथियो। विगतमा उल्लेख गरिएको कुराको असाधारण महत्त्व यसैमा निहित छ—परमेश्‍वरले यस समूहलाई छान्नु र प्राप्त गर्नु, अनि आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण पार्नु। उहाँले तिमीहरूमा जति ठूलो काम गर्नुहुन्छ, परमेश्‍वरप्रतिको तिमीहरूको प्रेम त्यति नै गहिरो र शुद्ध हुन्छ। परमेश्‍वरको काम जति महान् हुन्छ, मानिसले उहाँको बुद्धिलाई त्यति नै बढी बोध गर्न सक्छ र उहाँबारे मानिसको ज्ञान त्यति नै गहिरो हुन्छ। आखिरी दिनहरूमा, परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापनको योजना समाप्त हुनेछ। के यो साँच्चै सजिलै समाप्त हुन सक्छ र? उहाँले मानवजातिलाई विजय गर्नुभएपछि, के उहाँको काम सकिनेछ र? के यो यति सरल हुन सक्छ र? मानिसहरू यो यति सरल हुन्छ भन्ने कल्पना गर्छन्, तर परमेश्‍वर जे गर्नुहुन्छ त्यो त्यति सरल हुँदैन। परमेश्‍वरले गर्नुहुने कामको हरेक पाटो मानिसले बुझ्‍न नसकिने हुन्छ। यदि तैँले यसलाई बुझ्न सकेको भए, परमेश्‍वरको कामको महत्त्व वा मूल्य रहनेथिएन। परमेश्‍वरद्वारा गरिने काम बुझ्‍न नसकिने हुन्छ; यो तेरा धारणाहरूसँग अत्यन्तै नमिल्ने हुन्छ, र यो तेरा धारणाहरूसँग जति धेरै नमिल्ने हुन्छ, परमेश्‍वरको काम त्यति नै बढी अर्थपूर्ण भएको देखिन्छ; यदि यो तेरा धारणाहरूसँग मिल्ने भएको भए, यो अर्थहीन हुनेथियो। आज, तँलाई परमेश्‍वरको काम अत्यन्तै अद्भुत छ भन्‍ने लाग्छ, र तँलाई यो जति अद्भुत छ भन्‍ने लाग्छ, त्यति नै तँलाई परमेश्‍वर बुझ्‍न नसकिने हुनुहुन्छ भन्‍ने लाग्छ, अनि तैँले परमेश्‍वरका कार्यहरू कति महान् छन् भनी देख्छस्। यदि उहाँले मानिसलाई विजय गर्न केही देखावटी, झाराटारुवा काम मात्रै गर्नुभएको र त्यसपछि अरू केही नगर्नुभएको भए, मानिस परमेश्‍वरको कामको महत्त्व देख्न असक्षम हुनेथियो। अहिले तैँले थोरै शोधन भोगिरहेको भए पनि, यसले तेरो जीवनमा हुने वृद्धिलाई ठूलो फाइदा गराउँछ; त्यसैले तैँले यस्तो दुःख अनुभव गर्नु सबैभन्दा जरुरी छ। आज, तँ थोरै शोधन भोगिरहेको छस्, तर पछि तैँले परमेश्‍वरका कार्यहरू साँच्चिकै देख्न सक्नेछस्, र अन्ततः तैँले यसो भन्‍नेछस्, “परमेश्‍वरका कार्यहरू अत्यन्तै अद्भुत छन्!” तेरो हृदयमा यिनै शब्दहरू हुनेछन्। केही समय परमेश्‍वरको शोधन (सेवाकर्ताहरूको परीक्षा र सजायको समय) अनुभव गरेपछि, कतिपय मानिसले अन्ततः यसो भने, “परमेश्‍वरमा विश्‍वास गर्नु साँच्चै गाह्रो छ!” तिनीहरूले “साँच्चै गाह्रो” भन्‍ने शब्दहरू प्रयोग गर्नुले परमेश्‍वरका कार्यहरू बुझ्‍न नसकिने छन्, परमेश्‍वरको कामको ठूलो महत्त्व र मूल्य छ, र उहाँको काम मानिसद्वारा बहुमूल्य ठानिन अत्यन्तै योग्य छ भन्‍ने देखाउँछ। मैले यति धेरै काम गरिसकेपछि पनि, यदि तँलाई अलिकति पनि ज्ञान नभएको भए, के मेरो कामको अझै पनि मूल्य हुनेथियो र? यसले तँलाई यसो भन्‍न बाध्य पार्नेछ, “परमेश्‍वरको सेवा गर्नु साँच्चै गाह्रो छ, परमेश्‍वरका कार्यहरू अत्यन्तै अद्भुत छन्, र परमेश्‍वर साँच्चै बुद्धिमान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ!” यदि, केही समय अनुभव भोगेपछि, तँ त्यस्ता शब्दहरू भन्‍न सक्ने हुन्छस् भने, यसले तैँले आफूमा परमेश्‍वरको काम प्राप्त गरेको छस् भन्‍ने प्रमाणित गर्छ। कुनै दिन, जब तँ विदेशमा प्रचार गरिरहेको हुन्छस् र कसैले तँलाई “परमेश्‍वरमाथिको तिम्रो विश्‍वास कस्तो चलिरहेको छ?” भनेर सोध्छ, तब तैँले यसो भन्‍न सक्नेछस्, “परमेश्‍वरका कार्यहरू अत्यन्तै आश्चर्यजनक छन्!” उसलाई तेरा शब्दहरूले व्यावहारिक अनुभवहरूबारे बोलेको महसुस हुनेछ। यो साँचो गवाही हो। तँ परमेश्‍वरको काम बुद्धिले भरिपूर्ण छ, तँमाथिको उहाँको कामले तँलाई साँच्चै विश्‍वस्त पारेको छ र तेरो हृदयलाई विजय गरेको छ, र तैँले उहाँलाई सधैँ प्रेम गर्ने किनभने उहाँ मानवजातिको प्रेमको अत्यन्तै योग्य हुनुहुन्छ भनेर भन्‍नेछस्! यदि तँ यी कुराहरूबारे बोल्न सक्छस् भने, तैँले मानिसहरूको हृदयलाई प्रेरित गर्न सक्छस्। यी सबै गवाही हुन्। यदि तँ मानिसहरूलाई रुवाउने गरी जोरदार रूपमा यो गवाही दिन सक्षम छस् भने, त्यसले तँ परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने व्यक्ति भएको देखाउँछ, किनभने तँ परमेश्‍वरलाई प्रेम गर्ने गवाही दिन सक्षम छस्, साथै तँमार्फत, परमेश्‍वरका कार्यहरू गवाहीमा प्रमाणित हुन सक्छन्। यदि तेरो गवाहीले अरूलाई परमेश्‍वरको काम खोज्न, परमेश्‍वरको काम अनुभव गर्न, र तिनीहरूले अनुभव गर्ने जुनसुकै वातावरणमा दृढ रहन सक्षम बनाउँछ भने, यो र यस्तो प्रकारको गवाही मात्रै साँचो गवाही हो, र अहिले तँबाट माग गरिएको कुरा ठ्याक्कै यही हो। तैँले के देख्नुपर्छ भने परमेश्‍वरको काम अत्यन्तै मूल्यवान् र मानिसहरूद्वारा बहुमूल्य ठानिन योग्य छ, परमेश्‍वर अत्यन्तै बहुमूल्य र अत्यन्तै प्रशस्त हुनुहुन्छ; उहाँले बोल्न मात्र होइन, मानिसहरूको न्याय गर्न, तिनीहरूको हृदयलाई शोधन गर्न, तिनीहरूलाई आनन्द दिन, तिनीहरूलाई प्राप्त गर्न, तिनीहरूलाई विजय गर्न, र तिनीहरूलाई सिद्ध पार्न पनि सक्नुहुन्छ। तेरो अनुभवबाट तैँले परमेश्‍वर अत्यन्तै प्रेम गर्न लायक हुनुहुन्छ भन्‍ने देख्नेछस्। त्यसोभए तँ अहिले परमेश्‍वरलाई कति प्रेम गर्छस्? के तँ साँच्चै यी कुराहरू आफ्नो हृदयबाट भन्‍न सक्छस्? जब तँ आफ्नो हृदयको गहिराइबाट यी शब्दहरू व्यक्त गर्न सक्षम हुन्छस्, तब तँसँग गवाही हुनेछ। एकपटक तेरो अनुभव यस स्तरमा पुगेपछि तँ परमेश्‍वरका लागि साक्षी दिन सक्षम हुनेछस्, र तँ त्यसो गर्न योग्य हुनेछस्। यदि तँ आफ्नो अनुभवमा यस स्तरमा पुगिनस् भने, तँ अझै पनि धेरै टाढा हुनेछस्। शोधनको क्रममा मानिसहरूले कमजोरीहरू देखाउनु सामान्य हो, तर शोधनपछि तैँले यसो भन्‍न सक्नुपर्छ, “परमेश्‍वर आफ्नो काममा अत्यन्तै बुद्धिमान् हुनुहुन्छ!” यदि तँ साँच्चै यी शब्दहरूको व्यावहारिक बुझाइ प्राप्त गर्न सक्षम भइस् भने, त्यो बहुमूल्य हुनेछ, र तेरो अनुभवको मूल्य हुनेछ।

