परमेश्‍वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्‍वरलाई विश्‍वास गर्नु हो

आज तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्न र जान्‍न खोज्ने क्रममा, एकतर्फ तिमीहरूले कठिनाइ र शोधन सहनुपर्छ भने, अर्कोतर्फ, तिमीहरूले मूल्य चुकाउनुपर्ने हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने पाठभन्दा गहन पाठ अर्को छैन, र यसो पनि भन्‍न सकिन्छ कि जीवनभरिको विश्‍वासबाट मानिसहरूले सिक्ने पाठ भनेको परमेश्‍वरलाई प्रेम गर्ने भन्‍ने नै हो। भन्नुको अर्थ, यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस् भने तैँले परमेश्‍वरलाई प्रेम गर्नैपर्छ। यदि तँ परमेश्‍वरमा विश्‍वास मात्र गर्छस् तर उहाँलाई प्रेम गर्दैनस् र तैँले परमेश्‍वरको ज्ञान हासिल गरेको छैनस्, र तेरो हृदयभित्रबाट निस्कने साँचो प्रेमका साथ परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको छैनस् भने, परमेश्‍वरमाथिको तेरो विश्‍वास निरर्थक छ; यदि तँ परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तँ व्यर्थमा जिउँछस्, र तेरो सम्पूर्ण जीवन सबैभन्दा नीच जीवन हो। यदि तैँले आफ्नो सम्पूर्ण जीवनभरि परमेश्‍वरलाई कहिल्यै प्रेम गरेको वा सन्तुष्ट बनाएको छैनस् भने, तँ जिउनुको के अर्थ छ र? अनि परमेश्‍वरमाथिको तेरो विश्‍वासको के अर्थ छ र? के यो प्रयत्न खेर जानु होइन र? यसो भन्नुको अर्थ, यदि मानिसहरूले परमेश्‍वरलाई विश्‍वास र प्रेम गर्नु छ भने, उनीहरूले मूल्य चुकाउनैपर्छ। बाहिरी रूपमा निश्चित तरिकाले व्यवहार गर्ने प्रयास गर्नुभन्दा, उनीहरूले उनीहरूको हृदयको गहिराइमा साँचो अन्तर्ज्ञान खोज्नुपर्छ। यदि तँ गाउन र नाच्न उत्सुक छस्, तर सत्यता अभ्यास गर्न असक्षम छस् भने, के तैँले परमेश्‍वरलाई प्रेम गर्छस् भनेर मानिन्छ त? परमेश्‍वरलाई प्रेम गर्न सबै कुराहरूमा परमेश्‍वरका अभिप्रायहरू खोज्नु, “र तँलाई केही हुँदा तैँले आफूभित्रको गहिराइमा खोजनिधो गर्दै,” परमेश्‍वरका अभिप्राय बोध गर्ने प्रयास गर्नु, र यी मामलाहरूमा परमेश्‍वरका अभिप्राय के हुन्, उहाँ तँलाई के हासिल गर्न अह्राउनुहुन्छ, र तैँले उहाँका अभिप्रायलाई कसरी ख्याल गर्नुपर्छ भन्‍ने कुरा हेर्ने प्रयास गर्नु आवश्यक हुन्छ। उदाहरणको लागि: कठिनाइ सहनु पर्ने गरी तँलाई केही हुन्छ, उक्त समयमा परमेश्‍वरका अभिप्रायहरू के हुन् र उहाँका अभिप्रायहरूलाई तैँले कसरी ख्याल गर्नुपर्छ भनेर तैँले बुझ्नु पर्दछ। तैँले आफूलाई सन्तुष्ट बनाउनु हुँदैन: सर्वप्रथम, आफूलाई इन्कार गर्। देहभन्दा पतित कुरा अर्को छैन। तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन र आफ्नो कर्तव्य पूरा गर्न प्रयास गर्नुपर्दछ। यस्ता सोचले, यो विषयमा परमेश्‍वरले तँमा विशेष अन्तर्दृष्टि ल्याइदिनुहुन्छ र तेरो हृदयले पनि आराम पाउनेछ। सानो वा ठूलो जेसुकै भए पनि, जब तँलाई केही हुन्छ, सर्वप्रथम तैँले आफूलाई इन्कार गर्नुपर्छ र देहलाई सबैभन्दा नीच कुराको रूपमा व्यवहार गर्नुपर्दछ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहले त्यति नै धेरै स्वतन्त्रता लिन्छ; यदि तैँले यस पटक देहलाई सन्तुष्ट बनाइस् भने, अर्को पटक यसले थप कुरा माग गर्नेछ। यो क्रम चलिरहँदा, मानिसहरू देहलाई अझै बढी प्रेम गर्न थाल्छन्। देहको लालसाहरू सधैँ अनावश्यक हुन्छन्; यसले तँलाई सधैँ यसलाई सन्तुष्ट बनाउन र तैँले यसभित्रै त्यसलाई तृप्त गर्न माग गर्दछ, चाहे त्यो तैँले खाने गरेको कुरामा होस्, तैँले लगाउने लुगामा होस्, वा आफूलाई रिस उठ्ने, वा आफ्नै अक्षमता र अल्छीपनलाई प्रश्रय दिने कुरामा होस्…। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, यसका लालसाहरू उति नै धेरै हुन्छन् र यो त्यति नै लिप्त बन्छ, यहाँसम्‍म कि मानिसहरूका देहले अझ गहन धारणाहरूलाई आश्रय दिने, र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने, र आफ्नै प्रशंसा गर्ने, र परमेश्‍वरका कार्यहरूप्रति सशङ्कित हुनेसम्‍म हुन्छ। तैँले देहलाई जति धेरै सन्तुष्ट बनाउँछस्, देहको कमजोरी त्यति नै बढ्छ; तँलाई तेरो कमजोरीप्रति कसैले ध्यान दिँदैन भन्‍ने सधैँ महसुस हुनेछ, परमेश्‍वरले अति गर्नुभएको छ भन्‍ने सधैँ विश्‍वास गर्छस् र तँ भन्छस्: “परमेश्‍वर कसरी यति कठोर बन्न सक्नुहुन्छ? उहाँले किन मानिसहरूलाई कठोर व्यवहार गर्न छोड्नुहुन्न?” जब मानिसहरूले देहलाई सन्तुष्ट बनाउँछन् र यसलाई अत्यधिक मात्रामा माया गर्छन्, उनीहरूले आफैलाई पतन गरिरहेका हुन्छन्। यदि तँ परमेश्‍वरलाई साँचो प्रेम गर्छस् र देहलाई सन्तुष्ट बनाउँदैनस् भने, परमेश्‍वरले गर्नुहुने सबै कुराहरू निकै सही र निकै असल छन् र तेरो विद्रोहीपनप्रतिको उहाँको श्राप र तेरो अधार्मिकताप्रतिको उहाँको न्याय जायज नै छ भन्ने तैँले देख्नेछस्। कहिलेकाहीँ परमेश्‍वरले तँलाई ताडना दिनुहुन्छ र अनुशासित बनाउनुहुन्छ, र तँलाई उहाँसामु आउन बाध्य तुल्याउँदै तँलाई परिष्कृत गर्न वातावरण खडा गर्नुहुन्छ, र परमेश्‍वरले जे गरिरहनुभएको छ, त्यो अद्भुत छ भन्ने तैँले सधैँ महसुस गर्नेछस्। यसरी तैँले धेरै पीडा नभए झैँ अनि परमेश्‍वर निकै प्रेमिलो हुनुहुन्छ भन्ने महसुस गर्नेछस्। यदि तँ देहका कमजोरीलाई आपूर्ति गर्छस् भने र परमेश्‍वरले अति नै गर्नुहुन्छ भनेर भन्छस् भने तैँले आफू सधैँ पीडामा रहेको र सधैँ दुःखले भरिएको महसुस गर्नेछस्, र तँ परमेश्‍वरका सबै कामबारे अस्पष्ट हुनेछस्, र तँलाई परमेश्‍वर मानिसको कमजोरीप्रति करुणामय नहुनुभएको र मानिसका कठिनाइबारे अनभिज्ञ हुनुभएको झैँ महसुस हुनेछ। तसर्थ, तैँले ठूलो अन्याय भोगेजस्तो सधैँ दुःखी र एक्लो महसुस गर्नेछस्, र यस बेला तैँले गुनासो गर्न सुरु गर्नेछस्। तैँले यसरी देहका कमजोरीलाई जति बढी आपूर्ति गर्छस्, त्यति नै परमेश्‍वरले तँलाई अति नै गर्नुहुन्छ जस्तो लाग्नेछ, जबसम्म यो यति खराब हुन्छ कि तैँले परमेश्‍वरको कार्यहरूलाई इन्कार गर्ने, र परमेश्‍वरको विरोध गर्न सुरु गर्ने, र पूर्ण रूपमा विद्रोहीपनले भरिनेछस्। तसर्थ, तैँले देहको विरुद्ध विद्रोह गर्नुपर्दछ, र यसलाई आपूर्ति गर्नु हुँदैन: “मेरो श्रीमान् (श्रीमती), बालबच्चा, सम्भावना, विवाह, परिवार—यी कुनै कुराले फरक पार्दैनन्! मेरो हृदयमा एकमात्र परमेश्‍वर हुनुहुन्छ, र मैले परमेश्‍वरलाई सन्तुष्ट राख्ने सक्दो प्रयास गर्नुपर्छ, देहलाई सन्तुष्ट राख्‍ने होइन।” तँमा यस्तो सङ्कल्प हुनैपर्छ। तँमा सधैँ यस्तो सङ्कल्प छ भने, जब तैँले सत्यलाई अभ्यास गर्छस् र आफूलाई पन्छ्याउँछस्, तैँले धेरै प्रयास नगरीकनै यसो गर्न सक्छस्। यस्तो भन्‍ने गरिन्छ कि एक जना किसान थिए जसले जाडोले जमेर कडा भएको सर्प बाटोमा देख्यो। उक्त किसानले सर्पलाई उठाएर आफ्नो छातीमा राख्यो, र जब सर्प बौरियो सर्पले किसानलाई टोकेर मार्‍यो। मानिसको देह सर्प जस्तै हो: यसको सारतत्त्व भनेको मानिसको जीवनलाई हानि गर्नु हो। जब तेरो देहले पूर्ण रूपमा मनमाफिक गर्छ, तब तेरो जीवन खोसिन्छ। देह शैतानको हो। यसभित्र सधैँ अधिक चाहनाहरू हुन्छन्; यसले सधैँ आफ्नै लागि सोच्छ, र यसले सधैँ आरामको चाहना राख्छ र सहजतामा लिप्त हुन चाहन्छ, यसमा व्यग्रता वा तात्कालिकताको बोध हुँदैन, यो निष्क्रियतामा डुबिरहन्छ। यदि तैँले यसलाई निश्चित बिन्दुसम्म सन्तुष्ट पारिस् भने, यसले अन्ततः तँलाई निल्नेछ। यसो भन्नुको अर्थ, यदि तैँले यसलाई यसपटक सन्तुष्ट पारिस् भने, अर्को पटक यसले फेरि सन्तुष्ट पारिमाग्छ। योसँग सधैँ अधिक चाहनाहरू तथा नयाँ मागहरू हुन्छन्, र तैँले देहलाई लाडप्यार गरेको फाइदा उठाएर यसले तँलाई यसलाई अझ बढी प्रिय ठान्न र त्यसको आराममा प्रेरित गर्छ—र यदि तैँले यसलाई कहिल्यै जित्न सकिनस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्। तैँले परमेश्‍वरसामु जीवन प्राप्त गर्न सक्छस् कि सक्दैनस् र तेरो अन्तिम परिणाम