देहधारणको रहस्य (४)

तिमीहरूलाई बाइबलको पृष्ठभूमिको कथा र यसको निर्माणको बारेमा थाहा हुनुपर्दछ। यो ज्ञान ती व्यक्तिहरूको स्वामित्वमा हुँदैन जसले परमेश्‍वरको नयाँ कामलाई ग्रहण गरेका छैनन्। तिनीहरूलाई थाहा छैन। यदि तँ तिनीहरूसँग सारका यी विषयहरूमा स्पष्टसँग कुरा गर्छस् भने, तिनीहरूले उप्रान्त तँसँग बाइबलको बारेमा त्यत्ति कुरा गर्नेथिएनन्। तिनीहरू अगमवाणी गरिएको कुरालाई लगातार खोतलिरहन्छन्: के यो भनाइ पूरा भएको छ? के त्यो भनाइ पूरा भएको छ? तिनीहरूले सुसमाचारलाई बाइबलअनुसार ग्रहण गरेका हुन्छन्, र तिनीहरूले बाइबलअनुसार नै सुसमाचार प्रचार गर्छन्। परमेश्‍वरमाथि तिनीहरूले गरेको विश्‍वास बाइबलका वचनहरूमा आधारित हुन्छ; बाइबलविना, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नेछैनन्। तिनीहरू यसरी बाइबलका स-साना कुराहरू जाँच्दै यस्तै प्रकारले जिउँछन्। जब तिनीहरू एक पल्ट फेरि बाइबल खोतल्छन् र तँलाई स्पष्टीकरणका लागि सोध्छन्, तँ भन्छस्, “पहिले, हामी प्रत्येक भनाइको सत्यता प्रमाणित नगरौं। त्यसको साटो, पवित्र आत्माले कसरी काम गर्नुहुन्छ सो हेरौं। हामी हिँडेका मार्गलाई लिऔं, र त्यसलाई सत्यतासँग तुलना गरौं, कि यो मार्ग साँच्चै पवित्र आत्माको काम हो कि होइन हेरौं, र हामी पवित्र आत्माको काम प्रयोग गरी त्यो मार्ग सही छ कि छैन भनेर जाँचौं। यो भनाइ वा त्यो भनाइ अघिबाटै भनिएझैँ पूरा हुनआएको छ कि छैन भन्ने कुराचाहिँ हामी मानिसले पत्ता लगाउने कोसिस गर्नुहुँदैन। त्यसको साटो हामीले पवित्र आत्माको काम र परमेश्‍वरले हालमा गरिरहनुभएको कामको बारेमा कुरा गर्नु उत्तम हुन्छ।” बाइबलमा भएका अगमवाणीहरू अगमवक्ताहरूको समयमा दिइएका परमेश्‍वरका वचनहरू हुन् र ती परमेश्‍वरले प्रयोग गर्नुभएका मानिसहरूले प्रेरणा प्राप्‍त गरेपछि लेखेका वचनहरू हुन्; यी परमेश्‍वर स्‍वयम्‌ले मात्र यी वचनहरूलाई व्याख्या गर्न सक्नुहुन्छ, र केवल पवित्र आत्माले ती वचनहरूको अर्थ प्रकट गर्न सक्नुहुन्छ, र केवल परमेश्‍वर आफैले मात्र ती सात वटा मोहोर तोड्न र चर्मपत्रको मुट्ठो खोल्न सक्नुहुन्छ। तँ भन्छस्: “तपाईं परमेश्‍वर हुनुहुन्न, न त म नै हुँ। त्यसोभए, कसले हल्कासाथ परमेश्‍वरको वचनको व्याख्या गर्ने आँट गर्छ? के तँ अझै यी वचनहरूलाई व्याख्या गर्ने हिम्मत गर्छस्? यर्मिया, यूहन्ना र एलिया अगमवक्ताहरू आए भने पनि उनीहरूले समेत ती वचनहरू बोल्ने र तिनको व्याख्या गर्ने आँट गर्नेथिएनन्, किनकि तिनीहरू थुमा होइनन्। केवल थुमाले मात्र सात मोहोर तोड्न र चर्मपत्रको मुट्ठो खोल्न सक्नुहुन्छ, र अरू कसैले पनि उहाँको वचनको व्याख्या गर्न सक्दैन। म परमेश्‍वरको नाउँ खोस्ने हिम्मत गर्दिनँ, उहाँका वचनहरूको व्याख्या गर्ने कोसिस गर्ने त कुरै नगरौं। म त्यो व्यक्ति मात्र हुन सक्छु जसले परमेश्‍वरको आज्ञापालन गर्दछ। के तपाईं परमेश्‍वर हुनुहुन्छ? परमेश्‍वरका कुनै पनि प्राणीहरूले त्यो चर्मपत्रको मुट्ठो खोल्ने वा ती वचनहरूको व्याख्या गर्ने हिम्मत गर्दैनन्, र म पनि तिनको व्याख्या गर्ने आँट गर्दिनँ। तपाईंले तिनको व्याख्या गर्ने कोसिस नगर्नु नै राम्रो हुन्छ। कसैले पनि तिनको व्याख्या गर्ने कोसिस गर्नुहुँदैन। हामी पवित्र आत्माको कामको बारेमा कुरा गरौं; मानिसले यति मात्र गर्नु सक्छ। मलाई यहोवा र येशूको कामको बारेमा थोरै मात्र थाहा छ, तर मलाई यस्तो कामको कुनै व्यक्तिगत अनुभव नभएको कारण, म यसको बारेमा केही हदसम्म मात्र कुरा गर्न सक्छु। यशैया वा येशूले उहाँहरूको समयमा बोल्नुभएका वचनहरूको अर्थको बारेमा म कुनै स्पष्टीकरण दिनेछैनँ। म बाइबलको अध्ययन गर्दिनँ, बरु म त परमेश्‍वरको वर्तमान कामको अनुसरण गर्दछु। तपाईंले वास्तवमा बाइबललाई सानो चर्मपत्रको मुट्ठो रूपमा हेर्नुहुन्छ, तर के यो केवल थुमाले मात्र खोल्न सक्ने वस्तु होइन र? थुमाबाहेक, अरू कसले यो खोल्न सक्छ र? तपाईं थुमा हुनुहुन्‍न, मैले म आफै परमेश्‍वर हुँ भनेर दाबी गर्ने आँट गर्ने कुरा त परै जाओस्, त्यसैले हामी बाइबलको विश्लेषण नगरौं वा यसका स-साना कुराहरूको जाँच नगरौं। पवित्र आत्माले गर्नुभएको कामको, अर्थात् वर्तमानमा परमेश्‍वर आफैले गर्नुभएको कामको बारेमा छलफल गर्नु धेरै राम्रो हुन्छ। परमेश्‍वरले कुन-कुन सिद्धान्तहरूद्वारा काम गर्नुहुन्छ, र उहाँको कामको सार के हो सो हेरौं अनि, यसलाई प्रयोग गर्दै के आज हामी हिँडेका मार्ग सही छ कि छैन सो जाँचौं, र त्यसरी यसलाई निश्चित गरौं।” यदि तिमीहरू सुसमाचार प्रचार गर्न चाहन्छौ भने, विशेष गरी धार्मिक संसारमा हुनेहरूलाई प्रचार गर्न चाहन्छौ भने, तिमीहरूले बाइबललाई बुझ्नुपर्छ र त्यसको भित्री कथालाई राम्ररी जान्नुपर्छ; अन्यथा, तेरो निम्ति सुसमाचार प्रचार गर्ने कुनै उपाय छैन। तैंले समग्र चित्रलाई राम्ररी बुझेर बाइबलका मृत शब्दहरूलाई एक-एक गरी जाँच्न बन्द गरिस्, अनि परमेश्‍वरको काम र जीवनको सत्यताको बारेमा मात्र कुरा गर्छस् भने, तब तैंले साँचो हृदयले खोजी गर्नेहरूलाई प्राप्त गर्न सक्नेछस्।

यहोवाको काम, उहाँले राख्नुभएका व्यवस्थाहरू, र उहाँले मानिसहरूलाई जीवन जिउन डोऱ्याउनको लागि प्रयोग गर्नुभएका सिद्धान्तहरू, व्यवस्थाको युगमा उहाँले गर्नुभएको कामको विषयवस्तु, उहाँले आफ्नो व्यवस्थालाई स्थापित गर्नुको महत्त्व, अनुग्रहको युगका निम्ति उहाँले गर्नुभएको काम र परमेश्‍वरले यस अन्तिम चरणमा गर्नुहुने कामको महत्त्व: तिमीहरूले बुझ्‍नैपर्ने कुराहरू यिनै हुन्। पहिलो चरण व्यवस्थाको युगको काम हो, दोस्रो अनुग्रहको युगको काम र तेस्रो आखिरी दिनहरूको काम हो। तिमीहरू परमेश्‍वरको कामका यी चरणहरूको बारेमा स्पष्ट हुनुपर्दछ। सुरुदेखि अन्त्यसम्म, जम्‍मा तीन चरणहरू छन्। कामको प्रत्येक चरणको सार के हो? छ हजार वर्षको प्रबन्ध योजनाको काममा कति वटा चरणहरू पूरा गरिन्छ? यी चरणहरूलाई कसरी पूरा गरिन्छ र किन प्रत्येकलाई त्यसको आफ्नै तरिकामा गरिन्छ? यी सबै महत्त्वपूर्ण प्रश्नहरू हुन्। प्रत्येक युगको कामको प्रतिनिधिमूलक महत्त्व छ। यहोवाले कुन काम गर्नुभयो? उहाँले त्यो किन विशेष तरिकाले गर्नुभयो? उहाँलाई किन यहोवा भनियो। फेरि, अनुग्रहको