मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

हरेक व्यक्तिको नजरमा, परमेश्‍वरको व्यवस्थापन अत्यन्तै अपरिचित कुरा हो किनभने उहाँको व्यवस्थापन तिनीहरूबाट पूर्ण रूपमा हटाइएको छ भन्‍ने मानिसहरूलाई लाग्छ। मानिसहरूले परमेश्‍वरको व्यवस्थापन उहाँको काम मात्रै हो र यो उहाँसँग मात्रै सम्‍बन्धित छ भन्‍ने विचार गर्छन्—त्यसैले, मानवजाति उहाँको व्यवस्थापनप्रति उदासीन छ। यसरी, मानवजातिको मुक्ति अस्पष्ट र अप्रस्ट बनेको छ, र अब यो रित्तो गफ बाहेक केही पनि होइन। मानिसले मुक्ति प्राप्त गर्न र सुन्दर गन्तव्यमा प्रवेश गर्नको लागि परमेश्‍वरलाई पछ्याउने भए तापनि, परमेश्‍वरले आफ्‍नो काम कसरी गर्नुहुन्छ त्यसको उसलाई कुनै चासो छैन। परमेश्‍वरले जे योजना बनाउनुभएको छ त्यसको चासो मानिसलाई छैन, न त मुक्ति पाउनको लागि उसले निर्वाह गर्नुपर्ने आफ्‍नो भागको बारेमा नै उसलाई चासो छ। यो साँच्‍चै नै दुःखद कुरा हो। मानिसको मुक्तिलाई परमेश्‍वरको व्यवस्थापनबाट अलग गर्न सकिँदैन न त यसलाई उहाँको योजनाबाट नै हटाउन सकिन्छ। तैपनि मानिसले परमेश्‍वरको व्यवस्थापनको बारेमा कुनै विचार गर्दैन, अनि यसरी ऊ उहाँबाट झन्-झन् टाढा जान्छ। यसले मुक्तिको प्रश्‍नसँग अत्यन्तै सम्‍बन्धित रहेका विषयहरू—जस्तै, सृष्टि के हो, परमेश्‍वरमाथिको विश्‍वास के हो, परमेश्‍वरलाई कसरी आराधना गर्ने, इत्यादि—प्रति पूर्ण रूपमा अनभिज्ञ रहेका बढ्दो सङ्ख्याका मानिसहरूलाई उहाँका पछि लाग्‍नेहरूको दर्जामा संलग्‍न हुने तुल्याएको छ। यसकारण, हामीले अहिले, उहाँलाई पछ्याउनु र उहाँमा विश्‍वास गर्नु भनेको के हो सो उहाँका पछि लाग्‍ने हरेकले स्पष्ट रूपमा बुझून् भनेर परमेश्‍वरको व्यवस्थापनको बारेमा छलफल गर्नैपर्छ। त्यसो गरेमा हरेक व्यक्तिलाई आशिषहरू प्राप्त गर्नको लागि, वा विपत्तिहरूबाट बच्‍नको लागि, वा अरूभन्दा उच्‍च हुनको लागि नभई उसले हिँड्ने बाटो अझै ठीक तरिकाले छनौट गर्न सहयोग गर्नेछ।

