छ. आखिरी दिनहरूमा देखा पर्न र काम गर्न परमेश्‍वरले चीनमा देहधारण गर्नुको उद्देश्य र महत्त्व

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्‍वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबै ठाउँहरूमध्ये सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न सबै देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। पहिलो चरणमा, परमेश्‍वरको काम सबैभन्दा उज्यालो ठाउँमा गरिएको थियो, अनि अन्तिम चरण सबैभन्दा अन्धकार स्थानमा गरिन्छ, अनि यस अन्धकारलाई हटाइनेछ, ज्योति ल्याइनेछ र सबै मानिसहरूलाई जितिनेछ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई जितिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, जो साँचो परमेश्‍वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्‍वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ। सबैभन्दा अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई जितिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्‍नेमा कुनै शङ्का छैन। त्यसरी नै चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीनले अन्धकारका सबै शक्तिहरू सम्मिलित गर्दछ, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्‍वरको जोरदार विरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवजातिको मुख्य नमुना हुन्। यसको अर्थ अरू देशमा कुनै समस्याहरू छैनन् भन्‍ने होइन; मानिसका धारणाहरू सबै एकै प्रकारका हुन्छन्, अनि ती देशका मानिसहरू असल क्षमताका भए पनि यदि तिनीहरूले परमेश्‍वरलाई चिन्दैनन् भने तिनीहरूले पक्‍कै पनि उहाँको विरोध गरिरहेका हुन सक्छन्। किन यहूदीहरूले पनि परमेश्‍वरको विरोध र उहाँविरुद्ध विद्रोह गरे? किन फरिसीहरूले पनि उहाँको विरोध गरे? किन यहूदाले येशूलाई धोका दिए? त्यो बेला धेरै जना चेलाहरूले येशूलाई चिनेनन्। येशू क्रूसमा टाँगिनुभएपछि र फेरि जीवित हुनुभएपछि पनि किन मानिसहरूले अझै उहाँमा विश्‍वास गरेनन्? के मानिसको विद्रोहीपन सबै एकै प्रकारको छैन र? चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको मात्र हो, अनि जब तिनीहरू जितिन्छन् तिनीहरू आदर्श र नमुनाहरू बन्‍नेछन्, र अरूका निम्ति उदाहरणका रूपमा काम गर्नेछन्। मैले किन सधैँ तिमीहरू मेरो व्यवस्थापन योजनाको एक सहायक हौ भनेर भनेको छु? चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह सबैभन्दा पूर्ण रूपमा देखिएका छन् र ती विभिन्‍न स्वरूपमा प्रकट भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र मानसिकता पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र सबैभन्दा पछौटे छन्। तिनीहरूको हैसियत पनि निकै तल्लो स्तरको छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो परीक्षण काम सम्पूर्ण रूपमा पूरा गरिएपछि, परमेश्‍वरले गर्नुहुने त्यसपछिको काम धेरै नै सहज हुनेछ। यदि यो चरणको काम पूरा गर्न सकियो भने त्यसपछिका कामहरू अवश्य नै अघि बढ्नेछन्। यो चरणको काम पूरा भएपछि, पूर्ण रूपमा ठूलो सफलता हासिल हुनेछ, अनि सारा ब्रह्माण्डभरि विजय गर्ने काम पूर्ण रूपमा समाप्त हुनेछ। वास्तवमा, तिमीहरूको माझमा काम सफल भएपछि, त्यो सारा ब्रह्माण्डभरि सफलता पाएको बराबर हुनेछ। मैले तिमीहरूलाई आदर्श र नमुनाको रूपमा काम गर्न लगाउनुको महत्त्व यही नै हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (२)

सबै देशहरूमध्ये चीन सबैभन्दा पिछडिएको देश हो; यो त्यो देश हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुल्केर बस्छ, यसमा मूर्तिपूजा गर्ने र जादू-मन्‍त्र गर्ने सबैभन्दा धेरै मानिसहरू छन्, यहाँ सबैभन्दा धेरै मन्दिरहरू छन्, र यो फोहोर भूतात्माहरू बास बस्‍ने ठाउँ हो। तँ यहीँ जन्मेको थिइस्, तैँले यहीँबाट शिक्षा पाइस् र त्यसको प्रभावमा परिस्; तँ त्यसद्वारा भ्रष्ट पारिएको र सताइएको छस्, तर बिउँझिएपछि तैँले त्यसको विरुद्धमा विद्रोह गर्छस् र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन्छस्। यो परमेश्‍वरको महिमा हो, र यसैले कामको यस चरणको ठूलो महत्त्व छ। परमेश्‍वरले यत्रो ठूलो काम गर्नुभएको छ, यति धेरै वचनहरू बोल्नुभएको छ, र उहाँले आखिरमा तिमीहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुहुनेछ—यो परमेश्‍वरको व्यवस्थापनको एउटा हिस्सा हो, र तिमीहरू शैतानसँगको परमेश्‍वरको लडाइँका “विजय गरी लुटिएका थोकहरू” हौ। तैँले सत्यता जति धेरै बुझ्छस् र तेरो मण्डली जीवन जति राम्रो हुन्छ, त्यति नै बढी त्यो ठूलो रातो अजिङ्गरलाई घुँडा टेकाइन्छ। यी सबै आत्मिक क्षेत्रका विषयहरू हुन्—ती आत्मिक क्षेत्रका लडाइँहरू हुन्, र जब परमेश्‍वर विजयी हुनुहुनेछ, शैतान लज्जित हुनेछ र ढल्‍नेछ। परमेश्‍वरको कामको यस चरणको ठूलो महत्त्व छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (२)

त्यस्ता मानिसहरूमा विजयको काम गर्नु भनेको निकै महत्त्वपूर्ण कुरा हो। तिमीहरू सबै जना अन्धकारको प्रभावमा परेका छौ र तिमीहरूलाई गहिरो चोट लागेको छ। त्यसैले यो कामको लक्ष्य भनेको तिमीहरूलाई मानव प्रकृतिबारे जान्‍न र सत्यतामा जिउन सक्षम पार्नु हो। सिद्ध पारिने कार्य यस्तो कुरा हो जसलाई सृष्टि गरिएका सबै प्राणीहरूले स्विकार्नुपर्छ। यदि यस चरणको काममा मानिसहरूलाई सिद्ध पार्ने कार्य मात्रै समावेश भएको भए, यो बेलायत, वा अमेरिका, वा इजरायलमा गर्न सकिन्थ्यो; यसलाई कुनै पनि राष्ट्रका मानिसहरूमा गर्न सकिन्थ्यो। तर विजयको काम चयनात्मक छ। विजयको कामको पहिलो चरण अल्पकालीन छ; यसबाहेक, शैतानको अपमान गर्न र सम्पूर्ण ब्रह्माण्ड जित्‍नका लागि यसको प्रयोग गरिनेछ। यो विजयको प्रारम्भिक कार्य हो। के भन्‍न सकिन्छ भने परमेश्‍वरमा विश्‍वास गर्ने कुनै पनि सृष्टि गरिएको प्राणीलाई सिद्ध गर्न सकिन्छ किनभने सिद्ध पारिने कार्य दीर्घकालीन परिवर्तनपछि मात्र प्राप्त गर्न सकिने कुरा हो। तर विजय गरिनु भनेको फरक कुरा हो। विजयको नमुना र आदर्श प्रतिरूप सबैभन्दा पछाडि रहेको, गहिरो अन्धकारमा बाँचेको हनुपर्छ; तिनीहरू सबैभन्दा निकृष्ट, परमेश्‍वरलाई मान्‍न सबैभन्दा अनिच्छुक र परमेश्‍वरविरुद्ध सबैभन्दाविद्रोही हुनुपर्दछ। यो ठ्याक्‍कै त्यस्तै किसिमको व्यक्ति हो जसले विजय प्राप्त गरिएको बारेमा साक्षी दिन सक्छ। विजयको कामको मुख्य लक्ष्य शैतानलाई हराउनु हो, जबकि मानिसहरूलाई सिद्ध पार्नुको मुख्य लक्ष्य मानिसहरूलाई प्राप्त गर्नु हो। यसको लक्ष्य विजयपश्‍चात् मानिसहरूलाई विजयको कार्य यहाँ तिमीहरूजस्तै मानिसहरूमा गरिएको छ भन्‍ने कुराको साक्षी दिन सक्षम पार्नु हो। विजयपश्‍चात् मानिसहरूलाई साक्षी दिन लगाउनु यसको उद्देश्य हो। यी विजय गरिएका मानिसहरूलाई शैतानको अपमान गर्ने लक्ष्य हासिल गर्न प्रयोग गरिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

