ङ. परमेश्‍वरका दुई देहधारणहरूले देहधारणको महत्त्वलाई परिपूर्ण बनाउनुहुन्छ भनेर किन भनिन्छ

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानी स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा मुक्ति दिनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको काम सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्‍वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। देह बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको दुःख अनुभव गर्न, र देहको सामान्य शरीरमा जिउन सक्नुहुन्छ। यस तरिकाले मात्र उहाँले मानिसलाई सृष्टि गरिएका प्राणीहरूका रूपमा चाहिने व्यावहारिक मार्गहरू प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसको प्रार्थनाको जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। मानिस देह र रगतको भएकोले उसले परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्, तसर्थ, ऊ केवल परमेश्‍वरले देहधारण गर्नुभएको देहको सम्पर्कमा आउन सक्छ। यस तरिकाले मात्र मानिसले सबै मार्गहरू र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ। दोस्रो देहधारण मानिसका पापहरू मेटाउन र उसलाई पूर्ण रूपमा शुद्ध गर्न पर्याप्त हुनेछ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्‍वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, शरीरमा गरिने परमेश्‍वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामको लागि तेस्रो पटक शरीर बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन अन्त्य भएको हुनेछ। आखिरी दिनहरूका देहधारणले उहाँका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूमा मानवजाति सबैलाई उनीहरूका प्रकारअनुसार वर्गीकरण गरिएको हुनेछ। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्‍ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्‍ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरू पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आफ्नो पहिलो देहधारणमा परमेश्‍वरले देहधारणको कार्यलाई पूरा गर्नुभएन; उहाँले कामको पहिलो चरणलाई मात्रै पूरा गर्नुभयो जसलाई परमेश्‍वरले देहमा गर्नु अत्यावश्यक थियो। त्यसैले, देहधारणको कामलाई पूरा गर्नको लागि, देहका सारा सामान्यता र व्यावहारिकतामा जिउँदै अर्थात् परमेश्‍वरको वचनलाई पूर्ण रूपमा सामान्य र साधारण देहमा प्रकट गर्दै, देहमा उहाँले अपूरो छोड्नुभएको कामलाई त्यसद्वारा समाप्त गर्दै परमेश्‍वर फेरि पनि देहमा फर्कनुभएको छ। वास्तवमा, दोस्रो देहधारी शरीर पहिलोजस्तै छ, तर यो पहिलोभन्दा अझै व्यावहारिक, अझै सामान्य छ। परिणामस्वरूप, दोस्रो देहधारी शरीरले सामना गर्ने कष्ट पहिलोको भन्दा ठूलो छ, तर यो कष्ट उहाँको देहको सेवकाइको परिणाम हो, जुन भ्रष्ट मानिसको कष्टजस्तो छैन। यो उहाँको देहको सामान्यता र व्यावहारिकताबाट पनि निस्किआउँछ। उहाँले आफ्नो सेवकाइ अत्यन्तै सामान्य र व्यावहारि देहमा गर्नुहुने हुँदा, देहले अत्यन्तै धेरै कठिनाइको सामना गर्नुपर्छ। यो देह जति सामान्य र जति व्यावहारिक छ, उहाँले आफ्नो सेवकाइ गर्ने क्रममा त्यति नै बढी कष्ट भोग्नुहुनेछ। परमेश्‍वरको कामलाई अत्यन्तै सामान्य देहमा व्यक्त गरिएको छ, जुन अलौकिक छँदै छैन। उहाँको देह सामान्य छ र यसले मानिसलाई मुक्त गर्ने कार्यको भारलाई पनि बोक्नुपर्ने भएकोले, उहाँले अलौकिक देहले भन्दा पनि बढी कष्ट भोग्नुपर्छ—अनि यी सबै कष्ट उहाँको देहको व्यावहारिकता र सामान्यताबाट आउँछ। आफ्ना सेवकाइहरू गर्ने क्रममा दुई देहधारी शरीरहरूले सामना गरेका कष्टबाट, देहधारी शरीरको सारलाई देख्न सकिन्छ। देह जति सामान्य छ, काम गर्ने क्रममा