ख. परमेश्‍वरको धर्मी स्वभावको सम्बन्धमा

५५४. युगलाई समाप्त गर्ने परमेश्‍वरको अन्तिम काममा, उहाँको स्वभाव सजाय र न्यायको हो, जसमा उहाँ अधार्मिक सबै कुरा प्रकट गर्नुहुन्छ, असङ्ख्य मानिसहरूको सार्वजनिक रूपमा न्याय गर्नुहुन्छ र उहाँलाई सच्चा रूपमा प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ। यस्तो स्वभावले मात्र त्यस युगलाई समाप्त गर्न सक्छ। आखिरी दिनहरू आइसकेका छन्। यावत् थोकहरू तिनका प्रकारअनुसार वर्गीकरण गरिन्छन्, र तिनका फरक-फरक गुणहरूका आधारमा विभिन्न वर्गमा विभाजित गरिन्छन्। परमेश्‍वरले मानिसहरूका परिणाम र गन्तव्य प्रकाश गर्नुहुने समय ठ्याक्कै यही हो। यदि मानिसहरू सजाय र न्याय अनुभव गर्दैनन् भने, तिनीहरूको विद्रोहीपन र अधार्मिकता खुलासा गर्न सकिँदैन। केवल सजाय र न्यायमार्फत यावत् थोकका परिणामहरू प्रकट गर्न सकिन्छ। मानिसहरू आफूलाई सजाय दिइँदा र न्याय गरिँदा मात्र आफू साँचो रूपमा के हो त्यो देखाउँछन्। दुष्टलाई दुष्टको साथमा, असललाई असलको साथमा राखिनेछ, र सबै मानिसहरूलाई तिनीहरूको प्रकारअनुसार वर्गीकरण गरिनेछ। सजाय र न्यायमार्फत, यावत् थोकका परिणाम प्रकाश गरिनेछ, ताकि दुष्टलाई दण्ड र असललाई इनाम दिन सकियोस्, र असङ्ख्य मानिसले परमेश्‍वरको प्रभुत्वमा आफूलाई समर्पण गरून्। यी सबै काम धर्मी सजाय र न्यायद्वारा हासिल गर्नुपर्दछ। मानिसहरूको भ्रष्टता चरमबिन्दुमा पुगेकाले, र तिनीहरूको विद्रोहीपन अत्यन्तै गम्भीर बनेकाले, परमेश्‍वरको मुख्यतः सजाय र न्याय समावेश भएको र आखिरी दिनहरूमा प्रकाश हुने धर्मी स्वभावले मात्र मानिसहरूलाई पूर्ण रूपमा रूपान्तरण गर्न र पूर्ण पार्न र दुष्टतालाई प्रकाश गर्न सक्छ, र यसरी सबै अधर्मीहरू गम्भीर रूपमा दण्डित हुनेछन्। त्यसकारण, यस्तो स्वभावसँग युगको महत्त्व गाँसिएको हुन्छ। प्रत्येक नयाँ युगको कामका खातिर परमेश्‍वरको स्वभाव प्रकाश र प्रकट हुन्छ। परमेश्‍वरले आफ्नो स्वभाव मनोमानी ढङ्गमा र कुनै महत्त्वविना प्रकाश गर्नुहुन्छ भन्‍ने होइन। मानौँ, मानिसहरूका परिणाम प्रकट गर्ने आखिरी दिनहरूमा, परमेश्‍वर मानिसलाई अझै पनि असीम कृपा र प्रेमिलो दयाका साथ प्रेम गर्नुहुन्छ र तिनीहरूप्रति निरन्तर प्रेमिलो हुनुहुन्छ, तिनीहरूलाई धर्मी न्यायको अधीनमा नल्याई, बरु नरमपन, धैर्य र क्षमा देखाउनुहुन्छ र तिनीहरूका पाप जति नै गम्भीर भए पनि, कुनै धर्मी न्याय नगरी तिनीहरूलाई क्षमा गर्नुहुन्छ। त्यसोभए, परमेश्‍वरको सम्पूर्ण व्यवस्थापन कहिले समाप्त हुनेथियो? यस्तो स्वभावले मानिसहरूलाई कहिले मानवजातिको उपयुक्त गन्तव्यमा डोऱ्याउन सक्नेथियो? यसलाई सधैँ मानिसहरूप्रति प्रेमिलो हुने न्यायाधीश, दयालु मुहार र कोमल हृदयको न्यायाधीशसँग तुलना गर्न सकिन्छ, जो मानिसहरूलाई उनीहरूले जस्तोसुकै अपराध गरेका भए पनि प्रेम गर्छ र तिनीहरू जोसुकै भए पनि तिनीहरूप्रति प्रेम र सहनशीलता देखाउँछ—त्यस्तो न्यायाधीशले कहिले चाहिँ न्यायसङ्गत फैसला गर्न सक्छ र? आखिरी दिनहरूको अवधिमा, केवल धर्मी न्यायले मानिसहरूलाई उनीहरूको प्रकारअनुसार वर्गीकरण गर्न र तिनीहरूलाई एउटा नयाँ क्षेत्रमा ल्याउन सक्छ। यसरी, न्याय र सजायको परमेश्‍वरको धर्मी स्वभावद्वारा सम्पूर्ण युगलाई समाप्त गरिन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

५५५. मेरो नाम घर-घरमा, सबै राष्ट्रमा र सबै ठाउँमा घोषणा गरिनेछ, र ब्रह्माण्डभरि वयस्क र बच्चाहरूको मुखले एकै गरी पुकार्नेछन्; यो एउटा निरपेक्ष सत्य हो। म अद्वितीय परमेश्‍वर स्वयम्‌ हुँ र यसभन्दा पनि बढी, म परमेश्‍वरको एक मात्र व्यक्तित्व हुँ। त्यसभन्दा पनि बढी, म, देहको पूर्णता, परमेश्‍वरको पूर्ण प्रकटीकरण हुँ। जसले मेरो डर नमान्ने आँट गर्छ, जसले आफ्ना आँखाहरूले मेरो विरोध गर्ने आँट गर्छ, र जसले आफ्नो ओठले मेरो विरोध गर्ने आँट गर्छ, त्यो निश्चित रूपमा मेरो श्राप र क्रोधबाट मर्नेछ (मेरो क्रोधका कारण श्राप आउनेछ)। यसबाहेक, जसले मप्रति बफादार नहुने वा मप्रतिको धर्म ननिभाउने आँट गर्छ, र जसले मलाई छक्काउने कोसिस गर्छ, त्यो निश्चय मेरो घृणाका कारण मर्नेछ। मेरो धार्मिकता, प्रताप र न्याय सदासर्वदा रहिरहनेछ। सुरुमा, म प्रेमिलो र कृपालु थिएँ, तर यो मेरो सम्पूर्ण ईश्‍वरत्वको स्वभाव होइन; केवल धार्मिकता, प्रताप र न्याय मेरा स्वभाव—पूर्ण परमेश्‍वर स्वयम्‌को स्वभाव हुन्। अनुग्रहको युगको दौरान म प्रेमिलो र कृपालु थिएँ। मैले समाप्त गर्नुपर्ने कामका कारण मसँग दया र कृपा थियो; तर त्यसपछि त्यस्ता कुराहरूको कुनै आवश्यकता परेन (र त्यस बेलादेखि परेकै छैन)। यो सबै धार्मिकता, प्रताप र न्याय हो, र यो मेरो सम्पूर्ण ईश्‍वरत्वसँग जोडिएको मेरो सामान्य मानवताको पूर्ण स्वभाव हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७९

५५६. परमेश्‍वरको धर्मी स्वभाव बुझ्‍नका लागि, सर्वप्रथम परमेश्‍वरको आनन्द, रिस, दुःख र खुसी: उहाँ केलाई घृणा गर्नुहुन्छ, उहाँ केलाई घिनाउनुहुन्छ, उहाँ केलाई प्रेम गर्नुहुन्छ, उहाँ कोप्रति सहनशील र कृपालु हुनुहुन्छ र उहाँ कस्तो व्यक्तिलाई कृपा प्रदान गर्नुहुन्छ भन्ने कुरा बुझ्नैपर्छ। यो एउटा मुख्य बुँदा हो। व्यक्तिले के पनि बुझ्नैपर्छ भने परमेश्‍वरले मानिसलाई जति नै प्रेम गर्नुभए पनि, उहाँले मानिसहरूलाई जति नै कृपा र प्रेम प्रदान गर्नुभए पनि, परमेश्‍वरको पहिचान र हैसियतले कुनै पनि व्यक्तिबाटको उल्लङ्घन सहँदैनन्, न त उहाँको इज्जतले नै सहन्छ। परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुने भए पनि, उहाँ तिनीहरूलाई पुलपुल्याउनुहुन्न। उहाँ मानिसहरूलाई आफ्नो प्रेम, आफ्नो कृपा र आफ्नो सहनशीलता दिनुहुन्छ, तर उहाँ तिनीहरूलाई कहिल्यै मात्तिने गरी माया गर्नुहुन्न। परमेश्‍वरका आफ्नै सिद्धान्तहरू र आफ्नै सीमाहरू छन्। तँलाई परमेश्‍वरले जतिसुकै प्रेम दिनुभएको छ भन्ने महसुस भए पनि, त्यो प्रेम जतिसुकै गहिरो लागे पनि, तैँले परमेश्‍वरलाई कहिल्यै कुनै मानवजातिलाई जस्तो व्यवहार गर्नु हुँदैन। परमेश्‍वर मानिसहरूलाई सबैभन्दा प्रियजनका रूपमा व्यवहार गर्नुहुन्छ भन्‍ने कुरा साँचो भए पनि, यदि तँ परमेश्‍वरलाई मानवका रूपमा, सृजित प्राणीसरहको मानवका रूपमा वा साथी अथवा मूर्तिपूजाको वस्तुका रूपमा हेर्छस् भने, परमेश्‍वरले तँबाट आफ्नो मुहार लुकाउनुहुनेछ र तँलाई त्याग्‍नुहुनेछ। यो उहाँको स्वभाव हो र मानिसहरू कसैलाई पनि यस विषयमा लापरवाह हुने अनुमति छैन। त्यसैले, हामी अक्सर परमेश्‍वरले आफ्नो स्वभावबारे बोलेका यस्ता वचनहरू देख्छौँ: तिमीहरूले कति यात्रा गरेका छौ, तिमीहरूले कति काम गरेका छौ वा तिमीहरूले कति दुःख सहेका छौ भन्‍ने कुराले फरक पार्दैन, यदि तिमीहरूले परमेश्‍वरको स्वभावलाई चिढ्यायौ भने, उहाँले तिमीहरू प्रत्येकलाई तिमीहरूले गरेको कामका आधारमा दण्ड दिनुहुनेछ। यसको अर्थ यो हो कि परमेश्‍वर मानिसहरूलाई सबैभन्दा घनिष्ठ प्रियजनका रूपमा व्यवहार गर्नुहुन्छ, तर तैँले परमेश्‍वरलाई साथी वा आफन्तका रूपमा व्यवहार गर्नै हुँदैन। परमेश्‍वरलाई आफ्नो दोस्तका रूपमा व्यवहार नगर्। परमेश्‍वर तँलाई प्रेम गर्नुहुन्छ र सहनुहुन्छ भनी तँलाई जतिसुकै महसुस भए पनि, तैँले परमेश्‍वरलाई कहिल्यै साथीका रूपमा व्यवहार गर्नै हुँदैन। यो परमेश्‍वरको धर्मी स्वभाव हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ७