अहिले तैँले के पछ्याउनुपर्छ? तैँले परमेश्‍वरको कामको साक्षी दिन सक्नु वा नसक्नु, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सक्नु वा नसक्नु, अनि तँ उहाँद्वारा प्रयोग गरिन योग्य हुनु वा नहुनु—तैँले पछ्याउनुपर्ने कुराहरू यिनै हुन्। परमेश्‍वरले तँमा साँच्चै कति काम गर्नुभएको छ? तैँले कति देखेको छस्, तैँले कति बोध गरेको छस्? तैँले कति अनुभव गरेको, र चाखेको छस्? चाहे परमेश्‍वरले तँलाई जाँच्नुभएको, काटछाँट गर्नुभएको होस्, वा आनुशासनमा राख्नुभएको होस्, उहाँका कार्यहरू र उहाँको काम तँमा गरिएका छन्। तर परमेश्‍वरको विश्‍वासी र उहाँद्वारा सिद्ध पारिने पछ्याइ गर्न इच्छुक व्यक्तिका रूपमा, के तँ आफ्नो व्यावहारिक अनुभवका आधारमा परमेश्‍वरको कामको गवाही दिन सक्छस्? के तँ आफ्नो व्यावहारिक अनुभवमार्फत परमेश्‍वरको वचन जिउन सक्छस्? के तँ आफ्नै व्यावहारिक अनुभवमार्फत अरूलाई आपूर्ति गर्न सक्छस्, र आफ्‍नो सम्पूर्ण जीवन परमेश्‍वरको कामको गवाही दिन समर्पित गर्न सक्छस्? परमेश्‍वरको कामको गवाही दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नैपर्छ। यसरी मात्र तँ उहाँका अभिप्रायहरू पूरा गर्न सक्छस्। के तँ परमेश्‍वरको कामको गवाही दिने व्यक्ति होस्? के तँमा यो सङ्कल्प छ? यदि तँ उहाँको नाउँको, र अझ बढी, उहाँको कामको गवाही दिन सक्छस् भने, अनि उहाँले माग गर्नुहुने उहाँका मानिसहरूको स्वरूपमा जिउन सक्छस् भने, तँ परमेश्‍वरको गवाही दिने व्यक्ति होस्। तँ कसरीचाहिँ परमेश्‍वरको गवाही दिन्छस् त? यदि तँ मानिसहरूले परमेश्‍वरको काम थाहा पाउन र उहाँका कार्यहरू देख्न सकून् भनेर परमेश्‍वरको वचन जिउन र आफ्नै मुखले गवाही दिन खोज्छस् र त्यसको तृष्णा गर्छस् भने—यदि तँ साँच्‍चै यो पछ्याउँछस् भने, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ परमेश्‍वरबाट सिद्ध पारिन र अन्ततः आशिषित हुन मात्रै पछ्याउँछस् भने, परमेश्‍वरप्रतिको तेरो आस्थाको दृष्टिकोण शुद्ध छैन। तैँले परमेश्‍वरका कार्यहरू वास्तविक जीवनमा कसरी देख्ने, उहाँले तँलाई आफ्ना अभिप्रायहरू प्रकट गर्नुहुँदा उहाँलाई कसरी सन्तुष्ट पार्ने भनी पछ्याइरहेको हुनुपर्छ, र कसरी उहाँको अद्भुतता र बुद्धिको साक्षी दिने, अनि कसरी उहाँले तँलाई ताडना दिनु र काटछाँट गर्नुको साक्षी दिने भनी पछ्याइरहेको हुनुपर्छ। यी सबै तैँले अहिले मनन गरिरहेको हुनुपर्ने कुरा हुन्। परमेश्‍वरले तँलाई सिद्ध पार्नुभएपछि तैँले परमेश्‍वरसँगै महिमा पाउन सक्छस् भनेर मात्रै तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ भने, त्यो अझै अपर्याप्त हुन्छ र त्यसले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैन। तैँले व्यावहारिक रूपमा परमेश्‍वरको कामको साक्षी दिन, उहाँका मागहरू पूरा गर्न, र उहाँले मानिसहरूमा गर्ने काम अनुभव गर्न सक्नुपर्छ। चाहे त्यो पीडा होस्, आँसु होस्, वा दुःख होस्, तैँले यी सबै कुरा व्यावहारिक रूपमा अनुभव गर्नैपर्छ। ती तँलाई परमेश्‍वरको गवाहीका रूपमा सिद्ध पार्नका लागि हुन्। त्यो ठ्याक्कै के कुरा हो जसले अहिले तँलाई दुःख भोग्‍न र सिद्ध पारिने पछ्याइमा लाग्न बाध्य पार्छ? के तेरो वर्तमान दुःख भोगाइ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न र उहाँको साक्षी दिनका खातिर नै हो? वा के यो शरीरको आशिषहरू, र तेरो भविष्यको सम्भावना र गन्तव्यको निम्ति हो? तेरा उद्देश्यहरू, अभिप्रायहरू र तैँले खोजी गर्ने लक्ष्यहरू सबैलाई सुधारिनुपर्छ अनि ती तेरा आफ्नै इच्छाद्वारा निर्देशित हुन सक्दैनन्। यदि एक व्यक्ति आशिष्‌हरू पाउन र राजाजस्तै शक्ति हातमा लिनका लागि सिद्ध पारिने पछ्याइमा लाग्छ, अनि अर्को व्यक्ति चाहिँ परमेश्‍वरलाई सन्तुष्ट पार्न, परमेश्‍वरको कामको व्यावहारिक साक्षी दिन सिद्ध पारिने पछ्याइमा लाग्छ भने, पछ्याइका यी दुईवटा उपायमध्ये तँ कुन रोज्छस्? यदि तैँले पहिलोलाई चुनिस् भने तँ परमेश्‍वरको मापदण्डहरूबाट अझै पनि टाढा हुनेछस्। मैले एकपटक मेरा कार्यहरू सम्पूर्ण ब्रह्माण्डभरि सार्वजनिक गरिनेछ र म एक राजाजस्तै ब्रह्माण्डमा शक्ति हातमा लिनेछु भनेर भनेको थिएँ। अर्कोतिर, तिमीहरूलाई सुम्पिएको काम भनेको परमेश्‍वरको कामको साक्षी दिने हो, राजा बन्ने र सारा ब्रह्माण्डमा देखा पर्ने होइन। परमेश्‍वरका कार्यहरूलाई ब्रह्माण्ड र आकाशमण्डल भर्न दिनु, सबैलाई ती कुरा हेर्न र स्वीकार गर्न दिनु—यी वचनहरू परमेश्‍वर स्वयम्‌का सम्बन्धमा बोलिएका हुन्, अनि मानवजातिले गर्नुपर्ने काम भनेको परमेश्‍वरको साक्षी दिनु हो। तँ परमेश्‍वरलाई कति बुझ्छस्? तँ परमेश्‍वरको कतिसम्म साक्षी दिन सक्छस्? परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुको उद्देश्य के हो? एकपटक परमेश्‍वरका अभिप्रायहरू बुझेपछि, तैँले उहाँका अभिप्रायहरूलाई कसरी ख्याल गर्नुपर्छ? यदि तँ सिद्ध पारिने इच्छा गर्छस् र आफ्‍नो जियाइद्वारा परमेश्‍वरको कामको साक्षी दिन चाहन्छस् भने, यदि तँमा यो प्रेरक शक्ति छ भने, कुनै पनि कुरा त्यत्ति कठिन हुँदैन। मानिसहरूलाई अहिले चाहिने भनेको विश्‍वास नै हो। यदि तँसित यो प्रेरक शक्ति छ भने, तँलाई कुनै पनि नकारात्मकता, निष्क्रियता, अल्छीपन र शरीरका विचारहरू, सांसारिक कुराहरू सम्‍बन्धी दर्शनहरू, विद्रोही स्वभाव, भावनाहरू, आदि त्याग्न सजिलो हुन्छ।

