सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, सत्यतालाई व्यवहारमा देखाउनुपर्छ र तेरा सबै कर्तव्यहरू पूरा गर्नैपर्छ। त्यसबाहेक, तैँले अनुभव गर्नुपर्ने कुराहरू तैँले बुझ्नुपर्छ। यदि तँ निराकरण गरिएको, अनुशासित गरिएको र न्याय गरिएको मात्र अनुभव गर्छस् भने, यदि तँ परमेश्‍वरमा आनन्दित हुन मात्र सक्षम छस्, तर परमेश्‍वरले तँलाई अनुशासन वा निराकरण गरिरहनुहुँदा त्यो महसुस गर्न सक्दैनस् भने यो स्वीकारयोग्य हुँदैन। सायद शोधनको यो उदाहरणमा तँ आफ्नो भूमिमा खडा हुन सक्छस्, तर अझै पनि यो पर्याप्त हुँदैन; तँ अझै अगाडि बढ्दै जानुपर्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठ कहिल्यै पनि रोकिँदैन र यसको कुनै अन्त्य छैन। मानिसहरू परमेश्‍वरलाई विश्‍वास गर्ने कुरालाई अति नै साधारण कुरा मान्छन्, तर एकचोटि तिनीहरूले केही व्यावहारिक अनुभव प्राप्त गरेपछि परमेश्‍वरमा विश्‍वास गर्नु मानिसहरूले कल्पना गरेजस्तो सरल नभएको तिनीहरू थाहा पाउँछन्। जब परमेश्‍वरले मानिसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। कुनै व्यक्तिलाई शोधन गर्ने काम जति ठूलो हुन्छ तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यत्ति नै ठूलो हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्तिले जति कम शोधन प्राप्त गर्छ, परमेश्‍वरप्रति तिनीहरूको प्रेम त्यत्ति नै कम बढ्छ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै कम प्रकट हुनेछ। त्यस्तो व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ, तिनीहरूले उत्ति नै बढी यातना अनुभव गर्नेछन्, तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यति नै गहिरो भएर बढ्नेछ, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास उत्ति नै साँचो बन्नेछ, र परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा तैँले शोधन प्राप्त गर्दै गरेका, निराकरण गरिएका र धेरै अनुशासनमा राखिएका मानिसहरूले धेरै ठूलो दुःख पाइरहेको देख्‍नेछस्, अनि तँ ती मानिसहरूमा नै परमेश्‍वरप्रति गहिरो प्रेम र परमेश्‍वरको अझ गहिरो र भेदकारी ज्ञान छ भन्‍ने देख्‍नेछस्। तिनीहरू जसले निराकरण गरिएको अनुभव गरेका हुँदैनन् तिनीहरूमा सतही ज्ञान मात्र हुन्छ, तिनीहरू यसो मात्र भन्न सक्छन्: “परमेश्‍वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँले अनुग्रह प्रदान गर्नुहुन्छ।” यदि मानिसहरूले निराकरण गरिएको र अनुशासनमा राखिएको अनुभव गरेका छन् भने तिनीहरू परमेश्‍वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। यसरी परमेश्‍वरले मानिसभित्र गर्नुहुने काम जति अचम्मको हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य र तेरो धारणासँग जति धेरै अमिल्दो छ, परमेश्‍वरको कामले तँलाई जित्न, र तँलाई हासिल गर्न र तँलाई सिद्ध बनाउन त्यति नै सक्षम हुन्छ। परमेश्‍वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्‍वरले मानिसलाई यस्तो प्रकारले शोधन गर्नुभएन भने, यदि उहाँले यस तरिकाले काम गर्नुभएन भने उहाँको काम प्रभावहीन र महत्त्वहीन हुनेथियो। विगतमा भनिएको थियो, कि परमेश्‍वरले यो झुन्ड चुन्नुहुनेछ र प्राप्त गर्नुहुनेछ, र आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण बनाउनुहुनेछ; यसैमा असाधारण महत्त्व छ। उहाँले तँभित्र जति ठूलो काम गर्नुहुन्छ, उहाँप्रतिको तिमीहरूको प्रेम त्यत्ति नै गहिरो र शुद्ध हुन्छ। परमेश्‍वरको काम जति ठूलो हुन्छ त्यत्ति नै बढी मानिसले उहाँको बुद्धिको केही कुरा बुझ्न सक्छ र उहाँको विषयमा मानिसको ज्ञान अझ गहिरो बन्छ। आखिरी दिनहरूमा व्यवस्थापनका निम्ति परमेश्‍वरको योजनाको छ हजार वर्ष समाप्त हुनेछ। के यो साँच्चै सजिलै समाप्त हुन सक्छ? उहाँले मानव जातिलाई जित्नुभएपछि, के उहाँको काम सकिनेछ? के यो त्यत्ति सरल हुन सक्छ? वास्तवमा नै मानिसहरू यो त्यस्तै सरल छ भनी कल्पना गर्छन्, तर परमेश्‍वरले जे गर्नुहुन्छ त्यो त्यत्ति साधारण हुँदैन। तैँले परमेश्‍वरको कामको जुनै भाग उल्लेख गर्न चाहे पनि ती सब मानिसका निम्ति बुझ्न नसकिने छ। यदि तैँले त्यो बुझ्न सक्थिस् भने, परमेश्‍वरको काम महत्त्व वा मूल्यविनाको हुनेथियो। परमेश्‍वरले गर्नुभएको काम बुझ्न नसकिने छ; यो तेरा विचारहरूभन्दा पूर्ण रूपमा विपरीत छ, अनि यो तेरा विचारहरूसँग अझ बढी अमिल्दो हुन्छ त्यत्ति नै बढी त्यसले परमेश्‍वरको काम अर्थपूर्ण छ भनी देखाउँछ; यदि यो तेरा विचारहरूसँग मिल्दो थियो भने त्यो अर्थहीन हुनेथियो। आज तँ परमेश्‍वरको काम कति अचम्मको छ भनी महसुस गर्छस्, अनि तँ यसलाई जति बढी अचम्मको महसुस गर्छस्, तँ जति बढी परमेश्‍वर बुझ्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्, परमेश्‍वरका कामहरू त्यति नै महान् छन् भनी देख्‍नेछस्। यदि उहाँले मानिसलाई जित्न केही सतही र लापरवाही काम गर्नुभयो र त्यसपछि केही पनि गर्नुभएन भने मानिस परमेश्‍वरको कामको महत्त्व देख्न असक्षम बन्‍नेथियो। तैँले अहिले थोरै शोधन प्राप्त गरिरहेको भए पनि, त्यो जीवनमा तेरो वृद्धिका निम्ति ठूलो फाइदाको छ; यसैले तिमीहरू यस्ता कठिनाइहरूबाट भएर जानु अत्यावश्यक छ। आज, तैँले थोरै शोधन प्राप्त गर्दैछस्, तर पछिबाट तैँले साँच्चै परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, अनि अन्त्यमा तैँले भन्‍नेछस्: “परमेश्‍वरका कामहरू अति अचम्मका छन्!” यी तेरा हृदयमा भएका वचनहरू हुनेछन्। केही समयसम्म परमेश्‍वरको शोधनको अनुभव गरिसकेपछि (सेवाकर्ताको जाँच र सजायको समय), केही मानिसहरूले आखिरीमा भने: “परमेश्‍वरमा विश्‍वास गर्नु साँच्चै कठिन छ!” तिनीहरूले प्रयोग गरेको “साँच्चै कठिन” भन्‍ने शब्दले परमेश्‍वरका कामहरू बुझ्न नसकिने छन्, अनि परमेश्‍वरको कामको ठूलो महत्त्व र मूल्य छ, साथै मानिसले उहाँको कामलाई मूल्यवान् ठानेर जोगाइराख्नुपर्छ भन्‍ने देखाउँछ। यदि, मैले धेरै काम गरिसकेपछि पनि तँमा अलिकति पनि ज्ञान थिएन भने के मेरो कामको अझै कुनै महत्त्व हुन सक्थ्यो? यसले तपाईंलाई यसो भन्ने बनाउँछ: “परमेश्‍वरको काम गर्नु साँच्चै कठिन छ, परमेश्‍वरका कामहरू अति अचम्मका छन्, अनि परमेश्‍वर वास्तवमै अति बुद्धिमान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ!” यदि अनुभवको समयबाट भएर गएपछि, तँ त्यस्ता कुराहरू भन्न सक्छस् भने, तैँले आफूमा परमेश्‍वरको काम प्राप्त गरेको छस् भन्ने यसले प्रमाणित गर्छ। एक दिन, तैँले विदेशमा सुसमाचार फैलाइरहेको बेला कसैले तँलाई सोध्छ: “परमेश्‍वरमा तपाईंको विश्‍वास कस्तो चल्दैछ?” तैँले यसो भन्न सक्‍नेछस्: “परमेश्‍वरका कामहरू अति अचम्मका छन्!” तेरा शब्‍दहरूले वास्तविक अनुभवहरू बताउँछन् छन् भन्‍ने तिनीहरूले महसुस गर्नेछन्। साक्षी हुनु भनेको साँच्चै यही नै हो। तैँले भन्‍नेछस्, परमेश्‍वरको काम बुद्धिले भरिएको छ, अनि तँभित्रको उहाँको कामले साँच्चै तँलाई निश्‍चयता दिएको छ र तेरो हृदयलाई जितेको छ। तैँले उहाँलाई सँधै प्रेम गर्नेछस्, किनकि उहाँ मानव जातिको प्रेम पाउनुभन्दा अझै बढी योग्यका हुनुहुन्छ। यदि तँ यी कुराहरू बोल्न सक्छस् भने तँ मानिसहरूको हृदयलाई छुन सक्छस्। यी सबै गर्नु भनेको साक्षी बन्नु हो। यदि तँ जोडदार साक्षी बन्न, मानिसहरूका आँखाबाट आँसु खसाल्न सक्छस् भने त्यसले तँ साँच्चै त्यो व्यक्ति होस् जसले परमेश्‍वरलाई प्रेम गर्छ भन्‍ने देखाउँछ, किनकि तँ प्रेमिलो परमेश्‍वरको साक्षी दिन सक्छस्, अनि तँद्वारा परमेश्‍वरका कामहरू गवाहीमा पैदा हुन्छन्। तेरो गवाहीद्वारा अरूलाई परमेश्‍वरको कामको खोजी गर्ने, परमेश्‍वरको कामको अनुभव गर्ने तुल्याइन्छ, अनि तिनीहरूले अनुभव गर्ने कुनै पनि वातावरणमा, तिनीहरू दह्रो गरी खडा हुन सक्छन्। साक्षी दिने एक मात्र सच्‍चा तरिका यही मात्र हो, अनि अहिले तँबाट चाहिएको पनि ठीक यही नै हो। तैँले परमेश्‍वरको काम अति नै मूल्यवान् र मानिसहरूले साँचेर राख्‍न योग्यको छ, अनि परमेश्‍वर अति नै मूल्यवान् र अति नै प्रशस्त हुनुहुन्छ भन्‍ने देख्‍नुपर्छ; उहाँ बोल्न मात्र सक्नुहुन्न, तर मानिसहरूको न्याय गर्नुहुन्‍छ गर्न, तिनीहरूका हृदयलाई शोधन गर्न, तिनीहरूलाई आनन्द दिन, तिनीहरूलाई प्राप्त गर्न, तिनीहरूलाई जित्न र तिनीहरूलाई सिद्ध पार्न पनि सक्नुहुन्छ। तैँले आफ्नो अनुभवबाट परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ भन्‍ने देख्‍नेछस्। यसकारण अहिले तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? के तँ यी कुराहरूलाई आफ्नो हृदयबाट साँच्चै भन्न सक्छस्? जब तँ आफ्नो हृदयबाट यी शब्दहरू व्यक्त गर्न सक्छस्, तब तँ साक्षी बन्न सक्‍नेछस्। तेरो अनुभव यो स्तरमा पुगेपछि तँ परमेश्‍वरको साक्षी बन्न सक्षम हुनेछस्, र तँ योग्यको बन्‍नेछस्। यदि तँ आफ्‍नो अनुभवमा यो स्तरमा पुगेनस् भने तँ अझै धेरै टाढा हुनेछस्। शोधनको अवधिमा मानिसहरूले कमजोरी देखाउनु सामान्य कुरा हो, तर शोधनपछि तैँले यसो भन्न सक्नुपर्छ: “परमेश्‍वर उहाँको काममा धेरै बुद्धिमान् हुनुहुन्छ!” यदि तैँले साँच्चै यी वचनहरूको व्यावहारिक बुझाइ प्राप्त गर्न सकिस् भने, यो तैँले प्रेम पूर्वक सम्हालेर राख्ने कुरा बन्नेछ, अनि तेरो अनुभवको मूल्य हुनेछ।

