दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

परमेश्‍वरले गर्नुभएको कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यसपटक परमेश्‍वर आउनुहुँदा, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट के देख्‍न सकिन्छ भने परमेश्‍वरले सृष्टि गर्नुभएको पुरुष र स्‍त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्‍नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह लिन सक्‍नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्‍त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्‍वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्‍त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्‍दमा भन्दा, यदि पवित्र आत्‍माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्‍नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्र भनेर उल्‍लेख गरिँदैन? किनकि कामका आवश्यकताहरूले येशूको भन्दा फरक लिङ्गमा परिवर्तन हुनुपर्ने बाध्यता सिर्जना गरेको छ। परमेश्‍वरको लागि लिङ्गमा कुनै भिन्‍नता हुँदैन। उहाँले आफ्‍नो इच्‍छाअनुसार आफ्‍नो काम गर्नुहुन्छ, र आफ्‍नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्धहरूको अधीनमा हुनुहुन्‍न, उहाँ त विशेष स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्‍नै व्यवहारिक महत्त्व छ। परमेश्‍वर दुईपटक देह बन्‍नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिमपटक हो भन्‍ने कुरा आफैमा स्पष्ट छ। आफ्‍ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले देख्‍ने गरी व्यक्तिगत रूपमै काम गर्नको लागि उहाँ देह नबन्‍नुभएको भए, परमेश्‍वर पुरुष मात्रै हुनुहुन्छ, स्‍त्री हुनुहुन्‍न भन्‍ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्‍नेथ्यो। यसभन्दा पहिले, सारा मानवजातिले परमेश्‍वर पुरुष मात्रै हुन सक्‍नुहुन्छ र स्‍त्रीलाई परमेश्‍वर भनेर भन्‍न सकिँदैन भनेर विश्‍वास गर्‍यो, किनभने सारा मानवजातिले स्‍त्रीहरूमाथि पुरुषहरूकै अख्तियार हुन्छ भन्‍ने ठाने। तिनीहरूले कुनै पनि स्‍त्रीले अख्तियार लिन सक्दैन, पुरुषहरूले मात्रै सक्छ भन्‍ने विश्‍वास गरे। यति मात्र होइन, पुरुस नै स्‍त्रीको प्रमुख हो र स्‍त्रीले पुरुषको आज्ञापालन गर्नैपर्छ, उसलाई उछिन्‍न सक्दैन भनेरसमेत तिनीहरूले भने। विगतका समयहरूमा, जब पुरुष नै स्‍त्रीको प्रमुख हो भनेर भनियो, यो आदम र हव्‍वाप्रति लक्षित थियो, जो सर्पद्वारा छलिएका थिए—यो सुरुमा यहोवाले सृष्टि गर्नुभएकै पुरुष र स्‍त्रीप्रति लक्षित थिएन। अवश्‍य नै, एक स्‍त्रीले आफ्‍नो पतिको आज्ञापालन गर्नुपर्छ र उसलाई प्रेम गर्नुपर्छ, र पतिले आफ्‍नो परिवारलाई खुवाउन र सहारा दिन सिक्‍नैपर्छ। यी यहोवाले निर्धारित गर्नुभएका नियम र उर्दीहरू हुन् जसलाई मानवजातिले आफ्नो पृथ्वीको जीवनमा पालन गर्नैपर्छ। यहोवाले स्‍त्रीलाई भन्‍नुभयो, “तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” मानवजाति (अर्थात्, पुरुष र स्‍त्री दुवै) ले यहोवाको प्रभुत्वको अधीनमा रही सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवनमा संरचना होस्, र तिनीहरूको जीवनमा अव्यवस्थितपन नआओस् भनेर मात्रै उहाँले यो कुरा बोल्‍नुभएको थियो। त्यसकारण, पुरुष र स्‍त्रीले कस्तो व्यवहार गर्नुपर्छ भन्‍ने विषयमा यहोवाले उचित नियमहरू बनाउनुभयो, तर ती नियम पृथ्वीमा जिइरहेका सबै सृजित प्राणीहरूसँग मात्रै सम्‍बन्धित थियो, र परमेश्‍वरको देहधारणसँग यसको कुनै सम्‍बन्ध थिएन। परमेश्‍वर कसरी उहाँका सृजित प्राणीहरूजस्तै हुन सक्‍नुहुन्छ? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएका मानवजातितर्फ मात्रै लक्षित थिए; मानवजातिले सामान्य जीवन जिओस् भनेर मात्रै उहाँले पुरुष र स्‍त्रीका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, उहाँले पुरुष र स्‍त्री दुवै प्रकारका मानवजाति बनाउनुभयो; त्यसैले उहाँको देहधारणहरूमा पुरुष र स्‍त्रीको विभाजन छ। उहाँले आदम र हव्‍वासँग बोल्‍नुभएका वचनहरूको आधारमा आफ्‍नो कामको निर्णय गर्नुभएन। उहाँले सुरुमा मानवजाति सृष्टि गर्नुभएको समयको उहाँको सोचअनुसार नै उहाँ दुईपटक देह बन्‍नुहुने कुरा पूर्ण रूपमा निर्धारित भएको थियो; अर्थात्, तिनीहरू भ्रष्ट हुनुभन्दा पहिलेको पुरुष र स्‍त्रीको आधारमा उहाँले आफ्‍ना दुई देहधारणहरूको काम पूरा गर्नुभयो। यदि सर्पको छलमा परेका आदम र हव्‍वासँग यहोवाले बोल्‍नुभएका वचनहरूलाई मानवजातिले लिएका, र तिनलाई परमेश्‍वरको देहधारणमा लागू गरेका भए, के येशूले पनि आफ्‍नी पत्‍नीलाई जसरी पत्‍नीलाई प्रेम गर्नुपर्छ त्यसरी नै प्रेम गर्नु पर्दैनथ्यो र? यसरी, के परमेश्‍वर अझै परमेश्‍वर नै हुनुहुनेथ्यो र? अनि यस्तो हुँदा, के उहाँले अझै आफ्‍नो कामलाई पूरा गर्न सक्षम हुनुहुनेथ्यो र? यदि परमेश्‍वरको देहधारण स्‍त्री बन्‍नु गलत हुन्थ्यो भने, परमेश्‍वरले स्‍त्रीलाई सृष्टि गर्नु सबैभन्दा ठूलो गल्ती हुँदैनथ्यो र? यदि मानिसहरूले अझै परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनु गलत हो भन्‍ने विश्‍वास गर्छन् भने, येशू जसले विवाह गर्नुभएन र त्यसैले आफ्‍नी पत्‍नीलाई प्रेम गर्न सक्‍नुभएन, के उहाँ पनि वर्तमान देहधारणजत्तिकै गल्‍ती हुनुहुन्‍थेन र? तँ वर्तमानको दिनमा परमेश्‍वरको देहधारणको सत्यतालाई मापन गर्नको लागि यहोवाले हव्‍वासँग बोल्‍नुभएका वचनहरूको प्रयोग गर्छस्, त्यसकारण तैँले अनुग्रहको युगमा देह बन्‍नुभएका प्रभु येशूको बारेमा राय बनाउनको लागि यहोवाले आदमसँग बोल्नुभएका वचनहरूको प्रयोग गर्नैपर्छ। के यी एउटै र उही होइनन्? तैँले सर्पले छल नगरेको पुरुषअनुसार प्रभु येशूको मापन गर्छस्, त्यसैले तैँले आजको देहधारणको सत्यताको बारेमा सर्पले छल गरेको स्‍त्रीअनुसार राय बनाउन सक्दैनस्। यो अनुचित हुनेछ! तैँले परमेश्‍वरलाई यसरी मापन गर्दा, तँमा तर्कशक्ति छैन भन्‍ने प्रमाणित हुन्छ। जब यहोवा दुईपटक देह बन्‍नुभयो, उहाँको देहको लिङ्ग सर्पको छलमा नपरेका पुरुष र स्‍त्रीसँग सम्‍बन्धित थियो; सर्पको छलमा नपरेका ती पुरुष र स्‍त्रीअनुसार नै उहाँ दुईपटक देह बन्‍नुभएको थियो। येशूको पुरुषत्व, सर्पको छलमा परेको आदमको जस्तै थियो भनेर नसोच। उहाँहरू पूर्ण रूपमा असम्बन्धित हुनुहुन्छ, उहाँहरू फरक प्रकृतिका पुरुषहरू हुनुहुन्छ। येशूको पुरुषत्वले उहाँ सबै स्‍त्रीहरूका प्रमुख हुनुहुन्छ, तर सबै