अध्याय ४२
नयाँ कामको सुरुवात हुनेबित्तिकै, सबै मानिसहरूको नयाँ प्रवेश हुन्छ, र तिनीहरू मसँगै हातमा हात मिलाएर अघि बढ्छन्। हामी राज्यको महान सडकमा सँगै हिँड्छौं, र मानिस र मेरो बीचमा यस्तो नजिकको घनिष्ठता हुन्छ। मानिसप्रतिका मेरा भावनाहरू देखाउन र मेरो मनोवृत्ति प्रदर्शित गर्न, म सधैँ मानिससँग बोलेको छु। तैपनि, यीमध्ये कतिपय वचनहरूले मानिसहरूलाई चोट पुर्याउन सक्छन्, जबकि कतिपय वचनहरूले तिनीहरूको लागि ठूलो सहयोग गर्न सक्छन्, त्यसकारण म मानिसहरूलाई मेरो मुखहरूबाट निस्कने वचनहरू अझै बढी सुन्न सल्लाह दिन्छु। मेरा वाणीहरू खासै सुन्दर नहुन सक्छन्, तर ती सबै मेरो हृदयको गहिराइबाट आउने वचनहरू हुन्। मानवजाति मेरो मित्र भएको हुनाले, म मेरो कार्यलाई मानिसको माझमा अघि बढाउने कार्यलाई जारी राख्छु, अनि मानिसले पनि मेरो काममा अवरोध पुऱ्याउँछ कि भनेर अत्यन्तै डराउँदै मसँग सहकार्य गर्न सक्दो गर्छ। अहिले, मेरो हृदय ठूलो प्रसन्नताले भरिएको छ किनभने मैले मानिसहरूको एउटा समूहलाई प्राप्त गरेको छु, त्यसकारण मेरो “उद्यम” अबउप्रान्त मन्दीमा छैन; यसमा अबउप्रान्त रित्तो शब्दहरू समावेश छैनन्, र मेरो “विशिष्ट उत्पादन बजार” ले सुस्त व्यापार गर्न छोडेको छ। आखिर मानिसहरू समझदार नै छन्—तिनीहरू सबै मेरो नाम र मेरो महिमाको लागि “आफैलाई अर्पण गर्न” तत्पर छन्, र यसरी मात्रै मेरो “विशिष्ट पसल” ले केही नयाँ “सरसामानहरू” प्राप्त गर्छ, त्यसकारण आत्मिक क्षेत्रमा धेरै “ग्राहकहरू” मेरा “सरसामानहरू” किन्न आउँछन्। यस क्षणदेखि पछि मात्रै मैले महिमा प्राप्त गर्छु; त्यसपछि मात्रै मेरो मुखबाट निस्केका वचनहरू रित्ता हुन छोड्नेछन्। मैले विजय प्राप्त गरेको छु र विजयसहित फर्केर आएको छु, अनि सबै मानिसहरूले मेरो हर्षोल्लास गर्छन्। यस बेला ठूलो रातो अजिङ्गर मप्रतिको त्यसको आदर देखाउन, त्यो मेरो पाउमुनि छ भनेर देखाउन “हर्षोल्लास गर्न” आउनेछ, जुन कुरालाई म महिमाको रूपमा लिन्छु। सृष्टि भएको समयदेखि आजको दिनसम्म, मैले धेरै विजयी युद्धहरू लडेको छु, र धेरै सराहनीय कामहरू गरेको छु। एकपटक धेरै मानिसहरूले मेरो निम्ति हर्षोल्लास गरे, मलाई प्रशंसा चढाए, र मेरो लागि नाचे। यी बेजोड र बिर्सन नसकिने दृश्यहरू थिए, तैपनि मैले मेरो मुस्कान कहिल्यै देखाइन, किनभने मैले मानिसलाई जित्न बाँकी नै थियो, र मैले सृष्टिजस्तै कामको केही भाग मात्रै गरिरहेको थिएँ। आज विगतको जस्तो समय छैन। म सिंहासनबाट मुस्कुराउँछु, मैले मानिसलाई जितेको छु, र सबै मानिसहरू मेरो आराधना गर्न मेरो अघि निहुरिन्छन्। आजका मानिसहरू विगतका मानिसहरू होइनन्। मेरो काम कसरी वर्तमानको लागि बाहेक