ग. परमेश्‍वरको पवित्रताको सम्बन्धमा

५६९. परमेश्‍वर सबैभन्दा पछौटे र फोहर ठाउँमा देह बन्नुभयो, र यस्तो तरिकाले मात्र परमेश्‍वरले उहाँको पवित्र र धर्मी स्वभावको सम्पूर्णता स्पष्ट रूपमा देखाउन सक्नुहुन्छ। अनि उहाँको धर्मी स्वभाव कुन माध्यमबाट देखाइन्छ? यो त्यस बेला देखाइन्छ जब उहाँले मानिसको पापको न्याय गर्नुहुन्छ, जब उहाँले शैतानको न्याय गर्नुहुन्छ, जब उहाँले पापलाई घृणा गर्नुहुन्छ, र जब उहाँको विरोध गर्ने र उहाँको विरुद्धमा विद्रोह गर्ने शत्रुहरूलाई तुच्छ ठान्नुहुन्छ। मैले आज बोल्ने वचनहरू मानिसका पापको न्याय गर्न, मानिसको अधर्मको न्याय गर्न, मानिसको अनाज्ञाकारितालाई श्राप दिनका निम्ति हुन्। मानिसको कुटिलपन र कपट, मानिसका बोली-वचनहरू र कामहरू—जुन सबै परमेश्‍वरको विरोधाभासमा छन्, ती सबलाई न्यायको दायरामा ल्याउनुपर्छ, र मानिसको अनाज्ञाकारितालाई पापको रूपमा भर्त्सना गरिनुपर्छ। उहाँका वचनहरू न्यायका सिद्धान्तहरूमा नै केन्द्रित हुन्छन्; उहाँले आफ्नै धार्मिक स्वभाव प्रकट गर्न मानिसको अधर्मको न्याय, मानिसको विद्रोहीपनको श्राप, र मानिसको कुरूप अनुहारको खुलासालाई प्रयोग गर्नुहुन्छ। पवित्रता उहाँको धार्मिक स्वभावको प्रतिनिधित्व हो, र वास्तवमा परमेश्‍वरको पवित्रता उहाँको धार्मिक स्वभाव नै हो। तिमीहरूका भ्रष्ट स्वभावहरू नै आजका वचनहरूको सन्दर्भ हुन्—म तिनलाई बोल्‍न र न्याय गर्न, अनि विजयको काम पूरा गर्नको लागि प्रयोग गर्दछु। वास्तविक काम यही मात्र हो, र यो यसले मात्र परमेश्‍वरको पवित्रतालाई पूर्ण रूपमा चम्कने तुल्याउँछ। यदि तँमा भ्रष्ट स्वभावको कुनै छाप छैन भने, परमेश्‍वरले तँलाई न्याय गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँको धर्मी स्वभाव नै देखाउनुहुनेछ। तँमा एक भ्रष्ट स्वभाव भएकोले, परमेश्‍वरले तँलाई त्यसै छोड्नुहुनेछैन, र यसैद्वारा नै उहाँको पवित्रतालाई देखाइन्छ। यदि परमेश्‍वरले मानिसको अपवित्रता र विद्रोहीपन अति ठूलो भएको देख्नुभयो र पनि उहाँ बोल्नुभएन वा तेरो न्याय गर्नुभएन, न त तेरो अधर्मका लागि तँलाई सजाय नै दिनुभयो, तब त्यसले उहाँ परमेश्‍वर हुनुहुन्न भन्ने प्रमाणित गर्छ, किनकि उहाँमा पापप्रति कुनै घृणा हुनेथिएन, उहाँ मानिस झैं फोहोर हुनुहुनेथियो। आज तेरो फोहोरकै कारण म तेरो न्याय गर्दछु, र तेरो भ्रष्टता र विद्रोहीपनको कारण म तँलाई सजाय दिन्छु। मैले वाहवाही पाउन वा जानी-जानी तिमीहरूलाई दमन गर्नका निम्ति मेरो शक्तिको प्रयोग गरिरहेको छैनँ; यस फोहोर देशमा जन्मेका तिमीहरू फोहोरद्वारा नराम्रोसँग दूषित भएका हुनाले म यी कुराहरू गर्छु। तिमीहरूले आफ्नो सत्यनिष्ठता र मानवता हराएका छौ र तिमीहरू संसारको सबैभन्दा फोहोर कुनाहरूमा जन्मेका सुँगुरहरूजस्ता भएका छौ, र त्यसैले गर्दा तिमीहरूको न्याय गरिन्छ र म तिमीहरूमाथि मेरो क्रोध पोखाउँछु। ठीक यही न्यायको कारण तिमीहरूले परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वर पवित्र परमेश्‍वर हुनुहुन्छ भनी बुझ्न सकेका छौ; उहाँको यही पवित्रता र धार्मिकताको कारण नै उहाँले तिमीहरूको न्याय गर्नुहुन्छ र तिमीहरूमाथि उहाँको आफ्नो क्रोध पोखाउनुहुन्छ। उहाँले मानिसहरूको विद्रोहपन देख्दा उहाँको धर्मी स्वभाव प्रकट गर्न सक्नुहुने भएकोले, र उहाँले मानिसको फोहोर देख्दा उहाँको पवित्रता प्रकट गर्न सक्नुहुने भएकोले, यही नै उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, जो पवित्र र मौलिक अवस्थाको हुनुहुन्छ, तापनि उहाँ फोहोरको देशमा बस्नुहुन्छ भनी देखाउन पर्याप्त हुन्छ। यदि व्यक्ति अरूसँग हिलोमा लडबडिन्छ, र उसमा केही पनि पवित्र छैन भने, र ऊसँग कुनै धार्मिक स्वभाव छैन भने, ऊ मानिसको अधर्मको न्याय गर्न योग्यको हुँदैन, न त ऊ मानिसको न्याय गर्न नै योग्यको हुन्छ। यदि कुनै व्यक्तिले अर्को व्यक्तिको न्याय गर्ने हो भने, के त्यो उनीहरूले आफैलाई अनुहारमा झापड हानेको जस्तो हुनेथिएन र? एक-अर्कामा एकसमान रूपले फोहोर रहेका व्यक्तिहरू आफूजस्तै व्यक्तिहरूको न्याय गर्न कसरी योग्य हुन सक्छन्? पवित्र परमेश्‍वर स्वयम् मात्र सम्पूर्ण फोहोर मानव जातिको न्याय गर्न सक्षम हुनुहुन्छ। मानिसले कसरी मानिसकै पापहरूको न्याय गर्न सक्छ? मानिसले कसरी मानिसका पापहरू देख्न सक्दछ, र ती पापहरूलाई दोषी ठहराउन मानिस कसरी योग्यको हुन सक्छ? यदि परमेश्‍वर मानिसका पापहरूको न्याय गर्न योग्य हुनुहुन्‍नथियो भने, उहाँ कसरी धर्मी परमेश्‍वर स्वयम्‌ हुन सक्नुहुन्थ्यो? जब मानिसहरूका भ्रष्ट स्वभावहरू प्रकट हुन्छन्, परमेश्‍वर मानिसहरूको न्याय गर्नका निम्ति बोल्नुहुन्छ र मात्र मानिसहरूले उहाँ पवित्र हुनुहुन्छ भनी देख्छन्। जब उहाँले मानिसका पापहरू प्रकट गर्दै मानिसलाई उसका पापहरूका निम्ति न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ, कुनै पनि व्यक्ति वा थोक यस न्यायबाट उम्कन सक्दैन; सबै फोहोर कुराहरूलाई उहाँले नै न्याय गर्नुहुन्छ, र यसरी मात्र उहाँको स्वभावलाई धर्मी भन्न सकिन्छ। यदि यो अन्यथा थियो भने, तिमीहरू नाउँ र तथ्य, दुवैमा प्रतिभार हौ भनी कसरी भन्न सकिन्थ्यो?

