काम र प्रवेश (२)
तिमीहरूको काम र प्रवेश निकै खराब छन्; मानिस काम कसरी गर्ने भन्ने कुरालाई महत्त्व दिँदैन र जीवन प्रवेशको विषयमा त ऊ झन् बढी जथाभावी गर्छ। मानिस यी कुरालाई आफू प्रवेश गर्नुपर्ने पाठहरूका रूपमा लिँदैन; त्यसकारण, तिमीहरूले आफ्नो अनुभवमा देख्ने कुरा लगभग सबै रित्ता मृगतृष्णा मात्र हुन्। कामका सम्बन्धमा तिमीहरूबाट त्यति धेरै माग गरिँदैन, तर परमेश्वरद्वारा सिद्ध पारिनुपर्ने व्यक्तिका रूपमा तिमीहरूले परमेश्वरका निम्ति काम गर्नेबारे पाठहरू सिक्नुपर्छ, ताकि तिमीहरू चाँडै परमेश्वरका अभिप्रायअनुरूप हुन सक। युगौँयुगभरि, काम गर्नेहरूलाई कामदार वा प्रेरित भनिएको छ, जुन परमेश्वरद्वारा प्रयोग गरिएका थोरै मानिसलाई जनाउने शब्द हुन्। तर, आज म जुन कामको कुरा गरिरहेको छु, त्यसले कामदार वा प्रेरितहरूलाई मात्र जनाउँदैन, बरु यो काम त परमेश्वरद्वारा सिद्ध पारिनुपर्ने सबैप्रति लक्षित छ। सायद यसमा थोरै मात्र चासो राख्नेहरू धेरै होलान्, तर प्रवेशका खातिर, यस मामिलासम्बन्धी सत्यताबारे कुरा गर्नु सबैभन्दा राम्रो हुन्छ।
जहाँसम्म कामको कुरा छ, मानिस काम गर्नु भनेको परमेश्वरका निम्ति यताउति दौडनु, जताततै प्रचार गर्नु, र उहाँका खातिर समर्पित हुनु हो भन्ने यो विश्वास गर्छ। यस्तो विश्वास सही भए पनि, यो अत्यन्तै एकतर्फी छ; परमेश्वर मानिसलाई उहाँका निम्ति यताउति दौडधुप गर्न मात्र माग गर्नुहुन्न, बरु, यो त आत्माभित्रको सेवकाइ र प्रबन्धसित बढी सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीले यतिका वर्षको अनुभवपछि पनि परमेश्वरका निम्ति काम गर्नेबारे कहिल्यै सोचेका छैनन्, किनकि मानिसले कल्पेको काम परमेश्वरले माग गर्नुभएको कामसित मिल्दैन। त्यसकारण, मानिसलाई कामको विषयमा कुनै पनि रुचि छैन, र मानिसको प्रवेश निकै एकतर्फी हुनुको मुख्य कारण ठ्याक्कै यही हो। तिमीहरू सबैले परमेश्वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, ताकि तिमीहरूले अनुभवको प्रत्येक पक्ष राम्ररी भोग्न सक। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्वरका निम्ति यताउति दौडधुप गर्नुलाई जनाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जिउने कुराले परमेश्वरलाई आनन्द दिन्छ कि दिँदैन भन्ने कुरालाई जनाउँछ। कामले मानिसहरूले परमेश्वरको गवाही दिन र मानिसको सेवकाइ गर्नका लागि परमेश्वरप्रतिको आफ्नो बफादारी र परमेश्वरसम्बन्धी आफ्नो ज्ञान प्रयोग गर्नुलाई जनाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसले बुझ्नुपर्ने कुरा यही हो। तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरू परमेश्वरका निम्ति काम गर्ने क्रममा प्रवेश गर्न खोजिरहेका छौ भनेर भन्न सकिन्छ। परमेश्वरको काम अनुभव गर्नु भनेको तिमीहरूले उहाँको वचन कसरी खाने र पिउने भनी जान्नु मात्र होइन; त्योभन्दा महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्वरको