युगमा येशूले कुन काम गर्नुभयो र कुन तरिकामा त्यो गर्नुभयो? परमेश्‍वरको स्वभावको कुन पक्षहरूलाई कामको प्रत्येक चरण र प्रत्येक युगले प्रतिनिधित्व गर्दछ? उहाँको स्वभावका कुन-कुन पक्षहरूलाई व्यवस्थाको युगमा प्रकट गरिएका थिए? र अनुग्रहको युगमा कुन-कुनलाई प्रकट गरिएका थिए? र अन्तिम युगमा कुन-कुनलाई प्रकट गरियो? यी वास्तविक प्रश्नहरू हुन्, जुन विषयमा तिमीहरू स्पष्ट हुनुपर्दछ। परमेश्‍वरको सम्पूर्ण स्वभाव छ हजार वर्षको व्यवस्थापन योजनाको क्रममा प्रकट भएको छ। यो अनुग्रहको युगमा मात्र प्रकट भएको छैन, न त व्यवस्थाको युगमा मात्र प्रकट गरिएको छ, आखिरी दिनहरूमा मात्रै यसलाई प्रकट गरिएको छ भन्‍ने कुरा त परै जाओस्। आखिरी दिनहरूमा गरिएको कार्यले न्याय, क्रोध र सजायलाई प्रतिनिधित्व गर्दछ। आखिरी दिनहरूमा गरिएको कामले व्यवस्थाको युगको वा अनुग्रहको युगको कामको स्थान लिन सक्दैन। यद्यपि, यी तीन चरणहरू एकसाथ जोडिएका छन्, एउटै अस्तित्वमा छन्, र सबै एउटै परमेश्‍वरका काम हुन्। स्वाभाविक रूपमा, यस कामको कार्यान्वयनलाई अलग-अलग युगहरूमा विभाजित गरिएको छ। आखिरी दिनहरूमा गरिएको कामले सबै कुराको अन्त्य गर्दछ; व्यवस्थाको युगमा गरिएको काम सुरुवातको काम थियो; अनि अनुग्रहको युगमा गरिएको काम छुटकाराको काम थियो। छ हजार वर्षको व्यवस्थापन योजनाको कामका दर्शनहरूको कुरा गर्ने हो भने कसैले पनि त्यसको अन्तर्दृष्टि वा समझ प्राप्त गर्न सक्दैन, र यी दर्शनहरू पहेलीहरू नै रहन्छन्। आखिरी दिनहरूमा, राज्यको युगलाई प्रारम्‍भ गर्नका लागि वचनको काम मात्र गरिन्छ, तर यसले सबै युगको प्रतिनिधित्व गर्दैन। आखिरी दिनहरू आखिरी दिनहरूभन्दा बढी केही होइनन्, र परमेश्‍वरको राज्यको युगभन्दा बढी होइन, र तिनले अनुग्रहको युग वा व्यवस्थाको युगलाई प्रतिनिधित्व गर्दैन। यति मात्र हो, कि आखिरी दिनहरूमा, छ हजार वर्षे व्यवस्थापनको योजनाका सबै काम तिमीहरूलाई प्रकट गरिएको छ। यो रहस्यको घुम्टो उठाउनु हो। यस प्रकारको रहस्य कुनै मानिसले प्रकट गर्न नसक्‍ने कुरा हो। मानिससँग बाइबलसम्बन्धी ज्ञान जति नै धेरै भए पनि त्यो वचनहरू भन्दा बढी केही हुँदैन, किनकि मानिसले बाइबलको सारलाई बुझ्दैन। बाइबल पढ्दा मानिसले केही सत्यता बुझ्न सक्छ, केही वचनको व्याख्या गर्न सक्छ, वा केही प्रसिद्ध खण्डहरू र अध्यायहरूमाथि सूक्ष्म जाँच गरेको हुनसक्छ, तर उसले ती वचनहरूभित्र रहेको अर्थ कहिल्यै पनि बुझ्न सक्दैन, किनकि मानिसले देख्‍ने भनेका मृत शब्दहरू मात्र हुन्, यहोवा र येशूको कामको दृश्य देख्दैनन्, र मानिससँग यस कामको रहस्य पत्ता लगाउने कुनै तरिका हुँदैन। त्यसकारण, छ हजार वर्षे व्यवस्थापन योजनाको रहस्य सबैभन्दा ठूलो रहस्य हो, यसलाई सबैभन्दा गहिराइमा लुकाइएको छ, र यो मानिसका निम्ति पूर्ण रूपमा बुझ्न नसकिने छ। परमेश्‍वर आफैले मानिसलाई नबताउञ्जेल र प्रकट नगरुञ्‍जेलसम्‍म कसैले पनि परमेश्‍वरको इच्छा स्पष्ट रूपमा बुझ्न सक्दैन; अन्यथा, यी कुराहरू मानिसका निम्ति सधैँ रहस्यको कुरा बन्नेछन्, सधैँका लागि मोहोर लगाइएका रहस्यहरू रहनेछन्। धार्मिक संसारमा हुनेहरू सबैको कहिल्यै वास्ता नगर; यदि आज तिमीहरूलाई नबताइएको भए तिमीहरूले पनि यो बुझ्‍ने थिएनौ। छ हजार वर्षको यो काम अगमवक्ताहरूका सबै अगमवाणीहरूभन्दा धेरै रहस्यमय छ। सृष्टिदेखि अहिलेसम्मको सबैभन्दा ठूलो रहस्य यही हो, र युगौँ युगका अगमवक्ताहरूमध्ये कसैले पनि यसलाई बुझ्न सकेको छैन, किनकि यो रहस्यलाई अन्तिम युगमा मात्र प्रकट गरिन्छ र यसभन्दा अघि यसलाई कहिल्यै प्रकट गरिएको छैन। यदि तिमीहरू यस रहस्यलाई बुझ्न सक्छौ भने, र यदि तिमीहरूले यसलाई सम्पूर्ण रूपमा ग्रहण गर्न सक्छौ भने, सबै धार्मिक व्यक्तिहरू यो रहस्यद्वारा परास्त हुनेछन्। सबैभन्दा ठूलो दर्शन यही नै हो; यो मानिसले बुझ्ने सबैभन्दा उत्कट इच्छा गर्ने, तर उसका निम्ति धेरै अस्पष्ट कुरा हो। जब तिमीहरू अनुग्रहको युगमा थियौ, त्यस बेला येशूले गर्नुभएको काम वा यहोवाले गर्नुभएको काम के थियो भन्ने तँलाई थाहा थिएन। परमेश्‍वरले किन व्यवस्था दिनुभयो, किन उहाँले मानिसहरूलाई त्यो व्यवस्था पालन गर्न लगाउनुभयो वा मन्दिर किन बनाउनुपर्‍यो भनी मानिसहरूले बुझेनन्, र इस्राएलीहरूलाई किन मिश्रबाट उजाड-स्थानमा र त्यसपछि कनानमा लगियो भन्ने कुरा मानिसहरूले बुझ्‍ने कुरा त परै जाओस्। आज आएर मात्रै यी विषयहरूलाई प्रकट गरिएको छ।

आखिरी दिनहरूमा हुने काम तीनवटा चरणमध्ये अन्तिम चरण हो। यो अर्को नयाँ युगको काम हो र यसले व्यवस्थापनको कामको सम्पूर्णतालाई प्रतिनिधित्व गर्दैन। छ हजार वर्षको व्यवस्थापन योजनाको कामलाई तीन चरणमा विभाजन गरिएको छ। कुनै पनि एउटा चरणले मात्र तीनवटा युगको कामको प्रतिनिधित्व गर्न सक्दैन, तर सम्पूर्णको केवल एक भागलाई मात्र प्रतिनिधित्व गर्दछ। यहोवाको नाउँले परमेश्‍वरको सम्पूर्ण स्वभावलाई प्रतिनिधित्व गर्न सक्दैन। उहाँले व्यवस्थाको युगमा आफ्नो काम गर्नुभयो भन्ने तथ्यले परमेश्‍वर व्यवस्थाको अधीनमा मात्र परमेश्‍वर हुन सक्नुहुन्छ भनी प्रमाणित गर्दैन। यहोवाले मानिसका लागि व्यवस्था दिनुभयो र मानिसलाई आज्ञाहरू सुम्पनुभयो र मानिसलाई मन्दिर र वेदीहरू बनाउन लगाउनुभयो; उहाँले गर्नुभएको कामले व्यवस्थाको युगलाई मात्र प्रतिनिधित्व गर्दछ। उहाँले गर्नुभएको कामले परमेश्‍वर मानिसलाई व्यवस्था पालन गर्न लगाउने परमेश्‍वर मात्र हुनुहुन्छ, वा उहाँ मन्दिरमा आउनुहुने परमेश्‍वर हुनुहुन्छ वा उहाँ वेदीको सामने आउनुहुने परमेश्‍वर हुनुहुन्छ भनी प्रमाणित गर्दैन। त्यसो हो भनी भन्‍नु असत्य हुनेथियो। व्यवस्था अन्तर्गत गरिएको कामले केवल एउटा युगलाई मात्र प्रतिनिधित्व गर्न सक्छ। त्यसकारण, यदि परमेश्‍वरले व्यवस्थाको युगमा मात्र काम गर्नुभएको थियो भने, मानिसले परमेश्‍वरलाई निम्नलिखित परिभाषाभित्र सीमित तुल्याउनेथियो, “परमेश्‍वर मन्दिरमा बस्नुहुने परमेश्‍वर हुनुहुन्छ, र परमेश्‍वरको सेवा गर्न हामीले पूजाहारीको पोसाक लगाउनुपर्छ र मन्दिरभित्र प्रवेश गर्नुपर्दछ।” यदि अनुग्रहको युगमा यो काम कहिल्यै नभएको भए र व्यवस्थाको युग अहिलेसम्म जारी नै रहेको भए मानिसले परमेश्‍वर दयालु र प्रेमिलो पनि हुनुहुन्छ भनी जान्ने थिएन। यदि व्यवस्थाको युगमा काम नगरिएको भए, त्यसको साटो अनुग्रहको युगमा मात्र काम भएको भए, परमेश्‍वरले मानिसलाई छुटकारा दिन र मानिसका पापहरू क्षमा गर्न मात्र सक्नुहुन्छ भनेर मात्रै मानिसले जान्नेथिए। मानिसले उहाँ पवित्र र निर्दोष हुनुहुन्छ, र मानिसको खातिर उहाँले आफैलाई बलिदान गर्न र क्रूसमा टाँगिन सक्‍नुहुन्छ भनेर मात्र जान्नेथियो। मानिसले यी सबै कुराहरू मात्र जान्नेथियो, तर अरू केही पनि बुझेको हुनेथिएन। त्यसकारण हरेक परमेश्‍वरको स्वभावको एउटा भागलाई प्रतिनिधित्व गर्छ। व्यवस्थाको युगमा, अनि अनुग्रहको युगमा, र यस वर्तमान चरणमा परमेश्‍वरको स्वभावका कुन-कुन पक्षहरूको प्रतिनिधित्व गरियो भन्ने सम्बन्धमा चाहिँ: जब ती सबै तीन चरणहरूलाई एकट्ठा गरिन्छ, तब मात्र परमेश्‍वरको स्वभावको सम्पूर्णता प्रकट हुन सक्दछ। मानिसले तीन वटै चरणहरूलाई जानिसकेपछि मात्रै उसले यसलाई पूर्ण रूपमा बुझ्‍न सक्छ। यी तीन चरणमध्ये कुनैलाई पनि हटाउन सकिँदैन। तैंले यी तीन चरणको कार्यलाई बुझिस् भने मात्र परमेश्‍वरको स्वभावलाई पूर्ण रूपमा बुझ्नेछस्। परमेश्‍वरले व्यवस्थाको युगमा उहाँको आफ्नो काम पूरा गर्नुभयो भन्ने तथ्यले उहाँ व्यवस्थाको अधीनमा हुनुहुने परमेश्‍वर मात्र हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्दैन, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभयो भन्ने तथ्यको अर्थ परमेश्‍वरले मानवजातिलाई सधैँ छुटकारा दिइरहनुहुन्छ भन्ने हुँदैन। यी सबै मानिसका निष्कर्षहरू हुन्। अनुग्रहको युग समाप्त भइसकेपछि, तैंले परमेश्‍वर केवल क्रूसको स्वामित्वमा हुनुहुन्छ र क्रूसले मात्र परमेश्‍वरको मुक्तिलाई प्रतिनिधित्व गर्दछ भन्न सक्दैनस्। त्यसो गर्नु भनेको परमेश्‍वरलाई परिभाषित गर्नु हो। वर्तमान चरणमा, परमेश्‍वरले मुख्य रूपमा वचनको काम गरिरहनुभएको छ, तर तँ परमेश्‍वर मानिसप्रति कहिल्यै कृपालु हुनुभएको छैन र उहाँले सजाय र न्याय मात्र ल्याउनुभएको छ भन्न सक्दैनस्। आखिरी दिनहरूका कामले यहोवाको र येशूका कामलाई साथै मानिसले नबुझेका सबै रहस्यहरूलाई प्रकट गर्दछ, जसले मानवजातिको गन्तव्य र अन्त्य, र मानवजातिको माझमा मुक्तिका सबै काम समाप्त भएको कुरालाई प्रकट गर्दछ। आखिरी दिनहरूमा गरिने कामको यो चरणले सबै कुरालाई समाप्त गर्दछ। मानिसले नबुझेका सबै रहस्यहरू प्रकट गर्नु, मानिसहरूलाई ती कुराहरू गहिरो रूपले बुझ्न दिनु र तिनीहरूका हृदयमा पूर्ण रूपमा स्पष्ट बुझाइ हुन दिनु आवश्यक छ। त्यसपछि मात्र मानवजातिलाई तिनीहरूका प्रकारअनुसार वर्गमा छुट्ट्याउन सकिन्छ। छ हजार वर्षको व्यवस्थापन योजना पूरा भएपछि मात्र मानिसले पूर्ण रूपमा परमेश्‍वरको स्वभावलाई बुझ्न सक्नेछ, किनकि त्यस बेला उहाँको व्यवस्थापन योजना अन्त्य भएको हुनेछ। अब तिमीहरूले अन्तिम युगमा परमेश्‍वरको कामलाई अनुभव गरेका छौ, त्यसकारण परमेश्‍वरको स्वभाव कस्तो छ? के तँ परमेश्‍वर वचनहरू मात्र बोल्ने र त्योभन्दा बढी अरू केही नगर्ने परमेश्‍वर हुनुहुन्छ भनी भन्ने हिम्मत गर्छस्? तैँले त्यस्तो निष्कर्ष निकाल्ने हिम्मत गर्दैनस्। परमेश्‍वर रहस्यहरू प्रकट गर्ने परमेश्‍वर हुनुहुन्छ, परमेश्‍वर थुमा हुनुहुन्छ र सातवटा मोहोर तोड्ने व्यक्ति हुनुहुन्छ भनेर कतिले भन्‍छन्। तर कसैले पनि यस्तो निष्कर्ष निकाल्ने आँट गर्दैन। सायद अरूले भन्छन्, कि परमेश्‍वर देहधारी मानिस हुनुहुन्छ, तर पनि यो अझै सही हुँदैन। अझ अरूले भन्छन् होला, कि देहधारी परमेश्‍वरले केवल वचनहरू बोल्नुहुन्छ, र चिह्न र चमत्कारका कामहरू गर्नुहुन्न, तर तँ यस प्रकारले बोल्ने आँट कमै गर्छस्, किनकि येशू देहधारी बन्नुभयो र उहाँले चिन्‍ह र चमत्कारका कामहरू गर्नुभयो, ताकि तैँले परमेश्‍वरलाई यत्ति हलुका रूपमा परिभाषित गर्ने हिम्मत नगर्। छ हजार वर्षे व्यवस्थापन योजनाभरि गरिएका सबै काम अब मात्रै समाप्त हुन्छ। यी सबै कामहरू मानिसलाई प्रकट गरेपछि र मानवजातिको बीचमा गरिएपछि मात्र मानवजातिले परमेश्‍वरका सबै स्वभाव साथै उहाँसँग के छ र उहाँ के हुनुहुन्छ भनी जान्नेछ। जब यस चरणको काम पूर्ण रूपमा समाप्त हुन्छ, मानिसले नबुझेका सबै रहस्यहरू प्रकट भएका हुन्छन्, पहिले नबुझेका सबै सत्यताहरू स्पष्ट पारिनेछन्, र मानवजातिलाई उनीहरूको भावी मार्ग र गन्तव्यको बारेमा बताइनेछ। वर्तमान चरणमा गरिनुपर्ने सम्पूर्ण काम यही हो। मानिसले आज हिँडेको बाटो क्रूसको र दुःखको बाटो भए पनि मानिसले जुन अभ्यासहरू गर्छ, र उसले आज जे खान्छ, पिउँछ र उपभोग गर्छ त्यो व्यवस्थाको अधीनमा हुँदा र अनुग्रहको युगमा मानिसले पाएको कुराभन्दा धेरै फरक छ। आज मानिसबाट जे माग गरिन्छ त्यो विगतको जस्तो छैन र व्यवस्थाको युगको मानिससित माग गरिएको जस्तो त झन् छँदै-छैन। अब, व्यवस्थाको अधीनमा परमेश्‍वरले इस्राएलमा आफ्नो काम गरिरहनुभएको बेला मानिससँग के माग गरिएको थियो? मानिसले शबाथ र यहोवाको व्यवस्था पालन गर्नु बाहेक अरू केही गर्नु पर्दैनथियो। कसैले पनि शबाथको दिनमा काम गर्नुहुँदैनथ्यो वा परमप्रभुको व्यवस्था उल्लङ्घन गर्नुहुँदैनथ्यो। तर अहिले त्यस्तो छैन। शबाथमा मानिस काम गर्छ, भेला हुन्छ र सामान्य रूपमा प्रार्थना गर्दछ, र उसमाथि कुनै प्रतिबन्ध लगाइएको छैन। अनुग्रहको युगमा हुनेहरूले बप्तिस्मा लिनुपर्थ्यो, र उनीहरूलाई उपवास बस्न, रोटी भाँच्न, दाखमद्य पिउन, शिर ढाक्न र अरूका खुट्टा धोइदिन लगाइएको थियो। अहिले यी नियमहरू खारिज गरिएका छन्, तर मानिसबाट अझ ठूला मागहरू गरिएका छन्, किनकि परमेश्‍वरको काम अझ गहिरो हुँदैजान्छ र मानिसको प्रवेश अझ उच्च हुँदैजान्छ। विगतमा, येशूले आफ्नो हात मानिसमाथि राख्नुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो, तर अब सबै कुरा भनिएको छ, यसैले हात राखेर के हुन्छ? वचनहरूले मात्र परिणाम प्राप्त गर्न सक्छ। विगतमा जब उहाँले मानिसमाथि आफ्नो हात राख्नुहुन्थ्यो, त्यो मानिसलाई आशिष् दिन र उसका रोगहरू निको पार्नका निम्ति हुन्थ्यो। त्यस बेला पवित्र आत्माले त्यसरी नै काम गर्नुभयो, तर अहिले त्यस्तो