५५७. उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता नै उहाँको अद्वितीय सार हो; परमेश्‍वरको क्रोध उहाँको अद्वितीय स्वभाव हो; परमेश्‍वरको प्रताप उहाँको अद्वितीय सार हो। परमेश्‍वरको रिसपछाडिको सिद्धान्त भनेको उहाँमा मात्रै रहेको उहाँको पहिचान र हैसियतको प्रतिनिधित्व हो। यो सिद्धान्त अद्वितीय परमेश्‍वर स्वयम्‌को सारको प्रतीक पनि हो भनेर भनिरहनु पर्दैन। परमेश्‍वरको स्वभाव उहाँको आफ्‍नै अन्तर्निहित सार हो, जुन समयको बहावसँगै बिलकुलै परिवर्तन हुँदैन, न त भौगोलिक अवस्थितिको बदलावसँगै नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव नै उहाँको अन्तरभूत सार हो। उहाँले जसमाथि आफ्‍नो काम गर्नुभए पनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्‍वरलाई रिस उठाउँछ, तब परमेश्‍वरले बर्साउने कुरा उहाँको अन्तर्निहित स्वभाव नै हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त परिवर्तन हुँदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनका कारण वा उहाँको स्वभावबाट फरक-फरक तत्त्वहरू उत्पन्‍न हुने कारणले उहाँ रिसाउनुहुन्‍न, बरु उहाँविरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्‍छ। मानिसले परमेश्‍वरलाई खुल्लमखुल्ला उक्साउने काम परमेश्‍वरको आफ्‍नै पहिचान र हैसियतलाई गम्भीर चुनौती हो। परमेश्‍वरको दृष्टिकोणमा, जब मानिसले उहाँलाई चुनौती दिन्छ, तब मानिसले उहाँसँग होडबाजी गरिरहेको हुन्छ र उहाँको रिसलाई उक्साइरहेको हुन्छ। जब मानिसले परमेश्‍वरको विरोध गर्छ, जब मानिसले परमेश्‍वरसँग होडबाजी गर्छ, जब मानिसले निरन्तर परमेश्‍वरको रिसलाई उक्साइरहन्छ, पापको बिगबिगी बढ्ने समय ठ्याक्कै त्यही हो—त्यस्ता समयमा, परमेश्‍वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफूलाई प्रस्तुत गर्नेछ। त्यसकारण, परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्‍ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्‍ने कुराको प्रतीक हो। यो परमेश्‍वरको धर्मी स्वभाव र परमेश्‍वरको क्रोधको अद्वितीयता हो। जब परमेश्‍वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब इन्साफका शक्तिहरूलाई बाधा पुग्छ र तिनलाई मानिसले देख्दैन, परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउने समय ठ्याक्कै यही नै हो। परमेश्‍वरको सारका कारणले, परमेश्‍वरसँग लड्ने, र उहाँप्रति शत्रुवत् हुने र उहाँसंग होडबाजी गर्न प्रयास गर्ने पृथ्वीका ती सबै शक्ति दुष्ट, भ्रष्ट, र अन्यायपूर्ण हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै हुन्छन्। परमेश्‍वर न्यायवान् हुनुहुन्छ, ज्योतिमय, पवित्र र निष्कलङ्क हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको क्रोध बर्सिएपछि दुष्ट, भ्रष्ट, र शैतानका सबै कुरा लोप हुनेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

५५८. जब परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुहुन्छ, तब दुष्ट शक्तिहरू नियन्त्रित हुन्छन् र दुष्ट कुराहरू नष्ट हुन्छन्, जबकि न्यायवान् र सकारात्मक कुराहरूले परमेश्‍वरको हेरचाह र सुरक्षा पाउँछन् र तिनीहरूलाई रहिरहन दिइन्छ। परमेश्‍वर आफ्‍नो क्रोध बर्साउनुहुन्छ किनभने अन्यायपूर्ण, नकारात्मक र दुष्ट कुराहरूले न्यायसङ्गत र सकारात्मक कुराहरूको सामान्य गतिविधि र विकासलाई रोकटोक गर्ने, बाधा दिने वा नष्ट गर्ने गर्छन्। परमेश्‍वरको रिसको उद्देश्य भनेको उहाँको आफ्‍नै हैसियत र पहिचानको सुरक्षा गर्नु होइन, बरु न्यायवान्, सकारात्मक, सुन्दर र असल कुराहरूको अस्तित्वको रक्षा गर्नु हो, मानवजातिको सामान्य अस्तित्वका विधिविधान र नियमहरूको सुरक्षा गर्नु हो। परमेश्‍वरको क्रोधको मूल कारण यही हो। परमेश्‍वरको क्रोध उहाँको स्वभावको अत्यन्तै उचित, प्राकृतिक र साँचो प्रकटीकरण हो। उहाँको क्रोधमा कुनै गोप्‍य मनसायहरू हुँदैनन्, न त कुनै चातुर्य वा षड्यन्त्र नै हुन्छ, झन् चाहनाहरू, धूर्तता, द्वेष, हिंसा, दुष्टता वा भ्रष्ट मानवजातिका अरू कुनै पनि साझा गुणहरू हुनु त परै जाओस्। परमेश्‍वरले आफ्‍नो क्रोध बर्साउनुभन्दा पहिले, उहाँले हरेक मामिलाको सार निकै स्पष्ट रूपमा बोध गरिसक्‍नुभएको हुन्छ, र उहाँले हरेक मामिलासम्बन्धी सटीक, स्पष्ट परिभाषा र निष्कर्षहरू तयार गरिसक्‍नुभएको हुन्छ। यसैले, परमेश्‍वरले गर्ने सबै कुरामा उहाँको उद्देश्य स्पष्ट छ, त्यसै गरी उहाँको मनोवृत्ति पनि स्पष्ट छ। उहाँ अन्योलमा परेको, अन्धो, आवेगी, वा स्वेच्छाचारी हुनुहुन्‍न, र उहाँ अवश्य नै सिद्धान्तहीन हुनुहुन्‍न। परमेश्‍वरको क्रोधको व्यावहारिक पक्ष यही हो, र परमेश्‍वरको क्रोधको यही व्यावहारिक पक्षकै कारण मानवजाति सामान्य रूपमा जिउन सक्छ। परमेश्‍वरको क्रोधबिना, मानवजाति सङ्कटपूर्ण जीवन अवस्थाहरूमा झर्नेथियो र सबै न्यायवान्, सुन्दर र असल कुरा नष्ट हुनेथिए र अस्तित्वमा हुन छोड्नेथिए। परमेश्‍वरको क्रोधबिना, सृजित प्राणीका अस्तित्वका विधिविधान र नियमहरू तोडिनेथिए वा पूर्ण रूपमा उलटपुलट समेत हुनेथिए। मानिसको सृष्टि भएदेखि नै, परमेश्‍वरले मानवजातिको सामान्य अस्तित्वको रक्षा गर्न र त्यो कायम राख्‍नका लागि निरन्तर आफ्‍नो धर्मी स्वभाव प्रयोग गर्नुभएको छ। उहाँको धर्मी स्वभावमा क्रोध र प्रताप हुने भएकाले, सारा दुष्ट मानिस, कामकुरा र घटना, अनि मानवजातिको सामान्य अस्तित्वलाई बाधा दिने र क्षति पुर्‍याउने सबै कुरालाई उहाँको क्रोधको परिणामस्वरूप दण्डित, नियन्त्रित र नष्ट गरिन्छ। विगतका केही सहस्राब्दीदेखि, परमेश्‍वरको विरोध गर्ने र मानवजातिको व्यवस्थापन गर्ने परमेश्‍वरको काममा शैतानका मतियार अनि चाकरहरूका रूपमा कार्य गर्ने सबै प्रकारका अशुद्ध आत्मा र दुष्ट आत्‍माहरूलाई ढाल्‍न र नष्ट गर्नका लागि परमेश्‍वरले निरन्तर आफ्‍नो धर्मी स्वभाव प्रयोग गर्नुभएको छ। यसरी, मानिसलाई मुक्ति दिने परमेश्‍वरको काम सधैँ नै उहाँकै योजनाअनुसार अघि बढेको छ। भन्‍नुको अर्थ, परमेश्‍वरको क्रोधको अस्तित्वका कारण, मानवजातिमाझको सबैभन्दा न्यायवान् अभियान कहिल्यै नष्ट भएको छैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

५५९. परमेश्‍वरले सम्पूर्ण मानवजाति, मूर्ख र अज्ञानी मानवजातिलाई गर्ने व्यवहार मुख्यतया कृपा र क्षमाको हो। अर्कोतर्फ, अधिकांश समय र अधिकांश घटनामा उहाँको क्रोध लुकेको र मानिसका लागि अज्ञात हुन्छ। परिणामस्वरूप, मानिसहरूलाई परमेश्‍वरको क्रोधको अभिव्यक्ति देख्न कठिन हुन्छ, र उहाँको क्रोध बुझ्‍न पनि कठिन नै हुन्छ। यसरी, मानिसले परमेश्‍वरको क्रोधलाई हल्‍का रूपमा लिन्छ। जब मानिसहरू मानिसलाई क्षमा दिने र छोडिदिने परमेश्‍वरको अन्तिम कार्य र चरणको सामना गर्छन्—अर्थात्, जब परमेश्‍वरको अन्तिम पटकको कृपा र उहाँको अन्तिम चेतावनी मानिसहरूमाथि आइपर्छ—तब यदि मानिसहरू अझै पनि परमेश्‍वरको विरोध गर्नका लागि उही विधिहरू प्रयोग गर्छन् र पश्‍चात्ताप गर्दैनन्, आफूमा बदलाव ल्याउँदैनन् वा उहाँको कृपा बिलकुलै स्विकार्दैनन् भने, परमेश्‍वरले तिनीहरूलाई उप्रान्त आफ्नो क्षमा र धैर्य प्रदान गर्नुहुनेछैन। यसको विपरीत, यस पटक परमेश्‍वरले आफ्‍नो कृपा फिर्ता लिनुहुनेछ। यसपछि, उहाँले आफ्‍नो क्रोध मात्रै बर्साउनुहुनेछ। उहाँ आफ्‍नो क्रोध ठिक त्यसरी नै विभिन्न तरिकाले व्यक्त गर्न सक्नुहुन्छ, जसरी उहाँ मानिसहरूलाई दण्ड दिन र नष्ट गर्न फरक-फरक विधिहरू प्रयोग गर्न सक्नुहुन्छ।