अहिले मोआबका सन्तानहरूमाथि काम गर्नु भनेको सबैभन्दा अन्धकारमा खसेकाहरूलाई मुक्ति दिनु हो। तिनीहरूलाई श्राप दिइएको भए तापनि, परमेश्‍वर तिनीहरूबाट महिमा प्राप्त गर्न इच्छुक हुनुहुन्छ, किनकि तिनीहरू पहिले त्यस्ता मानिस थिए जसको हृदयमा परमेश्‍वर हुनुहुन्‍नथियो; हृदयमा परमेश्‍वर नभएका मानिसहरूलाई उहाँमा समर्पित हुने र प्रेम गर्ने तुल्याउनु नै साँचो विजय हो, अनि त्यस्तो कामको फल धेरै मूल्यवान् र विश्‍वसनीय हुन्छ। महिमा प्राप्त गर्नु भनेको यो मात्रै हो—आखिरी दिनहरूमा परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको महिमा यही नै हो। यी मानिसहरू तल्लो दर्जाका भए तापनि, तिनीहरूले अहिले त्यस्तो ठूलो मुक्ति पाउन सकेको तथ्य परमेश्‍वरद्वारा गरिएको साँच्चिकै उत्थान हो। यो काम अत्यन्त महत्त्वपूर्ण छ, अनि न्यायद्वारा नै उहाँले यी मानिसहरूलाई प्राप्त गर्नुहुन्छ। उहाँको अभिप्राय यी मानिसहरूलाई दण्ड दिनु होइन तर मुक्ति दिनु हो। यदि आखिरी दिनहरूको अवधिमा, उहाँले अझै पनि इस्राएलमा विजयको काम गरिरहनुभएको भए, यो मूल्यहीन हुनेथियो; यसले फल फलाएको भए पनि, यसको मूल्य वा कुनै ठूलो महत्त्व हुनेथिएन, अनि उहाँले सबै महिमा हासिल गर्न सक्नुहुनेथिएन। उहाँले तिमीहरूमाथि काम गरिरहनुभएको छ, जो सबैभन्दा अन्धकारपूर्ण ठाउँमा खसेका छन्, जो सबैभन्दा पिछडिएका छन्। यी मानिसहरूले परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्दैनन् र परमेश्‍वर हुनुहुन्छ भनी कहिल्यै जानेका छैनन्। सृष्टि गरिका यी प्राणीहरू शैतानद्वारा यति भ्रष्ट पारिएका छन् कि तिनीहरूले परमेश्‍वरलाई बिर्सेका छन्। तिनीहरू शैतानद्वारा अन्धा तुल्याइएका छन् अनि स्वर्गमा परमेश्‍वर हुनुहुन्छ भनी तिनीहरूलाई बिलकुल थाहा छैन। तिमीहरू सबैले आफ्नो हृदयमा मूर्तिहरूलाई पूजा गर्छौ र शैतानको आराधना गर्छौ—के तिमीहरू सबैभन्दा तल्लो, सबैभन्दा पिछडिएका मानिस होइनौ र? तिमीहरू कुनै व्यक्तिगत स्वतन्त्रता नभएका, सबैभन्दा तल्लो स्तरका देह हौ अनि तिमीहरूले कठिनाइहरू पनि भोग्छौ। तिमीहरू विश्‍वासको स्वतन्त्रतासमेत नभएका यस समाजको सबैभन्दा तल्लो तहका मानिस पनि हौ। तिमीहरूमाथि काम गर्नुको महत्त्व यसैमा छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

परमेश्‍वर सबैभन्दा पछौटे र फोहोरी ठाउँमा देह बन्‍नुभयो र यस्तो तरिकाले मात्र परमेश्‍वरले उहाँको पवित्र र धर्मी स्वभावको सम्पूर्णता स्पष्ट रूपमा देखाउन सक्‍नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव के मार्फत देखाइन्छ? यो त्यस बेला देखाइन्छ जब उहाँले मानिसको पापको न्याय गर्नुहुन्छ, जब उहाँले शैतानको न्याय गर्नुहुन्छ, जब उहाँले पापलाई घृणा गर्नुहुन्छ, र जब उहाँले उहाँको विरोध र उहाँविरुद्ध विद्रोह गर्ने शत्रुहरूलाई तुच्छ ठान्‍नुहुन्छ। मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मीपनको न्याय गर्न, मानिसको विद्रोहीपनलाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोलीवचन र कामहरू—परमेश्‍वरका अभिप्रायहरूका विरुद्धमा रहेका यी सबै कुरालाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको विद्रोहीपनका सबै कुरालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा केन्द्रित छन्; उहाँले आफ्नो धर्मी स्वभाव प्रकट गर्न मानिसको अधर्मीपनको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धर्मी स्वभावको प्रतिनिधित्व हो र वास्तवमा परमेश्‍वरको पवित्रता नै उहाँको धर्मी स्वभाव हो। तिमीहरूका भ्रष्ट स्वभाव नै आजका वचनहरूका सन्दर्भ हुन्—बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्न म तिनलाई प्रयोग गर्छु। व्यावहारिक काम यही मात्र हो र यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्काउँछ। यदि तँमा अलिकति पनि भ्रष्ट स्वभाव छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसै मार्फत उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्‍वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्‍नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, र तेरो अधर्मीपनका लागि तँलाई सजाय पनि दिनुभएन भने, त्यसले उहाँ परमेश्‍वर हुनुहुन्‍न भन्‍ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोरी हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्छु, र तेरो भ्रष्टता र विद्रोहीपनकै कारण म तँलाई सजाय दिन्छु। मैले तिमीहरूलाई आफ्नो शक्ति देखाइरहेको वा जानीजानी तिमीहरूलाई दमन गरिरहेको छैन; यस फोहोरको देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले संसारको सबैभन्दा फोहोरी कुनामा जन्मेका सुँगुरहरूले जस्तै आफ्नो सत्यनिष्ठा र मानवता गुमाएका छौ। तिमीहरूको फोहोर र भ्रष्टताको कारण नै तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि क्रोध बर्साउँछु। यी वचनहरूको यही न्यायको कारण नै तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारणले नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि आफ्नो क्रोध बर्साउनुहुन्छ; मानवजातिको विद्रोहीपन देखेर नै उहाँले उहाँको धर्मी स्वभाव प्रकट गर्नुहुन्छ। मानवजातिको फोहोर र भ्रष्टताले नै उहाँको पवित्रताको प्रकटीकरण गराउँछ। यही नै उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, उहाँ विशुद्ध र पवित्र भएर पनि उहाँ फोहोरको देशमा बस्‍नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ। …