के हुनेछ भन्‍ने कुरा तैँले कसरी देहविरुद्ध विद्रोह गर्ने अभ्यास गर्छस् भन्‍नेमा निर्भर हुन्छ। परमेश्‍वरले तँलाई मुक्ति दिनुभएको छ, चयन गर्नुभएको छ र पूर्वनिर्धारण गर्नुभएको छ, तैपनि यदि आज तँ उहाँलाई सन्तुष्ट पार्न अनिच्छुक छस्, सत्यतालाई व्यवहारमा लागू गर्न अनिच्छुक छस्, र परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदयका साथ तेरो आफ्नै देहविरुद्ध विद्रोह गर्न अनिच्छुक छस् भने, अन्ततः तैँले आफैलाई बरबाद पार्नेछस्, र यसरी तैँले चरम दुःख सहनेछस्। यदि तैँले देहलाई सधैँ लाडप्यार गर्छस् भने, शैतानले बिस्तारै तँलाई निल्नेछ, तँलाई जीवनरहित, अथवा आत्माको स्पर्शरहित बनाइछोड्नेछ, र एक दिन तँ भित्री रूपमा पूरै अँध्यारो हुनेछस्। जब तँ अँध्यारोमा जिउँछस्, तँलाई शैतानले कैदी बनाएको हुनेछ, अब तेरो हृदयमा परमेश्‍वर हुनुहुनेछैन, र त्यस बेला तैँले परमेश्‍वरको अस्तित्वलाई इन्कार गर्नेछस् र उहाँलाई छोडेर जानेछस्। तसर्थ, यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्न चाहन्छन् भने, उनीहरूले पीडाको मूल्य चुकाउनैपर्छ र कठिनाइ सहनैपर्छ। बाहिरी जोस तथा कष्ट, थप पढाइ र थप भागदौडको आवश्यकता छैन; बरु उनीहरूले उनीहरूभित्रका कुराहरूलाई पन्छाउनुपर्छ: विलासी सोचहरू, व्यक्तिगत फाइदाहरू, र उनीहरूका आफ्नै योजना, धारणा, र मनसायहरू पन्छाउनुपर्छ। परमेश्‍वरको अभिप्राय यही हो।

मानिसहरूको बाहिरी स्वभावलाई परमेश्‍वरले गर्नुहुने काटछाँट पनि उहाँको कार्यको एक अंश हो; उदाहरणका लागि मानिसको बाहिरी, असामान्य मानवता वा उनीहरूको जीवनशैली र आनीबानी, उनीहरूको तरीका र रीतिका साथै उनीहरूको बाहिरी अभ्यासहरू तथा उनीहरूको उत्सुकताको काटछाँट गर्नु। तर जब उहाँले मानिसहरूलाई सत्यताको अभ्यास गर्न र उनीहरूको स्वभाव परिवर्तन गर्न अह्राउनुभयो, मुख्यतया उनीहरूभित्र रहेका अभिप्रायहरू र धारणाहरूको काटछाँट गरियो। तेरो बाहिरी स्वभावको काटछाँड गर्नु मात्रै गाह्रो कुरो होइन; यो त तँलाई मन पर्ने कुरा नखा भनेर अह्राउनु जस्तै हो, जुन सजिलो हुन्छ। तैपनि, तँभित्रको धारणालाई छुने कुरालाई चाहिँ, छोड्न गाह्रो हुन्छ। यसका लागि मानिसहरूले देहको विरोध गर्नुपर्ने हुन्छ, र मूल्य चुकाउनु पर्ने हुन्छ र परमेश्‍वरको अगाडि कष्ट भोग्नुपर्ने हुन्छ। यो विशेषगरी मानिसहरूको धारणामा लागू हुन्छ। मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि, उनीहरूले धेरै गलत अभिप्रायहरूलाई प्रश्रय दिएका हुन्छन्। जब तँ सत्यलाई अभ्यास गर्दैनस्, तँलाई तेरा सबै अभिप्रायहरू सही लाग्छन्, तर जब तँलाई केही हुन्छ, तँभित्र धेरै गलत अभिप्रायहरू रहेछन् भनेर तैँले देख्नेछस्। तसर्थ, जब परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँले उनीहरूलाई परमेश्‍वर सम्‍बन्धी उनीहरूको ज्ञानमा बाधा पुर्‍याउने धेरै अभिप्रायहरू उनीहरूभित्र रहेको अनुभव गर्न लगाउनुहुन्छ। जब तैँले तेरा अभिप्रायहरू गलत रहेछन् भनेर पहिचान गर्छस्, यदि तँ तेरो अभिप्राय र धारणाहरू अनुसार अभ्यास गर्न बन्द गर्न सक्छस्, र परमेश्‍वरको सामु साक्षी दिन सक्षम हुन्छस्, र तँलाई हुने सबै कुराहरूमा तँ तेरो स्थानमा दह्रिलो भएर खडा हुन्छस् भने, यसले तैँले देहको विरोध गरेको छस् भन्‍ने प्रमाणित गर्छ। जब तँ देहको विरोध गर्छस्, तँभित्र निःसन्देह लडाइँ हुन्छ। शैतानले मानिसहरूलाई जाँच्‍नेछ र त्यसमा विश्‍वास गराउन प्रयास गर्नेछ, देहका अभिप्रायहरूमा विश्‍वास गराउने र देहका रुचिहरू कायम राख्ने प्रयास गर्नेछ—तर परमेश्‍वरका वचनहरूले मानिसहरूलाई भित्रबाट ज्योति र अन्तर्दृष्टि दिनेछ, र यो समयमा परमेश्‍वरलाई विश्‍वास गर्ने कि शैतानलाई विश्‍वास गर्ने हो भन्‍ने कुरा तेरै हातमा हुन्छ। मुख्यतया मानिसहरूभित्र रहेका थोकहरूको काटछाँट गर्न, परमेश्‍वरका अभिप्रायअनुसारको नरहेका उनीहरूको सोच र अभिप्रायहरूको काटछाँट गर्नका लागि