अध्याय ७९
अन्धाहरू! अज्ञानीहरू! बेकम्मा फोहोरका थुप्रो! तिमीहरूले मेरो सामान्य मानवतालाई मेरो पूर्ण ईश्वरीयताबाट अलग गर्छौ! के यो म विरुद्धको पाप हो भन्ने तिमीहरूलाई थाहा छैन? यसको साथै, यो क्षमा दिन कठिन कुरा हो! आज तिमीहरूका बीचमा व्यावहारिक परमेश्वर आउनुभएको छ, तैपनि तिमीहरूलाई मेरो एउटा पक्षको—मेरो सामान्य मानवताको—बारेमा मात्र थाहा छ र पूर्ण रूपमा ईश्वरीय हुने मेरो त्यो पक्षलाई तिमीहरूले देखेकै छैनौ। के मेरो पिठ्यूँ पछाडि मलाई ठग्ने प्रयास गर्नेलाई म चिन्दिन भन्ने तँलाई लाग्छ? मैले तेरो आलोचना गरिरहेको छैन; मैले त तँ कुन स्तरमा सक्छस्, र तँ अन्त्यमा कसरी समाप्त हुनेछस् भनेर मात्रै हेरिरहेको छु। मैले हजार वचनहरू बोलेको छु, तै पनि तिमीहरूले धेरैभन्दा धेरै दुष्कर्म गरेका छौ। तिमीहरूले किन मलाई बारम्बार ठग्ने प्रयास गर्छौ? आफ्नो जीवन गुमाउने बारेमा होसियार बन्! यदि तैँले मेरो क्रोधलाई निश्चित स्तरसम्म क्रोधित तुल्याइस् भने, म तँलाई कुनै दया देखाउनेछैन, र तँलाई निकालिनेछ। तँ पहिले कस्तो थिइस्, तँ निष्ठावान थिइस् कि जोशिलो थिइस्, तैँले कति दौडधूप गरेको छस्, वा तैँले मेरो लागि कति अर्पण गरेको छस् त्यस कुरालाई म ध्यान दिनेछैन; म यी कुराहरूलाई पटक्कै हेर्नेछैन। तैँले मलाई अहिले मात्रै क्रोधित तुल्याउनुपर्छ, अनि म तँलाई अतल कुण्डमा फ्याँक्नेछु। कसले अझै मलाई ठग्ने प्रयास गर्ने आँट गर्छ? यो कुरा याद राख! अबदेखि, जब-जब म रिसाउँछु, जोसुकै होस्, म तँलाई तुरुन्तै बढारिदिनेछु, ताकि भविष्यमा कुनै समस्या नहोस्, ताकि मैले तँलाई उप्रान्त देख्न नपरोस्। यदि तैँले मेरो अवहेलना गरिस् भने, म तँलाई तुरुन्तै सजाय दिनेछु। के तिमीहरूले यो कुरालाई याद गर्नेछौ? तिमीहरूमध्ये जो-जो बाठो छौ तिमीहरूले तुरुन्तै पश्चात्ताप गर्नुपर्छ।
आज—अर्थात्, अहिले—म मेरो क्रोध बर्साउँदै छु। तिमीहरू सबै मप्रति बफादार बन्नुपर्छ र तेरो सम्पूर्ण सत्त्व मलाई सुम्पनुपर्छ। तैँले उप्रान्त कुनै ढिलाइ गर्नु हुँदैन। यदि तैँले मेरा वचनहरू सुनिनस् भने, म मेरो हात फैलाउनेछु र तँलाई ढाल्नेछु। यसो गरेर, म आफूलाई सबैमाझ चिनाउनेछु; आजको दिन, म हरेकप्रति क्रोधित र प्रतापी छु (जुन मेरो न्यायभन्दा पनि गम्भीर छ)। मैले धेरै वचन बोलेको छु, तैपनि तिमीहरूले प्रतिक्रिया नै दिएका छैनौ; के तिमीहरू साँच्चै यति मन्द-बुद्धिका छौ? मलाई तिमीहरू त्यस्ता छौ भन्ने लाग्दैन। यो त तिमीहरूभित्रको त्यो पुरानो दियाबलसले चकचक गरिरहेको हो। के तिमीहरू