क. परमेश्वरको अख्तियारको सम्बन्धमा
५२९. ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन गर्छन्, अनि एउटै अटुट नियमको पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूको कथाहरू लिएर जान्छन्, अनि जिउँदाहरूले नाश भएर जानेहरूकै उही दुःखद इतिहासलाई दोहोर्याउँछन्। त्यसकारण, मानिसले आफैलाई यो प्रश्न नगरी बस्न सक्दैन: हामी किन जिउँछौं? अनि हामी किन मर्नुपर्छ?कसले यो संसारलाई नियन्त्रण गर्छ? अनि कसले यो मानवजातिलाई सृष्टि गर्यो?के मानवजातिलाई साँच्चै नै प्रकृति माताले नै रचेकी हुन् त?के मानवजातिले साँच्चै आफ्नो गन्तव्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले अटुट रूपमा हजारौं वर्षदेखि गर्दै आएका प्रश्नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्नहरूप्रति मानिस जति तल्लीन बनेको छ, विज्ञानको लागि उसमा त्यति नै बढी तृष्णा जागेको छ। विज्ञानले देहको लागि छोटो सन्तुष्टि र अस्थाई आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको एकान्तपन, एकलोपन, र त्यति लुक्न नसकेको आतङ्क र विवशताबाट मुक्त गर्नको लागि त्यो पर्याप्त छैन। आफ्नो हृदयलाई बेहोस बनाउनको लागि मानवजातिले आफ्नो नाङ्गो आँखाले देख्न सक्ने र उसको मस्तिष्कले बुझ्न सक्ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ सो थाहै छैन, मानवजातिको सुरुवात र भविष्यको बारेमा जान्ने कुरा त परै जाओस्। मानवजाति यो नियमको बीचमा केवल विवशतापूर्वक जिउँछ। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्तदेखि अनन्तसम्म रहनुहुने एक मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँ एक मात्र जन हुनुहुन्छ जसलाई मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूलाई सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि जुटाउने र उसलाई पालनपोषण गर्ने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई हालको दिनसम्म डोर्याउने उहाँ नै हुनुहुन्छ। यसको साथै, मानवजातिले आफ्नो अस्तित्वको लागि भर पर्ने केवल उहाँ मात्रै हुनुहुन्छ। यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ र ब्रह्माण्डका सारा प्राणीहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। चार ऋतुमाथि उहाँकै नियन्त्रण छ र बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई पर्वतहरू, तालहरू, अनि खोलानाला र ति भित्रका सारा प्राणीहरू दिँदै, स्वर्गहरू र पृथ्वीका जग बसाल्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र हरेकले उहाँको बुद्धि र अख्तियारलाई प्रकट गर्छ। उहाँको सार्वभौमिकताबाट आफैलाई कसले मुक्त गर्न सक्छ? अनि उहाँका योजनाहरूबाट कसले आफैलाई हटाउन सक्छ? सबै थोक उहाँकै नजरमा अस्तित्वमा हुन्छन्, र यसको साथै, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्ने तथ्यलाई स्वीकार गर्ने बाहेक कुनै विकल्प दिँदैन। उहाँ बाहेक कसैले पनि ब्रह्माण्डलाई नियन्त्रण गर्न सक्दैन, यो मानवजातिलाई अटुट रूपमा जुटाउने कुरा त परै जाओस्। तैँले परमेश्वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्वरको अस्तित्वमा विश्वास गरे पनि वा नगरे पनि, तेरो गन्तव्य परमेश्वरले नै निर्धारण गर्नुहुन्छ भन्नेमा कुनै शङ्का छैन, र सबै थोकमाथि सँधै परमेश्वरकै सार्वभौमिकता हुन्छ भन्नेमा कुनै शङ्का छैन। उहाँको अस्तित्व र अख्तियार, तिनीहरुलाई मानवजातिले पहिचान गर्छ कि गर्दैन र बुझ्छ कि बुझ्दैन भन्ने आधारमा निर्धारित हुँदैन। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको गन्तव्यलाई निर्धारित गर्न सक्नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्नै आँखाले यो सबै देख्नेछ, र परमेश्वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्वरकै सामु मानवजाति जिउँछ र मर्छ। मानिस परमेश्वरको व्यवस्थापनको लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्ना आँखाहरू चिम्लन्छ, ती यही व्यवस्थापनकै लागि बन्द हुन्छन्। मानिस घरीघरी, अघि-पछि आउँछ, र जान्छ। कुनै अपवाद छैन कि यो सबै परमेश्वरको सार्वभौमिकता र उहाँको योजनाको भाग हो। परमेश्वरको व्यवस्थापन कहिल्यै अन्त्य भएको छैन; यो सदाकालसम्म अघि बढिरहन्छ। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत, उहाँको सार्वभौमिकतामाथि भरोसा गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। उहाँले हजारौं वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको उहाँको योजना, र काम यही नै हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ
५३०. उहाँले यावत् थोकको सृष्टि गर्न सुरु गर्नुभएदेखि नै, परमेश्वरको शक्ति व्यक्त हुन र प्रकट हुन थाल्यो, किनभने परमेश्वरले सबै थोक सृष्टि गर्न वचनको प्रयोग गर्नुभयो। उहाँले तिनीहरूलाई जसरी सृष्टि गर्नुभए तापनि, उहाँले तिनीहरूलाई जुन कारणले सृष्टि गर्नुभए तापनि, सबै थोक परमेश्वरकै वचनको कारण हुन आए र दृढ भई खडा भए र अस्तित्वमा रहे; सृष्टिकर्ताको अद्वितीय अख्तियार यही नै हो। संसारमा मानवजाति देखा पर्नुभन्दा पहिलेको समयमा, सृष्टिकर्ताले मानवजातिको लागि सबै थोक सृष्टि गर्न आफ्नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो, र मानवजातिको लागि जिउने उपयुक्त वातावरण तयारी गर्नको लागि आफ्नो अद्वितीय विधिहरूको प्रयोग गर्नुभयो। उहाँले गर्नुभएको सबै कुरा मानवजातिको तयारीको लागि थियो, जसले चाँडै नै उहाँको सास प्राप्त गर्न लागेको थियो। भन्नुको अर्थ, मानवजातिको सृष्टि गरिनुभन्दा पहिलेको समयमा, मानवजातिभन्दा फरक रहेका सबै प्राणीहरूमा, स्वर्गहरू, ज्योतिहरू, समुद्रहरू, र भूमि जस्ता ठूला कुराहरूमा, र पशु-प्राणी र चराचुरुङ्गीजस्ता साना कुराहरूमा, साथै नाङ्गो आँखाले देख्न नसकिने विभिन्न प्रकारका ब्याक्टेरिया लगायत कीरा-फट्याङ्ग्रा र सूक्ष्मजीवहरूमा परमेश्वरको अख्तियार प्रदर्शन गरिएको थियो। हरेकलाई सृष्टिकर्ताको वचनले जीवन दिएको थियो, सृष्टिकर्ताकै वचनको कारण हरेक सङ्ख्यामा वृद्धि भए, र उहाँकै वचनको कारण हरेक नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा जिए। तिनीहरूले सृष्टिकर्ताको सास प्राप्त नगरेका भए तापनि, तिनीहरूका विभिन्न रूप र संरचनाद्वारा नै तिनीहरूले सृष्टिकर्ताद्वारा तिनीहरूलाई दिइएको जीवन-शक्ति प्रदर्शन गरे; सृष्टिकर्ताले मानवजातिलाई दिनुभएको बोल्न सक्ने क्षमता तिनीहरूले प्राप्त नगरे तापनि, सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको तिनीहरूको जीवन व्यक्त गर्ने तरिका तिनीहरू प्रत्येकले प्राप्त गरे, जुन मानिसको भाषाभन्दा फरक थियो। सृष्टिकर्ताको अख्तियारले अचल देखिने भौतिक वस्तुलाई त्यो कहिल्यै हराएर नजाओस् भनेर जीवनशक्ति मात्र दिँदैन, तर उहाँले हरेक जीवित प्राणीलाई सन्तान पैदा गरेर वृद्धि हुने प्राकृतिक गुण पनि दिनुहुन्छ, ताकि तिनीहरू कहिल्यै हराएर नजाऊन्, ताकि सृष्टिकर्ताले तिनीहरूलाई दिनुभएको बाँच्ने सम्बन्धी नियम र सिद्धान्तहरूलाई तिनीहरूले एकपछि अर्को पुस्ता गर्दै हस्तान्तरण गर्दै जाऊन्। सृष्टिकर्ताले आफ्नो अख्तियार जुन किसिमले प्रयोग गर्नुहुन्छ त्यसले वृहत् वा सूक्ष्म दृष्टिकोणलाई कठोरताको साथ पालना गर्दैन, र यो कुनै पनि रूपमा सीमित छैन; उहाँले ब्रह्माण्डका कार्यवाहीहरूलाई आदेश दिन र सबै थोकको जीवन र मृत्युमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ, यसको साथै, सबै थोकले उहाँकै सेवा गरून् भनेर तिनलाई मिलाउनुहुन्छ; उहाँले पहाड-पर्वत, नदीनाला, र तालतलैयाले कसरी काम गर्छन् तिनलाई व्यवस्थापन गर्न, र तिनीहरूभित्र भएका कुराहरूलाई शासन गर्न सक्नुहुन्छ, त्यस बाहेक, उहाँ सबै थोकलाई जे चाहिन्छ त्यो प्रदान गर्न सक्नुहुन्छ। मानवजाति बाहेक सबै थोकको बीचमा सृष्टिकर्ताको अद्वितीय अख्तियारको प्रकटीकरण यही नै हो। त्यस्तो प्रकटीकरण जीवनकालको लागि मात्रै होइन; यो कहिल्यै सकिँदैन, न त यसले विश्राम नै गर्छ, र यसलाई कुनै पनि व्यक्ति वा थोकले परिवर्तन गर्न वा क्षति पुर्याउन सक्दैन, न त कुनै पनि व्यक्ति वा थोकले यसलाई थप्न वा घटाउन नै सक्छ—किनभने कसैले पनि सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्दैन, त्यसकारण सृष्टिकर्ताको अख्तियारलाई सृष्टि गरिएको कुनै पनि प्राणीले प्रतिस्थापन गर्न सक्दैन; सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई प्राप्त गर्न सक्दैन। उदाहरणको लागि परमेश्वरका दूतहरू र स्वर्गदूतहरूलाई लिऊँ। तिनीहरूसँग परमेश्वरको शक्ति छैन, सृष्टिकर्ताको अख्तियार हुने कुरा त परै जाओस्, र तिनीहरूमा सृष्टिकर्ताको सार नभएको कारण तिनीहरूमा परमेश्वरको शक्ति र अख्तियार हुँदैन। परमेश्वरका दूतहरू र स्वर्गदूतहरूजस्ता सृष्टि नगरिएका प्राणीहरूले परमेश्वरको सट्टामा केही कुराहरू गर्न सक्ने भए तापनि तिनीहरूले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्दैनन्। तिनीहरूसँग मानिसमा नभएका केही शक्ति भए तापनि, तिनीहरूसँग परमेश्वरको अख्तियार छैन, अर्थात् सबै थोक सृष्टि गर्ने, सबै थोकमाथि हुकुम गर्ने, र सबै थोकमाथि सार्वभौमिकता राख्ने परमेश्वरको अख्तियार तिनीहरूसँग छैन। त्यसकारण, परमेश्वरको अद्वितीयतालाई सृष्टि नगरिएको प्राणीले प्रतिस्थापन गर्न सक्दैन, त्यसरी नै, सृष्टि नगरिएको कुनै पनि प्राणीले परमेश्वरको अख्तियार र शक्तिलाई प्रतिस्थापन गर्न सक्दैन। के बाइबलमा, परमेश्वरको कुनै दूतले सबै थोक सृष्टि गर्यो भनेर तैँले पढेको छस्? परमेश्वरले सबै थोक सृष्टि गर्नको लागि किन उहाँको कुनै पनि दूत वा स्वर्गदूतहरूलाई खटाउनुभएन? किनभने तिनीहरूसँग परमेश्वरको अख्तियार थिएन, त्यसकारण परमेश्वरको अख्तियार प्रयोग गर्ने क्षमता तिनीहरूसँग थिएन। सबै प्राणीहरू जस्तै, तिनीहरू सबै नै सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा, र सृष्टिकर्ताको अख्तियारको अधीनमा छन्, त्यसरी नै, सृष्टिकर्ता तिनीहरूका परमेश्वर र तिनीहरूका सार्वभौम हुनुहुन्छ। तिनीहरूमध्ये हरेकको बीचमा—चाहे ती कुलीन वा नीच होऊन्, ठूलो शक्ति भएको वा सानो शक्ति भएका होऊन्—सृष्टिकर्ताको अख्तियारलाई नाघ्न सक्ने एउटै छैन, त्यसकारण, तिनीहरूका बीचमा, सृष्टिकर्ताको पहिचानलाई प्रतिस्थापन गर्न सक्ने एउटै छैन। तिनीहरूलाई कहिल्यै पनि परमेश्वर भनिनेछैन, र तिनीहरू कहिल्यै पनि सृष्टिकर्ता बन्न सक्नेछैनन्। यी अपरिवर्तनीय सत्यता र तथ्यहरू हुन्!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५३१. आफूले सृष्टि गर्नुभएको सबै थोक उहाँकै वचनको कारण अस्तित्वमा आएर, खडा भएको, अनि क्रमिक रूपमा परिवर्तन हुन सुरु गरेको परमेश्वरले हेर्नुभयो। यो समयमा, आफ्ना वचनहरूद्वारा उहाँले बनाउनुभएका कुराहरूप्रति र उहाँले हासिल गर्नुभएका विभिन्न कार्यहरूप्रति के परमेश्वर सन्तुष्ट हुनुहुन्थ्यो? उत्तर “अनि त्यो असल छ भन्ने परमेश्वरले देख्नुभयो।” भन्ने हो। तिमीहरू यहाँ के देख्छौ? “अनि त्यो असल छ भन्ने परमेश्वरले देख्नुभयो” ले केलाई प्रतिनिधित्व गर्छ? यो केको प्रतीक हो? यसको अर्थ आफूले योजना बनाउनुभएका र निर्धारित गर्नुभएका कुराहरूलाई हासिल गर्ने, उहाँले हासिल गर्नको लागि तय गर्नुभएका लक्ष्यहरूलाई हासिल गर्ने शक्ति र बुद्धि परमेश्वरसँग छ भन्ने हुन्छ। जब परमेश्वरले प्रत्येक काम पूरा गर्नुभयो, के उहाँलाई पछुतो लाग्यो? यसको उत्तर अझै पनि “अनि त्यो असल छ भन्ने परमेश्वरले देख्नुभयो।” भन्ने नै हो। अर्को शब्दमा भन्दा, उहाँलाई कुनै पछुतो नलागेको मात्रै होइन, तर यसको सट्टा उहाँ सन्तुष्टचाहिँ हुनुहुन्थ्यो। उहाँलाई कुनै पछुतो भएन भन्नुको अर्थ के हो? यसको अर्थ परमेश्वरको योजना सिद्ध छ, उहाँको शक्ति र बुद्धि सिद्ध छ, र उहाँको अख्तियारद्वारा मात्रै त्यस्तो सिद्धता हासिल गर्न सकिन्छ भन्ने हो। जब मानिसले कुनै काम गर्छ, के उसले पनि परमेश्वरले जस्तै यसलाई हेरेर असल देख्न सक्छ? के मानिसले गर्ने सबै कुरामा उसले सिद्धता हासिल गर्न सक्छ? के मानिसले कुनै कुरा सदा अनन्तसम्मको लागि पूरा गर्न सक्छ? मानिसले “कुनै पनि कुरा सिद्ध हुँदैन, अलिक उत्तम मात्रै हुन्छ” भनेजस्तै, मानिसले गर्ने कुनै कुराले पनि सिद्धता हासिल गर्न सक्दैन। जब आफूले गर्नुभएको र हासिल गर्नुभएको सबै कुरा परमेश्वरले असल देख्नुभयो, परमेश्वरले बनाउनुभएको सबै कुरा उहाँकै वचनले तय गरेको थियो, भन्नुको अर्थ, जब “अनि त्यो असल छ भन्ने परमेश्वरले देख्नुभयो,” उहाँले बनाउनुभएका सबैले स्थायी स्वरूप लिएको थियो, प्रकार अनुसार वर्गीकरण भएको थियो, र सदा अनन्तको लागि निश्चित स्थान, उद्देश्य, र कार्य दिइएको थियो। यसको साथै, सबै थोकको बीचमा तिनीहरूको भूमिका, र सबै थोकमाथिको परमेश्वरको व्यवस्थापनको अवधिमा तिनीहरूले गर्नै पर्ने यात्रा परमेश्वरले पहिले नै नियुक्त गरिसक्नुभएको थियो, र ती अपरिवर्तनीय थिए। यो सृष्टिकर्ताले सबै थोकका लागि दिनुभएको स्वर्गीय नियम थियो।