उहाँले त्यति नै ठूलो कष्ट भोग्नुपर्छ; काम गर्ने देह जति व्यावहारिक छ, मानिसहरूको धारणा त्यति नै कठोर हुन्छ र उहाँमा त्यति नै खतराहरू पर्ने सम्भावना हुन्छ। तैपनि, देह जति व्यावहारिक छ र देहमा सामान्य मानवका आवश्यकताहरू र पूर्ण चेतना जति हुन्छ, परमेश्‍वरको कामलाई देहमा लिन उहाँ त्यति नै सक्षम हुनुहुन्छ। क्रूसमा टाँगिनुभएका येशूकै देह हुनुहुन्थ्यो, पापबलिको रूपमा दिइएको उहाँकै देह थियो; सामान्य मानवतासहितको देहको माध्यमद्वारा नै उहाँले शैतानलाई जित्नुभयो र मानिसलाई क्रूसबाट पूर्ण रूपमा मुक्त गर्नुभयो। अनि पूर्ण देहको रूपमा नै परमेश्‍वरले आफ्नो दोस्रो देहधारणमा विजयको काम गर्नुहुन्छ र शैतानलाई जित्नुहुन्छ। पुर्ण रूपमा सामान्य र व्यावहारिक देहले मात्रै विजयको कामलाई पूर्ण रूपमा गर्न सक्छ र शक्तिशाली गवाही दिन सक्छ। भन्नुको अर्थ, मानिसको विजय देहमा हुनुभएका परमेश्‍वरको व्यावहारिकता र सामान्यताद्वारा प्रभावकारी बनाइन्छ, अलौकिक आश्‍चर्यकर्महरू र प्रकाशहरूद्वारा होइन। यस देहधारी परमेश्‍वरको सेवकाइ बोल्नु र त्यसद्वारा मानिसलाई जित्नु र सिद्ध गर्नु हो; अर्को शब्दमा भन्दा, आत्माको काम देहमा प्रकट भयो, देहको कर्तव्य भनेको बोल्नु र त्यसद्वारा मानिसलाई पूर्ण रूपमा जित्नु, प्रकट गर्नु, सिद्ध पार्नु र हटाउनु हो। त्यसैले, विजयको काममा नै परमेश्‍वरले देहमा गर्नुहुने काम पूर्ण रूपमा पूरा हुनेछ। उद्धारको प्रारम्भिक कार्य देहधारणको कार्यको सुरुवात मात्रै थियो; विजयको काम गर्ने देहले देहधारणको सम्पूर्ण कामलाई पूरा गर्नेछ। लिङ्गमा, एक जना पुरुष र अर्को स्त्री हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुन्छ र यसले परमेश्‍वरसम्बन्धी मानिसका धारणाहरूलाई हटाउँछ: परमेश्‍वर पुरुष र स्त्री दुवै बन्न सक्नुहुन्छ र वास्तवमा, देहधारी परमेश्‍वर लिङ्गरहित हुनुहुन्छ। उहाँले पुरुष र स्त्री दुवैलाई बनाउनुभयो र उहाँको लागि, कुनै लिङ्गको विभाजन छैन। कामको यो चरणमा, परमेश्‍वरले चिन्हहरू र आश्चर्यका कामहरू गर्नुहुन्न, ताकि त्यो कामले वचनको माध्यमद्वारा यसका परिणामहरूलाई हासिल गर्न सक्‍नेछ। यसका साथै, यसको कारण के हो भने, यस पटक देहधारी परमेश्‍वरको काम भनेको बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन तर बोलेर मानिसलाई जित्नु हो, भन्नुको अर्थ परमेश्‍वरको यस देहधारी शरीरमा भएको जन्मजात क्षमता भनेको वचन बोल्नु र मानिसलाई जित्नु हो, बिरामीलाई निको पार्नु र भूतात्माहरूलाई धपाउनु होइन। सामान्य मानवतामा उहाँको काम भनेको आश्‍चर्यकर्महरू गर्नु होइन, बिरामी निको पार्नु र भूतात्माहरू धपाउनु होइन, तर बोल्नु हो र त्यसकारण दोस्रो देहधारी शरीर मानिसहरूका लागि पहिलोभन्दा अझै सामान्य देखिन्छ। परमेश्‍वरको देहधारण झूट होइन भन्‍ने मानिसहरूले देख्छन्; तर यस देहधारी परमेश्‍वर देहधारी येशूभन्दा फरक हुनुहुन्छ र उहाँहरू दुवै देहधारी परमेश्‍वर हुनुभए तापनि, उहाँहरू पूर्ण रूपमा उस्तै हुनुहुन्न। येशूमा सामान्य मानवता, साधारण मानवता थियो तर उहाँले धेरै चिन्हहरू र आश्‍चर्यकर्महरू गर्नुभयो। यस देहधारी परमेश्‍वरमा, मानव आँखाले कुनै चिन्हहरू वा आश्चर्यका कामहरू देख्नेछैन, न त बिरामीलाई निको पारेको न त भूतात्माहरूलाई निकालेको, न त समुद्रमा हिँडेको न त चालीस दिनसम्म उपवास बसेको नै देख्नेछ…। येशूले गर्नुभएको काम उहाँले गर्नुहुन्नु, वास्तवमा उहाँको देह येशूको भन्दा फरक भएर होइन तर बिरामीलाई चङ्गाइ गर्नु र भूतात्माहरूलाई धपाउनु उहाँको सेवकाइ नभएकोले हो। उहाँले उहाँको आफ्नै कामलाई तोड्नुहुन्न, उहाँको आफ्नै कामलाई वाधा दिनुहुन्नु। उहाँले मानिसलाई आफ्ना व्यावहारिक वचनहरूद्वारा जित्नुहुने