गवाही दिन जान्नैपर्छ अनि परमेश्वरको सेवा गर्न र मानिसलाई सेवकाइ र भरणपोषण गर्न सक्नैपर्छ। यो नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। परमेश्वरका निम्ति दौडधुप गर्ने र सबैतिर प्रचार गर्ने कुरामा मात्र ध्यान दिने, तर आफ्नो व्यक्तिगत अनुभवलाई उपेक्षा गर्ने र आफ्नो आत्मिक जीवन प्रवेशलाई बेवास्ता गर्ने धेरै छन्। यसैले गर्दा परमेश्वरको सेवा गर्नेहरू परमेश्वरको विरोध गर्ने बन्न पुगेका छन्। यतिका वर्षदेखि परमेश्वरको सेवा र मानिसहरूका लागि सेवकाइ गर्दै आएका यी मानिसहरूले काम गर्नु र प्रचार गर्नुलाई नै प्रवेश ठानेका छन् र कसैले पनि आफ्नो व्यक्तिगत आत्मिक अनुभवलाई महत्त्वपूर्ण प्रवेश मानेको छैन। बरु, तिनीहरूले पवित्र आत्माको कामबाट लिइएको अन्तर्ज्ञानलाई अरूलाई शिक्षा दिने पुँजीका रूपमा लिएका छन्। प्रचार गर्दा तिनीहरूमा धेरै बोझ हुन्छ र तिनीहरू पवित्र आत्माको काम प्राप्त गर्छन्, र त्यसमार्फत तिनीहरू पवित्र आत्माको आवाज प्रकट गरिरहेका हुन्छन्। यस समयमा, काम गर्नेहरू आत्मसन्तुष्टिले भरिएका हुन्छन्, मानौँ पवित्र आत्माको काम तिनीहरूको आफ्नै व्यक्तिगत आत्मिक अनुभव बनेको छ; तिनीहरू आफूले बोलिरहेका सबै शब्द आफ्नै सत्त्व भएको महसुस गर्छन्, तर फेरि मानौँ तिनीहरूको आफ्नै अनुभव भने तिनीहरूले वर्णन गरेजस्तो स्पष्ट। त्यसभन्दा पनि बढी, बोल्नुभन्दा अघि तिनीहरूलाई आफूले के भन्नेछु भन्ने थाहै हुँदैन, तर जब पवित्र आत्मा तिनीहरूमा काम गर्नुहुन्छ, तब तिनीहरूका शब्दहरूको अनन्त धाराको बाढी बाहिर आउँछन्। तैँले एकपल्ट यसरी प्रचार गरेपछि तँलाई आफ्नो कद वास्तवमा आफूलाई लागेजति सानो छैन भन्ने लाग्छ, अनि जब पवित्र आत्माले यसरी तँमाथि काम गर्नुभएको जस्ता केही घटना घटेका हुन्छन्, तब तैँले आफूसँग पहिले नै कद रहेको निर्धारण गर्छस् र पवित्र आत्माको काम तेरो आफ्नै प्रवेश र तेरो आफ्नै सत्त्व हो भनी गलत विश्वास गर्छस्। जब तँ यसरी निरन्तर अनुभव गर्दै जान्छस्, तब तँ आफ्नै प्रवेशबारे फितलो हुन्छस्, थाहै नपाई आलस्यतामा चिप्लिन्छस् र आफ्नो व्यक्तिगत प्रवेशलाई महत्त्व दिन छोड्छस्। यसै कारण, तैँले अरूलाई सेवकाइ गरिरहेको बेला आफ्नो कद र पवित्र आत्माको कामका बीचमा स्पष्ट रूपमा भिन्नता छुट्ट्याउनैपर्छ। यसले तेरो प्रवेशलाई अझ राम्रोसँग सहजीकरण गर्न र तेरो अनुभवलाई थप फाइदा पुर्याउन सक्छ। जब मानिसले पवित्र आत्माको कामलाई आफ्नो व्यक्तिगत अनुभवका रूपमा लिन्छ, तब त्यो नैतिक पतनको स्रोत बन्छ। त्यसै कारण म भन्छु, तिमीहरूले जस्तोसुकै कर्तव्य निर्वाह गरे पनि, आफ्नो प्रवेशलाई एउटा महत्त्वपूर्ण पाठका रूपमा लिनुपर्छ।
