कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

आज तँ परमेश्‍वरलाई कति धेरै प्रेम गर्छस्? र परमेश्‍वरले तँमा गर्नुभएका सबै कामहरूमध्ये तैँले कति धेरै जान्दछस्? तैँले सिक्नुपर्ने कुराहरू यिनै हुन्। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले मानिसमा जे गर्नुभएको छ र मानिसलाई जे देखाउनुभएको छ त्यो मानिसले उहाँलाई प्रेम गरोस् र साँच्चै उहाँलाई चिनोस् भनेर नै हो। मानिसले परमेश्‍वरका लागि कष्ट भोग्न सक्‍नुको कारण र यति टाढासम्‍म आउन सक्‍नुको कारण एक हिसाबमा परमेश्‍वरको प्रेमको कारणले हो र अर्को हिसाबमा परमेश्‍वरको उद्धारको कारणले गर्दा हो। यसबाहेक, परमेश्‍वरले मानिसमा गर्नुभएको सजाय र दण्डको कामको कारणले गर्दा हो। यदि तिमीहरू न्याय, सजाय, र परमेश्‍वरको जाँचरहित छौ भने, यदि परमेश्‍वरले तिमीहरूलाई दुःखमा पार्नुभएको छैन भने तिमीहरूले पूर्ण इमानदारीसाथ परमेश्‍वरलाई प्रेम गर्नेछैनौ। मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, परमेश्‍वरको काम कति अर्थपूर्ण छ त्यो त्यत्ति नै स्पष्ट हुन्छ, अनि मानिसको हृदय परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्‍ने कुरा तँ कसरी सिक्छस्? कुनै पीडा र शोधनविना, कष्टपूर्ण परीक्षाहरूविना—र यदि यसबाहेक, परमेश्‍वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेम, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्ने ठाउँमा पुग्न सक्थिस्? एकातिर, परमेश्‍वरले जाँच गर्नुहुँदा मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ महत्त्वहीन, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ, अर्कोतिर, उहाँले परीक्षा गर्नुहुँदा परमेश्‍वरले मानिसका लागि विभिन्न वातावरणहरू सृजना गर्नुहुन्छ, जसले मानिसलाई परमेश्‍वरको प्रेमिलोपनको अनुभव गर्न अझ बढी सक्षम बनाउँदछ। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ समाधान गर्न नसकिने भए तापनि—चकनाचूर पार्ने दुःखको तहसम्म पनि पुग्‍ने भए तापनि—यस्तो अनुभव गरिसकेपछि मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी बुझ्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरको निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्‍वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको सार बुझ्‍ने बारेमा त कुरै नगरौँ। केवल परमेश्‍वरको शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र उसँग केही पनि छैन भनी जान्न सक्छ। यसरी, परमेश्‍वरप्रतिको मानिसको प्रेम परमेश्‍वरको शोधन र न्यायको जगमाथि निर्माण भएको हुन्छ। यदि तैँले परमेश्‍वरको अनुग्रहको मात्र आनन्द लिन्छस्, शान्तिमय पारिवारिक जीवन वा