परमेश्‍वरको व्यवस्थापन गहन भए तापनि, यो मानिसको बुझाइभन्दा बाहिर छैन। यो यसैले हो किनभने परमेश्‍वरको सबै कार्य मानवजातिलाई मुक्त गर्ने उहाँको व्यवस्थापन र उहाँको कार्यसँग जोडिएको छ, र यो मानवजातिको जीवन, जीवनशैली, र गन्तव्यसँग सम्‍बन्धित छ। मानिसको बीचमा र मानिसमा परमेश्‍वरले गर्ने काम अत्यन्तै व्यवहारिक र अर्थपूर्ण छ भनेर भन्‍न सकिन्छ। यसलाई मानिसले देख्‍न र अनुभव गर्न सक्छ, र यो कुनै अमूर्त कुराभन्दा पर छ। यदि मानिस परमेश्‍वरले गर्नुहुने सबै काम स्वीकार गर्न असमर्थ छ भने, उहाँको कामको महत्त्व के हो? अनि त्यस्तो व्यवस्थापनले कसरी मानिसको मुक्तिमा डोर्याउन सक्छ? परमेश्‍वरलाई पछ्याउने धेरै जनालाई कसरी आशिषहरू प्राप्त गर्ने वा विपत्ति टार्ने भन्‍नेको मात्रै चिन्ता छ। परमेश्‍वरको कार्य र व्यवस्थापनको बारेमा उल्‍लेख गर्ने बित्तिकै, तिनीहरू चुप बन्छन् र सबै चासो गुमाउँछन्। त्यस्तो सानातिना कुराहरूलाई बुझेर यसले तिनीहरूको जीवन वृद्धि गर्न वा कुनै पनि लाभ प्रदान गर्न सहयोग गर्नेछैन भन्‍ने तिनीहरू ठान्छन्। परिणामस्वरूप, तिनीहरूले परमेश्‍वरको व्यवस्थापनको बारेमा सुनेका भए तापनि, तिनीहरूले त्यति ध्यानै दिँदैनन्। यसलाई तिनीहरू स्वीकार गर्नुपर्ने कुनै बहुमूल्य कुराको रूपमा देख्दैनन्, यसलाई तिनीहरूको जीवनको भागको रूपमा ग्रहण गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूसँग परमेश्‍वरलाई पछ्याउने एउटै मात्र सरल उद्देश्य हुन्छ, र त्यो उद्देश्य हो, आशिषहरू प्राप्त गर्नु। त्यस्ता मानिसहरूले यो उद्देश्यसँग प्रत्यक्ष रूपमा संलग्‍न नहुने अरू कुनै पनि कुरा सुन्‍ने झमेला लिन सक्दैनन्। तिनीहरूका लागि, आशिषहरू प्राप्त गर्न परमेश्‍वरमा विश्‍वास गर्नु जत्तिको न्यायसंगत अरू कुनै उद्देश्य हुन सक्दैन—तिनीहरूको विश्‍वासको मूल्य यही नै हो। यदि कुनै कुराले यो उद्देश्यमा योगदान दिँदैन भने, यसले तिनीहरूको हृदय छुन सक्दैन। आज परमेश्‍वरलाई विश्‍वास गर्ने धेरैजसो मानिसहरूको अवस्था यस्तै छ। तिनीहरूको उद्देश्य र अभिप्राय न्यायसंगत देखिन्छन्, किनभने तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा तिनीहरूले परमेश्‍वरको निम्ति खर्च पनि गर्छन्, आफैलाई परमेश्‍वरमा समर्पित पनि गर्छन्, र आफ्‍नो कर्तव्य पनि पूरा गर्छन्। तिनीहरूले आफ्‍नो जवानी त्याग्छन्, परिवार र भविष्यलाई त्याग्छन्, र आफैलाई व्यस्त राख्दै धेरै वर्षसम्‍म घरदेखि टाढा बिताउँछन्। तिनीहरूको आखिरी उद्देश्यको लागि, तिनीहरूले आफ्‍नै अभिरुचिहरू, जीवनप्रतिको तिनीहरूको दृष्टिकोण, र तिनीहरूले खोजी गर्ने दिशालाई समेत परिवर्तन गर्छन्; तैपनि परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको उद्देश्यलाई तिनीहरूले परिवर्तन गर्न सक्दैनन्। तिनीहरू आफ्‍नै आदर्शहरूको व्यवस्थापन गर्दै दौडधूप गर्छन्; बाटो जति टाढा भए पनि, र बाटोमा जति धेरै कठिनाइ र बाधाहरू भए पनि, तिनीहरू दृढ रहन्छन् र मृत्युको डर मान्दैनन्। आफैलाई निरन्तर रूपमा यस तरिकामा समर्पित गर्नको लागि कुन शक्तिले तिनीहरूलाई बाध्य तुल्याउँछ? के यो तिनीहरूको विवेक हो? के यो तिनीहरूको महान् र आदर्शमय चरित्र हो? के यो अन्त्यसम्‍मै दुष्टताका शक्तिहरूसँग युद्ध गर्ने तिनीहरूको संकल्प हो? के यो इनामको खोजी नगरिकन परमेश्‍वरको लागि गवाही दिने तिनीहरूको विश्‍वास हो? के यो परमेश्‍वरको इच्‍छा हासिल गर्नको लागि सबै कुरा त्याग्‍ने तिनीहरूको इच्‍छाको बफादारीता हो? अथवा के यो लालची व्यक्तिगत मागहरूलाई सँधै त्याग्‍ने तिनीहरूको भक्तिको आत्मा हो? परमेश्‍वरको व्यवस्थापनको कामलाई कहिल्यै नबुझेको कुनै व्यक्तिले त्यति धेरै त्याग गर्नु भनेको वास्तवमा आश्‍चर्यकर्म नै हो! अहिलेको लागि, यी मानिसहरूले कति दिएका छन् त्यसको बारेमा छलफल गरौं। तैपनि, तिनीहरूको आचरणलाई हामीले विश्‍लेषण गर्नु अत्यन्तै उचित छ। तिनीहरूसँग अति घनिष्ट रुपले सम्‍बन्धित रहेका लाभहरू बाहेक, परमेश्‍वरलाई कहिल्यै नबुझ्‍ने मानिसहरूले उहाँको लागि त्यति धेरै त्याग गर्नुका अरू कुनै कारणहरू हुन सक्छन्? यसमा, हामी पहिले पहिचान नगरिएको समस्या पत्ता लगाउँछौं: परमेश्‍वरसँगको मानिसको सम्‍बन्ध एउटा नाङ्गो स्वार्थ मात्रै हो। यो आशिषहरू प्राप्त गर्ने र दिने बीचको सम्‍बन्ध हो। यसलाई सरल रूपमा भन्दा, यो मालिक र कर्मचारी बीचको सम्‍बन्ध जस्तै हो। मालिकले दिने इनामहरूको लागि मात्रै कर्मचारीले काम गर्छ। त्यस्तो सम्‍बन्धमा कुनै आत्मीयता हुँदैन, लेनदेन मात्रै हुन्छ। प्रेम गर्ने वा प्रेम प्राप्त गर्ने कुनै कार्य हुँदैन, परोपकार र कृपा मात्रै हुन्छ। कुनै बुझाइ हुँदैन, दबाइएको आक्रोश र धोका मात्रै हुन्छ। कुनै घनिष्ठता हुँदैन, अप्रकमनीय दरार मात्रै हुन्छ। यी कुराहरू यस्तो बिन्दु सम्म आइपुगेकाले, अब यस्तो क्रमलाई कसले उल्ट्याउन सक्छ? अनि यो सम्‍बन्ध कति भयानक बनेको छ, त्यसलाई साँचो रूपमा बुझ्‍न सक्‍ने मानिसहरू कति छन्? मलाई विश्‍वास छ, जब मानिसहरूले आफैलाई आशिषित हुनुको आनन्दमा डुबाउँछन्, परमेश्‍वरसँगको त्यस्तो सम्‍बन्ध कति लाजमर्दो र कुरूप हुन्छ त्यसको बारेमा कसैले पनि कल्‍पना गर्न सक्दैन।

