देहधारणको रहस्य (३)

जब परमेश्‍वरले आफ्नो काम गर्नुहुन्छ, उहाँ कुनै निर्माण कार्यमा वा अभियानमा संलग्न हुनका लागि आउनुहुन्न, तर आफ्नो सेवकाइ पूरा गर्न आउनुहुन्छ। प्रत्येक पटक उहाँ देह बन्नुहुँदा केवल एक चरणको काम पूरा गर्न र नयाँ युग सुरु गर्नका निम्ति हो। अब परमेश्‍वरको राज्यको युग पनि आइपुगेको छ, त्यसरी नै राज्यको तालिम पनि आइपुगेको छ। कामको यो चरण मानिसले गर्ने काम होइन, र यो मानिसले कुनै हदसम्म गर्नुपर्ने काम होइन, तर केवल परमेश्‍वरको कामको एक अंश पूरा गर्नका लागि हो। उहाँले गर्ने काम मानिसको काम होइन, यो काम गर्ने मानिसले पृथ्वी छोड्नु अघि केही निश्चित परिणाम प्राप्त गर्नु होइन; यो उहाँको सेवकाइ पूरा गर्नु र उहाँले गर्नुपर्ने काम समाप्त गर्नु हो, जुन यस पृथ्वीमा उहाँको कामका लागि उचित प्रबन्धहरू गर्नु र त्यसद्वारा महिमा प्राप्त गर्नु हो। देहधारी परमेश्‍वरले गर्नुहुने काम पवित्र आत्माद्वारा प्रयोग भएका मानिसहरूले गर्ने कामभन्दा भिन्न हुन्छ। जब परमेश्‍वर पृथ्वीमा आफ्नो काम गर्न आउनुहुन्छ, उहाँले केवल आफ्नो सेवकाइको पूरा गर्नुमा ध्यान दिनुहुन्छ। उहाँको सेवकाइसँग सम्बन्धित नभएका अरू सबै मामलाहरूमा, उहाँले प्रायः भाग लिनुहुन्न, यहाँसम्म कि उहाँले आँखा पनि बन्द गर्नुहुन्छ। आफूले गर्नुपर्ने काम मात्र उहाँले गर्नुहुन्छ, र मानिसले गर्नुपर्ने काममा उहाँले थोरै मात्र चासो राख्नुहुन्छ। उहाँले गर्नुहुने काम पूर्ण रूपमा उहाँ हुनुभएको युग र उहाँले पूरा गर्नुपर्ने सेवकाइसँग सम्बन्धित हुन्छ, मानौं अरू सबै विषयहरू उहाँको कार्यक्षेत्र बाहिर छन्। मानव जातिको बीचमा जिउनका लागि उहाँले आफूलाई आधारभूत ज्ञानले सुसज्जित पार्नुहुन्न, न त उहाँले धेरै सामाजिक सीपहरू सिक्नुहुन्छ, न आफूलाई मानिसले बुझ्ने अरू कुनै कुराद्वारा सुसज्जित पार्नुहुन्छ। मानिसमा हुनुपर्ने कुराहरूले उहाँलाई चिन्तित बनाउँदैन, र उहाँले केवल आफ्नो काम गर्नुहुन्छ जुन उहाँको कर्तव्य हो। यसरी मानिसले हेर्दा, देहधारी परमेश्‍वरलाई धेरै कुरामा कमी देख्छ कि उहाँले मानिसमा हुनुपर्ने धेरै कुराहरूमा समेत ध्यान दिनुहुन्‍न, उहाँलाई यस्ता विषयहरूको केही पनि ज्ञान छैन। जीवनको बारेमा सामान्य ज्ञान जस्ता कुराहरू, साथै व्यक्तिगत आचरण र अरूसँग गरिने बातचितको उहाँसँग कुनै सम्बन्ध नभएको जस्तो देखिन्छ। तर तैँले देहधारी परमेश्‍वरबाट असामान्यताको सानोभन्दा सानो सङ्केत पनि पाउन सक्दैनस्। भन्नुको अर्थ, उहाँको मानवताले केवल एक सामान्य व्यक्तिको रूपमा उहाँको जीवनलाई, उहाँको दिमागको सामान्य तर्कलाई थामेर राख्छ, उहाँलाई सही र गलत छुट्याउने क्षमता प्रदान गर्दछ। तापनि, उहाँ अरू कुनै कुराले सुसज्जित हुनुहुन्न, ती सबै थोकहरू केवल मानिसमा (सृष्टि गरिएका प्राणीहरूमा) मात्र हुनुपर्छ। परमेश्‍वर केवल उहाँको आफ्नै सेवकाइ पूरा गर्न मात्र शरीर बन्नुहुन्छ। उहाँको काम एउटा सम्पूर्ण युगतिर निर्देशित हुन्छ, कुनै एक व्यक्ति वा स्थानमा होइन, तर सम्पूर्ण ब्रह्माण्डमा। उहाँको कामको दिशा र उहाँले काम गर्ने सिद्धान्त यही नै हो। यसलाई कसैले पनि परिवर्तन गर्न सक्दैन, र मानिसको निम्ति यसमा संलग्न हुने कुनै उपाय छैन। प्रत्येक पटक जब परमेश्‍वर देह बन्नुहुन्छ, उहाँले आफ्नो साथमा त्यस युगको काम ल्याउनुहुन्छ, र मानिसले अझ राम्ररी उहाँलाई बुझून् र