अध्याय २९
सबै कुरालाई पुनरुत्थान गरिएको दिन, म मानिसमाझ आएँ र मैले ऊसँग सुन्दर दिन र रातहरू बिताएको छु। मानिसले यस बिन्दुमा मात्र मेरो पहुँचयोग्यता थोरै अनुभूत गर्छ, र मसँगको उसको अन्तरक्रिया बाक्लो हुँदै जाँदा, उसले मसित जे छ र म जे हुँ त्यसको केही अंश देख्छ—फलस्वरूप, उसले मेरो बारेमा केही ज्ञान प्राप्त गर्छ। म सबै मानिसमाझ मेरो शिर उठाउँछु र हेर्छु, अनि तिनीहरू सबैले मलाई देख्छन्। तैपनि जब संसारमा विपत्ति आइपर्छ, तब तिनीहरू तुरुन्त बेचैन हुन्छन् र तिनीहरूको हृदयबाट मेरो स्वरूप हराउँछ; विपत्ति आएकाले त्रसित बनेर तिनीहरू मेरा अर्तीहरूलाई कुनै ध्यान दिँदैनन्। मैले मानिसमाझ धेरै वर्ष बिताएको छु, तर ऊ सधैँ अनभिज्ञ रहेको छ, र उसले मलाई कहिल्यै चिनेको छैन। म आज आफ्नै मुखले उसलाई यो भन्छु, ताकि सबै मानिस मबाट केही प्राप्त गर्न मसामु आउन सकून्, तर तिनीहरू अझै पनि मबाट निकै टाढा बस्छन्, र त्यसैले तिनीहरू मलाई चिन्दैनन्। जब मेरा पदचापहरू ब्रह्माण्डभरि र पृथ्वीको अन्तिम छेउसम्म पुग्छन्, तब मानिसले आत्म-चिन्तन गर्न थाल्नेछ, र सबै मानिस मकहाँ आउनेछन् र मेरो अगाडि झुक्नेछन् अनि मेरो आराधना गर्नेछन्। यो मैले महिमा प्राप्त गर्ने दिन, मेरो पुनरागमनको दिन, साथै मेरो प्रस्थानको दिन पनि हुनेछ। अहिले, मैले सारा मानवजातिमाझ मेरो काम सुरु गरेको छु, र मेरो व्यवस्थापनको योजनाको अन्तिम भागलाई ब्रह्माण्डभित्रै औपचारिक रूपमा अनावरण गर्दैछु। यदि कोही अझै पनि असतर्क हुन्छ भने, ऊ कुनै पनि क्षण निर्मम सजायमा पर्नेछ। म निर्दयी भएकाले यस्तो हुने होइन; बरु यो त मेरो व्यवस्थापनको योजनाको एउटा चरण हो; सबै कुरा मेरो योजनाका चरणहरूअनुसार अगाडि बढ्नुपर्छ, र कुनै पनि मानिसले यसलाई परिवर्तन गर्न सक्दैन। जब म औपचारिक रूपमा मेरो काम सुरु गर्छु, सबै मानिस मेरो चालसँगै चल्छन्, यसरी कि ब्रह्माण्डभरिका मानिसहरू आफूलाई मसँगै व्यस्त राख्छन्, सारा ब्रह्माण्ड “उल्लास” को स्थितिमा हुन्छ, र मानिस मद्वारा अघि बढाइन्छ। परिणामस्वरूप, ठूलो रातो अजिङ्गर आफै समेत मद्वारा अस्तव्यस्तता र अलमलको स्थितिमा पुऱ्याइन्छ, र त्यसले मेरो काममा सेवा गर्छ, र अनिच्छुक भए पनि त्यो आफ्नै चाहनाहरूको पछि लाग्न असमर्थ हुन्छ, बरु मैले चाहेअनुसार मलाई योजनाबद्ध गर्न दिनुबाहेक त्योसित अरू कुनै विकल्प हुँदैन। मेरा सबै योजनामा, त्यो ठूलो रातो अजिङ्गर मेरो प्रतिभार हो, मेरो शत्रु तर मेरो नोकर पनि हो; त्यसैले, मैले त्यसबाट मेरा “मागहरू” कहिल्यै खुकुलो पारेको छैन। यसैकारण मेरो देहधारणको कामको अन्तिम चरण त्यसको घरमा पूरा हुन्छ—ठूलो रातो अजिङ्गरलाई उचित रूपमा मेरो सेवा गर्न यो अझ बढी अनुकूल हुन्छ, जसको माध्यमबाट म त्यसलाई विजय गर्नेछु