घ. देहधारी परमेश्‍वर र परमेश्‍वरले प्रयोग गर्नुहुने व्यक्तिहरूबीचका आधारभूत भिन्नताहरू

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

“देहधारण” भनेको देहमा परमेश्‍वरको देखापराइ हो; परमेश्‍वरले सृष्टि गरिएका मानवजातिको बीचमा देहका स्वरूपमा काम गर्नुहुन्छ। त्यसकारण परमेश्‍वर देहधारी हुनुका लागि, उहाँ सुरुमा देह, सामान्य मानवतासहितको देह हुनुपर्छ; यो सबैभन्दा आधारभूत सर्त हो। वास्तवमा, परमेश्‍वरको देहधारणको तात्पर्य भनेको परमेश्‍वर देहमा जिउनुहुन्छ र काम गर्नुहुन्छ, परमेश्‍वर उहाँको सारमा नै देह बन्नुहुन्छ, मानिस बन्‍नुहुन्छ भन्‍ने हो। … उहाँ परमेश्‍वरको सारसहितको मानिस हुनुभएकोले, उहाँ सृष्टि गरिएका सारा मानिसहरूभन्दा माथि, परमेश्‍वरको काम गर्न सक्ने कुनै पनि मानिसभन्दा माथि हुनुहुन्छ। अनि त्यसैले, उहाँको जस्तो मानव भेषसहितका सबैमध्ये, मानवतासहितका सबैमध्ये, उहाँ मात्रै देहधारी परमेश्‍वर स्वयम् हुनुहुन्छ—अरू सबै सृष्टि गरिएका मानव हुन्। तिनीहरू सबैमा मानवता भए तापनि, सृष्टि गरिएका मानवमा मानवताबाहेक केही पनि हुँदैन, जबकि देहधारी परमेश्‍वर फरक हुनुहुन्छ: उहाँको देहमा उहाँमा मानवता मात्रै होइन तर अझै महत्त्वपूर्ण कुरा, उहाँमा ईश्‍वरीयता छ। उहाँको देहको बाहिरी रूपमा र उहाँको दैनिक जीवनमा उहाँको मानवतालाई देख्न सकिन्छ तर उहाँको ईश्‍वरीयतालाई देख्न गाह्रो छ। उहाँमा मानवता भएको बेला मात्रै उहाँको ईश्‍वरीयतालाई व्यक्त गरिने हुँदा र मानिसहरूले यसलाई कल्पना गरे जत्तिको यो अलौकिक नभएको हुँदा, मानिसहरूले यसलाई देख्न निकै कठिन हुन्छ। आज पनि, देहधारी परमेश्‍वरको साँचो सारलाई बुझ्न मानिसहरूलाई अत्यन्तै कठिन भएको छ। यसबारे यति लामो मैले बोलिसकेपछि पनि, तिमीहरूमध्ये धेरैको लागि यो अझै पनि रहस्य नै छ भन्‍ने म अपेक्षा गर्छु। वास्तवमा, यो विषय अत्यन्तै सरल छ: परमेश्‍वर देह बन्नुहुने भएकोले, उहाँको सार मानवता र ईश्‍वरीयताको संयोजन हो। यस संयोजनलाई परमेश्‍वर स्वयम्, पृथ्वीमा परमेश्‍वर स्वयम् हो भनी भनिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरद्वारा बास गरिएको देहको सार

परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, उहाँले ईश्‍वरत्व भित्रको उहाँको काम मात्र गर्नुहुन्छ, जुन कुरा स्वर्गीय आत्माले देहधारी परमेश्‍वरलाई जिम्मा दिनुभएको छ। जब उहाँ आउनुहुन्छ, उहाँले विभिन्न माध्यमहरूद्वारा र विभिन्न दृष्टिकोणहरूले आफ्ना वाणीहरूमा आवाज भर्न देशको एकछेउदेखि अर्को छेउसम्म बोल्नुहुन्छ। उहाँले मानवलाई जुटाउने र सिकाउने कार्यलाई मुख्य रूपमा आफ्ना लक्ष्यहरू र कार्य सिद्धान्तका रूपमा लिनुहुन्छ, र अव्यक्तिगत सम्बन्ध वा मानिसहरूका जीवनका विवरणहरूजस्ता कुराहरूमा उहाँले सरोकार राख्‍नुहुन्न। उहाँको मुख्य