परमेश्‍वरमाथिको मानवजातिको विश्‍वासको सबैभन्दा दुःखलाग्दो कुरा यो हो कि परमेश्‍वरको कामको बीचमा मानिसले आफ्‍नै व्यवस्थापन संचालन गर्छ, तैपनि परमेश्‍वरको व्यवस्थापनमा कुनै ध्यान दिँदैन। मानिसको सबैभन्दा ठूलो असफलता यसैमा छ कि उही समयमा जब मानिसले परमेश्‍वरमा समर्पित हुने र उहाँको आराधना गर्ने प्रयास गरिरहेको हुन्छ, उसको आफ्‍नै काल्‍पनिक गन्तव्यको निर्माण गरिरहेको हुन्छ र सबैभन्दा ठूलो आशिष र सबैभन्दा उत्तम गन्तव्य कसरी प्राप्त गर्ने हो त्यसको षड्यन्त्र गरिरहेको हुन्छ। तिनीहरू कति दयनीय, घृणास्पद, र बिचरा छन् भन्‍ने कुरा कसैले बुझे तापनि, कति जनाले आफ्‍ना कल्‍पना र आशाहरूलाई सहजतापूर्वक त्याग्‍न सक्छन्? अनि आफ्‍नै पाइलाहरूलाई रोकेर आफ्‍नै बारेमा मात्रै सोच्‍न छोड्न सक्‍ने को छन्? परमेश्‍वरलाई उहाँको व्यवस्थापन पूरा गर्नको लागि उहाँसँग नजिकबाट सहकार्य गर्नेहरूको खाँचो छ। उहाँलाई उहाँको व्यवस्थापन कार्यको निम्ति आफ्‍नो सम्पूर्ण मन र शरीर अर्पण गरेर उहाँमा समर्पित हुनेहरूको खाँचो छ। उहाँलाई हरेक दिन आफ्‍ना हातहरू पसारेर माग्‍ने मानिसहरूको खाँचो छैन, थोरै दिएर इनामको प्रतीक्षा गर्नेहरूको कुरा त परै जाओस्। थोरै योगदान दिएर आफ्‍ना हात बाँधेर बस्‍नेहरूलाई परमेश्‍वर घृणा गर्नुहुन्छ। उहाँको व्यवस्थापनको कार्यलाई घृणा गर्ने, अनि स्वर्ग जाने र आशिषहरू प्राप्त गर्ने बारेमा मात्रै कुरा गर्न चाहने चीसो-रगत भएका मानिसहरूलाई उहाँ घृणा गर्नुहुन्छ। मानवजातिलाई मुक्त गर्ने क्रममा उहाँले गर्नुहुने कामले प्रस्तुत गर्ने अवसरको फाइदा लिनेहरूप्रति उहाँको घृणा अझै ठूलो छ। त्यो यसैले हो कि किनभने यी मानिसहरूले आफ्‍नो व्यवस्थापन कार्यद्वारा परमेश्‍वरले के हासिल गर्न र प्राप्त गर्न चाहनुहुन्छ भन्‍ने बारेमा कहिल्यै वास्ता गरेका छैनन्। परमेश्‍वरको कामले प्रदान गरेको अवसरलाई आशिषहरू प्राप्त गर्नको लागि कसरी प्रयोग गर्न सकिन्छ त्यसप्रति मात्रै तिनीहरूलाई चासो छ। तिनीहरू आफ्‍नै अपेक्षाहरू र गन्तव्यद्वारा पूर्ण रूपमा तल्‍लीन भएका हुनाले, तिनीहरूले परमेश्‍वरको हृदयको बारेमा वास्ता गर्दैनन्। परमेश्‍वरको व्यवस्थापनको कामलाई घृणा गर्ने अनि परमेश्‍वरले मानवजातिलाई कसरी मुक्त गर्नुहुन्छ त्यस कुरामा र उहाँको इच्‍छाको बारेमा अलिकति पनि चासो नदिनेहरूले परमेश्‍वरको व्यवस्थापनको कार्यबाट अलग रहेर तिनीहरूलाई प्रसन्‍न पार्ने कुराहरू मात्रै गर्छन्। तिनीहरूको आचरणलाई न त परमेश्‍वरले स्मरण गर्नुहुन्छ न त स्वीकार नै—परमेश्‍वरले यसलाई निगाहको साथ हेर्ने कुरा त परै जाओस्।