“अनि त्यो असल छ भन्ने परमेश्वरले देख्नुभयो,” यी सरल, कम रूपमा बुझिएका, धेरै पटक बेवास्ता गरिएका वचनहरू, परमेश्वरले सारा प्राणीहरूलाई दिनुभएका स्वर्गीय नियम र स्वर्गीय अध्यादेशका वचनहरू हुन्। ती सृष्टिकर्ताको अख्तियारको अर्को मूर्तरूप हो, जुन अझै बढी व्यवहारिक, र अझै बढी गहन छ। आफ्ना वचनहरूद्वारा, सृष्टिकर्ताले आफूले हासिल गर्न तय गर्नुभएको सबै कुरालाई प्राप्त मात्रै गर्न सक्नुभएन, र उहाँले प्राप्त गर्न तय गर्नुभएको सबै हासिल मात्रै गर्न सक्नुभएन, तर उहाँले सृष्टि गर्नुभएको सबैलाई आफ्नै हातले नियन्त्रण गर्न, र आफ्नो अख्तियारको अधीनमा उहाँले बनाउनुभएका सबै थोकलाई शासन गर्न पनि सक्नुभयो, यसको साथै सबै व्यवस्थित र क्रमबद्ध थियो। सबै कुरा उहाँकै वचनद्वारा सङ्ख्यामा वृद्धि भए, अस्तित्वमा रहे, र नाश भए, यसको साथै, उहाँको अख्तियारद्वारा नै ती उहाँले अघि सार्नुभएको नियमको बीचमा अस्तित्वमा रहे, र कुनैलाई पनि यसबाट छूट थिएन! “अनि त्यो असल छ भन्ने परमेश्वरले देख्नुभयो,” भनी भनिएकै क्षण यो नियमको सुरुवात भयो र सृष्टिकर्ताले रद्द गर्नुहुने दिनसम्मै परमेश्वरको व्यवस्थापन योजनाको खातिर यो अस्तित्वमा रहिरहन्छ, निरन्तर रहन्छ, र सुचारु भइरहन्छ! सबै थोक सृष्टि गर्ने र सबै थोकलाई आज्ञा गरी अस्तित्वमा ल्याउने उहाँको क्षमतामा मात्रै होइन, तर सबै थोकलाई शासन गर्ने र तिनमाथि सार्वभौमिकता राख्ने, र सबै थोकमाथि जीवन र जीवन शक्ति प्रदान गर्ने उहाँको क्षमतामा, साथै, उहाँले बनाउनुभएको संसारमा उहाँले आफ्नो योजनामा सृष्टि गर्नुभएको यावत् थोक सिद्ध आकार, र सिद्ध जीवन संरचना, अनि सिद्ध भूमिका सहित सदा अनन्तको लागि देखा पर्ने र अस्तित्वमा रहने तुल्याउने उहाँको क्षमतामा पनि सृष्टिकर्ताको अद्वितीय अख्तियार प्रकट भयो। त्यसरी नै सृष्टिकर्ताका विचारहरू कुनै पनि सीमाहरूका अधीनमा थिएनन्, समय, स्थान, वा भूगोलद्वारा सीमित थिएनन् भन्ने तरिकाले पनि यसको प्रकटीकरण भयो। उहाँको अख्तियारजस्तै, सृष्टिकर्ताको अद्वितीय पहिचान पनि अनन्तदेखि अनन्तसम्म अपरिवर्तित रहन्छ। उहाँको अख्तियार सधैँ नै उहाँको अद्वितीय पहिचानको प्रतिनिधित्व र प्रतिक हुनेछ, र उहाँको अख्तियार उहाँको पहिचानसँग एकसाथ सदासर्वदा रहिरहन्छ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५३२. परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीव-जनावर, वनस्पति, मानवजाति, पहाड-पर्वत र नदि, अनि तालहरू लगायत परमेश्वरका सबै सृष्टि-सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्वरले आदेश दिनुभएको थियो, र यो परमेश्वरको अख्तियार हो। परमेश्वरले नै सबै थोकमाथि हुकुम चलाउनुहुन्छ, र हरेकलाई उसको प्रकार अनुसार वर्गीकरण गर्दै, र परमेश्वरको इच्छा अनुसार तिनीहरूको आफ्नै स्थान प्रदान गरेर सबै थोकलाई व्यवस्थित गर्नुहुन्छ र क्रम मिलाएर राख्नुहुन्छ। यो जति नै ठूलो भए तापनि, कुनै पनि थोकले परमेश्वरलाई उछिन्न सक्दैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छ, र कुनै पनि थोकले परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने वा परमेश्वरलाई कुनै माग गर्ने आँट गर्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ
५३३. यस मानवजाति अस्तित्वमा आउनुभन्दा पहिले नै, आकाशमण्डल—स्वर्गमा भएका सबै ग्रहहरू र ताराहरू—पहिले नै अस्तित्वमा थिए। बृहत् स्तरमा, यी स्वर्गीय पिण्डहरू परमेश्वरको नियन्त्रणमा रही आफ्ना अस्तित्वको लागि नियमित रूपमा परिक्रमा गरिरहन्छन्, चाहे त्यो जति नै वर्ष भइसकेको होस्। कुनै निश्चित समयमा कुन ग्रह कहाँ जान्छ; कुन ग्रहले कुन काम, र कहिले गर्छ; कुन ग्रहले कुन परिक्रमा पथमा चक्कर लगाउँछ, र कहिले यो हराउँछ वा प्रतिस्थापित हुन्छ—यी सबै कुराहरू सानोभन्दा सानो गल्तीविना नै अघि बढिरहन्छन्। ग्रहहरूको स्थान र तिनीहरूबीचको दूरीले निश्चित ढाँचालाई पछ्याउँछन्, र यी सबैलाई सटीक आँकडाद्वारा व्याख्या गर्न सकिन्छ; तिनीहरूले यात्रा गर्ने मार्ग, परिक्रमा पथको गति र ढाँचा, तिनीहरू विभिन्न स्थानमा रहने समय—यी सबैलाई विशेष नियमहरूद्वारा सटीक रूपमा गणना र व्याख्या गर्न सकिन्छ। युगौंदेखि ग्रहहरूले अलिकति दायाँ-बायाँ नगरिकन यी नियमहरू पालना गरेका छन्। तिनीहरूको परिक्रमा पथ वा तिनीहरूले पछ्याउने ढाँचालाई कुनै पनि शक्तिले परिवर्तन गर्न वा भङ्ग गर्न सक्दैन। तिनीहरूको चाल नियन्त्रण गर्ने विशेष नियमहरू र तिनीहरूलाई व्याख्या गर्ने सटीक आँकडा सृष्टिकर्ताको अख्तियारद्वारा पूर्वनिर्धारित गरिएका हुनाले, सृष्टिकर्ताको सार्वभौमिकता र नियन्त्रणअन्तर्गत तिनीहरूले आफ्नै तरिकाले यी नियमहरूको पालना गर्छन्। बृहत् स्तरमा, मानिसले केही ढाँचा, केही आँकडा, र केही अनौठा र व्याख्या गर्न नसकिने नियम वा प्रक्रियाहरूलाई पत्ता लगाउनु कठिन छैन। परमेश्वरको अस्तित्वलाई मानवजातिले स्वीकार गर्दैन न त सृष्टिकर्ताले सबै थोक बनाउनुभयो र तीमाथि उहाँकै प्रभुत्व छ भन्ने नै स्वीकार गर्छ, साथै उसले सृष्टिकर्ताको अख्तियारको अस्तित्वलाई पहिचान गर्दैन, तथापि मानव वैज्ञानिक, खगोलशास्त्री, र भौतिकशास्त्रीहरूले ब्रह्माण्डमा यावत् थोकको अस्तित्व, र तिनीहरूको चाललाई निर्धारणगर्ने सिद्धान्त र ढाँचाहरू सबैलाई व्यापक र अदृश्य अन्धकारका उर्जाले शासन गर्दै नियन्त्रण गरेको छ भन्ने कुरालाई झन्-झन् बढी पत्ता लगाइरहेका छन्। यो तथ्यले मानिसलाई यी चालका ढाँचाहरूको बीचमा सबै कुरालाई योजनाबद्ध गर्नुहुने सर्वशक्तिमान् हुनुहुन्छ भन्ने कुराको सामना र स्वीकार गर्न बाध्य गर्छ। उहाँको शक्ति असाधारण छ, अनि उहाँको साँचो मुहारलाई कसैले देख्न नसके पनि, उहाँले हरेक क्षणमा हरेक कुरालाई शासनर नियन्त्रण गर्नुहुन्छ। उहाँको सार्वभौमिकताइतर कुनै पनि मानिस वा शक्ति पुग्न सक्दैन। यो तथ्यलाई ध्यानमा राख्दै, यावत् थोकको अस्तित्व शासन गर्ने नियमहरूलाई मानिसले नियन्त्रण गर्न सक्दैन, कसैले पनि त्यसलाई परिवर्तन गर्न सक्दैन भन्ने कुरालाई मानिसले पहिचान गर्नुपर्छ; मानिसले यी नियमहरूलाई पूर्ण रूपमा बुझ्न सक्दैन, र ती प्राकृतिक रूपमा नै भइरहेका हुँदैनन्, तर सार्वभौमबाट नियन्त्रित हुन्छन् भन्ने कुरालाई पनि उसले स्वीकार गर्नैपर्छ। यी सबै नै मानवजातिले बृहत् स्तरमा बुझ्न सक्ने परमेश्वरको अख्तियारका अभिव्यक्तिहरू हुन्।
सूक्ष्म स्तरमा, मानिसले पृथ्वीमा देख्न सक्ने सारा पहाड-पर्वत, नदी-नाला, ताल-तलैया, समुद्र अनि ठूला भूमिहरू, उसले अनुभव गर्ने सबै ऋतु, वनस्पति, पशु-प्राणी, सूक्ष्म जीव, र मानिसलगायत पृथ्वीमा वसोवास गर्ने सबै थोक परमेश्वरको सार्वभौमिकता र नियन्त्रणको अधीनमा छन्। परमेश्वरको सार्वभौमिकता र नियन्त्रणमा, उहाँकै सोचहरूअनुसार सबै थोक अस्तित्वमा आउँछन् वा हराउँछन्; तिनीहरूको अस्तित्वलाई शासन गर्ने नियमहरू उत्पन्न हुन्छन्, अनि त्यही नियमहरूलाई पालना गर्दै तिनीहरू बढ्छन् र फैलिन्छन्। कुनै पनि मानवजाति वा थोक यी नियमहरूभन्दा माथि छैन। किन यसो भयो? एउटै मात्र उत्तर यही हो: यो परमेश्वरको अख्तियारको कारणले गर्दा हो। अथवा, अर्को तरिकाले भन्दा, यो परमेश्वरको सोच र परमेश्वरको वचनहरूले गर्दा भएको हो; परमेश्वर स्वयम्को व्यक्तिगत कार्यहरूको कारणले गर्दा हो। यसको अर्थ के हो भने यी नियमहरूलाई उत्पन्न गर्ने परमेश्वरको अख्तियार र परमेश्वरको मन हुन्, जुन उहाँका सोचहरूअनुसार स्थानान्तरण र परिवर्तन हुन्छन्, अनि उहाँकै योजनाको खातिर स्थानान्तर र परिवर्तन हुन्छन् वा हराएर जान्छन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
५३४. परमेश्वरका वचनहरू उच्चारण गरिएपछि, परमेश्वरको अख्तियारले यो कार्यमा हुकुम चलाउँछ, र परमेश्वरको मुखले प्रतिज्ञा गरेको तथ्य क्रमिक रूपमा यथार्थ बन्न थाल्छ। परिणाम स्वरूप, जसरी वसन्तको आगमनसँगै घाँसहरू हरिया बन्न थाल्छन्, फूलहरू फुल्न थाल्छ, रूखका मुनाहरू पलाउन थाल्छन्, चराचुरुङ्गी गाउन थाल्छन्, हाँसहरू फर्केर आउँछन्, र भूमि मानिसहरूले भरिन्छन्, त्यसरी नै सबै थोकको बीचमा परिवर्तनहरू देखा पर्न थाल्छ…। वसन्तको आगमनसँगै सबै थोक नयाँ हुन्छन्, र यो सृष्टिकर्ताको आश्चर्यजनक कार्य हो। जब परमेश्वरले आफ्ना प्रतिज्ञाहरू हासिल गर्नुहुन्छ, स्वर्ग र पृथ्वीका सबै थोक नवीकरण हुन्छन् र परमेश्वरका विचारहरू अनुसार परिवर्तन हुन्छन्—कसैलाई पनि छूट छैन। जब परमेश्वरको मुखबाट प्रतिबद्धता वा प्रतिज्ञाको उच्चारण गरिन्छ, सबै थोक पूर्णतामा पुग्छ, र यसको पूर्णताको खातिर कुशलताको साथ अघि बढ्छन्; सबै प्राणीहरू परमेश्वरकै प्रभुत्वमा योजनाबद्ध गरिन्छ र मिलाइन्छ, र तिनीहरूले आ-आफ्नै भूमिका निर्वाह गर्छन्, र तिनीहरूको आ-आफ्नै कार्यगत गुण पूरा गर्छन्। सृष्टिकर्ताको अख्तियारको प्रकटीकरण यही हो। यसमा तँ के देख्छस्? तँ परमेश्वरको अख्तियारलाई कसरी जान्दछस्? के परमेश्वरको अख्तियारको कुनै दायरा छ? के समयको सीमितता छ? के यसको निश्चित उचाइ, वा निश्चित लम्बाइ छ भनेर भन्न सकिन्छ? के यसको निश्चित आकार वा सामर्थ्य छ भनेर भन्न सकिन्छ? के यसलाई मानिसका आयामहरूबाट मापन गर्न सकिन्छ? परमेश्वरको अख्तियार घरी सक्रिय, घरी निष्क्रिय हुने हुँदैन, यो आउने र जाने गर्दैन, र उहाँको अख्तियार वास्तवमा कति महान् छ भनेर नाप्न सक्ने कोही पनि छैन। जति धेरै समय बिते पनि, जब परमेश्वरले कुनै व्यक्तिलाई आशिष् दिनुहुन्छ, यो आशिष् अघि बढिरहनेछ, र यसको निरन्तरताले परमेश्वरको अख्तियारको अतुलनीय साक्षी दिनेछ, र सृष्टिकर्ताको ननिभ्ने जीवनशक्तिको पुन: देखा पर्ने घटनालाई बारम्बार देख्न मानवजातिलाई समर्थ तुल्याउनेछ। उहाँको अख्तियारको हरेक प्रदर्शन सबै थोकमा, र मानवजातिमा प्रदर्शन गरिने उहाँको मुखका वचनहरूको सिद्ध प्रदर्शन हुन्। यसको साथै, उहाँको अख्तियारले हासिल गर्ने सबै कुरा अति उत्तम, अतुलनीय, र अत्यन्तै त्रुटिहीन छन्। उहाँका विचारहरू, उहाँका वचनहरू, उहाँको अख्तियार, र उहाँले हासिल गर्नुहुने सबै कार्यहरू अतुलनीय रूपमा सुन्दर चित्र हुन्, र प्राणीहरूका लागि, यसको महत्त्व र मूल्यलाई स्पष्ट पार्न मानवजातिको भाषा असमर्थ छ। जब परमेश्वरले कुनै व्यक्तिलाई प्रतिज्ञा गर्नुहुन्छ, तिनीहरूको बारेमा सबै कुरा परमेश्वरको लागि उहाँको हातको पछाडिको भाग जत्तिकै परिचित हुन्छ, चाहे यो तिनीहरू कहाँ बस्छन् भन्ने होस् वा तिनीहरू कहाँ जान्छन् भन्ने नै होस्, तिनीहरूले प्रतिज्ञा प्राप्त