… त्यो फोहोरको देशबाट आएकै मानिसहरूद्वारा परमेश्‍वरको पवित्रतालाई देखाइन्छ; आज, उहाँले फोहोर देशका यी मानिसहरूमा प्रकट भएको फोहोर प्रयोग गर्नुहुन्छ, र उहाँले न्याय गर्नुहुन्छ, र न्यायको बीचमा उहाँले यही कुरा प्रकट गर्नुहुन्छ। उहाँले किन न्याय गर्नुहुन्छ? उहाँले न्यायको वचनहरू बोल्न सक्नुहुन्छ, किनकि उहाँले पापलाई घृणा गर्नुहुन्छ; यदि उहाँले मानवजातिको विद्रोहीपनलाई घृणा गर्नु हुँदैनथियो भने उहाँले कसरी त्यत्ति रिसाउन सक्नुहुन्थ्यो? यदि उहाँभित्र कुनै घृणा, कुनै इन्कार थिएन भने, यदि उहाँले मानिसहरूको विद्रोहलाई ध्यान नदिनुभएको भए, त्यसले उहाँलाई मानिस जस्तै फोहोर साबित गर्नेथियो। उहाँले मानिसको न्याय गर्न र मानिसलाई सजाय दिन सक्नुहुन्छ, किनकि उहाँ फोहोरलाई घृणा गर्नुहुन्छ, र उहाँले जुन कुरालाई घृणा गर्नुहुन्छ त्यो उहाँमा छँदैछैन। यदि उहाँमा पनि विरोध र विद्रोह भएको भए, उहाँले विरोधी र विद्रोहीहरूलाई तुच्छ मान्नुहुने थिएन। यदि आखिरी दिनहरूको काम इस्राएलमा गरिएको भए त्यसको कुनै अर्थ हुने थिएन। आखिरी दिनहरूको काम किन चीनमा भइरहेको छ, जुन सबैभन्दा अन्धकार र पछौटे ठाउँ हो? यो उहाँको पवित्रता र धार्मिकता प्रदर्शन गर्नका लागि हो। संक्षेपमा, ठाउँ जति धेरै अन्धकार हुन्छ परमेश्‍वरको पवित्रता त्यत्ति नै बढी स्पष्ट रूपमा देखाउन सकिन्छ। वास्तवमा, यी सबै परमेश्‍वरको कामका लागि हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

५७०. मैले धेरै पहिलेदेखि दुष्टात्माका विभिन्न कार्यहरू स्पष्टसँग देखेको छु। र दुष्टात्माद्वारा प्रयोग गरिएका मानिसहरू (गलत मनसाय भएका व्यक्तिहरू, देह र धनको लालसा गर्नेहरू, आफूलाई बढुवा दिनेहरू, मण्डलीलाई बाधा दिनेहरू, आदि) प्रत्येकलाई पनि मैले देखेको छु। दुष्टात्मा बाहिर निकालिएपछि सबै समाप्त हुन्छ भनेर नसोच्। म तँलाई भन्दछु! अबदेखि, म यी व्यक्तिहरूलाई कहिल्यै प्रयोग नगर्ने गरी एक-एक गर्दै हटाउनेछु! भन्नुको अर्थ, दुष्टात्माद्वारा भ्रष्ट पारिएको कुनै पनि व्यक्तिलाई म प्रयोग गर्नेछैन, अनि त्यसलाई बाहिर निकालिनेछ! मसँग भावनाहरू छैनन् भनेर नसोच्! यो जान्! म पवित्र परमेश्‍वर हुँ, र म फोहोर मन्दिरमा बस्दिनँ। म ती इमानदार र बुद्धिमान् मानिसहरूलाई मात्र प्रयोग गर्दछु जो मप्रति पूर्ण बफादार छन् र मेरो बोझको बारेमा सोच्छन्। किनकि त्यस्ता मानिसहरू मद्वारा पूर्वनियुक्त गरिएका थिए, र तिनीहरूमा दुष्टात्माहरूले अलिकति पनि काम गरिरहेका हुँदैनन्। म एउटा कुरा स्पष्ट पार्छु: अबदेखि उसो पवित्र आत्माको काम नभएकाहरू सबैमा दुष्टात्माहरूको काम हुन्छ। म फेरि दोहोऱ्याएर भन्छु: म त्यस्तो एक जना व्यक्ति पनि चाहन्नँ जसमा दुष्टात्माहरूले काम गर्दछ। तिनीहरू सबैलाई तिनीहरूका देहसहित पातालमा फालिनेछन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७६