प्राप्त गरून् भनी उहाँ मानिससँग बीस, तीस, चालीस, वा सत्तरी वा असी वर्षसम्म जिइरहने उहाँको कुनै उद्देश्य हुँदैन। त्यसको कुनै आवश्यकता छैन! त्यसो गर्दा कुनै पनि प्रकारले परमेश्‍वरको भित्री स्वभावसम्बन्धी मानिसको ज्ञानलाई गहिरो बनाउँदैन; यसको साटो, त्यसले केवल उसका धारणाहरू मात्र बढाउँछ र उसका धारणा र विचारहरूलाई जीवाश्म बनाउँछ। यसैले तिमीहरू सबैले देहधारी परमेश्‍वरको काम के हो भनेर ठ्याक्कै बुझ्नु आवश्यक छ। मैले तिमीहरूलाई दिएका वचनहरू तिमीहरूले पक्कै पनि बुझ्न असफल भएका छैनौ: “म सामान्य मानव जीवनको अनुभव गर्न आएको थिइनँ?” के तिमीहरूले यी वचनहरू भुलेका छौ: “परमेश्‍वर पृथ्वीमा एक सामान्य मानिसको जीवन जिउन आउनुभएको होइन?” तिमीहरू परमेश्‍वर देह बन्नुको उद्देश्य बुझ्दैनौ, न त तिमीहरू “सृष्टि गरिएको प्राणीको जीवनको अनुभव गर्ने मनसायले पृथ्वीमा कसरी परमेश्‍वर आउन सक्नुहुन्छ?” भन्‍ने कुराको अर्थ जान्दछौ। परमेश्‍वर केवल आफ्नो काम पूरा गर्न पृथ्वीमा आउनुहुन्छ, र यसैले पृथ्वीमा उहाँको काम अल्पकालीन हुन्छ। उहाँ पवित्र आत्मालाई उहाँको आफ्नो मासुको शरीरलाई चर्चको नेतृत्व गर्ने महामानव बनाउन लगाउने उद्देश्यले पनि आउनुहुन्न। जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, यो वचन देहधारी बन्नु नै हो; तापनि, मानिसले उहाँको कामबारे जान्दैन र जबरजस्ती उहाँलाई विभिन्न उपाधिहरू दिन्छ। तर तिमीहरू सबैले बुझ्नुपर्छ, कि परमेश्‍वर “वचन देह बन्‍नुहुन्छ,” केही क्षणसम्म परमेश्‍वरको भूमिका खेल्न परमेश्‍वरका आत्माले तयार गर्नुभएको मासुको शरीर होइन। परमेश्‍वर आफै पनि हेरचाहको उपज हुनुहुन्‍न, तर वचन देहधारी हुनुभएको हो, र आज उहाँले आधिकारिक रूपमा तिमीहरू सबैको माझ आफ्नो काम गर्नुहुन्छ। तिमीहरू सबैलाई थाहा छ, र स्वीकार गर्छौ, कि परमेश्‍वरले देहधारण हुनुभएको कुरा वास्तविक सत्यता हो, तापनि, तिमीहरू यसलाई बुझेको जस्तो व्यवहार गर्छौ। देहधारी परमेश्‍वरको कामदेखि उहाँको देहधारणको महत्त्व र तत्त्वसम्म तिमीहरू थोरै पनि बुझ्न सक्दैनौ र स्मरणबाट सजिलै भन्‍न सकिने वचनहरूद्वारा अरूलाई पछ्याउँछौं। के देहधारी परमेश्‍वर तैँले कल्पना गरेको जस्तो हुनुहुन्छ भनी तँ विश्‍वास गर्छस्?

परमेश्‍वर केवल युगलाई डोऱ्याउन र नयाँ कामलाई गति दिनका निम्ति मात्रै देह बन्नुहुन्छ। तिमीहरूले यो कुरा बुझ्नु आवश्यक छ। यो मानिसको प्रकार्यभन्दा धेरै फरक छ, र दुवैलाई उही रूपमा उल्‍लेख गर्न सकिँदैन। मानिसलाई काम गर्न प्रयोग गर्नुभन्दा पहिले उसलाई लामो समयसम्म विकास गर्नु र सिद्ध बनाउनु आवश्यक हुन्छ, र जुन प्रकारको मानवता चाहिएको हुन्छ त्यो विशेष प्रकारले उच्च स्तरको हुन्छ। मानिसले सामान्य मानवताको ज्ञानलाई कायम राख्न सक्ने मात्र होइन, तर उसले अरूसँग सम्बन्धित आफ्नो आचरणलाई नियन्त्रण गर्ने धेरै सिद्धान्तहरू र नियमहरूलाई बुझ्‍न, र यसबाहेक ऊ बुद्धि र नैतिक ज्ञानको बारेमा अझ बढी अध्ययन गर्न प्रतिबद्ध हुन सक्‍नुपर्छ। मानिस यस्तै कुराले सुसज्जित हुनुपर्छ। तापनि, देह बन्नुहुने परमेश्‍वरको हकमा त्यस्तो हुँदैन, किनकि उहाँको कामले न त मानिसको न मानिसको कामको प्रतिनिधित्व गर्छ, बरु, उहाँको अस्तित्वको प्रत्यक्ष अभिव्यक्ति र उहाँले गर्नुपर्ने कामको प्रत्यक्ष कार्यान्वयनको प्रतिनिधित्व गर्दछ। (स्वाभाविक