अहिले तँ कुन कुराको पछि लाग्नुपर्छ? तैँले परमेश्‍वरको कामको साक्षी दिन सके पनि, नसके पनि, तँ परमेश्‍वरको गवाही र प्रकटीकरण हुन सके वा नसके पनि, अनि तँ उहाँद्वारा प्रयोग हुन योग्यको भए पनि नभए पनि—तैँले खोज्‍नुपर्ने कुराहरू यिनै हुन्। परमेश्‍वरले तँभित्र साँच्चै कति काम गर्नुभएको छ? तैँले कति देखेको छस्? तैँले कति छोएको छस्? तैँले कति अनुभव गरेको र चाखेको छस्? चाहे परमेश्‍वरले तँलाई जाँच्नुभएको होस्, तेरो निराकरण गर्नुभएको होस्, वा तँलाई अनुशासनमा राख्‍नुभएको होस्, उहाँका व्यवहारहरू र उहाँको काम तँमा पूरा भएको छ। तर परमेश्‍वरको विश्‍वासी र उहाँद्वारा सिद्ध हुने कुराको पछि लाग्ने व्यक्तिको रूपमा, के तँ आफ्नो व्यावहारिक अनुभवको आधारमा परमेश्‍वरको कामको साक्षी दिन सक्छस्? के तँ आफ्नो व्यावहारिक अनुभवद्वारा परमेश्‍वरको वचनअनुसार जिउन सक्छस्? के तँ आफ्नै व्यावहारिक अनुभवद्वारा अरूका निम्ति जुटाउन सक्छस् र आफ्‍नो सम्पूर्ण जीवन परमेश्‍वरको कामको साक्षी दिन खर्चन सक्छस्? परमेश्‍वरको कामको साक्षी दिनका लागि तँ आफ्नै अनुभव, ज्ञान र तैँले चुकाएको मूल्यमा भर पर्नुपर्छ। यसरी मात्र तैँले उहाँको इच्छालाई सन्तुष्ट पार्न सक्छस्। के तँ परमेश्‍वरको कामको साक्षी दिने व्यक्ति होस्? के तँमा यस्तो आकांक्षा छ? यदि तँ उहाँको नाउँको, अझ बढी उहाँको कामको साक्षी दिन सक्छस् भने, अनि उहाँले आफ्ना मानिसहरूबाट माग गर्नुभएको स्वरूप लिएर जिउन सक्छस् भने तँ परमेश्‍वरका निम्ति एक साक्षी होस्। तँ वास्तवमा कसरी परमेश्‍वरको साक्षी बन्छस्? तँ परमेश्‍वरको वचनको खोजी गर्दै र त्यस अनुसार जिउने कोसिस गर्दै, तेरा वचनहरूद्वारा साक्षी दिँदै, मानिसहरूलाई उहाँको काम जान्‍ने र उहाँका कामहरू देख्‍ने तुल्याउँदै यो गर्छस्। यदि तँ साँच्‍चै यी सबै कुराको खोजी गर्छस् भने, परमेश्‍वरले तँलाई सिद्ध पार्नुहुनेछ। यदि तँ परमेश्‍वरबाट सिद्ध पारिन र अन्त्यसम्मै आशिषित हुन मात्र खोज्‍छस् भने परमेश्‍वरमा भएको तेरो विश्‍वासको दृष्टिकोण शुद्ध छैन। तँ वास्तविक जीवनमा परमेश्‍वरका कामहरू देख्ने, उहाँले तँलाई आफ्नो इच्छा प्रकट गर्नुहुँदा त्यो कसरी पूरा गर्ने त्यसको पछि लाग्नुपर्छ, र उहाँको आश्‍चर्यपन र बुद्धिको साक्षी तैँले कसरी दिनुपर्छ, अनि उहाँले कसरी तँलाई अनुशासनमा राख्‍नुहुन्छ र निराकरण गर्नुहुन्छ त्यसको साक्षी कसरी दिने सोको खोजी गर्नुपर्छ। यी सबै तैँले विचार गरिरहेको हुनुपर्ने कुराहरू हुन्। यदि परमेश्‍वर उहाँले तँलाई सिद्ध पार्नुभएपछि तँ उहाँको महिमामा सहभागी हुन सक्छस् भनेर मात्रै तँ परमेश्‍वरलाई प्रेम गर्छस् भने, त्यो अझै अपर्याप्त हुन्छ र तैँले परमेश्‍वरका मागहरू पूरा गर्न सक्दैनस्। तँ परमेश्‍वरको कामको साक्षी दिन, उहाँका मागहरू पूरा गर्न र उहाँले मानिसहरूमा व्यावहारिक रूपमा गर्नुभएको कामको अनुभव गर्न सक्ने हुनुपर्छ। चाहे पीडा होस्, आँसु होस् वा उदासी होस्, जे भए पनि तैँले आफ्नो अभ्यासमा यी सबै कुरा अनुभव गर्नुपर्छ। ती सबैको उद्देश्य परमेश्‍वरको साक्षी दिने व्यक्तिको रूपमा तँलाई सिद्ध बनाउनु हो। वास्तवमा, त्यो कुन कुरा हो जसले तँलाई कष्ट भोग्‍न र सिद्धता खोज्‍न बाध्य गर्छ? के तेरो वर्तमान दुःख भोगाइ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न र उहाँको साक्षी दिनको खातिर नै हो? वा के यो शरीरको आशिषहरू, र तेरो भविष्यको सम्भावना र गन्तव्यको निम्ति हो? तेरा उद्देश्यहरू, अभिप्रायहरू र तैँले खोजी गर्ने लक्ष्यहरू सबैलाई सुधारिनुपर्छ अनि ती तेरा आफ्नै इच्छाद्वारा निर्देशित हुन सक्दैनन्। यदि एक व्यक्तिले आशिषहरू पाउन र अधिकारसहित शासन गर्नका निम्ति सिद्धताको खोजी गर्छ, अनि अर्को व्यक्तिले चाहिँ परमेश्‍वरलाई सन्तुष्ट पार्न, परमेश्‍वरको कामको व्यावहारिक साक्षी बन्न सिद्धताको पछि लाग्छ भने खोजी गर्ने यी दुईवटा उपायमध्ये तँ कुनलाई चुन्‍नेछस्? यदि तैँले पहिलोलाई चुनिस् भने तँ परमेश्‍वरको मापदण्डहरूबाट अझै पनि टाढा हुनेछस्। मेरा कामहरू सम्पूर्ण ब्रह्माण्डमा खुल्लमखुल्ला जानिनेछ र म एक राजाको रूपमा ब्रह्माण्डमा शासन गर्नेछु भनेर मैले एक पटक भनेँ। अर्कोतिर, तिमीहरूलाई सुम्पिएको काम भनेको गएर परमेश्‍वरको कामको साक्षी दिनु हो, राजाहरू बनेर सारा ब्रह्माण्डमा देखा पर्नु होइन। ब्रह्माण्ड र आकाशमण्डल परमेश्‍वरका कामहरूले भरिऊन्। तिनलाई सबैले देखून् र तिनलाई स्वीकार गरून्। यी वचनहरू परमेश्‍वर स्वयम्‌को सम्बन्धमा बोलिएका हुन्, अनि मानव जातिले गर्नुपर्ने काम भनेको परमेश्‍वरको साक्षी दिनु हो। अहिले तँ परमेश्‍वरलाई कतिसम्म जान्दछस्? तँ परमेश्‍वरको कतिसम्म साक्षी दिन सक्छस्? परमेश्‍वरले मानिसलाई सिद्ध पार्नुको उद्देश्य के हो? परमेश्‍वरको इच्छा बुझेपछि, तैँले उहाँको इच्छाप्रति कसरी विचार प्रकट गर्नुपर्छ? यदि तँ सिद्ध पारिने इच्छा गर्छस् र आफ्‍नो जियाइद्वारा परमेश्‍वरको कामको साक्षी दिन चाहन्छस् भने, यदि तँमा यो प्रेरक शक्ति छ भने, कुनै पनि कुरा त्यत्ति कठिन हुँदैन। मानिसहरूलाई अहिले चाहिने भनेको विश्‍वास नै हो। यदि तँसित यो प्रेरक शक्ति छ भने तँलाई कुनै पनि नकारात्मकता, निष्क्रियता, अल्छीपन र शरीरका विचारहरू, जिउनेसम्बन्धी दर्शनशास्त्रहरू, विद्रोही स्वभाव, भावनाहरू र त्यस्तै अन्य कुराहरू त्याग्न सजिलो हुन्छ।