सेवकाइ भनेको आत्माको लागि बोल्‍नु हो। अर्थात्, परमेश्‍वरका आत्मा शरीरमा मूर्त रूपमा प्रकट हुनुहुँदा, उहाँले मानवको जीवनको लागि मात्र जुटाउनुहुन्छ र सत्यता प्रकट गर्नुहुन्छ। उहाँले आफूलाई मानवका काममा संलग्न गर्नुहुन्न, जसको अर्थ उहाँ मानवका कार्यमा सहभागी हुनुहुन्न। मानवले ईश्‍वरीय काम गर्न सक्दैन, परमेश्‍वरले मानवीय कार्यमा भाग लिनुहुन्न। परमेश्‍वर यस पृथ्वीमा आफ्नो काम गर्न आउनुभएका सबै वर्षहरूमा, उहाँले सधैँभरि मानिसहरूद्वारा यो गर्नुभएको छ। तथापि, यी मानिसहरूलाई देहधारी परमेश्‍वर भनी विचार गर्न सकिँदैन—तिनीहरू परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरू मात्र हुन्। यसैबीच, आजका परमेश्‍वरले आत्माको आवाज पठाएर र आत्माका पक्षमा काम गरेर, ईश्‍वरीय दृष्टिकोणबाट सीधै बोल्न सक्नुहुन्छ। यसरी नै, विभिन्न युगहरूमा परमेश्‍वरले प्रयोग गर्नुभएका सबै मानिसहरू, भौतिक शरीरभित्र परमेश्‍वरका आत्माले काम गर्नुभएका उदाहरणहरू हुन्—त्यसो हो भने किन तिनीहरूलाई परमेश्‍वर भन्न सकिँदैन? तर आजका परमेश्‍वर पनि शरीरमा सीधै काम गर्ने परमेश्‍वरका आत्मा हुनुहुन्छ, र येशू पनि शरीरमा काम गर्नुहुने परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो; उहाँहरू दुवैलाई परमेश्‍वर भनिन्छ। तब भिन्नताचाहिँ के हो त? विभिन्न युगभरि परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूमा सामान्य विचार र तर्कहरूका क्षमता थिए। तिनीहरू सबैले मानव व्यवहारका सिद्धान्तहरू बुझेका थिए। तिनीहरूसँग सामान्य मानव विचारहरू थिए, र सामान्य मानिसहरूमा हुनुपर्ने सबै कुराहरू तिनीहरूमा थिए। तिनीहरूमध्ये धेरैजसोमा असाधारण खुबीहरू र जन्मजात बौद्धिकता थियो। यी मानिसहरूमा काम गर्नुहुँदा, परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई उपयोग गर्नुभयो, जुनचाहिँ परमेश्‍वरले तिनीहरूलाई दिनुभएका वरदानहरू थिए। परमेश्‍वरका आत्माले तिनीहरूका खुबीहरूलाई क्रियाशील बनाउनुभई, तिनीहरूका सामर्थ्यहरूलाई परमेश्‍वरको सेवामा प्रयोग गर्नुहुन्छ। तैपनि परमेश्‍वरको सारतत्त्वचाहिँ कुनै धारणा वा विचार विनाको हुन्छ, मानवीय अभिप्रायहरूले यसलाई परिवर्तन गर्न सक्दैनन्, र सामान्य मानवसँग भएका कुराहरू समेत यसमा हुँदैनन्। यसो भन्नुको तात्पर्यचाहिँ, उहाँ मानव व्यवहारका सिद्धान्तहरूसँग पनि परिचित हुनुहुन्न भन्‍ने हो। आजका परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, यही नै हुन्छ। उहाँका काम र वचनहरू मानव अभिप्रायहरू वा मानव विचारहरूद्वारा मिश्रित हुँदैनन्, तर ती आत्माका अभिप्रायहरूका सीधा प्रदर्शन हुन्, अनि उहाँले सीधै परमेश्‍वरका पक्षमा काम गर्नुहुन्छ। यसको अर्थ आत्मा सीधै बोल्नुहुन्छ, अर्थात्, अलिकति मानव अभिप्रायहरू नमिसाइकन नै ईश्‍वरत्वले