व्यक्ति परमेश्वरका अभिप्रायहरू पूरा गर्न, परमेश्वरका अभिप्रायहरू अनुरूपका सबैलाई उहाँसमक्ष ल्याउन, मानिसलाई परमेश्वरकहाँ ल्याउन, र पवित्र आत्माको काम र परमेश्वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, र यसरी ऊ परमेश्वरको कामका फललाई सिद्ध तुल्याउँछ। त्यसकारण, तिमीहरू कामको सारबारे पूर्ण रूपमा स्पष्ट हुनु अपरिहार्य छ। परमेश्वरद्वारा प्रयोग गरिने हरेक व्यक्ति परमेश्वरका निम्ति काम गर्न योग्य हुन्छ, अर्थात् हरेकले पवित्र आत्माद्वारा प्रयोग गरिने अवसर पाउँछ। तर, तिमीहरूले एउटा कुरा बुझ्नैपर्छ: जब मानिसले परमेश्वरले आज्ञा गर्नुभएको काम गर्छ, तब उसलाई परमेश्वरद्वारा प्रयोग गरिने अवसर दिइएको हुन्छ, तर मानिस जे भन्छ र जान्दछ, त्यो नै पूर्ण रूपले मानिसको कद होइन। तिमीहरूले गर्न सक्ने भनेको आफ्नो काम गर्ने क्रममा आफ्नै कमजोरीहरू अझ राम्ररी चिन्नु, र पवित्र आत्माबाट अझ बढी अन्तर्दृष्टि प्राप्त गर्नु मात्र हो। यसरी, तिमीहरू आफ्नो काम गर्ने क्रममा अझ राम्रोसित प्रवेश प्राप्त गर्न सक्षम हुनेछौ। यदि मानिसले परमेश्वरबाट आउने मार्गदर्शनलाई उसको आफ्नै प्रवेश र आफूभित्र अन्तर्निहित कुरा मान्छ भने, मानिसको कद बढ्ने कुनै सम्भावना हुँदैन। पवित्र आत्माले मानिसहरू सामान्य अवस्थामा हुँदा नै तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्छ; त्यस्ता समयमा, मानिसहरू प्रायः आफूले प्राप्त गरेको अन्तर्दृष्टिलाई आफ्नै कद सम्झने भुल गर्छन्, किनकि पवित्र आत्माले अन्तर्दृष्टि दिने तरिका असाध्यै साधारण हुन्छ, र उहाँले मानिसभित्र अन्तर्निहित कुरा नै प्रयोग गर्नुहुन्छ। जब मानिसहरू काम गर्छन् र बोल्छन्, वा जब तिनीहरू प्रार्थना र आफ्नो आत्मिक भक्ति गरिरहेका हुन्छन्, त्यतिखेर अचानक तिनीहरूलाई एउटा सत्यता स्पष्ट हुन्छ। तर वास्तवमा, मानिसले केवल पवित्र आत्माद्वारा दिइएको अन्तर्दृष्टि देख्छ (स्वाभाविक रूपले, यो अन्तर्दृष्टि मानिसको सहकार्यसित जोडिएको हुन्छ) र त्यसले मानिसको वास्तविक कदको प्रतिनिधित्व गर्दैन। मानिस केही समयसम्म केही कठिनाइ र परीक्षा सामना गर्ने अनुभवबाट गुज्रेपछि त्यस्ता परिस्थितिहरूमा मानिसको साँचो कद प्रकट हुन्छ। तब मात्र मानिसले आफ्नो कद त्यत्ति ठूलो नभएको थाहा पाउनेछ, अनि उसका स्वार्थी चाहनाहरू, व्यक्तिगत विचारहरू, लालच, र यस्तै अन्य कुराहरू सबै देखा पर्नेछन्। यस्तै केही अनुभवको चक्रपछि मात्र, आफ्नो आत्मामा जागा रहेका धेरै मानिसले विगतमा आफूले अनुभव गरेको कुरा आफ्नै व्यक्तिगत वास्तविकता नभएको, बरु पवित्र आत्माले दिनुभएको क्षणिक ज्योति भएको, र मानिसले त्यो ज्योति प्राप्त गरेको मात्र हो भनेर थाहा पाउँछन्। पवित्र आत्माले मानिसलाई सत्यता बुझ्ने अन्तर्दृष्टि दिँदा, कामकुराहरू कसरी त्यस्तो भए वा ती कतातिर जाँदैछन् भन्ने कुरा नबताईकन, त्यो प्रायः स्पष्ट र बुझ्न सकिने तरिकाले गरिएको हुन्छ। भन्नुको मतलब, यस प्रकाशमा मानिसका कठिनाइहरू समाहित गर्नुको सट्टा, उहाँ सोझै सत्यता प्रकट गर्नुहुन्छ। जब मानिसले प्रवेश गर्ने क्रममा कठिनाइहरू सामना गर्छ, र त्यसपछि पवित्र आत्माको अन्तर्ज्ञानलाई समाहित गर्छ, तब यो मानिसको व्यावहारिक अनुभव बन्छ। उदाहरणका निम्ति, एउटी अविवाहित सिस्टरले सङ्गतिको समयमा यस्तो भनी: “हामी महिमा र धन खोज्दैनौँ वा पति र पत्नीबीचको प्रेमको खुसीको लालसा गर्दैनौँ; हामी त शुद्ध र एकचित्त हृदय परमेश्वरप्रति समर्पित गर्न मात्र चाहन्छौँ।” उसले अझै थपी: “मानिसहरूले विवाह गरेपछि तिनीहरूलाई धेरै कुराले घेर्छन्, र परमेश्वरलाई प्रेम गर्ने तिनीहरूको हृदय उप्रान्त साँचो रहँदैन। तिनीहरूको हृदयले सधैँ तिनीहरूका परिवार र जीवनसाथीबारे सोचिरहेको हुन्छ, त्यसैले तिनीहरूको भित्री संसार अझ धेरै जटिल बन्छ…।” ऊ बोलिरहँदा, उसले आफ्नो हृदयमा सोचिरहेको कुरा नै उसको मुखबाट निस्किरहेको जस्तो लाग्थ्यो; उसका शब्दहरू गहन र शक्तिशाली थिए, मानौँ उसले भनेका सबै कुरा उसको हृदयको गहिराइबाट आएका हुन्, र मानौँ उसले उत्साहसाथ आफूलाई पूर्ण रूपमा परमेश्वरप्रति अर्पण गर्न चाहेकी छे र ऊ जस्तै दाजुभाइ-दिदीबहिनीहरूले पनि उसले जस्तै सङ्कल्प गरून् भन्ने आशा गरेकी छे। के भन्न सकिन्छ भने, यस क्षणमा तेरो सङ्कल्प र प्रभावित हुने तेरो भावना पूर्ण रूपमा पवित्र आत्माको कामबाट आउँछन्। जब परमेश्वरको काम गर्ने तरिका बदलिन्छ, तब तँ पनि उमेरका हिसाबले केही वर्ष वृद्धि भएकी हुनेछेस्; तैँले आफ्नै उमेरका सहपाठी र मित्रहरूले पति पाइसकेको देख्छेस्, वा फलानो केटीको विवाह भएपछि उसको पतिले उसलाई सहरमा बस्नेगरी लगेको र त्यहाँ उसले जागिर पाएको कुरा सुन्छेस्। उसलाई देख्दा, उसलाई शिरदेखि पैतालासम्म आकर्षक र सुन्दर देखेर, उसले तँसँग कुरा गर्दा उसमा सहरीया शैली रहेको र एउटै पनि गाउँले पाखेपन नभएको देखेर तँलाई डाह लाग्न थाल्नेछ। यो देखेर तँभित्र भावनाहरू उद्वेलित हुन थाल्छन्। तैँले यत्तिञ्जेल आफूलाई परमेश्वरप्रति समर्पित गरेपछि, तेरो कुनै परिवार वा करियर छैन, र तैँले धेरै काटछाँट सहेकी छेस्; तँ केही समयअघि अधबैँस प्रवेश गरिस्, र तेरो जवानी धेरै अघि नै चुपचाप यसरी चिप्लिसकेको छ कि, मानौँ तँ सपनामा थिइस्। यसरी नै वर्तमानसम्म आइपुग्दा, अहिले तँलाई कहाँनेर स्थायी रूपमा बस्ने भन्ने नै थाहा छैन। यस क्षणमा, तँ विचारहरूको भुमरीमा फसेकी छेस्, मानौँ तैँले आफ्नो बुद्धि गुमाएकी छेस्। पूर्ण रूपमा एक्ली भएर अनि निदाउन नसकेर, तँ लामो रातभरि जागै रहन्छेस्, थाहै नपाई तँ आफ्नो सङ्कल्प र परमेश्वरप्रतिका गम्भीर प्रतिज्ञाहरूबारे सोच्न थाल्छेस्, र बिलौना गर्छेस्: “त्यति हुँदा पनि म किन यस्तो दुःखद स्थितिमा फस्न पुगेँ?” थाहै नपाई तँ चुपचाप आँसु झार्छेस् र हृदयविदारक पीडा महसुस गर्छेस्। परमेश्वरसामु प्रार्थना गर्न आउँदा, तँ ती दिनहरू सम्झिन्छेस् जब परमेश्वरको साथमा हुँदा तँ अत्यन्तै घनिष्ठ र अभिन्न रूपले नजिक थिइस्। तेरा आँखाअगाडि एकपछि अर्को दृश्य आउँछ, र त्यो दिन तैँले लिएको शपथ फेरि एकपटक तेरो कानमा गुञ्जिन्छ, “के परमेश्वर मात्र मेरो