५७१. परमेश्‍वरको आत्माले पहिरनुभएको देह परमेश्‍वरको आफ्नै देह हो। परमेश्‍वरको आत्मा सर्वोच्च हुनुहुन्छ; उहाँ सर्वशक्तिमान्, पवित्र र धर्मी हुनुहुन्छ। यसैगरी, उहाँको देह पनि सर्वोच्च, सर्वशक्तिमान्, पवित्र र धर्मी छ। यस्तो देहले मानवजातिको निम्ति धर्मी, हितकारी, पवित्र, महिमित र शक्तिशाली काम मात्र गर्न सक्छ; उहाँले सत्यताको उल्लङ्‍घन गर्ने, नैतिकता र न्यायको उल्लङ्‍घन गर्ने केही पनि गर्न सक्‍नुहुन्‍न, परमेश्‍वरको आत्मालाई विश्‍वासघात कुरा त परै जाओस्। परमेश्‍वरको आत्मा पवित्र हुनुहुन्छ र उहाँको देहलाई शैतानले भ्रष्ट पार्न सक्दैन; उहाँको देहको सार मानिसको देहभन्दा फरक छ। किनकि शैतानले मानिसलाई भ्रष्ट पारेको हो, परमेश्‍वरलाई होइन; शैतानले परमेश्‍वरको देहलाई कदापि भ्रष्ट पार्न सकेन। यसैले मानिस र ख्रीष्ट एउटै स्थानमा बास गर्नुहुने भए तापनि मानिसलाई मात्र शैतानले वश राख्छ, प्रयोग गर्छ र पासो पारेको छ। यसको विपरीत, ख्रीष्ट अनन्तदेखि शैतानको भ्रष्टतादेखि अभेद्य हुनुहुन्छ, किनकि शैतान कहिले पनि उच्च स्थानमा उक्लन सक्षम हुनेछैन र कहिले पनि परमेश्‍वरको नजिक जान सक्नेछैन। आज तिमीहरू सबैले बुझ्‍नुपर्छ कि मलाई विश्‍वासघात गर्ने मानवजातिलाई मात्र शैतानले भ्रष्ट पारेको छ। विश्‍वासघातको कुरा ख्रीष्टमा कुनै पनि हालतमा लागू हुँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। एउटा अत्यन्तै गम्भीर समस्या: विश्‍वासघात (२)

५७२. परमेश्‍वर स्वयममा कुनै पनि अनाज्ञाकारीताको तत्वहरू छैन; उहाँको स्वभाव असल छ। उहाँ सारा सुन्दरता र भलाइ, साथै सारा प्रेमको अभिव्यक्ति हुनुहुन्छ। देहमा समेत परमेश्‍वरले त्यस्तो कुनै पनि काम गर्नुहुन्‍न जसले परमेश्‍वर पिताको अवज्ञा गर्छ। आफ्नो जीवन बलिदान दिनु पर्दा समेत उहाँले हृदयदेखि त्यसो गर्न चाहनुहुन्छ, र उहाँले अन्य कुनै पनि निर्णय गर्नुभएन। परमेश्‍वरमा स्वःधार्मिकता वा स्वःमहत्त्व, वा अभिमानी र अहङ्कारीको कुनै तत्व छैन; उहाँमा कुटिलका कुनै तत्वहरू छैनन्। परमेश्‍वरको अवज्ञा गर्ने हरेक कुरा शैतानबाट आउँछ; सारा कुरूपता र दुष्‍टताको स्रोत शैतान नै हो। मानिसमा शैतानको जस्तै गुणहरू हुनुको कारण के हो भने मानिसलाई शैतानले भ्रष्‍ट तुल्याएको छ र त्यसले मानिसमा काम गर्छ। ख्रीष्‍टलाई शैतानले भ्रष्‍ट तुल्याएको छैन, त्यसकारण उहाँमा परमेश्‍वरका चरित्रहरू मात्रै छन्, तर शैतानको कुनै चरित्रहरू छैनन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

५७३. “परमेश्‍वरको पवित्रता” भनेको परमेश्‍वरको सार त्रुटिहीन छ, परमेश्‍वरको प्रेम निस्स्वार्थ छ, परमेश्‍वरले मानिसलाई प्रदान गर्नुहुने सबै निस्स्वार्थ छ, र परमेश्‍वरको पवित्रता निष्खोट र दोषरहित छ। परमेश्‍वरको सारका यी पक्षहरू आफ्‍नो प्रतिष्ठालाई प्रदर्शन गर्नको लागि उहाँले प्रयोग गर्नुहुने शब्‍दहरू मात्रै होइनन्, तर हरेक व्यक्तिलाई व्यवहार गर्नको लागि परमेश्‍वरले आफ्‍नो सारको इमानदारीपूर्वक प्रयोग गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरको सार रित्तो छैन, न त यो सूत्रात्मक वा सैद्धान्तिक नै छ, र यो ज्ञानको प्रकार पनि अवश्य नै होइन। यो मानिसको लागि शिक्षाको प्रकार होइन; बरु यो परमेश्‍वरका आफ्नै कार्यहरूको साँचो प्रकाश र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकटित सार हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

५७४. मैले बताएको परमेश्‍वरको पवित्रताले केलाई जनाउँछ? यसको बारेमा एकै क्षण विचार गर्। के परमेश्‍वरको पवित्रता उहाँको सत्यता हो? के परमेश्‍वरको पवित्रता उहाँको विश्‍वसनियता हो? के परमेश्‍वरको पवित्रता उहाँको निस्स्वार्थता हो? के यो उहाँको नम्रता हो? मानिसप्रतिको उहाँको प्रेम? परमेश्‍वरले मानिसलाई सित्तैँमा सत्यता र जीवन दिनुहुन्छ—के यो उहाँको पवित्रता हो? (हो।) परमेश्‍वरले प्रकट गर्नुहुने यो सबै कुरा अद्वितीय छ र यो भ्रष्ट मानवजातिको बीचमा अस्तित्वमा छैन, न त यसलाई मानवजातिमा नै देख्‍न सकिन्छ। शैतानले मानिसलाई भ्रष्ट तुल्याउने प्रक्रियाको अवधिमा यसको अलिकति छाप समेत देख्‍न सकिँदैन, न त शैतानको भ्रष्ट स्वभावमा न त शैतानको सार वा प्रकृतिमा नै देख्‍न सकिन्छ। परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै अद्वितीय छ; परमेश्‍वर स्वयमसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसमा मात्रै यस प्रकारको सार छ। … पवित्रताको सार साँचो प्रेम हो, तर योभन्दा पनि बढी यो सत्यता, धार्मिकता र ज्योतिको सार हो। परमेश्‍वरमा लागू गरिएको खण्डमा मात्रै “पवित्र” भन्‍ने शब्‍द उपयुक्त हुन्छ; सृष्टिको कुनै पनि कुरा “पवित्र” भन्‍न योग्य छैन। मानिसले यो बुझ्‍नैपर्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