यो कुरा स्पष्ट रूपमा देख्छौ? हत्तपत्त आमूल परिवर्तन ल्याइहाल! आज, पवित्र आत्माको काम यस चरणसम्म पुगेको छ; के तिमीहरूले यो देखेका छैनौ? मेरो नाम घर-घरमा, सबै राष्ट्रमा र सबै ठाउँमा घोषणा गरिनेछ, र ब्रह्माण्डभरि वयस्क र बच्चाहरूको मुखले एकै गरी पुकार्नेछन्; यो एउटा निरपेक्ष सत्य हो। म अद्वितीय परमेश्वर स्वयम् हुँ र यसभन्दा पनि बढी, म परमेश्वरको एक मात्र व्यक्तित्व हुँ। त्यसभन्दा पनि बढी, म, देहको पूर्णता, परमेश्वरको पूर्ण प्रकटीकरण हुँ। जसले मेरो डर नमान्ने आँट गर्छ, जसले आफ्ना आँखाहरूले मेरो विरोध गर्ने आँट गर्छ, र जसले आफ्नो ओठले मेरो विरोध गर्ने आँट गर्छ, त्यो निश्चित रूपमा मेरो श्राप र क्रोधबाट मर्नेछ (मेरो क्रोधका कारण श्राप आउनेछ)। यसबाहेक, जसले मप्रति बफादार नहुने वा मप्रतिको धर्म ननिभाउने आँट गर्छ, र जसले मलाई छक्काउने कोसिस गर्छ, त्यो निश्चय मेरो घृणाका कारण मर्नेछ। मेरो धार्मिकता, प्रताप र न्याय सदासर्वदा रहिरहनेछ। सुरुमा, म प्रेमिलो र कृपालु थिएँ, तर यो मेरो सम्पूर्ण ईश्वरत्वको स्वभाव होइन; केवल धार्मिकता, प्रताप र न्याय मेरा स्वभाव—पूर्ण परमेश्वर स्वयम्को स्वभाव हुन्। अनुग्रहको युगको दौरान म प्रेमिलो र कृपालु थिएँ। मैले समाप्त गर्नुपर्ने कामका कारण मसँग दया र कृपा थियो; तर त्यसपछि त्यस्ता कुराहरूको कुनै आवश्यकता परेन (र त्यस बेलादेखि परेकै छैन)। यो सबै धार्मिकता, प्रताप र न्याय हो, र यो मेरो सम्पूर्ण ईश्वरत्वसँग जोडिएको मेरो सामान्य मानवताको पूर्ण स्वभाव हो।
मलाई नचिन्नेहरू अतल कुण्डमा नाश हुनेछन् भने जसलाई मेरो बारेमा दृढ़ विश्वास छ तिनीहरू सदासर्वदा जीवित रहनेछन्, तिनीहरूलाई मेरो प्रेमभित्र हेरचाह र सुरक्षा प्रदान गरिनेछ। मैले एक शब्द मात्र बोल्दा, सम्पूर्ण ब्रह्माण्ड र पृथ्वीका अन्तिम छेउहरू काँप्छन्। को मेरो वचन सुनेर तर्सिएर काँप्दैन? कसले मेरो डर मान्ने हृदयको विकासलाई रोक्न सक्छ? अनि मेरा कामहरूबाट मेरो धार्मिकता र महिमाको बारेमा जान्न असक्षम को छ र! अनि मेरा कामहरूभित्र मेरो सर्वशक्तिमान्ता र मेरो महान्ता देख्न असक्षम को छ र! ज-जसले ध्यान दिँदैनन् तिनीहरू निश्चय नै मर्नेछन्। किनकि ध्यान नदिनेहरू तिनीहरू हुन् जसले मेरो विरोध गर्छन् र मलाई चिन्दैनन्; तिनीहरू प्रधानदूत हुन्, र तिनीहरू अति स्वेच्छाचारी छन्। आफैलाई जाँच्: जो स्वेच्छाचारी, स्व-धर्मी, घमन्डी र अहङ्कारी छ, त्यो निश्चय नै मेरो घृणाको पात्र हुन्छ र त्यो विनाशतिर बढ्दै गरेको हुन्छ!