गर्नुभन्दा पहिलेको वा पछिको तिनीहरूको पृष्ठभूमि होस्, वा तिनीहरूको जिउने वातावरणमा कति ठूलो कायापलट आएको छ त्यो नै होस्। परमेश्वरका वचनहरू बोलिएपछि जति धेरै समय बिते पनि, उहाँको लागि, ती भर्खरै उच्चारण गरिएका जस्तै हुन्छन्। भन्नुको अर्थ परमेश्वरसँग शक्ति छ, र उहाँसँग उहाँले मानवजातिसँग गर्नुहुने हरेक प्रतिज्ञाको लेखाजोखा राख्ने, नियन्त्रण गर्ने, र पूरा गर्ने अख्तियार छ, र प्रतिज्ञा जेसुकै भए तापनि, यो पूर्ण रूपमा पूरा हुन जति समय लागे पनि, यसको साथै, यसको पूर्णताले जति वृहत् दायरालाई छोए तापनि—उदाहरणको लागि, समय, भूगोल, जाति, र यस्तै इत्यादि—यो प्रतिज्ञा हासिल गरिनेछ र पूरा गरिनेछ, यसको साथै, यसलाई हासिल गर्न र पूरा गर्नको लागि उहाँलाई अलिकति समेत प्रयासको आवश्यकता पर्नेछैन। यसले केलाई प्रमाणित गर्छ? परमेश्वरको अख्तियार र शक्तिको क्षेत्र सम्पूर्ण ब्रह्माण्ड, र सम्पूर्ण मानवजातिलाई नियन्त्रण गर्नको लागि पर्याप्त छ भन्ने कुरालाई यसले प्रमाणित गर्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५३५. आज मानवजातिको विकासमा, मानवजातिको विज्ञानले प्रगति गरिरहेको छ भनेर भन्न सकिन्छ, र मानिसको वैज्ञानिक अन्वेषणका उपलब्धिहरू उल्लेखनीय छन् भनेर व्याख्या गर्न सकिन्छ। मानिसको क्षमता झन्-झन् ठूलो हुँदै वृद्धि भइरहेको छ भनेर भन्नुपर्छ, तर मानिसले गर्न नसकेको एउटा वैज्ञानिक सफलता छ: मानवजातिले हवाई जहाज, विमान वाहक, र परमाणु बम बनाएको छ, मानवजाति अन्तरिक्षमा गएर चन्द्रमामा हिँडेको छ, इन्टरनेट आविष्कार गरेको छ, र उच्च प्रविधिको जीवनशैली जिउन पुगेको छ, तैपनि मानवजातिले जीवित, सास फेर्ने थोक बनाउन सक्दैन। हरेक जीवित प्राणीका प्राकृतिक गुण र तिनीहरू जिउने नियम, र हरेक जीवित थोकको जीवन र मृत्युको चक्र—यी सबै नै मानवजातिको विज्ञानको शक्तिभन्दा बाहिर छन्, र तिनलाई यसले नियन्त्रण गर्न सक्दैन। यस विन्दुमा, मानिसको विज्ञानले हासिल गरेका उचाइहरू जति नै माथि भए पनि, सृष्टिकर्ताका कुनै पनि विचारहरूसँग यो अतुलनीय छ, र सृष्टिकर्ताले गर्नुभएको सृष्टिको आश्चर्यता र उहाँको अख्तियारको सामर्थ्यलाई यसले पत्ता लगाउन सक्दैन। पृथ्वीमा धेरै समुद्रहरू छन्, तैपनि तिनीहरू आफ्ना सीमितताहरूलाई नाघेर कहिल्यै पनि स्वेच्छाले भूमिमा आएका छैनन्, किनभने तिनीहरू प्रत्येकको लागि परमेश्वरले नै सीमाहरू तोक्नुहुन्छ; उहाँले तिनीहरूलाई जहाँ रहने आज्ञा दिनुभयो तिनीहरू त्यहीँ बसे, र परमेश्वरको अनुमतिविना तिनीहरू स्वतन्त्र पूर्वक हलचल गर्न सक्दैनन्। परमेश्वरको अनुमतिविना, तिनीहरूले एक-अर्कालाई अतिक्रमण गर्न सक्दैनन्, र परमेश्वरले भन्नुहुन्छ भने मात्रै तिनीहरू हलचल गर्न सक्छन्, र तिनीहरू कहाँ जान्छन् र बस्छन् सो कुरा परमेश्वरको अख्तियारले नै निर्धारित गर्छ।
यसलाई सरल रूपमा भन्दा, “परमेश्वरको अख्तियार” को अर्थ यो कुरा परमेश्वरकै हातमा छ भन्ने हुन्छ। कुनै कुरा गर्ने निर्णय गर्ने अधिकार परमेश्वरसँग छ, र उहाँले जसरी चाहनुहुन्छ यो त्यही अनुरूप गरिन्छ। सबै थोकको नियम परमेश्वरकै हातमा छ, मानिसको हातमा होइन; न त यसलाई मानिसले परिवर्तन नै गर्न सक्छ। यसलाई मानिसको इच्छाले हलचल गर्न सक्दैन, बरु यो परमेश्वरका विचारहरू, परमेश्वरको बुद्धि, र परमेश्वरका आदेशहरूद्वारा नै परिवर्तन हुन्छ; यो कुनै पनि मानिसले इन्कार गर्न नसक्ने तथ्य हो। स्वर्ग र पृथ्वी अनि यावत् थोक, ब्रह्माण्ड, ताराले भरिएको आकाश, वर्षका चार ऋतु, मानिसले देख्न सक्ने र देख्न नसक्ने कुरा—परमेश्वरको अख्तियारको अधीनमा, परमेश्वरका आदेशहरू अनुसार, परमेश्वरका आज्ञाहरू अनुसार, र सृष्टिको सुरुवातका नियमहरू अनुसार नै ती सबै अस्तित्वमा रहन्छन्, काम गर्छन्, र कुनै पनि गल्ती विना नै परिवर्तन हुन्छन्। कुनै एक व्यक्ति वा वस्तुले तिनीहरूको नियम परिवर्तन गर्न, वा तिनले काम गर्ने अन्तर्निहित तरिकालाई परिवर्तन गर्न सक्दैन; ती परमेश्वरको अख्तियारको कारणले नै अस्तित्वमा आए, र परमेश्वरको अख्तियारकै कारणले ती नाश हुन्छन्। परमेश्वरको अख्तियार यही नै हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५३६. अख्तियार स्वयम्लाई परमेश्वरको शक्तिको रूपमा व्याख्या गर्न सकिन्छ। पहिलो, अख्तियार र शक्ति दुवै सकारात्मक छन् भनेर निश्चितताको साथ भन्न सकिन्छ। कुनै पनि नकरात्मक कुरासँग तिनको कुनै सम्बन्ध छैन, र सृष्टि गरिएका वा सृष्टि नगरिएका कुनै पनि प्राणीसँग ती सम्बन्धित छैनन्। परमेश्वरको शक्तिले जीवन र जीवन-शक्ति भएको कुनै पनि स्वरूपको कुराहरूलाई सृष्टि गर्न सक्छ, र यसलाई परमेश्वरको जीवनले नै निर्धारित गरेको हुन्छ। परमेश्वर जीवन हुनुहुन्छ, त्यसकारण उहाँ सबै जीवित प्राणीहरूको स्रोत हुनुहुन्छ। यसको साथै, परमेश्वरको अख्तियारले हरेक जीवित प्राणीलाई परमेश्वरको हरेक वचन पालन गर्ने तुल्याउँछ, अर्थात् परमेश्वरको मुखबाट निस्केका वचनहरू अनुसार अस्तित्वमा आउने, र परमेश्वरको आज्ञा अनुसार जिउने र सन्तान उत्पादन गर्ने तुल्याउँछ, जसपछि परमेश्वरले सबै जीवित प्राणीहरूमाथि शासन गर्नुहुन्छ र हुकुम चलाउनुहुन्छ, र कहिल्यै पनि त्यसमा तलमाथि हुनेछैन, सदासर्वदा नै। कुनै पनि व्यक्ति वा वस्तुमा यी कुराहरू छैन; सृष्टिकर्तामा मात्रै त्यस्तो शक्ति छ र उहाँले मात्रै त्यस्तो शक्ति बोक्नुहुन्छ, त्यसैले यसलाई अख्तियार भनिन्छ। सृष्टिकर्ताको अद्वितीयपन यही नै हो। त्यसैले, चाहे यो “अख्तियार” शब्द मात्रै होस् वा यो अख्तियारको सार होस्, प्रत्येकलाई सृष्टिकर्तासँग मात्रै सम्बन्धित गर्न सकिन्छ, किनभने यो सृष्टिकर्ताको अद्वितीय पहिचान र सारको प्रतीक हो, र यसले सृष्टिकर्ताको पहिचान र हैसियतलाई प्रतिनिधित्व गर्छ; सृष्टिकर्ता बाहेक, कुनै पनि व्यक्ति वा थोकलाई “अख्तियार” भन्ने शब्दसँग सम्बन्धित गर्न सकिँदैन। सृष्टिकर्ताको अद्वितीय अख्तियारको अर्थ-अनुवाद यही नै हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५३७. “म बादलमा इन्द्रेनी राख्नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुने छ।” यी सृष्टिकर्ताले मानवजातिसँग बोल्नुभएका मूल वचनहरू हुन्। उहाँले यी वचनहरू भन्नुभएपछि, मानिसको अघि एउटा इन्द्रेणी देखा पर्यो, र आजको दिनसम्म नै यो यस्तै रहिआएको छ। सबैले त्यस्तो इन्द्रेणी देखेको हुन्छ, र जब तँ यसलाई देख्छस्, यो कसरी देखा पर्छ के तँलाई थाहा छ? यसलाई प्रमाणित गर्न, वा यसको स्रोत पत्ता लगाउन, वा यो कहाँबाट आउँछ भन्ने पहिचान गर्न विज्ञानले सकेको छैन। किनभने इन्द्रेणी सृष्टिकर्ता र मानिसको बीचमा स्थापित गरिएको करारको चिन्ह हो; यसको लागि कुनै वैज्ञानिक आधार चाहिँदैन, यो मानिसले बनाएको होइन, न त मानिसले यसलाई परिवर्तन गर्न नै सक्छ। उहाँले आफ्ना वचनहरू बोल्नुभएपछिको यो सृष्टिकर्ताको अख्तियारको निरन्तरता हो। सृष्टिकर्ताले मानिससँगको आफ्नो करार र आफ्नो प्रतिज्ञालाई पालन गर्न आफ्नै निश्चित विधिको प्रयोग गर्नुभयो, त्यसकारण उहाँले स्थापना गर्नुभएको करारको चिन्हको रूपमा उहाँले इन्द्रेणीको प्रयोग गर्नुभएको कुरा स्वर्गीय अध्यादेश र नियम नै थियो जुन सदासर्वदा नै अपरिवर्तित रहनेछ, चाहे त्यो सृष्टिकर्ताको हकमा होस् वा सृष्टि गरिएको मानवजातिको हकमा। यो अपरिवर्तनीय नियम उहाँले सबै थोक सृष्टि गरिसक्नुभएपछिको सृष्टिकर्ताको अख्तियारको अर्को साँचो प्रकटीकरण हो भनेर भन्नुपर्छ, र सृष्टिकर्ताको अख्तियार र शक्ति असीमित छ भनेर भन्नैपर्छ; उहाँले इन्द्रेणीलाई चिन्हको रूपमा गर्नुभएको प्रयोग सृष्टिकर्ताको अख्तियारको निरन्तरता र विस्तार हो। यो परमेश्वरले आफ्नो वचनको प्रयोग गरेर गर्नुभएको अर्को काम थियो, र वचन प्रयोग गरेर परमेश्वरले मानिससँग स्थापना गर्नुभएको करारको चिन्ह थियो। उहाँले जे ल्याउने अठोट गर्नुभएको थियो, र यो जसरी पूरा गरिने र हासिल गरिनेथियो त्यसको बारेमा उहाँले मानिसलाई बताउनुभयो। यसरी उक्त कुरापरमेश्वरको मुखको वचन अनुसार पूरा भयो। त्यस्तो शक्ति परमेश्वरसँग मात्रै छ, र उहाँले यी वचनहरू बोल्नुभएपछिको हजारौं वर्षपछि आज समेत, परमेश्वरको मुखले बोलेर आएको इन्द्रेणीलाई मानिसले हेर्न सक्छ। परमेश्वरले बोल्नुभएका यी वचनहरूका कारण, यो कुरा आजको दिनसम्मै तलमाथि नभई अपरिवर्तित रहेको छ। कसैले पनि यो इन्द्रेणीलाई हटाउन सक्दैन, कसैले पनि यसको नियम परिवर्तन गर्न सक्दैन, र यो केवल परमेश्वरको वचनको लागि मात्रै अस्तित्वमा रहन्छ। परमेश्वरको अख्तियार वास्तवमा यही नै हो। “परमेश्वरको वचन जत्ति असल छ उहाँ त्यति नै असल हुनुहुन्छ, र उहाँको वचन पुराहुनेछ, अनि उहाँले जे हासिल गर्नुहुन्छ ती सदासर्वदा रहिरहन्छन्” यस्ता वचनहरू यहाँ स्पष्ट रूपमा प्रकट हुन्छन्, र यो परमेश्वरको अख्तियार र शक्तिको स्पष्ट चिन्ह र विशेषता हो। त्यस्तो चिन्ह वा विशेषता सृष्टि गरिएको कुनै पनि प्राणीसँग छैन वा तिनमा देखिँदैन, न त सृष्टि नगरिएको कुनै प्राणीमा नै यो देखिन्छ। यो अद्वितीय परमेश्वरको स्वामित्वमा मात्रै छ, र यसले सृष्टिकर्तामा निहित पहिचान र सारलाई प्राणीहरूको पहिचान र सारबाट अलग गर्छ। यसको साथै, यो त्यस्तो चिन्ह र विशेषता हो जसलाई परमेश्वर स्वयम् बाहेक सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले कहिल्यै नाघ्न सक्दैन।
मानिससँग परमेश्वरले आफ्नो करार स्थापना गर्नुभएको कार्य निकै महत्त्वपूर्ण थियो, जसलाई मानिससँग आफ्नो तथ्य व्यक्त गर्न र उहाँको इच्छा मानिसलाई बताउनको लागि प्रयोग गर्ने अभिप्राय उहाँको थियो। यसको लागि उहाँले मानिससँग करार स्थापना गर्नको लागि विशेष चिन्हको प्रयोग गर्दै अद्वितीय विधिको प्रयोग गर्नुभयो, जुन चिन्ह उहाँले मानिससँग स्थापित गर्नुभएको करारको प्रतिज्ञा थियो। त्यसोभए, के यो करारको स्थापना महान घटना थियो? यो कति महान् थियो? करार यति विशेष हुनुको कारण ठ्याक्कै यही नै हो: यो मानिस-मानिसले एक-अर्काको बीचमा स्थापना गरेको करार थिएन, न त एउटा समूहले अर्को समूहसँग, वा एउटा देशले अर्को देशसँग स्थापना गरेको करार नै थियो, तर यो सृष्टिकर्ता र सम्पूर्ण मानवजातिको बीचमा स्थापना गरिएको करार थियो, र सृष्टिकर्ताले सबै थोक रद्द गर्नुहुने दिनसम्म यो मान्य रहनेछ। यो करार लागू गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ, र यसलाई कायम राख्ने पनि सृष्टिकर्ता नै हुनुहुन्छ। छोटकरीमा भन्दा, मानवजातिसँग स्थापना गरिएको इन्द्रेणीको करारको सम्पूर्णता सृष्टिकर्ता र मानवजातिको बीचमा भएको कुराकानी अनुसार पूरा भयो र हासिल गरियो, र यो आजको दिनसम्मै त्यही अवस्थामा रहिआएको छ। प्राणीहरूले सृष्टिकर्ताको अख्तियारमा समर्पित हुने, त्यसको पालना गर्ने, त्यसमा विश्वास गर्ने, त्यसको कदर गर्ने, त्यसको साक्षी दिने, र त्यसलाई सम्मान गर्ने बाहेक के गर्न सक्छन्? किनभने त्यस्तो करार स्थापना गर्ने शक्ति अद्वितीय परमेश्वरमा बाहेक कसैसँग छैन। बारम्बार इन्द्रेणी देखा पर्नु भनेको सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करारको बारेमा मानवजातिलाई गरिने घोषणा हो र त्यसप्रति ध्यानाकर्षण गर्न उसलाई गरिने बोलावट हो। सृष्टिकर्ता र मानवजातिको बीचमा गरिएको करार निरन्तर देखा पर्ने क्रममा, मानवजातिलाई इन्द्रेणी वा करार स्वयम्लाई होइन, तर सृष्टिकर्ताको अपरिवर्तनीय अख्तियारलाई देखाइन्छ। बारम्बार इन्द्रेणी देखा पर्नुले गुप्त ठाउँहरूमा सृष्टिकर्ताले गर्नुहुने अथाह र आश्चर्यजनक कार्यहरूलाई प्रदर्शन गर्छ, यसको साथै, यो कहिल्यै ओइलिएर नजाने, कहिल्यै परिवर्तन नहुने सृष्टिकर्ताको अख्तियारको महत्त्वपूर्ण प्रतिबिम्ब हो। के यो सृष्टिकर्ताको अद्वितीय अख्तियारको अर्को पक्षको प्रदर्शन होइन र?