परीक्षाहरू भोग्दा, मानिसहरू कमजोर हुनु, भित्री रूपमा नकारात्मक हुनु, परमेश्‍वरका अभिप्रायहरू नबुझ्नु वा अभ्यासको मार्गबारे प्रस्टता नहुनु सामान्य हो। तर जे भए पनि, तँमा परमेश्‍वरको कामप्रति आस्था हुनैपर्छ, अनि अय्यूबले जस्तै, तैँले परमेश्‍वरलाई इन्कार गर्नु हुँदैन। अय्यूब कमजोर भए पनि र उसले आफू जन्मेको दिनलाई सरापे पनि, उसले मानिसहरू जन्मेपछि, तिनीहरूसँग हुने सबै थोक यहोवाले नै दिनुहुन्छ, र यहोवाले नै ती लैजानु पनि हुन्छ भन्‍ने कुरा इन्कार गरेन। उसलाई जस्तोसुकै परीक्षाहरू भोगाइएको भए पनि, उसले यो विश्‍वास कायम राख्यो। तैँले आफ्ना अनुभवहरूभित्र परमेश्‍वरका वचनहरूबाट जे-जस्तो शोधन भोगे पनि, परमेश्‍वरले समग्रमा चाहने भनेको तेरो आस्था र परमेश्‍वरलाई प्रेम गर्ने हृदय नै हो। यसरी काम गरेर उहाँ मानिसहरूको आस्था, प्रेम र सङ्कल्पलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्धताको काम गर्नुहुन्छ, र तिनीहरू त्यो देख्न सक्दैनन्, त्यो छुन सक्दैनन्; त्यस्ता परिस्थितिहरूमा, आस्था आवश्यक हुन्छ। जब कुनै कुरा नाङ्गो आँखाले देख्न सकिँदैन, त्यतिबेला आस्था चाहिन्छ। जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्, त्यतिबेला आस्था चाहिन्छ। जब परमेश्‍वरको कामको विषयबारे तँमा स्पष्टता हुँदैन, त्यतिबेला तैँले आस्था राख्न र बलियो अडान लिन र आफ्नो गवाहीमा दृढ रहन आवश्यक हुन्छ। जब अय्यूब यस बिन्दुमा पुग्यो, परमेश्‍वर ऊकहाँ देखा पर्नुभयो र ऊसँग बोल्नुभयो। अर्थात्, तँसँग आस्था हुँदा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्नेछस्, जब तँसँग आस्था हुन्छ, तब परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ, र यदि तँसँग आस्था छैन भने, उहाँ यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्‍वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग आस्था छैन भने, तँलाई सिद्ध पार्न सकिँदैन, तैँले परमेश्‍वरका कार्यहरू देख्न सक्नेछैनस्, उहाँको सर्वशक्तिमान्‌ता देख्नु त परै जाओस्। जब तँसँग आफ्ना वास्तविक अनुभवमा उहाँका कार्यहरू देख्ने आस्था हुन्छ, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई भित्रैबाट अन्तर्दृष्टि दिनुहुनेछ अनि तँलाई मार्गदर्शन गर्नुहुनेछ। त्यस आस्थाबिना, परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुनेछैन। यदि तैँले परमेश्‍वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको काम अनुभव गर्न सक्‍नेछस् र? त्यसकारण, तँमा आस्था छ र तँ परमेश्‍वरप्रति शङ्का पाल्दैनस् भने मात्र, उहाँले जे गर्दा पनि उहाँप्रति तँमा साँचो विश्‍वास हुँदा मात्र, उहाँले तँलाई तेरा अनुभवहरूमार्फत अन्तर्दृष्टि र ज्योति दिनुहुनेछ, र तब मात्र तैँले उहाँका कार्यहरू देख्न सक्‍नेछस्। यी सबै कुरा आस्थामार्फत नै प्राप्त हुन्छन्। आस्था शोधनमार्फत मात्र आउँछ, अनि शोधनबिना, आस्थाको विकास हुन सक्दैन। आस्थाले के जनाउँछ? आस्था भनेको मानिसहरूले कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानव धारणाहरूअनुरूप नहुँदा र त्यो मानवको पहुँचभन्दा बाहिर हुँदा मानिसहरूसँग हुनुपर्ने साँचो विश्वास र सच्चा हृदय हो। मैले यही आस्थाबारे कुरा गरेको हुँ। कष्ट र शोधनको दौरान मानिसहरूमा आस्था हुनुपर्छ, र जब तिनीहरूसँग आस्था हुन्छ, तब तिनीहरूले शोधन सामना गर्छन्—शोधन र आस्थालाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि, र तेरो वातावरण जस्तोसुकै भए पनि, यदि तँ जीवन पछ्याउन र सत्यताको खोजी गर्न, परमेश्‍वरको कामसम्बन्धी ज्ञान पछ्याउन, र उहाँका कार्यहरू जान्न खोज्न सक्‍छस्, साथै तँ सत्यताअनुसार कार्य गर्न सक्षम हुन्छस् भने, यो नै साँचो आस्था हुनु हो, अनि यसले तैँले परमेश्‍वरमाथिको आस्था गुमाएको छैनस् भन्‍ने प्रमाणित गर्छ। यदि तँ शोधनको दौरान सत्यता पछ्याउनमा अडिग रहन, साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस्, र उहाँबारे शङ्काहरू विकास गर्दैनस्, अनि उहाँले चाहे जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न अझै पनि सत्यता अभ्यास गर्छस्, र भित्री गहिराइमा उहाँका अभिप्रायहरू खोज्न र उहाँका अभिप्रायहरूलाई ख्याल गर्न सक्छस् भने, परमेश्‍वरमाथि साँचो आस्था हुनु भनेको यही हो। विगतमा, परमेश्‍वरले तैँले राजाका रूपमा शक्ति हातमा लिनेछस् भनेर भन्नुहुँदा, तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँ आफै खुला रूपमा तँकहाँ देखिनुभयो, तब तैँले उहाँलाई पछ्याइस्। तर अहिले परमेश्‍वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि कष्ट आइपरेको छ—यस समयमा, के तँ परमेश्‍वरमा आशा गुमाउँछस्? यसैले, तैँले हरसमय जीवन पछ्याउनैपर्छ र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न खोज्नैपर्छ। यसैलाई साँचो आस्था भनिन्छ, र यो नै सबैभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।

