अध्याय ४०
मानिसहरूले मेरो हरेक चाललाई नियाल्छन्, मानौं मैले स्वर्गहरूलाई झार्न लागेको छु, र तिनीहरू सधैँ मेरो काम गराइबाट चकित हुन्छन्, मानौं मेरा कामहरू तिनीहरूका निम्ति पूर्ण रूपमा अबोधगम्य छन्। तसर्थ, तिनीहरू आफूले स्वर्गलाई चिढ्याइएला र “मरणशीलहरूको संसार” मा आफूलाई फ्याँकिएला भनी अत्यन्तै डराउँछन् र आफूले गर्ने सबै काममा मबाट सङ्केत लिन्छन्। म मानिसहरूको विरुद्धमा मैले प्रयोग गर्न सक्ने कुनै कुराको खोजी गर्ने वा तिनीहरूका कमीकमजोरीहरूलाई मेरो कामको निसाना बनाउने प्रयास गर्दिनँ। यस क्षणमा, तिनीहरू अत्यन्तै खुशी छन्, र मलाई भरोसा गर्न आउँछन्। जब म मानिसलाई दिन्छु, मानिसहरूले मलाई आफ्नै जीवनलाई जस्तै प्रेम गर्छन्, तर जब म तिनीहरूबाट कुनै कुरा माग्छु, तिनीहरू मबाट टाढा बस्छन्। यस्तो किन हुन्छ? के तिनीहरूले मानव संसारको “निष्पक्षता र उचितपन” अभ्यास गर्न सक्दैनन्? म किन मानिसहरूलाई बारम्बार त्यस्ता कुराहरू मागिरहन्छु? के यो साँच्चै नै मसँग केही नभएको अवस्था हो? मानिसहरूले मलाई भिखारीलाई झैँ व्यवहार गर्छन्। जब म तिनीहरूबाट कुनै कुरा माग्छु, तिनीहरूले मैले “उपभोग” गर्न सकूँ भनेर तिनीहरूका “उब्रेपाब्रेका कुराहरू” मेरो अघि उठाएर ल्याउँछन्, र तिनीहरूले मेरो विशेष हेरचाह गरिरहेका छन् भनेर समेत भन्छन्। म तिनीहरूको कुरूप अनुहारहरू र अनौठा स्थितिहरूलाई हेर्छु, अनि म फेरि पनि मानिसबाट बिदा हुन्छु। त्यस्ता परिस्थितिहरूमा, मानिसहरू अबुझ अवस्थामा नै रहन्छन्, र मेरो फिर्तीको प्रतीक्षा गर्दै तिनीहरूले मैले तिनीहरूलाई इन्कार गरेका कुराहरू फेरि पनि फिर्ता लिन्छन्। मैले मानिसको खातिर धेरै समय खर्च गरेको छु र ठूलो मूल्य चुकाएको छु—तर यस पटक, अज्ञात कारणले गर्दा, मानिसहरूको विवेक तिनीहरूको मूल कार्य गर्न नसक्ने अवस्थामा छ। परिणामस्वरूप, मैले यो “अटुट शङ्का” लाई भविष्यका पुस्ताहरूका लागि “सन्दर्भ” होस् भनेर “रहस्यका वचनहरू” मा सूचीकृत गरेको छु, किनभने यी कुराहरू मानिसहरूको “कडा परिश्रम” बाट आएका “वैज्ञानिक सर्वेक्षणका परिणामहरू” हुन्; मैले तिनलाई कसरी त्यतिकै मेटाउन सक्छु र? के यो मानिसहरूका असल अभिप्रायहरूलाई “निराशामा परिणत गर्ने” कार्य हुनेथिएन र? आखिर, मसँग विवेक छ, त्यसकारण म मानिससँग छली, धूर्त कार्यमा संलग्न हुँदिन—के मेरा कार्यहरू यस्तै छैनन् र? के मानिसले