५७५. जब परमेश्‍वर पृथ्वीमा आउनुभयो, उहाँ यस संसारका हुनुहुन्‍नथियो, र उहाँ संसारको आनन्द लिन मानिस बन्नुभएन। जुन स्थानमा काम गर्दा उहाँको स्वभाव प्रकट हुन्थ्यो र सबैभन्दा अर्थपूर्ण हुन्थ्यो त्यो उहाँ जन्मनुभएको स्थान थियो। चाहे त्यो एक पवित्र देश होस् वा फोहोर देश होस्, र उहाँले जहाँ-सुकै काम गर्नुभए पनि उहाँ पवित्र हुनुहुन्छ। संसारमा भएका सबै थोक उहाँद्वारा सृष्टि गरिएका थिए, तापनि यो सबै शैतानद्वारा भ्रष्ट पारिएका छन्। यद्यपि सबै थोक उहाँकै हुन्; ती सबै उहाँकै हातमा छन्। उहाँ आफ्‍नो पवित्रतालाई प्रकट गर्नको लागि एउटा फोहोर देशमा आउनुहुन्छ र त्यहाँ काम गर्नुहुन्छ; उहाँले यो केवल आफ्नो कामको खातिर गर्नुहुन्छ, जसको अर्थ यस फोहोर देशका मानिसहरूलाई मुक्ति दिन उहाँले त्यस्तो काम गर्न ठूलो अपमान सहनुहुन्छ भन्‍ने हो। यो सबै मानव जातिको खातिर साक्षी दिनका लागि गरिन्छ। त्यस्तो कामले मानिसहरूलाई परमेश्‍वरको धार्मिकता देखाउँदछ, र यसले राम्ररी परमेश्‍वरको सर्वोच्चता प्रकट गर्न सक्छ। उहाँको महानता र इमानदारीता अरूले खिसी गर्ने तुच्छ मानिसहरूको एउटा समूहको मुक्तिमा प्रकट हुन्छ। फोहोर देशमा जन्मनुले उहाँ तुच्छ हुनुहुन्छ भन्ने प्रमाणित गर्दैन; यसले केवल सबै सृष्टिलाई मानव जातिप्रतिको उहाँको महानता र उहाँको साँचो प्रेम देख्ने मौका दिँदछ। उहाँले जति बढी त्यसो गर्नुहुन्छ, त्यत्ति नै बढी उहाँको शुद्ध प्रेम, मानिसप्रति उहाँको निष्खोट प्रेम प्रकट हुन्छ। परमेश्‍वर पवित्र र धर्मी हुनुहुन्छ। उहाँ फोहोर भूमिमा जन्मनुभएको भए पनि, र येशू अनुग्रहको युगमा पापीहरूसँग बस्नुभएको जस्तै उहाँ फोहोरले भरिएका मानिसहरूको साथमा बस्नुभएको भए पनि, के उहाँको कामको प्रत्येक भाग सबै मानव जातिलाई जीवित राख्नका निम्ति गरिएको होइन र? के यो सबै मानव जातिले महान् मुक्ति पाऊन् भनेर होइन गरिएको र? दुई हजार वर्ष अघि, उहाँ केही वर्षसम्म पापीहरूसँग बस्नुभयो। त्यो छुटकाराको लागि थियो। आज, उहाँ फोहोर, तुच्छ मानिसहरूको एउटा समूहसँग बसिरहनुभएको छ। यो मुक्तिको खातिर हो। के उहाँका सबै कामहरू तिमी मानिसहरूका खातिर नै होइन र? यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने एउटा डूँडमा जन्मेर उहाँले त्यत्ति धेरै वर्षसम्म किन पापीहरूको माझमा जिउनु र दुःख भोग्‍नुपर्थ्यो र? र यदि मानव जातिलाई बचाउनु पर्दैनथ्यो भने, उहाँ किन दोस्रो पटक देहमा फर्केर आउनुपर्थ्यो, भूतात्माहरू भेला हुने यो देशमा किन जन्मनुपर्थ्यो, र शैतानद्वारा गहिरो रूपमा भ्रष्ट पारिएका मानिसहरूको साथमा बस्‍नुपर्थ्यो र? के परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्न? उहाँको कामको कुन भाग मानव जातिका लागि गरिएको छैन र? कुन भाग तिमीहरूको भाग्यका लागि गरिएको छैन? परमेश्‍वर पवित्र हुनुहुन्छ—यो अपरिवर्तनीय छ! उहाँ फोहोरद्वारा अप्रदूषित हुनुहुन्छ, यद्यपि उहाँ फोहोर देशमा आउनुभएको छ; यी सबैको अर्थ केवल यो हुन सक्छ कि मानव जातिप्रति परमेश्‍वरको प्रेम अत्यन्त निस्वार्थ छ र उहाँले भोग्नुभएको कष्ट र अपमान अत्यन्तै ठूलो छ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मोआबका सन्तानहरूलाई बचाउनुको महत्त्व