विगतमा, मानिसहरू सबै आफ्नो सङ्कल्प गर्न परमेश्‍वरसामु आउँथे, र तिनीहरू यसो भन्थे, “अरू कसैले परमेश्‍वरलाई प्रेम नगरे पनि, मैले उहाँलाई प्रेम गर्नैपर्छ।” तर अहिले, तँमाथि शोधन आइपर्छ, र यो तेरा धारणाहरूसँग नमिल्ने भएपछि, तैँले परमेश्‍वरमाथिको आस्था गुमाउँछस्। के यो सच्चा प्रेम हो? तैँले अय्यूबका कार्यहरूका बारेमा धेरै पटक पढेको छस्—के तैँले तिनका बारेमा बिर्सेको छस्? साँचो प्रेमले आस्थाभित्रैबाट मात्र आकार लिन सक्छ। तैँले भोग्ने शोधनहरूमार्फत परमेश्‍वरप्रति साँचो प्रेम विकास गर्नु, र तेरा वास्तविक अनुभवहरूमा, आस्थाका साथ परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नु, अनि आफ्नै देहविरुद्ध विद्रोह गर्नु र आस्थाका साथ जीवन पछ्याउनु—मानिसहरूले गर्नुपर्ने नै यही हो। यदि तैँले यसो गरिस् भने, तैँले परमेश्‍वरका कार्यहरू देख्न सक्नेछस्, तर यदि तँमा आस्थाको कमी छ भने, तैँले परमेश्‍वरका कार्यहरू देख्न वा उहाँको काम अनुभव गर्न सक्नेछैनस्। यदि तँ परमेश्‍वरद्वारा प्रयोग गरिन र सिद्ध पारिन चाहन्छस् भने, तँसँग सत्यताको हरेक पक्ष हुनैपर्छ: दुःख भोग्ने सङ्कल्प, आस्था, सहनशक्ति, समर्पण, अनि सत्यता खोज्ने र परमेश्‍वरका अभिप्रायहरू बुझ्ने सामर्थ्य, उहाँका दुःखपिर र श्रमसाध्य अभिप्रायहरूलाई ख्याल गर्ने सामर्थ्य, आदि। कुनै व्यक्तिलाई सिद्ध पार्नु सजिलो छैन, र तैँले अनुभव गर्ने हरेक शोधनमा तेरो आस्था र प्रेम आवश्यक पर्छ। यदि तँ परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस् भने, दौडधुप गर्नु मात्रै पर्याप्त हुँदैन, न त परमेश्‍वरप्रति आफूलाई अर्पण गर्नु मात्रै नै पर्याप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध पारिने व्यक्ति बन्न सक्षम हुनका लागि तँसँग धेरै कुरा हुनैपर्छ। जब तँ दुःखको सामना गर्छस्, तब तँ देहलाई ख्याल गर्न छोड्न र परमेश्‍वरका विरुद्धमा गुनासाहरू नगर्न सक्षम हुनैपर्छ। जब परमेश्‍वर स्वयम्‌ तँबाट लुक्नुहुन्छ, त्यतिबेला तैँले उहाँलाई पछ्याउने आस्था राख्न, र तेरो पहिलेको प्रेमलाई परिवर्तन हुन वा विलीन हुन नदिई कायम राख्न सक्षम सक्नैपर्छ। परमेश्‍वरले चाहे जेसुकै गर्नुहोस्, तैँले उहाँलाई उहाँको इच्छाअनुसार योजनाबद्ध गर्न दिनैपर्छ, र उहाँविरुद्ध गुनासाहरू गर्नुभन्दा बरु आफ्नै देहलाई सराप्न रुचाउनुपर्छ। तैँले परीक्षाहरू सामना गर्दा परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनुको साटो आफ्नो प्रिय वस्तु त्याग्ने पीडा सहन र नराम्ररी रुन रोज्नैपर्छ। यो मात्र साँचो प्रेम र साँचो आस्था हो। तेरो वास्तविक कद जे भए पनि सुरुमा तँसित दुःख भोग्ने यो सङ्कल्प र साँचो आस्था दुवै हुनुपर्छ। तँसित देहविरुद्ध विद्रोह गर्ने सङ्कल्प पनि हुनैपर्छ; तँ परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न असफल हुनुभन्दा बरु दुःख भोग्न र आफ्ना व्यक्तिगत हितहरूमा क्षति भोग्न रुचाउनुपर्छ। तँ हृदयमा अफसोस महसुस गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्न सकेको थिइनस्, र अहिले तैँले अफसोस महसुस गर्न सक्छस्। तँमा यी कुनै पनि कुराको कमी हुनु हुँदैन—यिनै कुराहरूमार्फत परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तैँले यी सर्तहरू पूरा गर्दैनस् भने, तँलाई सिद्ध पार्न सकिँदैन।

परमेश्‍वरको सेवा गर्ने व्यक्तिले उहाँका निम्ति दुःख भोग्न मात्र जानेर हुँदैन; त्योभन्दा बढी, उसले परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य भनेको उहाँलाई प्रेम गर्ने पछ्याइ हो भन्‍ने कुरा बुझ्नुपर्छ। परमेश्‍वरले तँलाई शोधन गर्न र तँलाई दुःख भोगाउन मात्र तँलाई प्रयोग गर्नुहुन्न, बरु उहाँ तैँले उहाँका कार्यहरू चिन्न, मानव जीवनको साँचो महत्त्व थाहा पाउन, र अझ बढी, परमेश्‍वरको सेवा गर्नु सजिलो काम होइन भनेर थाहा पाउन सकेस् भनेर तँलाई प्रयोग गर्नुहुन्छ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको अनुग्रहको आनन्द लिनु होइन; बरु त्योभन्दा बढी यो परमेश्‍वरलाई प्रेम गर्नका खातिर दुःख भोग्नु हो। तँ परमेश्‍वरको अनुग्रहमा रमाउने भएकाले, तँ उहाँको सजायमा पनि रमाउनैपर्छ; तैँले यो सबै अनुभव गर्नैपर्छ। यदि तैँले परमेश्‍वरले तँलाई अन्तर्दृष्टि दिनुभएको अनुभव गर्न सक्छस्, र तैँले उहाँले तँलाई काटछाँट र न्याय गर्नुभएको पनि अनुभव गर्न सक्छस् भने, तेरो अनुभव व्यापक हुनेछ। परमेश्‍वरले तँमाथि उहाँको न्यायको काम गर्नुभएको छ र उहाँले तँमाथि उहाँको सजायको काम पनि गर्नुभएको छ। परमेश्‍वरको वचनले तँलाई काटछाँट गरेको छ, तर त्यसले तँलाई अन्तर्दृष्टि र ज्योति पनि दिएको छ। जब तँ नकारात्मक र कमजोर हुन्छस्, परमेश्‍वरले अझै पनि तेरो निम्ति चिन्ता गर्नुहुन्छ। यो सबै कामले तँलाई मानिस सम्बन्धी सबै कुरा परमेश्‍वरका योजनाबद्ध कार्यहरूभित्र पर्छ भन्ने कुरा सिकाउँछ। तँलाई परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नु हो, वा उहाँका निम्ति धेरै कुरा गर्नु हो, वा तेरो देह शान्तिमा हुनु हो, वा तेरा लागि सबै कुरा सहज रूपमा चल्नु हो, र सबै कुरामा तँलाई आरामदायी र सहजता होस् भन्‍ने लाग्न सक्छ। मानिसहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा यीमध्ये कुनै पनि उद्देश्यहरू राख्‍नु हुँदैन। यदि तँ यी उद्देश्यहरूले विश्‍वास गर्छस् भने, तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु बिलकुलै असम्भव हुन्छ। परमेश्‍वरका कार्यहरू, परमेश्‍वरको धर्मी स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, अनि