ब्रह्माण्ड र आकाश मण्डलको विशालतामा, अनगिन्ती प्राणीहरू जिउँछन् र सन्तान पैदा गर्छन्, जीवनको चक्रीय नियम पालन गर्छन्, अनि एउटै अटुट नियमको पालन गर्छन्। मर्नेहरूले आफूसँग जिउँदाहरूको कथाहरू लिएर जान्छन्, अनि जिउँदाहरूले नाश भएर जानेहरूकै उही दुःखद इतिहासलाई दोहोर्याउँछन्। त्यसकारण, मानिसले आफैलाई यो प्रश्‍न नगरी बस्‍न सक्दैन: हामी किन जिउँछौं? अनि हामी किन मर्नुपर्छ? कसले यो संसारलाई नियन्त्रण गर्छ? अनि कसले यो मानवजातिलाई सृष्टि गर्‍यो? के मानवजातिलाई साँच्‍चै नै प्रकृति माताले नै रचेकी हुन् त? के मानवजातिले साँच्‍चै आफ्‍नो गन्तव्यलाई नियन्त्रण गर्न सक्छ? … मानवजातिले अटुट रूपमा हजारौं वर्षदेखि गर्दै आएका प्रश्‍नहरू यिनै हुन्। दुःखको कुरा, यी प्रश्‍नहरूप्रति मानिस जति तल्‍लीन बनेको छ, विज्ञानको लागि उसमा त्यति नै बढी तृष्णा जागेको छ। विज्ञानले देहको लागि छोटो सन्तुष्टि र अस्थाई आनन्द दिन्छ, तर मानिसलाई उसको प्राणभित्रको एकान्तपन, एकलोपन, र त्यति लुक्‍न नसकेको आतङ्क र विवशताबाट मुक्त गर्नको लागि त्यो पर्याप्त छैन। आफ्‍नो हृदयलाई बेहोस बनाउनको लागि मानवजातिले आफ्‍नो नाङ्गो आँखाले देख्‍न सक्‍ने र उसको मस्तिष्कले बुझ्‍न सक्‍ने वैज्ञानिक ज्ञानलाई मात्रै प्रयोग गर्छ। तैपनि त्यस्तो वैज्ञानिक ज्ञान, रहस्यहरूको अन्वेषण गर्नबाट मानवजातिलाई रोक्‍न पर्याप्त छैन। मानवजातिलाई ब्रह्माण्ड र यावत् थोकका सार्वभौम को हुनुहुन्छ सो थाहै छैन, मानवजातिको सुरुवात र भविष्यको बारेमा जान्‍ने कुरा त परै जाओस्। मानवजाति यो नियमको बीचमा केवल विवशतापूर्वक जिउँछ। यसबाट कोही पनि उम्कन सक्दैन र यसलाई कसैले परिवर्तन गर्न सक्‍दैन, किनभने यावत् थोकको बीचमा र स्वर्गहरूमा अनन्‍तदेखि अनन्‍तसम्‍म रहनुहुने एक मात्र जन हुनुहुन्छ, जसको सबै कुरामाथि सार्वभौमिकता छ। उहाँ एक मात्र जन हुनुहुन्छ जसलाई मानिसले कहिल्यै देखेको छैन, जसलाई मानवजातिले कहिल्यै चिनेको छैन, जसको अस्तित्वलाई मानिसले कहिल्यै विश्‍वास गरेको छैन—तैपनि मानवजातिका पुर्खाहरूलाई सास फुकिदिने र मानवजातिलाई जीवन दिने उहाँ नै हुनुहुन्छ। मानिसलाई अस्तित्वमा रहन दिँदै, उसको लागि जुटाउने र उसलाई पालनपोषण गर्ने उहाँ नै हुनुहुन्छ; मानवजातिलाई हालको दिनसम्‍म डोर्याउने उहाँ नै हुनुहुन्छ। यसको साथै, मानवजातिले आफ्‍नो अस्तित्वको लागि भर पर्ने केवल उहाँ मात्रै हुनुहुन्छ। यावत् थोकमाथि उहाँको सार्वभौमिकता छ र ब्रह्माण्डका सारा प्राणीहरूमाथि उहाँले नै शासन गर्नुहुन्छ। चार ऋतुमाथि उहाँकै नियन्त्रण छ र बतास, तुसारो, हिउँ, र पानी ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई सूर्यको ज्योति दिने र रात ल्याउने उहाँ नै हुनुहुन्छ। मानवजातिलाई पर्वतहरू, तालहरू, अनि खोलानाला र ति भित्रका सारा प्राणीहरू दिँदै, स्वर्गहरू र पृथ्वीका जग बसाल्ने उहाँ नै हुनुहुन्थ्यो। उहाँका कार्यहरू सर्वव्यापी छन्, उहाँको शक्ति सर्वव्यापी छ, उहाँको बुद्धि सर्वव्यापी छ, र उहाँको अख्तियार सर्वव्यापी छ। यी हरेक व्यवस्था र नियमहरू उहाँका कार्यहरूका मूर्तरूप हुन्, र हरेकले उहाँको बुद्धि र अख्तियारलाई प्रकट गर्छ। उहाँको सार्वभौमिकताबाट आफैलाई कसले मुक्त गर्न सक्छ? अनि उहाँका योजनाहरूबाट कसले आफैलाई हटाउन सक्छ? सबै थोक उहाँकै नजरमा अस्तित्वमा हुन्छन्, र यसको साथै, सबै थोक उहाँकै सार्वभौमिकतामा जिउँछन्। उहाँका कार्यहरू र उहाँको शक्तिले मानवजातिलाई उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई स्वीकार गर्ने बाहेक कुनै विकल्‍प दिँदैन। उहाँ बाहेक कसैले पनि ब्रह्माण्डलाई नियन्त्रण गर्न सक्दैन, यो मानवजातिलाई अटुट रूपमा जुटाउने कुरा त परै जाओस्। तैँले परमेश्‍वरका कार्यहरूलाई पहिचान गर्न सके पनि वा नसके पनि, र तैँले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गरे पनि वा नगरे पनि, तेरो गन्तव्य परमेश्‍वरले नै निर्धारण गर्नुहुन्छ भन्‍नेमा कुनै शङ्‍का छैन, र सबै थोकमाथि सँधै परमेश्‍वरकै सार्वभौमिकता हुन्छ भन्‍नेमा कुनै शङ्‍का छैन। उहाँको अस्तित्व र अख्तियार, तिनीहरुलाई मानवजातिले पहिचान गर्छ कि गर्दैन र बुझ्छ कि बुझ्दैन भन्‍ने आधारमा निर्धारित हुँदैन। उहाँलाई मात्रै मानिसको विगत, वर्तमान, र भविष्य थाहा छ, र उहाँले मात्रै मानिसको गन्तव्यलाई निर्धारित गर्न सक्‍नुहुन्छ। तैँले यो तथ्यलाई स्वीकार गर्न सके पनि वा नसके पनि, चाँडै नै सारा मानवजातिले आफ्‍नै आँखाले यो सबै देख्‍नेछ, र परमेश्‍वरले चाँडै नै ल्याउनुहुने तथ्य यही नै हो। परमेश्‍वरकै सामु मानवजाति जिउँछ र मर्छ। मानिस परमेश्‍वरको व्यवस्थापनको लागि जिउँछ, र जब उसले अन्तिम पटक आफ्‍ना आँखाहरू चिम्‍लन्छ, ती यही व्यवस्थापनकै लागि बन्द हुन्छन्। मानिस घरीघरी, अघि-पछि आउँछ, र जान्छ। कुनै अपवाद छैन कि यो सबै परमेश्‍वरको सार्वभौमिकता र उहाँको योजनाको भाग हो। परमेश्‍वरको व्यवस्थापन कहिल्यै अन्त्य भएको छैन; यो सदाकालसम्‍म अघि बढिरहन्छ। उहाँले मानवजातिलाई उहाँको अस्तित्वप्रति सचेत, उहाँको सार्वभौमिकतामाथि भरोसा गर्ने, उहाँका कार्यहरूलाई हेर्ने, र उहाँको राज्यमा फर्कने तुल्याउनुहुनेछ। उहाँले हजारौं वर्षदेखि व्यवस्थापन गर्दै आउनुभएको उहाँको योजना, र काम यही नै हो।