अरू कुनै कुराको लागि हुन सक्छ र? यो मेरो महिमाको लागि बाहेक अरू केको लागि हुन सक्छ र? भोलिको उज्यालो भविष्यको खातिर, म मानिसमाथिको मेरो कामलाई धेरै पटक स्पष्ट पार्नेछु, ताकि मेरो महिमाले सृष्टि गरिएको मानिसमा “विश्राम” गर्न सकोस्। म यसलाई मेरो कामको सिद्धान्तको रूपमा लिनेछु। मसँग सहकार्य गर्न इच्छुकहरू, उठ र कठिन परिश्रम गर, ताकि मेरो अझै बढी महिमाले आकाशमण्डललाई भर्न सकोस्। ठूला-ठूला योजनाहरूलाई अघि बढाउने समय अहिले नै हो। मेरो प्रेमको वास्ता र सुरक्षामा हुनेहरू सबैसँग यहाँ मसँग आफ्ना क्षमताहरू प्रयोग गर्ने मौका छ, र म सबै कुरालाई मेरो कामको खातिर “परिक्रमा” गर्न लगाउनेछु। आकाशमा उड्ने चराहरू आकाशको मेरो महिमा हुन्, पृथ्वीका समुद्रहरू पृथ्वीमा मैले गरेका काम हुन्, यावत् थोकको मालिक सबै कुराहरू माझ भएको मेरो प्रकटीकरण हो, र सबै थोकलाई जीवनसँगै वृद्धि हुन, फस्टाउन, र चम्कन लगाउँदै, म पृथ्वीमा भएका सबै कुरालाई मेरो व्यवस्थापनको पूँजीको रूपमा प्रयोग गर्छु।
सृष्टिको समयमा, मैले पृथ्वीको मेरो काम अन्तिम युगमा पूरा हुनेछ भनेर निर्धारित गरिसकेको थिएँ। मेरो काम समाप्त हुने समय नै मेरा सबै कार्यहरूलाई आकाशमण्डलमा प्रकट गरिने समय हुनेछ। म पृथ्वीका मानिसहरूलाई मेरा कामहरू स्वीकार गर्न लगाउनेछु, र मेरा कामहरू “न्यायआसनको अगाडि” प्रमाणित हुनेछन्, ताकि पृथ्वीका मानिसहरूले तिनलाई स्वीकार गरेर, घोप्टो परून्। तसर्थ, यो सबै कुरापछि म विगतका युगहरूमा पहिले कहिल्यै नगरिएको एउटा उद्यम प्रारम्भ गर्नेछु। आजदेखि पछि, म मेरा कामहरूलाई चरणबद्ध रूपमा स्पष्ट पार्नेछु, ताकि समाजको हरेक क्षेत्रमा मेरो बुद्धि, मेरो आश्चर्यपन, र मेरो अथाहपन स्वीकार र प्रमाणित होऊन्। खास गरी, पृथ्वीका सबै सत्तासीन दलहरूलाई मेरा कार्यहरू स्वीकार गर्न लगाइनेछ, ताकि मेरा कार्यहरूमाथि “न्यायाधीशहरू” ले न्याय गरून् र “वकिलहरू” ले “प्रतिरक्षा” गरून्, यसरी सबै मानिसहरूलाई शिर निहुराएर घोप्टो पर्ने तुल्याउँदै मेरा कार्यहरू स्वीकार हुनेछन्। यो समयदेखि पछि, मेरा कार्यहरूलाई समाजको हरेक क्षेत्रले पहिचान गर्नेछ, र यो मैले पृथ्वीको सबै महिमा प्राप्त गर्ने समय पनि हुनेछ। त्यो बेला, म मानिसकहाँ देखा पर्नेछु र त्यसउप्रान्त गुप्त रहनेछैन। वर्तमानमा, मेरा कामहरू चरमतामा पुग्न बाँकी नै छ। मेरो काम अघि बढिरहेको छ, र जब यो शीर्ष विन्दुमा पुग्छ, यो पूरा हुनेछ। म सबै राष्ट्रका मानिसहरूलाई पूर्ण रूपमा विजय गर्नेछु, म भयङ्कर जनावरहरूलाई मेरो अघि थुमाजस्तै सधाउनेछु, र म ठूलो रातो अजिङ्गरलाई पृथ्वीका मानिसहरूजस्तै मेरो अघि समर्पित हुन लगाउनेछु। म स्वर्गका