सीधै काम गर्छ। अर्को किसिमले भन्नुपर्दा, देहधारी परमेश्‍वर, मानव विचार वा धारणाहरू विना, र मानव व्यवहारका सिद्धान्तहरूका बुझाइ विना नै सीधै ईश्‍वरत्वले भरिनुहुन्छ। यदि ईश्‍वरत्व मात्र कार्यमा हुनुहुन्थ्यो भने (यदि परमेश्‍वर मात्र कार्यमा हुनुहुन्थ्यो भन्‍ने अर्थमा), पृथ्वीमा परमेश्‍वरको कार्यलाई कार्यान्वयन गर्ने कुनै उपाय नै हुने थिएन। यसैले परमेश्‍वर पृथ्वीमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वमा गर्नुहुने कामसँगको एकतामा मानवसँग काम गर्न उहाँले प्रयोग गर्नुहुने मानिसहरूको सानो संख्या उहाँसँग हुनैपर्छ। अर्को प्रकारले भन्नुपर्दा, उहाँको ईश्‍वरीय कार्यलाई कायम राख्‍न उहाँले मानव कार्यलाई प्रयोग गर्नुहुन्छ। अन्यथा, ईश्‍वरीय कार्यसँग सीधै संलग्न हुन मानवका लागि कुनै उपाय नै हुने थिएन। येशू र उहाँका चेलाहरूसँग यही नै भएको थियो। यस संसारको आफ्नो समयावधिमा, येशूले पुराना व्यवस्थाहरूलाई रद्द गरी नयाँ आज्ञाहरू स्थापित गर्नुभयो। उहाँले धेरै वचनहरू पनि बोल्नुभयो। यो सबै काम ईश्‍वरत्वमा गरिएको थियो। पत्रुस, पावल, यूहन्ना जस्ता अरू व्यक्तिहरूले येशूका वचनहरूका जगमा आफ्ना कामलाई स्थापित गरेका थिए। यसो भन्नुको तात्पर्यचाहिँ, परमेश्‍वरले अनुग्रहको युगको थालनी गर्नुभई, त्यस युगमा आफ्नो काम सुरु गर्नुभयो; अर्थात्, उहाँले “परमेश्‍वर सुरु र अन्त्य हुनुहुन्छ” भन्‍ने वचनहरूलाई पूरा गर्नुभई, पुरानोलाई रद्द गरी नयाँ युगको सुरुवात गर्नुभयो। अर्को प्रकारले भन्नुपर्दा, मानिसले ईश्‍वरीय कामको जगमाथि मानव काम गर्नैपर्छ। येशूले आफूले भन्न आवश्यक रहेको सबै कुरा भन्नुभएपछि र यस पृथ्वीमा आफ्नो काम पूरा गर्नुभएपछि, उहाँले मानवलाई छोड्नुभयो। यसपछि, काम गर्ने सबै मानिसहरूले उहाँका वचनहरूमा अभिव्यक्त भएका सिद्धान्तहरू अनुसार यसो गरे, र उहाँले बोल्नुभएका सत्यताअनुसार यसको अभ्यास गरे। यी सबै मानिसहरूले येशूका निम्ति काम गरे। यदि येशूले मात्र काम गर्नुभएको भए, उहाँले जति नै धेरै वचनहरू बोल्नुभएको भए तापनि, उहाँका वचनहरूसँग संलग्न हुने कुनै उपाय मानिसहरूसँग हुने थिएन, किनकि उहाँले ईश्‍वरीयतामा काम गरिरहनुभएको थियो र उहाँले ईश्‍वरीयताका वचनहरू मात्र बोल्न सक्नुहुन्थ्यो, र सामान्य मानिसहरूले उहाँका वचनहरूलाई बुझ्न सक्ने गरी उहाँले व्याख्या गर्न सक्नुहुन्नथ्यो। अनि उहाँसँग प्रेरितहरू र अगमवक्ताहरू हुनुपर्नेथियो जो उहाँका कामलाई पूरा गर्न उहाँका पछि आएका थिए। देहधारी परमेश्‍वरले कसरी आफ्नो काम गर्नुहुन्छ भन्‍ने कुराको यो एउटा सिद्धान्त हो—बोल्नका लागि देहधारी शरीरको प्रयोग गर्ने र ईश्‍वरत्वको काम पूरा गर्ने कार्य, र उहाँको कामलाई पूरा गर्न परमेश्‍वरका अभिप्रायअनुसारका केही मानिसहरूलाई, वा सायद धेरै मानिसहरूलाई प्रयोग गर्ने। अर्थात्, मानवलाई हेरचाह गर्ने र पानी जुटाउने कार्य गर्नका लागि परमेश्‍वरका अभिप्रायअनुसारका मानिसहरूलाई उहाँले प्रयोग गर्नुहुन्छ, यसरी परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्नेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