परमेश्‍वरको व्यवस्थापन कार्य संसारको सृष्टिबाट सुरु भयो, र यो कार्यको केन्द्रविन्दु मानिस नै हो। मानिसकै खातिर परमेश्‍वरले यावत् थोक सृष्टि गर्नुभयो भनेर भन्‍न सकिन्छ। उहाँको व्यवस्थापनको कार्य हजारौं वर्षसम्‍म फैलिने हुँदा, र मिनेट वा सेकेन्डमा, वा आँखाको निमेसमा, वा एक-दुई वर्षमा नगरिने हुँदा, उहाँले मानवजातिको अस्तित्वको लागि आवश्यक धेरै कुराहरूको सृष्टि गर्नुपर्यो, जस्तै सूर्य, चन्द्रमा, सबै किसिमका जीवित प्राणी, खानेकुरा, र बस्‍न योग्य वातावरण। यो परमेश्‍वरको व्यवस्थापनको सुरुवात थियो।

त्यसपछि, परमेश्‍वरले मानवजातिलाई शैतानको हातमा सुम्पनुभयो, अनि मानिस शैतानको राज्य-क्षेत्रमा जियो, जसले बिस्तारै परमेश्‍वरको कार्यको पहिलो चरणमा लग्यो: व्यवस्थाको युगको कथा…। व्यवस्थाको युगको अवधिको हजारौं वर्षमा, मानवजातिलाई व्यवस्थाको युगको मार्गदर्शनप्रति बानी पर्‍यो र उसले यसलाई बेवास्ता गर्‍यो। क्रमिक रूपमा, मानिसले परमेश्‍वरको हेरचाहलाई छोड्दै गयो। त्यसैले, व्यवस्थालाई पछ्याउने क्रममा, तिनीहरूले मूर्तिहरूलाई पनि पुजे र दुष्ट कार्यहरू गरे। तिनीहरू यहोवाको सुरक्षा विहीन थिए, र तिनीहरूले मन्दिरको वेदी अगाडि मात्रै आफ्‍नो जीवन जिए। वास्तवमा, परमेश्‍वरको कार्यले तिनीहरूलाई धेरै पहिले नै छोडिसकेको थियो, र इस्राएलीहरू अझै पनि व्यवस्थामा टाँसिरहेका, र यहोवाको नाम पुकार्ने गरेका साथै, तिनीहरू मात्रै यहोवाका मानिसहरू हुन् र तिनीहरू यहोवाका चुनिएकाहरू हुन् भनेर तिनीहरूले गर्वका साथ विश्‍वास गर्ने गरेका भए तापनि, परमेश्‍वरको महिमाले तिनीहरूलाई चुपचाप छोड्यो …