परमेश्‍वरले उनीहरूलाई सत्यको अभ्यास गर्न अह्राउनुहुन्छ। पवित्र आत्माले मानिसहरूलाई उनीहरूको हृदयमा छुनुहुन्छ र उनीहरूलाई अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ। त्यसैले, हुने सबै कुराहरूका पछाडि लडाइँ हुन्छ: मानिसहरूले सत्यको, वा परमेश्‍वरप्रतिको प्रेमको अभ्यास गर्दा हरेक पटक, त्यहाँ ठूलो लडाइँ हुन्छ, र उनीहरूका देहभित्र सबै ठीकै देखिए पनि, उनीहरूको हृदयको गहिराइमा, वास्तवमा, एक जीवन र मृत्युको लडाइँ चलिरहेको हुन्छ—र यो तीव्र लडाइँपछि, व्यापक समीक्षापछि मात्रै, जीत र हारको निर्णय हुन्छ। रुनु कि हाँस्नु भनेर थाहा हुँदैन। मानिसहरूभित्र भएका अभिप्रायहरू गलत हुने भएकाले, वा उनीहरूको अभिप्रायसँग परमेश्‍वरको कार्य बाझिने भएकाले, जब मानिसहरूले सत्यको अभ्यास गर्छन्, पर्दा पछाडि ठूलो लडाइँ हुन्छ। यो सत्यलाई अभ्यास गर्दा, पर्दा पछाडि, मानिसहरूले अन्ततः परमेश्‍वरलाई सन्तुष्ट बनाउने निर्णय गर्नअघि अनगन्ती दुःखका आँशु झारेका हुनेछन्। यही लडाइँको कारण मानिसहरूले कष्ट र शोधन सहन्छन्; साँचो कष्ट-भोग यही नै हो। जब तँमाथि लडाइँ आइपर्छ, यदि तँ परमेश्‍वरको पक्षमा साँचो रूपमा खडा हुन सक्छस् भने, तैँले परमेश्‍वरलाई सन्तुष्ट बनाउन सक्छस्। सत्यको अभ्यास गरिरहँदा, व्यक्तिले अपरिहार्य रूपमै भित्र-भित्रै कष्ट पाउनेछ; यदि, उनीहरूले सत्यलाई अभ्यास गर्दा, मानिसहरूभित्रका सबै कुराहरू सही भएमा, उनीहरूलाई परमेश्‍वरले सिद्ध बनाइरहनु पर्दैन, र त्यहाँ कुनै लडाइँ हुँदैन, र उनीहरूले कष्ट भोग्‍नेछैनन्। यसो किन हुन्छ भने, मानिसहरूभित्र यस्ता धेरै थोकहरू हुन्छन् जुन परमेश्‍वरको प्रयोगका लागि उपयुक्त हुँदैनन्, र देहको विद्रोही स्वभाव धेरै हुने भएकाले, मानिसहरूले देहको विरोध गर्ने पाठ अझ गहन तरिकाले सिक्नु पर्छ। यसैलाई परमेश्‍वरले मानवलाई उहाँसँग भोग्नुपर्ने भनेर अह्राउनुभएको कष्ट भन्नुहुन्छ। जब तँलाई अप्ठ्याराहरू आइपर्छन्, हतार गर् र परमेश्‍वरमा प्रार्थना गर्: “हे परमेश्‍वर! म हजुरलाई सन्तुष्ट बनाउन चाहन्छु, तपाईंको हृदयलाई सन्तुष्ट बनाउन म अन्तिम कठिनाइ सहन गर्न चाहन्छु, र मैले जतिसुकै ठूलो धक्का बेहोर्नु परे पनि, म अझै पनि हजुरलाई नै सन्तुष्ट बनाउन चाहन्छु। मैले मेरो सम्पूर्ण जीवन नै त्याग्‍नु परे पनि, मैले तपाईंलाई सन्तुष्ट पार्नैपर्छ!” यो सङ्कल्पका साथ, जब तँ यसरी प्रार्थना गर्छस्, तँ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्षम हुन्छस्। प्रत्येक पटक उनीहरूले सत्यलाई अभ्यास गर्दा, प्रत्येक पटक उनीहरूको शोधन, प्रत्येक पटक उनीहरू थाक्दा, र प्रत्येक पटक परमेश्‍वरको कार्य उनीहरूमाथि आउँदा, मानिसहरूले असह्य पीडा सहनुपर्छ। यो सबै मानिसहरूका लागि जाँच हो, र त्यसैगरी ती सबैभित्र लडाइँ हुन्छ। उनीहरूले चुकाउने वास्तविक मूल्य यही हो। परमेश्‍वरको वचनहरू झनै धेरै पढ्नु र अझै धेरै दौडधूप गर्नु त्यही मूल्यको एक अंश हो। मानिसहरूले गर्नुपर्ने कुरा यही हो, यो उनीहरूको कर्तव्य हो, र उनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी हो, तर मानिसहरूले उनीहरूका पन्छाउनु पर्ने कुरालाई पन्छाउनु पर्छ। यदि तैँले त्यसो गरिनस् भने, तेरो बाहिरी कष्ट जतिसुकै ठूलो भए तापनि, तैँले जतिसुकै दौडधूप गरे पनि, सबै कुरा व्यर्थ हुनेछ! यसो भन्नुको अर्थ, तँभित्रको परिवर्तनले मात्रै तेरो बाहिरी कठिनाइको मूल्य छ कि छैन भनेर निर्धारण गर्न सक्छ। जब तेरो आन्तरिक स्वभाव परिवर्तन हुन्छ र तैँले सत्यको अभ्यास गर्छस्, तब तेरो सबै बाहिरी कष्टले परमेश्‍वरको स्वीकृति पाउनेछ; यदि तेरो आन्तरिक स्वभावमा कुनै परिवर्तन भएन भने, तैँले जतिसुकै कष्ट सहे पनि वा तैँले बाहिर जतिसुकै प्रयत्न गरे पनि, परमेश्‍वरबाट कुनै स्वीकृति हुनेछैन—र परमेश्‍वरले पुष्टि नगरेको कठिनाइ व्यर्थ हो। तसर्थ, तैँले चुकाएको मूल्य परमेश्‍वरबाट अनुमोदन हुन्छ हुँदैन