५७६. तेरा उपायहरू, तेरा विचारहरू, तेरा व्यवहार, तेरा बोलीवचन र कामहरू— के यी सबै अभिव्यक्तिहरू परमेश्‍वरको धार्मिकता र पवित्रताका निम्ति तुलनाको आधार होइनन् र? के तिमीहरूका अभिव्यक्तिहरू परमेश्‍वरका वचनहरूद्वारा प्रकट गरिएको भ्रष्ट स्वभावका अभिव्यक्तिहरू होइनन् र? तेरा सोचाइ र विचारहरू, तेरा प्रेरणाहरू, र तँमा प्रकट भएको भ्रष्टताले के परमेश्‍वरको धर्मी स्वभाव, साथै उहाँको पवित्रतालाई देखाउँदैन र। परमेश्‍वर पनि फोहोरको देशमा जन्मिनुभएको थियो, तर उहाँ फोहोरद्वारा कलङ्कित नभई रहनुभयो। उहाँ तँ जस्तै त्यही फोहोर संसारमा बस्नुहुन्छ, तर उहाँमा विवेक र समझ छ, र उहाँले फोहोरलाई घृणा गर्नुहुन्छ। सायद तैँले आफ्नो बोलीवचन र काममा रहेको कुनै फोहोर फेला पार्न सक्दैनस्, तर उहाँले त्यसो गर्न सक्नुहुन्छ, र उहाँले तँलाई ती देखाउनुहुन्छ। तेरा ती पुराना थोकहरू—तँमा भएको विकास, समझ र ज्ञानको कमी, र तेरो पछाडिएको जीवन शैली—ती सबैलाई कसरी आजको प्रकाशले ज्योतिमा ल्याएको छ; परमेश्‍वर यसरी काम गर्न पृथ्वीमा आउनुभयो भने मात्रै मानिसहरूले उहाँको पवित्रता र धर्मी स्वभावलाई देख्छन्। उहाँले तेरो न्याय गर्नुहुन्छ र तँलाई सजाय दिनुहुन्छ, जसले गर्दा तैँले समझ प्राप्त गर्छस्; कहिलेकहीँ, तेरो शैतानी प्रकृति प्रकट हुन्छ, र उहाँले त्यो तँलाई देखाउनुहुन्छ। उहाँले आफ्नो हत्केलालाई जस्तै मानिसको सारलाई जान्नुहुन्छ। उहाँ तिमीहरूको बीचमा जिउनुहुन्छ, उहाँले तैँले खाने जस्तै भोजन खानुहुन्छ, र उहाँ उही वातावरणमा बस्नुहुन्छ—तर पनि, उहाँले अझ धेरै कुरा जान्नुहुन्छ; उहाँले तँलाई खुलासा गर्न सक्नुहुन्छ र मानवताको भ्रष्ट सारलाई देख्न सक्नुहुन्छ। उहाँले जिउनेसम्बन्धी मानिसका सिद्धान्तहरू र कुटिलता र छलीपनलाई भन्दा बढी अरू कुनै कुरालाई घृणा गर्नुहुन्न। उहाँले विशेष गरी मानिसहरूका शारीरिक अन्तरक्रियाहरूलाई घृणा गर्नुहुन्छ। उहाँ मानिसको जिउने सिद्धान्तहरूसित परिचित नहुन सक्‍नुहुन्छ, तर मानिसहरूले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई उहाँले स्पष्ट रूपमा देख्न र पर्दाफास गर्न सक्नुहुन्छ। उहाँ यी कुराहरूका माध्यमबाट मानिससँग बोल्‍न र उसलाई सिकाउन काम गर्नुहुन्छ, मानिसहरूको न्याय गर्न, अनि उहाँको आफ्नै धर्मी र पवित्र स्वभाव प्रकट गर्न उहाँले यी कुराहरूको प्रयोग गर्नुहुन्छ। यसरी मानिसहरू उहाँको कामका निम्ति प्रतिभारहरू अर्थात् तुलना गर्ने आधारहरू बन्छन्। केवल देहधारी परमेश्‍वरले मात्र मानिसको भ्रष्ट स्वभाव र शैतानका सबै कुरूप अनुहारहरूलाई स्पष्ट पार्न सक्नुहुन्छ। उहाँले तँलाई दण्ड नदिनुभए पनि, र तँलाई उहाँको धार्मिकता र पवित्रताका लागि प्रतिभार वा तुलनाको आधारको रूपमा प्रयोग गर्नुभए पनि, तैँले लज्जित महसुस गर्छस् र लुक्‍ने कुनै ठाउँ पाउँदैनस्, किनकि तँ अति नै फोहोरी छस्। उहाँले मानिसमा प्रकट भएका थोकहरू प्रयोग गरेर बोल्नुहुन्छ, र जब यी थोकहरू प्रकाशमा ल्याइन्छन् तब मात्र मानिसहरूले परमेश्‍वर कत्तिसम्म पवित्र हुनुहुन्छ भनी जान्दछन्। उहाँले मानिसहरूमा भएको थोरै अपवित्रतालाई समेत नदेखेको जस्तो गर्नुहुन्न, चाहे ती तिनीहरूको हृदयमा भएका फोहोर विचारहरू नै किन नहोऊन्; यदि मानिसहरूका बोलीवचन र कामहरू उहाँको इच्छासँग मिल्दैनन् भने, उहाँले तिनीहरूलाई क्षमा गर्नुहुन्न। उहाँका वचनहरूमा, मानिस वा अरू कुनै थोकको फोहोरको निम्ति कुनै ठाउँ छैन—यो सबैलाई प्रकाशमा ल्याइनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

५७७. परमेश्‍वरले वस्तुहरूप्रति र मानवजातिप्रति उस्तै दृष्टिकोणहरू राख्‍नुभएको तैँले कहिल्यै देख्‍नेछैनस्, यसको साथै, समस्याहरूलाई सम्‍हाल्‍नका लागि उहाँले मानवजातिको दृष्टिकोण, ज्ञान, दर्शनशास्‍त्र वा कल्‍पनाको प्रयोग गरेको तैँले कहिल्यै देख्‍नेछैनस्। बरु, परमेश्‍वरले गर्नुहुने सबै कुरा अनि उहाँले प्रकट गर्नुहुने सबै कुरा सत्यतासँग गाँसिएको हुन्छ। अर्थात्, उहाँले भन्‍नुभएको हरेक वचन अनि उहाँले गर्नुभएको हरेक कार्य सत्यतासँग बाँधिएको हुन्छ। यो सत्यता कुनै आधारहीन कल्‍पनाको उपज होइन; परमेश्‍वरले उहाँको सार र उहाँको जीवनको सद्गुणद्वारा यो सत्यता र यी वचनहरूलाई व्यक्त गर्नुहुन्छ। यी वचनहरू अनि परमेश्‍वरले गर्नुभएको हरेक कुराको सार सत्यता नै भएकोले, परमेश्‍वरको सार पवित्र छ भनेर हामी भन्‍न सक्छौं। अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले भन्‍नुहुने अनि गर्नुहुने सबै कुराले मानिसहरूमा जीवन-शक्ति र ज्योति ल्याउँछ, मानिसहरूलाई सकारात्मक कुराहरू अनि ती सकारात्मक कुराहरूको वास्तविकतालाई देख्‍ने तुल्याउँछ, अनि मानवजातिको लागि मार्ग देखाउँछ ताकि तिनीहरू सही मार्गमा हिँड्न सकून्। यी सबै कुराहरूलाई परमेश्‍वरको सार र उहाँको पवित्रताको सारले निर्धारित गरेका हुन्छन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ५