जब परमेश्‍वरले आफ्‍नो काम गर्नुहुन्छ, उहाँले चुपचाप एउटा ठाउँलाई छोड्नुहुन्छ र अर्को ठाउँमा उहाँले सुरु गर्नुभएको कार्यलाई शान्तसाथ अघि बढाउनुहुन्छ। कठोर बनेका मानिसहरूका लागि यो उल्‍लेखनीय देखिन सक्छ। मानिसहरूले सँधै पुरानोलाई मूल्यवान् ठानेर नयाँ, अपरिचित कुराहरूलाई वैमनस्यताको साथ लिने वा तिनलाई घृणित ठान्‍ने गरेका छन्। त्यसैले, परमेश्‍वरले जेसुकै नयाँ काम गर्नुभए तापनि, सुरुदेखि अन्त्यसम्‍मै, यसको बारेमा जान्‍ने सबै कुराहरूमध्ये मानिस नै अन्तिम हो।

सँधैझैँ, व्यवस्थाको युगमा गरिएको यहोवाको कामपछि, परमेश्‍वरले दोस्रो चरणको आफ्‍नो नयाँ काम सुरु गर्नुभयो: देहलाई धारण गरेर—मानिसको रूपमा दश-बीस वर्षसम्‍म देहधारी हुनुभएर—अनि विश्‍वासीहरूका बीचमा बोलेर अनि काम गरेर। तैपनि कुनै अपवादविना, कसैले पनि यो थाहा पाएन, अनि प्रभु येशू क्रूसमा किला ठोकिएर पुनरुत्थान हुनुभएपछि थोरै सङ्ख्याका मानिसहरूले मात्रै उहाँ देह बन्‍नुभएका परमेश्‍वर हुनुहुन्छ भनेर स्वीकार गरे। समस्याको रूपमा, पावल भन्‍ने एक जना खडा भए, जसले आफैलाई परमेश्‍वरका मरणशील शत्रुको रूपमा प्रस्तुत गरे। उसलाई प्रहार गरिएर उनी प्रेरित बनेपछि पनि, पावलले आफ्‍नो पुरानो स्वभावलाई परिवर्तन गरेनन्, र तिनले परमेश्‍वरको विरुद्धको बाटोमा हिँड्ने कार्यलाई जारी राखे। उनले गरेको कामको दौरान, पावलले धेरै पत्रहरू लेखे; दुर्भाग्यवश, पछिल्‍ला पुस्ताहरूले उनका पत्रहरूलाई परमेश्‍वरका वचनहरूका रूपमा लिए, र तिनलाई नयाँ करारमा समेत समावेश गरियो अनि परमेश्‍वरले बोल्नुभएको वचनसँग मिसाइए। यो धर्मशास्‍त्रको उदयपछिको अत्यन्तै ठूलो अपमान हो! अनि के मानिसको चरम मूर्खताको कारणले गर्दा यो गल्ती भएको थिएन र? अनुग्रहको युगको परमेश्‍वरको कार्यका अभिलेखहरूमा, परमेश्‍वरको काम र वचनहरूको नक्‍कल गर्ने मानिसका पत्रहरू वा आत्मिक लेखहरू हुनु हुँदैन भन्‍ने तिनीहरूलाई थोरै थाह थियो। तर यो हाम्रो चासोको विषय होइन, त्यसकारण हामी हाम्रो मुख्य शीर्षकमा फर्कौं। परमेश्‍वरको कार्यको दोस्रो चरण पूरा हुने बित्तिकै—क्रूसीकरणपछि—मानिसलाई पापबाट पुन: प्राप्ति गर्ने (भन्‍नुको अर्थ, मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्ने) परमेश्‍वरको कार्य पूरा भयो। त्यसकारण, त्यो क्षणदेखि उसो, मानिसले प्रभु येशूलाई मुक्तिदाताको रूपमा स्वीकार गर्नुपर्थ्यो, र उसको पाप क्षमा हुनेथियो। सामान्य रूपमा भन्दा, मानिसले मुक्ति हासिल गर्न र परमेश्‍वरको अघि आउनको लागि उसको पापहरु त्यस उप्रान्त बाधा बनेन, र यो त्यस उप्रान्त शैतानले मानिसलाई दोष दिने आधार रहेन। त्यो यसैले हो किनभने परमेश्‍वर स्वयमले वास्तविक काम गर्नुभएको थियो, उहाँ पापी देह जस्तै र त्यसको पूर्वअनुभव बन्‍नुभएको थियो, र परमेश्‍वर स्वयम् नै पापबलि हुनुहुन्थ्यो। यसरी, मानिस क्रूसबाट ओर्लियो, र परमेश्‍वरको देह, अर्थात्, यो पापी देहको स्वरूपद्वारा उद्धार गरियो र मुक्त गरियो। त्यसैले, शैतानद्वारा कैदीको रूपमा लगिएपछि, मानिस परमेश्‍वरको अघि उहाँको मुक्तिलाई स्वीकार गर्न एक कदम नजिक आयो। अवश्य नै, कार्यको यो चरण व्यवस्थाको युगको परमेश्‍वरको व्यवस्थापनभन्दा अझै गहन र अझै विकसित थियो।