घनिष्ठ हुनुहुन्न र?” त्यस बेलासम्म तँ सुँकसुँकाउन थालिसकेकी हुन्छेस्: “हे परमेश्वर! प्रिय परमेश्वर! मैले मेरो हृदय पूर्ण रूपमा तपाईँलाई दिइसकेकी छु। म सधैँका लागि तपाईँकै हुन चाहन्छु, र म जीवित रहुन्जेल तपाईँलाई अटल प्रेम गर्नेछु...।” जब तँ यस्तो तीव्र पीडामा सङ्घर्ष गर्छेस्, तब मात्र तैँले परमेश्वर साँच्चै कति प्रेमिलो हुनुहुन्छ भनी बोध गर्छेस्, र तब मात्र तैँले स्पष्ट रूपमा थाहा पाउँछेस्: मैले धेरै पहिले नै परमेश्वरलाई आफ्नो सबथोक दिएँ। त्यस्तो प्रहार भोगेपछि, यस मामिलामा तँ धेरै परिपक्व बन्छेस्, र त्यस बेलाको पवित्र आत्माको काम तँसँग भएको कुरा होइन रहेछ भनी बुझ्छेस्। तँ यस बिन्दुपछिका आफ्ना अनुभवहरूमा प्रवेशको यस पक्षमा बाँधिनेछैनस्; यस्तो लाग्छ मानौँ तेरा पुराना घाउका दागहरूले तेरो प्रवेशमा ठूलो फाइदा पुऱ्याएका छन्। जब-जब तँ यस्तो अवस्था सामना गर्छेस्, तब-तब तैँले त्यो दिन बगाएका आँसु तुरुन्तै स्मरण गर्छेस्, मानौँ अलग्गिएपछि परमेश्वरसित तेरो फेरि पुनर्मिलन भएको छ, र तँ परमेश्वरसित तेरो सम्बन्ध फेरि टुट्ने हो कि र तँ र परमेश्वरबीचको भावनात्मक निकटता (सामान्य सम्बन्ध) फेरि बिग्रिने हो कि भनेर निरन्तर डराइरहेकी हुनेछेस्। यो नै तेरो काम र तेरो प्रवेश हो। त्यसकारण, पवित्र आत्माको काम प्राप्त गरिरहेकै बेला, तिमीहरूले आफ्नो प्रवेशलाई अझ बढी महत्त्व दिनुपर्छ, पवित्र आत्माको काम ठ्याक्कै के हो र तिमीहरूको प्रवेश के हो भनी हेर्नुपर्छ, साथसाथै आफ्नो प्रवेशमा पवित्र आत्माको कामलाई समाहित गर्नुपर्छ, आफ्नो प्रवेशलाई झन् बढी महत्त्व दिनुपर्छ, ताकि तिमीहरूले पवित्र आत्माको सिद्धता अझ बढी पाउन सक, र पवित्र आत्माको कामको सार तिमीहरूमा कार्यन्वित हुन सकोस्। पवित्र आत्माको कामको अनुभव गर्ने क्रममा, तिमीहरूले पवित्र आत्मालाई, साथै आफैलाई पनि चिन्नेछौ, अनि त्यसभन्दा बढी, धेरै पटकको तीव्र कष्टबीच, तिमीहरूले परमेश्वरसित सामान्य सम्बन्ध विकास गर्नेछौ, र तिमीहरू र परमेश्वरबीचको सम्बन्ध दिनदिनै झन्-झन् घनिष्ठ बन्दै जानेछ। अनगिन्ती काटछाँट र शोधनपछि, तिमीहरूमा परमेश्वरप्रति साँचो प्रेम विकसित हुनेछ। यही कारणले गर्दा, तिमीहरूले कष्ट, प्रहार र सङ्कष्टहरूसित डराउनु हुँदैन भन्ने बुझ्नैपर्छ; पवित्र आत्माको काम मात्र हुनु तर तिमीहरूको प्रवेश नहुनुचाहिँ डराउनुपर्ने कुरा हो। जब परमेश्वरको काम समाप्त हुने दिन आउँछ, तब तिमीहरूले व्यर्थमा काम गरेका हुनेछौ; तिमीहरूले परमेश्वरको काम अनुभव गरेका भए पनि, तिमीहरूले पवित्र आत्मालाई चिनेका वा आफ्नो प्रवेश पाएका हुनेछैनौ। पवित्र आत्माले मानिसमा कार्यान्वित गर्ने अन्तर्दृष्टि मानिसको जोस थामेर राख्नका निम्ति नभएर मानिसको प्रवेशका निम्ति मार्ग खोल्नलाई, साथै मानिसलाई पवित्र आत्मा चिनाउनलाई, र यस बिन्दुदेखि परमेश्वरप्रति डर र श्रद्धा भएको हृदय विकास गर्न मद्दत गर्नलाई हो।