इस्राएलमा गरिएको काम र आजको कामको बीचमा ठूलो भिन्‍नता छ। यहोवाले इस्राएलीहरूको जीवनलाई डोऱ्याउनुभयो र त्यहाँ त्यति धेरै सजाय र न्याय थिएन, किनकि त्यसबेला मानिसहरूले संसारलाई थोरै मात्र बुझेका थिए र उनीहरूका भ्रष्ट स्वभावहरू थोरै थिए। त्यसबेला, इस्राएलीहरूले यहोवाको पूर्ण आज्ञापालन गर्थे। जब उहाँले तिनीहरूलाई वेदी बनाउनू भनी भन्‍नुभयो, तब तिनीहरूले तुरुन्तै वेदीहरू निर्माण गरे; जब उहाँले तिनीहरूलाई पूजाहारीको पोसाक लगाउनू भनी भन्‍नुभयो, तिनीहरूले आज्ञापालन गरे। ती दिनहरूमा, यहोवा भेडाको बगाललाई हेरचाह गर्ने गोठालोझैं हुनुहुन्थ्यो, भेडाहरू गोठालोको अगुवाइमा हिँड्थे र चरनका घाँसहरू खान्थे; के खाने, के लगाउने, कसरी बस्‍ने र कसरी यात्रा गर्ने भनी बताउँदै यहोवाले तिनीहरूको जीवनलाई डोऱ्याउनुभयो। त्यो परमेश्‍वरको स्वभाव स्पष्ट पार्ने समय थिएन, किनकि त्यस समयको मानवजाति भर्खर जन्मेको थियो; त्यहाँ विद्रोही र विरोधीहरू थोरै थिए, मानवजातिमाझ त्यति फोहोर थिएन, यसैले मानिसहरूले परमेश्‍वरको स्वभावको प्रतिभारको रूपमा काम गर्न सक्दैनथे। फोहोरको देशबाट आएका मानिसहरूमार्फत नै परमेश्‍वरको पवित्रतालाई देखाइन्छ; आज, उहाँले फोहोरको देशका यी मानिसहरूमा प्रकट भएको फोहोर प्रयोग गर्नुहुन्छ, र उहाँले न्याय गर्नुहुन्छ, र न्यायमाझ उहाँ जे हुनुहुन्छ सो प्रकटीकरण हुन्छ। उहाँले किन न्याय गर्नुहुन्छ? उहाँले न्यायको वचनहरू बोल्न सक्‍नुहुन्छ, किनकि उहाँले पापलाई घृणा गर्नुहुन्छ; यदि उहाँले मानवजातिको विद्रोहीपनलाई घृणा गर्नु हुँदैनथ्यो भने उहाँ कसरी त्यत्ति रिसाउन सक्‍नुहुन्थ्यो र? यदि उहाँभित्र कुनै घृणा, कुनै इन्कार हुँदैनथ्यो भने, यदि उहाँले मानिसहरूको विद्रोहलाई ध्यान दिनुहुन्‍नथ्यो भने, त्यसले उहाँलाई मानिसजस्तै फोहोर साबित गर्नेथ्यो। उहाँले मानिसलाई न्याय र सजाय गर्न सक्‍नुहुन्छ, किनकि उहाँ फोहोरलाई घृणा गर्नुहुन्छ, र जुन कुरालाई उहाँ घृणा गर्नुहुन्छ त्यो उहाँमा छँदै छैन। यदि उहाँमा पनि विरोध र विद्रोह भएको भए, उहाँले विरोधी र विद्रोहीहरूलाई तुच्छ मान्‍नुहुनेथिएन। यदि आखिरी दिनहरूको काम इस्राएलमा गरिएको भए त्यसको कुनै अर्थ हुनेथिएन। आखिरी दिनहरूको काम किन चीनमा भइरहेको छ, जुन सबैभन्दा अन्धकार र पछौटे ठाउँ हो? यो उहाँको पवित्रता र धार्मिकता प्रदर्शन गर्नका लागि हो। संक्षेपमा, ठाउँ जति धेरै अन्धकार हुन्छ परमेश्‍वरको पवित्रता त्यत्ति नै बढी स्पष्ट रूपमा देखाउन सकिन्छ। वास्तवमा, यी सबै परमेश्‍वरको कामका लागि हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