परमेश्‍वरले सदोम सहर नष्ट गर्नका लागि आगो प्रयोग गर्नुभयो। परमेश्‍वरको नजरमा, यो नै मानवजाति वा अरू कुनै पनि कुरा पूर्ण रूपमा नष्ट गर्ने सबैभन्दा तेज तरिका हो। सदोमका मानिसहरूलाई जलाउने कार्य तिनीहरूको भौतिक शरीर नष्ट गर्नका लागि मात्र नभई, त्योभन्दा पनि बढी, तिनीहरूको सम्पूर्ण आत्मा, प्राण र शरीर नष्ट गर्न, त्यस सहरभित्रका मानिसहरू भौतिक संसार र मानिसका निम्ति अदृश्य रहेको संसार दुवैमा अस्तित्वमा नरहून् भन्ने सुनिश्‍चित गर्नका लागि थियो। परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट र व्यक्त गर्ने एउटा तरिका यही हो। यसप्रकारको प्रकटीकरण र अभिव्यक्ति ठिक त्यसरी नै परमेश्‍वरको क्रोधको सारको एउटा पक्ष हो, जसरी यो स्वाभाविक रूपमा परमेश्‍वरको धर्मी स्वभावको सारको प्रकटीकरण पनि हो। जब परमेश्‍वर आफ्‍नो क्रोध बर्साउनुहुन्छ, तब उहाँ कुनै कृपा वा प्रेमिलो दयालुपन प्रकट गर्न छोड्नुहुन्छ, न त उहाँ आफ्नो सहनशीलता वा धैर्य नै थप बाहिर निकाल्नुहुन्छ; उहाँलाई निरन्तर धैर्यवान् रहिरहन, फेरि उहाँको कृपा दिन लगाउन, फेरि एक पटक उहाँको सहनशीलता प्रदान गराउन उहाँलाई मनाउन सक्‍ने कुनै व्यक्ति, कामकुरा वा कारण नै छैन। यी कुराहरूको स्थानमा, एक छिन ढिलो नगरी, परमेश्‍वर आफ्नो क्रोध र प्रताप व्यक्त गर्नुहुन्छ र आफूले अभिप्राय राखेको कुरा गर्नुहुन्छ, तीव्र रूपमा र स्पष्ट ढङ्गले त्यसो गर्नुहुन्छ र आफूले चाहेको परिणाम हासिल हुने सुनिश्चित गर्नुहुन्छ। परमेश्‍वरले आफ्‍नो क्रोध र प्रताप व्यक्त गर्ने तरिका यही हो, जसलाई मानिसले चिढ्याउनै हुँदैन र यो उहाँको धर्मी स्वभावको प्रकटीकरण पनि हो। मानिसहरूले परमेश्‍वरले मानिसप्रति चिन्ता र प्रेम देखाइरहनुभएको देख्दा, तिनीहरू उहाँको क्रोध पत्ता लगाउन, उहाँको प्रताप देख्‍न वा उल्‍लङ्घनप्रति उहाँको असहनशीलता महसुस गर्न सक्दैनन्। यी कुराहरूले मानिसहरूलाई सधैँ परमेश्‍वरको धर्मी स्वभाव भनेको कृपा, सहनशीलता र प्रेमको स्वभाव मात्रै हो भनेर भूलवश विश्‍वास गराएको छ। तर, जब कसैले परमेश्‍वरले कुनै सहर नष्ट गर्नुभएको देख्छ वा मानवजातिप्रतिको उहाँको घृणा देख्छ, तब मानिसलाई विनाश गर्दाको उहाँको क्रोध अनि उहाँको प्रतापले मानिसहरूलाई उहाँको धर्मी स्वभावको अर्को पक्ष देखाउँछ, जुन उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता हो। कुनै पनि उल्‍लङ्घन नसहने परमेश्‍वरको स्वभावले कुनै पनि सृजित प्राणीको कल्‍पनालाई उछिन्छ अनि गैर-सृजित प्राणीहरूमाझ, यसमा हस्तक्षेप गर्न वा यसलाई प्रभाव पार्न सक्‍ने कोही छैन; यसको स्वाङ पार्न वा अनुकरण गर्न सक्नु त परै जाओस्। तसर्थ, परमेश्‍वरको स्वभावको यो पक्ष नै मानवजातिले सबैभन्दा बढी चिन्नुपर्ने कुरा हो। परमेश्‍वर स्वयम्‌सँग मात्रै यस प्रकारको स्वभाव छ र परमेश्‍वर स्वयम्‌ मात्रै यस प्रकारको स्वभावयुक्त हुनुहुन्छ। परमेश्‍वरले दुष्टता, अन्धकार, विद्रोहीपन अनि शैतानले मानवजातिलाई भ्रष्ट पार्दा र खाँदा गरेका दुष्ट कार्यहरूलाई घृणा गर्ने हुनाले, उहाँले आफूविरुद्धका सबै पापकर्मलाई घृणा गर्ने हुनाले, अनि उहाँको पवित्र र निष्कलङ्क सारका कारण उहाँमा यस प्रकारको धर्मी स्वभाव हुन्छ। यही कारणले गर्दा उहाँले कुनै पनि सृजित वा गैर-सृजित प्राणीले खुलेआम उहाँको विरोध गरेको वा उहाँसँग होडबाजी गरेको सहनुहुनेछैन। परमेश्‍वरले कुनै बेला कृपा देखाएको वा उहाँले चुनेको व्यक्तिले समेत उहाँको स्वभावलाई एक पटक चिढ्याउनु र उहाँका धैर्य र सहनशीलताका सिद्धान्तहरू उल्लङ्घन मात्रै गर्नुपर्छ अनि उहाँले अलिकति पनि कृपा वा हिचकिचाहटविना नै कुनै पनि उल्‍लङ्घन सहन नगर्ने आफ्‍नो धर्मी स्वभावलाई उन्मुक्त र प्रकट गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

५६०. परमेश्‍वरको क्रोध खन्याउने कार्य उहाँको धर्मी स्वभावको अभिव्यक्तिको एउटा पक्ष भए तापनि, परमेश्‍वरको रिसले कुनै पनि हालतमा अन्धाधुन्ध यसको निशाना तोक्दैन, न त यो सिद्धान्त विहीन नै छ। यसको विपरीत, परमेश्‍वर रिस गर्नमा छिटो हुनुहुन्‍न, न त उहाँले आफ्‍नो क्रोध र प्रताप हल्का रूपमा नै प्रकाश गर्नुहुन्छ। अझ भन्‍ने हो भने, परमेश्‍वरको क्रोध निकै नियन्त्रित र संयमित हुन्छ; यसलाई रिसले उफ्रने वा आवेग देखाउने मानिसको बानीसँग बिलकुलै तुलना गर्न सकिँदैन। मानिस र परमेश्‍वरको बीचमा भएका धेरै कुराकानीलाई बाइबलमा लेखिएका छन्। कुराकानीहरूमा संलग्‍न कतिपय व्यक्तिगत मानिसहरूका शब्‍दहरू सतही, अज्ञानी र अपरिपक्‍व थिए, तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गरेर लडाउनुभएन, न त उहाँले तिनीहरूलाई दोषी नै ठहराउनुभयो। विशेष रूपमा, अय्यूबको परीक्षाको बेलामा, अय्यूबका तीन जना साथीहरू र अरूले अय्यूबसँग बोलेका शब्‍दहरू सुनिसक्‍नुभएपछि यहोवा परमेश्‍वरले तिनीहरूलाई कस्तो व्यवहार गर्नुभयो? के उहाँले तिनीहरूलाई दोषी ठहराउनुभयो? के उहाँ तिनीहरूप्रति क्रोधित हुनुभयो? उहाँले त्यस्तो केही पनि गर्नुभएन! बरु उहाँले अय्यूबलाई तिनीहरूका लागि बिन्ती गरिदिन र तिनीहरूका लागि प्रार्थना गरिदिन लगाउनुभयो, अनि परमेश्‍वर स्वयम्‌ले तिनीहरूको गल्तीलाई मनमा राख्‍नुभएन। यी सबै घटनाहरूले भ्रष्ट र अज्ञानी मानवजातिलाई परमेश्‍वरले व्यवहार गर्ने प्राथमिक मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ। त्यसकारण, परमेश्‍वरको क्रोध पोखाइनु भनेको कुनै पनि हालतमा उहाँको मनस्थितिको अभिव्यक्ति होइन, न त यो उहाँले आफ्‍ना भावनाहरू पोख्ने तरिका नै हो। मानिसको गलत बुझाइको विपरीत, परमेश्‍वरको क्रोध रिसको पूर्ण प्रस्फुटन होइन। उहाँले आफ्‍नो मनस्थितिलाई नियन्त्रण गर्न नसक्‍ने हुनाले वा उहाँको रिस चरम विन्दुमा पुगेको र यसलाई पोखाइनै पर्ने भएकोले परमेश्‍वरले आफ्‍नो क्रोध पोखाउनुहुन्‍न। यसको विपरीत, उहाँको क्रोध उहाँको धर्मी स्वभावको प्रदर्शन र सच्‍चा अभिव्यक्ति हो, र यो उहाँको पवित्र सारको रूपक प्रकाश हो। परमेश्‍वर क्रोध हुनुहुन्छ, र उहाँले कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न—यसो भन्‍नुको अर्थ, परमेश्‍वरको रिसले कारणहरूका बीचमा भिन्‍नता छुट्याउन सक्दैन वा यो सिद्धान्तहीन छ भन्‍ने होइन; कारणहरूका बीचमा भिन्‍नता नछुट्याउने प्रकारको प्रचुर रिसको असैद्धान्तिक, अनियमित आवेगलाई पूर्ण रूपमा दाबी गर्ने भनेको भ्रष्ट मानवजाति नै हो। कुनै व्यक्तिसँग हैसियत भएपछि, उसलाई प्रायजसो आफ्‍ना संवेगलाई नियन्त्रण गर्न कठिन हुन्छ, त्यसकारण ऊ आफ्‍नो असन्तुष्टिलाई निकास दिन र आफ्‍ना संवेगहरूलाई पोखाउन अवसरहरूको फाइदा लिन मन पराउँछ; आफ्‍ना क्षमताहरू प्रदर्शन गर्न र आफ्नो हैसियत र पहिचान अन्य मानिसहरूको भन्दा फरक छ भनी अरूलाई जान्न दिन, ऊ कुनै पनि कारणविना प्रायजसो रिसाउने गर्छ। अवश्य नै, कुनै पनि हैसियत नभएका भ्रष्ट मानिसहरूले पनि प्रायजसो आफ्ना संवेगहरूमाथिको नियन्त्रण गुमाउँछन्। तिनीहरूको आफ्नै हितहरूमा पर्ने क्षतिद्वारा नै तिनीहरूको रिस पैदा बारम्बार भएको हुन्छ। तिनीहरूको आफ्‍नै हैसियत र गरिमालाई सुरक्षित गर्नका लागि, तिनीहरू प्रायजसो आफ्‍ना संवेगहरू पोखाउँछन् र आफ्नो अहङ्कारी प्रकृति प्रकट गर्छन्। पापको अस्तित्वको प्रतिरक्षा गर्नका लागि मानिस रिसको आवेगमा आउँछ र आफ्‍ना संवेगहरू पोखाउँछ, र यी कार्यहरू मानिसले आफ्‍नो असन्तुष्टि व्यक्त गर्ने तरिकाहरू हुन्; तिनीहरू अशुद्धताहरू, छलकपट र चालबाजीहरू, र मानिसको भ्रष्टता र दुष्टताले भरिएका हुन्छन्, अनि सबै कुराभन्दा बढी, तिनीहरू मानिसका महत्त्वाकाङ्क्षा र चाहनाहरूले भरिएका हुन्छन्। जब इन्साफ दुष्टतासँग जुध्छ, तब इन्साफको अस्तित्वको बचाउ गर्न मानिसको रिस दन्किनेछैन; त्यसको विपरीत, जब इन्साफका शक्तिहरूलाई धम्काइन्छ, सताइन्छ र आक्रमण गरिन्छ, तब मानिसको मनोवृत्ति अनदेखा गर्ने, पन्छिने वा पछि हट्ने हुन्छ। तर, दुष्टताका शक्तिहरूको सामना गर्दा, मानिसको मनोवृत्ति सम्झौता गर्ने, झुक्ने र चापलुसी गर्ने हुन्छ। त्यसकारण, मानिसले भँडास पोख्नु दुष्ट शक्तिहरूका लागि उम्कने बाटो, दैहिक मानिसको बेलगाम र रोक्न नसकिने दुष्ट आचरणको अभिव्यक्ति हो। तर जब परमेश्‍वर आफ्नो क्रोध पोख्नुहुन्छ, तब सबै दुष्ट शक्ति रोकिनेछन्, मानिसलाई गम्भीर रूपमा हानि पुर्‍याउने सबै पाप रोकिनेछन्, परमेश्‍वरको काममा बाधा पुर्‍याउने सबै विरोधी शक्तिहरू प्रकट हुनेछन्, अलग हुनेछन् र श्रापित हुनेछन् अनि परमेश्‍वरविरोधी शैतानका सबै मतियार दण्डित हुनेछन् र जरैदेखि उखेलिनेछन्। ती सबैको सट्टामा, परमेश्‍वरको काम कुनै अड्चनविना अघि बढ्नेछ, परमेश्‍वरको व्यवस्थापनको योजना निर्धारित समयअनुसार चरणबद्ध रूपमा विकास हुनेछ र परमेश्‍वरका चुनिएका मानिसहरूलाई शैतानले उप्रान्त बाधा दिनेछैन र भ्रमित पार्नेछैन, जबकि परमेश्‍वरलाई पछ्याउनेहरूले चैन र शान्तिको वातावरणमा परमेश्‍वरको अगुवाइ र भरणपोषणको आनन्द लिनेछन्। परमेश्‍वरको क्रोध सबै दुष्ट शक्तिहरूलाई बढ्न र बेलगाम हुनबाट रोक्ने सुरक्षाकवच हो र यसले न्यायसङ्गत र सकारात्मक सबै कुरा अस्तित्वमा रहन, फैलन र कहिल्यै नष्ट वा परास्त हुनेछैनन् भन्‍ने कुरा पनि सुनिश्चित गर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