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५३८. उत्पत्ति १८:१८ मा “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्” भन्ने पढिसकेपछि, के तिमीहरू परमेश्वरको अख्तियारलाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको असाधारणतालाई अनुभूति गर्न सक्छौ? के तिमीहरू सृष्टिकर्ताको सर्वोच्चतालाई अनुभूति गर्न सक्छौ? परमेश्वरका वचनहरू निश्चित छन्। आफ्नो सफलताको सुनिश्चितताको कारण, वा त्यसको प्रतिनिधित्व स्वरूप परमेश्वरले त्यस्ता वचनहरू बोल्नुहुन्न; बरु, ती परमेश्वरका वाणीहरूको अख्तियारको सबुत हुन्, र परमेश्वरको वचनहरूलाई पूरा गर्ने आज्ञा हुन्। तिमीहरूले यहाँ ध्यान दिनुपर्ने दुई वटा अभिव्यक्ति छन्। परमेश्वरले “अब्राहाम अवश्य नै महान् र शक्तिशाली जाति बन्नेछ र पृथ्वीका सबै जातिहरू तिनमा नै आशिषित हुनेछन्” भनी भन्ने क्रममा, के यी वचनहरूमा कुनै अस्पष्टताको तत्व छ? के कुनै चिन्ताको तत्व छ? के कुनै डरको तत्व छ? परमेश्वरका वाणीहरूका “अवश्य नै हुनेछ” र “हुनेछ” भन्ने शब्दहरूको कारणले, मानिसमा निश्चित रूपमा हुने र उसमा प्रायजसो देखिने यी तत्वहरूले सृष्टिकर्तासँग कहिल्यै कुनै सम्बन्ध राखेका छैनन्। अरूलाई शुभकामना दिँदा कसैले पनि त्यस्ता वचनहरूको प्रयोग गर्ने आँट गर्दैनन्, कसैले पनि अरूलाई ठूलो र शक्तिशाली जाति दिने भनी आशिष् दिन, वा पृथ्वीका सबै जातिले तिनमा आशिष् पाउनेछन् भनेर प्रतिज्ञा गर्न कसैले पनि आँट गर्दैनन्। परमेश्वरका वचनहरू जति निश्चित छन्, तिनले कुनै कुरालाई त्यति नै प्रमाणित गर्छन्—र त्यो कुनै कुरा के हो? तिनले परमेश्वरसँग त्यस्तो अख्तियार छ, उहाँको अख्तियारले यी कुराहरू पूरा गर्न सक्छ, र ती पूरा हुनु अपरिहार्य छ भन्ने कुरालाई प्रमाणित गर्छन्। उहाँले अब्राहामलाई जे आशिष् दिनुभएको थियो त्यसको बारेमा परमेश्वर आफ्नो हृदयमा सुनिश्चित हुनुहुन्थ्यो, उहाँमा अलिकति पनि हिचकिचाहट थिएन। यसको साथै, यसको पूर्णता उहाँका वचनहरू अनुसार नै हासिल हुनेथिए, र यसको पूर्णतालाई कुनै पनि शक्तिले परिवर्तन गर्न, रोक्न, हानी गर्न, वा बाधा दिन सक्नेथिएन। अरू जेसुकै भए तापनि, परमेश्वरका वचनहरू पूर्णता हुनु र पूरा हुनुलाई कुनै कुराले पनि रोक्न वा वाधा दिन सकेन। यो सृष्टिकर्ताको मुखबाट बोलिएका वचनहरूको शक्ति, र मानिसको इन्कारमा नरोकिने सृष्टिकर्ताको अख्तियार हो! यी वचनहरूलाई पढिसकेपछि, के तँलाई अझै शङ्का लाग्छ? यी वचनहरू परमेश्वरको मुखबाट बोलिएका थिए, र परमेश्वरका वचनहरूमा शक्ति, प्रताप, र अख्तियार छ। त्यस्तो शक्ति र अख्तियार, र तथ्यहरू पूरा हुने अपरिहार्यतालाई सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले प्राप्त गर्न सक्दैन, र सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि प्राणीले यसलाई नाघ्न सक्दैन। सृष्टिकर्ताले मात्रै मानवजातिसँग त्यस्तो शैली र स्वरमा कुराकानी गर्न सक्नुहुन्छ, र उहाँका प्रतिज्ञाहरू खोक्रा शब्दहरू, वा फोकट घमण्ड होइनन्, तर कुनै पनि व्यक्ति, घटना, वा थोकले नाघ्न नसक्ने अद्वितीय अख्तियारको अभिव्यक्ति हुन् भन्ने कुरालाई यी तथ्यहरूले प्रमाणित गरेको छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५३९. जब परमेश्वरले “I will multiply your(s) seed,” भनी भन्नुभयो, यो परमेश्वरले अब्राहामसँग स्थापित गर्नुभएको करार थियो, र इन्द्रेणीको करारजस्तै, यो अनन्तसम्मको लागि हासिल गरिनेथियो, र यो परमेश्वरले अब्राहामसँग गर्नुभएको प्रतिज्ञा पनि थियो। यो प्रतिज्ञालाई पूरा गर्न परमेश्वर मात्र योग्य र सक्षम हुनुहुन्छ। मानिसले यसलाई विश्वास गरे पनि वा नगरे पनि, मानिसले यसलाई स्वीकार गरे पनि वा नगरे पनि, र मानिसले यसलाई जसरी हेरे पनि र जसरी लिए पनि, यो सबै शब्द-शब्द गरी परमेश्वरले बोल्नुभएको वचन अनुसार नै पूरा हुनेछ। मानिसको इच्छा वा धारणाहरूमा आएको परिवर्तनको कारणले परमेश्वरको वचन परिवर्तन हुनेछैन, र कुनै व्यक्ति, घटना, वा कुरामा आएको परिवर्तनको कारणले यो परिवर्तन हुनेछैन। सबै थोक हराएर जान सक्छ, तर परमेश्वरको वचन सदासर्वदा रहिरहनेछ। वास्तवमा, सबै थोक हराएर जाने दिन नै परमेश्वरका वचनहरू पूर्ण रूपमा पूरा हुने दिन हो, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँमा सृष्टिकर्ताको अख्तियार छ, सृष्टिकर्ताको शक्ति छ, र उहाँले नै सबै थोक र सबै जीवनशक्तिलाई नियन्त्रण गर्नुहुन्छ; उहाँले सुन्यताबाट कुनै थोक अस्तित्वमा ल्याउन, वा कुनै थोकलाई सुन्यतामा हराउन सक्नुहुन्छ, र उहाँले सबै थोकको जीवितबाट मृतकमा हुने रूपान्तरणलाई नियन्त्रण गर्नुहुन्छ; परमेश्वरको लागि, कसैको बीउलाई वृद्धि गराउने जत्तिको सरल केही पनि हुन सक्दैन। यो मानिसको लागि परी-कथाजस्तै शानदार सुनिन सक्छ, तर परमेश्वरको लागि, उहाँले जुन कुरा गर्ने निर्णय र प्रतिज्ञा गर्नुहुन्छ त्यो काल्पनिक होइन, न त परी-कथा नै हो। बरु, यो त परमेश्वरले पहिले नै देखिसक्नुभएको तथ्य हो, र जसलाई अवश्य नै हासिल गर्न सकिन्छ। के तिमीहरू यसलाई बुझ्छौ? के अब्राहामका सन्तान अनगिन्ती थिए भनेर तथ्यहरूले प्रमाणित गर्छ? तिनीहरू कति धेरै अनगिन्ती थिए? के तिनीहरू परमेश्वरले बोल्नुभएका “the stars of the heaven, and as the sand which is on the sea shore” जत्तिकै अनगिन्ती थिए? के तिनीहरू संसारका सबै राष्ट्रहरू र क्षेत्रहरूमा, हरेक ठाउँमा फैलिए? केद्वारा यो तथ्य हासिल गरियो? के यो परमेश्वरको अख्तियारद्वारा हासिल गरिएको थियो? परमेश्वरका वचनहरू बोलिएको सयौं वा हजारौं वर्षसम्म, परमेश्वरका वचनहरू निरन्तर रूपमा पूरा भए, र ती अटुट रूपमा तथ्यमा परिवर्तन भइरहे; परमेश्वरका वचनहरूको सामर्थ्य, र परमेश्वरको अख्तियारको प्रमाण यही हो। जब सुरुमा परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो, परमेश्वरले भन्नुभयो, “उज्यालो होस्” अनि उज्यालो भयो। यो शीघ्र रूपमा भयो, यो छोटो समयमा पूरा भयो, र यसको उपलब्धि र पूर्णतामा कुनै ढिलाइ भएन; परमेश्वरका वचनहरूका प्रभावहरू तत्कालीन थिए। ती दुवै नै परमेश्वरको अख्तियारको प्रदर्शन थिए, तर जब परमेश्वरले अब्राहामलाई आशिष् दिनुभयो, उहाँले मानिसलाई परमेश्वरको अख्तियारको सारको अर्को पक्ष, साथै सृष्टिकर्ताको अख्तियार गन्तीभन्दा बाहिरको कुरा हो भन्ने देखाउनुभयो, यसको साथै उहाँले मानिसलाई सृष्टिकर्ताको अख्तियारको अझै यथार्थ, अझै उत्कृष्ट पक्ष देखाउनुभयो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५४०. परमेश्वरले अब्राहाम र अय्यूबलाई आशिष् दिनुभएपछि, परमेश्वर जहाँ हुनुहुन्थ्यो त्यहीँ बस्नुभएन, न त के परिणाम आउनेछ भनेर प्रतीक्षा गर्दै उहाँले आफ्ना दूतहरूलाई नै काम गर्न पठाउनुभयो। यसको विपरीत, परमेश्वरले आफ्ना वचनहरू उच्चारण गरिसक्ने बित्तिकै, परमेश्वरको अख्तियारको निर्देशनमा, परमेश्वरले गर्ने अभिप्राय राख्नुभएका कामलाई सबै थोकले अनुपालन गर्न थाले, र परमेश्वरलाई आवश्यक परेका मानिसहरू, थोकहरू, र वस्तुहरू तयार भए। भन्नुको अर्थ, परमेश्वरको मुखबाट वचनहरू उच्चारण गर्ने बित्तिकै, परमेश्वरको अख्तियारले सारा भूमिभरि काम गर्न थाल्यो, र उहाँले अब्राहाम र अय्यूबसँग गर्नुभएका प्रतिज्ञाहरूलाई हासिल गर्न र पूरा गर्नमार्ग तय गर्नुभयो, यसको साथै उहाँले अघि बढाउने योजना गर्नुभएका हरेक कदम र हरेक मुख्य चरणको लागि सम्पूर्ण उचित योजना र तयारीहरू गर्नुभयो। यो समय अवधिमा, उहाँले आफ्ना दूतहरूलाई मात्रै होइन, तर उहाँले सृष्टि गर्नुभएका सबै थोकलाई चलाउनुभयो। भन्नुको अर्थ परमेश्वरको अख्तियार प्रयोग गरिएको क्षेत्रमा दूतहरू मात्रै होइनन्, तर सृष्टिका सबै थोक समावेश थिए, जसलाई उहाँले पूरा गर्ने अभिप्राय राख्नुभएको कामको अनुपालन गर्नको लागि चलाउनुभयो; परमेश्वरको अख्तियार प्रयोग गरिएको निश्चित तरिकाहरू यिनै थिए। तिमीहरूका कल्पनाहरूमा, कति जनासँग परमेश्वरको अख्तियारको बारेमा निम्न बुझाइ हुन सक्छ: परमेश्वरसँग अख्तियार छ, र परमेश्वरसँग शक्ति छ, त्यसकारण परमेश्वर तेस्रो स्वर्गमा, वा निश्चित स्थानमा मात्रै रहनु आवश्यक हुन्छ, र कुनै पनि खास कार्य गर्नु आवश्यक हुँदैन, र परमेश्वरको कार्यको पूर्णता उहाँका विचारहरूमा नै पूर्ण हुन्छन्। कतिले के पनि विश्वास गर्न सक्छन्, परमेश्वरले अब्राहामलाई आशिष् दिनुभएको भए तापनि, परमेश्वरले केही पनि गर्नु परेन, र उहाँले आफ्ना वचनहरू बोल्नु नै पर्याप्त थियो। के वास्तवमा यही भएको हो त? अवश्य नै होइन! परमेश्वरसँग अख्तियार र शक्ति भए तापनि, उहाँको अख्तियार साँचो र वास्तविक हो, रित्तो होइन। परमेश्वरको अख्तियार र शक्तिको विशुद्धता र वास्तविकता उहाँले गर्नुभएको सबै थोकको सृष्टिमा, सबै थोकमाथिको उहाँको नियन्त्रणमा, र उहाँले मानवजातिलाई अगुवाइ गर्ने र व्यवस्थापन गर्ने प्रक्रियामा क्रमिक रूपमा प्रकट र मूर्तरूप गरिन्छ। मानवजाति र सबै थोकमाथिको परमेश्वरको सार्वभौमिकताको हरेक विधि, हरेक दृष्टिकोण, र हरेक विवरण, र उहाँले पूरा गर्नुभएको सबै काम, साथै सबै थोकबारे उहाँको बुझाइ—ती सबैले परमेश्वरको अख्तियार र शक्ति खोक्रा शब्दहरू होइनन् भन्ने कुरालाई ठेड रूपमा प्रमाणित गर्छ। उहाँको अख्तियार र शक्तिलाई सबै कुरामा अटुट रूपमा देखाइन्छ र प्रकट गरिन्छ। यी प्रकटीकरण र प्रकाशले परमेश्वरको अख्तियारको यथार्थ अस्तित्वबारे बताउँछन्, किनभने उहाँले आफ्नो कार्यलाई जारी राख्न र सबै थोकमाथि हुकुम चलाउन, र हरेक क्षणमा सबै थोकलाई शासन गर्नको लागि उहाँले आफ्नो अख्तियार र शक्तिको प्रयोग गरिरहनुभएको छ; उहाँको शक्ति र अख्तियारलाई न त स्वर्गदूतहरूले न त परमेश्वरका कुनै दूतहरूले नै प्रतिस्थापन गर्न सक्छन्। अब्राहाम र अय्यूबलाई के-कस्ता आशिषहरू दिने हो त्यसको निर्णय परमेश्वरले नै गर्नुभयो—यो परमेश्वरले नै गर्नुपर्ने निर्णय थियो। परमेश्वरका दूतहरूले अब्राहाम र अय्यूबलाई व्यक्तिगत रूपमा नै भेटेका भए तापनि, तिनीहरूका कार्य परमेश्वरका आज्ञाहरूमा आधारित थिए, र तिनीहरूका कार्यहरू परमेश्वरको अख्तियारको अधीनमा गरिएका थिए, त्यसरी नै, दूतहरू परमेश्वरको सार्वभौमिकताको अधीनमा थिए। परमेश्वरका दूतहरूले अब्राहामलाई भेट्छन् भन्ने मानिसले देखे तापनि, बाइबलका विवरणहरूमा यहोवा परमेश्वरले आफै केही गर्नुहुन्छ भन्ने नदेख्ने भए तापनि, वास्तवमा, शक्ति र अख्तियारको प्रयोग गर्ने एक मात्र व्यक्ति परमेश्वर स्वयम् नै हुनुहुन्छ, र यसले कुनै पनि मानिसमा शङ्का पैदा गर्दैन! तैँले स्वर्गदूतहरू र दूतहरूसँग महान् शक्ति भएको र तिनीहरूले आश्चर्यकर्महरू गरेको, वा तिनीहरूले परमेश्वरले आज्ञा गर्नुभएका केही कुराहरू गरेका देखेका भए तापनि, तिनीहरूका कार्यहरू परमेश्वरका आज्ञाहरू पालन गर्नको खातिर मात्रै हुन्, र ती कुनै पनि हालतमा परमेश्वरको अख्तियारको प्रदर्शन होइनन्—किनभने कुनै मानिस वा वस्तुमा सबै थोक सृष्टि गर्ने र सबै थोकलाई शासन गर्ने सृष्टिकर्ताको अख्तियार छैन वा स्वामित्व गर्दैन। त्यसकारण, कुनै पनि मानिस वा वस्तुले सृष्टिकर्ताको अख्तियारलाई प्रयोग गर्न वा प्रदर्शन गर्न सक्दैन।