चिनियाँ मानिसहरूले कहिल्यै परमेश्‍वरमा विश्‍वास गरेका छैनन्; तिनीहरूले कहिल्यै यहोवाको सेवा गरेका छैनन्, अनि कहिल्यै येशूको सेवा गरेका छैनन्। तिनीहरूले केवल ढोग्छन्, धूप बाल्छन्, धूप-कागज बाल्छन् अनि बुद्धको पूजा गर्छन्। तिनीहरूले मूर्तिहरूको मात्र आराधना गर्छन्—तिनीहरू सबै जना हदैसम्मको विद्रोही हुन्छन्। त्यसैले, मानिसहरूको दर्जा जति तल्लो हुन्छ, त्यति नै बढी तिमीहरूबाट परमेश्‍वरले महिमा हासिल गर्नुहुन्छ भन्‍ने यसले देखाउँछ। कसैले आफ्नो दृष्टिकोणबाट भन्न सक्ला: “हे परमेश्‍वर, तपाईँले गर्ने काम के हो?” तपाईँ त्यस्तो उच्च परमेश्‍वर, त्यस्तो पवित्र परमेश्‍वर के फोहोरी देशमा आउनुहुन्छ? के तपाईँ आफूलाई यति सानो ठान्नुहुन्छ? हामी धेरै फोहोरी छौँ, तर तपाईँ हामीसित रहन इच्छुक हुनुहुन्छ? तपाईँ हामीमाझ बस्न इच्छुक हुनुहुन्छ? हामी यति तल्लो दर्जाका हौँ, तर तपाईँ हामीलाई पूर्ण बनाउन इच्छुक हुनुहुन्छ? अनि तपाईँ हामीलाई नमूना र आदर्शको रूपमा प्रयोग गर्न चाहनुहुन्छ? म भन्छु: तैँले मेरा अभिप्रायहरू बुझ्दैनस्। म जुन काम गर्न चाहन्छु, सो तैँले बुझ्दैनस्, न त मेरो स्वभावलाई नै बुझ्छस्। मैले गर्न गइरहेको कामको महत्त्व तेरो क्षमताले भ्याउनेभन्दा पर छ। के मेरो काम तेरा मानव धारणाहरू अनुरूप हुन्छ र? मानव धारणाहरूअनुसार त, म उच्च हैसियतको हुँ भनेर देखाउन, म ठूलो मूल्यको हुँ भनेर देखाउन, मेरो आदर, पवित्रता र महानता देखाउन म एउटा राम्रो देशमा जन्मिनुपर्नेथियो। यदि म आफूलाई चिनाउने स्थानमा, एउटा कुलीन परिवारमा जन्‍मिएको भए, अनि यदि म उच्च दर्जा र हैसियतको भएको भए, मलाई अत्यन्तै राम्रो व्यवहार गरिन्थ्यो। त्यसले मेरो कामलाई लाभ पुर्‍याउनेथिएन, अनि त्यस्तो ठूलो मुक्ति अझै प्रकट गर्न सकिन्थ्यो र? जसले मलाई देख्छन्, तिनीहरू सबैममा समर्पित हुन्थे, अनि तिनीहरू फोहोरले प्रदूषित हुँदैनथिए। म त्यस्तो प्रकारको ठाउँमा जन्मिनुपर्थ्यो। तिमीहरूले विश्‍वास गर्ने यही नै हो। तर यसबारे सोच: परमेश्‍वर पृथ्वीमा आनन्दको निम्ति आउनुभयो कि कामको निम्ति? यदि मैले त्यस्तो प्रकारको सजिलो, आरामदायी ठाउँमा काम गरेको भए, के मैले मेरो पूरा महिमा प्राप्त गर्न सक्थेँ र? के म मेरो सृष्टि गरिएका सारा प्राणीहरूलाई जित्न सक्षम हुन्थेँ र? जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन देह बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यही उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो पवित्र देश होस् वा फोहोर देश, उहाँले जहाँसुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यी सबै शैतानद्वारा भ्रष्ट पारिएको छ। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर देशका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यी सबै मानवजातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले परमेश्‍वरको सर्वोच्चता राम्ररी प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर देशमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भनेर प्रमाणित गर्दैन; यसले केवल सृष्टि गरिएका सबै प्राणीहरूलाई मानवजातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको निष्खोट प्रेम प्रकट हुन्छ। परमेश्‍वर फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, उहाँ पवित्र र धर्मी हुनुहुन्छ। के उहाँको कामको प्रत्येक भाग सबै मानवजातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यी सबै मानवजातिले महान् मुक्ति पाऊन् भनेर गरिएको होइन र? दुई हजार वर्षअघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइनन् र? यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूमाझ जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानवजातिलाई मुक्ति दिनु नपर्ने भए, उहाँ किन दोस्रोपटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहन रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानवजातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा प्रदूषित हुनुहुन्न, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको केवल के अर्थ हुन सक्छ भने मानवजातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ! तिमीहरू सबै र तिमीहरूका नियतिका निम्ति उहाँले भोग्नुहुने अपमान कति ठूलो छ, के तिमीहरूलाई थाहा छैन? उहाँले महान् व्यक्तिहरू वा धनी र शक्तिशाली परिवारका छोराहरूलाई बचाउनुको साटो, नम्र र तुच्छ ठानिएकाहरूलाई बचाउनुहुन्छ। के यी सबै उहाँका पवित्रता होइनन् र? के यी सबै उहाँका धार्मिकता होइनन् र? सबै मानवजाति बाँचून् भनेर उहाँ बरु फोहोर देशमा जन्‍मनुहुनेथियो र हरप्रकारको अपमान सहनुहुनेथियो। परमेश्‍वर साँच्‍चै वास्तविक