उहाँको अद्भुतता र बुझ्न नसकिने अवस्था, यी सबै मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझाइमार्फत तैँले आफ्नो हृदयलाई आफ्ना व्यक्तिगत माग, आशा, र धारणाहरूबाट मुक्त गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तैँले परमेश्‍वरद्वारा माग गरिएका सर्तहरू पूरा गर्न सक्छस्। यसमार्फत मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस समूहमार्फत उहाँका कार्यहरू र महिमा प्रकट हुन सकून्। यो नै परमेश्‍वरमा विश्‍वास गर्नेबारे सही दृष्टिकोण हो, अनि तैँले पछ्याउनुपर्ने लक्ष्य पनि यही नै हो। परमेश्‍वरमा विश्‍वास गर्नेबारे तेरो दृष्टिकोणलाई सही पार्नैपर्छ, र तैँले परमेश्‍वरका वचनहरू प्राप्त गर्न खोज्नुपर्छ। तैँले परमेश्‍वरका वचन खानु र पिउनु आवश्यक छ र तँ सत्यतामा जिउन सक्नैपर्छ, अनि विशेष गरी तैँले उहाँका व्यावहारिक कार्यहरू, सम्पूर्ण ब्रह्माण्डमा उहाँका अद्भुत कार्यहरू, साथै उहाँले देहमा गर्ने व्यावहारिक काम देख्‍न सक्नुपर्छ। मानिसहरूले आफ्‍ना वास्तविक अनुभवहरूमार्फत परमेश्‍वरले उनीहरूमा कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँका अभिप्रायहरू के-के हुन् भन्ने कुरा बोध गर्नुपर्छ। यो सबैको उद्देश्य मानिसहरूले आफ्ना शैतानी भ्रष्ट स्वभावहरू फाल्न सकून् भन्ने हो। तँभित्रका सबै अशुद्धता र अधार्मिकता फालेर, अनि तेरा गलत अभिप्रायहरू फालेर, तैँले परमेश्‍वरप्रति साँचो विश्वास विकास गर्नेछस्। केवल साँचो विश्वासका साथ तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्ने जगमा मात्रै तँ उहाँलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। के तँ परमेश्‍वरलाई विश्‍वास नगरी उहाँप्रतिको प्रेम हासिल गर्न सक्छस्? तैँले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, त्यसबारे तँ भ्रमित बन्न सक्दैनस्। कतिपय मानिस परमेश्‍वरमाथिको आस्थाले तिनीहरूलाई आशिष्‌हरू दिलाउँछ भन्‍ने देख्‍नेबित्तिकै उत्प्रेरित हुन्छन्, तर तिनीहरू आफूले शोधनहरू भोग्नुपर्ने देख्‍नेबित्तिकै सबै उत्प्रेरणा गुमाउँछन्। के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? अन्ततः तैँले आफ्नो आस्थामा परमेश्‍वरसामु पूर्ण र पूरा समर्पणता हासिल गर्नैपर्छ। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर यदि तँ अझै पनि उहाँप्रति मागहरू राख्छस्, तँसँग तैँले छोड्न नसक्ने धेरैवटा धार्मिक धारणा छन्, तैँले त्याग्न नसक्ने व्यक्तिगत हितहरू छन्, र अझै पनि तँ देहका आशिष्‌हरू खोज्छस् र परमेश्‍वरले तेरो देहलाई मुक्ति दिनुहोस्, तेरो प्राणलाई मुक्ति दिनुहोस् भन्ने चाहन्छस् भने, तँ गलत दृष्टिकोण भएको व्यक्तिको व्यवहार देखाइरहेको छस्। धार्मिक विश्‍वास हुने मानिसहरूमा परमेश्‍वरप्रति आस्था भए पनि, तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्‍वरको ज्ञान पछ्याउँदैनन्, बरु तिनीहरूको देहका हितहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक विश्वासको वर्गमा पर्ने आस्था छ; यो परमेश्‍वरमाथिको साँचो आस्था होइन। परमेश्‍वरमा विश्‍वास गर्नका निम्ति मानिसहरूमा उहाँका निम्ति दुःख भोग्न तयार हुने र आफैलाई त्याग्ने सङ्कल्प हुने हृदय हुनैपर्छ। मानिसले यी दुईवटा सर्त पूरा नगरेसम्म परमेश्‍वरमाथिको तिनीहरूको आस्था मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन हासिल गर्न सक्षम हुनेछैनन्। साँचो रूपले सत्यता, परमेश्‍वरको ज्ञान, र जीवन पछ्याउने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्।

जब तँमाथि परीक्षाहरू आउँछन्, तब ती परीक्षाहरूको सामना गर्न तैँले कसरी परमेश्‍वरको वचन प्रयोग गर्नेछस्? तँ नकारात्मक बन्‍नेछस्, कि परमेश्‍वरले मानिसलाई गर्नुहुने जाँच र शोधनलाई सकारात्मक रूपमा बुझ्छस्? परमेश्‍वरका जाँचहरू र शोधनहरूबाट तैँले के प्राप्त गर्नेछस्? के परमेश्‍वरप्रतिको तेरो प्रेम बढ्नेछ? जब तँ शोधनमा पर्छस्, के तँ अय्यूबका जाँचहरू प्रयोग गर्न अनि परमेश्‍वरले तँमा गर्नुहुने कार्यमा गम्भीरतासाथ संलग्न हुन सक्छस्? परमेश्‍वरले अय्यूबका आपत्-विपदहरूद्वारा मानिसलाई कसरी जाँच्नुहुन्छ भन्‍ने कुरा के तँ देख्न सक्छस्? अय्यूबका जाँचहरूले तँलाई कस्तो किसिमको प्रेरणा दिन्छ? के तँ शोधन भइरहेको बेला परमेश्‍वरका निम्ति साक्षी भई खडा हुन इच्छुक हुनेछस् वा के सहज वातावरणमा शरीरलाई सन्तुष्ट पार्न चाहनेछस्? परमेश्‍वरमा विश्‍वास गर्नेबारे तेरो वास्तविक दृष्टिकोण के हो? के त्यो साँच्चै उहाँको निम्ति हो तर शरीरका निम्ति होइन? के तँसित साँच्चै एउटा लक्ष्य छ, जसको पछि तँ लाग्छस्? के तँ परमेश्‍वरद्वारा सिद्ध पारिनलाई शोधनबाट भएर जान चाहन्छस्, वा तँ परमेश्‍वरद्वारा सजाय र सराप पाउन चाहन्छस्? परमेश्‍वरको साक्षी बन्ने विषयमा तेरो वास्तविक दृष्टिकोण के हो? परमेश्‍वरको साँचो साक्षी दिनका निम्ति मानिसहरूले विशेष परिस्थितिहरूमा के गर्नुपर्छ? व्यावहारिक परमेश्‍वरले तँमा गर्नुभएको उहाँको व्यावहारिक काममा धेरै कुरा प्रकट गर्नुभएको छ भने तँ किन सधैँ छोडेर जाने विचार गर्छस्? के तँ परमेश्‍वरलाई परमेश्‍वर नै ठानेर विश्‍वास गर्छस्? किनकि तिमीहरूमध्ये धेरैको निम्ति, तिमीहरूको विश्‍वास तिमीहरूको आफ्‍नै फाइदाको लागि तिमीहरूले गर्ने तिमीहरूको आफ्नै अनुमानको हिस्सा हो। थोरै मानिसले मात्र परमेश्‍वरलाई परमेश्‍वर नै ठानेर विश्‍वास गर्छन्; के यो विद्रोह होइन र?