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५४१. के परमेश्वरले आफ्नो पहिचानलाई प्रमाणित गर्न केही गर्न सक्नुहुन्थ्यो? परमेश्वरको निम्ति, यो साह्रै सजिलो थियो—यो सजिलै हासिल गर्न सकिने कुरा थियो। आफ्नो पहिचान तथा सारलाई प्रमाणित गर्न उहाँले केही कुरा कुनै पनि ठाउँमा, कुनै पनि समयमा गर्न सक्नुहुन्थ्यो तर परमेश्वरको काम गर्ने आफ्नै तरिकाहरू थिए—योजनासहित, अनि चरणबद्ध रूपमा। उहाँले अन्धाधुन्ध कामहरू गर्नुभएन, बरु जुन कुरा उहाँले मानिसलाई देखाउनुहुन्थ्यो, अर्थले भरिएको हुन्थ्यो त्यस्तो कुनै कुरा गर्न उहाँले ठीक समय र ठीक अवसर खोज्नुहुन्थ्यो। यस प्रकारले, उहाँले आफ्नो अख्तियार तथा पहिचानलाई प्रमाणित गर्नुभयो। त्यसोभए, के लाजरसको पुनरुत्थानले प्रभु येशूको पहिचानलाई प्रमाणित गर्न सक्यो त? धर्मशास्त्रको निम्न अध्यायलाई हेरौं: “अनि जब उहाँले त्यसरी बोलिसक्नुभएपछि, उहाँले उच्च स्वरमा लाजरस, बाहिर आऊ भनी भन्नुभयो। तब तिनी, अर्थात् मरेको मानिस बाहिर आए…।” जब प्रभु येशू ख्रीष्टले यसो गर्नुभयो, तब उहाँले केवल एउटा कुरा गर्नुभयो: “लाजरस, बाहिर आऊ।” तब लाजरस उसको चिहानबाट बाहिर आए—प्रभुले उच्चारण गर्नुभएका केवल केही वचनहरूको कारणले यो कार्य सम्पन्न भएको थियो। त्यस समयावधिमा, प्रभु येशूले वेदी खडा गर्नुभएन, अनि उहाँले कुनै अन्य कामहरू गर्नुभएन। उहाँले केवल एउटै कुरा गर्नुभयो। यसलाई आश्चर्यकर्म भन्न सकिन्छ कि आज्ञा? अथवा, के त्यो कुनै प्रकारको जादुगरी थियो? झट्ट हेर्दा, यसलाई आश्चर्यकर्म भन्न सकिन्छ कि भन्ने देखिन्छ, अनि यदि तैँले यसलाई आधुनिक दृष्टिकोणबाट हेर्छस् भने तैँले यसलाई आश्चर्यकर्म नै भन्न सक्छस्। तैपनि, यसलाई मृतकबाट प्राण फर्काउनको निम्ति बोलाइने एक प्रकारको जादु भनेर निश्चय नै भन्न सकिँदैन, र यो कुनै पनि प्रकारको जादूगरी अवश्य थिएन। यो आश्चर्यकर्म सृष्टिकर्ताको अख्तियारको सबैभन्दा सामान्य अनि सानो प्रदर्शन थियो भन्नु सही हुन्छ। यो परमेश्वरको अख्तियार र शक्ति हो। कुनै व्यक्तिलाई मर्न दिने, उसको आत्मालाई उसको शरीर छोडेर मृत लोक वा त्यो जहाँसुकै जानुपर्ने हो त्यहाँ जान दिने अधिकार परमेश्वरसित छ। व्यक्तिको मृत्यु हुने समय र मृत्युपछि तिनीहरू जानुपर्ने ठाउँ—यी कुराहरू परमेश्वरद्वारा निर्धारित हुन्छन्। उहाँले यी निर्णयहरू मानवहरू, घटनाहरू, वस्तुहरू, स्थान वा भूगोलको दबाबमा नपरी कुनै पनि समयमा र कुनै पनि ठाउँमा गर्न सक्नुहुन्छ। यदि उहाँले यो गर्न चाहनुहुन्छ भने उहाँले यो गर्न सक्नुहुन्छ, किनकि सबै कुराहरू र जीवित प्राणीहरू उहाँको शासनको अधीनमा छन् र सबै कुराहरू उहाँको वचन र उहाँको अधिकारद्वारा वृद्धि-विकास हुन्छन्, अस्तित्वमा रहन्छन् र नष्ट हुन्छन्। उहाँले मृतकलाई बौरी उठाउन सक्नुहुन्छ, अनि यो पनि उहाँले कुनै पनि समयमा, कुनै पनि स्थानमा गर्नसक्ने कुरा हो। यो केवल सृष्टिकर्तामा निहित रहेको अख्तियार हो।
लाजरसलाई मृतकबाट फर्काउने जस्ता कार्यहरू गर्ने क्रममा प्रभु येशूको लक्ष्य भनेको मानिसहरू तथा शैतान देखाउन प्रमाण दिनु थियो, र मानिसहरू तथा शैतानलाई मानवजातिको बारेमा हरेक कुरा, मानवजातिको जीवन तथा मृत्यु परमेश्वरद्वारा निर्धारित हुन्छन्, अनि उहाँ देहधारी भइसक्नुभएको भए तापनि, देख्न सकिने भौतिक संसारको साथै मानिसहरूले देख्न नसक्ने आत्मिक संसारमाथि उहाँको हुकुम कायम छ भन्ने कुरा जान्न दिनु थियो। यो यसकारण गरिएको थियो ताकि मानवजातिको सबै कुरा शैतानको अधीनमा छैन भनी मानवजाति र शैतानले जान्न सकून्। यो परमेश्वरको अधिकारको प्रकाश तथा प्रदर्शन थियो, अनि यो मानवजातिको जीवन र मृत्यु परमेश्वरको हातमा छन् भनी सबै कुराहरूलाई सन्देश पठाउने परमेश्वरको एउटा तरिका पनि थियो। प्रभु येशूले लाजरसलाई गर्नुभएको पुनरुत्थान सृष्टिकर्ताले मानवजातिलाई शिक्षा र प्रशिक्षण दिने एउटा तरिका थियो। यो एउटा यस्तो ठोस कार्य थियो जसमा मानवजातिलाई शिक्षा दिन र प्रबन्ध गर्न उहाँले आफ्नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो। यो वचनहरू प्रयोग नगरी सबै कुराहरू उहाँको अधिकारमा छन् भन्ने सत्यता मानिसहरूलाई देखाउने सृष्टिकर्ताको तरिका थियो। यो उहाँद्वारा बाहेक अरू कसैमा मुक्ति छैन भनी मानवजातिलाई यी व्यवहारिक कार्यहरूद्वारा बताउने उहाँको एउटा तरिका थियो। मानवजातिलाई प्रशिक्षण दिने उहाँले प्रयोग गर्नुभएको यो शान्त विधि अनन्त, अमेट छ, जसले मानव हृदयहरूमा कहिल्यै ओइलाउन नसक्ने झट्का र अन्तर्दृष्टि ल्याउँछ। लाजरसको पुनरुत्थानले परमेश्वरलाई महिमित तुल्यायो—परमेश्वरका हरेक अनुयायीहरूमाथि यसको गहिरो प्रभाव छ। यो घटना गहिरो प्रकारले बुझ्ने हरेक व्यक्तिमा केवल परमेश्वरले मात्र मानवजातिको जीवन र मृत्युमाथि हुकुम चलाउन सक्नुहुन्छ भन्ने बुझाइ र दर्शनलाई यसले दृढतासहित स्थापित गरिदिन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३
५४२. तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्। परमेश्वरको योजना र उहाँको विधिमा आफ्नो भूमिका खेल्दै तैँले आफ्नो जीवन यात्रा सुरुआत गर्छस्। तेरो पृष्ठभूमि जस्तोसुकै होस् र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि स्वर्गको व्यवस्थापन र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि तिनीहरूको गन्तव्य आफ्नै वशमा हुँदैन, किनकि सबै थोकमाथि शासन गर्नुहुने उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ। मानिस अस्तित्वमा आएको दिनदेखि नै ब्रह्माण्डलाई व्यवस्थापन गरेर, सबै थोक परिवर्तन हुने नियमहरू र तिनीहरूका चालहरूको मार्गचित्र निर्देशन गर्दै परमेश्वरले काम गर्नुभएको छ। सबै थोकहरूलाई जस्तै मानिसलाई पनि परमेश्वरबाट आएको मिठासपन, झरी र शीतले गुपचुप र अञ्जान रूपमा पोषण दिन्छ; सबै थोकहरू जस्तै, मानिस अन्जान रूपमा नै परमेश्वरको बाहुलीको व्यवस्थापनको मातहतमा जिउँछ। मानिसको हृदय र आत्मा परमेश्वरको हातमा हुन्छ, उसको जीवनको सबै थोकमा परमेश्वरले नजर राख्नुहुन्छ। तैँले यस कुरालाई विश्वास गर् वा नगर्, चाहे त्यो सजीव वा निर्जीव होस्, कुनै पनि थोक र सबै थोक परमेश्वरको विचारअनुसार सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्। परमेश्वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर मानिसको जीवनको स्रोत हुनुहुन्छ
५४३. व्यक्तिको जन्मलाई उसको अघिल्लो जीवनले निर्धारित गरेको हुन्छ भने व्यक्तिको मृत्युले त्यो नियतिलाई टुङ्ग्याउँछ। व्यक्तिको जन्म यो जीवनमा उसको मिसनको सुरुवात हो भने उसको मृत्युले त्यो मिसनको अन्त्यलाई जनाउँछ। व्यक्तिको जन्मको लागि सृष्टिकर्ताले निश्चित परिस्थितिहरू निर्धारित गर्नुभएको हुँदा, अवश्य नै उहाँले उसको मृत्युको लागि पनि निश्चित परिस्थितिहरूको बन्दोबस्त गर्नुभएको हुन्छ। अर्को शब्दमा भन्दा, कोही पनि संयोगले जन्मँदैन, कसैको मृत्यु पनि अचानक आउँदैन, अनि जन्म र मृत्यु दुवै व्यक्तिको अघिल्लो जीवन र वर्तमान जीवनसँग अत्यावश्यक रूपमा जोडिएका हुन्छन्। व्यक्तिको जन्म र मृत्यु दुवैका परिस्थितिहरूलाई सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएको हुन्छ; व्यक्तिको नियति, व्यक्तिको प्रारब्ध यही हो। व्यक्तिको जन्मसम्बन्धी विभिन्न व्याख्याहरू रहेको हुनाले, यो कुरा पनि सही नै हो कि व्यक्तिको मृत्यु स्वाभाविक रूपमै यसका आफ्नै, विशेष परिस्थितिहरूमा हुनेछ। मानिसहरूका आयुहरू फरक-फरक हुनु अनि तिनीहरूको मृत्युको तरिका र समयहरू पनि फरक-फरक हुनुको कारण यही नै हो। कतिपय मानिसहरू बलियो र स्वस्थ हुन्छन्, तैपनि तिनीहरू जवानीमै मर्छन्; अरू चाहिँ कमजोर र बिरामी भइरहने हुन्छन्, तैपनि तिनीहरू वृद्ध अवस्थासम्म बाँच्छन् र शान्तिसाथ मरेर जान्छन्। केही मानिसहरू अस्वाभाविक कारणले मर्छन्, अरूहरू स्वाभाविक रूपमा मर्छन्। कतिपयले घरबाट टाढा हुँदा आफ्नो जीवन त्याग्छन्, अरूहरूले आफ्ना प्रियजन आफ्नै छेउ हुँदा आफ्ना आँखाहरू अन्तिम पटक चिम्लिन्छन्। कतिपय मानिसहरू मध्याकाशमा मर्छन्, अरूहरू पृथ्वीमुनि मर्छन्। कतिपय मानिसहरू पानीमा डुब्छन्, अरूहरू विपत्तिमा बेपत्ता हुन्छन्। कोही बिहान मर्छन्, अरूहरू राती। … हरेक व्यक्तिले प्रतिष्ठापूर्ण जन्म, शानदार जीवन, अनि वैभवपूर्ण मृत्यु चाहन्छ, तर कसैले पनि आफ्नो नियति नाघेर जान सक्दैन, कोही पनि सृष्टिकर्ताको सार्वभौमिकताबाट उम्कन सक्दैन। मानव नियति यही हो। मानिसले आफ्नो भविष्यको लागि अनेक किसिमका योजनाहरू बनाउन सक्छ, तर कसैले पनि आफ्नो जन्म र संसारबाट आफू विदा हुने तरिका र समय योजना गर्न सक्दैन। मानिसहरूले मृत्युको आगमनबाट बच्न र त्यसलाई रोक्न सक्दो कोशिश गर्छन्, तैपनि तिनीहरूले थाहै नपाई मृत्यु चुपचाप नजिक आइपुग्छ। कसैले पनि आफू कहिले वा कहाँ बित्ने हो थाहा पाउँदैन, यो कहाँ हुनेछ भन्ने कुरा थाहा हुनु त परै जाओस्। स्पष्टत: जीवन र मृत्युको शक्ति मानवजातिमा छैन, प्राकृतिक संसारको कुनै प्राणीमा छैन, तर सृष्टिकर्तामा छ, जसको अख्तियार अद्वितीय छ। मानवजातिको जीवन र मृत्यु प्राकृतिक संसारको कुनै नियमको उपज होइन, यो त सृष्टिकर्ताको अख्तियारको सार्वभौमिकताको परिणाम हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
५४४. परमेश्वरको अख्तियारअन्तर्गत हरेक व्यक्तिले उहाँका सार्वभौमिकता र बन्दोबस्तहरूलाई सक्रिय वा निष्क्रिय रूपमा स्वीकार गर्छ, अनि आफ्नो जीवनकालमा व्यक्तिले जसरी संघर्ष गरे पनि, व्यक्तिले जति वटा कुटिल मार्गहरू हिँडे पनि, आखिरमा तिनीहरू सृष्टिकर्ताले तिनीहरूका लागि कोर्नुभएको नियतिको परिक्रमा पथमा नै फर्कनेछन्। यो सृष्टिकर्ताको अख्तियारको अजेयता र उहाँको अख्तियारले ब्रह्माण्डलाई नियन्त्रण र शासन गर्ने तरिका हो। यही अजेयता, नियन्त्रण र शासनको यही स्वरूप नै ती नियमहरूको लागि जिम्मेवार छ जसले यावत् थोकको जीवनलाई नियन्त्रण गर्छन्, हस्तक्षेपविना नै बारम्बार मानिसहरूलाई पुनर्जन्म लिन दिन्छन्, अनि दिनहुँ, वर्षौंवर्ष संसारलाई नियमित रूपमा घुम्ने र अघि बढ्ने तुल्याउँछन्। तिमीहरूले यी सबै तथ्यहरूलाई देखेका छौ र सतही रूपमा भए पनि वा गहन रूपमा भए पनि तिमीहरूले तिनलाई बुझ्छौ, अनि तिमीहरूको बुझाइको गहिराइ सत्यतासम्बन्धी तिमीहरूको अनुभव र ज्ञान, र परमेश्वरसम्बन्धी तिमीहरूको ज्ञानमा निर्भर रहन्छ। तैँले सत्यताको यथार्थलाई कति राम्ररी जान्दछस्, तैँले परमेश्वरका वचनहरूलाई कति धेरै अनुभव गरेको छस्, तैँले परमेश्वरको सार र स्वभावलाई कति राम्ररी जान्दछस्—यी सबैले परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूसम्बन्धी तेरो बुझाइको गहिराइलाई प्रतिनिधित्व गर्छन्। के परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरूको अस्तित्व मानवजाति त्यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्ने कुरामा निर्भर हुन्छ? के परमेश्वरमा यो अख्तियार छ भन्ने तथ्य मानवजाति यसमा समर्पित हुन्छन् कि हुँदैनन् भन्ने कुराद्वारा निर्धारित हुन्छ? परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्वरको अख्तियार अस्तित्वमा रहन्छ। सबै परिस्थितिहरूमा, परमेश्वरले आफ्ना विचार र कामनाहरूअनुसार मानव नियति र सबै कुराहरूलाई नियन्त्रण र व्यवस्थित गर्नुहुन्छ। मानव परिवर्तनको परिणामस्वरूप यो परिवर्तन हुनेछैन; यो मानिसको