हुँदा, उहाँले आश्चर्यकर्महरूद्वारा जित्नुको कुनै आवश्यकता पर्दैन, त्यसैले यो चरण भनेको देहधारणको कामलाई पूरा गर्नु हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यसपटक परमेश्‍वर आउनुहुँदा, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र स्‍त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्र भनेर उल्‍लेख गरिँदैन? किनकि कामका आवश्यकताहरूले येशूको भन्दा फरक लिङ्गमा परिवर्तन हुनुपर्ने बाध्यता सिर्जना गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता हुँदैन। उहाँले आफ्‍नो इच्छाअनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्धहरूको अधीनमा हुनुहुन्‍न, उहाँ त विशेष स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुईपटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिमपटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले देख्‍ने गरी व्यक्तिगत रूपमै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍नेथ्यो। …

यदि येशूको काम मात्रै पूरा भएको थियो, र आखिरी दिनहरूको यो चरणको कार्यद्वारा यसलाई परिपूरण गरिएको थिएन भने, मानिस सँधैभरि नै, येशू मात्रै परमेश्‍वरका एकमात्र पुत्र हुनुहुन्छ, अर्थात् परमेश्‍वरको एउटा मात्रै पुत्र छ, त्यसपछि अर्को नाम लिएर आउने जोकोही परमेश्‍वरको एकमात्र पुत्र हुँदैनथ्यो, परमेश्‍वर स्वयम् हुने कुरा त परै जाओस् भन्‍ने धारणामा टाँसिइरहन्थ्यो। पापबलिको रूपमा सेवा गर्ने वा परमेश्‍वरको तर्फबाट शक्ति लिने र सारा मानवजातिलाई छुटकारा दिलाउने जोसुकै पनि परमेश्‍वरका एकमात्र पुत्र हुन सक्छ भन्‍ने धारणा मानिसमा छ। आउने व्यक्ति पुरुष हो भने, उहाँलाई परमेश्‍वरका एकमात्र पुत्र र परमेश्‍वरका प्रतिनिधिको रूपमा लिन सकिन्छ भनेर विश्‍वास गर्नेहरू पनि छन्। येशू यहोवाका पुत्र, उहाँका एकमात्र पुत्र हुनुहुन्छ भनेर भन्‍नेहरू समेत छन्। के त्यस्ता धारणाहरू हदभन्दा बढी भएनन् र? यदि कामको यो चरण अन्तिम युगमा नगरिएको भए, परमेश्‍वरको अघि सारा मानवजाति कालो छायामा छोपिन्थे। यदि यस्तो भएको भए, पुरुषले आफैलाई स्‍त्रीभन्दा उच्‍च ठान्‍नेथ्यो, स्‍त्रीहरूले कहिल्यै पनि आफ्‍नो शिर ठाडो पार्न सक्दैनथे, र एक जना स्‍त्रीलाई पनि मुक्त गर्न सकिँदैनथ्यो। मानिसहरूले सँधै परमेश्‍वर पुरुष हुनुहुन्छ, र यसअलावा उहाँले सँधै स्‍त्रीलाई तुच्छ ठान्‍नुहुन्छ र उसलाई मुक्ति दिनुहुन्‍न भनेर विश्‍वास गर्छन्। यदि यस्तो हुन्थ्यो भने, यहोवाले सृष्टि गर्नुभएका र भ्रष्ट तुल्याइएका सबै स्‍त्रीहरूले मुक्ति पाउने मौका कहिल्यै पाउँदैनथे भन्‍ने कुरा सत्य हुन्थेन र? त्यसपछि, यहोवाले स्‍त्रीलाई सृष्टि गर्नुभएको, अर्थात् हव्‍वालाई सृष्टि गर्नुभएको बेकार हुन्थेन र? अनि के स्‍त्री अनन्तमा नाश हुन्थिन र? यसकारणले गर्दा, स्‍त्रीलाई मात्र होइन सम्पूर्ण मानवजातिलाई मुक्त गर्नको लागि आखिरी दिनहरूको कार्यको चरण पूरा गरिन्छ। यदि परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनुभयो भने, यो महिलालाई मुक्ति दिनको लागि मात्रै हुनेछ भनेर यदि कसैले ठान्छ भने, त्यो व्यक्ति वास्तवमा नै मूर्ख हुनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