५६१. परमेश्‍वरका हरेक कार्यहरू सम्हाल्ने क्रममा, तँ पहिले परमेश्‍वरको धर्मी स्वभाव कुनै पनि मिसावटबाट मुक्त छ, पवित्र र त्रुटिविहीन छ, भन्‍ने कुरामा निश्‍चित हुनैपर्छ। यी कार्यहरूमा परमेश्‍वरले मानवजातिलाई ढाल्ने, दण्ड दिने र विनाश गर्ने कार्यहरू पर्दछन्। परमेश्‍वरका हरेक कार्यहरू बिना कुनै अपवाद ठ्याक्कै उहाँको अन्तर्निहित स्वभाव र उहाँको योजनाअनुसार नै अभिव्यक्त हुन्छन्। तिनमा मानवजातिको ज्ञान, परम्परा र दर्शनको कुनै पनि भाग समावेश हुँदैन बरु ती त पूर्ण रूपमा परमेश्‍वरको स्वभाव र सारका अभिव्यक्तिहरू हुन्, जुन भ्रष्ट मानवजातिको कुनै पनि कुरासँग सम्‍बन्धित हुँदैनन्। मानवजातिप्रतिको परमेश्‍वरको प्रेम, कृपा र क्षमा मात्रै त्रुटिविहीन, चोखा, र पवित्र छन् भन्‍ने धारणा मानवजातिमा छ, अनि परमेश्‍वरको रिस र उहाँको क्रोध पनि त्यसै गरी चोखो छन् भनेर कसैलाई पनि थाहा छैन; यसको साथै, परमेश्‍वर किन कुनै पनि उल्‍लङ्घन सहनुहुन्‍न, वा उहाँको रिस किन यति ठूलो छ भन्‍ने जस्ता प्रश्‍नहरूबारे कसैले पनि चिन्तन गरेको छैन। यसको विपरीत, कतिपयले परमेश्‍वरको क्रोधलाई भ्रष्ट मानवजातिको रिसाहा स्वभाव भन्ठान्छन्, अनि परमेश्‍वरको रिस भनेको भ्रष्ट मानवजातिको रिस त हो नि भनेर गलत बुझ्छन्। तिनीहरू परमेश्‍वरको रिस मानवजातिका भ्रष्ट स्वभावहरूको प्राकृतिक प्रकटीकरण जस्तै हो भनेर गलत अनुमान समेत गर्छन्। तिनीहरू परमेश्‍वरको क्रोध प्रकट हुनु भनेको कुनै अप्रिय परिस्थिति आइपर्दा भ्रष्ट मानिसहरूलाई लाग्ने रिस जस्तै हो भनेर भूलवश विश्वास गर्छन्, र परमेश्‍वरको क्रोध बाहिर आउनु भनेको उहाँको मनस्थितिको अभिव्यक्ति पनि हो भन्‍ने गलत विश्‍वास समेत गर्छन्। म आशा गर्छु, यो सङ्गतिपछि तिमीहरू प्रत्येकमा परमेश्‍वरको धर्मी स्वभावको बारेमा अबउप्रान्त कुनै पनि भ्रमहरू, कल्‍पनाहरू वा अनुमानहरू हुनेछैनन्। मलाई आशा छ, मेरा वचनहरू सुनिसकेपछि तिमीहरूको हृदयमा परमेश्‍वरको धर्मी स्वभावको क्रोधको साँचो पहिचान हुनसक्छ, परमेश्‍वरको क्रोध सम्‍बन्धी पहिलेका कुनै पनि भ्रमपूर्ण बुझाइहरूलाई तिमीहरूले पन्छाउन सक्छौ, अनि तिमीहरूले परमेश्‍वरको क्रोधको सार सम्‍बन्धी तिमीहरूका आफ्ना गलत विश्‍वासहरू र दृष्टिकोणहरू परिवर्तन गर्न सक्छौ। यसको साथै, मलाई आशा छ, तिमीहरूको हृदयमा परमेश्‍वरको स्वभाव सम्‍बन्धी यथार्थ परिभाषा हुनसक्छ, परमेश्‍वरको धर्मी स्वभावको बारेमा तिमीहरूसँग अब उप्रान्त कुनै शङ्का हुनेछैन, र परमेश्‍वरको साँचो स्वभावमा तिमीहरूले कुनै पनि मानवीय तर्क वा कल्‍पनाहरूलाई लाद्‍ने छैनौँ। परमेश्‍वरको धर्मी स्वभाव परमेश्‍वरको आफ्‍नै साँचो सार हो। यो मानिसले सृष्टि गरेको वा लेखेको कुरा होइन। उहाँको धर्मी स्वभाव भनेको उहाँको धर्मी स्वभाव नै हो र सृजित प्राणीहरूसँग यसको सम्‍बन्ध वा सरोकार छैन। परमेश्‍वर स्वयम्‌ भनेको परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ, र उहाँ कहिल्यै सृजित प्राणी बन्‍नुहुनेछैन। उहाँ सृजित प्राणीहरूको सदस्य बन्‍नुभयो भने पनि, उहाँको अन्तर्निहित स्वभाव र उहाँको सार परिवर्तन हुनेछैन। त्यसकारण, परमेश्‍वरलाई चिन्‍नु र कुनै वस्तुलाई चिन्‍नु एउटै कुरा होइन; परमेश्‍वरलाई चिन्‍नु भनेको कुनै पनि कुरालाई चिरफार गर्नु होइन, न त यो कुनै व्यक्तिलाई बुझ्‍नु जस्तो नै हो। यदि तँ परमेश्‍वरलाई चिन्‍नका लागि वस्तुलाई चिन्‍ने वा व्यक्तिलाई बुझ्‍ने आफ्‍नो अवधारणा वा विधि प्रयोग गर्छस् भने, तैँले कहिल्यै परमेश्‍वरलाई चिन्न सक्‍नेछैनस्। परमेश्‍वरलाई चिन्‍ने कार्य अनुभव वा कल्‍पनाहरूमा निर्भर हुन सक्दैन, त्यसकारण तैँले कहिल्यै परमेश्‍वरमाथि आफ्‍नो अनुभव वा आफ्ना कल्‍पनाहरू लाद्‍नु हुँदैन। तेरो अनुभव र तेरा कल्‍पनाहरू जति नै समृद्ध भए पनि, ती अझै पनि सीमित नै हुन्छन्। अझ भन्नुपर्दा, तेरा कल्‍पनाहरू तथ्यहरूसँग मेल खाँदैनन्, झन् सत्यतासँग मेल खाने त कुरै नगरौँ, अनि ती परमेश्‍वरको साँचो स्वभाव र सारसँग पनि मिल्दैनन्। यदि तँ परमेश्‍वरको सार बुझ्‍नका लागि आफ्‍ना कल्‍पनाहरूमा भर पर्छस् भने, तँ कहिल्यै सफल हुनेछैनस्। एउटै मार्ग यो हो: परमेश्‍वरबाट आउने सबै कुरा स्वीकार गर्, त्यसपछि यसलाई क्रमिक रूपमा अनुभव गर् र चिन्। तेरो सहकार्यका कारण अनि सत्यताप्रतिको तेरो भोक र तिर्खाका कारण, परमेश्‍वरले उहाँलाई साँचो रूपमा बुझ्‍न र चिन्‍नका लागि तँलाई अन्तर्दृष्टि दिने दिन आउनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