इच्छाबाट स्वतन्त्र हुन्छ, समय, स्थान, र भूगोलमा आएको कुनै परिवर्तनले यसलाई हेरफेर गर्न सक्दैन, किनभने परमेश्वरको अख्तियार नै उहाँको सारतत्व हो। मानिसले परमेश्वरको सार्वभौमिकतालाई जान्न र स्वीकार गर्न सक्छ कि सक्दैन, अनि यसमा मानिस समर्पित हुन सक्छ कि सक्दैन—यीमध्ये कुनै पनि विचारले मानव नियतिमाथि रहेको परमेश्वरको सार्वभौमिकताको तथ्यलाई रत्तिभर परिवर्तन गर्न सक्दैन। भन्नुको अर्थ, परमेश्वरको सार्वभौमिकताप्रति मानिसले जस्तोसुकै मनोवृत्ति लिए तापनि, मानव नियति र यावत् थोकमाथि परमेश्वरकै सार्वभौमिकता छ भन्ने तथ्यलाई यसले परिवर्तन गर्नै सक्दैन। यदि तँ परमेश्वरको सार्वभौमिकतामा समर्पित भइनस् भने पनि, तेरो भाग्यमाथि उहाँको नियन्त्रण रहिरहन्छ; तैँले उहाँको सार्वभौमिकतालाई जान्न सकिनस् भने पनि, उहाँको अख्तियार अस्तित्वमा रहिरहन्छ। परमेश्वरको अख्तियार अनि मानव नियतिमाथि परमेश्वरको सार्वभौमिकता छ भन्ने तथ्य मानव इच्छाबाट स्वतन्त्र छन्, र मानिसका रुचि र निर्णयहरूअनुसार ती परिवर्तन हुँदैनन्। परमेश्वरको अख्तियार जहाँसुकै, जुनसुकै घडीमा, जुनसुकै क्षणमा हुन्छ। स्वर्ग र पृथ्वी मरेर जालान्, तर उहाँको अख्तियार कहिल्यै पनि मर्नेछैन, किनभने उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, उहाँसँग अद्वितीय अख्तियार छ, अनि उहाँको अख्तियार मानिसहरू, घटनाहरू, वा द्रव्यहरूद्वारा, स्थान वा भूगोलद्वारा प्रतिबन्धित वा सीमित छैन। सधैँभरि नै, परमेश्वरले आफ्नो अख्तियार प्रयोग गर्नुहुन्छ, आफ्नो शक्ति देखाउनुहुन्छ, उहाँले सधैँ गर्नुभएझैँ आफ्नो व्यवस्थापन कार्यलाई जारी राख्नुहुन्छ; सधैँभरि नै, उहाँले सधैँ गर्नुभएझैँ, यावत् थोकलाई शासन गर्नुहुन्छ, यावत् थोकको लागि बन्दोबस्त गर्नुहुन्छ, यावत् थोकलाई योजनाबद्ध गर्नुहुन्छ। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन। तथ्य यही हो; अनन्त समयदेखि नै यो अपरिवर्तनीय सत्यको रूपमा रहिआएको छ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
५४५. परमेश्वरको अख्तियारसम्बन्धी सत्यताहरू हरेक व्यक्तिले गम्भीर रूपमा लिनुपर्ने, आफ्नो हृदयबाट अनुभव गर्नुपर्ने र बुझ्नुपर्ने सत्यताहरू हुन्; किनभने यी सत्यताहरूले हरेक व्यक्तिको जीवनमा प्रभाव पार्दछन्; हरेक व्यक्तिको विगत, वर्तमान, र भविष्यमा प्रभाव पार्दछन्; हरेक व्यक्तिले जीवनमा पार गर्नैपर्ने महत्त्वपूर्ण घडीहरूमा प्रभाव पार्दछन्; परमेश्वरको सार्वभौमिकतासम्बन्धी मानिसको ज्ञान र परमेश्वरको अख्तियारलाई व्यक्तिले सामना गर्नुपर्ने मनोवृत्तिमा प्रभाव पार्दछन्; अनि, स्वाभाविक रूपमै, हरेक व्यक्तिको अन्तिम गन्तव्यलाई प्रभाव पार्दछन्। त्यसकारण, तिनलाई जान्न र बुझ्नको लागि जीवनभरको मोल आवश्यक पर्छ। जब तैंले परमेश्वरको अख्तियारलाई प्रत्यक्ष रूपमा हेर्छस्, जब तैँले उहाँको सार्वभौमिकतालाई स्वीकार गर्छस्, तब तैँले क्रमिक रूपमा परमेश्वरको अख्तियारको अस्तित्वसम्बन्धी सत्यतालाई महसुस गर्नेछस् र बुझ्नेछस्। तर यदि तैँले परमेश्वरको अख्तियारलाई कहिल्यै पहिचान गर्दैनस् र उहाँको सार्वभौमिकतालाई कहिल्यै स्वीकार गर्दैनस् भने, तँ जति वर्ष बाँचे पनि, तैँले परमेश्वरको सार्वभौमिकताको अलिकति ज्ञान पनि प्राप्त गर्नेछैनस्। यदि तैँले परमेश्वरको अख्तियारलाई साँचो रूपमा जान्दैनस् र बुझ्दैनस् भने, तैँले दशकौंसम्म परमेश्वरमा विश्वास गरेको भए पनि, तँ बाटोको अन्त्यमा पुग्दा तँसँग आफ्नो जीवनको लागि देखाउने कुरा केही पनि हुँदैन, अनि स्वाभाविक रूपमै तँसँग मानव नियतिमाथिको परमेश्वरको सार्वभौमिकताको अलिकति ज्ञान समेत हुनेछैन। के यो अत्यन्तै दुःखलाग्दो कुरा होइन र? त्यसैले, तैँले जीवनमा जति नै धेरै हिँडिसकेको भए पनि, तँ अहिले जति नै उमेरको भए पनि, तेरो बाँकी यात्रा जति नै लामो भए पनि, तैँले सर्वप्रथम परमेश्वरको अख्तियारलाई पहिचान गरेर त्यसलाई गम्भीर रूपमा लिनैपर्छ, अनि परमेश्वर तेरो अद्वितीय मालिक हुनुहुन्छ भन्ने तथ्यलाई स्वीकार गर्नैपर्छ। मानव नियतिमाथि परमेश्वरको सार्वभौमिकतासम्बन्धी यी सत्यताहरूको स्पष्ट एवं सही ज्ञान र बुझाइ हरेक व्यक्तिले सिक्नुपर्ने अनिवार्य पाठ हुन्; यो पाठ मानव जीवनलाई जान्ने र सत्यतालाई प्राप्त गर्ने चाबी हो। परमेश्वरलाई चिन्ने जीवन, यसको अध्ययनको आधारभूत पाठ्यक्रम यही नै हो, जसलाई हरेकले प्रत्येक दिन सामना गर्नुपर्छ अनि जसबाट कोही पनि उम्कन सक्दैन। यदि यो लक्ष्यमा पुग्नको लागि कसैले छोटो बाटो लिन चाहन्छ भने, म तँलाई अहिले नै भन्छु, यो असम्भव छ! यदि तँ परमेश्वरको सार्वभौमिकताबाट उम्कन चाहन्छस् भने, त्यसको सम्भावना त झन अझै कम छ! परमेश्वर मानिसको एक मात्र प्रभु हुनुहुन्छ, मानव नियतिको एक मात्र मालिक परमेश्वर नै हुनुहुन्छ, त्यसकारण मानिसले आफ्नो नियति आफै नियन्त्रण गर्न असम्भव छ, ऊसले नियतिबाहिर पाइला टेक्न असम्भव छ। व्यक्तिका क्षमताहरू जति नै ठूला भए पनि, उसले अरूको नियतिलाई प्रभाव पार्न सक्दैन, त्यसलाई योजनाबद्ध गर्ने, व्यवस्थित गर्ने, नियन्त्रण गर्ने, वा परिवर्तन गर्ने कुरा त परै जाओस्। परमेश्वर स्वयम्, अद्वितीय उहाँले मात्रै मानिसको लागि सबै कुरा नियन्त्रण गर्नुहुन्छ, किनभने मानव नियतिमाथि सार्वभौमिकता राख्ने अद्वितीय अख्तियार उहाँसँग मात्रै छ, र त्यसैले सृष्टिकर्ता मात्रै मानिसको अद्वितीय मालिक हुनुहुन्छ। सृष्टि गरिएका मानवजातिमाथि मात्रै होइन, कुनै पनि मानिसले देख्न नसक्ने सृष्टि नगरिएका प्राणीहरू, तारामण्डल, आकाशमण्डलमाथि समेत परमेश्वरको अख्तियारको सार्वभौमिकता छ। यो निर्विवाद तथ्य हो, साँचो रूपमा अस्तित्वमा रहेको तथ्य हो, जसलाई कुनै पनि व्यक्ति वा वस्तुले परिवर्तन गर्न सक्दैन। यदि तिमीहरूमध्ये कोही अझै पनि आफूसँग केही विशेष सीप वा क्षमता छ भन्ने विश्वास गर्दै, र सौभाग्यले आफ्नो वर्तमान परिस्थितिहरूलाई परिवर्तन गर्न वा ती परिस्थितिहरूबाट उम्कन सक्छु भन्ने ठान्दै, हाल अवस्था वा काम-कुराहरू जे-जस्तो रूपमा छन त्यसप्रति असन्तुष्ट छौ भने, यदि तिमीहरूले आफ्नो नियतिलाई मानव प्रयासको माध्यमद्वारा परिवर्तन गरेर आफूलाई आफ्ना साथीसंगीहरूभन्दा राम्रो देखाउने र ख्याति र सम्पत्ति कमाउने प्रयास गर्छौ भने, म तँलाई भन्छु, तैँले आफ्नै लागि परिस्थिति कठिन तुल्याइरहेको छस्, तैँले दु:ख पाउन मात्र खोजिरहेको छस्, तैँले आफ्नै चिहान खनिरहेको छस्! ढिलो-चाँडो, एक दिन तैँले आफूले गलत निर्णय गरेछु र आफ्ना प्रयासहरू व्यर्थ भएछन् भन्ने पत्ता लगाउनेछस्। नियति विरुद्ध संघर्ष गर्ने तेरो महत्वाकांक्षा, तेरो इच्छा, अनि तेरो आफ्नै खराब आचरणले तँलाई फर्की आउनै नसकिने ओरालो बाटोतर्फ डोर्याउनेछ, अनि यसको लागि तैँले तीतो मूल्य चुकाउनेछस्। हाल तैँले यी परिणामहरूको गम्भीरतालाई नदेख्ने भए तापनि, परमेश्वर नै मानव नियतिका मालिक हुनुहुन्छ भन्ने सत्यतालाई अझै गहन रूपमा अनुभव गर्दै र बुझ्दै जाने क्रममा, तैँले बिस्तारै मैले आज बोलेको कुरा र यसको वास्तविक अर्थहरूलाई महसुस गर्दै जानेछस्। तँसँग साँचो रूपमा हृदय र आत्मा छ कि छैन अनि तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् कि होइनस् भन्ने कुरा परमेश्वरको सार्वभौमिकता र सत्यताप्रति तैँले कस्तो मनोवृत्ति राख्छस् त्यसमा भर पर्छ। यसले स्वाभाविक रूपमै तैँले परमेश्वरको अख्तियारलाई साँचो रूपमा चिन्न र बुझ्न सक्छस् कि सक्दैनस् भन्ने कुरालाई निर्धारित गर्छ। यदि तैँले आफ्नो जीवनमा परमेश्वरको अख्तियारलाई पहिचान गरी स्वीकार गर्नु त कता हो कता, परमेश्वरको सार्वभौमिकता र उहाँको बन्दोबस्तहरूलाई समेत कहिल्यै बुझेको छैनस् भने, तँ सम्पूर्ण रूपले बेकम्मा हुनेछस्, अनि तैँले लिएको मार्ग र तैँले रोजेको विकल्पको कारण तँ नि:सन्देह परमेश्वरको घृणा र तिरस्कारको पात्र हुनेछस्। तर परमेश्वरको कार्यमा उहाँको परीक्षालाई स्वीकार गर्न सक्ने, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्न सक्ने, उहाँको अख्तियारमा समर्पित हुन सक्ने, अनि क्रमिक रूपमा उहाँका वचनहरूको वास्तविक अनुभव प्राप्त गर्न सक्ने व्यक्तिहरूले परमेश्वरको अख्तियारको वास्तविक ज्ञान, उहाँको सार्वभौमिकताको वास्तविक बुझाइ प्राप्त गरेका हुनेछन्; तिनीहरू साँचो रूपमा सृष्टिकर्ताको अधीनमा रहेका हुनेछन्। त्यस्ता मानिसहरू मात्रै साँचो रूपमा उद्दार गरिएका हुनेछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
५४६. परमेश्वरले यस संसारलाई सृष्टि गर्नुभयो, उहाँले यस मानवजातिलाई सृष्टि गर्नुभयो, साथै उहाँ प्राचीन ग्रीक संस्कृति र मानव सभ्यताका योजनाकार हुनुहुन्थ्यो। परमेश्वरले मात्र यस मानवजातिलाई सान्त्वना दिनुहुन्छ, र परमेश्वरले मात्र यस मानवजातिलाई रात र दिन हेरचाह गर्नुहुन्छ। मानव विकास र प्रगति परमेश्वरको सार्वभौमिकताबाट अविभाज्य छन्, र मानवजातिको इतिहास र भविष्य परमेश्वरका योजनाहरूबाट अलग छैनन्। यदि तँ साँचो इसाई होस् भने, कुनै पनि देश वा राज्यको उदय र पतन परमेश्वरको योजनाअनुसार हुन्छ भनी तैँले अवश्य पनि विश्वास गर्छस्। एक देश वा राज्यको नियति परमेश्वरलाई मात्र थाहा छ, अनि परमेश्वरले मात्र यस मानवजातिको गति-पथलाई नियन्त्रण गर्नुहुन्छ। यदि मानवजातिले असल नियति भएको चाहना गर्छ भने, यदि कुनै देशले असल नियति चाहन्छ भने, मानवजातिले परमेश्वरको आराधनामा घुँडा टेक्नुपर्छ, परमेश्वरका सामु पश्चाताप गर्नुपर्छ र स्वीकार गर्नुपर्छ, अन्यथा मानवको नियति र गन्तव्य रोक्नै नसकिने गरी विनाश हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ
५४७. मानवजाति र ब्रह्माण्डका नियतिहरू सृष्टिकर्ताको सार्वभौमिकतासँग घनिष्ट रूपले गाँसिएका र सृष्टिकर्ताका योजनाबद्ध कार्यहरूसँग अभिन्न रूपले जोडिएका हुन्छन्; आखिरमा, तिनीहरू सृष्टिकर्ताको अख्तियारसँग अभिन्न हुन्छन्। सबै कुराहरूका नियमहरूमा, मानिसले सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र उहाँको सार्वभौमिकतालाई बुझ्न पुग्छ; सबै कुराहरूको अस्तित्वका नियमहरूमा, उसले सृष्टिकर्ताको शासनलाई जान्न पुग्छ; सबै कुराहरूका नियतिहरूमा, उसले सृष्टिकर्ताले कसरी तिनीहरूउपर आफ्नो सार्वभौमिकता र नियन्त्रण प्रयोग गर्नुहुन्छ सो निश्कर्ष निकाल्न पुग्छ; अनि मानवजाति र यावत् थोकका जीवनचक्रहरूमा मानिसले साँच्चै नै यी यावत् थोक र जीवित प्राणीहरूका निम्ति सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूको अनुभव गर्न पुग्छ, कसरी ती योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूले सारा सांसारिक कानुनहरू, नियमहरू, र संस्थाहरू, अन्य सारा शक्तिहरू र सामर्थ्यहरूलाई नाघ्छन् भन्ने कुरा देख्न पुग्छ। त्यसो हुनाले, सृष्टिकर्ताको सार्वभौमिकतालाई कुनै पनि सृष्टि गरिएको प्राणीले उल्लङ्घन गर्न सक्दैन, सृष्टिकर्ताले पूर्वनिर्धारित गर्नुभएका घटनाहरू र काम-कुराहरूलाई कुनै पनि शक्तिले खोस्न वा उल्ट्याउन सक्दैन भन्ने कुरा स्वीकार गर्न मानवजाति बाध्य छ। यिनै ईश्वरीय व्यवस्था र नियमहरूमा नै मानवजाति अनि यावत् थोक जिउँछन् र एक पुस्तादेखि अर्को पुस्तासम्म वृद्धि हुँदै जान्छन्। के सृष्टिकर्ताको अख्तियारको साँचो मूर्त रूप यही होइन र?