यदि उहाँ शरीरमा आउनुहुँदा, परमेश्‍वरले ईश्‍वरत्वको काम मात्र गर्नुभयो, र उहाँसँग काम गर्नका लागि उहाँका अभिप्राय अनुसारका मानिसहरू यदि उहाँसँग थिएनन् भने, परमेश्‍वरका अभिप्राय बुझ्न वा परमेश्‍वरसँग संलग्न हुन मानव असक्षम हुनेथियो। यस काम पूरा गर्न, मण्डलीहरूमाथि देखरेख गर्न र हेरचाह वा गोठालो गर्न परमेश्‍वरले आफ्ना अभिप्राय अनुसारका सामान्य मानिसहरूलाई प्रयोग गर्नैपर्छ, यसरी मानवका मानसिक प्रक्रियाहरू, उसको दिमाग, कल्पना गर्न सक्ने क्षमताको तहलाई प्राप्त गर्न सकिन्छ। अरू शब्दहरूमा भन्नुपर्दा, परमेश्‍वरले आफ्नो ईश्‍वरत्वभित्र गर्नुहुने कामलाई “रूपान्तरण” गर्न आफ्ना अभिप्राय अनुसारका मानिसहरूको सानो सङ्ख्यालाई प्रयोग गर्नुहुन्छ, ताकि ईश्‍वरीय भाषालाई मानवीय भाषामा परिवर्तन गर्नको लागि यसलाई खुला गर्न सकियोस्, यसरी मानिसहरूले यसलाई जान्न र बुझ्न सक्छन्। यदि परमेश्‍वरले त्यसो नगर्नुभएको भएको भए, कसैले पनि परमेश्‍वरको ईश्‍वरीय भाषा बुझ्न सक्नेथिएनन्, किनकि परमेश्‍वरका अभिप्राय अनुसारका मानिसहरू आखिर अल्पसंख्यक नै छन्, र मानवको बोध गर्ने क्षमता कमजोर छ। त्यसैले त देहधारी शरीरमा काम गर्नुहुँदा मात्र परमेश्‍वरले यस तरिकालाई छान्नुहुन्छ। यदि त्यहाँ ईश्‍वरीय काम मात्र थियो भने, मानिसले परमेश्‍वरलाई चिन्ने वा उहाँसँग संलग्न हुने कुनै उपाय हुने थिएन, किनकि मानवले परमेश्‍वरको भाषा बुझ्दैन। परमेश्‍वरका वचनहरूलाई स्पष्ट पार्ने उहाँका अभिप्राय अनुसारका मानिसहरूका प्रतिनिधित्वद्वारा मात्र मानवले यो भाषालाई बुझ्न सक्छ। तथापि, मानवताभित्र काम गर्ने त्यस्ता मानिसहरूमात्र त्यहाँ थिए भने, त्यसले मानवको सामान्य जीवनलाई मात्र कायम राख्न सक्थ्यो; यसले मानवको स्वभावलाई परिवर्तन गर्न सक्दैनथियो। परमेश्‍वरको कामको नयाँ सुरुवात विन्दु हुन सक्दैनथ्यो; त्यहाँ उही पुराना गीतहरू, उही पुराना सामान्य विवरणहरू मात्र हुन्थे। उहाँको देहधारणको समयावधिमा भन्नुपर्ने सबै कुराहरू भन्‍ने र गर्नुपर्ने सबै कुराहरू गर्ने, त्यसपछि उहाँका वचनहरू अनुसार मानिसहरूले काम गर्ने र अनुभव गर्ने, देहधारी परमेश्‍वरका प्रतिनिधिद्वारा मात्र तिनीहरूका जीवन स्वभाव परिवर्तन हुनसक्थे, र यसरी तिनीहरू समयहरूसँग बग्न सक्थे। ईश्‍वरत्वभित्र काम गर्नुहुनेले परमेश्‍वरको प्रतिनिधित्व गर्नुहुन्छ, मानवताभित्र काम गर्नेहरूचाहिँ परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरू हुन्। यसो भन्नुको तात्पर्य, देहधारी