जाँचहरूबाट भएर जाँदा मानिसहरू कमजोर हुनु वा उनीहरूभित्र नकारात्मकता हुनु वा परमेश्‍वरको इच्छा वा तिनीहरूका अभ्यासको मार्गबारे स्पष्ट नहुनु सामान्य कुरा हो। तर कुनै पनि अवस्थामा परमेश्‍वरको कामप्रति तँमा विश्‍वास हुनुपर्छ, अनि जसरी अय्यूबले परमेश्‍वरलाई इन्कार गरेनन्, तैँले पनि त्यसो गर्नु हुँदैन। अय्यूब कमजोर थिए र तिनले आफू जन्मेको दिनलाई धिक्कारे पनि, तिनले मानव जीवनमा सबै थोकहरू यहोवाले नै दिनुहुन्छ र उहाँले नै सबै थोक लैजानुहुन्छ भन्‍ने कुरालाई इन्कार गरेनन्। तिनलाई जसरी जाँचिएको भए पनि तिनले यो विश्‍वास थामेर राखे। तेरो अनुभवमा तँ परमेश्‍वरको वचनद्वारा जस्तै शोधनबाट भएर जानु परे पनि, संक्षेपमा, परमेश्‍वरले मानव जातिबाट चाहनुभएको कुरा भनेको तिनीहरूका विश्‍वास र उहाँको निम्ति तिनीहरूको प्रेम नै हो। यस्तो प्रकारले काम गरेर उहाँले मानिसहरूको विश्‍वास, प्रेम र आकांक्षाहरूलाई सिद्ध पार्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा सिद्ध पार्ने काम गर्नुहुन्छ, र तिनीहरूले त्यो देख्न सक्दैनन्, त्यो अनुभव गर्न सक्दैनन्; त्यस्तो परिस्थितिहरूमा, तेरो विश्‍वास आवश्यकता हुन्छ। मानिसहरूको विश्‍वास त्यत्ति बेला चाहिन्छ जब कुनै कुरा मानिसको नाङ्गो आँखाले देख्न सकिँदैन, तेरो विश्‍वास त्यसबेला चाहिन्छ, जब तँ आफ्ना धारणाहरूलाई त्याग्न सक्दैनस्। जब परमेश्‍वरको कामको विषयमा तँमा स्पष्टता हुँदैन, त्यसबेला तँबाट चाहिने कुरा भनेको तैँले विश्‍वास गर्नुपर्छ र तैँले दह्रो धारणा लिएर र साक्षी बनेर खडा हुनुपर्छ भन्‍ने हो। जब अय्यूब यो स्थितिमा पुगे परमेश्‍वर तिनीकहाँ देखा पर्नुभयो र तिनीसँग बोल्नुभयो। अर्थात्, तेरो भित्रको विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई देख्न सक्छस्, अनि जब तँमा विश्‍वास हुन्छ परमेश्‍वरले तँलाई सिद्ध बनाउनुहुन्छ। विश्‍वासविना उहाँले यो गर्न सक्नुहुन्न। तैँले जे प्राप्त गर्ने आशा गरेको छस्, परमेश्‍वरले त्यो तँलाई दिनुहुनेछ। यदि तँसँग विश्‍वास छैन भने तँलाई सिद्ध बनाउन सकिँदैन, तैँले परमेश्‍वरका कामहरू देख्न सक्दैनस्, उहाँको सर्वशक्ति देख्‍ने कुरा त परै जाओस्। जब आफ्नो व्यक्तिगत अनुभवमा उहाँका कार्यहरू देख्‍न सक्‍ने विश्‍वास तँमा हुन्छ, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ, र उहाँले तँलाई ज्ञान दिनुहुनेछ अनि भित्रबाट तँलाई डोर्याउनुहुनेछ। त्यो विश्‍वासविना परमेश्‍वरले त्यसो गर्न सक्‍नुहुनेछैन। यदि तैँले परमेश्‍वरमा आशा गुमाएको छस् भने, तैँले कसरी उहाँको कामको अनुभव गर्न सक्‍नेछस् र? त्यसकारण, तँमा विश्‍वास छ र तैँले परमेश्‍वरप्रति शङ्का गर्दैनस् भने मात्र, उहाँले जे गर्नुभए पनि उहाँप्रति तँमा साँचो विश्‍वास छ भने मात्र उहाँले तँलाई तेरा अनुभवहरूद्वारा ज्ञान र प्रकाश दिनुहुनेछ, तब मात्र तैँले उहाँका कामहरू देख्न सक्‍नेछस्। यी सबै कुराहरू विश्‍वासद्वारा नै प्राप्त गरिन्छ। विश्‍वास शोधनबाट मात्र आउँछ, अनि शोधनको अनुपस्थितिमा विश्‍वास बढ्न सक्दैन। यो “विश्‍वास” भन्‍ने शब्दले केलाई जनाउँछ? विश्‍वास भनेको कुनै कुरा देख्न वा छुन नसक्दा, परमेश्‍वरको काम मानिसका विचारहरूसँग मेल नखाँदा, त्यो मानव जातिको पहुँचभन्दा पर हुँदा मानव हृदयमा हुने सच्‍चा आस्था र इमानदार हृदय हो। मैले यही विश्‍वासको बारेमा कुरा गरेको हुँ। कठिनाइ र शोधनको समयमा मानिसहरूलाई विश्‍वास चाहिएको हुन्छ, अनि विश्‍वास यस्तो कुरा हो जुन शोधन पछि आउँछ; शोधन र विश्‍वासलाई अलग गर्न सकिँदैन। परमेश्‍वरले जसरी काम गर्नुभए पनि र तेरो वातावरण जस्तोसुकै भए पनि तँ जीवनलाई अनि सत्यतालाई खोजी गर्न अनि परमेश्‍वरको कामको ज्ञानलाई खोज्न, उहाँका कामहरूलाई बुझ्न सक्‍छस्, अनि तँ सत्यताअनुसार कार्य गर्न सक्छस्। यसो गर्नु नै साँचो विश्‍वास हुनु हो, अनि त्यसो गर्दा तैँले परमेश्‍वरमाथिको विश्‍वास हराएको छैनस् भन्ने देखिन्छ। यदि तँ शोधनद्वारा सत्यताको खोजीमा लागिरहन्छस् भने, यदि तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्न सक्छस् र उहाँमा शङ्का गर्दैनस् भने, यदि उहाँले जे गर्नुभए पनि तँ उहाँलाई सन्तुष्ट पार्न सत्यताको अभ्यास गर्छस् भने, र यदि तँ गहिरो रूपले उहाँको इच्छा खोज्छस् र उहाँको इच्छामा ध्यान दिन्छस् भने मात्र तैँले परमेश्‍वरमा साँचो विश्‍वास प्राप्त गर्न सक्छस्। विगतमा, जब तैँले एक राजाले जस्तो शासन गर्नेछस् भनी परमेश्‍वरले भन्नुभयो, तब तैँले उहाँलाई प्रेम गरिस्, अनि जब उहाँले आफैलाई खुल्लमखुल्ला तेरो सामु देखाउनुभयो, तँ उहाँको पछि लागिस्। तर अहिले परमेश्‍वर लुक्नुभएको छ, तँ उहाँलाई देख्न सक्दैनस्, र तँमाथि समस्याहरू आएका छन्—के अब तैँले परमेश्‍वरमा आशा गुमाइस्? यसैले, तैँले हरसमय जीवनको खोजी गर्नुपर्छ र परमेश्‍वरको इच्छा पूरा गर्ने प्रयास गर्नुपर्छ। यसैलाई वास्तविक विश्‍वास भनिन्छ, र यो सबैभन्दा साँचो र सुन्दर किसिमको प्रेम हो।