मेरा सबै शत्रुहरूलाई हराउनेछु, र म पृथ्वीका मेरा सबै विरोधीहरूलाई जित्नेछु। मेरो योजना यही हो, र यो मेरो कामको अद्भूतपन हो। मानिसले मेरो अगुवाइमा प्रकृतिको प्रभावमा जिउनेबाहेक केही पनि गर्न सक्दैन—उसले आफ्नै निर्णयहरू गर्न सक्दैन! मेरो हातबाट को उम्कन सक्छ र? मैले प्रकृतिका सबै कुरालाई नियमहरूभित्र अस्तित्वमा रहने गरी विभिन्न वर्गमा वर्गीकरण गरेको छु, र यही कारणले गर्दा पृथ्वीमा वसन्तको न्यानोपन र शरदको शीतलताजस्ता नियमहरू छन्। पृथ्वीका फूलहरू हिउँदमा सुक्नु र ग्रीष्ममा फुल्नुको कारण मेरो हातको आश्चर्यपनले गर्दा हो; हिउँदमा कर्याङकुरुङ दक्षिणतिर उडेर जानुको कारण मैले तापक्रमलाई सन्तुलन गर्ने हुनाले हो; अनि विभिन्न कुराहरूलाई पानीको सतहमा डुबाउन चाहेको कारण नै समुद्र गर्जन्छ। मैले बन्दोबस्त नगरेको के छ र? यो क्षणदेखि पछि, मानिसको “प्रकृतिको भौतिक परिस्थितिलाई” पूर्ण रूपमा मेरा वचनहरूले नै परास्त गरेको हुन्छ, र मानिसहरूले “प्राकृतिक नियमहरू” को अस्तित्वको कारण मेरो उपस्थितिलाई हटाउँदैनन्। कसले फेरि कहिल्यै सबै थोकका शासकको अस्तित्वलाई इन्कार गर्नेछ? स्वर्गमा, म नै प्रमुख हुँ; सबै थोकको बीचमा, म नै प्रभु हुँ; र सबै मानिसहरूका बीचमा म नै सर्वोच्च हुँ। यसमाथि हल्कासाथ केरमेट गरी “चित्र” कोर्ने आँट कसले गर्छ? के झूटले सत्यताको अस्तित्वलाई बाधा दिन सक्छ? यो बहुमूल्य अवसरमा, अबउप्रान्त मानिसको बाधाविना, र मेसिनहरू “चलाउने” काम जारी राख्दै, म फेरि पनि मेरो हातको कार्यलाई सुरु गर्छु।
मैले मेरा वचनहरूमा विभिन्न प्रकारका “मरमसला” हालेको छु, र यसरी यस्तो देखिन्छ मानौं म मानवजातिको एक उत्कृष्ट शेफ हुँ। मानिसहरूलाई तिनीहरूको खानामा मसला कसरी हाल्ने भन्ने थाहा नभए पनि, तिनीहरू स्वादहरूमा रमाउँछन्; “थाल” बोकेर तिनीहरू सबै मैले तयार गरेको “खानेकुरा” को स्वाद लिन्छन्। मलाई कारण थाहा छैन, तर मानिसहरू सधैँ मैले व्यक्तिगत रूपमा तयार गरेका खानेकुराहरू अझै बढी खान चाहन्छन्। मानौं तिनीहरूले मलाई आदरका साथ हेर्छन्, मानौं तिनीहरूले मलाई मसलाहरूमध्ये सबैभन्दा उत्कृष्ट ठान्छन्, र अरूप्रति तिनीहरूसँग कुनै आदरभाव नै छैन। मेरो आत्मसम्मान अत्यन्तै धेरै भएकोले, म मेरा आफ्नै कारणहरूले अरूका “फलामको भात खाने थाल” लाई कुच्याइदिन चाहन्नँ। तसर्थ, म “भान्सा-कोठा” बाट पछि हटेर अरूलाई आफ्नो पृथकता देखाउन दिन्छु। यसरी मात्रै मेरो हृदय अटल बन्छ; मानिसहरूले मलाई आदर गरेको र अरूलाई नीच ठानेको म चाहन्न; त्यो सही कुरा हुनेछैन। मानिसहरूको हृदयमा हैसियत प्राप्त गर्नुको मूल्य के हुन्छ र? के म त्यति असभ्य र त्यति अनुचित छु? के म साँच्चै हैसियत माग्न इच्छुक छु? यदि त्यसो हो भने, मैले किन त्यति ठूलो उद्यम प्रारम्भ गरेँ त? म अरूको विरुद्धमा ख्याति र सम्पत्तिको लागि संघर्ष गर्न चाहन्न, र म सांसारिक ख्याति र सम्पत्तिलाई घृणा गर्छु; मैले खोजी गर्ने कुरा यो होइन। म मानिसलाई आदर्श नमूनाको रूपमा हेर्दिनँ, म लडाइँ गर्ने वा खोस्ने काम गर्दिन, र म मेरो “हस्तकला” मा भर परेर जिउँछु, र म अविवेकी कार्यहरू गर्दिनँ। तसर्थ, जब म पृथ्वीमा हिँडडुल गर्छु, सुरुमा काम गर्छु अनि पछि मात्र “मेरो हातको कार्यको पारिश्रमिक” माग्छु—मानिसले बताउने निष्पक्षता र तर्कशीलता यही मात्रै हो। यसमा कुनै अत्युक्ति छैन, न त यसलाई कम रूपमा नै उल्लेख गरिएको छ; म तथ्यहरूको साँचो अर्थअनुसार बोल्छु। म निष्पक्ष र उचित मानिसहरूको खोजी गर्दै मानिसको बीचमा यता-उता हिँड्छु, तैपनि यसले कुनै परिणाम ल्याएको छैन। मानिसहरूले मोलतोल गर्न मन पराउने हुनाले, मूल्य कि त अति धेरै कि त अति कम छ, त्यसकारण म अझै पनि “मैले गर्नुपर्ने गरी” मेरो हातमा परेको काम गरिरहेको छु। आज, मानिसले किन आफ्नो कर्तव्य पालन नगरेको हो र उसको कद कति ठूलो छ भन्ने किन उसलाई थाहा नभएको हो मलाई अझै पनि थाहा छैन। मानिसहरूलाई तिनीहरूको कद धेरै ग्राम छ कि वा धेरै लियाङ्ग]क[ छ सो समेत थाहा छैन। तसर्थ, तिनीहरूले अझै मलाई फुस्ल्याउँछन्। यो त मेरो सबै काम व्यर्थ भएको जस्तै हो, मेरा वचनहरू विशाल पर्वतहरूको गुञ्जन मात्रै हुन् जस्तै हो, र मेरा वचन र वाणीहरूका जडलाई कसैले कहिल्यै पनि बुझेको छैन। त्यसकारण तेस्रो उक्तिलाई सारांशित गर्नको लागि म यसलाई जगको रूपमा प्रयोग गर्छु: मानिसहरूले मलाई चिन्दैनन्, किनभने तिनीहरूले मलाई देख्दैनन्। मानौं मेरा वचनहरू खाइसकेपछि, मानिसहरूले पाचनमा सहायता पुर्याउन केही औषधि पिउँछन्, अनि औषधिको प्रतिकूल प्रभाव अत्यन्तै कडा भएकोले, तिनीहरूले स्मरण शक्ति गुमाउँछन्, त्यसकारण मेरा वचनहरू मानवजातिले बिर्सेको कुरा बन्छ, र म आउने स्थान तिनीहरूले बिर्सने घुम्ती बन्छ। यसकारण, म सुस्केरा हाल्छु। मैले यति धेरै काम गरेको छु, तैपनि किन मानिसहरूमा यसको कुनै प्रमाण छैन? के मैले पर्याप्त प्रयास लगाएको छैन? कि मानिसलाई के चाहिन्छ भन्ने कुरा मैले नबुझेकोले यसो भएको हो? यस विषयमा मैले गर्न सक्ने केही पनि छैन, र मेरो एउटै विकल्प बनेको सबै मानिसहरूलाई जित्नको लागि मेरा प्रशासनिक आदेशहरू प्रयोग गर्नु हो। म अबउप्रान्त प्रेमिलो आमा बन्नेछैन, तर सबै मानवजातिलाई कठोर बुबाले जस्तो व्यवस्थापन गर्नेछु!
मे १५, १९९२
फूटनोट:
क. “लियाङ्ग” भनेको तौल नाप्ने एक चिनियाँ मापन हो; एक लियाङ्ग बराबर ५० ग्राम हुन्छ।