र मेरो योजना पूरा गर्नेछु। मैले काम गर्दै गर्दा, सबै स्वर्गदूत मसँगै निर्णायक लडाइँमा लाग्छन् र अन्तिम चरणमा मेरा अभिप्राय पूरा गर्ने सङ्कल्प गर्दछन्, ताकि पृथ्वीका मानिसहरू पनि स्वर्गदूतहरू झैँ मेरो सामुन्ने समर्पित होऊन्, र तिनीहरूमा मेरो विरोध गर्ने कुनै चाहना नहोस्, र तिनीहरूले मलाई धोका दिने कुनै काम नगरून्। सारा ब्रह्माण्डभरिमा हुने मेरो कामका गतिविधिहरू यिनै हुन्।
मानिसमाझ मेरो आगमनको उद्देश्य र महत्त्व सम्पूर्ण मानवजातिलाई मुक्ति दिनु, सम्पूर्ण मानवजातिलाई मेरो घरमा फिर्ता ल्याउनु, स्वर्गलाई पृथ्वीसँग पुनर्मिलन गराउनु, र मानिसलाई स्वर्ग र पृथ्वीबीच “सङ्केतहरू” पुर्याउन लगाउनु हो, किनकि मानिसको अन्तर्निहित प्रकार्य नै त्यही हो। मैले मानवजातिलाई सृष्टि गरेको बेलामा मानवजातिका लागि सबै थोक तयार गरेको थिएँ, अनि पछि, मैले मानवजातिलाई दिएको सम्पन्नता उसलाई मेरा मागहरूअनुसार लिन अनुमति दिएँ। यसैले, म मेरो मार्गदर्शनमा नै सम्पूर्ण मानवजाति आजको दिनसम्म आइपुगेको हो भनेर भन्छु। अनि यो सबै मेरै योजना हो। सम्पूर्ण मानवजातिमध्ये असङ्ख्य मानिस मेरो प्रेमको सुरक्षाअन्तर्गत अस्तित्वमा छन्, र असङ्ख्य मानिस मेरो घृणाको सजायअन्तर्गत जिउँछन्। सबै मानिसले मलाई बिन्ती गर्ने भए पनि, तिनीहरू अझै पनि आफ्ना वर्तमान परिस्थितिहरू परिवर्तन गर्न असमर्थ छन्; तिनीहरू आशा गुमाइसकेपछि केवल प्रकृतिलाई आफ्नै लयमा चल्न दिन र मेरो विरुद्धमा विद्रोह गर्न छोड्न सक्छन्, किनकि मानिसद्वारा गर्न सकिने कुरा यति मात्र हो। मानिसको जीवनको हालको स्थितिको कुरा गर्नुपर्दा, मानिसले वास्तविक जीवन भेट्टाउन अझै बाँकी नै छ, उसले अझै पनि संसारका अन्याय, उजाडता, र दयनीय अवस्थाहरू छर्लङ्ग देखेको छैन—त्यसकारण, यदि प्रकोपको आगमन नभएको भए भने, अधिकांश मानिसले अझै पनि प्रकृतिलाई नै अँगाल्नेथिए, र तिनीहरू अझै पनि “जीवन” का स्वादहरूमा तल्लीन हुनेथिए। के यो संसारको वास्तविकता होइन र? के यो मैले मानिससामु व्यक्त गर्ने मुक्तिको आवाज होइन र? किन मानवजातिमध्ये कसैले मलाई कहिल्यै साँचो प्रेम गरेन? किन मानिसले मलाई सजाय र परीक्षाहरूको बेलामा मात्र प्रेम गर्छ, तर मेरो सुरक्षाअन्तर्गत रहँदा कसैले पनि मलाई प्रेम गर्दैन? मैले मानवजातिलाई धेरै पटक मेरो सजाय प्रदान गरेको छु। तिनीहरू त्यसलाई एकचोटि हेर्छन्, तर त्यसपछि त्यसलाई बेवास्ता गर्छन्, र तिनीहरू यस बेला यसको अध्ययन र यसबारे मनन गर्दैनन्, त्यसैले मानिसमाथि निर्मम न्याय मात्र आइपर्छ। यो मेरो काम गर्ने तरिकाहरूमध्येको एउटा तरिका मात्रै हो, तर यो अझै पनि मानिसलाई परिवर्तन गर्न र उसलाई मलाई प्रेम गर्न लगाउनका निम्ति हो।