भौतिक आशिषहरू मात्र प्राप्त गर्छस् भने तैँले परमेश्‍वरलाई प्राप्त गरेको छैनस्, र परमेश्‍वरमाथिको तेरो विश्‍वासलाई सफल मान्न सकिँदैन। परमेश्‍वरले पहिले नै अनुग्रहको कामको एक चरणलाई देहमा पूरा गरिसक्नुभएको छ, र मानिसलाई भौतिक आशिष्‌हरू प्रदान गरिसक्नुभएको छ, तर मानिस अनुग्रह, प्रेम र कृपाले मात्र सिद्ध हुन सक्दैन। मानिसको अनुभवमा उसले परमेश्‍वरका केही प्रेम अनुभव गर्छ र उसले परमेश्‍वरको प्रेम र दया देख्छ, तापनि केही समयसम्म उसले अनुभव गरेपछि परमेश्‍वरको अनुग्रह, र उहाँको प्रेम र कृपाले मानिसलाई सिद्ध बनाउन सक्दैन, मानिसभित्रको भ्रष्टता प्रकट गर्न सक्दैन र मानिसलाई उसको भ्रष्ट स्वभावबाट छुटकारा दिन वा उसको प्रेम र विश्‍वासलाई सिद्ध बनाउन सक्दैन भनी बुझ्छ। परमेश्‍वरको अनुग्रहको काम एउटा अवधिको काम थियो, र परमेश्‍वरलाई जान्नका लागि मानिस परमेश्‍वरको अनुग्रहको आनन्द लिने कुरामा भर पर्न सक्दैन।

कुन तरिकाले परमेश्‍वरले मानिसलाई सिद्ध बनाउने कार्य पूरा गरिन्छ? यसलाई उहाँको धर्मी स्वभावको माध्यमबाट पूरा गरिन्छ। परमेश्‍वरको स्वभाव मुख्य रूपले धार्मिकता, क्रोध, महानता, न्याय र सरापले बनेको हुन्छ र उहाँले मानिसलाई मुख्य रूपले आफ्नो न्यायद्वारा सिद्ध बनाउनुहुन्छ। कति मानिसहरूले बुझ्दैनन्, र परमेश्‍वरले किन मानिसलाई न्याय र सरापद्वारा मात्र सिद्ध बनाउन सक्‍नुहुन्छ भनी प्रश्न गर्छ। तिनीहरू भन्छन्, “यदि परमेश्‍वरले मानिसलाई सराप्नुभयो भने, के मानिस मर्नेथिएन र? यदि परमेश्‍वरले मानिसलाई इन्साफ गर्नुभयो भने, के मानिस दोषी हुने थिएन? त्यसो भए ऊ कसरी अझै सिद्ध हुन सक्छ?” यी ती मानिसहरूका कुरा हुन्, जसले परमेश्‍वरका कामहरूलाई जान्दैनन्। परमेश्‍वरले जुन कुरालाई सराप्नुहुन्छ त्यो मानिसको अनाज्ञाकारिता हो, र उहाँले जे कुराको न्याय गर्नुहुन्छ त्यो मानिसको पाप हो। उहाँ रूखो र कठोरता साथ बोल्नुहुने भए तापनि, उहाँले मानिसभित्र भएका सबै कुरा प्रकट गर्नुहुन्छ, उहाँले यी कठोर शब्दहरूद्वारा ती कुरा प्रकट गर्नुहुन्छ जुन मूल रूपमा मानिसभित्र हुन्छ, तापनि त्यस्तो न्यायद्वारा उहाँले मानिसलाई देहको सारको गहिरो ज्ञान दिनुहुन्छ, र यसैले मानिस परमेश्‍वरको सामु समर्पित हुन्छ। मानिसको शरीर पापको र शैतानको हो, यो अनाज्ञाकारिता हो, र यो परमेश्‍वरको सजायको पात्र हो। यसैले, मानिसलाई ऊ आफैलाई चिन्‍न लगाउनको लागि परमेश्‍वरका वचनहरूको न्याय ऊमाथि आउनुपर्छ र त्यहाँ हरप्रकारको शोधन प्रयोग गर्नुपर्दछ; तब मात्र परमेश्‍वरको काम प्रभावकारी हुन सक्दछ।