पुरुषहरूका प्रमुख हुनुहुन्‍न भनेर अवश्य नै प्रमाणित गर्दैन? के उहाँ (पुरुष र स्‍त्री दुवै लगायत) सारा यहूदीहरूका राजा हुनुहुन्‍न र? उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्छ, स्‍त्रीको प्रमुख मात्रै नभई पुरुषको पनि प्रमुख हुनुहुन्छ। उहाँ सारा प्राणीहरूका प्रभु हुनुहुन्छ र सारा प्राणीहरूका प्रमुख हुनुहुन्छ। येशूको पुरुषत्व स्‍त्रीको प्रमुखको प्रतीक हो भनेर तैँले कसरी निर्धारित गर्छस्? के यो ईश्‍वरनिन्दा हुनेछैन र? येशू भ्रष्ट नपारिएको पुरुष हुनुहुन्छ। उहाँ परमेश्‍वर हुनुहुन्छ; उहाँ ख्रीष्‍ट हुनुहुन्छ; उहाँ प्रभु हुनुहुन्छ। उहाँ कसरी आदमजस्तो भ्रष्ट पारिएको पुरुष हुन सक्‍नुहुन्छ? येशू परमेश्‍वरका सबैभन्दा पवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्‍वर हुनुहुन्छ भनेर तैँले कसरी भन्‍न सक्छस्? त्यस्तो भएमा, के परमेश्‍वरका सबै कार्य गलत हुन्थेन र? के सर्पको छलमा परेका आदमको पुरुषत्वलाई यहोवाले येशूभित्र समायोजन गर्नुहुन्थ्यो? के वर्तमान समयको देहधारण येशूभन्दा फरक लिङ्गका तर प्रकृतिमा उहाँजस्तै हुनुहुने देहधारी परमेश्‍वरको कामको अर्को घटना होइन र? के तँ अझै पनि देहधारी परमेश्‍वर स्‍त्री हुन सक्‍नुहुन्‍न किनभने सर्पले सुरुमा स्‍त्रीलाई नै छल गरेको थियो भनेर भन्‍ने आँट गर्छस्? के तँ अझै पनि स्‍त्री सबैभन्दा अशुद्ध र मानवजातिको भ्रष्टताको स्रोत भएकीले, परमेश्‍वर स्‍त्रीको रूपमा देह बन्‍ने सम्‍भावना हुन सक्दैन भनेर भन्‍ने आँट गर्छस्? के तँ “स्‍त्रीले सधैँ पुरुषको आज्ञापालन गर्नुपर्छ र उसले कहिल्यै पनि परमेश्‍वरको प्रकटीकरण वा प्रत्यक्ष प्रतिनिधित्व गर्न सक्दिन” भनेर भनिरहने आँट गर्छस्? तैँले विगतमा त बुझिनस्, तर के अब पनि तँ परमेश्‍वरको कामको, विशेष गरी परमेश्‍वरको देहधारणको निन्दा गर्दै हिँड्छस्? यदि यो तँलाई स्पष्ट छैन भने, तैँले आफ्‍नो जिब्रोलाई सम्‍हालेर राख्, नत्र तेरो मूर्खता र अज्ञानता प्रकट हुनेछ र तेरो कुरूपता खुलासा हुनेछ। तैँले सबै कुरा बुझ्छस् भन्‍ने नसोच्। म तँलाई भन्छु, तैँले देखेको र अनुभव गरेको सबै कुरा पनि तैँले मेरो व्यवस्थापन योजनाको हजार भागको एक भाग बुझ्‍नलाई पर्याप्त छैन। अनि, तँ किन त्यति अहङ्कारी हुन्छस्? तँसँग भएको थोरै प्रतिभा र अलिकति ज्ञान येशूले आफ्‍नो कामको लागि एक सेकण्ड प्रयोग गर्न पनि पर्याप्त छैन! तँसँग वास्तवमा कति अनुभव छ? तैँले देखेका र तैँले आफ्‍नो जीवनभरि सुनेका अनि तैँले कल्‍पना गरेका सबै कुराहरू मैले एक पलमा गर्ने कामभन्दा पनि थोरै छन्! तैँले कुरा नकोट्याएको र गल्ती नखोतलेकै जाती हुन्छ। तँ आफूले चाहेजति अहङ्कारी बन्‍न सक्छस्, तर तँ एउटा प्राणीबाहेक केही पनि होइनस्, तँ कमिला बराबरको पनि छैनस्! तेरो पेटभित्र जति छ त्यो सबै कमिलाको पेटमा भएको भन्दा पनि थोरै छ! तैँले केही अनुभव र वरिष्ठता प्राप्त गरेको छस् भन्दैमा, यसले तँलाई ठूलो पल्टिने र ठूलाठूला गफ चुट्ने अधिकार दिन्छ भनेर नसोच्। के तेरा अनुभव र तेरो वरिष्ठता मैले उच्‍चारण गरेका शब्‍दहरूको उपज होइनन् र? के तँ ती तेरो आफ्नै परिश्रम र मेहनतको बलमा आएका हुन् भन्‍ने विश्‍वास गर्छस्? आज, म देह बनेको छु