परमेश्‍वरचाहिँ परमेश्‍वरद्वारा प्रयोग गरिएका मानिसहरूबाट खास रूपमा भिन्न हुनुहुन्छ। देहधारी परमेश्‍वरले ईश्‍वरीय काम गर्न सक्नुहुन्छ भने परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूले गर्न सक्दैनन्। प्रत्येक युगको सुरुमा, परमेश्‍वरका आत्मा व्यक्तिगत रूपमा बोल्नुहुन्छ र मानवलाई नयाँ सुरुवातमा ल्याउनका लागि नयाँ युगको उद्घाटन गर्नुहुन्छ। उहाँले बोलिसक्नुभएपछि, उहाँको ईश्‍वरत्वभित्रको परमेश्‍वरको काम पूरा भएको छ भनी यसले सङ्केत गर्छ। त्यसकारण, आफ्ना जीवन अनुभवमा प्रवेश गर्नका लागि परमेश्‍वरद्वारा प्रयोग गरिएकाहरूका अगुवाइलाई मानिसहरूले पछ्याउँछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वर र परमेश्‍वरद्वारा प्रयोग भएका मानिसहरूका बीचका अत्यावश्यक भिन्नता

कतिपय मानिसहरूले यो सोध्‍नेछन्, “देहधारी परमेश्‍वर र विगतका समयहरूका अगमवक्ता र प्रेरितहरूले गरेका कामको बीचमा रहेको भिन्‍नता के हो? दाऊदलाई पनि प्रभु भनेर भनियो, र येशूलाई पनि त्यसै भनेर भनियो; उनीहरूले गरेका काम फरक-फरक भए तापनि, उनीहरूलाई उही नाउँले बोलाइयो। मलाई बताऊ, किन उनीहरूका पहिचानहरू एउटै थिएनन्? यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र त्यो पनि पवित्र आत्‍माबाट नै आएको थियो, अनि पवित्र आत्‍माले भन्‍ने अभिप्राय राख्‍नुभएका वचनहरूलाई तिनले पनि भन्‍न सके; किन यूहन्‍नाको पहिचान येशूको भन्दा फरक थियो?” येशूले बोल्‍नुभएका वचनहरूले परमेश्‍वरलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सके, र तिनले पूर्ण रूपमा परमेश्‍वरको कार्यलाई प्रतिनिधित्व गर्न सके। यूहन्‍नाले जे देखे त्यो दर्शन थियो, र तिनले परमेश्‍वरको कार्यलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्दैनथिए। किन यूहन्‍ना, पत्रुस, र पावलले येशूले जस्तै धेरै वचनहरू बोले, तैपनि किन तिनीहरूको पहिचान येशूको जस्तै थिएन? तिनीहरूले गरेको कार्य फरक थियो भन्‍ने नै यसको मुख्य कारण हो। येशूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्नुभयो र प्रत्यक्ष रूपमा काम गर्ने परमेश्‍वरका आत्मा नै हुनुहुन्थ्यो। उहाँले नयाँ युगको काम गर्नुभयो, जुन कार्यलाई पहिले कसैले पनि गरेको थिएन। उहाँले नयाँ मार्ग खोल्‍नुभयो, यहोवालाई प्रतिनिधित्व गर्नुभयो, र परमेश्‍वर स्वयमलाई प्रतिनिधित्व गर्नुभयो, तैपनि पत्रुस, पावल, र दाऊदको हकमा, तिनीहरूलाई जेसुकै भनेर भनिए तापनि, तिनीहरूले सृष्टि गरिएको प्राणीको पहिचानलाई मात्रै प्रतिनिधित्व गरे, र तिनीहरूलाई येशू वा यहोवाले पठाउनुभएको थियो। त्यसकारण तिनीहरूले जति नै धेरै काम गरेका भए तापनि, तिनीहरूले जति नै ठूला-ठूला आश्‍चर्यकर्महरू गरेका भए तापनि, तिनीहरू केवल सृष्टि गरिएका प्राणी मात्रै थिए, र तिनीहरूले परमेश्‍वरका आत्मालाई प्रतिनिधित्व गर्न सक्‍दैनथिए। तिनीहरूले परमेश्‍वरको नाउँमा काम गरे वा परमेश्‍वरले पठाउनुभएपछि काम गरे; यसको साथै, तिनीहरूले येशू वा यहोवाले सुरु गर्नुभएका युगहरूमा काम गरे, र तिनीहरूले अरू कुनै काम गरेनन्। आखिर तिनीहरू सृष्टि गरिएका प्राणी मात्रै थिए।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पद र पहिचानको सम्‍बन्धमा