परमेश्‍वरले बोल्नुभएका वचनहरूबाट यो बुझ्न सकिन्छ, कि उहाँले मानव देहलाई अघिबाटै दोषी ठहराइसक्‍नुभएको छ। त्यसो भए, के यी वचनहरू सरापका वचनहरू होइनन् र? परमेश्‍वरले बोल्नुभएका वचनहरूले मानिसको वास्तविक रङ्ग प्रकट गर्दछ, र त्यस्तै प्रकाशद्वारा उसको न्याय हुन्छ, र जब उसले आफू परमेश्‍वरको इच्छा पूरा गर्न असमर्थ छु भन्‍ने देख्छ, तब भित्र उसले शोक र पछुतोको महसुस गर्दछ, उसले आफू परमेश्‍वरप्रति ऋणी भएको महसुस गर्छ, र परमेश्‍वरको इच्छा प्राप्त गर्न सक्दैन। कहिलेकहीँ यस्ता समयहरू हुन्छन् जब पवित्र आत्माले तँलाई भित्रबाट अनुशासित गर्नुहुन्छ, र यो अनुशासन परमेश्‍वरको न्यायबाट आउँदछ; कहिलेकहीँ यस्तो समय हुन्छ, जब परमेश्‍वरले तँलाई हप्‍काउनुहुन्छ, र आफ्नो अनुहार तँबाट लुकाउनुहुन्छ, जब उहाँले तँलाई कुनै ध्यान दिनुहुन्न र तँभित्र कुनै काम गर्नुहुन्न, तँलाई शोधन गर्नका निम्ति विनाआवाज तँलाई दण्ड दिनुहुन्छ। मानिसमा परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपले उहाँको आफ्नो धर्मी स्वभाव स्पष्ट पार्नको लागि हो। मानिसले अन्त्यमा परमेश्‍वरको लागि कस्तो गवाही दिन्छ? मानिसले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, उहाँको स्वभाव धार्मिकता, क्रोध, सजाय र न्याय हो भनी गवाही दिन्छ; मानिसले परमेश्‍वरको धर्मी स्वभावको गवाही दिन्छ। मानिसलाई सिद्ध बनाउन परमेश्‍वरले उहाँको न्यायको प्रयोग गर्नुहुन्छ, उहाँले मानिसलाई प्रेम गर्नुभएको छ, र मानिसलाई मुक्ति दिनुभएको छ—तर उहाँको प्रेममा कति धेरै कुरा छ? त्यहाँ न्याय, प्रताप, क्रोध र सराप छ। विगतमा परमेश्‍वरले मानिसलाई सराप दिनुभएको भए पनि उहाँले मानिसलाई पूर्ण रूपमा अतल कुण्डमा हालिदिनुभएन, तर त्यो साधनलाई मानिसको विश्‍वासलाई शोधन गर्न प्रयोग गर्नुभयो; उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन, तर मानिसलाई सिद्ध बनाउनका निम्ति कार्य गर्नुभयो। शरीरको सार त्यो हो जुन शैतानको हो—परमेश्‍वरले यसलाई ठीकै भन्नुभएको थियो—तर परमेश्‍वरले गर्नुभएका तथ्यहरूलाई उहाँका वचनहरू अनुसार पूरा गरिँदैनन्। तैँले उहाँलाई प्रेम गर्न सक् र तैँले देहको सारलाई बुझ्न सक् भनी उहाँले तँलाई सराप्नुहुन्छ; तँ बिउँझन सक्, तैँले आफू भित्रका कमी-कमजोरीहरूलाई जान्न सक् अनि मानिस पूर्ण रूपमा अयोग्य छ भनी जान् भनी उहाँले तँलाई सजाय दिनुहुन्छ। यसैले, परमेश्‍वरका सरापहरू, उहाँको न्याय र उहाँको प्रताप र क्रोध—ती सबै मानिसलाई सिद्ध बनाउनका निम्ति हुन्। आज परमेश्‍वरले गर्नुहुने सबै कुरा, र उहाँले तिमीहरूभित्र स्पष्ट पार्नुहुने धर्मी स्वभाव—यी सबै मानिसलाई सिद्ध बनाउनका लागि हुन्। परमेश्‍वरको प्रेम यस्तो प्रकारको छ।