विगतमा, मानिसहरू सबै तिनीहरूका संकल्प गर्न परमेश्‍वरको सामु आउथे, र तिनीहरू भन्थे: “यदि कसैले परमेश्‍वरलाई प्रेम गर्दैन भने पनि मैले उहाँलाई प्रेम गर्नुपर्छ।” तर अहिले, तपाईंमाथि शोधन आउँछ, अनि यो तेरा विचारहरूसँग नमिल्‍ने हुनाले तैँले परमेश्‍वरमाथिको विश्‍वासलाई गुमाउँछस्। के यो सच्‍चा प्रेम हो? तैँले अय्यूबका कामहरूको बारेमा धेरै चोटि पढेको छस्—के तैँले तिनको बारेमा भुलेको छस्? साँचो प्रेमको आकार भित्रको विश्‍वासबाट मात्र बन्छ। तपाईं जुन शोधनबाट भएर जान्छस्, त्यसद्वारा परमेश्‍वरको निम्ति साँचो प्रेमको विकास गर्छस्, अनि तेरो विश्‍वासद्वारा तँ आफ्नो व्यावहारिक अनुभवहरूमा परमेश्‍वरको इच्छाको विषयमा विचारशील बन्न सक्छस्, अनि विश्‍वासद्वारा नै तँ आफ्नो शरीर त्याग्न र जीवनको पछि लाग्न सक्छस्; मानिसले गर्नुपर्ने यही नै हो। यदि तैँले यसो गरिस् भने तैँले परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, तर यदि तँमा विश्‍वासको कमी छ भने तैँले परमेश्‍वरका कार्यहरू देख्न वा उहाँको काम अनुभव गर्न सक्नेछैनस्। यदि तँ परमेश्‍वरद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छस् भने, तँमा सबै थोक हुनुपर्छ: दुःख भोग्ने इच्छा, विश्‍वास, धैर्य, आज्ञापालन, र परमेश्‍वरको काम अनुभव गर्ने क्षमता, उहाँको इच्छा बुझ्नु, उहाँको दुःखलाई विचार गर्नु र यस्तै अरू कुराहरू। व्यक्तिलाई सिद्ध बनाउनु सजिलो हुँदैन, र तैँले अनुभव गर्ने प्रत्येक शोधनको निम्ति तेरो विश्‍वास र प्रेम चाहिन्छ। यदि तँ परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस् भने बाटोमा हतार-हतार अगि बढ्नु मात्र पर्याप्त हुँदैन, न ता तैँले आफैलाई परमेश्‍वरका निम्ति खर्चनु नै पर्याप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति हुनका निम्ति तँमा धेरै वटा कुराहरू हुनुपर्छ। जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो। तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्‍वास, दुवै हुनुपर्छ, अनि तँमा देहलाई त्याग्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरको इच्छा पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मानदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याइन सकिँदैन।