५७८. जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब तैँले परमेश्‍वरमा वास्तवमा नै विश्‍वास गर्न सक्छस्; जब तैँले परमेश्‍वरको पवित्रतालाई बुझ्‍न पुग्छस्, तब “परमेश्‍वर स्वयम्, अद्वितीय” भन्‍ने शब्‍दहरूको साँचो अर्थलाई तैँले वास्तवमा नै महसुस गर्न सक्छस्। यस बाहेक तैँले हिँड्न छनौट गर्न सक्‍ने अरू मार्गहरू पनि छन् भनेर सोच्दै, तैँले उप्रान्त कल्‍पना गर्नेछैनस्, र उप्रान्त तँ तेरो लागि परमेश्‍वरले बन्दोबस्त गर्नुभएको सबै कुरालाई धोका दिन इच्‍छुक हुनेछैनस्। किनभने परमेश्‍वरको सार पवित्र छ, जसको अर्थ परमेश्‍वरद्वारा मात्रै तँ जीवनमा ज्योतिको धार्मिकताको मार्गमा हिँड्न सक्‍छस्; परमेश्‍वरद्वारा मात्रै तैँले जीवनको अर्थलाई जान्‍न सक्छस्; परमेश्‍वरद्वारा मात्रै तँ साँचो मानवतामा जिउन र सत्यतालाई प्राप्त गर्ने र जान्‍ने दुवै गर्न सक्छस्। परमेश्‍वरद्वारा मात्रै तैँले सत्यताबाट जीवन प्राप्त गर्न सक्छस्। परमेश्‍वर स्वयम्ले मात्रै तँलाई दुष्टताबाट अलग बस्‍न र आफैलाई शैतानको हानी र नियन्त्रणबाट छुटकारा गर्न सहायता गर्न सक्‍नुहुन्छ। तैँले उप्रान्त कष्ट भोग नगरोस् भनेर कष्टको समुद्रबाट तँलाई परमेश्‍वर बाहेक कसैले पनि र कुनै पनि कुराले मुक्ति दिन सक्दैन। यसलाई परमेश्‍वरको सारले नै निर्धारित गरेको हुन्छ। परमेश्‍वर स्वयम्‌ले मात्रै त्यति निस्स्वार्थ रूपमा तँलाई मुक्ति दिनुहुन्छ; तेरो भविष्यको लागि, तेरो गन्तव्यको लागि र तेरो जीवनको लागि परमेश्‍वर मात्रै आखिरमा जिम्‍मेवार हुनुहुन्छ, र उहाँले सबै कुरा तेरो लागि मिलाउनुहुन्छ। यो सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुराले हासिल गर्न नसक्‍ने कुरा हो। सृष्टि गरिएको वा सृष्टि नगरिएको कुनै पनि कुरामा परमेश्‍वरको सारजस्तो सार नहुने हुँदा, तँलाई मुक्ति दिने वा तँलाई अगुवाइ गर्ने क्षमता कुनै पनि व्यक्ति वा थोकमा हुँदैन। मानिसको लागि परमेश्‍वरको सारको महत्त्व यही नै हो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ६

५७९. मैले मानिसलाई सँधै नै कडा मापदण्डमा कायम गरेको छु। यदि तेरा बफादारीता अभिप्रायहरू र सर्तहरूसहित आउँदछ भने, म बरु तेरा कथित वफादारीरहित हुन चाहन्छु, किनकी मलाई आफ्‍ना अभिप्रायहरूद्वारा धोका दिने र सर्तहरू सहित जबरजस्ती गर्नेहरूलाई म घृणा गर्दछु। मानिस मप्रति पूर्ण रूपमा वफादारी होस्, र उसले एउटै शब्‍द, अर्थात् विश्‍वासको खातिर र त्यसलाई प्रमाणित गर्नको खातिर सबै कुरा गरून् भन्‍ने मात्रै म कामना गर्छु। मलाई खुशी पार्न कोसिस गर्ने तिमीहरूको चापलुसीको प्रयोगलाई म घृणा गर्छु, किनकि मैले सधैँ तिमीहरूलाई इमानदारिताले व्यवहार गरेको छु, र त्यसैले तिमीहरूले पनि मप्रति साँचो विश्‍वासले काम गरेको चाहन्छु।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

५८०. मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, अशुद्धहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म काम गरेको हुन सक्‍ने भए तापनि, आखिरमा तँ दुःखलाग्दो किसिमले घिन लाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको कानुनको लागि असहनीय हुनेछ! संसारको जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरका सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्रै सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै हेर्छस्, र आफ्‍नो जीवनको स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