अब म मेरो राज्यका प्रशासकीय आदेशहरू घोषणा गर्दछु: सबै कुरा मेरो न्यायअन्तर्गत छन्, सबै कुरा मेरो धार्मिकताभित्र छन्, सबै कुरा मेरो प्रतापभित्र छन्, र म सबैप्रति मेरो धार्मिकताको कार्यान्वयन गर्दछु। ममा विश्वास गर्ने भनेर भन्ने, तर भित्री गहिराइमा मेरो प्रतिरोध गर्नेहरू, वा जसको हृदयले मलाई इन्कारेको छ, तिनीहरूलाई निकालिनेछ—तर यो सबै मेरो आफ्नै ठीक समयमा हुनेछ। अरूले थाहा नपाउने तरिकाले मेरो बारेमा व्यङ्ग्यात्मक कुरा गर्ने मानिसहरू तुरुन्तै मर्नेछन् (तिनीहरू आत्मा, शरीर र प्राणमा नाश हुनेछन्)। मेरा प्रियजनहरूलाई थिचोमिचो वा उपेक्षा गर्नेहरूलाई तुरुन्तै मेरो क्रोधद्वारा न्याय गरिनेछ। यसको मतलब के हो भने, मैले प्रेम गर्नेहरूलाई ईर्ष्या गर्ने, र मलाई अधर्मी ठान्नेहरूलाई मेरो प्रियद्वारा न्याय गरिनका लागि सुम्पिइनेछ। निष्कलङ्क, सरल र निष्कपटहरू सबै (बुद्धि नहुनेहरू लगायत), र मसँग एकचित्त भई व्यवहार गर्नेहरू सबै मेरो राज्यमा रहनेछन्। जसले तालीम पाएका छैनन्—अर्थात् बुद्धि र अन्तर्बोधको कमी भएका इमानदार मानिसहरूसँग——मेरो राज्यमा शक्ति हुनेछ। तर, तिनीहरूलाई काटछाँट गरिएको र तोडिएको हुन्छ। तिनीहरूले तालिम नपाउनु निरपेक्ष कुरा होइन। बरु, यिनै कुराहरूद्वारा म सबैलाई मेरो सर्वशक्तिमान्ता र मेरो बुद्धि देखाउनेछु। म अझै पनि मलाई शङ्का गर्नेहरू सबैलाई बाहिर निकाल्नेछु; म तिनीहरूमध्ये एकै जनालाई पनि चाहन्नँ (यस्तो समयमा पनि मलाई शङ्का गर्ने मानिसहरूलाई म घृणा गर्दछु)। मैले सम्पूर्ण ब्रह्माण्डमा गर्ने कार्यहरूद्वारा, म इमानदार मानिसहरूलाई मेरा कार्यहरूको अद्भुतता देखाउनेछु, त्यसरी म उनीहरूको बुद्धि, अन्तर्बोध र विवेक वृद्धि गराउनेछु। म छली मानिसहरूलाई पनि मेरा अद्भुत कार्यहरूको फलस्वरूप एकै क्षणमा नाश पार्नेछु। मेरो नाउँ पहिले स्वीकार गर्ने सबै ज्येष्ठ पुत्र (अर्थात्, ती पवित्र र निष्कलङ्क, इमानदार मानिसहरू) राज्यमा प्रवेश प्राप्त गर्ने पहिला मानिसहरू हुनेछन् र मसँगै असङ्ख्य जाति र मानिसमाथि शासन गर्नेछन्, र असङ्ख्य जाति र मानिसलाई न्याय गर्दै राज्यमा राजाका रूपमा शासन गर्नेछन् (यसले राज्यका सबै ज्येष्ठ पुत्रलाई जनाउँछ र अरू कसैलाई होइन)। असङ्ख्य जाति र मानिसमध्ये जसले न्याय गरिएपछि पश्चात्ताप गरेका छन्, तिनीहरू मेरो राज्यमा प्रवेश गर्नेछन् र मेरा मानिस हुनेछन्, जबकि अटेरी र अपश्चात्तापी मानिसहरू अतल कुण्डमा फालिनेछन् (सदाका लागि नाश हुनलाई)। राज्यमा हुने न्याय अन्तिम हुनेछ, र त्यो मैले गर्ने संसारको पूर्ण सफाइ हुनेछ। त्यसपछि कुनै अन्याय, शोक, आँसु वा सुस्केराहरू हुनेछैनन्, र त्यसभन्दा पनि बढी, कुनै संसार हुनेछैन। सबै कुरा ख्रीष्टको प्रकटीकरण हुनेछ, र सबै ख्रीष्टको राज्य हुनेछ। कस्तो महिमा! कस्तो महिमा!