येशूले गर्नुभएको कामको चरणले “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो” भन्‍ने सार मात्र पूरा गर्‍यो: परमेश्‍वरको सत्यता परमेश्‍वरसँग थियो, र परमेश्‍वरका आत्मा देहसँग हुनुहुन्थ्यो र देहबाट अलग गर्न नसकिने हुनुहुन्थ्यो। अर्थात्, देहधारी परमेश्‍वरको देह परमेश्‍वरका आत्माको साथमा हुनुहुन्थ्यो, र यो कुरा देहधारी येशू नै परमेश्‍वरको पहिलो देहधारण हुनुहुन्थ्यो भन्‍ने कुराको अझ ठूलो प्रमाण हो। कामको यो चरणले “वचन देह बन्‍नुहुन्छ” भन्‍ने वाक्यांशको भित्री अर्थ सटीक रूपमा पूरा गर्छ, “वचन परमेश्‍वरसँग हुनुहुन्थ्यो, र वचन नै परमेश्‍वर हुनुहुन्थ्यो” भन्‍ने वाक्यांशमा अझ गहिरो अर्थ थप्छ र तँलाई “प्रारम्भमा वचन हुनुहुन्थ्यो” भन्‍ने वचनमा ठोस रूपमा विश्‍वास गर्ने तुल्याउँछ। भन्‍नुको अर्थ के हो भने, सृष्टिको समयमा परमेश्‍वरसँग वचनहरू थिए, उहाँका वचनहरू उहाँसँगै थिए र उहाँबाट अलग हुन सक्दैनथे, अनि अन्तिम युगमा, उहाँले आफ्‍ना वचनहरूको शक्ति र अख्तियारलाई अझ स्पष्ट पार्नुहुन्छ र मानिसलाई उहाँका सबै मार्गहरू हेर्न—उहाँका सबै वचनहरू सुन्‍न लगाउनुहुन्छ। अन्तिम युगको काम यस्तै हो। तैँले यी कुराहरू सम्पूर्ण रूपमा बुझ्नुपर्छ। यो देहलाई जान्‍नुको सवाल होइन, बरु तैँले देह र वचनलाई कसरी बुझ्छस् भन्‍ने कुरा हो। यो तैँले धारण गर्नुपर्ने र सबैले जान्‍नुपर्ने गवाही हो। यो दोस्रो देहधारणको काम हो—र यो परमेश्‍वर देह बन्‍नुहुने अन्तिमपटक हो—यसकारण यसले देहधारणको महत्त्वलाई पूर्ण रूपमा पूरा गर्छ, र देहमा परमेश्‍वरका सबै कामलाई गर्ने र जारी गर्ने गर्छ, र परमेश्‍वर देहमा हुनुहुने युगलाई समाप्त गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अभ्यास (४)

किन देहधारणको अर्थ येशूको काममा पूरा भएन भनेर म भन्छु? किनभने वचन पूर्ण रूपमा देह बनेन। येशूले जे गर्नुभयो त्यो देहमा परमेश्‍वरले गर्ने कामको एउटा भाग मात्रै थियो; उहाँले छुटकाराको काम मात्रै गर्नुभयो र मानिसलाई पूर्ण रूपमा प्राप्त गर्ने काम गर्नुभएन। यस कारणले गर्दा, आखिरी दिनहरूमा परमेश्‍वर फेरि देह बन्नुभएको छ। कामको यो चरणलाई पनि सामान्य देहमा नै गरिन्छ; यो पूर्ण रूपमा सामान्य मानवद्वारा गरिन्छ, जसको मानवता अलिकति पनि असाधारण छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वर पूर्ण रूपमा मानव बन्नुभएको छ; उहाँ त्यो व्यक्ति हुनुहुन्छ जसको पहिचान परमेश्‍वरको, पूर्ण मानवको, पूर्ण देहको छ, जसले काम गरिरहनुभएको छ। मानव आँखाले देहगत शरीरलाई देख्छ जुन बिल्कुलै असाधारण छैन, जो एक साधारण व्यक्ति हुनुहुन्छ जसले स्वर्गको भाषा बोल्न सक्नुहुन्छ, जसले कुनै पनि आश्चर्यकर्मका चिन्‍हहरू देखाउने, आश्चर्यकर्महरू गर्ने गर्नुहुन्न, ठूला सभा हलहरूमा धर्मको आन्तरिक सत्यतालाई खुलासा गर्ने त परै जाओस्। मानिसहरूका लागि, दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा अत्यन्तै फरक देखिन सक्छ, यति फरक कि उहाँहरू दुईमा कुनै पनि मिल्ने कुरा छैन भन्‍ने देखिन्छ र पहिलोको कुनै काम यस पटक देखिँदैन। दोस्रो देहधारी शरीरको काम पहिलोको भन्दा फरक भए तापनि, त्यसले उहाँहरूको स्रोत एउटै र उही होइन भनेर प्रमाणित गर्दैन। उहाँहरूको स्रोत एउटै हो कि होइन भन्‍ने कुरा देहहरूले गर्ने कामको स्वभावमा निर्भर हुन्छ, र उहाँहरूको बाहिरी भेषहरूमा होइन। उहाँको कामका तीन चरणहरूको अवधिमा, परमेश्‍वर दुई पटक देहधारी हुनुभएको छ र दुवै समयमा देहधारी परमेश्‍वरको कामले नयाँ युगलाई सुरु गर्छ, नयाँ कामलाई आरम्भ गर्छ; देहधारणहरू एकअर्काका पूरक हुन्। यी दुई देहहरू एउटै स्रोतबाट आउँछन् भनेर मानव आँखाले भन्नु असम्भव छ। यो मानव आँखा वा मानव मनको क्षमताभन्दा बाहिरको कुरा हो भनेर भनिरहनु आवश्यक छैन। तर उहाँहरूको सारमा, उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूको काम एउटै आत्माबाट आउँछ। दुई देहधारी शरीरहरू उही स्रोतबाट आउँछ कि आउँदैन भन्‍ने कुरालाई उहाँहरू जन्मनुभएको युग र स्थान वा अन्य कारकतत्वहरूद्वारा मूल्याङ्कन गर्न सकिँदैन तर उहाँहरूले व्यक्त गर्नुभएको ईश्‍वरीय कामद्वारा गर्न सकिन्छ। दोस्रो देहधारी शरीरले येशूले गर्नुभएको कुनै पनि काम