छैन। अहिले पवित्र आत्माले काम गर्न र परिणामहरू प्राप्त गर्न वचनहरूको प्रयोग गर्नुहुन्छ। उहाँका वचनहरू तिमीहरूलाई स्पष्ट पारिएको छ, र भनिएजस्तै गरी तिमीहरूले तिनलाई आफ्नो व्यवहारमा उतार्नुपर्छ। उहाँका वचनहरू उहाँका इच्छा हुन्; ती उहाँले गर्न चाहनुभएका काम हुन्। उहाँका वचनहरूद्वारा तैँले उहाँको इच्छालाई र तैँले के प्राप्त गरेको उहाँ चाहनुहुन्छ त्यो बुझ्‍नेछस्, र हातहरू राख्नुपर्ने कुनै आवश्यकताविना नै तैँले सीधै उहाँका वचनहरूलाई व्यवहारमा उतार्न सक्छस्। कसै-कसैले यसो भन्लान्, “तपाईंको हात ममाथि राख्नुहोस्! तपाईंका हातहरू ममाथि राख्नुहोस् र मैले तपाईंको आशीर्वाद पाउन सकूँ र म तपाईंमा सहभागी हुन सकूँ।” यी सबै अतीतका पुराना अभ्यासहरू हुन्, जुन अब अप्रचलित भएका छन्, किनकि युग परिवर्तन भएको छ। न त उद्देश्य विहीन रूपले न त नियमहरू अनुसार, तर पवित्र आत्माले युगअनुसार काम गर्नुहुन्छ। युग परिवर्तन भएको छ, र नयाँ युगले अनिवार्य रूपमा नै आफ्नो साथमा नयाँ काम ल्याउँदछ। कामको हरेक चरणमा यही कुरा लागू हुन्छ, त्यसैले उहाँको काम कहिल्यै दोहोरिँदैन। अनुग्रहको युगमा, येशूले त्यस प्रकारको काम प्रशस्तै गर्नुभयो, जस्तै बिरामीलाई निको पार्ने, भूतहरू निकाल्ने, मानिसको निम्ति प्रार्थना गर्न ऊमाथि आफ्नो हात राख्ने र मानिसलाई आशिष्‌ दिने। तापनि, वर्तमान समयमा त्यसो गर्नु अर्थहीन हुनेछ। पवित्र आत्माले त्यस समयमा त्यसरी नै काम गर्नुभयो, किनकि त्यो अनुग्रहको युग थियो, र मानिसले उपभोग गर्न सक्ने पर्याप्त अनुग्रह थियो। ऊबाट कुनै प्रकारको मूल्य माग गरिएको थिएन र जबसम्म ऊसँग विश्‍वास हुन्थ्यो, तबसम्‍म उसले अनुग्रह प्राप्त गर्थ्यो। सबैसँग अनुग्रहको साथ व्यवहार गरिन्थ्यो। अब युग परिवर्तन भएको छ, र परमेश्‍वरको काम अझ अगाडि बढेको छ; सजाय र न्यायको माध्यमबाट मानिसको विद्रोहीपन र मानिसभित्रको अशुद्ध थोकहरूलाई हटाइन्छ। त्यो चरण मुक्तिको चरण भएकोले मानिसले उपभोग गर्न सक्ने प्रशस्त अनुग्रह प्रकट गर्दै, अनुग्रहको माध्यमद्वारा तिनीहरूका पाप क्षमा गर्न परमेश्‍वरले त्यस प्रकारले काम गर्न आवश्यक भयो। यस वर्तमान चरणचाहिँ दण्ड, न्याय, वचनहरूको प्रहार, साथै अनुशासन र वचनहरूको प्रकाशद्वारा मानिसभित्रको अधर्मलाई प्रकट गर्नु हो, यसैले कि त्यसपछि मानवजातिले मुक्ति पाउन सकोस्। यो काम छुटकाराभन्दा अझ गहिरो हुन्छ। अनुग्रहको युगमा भएको अनुग्रह मानिसको उपभोगका लागि पर्याप्त थियो; अब मानिसले यो अनुग्रहको अनुभव गरिसकेको छ, अब उसले यो उपभोग गर्नुपर्दैन। यो कामको समय अब बितिसकेको छ र अब यो गर्नुपर्दैन। अब मानिस वचनको न्यायद्वारा बच्नुपर्छ। मानिसको न्याय भएपछि, उसले सजाय पाएपछि र शोधन गरिएपछि त्यसैद्वारा उसको स्वभाव परिवर्तन हुन्छ। के यो सबै मैले बोलेका वचनहरूको कारणले गर्दा होइन र? कामको प्रत्येक चरणलाई सम्पूर्ण मानवजातिको प्रगति र युग अनुरूप नै गरिन्छ। काम सबै महत्त्वपूर्ण छ, र यो सबै अन्तिम मुक्तिका लागि गरिन्छ, यसैले कि मानवजातिले भविष्यमा एक राम्रो गन्तव्य पाउन सकोस्, र अन्त्यमा मानवजाति प्रकारअनुसार वर्गीकरण हुन सकोस्।

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्‍वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ। जुन बेला येशूले आफ्नो काम गर्दैहुनुहुन्थ्यो, उहाँसम्बन्धी मानिसको ज्ञान अझै अनिश्चित र अस्पष्ट नै थियो। मानिसले सधैँ उहाँ दाऊदको छोरा हुनुहुन्छ भनी विश्‍वास गरे, र उहाँलाई एक महान् अगमवक्ता, मानिसका पापबाट छुटकारा दिने परोपकारी प्रभु भनी घोषणा गरे। कोही-कोही आफ्नो विश्‍वासको शक्तिले गर्दा उहाँको वस्त्रको छेउ छुँदा मात्रै पनि निको भए; अन्धोले देख्न सक्यो र मरेकाहरू समेत फेरि जीवित हुन सके। तापनि, मानिस ऊ आफै भित्र गहिरो जरा गाडेर बसेको भ्रष्ट शैतानिक स्वभावलाई पत्ता लाउन असमर्थ नै थियो, न त त्यसलाई कसरी फाल्ने भन्ने कुरा नै थाहा थियो। मानिसले प्रशस्त अनुग्रह प्राप्त गऱ्यो, जस्तै शरीरको शान्ति र सुख, एक जना सदस्यको विश्‍वासले सम्पूर्ण परिवारमा आशिष्‌ ल्याउने, बिमारी निको पार्ने, इत्यादि। बाँकी मानिसका असल कामहरू र उसको धार्मिक रूप थियो; यदि कोही यी कुराका आधारमा जिउन सक्छ भने तिनीहरूलाई स्वीकार्य विश्‍वासी मानिन्थ्यो। केवल यस प्रकारका विश्‍वासीहरू मात्रै मृत्युपछि स्वर्गमा प्रवेश गर्न सक्थे, जसको अर्थ तिनीहरूले मुक्ति पाएका थिए भन्ने हुन्थ्यो। तर, तिनीहरूको जीवनकालमा, यी मानिसहरूले जीवनका सबै मार्गलाई बुझेनन्। तिनीहरूले पापहरू गर्ने अनि फेरि आफ्ना पापहरू स्वीकार गर्ने निरन्तर चक्रमा परेका थिए, तर आफ्‍ना स्वभाव बदल्ने कुनै तरिका तिनीहरूले जानेका थिएनन्: अनुग्रहको युगमा मानिसको अवस्था यस्तै थियो। के मानिसले पूर्ण मुक्ति पाएको छ? छैन! त्यसकारण कामको त्यो चरण समाप्त भएपछि पनि न्याय र सजायको काम बाँकी नै रह्यो। यो चरण भनेको वचनद्वारा मानिसलाई शुद्ध बनाउनको निम्ति, अनि त्यसद्वारा पछ्याउनको लागि उसलाई एक मार्ग दिनका निम्ति हो। यदि भूतहरू नै निकालिरहने हो भने यो चरण फलदायी वा अर्थपूर्ण हुँदैन, किनकि त्यो मानिसको पापी प्रकृति हटाउन असफल हुनेथियो, र मानिस आफ्ना पापहरूको क्षमामा नै अड्किरहने थियो। पापबलिको माध्यमले मानिसलाई उसका पापहरूका निम्ति क्षमा गरिएको छ, किनकि क्रूसीकरणको काम अघिबाटै समाप्त भइसकेको छ र परमेश्‍वर शैतानमाथि विजयी हुनुभएको छ। तर मानिसको भ्रष्ट स्वभाव अझै ऊभित्रै रहेको छ, मानिसले अहिले पनि पाप गर्न र परमेश्‍वरको विरोध गर्न सक्छ, र परमेश्‍वरले मानवजातिलाई प्राप्त गर्नुभएको छैन। यसैले कामको यस चरणमा परमेश्‍वरले मानिसको भ्रष्ट स्वभाव प्रकट गर्न वचनको प्रयोग गर्नुहुन्छ, र उसलाई सही मार्गअनुसार हिँड्ने अभ्यास गर्न लगाउनुहुन्छ। यो चरण अघिल्लोभन्दा धेरै अर्थपूर्ण छ, साथै धेरै फलदायी पनि छ, किनकि अहिले वचनले नै सोझै मानिसको जीवनलाई प्रदान गर्छ र मानिसको स्वभावलाई पूर्ण रूपले नवीकरण गर्छ; यो कामको अझै विस्तृत चरण हो। त्यसकारण, आखिरी दिनहरूमा हुने देहधारणले परमेश्‍वरको देहधारणको महत्त्वलाई पूरा गरेको छ र मानिसको मुक्तिको लागि परमेश्‍वरको व्यवस्थापन योजनालाई पूर्ण रूपमा समाप्त गरेको छ।