भन्‍ने कुरा तँमा परिवर्तन आएको छ कि छैन र परमेश्‍वरका अभिप्रायहरूको सन्तुष्टि, परमेश्‍वरको ज्ञान, र परमेश्‍वरप्रतिको निष्ठा हासिल गर्नका लागि तैँले सत्यको अभ्यास तथा आफ्नो अभिप्राय र धारणालाई विरोध गर्छस् कि गर्दैनस् भन्‍ने कुराले निर्धारित गर्छ। तैँले जतिसुकै प्रयत्न गरे पनि, यदि तँलाई आफ्नो अभिप्रायको विरुद्ध विद्रोहको बारेमा कहिल्यै थाहा छैन भने, तर बाहिरी कार्य तथा उत्सुकता मात्रै खोज्छस्, र आफ्नो जीवनप्रति कहिल्यै ध्यान दिँदैनस् भने, तेरो कठिनाइ व्यर्थ हुनेछ। यदि, केही निश्चित वातावरणमा, तँलाई भन्न मन लागेको केही कुरा छ भने, तर भित्र-भित्रै तँलाई यो कुरा भन्न सही होइन जस्तो लाग्छ, यस्तो भनाइले तेरो दाजुभाइ र दिदीबहिनीहरूलाई फाइदा पुग्दैन र उनीहरूलाई चोट पुर्‍याउन सक्छ भने, तैँले भित्र-भित्रै पीडा सहन रुचाउँदै यस्तो भन्दैनस्, किनभने यी वचनहरूले परमेश्‍वरका अभिप्रायहरूलाई पूरा गर्न सक्छस्। यस्तो समयमा, तँभित्र लडाइँ हुनेछ, तर तँ पीडा सहन र तैँले प्रेम गरेको वस्तु छोड्न इच्छुक हुनेछस्। परमेश्‍वरलाई सन्तुष्ट बनाउन तँ यो कठिनाइ सहन इच्छुक हुनेछस्, र तैँले भित्र-भित्रै पीडा सहे पनि, तैँले देहलाई आश्रय दिने छैनस्, र परमेश्‍वरको हृदय सन्तुष्ट भएको हुनेछ, त्यसैले तँलाई पनि भित्रैबाट आराम मिलेको हुनेछ। साँचो रूपमा मूल्य चुकाउनु भनेको यही हो, र परमेश्‍वरले चाहनुभएको मूल्य यही हो। यदि तैँले यसरी अभ्यास गरिस् भने, परमेश्‍वरले पक्कै तँलाई आशीर्वाद दिनुहुनेछ; यदि तैँले यो हासिल गर्न सक्दैनस् भने, तैँले जतिसुकै धेरै बुझे पनि, वा तैँले जतिसुकै राम्ररी बोले पनि, यो सबै बेकाम हुनेछ! यदि, परमेश्‍वरलाई प्रेम गर्ने पथमा, परमेश्‍वरले शैतानसँग युद्ध गर्दा तँ उहाँको पक्षमा खडा हुन सकिस् भने, र तँ शैतानकहाँ फर्कँदैनस् भने, तैँले परमेश्‍वरप्रतिको प्रेम हासिल गरेको हुनेछस्, र तँ तेरो साक्षीमा दह्रिलो भएर खडा भएको हुनेछस्।

परमेश्‍वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्‍वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्‍वरका लागि गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतान परमेश्‍वरसँग बाजी थापिरहेको थियो, र अय्यूब भने मानिसहरूका कार्य र बाधाहरूको सामना गरिरहेको थियो। तिमीहरूमा परमेश्‍वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्‍वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ। उदाहरणका लागि, यदि तँ आफ्ना दाजुभाइ-दिदीबहिनीहरूप्रति पूर्वाग्रही छस् भने, तँसँग भन्न मन लागेका यस्ता शब्दहरू हुनेछन्—जुन शब्दहरू तँलाई परमेश्‍वरलाई अप्रसन्न तुल्याउने खालका छन् भन्ने लाग्छ—तर यदि तैँले ती शब्दहरू भनिनस् भने, तँलाई भित्री रूपमा असहज महसुस हुनेछ, अनि यस क्षणमा, तँभित्र एउटा लडाइँ सुरु हुनेछ: “म बोलूँ कि नबोलूँ?” लडाइँ भनेको यही हो। यसरी, तैँले सामना गर्ने हरेक कुरामा एउटा लडाइँ हुन्छ। जब तँभित्रै लडाइँ हुन्छ, तब परमेश्‍वरले तेरो वास्तविक सहकार्य र वास्तविक दुःखमार्फत तँमा काम गर्नुहुन्छ, र अन्ततः तँ भित्री रूपमा यस मामलालाई त्याग्न सक्षम हुनेछस्, र तेरो रिस स्वतः मर्नेछ। यो पनि परमेश्‍वरसँगको तेरो सहकार्यको नतिजा नै हो। मानिसहरूले गर्ने हरेक कुरामा तिनीहरूले निश्चित मात्रामा रगत-पसिना बगाउनुपर्ने हुन्छ। खास दुःख नभोगी, तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरू परमेश्‍वरलाई सन्तुष्ट पार्ने नजिक पनि आउँदैनन्, र तिनीहरू खोक्रा नाराहरू मात्र फलाकिरहेका हुन्छन्! के यी खोक्रा नाराहरूले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छन्? आत्मिक क्षेत्रमा परमेश्‍वर र शैतानबीच लडाइँ हुँदा, तैँले परमेश्‍वरलाई कसरी सन्तुष्ट पार्नुपर्छ, र उहाँप्रतिको गवाहीमा तँ कसरी दृढ रहनुपर्छ? तैँले यो थाहा पाउनुपर्छ कि तँलाई आइपर्ने हरेक कुरा एउटा ठूलो