म राज्यमा शासन गर्छु, र त्यसभन्दा पनि बढी, म सम्पूर्ण ब्रह्माण्डभरि शासन गर्छु: म राज्यको राजा र ब्रह्माण्डको प्रमुख, दुवै हुँ। अब उप्रान्त, म जो चुनिएका मानिस होइनन् तिनीहरू सबैलाई भेला गर्नेछु र अन्यजातिहरूमाझ मेरो काम सुरु गर्नेछु, र म सम्पूर्ण ब्रह्माण्डलाई मेरा प्रशासनिक आदेशहरू घोषणा गर्नेछु, ताकि म सहज रूपमा आफ्नो कामको अर्को चरणमा लाग्न सकूँ। अन्यजातिहरूमाझ मेरो काम फैलाउन, म सजाय प्रयोग गर्नेछु, भन्नुको अर्थ, म जो-जो अन्यजाति हुन् तिनीहरू सबैको विरुद्धमा “बल” प्रयोग गर्नेछु। स्वाभाविक रूपमा, यो काम र चुनिएका मानिसहरूमाझ गरिने मेरो काम एकै समयमा गरिनेछ। जब मेरा मानिसहरूले पृथ्वीमा राजाका रूपमा शासन गर्छन्, त्यो पृथ्वीका सबै मानिस विजय गरिएको दिन पनि हुनेछ, अनि त्यसभन्दा बढी, मैले विश्राम गर्ने समय पनि त्यही हुनेछ—र त्यसपछि मात्र म विजय गरिएकाहरू सबैकहाँ देखा पर्नेछु। म पवित्र राज्यमा देखा पर्छु, र म आफूलाई फोहोरको देशबाट लुकाउँछु। विजय गरिएका र मेरो सामु समर्पित बनेका सबैले आफ्नै आँखाले मेरो मुहार देख्न सक्छन् र आफ्नै कानले मेरो स्वर सुन्न सक्छन्। आखिरी दिनहरूमा जन्मनेहरूको आशिष् यही नै हो, यो मद्वारा पूर्वनियोजित गरिएको आशिष् हो, र यसलाई कुनै पनि मानिसले बदल्न सक्दैन। आज म भविष्यको कामका खातिर यसरी काम गर्छु। मेरा सबै काम अन्तर्सम्बन्धित छन्, यी सबैमा एउटा बोलावट र जवाफ हुन्छ: कुनै पनि चरण कहिल्यै अचानक रोकिएको छैन र कुनै पनि चरण अर्कोभन्दा अलग्गै गरिएको छैन। कुरा यस्तै होइन र? के विगतको काम आजको कामको जग होइन र? के विगतका वचनहरू आजका वचनहरूका पूर्वरूप होइनन् र? के विगतका चरणहरू आजका चरणहरूका मूल होइनन् र? जब म औपचारिक रूपमा चर्मपत्रको मुठो खोल्छु, त्यसै बेला ब्रह्माण्डका मानिसहरूले सजाय पाउँछन्, त्यसै बेला विश्वभरिका मानिसहरू परीक्षाहरूमा पारिन्छन्, र त्यो नै मेरो कामको चरमोत्कर्ष हो; सबै मानिस ज्योतिबिनाको भूमिमा जिउँछन्, र सबै मानिस तिनीहरूको वातावरणले खडा गरेका खतराहरूमाझ जिउँछन्। अर्को शब्दमा भन्नुपर्दा, यो मानिसले सृष्टिको समयदेखि आजसम्म कहिल्यै अनुभव नगरेको जीवन हो, र युगौँभरि कसैले पनि यस प्रकारको जीवनको “आनन्द” लिएको छैन, त्यसैले म भन्छु, मैले पहिले कहिल्यै नगरिएको काम गरेको छु। यो नै वास्तविक अवस्था हो, र यो नै भित्री अर्थ हो। मेरो दिन सम्पूर्ण मानवजातिको नजिक आइरहेको हुनाले, यो टाढा नदेखिने हुनाले बरु मानिसकै आँखासामु भएकाले, यसको फलस्वरूप को भयभीत नहोला र? अनि यसमा प्रसन्न हुन नसक्ने को होला र? फोहोरी सहर बेबिलोनले अन्ततः आफ्नो अन्तिम दिन भोगेको छ; मानिसको एउटा बिलकुलै नयाँ संसारसँग पुनर्मिलन भएको छ, साथै स्वर्ग र पृथ्वी परिवर्तन र नवीकरण गरिएका छन्।