परमेश्‍वरले मानिसलाई मुक्ति दिने काम सोझै आत्माको विधि र आत्माको पहिचानको माध्यमबाट गरिँदैन, किनकि उहाँका आत्मालाई मानिसले न त छुन सक्छ न त देख्न नै सक्छ, न त मानिस नजिक जान नै सक्दछ। यदि उहाँले मानिसलाई सीधा आत्माको दृष्टिकोण प्रयोग गरी मुक्ति दिन खोज्नुभयो भने, मानिस उहाँको मुक्ति प्राप्त गर्न असमर्थ बन्‍नेथियो। यदि परमेश्‍वरले सृष्टि गरिएको मानिसको बाहिरी रूप धारण गर्नुभएको थिएन भने, मानिसले यो मुक्ति पाउने कुनै उपाय हुनेथिएन। किनकि जसरी यहोवाको बादलको नजिक कोही पनि जान सकेन त्यसरी नै मानिस उहाँको नजिक आउने कुनै उपाय छैन। केवल एक सृष्टि गरिएको एक प्राणी बनेर अर्थात् उहाँको वचनलाई उहाँ बन्न लाग्नुभएको मासुको शरीरमा राखेर मात्र उहाँले आफ्नो पछि लाग्नेहरूमा व्यक्तिगत तवरले वचनअनुसार काम गर्न सक्नुहुन्छ। तब मात्र मानिसले व्यक्तिगत रूपमा उहाँको वचनलाई देख्न र सुन्न सक्दछ, र यसरी मात्र उसले पूर्ण रूपमा मुक्ति पाउन सक्छ। यदि परमेश्‍वर मानिस बन्नुभएको थिएन भने, मासु र रगत हुने कसैले पनि त्यस्तो ठूलो उद्धार प्राप्त गर्न सक्नेथिएन, न त एकै जना व्यक्तिले समेत मुक्ति पाउनेथियो। यदि परमेश्‍वरका आत्माले मानवजातिको माझ प्रत्यक्ष रूपमा काम गर्नुभएको भए, सम्पूर्ण मानवजाति नै नष्ट हुनेथियो, अन्यथा, परमेश्‍वरको सम्पर्कमा आउनै नसक्‍ने गरी तिनीहरू पूर्ण रूपले शैतानको कैदमा पर्नेथिए। पहिलो देहधारण मानिसलाई पापबाट छुटकारा दिनका लागि, मानिसलाई येशूको मासुको शरीरको माध्यमबाट छुटकारा दिनु थियो, अर्थात्, उहाँले मानिसलाई क्रूसबाट बचाउनुभयो, तर मानिसभित्र भ्रष्ट शैतानिक स्वभाव अझै रहिरह्यो। दोस्रो देहधारण पापको बलिदानको रूपमा सेवा गर्नु होइन, तर पापबाट छुटकारा पाएकाहरूलाई पूर्ण रूपमा बचाउनका लागि हो। यो यसकारण गरिएको हो, कि क्षमा गरिएकाहरूले तिनीहरूको पापबाट छुटकारा पाऊन् र पूर्ण रूपमा शुद्ध पारिऊन्, र स्वभावमा परिवर्तन प्राप्त गरेर शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकून् र परमेश्‍वरको सिंहासनको अगाडि फर्कन सकून्। यस तरिकाले मात्र मानिस पूर्ण रूपमा पवित्र हुन सक्छ। व्यवस्थाको युग समाप्त भएर अनुग्रहको युगबाट परमेश्‍वरले मुक्तिको कामको सुरु गर्नुभयो, जुन आखिरी दिनहरूसम्म जारी रहन्छ, जब मानवजातिलाई उनीहरूको विद्रोहका लागि न्याय गर्ने र सजाय दिने क्रममा, उहाँले मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नुहुनेछ। त्यसबेला मात्र परमेश्‍वरले आफ्नो मुक्तिको कामलाई समाप्त गर्नुहुनेछ र विश्राममा प्रवेश गर्नुहुनेछ। त्यसकारण, कामका तीन चरणमा, परमेश्‍वर आफैले मानिसहरूको बीचमा काम गर्नका निम्ति केवल दुई पटक मात्र देहधारी बन्नुभयो। किनभने कामका तीन चरणमध्ये एउटा मानिसलाई उनीहरूको जीवनमा डोऱ्याउनु थियो, अनि अन्य दुईवटा मुक्तिको काम गर्नका निम्ति हो। केवल मानिस बनेर मात्र परमेश्‍वर मानिससँग बस्न, संसारको दु:ख अनुभव गर्न, र मानिसको सामान्य मासुको शरीरमा जिउन सक्नुहुन्छ। केवल यस तरिकाले मात्र उहाँले मानिसलाई सृष्टि गरिएका प्राणीहरूको रूपमा चाहिने कुराहरू व्यावहारिक तरिकाले प्रदान गर्न सक्नुहुन्छ। परमेश्‍वरको देहधारणद्वारा मानिसले परमेश्‍वरबाट पूर्ण मुक्ति पाउँछ, उसको प्रार्थनाको जबाफ स्वरूप सीधै स्वर्गबाट होइन। किनकि मानिस देह भएकोले ऊसँग परमेश्‍वरका आत्मालाई कुनै पनि तरिकाले देख्‍न सक्दैन, उहाँको आत्माको नजिक जाने कुरा त परै जाओस्। मानिस केवल परमेश्‍वरले देहधारण गर्नुभएको शरीरसित सम्पर्कमा आउन सक्छ, र केवल यस तरिकाले मात्र मानिसले सबै मार्गहरू र सबै सत्यताहरू बुझ्न सक्दछ, र पूर्ण मुक्ति प्राप्त गर्दछ। दोस्रो देहधारण मानिसका पापहरू मेटाउन र उसलाई पूर्ण रूपमा शुद्ध गर्न पर्याप्त हुनेछ। यसैले, दोस्रो देहधारणद्वारा परमेश्‍वरको सम्पूर्ण कामलाई समाप्त गरिनेछ र परमेश्‍वरको देहधारणको महत्त्व पूरा हुनेछ। त्यसपछि, शरीरमा गरिने परमेश्‍वरको काम पूर्ण रूपमा अन्त्य हुनेछ। दोस्रो देहधारणपछि, उहाँ आफ्नो कामको लागि तेस्रो पटक शरीर बन्नुहुनेछैन। किनकि उहाँको सम्पूर्ण व्यवस्थापन अन्त्य भएको हुनेछ। आखिरी दिनहरूका देहधारणले उहाँका चुनिएका मानिसहरूलाई पूर्ण रूपमा प्राप्त गर्नुभएको हुनेछ, र आखिरी दिनहरूमा मानवजाति सबैलाई उनीहरूका प्रकारअनुसार वर्गीकरण गरिएको हुनेछ। उहाँले फेरि मुक्तिको काम गर्नुहुनेछैन, न त उहाँ कुनै काम गर्न देहमा फर्केर नै आउनुहुनेछ। आखिरी दिनहरूको काममा, वचन चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ शक्तिशाली हुन्छ, र वचनको अधिकारले चिह्न र चमत्कारका कार्यहरूलाई उछिन्‍नेछ। त्यो वचनले मानिसको हृदयको गहिराइमा गडेका सबै भ्रष्ट स्वभावलाई प्रकट गर्दछ। तँसित त्यसलाई आफै पहिचान गर्ने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई तेरो अगि उदाङ्गो पारिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै चिन्‍नेछस्; तैँले तिनलाई अस्वीकार गर्न सक्‍नेछैनस्, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अधिकार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने परिणाम हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अधिकारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै अधीनमा हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै शुद्ध पारिएको हुँदैन त्यो पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन र पवित्र हुन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्‍वरमा फर्कियो भन्ने मात्र हुन्थ्यो। तापनि, परमेश्‍वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्‍वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्‍वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट पदार्थलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। उदाहरणका लागि, जब मानिसहरूले आफूहरू मोआबबाट आएका हौँ भन्‍ने थाहा पाए, तब तिनीहरूले गुनासोका शब्दहरू बोले, जीवनको