अनुग्रहको युगमा, येशूले पनि धेरै वचनहरू बोल्नुभयो र धेरै कार्य गर्नुभयो। उहाँ कसरी यशैयाभन्दा फरक हुनुहुन्थ्यो? उहाँ कसरी दानिएलभन्दा फरक हुनुहुन्थ्यो? के उहाँ अगमवक्ता हुनुहुन्थ्यो? उहाँ ख्रीष्ट हुनुहुन्छ भनेर किन भनिन्छ? उहाँहरूका बीचमा रहेका भिन्नताहरू के-के हुन्? उहाँहरू सबै नै वचन बोल्ने मानिसहरू हुनुहुन्थ्यो, र उहाँहरूका वचनहरू मानिसको लागि लगभग उस्तै देखिन्थे। उहाँहरू सबैले वचनहरू बोल्नुहुन्थ्यो र कार्य गर्नुहुन्थ्यो। पुरानो करारका अगमवक्ताहरूले अगमवाणीहरू बोले, र त्यसरी नै, येशूले पनि बोल्न सक्नुभयो। किन यसो भयो? यहाँ रहेको भिन्नता कार्यको प्रकृतिमा आधारित छ। यस विषयलाई बुझ्नको लागि, तैँले देहको प्रकृतिलाई विचार गर्नु हुँदैन, न त तैँले उहाँहरूको वचनको गहिराइ वा सतहीपनलाई नै विचार गर्नु हुन्छ। सधैँ नै तैँले पहिला उहाँहरूको कार्य र मानिसमा उहाँहरूको कार्यले हासिल गर्ने प्रभावहरूलाई विचार गर्नुपर्छ। त्यो समयमा अगमवक्ताहरूद्वारा बोलिएका अगमवाणीहरूले मानिसको जीवन आपूर्ति गरेन, र यशैया र दानिएल जस्ता व्यक्तिहरूद्वारा प्राप्त गरिएका प्रेरणाहरू अगमवाणीहरू मात्रै थिए, र जीवनका मार्ग थिएनन्‌। यदि यहोवाको प्रत्यक्ष प्रकाश नभएको भए, कसैले पनि त्यो कार्य गर्न सक्ने थिएन, जुन मरणशीलहरूका लागि सम्भव छैन। येशूले पनि धेरै वचनहरू बोल्नुभयो, तर ती वचनहरू जीवनका मार्ग थिए जसबाट मानिसले अभ्यास गर्ने मार्ग पाउन सक्थे। भन्नुको अर्थ के हो भने, पहिलो, उहाँले मानिसको जीवन आपूर्ति गर्न सक्नुभयो, किनकि येशू जीवन हुनुहुन्छ; दोस्रो, उहाँले मानिसका विकृत पक्षहरूलाई सुल्ट्याउन सक्नुभयो; तेस्रो, यस युगलाई अघि बढाउनको लागि उहाँको कार्यले यहोवाको कार्यलाई निरन्तरता दिन सक्यो; चौथो, उहाँले मानिसभित्रका आवश्यकताहरूलाई भेउ पाउन सक्नुभयो र मानिसमा के कमी छ त्यसलाई बुझ्न सक्नुभयो; पाँचौं, उहाँले नयाँ युगलाई अस्तित्वमा ल्याउन र पुरानोलाई समाप्त गर्न सक्नुभयो। यही कारणले गर्दा उहाँलाई परमेश्‍वर र ख्रीष्ट भनिन्छ; यशैयाभन्दा मात्र होइन तर अरू सबै अगमवक्ताहरूभन्दा उहाँ फरक हुनुहुन्छ। यशैयालाई अगमवक्ताहरूका कार्यको लागि एउटा तुलनाको रूपमा लेऊ। पहिलो, उसले मानिसको जीवन आपूर्ति गर्न सकेन; दोस्रो, उसले नयाँ युग अस्तित्वमा ल्याउन सकेन। उसले यहोवाको नेतृत्वमा रहेर कार्य गर्दै थियो र नयाँ युगको प्रारम्भ गर्नु थिएन। तेस्रो, उसले बोलेका वचनहरू उनीभन्दा परका कुरा थिए। उसले परमेश्‍वरका आत्माबाट प्रत्यक्ष रूपमा प्रकाशहरू प्राप्त गर्दै थियो, र अरूहरूले तिनलाई सुन्दा समेत पनि बुझ्दैन थिए। उसका वचनहरू अगमवाणीभन्दा बढी केही थिएनन्, यहोवाको पक्षमा गरिएको कार्यको एउटा पक्षभन्दा बढी अरू केही थिएन भन्‍ने कुरालाई प्रमाणित गर्नको लागि यी थोरै कुराहरू नै पर्याप्त छन्। तैपनि, उसले यहोवालाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सकेन। उनी यहोवाको एक सेवक थिए, यहोवाको कार्यमा एक साधन। उसले व्यवस्थाको युगभित्र र यहोवाको कार्यको क्षेत्राधिकारभित्र मात्रै कार्य गर्दै थियो; उसले व्यवस्थाको युगभन्दा पर कार्य गरेन। यसको विपरीत, येशूको कार्य फरक थियो। उहाँले यहोवाको क्षेत्राधिकारलाई पार गर्नुभयो; उहाँले देहधारी परमेश्‍वरको रूपमा कार्य गर्नुभयो र सारा मानव जातिलाई उद्धार गर्नको लागि उहाँ क्रूसमा जानुभयो। भन्नुको अर्थ के हो भने, यहोवाद्वारा गरिएको कार्यभन्दा बाहिर उहाँले नयाँ कार्य गर्नुभयो। यो नयाँ युग अस्तित्वमा ल्याउने कार्य थियो। यस अतिरिक्त, उहाँले त्यस्तो कुराको बारेमा बताउन सक्षम हुनुभयो जसलाई मानिसले प्राप्त गर्न सक्दैनथ्यो। उहाँको कार्य परमेश्‍वरको व्यवस्थापनभित्रकै कार्य थियो र सम्पूर्ण मानव जाति यसमा समावेश थियो। उहाँले केही मानिसहरूमा मात्रै कार्य गर्नुभएन, न त सीमित सङ्ख्याका मानिसहरूलाई नेतृत्व गर्नु नै उहाँको कार्यको आशय थियो। परमेश्‍वर कसरी मानिसको रूपमा देहधारी हुनुभयो, त्यो समयमा पवित्र आत्माले कसरी प्रकाशहरू दिनुभयो, र कार्य गर्नको लागि पवित्र आत्मा कसरी मानिसमा ओर्लनुभयो भन्‍ने विषयमा कुरा गर्दा—यी कुराहरू मानिसहरूले देख्न वा छुन नसक्ने विषयहरू हुन्। यी सत्यताहरूले उहाँ नै देहधारी परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुराको प्रमाणको रूपमा कार्य गर्नु पूर्ण रूपमा असम्भव छ। जस्तो की, परमेश्‍वरका वचनहरू र कार्यको बीचमा मात्रै भिन्नता छुट्याउन सकिन्छ, जुन मानिसको लागि मूर्त छन्। यो मात्रै वास्तविक छ। यसको कारण के हो भने पवित्र आत्माका कुराहरू तेरो लागि अदृश्य छन् र स्वयम् परमेश्‍वरद्वारा मात्रै यसलाई स्पष्ट रूपमा जानिन्छ, र परमेश्‍वरको देहधारी देहले समेत सबै कुरा जान्दैन; उहाँले गर्नुभएको कार्यद्वारा मात्रै उहाँ परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्न भन्‍ने कुरालाई तैँले पुष्टि गर्न सक्छस्। उहाँको कार्यबाट, के देख्न सकिन्छ भने, पहिलो, उहाँ नयाँ युग सुरु गर्न सक्षम हुनुहुन्छ; दोस्रो, उहाँ मानिसको जीवन आपूर्ति गर्न र पछ्याउनु पर्ने बाटो मानिसलाई देखाउन सक्षम हुनुहुन्छ। उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरालाई स्थापित गर्नको