भन्‍ने तैँले बुझेको छस्, र यसबारेमा मात्रै तँमा अधिक अवधारणाहरू छन्, र त्यसमा धारणाहरूको कुनै अन्त्य छैन। यदि मेरो देहधारण नभएको भए, तँसँग असाधारण प्रतिभाहरू नै भएको भए पनि, तँसँग त्यति धेरै अवधारणाहरू हुने थिएनन्; अनि के यीबाट नै तेरा धारणाहरू पैदा हुँदैनन् र? यदि पहिलोपटक येशू देह नबन्‍नुभएको भए, के तैँले देहधारणको बारेमा समेत जान्‍नेथिइस् र? पहिलो देहधारणले तँलाई ज्ञान दिएको हुनाले नै दोस्रो देहधारणको बारेमा आलोचना गर्ने दुस्साहस तँसँग छैन र? किन आज्ञाकारी अनुयायी हुनुको सट्टा तैँले यसलाई अध्ययनको विषय बनाइरहेको छस्? जब तँ प्रवाहमा प्रवेश गरेर देहधारी परमेश्‍वरको अघि आएको हुन्छस्, के उहाँले तँलाई उहाँको शोधअध्ययन गर्न दिनुहुन्छ? तैँले तेरो आफ्‍नै पारिवारिक इतिहासको शोधअध्ययन गर्न सक्छस्, तर यदि तैँले परमेश्‍वरको “पारिवारिक पृष्ठभूमि” को शोधअध्ययन गर्ने प्रयास गरिस् भने, के आजका परमेश्‍वरले तँलाई त्यस्तो अध्ययन गर्न दिनुहुन्छ र? के तँ अन्धो छैनस्? के तैँले आफ्नै अवहेलना निम्त्याउँदैनस् र?

यदि येशूको काम मात्रै पूरा भएको थियो, र आखिरी दिनहरूको यो चरणको कार्यद्वारा यसलाई परिपूरण गरिएको थिएन भने, मानिस सँधैभरि नै, येशू मात्रै परमेश्‍वरका एकमात्र पुत्र हुनुहुन्छ, अर्थात् परमेश्‍वरको एउटा मात्रै पुत्र छ, त्यसपछि अर्को नाम लिएर आउने जोकोही परमेश्‍वरको एकमात्र पुत्र हुँदैनथ्यो, परमेश्‍वर स्वयम् हुने कुरा त परै जाओस् भन्‍ने धारणामा टाँसिइरहन्थ्यो। पापबलिको रूपमा सेवा गर्ने वा परमेश्‍वरको तर्फबाट शक्ति लिने र सारा मानवजातिलाई छुटकारा दिलाउने जोसुकै पनि परमेश्‍वरका एकमात्र पुत्र हुन सक्छ भन्‍ने धारणा मानिसमा छ। आउने व्यक्ति पुरुष हो भने, उहाँलाई परमेश्‍वरका एकमात्र पुत्र र परमेश्‍वरका प्रतिनिधिको रूपमा लिन सकिन्छ भनेर विश्‍वास गर्नेहरू पनि छन्। येशू यहोवाका पुत्र, उहाँका एकमात्र पुत्र हुनुहुन्छ भनेर भन्‍नेहरू समेत छन्। के त्यस्ता धारणाहरू हदभन्दा बढी भएनन् र? यदि कामको यो चरण अन्तिम युगमा नगरिएको भए, परमेश्‍वरको अघि सारा मानवजाति कालो छायामा छोपिन्थे। यदि यस्तो भएको भए, पुरुषले आफैलाई स्‍त्रीभन्दा उच्‍च ठान्‍नेथ्यो, स्‍त्रीहरूले कहिल्यै पनि आफ्‍नो शिर ठाडो पार्न सक्दैनथे, र एक जना स्‍त्रीलाई पनि मुक्त गर्न सकिँदैनथ्यो। मानिसहरूले सँधै परमेश्‍वर पुरुष हुनुहुन्छ, र यसअलावा उहाँले सँधै स्‍त्रीलाई तुच्छ ठान्‍नुहुन्छ र उसलाई मुक्ति दिनुहुन्‍न भनेर विश्‍वास गर्छन्। यदि यस्तो हुन्थ्यो भने, यहोवाले सृष्टि गर्नुभएका र भ्रष्ट तुल्याइएका सबै स्‍त्रीहरूले मुक्ति पाउने मौका कहिल्यै पाउँदैनथे भन्‍ने कुरा सत्य हुन्थेन र? त्यसपछि, यहोवाले स्‍त्रीलाई सृष्टि गर्नुभएको, अर्थात् हव्‍वालाई सृष्टि गर्नुभएको बेकार हुन्थेन र? अनि के स्‍त्री अनन्तमा नाश हुन्थिन र? यसकारणले गर्दा, स्‍त्रीलाई मात्र होइन सम्पूर्ण मानवजातिलाई मुक्त गर्नको लागि आखिरी दिनहरूको कार्यको चरण पूरा गरिन्छ। यदि परमेश्‍वर स्‍त्रीको रूपमा देहधारी हुनुभयो भने, यो महिलालाई मुक्ति दिनको लागि मात्रै हुनेछ भनेर यदि कसैले ठान्छ भने, त्यो व्यक्ति वास्तवमा नै मूर्ख हुनेछ!