शोधनको कामको उद्देश्य मूलतः मानिसहरूको आस्थालाई सिद्ध पार्नु हो। अन्ततः हासिल हुने कुरा के हो भने, तँ छोडेर जान चाहन्छस् तर सक्दैनस्, कतिपय मानिस आशाको सानो किरण पनि नहुँदा समेत अझै आस्था राख्न सक्षम हुन्छन्, र मानिसहरूमा आफ्नै सम्भावनाहरूका सम्बन्धमा कुनै आशा नै हुँदैन। यस समयमा मात्रै परमेश्‍वरको शोधन समाप्त हुनेछ। यदि मानिसहरू अझै पनि जीवन र मृत्युको दोसाँधमा रहने चरणमा पुगेका छैनन्, र तिनीहरूले मृत्यु चाखेका छैनन् भने, तिनीहरूको शोधन समाप्त हुनेछैन। जो सेवाकर्ताहरूको चरणमा थिए तिनीहरूलाई समेत पूर्ण मात्रामा शोधन गरिएको थिएन। अय्यूबले पूर्ण मात्रामा शोधन भोग्यो, र ऊसँग भर पर्नका लागि केही पनि थिएन। मानिसहरूलाई अनिवार्य रूपमा त्यही बिन्दुसम्म शोधन गरिनुपर्छ—जहाँ तिनीहरूसँग आशाको एउटा किरण पनि नहोस् र भर पर्नका लागि एउटा पनि कुरा नहोस्। यो मात्रै साँचो शोधन हो। सेवाकर्ताहरूको समयमा, यदि तेरो हृदय सधैँ परमेश्‍वरसामु शान्त थियो, र यदि उहाँले जेसुकै गर्नुभए पनि र तेरो लागि उहाँका अभिप्रायहरू जेसुकै भए पनि, तँ सधैँ उहाँका प्रबन्धहरूप्रति समर्पित भइस् भने, बाटोको अन्त्यमा तैँले परमेश्‍वरले गर्नुभएका सबै कुरा बुझ्नेथिइस्। जब तँ अय्यूबका परीक्षाहरू भोग्छस्, तँ त्यो साथसाथै पत्रुसका परीक्षाहरू पनि भोगिरहेको हुन्छस्। अय्यूबको परीक्षा गर्दा, ऊ आफ्नो गवाहीमा दृढ रह्यो, र अन्तमा, यहोवा ऊकहाँ देखा पर्नुभयो। ऊ आफ्नो गवाहीमा दृढ रहेपछि मात्रै ऊ परमेश्‍वरको मुहार देख्न योग्य भयो। “म फोहोरको भूमिबाट आफूलाई लुकाउँछु तर पवित्र राज्यमा देखा पर्छु” भनेर किन भनिएको हो? यसको अर्थ तँ पवित्र पारिएपछि र आफ्नो गवाहीमा दृढ रहेपछि मात्रै तँ परमेश्‍वरको मुहार देख्न योग्य हुन्छस् भन्‍ने हो। यदि तँ आफ्नो गवाहीमा दृढ रहन सक्दैनस् भने, तँ उहाँको मुहार देख्न योग्य हुँदैनस्। यदि तँ शोधनहरूको सामना गर्दा पछि हट्छस् वा परमेश्‍वरविरुद्ध गुनासाहरू गर्छस्, र यसरी आफ्नो गवाहीमा दृढ रहन असफल हुन्छस् र शैतानको हाँसोको पात्र बन्छस् भने, तैँले परमेश्‍वरको देखापराइ प्राप्त गर्नेछैनस्। यदि तँ परीक्षाहरूका बीचमा आफ्नै देहलाई सराप्ने, तर परमेश्‍वरविरुद्ध गुनासो नगर्ने, र गुनासो नगरी वा आफ्ना शब्दहरूमार्फत पाप नगरी आफ्नै देहलाई घृणा गर्न सक्ने अय्यूबजस्तै छस् भने, तँ आफ्नो गवाहीमा दृढ रहनेछस्। जब तँ केही हदसम्म शोधनहरू भोग्छस् र अय्यूबजस्तै, परमेश्‍वरसामु पूर्ण रूपमा समर्पित हुने र उहाँसँग अरू कुनै माग नराख्ने वा आफ्नै धारणाहरू नबोक्ने हुन्छस्, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ। अहिले परमेश्‍वर तँकहाँ देखा पर्नुहुन्न किनभने तँसँग तेरा आफ्नै धारणाहरू, व्यक्तिगत पूर्वाग्रहहरू, स्वार्थी विचारहरू, व्यक्तिगत मागहरू र दैहिक हितहरू छन्, र तँ उहाँको मुहार देख्न योग्य छैनस्। यदि तैँले परमेश्‍वरलाई देखिस् भने, तैँले उहाँलाई आफ्नै धारणाहरूमार्फत मापन गर्नेथिइस् र त्यसो गर्दा, उहाँलाई तैँले क्रूसमा टाँग्नेथिइस्। यदि तँमाथि तेरा धारणाहरूसँग नमिल्ने धेरै कुरा आइपर्छन् तर तैपनि तँ तिनलाई त्याग्न र यी कुराहरूबाट परमेश्‍वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्षम हुन्छस्, र शोधनहरूका बीचमा तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय प्रकट गर्छस् भने, यो आफ्नो गवाहीमा दृढ रहनु हो। यदि तेरो घर शान्तिपूर्ण छ, तँ देहका सुखसुविधाहरूको आनन्द लिन्छस्, तँलाई कसैले पनि सताइरहेको छैन, र मण्डलीका तेरा दाजुभाइ-दिदीबहिनीहरू तँलाई पालन गर्छन् भने, के तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय प्रकट हुन सक्छ र? के यो अवस्थाले तँलाई शोधन गर्न सक्छ र? शोधनमार्फत मात्र तेरो परमेश्‍वरलाई प्रेम गर्ने हृदय देखाउन सकिन्छ, र तेरा धारणाहरूसँग नमिल्ने कुराहरू आइपरे मात्र तँलाई सिद्ध पार्न सकिन्छ। धेरै वटा नकारात्मक कुराको सेवाद्वारा, र शैतानका सबै प्रकारका प्रकटीकरणहरू—त्यसका गतिविधिहरू, त्यसका आरोपहरू, त्यसका बाधाहरू र भ्रममा पार्ने कार्यहरू—प्रयोग गरेर, परमेश्‍वरले तँलाई शैतानको अत्यन्तै डरलाग्दो मुहार स्पष्ट रूपमा देखाउनुहुन्छ, र यसरी तँलाई शैतानलाई खुट्ट्याउने सामर्थ्य दिनुहुन्छ, ताकि तैँले शैतानलाई घृणा गर्न र त्यसविरुद्ध विद्रोह गर्न सकेस्।

तेरो असफलता, कमजोरी, तेरो नकारात्मकताका धेरै अवधिका अनुभवहरू सबैलाई परमेश्‍वरको जाँच भन्न सकिन्छ। किनकि सबै थोक परमेश्‍वरबाट आउँछन्, र सबै थोक र घटनाहरू उहाँकै हातमा छन्। तँ असफल वा तँ कमजोर भए पनि र तैँले ठोक्‍कर खाए पनि यो सबै परमेश्‍वरमा निर्भर हुन्छ र उहाँको पकडमा हुन्छन्। परमेश्‍वरको दृष्टिकोणमा यो तेरो जाँच हो, यदि तैँले यसलाई बुझ्न सकिनस् भने त्यो परीक्षा बन्छ। मानिसहरूले चिन्‍नुपर्ने दुई किसिमका अवस्थाहरू छन्: एउटा पवित्र आत्माबाट आउँछ, र अर्को सम्‍भावित स्रोत शैतान हो। एउटा अवस्था त्यो हो जुन पवित्र आत्माले तँलाई ज्योति दिनुहुन्छ र त्यसले तँलाई आफैलाई चिन्न, घृणा गर्न र आफ्नै विषयमा पछुतो गर्न अनि परमेश्‍वरका निम्ति साँचो प्रेम प्राप्त गर्न साथै तेरो हृदय परमेश्‍वरलाई सन्तुष्ट पार्नेतिर लगाउने