परमेश्‍वरको सेवा गर्ने कुनै व्यक्तिले उहाँको निम्ति कसरी दुःख भोग्नुपर्छ भन्ने कुरा मात्र होइन, योभन्दा पनि बढी परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य परमेश्‍वरको प्रेमको पछि लाग्नु नै हो भन्‍ने कुरा पनि बुझ्‍नुपर्छ। परमेश्‍वरले तँलाई शोधन गर्न वा तँलाई दुःख दिनका निम्ति मात्र तँलाई प्रयोग गर्नुहुन्न, बरु तैँले उहाँका कामहरू जान्‍न सक्, मानव जीवनको वास्तविक महत्त्वलाई बुझ्‍न सक्, अनि विशेष गरी, परमेश्‍वरको सेवा गर्नु सजिलो काम होइन भनी तैँले बुझ्‍न सक् भनी तँलाई प्रयोग गर्नुहुन्छ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको अनुग्रहबाट आनन्द पाउनु होइन, बरु उहाँप्रति भएको तेरो प्रेमको निम्ति दुःख भोग्नु हो। तैँले परमेश्‍वरको अनुग्रह उपभोग गर्छस् भने तैँले उहाँको सजाय पनि उपभोग गर्नुपर्छ; तैँले यो सब अनुभव गर्नैपर्छ। तैँले आफूभित्र परमेश्‍वरको ज्ञानको अनुभव गर्न सक्छस्, र उहाँले तँसँग कसरी निराकरण र न्याय गर्नुहुन्छ भन्ने पनि तैँले अनुभव गर्न सक्छस्। यस्तो प्रकारले तेरो अनुभव व्यापक हुनेछ। परमेश्‍वरले तँमाथि उहाँको न्याय र सजायको काम पूरा गर्नुभएको छ। परमेश्‍वरको वचनले तँलाई निराकरण गर्नुभएको छ, तर त्यति मात्र होइन यसले तँलाई ज्ञान र प्रकाश पनि दिएको छ। जब तँ नकारात्मक र कमजोर बन्छस्, परमेश्‍वरले तेरो निम्ति चिन्ता गर्नुहुन्छ। यी सबै काम मानिसको विषयमा सबै कुरा परमेश्‍वरका योजनाहरूभित्र हुँदछ भन्‍ने कुरा तँलाई जान्‍न दिनको लागि नै गरिन्छ। हुन सक्छ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्‍ने तँ ठान्छस् होला; परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्‍ने तँलाई लाग्‍नसक्छ। तापनि मानिसले परमेश्‍वरमा भएको तिनीहरूका विश्‍वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्‍वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्‍वरका कामहरू, परमेश्‍वरको धार्मिक स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्‍चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्‍वरले माग गर्नुभएका शर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो। तँसित परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा सही दृष्टिकोण हुनुपर्छ र तैँले परमेश्‍वरको वचन प्राप्त गर्ने कोसिस गर्नुपर्छ। तैँले परमेश्‍वरको वचन खानु र पिउनु पर्छ र तँ सत्यतामा जिउन सक्नुपर्छ, अनि विशेष गरी तैँले सम्पूर्ण ब्रह्माण्डमा भएका उहाँका व्यावहारिक कार्यहरू, उहाँका अचम्मका कामहरू साथै उहाँले देहमा गर्नुहुने व्यावहारिक कार्यहरू देख्न सक्नुपर्छ। आफ्‍ना व्यावहारिक अनुभवहरूद्वारा मानिसहरूले उनीहरूमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँको इच्छा के छ सो बुझ्न सक्छन्। यी सबैको उद्देश्य भनेको मानिसहरूको भ्रष्ट शैतानिक स्वभावलाई हटाउनु हो। तँभित्रका सबै अशुद्धता अधार्मिकता र हटाएपछि, अनि तेरा गलत उद्देश्यहरू फालेपछि र परमेश्‍वरमा साँचो विश्‍वास विकास गरेपछि—साँचो विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्‍वरमा भएको तेरो विश्‍वासको आधारमा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। के परमेश्‍वरमा विश्‍वास नगरी तैँले उहाँको निम्ति प्रेम प्राप्त गर्न सक्छस्? तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् यसैले तँ त्यस विषयमा भ्रमित बन्न सक्दैनस्। केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आशिषहरू पाइन्छ भन्‍ने देख्‍न साथ जोशले भरिन्छन्, तर तिनीहरूले शोधनको कष्ट भोग्नुपर्छ भन्‍ने देख्‍नसाथ सबै ऊर्जा गुमाउँछन्। के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? आखिरीमा तैँले आफ्नो विश्‍वासमा परमेश्‍वरको सामु पूर्ण र पूरा आज्ञापालन प्राप्त गर्नुपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तर अझै पनि उहाँबाट मागहरू गर्छस्, तैँले दबाउन नसक्ने धेरै वटा धार्मिक धारणाहरू छन्, तैँले छोड्न नसक्ने व्यक्तिगत रुचिहरू छन्, र अझै पनि तँ देहको आशिष् खोज्छस् र परमेश्‍वरले तेरो शरीरलाई उद्धार गर्नुभएको, तेरो प्राणलाई मुक्ति दिनुभएको चाहन्छस् साँचो रूपमा यी सबै गलत दृष्टिकोण भएका मानिसहरूमा हुने व्यवहारहरू हुन्। धार्मिक विश्‍वास हुने मानिसहरूमा परमेश्‍वरप्रति विश्‍वास भए पनि तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्‍वरको ज्ञानको खोजी गर्दैनन्, तर तिनीहरूका देहको हित हुने कुराहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक निश्‍चयताको वर्गमा पर्ने विश्‍वास छ; यो परमेश्‍वरमाथिको साँचो विश्‍वास होइन। परमेश्‍वरमा विश्‍वास गर्नको निम्ति मानिसहरूमा त्यस्तो हृदय हुनुपर्छ, जुन उहाँको निम्ति दुःख भोग्न तयार हुन्छ र आफैलाई त्याग्ने इच्छा गर्छ। मानिसले यी दुईवटा शर्त पूरा नगरे परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्षम हुँदैनन्। साँचो रूपले सत्यताको पछि लाग्‍ने, परमेश्‍वरको ज्ञानको खोजी गर्ने र जीवनको पछि लाग्‍ने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्।

जब तँमाथि परीक्षाहरू आउँछन्, तब ती परीक्षाहरूको सामना गर्न तैँले कसरी परमेश्‍वरको वचन प्रयोग गर्नेछस्? तँ नकारात्मक बन्‍नेछस्, कि परमेश्‍वरले मानिसलाई गर्नुहुने जाँच र शोधनलाई सकारात्मक रूपमा बुझ्छस्? परमेश्‍वरका जाँचहरू र शोधनहरूबाट तैँले के प्राप्त गर्नेछस्? के परमेश्‍वरप्रतिको तेरो प्रेम बढ्नेछ? जब तँ शोधनमा पर्छस्, के तँ अय्यूबका जाँचहरू प्रयोग गर्न अनि परमेश्‍वरले तँमा गर्नुहुने कार्यमा गम्भीरतासाथ संलग्न हुन सक्छस्? परमेश्‍वरले अय्यूबका आपत्-विपदहरूद्वारा मानिसलाई कसरी जाँच्नुहुन्छ भन्ने कुरा के तँ देख्न सक्छस्? अय्यूबका जाँचहरूले तँलाई कस्तो किसिमको प्रेरणा दिन्छ? के तँ शोधन भइरहेको बेला परमेश्‍वरका निम्ति साक्षी भई खडा हुन इच्छुक हुनेछस् वा के सहज वातावरणमा शरीरलाई सन्तुष्ट पार्न चाहनेछस्? परमेश्‍वरमा विश्‍वास गर्नेबारे तेरो वास्तविक दृष्टिकोण के हो? के त्यो साँच्चै उहाँको निम्ति हो तर शरीरका निम्ति होइन? के तँसित साँच्चै एउटा लक्ष्य छ, जसको पछि तँ लाग्छस्? के तँ परमेश्‍वरद्वारा सिद्ध पारिनलाई शोधनबाट भएर जान चाहन्छस्, वा तँ परमेश्‍वरद्वारा सजाय र सराप पाउन चाहन्छस्? परमेश्‍वरको साक्षी बन्ने विषयमा तेरो वास्तविक दृष्टिकोण के हो? परमेश्‍वरको साँचो साक्षी दिनका निम्ति मानिसहरूले विशेष परिस्थितिहरूमा के गर्नुपर्छ? व्यावहारिक परमेश्‍वरले तँमा गर्नुभएको उहाँको वास्तविक काममा धेरै कुरा प्रकट गर्नुभएको छ भने तँ किन सधैँ छोडेर जाने विचार गर्नुहुन्छ? के तँ परमेश्‍वरलाई परमेश्‍वर नै ठानेर विश्‍वास गर्छस्? किनकि तिमीहरूमध्ये धेरैको निम्ति, तिमीहरूको विश्‍वास तिमीहरूको आफ्‍नै फाइदाको लागि तिमीहरूले गर्ने तिमीहरूको आफ्नै अनुमानको हिस्सा हो। थोरै मानिसले मात्र परमेश्‍वरलाई परमेश्‍वर नै ठानेर विश्‍वास गर्छन्; के यो विद्रोह होइन र?