५८१. उहाँ जो हुनुहुन्छ, उहाँ परमेश्‍वर नै हुनुहुन्छ, र उहाँ जे हुनुहुन्छ, त्यही उहाँसँग छ। उहाँले व्यक्त गर्नुभएका र प्रकट गरिदिनुभएका सबै कुराहरू उहाँका सारतत्त्व र उहाँका पहिचानका प्रतिनिधित्वहरू हुन्। उहाँ जो हुनुहुन्छ र उहाँसँग जे छ त्यसलाई, साथै उहाँका सारतत्त्व र पहिचानलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। उहाँको स्वभावमा मानिसजातिका निम्ति उहाँको प्रेम, मानवजातिको सान्त्वना, मानवजातिको घृणा, र मानवजातिको सामान्य बुझाइ सबै नै समावेश छन्। मानिसको व्यक्तित्व आशावादी, जीवन्त, वा संवेदनाहीन हुन सक्छ। परमेश्‍वरको स्वभाव सबै थोकहरू र सबै जीवित प्राणीहरूका शासकको, सारा सृष्‍टिका प्रभुको स्वभाव हो। उहाँको स्वभावले आदर, शक्ति, प्रताप, महानता, र सबैभन्दा महत्वपूर्ण सर्वोच्‍चताको प्रतिनिधित्व गर्छ। उहाँको स्वभाव अख्तियारको सङ्केत हो, सबै धार्मिकताको सङ्केत, सबै सुन्दरता र असलपनको सङ्केत हो। यी सबैभन्दा अझ महत्वपूर्ण कुरा त विजयी गर्न नसकिने वा अन्धकार र कुनै पनि शत्रुको शक्तिले आक्रमण गर्न नसकिने[क] व्यक्तिलाई सङ्केत गर्दछ, साथै सृष्‍टि गरिएका कुनै प्राणीले उल्‍लङ्घन (उहाँले कुनै उल्‍लङ्घन सहन सक्‍नुहुन्‍न)[ख] गर्न नसकिने व्यक्तिलाई सङ्केत गर्दछ। उहाँको स्वभावले सर्वोच्‍च शक्तिको सङ्केत गर्छ। कुनै पनि व्यक्ति वा व्यक्तिहरूले उहाँको काम वा उहाँको स्वभावलाई अवरोध पुर्‍याउन सक्दैन। तर मानिसको व्यक्तित्व पशुभन्दा अलिकति उच्‍च छ। मानिस आफैमा वा मानिससँग कुनै अख्तियार छैन, कुनै स्वतन्त्रता छैन, मानिससँग आफैलाई पार गरेर जाने क्षमता पनि छैन, तर उसको सारतत्त्वमा सबै प्रकारका मानिसहरू, घटनाहरू र थोकहरूको नियन्‍त्रणमा विवश हुने स्वभाव हुन्छ। परमेश्‍वरको आनन्द धार्मिकता र ज्योतिमा अस्तित्वमा रहन्छ र उदय हुन्छ, किनकि अन्धकार र दुष्‍टको विनाश भएको छ। उहाँ मानवजातिमा ज्योति र असल जीवन ल्याउनुभएको कुरामा आनन्द मनाउनुहुन्छ। उहाँको आनन्द धार्मिकताको आनन्द हो, यो सबै सकारात्मक कुराको सङ्केत हो, त्यसभन्दा अझ बढी यो शुभ अवसरको सङ्केत हो। दुष्‍टता र अन्धकार अस्तित्वमा भएको कारण, सत्यतालाई हटाउने कुराहरू अस्तित्वमा भएका कारण, सुन्दर र असल कुराहरूको विरोध गर्ने तत्त्वहरू अस्तित्वमा भएका कारण, र अन्यायको कारण परमेश्‍वरको क्रोध उहाँका मानवजाति माथि परेको हो। उहाँको क्रोध सबै किसिमका नकारात्मक कुराहरू अस्तित्वमा रहनेछैन भन्‍ने सङ्केत हो, यो भन्दा पनि अझ महत्वपूर्ण कुराचाहिँ यसले उहाँको पवित्रताको सङ्केत गर्छ। उहाँको शोकको कारण मानवजाति नै हो, उहाँले मानवजातिमा आशा राख्‍नुभएको थियो, तर ती मानवजाति अन्धकारमा पतन भएका छन्, किनकि उहाँले मानवजातिमा गर्नुभएको काम उहाँको अपेक्षाहरूको नापसम्म आउँदैनन्, किनकि उहाँले प्रेम गर्नुभएका मानवजाति सबै जना ज्योतिमा जिउन सक्दैनन्। उहाँले निर्दोष मानवजातिप्रति दुःख महसुस गर्नुहुन्छ, साथै इमानदार तर अज्ञानी मानिस, र असल तर आफ्नै दृष्टिकोणको अभाव भएका मानिसप्रति पनि उहाँले दुःख महसुस गर्नुहुन्छ। उहाँको दुःख उहाँको भलोपन र उहाँको कृपाको सङ्केत हो, सुन्दरता र दयाको सङ्केत हो। उहाँको खुशी निश्‍चय नै उहाँका शत्रुहरूलाई पराजित गर्ने र मानिसको इमानदारीता जित्‍ने कार्यबाट आउँछ। यो भन्दा अझ बढी त शत्रुहरूका सबै शक्तिहरूको निष्कासन र विनाशबाट उहाँ खुशी बन्‍नुहुन्छ, किनकि यसरी मानिसजातिले असल र शान्तिपूर्ण जीवन प्राप्‍त गर्छन्। परमेश्‍वरको खुशी मानिसको आनन्द जस्तै होइन, बरु यो त असल फलहरू बटुल्नु जस्तै र आनन्दभन्दा अझ धेरै ठूलो कुरा हो। उहाँको खुसीयालीले मानवजाति यस समयदेखि दुःखकष्टबाट छुटकारा पाएको र मानवजाति ज्योतिको संसारमा प्रवेश गरेको सङ्केत दिन्छ। अर्कोतिर, मानवजातिको भावनाहरू उसका आफ्ना चाहनाहरूबाट उत्पन्‍न भएका हुन्छन्, त्यो धार्मिकता, ज्योति वा सुन्दर कुरा र स्वर्गबाट दिइएको अनुग्रहका निम्ति हुँदैन। मानवजातिका भावनाहरू स्वार्थी हुन्छन् र ती अन्धकारको संसारका हुन्। यिनीहरू परमेश्‍वरका इच्छा र योजनाका निम्ति अस्तित्वमा आएका होइनन्, त्यसैले मानिस र परमेश्‍वरलाई एउटै स्थानमा राखेर कुरा गर्न मिल्दैन। परमेश्‍वर सदासर्वदा सर्वोच्‍च हुनुहुन्छ र उहाँ आदरयोग्य हुनुहुन्छ भने मानिस सदैव तुच्छ र मूल्यहीन छन्। यसैकारण परमेश्‍वरले सधैँ मानिसजातिका निम्ति आफैलाई बलिदान गर्नुहुन्छ र समर्पित गर्नुहुन्छ; मानिसले चाहिँ सधैँ आफ्नो निम्ति राख्‍छ र आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। परमेश्‍वरले सदैव मानिसहरूको अस्तित्व कायम राख्‍न पीडा उठाउनुहुन्छ, तैपनि मानिसले कहिल्यै पनि ज्योति वा धार्मिकताको खातिर कुनै मूल्य चुकाउँदैन। मानिस अत्यन्तै कमजोर छ सानातिना कठिनाइ पनि सहन सक्दैन, मानिसले कहिल्यै पनि अरू मानिसहरूलाई ध्यान दिँदैन तर सधैँ आफ्नै निम्ति मात्र प्रयत्‍न गर्छ। मानिस सधैँ स्वार्थी हुन्छ, भने परमेश्‍वर स्वार्थरहित हुनुहुन्छ। परमेश्‍वर न्याय, भलाइ र सुन्दर कुराहरूका स्रोत हुनुहुन्छ भने मानिसहरू घृणित र दुष्‍ट कुराहरू प्रकट गर्न मात्र सफल हुन्छन्। परमेश्‍वरले धार्मिकता र सुन्दरताको आफ्नो सारतत्त्व कहिल्यै अदलबदल गर्नुहुन्‍न, तर मानिसले पूर्ण रूपमा कुनै पनि समयमा कुनै पनि परिस्थितिमा धार्मिकतालाई धोखा दिएर परमेश्‍वरदेखि टाढा रहन सक्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको स्वभाव बुझ्‍नु अत्यन्त महत्वपूर्ण हुन्छ