परमेश्‍वरको व्यवस्थापन यस्तै छ: मानवजातिलाई शैतानको हातमा सुम्‍पिने—परमेश्‍वर को हुनुहुन्छ, सृष्टिकर्ता के हो, परमेश्‍वरलाई कसरी आराधना गर्ने, वा परमेश्‍वरमा समर्पित हुनु किन अत्यावश्यक छ सो नजान्‍ने मानवजातिलाई—अनि उसलाई भ्रष्ट तुल्याउन शैतानलाई अनुमति दिने। त्यसपछि चरणबद्ध रूपमा, मानिसले परमेश्‍वरलाई पूर्ण रूपमा आराधना गरेर शैतानलाई इन्कार नगरुञ्जेल, परमेश्‍वरले मानिसलाई शैतानको हातबाट पुन: प्राप्ति गर्नुहुन्छ। परमेश्‍वरको व्यवस्थापन यही हो। यो काल्‍पनिक कथाजस्तो सुनिन सक्छ, र यो अचम्‍मको सुनिन सक्छ। मानिसहरूलाई यो काल्पनिक जस्तो लाग्छ किनभने विगतका हजारौं वर्षको अवधिमा मानिसलाई के भएको छ तिनीहरूलाई त्यसको आभास छैन, ब्रम्‍हाण्ड र आकाश मण्डलमा कति वटा कथाहरू पैदा भए तिनीहरूले त्यो थाहा पाउने कुरा त परै जाओस्। यसको साथै, यसको कारण के हो भने, भौतिक संसारभन्दा बाहिर अझै अचम्‍मको, अझै डरलाग्दो संसार अस्तित्वमा छ, तर जसलाई देख्‍नबाट तिनीहरूलाई आफ्ना मरणशील आँखाले रोक्छ भन्‍ने तिनीहरूले बुझ्‍न सक्दैनन्। मानिसको लागि यो समझले नै नभ्याउने जस्तो लाग्छ किनभने मानवजातिलाई परमेश्‍वरले गर्नुभएको मुक्तिको महत्त्व वा उहाँको व्यवस्थापनको कार्यको महत्त्वलाई मानिसले बुझ्दैन, र आखिरमा मानिस कस्तो भएको परमेश्‍वर चाहनुहुन्छ सो बुझ्दैन। के यो आदम र हव्‍वाजस्तै शैतानद्वारा अत्यन्तै भ्रष्ट गरिनको लागि हो? होइन! परमेश्‍वरको व्यवस्थापनको उद्देश्‍य भनेको परमेश्‍वरलाई आराधना गर्ने र उहाँमा समर्पित हुने मानिसहरूको समूहलाई प्राप्त गर्नु हो। यी मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका भए पनि, तिनीहरूले त्यस उप्रान्त शैतानलाई आफ्‍ना पिताका रूपमा हेर्दैनन्; तिनीहरूले शैतानको घिनलाग्दो मुहारलाई पहिचान गर्छन् र यसलाई इन्कार गर्छन्, अनि परमेश्‍वरको न्याय र सजायलाई स्वीकार गर्नको लागि तिनीहरू परमेश्‍वरको सामु आउँछन्। कुरूप के हो र यो कसरी पवित्रको विपरीत छ त्यसलाई, र परमेश्‍वरको महान्‌ता र शैतानको दुष्टतालाई पहिचान गर्न तिनीहरूले जान्दछन्। यस्ता मानवजातिले त्यस उप्रान्त शैतानको निम्ति काम गर्ने, वा शैतानको आराधना गर्ने वा शैतानलाई पवित्र मान्‍ने छैन। यो त्यसैले हो किनभने तिनीहरू परमेश्‍वरले साँच्‍चै प्राप्त गर्नुभएका मानिसहरूका समूह हुन्। मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको कार्यको महत्त्व यही नै हो। यस पटकको परमेश्‍वरको व्यवस्थापनको कार्यको अवधिमा, मानवजाति शैतानको भ्रष्टता र परमेश्‍वरको मुक्ति दुवैको लक्षित पात्र हो, र मानिस त्यो उपज हो जसको लागि परमेश्‍वर र शैतानले लडाइ गरिरहेको छ। परमेश्‍वरले आफ्‍नो काम गर्ने क्रममा, उहाँले मानिसलाई क्रमिक रूपमा शैतानको हातबाट पुन: प्राप्ति गर्दैहुनुहुन्छ, र त्यसकारण मानिस परमेश्‍वरको झन्-झन् नजिक आउँछ …