मानिसका परम्परागत धारणाहरूमा, उसले यो विश्‍वास गर्छ, कि परमेश्‍वरको प्रेम उहाँको अनुग्रह, दया, र मानिसको कमजोरीप्रतिको सहानुभूति हो। यी थोकहरू पनि परमेश्‍वरको प्रेम नै भए तापनि, ती अत्यन्तै एकतर्फी छन्, र ती परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुने मुख्य माध्यम होइनन्। कोही मानिसहरू बिमारीको कारण परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्। यो बिमारी तेरो लागि परमेश्‍वरको अनुग्रह हो; योविना तैँले परमेश्‍वरमा विश्‍वास गर्ने थिइनस्—र यदि तैँले परमेश्‍वरमा विश्‍वास नगरेको भए तँ यति टाढासम्म आउने थिइनस्—यसैले यो अनुग्रह पनि परमेश्‍वरको प्रेम नै हो। येशूमा विश्‍वास गर्ने समयमा मानिसहरूले परमेश्‍वरलाई अप्रिय लाग्ने धेरै कुराहरू गरे, किनकि तिनीहरूले सत्यतालाई बुझेका थिएनन्, तैपनि परमेश्‍वरसँग प्रेम र कृपा छ, र उहाँले मानिसलाई यहाँसम्म ल्याउनुभएको छ, र मानिसहरूले केही नबुझे पनि अझै पनि परमेश्‍वरले मानिसलाई उहाँको पछि लाग्‍न दिनुहुन्छ, यसबाहेक, उहाँले मानिसलाई आजको दिनसम्म ल्याउनुभएको छ। के यो परमेश्‍वरको प्रेम होइन र? जुन कुरा परमेश्‍वरको स्वभावमा प्रकट हुन्छ, त्यो परमेश्‍वरको प्रेम हो—यो एकदम सही छ! जब मण्डली निर्माणको कार्य चरम सीमामा पुगेको थियो, तब परमेश्‍वरले सेवाकर्ताहरूको कामको चरण पूरा गर्नुभयो र मानिसलाई अतल कुण्डमा हालिदिनुभयो। सेवाकर्ताहरूका समयका वचनहरू सबै सरापहरू थिए: तेरो शरीरको सराप, तेरो भ्रष्ट शैतानिक स्वभावको सराप, र परमेश्‍वरको इच्छा पूरा नगर्ने तेरा कुराहरूका सरापहरू। त्यस चरणमा परमेश्‍वरले गर्नुभएको काम प्रतापको रूपमा प्रकट भयो, त्यसको लगत्तै परमेश्‍वरले सजायको कामको चरण पूरा गर्नुभयो, र त्यहाँ मृत्युको जाँच आयो। त्यस्तो काममा, मानिसले परमेश्‍वरको क्रोध, प्रताप, न्याय, र सजाय देख्यो, तैपनि उसले परमेश्‍वरको अनुग्रह, उहाँको प्रेम र कृपा पनि देख्यो। परमेश्‍वरले गर्नुभएका सबै कुरा, र उहाँको स्वभावको रूपमा प्रकट भएका सबै कुरा, मानिसका लागि परमेश्‍वरको प्रेम थियो, र परमेश्‍वरले गर्नुभएका सबै कुराले मानिसका आवश्यकताहरू पूरा गर्न सके। उहाँले मानिसलाई सिद्ध बनाउनका लागि यो गर्नुभयो, र उहाँले मानिसका निम्ति उसको कदअनुसार प्रबन्ध गर्नुभयो। यदि परमेश्‍वरले यो नगर्नुभएको भए, मानिस परमेश्‍वरको सामु आउन सक्दैनथियो र उसँग परमेश्‍वरको वास्तविक अनुहार चिन्ने कुनै उपाय हुँदैनथ्यो। मानिसले सबैभन्दा पहिले परमेश्‍वरमा विश्‍वास गर्न थालेकोदेखि आजसम्म परमेश्‍वरले मानिसका निम्ति उसको कदअनुसार बिस्तारै प्रबन्ध गरिदिनुभएको छ, यसैले भित्रबाट मानिसले बिस्तारै उहाँलाई चिन्न सक्यो। आजको दिनमा आइपुगेपछि मात्र मानिसले परमेश्‍वरको न्याय कति अचम्मको छ भनी थाहा पाउँछ। सेवाकर्ताहरूको कामको चरण