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
५४८. परमेश्वरमा अख्तियार र शक्ति भए तापनि, उहाँका कार्यहरूमा उहाँ अत्यन्तै दृढ र सिद्धान्त केन्द्रित हुनुहुन्छ, र आफ्नो वचनमा प्रतिबद्ध रहनुहुन्छ। उहाँको दृढता, र उहाँका कार्यहरूका सिद्धान्तहरूले सृष्टिकर्ताको उल्लङ्घन गर्न नसकिने गुण र सृष्टिकर्ताको अख्तियारको विजय गर्न नसकिने क्षमतालाई देखाउँछ। उहाँसँग सर्वोच्च अख्तियार भए तापनि, र सबै थोक उहाँकै प्रभुत्वमुनि भए तापनि, र उहाँसँग सबै थोकमाथि शासन गर्ने शक्ति भए तापनि, परमेश्वरले आफ्नै योजनालाई कहिल्यै नष्ट गर्ने वा भङ्ग गर्ने गर्नुभएको छैन, र उहाँले जब-जब आफ्नो अख्तियारको प्रयोग गर्नुहुन्छ, यो पूर्ण रूपमा उहाँका आफ्नै सिद्धान्तहरू अनुसार हुन्छ, र यसले उहाँको मुखबाट बोलिएको कुरालाई नै पछ्याउँछ, र उहाँको योजनाका चरण र उद्देश्यहरूलाई नै पछ्याउँछ। अवश्य नै, परमेश्वरले शासन गर्नुहुने सबै थोकले परमेश्वरको अख्तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै पालना गर्छन्, र उहाँको अख्तियारका प्रबन्धहरूबाट कुनै पनि मानिस वा वस्तुलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्तियार प्रयोगका सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। परमेश्वरको नजरमा, जसले आशिष् पाएका छन् तिनीहरूले उहाँको अख्तियारले ल्याएको सौभाग्य प्राप्त गर्छन्, र जो श्रापित छन् तिनीहरूले परमेश्वरकै अख्तियारको कारण आफ्ना दण्ड प्राप्त गर्छन्। परमेश्वरको अख्तियारको सार्वभौमिकताको अधीनमा, उहाँको अख्तियारको प्रयोगबाट कुनै पनि मानिस वा थोकलाई छूट छैन, न त तिनीहरूले उहाँको अख्तियार प्रयोग गरिने सिद्धान्तहरूलाई नै परिवर्तन गर्न सक्छन्। सृष्टिकर्ताको अख्तियारलाई कुनै पनि कारकतत्वमा आउने परिवर्तनले परिवर्तन गर्न सक्दैन, त्यसरी नै, उहाँको अख्तियारको प्रयोग गरिने सिद्धान्तहरू कुनै पनि कारणले परिवर्तन हुँदैनन्। स्वर्ग र पृथ्वी ठूला-ठूला परिवर्तनहरू भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्तियार परिवर्तन हुनेछैन; सबै थोक लोप भएर जान सक्छन्, तर सृष्टिकर्ताको अख्तियार कहिल्यै हराउनेछैन। सृष्टिकर्ताको अपरिवर्तनीय र उल्लङ्घन गर्न नसकिने अख्तियारको सार यही हो, र सृष्टिकर्ताको अद्वितीयपन यही नै हो!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५४९. शैतानले परमेश्वरको अख्तियार भङ्ग गर्ने आँट कहिल्यै गरेको छैन, यति मात्र होइन, परमेश्वरका आदेशहरू र निश्चित आज्ञाहरूलाई सधैँ ध्यान दिएर सुनेको र पालन गरेको छ, र तिनलाई उल्लङ्घन गर्ने कहिल्यै आँट गरेको छैन, र अवश्य नै, परमेश्वरका कुनै पनि आज्ञाहरूलाई स्वतन्त्र रूपमा परिवर्तन गर्ने आँट गरेको छैन। परमेश्वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू यिनै थिए, त्यसकारण शैतानले यी सीमितताहरूलाई नाघ्ने आँट कहिल्यै गरेन। के यो परमेश्वरको अख्तियारको सामर्थ्य होइन र? के यो परमेश्वरको अख्तियारको साक्षी होइन र? परमेश्वरप्रति कस्तो व्यवहार गर्ने र परमेश्वरप्रति कस्तो दृष्टिकोण राख्ने भन्ने बारेमा मानवजातिलाई भन्दा शैतानलाई अझै बढी स्पष्ट रूपमा थाहा छ, त्यसकारण, आत्मिक संसारमा, शैतानले परमेश्वरको हैसियत र अख्तियारलाई स्पष्ट रूपमा देख्छ, र त्यसमा परमेश्वरको अख्तियारको सामर्थ्य र उहाँको अख्तियार प्रयोगको पछाडि रहेका सिद्धान्तहरूका बारेमा गहन कदर छ। यसले तिनलाई बेवास्ता गर्ने आँट गर्दै-गर्दैन, न त तिनलाई कुनै पनि हालतमा उल्लङ्घन गर्ने, वा परमेश्वरको अख्तियारलाई भङ्ग गर्ने कुनै काम गर्ने आँट नै गर्छ, र त्यसले कुनै पनि हालतमा परमेश्वरको क्रोधलाई चुनौती दिने आँट गर्दैन। त्यो प्रकृतिमा दुष्ट र अहङ्कारी भए तापनि, परमेश्वरले त्यसको लागि तय गर्नुभएका परिधि र सीमाहरूलाई नाघ्ने आँट शैतानले कहिल्यै गरेको छैन। करोडौँ वर्षसम्म, यसले यी परिधिहरूलाई कडाइको साथ पालन गरेको छ, परमेश्वरले त्यसलाई दिनुभएको हरेक आज्ञा र आदेशलाई पालन गरेको छ, र घेरालाई नाघ्ने आँट कहिल्यै गरेको छैन। यो दुर्भावनापूर्ण भए तापनि, शैतान भ्रष्ट मानवजातिभन्दा निकै बुद्धिमानी छ; त्यसलाई सृष्टिकर्ताको पहिचान थाहा छ, र त्यसका आफ्नै सीमाहरू थाहा छ। शैतानको “समर्पित” कार्यहरूबाट के देख्न सकिन्छ भने, परमेश्वरको अख्तियार र शक्ति स्वर्गीय अध्यादेशहरू हुन् जसलाई शैतानले नाघ्न सक्दैन, र परमेश्वरको अद्वितीयपन र अख्तियारकै कारणले सबै थोक सुव्यवस्थित रूपमा परिवर्तन हुन्छन् र वृद्धि हुन्छन्, परमेश्वरले स्थापना गर्नुभएको मार्गभित्र रही मानवजाति जिउन र वृद्धि हुन सक्छ, यो आदेशलाई परेशान गर्ने कुनै व्यक्ति वा वस्तु छैन, र यो नियमलाई परिवर्तन गर्न सक्ने कुनै व्यक्ति वा वस्तु छैन—किनभने तिनीहरू सबै सृष्टिकर्ताको हातबाट, र सृष्टिकर्ताको आदेश र अख्तियारबाट आउँछन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५५०. शैतानको विशेष पहिचानले गर्दा धेरै मानिसहरूलाई विभिन्न पक्षहरूको प्रकटीकरणमा बलियो रुचि प्रदर्शन गर्ने तुल्याएको छ। परमेश्वरजस्तै शैतानमा पनि अख्तियार छ, किनभने शैतानले पनि आश्चर्यकर्महरू देखाउन सक्छ, र मानवजातिको लागि असम्भव रहेका कुराहरू गर्न सक्छ भनी विश्वास गर्ने धेरै मूर्ख मानिसहरू समेत छन्। त्यसैले, परमेश्वरलाई आराधना गर्ने बाहेक, मानिसले आफ्नो हृदयमा शैतानको लागि पनि ठाउँ साँचेर राख्छ, र शैतानलाई परमेश्वरको रूपमा आराधना समेत गर्छ। यी मानिसहरू दयनीय र घृणास्पद दुवै छन्। तिनीहरूको अज्ञानताको कारण तिनीहरू दयनीय छन्, र तिनीहरूको विधर्म र अन्तर्निहित दुष्ट सारको कारण तिनीहरू घृणास्पद छन्। यस विन्दुमा, तिमीहरूलाई अख्तियार भनेको के हो, यो केको प्रतीक हो, र यसले केलाई प्रतिनिधित्व गर्छ सो बारेमा जानकारी दिनु अत्यावश्यक छ भन्ने मलाई लाग्छ। वृहत् रूपमा भन्दा, परमेश्वर स्वयम् नै अख्तियार हुनुहुन्छ, उहाँको अख्तियार परमेश्वरको सर्वोच्चता र सारको प्रतीक हो, र परमेश्वर स्वयम्को अख्तियारले परमेश्वरको हैसियत र पहिचानलाई प्रतिनिधित्व गर्छ। यसो हुनाले, के शैतानले त्यो आफै परमेश्वर हो भनेर भन्ने आँट गर्छ? के शैतानले त्यसले नै सबै थोक सृष्टि गरेको हो, र सबै थोकमाथि त्यसको सार्वभौमिकता छ भनेर भन्ने आँट गर्छ? अवश्य यसले त्यसो भन्दैन! किनभने यसले सबै थोक सृष्टि गर्न सक्दैन; अहिलेको मितिसम्म, परमेश्वरले सृष्टि गर्नुभएको कुनै पनि थोक यसले बनाएको छैन, र जीवन भएको कुनै पनि कुरा सृष्टि गरेको छैन। त्योसँग परमेश्वरको अख्तियार नभएको हुनाले, त्यसमा परमेश्वरको हैसियत र पहिचान हुनु कहिल्यै सम्भव हुन सक्दैन, र यसलाई त्यसकै सारले निर्धारित गर्छ। के त्योसँग परमेश्वरको जस्तै शक्ति छ? अवश्य त्यसमा त्यस्तो शक्ति छैन! शैतानले गरेका कार्यहरूलाई, र शैतानले प्रदर्शन गरेका आश्चर्यकर्महरूलाई हामी के भन्छौं? के यो शक्ति हो? के यसलाई अख्तियार भनेर भन्न सकिन्छ? अवश्य सकिँदैन! शैतानले दुष्टताको छाललाई निर्देशित गर्छ, र परमेश्वरको कार्यका हरेक पक्षलाई बिथोल्ने, बिगार्ने, र बाधा दिने गर्छ। विगतका हजारौं वर्षदेखि, मानवजातिलाई भ्रष्ट तुल्याउने र दुर्व्यवहार गर्ने, र मानिस मृत्युको छायाको घाटीतर्फ हिँडोस् भनेर मानिसलाई प्रलोभनमा पर्ने र छल गर्ने गरेर भ्रष्टता र परमेश्वरलाई इन्कार गर्ने कार्यमा लगाउने बाहेक, के शैतानले त्यस्तो केही गरेको छ जसको लागि मानिसले त्यसलाई अलिकति समेत स्मरण गर्नु, तारिफ गर्नु, वा कदर गर्नु योग्य छ? यदि शैतानसँग अख्तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा भ्रष्ट तुल्याइएको हुनेथियो? यदि शैतानसँग अख्तियार र शक्ति भएको भए, के मानवजातिलाई यसद्वारा हानी गरिएको हुनेथियो? यदि शैतानसँग शक्ति र अख्तियार भएको भए, के मानवजाति परमेश्वरलाई त्यागेर मृत्युको शरण परेको हुनेथियो? शैतानसँग कुनै अख्तियार वा शक्ति नभएको हुनाले, त्यसले गर्ने सबै कुराको सारको बारेमा हामीले के निष्कर्ष निकाल्नुपर्छ? शैतानले गर्ने सबै कुरा छल मात्रै हुन् भनेर परिभाषित गर्नेहरू पनि छन्, तैपनि त्यस्तो परिभाषा त्यति उपयुक्त छैन भन्ने मलाई विश्वास छ। के मानवजातिलाई भ्रष्ट तुल्याउने त्यसका दुष्ट कार्यहरू छल मात्रै हुन् त? अय्यूबलाई दुर्व्यवहार गर्नको लागि शैतानले प्रयोग गरेको दुष्टताको शक्ति, र तिनलाई दुर्व्यवहार गर्ने र तिनलाई निल्ने त्यसको तीव्र इच्छालाई छलद्वारा मात्रै हासिल गर्न सकिँदैन। फर्केर हेर्दा, पहाड-पर्वतभरि टाढा-टाढासम्म छरपष्ट भएका अय्यूबका बथान र बगालहरू एकै क्षणमा विलय भएका थिए; एकै क्षणमा, अय्यूबको भाग्य हराएर गयो। के त्यसलाई छलले मात्रै हासिल गर्न सकियो? शैतानले गर्ने सबै कुराको प्रकृति बिगार्ने, बिथोल्ने, नष्ट गर्ने, हानी गर्ने, दुष्टता, दुर्भावना, र अन्धकार जस्ता नकरात्मक शब्दहरूसँग सम्बन्धित छन् र तीसँग मिल्छन्, त्यसकारण घट्ने सबै अधार्मिकता र दुष्ट घटनाहरू अपरिहार्य रूपमा नै शैतानका कार्यहरूसँग जोडिएका हुन्छन्, र त्यसलाई शैतानको दुष्ट सारबाट अलग गर्न सकिँदैन। शैतान जति नै “शक्तिशाली” भए तापनि, त्यो जति नै दुस्साहसी र महत्त्वाकांक्षी भए तापनि, हानी पुर्याउने यसकोक्षमता जति नै ठूलो भए पनि, त्यसले मानिसलाई भ्रष्ट तुल्याउने र प्रलोभनमा पार्ने उपायहरू जति नै धेरै भए पनि, त्यसले मानिसलाई विचलित बनाउने त्यसका चलाकी र युक्तिहरू जति नै चतुर भए तापनि, यो जति परिवर्तनीय स्वरूपमा अस्तित्वमा रहे तापनि, यसले एउटै जीवित प्राणीलाई सृष्टि गर्न कहिल्यै सकेको छैन, सबै थोकको अस्तित्वको लागि व्यवस्था वा नियमहरू कहिल्यै निर्माण गर्न सकेको छैन, र सजीव होस् वा निर्जीव होस् त्यसले कुनै पनि वस्तुलाई शासन गर्न र नियन्त्रण गर्न कहिल्यै सकेको छैन। आकाशमण्डल र वायुमण्डलमा, त्योबाट जन्मेको वा त्यसको कारणले अस्तित्वमा रहेको एक जना व्यक्ति वा थोक छैन; त्यसद्वारा शासन गरिएको, वा त्यसद्वारा नियन्त्रण गरिएको एउटै व्यक्ति वा वस्तु छैन। यसको विपरीत, त्यो परमेश्वरको प्रभुत्वमा जिउनु पर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, त्यसले परमेश्वरका सबै आदेश र आज्ञाहरूलाई पालन गर्नैपर्छ। परमेश्वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलोलाई हल्लाउने स्वतन्त्रता समेत छैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्। परमेश्वरको नजरमा, शैतान पहाडका लिली फूल, आकाशमा उड्ने चराचुरुङ्गी, समुद्रका माछा, र पृथ्वीका कीराभन्दा सानो छ। सबै थोकको बीचमा रहेको त्यसको भूमिका भनेको सबै थोकको सेवा गर्नु, र मानवजातिको लागि काम गर्नु, अनि परमेश्वरको काम र उहाँको व्यवस्थापन योजनामा सेवा गर्नु हो। त्यसको प्रकृति जस्तोसुकै दुर्भावनापूर्ण भए तापनि, र त्यसको सार जति नै दुष्ट भए तापनि, त्यसले गर्न सक्ने एउटै मात्र कुरा भनेको त्यसको कार्यगत गुणलाई कर्तव्यनिष्ठा भई पालन गर्नु हो: परमेश्वरको सेवामा हुनु, र परमेश्वरको लागि भिन्नताधार प्रदान गर्नु। शैतानको सार र स्थान यही नै हो। त्यसको सार जीवनसँग जोडिएको छैन, शक्तिसँग जोडिएको छैन, अख्तियारसँग जोडिएको छैन; त्यो परमेश्वरको सेवा गर्ने मेसिनजस्तै परमेश्वरको हातमा खेलिरहेको हुन्छ!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५५१. शैतानले अय्यूबमाथि लोभी नजरले हरेको भए तापनि, परमेश्वरको अनुमतिविना त्यसले अय्यूबको शरीरको एउटा रौँ समेत छुने आँट गरेन। शैतान अन्तर्निहित रूपमा दुष्ट र निर्दयी भए तापनि, परमेश्वरले त्यसको लागि उहाँको आदेश जारी गरिसक्नुभएपछि, परमेश्वरको आज्ञालाई पालना गर्ने बाहेक त्योसँग केही विकल्प थिएन। यसरी, जब त्यो अय्यूबकहाँ आयो त्यो भेडाको बीचमा ब्वाँसो झैँ अनियन्त्रित भएको भए तापनि, परमेश्वरले त्यसको निम्ति तोकिदिनुभएका सीमितताहरूलाई बिर्सने आँट त्यसले गरेन, परमेश्वरका आदेशहरूलाई उल्लङ्घन गर्ने आँट गरेन, र त्यसले गरेको सबै कुरामा, शैतानले परमेश्वरका वचनहरूका सिद्धान्त र सीमितताहरूबाट दायाँ-बायाँ गर्ने आँट गरेन—के यो तथ्य होइन र? यसबाट के देख्न सकिन्छ भने शैतानले यहोवा परमेश्वरका कुनै पनि वचनहरूलाई अवहेलना गर्ने आँट गर्दैन। शैतानको लागि, परमेश्वरको मुखबाट निस्केको हरेक वचन आदेश र स्वर्गीय कानुन, परमेश्वरको अख्तियारको अभिव्यक्ति हो—किनभने परमेश्वरको वचनको पछाडि परमेश्वरका आदेशहरूलाई उल्लङ्घन गर्नेहरू, र स्वर्गीय कानुनहरूलाई अवज्ञा गर्ने र विरोध गर्नेहरूलाई दिइने परमेश्वरका दण्डहरू इंगित गरिएको हुन्छ। यदि त्यसले परमेश्वरका आदेशहरू उल्लङ्घन गर्यो भने, परमेश्वरको अख्तियारलाई नाघेको र स्वर्गीय नियमहरूलाई विरोध गरेको परिणामहरूलाई त्यसले स्वीकार गर्नैपर्छ भन्ने कुरा शैतानलाई स्पष्टै थाहा छ। यी परिणामहरू आखिर के-के हुन् त? अवश्य नै, ती परमेश्वरले त्यसलाई दिनुहुने दण्ड हुन्। अय्यूबप्रति शैतानले गरेका कार्यहरू त्यसले मानिसलाई कति भ्रष्ट तुल्याएको छ भन्ने कुराको सानो टुक्रा मात्रै थियो, र जब शैतानले यी कार्यहरू गरिरहेका थिए, परमेश्वरले शैतानको लागि तय गर्नुभएका सीमितताहरू र उहाँले जारी गर्नुभएका आदेशहरू त्यसले गर्ने सबै कुराको पछाडिका सिद्धान्तहरूको सानो टुक्रा मात्रै थियो। यसको साथै, यस विषयमा शैतानको भूमिका र स्थान परमेश्वरको व्यवस्थापनको कार्यमा रहेको त्यसको भूमिका र स्थानको सानो भाग मात्रै थियो, र अय्यूबलाई परीक्षा गर्ने क्रममा शैतानले गरेको परमेश्वरको पूर्ण आज्ञापालन परमेश्वरको व्यवस्थापन कार्यमा कसरी शैतानले परमेश्वरलाई अलिकति विरोध गर्ने आँट पनि गरेन त्यसको सानो भाग मात्रै थियो। यी साना भागहरूले तिमीहरूलाई के चेतावनी दिन्छ? शैतान लगायत सबै थोकको बीचमा, सृष्टिकर्ताले तय गर्नुभएका स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्लङ्घन गर्न सक्ने कुनै व्यक्ति वा थोक छैन, र यी स्वर्गीय नियम र अध्यादेशहरूलाई उल्लङ्घन गर्ने आँट कुनै व्यक्ति वा थोकले गर्दैन, किनभने तिनलाई अवज्ञा गर्नेहरूलाई सृष्टिकर्ताले दिनुहुने दण्डलाई कुनै व्यक्ति वा थोकले परिवर्तन गर्न वा त्यसबाट उम्कन सक्दैन। सृष्टिकर्ताले मात्रै स्वर्गीय नियम र अध्यादेशहरू जारी गर्न सक्नुहुन्छ, तिनलाई लागू गर्ने शक्ति सृष्टिकर्तासँग मात्रै छ, र सृष्टिकर्ताको शक्तिलाई मात्रै कुनै व्यक्ति वा थोकले भङ्ग गर्न सक्दैन। सृष्टिकर्ताको अद्वितीय अख्तियार यही नै हो, र यो अख्तियार सबै थोकको बीचमा सबैभन्दा सर्वोच्च छ, त्यसकारण “परमेश्वर सबैभन्दा महान् हुनुहुन्छ र दोस्रो नम्बरमा शैतान छ” भनेर भन्नु असम्भव छ। अद्वितीय अख्तियार निहित भएको सृष्टिकर्ता बाहेक, अरू कुनै परमेश्वर छैन!