५६२. आफ्‍ना कार्यहरूमा परमेश्‍वर कहिल्यै पनि ढलपल हुने वा हिचकिचाउने गर्नुहुन्‍न; उहाँका कार्य पछाडिका सिद्धान्त र उद्देश्य सबै स्पष्ट र पारदर्शी, विशुद्ध र त्रुटिविहीन हुन्छन्, तिनमा कुनै पनि चालबाजी वा युक्तिहरू मिश्रित भएका हुँदैनन्। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सारमा कुनै पनि अन्धकार वा दुष्टता हुँदैन। निनवेवासीका दुष्ट कार्यहरू उहाँको नजरमा परेको हुनाले परमेश्‍वर तिनीहरूप्रति रिसाउनुभयो; त्यसबेला उहाँको रिस उहाँको सारबाट आएको थियो। तथापि, परमेश्‍वरले आफ्‍नो रिस नियन्त्रण गरेर निनवेका मानिसहरूलाई फेरि एक पटक सहनशीलता प्रदान गर्नुभएको बेला, उहाँले प्रकट गर्नुभएका सबै कुरा पनि उहाँको आफ्‍नै सार नै थिए। सम्पूर्ण रूपमा यो परिवर्तन परमेश्‍वरप्रतिको मानिसको मनोवृत्तिमा आएको परिवर्तनको कारणले गर्दा थियो। यो पूरै समयावधिमा, परमेश्‍वरको चिढ्याउन नसकिने स्वभाव परिवर्तन भएन, परमेश्‍वरको सहनशील सार परिवर्तन भएन, अनि परमेश्‍वरको प्रेमिलो र कृपालु सार परिवर्तन भएन। जब मानिसहरूले दुष्ट कार्यहरू गर्छन् र परमेश्‍वरलाई रिस उठाउँछन्, उहाँले तिनीहरूमाथि आफ्‍नो रिस वर्साउनुहुन्छ। जब मानिसहरूले साँचो रूपमा पश्‍चात्ताप गर्छन्, परमेश्‍वरको हृदय परिवर्तन हुनेछ, अनि उहाँको रिस हट्नेछ। जब मानिसहरूले जिद्दी भई परमेश्‍वरको निरन्तर विरोध गर्छन्, उहाँको रिस रोकिनेछैन, र तिनीहरू नष्ट भइञ्‍जेलसम्म तिनीहरूमाथि उहाँको क्रोध एक-एक गरी आइरहनेछ। परमेश्‍वरको स्वभावको सार यही हो। परमेश्‍वरले उहाँको स्वभावको चाहे जेसुकै व्यक्त गर्नुभए पनि वा जेसुकै प्रकट गर्नुभए पनि, चाहे त्यो उहाँको क्रोध भए पनि वा चाहे उहाँको कृपा र प्रेमिलो दयालुपन भए पनि, त्यो कुरा मानिसहरूको चालचलन र बानीबेहोरा, साथै तिनीहरूले आफ्‍नो हृदयभित्र परमेश्‍वरप्रति राख्ने मनोवृत्तिको आधारमा हुने गर्छ। यदि परमेश्‍वरले कुनै व्यक्तिमा निरन्तर आफ्‍नो रिस पोखाउनुहुन्छ भने, त्यस व्यक्तिको हृदयले परमेश्‍वरको विरोध गर्छ भन्‍ने कुरामा कुनै शङ्का हुँदैन। यो व्यक्तिले साँचो रूपमा कहिल्यै पनि पश्‍चात्ताप गरेको, परमेश्‍वरको अघि आफ्‍नो शिर निहुराएको वा परमेश्‍वरमाथि साँचो विश्‍वास गरेको हुँदैन, त्यसकारण त्यस्ता व्यक्तिहरूले परमेश्‍वरको कृपा र सहनशीलतालाई कहिल्यै प्राप्त गरेका हुँदैनन्। यदि कसैले बारम्बार परमेश्‍वरको हेरचाह, कृपा, र सहनशीलता प्राप्त गर्छ भने, निःसन्देह यो व्यक्तिको हृदयमा परमेश्‍वरमाथिको साँचो विश्‍वास हुन्छ, र तिनीहरूको हृदयले परमेश्‍वरको विरोध गर्दैन। यो व्यक्तिले बारम्बार परमेश्‍वरसामु साँचो रूपमा पश्‍चात्ताप गर्छ; त्यसकारण, यो व्यक्तिमा बारम्बार परमेश्‍वरको अनुशासन आइपर्ने भए तापनि, उहाँको क्रोध कहिल्यै आइपर्नेछैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

५६३. परमेश्‍वर निनवेवासीसँग जति नै धेरै रिसाउनुभएको भए पनि, तिनीहरूले उपवासको घोषणा गरी भाङ्ग्रा र खरानी लगाउनेबित्तिकै, उहाँको हृदय बिस्तारै कोमल हुन थाल्यो, अनि उहाँले आफ्‍नो मन परिवर्तन गर्न थाल्‍नुभयो। उहाँले तिनीहरूलाई तिनीहरूको सहर नष्ट गर्ने घोषणा गर्नुभएको क्षणअघि—तिनीहरूले आफ्नो पाप स्वीकार र पश्‍चात्ताप गरेको क्षणअघि—परमेश्‍वर तिनीहरूसँग अझै पनि रिसाउनुभएको थियो। तिनीहरूले शृङ्खलाबद्ध रूपमा पश्‍चात्ताप गरेपछि, निनवेका मानिसहरूप्रतिको परमेश्‍वरको रिस बिस्तारै तिनीहरूप्रतिको कृपा र सहनशीलतामा रूपान्तरित भयो। एउटै घटनामा परमेश्‍वरको स्वभावका यी दुई पक्षको प्रकटीकरणमा कुनै विरोधाभास छैन। त्यसैले, यस्तो विरोधाभास नहुनुलाई कसरी बुझ्‍नु र जान्‍नुपर्छ? परमेश्‍वरले निनवेका मानिसहरूले पश्‍चात्ताप गर्नुअघि एउटा र पश्‍चात्ताप गरेपछि अर्को गरी, यी नितान्त फरक-फरक सार देखाउनुभयो र प्रकट गर्नुभयो, अनि मानिसहरूलाई परमेश्‍वरको सार साँचो छ र यसले कुनै उल्लङ्घन सहँदैन भन्ने कुरा देख्‍न दिनुभयो। मानिसहरूलाई निम्‍न कुराहरू बताउन परमेश्‍वरले आफ्‍नो मनोवृत्ति प्रयोग गर्नुभयो: परमेश्‍वरले मानिसहरूलाई सहनुहुन्‍न वा तिनीहरूलाई कृपा प्रदान गर्न चाहनुहुन्‍न भन्‍ने होइन; बरु, तिनीहरूले बिरलै परमेश्‍वरसामु साँचो रूपले पश्‍चात्ताप गर्छन्, र बिरलै आफ्‍ना दुष्ट मार्गहरू छाड्छन् र आफ्ना हातका हिंसालाई त्याग्छन् भन्‍ने हो। अर्को शब्‍दमा भन्दा, जब परमेश्‍वर मानिससित रिसाउनुहुन्छ, तब उहाँ मानिसले साँचो रूपमा पश्‍चात्ताप गर्न सकोस् भन्‍ने आशा गर्नुहुन्छ, अनि उहाँ मानिसको साँचो पश्‍चात्ताप हेर्न चाहनुहुन्छ, र त्यस्तो अवस्थामा उहाँले मानिसलाई उदारताका साथ आफ्‍नो कृपा र सहनशीलता प्रदान गर्न जारी राख्‍नुहुनेछ। भन्‍नुको अर्थ, मानिसका दुष्ट कार्यहरूले परमेश्‍वरको क्रोध निम्त्याउँछन्, जबकि परमेश्‍वरको कुरा सुन्‍ने र उहाँको अघि साँचो रूपमा पश्‍चात्ताप गर्नेहरूलाई, आफ्‍ना दुष्ट मार्गहरू छाड्न सक्ने र आफ्‍नो हातको हिंसा त्याग्‍न सक्‍नेहरूलाई परमेश्‍वरको कृपा र सहनशीलता प्रदान गरिन्छ। निनवेवासीलाई उहाँले जस्तो व्यवहार गर्नुभएको थियो, त्यसमा परमेश्‍वरको मनोवृत्ति अत्यन्तै स्पष्ट रूपमा प्रकट भएको थियो: परमेश्‍वरको कृपा र सहनशीलता प्राप्त गर्न कठिन छैन, र उहाँले चाहनुहुने भनेको व्यक्तिको साँचो पश्‍चात्ताप नै हो। मानिसहरू आफ्‍ना दुष्ट मार्ग छोडेमा र आफ्नो हिंसा त्यागेमा, तिनीहरूप्रति परमेश्‍वरले आफ्‍नो हृदय र मनोवृत्ति परिवर्तन गर्नुहुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