गर्नुहुन्न, किनभने परमेश्‍वरको कामले चलनलाई पालन गर्दैन तर हरेक पटक यसले नयाँ मार्ग खोल्छ। दोस्रो देहधारी शरीरले मानिसहरूको मनमा पहिलो देहको छविलाई गहन बनाउने वा ठोस बनाउने होइन तर यसलाई पूरा गर्ने र सिद्ध बनाउने, परमेश्‍वरसम्बन्धी मानिसको ज्ञानलाई गहन बनाउने, मानिसहरूको हृदयमा रहेका सम्पूर्ण नियमहरूलाई तोड्ने, र तिनीहरूका हृदयमा भएको परमेश्‍वरका गलत प्रतिरूपहरूलाई हटाउने उद्देश्य राख्छ। परमेश्‍वरको आफ्नै कामको कुनै पनि व्यक्तिगत चरणले मानिसलाई उहाँसम्बन्धी पूर्ण ज्ञान दिन सक्दैन भनेर भन्न सकिन्छ; हरेकले एक भाग मात्रै दिन्छ, पूर्णता होइन। परमेश्‍वरले आफ्नो स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्नुभएको भए तापनि, मानिसको सीमित बुझ्ने क्षमताको कारण, परमेश्‍वरसम्बन्धी उसको ज्ञान अपूरो नै रहन्छ। मानव भाषाको प्रयोग गरेर परमेश्‍वरको स्वभावको पूर्णतालाई व्यक्त गर्नु असम्भव छ; यसको साथै, उहाँको कामको एकल चरणले कसरी परमेश्‍वरलाई पूर्ण रूपमा व्यक्त गर्न सक्छ? उहाँले आफ्नो सामान्य मानवताको आवरणभित्र रही देहमा काम गर्नुहुन्छ र उहाँको ईश्‍वरीयताका अभिव्यक्तिहरूद्वारा मात्रै उहाँलाई चिन्न सकिन्छ, उहाँको शारीरिक आवरणद्वारा होइन। मानिसलाई उहाँका विभिन्न कामको माध्यमद्वारा उहाँलाई चिन्न दिनको लागि परमेश्‍वर देहमा आउनुहुन्छ र उहाँको कामका कुनै पनि दुई चरणहरू उस्तै हुँदैनन्। यसरी मात्रै देहमा परमेश्‍वरले गर्नुहुने कामको पूर्ण ज्ञान मानिसले पाउन सक्छ, एउटै मात्र पक्षमा मात्रै सीमित हुँदैन। दुई देहधारी शरीरका काम फरक भए तापनि, देहहरूका सार र उहाँहरूका कामको स्रोत उस्तै छन्; के मात्रै हो भने, उहाँहरू कामका फरक-फरक चरणहरूलाई गर्नको निम्ति अस्तित्वमा हुनुहुन्छ र दुई फरक युगहरूमा खडा हुनुहुन्छ। जेसुकै भए तापनि, परमेश्‍वरका देहधारी शरीरहरूको उही सार र उही व्युत्पत्ति छ—यो कसैले पनि नकार्न नसक्ने सत्य हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए पनि, परमेश्‍वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्‍बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू निकटतम रूपमा एकअर्कासँग सम्‍बन्धित छन्, र यो साङ्‍लाको हरेक जोडन अर्कोसँग कसिलो गरी जोडिएको छ। कामको यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण भएन भन्‍ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्नेथ्यो, र अघिल्‍लो चरणको छुटकाराको काम फेरि गरिनुपर्थ्यो। यो अर्थहीन हुनेथ्यो। त्यसकारण, काम पूर्ण रूपमा पूरा भएको छैन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको आधारशिलामाथि निर्माण गरिएको छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कामका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ। यो चरणको कार्य अनुग्रहको युगको कार्यको जगमा पुरा गरिन्छ। यदि कार्यका यी दुई चरणहरू सम्‍बन्धित थिएनन् भने, यो चरणमा किन क्रूसीकरण दोहोरिएन? म किन मानिसका पापहरू बोक्दिनँ, बरु सीधै मानिसलाई न्याय र सजाय गर्न आउँछु? मानिसलाई न्याय र सजाय गर्ने मेरो काम क्रूसीकरणपछि नआएको भए, मेरो आगमन पवित्र आत्‍माको गर्भधारणद्वारा नभएकोले मानिसलाई न्याय र सजाय गर्नको लागि म योग्य हुनेथिइनँ। म येशूसँग एउटै भएको हुनाले म मानिसलाई सीधै सजाय र न्याय गर्न आउँछु। यो चरणको काम अघिल्‍लो चरणको कामको जगमै पूर्ण रूपमा निर्मित छ। यही कारणले गर्दा, यस प्रकारको कामले मानिसलाई चरणबद्ध रूपमा मुक्तितर्फ ल्याउँछ। येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्मा एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए पनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरकफरक रूपहरू लिन सक्छन्, तर यो कुरा युगको परिवर्तन र हाम्रो कामका फरकफरक आवश्यकताहरूको कारणले गर्दा भएको हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि बढाउने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले गर्दा, यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूका देहको स्वरूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा न्‍मनुभएको थिएन, उही समयअवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न त रगतको नाता छ न त कुनै पनि प्रकारको भौतिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समयअवधिका परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरा अकाट्य सत्य हो। तैपनि, उहाँहरू एउटै रक्तवंशको हुनुहुन्‍न र उहाँहरूले एउटै मानव भाषा बोल्‍नुहुन्‍न (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्‍नुहुन्थ्यो र अर्काचाहिँ महिला हुनुहुन्छ जसले चिनियाँ भाषा मात्रै बोल्‍नुहुन्छ)। यिनै कारणहरूले गर्दा, आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरकफरक देशमा र फरकफरक समयअवधिमा पनि जिउनु भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्‍ने तथ्यको बाबजुत पनि, उहाँहरूका देहहरूको बाहिरी भेषहरूमा कुनै ठोस समानता छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँसम्म उहाँहरूका देहहरूको बाहिरी रूप र उहाँहरूको जन्‍मका परिस्‍थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्‍न। उहाँहरूको सम्‍बन्धित काममा वा उहाँहरूबारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने अन्तिम विश्‍लेषणमा उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। रगतद्वारा उहाँहरू सम्‍बन्धित नभए पनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूका आत्माहरूको नियन्त्रणमा छ, जसले उहाँहरूलाई फरक समयअवधिमा फरक काम दिनुहुन्छ, र उहाँहरूको देह फरकफरक वंशमा पर्छन्। यहोवाका आत्मा येशूका आत्माका पिता हुनुहुन्‍न र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्‍न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्‍वर र येशूमा रगतको सम्‍बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्‍वरले कृपा र प्रेमिलो-दयालुपनको कामका साथै मानिसको धर्मी न्याय र सजाय गर्ने अनि मानिसमा श्राप हालिदिने काम गर्न सक्‍नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दियाबलसलाई दण्ड दिने काम गर्न सक्‍नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्‍न र? के यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता होइन र? उहाँ मानिसको लागि व्यवस्था घोषणा गर्न र उसको निम्ति आज्ञाहरू जारी गर्न सक्षम हुनुहुन्थ्यो, र प्रारम्भिक इस्राएलीहरूलाई पृथ्वीमा आफ्नो जीवन जिउन अगुवाइ गर्न र मन्दिर तथा वेदीहरू बनाउन अगुवाइ गर्न र यसरी सारा इस्राएलीहरूलाई आफ्‍नो प्रभुत्वको अधीनमा राख्‍न पनि सक्षम हुनुहुन्थ्यो। उहाँको अख्तियारको कारणले गर्दा, उहाँ इस्राएलका मानिसहरूसँग दुई हजार वर्षसम्‍म पृथ्वीमा बस्‍नुभयो। इस्राएलीहरूले उहाँको विरुद्धमा विद्रोह गर्ने आँट गरेनन्; सबैले यहोवाको डर माने र उहाँका आज्ञाहरूलाई पालन गरे। त्यस प्रकारको कार्य उहाँको अख्तियार र उहाँको सर्वशक्तिमान्‌ताद्वारा गरिएको थियो। त्यसपछि, अनुग्रहको युगको अवधिमा, येशू (इस्राएलीहरूलाई मात्रै नभई) सारा पतित मानवजातिलाई छुटकारा दिन आउनुभयो। उहाँले मानिसलाई कृपा र प्रेमिलो-दयालुपन देखाउनुभयो। अनुग्रहको युगमा मानिसले देखेका येशू प्रेमिलो-दयालुपनले भरिपूर्ण हुनुहुन्थ्यो र मानिसप्रति उहाँ सँधै प्रेमिलो हुनुहुन्थ्यो, किनभने उहाँ मानवजातिलाई पापबाट मुक्त गर्नको लागि