तुल्याउँछ। त्यहाँ अर्को अवस्था छ, जहाँ तैँले आफैलाई चिन्छस्, तर तँ नकारात्मक र कमजोर हुन्छस्। यसलाई परमेश्‍वरको शोधन भन्न सकिन्छ, र यो शैतानको परीक्षा पनि हो। यदि यो तेरा निम्ति परमेश्‍वरको मुक्ति हो भनी जान्दछस् भने र यदि अब तँ उहाँप्रति गहन रूपमा ऋणी हुन्छस्—अनि अब उप्रान्त तैँलेसुधार गर्ने, यस्तो भ्रष्टतामा बस्न छोड्ने, अनि परमेश्‍वरका वचन उचित रूपमा खाने र पिउने प्रयास गर्छस्—र यदि तँ जहिल्यै पनि आफूलाई केही राम्रो नभएको ठान्छस्, र तँमा तृषित हृदय छ भने यो परमेश्‍वरबाटको जाँच हो। दुःख समाप्त भएपछि र तँ फेरि अगाडि बढ्न थालेपछि, परमेश्‍वरले तँलाई डोर्याउनुहुनेछ, प्रकाश दिनुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ र खुवाउनुहुनेछ। तर यदि तँ यसलाई चिन्दैनस् र तँ नकारात्मक हुँदै आफैलाई निराशामा छोड्छस् भने, यदि तँ यसप्रकारले विचार गर्छस् भने त्यसको अर्थ तँमाथि शैतानको परीक्षा आएको छ। अय्यूबले परीक्षाहरू भोग्दा, परमेश्‍वर र शैतान एक-अर्कासित बाजी लगाइरहेका थिए, अनि परमेश्‍वरले शैतानलाई अय्यूबलाई कष्ट दिने अनुमति दिनुभयो। परमेश्‍वरले नै अय्यूबको जाँच गरिरहनुभएको भए पनि, खासमा तिनीमाथि शैतान आइपरेको थियो। शैतानका लागि, त्यो अय्यूबको परीक्षा गर्नु थियो, तर अय्यूब परमेश्‍वरको पक्षमा उभिए। यदि त्यसो नभएको भए अय्यूब परीक्षामा फसेका हुनेथिए। जब मानिसहरू परीक्षामा फस्छन्, तब तिनीहरू खतरामा पर्छन्। शोधन भोग्नुलाई परमेश्‍वरले लिनुभएको परीक्षा भन्न सकिन्छ, तर यदि तँ राम्रो स्थितिमा छैनस् भने, त्यसलाई शैतानले लिएको परीक्षा भन्न सकिन्छ। यदि तँ दर्शनहरूबारे प्रस्ट छैनस् भने, शैतानले तँलाई दोष लगाउनेछ र दर्शनहरूसम्बन्धी तेरो बुझाइ अस्पष्ट बनाउनेछ। तैँले थाहा पाउनुभन्दा अघि नै तँ परीक्षामा पर्नेछस्।

यदि तँ परमेश्‍वरको कामको अनुभव गर्दैनस् भने, तँ कहिल्यै पनि सिद्ध हुन सक्दैनस्। तेरो अनुभवमा तँ पूर्ण विवरणभित्र पनि प्रवेश गर्नुपर्छ। उदाहरणको निम्ति, कुन-कुन कुराहरूले तँलाई धारणाहरू र अनावश्यक अभिप्रायहरू विकास गर्न अगुवाइ गर्दछन् र ती समस्याहरूलाई समाधान गर्न कुन-कुन उपयुक्त अभ्यासहरू तँसँग छन्? यदि तँ परमेश्‍वरको काम अनुभव गर्न सक्छस् भने, त्यसको अर्थ तँसँग कद छ भन्‍ने हुन्छ। यदि तँसँग जोश छ भन्‍ने मात्र देखिन्छ भने, यो वास्तविक कद होइन, र तँ दृढतासाथ खडा हुन सक्षम हुनेछैनस्। जब तैँले परमेश्‍वरको काम अनुभव गर्न सक्छस्, र कुनै पनि समय र स्थानमा त्यसबारे विचार गर्न सक्छस्, जब तँ गोठालाहरूलाई छोड्न र परमेश्‍वरमा भर पर्दै स्वतन्त्र रूपमा जिउँछस्, तब मात्र तैँले परमेश्‍वरका व्यावहारिक कार्यहरू देख्न सक्छस्—तब मात्र परमेश्‍वरका अभिप्रायहरू प्राप्त गर्न सकिनेछ। अहिले धेरै जना मानिसहरूलाई कसरी अनुभव गर्ने भन्‍ने थाहा छैन, र जब तिनीहरूले कुनै समस्या भेट्टाउँछन्, त्यसलाई कसरी समाधान गर्ने सो तिनीहरू जान्दैनन्; तिनीहरूले परमेश्‍वरको कामको अनुभव गर्न सक्दैनन्, र तिनीहरूले आत्मिक जीवन जिउन सक्दैनन्। तैँले परमेश्‍वरका वचनहरू र कामलाई व्यवहारमा लागू गर्नुपर्दछ।

कहिलेकहीँ परमेश्‍वरले तँलाई एक निश्‍चित प्रकारको अनुभूति दिनुहुन्छ, यस्तो भावना जसको कारण तैँले आफ्नो भित्री आनन्द र परमेश्‍वरको उपस्थिति गुमाउनुपर्छ, जसले गर्दा तँ अन्धकारमा डुब्छस्। यो एक किसिमको शोधन हो। जब-जब तँ केही गर्छस्, तब त्यो सधैँ गलत हुन जान्छ वा तेरो सामु बाधा खडा हुन्छ। यो परमेश्‍वरको अनुशासन हो। कहिलेकहीँ, जब तँ परमेश्‍वरप्रति विद्रोही र प्रतिरोधी कार्य गर्छस् त्यो अरू कसैलाई थाहा नहुन सक्छ—तर परमेश्‍वरलाई थाहा हुन्छ। उहाँले तँलाई त्यसै छोडिदिनुहुनेछैन, उहाँले तँलाई अनुशासनमा राख्‍नुहुनेछ। पवित्र आत्माको काम धेरै विस्तृत छ। उहाँले मानिसहरूको प्रत्येक बोलीवचन र कार्यलाई, तिनीहरूका प्रत्येक व्यवहार र चाललाई, तिनीहरूका हरेक विचार र योजनालाई ध्यान दिएर हेर्नुहुन्छ, ताकि मानिसहरूले यी कुराहरूको आन्तरिक ज्ञान प्राप्त गर्न सकून्। तैँले एक पल्ट कुनै कुरा गर्छस् र त्यो गलत हुन्छ, तँ फेरि कुनै काम गर्छस्, अनि त्यो अझै गलत हुन्छ, अनि बिस्तारै तँ पवित्र आत्माको कामलाई जानेछस्। धेरै चोटि अनुशासनमा परेपछि तैँले परमेश्‍वरका अभिप्रायहरूसँग मिल्दो हुन के गर्नुपर्छ र कुन कुरा उहाँका अभिप्रायहरूसँग मिल्दोजुल्दो हुँदैन सो जान्‍नेछस्। अन्त्यमा, पवित्र आत्माको अगुवाइप्रति तेरो भित्रैबाट निस्केको सटीक प्रतिक्रिया तँमा हुनेछ। कहिलेकहीँ तँ विद्रोही बन्‍नेछस् र परमेश्‍वरले तँलाई भित्रैबाट हप्काउनुहुनेछ। यो सबै नै परमेश्‍वरको अनुशासनबाट आउँछ। यदि तँ परमेश्‍वरको वचनलाई बहुमूल्य ठान्दैनस् भने, यदि तैँले उहाँको कामलाई अनादर गरिस् भने, उहाँले तँलाई कुनै ध्यान दिनुहुनेछैन। परमेश्‍वरको वचनलाई तैँले जति गम्भीरतासाथ लिन्छस्, उहाँले तँलाई त्यत्ति नै बढी अन्तर्दृष्टि दिनुहुनेछ। अहिले, चर्चमा केही मानिसहरू छन् जसमा भद्रगोल र भ्रमित विश्‍वास हुन्छ, अनि तिनीहरूले अनेक अनुचित कार्यहरू गर्छन् र अनुशासनहीन व्यवहार गर्छन्, यसैले तिनीहरूमा पवित्र आत्माको कामलाई स्पष्ट रूपमा देख्न सकिँदैन। कतिपय मानिसहरूले अनुशासनमा नरहिकन गएर व्यवसाय गर्दै, पैसा कमाउनको खातिर आफ्‍ना कर्तव्यहरूलाई त्यागेर जान्छन्। यस किसिमको मानिस अझ बढी खतरामा हुन्छ। तिनीहरूसँग अहिले पवित्र आत्माको काम नहुने मात्र होइन, तिनीहरूलाई सिद्ध बन्न भविष्यमा पनि गाह्रो पर्नेछ। धेरै जना मानिसहरू यस्ता छन्, जसमा पवित्र आत्माको काम देख्‍न सकिँदैन र जसमा परमेश्‍वरको अनुशासन देख्न सकिँदैन। तिनीहरू ती हुन् जसले परमेश्‍वरका अभिप्रायहरूलाई स्पष्ट रूपमा जान्दैनन् र उहाँको काम जान्दैनन्। जो शोधनको बीचमा अटल भई बस्छन्, परमेश्‍वरले जस्तोसुकै कार्य गर्नुभए पनि जो उहाँको पछि लाग्छन्, र कम्तीमा पनि छोड्न सक्दैनन्, वा जसले पत्रुसले हासिल गरेको कामको ०.