उल्लेख गर्ने “निष्पक्षता र उचितपन” यही होइन र? मानिसको बीचमा, मैले आजसम्मै अटुट रूपमा काम गरेको छु। आजको जस्तो समयको आगमनसँगै, मानिसहरूले अझै पनि मलाई चिन्दैनन्, तिनीहरूले अझै पनि मलाई अपरिचितजस्तो व्यवहार गर्छन्, अनि मैले तिनीहरूलाई “बन्द बाटो” मा लगेको हुनाले, तिनीहरूले मलाई अझै बढी घृणा गर्छन्। यस पटक, तिनीहरूको हृदयको प्रेम नामनिशानाबिनै विलय भएको धेरै भइसकेको हुन्छ। मैले धाक लगाइरहेको छैन, मैले मानिसलाई हेला गर्ने कुरा त परै जाओस्। म मानिसलाई अनन्तसम्म प्रेम गर्न सक्छु, र म उसलाई अनन्तसम्म नै घृणा पनि गर्न सक्छु, र यो कुरा कहिल्यै परिवर्तन हुनेछैन, किनभने ममा धैर्यता छ। तर मानिसमा यो धैर्यता छैन, मप्रति ऊ सधैँ घरी रुखो र घरी उत्साहित हुन्छ, मैले मेरो मुख खोल्दा उसले मलाई थोरै मात्र ध्यान दिन्छ, र जब म मेरो मुख बन्द गर्छु र केही पनि भन्दिन, ऊ ठूलो संसारका छालहरूका बीचमा हराइहाल्छ। तसर्थ, यसलाई म अर्को एउटा उक्तिको रूपमा प्रस्तुत गर्छु: मानिसहरूसँग धैर्यताको कमी छ, त्यसकारण तिनीहरू मेरो हृदयलाई सन्तुष्ट तुल्याउन असक्षम छन्।
मानिसहरूले सपना देखिरहेका बेलामा, म मानिसहरूमाझ मेरो हातमा भएको “मृत्युको गन्ध” छर्दै संसारका देशहरूको यात्रा गर्छु। सबै मानिसहरू तुरुन्तै जीवनशक्तिलाई त्यागेर मानव जीवनको अर्को श्रेणीमा प्रवेश गर्छन्। मानवजातिको बीचमा, अबउप्रान्त कुनै पनि जीवित कुराहरू देख्न सकिँदैन, जताततै लासहरू छरपष्ट छन्, जीवनशक्तिले भरिएका कुराहरू तुरुन्तै नामनिशानाविनै हराएर जान्छन्, र लासहरूको उकुसमुकुस गन्धले भूमिलाई ढाक्छ। म तुरुन्तै आफ्नो अनुहार छोप्छु र मानिसबाट बिदा हुन्छु, किनभने मैले कामको अर्को चरण सुरु गर्न लागेको छु, र यसरी म जीवितै रहेकाहरूका लागि बस्ने ठाउँ दिन्छु र सबै मानिसहरूलाई आदर्श भूमिमा जिउन दिन्छु। यो मैले मानिसको लागि तयार गरेको आशिषित भूमि हो—एक यस्तो भूमि जहाँ शोक वा चिन्ता छँदै छैन। उपत्यकाबाट बगिरहेको पानीको मूल अत्यन्तै सफा छ, यो अटुट रूपमा बगिरहन्छ र यो कहिल्यै सुक्दैन; मानिसहरू परमेश्वरसँग सद्भावमा जिउँछन्, चराचुरुङ्गीले गीत गाउँछन्, र मन्द हावा र सूर्यको किरणको बीचमा, स्वर्ग र पृथ्वी दुवैले विश्राम लिइरहेका छन्। यहाँ, आज सबै मानिसका लासहरू लथालिङ्ग छरिएका छन्। मानिसहरूले थाहै नपाई, म मेरो हातका महामारी छोडिदिन्छु, र