खोजी गर्न छाडे, र अति नै नकारात्मक बने। के यसले मानवजाति अझै पनि परमेश्‍वरको शासनको अधीनमा पूर्ण रूपमा बस्न असमर्थ छ भनी देखाउँदैन र? के यही नै तिनीहरूको भ्रष्ट शैतानिक स्वभाव होइन? जब तँलाई दण्डको अधीनमा परिएको थिएन, तेरा हातहरू अरू सबैका भन्दा माथि उठ्थे, यहाँसम्म कि येशूको भन्दा पनि माथि। र तँ ठूलो स्वरमा कराउँथिस्: “परमेश्‍वरको प्यारो छोरा हुनू! परमेश्‍वर एक घनिष्ठ हुनू! हामी शैतानको सामु झुक्नुभन्दा बरु मर्छौं! प्राचीन शैतानको विरुद्ध विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गरको विरुद्धमा विद्रोह गर! त्यो ठूलो रातो अजिङ्गर शक्तिबाट नराम्रो घतले खसोस्। परमेश्‍वरले हामीलाई पूर्ण बनाउनुभएको होस्!” तेरो पुकार अरू सबैको भन्दा चर्को थियो। तर त्यसपछि सजायको समय आयो, र एकचोटि फेरि, मानवजातिको भ्रष्ट स्वभाव प्रकट भयो। त्यसपछि तिनीहरूका पुकार रोकियो, र उनीहरूको संकल्प असफल भयो। मानिसको भ्रष्टता यही नै हो; जुन पापभन्दा गहिरो गाडिएको छ, यो शैतानले रोपेको कुरा हो र यसले मानिसभित्र गहिरो जरा गाडेको छ। आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ। मानिस विगतमा यसरी चिच्च्यायो, किनभने उसलाई आफ्नो मूल भ्रष्ट स्वभावको बारेमा कुनै ज्ञान थिएन। मानिसभित्र अवस्थित अशुद्धताहरू यिनै हुन्। न्याय र सजायको यति लामो अवधिमा, मानिस तनावको वातावरणमा बाँच्यो। के यो सबै वचनको माध्यमद्वारा हासिल भएको थिएन र? के तँ पनि सेवाकर्ताहरूको परीक्षण हुनु अघि एकदमै ठूलो आवाजमा कराइनस् र? “परमेश्‍वरको राज्यभित्र प्रवेश गर्नुहोस्! यो नाउँ स्वीकार गर्नेहरू सबै परमेश्‍वरको राज्यमा प्रवेश गर्नेछन्! सबै जना परमेश्‍वरमा सहभागी हुनेछन्।” जब सेवाकर्ताहरूको परीक्षा आयो, तँ रुनै छोडिस्। सबैभन्‍दा सुरुमा सबै जना कराए, “हे परमेश्‍वर! तपाईं मलाई जहाँ राख्नुहुन्छ, म तपाईंद्वारा संचालित हुनलाई अधीनमा बस्नेछु।” परमेश्‍वरका वचनहरू पढिसकेपछि मानिसहरूले भने, “मेरो पावल को हुनेछ? म राजी छु!” तब तिनीहरूले यी वचनहरू देखे, “अनि अय्यूबको विश्‍वासको बारेमा के भन्ने?” र भने, “म अय्यूबको विश्‍वासलाई आफैमा लिन तयार छु। हे परमेश्‍वर, कृपया मलाई जाँच्नुहोस्!” जब सेवा-कर्ताहरूको परीक्षण आयो, तिनीहरू एकैचोटि ढले, र मुस्किलले फेरि खडा हुन सके। त्यसपछि, अलिअलि गर्दै तिनीहरूको हृदयमा भएका अशुद्धताहरू कम हुँदै गए। के यो वचनद्वारा प्राप्त भएको थिएन र? यसैले, आज तिमीहरूले जे अनुभव गर्‍यौ ती वचनद्वारा प्राप्त गरिएका परिणामहरू हुन्, ती येशूको चिन्‍ह र चमत्कारहरूद्वारा प्राप्त गरिएका भन्दा महान् छन्। तैँले देखेको परमेश्‍वरको महिमा र तैँले देख्‍ने परमेश्‍वर स्वयम्‌को अख्तियार केवल क्रूसीकरण, बिरामीलाई निको पार्ने र भूतहरू निकाल्ने माध्यमबाट मात्र देखिँदैन, तर त्योभन्दा बढी उहाँको वचनले गर्ने न्यायबाट देखिन्छ। यसले तँलाई परमेश्‍वरको अख्तियार र शक्तिमा केवल चिन्‍हहरू, बिरामीलाई निको पार्ने र भूतहरू धपाउने काम मात्र सामेल हुँदैन, तर परमेश्‍वरको वचनको न्यायले परमेश्‍वरको अख्तियारलाई अझ राम्री प्रतिनिधित्व गर्न र उहाँको महानतालाई प्रकट गर्न सक्छ।

मानिसले अहिले के हासिल गरेको छ—उसको वर्तमान कद, ज्ञान, प्रेम, बफादारीता, आज्ञाकारीता र अन्तर्दृष्टि—वचनको न्यायको माध्यमबाट प्राप्त भएका कुराहरू यिनै हुन्। तँ आजको दिनसम्‍म बफादार हुन र खडा रहन सकेको छस्, त्यो वचनको माध्यमद्वारा नै हो। अहिले मानिसले देहधारी परमेश्‍वरको काम वास्तवमै असाधारण छ, र यसमा मानिसले प्राप्त गर्न नसक्‍ने, र रहस्य र अचम्‍मका कुराहरू धेरै कुराहरू छन् भन्‍ने देख्‍न सक्छ। त्यसैकारण धेरै जना अधीनमा बसेका छन्। कोही-कोही तिनीहरूका जन्मदेखि नै कहिल्यै कसैको अधीनमा बसेका छैनन्, तापनि तिनीहरूले आजको दिनमा परमेश्‍वरका वचनहरू देख्दा तिनीहरूले थाहै नपाई तिनीहरू अधीनमा बसेका हुन्छन्, अनि तिनीहरू जाँच्ने वा अरू कुनै कुरा गर्ने आँट गर्दैनन्। मानवता वचनको अधीनमा परेको छ र वचनको न्यायको मुनि लम्पसार परेको छ। यदि परमेश्‍वरका आत्माले मानिससँग सीधै बोल्नुहुन्थ्यो भने मानवजाति सबै त्यो आवाजको अधीनमा बस्‍नेथिए, अनि जसरी पावल दमस्कसको बाटोको ज्योतिले गर्दा भुइँमा लडेका थिए त्यसरी नै तिनीहरू प्रकाशको वचनविना नै लड्नेथिए। यदि परमेश्‍वरले यस प्रकारले काम गरिरहनुभएको भए, मानिसले कहिल्यै पनि वचनको न्यायद्वारा आफ्नो भ्रष्टतालाई जान्न र त्यसबाट मुक्ति प्राप्त गर्न सक्दैनथियो। केवल मानिस बनेर मात्र परमेश्‍वरले प्रत्येक र सबै मानवजातिको कानमा उहाँका वचनहरू पुर्‍याउन सक्नुहुन्छ, यसरी जसको कान छ ती सबैले उहाँको वचन सुन्न र वचनद्वारा न्यायको कामलाई स्वीकार गर्न सक्छन्। यो आत्मा प्रकट भएर मानिसलाई अधीनमा बस्न डर देखाएर होइन, बरु उहाँको वचनद्वारा प्राप्त गरिने परिणाम हो। यस्तो व्यावहारिक र अझ असाधारण कार्यको माध्यमबाट मात्रै धेरै वर्षदेखि भित्र लुकेको मानिसको पुरानो स्वभावलाई पूर्ण रूपमा प्रकट गर्न सकिन्छ, यसरी मानिसले त्यसलाई चिन्न र परिवर्तन गर्न सक्दछ। यी सबै देहधारी परमेश्‍वरका व्यावहारिक कार्यहरू हुन्, जसमा व्यावहारिक रूपमा बोलेर अनि न्याय कार्यान्वयन गरेर उहाँले वचनद्वारा मानिसमा न्यायको परिणाम प्राप्त गर्नुहुन्छ। देहधारी परमेश्‍वरको अधिकार र परमेश्‍वरको देहधारणको महत्त्व यही हो। यो देहधारी परमेश्‍वरको अधिकार जनाउन, वचनको कामले हासिल गरेका परिणामहरू जनाउन र आत्मा देहमा आउनुभएको छ भनी बताउन र वचनद्वारा मानिसको न्याय गरी उहाँको अधिकार प्रदर्शन गर्नका निम्ति गरिन्छ। उहाँको शरीर एक साधारण र सामान्य मानवताको बाहिरी रूप भए पनि उहाँका वचनहरूले प्राप्त गरेका परिणामहरूले मानिसलाई उहाँ अधिकारले पूर्ण हुनुहुन्छ, उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ र उहाँका वचनहरू स्वयम् परमेश्‍वरका अभिव्यक्ति हुन् भनी देखाउँछ। यस माध्यमद्वारा सबै मानवजातिलाई उहाँ स्वयम् परमेश्‍वर हुनुहुन्छ, उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ, उहाँलाई कसैले उल्‍लङ्घन गर्नु हुँदैन, र अनि कसैले