१% हासिल गर्दछन्, तिनीहरूले राम्रै गरिरहेका हुन्छन्, तर परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुहुने सम्बन्धमा तिनीहरूको कुनै मूल्य हुँदैन। धेरै जना मानिसहरूले परिस्थितिलाई चाँडै बुझ्दछन्, तिनीहरूमा परमेश्‍वरप्रतिको साँचो प्रेम हुन्छ, र पत्रुसको स्तरलाई उछिन्छन्, र परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्ने काम गर्नुहुन्छ। त्यस्ता मानिसहरूमा अनुशासन र अन्तर्ज्ञान आउँछ, यदि तिनीहरूमा परमेश्‍वरका अभिप्रायहरूसँग नमिल्ने केही छ भने त्यो तिनीहरूले तुरुन्तै फाल्न सक्छन्। त्यस्ता मानिसहरू सुन, चाँदी र बहुमूल्य पत्थरहरू हुन्—तिनीहरूको मूल्य अति उच्च हुन्छ! परमेश्‍वरले धेरै किसिमका कामहरू गर्नुभएको छ, तर तँ अझै पनि बालुवा र ढुङ्गाजस्तो छस् भने, तँ मूल्यहीन छस्!

ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई हटाउनुहुनेछ, किनकि मण्डलीमा हरकिसिमका मानिसहरू हुन्छन्—त्यहाँ सत्यलाई प्रेम गर्नेहरू, र नगर्नेहरू हुन्छन्; परमेश्‍वरको कामको अनुभव गर्नेहरू हुन्छन्, अनि नगर्नेहरू पनि हुन्छन्; आफ्‍नो कर्तव्य पूरा गर्नेहरू, र नगर्नेहरू हुन्छन्; त्यहाँ परमेश्‍वरको साक्षी दिनेहरू हुन्छन्, नदिनेहरू पनि हुन्छन्—अनि तिनीहरूमध्ये केही भाग अविश्वासीहरू र दुष्ट मानिसहरू हुन्छन्, अनि तिनीहरूलाई निश्‍चय नै हटाइनेछन्। यदि तँलाई परमेश्‍वरको काम स्पष्ट रूपमा थाहा छैन भने तँ नकारात्मक बन्‍नेछस्; किनकि परमेश्‍वरको काम थोरै मानिसहरूमा मात्र देख्न सकिन्छ। यस समयमा, कसले परमेश्‍वरलाई प्रेम गर्दछ र कसले गर्दैनन् भन्‍ने कुरा पनि स्पष्ट हुन्छ। जसले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्छन् तिनीहरूसित पवित्र आत्माको काम हुन्छ, अनि उहाँलाई साँचो रूपले प्रेम नगर्नेहरूलाई उहाँको कामको प्रत्येक चरणद्वारा प्रकट गरिनेछन्। तिनीहरू हटाइनुपर्ने व्यक्तिहरू बन्नेछन्। यी मानिसहरूलाई विजयको कामको अवधिमा प्रकट गरिनेछन्, अनि तिनीहरू ती मानिसहरू हुन् जसमा सिद्ध हुनको लागि कुनै मूल्य हुँदैन। जुन मानिसहरू सिद्ध बनाइएका हुन्छन् तिनीहरूलाई परमेश्‍वरले सम्पूर्ण रूपमा प्राप्त गर्नुभएको हुन्छ, अनि तिनीहरू पत्रुसझैं परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन्छन्। जुन व्यक्तिहरू जितिएका हुन्छन् तिनीहरूमा सक्रिय प्रेम हुँदैन, तर निष्क्रिय प्रेम मात्र हुन्छ, अनि तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न बाध्य हुन्छन्। सक्रिय प्रेम व्यावहारिक अनुभवद्वारा ज्ञान प्राप्त गरेपछि विकास हुन्छ। यो प्रेमले व्यक्तिको हृदयमा स्थान ओगट्छ र यसले तिनीहरूलाई स्वेच्छाले परमेश्‍वरमा समर्पित हुने तुल्याउँछ; परमेश्‍वरको वचन तिनीहरूका आधार बन्छ र तिनीहरू परमेश्‍वरका निम्ति दुःख भोग्न सक्ने हुन्छन्। अवश्य नै, यी त्यस्ता कुराहरू हुन् जुन परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्तिमा हुन्छ। यदि तँ जितिन मात्र चाहन्छस् भने तैँले परमेश्‍वरको निम्ति साक्षी दिन सक्दैनस्; यदि परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाएर मात्र उहाँको मुक्तिको लक्ष्य प्राप्त गर्नुहुन्छ भने सेवाकर्ताहरूको कदमले काम समाप्त गर्दछ। तापनि, मानिसहरूलाई जित्नु मात्र परमेश्‍वरको अन्तिम लक्ष्य होइन, जुन मानिसहरूलाई सिद्ध पार्नु हो। यसैले यो कदमलाई जित्ने काम भन्नुभन्दा बरु सिद्ध बनाउने र हटाउने काम हो भन्। केही मानिसहरू पूर्ण रूपले जितिएका हुँदैनन्, र तिनीहरूलाई जित्ने क्रममा मानिसहरूको एउटा झुण्डलाई सिद्ध पारिन्छ। यी दुईवटा कामलाई एकसाथ गरिन्छ। यति लामो कामको अवधिमा पनि मानिसहरू हटेका छैनन्, र यसले विजयको लक्ष्य प्राप्त भएको देखाउँछ—जित्‍नुको तथ्य यही हो। शोधनहरू विजय प्राप्त गर्नका लागि होइनन्, तर सिद्ध हुनुका लागि हुन्। शोधनविना, मानिसहरू सिद्ध हुन सक्दैनन्। त्यसैले शोधन साँच्चै मूल्यवान् छ! आज मानिसहरूको एउटा समूह सिद्ध पारिएका र प्राप्त गरिएका छन्। पहिले उल्लेख गरिएका दस आशिषहरू सबै सिद्ध पारिएकाहरूका लागि लक्षित थिए। पृथ्वीमा तिनीहरूको स्वरूप परिवर्तन गर्ने भनेर भनिएका सबै कुरा सिद्ध पारिएकाहरूका निम्ति लक्षित कुरा हुन्। जो सिद्ध पारिएका छैनन् तिनीहरू परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्यका छैनन्।

अघिल्लो: परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्

अर्को: कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्