आउनुभएको थियो। उहाँको क्रूसीकरणले मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्त गर्नुअघिसम्‍म, उहाँ मानिसहरूका पाप क्षमा गरिदिन सक्षम हुनुहुन्थ्यो। यो अवधिमा, कृपा र प्रेमिलो-दयालुपनसहित परमेश्‍वर मानिससामु देखा पर्नुभयो; अर्थात्, उहाँ मानिसको लागि पापबलि बन्‍नुभयो र मानिसको पापहरूको निम्ति क्रूसमा टाँगिनुभयो, ताकि तिनीहरूलाई सदाको लागि क्षमा दिन सकियोस्। उहाँ कृपालु, करुणामय, धैर्य र प्रेमिलो हुनुहुन्थ्यो। अनि, अनुग्रहको युगमा येशूलाई पछ्याउनेहरू सबैले सबै कुरामा धैर्य र प्रेमिलो बन्‍ने प्रयास गरे। तिनीहरू सहनशील थिए, र कुटपिट गर्दा, सराप्दा वा ढुङ्गाले हान्दा पनि तिनीहरू कहिल्यै आफ्‍नो प्रतिरक्षा गर्न लडेनन्। तर अन्तिम चरणको अवधिमा अब फेरि यस्तो हुन सक्दैन। उहाँहरू एउटै आत्माका हुनुहुन्थ्यो, तैपनि येशू र यहोवाको काम पूर्ण रूपमा एउटै थिएन। यहोवाको कामले युगलाई अन्त्य गरेन, बरु यसले पृथ्वीमा मानवजातिको जीवनलाई प्रारम्‍भ गर्दै नयाँ युगको अगुवाइ गर्‍यो, र आजको कामचाहिँ गम्‍भीर रूपमा भ्रष्ट बनेका अन्यजाति राष्ट्रका मानिसहरूलाई जित्‍नको लागि र चीनमा भएका परमेश्‍वरका चुनिएका मानिसहरूका साथै सम्पूर्ण ब्रह्माण्ड र सारा मानवजातिलाई अगुवाइ गर्नको लागि हो। यो काम चीनमा मात्रै गरिँदै छ भन्‍ने तँलाई लाग्‍न सक्छ, तर वास्तवमा यो अरू देशमा पनि फैलन थालिसकेको छ। किन चीनबाहिरका मानिसहरूले बारम्‍बार साँचो मार्गको खोजी गर्छन्? यसको कारण के हो भने आत्माले पहिले नै काम सुरु गरिसक्‍नुभएको छ, र आज बोलिएका वचनहरू ब्रह्माण्डभरिका मानिसहरूप्रति लक्षित छन्। यससँगै, कामको आधा भाग पहिले नै पूरा भइसकेको छ। संसारको सृष्टिदेखि वर्तमानसम्‍म, परमेश्‍वरका आत्माले यो महान् कार्यलाई अघि बढाउनुभएको छ, र यसअलावा उहाँले फरकफरक युगमा फरकफरक राष्ट्रहरूमाझ फरकफरक काम गर्नुभएको छ। हरेक युगका मानिसहरूले उहाँको फरक स्वभाव देख्छन्, जुन उहाँले गर्नुहुने फरक काममार्फत स्वभाविक रूपमा प्रकट हुन्छ। उहाँ कृपा र प्रेमिलो-दयालुपनले भरिएका परमेश्‍वर हुनुहुन्छ; उहाँ मानिसको निम्ति पापबलि र मानिसको गोठालो हुनुहुन्छ; तर उहाँ मानिसको न्याय, सजाय, र श्राप पनि हुनुहुन्छ। उहाँले मानिसलाई पृथ्वीमा जिउन दुई हजार वर्षसम्‍म अगुवाइ गर्न सक्‍नुभयो र उहाँले भ्रष्ट मानवजातिलाई पापबाट मुक्त गर्न पनि सक्‍नुभयो। आज, उहाँले उहाँलाई नचिन्‍ने मानवजातिलाई जित्‍न अनि तिनीहरूलाई उहाँको प्रभुत्वमुनि घुँडा टेकाउन पनि सक्‍नुहुन्छ, ताकि सबै जना उहाँप्रति पूर्ण रूपमा समर्पित हुन सकून्। अन्तिममा, उहाँले आफू कृपालु र प्रेमिलो परमेश्‍वर, बुद्धि र आश्‍चर्यका परमेश्‍वर र पवित्र परमेश्‍वर मात्र नभई, अझै बढी रूपमा, मानिसलाई न्याय गर्ने परमेश्‍वर पनि हुनुहुन्छ भनी देखाउन ब्रह्माण्डभरिका मानिसहरूभित्र रहेका अशुद्ध र अधर्मी कुराहरूलाई जलाइदिनुहुन्छ। मानजातिमाझ रहेका दुष्टहरूका लागि उहाँ ज्वलन, न्याय र दण्ड हुनुहुन्छ; सिद्ध हुनुपर्नेहरूका लागि, उहाँ संकष्ट, शोधन, र परीक्षाहरूका साथै सान्त्वना, भरणपोषण, वचनहरूको प्रावधान, र काटछाँट हुनुहुन्छ। अनि हटाइनेरूका लागि, उहाँ दण्ड र प्रतिशोध हुनुहुन्छ। मलाई भन्, के परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्‍न? उहाँ तैँले कल्‍पना गरेजस्तो क्रूसमा मात्रै टाँगिन सक्‍ने नभई, कुनै पनि र हर काम गर्न सक्‍ने हुनुहुन्छ। तैँले परमेश्‍वरलाई अत्यन्तै सानो ठान्छस्! के तँ उहाँले गर्न सक्‍ने भनेको उहाँको क्रूसीकरणद्वारा सारा मानवजातिलाई छुटकारा दिनु मात्र हो भन्‍ने विश्‍वास गर्छस्? अनि त्यसपछि, के तँ जीवनको रूखको फल खान र जीवनको नदीबाट पिउनको लागि उहाँलाई स्वर्गसम्‍मै