पनि वचनद्वारा गरिने उहाँको न्यायलाई उछिन्न सक्दैन, अन्धकारको कुनै शक्ति उहाँको अख्तियारमाथि विजयी हुन सक्दैन भनी देखाइन्छ। उहाँ देहधारी हुनुभएका वचन हुनुहुन्छ, त्यसकारण र उहाँको अधिकारको कारण र वचनद्वारा उहाँले गर्ने न्यायको कारण मानिस पूर्ण रूपमा उहाँको अधीनमा बस्छ। उहाँको देहधारी शरीरद्वारा ल्याइएको काम उहाँसित भएको अधिकार हो। शरीरले पनि अख्तियार प्राप्त गर्न सकोस् भनेर उहाँ देह बन्नुको हो, र उहाँ मानिसले देख्न र अनुभव गर्न सक्‍ने गरी मानिसमा व्यावहारिक ढङ्गले काम गर्न सक्षम हुनुहुन्छ। यो काम परमेश्‍वरका आत्माले सीधै गर्नुभएको कामभन्दा धेरै यथार्थ परक हुन्छ, जोसँग सबै अधिकार छ, र यसका परिणामहरू पनि स्पष्ट हुन्छन्। किनकि देहधारी परमेश्‍वर व्यावहारिक रूपमा बोल्न र काम गर्न सक्नुहुन्छ। उहाँको देहको बाहिरी रूपको कुनै अधिकार हुँदैन, र मानिस त्यसको नजिक जान सक्छ, जबकी उहाँको अस्तित्वले अख्तियार बोक्दछ, तर उहाँको अख्तियारलाई कसैले देख्न सक्दैन। जब उहाँ बोल्नुहुन्छ र काम गर्नुहुन्छ, मानिसले उहाँको अख्तियारको अस्तित्व पत्ता लगाउन सक्दैन; यसले उहाँलाई व्यावहारिक प्रकृतिको काम गर्न सहयोग पुर्‍याउँछ। यो सबै व्यावहारिक कार्यले परिणामहरू प्राप्त गर्न सक्छ। कुनै मानिसले उहाँमा अधिकार छ भन्‍ने महसुस नगरे पनि, वा उहाँलाई दुःखी बनाउनु हुँदैन भनी नबुझे पनि, वा उहाँको क्रोध नदेखे पनि, उहाँले उहाँको गुप्त अख्तियार, उहाँको लुकेको क्रोध र उहाँले खुल्लमखुल्ला बोल्नुहुने वचनबाट आफ्ना वचनहरूद्वारा आफूले चाहनुभएको परिणाम प्राप्त गर्नुहुन्छ। अर्को शब्दमा, उहाँको आवाजको सुर, उहाँको बोलीको कठोरता, र उहाँको वचनका सबै बुद्धिद्वारा मानिस पूर्ण रूपले विश्‍वस्त हुन्छ। यस प्रकारले, मानिस देहधारी परमेश्‍वरको अधीनमा बस्छ, जसको कुनै अधिकार छैन जस्तो देखिन्छ, यसरी मानिसलाई बचाउने परमेश्‍वरको उद्देश्य पूरा हुन्छ। यो उहाँको देहधारणको महत्त्वको अर्को पक्ष हो: अझ बढी यथार्थतापूर्वक बोल्नु र उहाँको वचनको वास्तविकतालाई मानिसमा प्रभाव पार्ने तुल्याउनु, यसैले कि मानिसले परमेश्‍वरको वचनको शक्तिलाई देख्न सकोस्। त्यसकारण, यदि देहधारणको माध्यमद्वारा यो काम गरिएको थिएन भने, त्यसले थोरै परिणामहरू पनि प्राप्त गर्न सक्दैनथियो र पापीहरूलाई पूर्ण रूपमा मुक्ति दिन सक्ने थिएन। यदि परमेश्‍वर मानिस नबन्नुभएको भए उहाँ आत्मा नै रहनुहुने थियो, जो मानिसका निम्ति अदृश्य र अनुभव गर्न नसकिने दुवै हुनेथियो। मानिस शारीरिक प्राणी भएकोले ऊ र परमेश्‍वर दुई फरक संसारका हुनुहुन्छ र जसका विभिन्न प्रकृतिहरू छन्। मानिस देह भएकोले परमेश्‍वरका आत्मा ऊसित सँगै रहन सक्दैन, र तिनको बीचमा सम्बन्ध स्थापित गर्ने कुनै उपाय छैन, अनि मानिस आत्मामा परिवर्तन हुनु त झन् हुनै नसक्ने कुरा हो। यस्तो भएकोले, आफ्‍नो मूल कार्यलाई गर्नको लागि परमेश्‍वरका आत्मा सृष्टि गरिएको प्राणी हुनु नै पर्दछ। परमेश्‍वर उच्च स्थानमा चढ्न र मानव प्राणी बन्नका निम्ति आफूलाई नम्र तुल्याउन, दुवै कार्य गर्न सक्‍ने हुनुहुन्छ, यसरी उहाँले मानवजातिका माझमा काम गर्न र तिनीहरूका बीचमा सक्‍नुहुन्छ, तर मानिस उच्च स्थानमा उक्लिन र आत्मा बन्न सक्दैन, र ऊ तल्लो स्थानमा त झनै ओर्लन सक्दैन। यसैले गर्दा परमेश्‍वर आफ्नो काम पूरा गर्न मानिस बन्नुपर्छ। यसरी नै, पहिलो देहधारणको अवधिमा देहधारी परमेश्‍वरको शरीरले मात्रै उहाँको क्रूसीकरणद्वारा मानिसलाई छुटकारा दिन सक्यो, नत्र भने परमेश्‍वरका आत्मा मानिसको पापबलिको रूपमा क्रूसमा टाँगिने कुनै उपाय हुनेथिएन। परमेश्‍वर मानिसको पापबलि हुनका निम्ति सीधै मानिस बन्न सक्नुहुन्थ्यो, तर मानिस परमेश्‍वरले उसको निम्ति तयार पार्नुभएको पापबलि बोकेर सीधै स्वर्गमा उक्लिन सक्दैनथ्यो। यस्तो भएकोले, परमेश्‍वरलाई स्वर्ग र पृथ्वीको बीचमा केही पल्ट आउने र जाने गर्न लाउनु मात्र सम्भव हुन्थ्यो, मानिसलाई मुक्ति पाउनका निम्ति स्वर्गमा उक्लिन लगाउनु सम्भव भएन, किनकि मानिस पतित भएको थियो, साथै मानिस यसै पनि स्वर्गमा उक्लिनु सक्दैन, झन् पापबलि प्राप्त गर्न सक्‍नु त कुरै नगरौं। त्यसकारण, येशू मानवजातिको बीचमा आउनु र कुनै मानिसले गर्न नसक्ने काम व्यक्तिगत रूपमा गर्नु आवश्यक थियो। हरेक चोटि परमेश्‍वर अति आवश्यक परेकोले गर्दा मात्रै मानिस बन्नुहुन्छ। यदि कुनै पनि चरणहरू प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्माद्वारा पूरा गर्न सकिन्थ्यो भने उहाँ देहधारी हुने अपमानजनक कार्यमा समर्पित बन्नुहुने थिएन।

कामको यो अन्तिम चरणमा, वचनको माध्यमद्वारा परिणामहरू प्राप्त गरिन्छ। वचनको माध्यमबाट, मानिसले धेरै वटा रहस्यहरू र परमेश्‍वरले विगतका पुस्ताहरूमा गर्नुभएको कामलाई बुझ्न सक्छ; वचनद्वारा मानिसले पवित्र आत्माबाट ज्ञान प्राप्त गर्दछ; वचनद्वारा नै मानिसले विगतका पुस्ताहरूले कहिल्यै बुझ्न नसकेका रहस्यहरू साथै विगत समयका अगमवक्ता र प्रेरितहरूका कामहरूलाई र उनीहरूले काम गरेका सिद्धान्तहरूलाई बुझ्न सक्दछ; वचनद्वारा, मानिसले स्वयम् परमेश्‍वरको स्वभावलाई साथै मानिसको विद्रोहीपन र विरोधलाई बुझ्न सक्छ, साथै उसको आफ्नै वास्तविकतालाई पनि बुझ्न सक्छ। कामका यी चरणहरू र बोलिएका सबै वचनहरूद्वारा, मानिसले आत्माको काम, देहधारी परमेश्‍वरको शरीरले गर्ने काम, र अझ त्योभन्दा बढी उहाँको सम्पूर्ण स्वभावको बारेमा जान्दछ। परमेश्‍वरको छ हजार वर्षभन्दा धेरै समयको व्यवस्थापनको कामसम्बन्धी तेरो ज्ञान पनि वचनको माध्यमबाट नै प्राप्त भएको थियो। के तेरा पहिलेका धारणाहरू र तिनलाई पन्छ्याउने कार्यमा तैँले पाएको सफलता पनि वचनबाटै प्राप्त भएको होइन? अघिल्लो चरणमा, येशूले चिह्न र चमत्कारका कामहरू गर्नुभयो, तर यस चरणमा कुनै चिह्न र चमत्कारहरू छैनन्। परमेश्‍वरले किन चिह्न र चमत्कारहरू प्रकट गर्नुहुन्न भन्ने तेरो बुझाइ पनि के वचनद्वारा नै प्राप्त गरिएको होइन र? त्यसकारण, यस चरणमा बोलिएका वचनहरूले विगतका पुस्ताहरूका प्रेरितहरू र अगमवक्ताहरूले गरेका कार्यलाई उछिन्छन्। अगमवक्ताहरूले गरेका अगमवाणीहरूले पनि यो परिणाम