आजको कार्यले अनुग्रहको युगको कार्यलाई अगाडि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापन योजनाको कार्य अघि बढेको छ। अनुग्रहको युग समाप्त भइसकेको भए पनि, परमेश्‍वरको काममा प्रगति भएको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा स्थापित छ भनेर म बारम्‍बार किन भन्छु? किनभने आजको दिनको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता र व्यवस्थाको युगमा गरिएको कार्यको वृद्धि हो। तीन चरणहरू निकटतम रूपमा एकअर्कासँग सम्‍बन्धित छन्, र यो साङ्‍लाको हरेक जोडन अर्कोसँग कसिलो गरी जोडिएको छ। कामको यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण हुन्छ भनेर म किन भन्छु? यो चरण येशूले गर्नुभएको कामको जगमा निर्माण भएन भन्‍ने मान्यता राख्दा, यो चरणमा क्रूसीकरणको अर्को घटना घट्नेथ्यो, र अघिल्‍लो चरणको छुटकाराको काम फेरि गरिनुपर्थ्यो। यो अर्थहीन हुनेथ्यो। त्यसकारण, काम पूर्ण रूपमा पूरा भएको छैन, तर युग अघि बढेको छ र कामको स्तर पहिलेको भन्दा माथि उठेको छ। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कार्यको आधारशिलामाथि निर्माण गरिएको छ भनेर भन्‍न सकिन्छ। परमेश्‍वरको कार्य एकपछि अर्को चरण गर्दै निर्माण हुन्छ, र यो चरण नयाँ सुरुवात होइन। कामका तीन वटा चरणहरूको संयोजनलाई मात्रै छ हजार वर्षे व्यवस्थापन योजनाको रूपमा लिन सकिन्छ। यो चरणको कार्य अनुग्रहको युगको कार्यको जगमा पुरा गरिन्छ। यदि कार्यका यी दुई चरणहरू सम्‍बन्धित थिएनन् भने, यो चरणमा किन क्रूसीकरण दोहोरिएन? म किन मानिसका पापहरू बोक्दिनँ, बरु सीधै मानिसलाई न्याय र सजाय गर्न आउँछु? मानिसलाई न्याय र सजाय गर्ने मेरो काम क्रूसीकरणपछि नआएको भए, मेरो आगमन पवित्र आत्‍माको गर्भधारणद्वारा नभएकोले मानिसलाई न्याय र सजाय गर्नको लागि म योग्य हुनेथिइनँ। म येशूसँग एउटै भएको हुनाले म मानिसलाई सीधै सजाय र न्याय गर्न आउँछु। यो चरणको काम अघिल्‍लो चरणको कामको जगमै पूर्ण रूपमा निर्मित छ। यही कारणले गर्दा, यस प्रकारको कामले मानिसलाई चरणबद्ध रूपमा मुक्तितर्फ ल्याउँछ। येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्‍बन्धित नभए पनि, हाम्रा आत्मा एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए पनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरकफरक रूपहरू लिन सक्छन्, तर यो कुरा युगको परिवर्तन र हाम्रो कामका फरकफरक आवश्यकताहरूको कारणले गर्दा भएको हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि बढाउने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले गर्दा, यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूका देहको स्वरूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा न्‍मनुभएको थिएन, उही समयअवधिमा जन्‍मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न त रगतको नाता छ न त कुनै पनि प्रकारको भौतिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समयअवधिका परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्‍वरका देहधारणहरू हुनुहुन्छ भन्‍ने कुरा अकाट्य सत्य हो। तैपनि, उहाँहरू एउटै रक्तवंशको हुनुहुन्‍न र उहाँहरूले एउटै मानव भाषा बोल्‍नुहुन्‍न (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्‍नुहुन्थ्यो र अर्काचाहिँ महिला हुनुहुन्छ जसले चिनियाँ भाषा मात्रै बोल्‍नुहुन्छ)। यिनै कारणहरूले गर्दा, आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरकफरक देशमा र फरकफरक समयअवधिमा पनि जिउनु भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्‍ने तथ्यको बाबजुत पनि, उहाँहरूका देहहरूको बाहिरी भेषहरूमा कुनै ठोस समानता छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँसम्म उहाँहरूका देहहरूको बाहिरी रूप र उहाँहरूको जन्‍मका परिस्‍थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्‍न। उहाँहरूको सम्‍बन्धित काममा वा उहाँहरूबारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने अन्तिम विश्‍लेषणमा उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। रगतद्वारा उहाँहरू सम्‍बन्धित नभए पनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूका आत्माहरूको नियन्त्रणमा छ, जसले उहाँहरूलाई फरक समयअवधिमा फरक काम दिनुहुन्छ, र उहाँहरूको देह फरकफरक वंशमा पर्छन्। यहोवाका आत्मा येशूका आत्माका पिता हुनुहुन्‍न र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्‍न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्‍वर र येशूमा रगतको सम्‍बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्‍वरले कृपा र प्रेमिलो-दयालुपनको कामका साथै मानिसको धर्मी न्याय र सजाय गर्ने अनि मानिसमा श्राप हालिदिने काम गर्न सक्‍नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दुष्टलाई दण्ड दिने काम गर्न सक्‍नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्‍न र? के यो परमेश्‍वरको सर्वशक्तिमान्‌ता होइन र? उहाँ मानिसको लागि व्यवस्था घोषणा गर्न र उसको निम्ति आज्ञाहरू जारी गर्न सक्षम हुनुहुन्थ्यो, र प्रारम्भिक इस्राएलीहरूलाई पृथ्वीमा आफ्नो जीवन जिउन अगुवाइ गर्न र मन्दिर तथा वेदीहरू बनाउन अगुवाइ गर्न र यसरी सारा इस्राएलीहरूलाई आफ्‍नो प्रभुत्वको अधीनमा राख्‍न पनि सक्षम हुनुहुन्थ्यो। उहाँको अख्तियारको कारणले गर्दा, उहाँ इस्राएलका मानिसहरूसँग दुई हजार वर्षसम्‍म पृथ्वीमा बस्‍नुभयो। इस्राएलीहरूले उहाँको विरुद्धमा विद्रोह गर्ने आँट गरेनन्; सबैले यहोवाको डर माने र उहाँका आज्ञाहरूलाई पालन गरे। त्यस प्रकारको कार्य उहाँको अख्तियार र उहाँको सर्वशक्तिमान्‌ताद्वारा गरिएको थियो। त्यसपछि, अनुग्रहको युगको अवधिमा, येशू (इस्राएलीहरूलाई मात्रै नभई) सारा पतित मानवजातिलाई छुटकारा दिन आउनुभयो। उहाँले मानिसलाई कृपा र प्रेमिलो-दयालुपन देखाउनुभयो। अनुग्रहको युगमा मानिसले देखेका येशू प्रेमिलो-दयालुपनले भरिपूर्ण हुनुहुन्थ्यो र मानिसप्रति उहाँ सँधै प्रेमिलो हुनुहुन्थ्यो, किनभने उहाँ मानवजातिलाई पापबाट मुक्त गर्नको लागि आउनुभएको थियो। उहाँको क्रूसीकरणले मानवजातिलाई पापबाट पूर्ण रूपमा मुक्त गर्नुअघिसम्‍म, उहाँ मानिसहरूका पाप क्षमा गरिदिन सक्षम हुनुहुन्थ्यो। यो अवधिमा, कृपा र प्रेमिलो-दयालुपनसहित परमेश्‍वर मानिससामु देखा पर्नुभयो; अर्थात्, उहाँ मानिसको लागि पापबलि बन्‍नुभयो र मानिसको पापहरूको निम्ति क्रूसमा टाँगिनुभयो, ताकि