५८२. उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहनशीलता नै उहाँको अद्वितीय सार हो; परमेश्‍वरको क्रोध उहाँको अद्वितीय स्वभाव हो; परमेश्‍वरको प्रताप उहाँको अद्वितीय सार हो। परमेश्‍वरको रिसपछाडिको सिद्धान्त भनेको उहाँको पहिचान र हैसियतको प्रदर्शन हो, जुन उहाँमा मात्रै छ। यो सिद्धान्त अद्वितीय परमेश्‍वर स्वयम्‌को सारको प्रतीक पनि हो भनेर भनिरहनु पर्दैन। परमेश्‍वरको स्वभाव उहाँको आफ्‍नै अन्तर्निहित सार हो, जुन समयको बहावद्वारा परिवर्तन हुँदै-हुँदैन, न त भौगोलिक अवस्थितिद्वारा नै बदलिन्छ। उहाँको अन्तर्निहित स्वभाव नै उहाँको अन्तर्निहित सार हो। उहाँले जसमाथि आफ्‍नो काम गर्नुभए तापनि, उहाँको सार परिवर्तन हुँदैन, न त उहाँको धर्मी स्वभाव नै परिवर्तन हुन्छ। जब कसैले परमेश्‍वरलाई रिस उठाउँछ, तब परमेश्‍वरले जे प्रकट गर्नुहुन्छ त्यो उहाँको अन्तर्निहित स्वभाव हो; त्यस बेला उहाँको रिसको पछाडिको सिद्धान्त परिवर्तन हुँदैन, न त उहाँको अद्वितीय पहिचान र हैसियत नै परिवर्तन हुन्छ। उहाँको सारको परिवर्तनको कारण वा उहाँको स्वभावबाट फरक-फरक तत्वहरू उत्पन्‍न हुने कारणले उहाँरिसाउनुहुन्‍न, बरु उहाँविरुद्ध मानिसले गरेको विरोधले उहाँको स्वभावलाई चिढ्याउने हुनाले उहाँ रिसाउनुहुन्‍छ। मानिसद्वारा परमेश्‍वरलाई हुने खुल्ला उक्साहट परमेश्‍वरको आफ्‍नै पहिचान र हैसियत प्रतिको गम्भीर चुनौती हो। परमेश्‍वरको दृष्टिकोणमा, जब मानिसले उहाँलाई चुनौती दिन्छ, तब मानिसले उहाँसँग होडबाजी गरिरहेको हुन्छ र उहाँको रिसको परीक्षा लिइरहेको हुन्छ। जब मानिसले परमेश्‍वरको विरोध गर्छ, जब मानिसले परमेश्‍वरसँग होडबाजी गर्छ, जब मानिसले निरन्तर रूपमा परमेश्‍वरको रिसको परीक्षा लिन्छ—र पापको बिगबिगी बढ्ने समयमा यस्तो हुन्छ—तब परमेश्‍वरको क्रोध प्राकृतिक रूपमै प्रकट हुनेछ र आफै प्रस्तुत हुनेछ। त्यसकारण, परमेश्‍वरले आफ्‍नो क्रोध प्रकट गर्नु भनेको सारा दुष्ट शक्तिहरू अस्तित्वमा रहन छोड्नेछन् भन्‍ने कुराको प्रतीक हो, र यो सारा शत्रुवत् शक्तिहरूलाई नष्ट गरिनेछ भन्‍ने कुराको पनि प्रतीक हो। यो परमेश्‍वरको धर्मी स्वभाव, र परमेश्‍वरको क्रोधको अद्वितीयपन हो। जब परमेश्‍वरको गरिमा र पवित्रतालाई चुनौती दिइन्छ, जब न्यायका शक्तिहरूमा मानिसले बाधा पुर्‍याउँछ र उसले तिनलाई देख्दैन, तब परमेश्‍वरले आफ्‍नो क्रोध वर्षाउनुहुनेछ। परमेश्‍वरको सारको कारणले गर्दा, परमेश्‍वरसँग लड्ने, र उहाँसँग संघर्ष गर्ने र होडबाजी गर्ने पृथ्वीका ती सबै शक्तिहरू दुष्ट, भ्रष्ट र अन्यायी हुन्; तिनीहरू शैतानबाट आउँछन् र शैतानकै स्वामित्वमा हुन्छन्। परमेश्‍वर न्यायी हुनुहुन्छ र ज्योतिमय एवं कुनै त्रुटि नभएको पवित्र हुनुहुन्छ, त्यसकारण परमेश्‍वरको क्रोध वर्षिएपछि दुष्ट, भ्रष्ट र शैतानको स्वामित्वमा रहेका सबै कुराहरू लोप हुनेछन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय २

फूटनोटहरू:

क. मूल पाठमा “यो हुन अयोग्य हुनुको सङ्केत हो।” भनेर पढिन्छ।

ख. मूल पाठमा “साथै उल्‍लङ्घन गरिन नसक्‍नुको प्रतीक (र उल्‍लङ्घन गरिएको नसहनु)” भनेर पढिन्छ।

अघिल्लो: ख. परमेश्‍वरको धर्मी स्वभावको सम्बन्धमा

अर्को: घ. यावत् थोकको जीवनको स्रोत परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने सम्बन्धमा

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्