रूपमा, उहाँको काम उपयुक्त समयमा सम्पन्न हुन्छ, संयोगले वा निरुद्देश्यमा होइन, र यो उहाँको सेवकाइ पूरा गर्ने समय भएको बेलामा सुरु भएको छ)। उहाँ मानिसको जीवनमा वा मानिसको काममा सहभागी हुनुहुन्न, अर्थात् उहाँको मानवता यीमध्ये कुनै पनि कुराद्वारा सुसज्जित छैन (यद्यपि यसले उहाँको कामलाई असर गर्दैन)। उहाँ तब मात्र आफ्नो सेवकाइ पूरा गर्नुहुन्छ जब उहाँले यसो गर्ने समय आउँछ; उहाँको दर्जा जे-सुकै भए पनि, उहाँ आफूले गर्नुपर्ने काममा लगातार अगि बढ्नुहुन्छ। मानिसले उहाँको विषयमा जे जान्दछ, उहाँको विषयमा मानिसको विचार जे-जस्तो भए पनि उहाँको काम पूर्ण रूपमा अप्रभावित हुन्छ। उदाहरणका लागि, जब येशूले आफ्नो काम पूरा गर्नुभयो, उहाँ को हुनुहुन्छ भनेर ठ्याक्कै कसैलाई पनि थाहा थिएन, तर उहाँ केवल आफ्नो काममा अगि बढ्नुभयो। यी कुनै पनि कुराले उहाँले गर्नुपर्ने काम गर्न उहाँलाई कुनै बाधा पुऱ्याएन। त्यसकारण, उहाँले सुरुमा आफ्नो पहिचान स्वीकार गर्ने र घोषणा गर्ने गर्नुभएन, र मानिस उहाँको पछि लागेका मात्र थिए। स्वाभाविक रूपमा, यो परमेश्‍वरको नम्रता मात्र थिएन, तर परमेश्‍वरले देहमा काम गर्नुहुने तरिका पनि थियो। उहाँले यसरी मात्र काम गर्न सक्नुहुन्थ्यो, किनकि नाङ्गो आँखाले उहाँलाई चिन्ने मानिसको कुनै उपाय थिएन। अनि यदि मानिसले उहाँलाई चिनेको भए पनि उसले उहाँको काममा कुनै सहयोग गर्न सक्दैनथ्यो। यसबाहेक, मानिसले उहाँको देहलाई चिनोस् भनेर उहाँ देह बन्नुभएको थिएन; यो उहाँले आफ्‍नो काम गर्न र आफ्नो सेवकाइ पूरा गर्नको लागि थियो। यसकारण, उहाँले आफ्नो पहिचान सार्वजनिक गर्नुलाई कुनै महत्त्व दिनुभएन। जब उहाँले गर्नुपर्ने सबै कामहरू पूरा गर्नुभयो तब उहाँको सम्पूर्ण पहिचान र दर्जा स्वाभाविक रूपमा मानिसको अगि स्पष्ट भयो। देहधारी परमेश्‍वर चुपचाप रहनुहुन्छ र कहिल्यै पनि कुनै घोषणाहरू गर्नुहुन्न। उहाँले न त मानिसलाई न मानिसले कसरी उहाँलाई पछ्याउँदैछ भनेर ध्यान दिनुहुन्छ, तर केवल आफ्नो सेवकाइ पूरा गर्न र उहाँले गर्नुपर्ने काम पूरा गर्न अगि बढ्नुहुन्छ। उहाँको कामको बाटोमा कोही पनि खडा हुन सक्दैन। जब उहाँको काम समाप्त गर्ने समय आउँदछ, यो निश्चय नै निष्कर्षमा पुग्नेछ र समाप्त हुनेछ, र कसैले पनि अन्यथा निर्देशित गर्न सक्दैन। उहाँले मानिसमा आफ्नो काम पूरा गरेर जानुभएपछि मात्र मानिसले उहाँले गर्नुहुने कामलाई बुझ्‍नेछ, तापनि अझै पूर्ण रूपमा स्पष्ट होइन। उहाँले पहिलो आफ्‍नो काम कुन उद्देश्यले गर्नुभएको थियो भनी बुझ्न मानिसलाई धेरै लामो समय लाग्नेछ। अर्को शब्दमा भन्नुपर्दा, देहधारी परमेश्‍वरको युगको काम दुई भागमा बाँडिएको छ। एउटा भागमा देहधारी परमेश्‍वर आफैले गर्नुहुने काम र परमेश्‍वरको देहधारी शरीर आफैले बोल्नुहुने वचनहरू छन्। उहाँको शरीरको सेवकाइ पूर्णरूपमा पूरा भएपछि, त्यो कामको अर्को भाग ती मानिसहरूद्वारा गरिनुपर्छ जो पवित्र आत्माद्वारा चलाइन्छन्। मानिसले आफ्नो काम पूरा गर्ने समय यही हो, किनकि परमेश्‍वरले अघिबाटै बाटो खोलिदिइसक्नुभएको हुन्छ, र त्यसमा मानिस आफै हिँड्नुपर्छ। भन्नुको अर्थ, देहधारी बन्नुभएका परमेश्‍वरले कामको एक भाग पूरा गर्नुहुन्छ, र त्यसपछि पवित्र आत्मा र पवित्र आत्माले प्रयोग गर्नुभएका मानिसहरूले बाँकी काम गर्नुपर्छ। त्यसकारण, देहधारी हुनुभएका परमेश्‍वरले यस चरणमा गर्नुहुने मुख्य काम के हो र देह बन्नुभएका परमेश्‍वरको महत्त्व के हो र उहाँले गर्नुपर्ने काम के हो त्यसलाई मानिसले ठीकसँग बुझ्नुपर्छ, र उसले मानिससँग माग गरेजस्तो परमेश्‍वरसित माग गर्नुहुँदैन। यसैमा मानिसको गल्ती, उसको धारणा र त्योभन्दा बढी उसको अनाज्ञाकारिता लुकेको हुन्छ।

परमेश्‍वर मानिसलाई उहाँको देहबारे जान्न दिने, वा देहधारी परमेश्‍वरको शरीर र मानिसको शरीर बीचका भिन्नताहरू छुट्ट्याउन दिने उद्देश्यले देहधारी बन्नुभएको होइन; न त परमेश्‍वर मानिसको समझशक्तिलाई तालिम दिनका लागि नै देह बन्नुभएको हो, र मानिसलाई परमेश्‍वरको देहधारी शरीरको पूजा गर्ने अनुमति दिने र त्यसरी ठूलो महिमा प्राप्त गर्ने उद्देश्यले त झन् यो हुँदै-होइन। यी कुनै पनि कुरा परमेश्‍वर देह बन्नुको मूल अभिप्राय होइन। न त मानिसलाई दोषी ठहराउनका लागि, न त जानाजानी मानिसलाई प्रकट गर्न, न त उसका निम्ति स्थितिहरू गाह्रो बनाउन परमेश्‍वर देह बन्नुभएको हो। यीमध्ये कुनै पनि कुराहरू परमेश्‍वरको अभिप्राय होइन। हरेक पल्ट जब परमेश्‍वर देह बन्नुहुन्छ, त्यो अपरिहार्य कुरा हुन्छ। उहाँले जसरी काम गर्नुहुन्छ त्यो उहाँको महान् काम र उहाँको ठूलो व्यवस्थापनको खातिर गर्नुहुन्छ, मानिसले कल्पना गरेको जस्तो प्रकारले काम गर्नको लागि होइन। परमेश्‍वर उहाँको कामको आवश्यकताअनुसार मात्र पृथ्वीमा आउनुहुन्छ, र आवश्यक पर्दा मात्र आउनुहुन्छ। उहाँ केवल यता-उता हेर्नका निम्ति मात्र पृथ्वीमा आउनुहुन्न, तर उहाँले गर्नुपर्ने काम पूरा गर्न आउनुहुन्छ। उहाँले आफ्नो काम पूरा गर्न किन यस्तो गह्रौं बोझ लिनुहुन्छ र यस्तो ठूलो जोखिम उठाउनुहुन्छ? जब आवश्यक पर्छ तब परमेश्‍वर देह बन्नुहुन्छ, र सधैँ द्वित्तिय महत्त्वसहित देह बन्नुहुन्छ। यदि मानिसहरूलाई उहाँतिर हेर्न लगाउनु र तिनीहरूका क्षितिजलाई फराकिलो बनाउनका लागि मात्र हो भने, निश्‍चित रूपमा उहाँ कहिल्यै पनि त्यति सजिलै मानिसहरूको बीचमा आउनुहुने थिएन। उहाँ आफ्नो व्यवस्थापन र उहाँको महान् कामको खातिर, र अझै बढी मानवजाति प्राप्त गर्न सकूँ भनेर पृथ्वीमा आउनुहुन्छ। उहाँ युगको प्रतिनिधित्व गर्न आउनुहुन्छ, उहाँ शैतानलाई हराउन आउनुहुन्छ, र शैतानलाई हराउनका लागि उहाँले आफैमा शरीर धारण गर्नुहुन्छ। अझ बढी, उहाँ सम्पूर्ण मानवजातिलाई तिनीहरूको जीवन जिउन अगुवाइ गर्नका निम्ति आउनुहुन्छ। यी सबै उहाँको व्यवस्थापनसित सम्बन्धित छन्, र यो सम्पूर्ण ब्रह्माण्डको कामसँग सम्बन्धित छ। यदि मानिसलाई उहाँको देह चिन्ने तुल्याउन र मानिसहरूका आँखा खोलिदिनका निम्ति मात्र परमेश्‍वर मानिस बन्नुभयो भने उहाँले किन सबै देशको यात्रा गर्नुभएन? के यो अत्यन्तै सजिलो कुरा हुनेछैन र? तर उहाँले त्यसो गर्नुभएन, बरु उहाँले बस्‍नलाई उपयुक्त स्थान चुनेर आफूले गर्नुपर्ने काम सुरु गर्नुहुन्छ। यो देह मात्रै पनि धेरै महत्त्वपूर्ण छ। उहाँले सम्पूर्ण युगको प्रतिनिधित्व गर्नुहुन्छ, साथै सम्पूर्ण युगको काम पनि गर्नुहुन्छ; उहाँले अघिल्लो युगको अन्त्य गर्ने र नयाँ युग सुरु गर्ने, दुवै काम गर्नुहुन्छ। यो सबै नै परमेश्‍वरको व्यवस्थापनसँग सम्बन्धित महत्त्वपूर्ण कुरा हो, र यो सबै नै परमेश्‍वर पृथ्वीमा आई अघि बढाउनुहुने कामको एउटा चरणको महत्त्व हो। जब येशू पृथ्वीमा आउनुभयो, उहाँले केही वचनहरू मात्र बोल्नुभयो र केही कामहरू गर्नुभयो; उहाँले आफैलाई मानिसको जीवनसँग सम्बन्धित गर्नुभएन, र आफ्नो काम समाप्त गर्नसाथ उहाँ जानुभयो। आज, जब मैले बोलिसकेँ र तिमीहरूलाई मेरा वचनहरू दिइसकेँ, र जब तिमीहरू सबैले बुझेका छौ, तिमीहरूको जीवन जस्तै भए पनि मेरो कामको यो चरण समाप्त भइसकेको हुनेछ। भविष्यमा मेरो काममा यस चरणलाई अगाडि बढाउने र यी वचनहरू अनुसार पृथ्वीमा काम जारी राख्ने केही मानिसहरू हुनुपर्छ; त्यस बेला, मानिसको काम र मानिसको पुनः निर्माण कार्य सुरु हुनेछ। तर वर्तमान समयमा, परमेश्‍वरले केवल आफ्नो सेवकाइ पूरा गर्न र उहाँको कामको एक चरण पूरा गर्नको लागि मात्रै आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वरले मानिसको तरिकाले काम गर्नुहुन्न। मानिसलाई मण्डलीहरू र मञ्चहरू मन पर्दछ, र समारोहलाई महत्त्व दिँदछ, तर परमेश्‍वरलाई सबैभन्दा मन नपर्ने कुरा भनेको मण्डलीहरू र मानिसहरूका सभाहरू हुन्। परमेश्‍वर मानिससँग अनौपचारिक रूपमा कुराकानी गर्नुहुन्छ र बोल्नुहुन्छ; परमेश्‍वरको काम यही हो, जुन असाधारण रूपमा स्वतन्त्र पारिएको छ र यसले तिमीहरूलाई स्वतन्त्र पार्दछ। यद्यपि म तिमीहरूसँग भेला हुन पटक्कै मन पराउँदिन, र म तिमीहरूको जस्तो संगठित जीवनसित अभ्यस्त हुन असमर्थ छु। सबैभन्दा बढी म नियमहरू मन पराउँदिन; तिनले मानिसलाई बाधा दिन्छन्, यहाँसम्म कि मानिस हिँडडुल गर्न डराउँछ, बोल्न डराउँछ, र गाउन डराउँछ, उसका आँखाहरूले सिधा अगाडि तँलाई हेरिरहेको हुन्छ। म तिमीहरूको भेला हुने तरिकालाई एकदम घृणा गर्दछु र ठूला मण्डलीहरूलाई झन् बढी घृणा गर्दछु। म केवल तिमीहरूसँग यस प्रकारले भेला हुन अस्वीकार गर्दछु, किनकि यस प्रकारको जीवन शैलीले एक व्यक्तिलाई बन्धनमा परेको महसुस गराउँछ अनि तिमीहरू धेरै वटा उत्सवहरू र धेरै नियमहरू पालन गर्दछौ। यदि तिमीहरूलाई नेतृत्व गर्ने अनुमति दिइयो भने तिमीहरू सबै मानिसहरूलाई नियमहरूको अधीनमा पार्छौ, र तिमीहरूको नेतृत्वका नियमहरूलाई पन्साउने कुनै तरिका तिनीहरूसँग हुँदैन; यसको सट्टामा धर्मको वातावरण झन्-झन् तीव्र हुँदै जान्छ, र मानिसका अभ्यासहरू भने बिस्तारै वृद्धि विकास भइरहन्छ। केही मानिसहरू तिनीहरू भेला हुँदा बोलिरहन्छन् र बोलिरहन्छन्, तिनीहरू कहिल्यै थाक्दैनन्, र कोही-कोही त धेरै दिनसम्म नरोकी प्रचार गरिरहन्छन्। यी सबै ठूला मण्डलीहरू र मानिसका सभाहरू मानिन्छन्; तिनीहरूको खाने र पिउने, रमाइलो गर्ने वा आत्मा स्वतन्त्र हुने कुरासँग कुनै सरोकार हुँदैन। यी सबै सभाहरू हुन्! तिमीहरूका सहकर्मीहरूका सभाहरू, साथै ठूला र साना मण्डलीहरू सबै मेरो लागि घृणित छन्, र तीबारे मलाई कहिल्यै पनि कुनै चासो लागेको छैन। म यही सिद्धान्तद्वारा काम गर्दछु: म भेलाहरूको अवधिमा प्रचार गर्न चाहन्नँ, न त म कुनै ठूलो सार्वजनिक भेलामा केही घोषणा गर्ने, न केही दिनको विशेष सम्मेलनमा तिमीहरूलाई सबै कुरा बताउने इच्छा नै गर्छु। तिमीहरू सबै भेला हुँदा बस्नु, औपचारिक हुनु र उचित हुनुपर्छ भन्‍ने कुरासँग म सहमत छैन; तिमीहरू कुनै पनि समारोहमा सीमित भएर बस्ने कुरालाई म घृणा गर्दछु, र अझ त्योभन्दा बढी, म तिमीहरूको त्यस्तो समारोहमा भाग लिन इन्कार गर्दछु। तिमीहरूले जति धेरै यसो गर्छौ मलाई त्यो त्यत्ति नै बढी घृणास्पद लाग्छ। मलाई यी समारोहहरूमा र तिमीहरूका नियमहरूमा अलिकति पनि चासो छैन। तिमीहरूले तीबाट जत्ति नै राम्रो काम गरे पनि मलाई ती सबै घृणास्पद लाग्छ। तिमीहरूको व्यवस्था अनुपयुक्त छ वा तिमीहरू अति तुच्छ छौ भन्‍ने होइन; तर यो हो भने म तिमीहरूको जीवनशैलीलाई घृणा गर्दछु र त्योभन्दा बढी, म यसमा बानी हुन सक्दिन। मैले गर्न चाहने कामलाई तिमीहरू अलिकति पनि बुझ्दैनौ। जब येशूले विगतमा त्यो बेला आफ्नो काम गर्नुहुन्थ्यो, कुनै ठाउँमा उपदेश दिइसक्‍नुभएपछि, उहाँले आफ्ना चेलाहरूलाई सहरबाट बाहिर लैजानुहुन्थ्यो र तिनीहरूसँग तिनीहरूले बुझ्‍नु खाँचो रहेको मार्गको बारेमा कुरा गर्नुहुन्थ्यो। उहाँले प्रायः त्यस्तो तरिकाले काम गर्नुहुन्थ्यो। भीडको बीचमा उहाँले गर्नुहुने काम थोरै र कहिलेकहीँ मात्र हुन्थ्यो। तिमीहरूले उहाँसँग जे माग्छौ, त्यस अनुसार परमेश्‍वर जो देहधारी बन्नुहुन्छ उहाँसँग सामान्य मानव जीवन हुनुहुँदैन; उहाँले आफ्नो काम गर्नुपर्दछ, र चाहे उहाँ बसिरहनुभएको, उभिरहनुभएको, हिँडिरहनुभएको होस्, जुनसुकै बेला उहाँ बोल्नैपर्छ। उहाँले हरसमय काम गर्नुपर्दछ, र “कार्यहरू” लाई कहिल्यै रोक्‍न सक्नुहुन्न, अन्यथा उहाँले आफ्नो कर्तव्यहरूलाई उपेक्षा गरिरहनुभएको हुन्छ। के मानिसका यी मागहरू मानव चेतनाका लागि उपयुक्त छन्? तिमीहरूको इमानदारीता कहाँ छ? के तिमीहरू आवश्यकभन्दा बढी नै माग गर्दैनौ र? मैले काम गर्दा मेरो जाँच गर्न के मलाई तेरो खाँचो पर्छ? के मैले सेवकाइ गर्दा मेरो निरीक्षण गर्न मलाई तेरो आवश्यकता पर्छ? मैले के काम गर्नुपर्दछ र मैले कहिले काम गर्नुपर्छ त्यो मलाई राम्ररी थाहा छ; अरूले हस्तक्षेप गर्नुपर्ने कुनै आवश्यकता छैन। सायद तँलाई यस्तो लाग्न सक्छ कि मैले धेरै काम गरेको छैनँ, तर तबसम्ममा मेरो काम यसको अन्त्यमा पुगिसकेको हुन्छ। उदाहरणका लागि, चार सुसमाचारका पुस्तकहरूमा पाइने येशूका वचनहरूलाई लिऊँ: के ती पनि सीमित थिएनन् र? त्यस बेला, जब येशू सभाघरमा पस्नुहुन्थ्यो र एउटा उपदेश प्रचार गर्नुहुन्थ्यो, उहाँले प्रायः केही मिनेटमा नै समाप्त गर्नुहुन्थ्यो, र बोलिसक्नुभएपछि उहाँले केही नभनी आफ्ना चेलाहरूलाई डुङ्गामा चढाएर लजानुहुन्थ्यो। बढीमा सभाघरमा बस्नेहरूले आपसमा बहस गर्थे, तर येशूले त्यसमा भाग लिनुहुन्‍नथियो। परमेश्‍वरले त्यो काम मात्र गर्नुहुन्छ, जुन उहाँले गर्नुपर्छ, र त्योभन्दा बढी केही पनि गर्नुहुन्न। अब धेरैले म धेरै बोलुँ र कम्तीमा पनि दिनमा धेरै घण्टा बातचित गरूँ भन्‍ने चाहन्छन्। तिमीहरू देख्न सक्छौ, परमेश्‍वर बोल्नुहुन्न भने उहाँ परमेश्‍वर हुन छोड्नुहुन्छ, र जो बोल्‍नुहुन्छ उहाँ परमेश्‍वर हुनुहुन्छ। तिमीहरू सबै अन्धा छौ! सबै क्रूर छौ! तिमीहरू सबै अज्ञानी चीजहरू हौ, जसको कुनै चेतना छैन! तिमीहरूसँग धेरै धारणाहरू छन्! तिमीहरूका मागहरू धेरै छन्! तिमीहरू अमानवीय छौ! परमेश्‍वर के हुनुहुन्छ भनी तिमीहरू अलिकति पनि बुझ्दैनौं! बोल्‍नेहरू र वक्ताहरू सबै परमेश्‍वर नै हुन्, र जसले तिमीहरूलाई वचनहरू प्रदान गर्न चाहन्छ, त्यो तिमीहरूका बुबा हो भनी तिमीहरू विश्‍वास गर्दछौ। मलाई भन, के तिमीहरूको राम्ररी बनेका विशेषताहरू र असामान्य रूप सहितका तिमीहरूमा के अलिकता पनि चेतना छ? के तिमी अझै पनि हेभेनसनलाई चिन्छौ! तिमीहरू प्रत्येक एक लोभी र भ्रष्ट अधिकारी जस्तै छौ, यसैले तिमीहरू चेतनालाई कसरी देख्‍न सक्छौ? तिमीहरू सही र गलत बीच कसरी भेद छुट्ट्याउन सक्छौ? मैले तिमीहरूलाई धेरै कुरा दिएको छु, तर तिमीहरूमध्ये कति जनाले त्यसलाई महत्त्व दिएका छौ? कसले त्यसलाई पूर्ण रूपमा प्राप्त गरेको छ? तिमीहरू आज हिँड्ने बाटो कसले खोलेको हो त्यो तिमीहरू जान्दैनौ, त्यसैले तिमीहरू निरन्तर मसँग माग गर्दछौ, मसँग यस्तो हास्यास्पद र अनुचित मागहरू गर्दछौ। के तिमीहरू अप्ठ्यारो मान्दै रातो भएका छैनौ? के म पर्याप्त बोलेको छैन र? के मैले पर्याप्त गरेको छैन? तिमीहरूमध्ये कसले मेरा वचनहरूलाई साँचो धनको रूपमा साँचेर राख्न सक्छ? मेरो उपस्थितिमा हुँदा तिमीहरूले मलाई चापलुसी गर्छौ, तर नहुँदा तिमीहरू झूटो बोल्छौ र ठग्छौ। तिमीहरूका कार्यहरू पनि तुच्छ छन्, र तिनले मेरो विद्रोह गर्छन्! मलाई थाहा छ, तिमीहरूका जीवनलाई परिवर्तन गर्न होइन, तर तिमीहरूका आँखाहरूलाई आनन्द दिन र तिमीहरूका क्षितिज फराकिलो बनाउन म तिमीहरूसँग बोलिरहुँ र म काम गरिरहुँ भनी तिमीहरू भन्छौ। म तिमीहरूसँग धेरै बोलिसकेको छु। तिमीहरूका जीवन धेरै पहिले नै परिवर्तन भइसकेको हुनुपर्थ्यो, तर पनि किन तिमीहरू अझै आफ्नो पुरानो अवस्थाहरूमा फर्कन्छौ? के तिमीहरूबाट मेरा वचनहरू खोसिएकोले र तिमीहरूले ती ग्रहण नगरेकाले गर्दा हो? सत्य कुरा भन्दा, म तिमीहरूजस्तो पतित मानिसहरूलाई अरू बढी भन्न चाहन्नँ—त्यो व्यर्थ हुन्छ! म व्यर्थका काम धेरै गर्न चाहन्नँ! तिमीहरू केवल आफ्नो क्षितिज फराकिलो बनाउन वा तिमीहरूका आँखाहरूलाई तृप्त पार्न मात्र चाहन्छौ, र जीवन प्राप्त गर्न चाहँदैनौ! तिमीहरूले आफैलाई धोका दिइरहेका छौ! म तिमीहरूलाई सोध्छु, मैले तिमीहरूलाई आमनेसामने भनेका कति वटा कुराहरू तिमीहरूले व्यवहारमा अपनाएका छौ? तिमीहरू अरूलाई छक्याउन चालहरू मात्र खेल्छौ! तिमीहरूको माझमा जो दर्शकहरू जस्तो मात्र भएर हेर्छन् तिनीहरूलाई म घृणा गर्दछु, र मैले तिमीहरूको कौतुहलता अत्यन्तै घृणित पाउँछु। यदि तिमीहरू यहाँ सत्य मार्गलाई पछ्याउन वा सत्यताका लागि तिर्खाउनका निम्ति छैनौ भने, तिमीहरू मेरो घृणाका पात्र हौ! म जान्दछु, कि तिमीहरू आफ्नो कौतुहलता मेटाउन वा तिमीहरूको कुनै लोभी इच्छा पूरा गर्नको लागि मात्र मैले बोलेको सुन्छौ। तिमीहरूमा सत्यताको अस्तित्व खोज्ने वा जीवनमा प्रवेश गर्ने सही मार्ग पत्ता लगाउने विचार छैन; यी मागहरू तिमीहरूको बीचमा छँदैछैन। तिमीहरूले परमेश्‍वरलाई तिमीहरूले अध्ययन गर्ने र सराहना गर्ने खेलौनालाई जस्तो व्यवहार गर्दछौ। तिमीहरूमा जीवनलाई पछ्याउने जोश थोरै छ, तर जिज्ञासु हुने इच्छाहरू धेरै छन्! त्यस्ता मानिसहरूलाई जीवनको मार्गको वर्णन गर्नु हावामा बोलिपठाउनु बराबर हो; म केही नबोल्न पनि सक्छु! म तिमीहरूलाई भन्दछु: यदि तिमीहरू केवल आफ्नो हृदयभित्रको रित्तोपन भर्न खोज्दैछौ भने तिमीहरू मकहाँ नआउनु नै राम्रो हुन्छ! तिमीहरूले जीवन प्राप्त गर्ने कुरालाई महत्त्व दिनुपर्छ! आफैलाई मूर्ख नतुल्‍याओ! तिमीहरूले आफ्नो जिज्ञासालाई जीवनको खोजी गर्ने आधार नबनाउनु वा मलाई तिमीहरूसँग बोल्न आग्रह गर्ने एउटा बहानाको रूपमा प्रयोग नगर्नु नै राम्रो हुन्छ। यी सबै ती युक्तिहरू हुन् जसमा तिमीहरूलाई धेरै बानी परिसकेको छ! म तिमीहरूलाई फेरि सोध्छु: मैले तँलाई जतिसम्म प्रवेश गर्नु भनेको थिएँ त्यसमा तँ वास्तवमा कतिसम्म प्रवेश गरेको छस्? के मैले तँलाई भनेका सबै कुराहरू तैँले बुझेको छस्? के मैले तँलाई भनेका सबै कुरा व्यवहारमा अपनाउने गरेको छस्?