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५५२. शैतानले मानवजातिलाई हजारौं वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ। त्यसले असीमित मात्रामा दुष्टता ल्याएको छ, एकपछि अर्को पुस्तालाई धोका दिएको छ, र संसारमा भयानक अपराधहरू गरेको छ। त्यसले मानिसलाई दुर्व्यवहार गरेको छ, मानिसलाई धोका दिएको छ, मानिसलाई परमेश्वरको विरोध गर्न प्रलोभनमा पारेको छ, र बारम्बार परमेश्वरको व्यवस्थापन योजनालाई अलमल्याउने र दुर्बल तुल्याउने दुष्ट कार्यहरू गरेको छ। तैपनि, परमेश्वरको अख्तियारको अधीनमा, सबै थोक र जीवित प्राणीहरू परमेश्वरले तय गर्नुभएका नियम र व्यवस्थाहरूलाई नै निरन्तर पालना गर्छन्। परमेश्वरको अख्तियारको तुलनामा, शैतानको दुष्ट प्रकृति र उच्छृङ्खलता अत्यन्तै कुरूप, अत्यन्तै घिन लाग्दो र तुच्छ, र अत्यन्तै सानो र असहाय छ। शैतान परमेश्वरले सृष्टि गर्नुभएको सबै थोकको बीचमा हिँड्ने भए तापनि, परमेश्वरले हुकुम चलाउनुहुने मानिस, कामकुरा, र वस्तुहरूमा यसले अलिकति पनि परिवर्तन ल्याउन सक्दैन। हजारौं वर्ष बितिसकेको छ, र मानवजातिले अझै पनि परमेश्वरले दिनुभएको ज्योति र हावाको आनन्द लिन्छ, परमेश्वर स्वयम्ले फुकिदिनुभएको सासद्वारा सास फेर्छ, परमेश्वरले सृष्टि गर्नुभएका फूल, चराचुरुङ्गी, माछा र कीरा-फट्याङ्ग्रामा रमाउँछ, र परमेश्वरले प्रदान गर्नुभएका सबै थोकमा आनन्द लिन्छ; दिन र रात अझै पनि आउने-जाने क्रम जारी छ; सधैँ झैँ चार ऋतु परिवर्तन भइरहन्छ; आकाशमा उड्ने हांस शिशिरमा बिदा हुन्छन्, तैपनि अर्को वसन्तमा फर्कन्छन्; पानीमा बस्ने माछाले कहिल्यै पनि तिनीहरूको घर, अर्थात् खोलानाला र ताल-तलैयालाई छोड्दैन; ग्रीष्म याममा पृथ्वीका झ्याउँकिरीहरू आफ्नो हृदयबाट गीत गाउँछन्; शरद याममा घाँस-पातभित्रबाट किरकिर गर्ने फट्याङ्ग्रोले बताससँगै समय-समयमा मन्द स्वरमा गुनगुनाउँछ; हाँसहरू बथानमा भेला हुन्छन्, जबकी चीलहरू एकला-एकलै रहन्छन्; सिंहका समूहले सिकार खेलेर आफ्नो पेट पाल्छन्; बाह्रसिङ्गे मृग घाँस-पात र फूलहरूबाट टाढा जाँदैनन्…। सबै थोकका बीचमा रहेका हरेक प्रकारका जीवित प्राणी बिदा हुन्छन् र फर्कन्छन्, त्यसपछि फेरि बिदा हुन्छन्, आँखाको एक निमेसमा करोडौँ परिवर्तन भइरहन्छ—तर परिवर्तन नहुने भनेका तिनीहरूका प्राकृतिक गुण र अस्तित्व सम्बन्धी नियमहरू हुन्। ती परमेश्वरको बन्दोबस्त र पालनपोषणमा जिउँछन्, र कसैले पनि तिनीहरूको प्राकृतिक गुणलाई परिवर्तन गर्न सक्दैन, न त अस्तित्व सम्बन्धी तिनीहरूका नियमहरूलाई नै कसैले बिगार्न सक्छ। सबै थोकको बीचमा जिउने मानवजातिलाई शैतानले भ्रष्ट तुल्याएको र छल गरेको भए तापनि, परमेश्वरले बनाउनुभएको पानीलाई, र परमेश्वरले बनाउनुभएको हावालाई, अनि परमेश्वरले बनाउनुभएको सबै थोकलाई मानिसले अझै त्याग्न सक्दैन, र परमेश्वरले सृष्टि गर्नुभएको यो क्षेत्रमा नै मानिस अझै जिउँछ र वृद्धि हुन्छ। मानवजातिको प्राकृतिक गुण परिवर्तन भएको छैन। मानिसले अझै पनि हेर्नको लागि आफ्नो आँखा, सुन्नको लागि आफ्नो कान, विचार गर्नको लागि आफ्नो मस्तिष्क, बुझ्नको लागि उसको हृदय, हिँड्नको लागि आफ्ना हात-खुट्टा, काम गर्नका लागि आफ्ना हातमा भर पर्छ, र यस्तै इत्यादि; उसले परमेश्वरको बन्दोबस्तलाई स्वीकार गर्न सकोस् भनेर परमेश्वरले मानिसलाई दिनुभएका सबै प्राकृतिक गुणहरू अपरिवर्तित नै रहन्छन्, परमेश्वरसँग मानिसले जुन अङ्गहरूको प्रयोग गरी सहकार्य गर्छ ती परिवर्तन भएका छैनन्, सृष्टि गरिएको प्राणीको रूपमा रहेको कर्तव्य निभाउने मानवजातिको अङ्ग परिवर्तन भएको छैन, मानवजातिका आत्मिक खाँचोहरू परिवर्तन भएका छैनन्, आफ्नो व्युत्पत्ति पत्ता लगाउने मानवजातिको इच्छा परिवर्तन भएको छैन, सृष्टिकर्ताद्वारा मुक्ति पाउने मानवजातिको तृष्णा परिवर्तन भएको छैन। मानवजातिका वर्तमान परिस्थितिहरू यस्तै छन्, जो परमेश्वरको अख्तियारको अधीनमा जिउँछन्, र जसले शैतानद्वारा ल्याइएका खूनी विनाशलाई भोगेको छ। मानवजाति शैतानको दमनमा परेको छ, र ऊ उप्रान्त सृष्टिको प्रारम्भका आदम र हव्वा होइन, तर ज्ञान, कल्पना, धारणाहरू र यस्तै इत्यादि जस्ता परमेश्वरको विरोध गर्ने कुराहरूले भरिएको छ, र भ्रष्ट शैतानी स्वभावले भरिएको छ, तैपनि, परमेश्वरको नजरमा मानवजाति अझै पनि उहाँले सृष्टि गर्नुभएको त्यही मानवजाति नै हो। मानवजातिलाई अझै पनि परमेश्वरले शासन गर्नुहुन्छ र योजनाबद्ध गर्नुहुन्छ, र ऊ परमेश्वरले तय गर्नुभएको मार्गभित्रै अझै जिउँछ, त्यसकारण परमेश्वरको नजरमा, शैतानले भ्रष्ट पारेको मानवजाति भोको पेट, अलिक ढिलो प्रतिक्रिया, पहिलेजस्तो राम्रो स्मरणशक्ति नभएको, र अलिक बूढो अवस्थामा फोहोर-मैलाले ढाकिएको मात्रै छ—तर मानिसका सबै कार्यगत गुण र प्राकृतिक गुणहरूमा कुनै क्षति पुगेको छैन। परमेश्वरले मुक्ति दिने अभिप्राय राख्नुभएको मानवजाति यही नै हो। यो मानवजातिले सृष्टिकर्ताको बोलावटलाई सुन्ने, र सृष्टिकर्ताको आवाजलाई सुन्ने बाहेक केही पनि गर्नु पर्दैन, अनि ऊ खडा हुनेछ र यो आवाज कहाँबाट आयो त्यो पत्ता लगाउन हतार गर्नेछ। यो मानवजातिले सृष्टिकर्ताको रूपलाई हेर्ने बाहेक केही गर्नु पर्दैन, अनि उसले आफैलाई परमेश्वरमा समर्पित गर्नको लागि अरू कसैलाई सुन्नेछैन, र सबैलाई बिर्सनेछ, र उहाँको लागि आफ्नो जीवन समेत दिनेछ। जब मानवजातिका हृदयले सृष्टिकर्ताको हृदयविदारक वचनहरू बुझ्छ, मानवजाति शैतानलाई इन्कार गरेर सृष्टिकर्ताको पक्षमा आउनेछ; जब मानवजातिले आफ्नो शरीरबाट फोहोर-मैला पूर्ण रूपमा धोएको हुन्छ, र फेरि एक पटक सृष्टिकर्ताको बन्दोबस्त र पालनपोषण प्राप्त गरेको हुन्छ, मानवजातिको स्मरण फर्केको हुनेछ, र यस पटक मानवजाति सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा फर्केको हुनेछ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १
५५३. परमेश्वरको अख्तियारलाई मानिसले अनुकरण गर्न सक्दैन, र परमेश्वरको पहिचान र हैसियतलाई मानिसले नक्कल गर्न सक्दैन। परमेश्वरले बोल्नुहुने स्वरलाई तैँले अनुकरण गर्न सक्ने भए तापनि, तैँले परमेश्वरको सारलाई अनुकरण गर्न सक्दैनस्। तँ परमेश्वरको स्थानमा खडा हुन र परमेश्वरको नक्कल गर्न सक्ने भए तापनि, परमेश्वरले जे गर्ने अभिप्राय राख्नुहुन्छ त्यो गर्न तँ कहिल्यै सक्नेछैनस्, र तँ सबै थोकको शासन गर्न र त्यसमाथि हुकुम गर्न कहिल्यै सक्नेछैनस्। परमेश्वरको नजरमा, तँ सदासर्वदा सानो प्राणी हुनेछस्, र तेरा सीप र क्षमताहरू जति ठूलो भए तापनि, तँसँग जति वरदानहरू भए तापनि, तँ तेरो सम्पूर्णतामा सृष्टिकर्ताकै प्रभुत्वमा हुन्छस्। तैँले केही साहसिक शब्दहरू भन्न सक्ने भए तापनि, न त यसले तँसँग सृष्टिकर्ताको सार छ भन्ने कुरालाई देखाउन सक्छ, न त तँसँग सृष्टिकर्ताको अख्तियार छ भन्ने नै प्रस्तुत गर्न सक्छ। परमेश्वरको अख्तियार र शक्ति परमेश्वर स्वयमको सार हो। ती सिकेका वा बाहिरी रूपमा थपिएका होइनन्, तर ती परमेश्वर स्वयम्को अन्तर्निहित सार हुन्। त्यसैले सृष्टिकर्ता र प्राणीहरूका बीचको सम्बन्धलाई कहिल्यै पनि परिवर्तन गर्न सकिँदैन। प्राणीहरूमध्येकै एक भएकोले, मानिसले आफ्नो हैसियतलाई कायम राख्नुपर्छ, र विवेकशील व्यवहार गर्नुपर्छ। सृष्टिकर्ताले तँलाई सुम्पनुभएको कुरालाई तैँले कर्तव्यनिष्ठा भई रक्षा गर्। नियमभन्दा बाहिर काम गर्ने, वा तेरो क्षमताभन्दा बाहिरका कुराहरू गर्ने वा परमेश्वरको लागि घिनलाग्दो कार्य गर्ने नगर्। महान् बन्ने, वा महामानव बन्ने, वा अरूभन्दा ठूलो हुन खोज्ने, वा परमेश्वर बन्ने प्रयास नगर्। मानिसहरूले यस्तो हुने इच्छा गर्नु हुँदैन। महान् वा महामानव बन्ने प्रयास गर्नु मूर्खता हो। परमेश्वर बन्ने प्रयास गर्नु अझै अपमानजनक कुरा हो; यो घृणास्पद, र तुच्छ कुरा हो। तारिफयोग्य कुरा, र प्राणीहरूले अरू कुनै पनि कुरालाई भन्दा बढी पक्रिराख्नुपर्ने कुरा भनेको नै एक साँचो प्राणीबन्नु हो; सबै मानिसहरूले पछ्याउनुपर्ने एक मात्र लक्ष्य यही नै हो।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय १