के त्रिएकत्व अस्तित्वमा छ?

येशूको सत्यता देह हुन आएपछि, मानिसले स्वर्गमा, पिता मात्र हुनुहुन्न, तर पुत्र, र आत्मा पनि हुनुहुन्छ भन्‍ने विश्‍वास गर्‍यो। स्वर्गमा यस प्रकारका परमेश्‍वर हुनुहुन्छ भन्‍ने मानिसमा भएको यो धारणा परम्परागत धारणा हो: एक त्रिएकत्व परमेश्‍वर जो पिता, पुत्र र पवित्र आत्मा हुनुहुन्छ। सबै मानवजातिमा यी धारणाहरू छन्: परमेश्‍वर एउटै परमेश्‍वर हुनुहुन्छ, तर तीन भागले निर्मित हुनुहुन्छ, जसलाई परम्परागत धारणामा गम्भीर रूपमा गढेर बस्नेहरू सबैले पिता, पुत्र र पवित्र आत्मा हुन् भनी सोच्छन्। ती तीन भागले मात्रै एक पूर्ण परमेश्‍वर बन्दछ। पवित्र पिताविना परमेश्‍वर पूर्ण बन्‍नुहुन्न। त्यस्तै गरी, न त पुत्रविना, न पवित्र आत्माविना परमेश्‍वर पूर्ण बन्नुहुन्छ। तिनीहरूका धारणाहरू अनुसार, तिनीहरूले के विश्‍वास गर्छन् भने, पितालाई मात्र वा पुत्रलाई मात्र परमेश्‍वर मान्न सकिँदैन। पिता, पुत्र र पवित्र आत्मालाई मात्रै समग्रमा परमेश्‍वर मान्न सकिन्छ। अब, सबै धार्मिक विश्‍वासीहरू र तिमीहरूका बीचका प्रत्येक अनुयायीहरूमा यस्तो आस्था छ। तापनि, त्यो आस्था सही हो कि होइन भनी कसैले पनि बताउन सक्दैन, किनकि तिमीहरू परमेश्‍वर स्वयम सम्‍बन्धी विषयहरूमा सधैँ अन्योलताको बादलमा छौ। यी त धारणाहरू भए पनि, तिमीहरू ती सही हुन् वा गलत हुन् सो जान्दैनौ, किनकि तिमीहरू धार्मिक धारणाहरूद्वारा गम्भीर रूपमा प्रभावित भएका छौ। तिमीहरूले धर्मका यी परम्परागत धारणाहरूलाई गहिरो रूपमा स्वीकार गरेका छौ, र यो विष तिमीहरूभित्र धेरै गहिराइमा पसेको छ। त्यसकारण, यस विषयमा पनि तिमीहरू यस हानिकारक प्रभावको अघि झुकेका छौ, किनकि त्रिएक परमेश्‍वर अस्तित्वमा छैन। अर्थात्, पिता, पुत्र र पवित्र आत्माको त्रिएकत्व अस्तित्वमा छैन। यी सबै मानिसको परम्परागत धारणाहरू हुन्, र मानिसको झूटा आस्थाहरू हुन्। धेरै शताब्दीदेखि मानिसले यस त्रिएकत्वमा विश्‍वास गरेको छ, जुन मानिसको मनमा सङ्कलित धारणाहरू हुन्, मानिसद्वारा निर्माण गरिएको, र मानिसले पहिले कहिल्यै नदेखेको कुरा हुन्। यति धेरै वर्षको अवधिमा बाइबलका धेरै व्याख्याकारहरू आएका छन्, जसले त्रिएकत्वको “साँचो अर्थ” वर्णन गरेका छन्, तर त्रिएक परमेश्‍वरका तीन अलग व्यक्तित्वहरूको रूपमा यसरी वर्णन गरेको कुरा अनिश्चित र अस्पष्ट छ, र सबै मानिसहरू परमेश्‍वरको यस्तो “बनावट” द्वारा अलमल्लमा परेका छन्। कुनै पनि महान् व्यक्तिले कहिल्यै यसको विस्तृत विवरण प्रस्तुत गर्न सकेको छैन; प्रायजसो स्पष्टीकरणहरूलाई तर्कको रूपमा र कागजमा सङ्कलन गरिएका छन्, तर एकै जना व्यक्तिले पनि यसको अर्थ पूर्ण रूपमा बुझेको छैन। किनकि मानिसको हृदयमा भएको यस महान् त्रिएकत्व कुनै अस्तित्वमा छैन। किनकि अहिलेसम्म कसैले पनि परमेश्‍वरको वास्तविक अनुहार देखेको छैन, न परमेश्‍वर बस्नुहुने स्थानमा कुन-कुन कुराहरू छन्, “परमेश्‍वरको घर” मा कति लाख वा करोड पुस्ताहरू छन् भनी निश्चित गर्न वा परमेश्‍वरको अन्तर्निहित संरचना कति वटा भागले बनेको छ भनी जाँच्न कुनै व्यक्ति परमेश्‍वरको वासस्थानमा जान सक्ने भाग्यमानी हुन सकेको छ। मुख्य रूपमा जाँच्नु पर्ने कुरा यही हो: पिता र पुत्रको साथसाथै पवित्र आत्माको युग; प्रत्येक व्यक्तित्वको आ-आफ्नो प्रकटीकरण; उहाँहरू कसरी विभाजित हुनुभयो, र उहाँहरू कसरी एक हुनुभयो। खेदको कुरा, यति धेरै वर्षको अवधिमा, एक जना मानिसले पनि यी विषयहरूको सत्यता निश्चित गर्न सकेको छैन। ती सबै केवल अनुमान मात्र हुन्, किनकि कुनै पनि मानिस उक्लेर स्वर्ग घुम्न गएको छैन र त्रिएकत्वको विषयमा चासो राख्ने सबै उत्कट र भक्त धार्मिक विश्‍वासीहरूलाई सत्यताको विषयमा जानकारी दिन सम्पूर्ण मानवजातिका लागि “अनुसन्धानको रिपोर्ट” लिएर आएको छैन। निश्चय नै, त्यस्ता धारणाहरू बनाएकोमा मानिसलाई दोष दिन सकिँदैन, किनकि मानवजातिलाई सृष्टि गर्दा यहोवा पिताले किन पुत्र येशूलाई साथमा ल्याउनुभएन? यदि सुरुमा, सबै यहोवाको नाउँमा गरिएको भए त्यो अझ राम्रो हुनेथियो। यदि दोष दिनैपर्छ भने यहोवा पिताको क्षणिक गल्तीलाई दिनुपर्छ, जसले सृष्टिको समयमा पुत्र र पवित्र आत्मालाई उहाँको सामु बोलाउनुभएन, बरु उहाँले आफ्नो काम एकलै गर्नुभयो। यदि उहाँहरू सबैले एकैसाथ काम गर्नुभएको भए, के उहाँहरू एउटै हुनुहुनेथिएन र? यदि सुरुदेखि अन्त्यसम्म यहोवाको नाउँ मात्र थियो, र अनुग्रहको युगबाट येशूको नाउँ नभएको भए, वा यदि उहाँलाई अझै पनि यहोवा भनिन्थ्यो भने, के परमेश्‍वर मानवजातिले गर्ने यो विभाजनको पीडाबाट जोगिनुहुनेथिएन? निस्सन्देह, यी सबैका लागि यहोवालाई दोष दिन मिल्दैन; यदि दोष दिनु नै पर्छ भने, त्यो पवित्र आत्मालाई दिनुपर्छ, जसले मानिसलाई अन्योल र भ्रममा पार्दै हजारौं वर्षसम्म यहोवा, येशू र पवित्र आत्माको नाउँमा आफ्नो काम गरिरहनुभयो, जसको कारण मानिसले परमेश्‍वर को हुनुहुन्छ भनी ठीकसँगले जान्न सकेन। यदि पवित्र आत्मा आफैले कुनै रूप वा प्रतिरूपविना, र येशूजस्तो कुनै नाउँ नै नलिई काम गर्नुभएको भए, र मानिसले उहाँलाई छुन वा देख्न सक्दैनथियो, गर्जनको आवाज मात्र सुन्न सक्थ्यो भने, के त्यस प्रकारको काम मानवजातिका निम्ति धेरै फाइदाजनक हुने थिएन र? त्यसो भए अब के गर्न सकिन्छ? मानिसका धारणाहरू थुप्रिएर पहाड्जस्तै उच्च र समुद्र जतिकै विशाल भएको छ, यहाँसम्म कि वर्तमान समयका परमेश्‍वरले उनीहरूलाई उप्रान्त सहन सक्‍नुहुन्‍न र उहाँ पूर्ण रूपमा अन्योलमा पर्नुभएको छ। विगतमा जब यहोवा, येशू मात्र हुनुहुन्थ्यो र उहाँहरूको बीचमा पवित्र आत्मा हुनुहुन्थ्यो, त्यस बेला मानिस यसलाई कसरी लिने भनी अन्योलमा परेको थियो, र अब सर्वशक्तिमान् परमेश्‍वर थपिनुभएको छ, जो परमेश्‍वरको एउटा भाग हुनुहुन्छ भनिएको छ। उहाँ को हुनुहुन्छ भन्‍ने कसलाई थाहा छ, र यति धेरै वर्षसम्म उहाँ त्रिएकत्वको कुन व्यक्तिमा मिसिनुभएको छ वा लुक्नुभएको छ? मानिसले यो कसरी सहन सक्छ? मानिसलाई त्रिएक परमेश्‍वरको बारेमा व्याख्या गर्न मात्र जीवनभरको समय लाग्छ, तर अब “एक परमेश्‍वर चार व्यक्तित्वहरूमा” हुनुहुन्छ। यसलाई कसरी वर्णन गर्न सकिन्छ? के तँ व्याख्या गर्न सक्छस्? भाइबहिनीहरू हो! तिमीहरूले आजको दिनसम्म कसरी त्यस्तो परमेश्‍वरमा विश्‍वास गरेका छौ? म तिमीहरूलाई बधाई दिन्छु। त्रिएक परमेश्‍वरको बारेमा बुझ्‍न नै पर्याप्त थियो; तिमीहरू चार व्यक्तित्वहरूद्वारा निर्मित एक परमेश्‍वरमाथि कसरी यस्तो अटल विश्‍वास गरिरहन सक्छौ? तिमीहरूलाई बाहिर निस्कन आग्रह गरिएको छ, तापनि तिमीहरू अस्वीकार गर्छौ। कस्तो बुझ्नै नसकिने कुरा! तिमीहरू साँच्चै केही त हौ! कुनै व्यक्तिले केही वास्ता नराखी चार परमेश्‍वरमा विश्‍वास गर्न सक्छ र त्यसबाट केही पनि पाउँदैन; के तिमीहरूलाई यो एउटा चमत्कार हो भन्‍ने लाग्दैन? तिमीहरूलाई हेर्दा, कसैले पनि तिमीहरू त्यस्तो ठूलो चमत्कार गर्न सक्छौ भनेर सोच्‍नेथिएन! म तिमीहरूलाई बताउँछु, वास्तवमा, त्रिएक परमेश्‍वर यो ब्रह्माण्डमा कहीँ पनि अस्तित्वमा छैन। परमेश्‍वरको कुनै पिता र पुत्र छैन, र पिता र पुत्रले एकसाथ मिलेर पवित्र आत्मालाई एक साधनको रूपमा प्रयोग गर्ने अवधारणाको त कुरै छाडौँ। यी सबै यस संसारको ठूलो भ्रम हो र यसको कुनै अस्तित्व छैन! तैपनि यस्तो भ्रमको पनि सुरुवात् छ र यो पूर्ण रूपमा आधारहीन छैन, किनकि तिमीहरूका दिमाग यति सरल छैन, र तिमीहरूका विचारहरू तर्कविनाको छैनन्। बरु, ती एकदम उचित र स्पष्ट छन्, यतिसम्म कि त्यसलाई कुनै शैतानले पनि जित्न सक्दैन। खेदको कुरा, यी विचारहरू सबै भ्रम हुन् र तिनको कुनै अस्तित्व छैन। तिमीहरूले बिलकुल वास्तविक सत्यता देखेका छैनौ; तिमीहरू केवल अनुमान र कल्पनाहरू गर्दछौ, छलपूर्वक अरूको भरोसा प्राप्त गर्न र बुद्धि र विवेक नभएका अति मूर्ख मानिसहरूलाई अधीनमा राख्नका निम्ति बनावटी कथा बनाउँछौ, यसैले तिनीहरूले तिमीहरूका महान् र प्रसिद्ध “विशेष शिक्षाहरू” मा विश्‍वास गर्छन्। के यो सत्य हो? के यो मानिसले ग्रहण गर्नुपर्ने जीवनको बाटो हो? यो सबै निरर्थक कुरा हो! एक शब्द पनि अर्थपूर्ण छैन! यति धेरै वर्षको अवधिमा, तिमीहरूले परमेश्‍वरलाई यसरी विभाजित गरेका छौ, हरेक पुस्तासँगै झन्-झन् साना टुक्रामा विभाजित गरेका छौ, यहाँसम्‍म कि परमेश्‍वर खुलेआम रूपमा तीन भागमा विभाजित हुनुभएको छ। अनि मानिसका निम्ति अहिले परमेश्‍वरलाई एक मानेर फेरि जोडिनु असम्भव छ, किनकि तिमीहरूले उहाँलाई पूर्ण रूपमा विभाजित गरेका छौ! यदि ढिलो हुनुभन्दा पहिले मैले शीघ्र कार्य गरिनँ भने, तिमीहरू कति बेरसम्म निर्लज्ज भई त्यसमा लागिरहन्छौ त्यो भन्‍न गाह्रो छ। यसरी परमेश्‍वरलाई विभाजित गरिरहँदा, उहाँ कसरी अझै पनि तिमीहरूका परमेश्‍वर हुन सक्नुहुन्छ? के तिमीहरू अझै परमेश्‍वरलाई चिन्न सक्छौ? के तिमीहरू अझै तिमीहरूका मूल भेटाउँछौ? यदि म अलिकति ढिलो आइपुगेको भए, सायद तिमीहरूले “पिता र पुत्र” यहोवा र येशूलाई इस्राएलमा फिर्ता पठाउनेथियौ र तिमीहरू आफै परमेश्‍वरको एक भाग हौ भनी दाबी गर्नेथियौ। भाग्यवश, अहिले नै आखिरी दिनहरूको समय हो। अन्तमा, मैले लामो समयदेखि पर्खेको यो दिन आएको छ, र मैले आफ्नै हातले कामको यो चरण पूरा गरेपछि मात्र तिमीहरूले परमेश्‍वर स्वयमलाई विभाजन गर्ने कार्य रोकिएको छ। यदि यस्तो नभएको भए, तिमीहरू धेरै अघि बढ्नेथियौ, तिमीहरूको आराधनाका टेबलहरूमा सबै शैतानहरूलाई राख्नेथियौ। यो तिमीहरूको कलाकृति हो! यो तिमीहरूले परमेश्‍वरलाई विभाजित गर्ने माध्यम हो! के तिमीहरू अझै पनि त्यसो गरिरहन्छौ? म तिमीहरूलाई सोध्छु: परमेश्‍वरहरू कति जना छन्? कुन परमेश्‍वरले तिमीहरूलाई मुक्ति दिनुहुनेछ? पहिलो, दोस्रो वा तिमीहरूले सधैँ प्रार्थना गर्ने तेस्रो परमेश्‍वरले? तिमीहरू सँधै कसमाथि विश्‍वास गर्छौ? के पितालाई? वा पुत्रलाई? वा पवित्र आत्मालाई? मलाई भन् तँ कसमाथि विश्‍वास गर्छस्? आफ्‍नो हरेक शब्दद्वारा तिमीहरूले परमेश्‍वरमा विश्‍वास गर्छु भने पनि तिमीहरू वास्तवमा आफ्नै दिमागमा विश्‍वास गर्छौं। तिमीहरूको हृदयमा परमेश्‍वर पटक्कै हुनुहुन्‍न! अनि अझै तिमीहरूका मनमा यस्ता त्रिएकत्वहरू धेरै छन्! के तिमीहरू सहमत हुँदैनौं?

यदि कामका तीन चरणहरूलाई त्रिएकत्वको अवधारणा अनुसार मूल्याङ्कन गर्ने हो भने, तीन जना परमेश्‍वर हुनुपर्दछ, किनकि प्रत्येकले गरेको काम एउटै छैन। यदि तिमीहरूमध्ये कसैले त्रिएकत्व साँच्चै छ भनी भन्छौ भने, तीन व्यक्तित्वहरूमा रहेको एउटा परमेश्‍वर भनेको के हो त्यो बताऊ। पवित्र पिता के हुनुहुन्छ? पुत्र के हुनुहुन्छ? पवित्र आत्मा के हुनुहुन्छ? के यहोवा पवित्र पिता हुनुहुन्छ? के येशू पुत्र हुनुहुन्छ? त्यसोभए, पवित्र आत्माको बारेमा के भन्‍ने? के पिता आत्मा हुनुहुन्न? के पुत्रको सार पनि आत्मा होइन र? के येशूको काम पनि पवित्र आत्माको काम थिएन? के त्यसबेला यहोवाको काम येशूको कामजस्तै आत्माद्वारा गरिएको थिएन र? परमेश्‍वरसँग कति वटा आत्मा हुन सक्छ? तेरो बयानअनुसार पिता, पुत्र र पवित्र आत्माका तीन व्यक्तित्वहरू एक हुन्; यदि त्यसो हो भने, तीनवटा आत्मा छन्, तर तीनवटा आत्मा हुनुको अर्थ त्यहाँ तीन परमेश्‍वर छन् भन्‍ने हुन्छ। यसको अर्थ एकमात्र साँचो परमेश्‍वर हुनुहुन्‍न; यस प्रकारको परमेश्‍वरसँग अझै पनि परमेश्‍वरको अन्तर्निहित तत्व कसरी हुन सक्छ? यदि तँ एक मात्र परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गर्छस् भने, कसरी उहाँको पुत्र र पिता हुन सक्छ? के यी सबै तेरा धारणाहरू मात्र होइनन्? परमेश्‍वर एउटै मात्र हुनुहुन्छ, यो परमेश्‍वरमा एक मात्र व्यक्तित्व छ, र परमेश्‍वरको एउटै मात्र आत्मा हुनुहुन्छ, जुन तथ्य बाइबलमा “पवित्र आत्मा एउटै मात्र हुनुहुन्छ, र एउटै परमेश्‍वर हुनुहुन्छ” भनेर लेखिएजस्तै हो। तैँले भन्‍ने पिता र पुत्र अस्तित्वमा भए पनि आखिर परमेश्‍वर एक मात्र हुनुहुन्छ, अनि तिमीहरूले विश्‍वास गर्ने पिता, पुत्र र पवित्र आत्माको सार पवित्र आत्माको सारमा छ। अर्को शब्दमा भन्‍ने हो भने, परमेश्‍वर आत्मा हुनुहुन्छ, तर उहाँ देह बन्न र मानिसहरूका माझ वास गर्न सक्‍नुहुन्छ, साथै सबै थोकभन्दा उच्च हुन सक्नुहुन्छ। उहाँका आत्मा सर्व-सम्मिलित र सर्वव्यापी छ। उहाँ एक पटक देहमा र ब्रह्माण्डमा र त्यसमाथि हुन सक्नुहुन्छ। सबै मानिसहरूले परमेश्‍वर एक मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने गरेकाले, परमेश्‍वर एक मात्र हुनुहुन्छ, र उहाँलाई कसैले पनि आफ्नो इच्छाले विभाजन गर्न सक्दैन! परमेश्‍वर एक मात्र आत्मा, र एक मात्र व्यक्तित्व हुनुहुन्छ; र त्यो परमेश्‍वरका आत्मा हुनुहुन्छ। यदि तैँले भनेको जस्तै पिता, पुत्र र पवित्र आत्मा हो भने त, के उहाँहरू तीन परमेश्‍वर हुनुहुन्न र? पवित्र आत्मा एउटा विषय हुनुहुन्छ, पुत्र अर्को, र पिता अर्को हुनुहुन्छ। उहाँहरूका व्यक्तित्व फरक छन् र उहाँहरूका सारहरू फरक छन्, त्यसोभए उहाँहरू प्रत्येक कसरी एउटै परमेश्‍वरका भागहरू हुन सक्नुहुन्छ? पवित्र आत्मा, आत्मा हुनुहुन्छ; यो बुझ्न मानिसका निम्ति सजिलो छ। यदि त्यसो हो भने, पिता झन् अझ बढी आत्मा हुनुहुन्छ। उहाँ यस पृथ्वीमा कहिल्यै ओर्लनुभएको छैन र कहिल्यै देह बन्नुभएको छैन; मानिसहरूका हृदयमा उहाँ यहोवा परमेश्‍वर हुनुहुन्छ, र निश्चय उहाँ एक आत्मा पनि हुनुहुन्छ। त्यसोभए उहाँ र पवित्र आत्माको बीचमा के सम्बन्ध छ? के यो पिता र पुत्रबीचको सम्बन्ध हो? वा के यो पवित्र आत्मा र पिताको आत्मा बीचको सम्बन्ध हो? के प्रत्येक आत्माको सार एउटै हो? वा के पवित्र आत्मा पिताको साधन हुनुहुन्छ? यसलाई कसरी वर्णन गर्न सकिन्छ? तब पुत्र र पवित्र आत्माको बीच के सम्बन्ध छ? के यो दुईवटा आत्मा बीचको सम्बन्ध हो वा मानिस र आत्मा बीचको सम्बन्ध हो? यी सबै यस्तै विषयहरू हुन् जसको हामीसित कुनै स्पष्टीकरण छैन! यदि उहाँहरू सबै एउटै आत्मा हुनुहुन्छ भने, तीन व्यक्तित्वहरूको कुरा हुन सक्दैन, किनकि उहाँहरूमा एउटै आत्मा हुनुहुन्छ। यदि उहाँहरू फरक-फरक व्यक्तित्वहरू हुनुहुन्थ्यो भने, उहाँहरूका आत्माहरू शक्तिमा फरक हुनेथियो, र उहाँहरू केवल एक मात्र आत्मा हुन सक्नुहुन्नथियो। पिता, पुत्र र पवित्र आत्माको यो अवधारणा सबैभन्दा हास्यास्पद छ! यसले परमेश्‍वरलाई विभाजित गर्दछ र उहाँलाई फरक-फरक प्रतिष्ठा र आत्मा भएका तीन व्यक्तित्वहरूमा बाँड्दछ; त्यसोभए अझै पनि उहाँ कसरी एक आत्मा र एक परमेश्‍वर हुन सक्नुहुन्छ? मलाई भन्, के आकाश र पृथ्वी, र सबै थोक पिता, पुत्र वा पवित्र आत्माले सृष्टि गर्नुभएको हो? कतिले भन्छन्, उहाँहरू सबैले एकसाथ सृष्टि गर्नुभएको हो। त्यसोभए मानवजातिलाई कसले छुटकारा दियो? के पवित्र आत्माले, पुत्रले वा पिताले हो? कसै-कसैले भन्छन्, मानवजातिलाई पुत्रले उद्धार गर्नुभएको हो। त्यसोभए, सारमा पुत्र को हुनुहुन्छ? के उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्न र? देहधारणले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट पिताको नाउँले सम्बोधन गर्दछ। के येशू पवित्र आत्माद्वारा गर्भधारण भई जन्मनुभएको तँलाई थाहा छैन? उहाँभित्र पवित्र आत्मा हुनुहुन्छ; तैँले जे भने पनि, उहाँ अझै पनि स्वर्गका परमेश्‍वरसँग एक हुनुहुन्छ, किनकि उहाँ परमेश्‍वरका आत्माको देहधारण हुनुहुन्छ। पुत्रको सम्‍बन्धी यो धारणा असत्य हो। सबै काम गर्नुहुने आत्मा एउटै हुनुहुन्छ, परमेश्‍वर स्वयम मात्र, अर्थात् परमेश्‍वरका आत्माले आफ्नो काम गर्नुहुन्छ। परमेश्‍वरका आत्मा को हुनुहुन्छ? के यो पवित्र आत्मा होइन र? के यो येशूमा काम गर्ने पवित्र आत्मा नै होइन र? यदि यो काम पवित्र आत्मा (अर्थात् परमेश्‍वरका आत्मा) द्वारा नगरिएको भए, के उहाँको कामले स्वयम् परमेश्‍वरको प्रतिनिधित्व गर्न सक्थ्यो? येशूले प्रार्थना गर्नुहुँदा स्वर्गका परमेश्‍वरलाई पिता नाउँले सम्बोधन गर्नुभयो, त्यो केवल एक सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट गरिएको थियो, किनकि परमेश्‍वरका आत्माले एउटा साधारण र सामान्य देह धारण गर्नुभएको थियो र उहाँबाहिर सृष्टि गरिएको एउटा प्राणीको आवरण थियो। उहाँभित्र परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो भने पनि, उहाँको बाहिरी रूप अझै पनि सामान्य मानिसको जस्तो देखिन्थ्यो; अर्को शब्दमा भन्नुपर्दा, उहाँ “मानिसका पुत्र” बन्नुभएको थियो, जसको बारेमा येशू आफै लगायत सबै मानिसहरूले बोलेका थिए। उहाँ मानिसका पुत्र हुनुभएकाले (पुरुष वा स्त्री, चाहे जे भए पनि बाहिरी रूपमा मानिसको आवरणमा हुनुहुन्थ्यो) उहाँ साधारण मानिसहरूको सामान्य परिवारमा जन्‍मनुभएको व्यक्ति हुनुहुन्छ। त्यसकारण, येशूले स्वर्गका परमेश्‍वरलाई त्यसरी नै पिता भनी सम्बोधन गर्नुभयो जसरी तिमीहरूले पहिलोचोटि उहाँलाई पिता भनेका थियौ; उहाँले सृष्टि गरिएको मानिसको दृष्टिकोणबाट त्यसो भन्नुभयो। के तिमीहरूलाई प्रभुको त्यो प्रार्थना याद छ, जुन येशूले तिमीहरूलाई कण्ठ गर्न सिकाउनुभएको थियो? “हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ…।” उहाँले सबै मानिसहरूलाई स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नू भनी भन्नुभयो। अनि उहाँ आफैले पनि उहाँलाई पिता भन्नुभएकोले, उहाँले तिमीहरू सबैको बराबर स्तरमा खडा हुने व्यक्तिको दृष्टिकोणबाट त्यसो भन्नुभएको थियो। तिमीहरूले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्ने हुनाले, येशूले आफैलाई तिमीहरूसँग बराबर स्तरमा, र पृथ्वीमा परमेश्‍वरद्वारा चुनिएका एक मानिस (अर्थात् परमेश्‍वरका पुत्र) को रूपमा हेर्नुभयो। यदि तिमीहरू परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्छौ भने, के यो तिमीहरू एक सृष्टि गरिएको प्राणी भएकोले नै होइन र? तापनि क्रूसमा टाँगिनुभन्दा अघि पृथ्वीमा येशूको अधिकार जति नै महान् भए पनि, उहाँ पवित्र आत्मा (अर्थात्, परमेश्‍वर) द्वारा संचालित केवल मानिसका पुत्र र पृथ्वीको एक सृष्टि गरिएको प्राणी मात्र हुनुहुन्थ्यो, किनकि उहाँले आफ्नो काम पूरा गर्नु अझै बाँकी नै थियो। त्यसकारण, उहाँले स्वर्गमा हुनुहुने परमेश्‍वरलाई पिता भनी सम्बोधन गर्नु पूर्ण रूपमा उहाँको नम्रता र आज्ञाकारिता थियो। तापनि, उहाँले परमेश्‍वर (अर्थात्, स्वर्गमा हुनुहुने आत्मा) लाई त्यसरी सम्बोधन गर्नुले उहाँ स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्माका पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्दैन। बरु, कुरा यति मात्र हो, कि उहाँको दृष्टिकोण फरक थियो, उहाँ फरक व्यक्ति हुनुहुन्थ्यो भन्‍ने होइन। भिन्नाभिन्नै व्यक्तित्वहरूको अस्तित्व छ भन्नु भ्रम हो! उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि येशू देहका सीमाहरूमा सीमित रहनुभएका मानिसको पुत्र हुनुहुन्थ्यो, अनि उहाँसित पवित्र आत्माको पूर्ण अधिकार थिएन। त्यसकारण उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट परमेश्‍वर पिताको इच्छा खोज्न मात्र सक्नुहुन्थ्यो। यसैले उहाँले गेतसमनीमा तीन पटक प्रार्थना गर्नुभयो: “मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होस्।” उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँ यहूदीहरूका मात्र राजा हुनुहुन्थ्यो; उहाँ ख्रीष्ट, मानिसका पुत्र, महिमित शरीर हुनुहुन्नथियो। त्यसैकारण, सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट उहाँले परमेश्‍वरलाई पिता भन्नुभयो। अब, तैँले परमेश्‍वरलाई पिता भन्‍नेहरू सबै पुत्र हुन् भन्न सक्दैनस्। यदि त्यस्तो हुने भए त, येशूले प्रभुको प्रार्थना सिकाउनुभएपछि के तिमीहरू सबै परमेश्‍वरका पुत्र बन्नेथिएनौ र? यदि तिमीहरू अझै पनि विश्‍वस्त भएका छैनौ भने मलाई भन, तिमीहरू कसलाई पिता भन्छौ? यदि तिमीहरू येशूलाई सङ्केत गर्दैछौ भने, येशूका पिताचाहिँ तिमीहरूका निम्ति को हुन्? येशू जानुभएपछि, पिता र पुत्रको यो धारणा अब उप्रान्त छैन। यो धारणा येशू देह बन्नुभएका वर्षहरूका लागि मात्र उपयुक्त थियो; यदि तिमीहरू परमेश्‍वरलाई पिता भन्छौ भने अन्य सबै परिस्थितिहरूमा त्यो सम्बन्ध सृष्टिका परमप्रभु र सृष्टि गरिएका प्राणी बीचको मात्र हुन्छ। पिता, पुत्र र पवित्र आत्माको-त्रिएकत्वको धारणा कुनै पनि समय खडा हुन सकेको छैन; यो युगहरूमा बिरलै देखिएको एउटा भ्रम मात्र हो र यसको कुनै अस्तित्व छैन!

यसले प्रायजसो मानिसहरूलाई उत्पत्तिको पुस्तकको वचन सम्झना गराउँछ: “मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै रूपमा बनाऔं” (उत्पत्ति १:२६)। यहाँ परमेश्‍वरले “हामी” मानिसलाई “हाम्रै स्वरूप” मा बनाऔं भन्नुभएकोले, “हामी” शब्दले दुई वा त्यसभन्दा बढीलाई सङ्केत गर्दछ; उहाँले “हामी” भन्नुभएकोले परमेश्‍वर एउटै मात्र हुनुहुन्‍न। यसरी, मानिसले अस्पष्ट भिन्नाभिन्नै व्यक्तित्वहरूको बारेमा सोच्न थाल्यो, र यी शब्दहरूबाट पिता, पुत्र र पवित्र आत्माको धारणा उत्पन्न भयो। त्यसो भए पिता कस्तो हुनुहुन्छ? पुत्र कस्तो हुनुहुन्छ? अनि पवित्र आत्मा कस्तो हुनुहुन्छ? के आजको मानवजाति तीन जना मिलेर बनेको एक व्यक्तित्वको स्वरूपमा बनाइनु सम्भव छ? त्यसो भए, के त्यस्तो मानिसको स्वरूप पिता, पुत्र वा पवित्र आत्माको जस्तो हुन्छ? मानिस परमेश्‍वरको कुन व्यक्तित्वहरूको स्वरूपमा छ? मानिसको अवधारणा केवल गलत र मूर्खतापूर्ण छ! यसले एक परमेश्‍वरलाई धेरै वटा परमेश्‍वरहरूमा विभाजन गर्न मात्र सक्दछ। मोशाले उत्पत्तिको पुस्तक लेखेको समय संसारको सृष्टिपछि मानवजाति सृष्टि गरिएपछिको समय थियो। आदिमा, संसार सुरु भएको बेला मोशा अस्तित्वमा थिएनन्। मोशाले धेरैपछि मात्र बाइबल लेखेका थिए, त्यसैले स्वर्गका परमेश्‍वरले के बोल्नुभयो भनी तिनले कसरी जान्न सक्थे? परमेश्‍वरले संसार कसरी सृष्टि गर्नुभयो भन्‍ने कुराको तिनलाई अलिकति पनि आभास थिएन। बाइबलको पुरानो करारमा पिता, पुत्र र पवित्र आत्माको बारेमा कुनै उल्लेख गरिएको छैन, केवल एक मात्र सत्य परमेश्‍वर, यहोवाले इस्राएलमा आफ्नो काम गर्नुभएको कुरा मात्र उल्लेख छ। युग परिवर्तन हुँदै जाँदा उहाँलाई विभिन्न नाउँहरूले सम्बोधन गरियो, तर ती प्रत्येक नाउँले फरक-फरक व्यक्तित्वलाई बुझाउँछन् भनी यसले प्रमाणित गर्दैन। यदि त्यस्तो हो भने, के परमेश्‍वरमा असङ्ख्य व्यक्तित्वहरू हुनेथिएनन् र? पुरानो करारमा जे लेखिएको छ त्यो यहोवाको काम हो, त्यो व्यवस्थाको युगमा सुरु गर्न परमेश्‍वर आफैले गर्नुभएको काम थियो। त्यो परमेश्‍वरको काम थियो, उहाँले जसरी बोल्नुभयो, त्यस्तै हुन आयो र उहाँले आज्ञा गर्नुभएको जस्तै भयो। कुनै पनि समयमा यहोवाले उहाँ काम गर्न आउनुभएका पिता हुनुहुन्छ भनेर भन्नुभएन, न त उहाँले मानवजातिको उद्धार गर्न पुत्र आउनुहुनेछ भनेर नै अगमवाणी गर्नुभयो। जब येशूको समय आयो, त्यस बेला परमेश्‍वर सम्पूर्ण मानवजातिलाई छुटकारा दिन देह बन्नुभयो भनेर मात्र भनियो, पुत्र आउनुभयो भनेर भनिएन। युगहरू एकै प्रकारका नभएकाले र परमेश्‍वर आफैले गर्नुहुने काम पनि फरक-फरक हुने भएकोले, उहाँले आफ्नो कामलाई विभिन्न क्षेत्रहरूमा गर्नु आवश्यक छ। यस प्रकारले, उहाँले प्रतिनिधित्व गर्नुहुने पहिचान पनि फरक-फरक हुन्छन्। मानिसले यहोवा येशूका पिता हुनुहुन्छ भनी विश्‍वास गर्छ, तर वास्तवमा येशूले यसलाई स्वीकार्नु भएन, जसले भन्नुभयो: “हामी कहिल्यै पनि पिता र पुत्रको रूपमा चिनिंदैनौँ; म र स्वर्गमा हुनुहुने पिता एक हौं। पिता ममा हुनुहुन्छ र म पितामा छु; जब मानिसले पुत्रलाई देख्छन्, तिनीहरूले स्वर्गमा हुनुहुने पितालाई देख्छन्।” निष्कर्षमा, उहाँ चाहे पिता होऊन् वा पुत्र, उहाँहरू एक आत्मा हुनुहुन्छ, अलग-अलग व्यक्तित्वहरूमा विभाजित हुनुहुन्न। मानिसले व्याख्या गर्न खोज्यो भने फरक-फरक व्यक्तित्वहरू साथै पिता, पुत्र र पवित्र आत्माको सम्बन्धको धारणाले गर्दा विषयहरू जटिल बन्छन्। जब मानिसले फरक-फरक व्यक्तित्वहरूको कुरा गर्छ, के त्यसले परमेश्‍वरलाई भौतिक बनाउँदैन? मानिसले ती व्यक्तित्वहरूलाई पहिलो, दोस्रो र तेस्रो दर्जामा राख्छ; यी सबै मानिसको कल्पना मात्र हुन्, जुन उल्लेख गर्नु योग्यको छैन, र पूर्ण रूपमा अवास्तविक छ! यदि तैँले उसलाई, “कति जना परमेश्‍वरहरू छन्?” भनी सोधिस् भने, उसले भन्‍नेछ, परमेश्‍वर पिता, पुत्र र पवित्र आत्मा भएको त्रिएकत्व हुनुहुन्छ: एक मात्र साँचो परमेश्‍वर। यदि तैँले अझै, “पिता को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले यसो भन्‍नेछ: “पिता स्वर्गमा हुनुहुने परमेश्‍वरका आत्मा हुनुहुन्छ; उहाँ सबैका नियन्त्रक हुनुहुन्छ, र उहाँ स्वर्गका मालिक हुनुहुन्छ।” “त्यसोभए के यहोवा आत्मा हुनुहुन्छ?” उसले भन्‍नेछ: “हो!” यदि तैँले उसलाई, “पुत्र को हुनुहुन्छ?” भनी सोधिस् भने, उसले अवश्य नै येशू पुत्र हुनुहुन्छ भनी भन्‍नेछ। “त्यसोभए येशूको कथा के हो? उहाँ कहाँबाट आउनुभएको हो?” उसले भन्‍नेछ: “येशू पवित्र आत्माद्वारा मरियमको गर्भमा आउनुभयो र जन्मनुभयो।” त्यसो भए के उहाँको सार पनि आत्मा होइन र? के उहाँको कामले पनि पवित्र आत्माको प्रतिनिधित्व गर्दैन र? यहोवा आत्मा हुनुहुन्छ, र यसैले येशूको सार पनि हुनुहुन्छ। अब आखिरी दिनहरूमा, उहाँ अझै पनि आत्मा हुनुहुन्छ भनेर भन्‍नु आवश्यक छैन; उहाँहरू कसरी फरक-फरक व्यक्तित्वहरू हुन सक्‍नुहुन्छ? के यो आत्माले भिन्नै दृष्टिकोणबाट गरिरहनुभएको आत्माकै काम होइन र? जस्तै, व्यक्तित्वहरूका बीच कुनै भिन्नता हुँदैन। येशूको गर्भधारण पवित्र आत्माबाट भएको थियो, र निसन्देह, उहाँको काम ठ्याक्कै पवित्र आत्माको काम थियो। यहोवाले गर्नुभएका कामको पहिलो चरणमा उहाँ न त देह नै हुनुभयो, न मानिसकहाँ देखा पर्नुभयो। यसैले मानिसले उहाँको रूप कहिल्यै पनि देखेन। उहाँ जतिसुकै महान् र जति नै अग्लो हुनुभए पनि, उहाँ आत्मा, परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, जसले आदिमा मानिसलाई सृष्टि गर्नुभयो। अर्थात्, उहाँ परमेश्‍वरका आत्मा हुनुहुन्थ्यो। उहाँले बादलहरूको बीचबाट मानिससँग बोल्नुभयो, केवल आत्माको रूपमा र कसैले पनि उहाँ देखापर्नुभएको घटनालाई देखेन। अनुग्रहको युगमा मात्र जब परमेश्‍वरका आत्मा देहमा आउनुभयो र यहूदियामा देहधारण हुनुभयो, तब मानिसले उहाँलाई एक यहूदीको स्वरूपमा पहिलोचोटि देख्यो। हेर्दा, उहाँमा यहोवासँग मिल्‍ने कुनै कुरा थिएन। तापनि, उहाँ पवित्र आत्माद्वारा गर्भधारण, अर्थात् स्वयम् यहोवा स्वयमको आत्माद्वारा गर्भधारण हुनुभएको थियो, र येशू परमेश्‍वरका आत्माको मूर्त रूपमा जन्मनुभयो। मानिसले पहिले पवित्र आत्मा ढुकुरको रूपमा येशूमाथि ओर्लनुभएको देख्यो; यो केवल येशूमा मात्र आउनुभएको आत्मा थिएन, बरु पवित्र आत्मा हुनुहुन्थ्यो। त्यसोभए के येशूका आत्मालाई पवित्र आत्माबाट अलग गर्न सकिन्छ? यदि येशू, पुत्र र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ भने, उहाँहरू कसरी एक हुन सक्नुहुन्छ? यदि त्यस्तो हो भने, काम गर्न सकिनेथिएन। येशूभित्रका आत्मा, स्वर्गमा हुनुहुने आत्मा, र यहोवाका आत्मा सबै एक हुन्। उहाँलाई पवित्र आत्मा, परमेश्‍वरका आत्मा, सात गुणा तीव्र आत्मा र सर्व-सम्मिलित आत्मा भनिन्छ। परमेश्‍वरका आत्माले धेरै काम गर्न सक्नुहुन्छ। उहाँले संसारलाई सृष्टि गर्न सक्नुहुन्छ र जलप्रलय पठाएर यसलाई नाश गर्न पनि सक्नुहुन्छ; उहाँले सबै मानवजातिलाई उद्धार गर्न सक्नुहुन्छ, यसबाहेक उहाँले सारा मानवजातिलाई जित्न र नाश पार्न सक्नुहुन्छ। यो काम सबै परमेश्‍वर आफैले गर्नुभएको हो र उहाँको सट्टामा परमेश्‍वरको कुनै व्यक्तित्वले गर्न सक्दैन। उहाँका आत्मालाई यहोवा र येशू, साथै सर्वशक्तिमान् भनेर पनि सम्बोधन गर्न सकिन्छ। उहाँ प्रभु र ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पुत्र पनि बन्न सक्नुहुन्छ। उहाँ स्वर्गहरूमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ; उहाँ ब्रह्माण्डभन्दा माथि र भीडको माझमा हुनुहुन्छ। स्वर्गहरू र पृथ्वीका एकमात्र मालिक उहाँ नै हुनुहुन्छ! सृष्टिको समयदेखि अहिलेसम्म यो काम परमेश्‍वर स्वयमको आत्माले गर्दै आउनुभएको छ। त्यो काम चाहे स्वर्गहरूमा होस् वा देहमा, सबै उहाँको आफ्नै आत्माद्वारा गरिन्छ। चाहे स्वर्गमा होस् वा पृथ्वीमा, सबै प्राणीहरू उहाँको सर्वशक्तिमान् हतकेलामा छन्; यी सबै स्वयम् परमेश्‍वरका काम हुन् र उहाँको ठाउँमा अरू कसैले यो गर्न सक्दैन। स्वर्गहरूमा उहाँ आत्मा हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् पनि हुनुहुन्छ; मानिसहरूका माझ उहाँ देह हुनुहुन्छ, तर परमेश्‍वर स्वयम् नै रहनुहुन्छ। उहाँलाई सयौं हजारौं नाउँले सम्बोधन गर्न सकिए पनि, उहाँ उहाँ नै हुनुहुन्छ, र उहाँको आत्माको प्रत्यक्ष अभिव्यक्ति हुनुहुन्छ। उहाँको क्रूसीकरणद्वारा सारा मानवजातिलाई गरिएको छुटकारा, उहाँका आत्माको प्रत्यक्ष कार्य थियो, र सबै जाति र सबै देशहरूका निम्ति आखिरी दिनहरूमा गरिएको घोषणा पनि त्यस्तै हो। सबै समयमा, परमेश्‍वरलाई सर्वशक्तिमान् र एक मात्र साँचो परमेश्‍वर, सर्व-सम्मिलित परमेश्‍वर स्वयम् भन्न सकिन्छ। उहाँ अलग-अलग व्यक्तित्वहरूमा हुनुहुन्‍न, पिता, पुत्र र पवित्र आत्माको धारणाको त कुरै नगरौँ। स्वर्ग र पृथ्वीमा एउटै मात्र परमेश्‍वर हुनुहुन्छ!

परमेश्‍वरको व्यवस्थापनको योजना छ हजार वर्षसम्म फैलिएको छ र उहाँको कामका भिन्नताहरूको आधारमा तीन युगहरूमा विभाजित भएको छ: पहिलो युग पुरानो करारको व्यवस्थाको युग हो; दोस्रो अनुग्रहको युग हो; र तेस्रो आखिरी दिनहरूको—परमेश्‍वरको राज्यको युग हो। प्रत्येक युगमा फरक पहिचानको प्रतिनिधित्व गरिएको छ। यो काममा भिन्नता, अर्थात्, कामको मागहरूको कारणले मात्र हो। व्यवस्थाको युगको अवधिमा गरिएको कामको पहिलो चरण इस्राएलमा सम्पन्न भयो र छुटकाराको दोस्रो चरणको काम यहूदियामा सम्पन्न गरियो। छुटकाराको कामका लागि, येशू पवित्र आत्माद्वारा गर्भधारण हुनुभयो अनि एक मात्र पुत्रको रूपमा जन्मनुभयो। यी सबै कामको मागले गर्दा भएको थियो। आखिरी दिनहरूमा, परमेश्‍वर अन्यजाति राष्ट्रहरूमा आफ्नो कामको विस्तार गर्न र त्यहाँका मानिसहरूलाई जित्न चाहनुहुन्छ, ताकि उहाँको नाउँ तिनीहरूका बीचमा महान् होस्। उहाँले मानिसहरूलाई समझमा र सबै सत्यताको प्रवेशमा डोऱ्याउन चाहनुहुन्छ। यी सबै काम एउटै आत्माद्वारा गरिन्छ। उहाँले फरक दृष्टिकोणबाट यसो गर्न सक्नुहुने भए पनि, कामका प्रकृति र सिद्धान्तहरू त्यस्तै रहन्छन्। जब तैँले ती सिद्धान्तहरू र उहाँहरूले गरेको कामको प्रकृति अवलोकन गर्छस्, तब यो सब एक आत्माद्वारा गरिएको हो भन्‍ने तँलाई थाहा हुनेछ। अझै कसै-कसैले भन्न सक्छ: “पिता पिता नै हुनुहुन्छ, पुत्र पुत्र नै हुनुहुन्छ, र पवित्र आत्मा पवित्र आत्मा नै हुनुहुन्छ, र अन्त्यमा, उहाँहरूलाई एउटै बनाइनेछ।” त्यसोभए तँ कसरी उहाँहरूलाई एक बनाउँछस्? पिता र पवित्र आत्मालाई कसरी एक बनाउन सकिन्छ? यदि उहाँहरू अन्तर्निहित रूपमा दुई हुनुहुन्थ्यो भने, उहाँहरूलाई जसरी एकसाथ जोडे पनि के उहाँहरू दुई जना नै रहनुहुन्‍नथियो र? जब तँ उहाँहरूलाई एक बनाउने बारे कुरा गर्छस्, के त्यो दुई अलग-अलग भागलाई जोडेर एउटा बनाउनुजस्तो हुँदैन र? तर एउटा सिङ्गो बनाउनु अघि के उहाँहरू दुई भागमा हुनुपर्दैन र? प्रत्येक आत्माको एक अलग सार हुन्छ, र दुई आत्मालाई सिङ्गो एउटा बनाउन सकिँदैन। आत्मा कुनै भौतिक वस्तु होइन र यो भौतिक संसारका अरू कुनै थोकजस्तो हुँदैन। मानिसको नजरमा, पिता एक आत्मा हुनुहुन्छ, पुत्र अर्को र पवित्र आत्मा अझ अर्को हुनुहुन्छ, अनि तीनवटा आत्मा तीन गिलास पानीजस्तै एउटैमा मिसिनुहुन्छ। त्यसो गर्नु के तीन जनालाई एउटा बनाउनु होइन र? यो पूर्ण रूपमा गलत र निरर्थक व्याख्या हो। के यो परमेश्‍वरलाई विभाजन गर्नु होइन र? पिता, पुत्र र पवित्र आत्मा सबैलाई कसरी एक बनाउन सकिन्छ? के उहाँहरू प्रत्येक भिन्नाभिन्नै प्रकृति भएका तीन भाग हुनुहुन्न र? यसो भन्‍नेहरू पनि छन्, “के परमेश्‍वरले येशू उहाँका प्यारो पुत्र हुनुहुन्छ भनेर स्पष्ट रूपमा बताउनुभएन र?” येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ, जोसँग उहाँ प्रसन्न हुनुहुन्छ—यो परमेश्‍वर स्वयमले भन्नुभएको थियो। त्यो परमेश्‍वरले आफैलाई दिनुभएको गवाही थियो, तर एउटा भिन्नै दृष्टिकोणबाट, जुनचाहिँ स्वर्गका आत्माले उहाँको आफ्नै देहधारणको बारेमा दिनुभएको गवाही थियो। येशू उहाँको देहधारण हुनुहुन्छ, स्वर्गमा हुनुहुने उहाँका पुत्रको होइन। के तैँले बुझिस्? के येशूले “म पितामा छु र पिता ममा हुनुहुन्छ,” भनी भन्नुभएको वचनले उहाँहरू एउटै आत्मा हुनुहुन्छ भनी सङ्केत गर्दैन? र के देहधारणकै कारणले गर्दा उहाँहरू स्वर्ग र पृथ्वीको बीचमा अलग हुनुभएको थिएन? वास्तवमा, उहाँहरू अझै एक हुनुहुन्छ; चाहे जे भए तापनि, यो केवल परमेश्‍वर आफैलाई दिनुभएको गवाही मात्र हो। युगहरू परिवर्तन भएकाले, कामका मागहरू र उहाँको व्यवस्थापन योजनाका विभिन्न चरणहरूको कारण, मानिसले उहाँलाई बोलाउने नाउँ पनि फरक हुन्छन्। जब उहाँ पहिलो चरणको काम गर्न आउनुभयो, उहाँलाई यहोवा भनेर बोलाउन सकिन्थ्यो, जो इस्राएलीहरूका गोठालो हुनुहुन्थ्यो। दोस्रो चरणमा, देहधारी परमेश्‍वरलाई केवल प्रभु र ख्रीष्ट भनेर बोलाउन सकिन्थ्यो। तर त्यस बेला स्वर्गमा हुनुहुने आत्माले उहाँ परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ भनेर मात्र भन्नुभयो, र उहाँ परमेश्‍वरका एक मात्र पुत्र हुनुहुन्छ भनी उल्लेख गर्नुभएन। यो त्यसै भएको थिएन। कसरी परमेश्‍वरको एक मात्र सन्तान हुन सक्छ? त्यसो भए के परमेश्‍वर मानिस बन्नुहुन्नथियो र? उहाँ देहधारी हुनुभएकोले, उहाँलाई परमेश्‍वरका प्रिय पुत्र भनियो, अनि यसैबाट पिता र पुत्र बीचको सम्बन्ध बन्यो। यो स्वर्ग र पृथ्वी बीचको अन्तरको कारणले भएको थियो। येशूले देहको दृष्टिकोणबाट प्रार्थना गर्नुभयो। उहाँले सामान्य मानिसको देह धारण गर्नुभएको हुनाले देहको दृष्टिकोणबाट उहाँले भन्नुभयो: “मेरो बाहिरी खोल सृष्टि गरिएको प्राणीको हो। किनकि यस पृथ्वीमा आउनका लागि म देह धारण गर्छु, म अहिले स्वर्गबाट टाढा, धेरै टाढा छु।” यसकारण, उहाँले पिता परमेश्‍वरसँग देहको दृष्टिकोणबाट मात्र प्रार्थना गर्न सक्नुहुन्थ्यो। यो उहाँको कर्तव्य थियो, र परमेश्‍वरका देहधारी आत्मा यही कुराले सुसज्जित हुनुपर्दछ। उहाँले देहको दृष्टिकोणबाट पितासँग प्रार्थना गर्नुभएकोले उहाँ परमेश्‍वर हुनुहुन्न भन्न सकिँदैन। उहाँलाई परमेश्‍वरका प्रिय पुत्रका रूपमा बोलाइएको भए पनि, उहाँ परमेश्‍वर स्वयम् नै हुनुहुन्थ्यो, किनकि उहाँ आत्माको देहधारण हुनुहुन्थ्यो, र उहाँको सार अझै आत्मा नै थियो। यदि उहाँ परमेश्‍वर स्वयम् हुनुहुन्थ्यो भने उहाँले किन प्रार्थना गर्नुभयो भनी मानिसहरूले सोच्छन्। किनकि उहाँ देहधारी परमेश्‍वर, देहमा वास गर्नुभएका परमेश्‍वर हुनुहुन्थ्यो, स्वर्गमा हुनुहुने आत्मा होइन। मानिसले हेर्दा, पिता, पुत्र र पवित्र आत्मा सबै परमेश्‍वर हुनुहुन्छ। केवल तीनै जना मिलेर बनेको एक जनालाई मात्र साँचो परमेश्‍वर मान्न सकिन्छ, र यस प्रकारले, उहाँको शक्ति असाधारण रूपमा महान् छ। कोही यस्तो भन्‍नेहरू छन्, कि यसरी मात्र उहाँ सात गुणा तीव्र आत्मा हुनुहुन्छ। जब पुत्रले उहाँको आगमनपछि प्रार्थना गर्नुभयो, उहाँले प्रार्थना गर्नुभएको आत्मालाई नै थियो। वास्तवमा, उहाँले सृष्टि गरिएको प्राणीको दृष्टिकोणबाट प्रार्थना गर्दैहुनुहुन्थ्यो। किनकि देह पूर्ण हुँदैन, उहाँ पूर्ण हुनुहुन्नथियो र उहाँ देहमा आउनुहुँदा उहाँमा धेरै कमजोरीहरू थिए, र उहाँ आफ्नो देहमा काम गर्नुहुँदा उहाँलाई धेरै धेरै बाधा भयो। त्यसकारण उहाँलाई क्रूसमा टाँगिनुभन्दा अघि उहाँले पिता परमेश्‍वरसँग तीन पटक प्रार्थना गर्नुभयो, साथै त्योभन्दा अघि पनि धेरै पटक प्रार्थना गर्नुभयो। उहाँले आफ्ना चेलाहरूको बीचमा प्रार्थना गर्नुभयो; उहाँले डाँडामा एकलै प्रार्थना गर्नुभयो; उहाँले माछा मार्ने डुङ्गामा चढेर प्रार्थना गर्नुभयो; उहाँले मानिसहरूका भीडको बीचमा प्रार्थना गर्नुभयो; उहाँले रोटी भाँच्दा प्रार्थना गर्नुभयो; र उहाँले अरूलाई आशीर्वाद दिनुहुँदा प्रार्थना गर्नुभयो। उहाँले किन त्यसो गर्नुभयो? उहाँले आत्मालाई प्रार्थना गर्नुभयो; उहाँले आत्मा, अर्थात् स्वर्गमा हुनुहुने परमेश्‍वरलाई देहको दृष्टिकोणबाट प्रार्थना गरिरहनुभएको थियो। त्यसकारण, मानिसको दृष्टिकोणबाट, येशू कामको त्यस चरणमा पुत्र बन्नुभयो। तापनि यो चरणमा उहाँले प्रार्थना गर्नुहुन्न। किन? यसको कारण यो हो कि उहाँले वचनको काम, अनि वचनको न्याय र दण्ड प्रकट गर्नुहुन्छ। उहाँलाई प्रार्थनाहरूको कुनै आवश्यकता छैन, र उहाँको सेवकाइ भनेको बोल्नु हो। उहाँ क्रूसमा टाँगिनुभएको छैन, र मानिसहरूले उहाँलाई शक्ति हुने मानिसहरूको हातमा सुम्पिनुभएको छैन। उहाँ केवल आफ्नो काम गर्नुहुन्छ। जब येशूले प्रार्थना गर्नुभयो, उहाँले स्वर्गको राज्य ओर्लिओस्, पिताको इच्छा पूरा होस् भनेर साथै आउनेवाला कामको लागि परमेश्‍वर पितासँग प्रार्थना गर्दैहुनुहुन्थ्यो। यस चरणमा, स्वर्गको राज्य आइसकेको छ, त्यसैले के उहाँले अझै पनि प्रार्थना गर्नु आवश्यक छ? उहाँको काम भनेको युगको अन्त्य गर्नु हो, र अरू नयाँ युगहरू छैनन्, त्यसैले के अर्को चरणका लागि प्रार्थना गर्नु आवश्यक छ? मलाई लाग्छ, प्रार्थना गर्नु आवश्यक छैन।

मानिसको व्याख्यामा धेरै विरोधाभासहरू छन्। साँच्चै, यी सबै मानिसका धारणाहरू हुन्; तिमीहरू त्यसको बारेमा थप जाँचबुझ नगरी, ती सबै सही छन् भनी विश्‍वास गर्छौ। त्रिएक परमेश्‍वरसम्बन्धी यस्तो विचारहरू केवल मानिसका धारणाहरू मात्र हुन् भन्‍ने के तिमीहरूलाई थाहा छैन? मानिसको कुनै ज्ञान पूर्ण र सिद्ध छैन। तिनमा सधैँ अशुद्धताहरू हुन्छन्, र मानिससँग धेरै विचारहरू हुन्छन्; यसले के देखाउँछ भने, सृष्टि गरिएको प्राणीले परमेश्‍वरको कामको व्याख्या गर्न सक्दैन। मानिसको दिमागमा धेरै कुराहरू हुन्छन्, जुन सबै तर्क र विचारबाट आउँदछन्, जुन सत्यताको विरोधमा हुन्छन्। के तेरो तर्कले परमेश्‍वरको कामलाई राम्ररी विश्लेषण गर्न सक्छ? के तैँले यहोवाका सबै कामको अन्तर्दृष्टि पाउन सक्छस्? अनन्तदेखि अनन्तसम्‍म सबै देख्न सक्‍ने तँ हो कि वा परमेश्‍वर स्वयम् हुनुहुन्छ? धेरै अघि अनन्ततादेखि आउने अनन्ततासम्म देख्न सक्ने तँ होस् वा के यो परमेश्‍वरले गर्न सक्नुहुन्छ? तँ के भन्छस्? तँ परमेश्‍वरलाई व्याख्या गर्न कसरी योग्य छस्? तेरो स्पष्टीकरणको आधार के हो? के तँ परमेश्‍वर होस्? स्वर्गहरू र पृथ्वी, अनि सबै थोकहरू परमेश्‍वर आफैले बनाउनुभएको हो। यो गर्ने तँ होइनस्, त्यसैले तैँले किन गलत स्पष्टीकरणहरू दिइरहेको छस्? अब, के तँ अझै त्रिएक परमेश्‍वरमा विश्‍वास गरिरहन्छस्? के त्यसो गर्दा तँलाई धेरै बोझिलो लाग्दैन? तैँले तीन परमेश्‍वरमा होइन, एक परमेश्‍वरमा विश्‍वास गर्नु नै सबैभन्दा उत्तम हुन्छ। हलुको हुनु सबैभन्दा उत्तम हो, किनकि प्रभुको बोझ हलुको छ।

अघिल्लो: दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्

अर्को: विजयको कामको भित्री सत्यता (१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्