हुनुहुन्छ—उहाँले कुनै झूटो काम गर्नुहुन्न। के कामको प्रत्येक चरण त्यस्तो व्यावहारिक तरिकाले नै गरिएको छैन र? सबै मानिसले उहाँको निन्दा गर्ने र उहाँ पापीहरूसँग टेबुलमा बस्नुहुन्छ भनी भन्‍ने भए पनि, सबै मानिसहरूले उहाँको खिल्‍ली उडाउने भए पनि र उहाँ फोहोरका छोराहरूसँग बस्नुहुन्छ, उहाँ सबैभन्दा तुच्छ मानिसहरूसँग बस्नुहुन्छ भन्‍ने भए पनि, उहाँले आफूलाई निःस्वार्थ रूपमा दिनुहुन्छ, र उहाँलाई अझै पनि यसरी मानवजातिको बीचमा इन्कार गरिन्छ। के उहाँले भोग्नुहुने कष्टहरू तिमीहरूको भन्दा बढी छैनन् र? के उहाँले गर्नुहुने काम तिमीहरूले चुकाएका मूल्यभन्दा बढी छैन र? तिमीहरू फोहोरको देशमा जन्‍मिएका थियौ, र पनि तिमीहरूले परमेश्‍वरको पवित्रता प्राप्त गरेका छौ। तिमीहरू भूतात्माहरू भेला हुने ठाउँमा जन्‍मियौ, तापनि तिमीहरूले ठूलो सुरक्षा पाएका छौ। तिमीहरूसित के विकल्‍प छ र? तिमीहरूसित के गुनासा छन्? के उहाँले भोग्नुभएको कष्ट तिमीहरूले भोगेको कष्टभन्दा ठूलो छैन र? उहाँ पृथ्वीमा आउनुभएको छ र कहिल्यै मानव संसारका खुसीयालीहरूमा रमाउनुभएको छैन। उहाँ त्यस्ता कुराहरूलाई घृणा गर्नुहुन्छ। मानिसहरूले उहाँलाई भौतिक कुराहरू उपलब्ध गराऊन् भनेर उहाँ पृथ्वीमा आउनुभएन, न त उहाँ खाना, कपडा, अनि गरगहनाको आनन्द लिन नै आउनुभयो। उहाँले यी कुराहरूलाई कुनै ध्यान दिनुहुन्न। उहाँ पृथ्वीमा मानिसको निम्ति कष्ट उठाउन आउनुभयो, भौतिक सम्पत्तिको आनन्द लिन होइन। उहाँ कष्ट भोग्न, काम गर्न, र आफ्नो व्यवस्थापन योजनाको काम पूरा गर्न आउनुभयो। उहाँले राम्रो ठाउँमा बस्न दूतावास वा भव्य होटेल रोज्नुभएन, न त उहाँसित उहाँलाई पर्खेर बस्ने थुप्रै नोकरहरू नै छन्। तिमीहरूले जे देखेका छौ, त्यसको आधारमा, के तिमीहरूलाई उहाँ काम गर्न कि आनन्दको निम्ति आउनुभयो भन्‍ने थाहा छैन? के तिमीहरूका आँखाले देख्दैनन्? उहाँले तिमीहरूलाई कति धेरै दिनुभएको छ? यदि उहाँ एउटा आरामदायी ठाउँमा जन्मिनुभएको भए, के उहाँले महिमा प्राप्त गर्न सक्नुहुन्थ्यो? के उहाँले काम गर्न सक्नुहुन्थ्यो? के उहाँले त्यसो गर्नुको कुनै महत्त्व हुन्थ्यो? के उहाँले मानवजातिलाई पूर्ण रीतिले विजय गर्न सक्‍नुहुन्थ्यो? के उहाँले मानिसहरूलाई फोहोरको देशबाट उद्धार गर्न सक्नुहुन्थ्यो? मानिसहरूले आफ्‍ना धारणाहरूअनुसार सोध्छन्: “परमेश्‍वर पवित्र हुनुहुन्छ भने किन उहाँ हाम्रो यस फोहोर ठाउँमा जन्मिनुभयो? तपाईँले हामी फोहोरी मानिसहरूलाई घृणा र तिरस्कार गर्नुहुन्छ; तपाईँले हाम्रो प्रतिरोध र विद्रोहीपनलाई घृणा गर्नुहुन्छ, त्यसैले, किन तपाईँ हामीसित बस्नुहुन्छ? तपाईँ सर्वोच्च परमेश्‍वर हुनुहुन्छ। तपाईँ कहीँ पनि जन्मिन सक्नुहुन्थ्यो, तब किन यस फोहोरी देशमा जन्मिनुपर्‍यो? तपाईँले हामीलाई हरेक दिन सजाय दिनुहुन्छ र न्याय गर्नुहुन्छ, अनि हामी मोआबका सन्तान हौँ भनी तपाईँ स्पष्ट रूपले जान्नुहुन्छ, तैपनि किन तपाईँ अझै हाम्रो माझ बस्नुहुन्छ? किन तपाईँ मोआबका सन्तानहरूको परिवारमा जन्मिनुभयो? तपाईँले किन त्यसो गर्नुभयो?” तिमीहरूका त्यस्ता विचारहरू पूर्ण रूपले तर्कहिन छन्! केवल त्यस्तो कामले मात्रै मानिसहरूलाई उहाँको महानता, नम्रता र गुप्तपन पनि देखाउँछ। उहाँ आफ्नो कामको खातिर सबै कुरा बलिदान गर्न इच्छुक हुनुहुन्छ, अनि उहाँले आफ्नो कामको खातिर सबै कष्ट सहनुभएको छ। उहाँले मानवजातिको खातिर, अनि त्यसभन्दा बढी, शैतानलाई जित्नको लागि कार्य गर्नुहुन्छ, ताकि सृष्टि गरिएका सबै प्राणीहरू उहाँको अधीनमा हुन सकून्। अर्थपूर्ण, मूल्यवान् काम यही मात्रै हो। यदि याकूबका सन्तानहरू चीनमा, यो भूमिको टुक्रामा जन्मेका भए, अनि तिनीहरू सबै तिमीहरू भएका भए, तिमीहरूमाथि गरिने कामको महत्त्व के हुनेथियो? शैतानले के भन्‍नेथियो? शैतानले यसो भन्‍नेथियो: “तिनीहरूले पहिले तपाईँको डर माने, तिनीहरूले सुरुदेखि नै तपाईंमा समर्पित भए, अनि तपाईँलाई धोका दिएको तिनीहरूसित कुनै इतिहास छैन। तिनीहरू मानवजातिमध्ये सबैभन्दा अन्धकारमय, सबैभन्दा तुच्छ वा सबैभन्दा पिछडिएका होइनन्।” यदि वास्तवमा काम यस प्रकारले गरिएको भए, यसबाट को विश्‍वस्त हुनेथियो? सारा ब्रम्‍हाण्डमा, चिनियाँहरू नै सबैभन्दा पिछडिएका मानिस हुन्। तिनीहरू निम्न स्तरको भई नीच नैतिकतासहित जन्मिन्छन्; तिनीहरू मन्द बुद्धिका र सुस्त छन्, अनि तिनीहरू अशिष्ट र पतनोन्मुख छन्। तिनीहरू शैतानी स्वभावहरूले भरिएका, फोहोरी र छाडा छन्। तिमीहरूमा यी सबै शैतानी स्वभाव छन्। यो काम सिद्धिएपछि, मानिसहरूले यी भ्रष्ट स्वभावहरूलाई त्यागिदिनेछन् र पूर्ण रूपले समर्पित हुन र सिद्ध तुल्याइन सक्नेछन्। केवल त्यस्ता फलहरू मात्र सृष्टि गरिएका प्राणीहरू भित्रका गवाही हुन्!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