शोधन गर्ने कार्यको मुख्य उद्देश्य भनेको मानिसहरूको विश्‍वास सिद्ध बनाउनु। अन्त्यमा, के हासिल हुन्छ भने, तँ छोड्न चाहन्छस् तर सक्दैनस्; केही मानिसहरूले आशाको एउटा सानो त्यान्द्रो हुँदा पनि विश्‍वास गर्न सक्छन्; अनि आफ्‍ना भविष्यका सम्भावनाहरूप्रति मानिसहरूसँग उप्रान्त कुनै आशा हुँदैन। यस्तो समयमा मात्र परमेश्‍वरले गर्नुहुने शोधन समाप्त हुन्छ। मानिस अझै पनि जीवन र मृत्युको बीचमा अडिरहने स्थितिमा पुगेको छैन, अनि तिनीहरूले मृत्युको स्वाद चाखेका छैनन्, यसैले शोधनको प्रक्रिया अझै समाप्त भएको छैन। जो सेवाकर्ताहरूको चरणमा थिए तिनीहरू पनि पूरा शोधन भएका थिएनन्। अय्यूब चरम शोधनबाट भएर गए, अनि तिनीसँग तिनले भर पर्ने केही पनि थिएन। मानिसहरू शोधनमा त्यो हदसम्म पुग्नुपर्छ जब तिनीहरूमा कुनै आशा रहँदैन र भर पर्ने कुनै कुरा हुँदैन—यो मात्र साँचो शोधन हो। सेवाकर्ताहरूको समयमा, यदि तेरो हृदय सधैँ परमेश्‍वरको सामु शान्त थियो भने, अनि उहाँले जे गर्नु भएको भए पनि र तेरो निम्ति उहाँको इच्छा जे-जस्तो थियो भने पनि, तैँले सँधै उहाँको प्रबन्धको आज्ञापालन गरेको छस् भने अन्त्यमा गएर तैँले परमेश्‍वरले गर्नुभएका सबै कार्यहरू बुझ्‍नेछस्। तँ अय्यूबको जाँचहरूबाट भएर जान्छस्, त्यसको साथसाथै तँ पत्रुसका जाँचहरूबाट पनि भएर जान्छस्। जब अय्यूबको जाँच भयो, तिनी साक्षी बनेर खडा भए, अनि आखिरीमा तिनलाई यहोवा प्रकट गरियो। तिनी साक्षी बनेर खडा भएपछि मात्र तिनी परमेश्‍वरको मुहार देख्ने योग्यका भए। यसो किन भनिएको छ: “म फोहोरको देशबाट लुकेँ, तर आफैलाई पवित्र राज्यमा देखाएँ?” त्यसको अर्थ हो, जब तँ पवित्र बन्छस् र साक्षी भई खडा हुन्छस् तब मात्र परमेश्‍वरको मुहार हेर्ने मर्यादा तैँले प्राप्त गर्न सक्छस्। उहाँ तँ उहाँको साक्षी बन्न सक्दैनस् भने तँमा उहाँको मुहार हेर्ने मर्यादा हुँदैन। यदि तँ शोधनको बेला पछि हट्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्छस्, त्यसरी उहाँको साक्षी बन्न सक्दैनस् र शैतानको हाँसो पात्र बन्छस् भने तैँले परमेश्‍वरको रूप प्राप्त गर्नेछैनस्। यदि तँ जाँचहरू हुँदा अय्यूबले जस्तै आफ्नै शरीरलाई सराप्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्दैनस् भने, अनि कुनै गुनासो नगरी वा बोलीवचनद्वारा पाप नगरी आफ्नै शरीरलाई घृणा गर्छस् भने तँ साक्षी बनेर खडा भएको हुनेछस्। जब तँ एक निश्चित हदसम्म शोधनबाट भएर जान्छस् र अझै पनि अय्यूबजस्तै हुन सक्छस्, परमेश्‍वरको सामु पूर्ण रूपमा आज्ञाकारी बन्छस् र उहाँका आवश्यकताहरू वा तेरा आफ्नै धारणाविना हुन्छस्, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ। अब परमेश्‍वर तँकहाँ प्रकट गर्नुहुन्न किनकि तँसँग अत्यन्तै धेरै आफ्नै धारणा, व्यक्तिगत पूर्वाग्रह, स्वार्थी विचार, व्यक्तिगत आवश्यकताहरू र शारीरिक चासोहरू छन् र तँ उहाँको अनुहार हेर्न योग्य छैनस्। यदि तैँले परमेश्‍वरलाई हेर्नु छ भने तैँले आफ्नै विचारहरूद्वारा उहाँलाई नाप्थिस् र त्यसो गरेर तँद्वारा उहाँ कीला ठोकिएर क्रूसमा टाँगिनुहुनेथियो। यदि तेरा विचारहरूसँग नमिल्ने धेरै वटा कुराहरू तँमाथि आउँछन्, तापनि तँ ती सबलाई पन्साउन र ती कुराहरूबाट परमेश्‍वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्छस् भने, यदि शोधन भइरहेको बेला परमेश्‍वरप्रति तेरो प्रेमको हृदय प्रकट गर्छस् भने त्यही नै अटल साक्षी हो। यदि तेरो घर शान्तिमय छ, तैँले शरीरको सुख-सुविधाको आनन्द लिन्छस्, कसैले पनि तँलाई सताइरहेको छैन, र मण्डलीका भाइ-बहिनीहरूले तेरो आज्ञा पालन गर्दछन् भने, के तँ परमेश्‍वरप्रति आफ्नो प्रेमको हृदय प्रकट गर्न सक्छस्? के यस्तो परिस्थितिले तँलाई शोधन गर्न सक्छ? शोधनद्वारा मात्र परमेश्‍वरप्रतिको तेरो प्रेम देखाउन सकिन्छ, तेरा विचारहरूसँग नमिल्ने कुराहरूद्वारा मात्र तँ सिद्ध बनाइन सक्छस्। धेरै वटा विपरीत र नकारात्मक थोकहरूको सेवा र शैतानका सबै प्रकारका अभिव्यक्तिहरू प्रयोग गरेर—त्यसका कार्यहरू, त्यसले लगाउने दोषहरू, त्यसको बाधाहरू र छलहरू—परमेश्‍वरले तँलाई शैतानको घृणित अनुहार स्पष्टसँग देखाउनुहुन्छ, र त्यसरी शैतानलाई चिन्ने तेरो क्षमतालाई पूर्ण बनाउनुहुन्छ, अनि तँ शैतानलाई घृणा गर्न र त्याग्न सक्छस्।