परीक्षा हो र त्यो परमेश्‍वरका लागि तैँले साक्षी दिनु आवश्यक हुने समय हो। ती बाहिरबाट नगण्य देखिए पनि, यी कुराहरू आइपर्दा, तिनले तँ परमेश्‍वरलाई प्रेम गर्छस् कि गर्दैनस् भन्‍ने कुरा देखाउँछन्। यदि तैँले उहाँलाई प्रेम गर्छस् भने, तँ उहाँप्रतिको गवाहीमा दृढ रहन सक्नेछस्, र यदि तैँले परमेश्‍वरलाई प्रेम गर्ने अभ्यास गरेको छैनस् भने, यसले तँ सत्यतालाई व्यवहारमा लागू गर्ने व्यक्ति होइनस्, तँ सत्यतारहित छस्, र जीवनरहित छस्, तँ भुस होस् भन्‍ने देखाउँछ! मानिसहरूलाई आइपर्ने सबै कुरामा, परमेश्‍वर तिनीहरू उहाँप्रतिको साक्षीमा दृढ रहून् भन्ने चाहनुहुन्छ। अहिले तँलाई कुनै उल्लेखनीय कुरा नभइरहेको भए पनि, र तैँले ठुलो गवाही नदिने भए पनि, तेरो दैनिक जीवनका सारा विवरण नै परमेश्‍वरलाई दिइने गवाहीसँग सम्बन्धित हुन्छ। यदि तँ तेरा दाजुभाइ र दिदीबहिनीहरू, तेरो परिवारका सदस्यहरू, र तेरो वरिपरिका सबैको प्रशंसा जित्न सक्छस्; यदि, कुनै दिन, गैरविश्‍वासीहरू आउँछन्, र तैँले गर्ने सबै कुराको प्रशंसा गर्छन्, र परमेश्‍वरले गर्ने सबै कुरा अद्भुत छन् भन्‍ने देख्छन् भने, यो नै तेरो गवाही हुनेछ। तँसँग अन्तर्ज्ञान नभए पनि र तेरो क्षमता कमजोर भए पनि, परमेश्‍वरद्वारा सिद्ध पारिएर, तँ उहाँलाई सन्तुष्ट पार्न र उहाँका अभिप्रायलाई ख्याल गर्न सक्षम हुन्छस्, जसले गर्दा अरू मानिसले सबैभन्दा कमजोर क्षमता भएका मानिसहरूमा उहाँले कति महान् काम गर्नुभएको छ भनी देखून्। जब मानिसहरू परमेश्‍वरलाई जान्न पुग्छन् र शैतानको अगाडि विजेता बन्छन्, धेरै हदसम्म परमेश्‍वरप्रति बफादार हुन्छन्, तब मानिसहरूको यो समूहभन्दा अरू कसैसँग पनि बढी दृढता हुँदैन, र यो नै सबैभन्दा महान् गवाही हो। तँ ठूलो काम गर्न असमर्थ भए पनि, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम छस्। अरूले आफ्ना धारणाहरू त्याग्न सक्दैनन्, तर तँ सक्छस्; अरूले आफ्ना वास्तविक अनुभवहरूका दौरान परमेश्‍वरको साक्षी दिन सक्दैनन्, तर तँ आफ्नो वास्तविक कद र कार्यहरूमार्फत परमेश्‍वरको प्रेमको प्रतिदान गर्न र उहाँका लागि जोरदार साक्षी दिन सक्छस्। यसलाई मात्र वास्तवमै परमेश्‍वरलाई प्रेम गरेको मानिन्छ। यदि तँ यसो गर्न असमर्थ छस् भने, तँ आफ्ना परिवारका सदस्यहरूमाझ, आफ्ना दाजुभाइ-दिदीबहिनीहरूमाझ, वा संसारका मानिसहरूसामु साक्षी दिँदैनस्। यदि तँ शैतानसामु साक्षी दिन सक्दैनस् भने, शैतान तँलाई हेरेर हाँस्नेछ, त्यसले तँलाई मजाकको रूपमा, खेलौनाको रूपमा व्यवहार गर्नेछ, र यसले अक्सर तँलाई मूर्ख बनाउनेछ र मानसिक गडबडीमा पुर्‍याउनेछ। भविष्यमा, तँमाथि ठूला परीक्षाहरू आइपर्न सक्छन्—तर आज, यदि तँ परमेश्‍वरलाई साँचो हृदयले प्रेम गर्छस् भने, र यदि, अगाडि आउने परीक्षाहरू जतिसुकै ठूला भए तापनि, तँलाई जेसुकै भए पनि, तँ आफ्नो गवाहीमा दृढ रहन र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम हुन्छस् भने, तेरो हृदयलाई सान्त्वना मिल्नेछ, र तँ भविष्यमा जतिसुकै ठूलो परीक्षाको सामना गर्नुपरे पनि डराउने छैनस्। भविष्यमा के हुनेछ भन्‍ने कुरा तिमीहरू देख्न सक्दैनौ; तिमीहरू आजका परिस्थितिहरूमा परमेश्‍वरलाई सन्तुष्ट पार्न मात्र सक्छौ। तिमीहरू कुनै पनि ठूलो काम गर्न असमर्थ छौ—तिमीहरूले वास्तविक जीवनमा परमेश्‍वरका वचनहरू अनुभव गरेर उहाँलाई सन्तुष्ट पार्नमा ध्यान केन्द्रित गर्नुपर्छ, साथै तिमीहरूले बलियो र जोरदार साक्षी दिनुपर्छ र यसरी शैतानलाई लज्जित पार्नुपर्छ। तेरो देहले सन्तुष्टि नपाएको र दुःख पाएको हुने भए पनि, तैँले परमेश्‍वरलाई सन्तुष्ट पारेको र शैतानलाई लज्जित पारेको हुनेछस्। यदि तँ सधैँ यसरी नै अभ्यास गर्छस् भने, परमेश्‍वरले तेरो सामु एउटा बाटो खोलिदिनुहुनेछ। कुनै दिन, एउटा ठूलो परीक्षा आउँदा, अरू लड्नेछन्, तर तँ अझै पनि दृढ रहन सक्नेछस्: तैँले चुकाएको मूल्यको कारण, परमेश्‍वरले तँलाई सुरक्षा दिनुहुनेछ ताकि तँ दृढ रहन सकेस् र नलडेस्। यदि, साधारणतया, तँ सत्यतालाई व्यवहारमा लागु गर्न र परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदयले परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम छस् भने, परमेश्‍वरले भविष्यका परीक्षाहरूका दौरान तँलाई पक्कै सुरक्षा दिनुहुनेछ। तँ मूर्ख, सानो कदको र कमजोर क्षमताको भए पनि, परमेश्‍वर तँप्रति पक्षपाती हुनुहुनेछैन। यो तेरा नियतहरू सही छन् कि छैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। मानौँ कि आज तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम छस्—साना, सूक्ष्म विषयहरूमा समेत कडिकडाउ गर्छस्, र सबै कुरामा परमेश्‍वरलाई सन्तुष्ट पार्छस्—तँसँग परमेश्‍वरलाई प्रेम गर्ने साँचो हृदय छ, परमेश्‍वरलाई आफ्नो साँचो हृदय दिन्छस्, र तैँले कतिपय कुरा स्पष्ट रूपमा देख्न नसक्ने भए पनि, तँ आफ्ना नियतहरू सच्याउन र परमेश्‍वरका अभिप्रायहरू खोज्न परमेश्‍वरसामु आउन सक्छस्, र तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न सबै थोक गर्छस्। अनि तेरा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अस्वीकार गर्न सक्ने भए पनि, तेरो हृदयले परमेश्‍वरलाई सन्तुष्ट पारिरहेको हुन्छ, र तँ देहसुखको लालसा गरिरहेको हुँदैनस्। यदि तँ सधैँ यसरी नै अभ्यास गर्छस् भने, तँमाथि ठूला परीक्षाहरू आइपर्दा तँ सुरक्षित हुनेछस्।

परीक्षाहरू मानिसहरूभित्रको कस्तो स्थितितर्फ लक्षित हुन्छन्? ती परमेश्‍वरलाई सन्तुष्ट पार्नबाट मानिसहरूलाई रोक्ने तिनीहरूभित्रका विद्रोही स्वभावहरूप्रति लक्षित हुन्छन्। मानिसहरूभित्र धेरै अशुद्धता हुन्छन्, र पाखण्डी कुरा धेरै हुन्छ, त्यसैले परमेश्‍वर मानिसहरूलाई शुद्ध गर्नका लागि तिनीहरूलाई परीक्षाहरूमा पार्नुहुन्छ। तर यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्षम छस् भने, भविष्यका परीक्षाहरू तेरो लागि सिद्धता हुनेछन्। यदि, आज, तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम छस् भने, भविष्यका परीक्षाहरूले तँलाई प्रलोभनमा पार्नेछन्, र तँ अन्जानमै लड्नेछस्, र त्यस समयमा तैँले आफूलाई सम्हाल्न सक्नेछैनस्, किनभने तँ परमेश्‍वरको कामसँगै अघि बढ्न सक्षम हुनेछैनस् र तैँले वास्तविक कद धारण गरेको हुनेछैनस्। त्यसैले, यदि तँ भविष्यमा दृढ रहन, परमेश्‍वरलाई अझ सन्तुष्ट पार्न, र उहाँलाई अन्त्यसम्मै पछ्याउन चाहन्छस् भने, आज तैँले एउटा बलियो जग बसाल्नैपर्छ। तैँले सबै कुरामा सत्यतालाई व्यवहारमा लागु गरेर परमेश्‍वरलाई सन्तुष्ट पार्नैपर्छ र उहाँका अभिप्रायहरूलाई ख्याल गर्नैपर्छ। यदि तैँले सधैँ यसरी नै अभ्यास गरिस् भने, तँभित्र एउटा जग हुनेछ, र परमेश्‍वरले तँभित्र उहाँलाई प्रेम गर्ने हृदय जगाउनुहुनेछ, र उहाँले तँलाई आस्था दिनुहुनेछ। कुनै दिन, जब तँमाथि साँच्चै एउटा परीक्षा आइपर्छ, तब तँलाई केही पीडा हुन सक्छ र तँ निश्चित बिन्दुसम्म व्याकुल हुन सक्छस्, र तँ मरेजस्तै गरी हृदयविदारक शोकमा पर्न सक्छस्—तर परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय परिवर्तन हुनेछैन, र त्यो प्रेम अझै गहिरो बन्नेछ। परमेश्‍वरका आशिष्‌हरू यस्ता हुन्छन्। यदि तँ आज परमेश्‍वरले भन्ने र गर्ने सबै कुरा समर्पणको हृदयले स्वीकार गर्न सक्षम छस् भने, तँ पक्कै पनि परमेश्‍वरद्वारा आशिषित् हुनेछस्, र यसरी तँ उहाँका आशिष्‌ र प्रतिज्ञाहरू उत्तराधिकारमा प्राप्त गर्ने व्यक्ति बन्नेछस्। यदि, आज, तँ अभ्यास गर्दैनस् भने, कुनै दिन तँमाथि परीक्षाहरू आइपर्दा, तँसँग न त आस्था हुनेछ न त प्रेमिलो हृदय हुनेछ, अनि त्यतिबेला उक्त परीक्षा प्रलोभन बन्नेछ; तँ शैतानको प्रलोभनको बीचमा धकेलिनेछस् र तँसँग उम्कने कुनै उपाय हुनेछैन। आज, सानो परीक्षाको सामना गर्दा तँ दृढ रहन सक्षम होलास्, तर कुनै दिन ठूलो परीक्षाको सामना गर्दा तँ दृढ रहन सक्षम हुन्छस् नै भन्‍ने छैन। कतिपय