५६४. जब निनवेका मानिसहरूप्रति परमेश्‍वरको हृदय परिवर्तन भयो, तब के उहाँको कृपा र क्षमा देखावटी थियो? अवश्यै थिएन! त्यसोभए परमेश्‍वरले यो एउटा परिस्थिति सम्हाल्ने क्रममा उहाँको स्वभावका यी दुई पक्षबीचको परिवर्तनले के देखाएको छ? परमेश्‍वरको स्वभाव पूर्ण रूपमा सिङ्गो छ—यो कदापि विभाजित छैन। उहाँले मानिसहरूप्रति रिस वा कृपा र क्षमा जे व्यक्त गरिरहनुभएको भए पनि, यी सबै उहाँको धर्मी स्वभावका अभिव्यक्ति हुन्। परमेश्‍वरको स्वभाव सजीव र जीवन्त छ, र कामकुराहरू जे-जसरी विकसित हुन्छन्, सोहीअनुसार नै उहाँ आफ्‍ना विचार र मनोवृत्तिहरू परिवर्तन गर्नुहुन्छ। निनवेवासीप्रतिको उहाँको मनोवृत्तिको रूपान्तरणले मानवजातिलाई उहाँसँग उहाँका आफ्‍नै सोचाइ र विचार छन्, उहाँ रोबट वा माटोको मूर्ति हुनुहुन्‍न, जीवित परमेश्‍वर हुनुहुन्छ भनेर बताउँछ—उहाँ निनवेका मानिसहरूदेखि त्यसरी नै रिसाउन सक्‍नुहुन्थ्यो जसरी उहाँले तिनीहरूको मनोवृत्तिका कारण तिनीहरूको विगतलाई क्षमा गरिदिन सक्‍नुभयो; उहाँ निनवेवासीमाथि विपत् ल्याउने निर्णय गर्न सक्‍नुहुन्थ्यो, र उहाँ तिनीहरूको पश्‍चात्तापका कारण आफ्‍नो निर्णय परिवर्तन पनि गर्न सक्‍नुहुन्थ्यो। मानिसहरू त्यसरी नै कठोर रूपमा प्रावधानहरू लागू गर्न अनि परमेश्‍वरलाई सीमित पार्न र परिभाषित गर्न प्रावधानहरू प्रयोग गर्न मन पराउँछन्, जसरी तिनीहरू परमेश्‍वरको स्वभाव बुझ्‍ने प्रयास गर्न सूत्रहरू प्रयोग गर्न मन पराउँछन्। त्यसकारण, जहाँसम्म मानव सोचको दायराको कुरो छ, परमेश्‍वर सोच्नुहुन्न, न त उहाँसँग कुनै ठोस विचारहरू नै हुन्छन्। तर वास्तवमा, परमेश्‍वरका विचारहरू कामकुरा र वातावरणहरूमा आउने परिवर्तनअनुसार निरन्तर रूपान्तरणको स्थितिमा हुन्छन्। उहाँका विचारहरू रूपान्तरण हुँदै गर्दा, परमेश्‍वरको सारका फरक-फरक पक्षहरू प्रकट हुन्छन्। रूपान्तरणको यस प्रक्रियाको दौरान, परमेश्‍वरमा परिवर्तित हृदय भएकै क्षणमा, उहाँ मानवजातिलाई जे देखाउनुहुन्छ, त्यो उहाँको जीवनको साँचो अस्तित्व हो, र उहाँको धर्मी स्वभाव सजीव र जीवन्त छ। साथसाथै, परमेश्‍वर उहाँको क्रोध, उहाँको कृपा, उहाँको प्रेमिलो दयालुपन, र उहाँको क्षमाको अस्तित्वको सत्यता मानवजातिसामु प्रमाणित गर्नका लागि आफ्‍नै साँचो प्रकटीकरणहरू प्रयोग गर्नुहुन्छ। कामकुरा जे-जसरी विकसित हुन्छन्, त्यसैअनुसार कुनै पनि समय र कुनै पनि स्थानमा उहाँको सार प्रकट हुनेछ। उहाँमा सिंहको क्रोध अनि आमाको कृपा र क्षमा छ। उहाँको धर्मी स्वभावले कुनै पनि व्यक्तिलाई कुनै पनि सवाल उठाउन, उल्लङ्घन गर्न, परिवर्तन गर्न, वा बिगार्न दिँदैन। सबै घटना र कामकुरामध्ये परमेश्‍वरको धर्मी स्वभाव—अर्थात्, परमेश्‍वरको क्रोध र कृपा—कुनै पनि समय र कुनै पनि स्थानमा प्रकट हुन सक्छ। उहाँ सारा सृष्टिको हरेक कुनामा यी पक्षहरूलाई सजीव रूपमा अभिव्यक्त गर्नुहुन्छ, र बितेर जाने हरेक क्षणमा उहाँ तिनलाई जीवन्तताका साथ कार्यान्वयन गर्नुहुन्छ। परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानद्वारा सीमित छैन; अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको धर्मी स्वभाव समय वा स्थानका पाबन्दीहरूअनुसार यान्त्रिक रूपमा होइन, बरु पूर्ण सहजताका साथ र कुनै पनि समय र स्थानमा व्यक्त वा प्रकट गरिन्छ। जब तैँले परमेश्‍वरको हृदय परिवर्तन भएको, उहाँले आफ्‍नो क्रोध व्यक्त गर्न छोड्नुभएको, र निनवे सहरलाई नष्ट गर्नबाट पछि हट्नुभएको देख्छस्, तब के तँ परमेश्‍वर कृपालु र प्रेमिलो मात्र हुनुहुन्छ भनेर भन्‍न सक्छस्? के तँ परमेश्‍वरको क्रोध खोक्रा शब्‍दहरूले बनेको छ भनेर भन्‍न सक्छस्? जब परमेश्‍वर आफ्नो भीषण क्रोध बर्साउनुहुन्छ र आफ्‍नो कृपा फिर्ता लिनुहुन्छ, तब के तँ उहाँमा मानवजातिप्रति कुनै साँचो प्रेम छैन भनेर भन्‍न सक्छस्? यो भीषण क्रोध मानिसहरूका दुष्ट कार्यहरूको प्रतिक्रियास्वरूप परमेश्‍वरद्वारा व्यक्त गरिन्छ; उहाँको क्रोध खोटरहित छ। मानिसहरूले गरेको पश्‍चात्तापको प्रतिक्रियास्वरूप परमेश्‍वरको हृदय प्रभावित हुन्छ, र यसैको कारण उहाँको हृदयमा परिवर्तन आउँछ। जब उहाँ प्रभावित हुनुहुन्छ, जब उहाँको हृदय परिवर्तन हुन्छ, र जब उहाँले मानिसप्रति आफ्‍नो कृपा र क्षमा देखाउनुहुन्छ, तब यी सबै पूर्ण रूपमा खोटरहित हुन्छन्; ती चोखा, विशुद्ध, निष्कलङ्क र मिसावटरहित हुन्छन्। परमेश्‍वरको क्षमा क्षमा मात्र हो, र उहाँको कृपा कृपा मात्रै हो। उहाँको स्वभावले मानिसका विभिन्‍न प्रकटीकरण र पश्‍चात्तापअनुरूप क्रोध प्रकट गर्छ वा कृपा र क्षमा व्यक्त गर्छ। उहाँले जे प्रकट र व्यक्त गर्नुभए पनि, यी सबै विशुद्ध र प्रत्यक्ष हुन्छन्; यो जुनसुकै सृजित प्राणीको सारभन्दा पृथक् हुन्छ। परमेश्‍वरले व्यक्त गर्ने कार्यका सिद्धान्तहरू, उहाँका सोच र विचार, साथै उहाँले लिने हरेक निर्णय र गर्ने हरेक कार्यअन्तर्गत—कहीँकतै कुनै खोट वा दाग हुँदैन। परमेश्‍वरले त्यसरी निर्णय गर्नुभएको हुनाले र त्यसरी कार्य गर्नुभएको हुनाले, उहाँले हासिल गर्ने यही नै हो, र यो नतिजा सही र त्रुटिरहित हुन्छ, किनकि यसको स्रोत नै खोटरहित र निष्कलङ्क हुन्छ। परमेश्‍वरको क्रोध खोटरहित छ। त्यसरी नै, परमेश्‍वरको कृपा र क्षमा, जुन कुनै पनि सृजित प्राणीसँग हुँदैन, पवित्र र खोटरहित छ, र यसले ध्यानपूर्वक गरिने सोचविचार र अनुभवलाई थेग्न सक्छ।

निनवेको कथाबारे थाहा पाएपछि, के अब तिमीहरू परमेश्‍वरको धर्मी स्वभावको सारको अर्को पक्ष देख्छौ? के तिमीहरू परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको अर्को पक्ष देख्छौ? के मानवजातिमाझ कसैसँग यस प्रकारको स्वभाव छ? के कसैसँग यस प्रकारको क्रोध, परमेश्‍वरको क्रोध छ? के कसैसँग परमेश्‍वरसँग भएजस्तो कृपा र सहनशीलता छ? सृजित प्राणीहरूमध्ये कसले त्यति भयङ्कर क्रोध उत्पन्न गर्न र मानवजातिलाई नष्ट गर्ने वा त्यसमाथि विपत् ल्याउने निर्णय गर्न सक्छ? अनि मानिसलाई कृपा प्रदान गर्न, सहन र क्षमा गर्न, र यसरी मानिसलाई नष्ट गर्ने आफ्‍नो पहिलेको निर्णय परिवर्तन गर्न को योग्य छ? सृष्टिकर्ताले आफ्‍नै अद्वितीय विधि र सिद्धान्तमार्फत आफ्‍नो धर्मी स्वभाव व्यक्त गर्नुहुन्छ, र उहाँ कुनै पनि मानिस, घटना, वा कामकुराले लादेको नियन्त्रण वा प्रतिबन्धको अधीनमा हुनुहुन्‍न। उहाँको अद्वितीय स्वभावभित्र, कसैले पनि उहाँका सोच र विचारहरू परिवर्तन गर्न सक्दैन, न त कसैले उहाँलाई मनाउन र उहाँका कुनै पनि निर्णय परिवर्तन गर्न नै सक्छ। सृजित प्राणीहरूका सबै व्यवहार र विचार उहाँको धर्मी स्वभावको फैसलाको अधीनमा अस्तित्वमा हुन्छन्। उहाँ क्रोध बर्साउनुहुन्छ कि कृपा प्रदान गर्नुहुन्छ भन्ने कुरा कसैले पनि नियन्त्रण गर्न सक्दैन; सृष्टिकर्ताको सारले मात्रै—वा अर्को शब्‍दमा भन्दा, सृष्टिकर्ताको धर्मी स्वभावले मात्रै—यसको निर्णय गर्न सक्छ। सृष्टिकर्ताको धर्मी स्वभावको अद्वितीय प्रकृति यही हो!