मानिसको लास कुहिन्छ, र यसरी शिरदेखि पाउसम्म देहको नामनिसान कतै रहँदैन, र म मानिसबाट धेरै टाढा जान्छु। म फेरि कहिल्यै पनि मानिससँग भेला हुँदिन, म फेरि कहिल्यै मानिसकहाँ आउँदिन, किनभने मेरो सम्पूर्ण व्यवस्थापनको अन्तिम चरण समाप्त भएको छ, र म फेरि कहिल्यै पनि मानवजातिको सृष्टि गर्नेछैन, म फेरि कहिल्यै पनि मानिसलाई ध्यान दिनेछैन। मेरो मुखका वचनहरू पढिसकेपछि, मानिसहरू सबैले आशा गुमाउँछन्, किनभने तिनीहरू मर्न चाहँदैनन्—तर “जीवित हुन” को खातिर को “मर्दैन” र? जब म मानिसहरूलाई जीवित पार्ने जादु मसँग छैन भनी भन्छु, तिनीहरू पीडाले भक्कानो फुटाउँदै रुन्छन्; वास्तवमै, म सृष्टिकर्ता भए पनि, मसँग मानिसहरूलाई मर्न लगाउने शक्ति मात्रै छ, र मसँग तिनीहरूलाई जीवित पार्ने क्षमताको छैन। यसमा, म मानिससँग क्षमा माग्छु। तसर्थ, मैले मानिसलाई अग्रिम रूपमा यसो भनेको छु “मैले ऊबाट तिर्न नसकिने ऋण लिएको छु”—तर उसलाई भने म नम्र हुँदै छु भन्ने लाग्यो। आज, तथ्यहरूको आगमनसँगै, म अझै यही भन्छु। जब म बोल्छु, म तथ्यहरूविरुद्ध जाँदिनँ। तिनीहरूका धारणाहरूमा, मानिसहरूले मैले बोल्ने तरिकाहरू धेरै छन् भन्ने विश्वास गर्छन्, त्यसकारण मैले दिने वचनहरूलाई तिनीहरूले सधैँ पक्रेर राख्छन्, र यस क्रममा अर्को कुनै कुराको आशा गर्छन्। के यी मानिसका गलत हेतुहरू होइनन् र? यिनै परिस्थितिहरूमा म मानिसले मलाई साँचो रूपमा प्रेम गर्दैन भनी “साहसको साथ” भन्छु। म विवेकलाई त्यागेर तथ्यहरूलाई बङ्ग्याउनेछैन, किनभने म मानिसहरूलाई तिनीहरूको आदर्शभूमिमा लानेछैन; आखिरमा, जब मेरो काम समाप्त हुन्छ, म तिनीहरूलाई मृत्युभूमिमा लैजानेछु। त्यसकारण, मानिसहरूले मसँग गुनासो नगरेकै राम्रो। के यो मानिसहरूले मलाई “प्रेम” गर्ने हुनाले भएको होइन र? के आशिष्हरूसम्बन्धी तिनीहरूको इच्छा अत्यन्तै धेरै भएकोले यसो भएको होइन र? यदि मानिसहरूले आशिष्हरूको खोजी गर्न नचाहेका भए, कसरी यस्तो “दुर्भाग्य” आउन सक्थ्यो र? मप्रतिको मानिसहरूको “बफादारीता” को कारणले गर्दा, तिनीहरूले कुनै योगदान नदिईकनै भए पनि कठिन परिश्रम गर्दै मलाई धेरै वर्षसम्म पछ्याएको हुनाले, “गोप्य कक्ष” मा के हुँदै छ भन्नेबारेमा म तिनीहरूको निम्ति थोरै कुरा प्रकट गर्छु: आज मेरो काम निश्चित बिन्दुमा पुग्न बाँकी छ र मानिसहरूलाई आगोको खाडलमा फ्याँक्न बाँकी नै छ, र त्यस कुरालाई