परमेश्‍वरले मानिसहरूको यस समूहलाई सारा ब्रह्माण्डभरिको उहाँको कार्यको केन्द्र बिन्दु बनाउनुभएको छ। उहाँले आफ्नो हृदयको सबै रगत तिमीहरूको निम्ति अर्पण गर्नुभएको छ; उहाँले ब्रह्माण्डभरिको आत्माका सबै काम पुनः दाबी गरेर तिमीहरूलाई प्रदान गर्नुभएको छ। यसैकारण तिमीहरू सौभाग्यशाली छौ। यसबाहेक, उहाँले आफ्नो महिमा इस्राएलदेखि उहाँको चुनिएको जाति, तिमीहरूमा सार्नुभएको छ, अनि उहाँले आफ्नो योजनाको उद्देश्य यसै समूहद्वारा पूर्णरूपमा प्रकट गर्नुहुनेछ। यसैकारण, परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्ने तिमीहरू नै हौ, अनि त्योभन्दा बढी, परमेश्‍वरको महिमाका हकवाला पनि तिमीहरू नै हौ। सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: “किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।” तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्‍वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यही देशमा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू अपमान र उत्पीडनको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्। परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरैजसो वचनहरू पूरा हुन समय लाग्छ; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि यसलाई मानिसहरूको यो समूहलाई पूर्ण बनाउने मौकाका रूपमा प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ। मानिसहरूको कष्ट भोगाइद्वारा, तिनीहरूकै क्षमताद्वारा, अनि यस फोहोर देशका मानिसहरूको सारा शैतानिक स्वभावद्वारा नै परमेश्‍वरले शुद्धीकरण र विजयको कार्य गर्नुहुन्छ, ताकि यसद्वारा उहाँले महिमा पाउन सक्‍नुभएको होस्, अनि उहाँले आफ्‍ना कार्यहरूको साक्षी बन्‍नेहरूलाई प्राप्त गर्न सक्‍नुभएको होस्। मानिसहरूको यस समूहका निम्ति परमेश्‍वरले गर्नुभएका सबै बलिदानको पूर्ण महत्त्व यही नै हो। अर्थात्, उहाँलाई विरोध गर्नेहरूद्वारा नै परमेश्‍वरले विजयको कार्य गर्नुहुन्छ, र यसरी मात्रै परमेश्‍वरको महान शक्ति प्रकट हुन सक्छ। अर्को शब्दमा, फोहोर देशमा हुनेहरू मात्र परमेश्‍वरको महिमा प्राप्त गर्न योग्यका हुन्छन्, अनि यसले मात्र परमेश्‍वरको महान शक्तिमाथि प्रकाश पार्नसक्छ। यसैकारण यही फोहोर देशबाट नै, अनि यही फोहोर देशमा बस्नेहरूबाट नै, परमेश्‍वरको महिमा प्राप्त गरिन्छ। यस्तै नै छ परमेश्‍वरको अभिप्राय। येशूको कार्यको चरण यस्तै थियो: उहाँलाई सताउने फरिसीहरूको माझमा मात्रै उहाँले महिमा प्राप्त गर्न सक्नुभयो; फरिसीहरूको सतावट अनि यहूदाको विश्‍वासघात नभएको भए, येशूलाई उपहास वा निन्दा गरिने थिएन, क्रूसमा टाँगिने कुरा त परै जाओस्, यसर्थ उहाँले महिमा प्राप्त गर्न सक्नुहुनेथिएन। जहाँ परमेश्‍वरले प्रत्येक युगमा काम गर्नुहुन्छ, अनि जहाँ उहाँले देहमा आफ्नो काम गर्नुहुन्छ, त्यहीँ नै उहाँले महिमा प्राप्त गर्नुहुन्छ अनि त्यहीँ नै उहाँले चाहनुभएकाहरूलाई पनि प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको कार्यको योजना यही नै हो, अनि उहाँको व्यवस्थापन यही नै हो।

हजारौं वर्षको परमेश्‍वरको योजनामा, कामको दुई भागहरू शरीरमा गरिन्छन्: प्रथम क्रूसीकरणको काम, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ; अर्को चाहिँ आखिरी दिनहरूमा गरिने विजय र सिद्धताको कार्य हो, जसको निम्ति उहाँले महिमा प्राप्त गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यसैकारण तिमीहरूलाई दिइएको परमेश्‍वरको कार्य वा परमेश्‍वरको आज्ञालाई हल्का विषयको रूपमा नलेऊ। तिमीहरू सबै नै परमेश्‍वरको प्रशस्त र अनन्त महिमाको हकवाला हौ र यो विशेष रूपमा परमेश्‍वरले नै नियुक्त गर्नुभएको थियो। उहाँको महिमाको दुई भागमध्ये, एउटा तिमीहरूमा प्रकट हुन्छ; परमेश्‍वरको महिमाको एउटा भागको पूर्णता, यो तिमीहरूकै निजी धन होस् भनेर तिमीहरूलाई प्रदान गरिएको छ। यो परमेश्‍वरले तिमीहरूमा गर्नुहुने सम्मान हो, अनि यो उहाँले धेरै वर्षअघि पूर्वनिर्धारित गर्नुभएको योजना पनि हो। ठूलो रातो अजिङ्गर बस्ने देशमा परमेश्‍वरले गर्नुभएको कार्यको महानता सम्‍झँदा, यदि यो कार्यलाई अरू कुनै ठाउँतिर सारिएको भए, यसले धेरै अघि ठूलो फल फलिसक्ने थियो र मान्छेले तत्कालै ग्रहण गर्नेथियो। यसबाहेक, यो काम परमेश्‍वरमा विश्‍वास गर्ने पश्चिमका पादरीहरूलाई स्वीकार गर्न अत्यन्तै सजिलो हुनेथियो, किनकि येशूद्वारा गरिएको कार्यको चरणले उदाहरणको काम गर्छ। यसैकारण परमेश्‍वरले महिमा प्राप्त गर्ने कार्यको यो चरण अरू कतै हासिल गर्न सक्‍नुहुन्‍न; जब काममा मानिसहरूको समर्थन हुन्छ र राष्ट्रहरूद्वारा मान्यता प्राप्त गरेको हुन्छ, परमेश्‍वरको महिमा हाबी हुन सक्दैन। यस देशमा कार्यको यस चरणले राख्‍ने असाधारण महत्त्व यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