जब म असङ्ख्य राष्ट्र र मानिससामु देखा पर्छु, तब आकाशमा सेता बादलहरू मडारिन्छन् र मलाई ढाक्छन्। त्यसरी नै पृथ्वीका चराचुरुङ्गीहरू पनि मेरा निम्ति गीत गाउँछन् र खुसीले नाच्छन्, जसले पृथ्वीको वातावरणलाई उल्लासमय बनाउँछ र यसरी पृथ्वीका सबै थोकलाई जीवन्त बनाउँछन्, अनि तिनलाई अब “बिस्तारै तल नझर्ने,” बरु जीवनशक्तिको वातावरणबीच जिउने तुल्याउँछन्। जब म बादलहरूमाझ हुन्छु, तब मानिसले मेरो अनुहार र मेरो आँखालाई मधुरो रूपमा ठम्याउँछ, र यस बेला ऊ अलिकति डराउँछ। विगतमा, उसले किंवदन्तीहरूमा मेरो बारेमा ऐतिहासिक विवरणहरू सुनेको छ, जसको फलस्वरूप ऊ मलाई केवल आधा विश्वास गर्छ र आधा शङ्का गर्छ। उसलाई म कहाँ छु वा मेरो अनुहार कति ठूलो छ भन्ने थाहा छैन—के यो समुद्रजत्तिकै चौडा छ, वा हरिया चौरहरूजत्तिकै असीम छ? यी कुराहरू कसैलाई थाहा छैन। आज मानिसले बादलमा मेरो अनुहार देख्दा मात्र उसलाई किंवदन्तीको म वास्तविक भएको महसुस हुन्छ, त्यसैले ऊ मप्रति केही बढी सकारात्मक बन्छ, र मेरा कार्यहरूका कारणले मात्र मप्रतिको उसको मानसम्मान केही बढ्छ। तर मानिस अझै पनि मलाई चिन्दैन, र उसले बादलहरूमा मेरो एक भाग मात्र देख्छ। त्यसपछि म मेरा बाहुलीहरू फैलाउँछु र मानिसलाई देखाउँछु। मानिस आश्चर्यचकित हुन्छ, र ऊ मेरो हातद्वारा ढालिएला भनी एकदमै डर मान्दै हातले मुख छोप्छ, त्यसैले उसले आफ्नो मानसम्मानमा थोरै डर थप्छ। आफूले ध्यान नदिएको बेला आफूलाई मद्वारा ढालिनेछ भन्ने गहिरो डरका कारण, मानिस मेरो हरेक चाललाई एक टकले हेरिरहन्छ—तैपनि म मानिसद्वारा हेरिनाले नियन्त्रित हुँदिनँ, र म आफ्नो हातको काम निरन्तर गरिरहन्छु। मैले गर्ने सबै कार्यमा मात्र मानिससँग मप्रति केही निगाह हुन्छ, र यसरी ऊ मेरो सङ्गत गर्न बिस्तारै मेरो सामु आउँछ। म सम्पूर्ण रूपमा मानिसकहाँ प्रकट भएपछि, मानिसले मेरो अनुहार देख्नेछ र त्यसपश्चात म आफूलाई मानिसबाट लुकाउन वा अस्पष्ट बनाउन छोड्नेछु। ब्रह्माण्डभित्र, म सार्वजनिक रूपमा सबै मानिससामु देखा पर्नेछु, अनि मासु र रगतले बनेका सबैले मेरा सबै कार्य देख्नेछन्। जो आत्माका हुन्, तिनीहरू सबै अवश्यै शान्तिका साथ मेरो घरमा बास गर्नेछन् र निश्चय नै मसँगै अद्भुत आशिष्हरूको आनन्द लिनेछन्। मैले वास्ता गर्ने सबै सजायबाट अवश्यै उम्कनेछन् र निश्चित रूपमा आत्माको पीडा र देहको वेदनाबाट बच्नेछन्। म असङ्ख्य मानिससामु सार्वजनिक रूपमा देखा पर्नेछु अनि राजा बनेर शासन गर्नेछु, ताकि अब उप्रान्त लासको दुर्गन्ध ब्रह्माण्डभरि नफैलिओस्; त्यसको साटो मेरो ताजा सुगन्ध सारा संसारभरि फैलिओस्, किनकि मेरो दिन नजिकिँदैछ, मानिस ब्युँझिँदैछ, पृथ्वीमा सबथोक मिलेको छ, र पृथ्वीको बाँच्ने दिन बाँकी छैन, किनकि म आइपुगेको छु!
अप्रिल ६, १९९२