ध्यानमा राख्दै म तिनीहरूलाई जतिसक्दो चाँडो छोडिजान सल्लाह दिन्छु—बसिरहनेहरू सबैले दुर्भाग्य र अशुभ भोग्ने सम्भावना हुन्छ, र तिनीहरू अन्त्यमा पनि अझै मृत्युबाट बच्न सक्नेछैनन्। म तिनीहरूको लागि “सम्पत्तिको ढोका” पूरै खोलिदिन्छु; जो-जो जान चाहन्छन् तिनीहरू जतिसक्दो चाँडो बाटो लागेको राम्रो—यदि तिनीहरूले सजाय आउञ्जेलसम्म पर्खिरहे भने, ढिलो भइसकेको हुनेछ। यी वचनहरू गिल्लाका वचनहरू होइनन्—यी साँचो तथ्य हुन्। मानिसको निम्ति स्वच्छ विवेकद्वारा मेरा वचनहरू बोलिएका छन्, र यदि तिमीहरू अहिले जाँदैनौ भने, कहिले जानेछौ? के मानिसहरूले साँच्चै नै मेरा वचनहरूमा भरोसा गर्न सक्छन्?
मैले मानिसको भवितव्यको बारेमा कहिल्यै पनि त्यति ध्यान दिएको छैन; म मानिसहरूको बाधाविना, मेरो आफ्नै इच्छालाई मात्रै पछ्याउँछु। तिनीहरू डराएको कारण म कसरी मेरो हातलाई पछि हटाउन सक्छु र? मेरो सम्पूर्ण व्यवस्थापन योजनाभरि, मैले मानिसका अनुभवहरूका लागि कहिल्यै पनि थप बन्दोबस्तहरू गरेको छैन। म मेरो मूल योजनाअनुसार मात्रै काम गर्छु। विगतमा, मानिसहरूले आफैलाई मेरो खातिर “अर्पण गरे” र म तिनीहरूप्रति न त उत्साहित न त उदासीन थिएँ। आज, तिनीहरूले आफैलाई मेरो निम्ति “बलिदान गरेका” छन्, र म तिनीहरूप्रति न त उत्साहित न त उदासीन नै छु। मानिसहरूले मेरो लागि आफ्नो जीवन बलिदान दिएको कारण म आत्मसन्तुष्ट हुँदिन, न त म अथाह आनन्दमा नै डुब्छु, बरु मेरो योजनाअनुसार तिनीहरूलाई मृत्युदण्ड दिने भूमिमा पठाइरहन्छु। पाप-स्वीकारको बेला तिनीहरूले देखाउने मनोवृत्तिलाई म कुनै ध्यान दिँदिन—कसरी मेरो हिउँले जमेको, चिसो हृदयलाई मानिसको हृदयले छुन सक्छ? के म मानवजातिको बीचको एक भावनात्मक प्राणी हुँ र? धेरै पटक मैले मानिसहरूलाई म भावनारहित छु भनेर स्मरण गराएको छु, तर म नम्र मात्रै बनिरहेको छु भन्ने ठानेर तिनीहरू केवल मुस्कुराउँछन्। मैले “म मानवजातिको जीवन-दर्शनको बारेमा अनजान छु” भनेर भनेको छु, तर मानिसहरूले कहिल्यै पनि त्यस्तो विचार गरेका छैनन्, बरु मैले बोल्ने तरिकाहरू धेरै छन् भनेर भन्छन्। मानिसको यो धारणाका बन्धनहरूका कारण, मैले मानिसहरूसँग कुन शैली र कस्ता तरिकाहरूले बोल्ने भन्ने मलाई थाहा छैन—त्यसकारण, अरू कुनै विकल्प नभएको हुनाले, म सीधा कुरा मात्र गर्न सक्छु। मैले अरू के गर्न सक्छु र? मानिसहरू बोल्ने तरिका धेरै छन्—तिनीहरू