भनेको सृष्टिको समयदेखि आजसम्म भएको सरापको कामको पहिलो घटना थियो। मानिसलाई श्राप दिई अतल कुण्डमा पुर्‍याइएको थियो। यदि परमेश्‍वरले त्यो नगर्नुभएको भए, आज मानिसमा परमेश्‍वरबारे सही ज्ञान हुने थिएन; परमेश्‍वरको सरापद्वारा मात्र मानिसले उहाँको आधिकारिक स्वभावलाई अनुभव गऱ्यो। सेवाकर्ताहरूको जाँचद्वारा मानिसलाई प्रकट गरियो। उसले उसको बफादारी अस्वीकार्य छ, उसको कद धेरै सानो छ, उसले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन, र परमेश्‍वरलाई सन्तुष्ट पार्छु भन्‍ने उसका दाबीहरू सधैँ शब्‍दहरूमा मात्र सीमित छन् भन्‍ने देख्यो। परमेश्‍वरले मानिसलाई सेवाकर्ताहरूको कामको चरणमा सराप दिनुभएको भए तापनि, अहिले पछाडि फर्केर हेर्दा, परमेश्‍वरको कामको त्यो चरण अद्भुत थियो: यसले मानिसका लागि ठूलो मोड् ल्यायो र उसको जीवनको स्वभावमा ठूलो परिवर्तन ल्यायो। सेवाकर्ताहरूको समयभन्दा पहिले मानिसले जीवनको खोजी गर्नु, परमेश्‍वरमा विश्‍वास गर्नु, वा परमेश्‍वरको कामको बुद्धि के हो भनी केही पनि बुझेको थिएन, न त उसले परमेश्‍वरको कामले मानिसलाई जाँच्‍न सक्छ भनी बुझेको नै थियो। सेवा गर्नेहरूको समयदेखि आजसम्म मानिसले परमेश्‍वरको काम कति अचम्मलाग्दो रहेछ भनी देख्दछ—यो मानिसका निम्ति बुझ्नै नसकिने छ। परमेश्‍वरले आफ्नो दिमाग प्रयोग गरेर कसरी काम गर्नुहुन्छ भनी मानिसले कल्पना गर्न सक्दैन, र उसले आफ्नो कद कति सानो रहेछ र ऊ कति धेरै अनाज्ञाकारी छ भनेर पनि देख्दछ। जब परमेश्‍वरले मानिसलाई सराप्नुभयो, त्यो एउटा परिणाम प्राप्त गर्नका निम्ति थियो, र उहाँले मानिसलाई मृत्युदण्ड दिनुभएन। उहाँले मानिसलाई सराप्नुभएको भए तापनि, उहाँले त्यो वचनहरूद्वारा गर्नुभयो, र उहाँको सरापहरू वास्तवमा मानिसमाथि आइलागेनन्, किनकि परमेश्‍वरका सरापहरू मानिसको अनाज्ञाकारिताका निम्ति थिए, त्यसैले उहाँका सरापका शब्दहरू मानिसलाई सिद्ध बनाउनका निम्ति पनि बोलिएका थिए। परमेश्‍वरले मानिसलाई न्याय गर्नुभए पनि वा सराप दिनुभए पनि, ती दुवैले मानिसलाई सिद्ध बनाउँछ: ती दुवै मानिसभित्रको अशुद्धतालाई सिद्ध बनाउनका लागि गरिन्छ। यस माध्यमद्वारा मानिस शुद्ध पारिन्छ, मानिसभित्र जुन कुराको कमी हुन्छ त्यसलाई उहाँका वचन र कामहरूद्वारा सिद्ध पारिन्छ। परमेश्‍वरको कामको हरेक चरण—चाहे ती कठोर वचनहरू होऊन्, वा न्याय, वा सजाय होऊन्—तिनले मानिसलाई सिद्ध बनाउँछ, र ती बिलकुल उपयुक्त छन्। परमेश्‍वरले युगौंयुगसम्म कहिल्यै पनि यस्तो काम गर्नुभएन; आज, तिमीहरूले उहाँको बुद्धिको कदर गर्न सक भनेर उहाँले तिमीहरूभित्र काम गर्नुहुन्छ। तिमीहरूले आफैभित्र केही पीडा भोगेको भए तापनि, तिमीहरूको हृदयले स्थिरता र शान्तिको