पछ्याउनेछस्? … के यो त्यति सरल हुन सक्छ? मलाई भन्, तैँले के हासिल गरेको छस्? के तँमा येशूको जीवन छ? तँलाई वास्तवमै उहाँले छुटकारा दिलाउनुभएको थियो, तर क्रूसीकरण येशू स्वयम्‌को काम थियो। मानवजातिको रूपमा तैँले के कर्तव्य पूरा गरेको छस्? तँमा देखावटी भक्ति मात्रै छ, तर तैँले उहाँको मार्गलाई बुझ्दैनस्। के तैँले त्यसरी नै उहाँको प्रकटीकरण गर्छस्? यदि तैँले परमेश्‍वरको जीवन प्राप्त गरेको वा उहाँको धर्मी स्वभावको सम्‍पूर्णतालाई देखेको छैनस् भने, तैँले आफूसँग जीवन छ भनी दाबी गर्न सक्दैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारबाट भित्र प्रवेश गर्न योग्य छैनस्।

परमेश्‍वर आत्मा मात्रै हुनुहुन्‍न, उहाँ देह पनि बन्‍न सक्‍नुहुन्छ। यसको साथै, उहाँ महिमाको शरीर हुनुहुन्छ। तिमीहरूले उहाँलाई नदेखे पनि, येशूलाई इस्राएलीहरू अर्थात् त्यो समयका यहूदीहरूले देखेका थिए। उहाँ सुरुमा देहको शरीर हुनुहुन्थ्यो, तर उहाँलाई क्रूसमा टाँगिएपछि, उहाँ महिमाको शरीर बन्‍नुभयो। उहाँ सर्वव्यापी आत्मा हुनुहुन्छ र उहाँले जुनसुकै ठाउँमा काम गर्न सक्‍नुहुन्छ। उहाँ यहोवा वा येशू वा मसीह हुन सक्‍नुहुन्छ; अन्त्यमा, उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर पनि बन्‍न सक्‍नुहुन्छ। उहाँ धार्मिकता, न्याय र सजाय हुनुहुन्छ; उहाँ श्राप र क्रोध हुनुहुन्छ; तर उहाँ कृपा र प्रेमिलो-दयालुपन पनि हुनुहुन्छ। उहाँले गर्नुभएका सबै कामले उहाँको प्रतिनिधित्व गर्न सक्छ। तँ उहाँ कुन प्रकारको परमेश्‍वर हुनुहुन्छ भनेर भन्छस्? तैँले व्याख्या गर्न सक्दैनस्। यदि तैँले साँचो रूपमा व्याख्या गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्‍न सक्दैनस्। उहाँले एउटा चरणमा छुटकाराको काम गर्नुभयो भन्दैमा, परमेश्‍वर सदासर्वदा कृपा र प्रेमिलो-दयालुपनका परमेश्‍वर हुनुहुन्छ भन्‍ने निष्कर्ष ननिकाल्। के तँ उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित हुन सक्छस्? यदि उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्छ भने, आखिरी दिनहरूमा उहाँले किन युगको अन्त्य ल्याउनुहुनेछ? उहाँले किन त्यति धेरै विपत्तिहरू पठाउनुहुनेछ? मानिसहरूका धारणा र विचारहरूअनुसार, परमेश्‍वर अन्त्यसम्‍मै कृपालु र प्रेमिलो हुनुपर्छ, ताकि मानवजातिको हरेक सदस्य मुक्त हुन सकोस्। तर किन आखिरी दिनहरूमा, परमेश्‍वरलाई शत्रु ठान्‍ने यस दुष्ट मानवजातिलाई नष्ट गर्नको लागि उहाँले भूकम्प, महामारी, र अनिकालजस्ता विपत्तिहरू पठाउनुहुन्छ? किन उहाँले मानिसलाई यी विपत्तिहरू भोग्‍न दिनुहुन्छ? तिमीहरूमध्ये कसैले पनि उहाँ कुन प्रकारको परमेश्‍वर हुनुहुन्छ भनेर भन्‍ने आँट गर्दैनौ र तिमीहरू कसैले पनि व्याख्या गर्न सक्दैनौ। के तँ उहाँ आत्मा हुनुहुन्छ भन्‍नेमा निश्‍चित हुन सक्छस्? के तँ उहाँ येशूको देहबाहेक अरू कोही हुनुहुन्‍न भनेर भन्‍ने आँट गर्न सक्छस्? अनि के तँ उहाँ मानिसको खातिर सदासर्वदा नै क्रूसमा टाँगिनुहुने परमेश्‍वर हुनुहुन्छ भनेर भन्‍ने आँट गर्न सक्छस्?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

सम्बन्धित चलचित्र उद्धरणहरू

मानवजातिलाई उद्धार गर्नको लागि परमेश्‍वर किन दुई पटक देह बन्‍नुभयो?

परमेश्‍वर दुईपटक देहधारी बन्‍नुको महत्त्वलाई बुझ्ने

सम्बन्धित भजनहरू

दुई देहधारणले परमेश्‍वरको देहको कामलाई पूरा गर्नुहुन्छ

देहधारणको अर्थलाई आखिरी दिनहरूमा देहधारणले पूरा गर्छ

अघिल्लो: घ. देहधारी परमेश्‍वर र परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्तिहरूबीचका आधारभूत भिन्नताहरू

अर्को: च. ख्रीष्ट नै सत्यता, बाटो र जीवन हुनुहुन्छ भनेर कसरी जान्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्