आज, परमेश्‍वरले के नयाँ कामको शुरुवात गर्नुभएको छ भनेर अझै नबुझ्ने्हरू पनि छन्। गैरयहूदी राष्ट्रहरूका माझमा, परमेश्‍वरले नयाँ शुरुवातलाई प्रारम्भ गर्नुभएको छ। उहाँले नयाँ युगको शुरुवात गर्नुभएको छ, र नयाँ कार्यलाई प्रारम्भ, गर्नुभएको छ—र उहाँले मोआबका सन्तानहरूमा यो काम गर्नुहुन्छ। के यो उहाँको सबैभन्दा नयाँ काम होइन र? इतिहासभरिका कसैले पनि यो कामलाई पहिले कहिल्यै अनुभव गरेको छैन। कसैले पनि यसको बारेमा कहिल्यै सुनेको छैन्, यसलाई सराहना गर्ने कुरा त परै जाओस्। परमेश्‍वरको बुद्धि, परमेश्‍वरको आश्चर्य, परमेश्‍वरको अगम्यता, परमेश्‍वरको महान्‌ता, र परमेश्‍वरको पवित्रता सबैलाई कामको यो चरण, अर्थात् आखिरी दिनहरूका कामद्वारा प्रकट गरिन्छन्। के यो नयाँ कार्य, अर्थात् मानव धारणाहरूलाई तोड्ने कार्य होइन र? यस्तो तरिकाले विचार गर्नेहरू पनि छन्; “परमेश्‍वरले मोआबलाई श्राप दिनुभएको र उहाँले मोआबका सन्तानलाई त्याग्नेछु भनी भनिसक्नु भएको हुनाले, उहाँले तिनीहरूलाई अहिले कसरी मुक्ति दिन सक्नुहुन्छ र?” यिनीहरू परमेश्‍वरद्वारा श्रापित भएका र इस्राएलद्वारा बहिष्कृत अन्यजातिहरू हुन्; इस्राएलीहरूले तिनीहरूलाई “अन्यजाति कुकुरहरू” भन्थे। हरेकको नजरमा, तिनीहरू अन्यजाति कुकुरहरू मात्रै होईनन्, तर त्यो भन्दा खराब, विनाशका पुत्रहरू हुन् भन्नुको अर्थ, तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरू होइनन् भन्‍ने हो। तिनीहरू इस्राएलका सिमानाहरूभित्र जन्मिएका हुन सक्छन्, तर तिनीहरू इस्राएलका मानिसहरूमा पर्दैनन्, र तिनीहरूलाई गैरयहूदी राष्ट्रहरूमा निष्कासित गरिए। तिनीहरू सबै मानिसहरूमध्ये सबैभन्दा निम्न छन्। यो स्पष्ट छ किनकि तिनीहरू मानवजातिमा सबैभन्दा निम्न भएका हुनाले परमेश्‍वरले तिनीहरूका माझमा नयाँ युगको प्रारम्भ गर्ने उहाँको काम गर्नुहुन्छ, किनभने तिनीहरूले भ्रष्ट मानवजातिको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरको कार्य चयनशील र लक्षित छ; उहाँले यी मानिसहरूका माझमा आज गर्नुहुने काम उहाँले सृष्टिमा गर्नुहुने काम पनि हो। नोआ उनका सन्तानहरू जस्तै परमेश्‍वरका सृष्टि थिए। देह र रगतले बनिएका संसारमा भएका जोकोही मानिसहरू परमेश्‍वरका सृष्टिहरू हुन्। परमेश्‍वरको कार्य सारा सिर्जित प्राणीप्रति लक्षित छ; कुनै व्यक्ति सृष्टि गरिएपछि श्रापित छ कि छैन भन्‍ने कुरामा यो निर्भर हुदैन। उहाँको व्यवस्थापन कार्य सारा सिर्जित प्राणीप्रति लक्षित छ, श्रापित नभएका चुनिएका मानिसहरूप्रति होइन। परमेश्‍वरले आफ्नो् काम आफ्नो सृष्टिको माझमा गर्न चाहनुहुने भएकोले, उहाँले यसलाई सफलतापूर्वक पूरा गर्ने गरी यो गर्नुहुनेछ, र उहाँले उहाँको कामको लागि फाइदाजनक मानिसहरूका माझमा काम गर्नुहुनेछ। त्यसकारण, मानिसहरूका माझमा काम गर्ने क्रममा उहाँले सबै परम्पराहरूलाई तोड्नुहुन्छ; उहाँको लागि, “श्रापित,” “सजाय दिइएको” र “आशिषित” भन्‍ने शब्दहरू अर्थहीन छन्! यहूदी मानिसहरू, इस्राएलका चुनिएका मानिसहरू जस्तै असल छन्; तिनीहरू असल क्षमता र मानवता भएका मानिसहरू हुन्। शुरुमा, तिनीहरूकै माझमा यहोवाले आफ्नो काम शुरु गर्नुभयो र आफ्नो सबैभन्दा शुरुको काम गर्नुभयो—तर तिनीहरूमा आज विजयको काम गर्नु व्यर्थ हुने थियो। तिनीहरू पनि सिर्जित प्राणीहरूको हिस्सा हुन सक्लान्, र तिनीहरूको बारेमा धेरै कुरा सकारात्मक हुन सक्छ, तर तिनीहरूका माझमा कामको यो चरण गर्नुको कुनै अर्थ हुने थिएन; परमेश्‍वरले मानिसहरूलाई विजय गर्न सक्नुहुने थिएन, न त उहाँले सारा सिर्जित प्राणीलाई विश्‍वस्त तुल्याउन नै सक्नुहुने थियो, र उहाँको कामलाई विशाल रातो अजिङ्गरको देशका मानिसहरूमा सार्नको कारण पनि ठीक त्यही नै हो। यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँले युगको शुरूवात गर्नु, उहाँले सारा नियमहरू र सारा मानव धारणाहरूलाई तोड्नु र सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नु हो। यदि उहाँको हालको कार्यलाई इस्राएलीहरूका माझमा गरिएको भए, छ हजार वर्षे व्यवस्थापन योजना समाप्त भइञ्जेलसम्ममा, सबैले परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन्, परमेश्‍वरको आशिष र प्रतिज्ञाको हकदार हुन योग्य इस्राएलीहरू मात्रै हुन् भनेर विश्‍वास गर्ने थिए। ठूलो रातो अजिङ्गरको देश अर्थात् गैरयहूदी देशमा आखिरी दिनहरूको अवधिमा भएको परमेश्‍वरको देहधारणले सारा सिर्जित प्राणीका परमेश्‍वरका रूपमा परमेश्‍वरको कामलाई पूरा गर्छ; उहाँले आफ्नो सम्पूर्ण व्यवस्थापन कार्यलाई पूरा गर्नुहुन्छ, र उहाँले आफ्नो् कामको प्रमुख भाग विशाल रातो अजिङ्गरको देशमा समाप्त गर्नुहुन्छ। यी तीन वटा चरणहरूको कार्यको केन्द्र भनेको मानिसको मुक्ति हो—अर्थात्, सारासिर्जित प्राणीलाई सृष्टिकर्ताको आराधना गर्ने बनाउनु हो। तसर्थ, कामको हरेक चरणको ठूलो अर्थ हुन्छ; परमेश्‍वरले अर्थ वा मूल्य विनाको केही पनि गर्नुहुन्न। एकतर्फ, कामको यो चरणले नयाँ युगलाई प्रारम्भ गर्छ र अघिल्ला दुई वटा युगहरूलाई समाप्त गर्छ; अर्कोतर्फ, यसले सारा मानव धारणाहरू र मानव विश्‍वास र ज्ञानको सबै पुराना शैलीहरूलाई तोड्छ। अघिल्ला दुई युगहरूको कार्य फरक मानव धारणाहरू अनुसार गरियो; तैपनि, यो चरणले मानव धारणाहरूलाई पूर्ण रूपमा हटाउँछ, जसद्वारा यसले मानवजातिलाई पूर्ण रूपमा जित्छ। मोआबका सन्तानहरूलाई विजय गरेर, मोआबका सन्तानहरूका माझमा गरिएको कार्यद्वारा, परमेश्‍वरले ब्रह्माण्डभरिका सारा मानिसहरूलाई विजय गर्नुहुनेछ। उहाँको कामको यो चरणको सबैभन्दा गहन महत्त्व यही नै हो, र उहाँको कामको यो चरणको सबैभन्दा बहुमूल्य पक्ष यही नै हो। तेरो प्रतिष्ठा निम्न छ र तेरो मूल्य थोरै छ भन्‍ने तँलाई थाहा छ भने पनि, तैँले सबैभन्दा आनन्ददायी कुरा भेटेको छस् भन्‍ने तैँले अनुभव गर्नेछस्; तँ महान् आशिषको हकदार भएको छस्, तैँले महान् प्रतिज्ञा प्राप्त गरेको छस्, र तैँले परमेश्‍वरको यो महान् कार्यलाई पूरा गर्न सहायता गर्न सक्छस्। तैँले परमेश्‍वरको साँचो मुहारलाई हेरेको छस्, तँलाई परमेश्‍वरको अन्तर्निहित स्वभाव थाहा छ, र तैँले परमेश्‍वरको इच्छा पछ्याउँछस्। परमेश्‍वरको कार्यको अघिल्ला दुई चरणहरू इस्राएलमा गरिए। यदि आखिरी दिनहरूको अवधिमा उहाँको कार्यको यो चरणलाई पनि इस्राएलीहरूका माझमा नै गरिएको भए, इस्राएलीहरू मात्रै परमेश्‍वरका चुनिएका मानिसहरू हुन् भन्‍ने सारा सिर्जित प्राणीले विश्‍वास गर्ने मात्र होइन, तर परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन योजनाले यसको अपेक्षित परिणाम प्राप्त गर्न असफल हुने थियो। उहाँको कार्यका दुई वटा चरणहरू इस्राएलमा गरिएका अवधिमा, न त कुनै नयाँ कार्य, न नयाँ युग शुरु गर्ने कुनै कार्य नै गैरयहूदी राष्ट्रहरू माझमा गरियो। आजको कार्यको चरण—नयाँ युगलाई प्रारम्भ गर्ने कार्य—शुरुमा गैरयहूदी राष्ट्रहरूका माझमा गरिन्छ, र यसको साथै, यसलाई शुरुमा मोआबका सन्तानहरूका माझमा गरिन्छ, जसद्वारा सम्पूर्ण नयाँ युगको शुरुवात गरिन्छ। मानव धारणाहरूभित्र निहित भएका कुनै पनि ज्ञानलाई परमेश्‍वरले तोड्नुभएको छ, अलिकति पनि बाँकी राख्नु भएको छैन। आफ्नो विजयको काममा, उहाँले मानव धारणाहरू, अर्थात् ती पुराना, ज्ञानका प्रारम्भिक मानव शैलीहरूलाई तोड्नुभएको छ। उहाँले परमेश्‍वरको लागि कुनै नियमहरू छैन, परमेश्‍वरको बारेमा पुरानो केही छैन, उहाँले गर्नुहुने काम पूर्ण रूपमा विमुक्त, पूर्ण रूपमा स्वतन्त्र छ, र उहाँले गर्नुहुने सबै काममा उहाँ सहि हुनुहुन्छ भन्‍ने कुरा मानिसहरूलाई देखाउनुहुन्छ। उहाँले सिर्जित प्राणीहरूका माझमा गर्नुहुने कुनै पनि काममा तँ पूर्ण रूपमा समर्पित हुनुपर्छ। उहाँले गर्नुहुने सबै कामको अर्थ हुन्छ, र उहाँको आफ्नै अभिप्राय र बुद्धि अनुसार ती गरिन्छन्, र मानव छनौटहरू र धारणाहरू अनुसार होइन। यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छ भने, उहाँले यो गर्नुहुन्छ; अनि यदि कुनै कुरा उहाँको कामको लागि फाइदाजनक छैन भने, यो जति नै असल भए पनि उहाँले यो गर्नुहुन्न! उहाँले आफ्नो कामको अर्थ र उद्देश्यअनुसार काम गर्नुहुन्छ र सोही अनुसार उहाँको कामका प्रापकहरू र स्थान छनौट गर्नुहुन्छ। काम गर्ने क्रममा उहाँले विगतका नियमहरू पालना गर्नुहुन्न, न त उहाँले पुराना सूत्रहरूलाई नै पछ्याउनुहुन्छ। बरु, उहाँले कामको महत्त्वअनुसार आफ्नो कामको योजना बनाउनुहुन्छ। अन्तिममा, उहाँले सच्चा परिणाम र प्रत्याशित लक्ष्य प्राप्त गर्नुहुन्छ। यदि तैँले यी कुराहरूलाई आज बुझिनस् भने, तँमा यो कामको कुनै प्रभाव हुनेछैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