भन्छन्, “हामी भावनामा डुब्नु हुँदैन बरु हामीले धार्मिकताको अभ्यास गर्नुपर्छ,” जुन तिनीहरूले धेरै वर्षदेखि लगाउँदैआएको नारा जस्तै हो, तर तिनीहरूले आफ्ना वचनहरूअनुसार काम गर्न सक्दैनन्, तिनीहरूका वचनहरू रित्तो छन्—त्यसकारण म मानिसहरूमा “तिनीहरूका वचनहरू लागू गर्ने र उपलब्धिहरू प्राप्त गर्ने” क्षमताको कमी छ भनेर भन्छु। मानिसहरूले आफ्नो हृदयमा के विश्वास गर्छन् भने, त्यसरी काम गर्नु भनेको मेरो अनुकरण गर्नु हो—तर तिनीहरूको अनुकरणमा मलाई कुनै चासो छैन, म यसप्रति दिक्क र थकित भएको छु। मानिसहरू किन सधैँ तिनीहरूलाई खुवाउनेकै विरुद्धमा खडा हुन्छन्? के मैले मानिसलाई अत्यन्तै थोरै दिएको छु? किन मानिसहरूले सधैँ मेरो पिठ्यूँपछाडि गोप्य रूपमा शैतानको पूजा गर्छन्? यस्तो लाग्छ मानौं तिनीहरूले मेरो लागि काम गर्छन् र मैले तिनीहरूलाई दिने मासिक तलब तिनीहरूको दैनिक खर्च टार्नको लागि पर्याप्त छैन, त्यसकारण तिनीहरूले आफ्नो कमाइ दुई गुणा बढाउनको लागि काम गर्ने समयबाहिर अर्को काम खोज्छन्—किनभने मानिसहरूको खर्च अत्यन्तै धेरै छ, र कसरी जीवन धान्ने तिनीहरूलाई थाहा छैन जस्तो देखिन्छ। यदि अवस्था यस्तै हो भने, म तिनीहरूलाई मेरो “कारखाना” बाट निस्केर जान आज्ञा दिन्छु। धेरै पहिले, मैले मानिसलाई मेरो लागि काम गर्दा विशेष व्यवहार प्राप्त हुनेछैन भनेर भनेको थिएँ: म “कठिन परिश्रम गर अनि धेरै प्राप्त गर, थोरै काम गर अनि थोरै नै प्राप्त गर, अनि काम नगर, र केही पनि प्राप्त नगर” भन्ने प्रणाली लागू गर्दै म सबै मानिसहरूसँग निष्पक्ष र उचित व्यवहार गर्छु, र यसमा कुनै अपवाद छैन। जब म बोल्छु, तब म कुनै कुरा लुकाउँदिन; यदि कसैलाई मेरो “कारखानाका नियमहरू” कडा छन् भन्ने लाग्यो भने, तिनीहरू तुरुन्तै निस्केर जान सक्छन्, म तिनीहरूलाई सहरबाट बाहिर जाने “भाडा” दिनेछु। त्यस्ता मानिसहरूलाई सम्हाल्ने कार्यमा म “उदार” छु, म तिनीहरूलाई बस्नको लागि जबरजस्ती गर्दिनँ। यी अनगिन्ती मानिसहरूमध्ये, के मैले मेरो आफ्नै हृदयअनुरूपको “कामदार” पाउन सक्दिन? मानिसहरूले मलाई कम सम्झनु हुँदैन! यदि मानिसहरूले अझै पनि मेरो अवज्ञा गर्छन् र अर्कै ठाउँमा “जागिर” खोज्छन् भने, म तिनीहरूलाई जबरजस्ती गर्नेछैन—म यो कुरालाई स्वागत गर्नेछु, मसँग कुनै विकल्प छैन! के मेरा “नीति र नियमहरू” धेरै भएकोले यस्तो भएको होइन र?
मे ८, १९९२