प्रत्येक युगको काम परमेश्‍वर आफैले सुरु गर्नुभएको हो, तर परमेश्‍वरले जुनसुकै तरिकाले काम गर्नुभए पनि, उहाँले कुनै अभियान सुरु गर्नुहुन्न, वा विशेष सम्मेलनहरू राख्नुहुन्न, वा तिमीहरूको पक्षमा कुनै प्रकारको संगठन स्थापना गर्न आउनुहुन्न भन्‍ने तँलाई थाहा हुनुपर्छ। उहाँ आफूले गर्नुपर्ने काम पूरा गर्न मात्र आउनुहुन्छ। उहाँको कामलाई कुनै मानिसले बाधा दिन सक्दैन। उहाँले आफ्नो काम आफ्नो इच्छाअनुसार गर्नुहुन्छ; मानिसले त्यसको बारेमा जे विचार गर्छ वा जान्दछ, त्यस कुराले कुनै फरक पार्दैन, उहाँ केवल आफ्नो काम पूरा गर्नुमा मात्र ध्यान दिनुहुन्छ। संसारको सृष्टिदेखि अहिलेसम्म, कामका तीन चरणहरू भइसकेका छन्; यहोवादेखि येशूसम्म र व्यवस्थाको युगदेखि अनुग्रहको युगसम्म, परमेश्‍वरले मानिसका लागि कहिल्यै विशेष सम्मेलनको आयोजना गर्नुभएको छैन, न त उहाँले विशेष विश्‍वव्यापी कार्यकारी सम्मेलन आयोजना गर्न र त्यसद्वारा उहाँको कामको क्षेत्र बढाउन सम्पूर्ण मानव जातिलाई एकसाथ भेला गर्नुभएको छ। उहाँले केवल एक उपयुक्त समयमा र उपयुक्त ठाउँमा सम्पूर्ण युगको प्रारम्भिक कार्य पूरा गर्नुहुन्छ, र त्यसरी युग सुरु गर्नुहुन्छ र मानव जातिलाई उनीहरूको जीवन जिउनका लागि डोऱ्याउनुहुन्छ। विशेष सम्मेलनहरू मानिसको झुण्डहरू हुन्; चाडपर्व मनाउन मानिसहरूलाई भेला गर्ने काम मानिसकै काम हो। परमेश्‍वरले चाडपर्वहरू मनाउनुहुन्न र, त्यसबाहेक ती कुराहरूलाई उहाँ घृणित गर्नुहुन्छ; उहाँले विशेष सम्मेलनहरू बोलाउनुहुन्न र साथै, उहाँ तिनलाई घृणा गर्नुहुन्छ। अब देहधारी परमेश्‍वरले गर्नुहुने काम के हो भन्‍ने कुरालाई तैँले ठीकसित बुझ्नुपर्छ!

अघिल्लो: देहधारणको रहस्य (२)

अर्को: देहधारणको रहस्य (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

अधिकांश मानिसहरूको परमेश्‍वरमाथिको विश्‍वासको सारतत्त्व धार्मिक दृढ विश्‍वास नै हो: तिनीहरू परमेश्‍वरलाई प्रेम गर्न असक्षम हुन्छन्‌ र...

जसले सिक्दैनन् र अनजान रहन्छन्: के तिनीहरू जनावरहरू होइनन् र?

तँ आजको बाटोमा हिँड्ने क्रममा सबैभन्दा उपयुक्त किसिमको खोजी के हो? तेरो खोजीमा, तैँले आफैलाई कस्तो किसिमको व्यक्तिको रूपमा हेर्नुपर्छ? यसले...

परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

आज हामी एउटा महत्त्वपूर्ण विषयको बारेमा सङ्‍गति गर्दैछौँ। परमेश्‍वरको कामको प्रारम्भदेखि नै यस विषयमा छलफल हुँदै आएको छ र यो हरेक व्यक्तिको...

के तँलाई थाहा थियो? परमेश्‍वरले मानिसहरूको बीचमा महान् कुरा गर्नुभएको छ

पुरानो युग बितेको छ, र नयाँ युग आएको छ। एक वर्षपछि अर्को वर्ष र एक दिनपछि अर्को दिन, परमेश्‍वरले धेरै काम गर्नुभएको छ। उहाँ यस संसारमा...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्