तेरो असफलता, कमजोरी, तेरा नकारात्मक समयका धेरै वटा अनुभवहरूलाई परमेश्‍वरको जाँचहरूको समय भन्न सकिन्छ। किनकि सबै थोक परमेश्‍वरबाट आउँछन्, र सबै थोक र घटनाहरू उहाँकै हातमा छन्। तँ असफल वा तँ कमजोर भए पनि र तैँले ठोक्‍कर खाए पनि यो सबै परमेश्‍वरमा निर्भर हुन्छ र उहाँको पकडमा हुन्छन्। परमेश्‍वरको दृष्टिकोणमा यो तेरो जाँच हो, यदि तैँले यसलाई बुझ्न सकिनस् भने त्यो परीक्षा बन्छ। मानिसहरूले चिन्‍नुपर्ने दुई किसिमका अवस्थाहरू छन्: एउटा पवित्र आत्माबाट आउँछ, र अर्को सम्‍भावित स्रोत शैतान हो। एउटा अवस्था त्यो हो जुन पवित्र आत्माले तँलाई प्रकट गर्नुहुन्छ र त्यसले तँलाई आफैलाई चिन्न, घृणा गर्न र आफ्नै विषयमा पछुतो गर्न अनि परमेश्‍वरको निम्ति साँचो प्रेम प्राप्त गर्न साथै तेरो हृदय परमेश्‍वरलाई सन्तुष्ट पार्नेतिर लगाउने तुल्याउँछ। त्यहाँ अर्को अवस्था छ, जहाँ तैँले आफैलाई चिन्छस्, तर तँ नकारात्मक र कमजोर हुन्छस्। यो अवस्थालाई परमेश्‍वरको शोधन भन्न सकिन्छ, र यो शैतानको परीक्षा पनि हो। यदि यो तेरो निम्ति परमेश्‍वर मुक्ति हो भनी जान्दछस् भने र यदि तँ अब उहाँको ठूलो ऋणमा डुबेको महसुस गर्छस् भने, अनि यदि अबदेखि तैँले उहाँलाई ऋण तिर्ने कोसिस गर्छस् र अब उप्रान्त त्यस्तो भ्रष्टतामा पर्दैनस् भने, यदि तैँले उहाँका वचनहरू खानु र पिउनुमा कोसिस गर्छस् भने, यदि तँ जहिल्यै पनि तँमा कमी छ भनी सोच्छस् र तँमा तृषित हृदय छ भने यो परमेश्‍वरबाटको जाँच हो। दुःख समाप्त भएपछि र तँ फेरि अगाडि बढ्न थालेपछि, परमेश्‍वरले तँलाई डोर्याउनुहुनेछ, प्रकाश दिनुहुनेछ, अन्तर्दृष्टि दिनुहुनेछ र खुवाउनुहुनेछ। तर यदि तँ यसलाई चिन्दैनस् र तँ नकारात्मक हुँदै आफैलाई निराशामा छोड्छस् भने, यदि तँ यसप्रकारले विचार गर्छस् भने तँमाथि शैतानको परीक्षा आउनेछ। जब अय्यूब जाँचहरूबाट भएर गए, त्यसबेला परमेश्‍वर र शैतानले एक-अर्कासित बाजी लगाउनुभयो, अनि परमेश्‍वरले अय्यूबलाई कष्ट दिने अनुमति शैतानलाई दिनुभयो। त्यसबेला परमेश्‍वरले अय्यूबको जाँच गरिरहनुभएको थियो, तैपनि तिनीमाथि आउने शैतान नै थियो। शैतानका लागि, त्यो अय्यूबको परीक्षा गर्नुथियो, तर अय्यूब परमेश्‍वरको पक्षमा थिए। यदि त्यसो नभएको भए अय्यूब परीक्षामा पतन हुनेथिए। मानिसहरू परीक्षामा पतन भएपछि लगत्तै जोखिममा पर्छन्। शोधनबाट भएर जानुलाई परमेश्‍वरको जाँच भन्न सकिन्छ, तर तँ राम्रो अवस्थामा छैनस् भने त्यसलाई शैतानबाटको परीक्षा पनि भन्न सकिन्छ। यदि तँ दर्शनको विषयमा स्पष्ट छैनस् भने शैतानले तँलाई दोष लगाउनेछ र त्यस दर्शनको पक्षको विषयमा तँलाई अस्पष्ट बनाउनेछ। तैँले थाहा पाउनुभन्दा अघि नै तँ परीक्षामा पर्नेछस्।

यदि तँ परमेश्‍वरको कामको अनुभव गर्दैनस् भने, तँ कहिल्यै पनि सिद्ध हुन सक्दैनस्। तेरो अनुभवमा तँ पूर्ण विवरणभित्र पनि प्रवेश गर्नुपर्छ। उदाहरणको निम्ति, कुन-कुन कुराहरूले तँलाई धारणाहरू र अनावश्यक अभिप्रायहरू विकास गर्न अगुवाइ गर्दछन् र ती समस्याहरूलाई समाधान गर्न कुन-कुन उपयुक्त अभ्यासहरू तँसँग छन्? यदि तँ परमेश्‍वरको काम अनुभव गर्न सक्छस् भने, त्यसको अर्थ तँसँग कद छ भन्ने हुन्छ। यदि तँसँग जोश छ भन्‍ने मात्र देखिन्छ भने, यो वास्तविक कद होइन, र तँ दृढतासाथ खडा हुन सक्षम हुनेछैनस्। जब तैँले परमेश्‍वरको काम अनुभव गर्न सक्छस्, र कुनै पनि समय र स्थानमा त्यसबारे विचार गर्न सक्छस्, जब तँ गोठालाहरूलाई छोड्न र परमेश्‍वरमा भर पर्दै स्वतन्त्र रूपमा जिउँछस्, तब मात्र तैँले परमेश्‍वरका वास्तविक कार्यहरू देख्न सक्छस्—तब मात्र परमेश्‍वरको इच्‍छा प्राप्त गर्न सकिनेछ। अहिले धेरै जना मानिसहरूलाई कसरी अनुभव गर्ने भन्‍ने थाहा छैन, र जब तिनीहरूले कुनै समस्या भेट्टाउँछन्, त्यसलाई कसरी समाधान गर्ने सो तिनीहरू जान्दैनन्; तिनीहरूले परमेश्‍वरको कामको अनुभव गर्न सक्दैनन्, र तिनीहरूले आत्मिक जीवन जिउन सक्दैनन्। तैँले परमेश्‍वरका वचनहरू र कामलाई व्यवहारमा लागू गर्नुपर्दछ।

कहिलेकहीँ परमेश्‍वरले तँलाई एक निश्‍चित प्रकारको अनुभूति दिनुहुन्छ, यस्तो भावना जसको कारण तैँले आफ्नो भित्री आनन्द र परमेश्‍वरको उपस्थिति गुमाउनुपर्छ, जसले गर्दा तँ अन्धकारमा डुब्छस्। यो एक किसिमको शोधन हो। जब-जब तँ केही गर्छस्, तब त्यो सधैँ गलत हुन जान्छ वा तेरो सामु बाधा खडा हुन्छ। यो परमेश्‍वरको अनुशासन हो। कहिलेकहीँ, जब तँ परमेश्‍वरप्रति अनाज्ञाकारी र विद्रोही कार्य गर्छस् त्यो अरू कसैलाई थाहा नहुन सक्छ—तर परमेश्‍वरलाई थाहा हुन्छ। उहाँले तँलाई त्यसै छोडिदिनुहुनेछैन, उहाँले तँलाई अनुशासनमा राख्‍नुहुनेछ। पवित्र आत्माको काम धेरै विस्तृत छ। उहाँले मानिसहरूको प्रत्येक बोलीवचन र कार्यलाई, तिनीहरूका प्रत्येक व्यवहार र चाललाई, तिनीहरूका हरेक विचार र योजनालाई ध्यान दिएर हेर्नुहुन्छ, ताकि मानिसहरूले यी कुराहरूको आन्तरिक ज्ञान प्राप्त गर्न सकून्। तैँले एक पल्ट कुनै कुरा गर्छस् र त्यो गलत हुन्छ, तँ फेरि कुनै काम गर्छस्, अनि त्यो अझै गलत हुन्छ, अनि बिस्तारै तँ पवित्र आत्माको कामलाई जानेछस्। धेरै चोटि अनुशासनमा परेपछि तैँले परमेश्‍वरको इच्छासँग मिल्दो हुन के गर्नुपर्छ र कुन कुरा उहाँको इच्छासँग मिल्दोजुल्दो हुँदैन सो जान्‍नेछस्। अन्त्यमा, पवित्र आत्माको अगुवाइप्रति तेरो भित्रैबाट निस्केको सटीक प्रतिक्रिया तँमा हुनेछ। कहिलेकहीँ तँ विद्रोही बन्‍नेछस् र परमेश्‍वरले तँलाई भित्रैबाट हप्काउनुहुनेछ। यो सबै नै परमेश्‍वरको अनुशासनबाट आउँछ। यदि तँ परमेश्‍वरको वचनलाई बहुमूल्य ठान्दैनस् भने, यदि तैँले उहाँको कामलाई अनादर गरिस् भने, उहाँले तँलाई कुनै ध्यान दिनुहुनेछैन। परमेश्‍वरको वचनलाई तैँले जति गम्भीरतासाथ लिन्छस्, उहाँले तँलाई त्यत्ति नै बढी अन्तर्दृष्टि दिनुहुनेछ। अहिले, चर्चमा केही मानिसहरू छन् जसमा भद्रगोल र भ्रमित विश्‍वास हुन्छ, अनि तिनीहरूले अनेक अनुचित कार्यहरू गर्छन् र अनुशासनहीन व्यवहार गर्छन्, यसैले तिनीहरूमा पवित्र आत्माको कामलाई स्पष्ट रूपमा देख्न सकिँदैन। कतिपय मानिसहरूले अनुशासनमा नरहिकन गएर व्यवसाय गर्दै, पैसा कमाउनको खातिर आफ्‍ना कर्तव्यहरूलाई त्यागेर जान्छन्। यस किसिमको मानिस अझ बढी खतरामा हुन्छ। तिनीहरूसँग अहिले पवित्र आत्माको काम नहुने मात्र होइन, तिनीहरूलाई सिद्ध बन्न भविष्यमा पनि गाह्रो पर्नेछ। धेरै जना मानिसहरू यस्ता छन्, जसमा पवित्र आत्माको काम देख्‍न सकिँदैन र जसमा परमेश्‍वरको अनुशासन देख्न सकिँदैन। तिनीहरू ती हुन् जसले परमेश्‍वरको इच्छालाई स्पष्ट रूपमा जान्दैनन् र उहाँको काम जान्दैनन्। जो शोधनको बीचमा अटल भई बस्छन्, परमेश्‍वरले जस्तोसुकै कार्य गर्नुभए पनि जो उहाँको पछि लाग्छन्, र कम्तीमा पनि छोड्न सक्दैनन्, वा जसले पत्रुसले हासिल गरेको कामको ०१.% हासिल गर्दछन्, तिनीहरूले राम्रै गरिरहेका हुन्छन्, तर परमेश्‍वरले तिनीहरूलाई प्रयोग गर्नुहुने सम्बन्धमा तिनीहरूको कुनै मूल्य हुँदैन। धेरै जना मानिसहरूले परिस्थितिलाई चाँडै बुझ्दछन्, तिनीहरूमा परमेश्‍वरप्रतिको साँचो प्रेम हुन्छ, र पत्रुसको स्तरलाई उछिन्छन्, र परमेश्‍वरले तिनीहरूलाई सिद्ध पार्ने काम गर्नुहुन्छ। त्यस्ता मानिसहरूमा अनुशासन र ज्ञान आउँदछ, यदि तिनीहरूमा परमेश्‍वरको इच्छासँग नमिल्ने केही छ भने त्यो तिनीहरूले तुरुन्तै फाल्न सक्छन्। त्यस्ता मानिसहरू सुन, चाँदी र बहुमूल्य पत्थरहरू हुन्—तिनीहरूको मूल्य अति उच्च हुन्छ! परमेश्‍वरले धेरै किसिमका कामहरू गर्नुभएको छ, तर तँ अझै पनि बालुवा र ढुङ्गाजस्तो छस् भने, तँ मूल्यहीन छस्!

ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरको काम अचम्मको र बुझ्न नसकिने छ। उहाँले मानिसहरूको एउटा झुण्डलाई सिद्ध बनाउनुहुनेछ र अरू केहीलाई हटाउनुहुनेछ, किनकि मण्डलीमा हरकिसिमका मानिसहरू हुन्छन्—त्यहाँ सत्यलाई प्रेम गर्नेहरू, र नगर्नेहरू हुन्छन्; परमेश्‍वरको कामको अनुभव गर्नेहरू हुन्छन्, अनि नगर्नेहरू पनि हुन्छन्; आफ्‍नो कर्तव्य पूरा गर्नेहरू, र नगर्नेहरू हुन्छन्; त्यहाँ परमेश्‍वरको साक्षी दिनेहरू हुन्छन्, नदिनेहरू पनि हुन्छन्—अनि तिनीहरूमध्ये केही भाग विश्‍वास नगर्ने र दुष्ट मानिसहरू हुन्छन्, अनि तिनीहरूलाई निश्‍चय नै हटाइनेछन्। यदि तँलाई परमेश्‍वरको काम स्पष्ट रूपमा थाहा छैन भने तँ नकारात्मक बन्‍नेछस्; किनकि परमेश्‍वरको काम थोरै मानिसहरूमा मात्र देख्न सकिन्छ। यस समयमा, कसले परमेश्‍वरलाई प्रेम गर्दछ र कसले गर्दैनन् भन्ने कुरा पनि स्पष्ट हुन्छ। जसले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्छन् तिनीहरूसित पवित्र आत्माको काम हुन्छ, अनि उहाँलाई साँचो रूपले प्रेम नगर्नेहरूलाई उहाँको कामको प्रत्येक चरणद्वारा प्रकट गरिनेछन्। तिनीहरू हटाइने वस्तुहरू बन्नेछन्। यी मानिसहरूलाई विजयको कामको अवधिमा प्रकट गरिनेछन्, अनि तिनीहरू ती मानिसहरू हुन् जसमा सिद्ध हुनको लागि कुनै मूल्य हुँदैन। जुन मानिसहरू सिद्ध बनाइएका हुन्छन् तिनीहरूलाई परमेश्‍वरले सम्पूर्ण रूपमा प्राप्त गर्नुभएको हुन्छ, अनि तिनीहरू पत्रुसझैं परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन्छन्। जुन व्यक्तिहरू जितिएका हुन्छन् तिनीहरूमा सक्रिय प्रेम हुँदैन, तर निष्क्रिय प्रेम मात्र हुन्छ, अनि तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न बाध्य हुन्छन्। सक्रिय प्रेम व्यावहारिक अनुभवद्वारा ज्ञान प्राप्त गरेपछि विकास हुन्छ। यो प्रेमले व्यक्तिको हृदयमा स्थान ओगट्छ र यसले तिनीहरूलाई स्वेच्छाले परमेश्‍वरमा समर्पित हुने तुल्याउँछ; परमेश्‍वरको वचन तिनीहरूका आधार बन्छ र तिनीहरू परमेश्‍वरका निम्ति दुःख भोग्न सक्ने हुन्छन्। अवश्य नै, यी त्यस्ता कुराहरू हुन् जुन परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्तिमा हुन्छ। यदि तँ जितिन मात्र चाहन्छस् भने तैँले परमेश्‍वरको निम्ति साक्षी दिन सक्दैनस्; यदि परमेश्‍वरले मानिसहरूलाई सिद्ध बनाएर मात्र उहाँको मुक्तिको लक्ष्य प्राप्त गर्नुहुन्छ भने सेवाकर्ताहरूको कदमले काम समाप्त गर्दछ। तापनि, मानिसहरूलाई जित्नु मात्र परमेश्‍वरको अन्तिम लक्ष्य होइन, जुन मानिसहरूलाई सिद्ध बनाउनु हो। यसैले यो कदमलाई जित्ने काम भन्नुभन्दा बरु सिद्ध बनाउने र हटाउने काम हो भन्। केही मानिसहरू पूर्ण रूपले जितिएका हुँदैनन्, र तिनीहरूलाई जित्ने क्रममा मानिसहरूको एउटा झुण्डलाई सिद्ध पारिन्छ। यी दुईवटा कामलाई एकसाथ गरिन्छ। यति लामो कामको अवधिमा पनि मानिसहरू हटेका छैनन्, र यसले विजयको लक्ष्य प्राप्त भएको देखाउँछ—जित्‍नुको तथ्य यही हो। शोधनहरू विजय प्राप्त गर्नका लागि होइनन्, तर सिद्ध हुनुका लागि हुन्। शोधनविना, मानिसहरू सिद्ध हुन सक्दैनन्। त्यसैले शोधन साँच्चै मूल्यवान् छ! आज मानिसहरूको एउटा समूह सिद्ध र प्राप्त गरिएका छन्। पहिले उल्लेख गरिएका दस आशिषहरू सबै सिद्ध भएकाहरूका लागि लक्षित थिए। पृथ्वीमा तिनीहरूको स्वरूप परिवर्तन गर्ने सबै कुराको उद्देश्य तिनीहरूका निम्ति हो जो सिद्ध भइसकेका छन्। जो सिद्ध पारिएका छैनन् तिनीहरू परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्यका छैनन्।

अघिल्लो: आज परमेश्‍वरको कामको बारेमा जान्‍नेहरूले मात्र परमेश्‍वरको सेवा गर्न सक्‍छन्

अर्को: “सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्ने विषयमा संक्षिप्त चर्चा

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

वास्तविकता कसरी थाहा पाउने

परमेश्‍वर व्यावहारिक परमेश्‍वर हुनुहुन्छ: उहाँका सबै कामहरू व्यावहारिक छन्, उहाँले बोल्ने सबै वचनहरू व्यावहारिक छन्, र उहाँले व्यक्त गर्ने...

विश्‍वासको बारेमा तँलाई के थाहा छ?

मानिससँग विश्‍वासको अनिश्‍चित शब्द मात्र हुन्छ, तैपनि केले विश्‍वासको निर्माण हुन्छ भन्ने मानिसले जान्दैन, उसमा विश्‍वास हुन्छ भन्ने कुरा त...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्