तिनीहरूलाई सदाको लागि क्षमा दिन सकियोस्। उहाँ कृपालु, करुणामय, धैर्य र प्रेमिलो हुनुहुन्थ्यो। अनि, अनुग्रहको युगमा येशूलाई पछ्याउनेहरू सबैले सबै कुरामा धैर्य र प्रेमिलो बन्‍ने प्रयास गरे। तिनीहरू सहनशील थिए, र कुटपिट गर्दा, सराप्दा वा ढुङ्गाले हान्दा पनि तिनीहरू कहिल्यै आफ्‍नो प्रतिरक्षा गर्न लडेनन्। तर अन्तिम चरणको अवधिमा अब फेरि यस्तो हुन सक्दैन। उहाँहरू एउटै आत्माका हुनुहुन्थ्यो, तैपनि येशू र यहोवाको काम पूर्ण रूपमा एउटै थिएन। यहोवाको कामले युगलाई अन्त्य गरेन, बरु यसले पृथ्वीमा मानवजातिको जीवनलाई प्रारम्‍भ गर्दै नयाँ युगको अगुवाइ गर्‍यो, र आजको कामचाहिँ गम्‍भीर रूपमा भ्रष्ट बनेका अन्यजाति राष्ट्रका मानिसहरूलाई जित्‍नको लागि र चीनमा भएका परमेश्‍वरका चुनिएका मानिसहरूका साथै सम्पूर्ण ब्रह्माण्ड र सारा मानवजातिलाई अगुवाइ गर्नको लागि हो। यो काम चीनमा मात्रै गरिँदै छ भन्‍ने तँलाई लाग्‍न सक्छ, तर वास्तवमा यो अरू देशमा पनि फैलन थालिसकेको छ। किन चीनबाहिरका मानिसहरूले बारम्‍बार साँचो मार्गको खोजी गर्छन्? यसको कारण के हो भने आत्माले पहिले नै काम सुरु गरिसक्‍नुभएको छ, र आज बोलिएका वचनहरू ब्रह्माण्डभरिका मानिसहरूप्रति लक्षित छन्। यससँगै, कामको आधा भाग पहिले नै पूरा भइसकेको छ। संसारको सृष्टिदेखि वर्तमानसम्‍म, परमेश्‍वरका आत्माले यो महान् कार्यलाई अघि बढाउनुभएको छ, र यसअलावा उहाँले फरकफरक युगमा फरकफरक राष्ट्रहरूमाझ फरकफरक काम गर्नुभएको छ। हरेक युगका मानिसहरूले उहाँको फरक स्वभाव देख्छन्, जुन उहाँले गर्नुहुने फरक काममार्फत स्वभाविक रूपमा प्रकट हुन्छ। उहाँ कृपा र प्रेमिलो-दयालुपनले भरिएका परमेश्‍वर हुनुहुन्छ; उहाँ मानिसको निम्ति पापबलि र मानिसको गोठालो हुनुहुन्छ; तर उहाँ मानिसको न्याय, सजाय, र श्राप पनि हुनुहुन्छ। उहाँले मानिसलाई पृथ्वीमा जिउन दुई हजार वर्षसम्‍म अगुवाइ गर्न सक्‍नुभयो र उहाँले भ्रष्ट मानवजातिलाई पापबाट मुक्त गर्न पनि सक्‍नुभयो। आज, उहाँले उहाँलाई नचिन्‍ने मानवजातिलाई जित्‍न अनि तिनीहरूलाई उहाँको प्रभुत्वमुनि घुँडा टेकाउन पनि सक्‍नुहुन्छ, ताकि सबै जना उहाँप्रति पूर्ण रूपमा समर्पित हुन सकून्। अन्तिममा, उहाँले आफू कृपालु र प्रेमिलो परमेश्‍वर, बुद्धि र आश्‍चर्यका परमेश्‍वर र पवित्र परमेश्‍वर मात्र नभई, अझै बढी रूपमा, मानिसलाई न्याय गर्ने परमेश्‍वर पनि हुनुहुन्छ भनी देखाउन ब्रह्माण्डभरिका मानिसहरूभित्र रहेका अशुद्ध र अधर्मी कुराहरूलाई जलाइदिनुहुन्छ। मानजातिमाझ रहेका दुष्टहरूका लागि उहाँ ज्वलन, न्याय र दण्ड हुनुहुन्छ; सिद्ध हुनुपर्नेहरूका लागि, उहाँ संकष्ट, शोधन, र परीक्षाहरूका साथै सान्त्वना, भरणपोषण, वचनहरूको प्रावधान, निराकरण, र काटछाँट हुनुहुन्छ। अनि हटाइनेरूका लागि, उहाँ दण्ड र प्रतिशोध हुनुहुन्छ। मलाई भन्, के परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्‍न? उहाँ तैँले कल्‍पना गरेजस्तो क्रूसमा मात्रै टाँगिन सक्‍ने नभई, कुनै पनि र हर काम गर्न सक्‍ने हुनुहुन्छ। तैँले परमेश्‍वरलाई अत्यन्तै सानो ठान्छस्! के तँ उहाँले गर्न सक्‍ने भनेको उहाँको क्रूसीकरणद्वारा सारा मानवजातिलाई छुटकारा दिनु मात्र हो भन्‍ने विश्‍वास गर्छस्? अनि त्यसपछि, के तँ जीवनको रूखको फल खान र जीवनको नदीबाट पिउनको लागि उहाँलाई स्वर्गसम्‍मै पछ्याउनेछस्? … के यो त्यति सरल हुन सक्छ? मलाई भन्, तैँले के हासिल गरेको छस्? के तँमा येशूको जीवन छ? तँलाई वास्तवमै उहाँले छुटकारा दिलाउनुभएको थियो, तर क्रूसीकरण येशू स्वयम्‌को काम थियो। मानवजातिको रूपमा तैँले के कर्तव्य पूरा गरेको छस्? तँमा देखावटी भक्ति मात्रै छ, तर तैँले उहाँको मार्गलाई बुझ्दैनस्। के तैँले त्यसरी नै उहाँको प्रकटीकरण गर्छस्? यदि तैँले परमेश्‍वरको जीवन प्राप्त गरेको वा उहाँको धर्मी स्वभावको सम्‍पूर्णतालाई देखेको छैनस् भने, तैँले आफूसँग जीवन छ भनी दाबी गर्न सक्दैनस्, र तँ स्वर्गको राज्यको प्रवेशद्वारबाट भित्र प्रवेश गर्न योग्य छैनस्।

परमेश्‍वर आत्मा मात्रै हुनुहुन्‍न, उहाँ देह पनि बन्‍न सक्‍नुहुन्छ। यसको साथै, उहाँ महिमाको शरीर हुनुहुन्छ। तिमीहरूले उहाँलाई नदेखे पनि, येशूलाई इस्राएलीहरू अर्थात् त्यो समयका यहूदीहरूले देखेका थिए। उहाँ सुरुमा देहको शरीर हुनुहुन्थ्यो, तर उहाँलाई क्रूसमा टाँगिएपछि, उहाँ महिमाको शरीर बन्‍नुभयो। उहाँ सर्वव्यापी आत्मा हुनुहुन्छ र उहाँले जुनसुकै ठाउँमा काम गर्न सक्‍नुहुन्छ। उहाँ यहोवा वा येशू वा मसीह हुन सक्‍नुहुन्छ; अन्त्यमा, उहाँ सर्वशक्तिमान्‌ परमेश्‍वर पनि बन्‍न सक्‍नुहुन्छ। उहाँ धार्मिकता, न्याय र सजाय हुनुहुन्छ; उहाँ श्राप र क्रोध हुनुहुन्छ; तर उहाँ कृपा र प्रेमिलो-दयालुपन पनि हुनुहुन्छ। उहाँले गर्नुभएका सबै कामले उहाँको प्रतिनिधित्व गर्न सक्छ। तँ उहाँ कुन प्रकारको परमेश्‍वर हुनुहुन्छ भनेर भन्छस्? तैँले व्याख्या गर्न सक्दैनस्। यदि तैँले साँचो रूपमा व्याख्या गर्न सक्दैनस् भने, तैँले परमेश्‍वरको बारेमा निष्कर्ष निकाल्‍न सक्दैनस्। उहाँले एउटा चरणमा छुटकाराको काम गर्नुभयो भन्दैमा, परमेश्‍वर सदासर्वदा कृपा र प्रेमिलो-दयालुपनका परमेश्‍वर हुनुहुन्छ भन्‍ने निष्कर्ष ननिकाल्। के तँ उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्छ भन्‍ने कुरामा निश्‍चित हुन सक्छस्? यदि उहाँ कृपालु र प्रेमिलो परमेश्‍वर मात्रै हुनुहुन्छ भने, आखिरी दिनहरूमा उहाँले किन युगको अन्त्य ल्याउनुहुनेछ? उहाँले किन त्यति धेरै विपत्तिहरू पठाउनुहुनेछ? मानिसहरूका धारणा र विचारहरूअनुसार, परमेश्‍वर अन्त्यसम्‍मै कृपालु र प्रेमिलो हुनुपर्छ, ताकि मानवजातिको हरेक सदस्य मुक्त हुन सकोस्। तर किन आखिरी दिनहरूमा, परमेश्‍वरलाई शत्रु ठान्‍ने यस दुष्ट मानवजातिलाई नष्ट गर्नको लागि उहाँले भूकम्प, महामारी, र अनिकालजस्ता विपत्तिहरू पठाउनुहुन्छ? किन उहाँले मानिसलाई यी विपत्तिहरू भोग्‍न दिनुहुन्छ? तिमीहरूमध्ये कसैले पनि उहाँ कुन प्रकारको परमेश्‍वर हुनुहुन्छ भनेर भन्‍ने आँट गर्दैनौ र तिमीहरू कसैले पनि व्याख्या गर्न सक्दैनौ। के तँ उहाँ आत्मा हुनुहुन्छ भन्‍नेमा निश्‍चित हुन सक्छस्? के तँ उहाँ येशूको देहबाहेक अरू कोही हुनुहुन्‍न भनेर भन्‍ने आँट गर्न सक्छस्? अनि के तँ उहाँ मानिसको खातिर सदासर्वदा नै क्रूसमा टाँगिनुहुने परमेश्‍वर हुनुहुन्छ भनेर भन्‍ने आँट गर्न सक्छस्?

अघिल्लो: देहधारणको रहस्य (४)

अर्को: के त्रिएकत्व अस्तित्वमा छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्