अघिल्लो दुई युगहरूको कार्यको एउटा चरणलाई इस्राएलमा अघि बढाइएको थियो, र एउटालाई यहूदियामा अघि बढाइयो। सामान्य रूपमा भन्दा, न त यो कामको कुनै पनि चरणले इस्राएललाई छोड्यो, र प्रत्येक चरण प्रथम चुनिएका मानिसहरूका माझमा नै गरिएको थियो। परिणामस्वरूप, यहोवा परमेश्‍वर इस्राएलीहरूका एक मात्र परमेश्‍वर हुनुहुन्छ भन्‍ने इस्राएलीहरूले विश्‍वास गर्छन्। येशूले यहूदियामा काम गर्नुभयो, जहाँ उहाँले क्रूसीकरणको काम गर्नुभयो, त्यसकारण यहूदीहरूले उहाँलाई यहूदी मानिसहरूका मुक्तिदाताको रूपमा हेर्छन्। तिनीहरूले सोच्छन् कि उहाँ यहूदीहरूका मात्रै राजा हुनुहुन्छ, अरू कुनै मानिसहरूको होइन; अर्थात्, उहाँ अङ्ग्रेजहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, अमेरिकीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्न, तर इस्राएलीहरूलाई छुटकारा दिने प्रभु हुनुहुन्छ; अनि इस्राएलमा उहाँले छुटकारा दिनुभएकाहरू यहूदीहरू नै थिए। वास्तविकतामा, परमेश्‍वर यावत् थोकका सार्वभौम हुनुहुन्छ। उहाँ सारा सिर्जित प्राणीका परमेश्‍वर हुनुहुन्छ। उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्न, न त यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ; उहाँ सारा सिर्जित प्राणीका परमेश्‍वर हुनुहुन्छ। उहाँको कार्यका अघिल्ला दुई चरणहरू इस्राएलमा भए, जसले मानिसहरूमा निश्चित धारणाहरू सिर्जना गरेको छ। तिनीहरुले विश्‍वास गर्छन कि यहोवाले आफ्नो काम इस्राएलमा गर्नुभयो, येशू स्वयमले आफ्नो काम यहूदियामा गर्नुभयो, र, यसको साथै, उहाँ काम गर्नको लागि देह बन्नु्भयो—र जेसुकै भए तापनि, यो काम इस्राएलभन्दा टाढा विस्तार गरिएन। परमेश्‍वरले मिश्रीहरू वा भारतीयहरूमा काम गर्नुभएन; उहाँले इस्राएलीहरूमा मात्रै काम गर्नुभयो। यसरी मानिसहरूले विभिन्न धारणाहरू निर्माण गर्छन्, अनि परमेश्‍वरको कार्यलाई निश्चित क्षेत्रभित्र चित्रण गर्छन्। तिनीहरू भन्छन् कि जब परमेश्‍वरले काम गर्नुहुन्छ, उहाँले चुनिएका मानिसहरूका माझमा, र इस्राएलमा नै सो गर्नुपर्छ; इस्राएलीहरू बाहेक, परमेश्‍वरले अरू कसैको माझमा काम गर्नुहुन्न, न त उहाँको कामको कुनै ठुलो क्षेत्र नै छ। देहधारी परमेश्‍वरलाई ठीक ठाउँमा राख्ने बारेमा तिनीहरू विशेष गरी कठोर हुन्छन्, र इस्राएलको सीमाभन्दा टाढा उहाँलाई जाने अनुमति दिँदैनन्। के यी सबै मानव धारणाहरू मात्रै होइनन् र? परमेश्‍वरले स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू बनाउनुभयो, उहाँले सारा सिर्जित प्राणीलाई बनाउनुभयो, त्यसकारण उहाँले कसरी आफ्नो कामलाई इस्राएलमा मात्रै सीमित राख्न सक्नुहुन्छ र? यदि त्यसो हो भने, उहाँले सारा सिर्जित प्राणीलाई बनाउनुको अर्थ के हुने थियो र? उहाँले सारा संसार सृष्टि गर्नुभयो, र उहाँले इस्राएलमा मात्रै होइन, तर ब्रह्माण्डका हरेक व्यक्तिमा आफ्नो छ हजार वर्षे व्यवस्थापन योजनालाई कार्यान्वयन गर्नुभएको छ। तिनीहरू चीन, संयुक्त राज्य अमेरिका, बेलायतमा बसून् या रूसमा बसून्, हरेक व्यक्ति आदमका सन्तान नै हुन्; तिनीहरू सबैलाई परमेश्‍वरले नै बनाउनुभएको हो। तिनीहरूमध्ये एक जना पनि सृष्टिको सीमानाहरूबाट बाहिर उम्कन सक्दैनन्, र तिनीहरूमध्ये एक जनाले पनि आफूलाई “आदमका सन्तान” भन्‍ने नामबाट आफूलाई अलग गर्न सक्दैनन्। तिनीहरू सबै परमेश्‍वरका प्राणीहरू हुन्, तिनीहरू सबै आदमका सन्तान हुन्, र तिनीहरू सबै नै आदम र हव्वाका भ्रष्ट तुल्याइएका वंश पनि हुन्। सिर्जित प्राणीइस्राएलीहरू मात्रै सिर्जित प्राणी होईनन्, सबै मानिसहरू हुन्; यति मात्रै हो कि कतिलाई श्राप दिइएको छ, र कतिलाई आशिष दिइएको छ। इस्राएलीहरूका बारेमा सहमत गर्न सकिने कुराहरू धेरै छन्; परमेश्‍वरले शुरुमा तिनीहरूमा काम गर्नुभयो किनभने तिनीहरू सबैभन्दा कम भ्रष्ट थिए। चिनियाँहरूलाई तिनीहरूसँग तुलना गर्न सकिँदैन; तिनीहरू अत्यन्तै निम्न छन्। त्यसकारण, प्रारम्भमा परमेश्‍वरले इस्राएलका मानिसहरूका माझमा काम गर्नुभयो, र उहाँको कामको दोस्रो चरणलाई यहूदियामा मात्रै गरियो—जसले मानिसको माझमा विभिन्न धारणाहरू र नियमहरू पैदा गरेको छ। वास्तवमा, यदि परमेश्‍वरले मानवीय धारणाहरू अनुसार काम गर्नुभएको थियो भने, उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, र आफ्नो कामलाई अन्यजातिहरूको राष्ट्रमा बढाउन असक्षम हुनुहुने थियो, किनभने उहाँ इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुने थियो, सारा सिर्जित प्राणीका परमेश्‍वर होइन। अन्यजातिहरूको राष्ट्रका बीच यहोवाको नाम महान हुनेछ, कि यो गैरयहूदी राष्ट्रहरूमा फैलनेछ भनेर अगमवाणीहरूले बताए। किन यो अगमवाणी गरियो? यदि परमेश्‍वर इस्राएलीहरूका मात्रै परमेश्‍वर हुनुहुन्थ्यो भने, उहाँले इस्राएलमा मात्रै काम गर्नुहुने थियो। यसको साथै, उहाँले यो कामलाई फैलाउनुहुने थिएन, र उहाँले त्यस्तो अगमवाणी गर्नुहुने थिएन। उहाँले यो अगमवाणी गर्नुभएको हुनाले, उहाँले अवश्य नै गैरयहूदी राष्ट्रहरू, हरेक राष्ट्र र हरेक भूमिमा आफ्नो काम फैलाउनुहुनेछ। उहाँले यसो भन्नुभएको हुनाले, उहाँले यो गर्नु नै पर्छ; उहाँको योजना यही नै हो, किनभने उहाँ स्वर्गहरू र पृथ्वी अनि यावत् थोकहरू सृष्टि गर्नुहुने प्रभु, र सारा सिर्जित प्राणीका परमेश्‍वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूका माझमा काम गर्नुभए पनि, वा यहूदियाभरि काम गर्नुभए पनि, उहाँले गर्नुहुने काम सम्पूर्ण ब्रह्माण्डको काम हो र सम्पूर्ण मानवजातिको काम हो। विशाल रातो अजिङ्गरको देशमा—गैरयहूदी देशमा—आज उहाँले गर्नुहुने काम अझै सम्पूर्ण मानवजातिको काम हो। पृथ्वीमा उहाँको कामको आधार इस्राएल हुन सक्यो; त्यसरी नै, चीन पनि गैरयहूदी राष्ट्रहरूका माझमा उहाँले गर्नुहुने कामको आधार बन्न सक्छ। के उहाँले अब “गैरयहूदी राष्ट्रहरूका माझमा यहोवाको नाम महान हुनेछ” भन्‍ने अगमवाणीलाई पूरा गर्नुभएको छैन र? गैरयहूदी राष्ट्रहरूका माझमा उहाँको कामको पहिलो चरण, अर्थात् उहाँले विशाल रातो अजिङ्गरको देशमा गर्नुहुने काम, अर्थात् यही काम हो। देहधारी परमेश्‍वरले यो भूमिमा काम गर्नुपर्छ, र यी श्रापित मानिसहरूका माझमा काम गर्नुपर्छ भन्‍ने कुरा मानव धारणाहरूका लागि निश्चय नै अलिक अमिल्दो छ; यिनीहरू सबैभन्दा निम्न मानिसहरू हुन्, र तिनीहरूका कुनै मूल्य छैन, र तिनीहरूलाई शुरुमा यहोवाद्वारा त्यागिएका थिए। मानिसहरूलाई अरू मानिसहरूले त्याग्न् सक्छन्, तर यदि तिनीहरूलाई परमेश्‍वरद्वारा त्यागिन्छन् भने, त्यतिको प्रतिष्ठाविहीन कोही पनि हुँदैन, त्यतिको कम मूल्यको कोही पनि हुँदैन। सिर्जित प्राणीको लागि, शैतानको वशमा हुनु वा मानिसहरूद्वारा त्यागिनु अत्यन्तै पीडादायक कुरा हो—तर कुनै सृष्टि उसको सृष्टिकर्ताद्वारा त्यागिनु जत्तिको निम्न प्रतिष्ठा केही हुँदैन। मोआबका सन्तानहरू श्रापित थिए, र तिनीहरू त्यस पिछडिएको देशमा जन्मिएका थिए; अन्धकारको प्रभावमा रहेका सबै मानिसहरूमध्ये, मोआबका सन्तानहरू नै सबैभन्दा कम प्रतिष्ठा भएकाहरू हुन् भन्‍ने कुरामा कुनै शङ्का छैन। यी मानिसहरूका अहिलेसम्म सबैभन्दा कम प्रतिष्ठा भएका हुनाले, तिनीहरूमा गरिने कामले मानव धारणाहरूलाई राम्ररी तोड्न सक्छ, र यो परमेश्‍वरको सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको लागि पनि सबैभन्दा फाइदाजनक छ। यी मानिसहरूका माझमा त्यस किसिमको काम गर्नु भनेको मानव धारणाहरूलाई तोड्ने सबैभन्दा राम्रो तरिका हो, र यससँगै परमेश्‍वरले नयाँ युगको शुरूवात गर्नुहुन्छ; यसद्वारा उहाँले सारा मानव धारणाहरूलाई तोड्नुहुन्छ; यसद्वारा उहाँले सम्पूर्ण अनुग्रहको युगको कार्यलाई समाप्त गर्नुहुन्छ। उहाँको पहिलो काम इस्राएलको सिमानाभित्र, यहूदियामा गरियो; गैरयहूदी राष्ट्रहरूका माझमा, उहाँले नयाँ युग आरम्भ गर्नको लागि कुनै काम गर्नुभएन। त्यो कामको अन्तिम चरणलाई अन्यजातिहरूका माझमा गरिने मात्रै होइन, तर अझै बढी श्रापित भएकाहरूका माझमा अझै बढी गरिन्छ। यो एउटा बुँदा शैतानलाई अपमान गर्नुमा सबैभन्दा बढी सक्षम प्रमाण हो, र तसर्थ, यो परमेश्‍वर ब्रह्माण्डका सारासिर्जित प्राणीका परमेश्‍वर, यावत् थोकका प्रभु, जीवन भएका हरेक कुराले आराधना गर्ने पात्र “बन्नु्हुन्छ।”

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ

सम्बन्धित अनुभवात्मक गवाहीहरू

परमेश्‍वर चीनमा देखा पर्नु र काम गर्नु धेरै अर्थपूर्ण छ

सम्बन्धित भजनहरू

चीनमा भएको परमेश्‍वरको विजयको कामको अर्थ

अघिल्लो: च. ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ भनेर कसरी जान्ने

अर्को: क. परमेश्‍वरले गर्नुहुने मानवजातिको व्यवस्थापन कार्यका तीन चरणहरूको उद्देश्य

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्