त्यसपछि राज्यको युग आयो, जुनचाहिँ कामको अझै व्यवहारिक चरण हो, र तैपनि यो मानिसले स्वीकार गर्नको लागि सबैभन्दा कठिन छ। यसको कारण के हो भने, मानिस जति परमेश्‍वरको नजिक आउँछ, परमेश्‍वरको लौरो त्यति नै मानिसको नजिक आउँछ, र परमेश्‍वरको मुहार मानिसको निम्ति त्यति नै स्पष्ट रूपमा प्रकट हुन्छ। मानिसको छुटकारापछि, मानिस आधिकारिक रूपमै परमेश्‍वरको परिवारमा फर्किन्छ। अहिले नै आनन्द गर्ने समय हो भन्‍ने मानिसले सोच्यो, तैपनि उसले परमेश्‍वरको पूर्ण प्रहार पाउँछ, जुन कस्तो छ भन्‍ने कुरा कसैले पनि पहिले देख्‍न सकेन: के देखिन्छ भने, यो परमेश्‍वरका मानिसहरूले “आनन्द” लिनुपर्ने बप्तिस्मा हो। त्यस्तो व्यवहार गरिँदा, मानिसहरूले रोकिएर आफ्‍नो बारेमा यस्तो विचार गर्ने बाहेक कुनै विकल्‍प हुँदैन, “म धेरै वर्षसम्‍म हराएको थुमा हुँ जसलाई खरिद गरेर फर्काउन परमेश्‍वरले धेरै खर्च गर्नुभयो, त्यसैले परमेश्‍वरले किन मलाई यस्तो व्यवहार गर्नुहुन्छ? के यो मप्रति हाँस्‍ने, र मलाई खुलासा गर्ने परमेश्‍वरको तरिका हो? …” वर्षौं बितेपछि, शोधन र सजायको कष्ट अनुभव गरिसकेपछि, मानिस जीर्ण बनेको छ। मानिसले विगतका समयहरूको “महिमा” र “रोमान्स” लाई गुमाएको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू बुझ्‍न पुगेको छ, र मानवजातिलाई मुक्त गर्ने परमेश्‍वरको वर्षौंको लगाबलाई बुझ्‍न पुगेको छ। मानिसले उसको आफ्‍नो जङ्गलीपनलाई बिस्तारै घृणा गर्न सुरु गर्छ। ऊ कति असभ्य छ त्यस कुरा, परमेश्‍वरप्रतिको उसका सबै गलत बुझाइहरू, र उहाँलाई उसले गरेका अनुचित मागहरूलाई उसले घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्, र परमेश्‍वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको सामर्थ्य फर्की आउछ र … उहाँ सँधै नै उसकै साथमा हुनुहुँदो रहेछ, अनि उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ भन्‍ने पत्ता लगाउन, ऊ खडा भएर सर्वशक्तिमान्‌को अनुहारमा हेर्छ। उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिप्रति चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्‍भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैंचामा फर्केजस्तै हुन्छ, तैपनि यस पटक मानिसले त्यस उप्रान्त सर्पको बहकाउलाई सुन्दैन र त्यस उप्रान्त यहोवाको नजरबाट फर्कँदैन। मानिस परमेश्‍वरको अघि घुँडा टेक्छ, परमेश्‍वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ, र उसको सबैभन्दा बहुमूल्‍य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

परमेश्‍वरको प्रेम र करुणाले उहाँको व्यवस्थापन कार्यको प्रत्येक र हरेक विवरणलाई भिजाउँछ, र मानिसहरूले परमेश्‍वरका असल अभिप्रायहरूलाई बुझ्‍न सके पनि वा नसके पनि, आफूले पूरा गर्ने भनी तय गर्नुभएको कामलाई उहाँले अझै अथक रूपमा गरिरहनुभएको छ। परमेश्‍वरको व्यवस्थापनको बारेमा मानिसहरूले जति नै धेरै किन नबुजोस्, परमेश्‍वरको कार्यले मानिसकहाँ ल्याएको सहयोग र लाभहरूलाई हरेकले सराहना गर्न सक्छन्। सायद, आजको दिनमा, परमेश्‍वरले प्रदान गर्नुभएको कुनै पनि प्रेम वा जीवनको अनुभव तैँले गरेको छैनस् होला, तर जब सम्‍म तैँले परमेश्‍वरलाई त्याग्दैनस् र सत्यताको खोजी गर्ने तेरो संकल्पलाई त्याग्दैनस्, तब परमेश्‍वरको मुस्कान तँलाई प्रकट गर्ने दिन आउनेछ। किनभने परमेश्‍वरको व्यवस्थापन कार्यको लक्ष्य भनेको शैतानको राज्य-क्षेत्रमा रहेका मानिसहरूलाई पुन: प्राप्ति गर्नु हो, शैतानद्वारा भ्रष्ट तुल्याइएका र परमेश्‍वरको विरोध गर्ने मानिसहरूलाई त्याग्‍न होइन।

सेप्टेम्‍बर २३, २००५

अघिल्लो: परमेश्‍वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ

अर्को: आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको बाटो दिन सक्‍नुहुन्छ

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सम्बन्धित विषयवस्तु

सहस्राब्दीय राज्यको आगमन भएको छ

के तिमीहरूले मानिसहरूको यस समूहमा परमेश्‍वरले पूरा गर्नुहुने काम देखेका छौ? परमेश्‍वरले एक पटक भन्नुभयो, सहस्राब्दीय राज्यमा पनि मानिसहरूले...

अध्याय ६

आत्माका कुराहरूप्रति सचेत बन्‌, मेरो वचनमा ध्यान दे, र मेरो आत्मा र मेरो अस्तित्वलाई, मेरो वचन र मेरो अस्तित्वलाई एउटा अविभाज्य...

परिशिष्ट: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

प्रभु येशू ख्रीष्टलाई पछ्याउने अरूहरू करोडौँले जस्तै, हामी बाइबलका नियमहरू र आज्ञाहरूलाई पालन गर्छौं, प्रभु येशू ख्रीष्टको प्रशस्त...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्