निनवेका मानिसहरूप्रति भएको परमेश्‍वरको मनोवृत्तिको रूपान्तरणलाई अर्थ्याउँदा, के तिमीहरू परमेश्‍वरको धर्मी स्वभावभित्र पाइने कृपालाई व्याख्या गर्न “अद्वितीय” शब्‍द प्रयोग गर्न सक्छौ? परमेश्‍वरको क्रोध उहाँको अद्वितीय धर्मी स्वभावको सारको एउटा पक्ष हो भनेर हामीले यसअघि भनेका थियौँ। अब म यी दुईवटा पक्षलाई—परमेश्‍वरको क्रोध र कृपालाई—उहाँको धर्मी स्वभावका रूपमा परिभाषित गर्नेछु। परमेश्‍वरको धर्मी स्वभाव पवित्र छ; यसले उल्‍लङ्‍घन सहँदैन, न त यसले कसैको सोधपुछ नै सहन्छ; यो सृजित वा गैर-सृजित प्राणीमाझ कसैमा पनि नहुने कुरा हो। यो परमेश्‍वरसँग मात्र हुने अद्वितीय र अनन्य कुरा हो। भन्‍नुको अर्थ, परमेश्‍वरको क्रोध पवित्र छ र यसले उल्लङ्घन सहँदैन। त्यसरी नै, परमेश्‍वरको धर्मी स्वभावको अर्को पक्ष—परमेश्‍वरको कृपा—पनि पवित्र छ र यसलाई पनि उल्लङ्घन गर्न सकिँदैन। सृजित वा गैर-सृजित कुनै पनि प्राणीले उहाँले गर्ने अभिप्राय राख्नुभएको कुरामा परमेश्‍वरलाई प्रतिस्थापन वा उहाँको प्रतिनिधित्व गर्न सक्दैन, न त कसैले सदोमको विनाश वा निनवेको मुक्तिमा उहाँलाई प्रतिस्थापन वा उहाँको प्रतिनिधित्व गर्न नै सक्छ। परमेश्‍वरको अद्वितीय धर्मी स्वभावको साँचो अभिव्यक्ति यही हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

५६५. निनवे सहरभरिका मानिसहरू सदोमका मानिसहरूजस्तै भ्रष्ट, दुष्ट र हिंस्रक भए तापनि, तिनीहरूको पश्‍चात्तापले गर्दा परमेश्‍वरको हृदय परिवर्तन भयो र उहाँले तिनीहरूलाई नष्ट नगर्ने निर्णय गर्नुभयो। किनभने तिनीहरूले परमेश्‍वरका वचनहरू र निर्देशनहरूलाई लिने तरिकाले सदोमका नागरिकहरूको भन्दा बिलकुलै फरक मनोवृत्ति प्रदर्शन गर्‍यो अनि परमेश्‍वरप्रतिको तिनीहरूको साँचो समर्पण र साँचो पश्‍चात्ताप, साथै सबै सन्दर्भमा तिनीहरूको साँचो र हृदयदेखि आएको व्यवहारले गर्दा, तिनीहरूप्रतिको परमेश्‍वरको कोमल स्नेह फेरि एक पटक उहाँको हृदयबाट निस्कियो र उहाँले यो तिनीहरूलाई प्रदान गर्नुभयो। परमेश्‍वरले जस्तै कसैले पनि मानवजातिलाई कामकुराहरू प्रदान गर्न र तिनीहरूको कदर गर्न सक्दैन अनि कुनै पनि व्यक्तिसँग परमेश्‍वरको कृपा, उहाँको सहनशीलता वा मानवजातिप्रतिको उहाँको साँचो स्नेह हुँदैन। के तैँले महान् पुरुष वा महिला वा महामानव नै ठान्ने यस्तो कुनै व्यक्ति छ, जो उच्च स्थानबाट, महान् पुरुष वा महिलाका रूपमा बोल्छ वा सर्वोच्च स्थानमा रहेर, मानवजाति वा सृजित प्राणीहरूलाई यस प्रकारको कुरा गर्छ? मानवजातिमध्ये कसले मानव जीवनको स्थितिलाई छर्लङ्गै चिन्न सक्छ? मानवजातिको अस्तित्वका लागि कसले बोझ र जिम्मेवारी बोक्न सक्छ? सहरको विनाशको घोषणा गर्न को योग्य छ? अनि सहरलाई क्षमा दिन को योग्य छ? कसले आफ्नो सृष्टिको कदर गर्छु भनेर भन्न सक्छ? सृष्टिकर्ताले मात्र! यस मानवजातिप्रति सृष्टिकर्ता मात्रै कोमल प्रेम महसुस गर्नुहुन्छ। यस मानवजातिलाई सृष्टिकर्ताले मात्रै नरम स्‍नेह देखाउनुहुन्छ। सृष्टिकर्तासँग मात्रै यस मानवजातिप्रति साँचो स्‍नेह छ, जसलाई तोड्न गाह्रो हुन्छ। सृष्टिकर्ताले मात्रै यस मानवजातिलाई कृपा दिन सक्‍नुहुन्छ, र उहाँ मात्रै आफ्‍ना सम्पूर्ण सृजित प्राणीहरूको कदर गर्नुहुन्छ। मानिसको हरेक कार्यले उहाँको हृदय प्रभावित हुन्छ: मानिसको दुष्टता र भ्रष्टताप्रति उहाँ रिसाउनुहुन्छ, व्याकुल र दुःखित बन्‍नुहुन्छ; मानिसको पश्चात्ताप, विश्वास, र समर्पणप्रति उहाँ प्रसन्न र हर्षित महसुस गर्नुहुन्छ र उहाँको हृदय परिवर्तन हुन्छ र उहाँ रमाउनुहुन्छ; उहाँका हरेक सोचाइ र विचार मानिसकै निम्ति अस्तित्वमा हुन्छन् र मानिसकै वरपर घुम्छन्; उहाँ जे हुनुहुन्छ र उहाँसँग जे छ सो सम्पूर्ण रूपले मानवजातिका खातिर व्यक्त गरिन्छ; उहाँका भावनाहरूको सम्पूर्णता मानवजातिको अस्तित्वसँग गाँसिएको छ। मानवजातिका खातिर, उहाँ यात्रा गर्नुहुन्छ र यताउता दौडधुप गर्नुहुन्छ; उहाँ चुपचाप आफ्नो जीवनको हरेक अंश दिनुहुन्छ; उहाँ आफ्नो जीवनको हरेक मिनेट र हरेक सेकेन्ड समर्पित गर्नुहुन्छ...। उहाँले आफ्‍नै जीवनको कदर गर्न कहिल्यै जान्‍नुभएको छैन, तैपनि आफैले सृष्टि गरेको मानवजातिलाई उहाँले सधैँ कोमल स्नेह देखाउनुभएको छ…। आफूसँग भएको सबै कुरा उहाँले यो मानवजातिलाई दिनुहुन्छ…। उहाँले निःसर्त र प्रतिफल पाउने अपेक्षा नै नगरिकन आफ्‍नो कृपा र सहनशीलता दिनुहुन्छ। मानवजाति उहाँको आँखा अगाडि, र उहाँले गर्नुभएको जीवन आपूर्तिमुनि बाँचिरहन सकून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ। मानवजातिले एक दिन उहाँसामु आफूलाई समर्पण गर्न सकून् र मानिसको अस्तित्वलाई पोषण गर्ने र सारा सृष्टिको जीवन आपूर्ति गर्ने उहाँ नै हुनुहुन्छ भन्‍ने कुरा पहिचान गरून् भनेर मात्रै उहाँले यसो गर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

५६६. परमेश्‍वरसँग वास्तवमै कृपा र सहनशीलता छन्, तर परमेश्‍वरले उहाँको रिस बर्साउँदा उहाँको पवित्रता र धार्मिकताले मानिसलाई परमेश्‍वरको त्यो पक्ष पनि देखाउँछ जसले उल्लङ्घन सहँदैन। जब मानिस परमेश्‍वरका आज्ञाहरू पालन गर्न र परमेश्‍वरका मागहरूअनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ, तब परमेश्‍वरमा मानिसप्रति प्रचुर कृपा हुन्छ; तर, जब मानिस भ्रष्टताले भरिएको, र उहाँप्रति दुस्मनी र शत्रुताले भरिपूर्ण हुन्छ, तब परमेश्‍वर घोर रूपमा रिसाउनुहुन्छ। उहाँ कुन हदसम्म रिसाउनुहुन्छ? परमेश्‍वरको रिस तबसम्म रहिरहनेछ जबसम्म उहाँले मानिसका प्रतिरोध र दुष्ट कार्यहरू देख्न छोड्नुहुन्न, जबसम्म ती कुराहरू उहाँको आँखाको सामुन्नेबाट हट्दैनन्। तब मात्र परमेश्‍वरको रिस हराउनेछ। अर्को शब्दमा भन्दा, व्यक्ति चाहे जोसुकै भए पनि, यदि उसको हृदय परमेश्‍वरबाट टाढिएको छ र परमेश्‍वरबाट तर्किएको छ, र त्यसलाई फिर्ता ल्याउन सकिँदैन भने, बाह्य रूपमा वा आफ्ना व्यक्तिगत चाहनाहरूका हिसाबले उसले आफ्नो शरीर र सोचविचारमा परमेश्‍वरको आराधना गर्न, उहाँलाई पछ्याउन र उहाँप्रति समर्पित हुन जतिसुकै इच्छा गरे पनि, जबसम्म उसको हृदय परमेश्‍वरबाट तर्किन्छ, तबसम्म परमेश्‍वरको रिस निरन्तर बर्सिरहनेछ। जब परमेश्‍वरले उसलाई प्रशस्त अवसरहरू दिइसक्नुभएपछि उहाँको घोर रिस बर्साउनुहुन्छ, तब त्यसलाई फिर्ता लिने कुनै उपाय हुनेछैन, र उहाँ त्यस्तो व्यक्तिप्रति फेरि कहिल्यै कृपालु र सहनशील हुनुहुनेछैन। यो परमेश्‍वरको स्वभावको एउटा पक्ष हो, जसले कुनै उल्‍लङ्घन सहँदैन। … उहाँ दयालु, सुन्दर र असल कुराहरूप्रति सहनशील र कृपालु हुनुहुन्छ; दुष्ट, पापी र खराब कुराहरूप्रति उहाँ घोर रिसाउनुहुन्छ, यहाँसम्म कि उहाँको रिस कहिल्यै मर्दैन। परमेश्‍वरको स्वभावका दुई वटा प्रमुख पक्ष यिनै हुन्, जुन सबैभन्दा महत्त्वपूर्ण, सबैभन्दा विशिष्ट हुन्, र अझ भन्‍ने हो भने, परमेश्‍वरद्वारा सुरुदेखि अन्त्यसम्मै प्रकट गरिएका हुन्छन्: प्रशस्त कृपा र घोर रिस।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

५६७. मानिसहरू भन्छन्, “परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ। जबसम्‍म मानिसले उहाँलाई अन्त्यसम्‍मै पछ्याउँछ, उहाँ मानिसहरूप्रति निश्‍चय नै निष्पक्ष हुनुहुनेछ, किनभने उहाँ सबैभन्दा धर्मी हुनुहुन्छ। यदि मानिसले उहाँलाई अन्तिमसम्‍मै पछ्यायो भने, के उहाँले मानिसलाई पन्छाउन सक्‍नुहुन्छ?” म सबै मानिसहरूप्रति निष्पक्ष छु, र सबै मानिसहरूलाई मेरो धर्मी स्वभावद्वारा न्याय गर्छु, तैपनि मानिसहरूप्रति मेरा सबै मागहरूमा उचित सर्तहरू समावेश छन्, र मैले माग गरेको कुरा सबै मानिसहरूले पूरा गर्नैपर्छ, चाहे ती जोसुकै होऊन्। मलाई तँ कति वरिष्ठ छस् वा कति अनुभवी छस् भन्ने कुराको मतलब छैन; म त तैँले मेरो मार्ग पछ्याउँछस् कि पछ्याउँदैनस् र तैँले सत्यताप्रति प्रेम र तृष्णा गर्छस् कि गर्दैनस् भन्ने कुरालाई मात्रै वास्ता गर्छु। यदि तँमा सत्यताको कमी छ र यसको सट्टा तैँले मेरो नाउँलाई लज्जित पार्छस् र कुनै वास्ता वा चिन्ता नगरी पछ्याउने काम मात्र गर्छस् तर मेरो मार्गअनुसार काम गर्दैनस् भने, त्यो बेला म तँलाई तेरो दुष्टताको लागि ढाल्नेछु र दण्ड दिनेछु, अनि त्यसबेला तँसँग भन्नका लागि के रहनेछ? के तैँले परमेश्‍वर धर्मी हुनुहुन्‍न भनेर भन्‍न सक्छस्? यदि मैले आज बोलेका सबै वचनहरूलाई तैँले पालन गरेको छस् भने, तँ मैले अनुमोदन गर्ने प्रकारको व्यक्ति होस्। तँ तैँले परमेश्‍वरलाई पछ्याउने क्रममा सधैँ दुःख भोगेको छस्, आँधीबेरीमा उहाँलाई पछ्याएको छस्, र उहाँसँग राम्रा र नराम्रा पलहरू बिताएको छस् भनेर भन्छस्, तर परमेश्‍वरले बोल्‍नुभएका वचनहरू तैँले जिएको छैनस्; तँ हरेक दिन परमेश्‍वरका लागि दौडधुप गर्न र आफूलाई उहाँमा समर्पित गर्न मात्रै चाहन्छस्, तर तैँले अर्थपूर्ण जीवन जिउनेबारे कहिल्यै पनि सोचेको छैनस्। तँ यो पनि भन्छस्, “आखिरमा, म परमेश्‍वर धर्मी हुनुहुन्छ भनी विश्‍वास गर्छु। म उहाँका लागि दुःख भोग्छु, उहाँका लागि दौडधुप गर्छु, र उहाँप्रति आफूलाई अर्पित गर्छु, अनि मैले कुनै पनि उपलब्धि हासिल नगरेको भए पनि कष्ट सहेको छु; उहाँले निश्‍चय नै मलाई याद गर्नुहुन्छ।” परमेश्‍वर धर्मी हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तैपनि यो धार्मिकता कुनै पनि अशुद्धताहरूद्वारा कलङ्कित छैन: यसमा कुनै मानव इच्‍छा समावेश हुँदैन र यो देह वा मानव लेनदेनहरूद्वारा कलङ्कित छैन। जो विद्रोही र विरोधमा छन्, जसले उहाँको मार्ग पालन गर्दैनन्, ती सबै दण्डित हुनेछन्; कसैलाई पनि क्षमा दिइनेछैन र कसैलाई पनि बाँकी राखिनेछैन! कतिपय मानिसहरू भन्छन्, “आज म तपाईँका निम्ति दौडधुप गर्छु; अन्तिममा, के तपाईँ मलाई अलिकति आशिष् दिन सक्‍नुहुन्छ?” त्यसोभए म तँलाई सोध्छु, “के तैँले मेरा वचनहरू पालन गरेको छस्?” तँ जुन धार्मिकताको कुरा गर्छस् त्यो एउटा लेनदेनमै सीमित छ। तँ यति मात्र सोच्छस् कि म धर्मी छु, कि म सबै मानिसहरूप्रति निष्पक्ष छु, र मलाई अन्त्यसम्‍मै पछ्याउने सबैले पक्कै पनि मुक्ति पाउँछन् र मेरा आशिष्‌हरू प्राप्त गर्छन्। “जसले मलाई अन्त्यसम्‍मै पछ्याउँछन् तिनीहरू सबैले निश्‍चय नै मुक्ति पाउँछन्” भन्‍ने मेरो वचनको भित्री अर्थ छ: जसले अन्त्यसम्म मलाई पछ्याउँछन्, तिनीहरू नै मद्वारा पूर्ण रूपमा प्राप्त गरिनेछन्; तिनीहरू ती हुन् जो मद्वारा विजय गरिएपछि सत्यताको खोजी गर्छन् र सिद्ध पारिन्छन्। तैँले कतिवटा मागहरू पूरा गरेको छस्? मलाई अन्त्यसम्‍मै पछ्याउनेबाहेक तैँले अरू कुन माग पूरा गरेको छस्? के तैँले मेरा वचनहरू पालन गरेको छस्? तैँले मेरा पाँचवटा मागहरूमध्ये एउटा पूरा गरेको छस्, तर तँसँग बाँकी चारवटा मागहरू पूरा गर्ने कुनै अभिप्राय छैन। तैँले केवल सबैभन्दा सरल, सबैभन्दा सजिलो मार्ग भेट्टाएको छस्, र भाग्यमा मात्र भर पर्ने मनोवृत्तिसाथ पछ्याएको छस्। तँजस्तो व्यक्तिप्रति मेरो धर्मी स्वभाव भनेको सजाय र न्याय, साथै धर्मी सजाय मात्र हो; यसको अर्थ सबै दुष्कर्मीहरूलाई दिइने धर्मी दण्ड हो। अन्त्यसम्मै पछ्याए पनि मेरो मार्ग नपछ्याउने सबैजना अवश्य नै दण्डित हुनेछन्। परमेश्‍वरको धार्मिकता नै यही हो। मानिसलाई दण्ड दिने क्रममा जब यो धर्मी स्वभाव प्रकट गरिन्छ, तब मानिस अवाक् हुनेछ र परमेश्‍वरलाई पछ्याउने क्रममा उहाँको मार्ग नपछ्याएकोमा उसले अफसोस गर्नेछ। “त्यस बेला, परमेश्‍वरलाई पछ्याउने क्रममा मैले अलिकति मात्रै कष्ट भोगेँ, तर परमेश्‍वरको मार्ग पछ्याइनँ। स्पष्टीकरण दिने के ठाउँ छ र? सजाय पाउनेबाहेक अरू कुनै पनि विकल्‍प छैन!” तैपनि उसले आफ्‍नो मनमा यो विचार गरिरहेको हुन्छ, “जे होस्, मैले अन्त्यसम्‍मै पछ्याएको छु, त्यसैले तपाईंले मलाई सजाय दिनुभयो भने पनि, यो अत्यन्तै कठोर सजाय हुन सक्दैन र यो सजाय दिइसक्‍नुभएपछि तपाईंले मलाई अझै पनि चाहनुहुनेछ। मलाई थाहा छ तपाईं धर्मी हुनुहुन्छ, र मलाई सधैँभरि त्यस्तो व्यवहार गर्नुहुनेछैन। आखिर, म ती नष्ट गरिने मानिसहरूजस्तो छैनँ; नष्ट गरिनुपर्नेहरूले भारी सजाय प्राप्त गर्नेछन्, तर मेरो सजाय हल्‍का हुनेछ।” धर्मी स्वभाव तैँले भनेको जस्तो होइन। आफ्‍नो पापलाई स्वीकार गर्न सिपालु मानिसहरूलाई उदारताको साथ निराकरण गरिनेछ भन्‍ने होइन। धार्मिकता भनेको पवित्रता हो र यो त्यस्तो स्वभाव हो जसले मानिसले गरेको उल्‍लङ्घनलाई सहँदैन, र अशुद्ध र परिवर्तन नभएकाहरू सबै नै परमेश्‍वरको घृणाका निसानाहरू हुन्। परमेश्‍वरको धर्मी स्वभाव व्यवस्था होइन, तर प्रशासनिक आदेश हो: यो राज्यभित्रको प्रशासनिक आदेश हो र यो प्रशासनिक आदेश नै सत्यता धारण नगरेका र परिवर्तन नभएका र मुक्तिको कुनै गुन्जाइस नभएका जोकोहीको लागि धर्मी दण्ड हो। जब हरेक व्यक्तिलाई उसको प्रकारअनुसार वर्गीकरण गरिन्छ, तब असललाई इनाम दिइनेछ र दुष्टलाई दण्ड दिइनेछ। मानिसको गन्तव्य स्पष्ट पारिने बेला यही हो; यो मुक्तिको काम समाप्त हुने समय हो, जुन समयपछि मानिसलाई मुक्ति दिने कार्य फेरि गरिनेछैन र दुष्ट कार्य गर्ने हरेकमाथि दण्ड ल्याइनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

५६८. मेरो कृपा मलाई प्रेम गर्ने र आफूलाई त्याग्नेहरूप्रति व्यक्त हुन्छ। यसबीच, दुष्टमाथि आइपर्ने दण्ड, मेरो धर्मी स्वभावको ठ्याक्कै नै प्रमाण हो, र, त्योभन्दा बढी, मेरो क्रोधको गवाही हो। जब प्रकोप आउँछ, मेरो विरोध गर्नेहरू सबै, भोकमरी र महामारीले पीडित हुँदै गर्दा रुनेछन्। धेरै वर्षदेखि मलाई पछ्याएका, तर सबै प्रकारका दुष्ट कार्यहरू गरेकाहरू आफ्ना पापबाट उम्कनेछैनन्; उनीहरू पनि यस्तो प्रकोपमा डुब्नेछन्, जुन विगतका लाखौँ वर्षमा विरलै देखिएको छ, र उनीहरू सन्त्रास र डरको अनवरत स्थितिमा बाँच्नेछन्। अनि मेरा अनुयायीहरूमध्ये मप्रति पूर्ण बफादारी देखाएकाहरू रमाउनेछन् र ताली बजाउनेछन्, अनि मेरो शक्तिको प्रशंसा गर्नेछन्। उनीहरूले अवर्णनीय निस्फिक्री खुसीयालीको भाव अनुभव गर्नेछन् र मैले मानवजातिलाई यसअघि कहिल्यै प्रदान नगरेको हर्षमाझ जिउनेछन्। किनभने म मानिसका असल कार्यलाई कदर गर्छु र उसका दुष्ट कार्यलाई घृणा गर्छु। मैले मानवजातिलाई नेतृत्व गर्न प्रारम्भ गरेदेखि नै, मैले मसँग एउटै मन भएका मानिसहरूको समूह प्राप्त गर्ने आशा व्यग्रताका साथ गरिरहेको छु। यसैबीच, मसँग एउटै मन नभएकाहरूलाई, म कहिल्यै बिर्सिन्नँ; म उनीहरूलाई आफ्नो हृदयभित्र सधैँ घृणा गर्छु, उनीहरूलाई उनीहरूका दुष्ट कार्यको जबाफ दिन लगाउने अवसर कुरिरहेको छु, र त्यो कुरा देख्दा मलाई आनन्द आउनेछ। अब अन्ततः मेरो दिन आएको छ, र मैले उप्रान्त पर्खनु पर्दैन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

अघिल्लो: क. परमेश्‍वरको अख्तियारको सम्बन्धमा

अर्को: ग. परमेश्‍वरको पवित्रताको सम्बन्धमा

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्