प्राप्त गर्न सक्दैनथियो। अगमवक्ताहरूले केवल अगमवाणी बोले, तिनीहरूले भविष्यमा के हुनेछ भन्ने कुरा बताए, तर त्यस समयमा परमेश्‍वरले गर्न चाहनुभएको कामको बारेमा बताएनन्। न त उनीहरूले मानवजातिलाई तिनीहरूका जीवनमा डोऱ्याउन, वा मानवजातिलाई सत्यता दिन, वा तिनीहरूलाई रहस्य प्रकट गर्न नै बोले, जीवन प्रदान गर्नको लागि बोल्‍ने कुरा त परै जाओस्। यस चरणमा बोलिएका वचनहरूमा भविष्यवाणी र सत्यता छ, तर मुख्य रूपमा यी वचनहरूले मानिसलाई जीवन प्रदान गर्ने काम गर्दछ। वर्तमानका यी वचनहरू अगमवक्ताहरूका अगमवाणीहरूभन्दा फरक छन्। यो चरणको काम मानिसको जीवनका लागि हो, मानिसको जीवनको स्वभाव परिवर्तन गर्नका लागि हो, तर अगमवाणी बोल्नका लागि होइन। पहिलो चरण यहोवाको कामको निम्ति थियो: उहाँको काम भनेको पृथ्वीमा मानिसहरूलाई परमेश्‍वरको आराधना गर्न तयार पार्नु थियो। यो पृथ्वीमा काम सुरु गर्ने ठाउँ खोज्ने सुरुवाती काम थियो। त्यसबेला, यहोवाले इस्राएलीहरूलाई शबाथ पालन गर्न, तिनीहरूका आमाबाबुको आदर गर्न र एक-अर्कासित मिलेर जीवन बिताउन सिकाउनुभयो। किनभने त्यस समयका मानिसहरूले मानिस कुन कुराले बनेको छ भनी बुझेका थिएनन्, न त तिनीहरूले यस पृथ्वीमा कसरी जिउने भनी बुझेका नै थिए। कामको पहिलो चरणमा उहाँले मानवजातिलाई तिनीहरूका जीवन जिउन मार्गनिर्देशन गर्नु आवश्यक थियो। यहोवाले उनीहरूलाई भन्नुभएका सबै कुरा अघिबाट मानवजातिलाई थाहा थिएन वा तिनीहरूको स्वामित्वमा थिएन। त्यस बेला परमेश्‍वरले अगमवाणीहरू बोल्न धेरै जना अगमवक्ताहरू खडा गर्नुभयो, र तिनीहरूले ती सबै यहोवाको निर्देशनमा गरे। यो परमेश्‍वरको कामको एउटा भाग मात्र थियो। पहिलो चरणमा, परमेश्‍वर देह बन्नुभएन, यसैले उहाँले सबै कुल र जातिहरूलाई अगमवक्ताहरूद्वारा निर्देशन दिनुभयो। जब येशूले आफ्नो समयमा काम गर्नुभयो, उहाँ आजको दिनमा जत्तिकै धेरै बोल्नुभएन। आखिरी दिनहरूमा हुने वचन कामको यो चरण विगतको कुनै पनि युगहरू र पुस्ताहरूमा कहिल्यै गरिएको छैन। यशैया, दानिएल र यूहन्नाले धेरै अगमवाणीहरू बोलेका भए तापनि, तिनीहरूका अगमवाणीहरू अहिले बोलिएका वचनहरूभन्दा बिलकुलै फरक थिए। तिनीहरूले जे बोले ती अगमवाणीहरू मात्र थिए, तर अहिले बोलिएका वचनहरू त्यस्ता होइनन्। यदि मैले अहिले बोलेका सबै कुरालाई अगमवाणीमा परिणत गरें भने के तिमीहरू त्यसलाई बुझ्न सक्नेछौ? मैले बोलेको कुरा म गएपछि हुने कुराहरू हुन् भन्‍ने मानिलिने हो भने, तैँले त्यो कसरी बुझ्न सक्नेछस्? वचनको काम येशूको समयमा वा व्यवस्थाको युगमा कहिल्यै गरिएको थिएन। सायद कतिले भन्नेछन्, “के यहोवाले पनि उहाँको कामको समयमा वचनहरू बोल्नुभएन र? के येशूले काम गरिरहनुभएको बेला रोग निको पार्ने, भूतहरू निकाल्ने, र चिन्‍ह र चमत्कारका कामहरू गर्ने बाहेक वचनहरू पनि बोल्नुभएन र?” वचनहरू कसरी बोलिन्छ त्यसमा भिन्नताहरू हुन्छन्। यहोवाले बोल्नुभएका वचनहरूको सार के थियो? उहाँले मानवजातिलाई पृथ्वीमा आफ्नो जीवन बिताउन मात्र डोऱ्याउँदै हुनुहुन्थ्यो, जसले जीवनका आत्मिक विषयहरूलाई छोएन। जब यहोवाले बोल्नुभयो, सबै ठाउँका मानिसहरूलाई निर्देशन दिनलाई बोल्नुभयो भनी किन भनिएको छ? “निर्देशन” शब्दको अर्थ स्पष्ट रूपमा भन्नु र सिधा आदेश दिनु भन्‍ने हुन्छ। उहाँले मानिसलाई जीवन मात्र दिनुभएन; उहाँले दृष्टान्तहरूको माध्यमद्वारा होइन बरु मानिसलाई हातले समात्नुभयो र उहाँलाई आदर गर्न सिकाउनुभयो। यहोवाले इस्राएलमा गर्नुभएको काम मानिसको निराकरण गर्न वा उसलाई अनुशासनमा राख्‍न वा न्याय र दण्ड दिनका निम्ति थिएन, त्यो मानिसलाई डोऱ्याउनका निम्ति थियो। यहोवाले मोशालाई तिनका आफ्ना मानिसहरूलाई उजाड्-स्थानमा मन्न बटुल्न लगाउनू भनी आज्ञा दिनुभयो। प्रत्येक बिहान सूर्योदय हुनुभन्दा अघि उनीहरूले त्यो दिनलाई पुग्नेजति मन्न बटुल्नु पर्थ्यो। मन्न भोलिको दिनसम्म राख्न सकिँदैनथ्यो, किनकि त्यो कुहिहाल्थ्यो। उहाँले मानिसहरूलाई भाषण दिनुभएन वा तिनीहरूको प्रकृति प्रकट गरिदिनुभएन, न त उहाँले तिनीहरूका विचार र सोचाइहरूलाई नै खुलासा गरिदिनुभयो। उहाँले मानिसहरूलाई परिवर्तन गर्नुभएन, बरु उनीहरूको जीवन अगि बढाउन मार्गनिर्देशन दिनुभयो। त्यस समयका मानिसहरू केही नबुझ्ने र केही आधारभूत व्यावहारिक गतिविधिहरू गर्न नसक्ने बालबालिकाहरू जस्ता थिए, त्यसैले यहोवाले भीडहरूलाई डोऱ्याउन व्यवस्थाहरू मात्र घोषणा गर्नुभयो।

यसैले साँचो हृदयले खोजी गर्नेहरूले आजको दिनमा गरिएको कामको ज्ञान प्राप्त गरून् र तिनीहरू पूर्ण रूपमा विश्‍वस्त हुन सकून् भनी सुसमाचार फैलाउनका लागि, तैंले भित्रको कथा, त्यसको सार र प्रत्येक चरणमा गरिएको कामको महत्त्वलाई स्पष्ट रूपमा बुझ्नुपर्छ। यसलाई यस्तो बनाएर राख्, ताकि तेरो सङ्गति सुनेर अरूले पनि यहोवाको काम, येशूका काम र अझ बढी आजका परमेश्‍वरका सबै कामहरू, साथै यी तीन चरणहरूको बीचका सम्बन्धहरू साथै भिन्नताहरूलाई बुझ्न सकून्। यसलाई यस्तो बनाएर राख्, ताकि तिनीहरूले सुनिसकेपछि, अरूले यी तीन चरणले एकले अर्कोलाई बाधा दिएनन्, तर यी सबै एउटै आत्माको काम हुन् भनी बुझ्न सकून्। उहाँहरूले विभिन्न युगहरूमा काम गर्नुहुने भए तापनि, उहाँहरूले गर्नुहुने कामको विषयवस्तु भिन्न भए तापनि, र उहाँहरूले बोल्ने वचनहरू फरक भए तापनि, उहाँहरूले काम गर्ने सिद्धान्तहरू एउटै र उस्तै हुन्छन्। यी कुराहरू परमेश्‍वरलाई पछ्याउने सबै मानिसहरूले बुझ्‍नुपर्ने सबैभन्दा ठूला दर्शनहरू हुन्।

अघिल्लो: देहधारणको रहस्य (३)

अर्को: दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

तैंले प्रतिष्ठाका आशिष्‌हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्‍वरको इच्छालाई बुझ्‍नुपर्छ

मानिसको दृष्टिकोणबाट हेर्दा, मोआबका सन्तानहरूलाई पूर्ण बनाउनु सम्भव छैन, न त उनीहरू त्यस्तो बनाइने योग्यका नै छन्। अर्कोतिर, दाऊदका...

देहधारणको रहस्य (२)

त्यो बेला जब येशूले यहूदियामा काम गर्नुभयो, उहाँले खुल्लमखुल्ला त्यसो गर्नुभयो, तर अहिले म तिमीहरूको माझमा गुप्त रूपमा काम गर्छु र बोल्छु।...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्