मानिस आफैसँग निकै खुसी हुन्छन् र तिनीहरू आफू जति राम्रो हुन सकिन्थ्यो त्यति भइसकेको सोच्छन्। यदि तँ यस्तो समयमा अझ गहिराइमा जाँदैनस्, र आत्मगर्वित रहिरहन्छस् भने, तँ खतरामा पर्नेछस्। आज, परमेश्‍वरले ठूला परीक्षाहरूको काम नगरिरहनुभएको बेला, तँ सबै हिसाबले ठीकै गरिरहेको जस्तो देखिन्छस्, तर जब परमेश्‍वरले तेरो परीक्षा गर्नुहुन्छ, तब तैँले आफूमा धेरै कमी रहेको पत्ता लगाउनेछस्, किनभने तेरो कद अत्यन्तै सानो छ र तँ ठूला परीक्षाहरू सहन सक्दैनस्। यदि तँ जस्तो छस् त्यस्तै रहन्छस् र अगाडि बढ्न छोडेर सन्तुष्ट महसुस गर्छस् भने, परीक्षाहरू आइपर्दा, तँ लड्नेछस्। तिमीहरूले अक्सर आफ्नो कद कति सानो छ भनी हेर्नुपर्छ; यसरी मात्र तिमीहरूले प्रगति गर्नेछौ। यदि परीक्षाहरूका दौरान मात्रै तँ तेरो कद अत्यन्तै सानो रहेको, तेरो इच्छाशक्ति अत्यन्तै कमजोर रहेको, तँभित्र वास्तविक कुरा ज्यादै कम रहेको, र तँ परमेश्‍वरका अभिप्रायहरूका लागि अपर्याप्त रहेको देख्छस् भने—यदि तँ त्यतिबेला मात्र यी कुराहरू महसुस गर्छस् भने, त्यो धेरै ढिलो हुनेछ।

यदि तँ परमेश्‍वरको स्वभाव जान्दैनस् भने, तँ परीक्षाहरूका दौरान अनिवार्य रूपमा लड्नेछस्, किनभने परमेश्‍वर कसरी मानिसहरूलाई सिद्ध पार्नुहुन्छ, उहाँ कुन माध्यमद्वारा तिनीहरूलाई सिद्ध पार्नुहुन्छ भन्‍नेबारे तँ अनजान हुन्छस्, अनि जब तँमाथि परमेश्‍वरका परीक्षाहरू आइपर्छन् र ती तेरा धारणाहरूसँग मिल्दैनन्, तब तँ दृढ रहन असक्षम हुनेछस्। परमेश्‍वरको साँचो प्रेम नै उहाँको सम्पूर्ण स्वभाव हो, अनि जब परमेश्‍वरको सम्पूर्ण स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, तब तिनीहरूको देहलाई के हुन्छ? जब परमेश्‍वरको धर्मी स्वभाव मानिसहरूलाई प्रकट गरिन्छ, तब तिनीहरूको देहलाई अनिवार्य रूपमा धेरै पीडा हुनेछ। यदि तैँले यो पीडा भोगिनस् भने, तँ परमेश्‍वरद्वारा सिद्ध पारिन सक्दैनस्, न त तैँले परमेश्‍वरप्रति साँचो प्रेम अर्पण गर्न नै सक्नेछस्। यदि परमेश्‍वरले तँलाई सिद्ध पार्नुभयो भने, उहाँले आफ्नो सम्पूर्ण स्वभाव तँकहाँ प्रकट गर्नैपर्छ। सृष्टिको समयदेखि आजसम्म, परमेश्‍वरले आफ्नो सम्पूर्ण स्वभाव मानिसकहाँ कहिल्यै प्रकट गर्नुभएको छैन—तर आखिरी दिनहरूमा उहाँ यसलाई उहाँले पूर्वनिर्धारित गर्नुभएका र छान्नुभएका मानिसहरूको यस समूहकहाँ प्रकट गर्नुहुन्छ, र मानिसहरूलाई सिद्ध पारेर, उहाँ आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ, जसको माध्यमबाट उहाँ मानिसहरूको एउटा समूहलाई पूर्ण पार्नुहुन्छ। मानिसहरूप्रति परमेश्‍वरको साँचो प्रेम यस्तो हुन्छ। परमेश्‍वरको साँचो प्रेम अनुभव गर्न मानिसहरूले चरम पीडा सहनु, र उच्च मूल्य चुकाउनु आवश्यक हुन्छ। तब मात्रै मानिसहरू अन्ततः परमेश्‍वरद्वारा प्राप्त गरिन सक्छन्, र बल्ल आफ्नो साँचो प्रेम परमेश्‍वरलाई फिर्ता दिन सक्षम हुन्छन्, र तब मात्रै परमेश्‍वरको हृदय सन्तुष्ट हुनेछ। यदि मानिसहरू परमेश्‍वरद्वारा सिद्ध पारिने चाहना गर्छन् भने र यदि उनीहरू उहाँको इच्छा पछ्याउने, र उनीहरूको साँचो प्रेम सम्पूर्ण रूपमा परमेश्‍वरलाई अर्पण गर्ने चाहना राख्छन् भने, उनीहरूले धेरै कष्ट र उनीहरूको परिस्थितिबाट धेरै सास्ती भोग्नैपर्छ, र यसरी मृत्युको मुखमै पुगेजस्तो गरी वेदनाबाट गुज्रनैपर्छ, जसले अन्ततः उनीहरूलाई आफ्नो साँचो हृदय परमेश्‍वरलाई फिर्ता दिन बाध्य पार्नेछ। कसैले परमेश्‍वरलाई साँचो प्रेम गर्छ कि गर्दैन भन्‍ने कुरा कष्ट र शोधनको दौरान प्रकट हुन्छ। परमेश्‍वरले गर्नुहुने मानिसहरूको प्रेमको शुद्धिकरण पनि कष्ट र शोधनमार्फत मात्रै हासिल हुन्छ।

अघिल्लो: कष्टपूर्ण परीक्षाहरू अनुभव गरेर मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

अर्को: “सहस्राब्दीय राज्यको आगमन भएको छ” भन्‍ने विषयमा संक्षिप्त चर्चा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्