लागि यो नै पर्याप्त छ। कम्तीमा पनि, उहाँले गर्नुहुने कार्यले परमेश्‍वरका आत्मालाई पूर्ण रूपले प्रतिनिधित्व गर्न सक्छ, र परमेश्‍वरका आत्मा उहाँभित्र हुनुहुन्छ भन्‍ने कुरा त्यस किसिमको कार्यबाट देख्न सकिन्छ। देहधारी परमेश्‍वरले गर्नुभएको कार्य मुख्य रूपमा नयाँ युगलाई अस्तित्वमा ल्याउन, नयाँ कार्यलाई अघि बढाउन, र नयाँ जगत स्थापना गर्नको लागि भएकोले, उहाँ स्वयम् परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरालाई स्थापित गर्न यी मात्रै पनि पर्याप्त छन्। तसर्थ, यसले उहाँलाई यशैया, दानिएल, र अरू महान् अगमवक्ताहरूबाट अलग गर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता

परमेश्‍वरको वचनलाई मानिसको वचन बनाउन सकिँदैन, मानिसको वचनलाई कसैले परमेश्‍वरको वचन बनाउने कुरा त परै जाओस्। परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस देहधारी परमेश्‍वर होइन, अनि देहधारी परमेश्‍वर परमेश्‍वरद्वारा प्रयोग गरिएको मानिस होइन। यसमा, एउटा आधारभूत भिन्नता हुन्छ। सायद, यी वचनहरू पढिसकेपछि तँ तिनलाई परमेश्‍वरका वचनहरू मान्दैनस्, तर मानिसले प्राप्त गरेको अन्तर्दृष्टि मात्र ठान्छस् होला। त्यस्तो अवस्थामा, तँ अज्ञानताले अन्धो भएको छस्। परमेश्‍वरको वचन कसरी मानिसले प्राप्त गरेको अन्तर्दृष्टि जस्तो हुन सक्छ? देहधारी परमेश्‍वरका वचनहरूले एउटा नयाँ युग सुरु गर्दछन्, सारा मानवजातिलाई डोऱ्याउँछन्, रहस्यहरू प्रकट गर्दछन्, र मानिसले त्यो नयाँ युगमा लिनुपर्ने दिशा देखाउँछन्। मानिसले प्राप्त गर्ने अन्तर्दृष्टि भनेको अभ्यास वा ज्ञानका लागि सरल निर्देशनहरू मात्र हुन्। यसले सम्पूर्ण मानवजातिलाई नयाँ युगमा डोऱ्याउन वा परमेश्‍वर स्वयमका रहस्यहरू प्रकट गर्न सक्दैन। आखिर, परमेश्‍वर परमेश्‍वर नै हुनुहुन्छ, र मानिस मानिस नै हो। परमेश्‍वरसित परमेश्‍वरको सार छ, र मानिससित मानिसको सार छ। यदि मानिसले परमेश्‍वरले बोल्नुभएका वचनहरूलाई पवित्र आत्माले दिनुभएको सरल अन्तर्दृष्टिको रूपमा हेर्छ भने र प्रेरितहरू र अगमवक्ताहरूले बोलेका वचनलाई परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएको वचनको रूपमा लिन्छ भने, त्यो मानिसको गल्ती हुनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रस्तावना

सम्बन्धित भजनहरू

देहधारी परमेश्‍वर मानवीय र ईश्‍वरीय दुवै हुनुहुन्छ

परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ, मानिस मानिस नै हुन्छ

अघिल्लो: ग. आखिरी दिनहरूको न्यायको काम गर्न परमेश्‍वरले किन मानिसलाई प्रयोग गर्नुहुन्न, बरु देहधारी बन्नुहुन्छ र आफै यो काम गर्नुहुन्छ

अर्को: ङ. परमेश्‍वरका दुई देहधारणहरूले देहधारणको महत्त्वलाई परिपूर्ण बनाउनुहुन्छ भनेर किन भनिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्