महसुस गर्दछ; परमेश्‍वरको कामको यस चरणको आनन्द लिन सक्नु तेरो निम्ति आशिष् हो। तिमीहरूले भविष्यमा चाहे जे नै प्राप्त गर्न सके पनि आज तिमीहरूले आफूमा देखेको परमेश्‍वरको काम प्रेम नै हो भनी बुझ्नेछौ। यदि मानिसले परमेश्‍वरको न्याय र शोधनको अनुभव गर्दैन भने, उसका कामहरू र जोश सधैँ सतह स्तरमा रहन्छ, र उसको स्वभाव सधैँ अपरिवर्तित रहन्छ। के यसलाई परमेश्‍वरद्वारा प्राप्त गरिएको मान्न सकिन्छ? आज, मानिसभित्र अझै पनि अहङ्कारी र घमण्डी धेरै कुराहरू भए तापनि, मानिसको स्वभाव पहिलेको भन्दा धेरै स्थिर छ। परमेश्‍वरले तँलाई मुक्ति दिनको लागि तँलाई निराकरण गर्नुहुन्छ, अनि तैँले कहिलेकहीँ पीडा महसुस गरे पनि त्यो दिन आउनेछ जब तेरो स्वभावमा परिवर्तन आउनेछ। त्यस बेला, तैँले पछि फर्केर हेर्नेछस्, र परमेश्‍वरको काम कति बुद्धिमानी रहेछ भनी बुझ्नेछस्, अनि त्यस बेला तैँले परमेश्‍वरको इच्छालाई साँच्चै बुझ्न सक्नेछस्। आज, केही मानिसहरू छन् जसले भन्छन् कि उनीहरू परमेश्‍वरको इच्छा बुझ्दछन्, तर त्यो साँचो होइन। वास्तवमा उनीहरू झूटो बोलिरहेका हुन्छन्, किनकि अहिले उनीहरूले परमेश्‍वरको इच्छा मानिसलाई बचाउने हो कि सराप दिने हो भनी बुझ्न बाँकी नै छ। सायद अहिले तँ यसलाई स्पष्ट रूपमा देख्न सक्दैनस्, तर त्यो दिन आउनेछ जब तैँले परमेश्‍वरले महिमा प्राप्‍त गर्नुहुने दिन आएको देख्नेछस्, र परमेश्‍वरलाई प्रेम गर्नु कति अर्थपूर्ण रहेछ भनी बुझ्नेछस्, यसरी तैँले मानिसको जीवनलाई बुझ्नेछस् र तेरो शरीर परमेश्‍वरलाई प्रेम गर्ने संसारमा जिउनेछ। यसरी तेरो आत्मा स्वतन्त्र बनाइनेछ, तेरो जीवन आनन्दले भरिनेछ, र तँ सधैँ परमेश्‍वरको नजिक हुनेछस् र उहाँलाई हेर्नेछस्। त्यस बेला, तैँले साँच्चै परमेश्‍वरको आजको काम कति मूल्यवान् रहेछ भनी बुझ्नेछस्।

आज धेरैजसो मानिससँग त्यो ज्ञान छैन। तिनीहरू दुःख-कष्टको कुनै मूल्य हुँदैन भनी विश्‍वास गर्छन्, तिनीहरू संसारद्वारा त्यागिएका छन्, तिनीहरूको पारिवारिक जीवन समस्याग्रस्त छ, तिनीहरू परमेश्‍वरका प्रियहरू होइनन् र तिनीहरूका सम्भावनाहरू धमिला छन्। केही मानिसहरूको दुःख चरम सीमामा पुग्छ, र तिनीहरूका विचारहरू मृत्युमा बदलिन्छन्। यो परमेश्‍वरप्रतिको साँचो प्रेम होइन; त्यस्ता मानिसहरू कायरहरू हुन्, तिनीहरूमा कुनै दृढता हुँदैन, तिनीहरू कमजोर र शक्तिहीन छन्! परमेश्‍वर मानिसले उहाँलाई प्रेम गरोस् भनी उत्सुक हुनुहुन्छ, तर मानिसले उहाँलाई जति धेरै प्रेम गर्दछ, मानिसको दुःख उति नै बढी हुन्छ, र मानिसले उहाँलाई जति धेरै प्रेम गर्छ मानिसको परीक्षा उति नै ठूलो हुन्छ। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने सबै प्रकारका कष्टहरू तँमाथि आइलाग्नेछन्—र यदि तँ प्रेम गर्दैनस् भने, सम्भवतः तेरो निम्ति सबै कुरा सहज हुनेछ र तेरो वरिपरि शान्तिपूर्ण हुनेछ। जब तँ परमेश्‍वरलाई प्रेम गर्छस्, तब तँ आफ्नो वरिपरि समाधान गर्न नसकिने कुराहरू भएको जस्तो महसुस गर्नेछस्, र तेरो कद धेरै सानो भएकोले तँलाई शोधन गरिनेछ; यसबाहेक, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम हुनेछस्, र तैँले परमेश्‍वरको इच्छा अति उच्च र मानिसको पहुँचदेखि बाहिर छ भन्‍ने महसुस गर्नेछस्। यी सबैको कारण तँलाई शोधन गरिनेछ—तँभित्र धेरै कमजोरीहरू भएकोले, र परमेश्‍वरको इच्छा पूरा गर्न नसक्ने धेरै कुरा भएकोले तँलाई आन्तरिक रूपमा शोधन गरिनेछ। तैपनि शोधनद्वारा मात्र शुद्धीकरण प्राप्त गरिन्छ भन्‍ने कुरालाई तैँले स्पष्ट रूपमा देख्‍नुपर्छ। यसैले, यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दुःख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो। जब तँलाई शैतानले परीक्षा गर्छ, तैँले यसो भन्नुपर्छ: “मेरो हृदय परमेश्‍वरको हो, र परमेश्‍वरले मलाई अघिबाटै प्राप्त गरिसक्नुभएको छ। म तँलाई सन्तुष्ट पार्न सक्दिनँ—मैले मेरा सबै कुरा परमेश्‍वरलाई सन्तुष्ट पार्नको निम्ति समर्पण गर्नैपर्छ।” तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ; यसरी पनि तँसित विश्‍वास र संकल्प हुनेछ, अनि परमेश्‍वरलाई प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्। यो भन्न सकिन्छ, कि दुःखरहित हुनका निम्ति मानिसले परमेश्‍वरलाई प्रेम मात्रै गर्नुपर्छ। कहिलेकहीँ तेरो शरीर कमजोर हुनेभए पनि र तँ धेरै वास्तविक समस्याहरूले ग्रस्त हुनेभए पनि, यस बेला तैँले साँच्चै परमेश्‍वरमा भरोसा राख्छस्, र तेरो आत्माभित्र तँलाई सान्त्वना दिइनेछ, र तैँले सुनिश्‍चितताको र तैँले आफू भर पर्न सक्ने कुरा केही छ भन्‍ने महसुस गर्छस्। यसरी, तैँले धेरै वटा वातावरणमाथि विजय प्राप्त गर्न सक्‍नेछस्, अनि यसरी तैँले भोग्न परेको वेदनाका निम्ति परमेश्‍वरको बारेमा गुनासो गर्नेछैनस्। त्यसको साटो, तँ गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, परमेश्‍वरको बारेमा विचार गर्न चाहन्छस्, र परमेश्‍वरले तेरो वरिपरि राख्नुभएका मानिसहरू, विषयहरू र थोकहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तैँले हेर्ने सबै कुरा तँलाई पट्यारलाग्दो हुनेछ र कुनै पनि कुरा तेरा आँखाहरूलाई मनपर्दो हुनेछैन। तेरो आत्मामा तँ स्वतन्त्र हुनेछैनस्, तर अपहेलित हुन्छस्, तेरो हृदयले सधैँ परमेश्‍वरको बारेमा गुनासो गर्नेछ, र तैँले सधैँ धेरै पीडा सहनुपर्छ र यो अत्यन्तै अन्याय हो भन्‍ने महसुस गर्छस्। यदि तँ खुसीका पछि लाग्दैनस्, तर परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोषी हुन खोज्छस् भने त्यस्तो खोजीले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ। मानिस परमेश्‍वरले बोल्नुभएका सबै कुरा पूरा गर्न सक्षम छ र उसले गर्ने सबै कुराद्वारा ऊ परमेश्‍वरलाई खुसी पार्न सक्षम छ—वास्तविकता हुनु भनेको अर्थ यही नै हो। परमेश्‍वरको सन्तुष्टिको पछि लाग्नु भनेको उहाँको वचनलाई व्यवहारमा उतार्नका लागि परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय प्रयोग गर्नु हो; समय जुनसुकै भए पनि—जब अरू शक्ति विहीन हुन्छन्—तँभित्र अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने एउटा हृदय हुन्छ, जसले गहिरो रूपमा परमेश्‍वरलाई खोज्दछ र परमेश्‍वरलाई सम्झन्छ। यो वास्तविक कद हो। तेरो कद कति ठूलो छ भन्‍ने कुरा तँमा कत्तिको परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ, तेरो जाँच हुँदा तँ अटल रहन सक्छस् कि सक्दैनस्, कुनै विशेष वातावरण उत्पन्न हुँदा तँ कमजोर हुन्छस् कि हुँदैनस्, तेरा दाजुभाइ, दिदी-बहिनीले तँलाई तिरस्कार गर्दा तँ आफ्नो जमिनमा खडा हुन्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ; यी तथ्यहरूको आगमनले परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय कस्तो छ भनी प्रकट गर्दछ। परमेश्‍वरले मानिसलाई वास्तवमै माया गर्नुहुन्छ भन्‍ने कुरा परमेश्‍वरको धेरै वटा कामबाट देख्न सकिन्छ, यद्यपि अझसम्म मानिसको आत्माका आँखाहरू पूर्ण रूपले खोलिएको छैन र ऊ परमेश्‍वरको काम र उहाँको इच्छा स्पष्ट रूपमा बुझ्न सक्षम छैन, न त उसले परमेश्‍वरलाई प्रिय लाग्ने धेरै कुराहरू बुझ्न सक्छ; मानिसमा परमेश्‍वरको निम्ति थोरै मात्र साँचो प्रेम हुन्छ। तैँले यो सबै समय परमेश्‍वरमा विश्‍वास गरेको छस्, र आज परमेश्‍वरले उम्कने सबै उपायहरू हटाइदिनुभएको छ। वास्तविक कुरा गर्ने हो भने, तँसँग सही मार्ग हिँड्नुबाहेक अर्को कुनै विकल्प छैन, सही मार्ग त्यही हो, जसमा तँलाई परमेश्‍वरको कठोर न्याय र सर्वोच्च उद्धारद्वारा डोऱ्याइएको छ। कठिनाइ र शुद्धीकरणको अनुभव गरेपछि मात्र मानिसले परमेश्‍वर प्रेमिलो हुनुहुन्छ भनी जान्दछ। आजसम्म अनुभव गरिसकेपछि, यो भन्न सकिन्छ, कि मानिसले परमेश्‍वरको प्रेमको बारेमा केही जानेको छ, तर यो अझै पर्याप्त छैन, किनकि मानिसमा धेरै कमी-कमजोरी छ। मानिसले परमेश्‍वरको अचम्मको कार्यको, अनि सबैभन्दा बढी परमेश्‍वरद्वारा प्रबन्ध गरिएका सबै दुःखको शुद्धीकरणको अनुभव गर्नुपर्दछ। त्यसपछि मात्र मानिसको जीवनको स्वभाव परिवर्तन हुन सक्दछ।

अघिल्लो: सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

अर्को: परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्